No. 101
श्लोक ४० conversation on Gita Gyan and Tatwa Gyan between Indira didi and Hajurma.
Saturday, 9 August 2014
134 No. 101 श्लोक ४० इन्द्रियहरु, मन र बुद्धिलाई यो कामनाको वासस्थान भनिएका छन् ।
133 No. 100 श्लोक ३९ हे कुन्तिनन्दन ! यो अग्नि जस्तो कहिले पनि तृप्त नहुने र विवेकीहरुको कामनारूप नित्य वैरी द्वारा
No. 100
श्लोक ३९
हे कुन्तिनन्दन ! यो अग्नि जस्तो कहिले पनि तृप्त नहुने र विवेकीहरुको कामनारूप नित्य वैरी द्वारा व्यक्तिहरुको विवेक ढाकिएको छ ।
घिउको आहुति दिइरहँदा पनि अग्नि कहिले तृप्त नभए जस्तै कामनाको
अनुकूल भोग भोगिरहँदा पनि कामना कहिले पनि तृप्त हुँदैन, झन् झन् वढि नै
रहन्छ । आफ्नो अगाडि जुन सुकै वस्तु आए पनि कामनाले, अग्निले जस्तो, त्यो
वस्तुलाई खाइरहन्छ ।
भोग र संग्रहको कामना कहिले पनि पूरा हुँदैन । जति भोग
गरे पनि, जति संग्रह गरे पनि तिनीहरुप्रतिको भोक त्यति नै वढी रहन्छ ।
कारण, कामना जडको हुन्छ, त्यसैले जडको सम्बन्धले कामना कहिले पनि हराउँदैन,
झन् झन् वढ्दै जान्छ ।
जडको सम्बन्धले हुने सुखको चाहलाई 'काम' भन्छन् ।
अन्तःकरणमा दबिइरहेका अनेक सूक्ष्म कामनाहरुलाई 'वासना' भन्छन् ।
वस्तुहरुको आवश्यकता देखिनु 'स्पृहा' हो ।वस्तुमा उत्तमता र प्रियता देखिनु
'आसक्ति' हो । वस्तु पाउने सम्भावना राख्नु 'आशा' हो । अरु धेरै वस्तु
पाइयोस् भन्नु 'लोभ' या 'तृष्णा' हो । वस्तुको इच्छा धेरै भयो भने 'याचना'
हुन्छ । यी सबै 'काम'का नै धेरै रूप हुन् ।
यो श्लोकमा आएको 'ज्ञानिन:' पद साधनमा लागेका विवेकशील
साधकहरुकोलागि भनिएको हो । किनकि विवेकशील साधक नै यो कामरूप वैरीलाई
चिन्दछ र त्यसको नाश गर्छ । साधन नगर्ने अरु व्यक्ति त यसलाई चिन्दै
चिन्दैनन्, उल्टै यो कामनालाइ सुख दिने ठान्छन् ।
भगवान भन्नुहुन्छ, यो काम विवेकशील साधकहरुको नित्य
वैरी छ ।कामना आउने वित्तिकै विवेकशील साधकलाई लाग्छ, अव कुनै आपत् आउन
लाग्यो । कामनामा संसारको आश्रय र महत्व रहन्छ । यस्तो आश्रय र महत्व नै
पारमार्थिक मार्गमा ठूलो वाधा हो । विवेकी साधकलाई कामना सँधै विझिरहन्छ ।
परिणाममा त कामनाले सबैलाई दुःख दिन्छ । यसैले यो साधकको नित्य वैरी हो
।
भोगहरुमा लागेका अज्ञानीहरुलाई यो कामना मित्र जस्तो
लाग्छ । किनकि कामनाले नै भोगहरुमा सुख हुन्छ । परन्तु परिणाममा उनीहरुलाई
दुःख, सन्ताप प्राप्त हुन्छ । यही कारण, वास्तवमा यो कामना अज्ञानीहरुको
पनि नित्य वैरी हो । तर अज्ञानीहरुलाई यो कुराको जागृति हुँदैन, तर
विवेकशील साधकहरुलाई हुन्छ ।
विवेक सम्पूर्ण प्राणीहरुमा हुन्छ । पशु-पक्षी आदि
योनिमा यो विवेक विकसित हुँदैन, खालि जीवन-निर्वाहसम्ममा सीमित हुन्छ ।
तर कामना नभएको मनुष्यमा यो विवेक विकसित हुन्छ । विवेक ढाकिने नै कामनाले
हो ।विवेक ढाकिंदा मनुष्य आफ्नो लक्ष परमात्मप्राप्ति तर्फ अघि वढ्न
सक्तैन, किनकि कामना उसलाई चिन्मय तिर जान दिंदैन, जड तत्वमा नै लगाइराख्छ ।
आफूसँग कसैले अप्रिय र असत्य वोले हामीलाई नराम्रो
लाग्छ र प्रिय र सत्य वोले हामीलाई राम्रो लाग्छ । छोटोमा, राम्रो-नराम्रो,
सद्गुण-दुर्गुण, कर्तव्य-अकर्तव्य आदिको ज्ञान अर्थात् विवेक सबै मनुष्यमा
रहन्छ । यसो हुँदा पनि ऊ अप्रिय र असत्य वोल्छ, आफ्नो कर्तव्यको पालन
गर्दैन । यसको कारण, कामनाले उसको विवेक ढाकिएको हुन्छ ।
कामनाले गर्दा नै 'त्यागमा सुख हुन्छ' -- भन्ने विवेक काम
गर्दैन । हामीलाई लाग्छ, भोग-पदार्थ पाइए सुख हुन्छ, तर वास्तवमा सुख
कामनाको त्यागमा छ । हामी सबैलाई थाहा छ, जाग्रत र स्वप्नमा भोग पदार्थसँग
सम्बन्ध रहँदा सुख र दुःख दुवै हुन्छ, तर सुषुप्ति (गाढा निद्रा)मा
भोग-पदार्थहरुसँग सम्बन्ध नरहँदा सुख मात्रै हुन्छ, दुःख हुँदैन । यसैले
गाढा निद्रावाट बिउँझेपछि हामी भन्छौं, 'म वडो सुखसँग सुतें' । फेरि जाग्रत
र स्वप्नमा थकाइ लाग्छ, तर सुषुप्तिमा थकाइ मर्छ, शरीर चंगा हुन्छ ।
यसवाट थाहा हुन्छ, भोग-पदार्थको त्यागमा नै सुख छ ।
धनको कामना हुने वित्तिकै धन मनद्वारा पक्डिइन्छ ।
वाहिरवाट धन पाइएपछि मनले समातेको धनको त्याग हुन्छ र सुख भए जस्तो लाग्छ ।
वास्तवमा सुख वाहिरवाट धन पाउँदा हुने भएन, मनले समातेको धनको त्यागवाट
नै हुने भयो । धन पाउँदा सुख हुने भए त्यो धन रहुन्जेल कहिले पनि दुःख
हुनु नपर्ने, तर धन रहँदा दुःख भैरहने हाम्रो अनुभव छ ।
हामीले कुनै कामना गरेपछि हामी पराधीन हुन्छौं । जस्तो,
हाम्रो मनमा घडीको कामना भयो । कामना हुने वित्तिकै त्यो घडीको अभावको दुःख
हुन थाल्छ, यो घडीको पराधीनता हो । हामी विचार गर्छौं, 'पैसा भए अहिले नै
घडी किन्थें' अर्थात् पैसा हुँदा हामी आफूलाई स्वाधीन र पैसा नहुँदा पराधीन
मान्छौं । तर यो मान्यता विल्कुल गलत छ । पैसा पाउँदा घडीको पराधीनता त
रहेन, त पैसाको पराधीनता त रही नै हाल्यो, किनकि पैसा पनि 'पर' नै हो,
'स्व' होइन । वस्तुको कामना हुँदा वस्तुको पराधीन भइयो, पैसाको कामना
हुँदा पैसाको पराधीन भइयो । पराधीनता त जस्ताको तस्तै रह्यो । तर कामनाले
विवेक ढाकिएको हुनाले हामीलाई वस्तुको पराधीनताको अनुभव त भयो, तर पैसाको
पराधीनताको अनुभव भएन, पैसाको कारण हामीलाई स्वाधीनताको अनुभव भयो ।
स्वाधीनताको रूपमा देखिने पराधीनतावाट छुट्न निकै कठिन छ ।
संसार क्षणभंगुर छ । शरीर, धन, जमीन, घर जति सबै संसारिक
वस्तुहरु प्रतिक्षण विनाशतिर गैरहेका छन्, हामीवाट टाढा भैरहेछन् । तर भोग
भोग्दा तिनीहरुको क्षणभंगुरताको ज्ञान रहँदैन । पदार्थहरुलाई नित्य र
स्थिर नमानी सुखभोग हुनै सक्तैन । साधारण मनुष्यहरुको कुरा के गर्नु,
साधकहरु पनि वेला वेलामा भोगहरुलाई नित्य र स्थिर मान्दा फस्छन् । यसको
कारण, कामना द्वारा विवेक ढाकिनु नै हो ।
हामीलाई महान् वनाउने उद्देश्यले भगवान कामनालाई
'नित्यवैरी' भनेर त्यसवाट वच्न हामीलाई सावधान पनि गर्नुहुन्छ । किनकि
कामना नै सम्पूर्ण पापहरु र दुःखहरुको जड हो । संसारको विनाशी पदार्थहरुको
कामना गर्ने मनुष्यलाई दुःख आफैं आउँछ ।
हामी दुःखवाट वच्न खोज्छौं, तर दुःखहरुको कारण 'काम'
(कामना)वाट वच्न खोज्दैनौं । कामना हुँदा हामीलाई स्वप्नमा पनि सुख हुँदैन ।
भगवान भन्नुहुन्छ, भोग-पदार्थहरुवाट कामना कहिले पनि पूरा हुँदैन । जति
जति भोग-पदार्थ पाइन्छन्, त्यति त्यति कामना वढ़छन् र जति जति कामना वढ़छन्,
त्यति त्यति धेरै अभावको अनुभव हुन्छ, अभाव मेटाउनकोलागि हामी पाप-कर्ममा
प्रवृत्त हुन्छौं । यस्तो किसिमले, नाशवान् सुखको कामना गर्ने मनुष्य
यो लोक र परलोक -- दुवै लोकहरु महान् दुःखरुप वनाउँछ ।
साधनको मुख्य वाधा नै संयोगजन्य सुखको कामना हो । यो वाधा
हाम्रो साधनमा धेरै पछिसम्म रहन्छ । साधकले जहाँ सुख लिन खोज्छ, ऊ त्यहीं
अड्किन्छ । यति सम्म कि, समाधिको सुख लिंदा पनि ऊ अड्किन्छ । सात्विक सुखको
कामना, आसक्ति पनि बन्धनकारक नै हुन्छ । यही कारण, भगवानले यो श्लोकमा
संयोगजन्य सुखको कामनालाई साधकको 'नित्य वैरी' वताउनु भएको छ ।
132 No. 99 श्लोक ३८ (अध्याय ३) जस्तो धुवाँले अग्नि र मलले दर्पण ढाकिन्छ, जस्तो सालले गर्भ ढाकिएको हुन्छ,
No. 99
परमात्मप्राप्तिमा
कामना नै खास वाधक छ । पानीले भरिएको घडामा हामीले दुई काम गर्नु छ -- (१)
घडा खालि गर्नु छ, (२) त्यो घडामा आकाश भर्नु छ । तर, हामीलाई दुई काम
गर्नु छैन, एकै काम गरे पुग्छ -- घडा खालि गर्ने । घडावाट पानी निकाले आकाश
आफैं भरिन्छ । त्यस्तै, कामनाको त्याग गर्ने र परमात्मा प्राप्त गर्ने दुई
काम छैन हाम्रोलागि । कामनाको त्याग गर्न सके परमात्मा प्राप्ति आफैं
हुन्छ हामीलाई । कामनाको कारणले मात्रै परमात्मा अप्राप्त जस्तो देखिएको छ
हामीलाई ।
श्लोक ३८ (अध्याय ३)
जस्तो धुवाँले अग्नि र मलले दर्पण ढाकिन्छ, जस्तो सालले गर्भ ढाकिएको हुन्छ, त्यस्तै त्यो कामना द्वारा यो (ज्ञान अर्थात् विवेक) ढाकिएको छ ।
विवेक
बुद्धिमा प्रकट हुन्छ । बुद्दि तीन किसिमको हुन्छ -- सात्विकी, राजसी र
तामसी । सात्विकी बुद्धिमा कर्तव्य-अकर्तव्यको ठीक ठीक ज्ञान हुन्छ, राजसी
बुद्धिमा कर्तव्य-अकर्तव्यको ठीक ठीक ज्ञान हुँदैन र तामसी बुद्धिमा सबै
वस्तुको विपरीत ज्ञान हुन्छ । कामना उत्पन्न हुँदा सात्विकी बुद्धि पनि
धुवाँले अग्नि ढाकिएको जस्तो ढाकिन्छ, राजसी र तामसी बुद्धिको कुरा गर्न नै
के पर्यो र ।
संसारिक
इच्छा उत्पन्न हुने वित्तिकै पारमर्थिक मार्गमा धुवाँ हुन्छ । यदि यो
अवस्थामा सावधानी भएन भने कामना अझ धेरै वढ्छ । कामना वढेपछि पारमर्थिक
मार्ग अँध्यारो भैहाल्छ ।
उत्पत्ति-विनाशशील
जड वस्तुहरुमा प्रियता, महत्ता, सुखरूपता, सुन्दरता, विशेषता, आदि देखिंदा
नै कामना पैदा हुन्छ । यही कामनाले मूलदेखि नै विवेकलाई ढाकिदिन्छ । अरु
शरीरहरु भन्दा मनुष्य शरीरमा विवेक विशेषरूपले प्रकट छ; किन्तु जड
पदार्थहरुको कामनाको कारणले यो विवेकले काम गर्दैन ।कामना उत्पन्न हुने
वित्तिकै विवेक धमिलो हुन्छ । धुवाँले ढाकिइरहँदा पनि अग्नि काम गर्न
सक्छ, त्यस्तै हामी आफूमा कामना पैदा हुने वित्तिकै आफैं सावधान भयौं भने
हाम्रो विवेकले काम गर्न सक्छ ।
पहिलो
अवस्थामा नै कामना नष्ट गर्ने उपाय हो -- कामना उत्पन्न हुने वित्तिकै
हामीले विचार गर्नु पर्यो, हामीले कामना गरेको वस्तु हामीसँग सँधै रहँदैन ।
त्यो वस्तु (हामीले कामना गरेको) पहिले पनि हामीसँग थिएन, पछि पनि हामीसँग
रहने छैन र हालमा पनि हामीसँग निरन्तर वियोग भइरहेछ ।यस्तो विचार गरे
कामना रहँदैन ।
मयलले
ढाकेपछि दर्पणमा प्रतिविम्व देखिन वन्द भए जस्तै कामनाको वेग वढेपछि 'म
साधक हुँ ; मेरो यो कर्तव्य र यो अकर्तव्य हो' -- भन्ने ज्ञान पनि रहँदैन ।
अन्तःकरणमा नाशवान् वस्तुहरुको महत्व धेरै हुँदा हामी तिनै वस्तुहरुको भोग
र संग्रहको कामना गर्न थाल्छौं । जति जति यो कामना वढ्छ, त्यति त्यति
हाम्रो पतन हुन्छ ।
वास्तवमा,
महत्व वस्तुको होइन, त्यसको उपयोगको हुन्छ । रुपियाँ, विद्या, वल आदि
महत्वपूर्ण वस्तु होइनन्, महत्व यिनीहरुको सदुपयोगमा छ । यो राम्ररी
बुझिएपछि ती वस्तुहरुको कामना रहँदैन; किनकि जति वस्तुहरु हामीसँग छन्, ती
वस्तुहरुको सदुपयोग गर्ने जिम्मेवारी हाम्रो हो । ती वस्तुहरुको नै सदुपयोग
गर्नु छ भने फेरि धेरै कामनाले के होला ? कारण कि कामना मात्रवाट वस्तुहरु
पाइंदैन ।
संसारिक
वस्तुहरुको महत्व कम हुँदै गएपछि हाम्रो अन्तःकरणमा परमात्माको महत्व झन्
झन् वढ्दै जान्छ । संसारिक वस्तुहरुको महत्व पूरापूर नष्ट भएपछि परमात्माको
अनुभव हुनेछ र कामना सर्वथा नष्ट हुनेछ ।
दर्पणमा
मयल हुँदा त्यो दर्पणमा आफ्नो मुख देखिंदैन, तर 'यो दर्पण हो' भन्ने ज्ञान
त रहन्छ । सालले ढाकिएको गर्भमा छोरो छ कि छोरी छ भन्ने थाहा नभए जस्तै
कामनाको तेस्रो अवस्थामा कर्तव्य-अकर्तव्यको पत्तो लाग्दैन अर्थात् हाम्रो
विवेक पूरै ढाकिन्छ । विवेक ढाकिएपछि कामनाको वेग वढ्छ ।
कामनामा
वाधा भयो भने क्रोध उत्पन्न हुन्छ । फेरि क्रोधवाट सम्मोह उत्पन्न हुन्छ ।
सम्मोहवाट बुद्धि नष्ट हुन्छ । बुद्धि नष्ट भएपछि मनुष्य गर्नु पर्ने काम
गर्दैन र झूठ, कपट, अन्याय, वेइमानी, पाप, अत्याचार जस्ता गर्नु नहुने काम
गर्छ । यस्ता व्यक्तिलाई भगवान पनि मनुष्य भन्न चाहनु हुन्न ।कामनामा
तदाकार हुने त्यस्ता व्यक्तिको निश्चय हुन्छ, 'सांसारिक सुख भन्दा ठूलो अरु
केही छँदै छैन ।'
यो
श्लोकमा भगवानले काम द्वारा विवेक ढाकिने विषयमा तीन दृष्टान्त दिनुभयो
।अर्को शब्दमा, यो भन्न खोजिएको छ, काम द्वारा विवेक ढाकिएपछि कामका तीनै
अवस्थाहरु प्रबुद्ध हुन्छन् ।
कामना उत्पन्न भएपछि कामनाका तीन
अवस्थाहरु सबैका हृदयमा आउँछन् । परन्तु कामनालाइ नै सुखको कारण मानेर उसको
आश्रय लिंदा कामनालाई त्याज्य र कामनालाई मानिंदैन र कामनालाई चिन्न
पनि सकिंदैन । परन्तु परमार्थमा रुचि राख्ने तथा साधन गर्ने व्यक्ति यो
कामनालाई चिन्न सक्छन् । कामनालाई चिन्न सक्ने व्यक्ति कामनाको नाश पनि
गर्न सक्छन् ।
यो
श्लोकमा भएको कामनाको तीन अवस्थाहरुको वर्णन पनि कामनालाई नाश गर्ने
उद्देश्यले नै भएको हो । वास्तवमा कामना उत्पन्न भएपछि यो यति छिटो वढ्छ कि
भन्नै सकिंदैन । कामना वढेपछि अनर्थ परम्परा नै चल्छ । सम्पूर्ण पाप,
सन्ताप, दुःख, आदि कामनावाट नै हुन्छन् । त्यसैले हामीले आफ्नो विवेकलाई
जाग्रत गरेर कामनालाई उत्पन्न नै हुन दिनुहुन्न । यदि कामना उत्पन्न भइ नै
हालेछ भने पनि यसलाई पहिलो या दोस्रो अवस्थामा नै नाश गरिदिनु पर्छ, तेस्रो
अवस्थामा आउन कहिले पनि दिनुहुन्न ।
जहाँ धुवाँ हुन्छ,
त्यहाँ अग्नि हुन्छ । धुवाँले छोपिंदा पनि अग्निको, मयलले ढाकिंदा पनि
दर्पणको र सालले वेरिए पनि गर्भको ज्ञान भए जस्तै कामले ढाकिंदा पनि विवेक
(कर्तव्य-अकर्तव्यको ज्ञान) सबैमा रहन्छ, तर कामनाले गर्दा यो विवेक
उपयोगमा आउँदैन ।
शास्त्र
अनुसार, परमात्मा प्राप्तिमा तीन वाधक छन् -- मल, आवरण र विक्षेप । यी दोष
असत् संसारसँगको सम्बन्धले उत्पन्न हुन्छन् । असत् सँग सम्बन्ध कामनाले
हुन्छ । अतः मूल दोष कामना नै हो । कामना सर्वथा नाश भएपछि असत् सँग
सम्बन्ध-विच्छेद हुन्छ । असत् सँग सम्बन्ध-विच्छेद भएपछि सबै दोष
मेटिन्छन्, पूर्ण विवेक प्रकट हुन्छ ।
परमात्मप्राप्तिमा
मुख्य वाधा -- सांसारिक पदार्थहरुलाई नाशवान् मानी मानी तिनलाई महत्व दिनु
। अन्तःकरणमा विनाशी पदार्थहरुको महत्व रहुन्जेल, संसारिक पदार्थहरुमा
सत्यबुद्धि, सुन्दरबुद्धि र सुखबुद्धि रहुन्जेल मल, विक्षेप र आवरण -- तीनै
दोषहरु रहन्छन् । यी तीन मध्ये पनि मल दोष सबभन्दा ठूलो वाधक हो ।
मलदोषको मुख्य कारण कामना नै हो; किनकि कामनावाट नै सबै पाप हुन्छन् ।
साधकले 'म अव पाप गर्दिन' भन्ने वित्तिकै उसका सबै दोषहरुको जड नै काटिन्छ
र मलदोष मेटिन थाल्छ । पूरापूर निष्काम भएपछि मल दोष नष्ट हुन्छन्
।
कामना भएका व्यक्तिलाई आफ्नो कल्याण
गर्नु छ भने कर्मयोगको पालन गर्नु पर्छ । सानो भन्दा सानो अथवा ठूलो भन्दा
ठूलो हरेक क्रिया गर्दा 'म यो काम किन गरिरहेछु र कसरी गरिरहेछु' भन्ने
सावधानी हुनु पर्छ हामीलाई । त्यसो भए हामीमा परमात्मप्राप्तिको उद्देश्य
जाग्रत हुन्छ । आफ्नो उद्देश्यमा निरन्तर सजग रहन सके हामीवाट अशुभ कर्म
हुँदैनन् र शुभ कर्महरुमा पनि आसक्ति र फलेच्छाको त्याग भएपछि निष्कामताको
अनुभव हुन्छ, जसवाट हाम्रो आफ्नै कल्याण हुन्छ ।
131 No. 98 अघिल्लो श्लोकको नै वांकी कामना सम्पूर्ण पापहरु, संतापहरु, दुःखहरुको जड हो ।
No. 98
'काम' रजोगुणवाट उत्पन्न हुन्छ । अतः पापहरुको कारण रजोगुण हो र कार्य तमोगुण हो । सबै पापहरु रजोगुणवाट पैदा हुन्छन् ।
अघिल्लो श्लोकको नै वांकी
कामना
सम्पूर्ण पापहरु, संतापहरु, दुःखहरुको जड हो । कामना गर्ने व्यक्तिलाई
वर्तमानमा सुख हुने कुरै छोडौं, स्वप्नमा पनि सुख हुँदैन । हामीले खोजेको
जस्तो नहुनु र नखोजेको जस्तो हुनुलाई नै दुःख भन्छन्। 'खोज्नु' र
'नखोज्नु'लाई छोडे दुःख नै कहाँ हुन्छ र ?
नाशवान्
पदार्थको इच्छालाई नै कामना भनिन्छ । अविनाशी परमात्माको इच्छा कामना जस्तो
देखिए पनि वास्तवमा कामना होइन, किनकि उत्पत्ति-विनाशशील पदार्थहरुको
कामना कहिले पूरा हुँदैन, झन् झन् वढ्दै जान्छ । तर परमात्माको इच्छा
(परमात्मप्राप्ति भएपछि) पूरा हुन्छ । अर्को कुरो, कामना आफू भन्दा छुट्टै
वस्तुको हुन्छ, परमात्मा आफ़ूदेखि अभिन्न छ। यस्तै प्रकारले सेवा,
(कर्मयोग), तत्वज्ञान (ज्ञानयोग) र भगवत्प्रेम (भक्तियोग) को इच्छा पनि
कामना होइन । परमात्मप्राप्तिको इच्छा वास्तवमा जीवनको वास्तविक आवश्यकता
(भोक) हो । जीवलाइ आवश्यकता परमात्माको छ, तर विवेक दविएकोले ऊ नाशवान्
पदार्थहरुको कामना गर्न लाग्छ ।
यस्तो पनि शंका हुन सक्छ -- कामना विना संसारको काम कसरी हुन्छ ?
यसको
समाधान: संसारको काम वस्तुहरुवाट, क्रियाहरुवाट चल्छ, मनको कामनाले होइन ।
वस्तुहरुको सम्बन्ध कर्महरुसँग हुन्छ, चाहे ती कर्म पूर्वका (प्रारब्ध)
हुन् अथवा वर्तमानका (उद्योग) । कर्म वाहिर हुन्छन्, र काम भित्र । वाहिरी
कर्महरुको फल पनि (वस्तु, परिस्थितिको रूपमा) वाहिर हुन्छन् ।
कामनाको
सम्बन्ध फल - (पदार्थ,परिस्थिति) सँग छँदै छैन । कर्मको अधीनको वस्तु
कामना गरेर कसरी प्राप्त हुन सक्छ ? संसारमा देखिएकै छ, धनको कामना भएर पनि
व्यक्तिहरुको दरिद्रता मेटिएको छैन । जीवन्मुक्त महापुरुष वाहेक अरु सबै
व्यक्ति वांचने इच्छा हुँदा हुँदै मरेकै छन् । चाहे हामी कामना गरौँ या
नगरौं, जुन फल पाइन्छ, त्यो पाइएरै छोड्छ । अर्को शब्दमा, जे हुने हो, त्यो
भइहाल्छ, जे हुने छैन, त्यो हुँदै हुँदैन,हामीले कामना गरे पनि नगरे पनि ।
कामना नगर्दा पनि प्रतिकूल परिस्थिति आए जस्तै अनुकूल परिस्थिति पनि
आइहाल्छ । रोगको कामना नगर्दा रोग आए जस्तै कामना नगरे पनि निरोग रहन्छ ।
निन्दा-अपमानको कामना नगर्दा पनि निन्दा-अपमान हुन्छ, कामना नगर्दा पनि
प्रशंसा-सम्मान हुन्छ । प्रतिकूल परिस्थिति कर्महरुको फल भए जस्तै अनुकूल
परिस्थिति पनि कर्महरुको नै फल हो । यही कारण वस्तु, परिस्थिति आदि प्राप्त
हुनु अथवा नहुनु जस्ता अवस्था कर्महरुसँग सम्बन्ध राख्छन्, कामनासँग
होइन।
कामना
तात्कालिक सुखको र भावी सुखको हुन्छ । भोग र संग्रहको इच्छा तात्कालिक
सुखको कामना हो, कर्मफलप्राप्तिको इच्छा भावी सुखको कामना हो । यी दुवै
कामनाहरुमा दुःखै दुःख छ । कारण कि कामना केवल वर्तमानमा मात्रै दुःख दिने
नभई भावी जन्मको कारण भएकोले भविष्यमा पनि दुःख दिन्छ । त्यसैले,यी दुवै
कामनाहरुको त्याग गर्नु पर्छ ।
कर्म र
विकर्म (निषिद्धकर्म) -- दुवै कामनाको कारण हुन्छन् । कामनाको कारण 'कर्म'
हुन्छन् र कामना धेरै वढेपछि 'विकर्म' हुन्छन् । कामनाको कारण नै असत् मा
दृढ आसक्ति हुन्छ । कामना नरहँदा असत् सँग सम्बन्ध-विच्छेद हुन्छ ।
कामना
पूरा भएपछि हामी त्यही अवस्थामा आउँछौ, जुन अवस्थामा हामी कामना उत्पन्न
हुनु भन्दा पहिले थियौं । जस्तो, कसैको मनमा 'मलाई सय रुपियाँ भए हुन्थ्यो'
भन्ने कामना उत्पन्न भयो । यो भन्दा पहिले त्यो व्यक्तिको मनमा सय रुपियाँ
पाउने कामना थिएन; त्यसैले अनुभवले नै थाहा भयो, कामना उत्पन्न हुने रहेछ ।
सय रुपियाँ पाउने कामना हुनुभन्दा पहिलेसम्म त्यो व्यक्तिको 'निष्कामता'को
स्थिति थियो । त्यो व्यक्तिले कामना पूरा गर्न उद्योग
गरेपछि, प्रारब्धद्वारा उसलाई सय रुपियाँ पनि मिलेपछि उसको स्थिति फेरि
'निष्कामता'को हुन्छ । तर संसारिक सुखको आसक्तिले गर्दा त्यो स्थिति
अडिरहँदैन, फेरि नयाँ कामना उत्पन्न हुन्छ, 'मलाई एक हजार रुपियाँ भए
हुन्थ्यो' भन्ने । यस्तो किसिमले न कामना पूरा हुन्छ, न तृप्ति नै हुन्छ ।
खालि परिश्रम सिवाय केही हात लाग्दैन ।
'काम'
अर्थात् संसारिक पदार्थहरुको कामना त्याग गर्न गाह्रो छैन । राम्रोसँग
विचार गर्दा कामना छुट्न नसक्ने हो कि टिक्न नसक्ने हो ? हामीलाई थाहा
हुन्छ, वास्तवमा कामना टिक्दै टिक्दैन । कामना त निरन्तर मेटिइरहन्छ; तर
हामी नयाँ नयाँ कामनाहरु गरेर त्यसलाई अड़ाई राख्छौं । कामना उत्पन्न हुन्छ र
उत्पन्न हुने वस्तु स्वतः मेटिन्छ । यदि हामीले नयाँ नयाँ कामना नगरे
हाम्रो पुरानो कामना पूरा भएर अथवा कहिले पूरा पनि नभएर स्वतः मेटिन्छ ।
कामनाको
पूर्ति सबैकोलागि र सँधैकोलागि हुने होइन, तर कामनाको त्याग सबैकोलागि र
सँधैकोलागि हुन्छ, किनकि कामना अनित्य र त्याग नित्य छ। निष्काम हुन के
गाह्रो छ ? हामी आफैं निर्मम हुँदैनौं, यही नै गाह्रो छ । यदि हामी निर्मम
भयौं भने निष्काम हुने शक्ति हामीमा आउँछ र निष्काम भएपछि असंग हुने शक्ति
आउँछ । निर्ममता, शान्ति र असंगता आएपछि निर्विकारता, शान्ति र स्वाधीनता
स्वतः आउँछ ।
हामी
कामनाको त्याग गर्न धेरै गाह्रो मान्छौं । तर यो पनि विचार गर्नु पर्यो
हामीले, कामनाको त्याग गर्न गाह्रो भए कामना पूरा गर्न सजिलो छ त ?
संसारमा आजसम्म सबै कामनाहरुको पूर्ति कसैलाई भएको छ ? सबै कामनाहरुको
पूर्ति आजसम्म कसैलाई भएको छैन, किनकि कामनाहरुको पूर्ति हुन सम्भव नै छैन ।
कामनाहरुको त्याग हुन सक्छ, तर कामनाहरुको पूर्ति हुन सक्तैन । यसैले
कामनाहरु पूर्ति गर्नतिर लाग्नु भन्दा कामनाहरुको त्याग गर्नु सजिलो छ ।
हामीवाट हुने गल्ति नै यही हो, गर्न नसकिने काम गर्न हामी खोज्छौं, तर गर्न
सकिने काम गर्न हामी इच्छुक छैनौं ।
कामनाहरुका चार भेद छन् --
(१) शरीर-निर्वाहमात्रकोलागि आवश्य कामनाहरु पूरा गर्ने ।
(२) हाम्रा व्यक्तिगत तर न्याययुक्त, तर हामीवाट पूरा हुन नसक्ने, कामना हामीले भगवानलाई अर्पण गरेर मेटाउने ।
(३) अरुको न्यायुक्त र हितकारी,
हामीवाट पूरा हुन सक्ने कामना कुनै छ भने, हामीले पूरा गरिदिने । यसरी
अरुको कामना पूरा गरेपछि हामीमा आफ्नो कामना त्याग गर्ने सामर्थ्य आउँछ ।
(४) माथिका तीन कामनाहरु वाहेक अरु सबै कामनाहरु विचारद्वारा मेटाइदिने ।
कति वैरी त भेट-पूजा गरे शान्त हुन्छन्, तर 'काम' वैरी केही गरे पनि शान्त हुँदैन, यसलाई कहिले पनि तृप्ति हुँदैन ।
केही धन पाएपछि अरु धन पाउने
कामना हामीमा भए जस्तै जति नै भोग पाइए पनि हाम्रो कामना झन् झन् वढिरहन्छ ।
यही कारण यसलाई 'महाशन:' भनिएको छ ।
कामना
सम्पूर्ण पापहरुको कारण हो । चोरी, डकैती, हिंसा, आदि सबै पापहरु कामनावाट
नै हुन्छन् । यसैले यो कामनालाई 'महापाप्मा' भनिएको छ ।
कामना उत्पन्न हुने वित्तिकै मनुष्य
आफ्नो कर्तव्यदेखि, आफ्नो स्वरूपदेखि र आफ्नो इष्ट (भगवान) देखि विमुख
हुन्छ र नाशवान् संसारको सम्मुख हुन्छ । नाशवान् को सम्मुख हुँदा पाप हुन्छ
र पापहरुका फलस्वरुप उसलाई नरकहरु तथा नीच योनिहरु प्राप्त हुन्छ ।
संयोगजन्य सुखको कामनाले नै संसार
सत्य जस्तो लाग्छ र प्रतिक्षण वदलिने शरीर आदि पदार्थ 'स्थिर' (सँधै
रहिरहने) जस्ता देखिन्छन् । संसारिक पदार्थलाई स्थिर मान्दा नै मनुष्य ती
पदार्थहरुवाट सुख भोग्छ र ती वस्तुको इच्छा गर्छ । सुख-भोग गरेको वेला
संसारको क्षणभंगूरतातिर दृष्टि नै जाँदैन र हामी भोगलाई र आफूलाई पनि
'स्थिर' (सँधै रहिरहने) देख्छौं । प्रतिक्षण मरिरहेको, नष्ट भैरहेको
संसारवाट सुख लिने इच्छा कसरी भयो ? 'संसार' प्रतिक्षण मरिरहेछ' भन्ने
जानकारीको तिरस्कार गर्दा नै सांसारिक सुखभोगको इच्छा हुन्छ ।
परिवर्तनशील
संसारलाई स्थिर मान्दा स्थिर तत्व, परमात्मातिर, दृष्टि नै नगएको हो ।
परमात्मातिर दृष्टि नगएकोले नै हामी त्यतातिरवाट विमुख भएर विनाशी सुखमा
फँस्छौँ । वास्तविक तत्वदेखि विमुख नभई कोही पनि संसारिक भोग भोग्नै सक्तैन
र रागपूर्वक भोग भोग्दा हामी परमात्मादेखि विमुख हुनै पर्छ ।
भोगबुद्धिले भोग
भोग्ने व्यक्ति आफ्नो त पतन गर्छ गर्छ, भोग्य वस्तुहरुको दुरुपयोग गरेर
ती वस्तुहरुको नाश गर्छ र अभावग्रस्त व्यक्तिहरुको हिंसा गर्छ। तर
जीवन्मुक्त महापुरुषमा यो कुरा लाग्दैन । ऊवाट हिंसारुप पाप हुँदैन; किनकि
उसमा भोगबुद्धि हुँदैन र ऊवाट निष्कामभावले निर्वाहमात्रकोलागि
शास्त्रविहित क्रियाहरु हुन्छन्। त्यो महापुरुषको उपयोगमा आउने वस्तुहरुको
विकास हुन्छ । त्यो महापुरुषको शरीर रहुन्जेल, उ द्वारा स्वाभाविक
प्राणीहरुको उपकार भइरहन्छ ।
शरीर-निर्वाह
मात्रको आवश्यकता 'महाशनः' र 'महापाप्मा' होइन, किनकि शरीर-निर्वाहमात्रको
आवश्यकता 'कामना' होइन । आवश्यकताको पूर्ति हुन्छ; जस्तो -- भोक लाग्छ,
भोजन गरेपछि तृप्ति भयो, तर कामनाको वृद्धि हुन्छ ।
संसारिक पदार्थहरुको कामनाको त्याग हुँदा सुख-शान्तिको अनुभव हुन्छ; तर हामी अज्ञानवश पदार्थहरुवाट हुने सुखलाई
सुख मान्छौं । यसरी हामीले पदार्थहरुको कामनालाई नै सुखको कारण मानेर
त्यसलाई (कामना) आफ्नो मित्र, हितैषी मानिरहेका छौं ।यही मान्यताले गर्दा
हाम्रो कामना कहिले पनि छुट्दैन । यसैले, भगवान हामीलाई भनिरहनु भएको छ,
'यो कामनालाई वैरी जान' । यो कामना वैरी हुनाले नै यसले हाम्रो विवेकलाई
ढाकेर हामीलाई पापमा लगाइदिन्छ ।
संसारका
सम्पूर्ण पापहरु,दुःखहरु, नरकहरुको मूल कामना नै हो । यो लोक र परलोकमा
दुःख पाउनुको एक मात्र कारण असत् को कामनाको कारण नै हो । कामनामा सबै दुःख
छन्, यसमा कुनै पनि सुख हुँदैन।
कामना नाश गर्ने
मुख्य उपाय हो -- अरुको सेवा गर्ने, अरुलाई सुख पुर्याउने । अरु शरीरधारी त
अरु भइहाले, आफ्नो भनिने शरीर, इन्द्रियहरु, मन, बुद्धि र प्राण पनि अरु
नै हुन् । अतः यिनीहरुको निर्वाह पनि सेवा बुद्धिले गर्ने हो, भोगबुद्धिले
होइन ।
कर्मयोगमा स्थूल
शरीर द्वारा हुने 'क्रिया', सूक्ष्म शरीर द्वारा हुने 'चिन्तन' र कारण
शरीर द्वारा हुने 'स्थिरता' आफ़्नोलागि होइनन्, संसारकोलागि हुन् । कारण,
स्थूल शरीरको स्थूल संसारसँग, सूक्ष्म शरीरको सूक्ष्म संसारसँग र कारण
शरीरको कारण संसारसँग एकता छ । अतः शरीर, पदार्थ र क्रियाले अरुको सेवा
गर्नु त उचित छ, तर आफूमा सेवकपनको अभिमान गर्नु उचित छैन । सूक्ष्म-शरीरले
परहितको चिन्तन गर्नु उचित छ, तर त्यो चिन्तनवाट सुख लिनु अनुचित छ । कारण
शरीर द्वारा स्थिर हुनु उचित छ,तर त्यो स्थिरताको सुख लिनु अनुचित छ ।
यस्तो किसिमले सुख लिने वानी नगरे फलको आसक्ति हट्छ, फलको आसक्ति हटेपछि
कर्मको आसक्ति सजिलैसँग हट्छ ।
'मेरो आदेश
चलोस्, अरुहरु मेरो आज्ञामा चलून्, यो वस्तु मलाई काम लागोस्, मेरो कुरो
सदर होस्' यस्ता विचारहरु कामनाकै स्वरूप हुन् । उत्पत्ति-विनाशशील (असत्)
संसारवाट केही लिने कामनाले महान् अनर्थ गर्छ । अरुको न्याययुक्त कामना
(जसमा अरुको हित होस् र त्यो कामना पूर्ण गर्ने सामर्थ्य हामीमा होस्) पूरा
गर्दा आफ्नो कामनाको त्यागको वल आउँछ । केही गरी अरुको कामना पूरा गर्न
सकिएन भने पनि पूरा गर्ने इच्छा हाम्रो हृदयमा हरदम रहोस् ।
तादात्म्य --
अहंता (आफूलाई शरीर मान्नु), ममता (शरीर आदि पदार्थलाई आफ्नो मान्नु) र
कामना (फलानो वस्तु मिलोस्) भन्ने तीनै भावले संसारमा वांधिइन्छ ।
तादात्म्यले परिच्छिन्नता, ममताले विकार र कामनाले अशान्ति पैदा हुन्छ ।
कामनाको त्यागले ममता र ममताको त्यागले तादात्म्य हट्छ । कर्मयोगी
सिद्धान्तले यी मध्ये कुनैसँग पनि आफ्नो सम्बन्ध मान्दैन; किनकि उ शरीर, मन
बुद्धि, अहम्, पदार्थ आदि कसैलाई पनि आफ्नो र आफ्नोलागि मान्दैन, ऊ यी
शरीर आदि पदार्थलाई केवल संसारको र संसारको सेवाकोलागि मान्छ, जुन वास्तवमा
हो पनि ।
वस्तु, व्यक्ति र
क्रियावाट सुख खोज्नुको नाम नै कामना हो । यो काम-रूप एउटा दोषमा अनन्त
दोष, अनन्त विकार, अनन्त पापहरु भरिएका छन् । अतः मनुष्य भित्र काम
रहुन्जेल सर्वथा निर्दोष, निर्विकार, निष्पाप हुन सक्तैन । आफ्नो सुखकोलागि
केही चाहँदा नै खरावी हुन्छ । कसैसँग केही नखोज्ने व्यक्ति दोषरहित हुन
सक्छ ।
कर्मफल तीन प्रकारका हुन्छन् -- इष्ट, अनिष्ट र मिश्र । यी तीन मध्ये कामको फल 'अनिष्ट' नै हुन्छ ।
शास्त्रनिषिद्ध
कर्म प्रारब्धवाट हुने होइन, कामवाट हुन्छ । प्रारब्धवाट (फलभोगकोलागि)
कर्म गर्ने वृत्ति त हुन्छ, निषिद्ध कर्म हुँदैन; किनकि प्रारब्धको फल
भोग्नकोलागि निषिद्ध आचरणको जरुरत छैन ।
Saturday, 2 August 2014
130. No. 97 श्लोक ३६ हे वार्षणेय ! फेरि यो मनुष्य नचाहँदा नचाहँदै पनि (कसैले) लगाए जस्तो गरी कसवाट प्रेरित भएर पापको आचरण गर्छ ?
No. 97
श्लोक ३६
भगवान भन्नुहुन्छ
श्लोक ३७
कामनाको पूर्ति भएपछि लोभ हुन्छ;
लोभमा वाधा पुग्दा (वाधा पुर्याउनेसंग) क्रोध हुन्छ । यदि वाधा पुर्याउने
व्यक्ति आफूभन्दा वढी शक्तिशाली भए क्रोध नउठेर भय हुन्छ । यसैले गीतामा
ठाउँ ठाउँमा काम र क्रोध संगसंगै भयको पनि उल्लेख देखिन्छ ।
129. No. 96 श्लोक ३५ राम्रोसँग आचरणमा ल्याइएको अरुको धर्म भन्दा गुणहरु कम भए पनि आफ्नो धर्म श्रेष्ठ छ ।
No. 96
श्लोक ३५
श्लोक ३५
राम्रोसँग आचरणमा ल्याइएको अरुको धर्म भन्दा गुणहरु कम भए पनि आफ्नो धर्म श्रेष्ठ छ । आफ्नो धर्ममा मर्न पनि कल्याणकारक छ र अरुको धर्म डरलाग्दो छ ।
स्वधर्म पालन गर्ने मनुष्यको दृष्टि धर्ममा नै हुन्छ । धर्ममा दृष्टि रहँदा उसको धर्मसँग सम्बन्ध रहन्छ ।
परमात्मप्राप्ति चाहने साधकलाई धन, मान, वड़ाई, आदर, आराम, पाउने इच्छा हुँदैन । यही कारण धन, मान नपाउँदा उसलाई कुनै चिन्ता हुँदैन र यदि प्रारव्धद्वारा पाई नै हाले पनि उसलाई कुनै प्रसन्नता हुँदैन । किनकि उसको ध्येय केवल परमात्मा पाउने मात्रै हुन्छ, धन, मान पाउने हुँदैन । त्यसैले त्यस्तो साधकद्वारा कर्तव्यरूपले मिलेको लौकिक कार्यहरु पनि सुचारुरुपले र पवित्रतापूर्वक हुन्छन् । परमात्मप्राप्तिको उद्देश्य भएकोले उसका सबै कर्म परमात्माकोलागि नै हुन्छन् । परमात्मप्राप्तिको लक्ष रहँदा संसारमा पराजय, हानि, कष्ट आदि पाउँदा पनि साधकको अन्तःकरणमा स्वाभाविक प्रसन्नता रहन्छ । अनुकूल-प्रतिकूल परिस्थितिहरु उसकोलागि साधन सामग्री हुन्छन् ।
आफ्नो कल्याण चाहने साधकले दृढ निश्चय गरेर
आफ्नो स्वधर्म (आफ्नो स्वाभाविक कर्म) को पालनमा तत्परतापूर्वक लाग्दा
कुनै कष्ट, दुःख आउँदा पनि ऊ स्वधर्मदेखि विचलित हुँदैन । यति मात्रै होइन,
ती दुःख,कष्ट पनि उसलाई तपस्याले जस्तो प्रसन्न वनाउँछन् ।
शरीरलाई 'म' र 'मेरो मान्दा नै संसारमा राग-द्वेष हुन्छ । राग-द्वेष रहनाले हामीलाई स्वधर्म-परधर्मको ज्ञान हुँदैन । यदि शरीर 'म' (स्वरूप) हुँदो हो त 'म' रहँदा शरीर पनि रहने थियो र शरीर नरहँदा 'म' पनि रहने थिएन । यदि शरीर 'मेरो' भए यो शरीर पाएपछि अरु केही पाउने इच्छा हुनु नपर्ने । इच्छा रहिरहे यो सिद्ध भयो, वास्तवमा 'मेरो' (आफ्नो) वस्तु अझसम्म पाइएको छैन र पाइएको वस्तु पनि आफ्नो होइन ।
शरीरलाई हामी आफूले ल्याएका होइनौं, यहाँवाट जाँदा लिएर जान सक्ने पनि होइनौं, यसलाई आफ्नो इच्छा अनुसार परिवर्तन गर्न सक्ने पनि होइनौं, अनि यो शरीर 'मेरो' कसरी हुने ? 'शरीर म होइन र शरीर मेरो होइन' भन्ने विवेक हामीलाई हरदम भइ नै रहेको हुन्छ । तर हामीले यो ज्ञानलाई महत्व नदिंदा हाम्रो राग-द्वेष नमेटिएको हो । यदि हामीले आफूमा भएको विवेकलाई महत्व दियौं भने वास्तविक तत्वको बोध हुनेछ हामीलाई । बोध भएपछि राग-द्वेष रहँदैनन् । राग-द्वेष नरहेपछि हाम्रो अन्तःकरणमा स्वधर्म-परधर्मको ज्ञान स्वतः प्रकट हुन्छ र त्यही अनुसार हाम्रा चेष्टा (कोशीश)हरु पनि हुन्छन् ।
परधर्मको पालन गर्न अहिले (वर्तमानमा) सजिलो जस्तो भए पनि पछि गएर यो भयावह हुन्छ । 'स्वार्थभाव'लाई त्यागेर अरुको हितकोलागि स्वधर्मको पालन गरे हामीलाई कुनै भय हुने छैन ।
परमात्मा र उहाँको अंश (जीवात्मा) 'स्वयं' हो तथा प्रकृति र प्रकृतिको
कार्य (शरीर र संसार) 'अन्य' हो । स्वयंको धर्म 'स्वधर्म' हो र अन्यको धर्म
'परधर्म' हो । सूक्ष्म दृष्टिले हेर्ने हो भने निर्विकरता, निर्दोषता,
अविनाशिता, नित्यता, निश्कमता, निर्ममता स्वयंका धर्म हुन्, ती सबै
'स्वधर्म' हुन् । उत्पन्न हुने, उत्पन्न भएर रहनु, वदलिनु, वढ्नु, क्षीण
हुनु तथा नष्ट हुनु त्यस्तै, भोग र संग्रहको इच्छा, मान-वड़ाईको इच्छा आदि
शरीरका धर्म जति 'परधर्म' हुन् । स्वयंमा कहिले, कुनै परिवर्तन हुँदैन,
यसैले स्वयंको नाश हुँदैन; तर शरीरमा निरन्तर परिवर्तन भइरहन्छ, यसैले
शरीरको नाश हुन्छ । यो दृष्टिले स्वधर्म अविनाशी र परधर्म नाशवान् हो ।
त्याग (कर्मयोग), बोध (ज्ञानयोग) र प्रेम (भक्तियोग) -- यी तीनै स्वतःसिद्ध भएकोले स्वधर्म हुन् । स्वधर्ममा अभ्यासको आवश्यकता पर्दैन; किनकि अभ्यास शरीरको सम्बन्धले हुन्छ र शरीरको सम्बन्धले जे जति हुन्छन्, ती सबै परधर्म हुन् ।
त्याग (कर्मयोग), बोध (ज्ञानयोग) र प्रेम (भक्तियोग) -- यी तीनै स्वतःसिद्ध भएकोले स्वधर्म हुन् । स्वधर्ममा अभ्यासको आवश्यकता पर्दैन; किनकि अभ्यास शरीरको सम्बन्धले हुन्छ र शरीरको सम्बन्धले जे जति हुन्छन्, ती सबै परधर्म हुन् ।
योगी हुनु स्वधर्म हो, भोगी हुनु परधर्म हो ।
निर्लिप्त रहनु स्वधर्म हो, लिप्त हुनु परधर्म हो । सेवा गर्नु स्वधर्म हो,
सेवा खोज्नु परधर्म हो । प्रेमी हुनु स्वधर्म हो, रागी हुनु परधर्म हो ।
निष्काम, निर्मम र अनासक्त हुनु स्वधर्म हो, कामना, ममता र आसक्ति गर्नु
परधर्म हो । छोटोमा, प्रकृतिसँगको सम्बन्ध विना (स्वयं)मा हुने सबै
'स्वधर्म' हुन् र प्रकृतिको सम्बन्धले हुने सबै 'परधर्म' हुन् । स्वधर्म
चिन्मय-धर्म र परधर्म जडधर्म हो ।
परमात्माको अंश (शरीरी) 'स्व' हो र प्रकृतिको अंश (शरीर) 'पर' हो । 'स्व'का दुई अर्थ हुन्छन् -- (१) 'स्वयं'; (२) 'स्वकीय' अर्थात् परमात्मा । यो दृष्टिले आफ्नो स्वरूपबोधको इच्छा तथा स्वकीय परमात्माको इच्छा -- दुवै स्वधर्म हुन् ।
पुरुष (चेतन)को धर्म हो -- स्वतःसिद्ध स्वाभाविक स्थिति र
प्रकृति (जड)को धर्म हो -- स्वतःसिद्ध स्वाभाविक परिवर्तन शीलता । पुरुषको
धर्म 'स्वधर्म' र प्रकृतिको धर्म 'परधर्म' हो ।
हामीमा दुई किसिमको इच्छा रहन्छ -- 'सांसारिक' अर्थात् भोग एवं संग्रहको
इच्छा र 'परमर्थिक' अर्थात् आफ्नो कल्याणको इच्छा । भोग र संग्रहको इच्छा
'परधर्म' अर्थात् शरीरको धर्म हो; किनकि असत् शरीरसँग सम्बन्ध जोड्दा नै
भोग र संग्रहको इच्छा हुने हो । आफ्नो कल्याणको इच्छा 'स्वधर्म' हो,किनकि
परमात्माको नै अंश हुनाले स्वयम्को इच्छा परमात्माको नै हो, संसारको होइन ।
स्वधर्म पालन गर्न मनुष्य स्वतन्त्र छ; किनकि आफ्नो कल्याण गर्न शरीर, इन्द्रियहरु, मन, बुद्धि आदिको आवश्यकता छैन, वरु यिनीहरुदेखि विमुख हुने आवश्यकता छ । शरीर आदिको सहायता विना परधर्मको पालन हुने सक्तैन ।
स्वयं परमात्माको अंश हो र शरीर संसारको अंश हो । मनुष्यले परमात्मालाई आफ्नो मान्नु उसकोलागि 'स्वधर्म' हुन्छ, र संसारलाई आफ्नो मान्नु उसकोलागि 'परधर्म' हुन्छ । शरीरसँग आफ्नो सम्बन्ध नमानेर परमात्मप्राप्तिकोलागि साधन गर्ने मनुष्यको त्यो साधन पनि 'स्वधर्म' हुन्छ । नित्यप्राप्त परमात्मा अथवा आफ्नो स्वरूपको अनुभव गर्ने सबै साधनहरु 'स्वधर्म' हुन्, र संसारतिर लैजाने सबै कर्म 'परधर्म' हुन् । यो दृष्टिले हेर्दा, कर्मयोग, ज्ञानयोग र भक्तियोग -- तीनै योगमार्ग सबै मनुष्यको 'स्वधर्म' हुन् । यसको उल्टो शरीरसंग आफ्नो सम्बन्ध मानेर भोग र संग्रहमा लाग्नु मनुष्यको 'परधर्म' हो ।
तीनै शरीर -- स्थूल, सुक्ष्म र कारण -- गरिने तीर्थ, व्रत, दान, तप, चिन्तन, ध्यान, समाधि सबै कर्म सकामभावले अर्थात् आफ़्नोलागि गरे 'परधर्म' हुन्छ र निष्कामभावले अर्थात् अरुको हितकोलागि गरे 'स्वधर्म' हुन्छ । किनभने स्वरूप निष्काम छ र सकामभाव आउने नै प्रकृतिको सम्बन्धले हो । त्यसैले कामना हुँदा 'परधर्म' हुन्छ । स्वधर्म मुक्त गर्ने र परधर्म वांधने खालको हुन्छ ।
हाम्रो खास काम हो -- परधर्मदेखि विमुख हुने र स्वधर्मको सम्मुख हुने । यस्तो गर्न हामी (मनुष्य) नै सक्छौं । स्वधर्मको सिद्धिकोलागि नै मनुष्य शरीर मिलेको छ हामीलाई । परधर्म त् अरु योनिहरुमा तथा भोगप्रधान स्वर्गादि लोकहरुमा पनि
संसारमा हुने जति सबै दुःख, शोक, चिन्ता सबै परधर्मको आश्रय लिंदा नै हुन्छन् । परधर्मको आश्रय छोडेर स्वधर्मको आश्रय लिंदा सदैव, सर्वथा, सर्वदा रहने आनन्दको प्राप्ति हुन्छ ।
128. No. 95 श्लोक ३४ इन्द्रिय-इन्द्रियको अर्थमा (प्रत्येक इन्द्रियको प्रत्येक विषयमा)
No. 95
श्लोक ३४ इन्द्रिय-इन्द्रियको अर्थमा (प्रत्येक इन्द्रियको प्रत्येक विषयमा) व्यक्तिको राग र द्वेष व्यवस्थाले नै अनुकूलता र प्रतिकूलतालाई लिएर रहन्छ । मनुष्यले ती दुईको वशमा पर्नु हुन्न; किनकि ती दुई नै मनुष्यको पारमार्थिक मार्गमा बिघ्न पार्ने शत्रु हुन् ।
राग-द्वेषदेखि सर्वथा रहित
महापुरुषको अन्तःकरण अत्यन्त शुद्ध र निर्मल भएको हुँदा उसमा स्वतः
वेदहरुको अर्थ प्रकट हुन्छ । उसको अन्तःकरणमा आएका कुराहरु शास्त्र अनुकूल
नै हुन्छन् । उसवाट हुने सबै क्रियाहरु निषिद्ध हुँदै हुँदैनन् । उसको
स्वभाव नै स्वतः शास्त्र अनुसार वन्छ । यही कारणले यस्ता महापुरुषका आचरण र
वचन अरु मनुष्यहरुकोलागि आदर्श हुन्छ । त्यस्ता महापुरुषका आचरण र वचन
अनुसार चल्यो भने पनि साधकको राग-द्वेष हट्छ ।
कसैको यस्तो विचार पनि हुन्छ,
राग-द्वेष अन्तःकरणको धर्म हो; त्यसैले यिनलाई हटाउन सकिंदैन । तर यो कुरा
होइन । वास्तवमा राग-द्वेष अन्तःकरणका विकार हुन्, धर्म होइनन् । यदि
राग-द्वेष अन्तःकरणका धर्म हुँदा हुन् त अन्तःकरण जाग्रत रहँदा राग-द्वेष
पनि रहनुपर्ने अर्थात् राग-द्वेषको प्रतीति सँधै हुनुपर्ने । तर
राग-द्वेषको प्रतीति सँधै नभएर कहिले काहिं मात्रै हुन्छ । साधन गरेपछि
राग-द्वेष विस्तारै कम पनि हुन्छन् । कम हुने वस्तु मेटिइन्छ । त्यसैले यो
मान्नुपर्छ, राग-द्वेष अन्तःकरणका धर्म होइनन् । भगवानले पनि राग-द्वेषलाई
मनमा रहने भन्नुभएको छ, अर्थात्, यी मनमा आउने भएकाले सँधै रहिरहने होइनन् ।
अझ भगवानले त राग-द्वेषलाई विकार पनि भन्नुभएको छ ।
प्रकृति जड र पुरुष (चेतन) -- दुवै
छुट्टा छुट्टै छन् । यी दुइको विवेक स्वतः सिद्ध छ । पुरुष यो विवेकलाई
महत्व नदिएर प्रकृतिजन्य शरीरसँग एकता गर्छ र आफूलाई एकदेशीय मान्छ । यो
जड-चेतनको तादात्म्यलाई नै 'अहम्' (म) भनिन्छ, र यही 'अहम्'मा राग-द्वेष
हुन्छ र राग-द्वेषले अहम् ता पुष्ट हुन्छ । यही राग-द्वेष बुद्धिमा प्रतीत
हुन्छ, जसले गर्दा मनलाई अनुकूल कुराहरु प्रिय र मनलाई प्रतिकूल कुराहरु
अप्रिय लाग्छन् । त्यसपछि यही राग-द्वेष इन्द्रियहरुमा देखिन्छन्, जसले
गर्दा इन्द्रियहरुलाइ अनुकूल विषय प्रिय र प्रतिकूल विषय अप्रिय लाग्छन् ।
यही राग-द्वेष इन्द्रियहरुका विषयहरुमा (शब्द, स्पर्श, रुप, रस, गन्ध)
आफ्नो अनुकूल र प्रतिकूल भावनालाई लिएर प्रतीत हुन्छन् । त्यसपछि जड-चेतनको
ग्रन्थिरूप अहंता (म-पना) मेटिएपछि राग-द्वेषको सर्वथा अभाव हुन्छ; किनकि
'अहंता'मा नै राग-द्वेष टिकेको हुन्छ ।
म सेवक हुँ, म जिज्ञासु हुँ, म भक्त
हुँ -- यी सेवक, जिज्ञासु र भक्त जेमा रहन्छन्, त्यही 'म'मा राग-द्वेष पनि
रहन्छन् । राग-द्वेष न केवल जडमा रहन्छन्, न केवल चेतनमा, यिनीहरु
जड-चेतनको मानिएको सम्बन्धमा रहन्छन् । जड-चेतनको मानिएको सम्बन्धमा रहे
पनि यी मुख्यतया जडमा रहन्छन् । जड-चेतनको तादात्म्यमा जडको आकर्षण जड
अंशमा नै रहन्छ, तर तादात्म्य भएकोले त्यो आकर्षण चेतनमा देखिन्छ । जडको
आकर्षण नै राग हो । अतः शरीर (जड)लाई नै आफ्नो स्वरूप मान्ने साधकलाई
राग-द्वेष हटाउन गाहारो हुन्छ । तर चेतन-स्वरूपतिर दृष्टि रहँदा साधकलाई
राग-द्वेष हटाउन गाहारो लाग्दैन । किनकि राग-द्वेष स्वतःसिद्ध छैन, खालि
जड(असत्)को सम्बन्धवाट उत्पन्न हुने हुन् ।
सत्संग, भजन, ध्यानमा 'राग' भए
संसारसँग द्वेष हुन्छ । तर 'प्रेम' भए संसारसँग द्वेष हुँदैन, वरु संसारको
उपेक्षा (विमुखता) हुन्छ । संसारको कुनै वस्तुमा राग भएपछि अर्को विषयमा
द्वेष हुन्छ, तर भगवानमा प्रेम भएपछि संसारसँग वैराग्य हुन्छ । वैराग्य
भएपछि संसारसँग सुख लिने भावना समाप्त हुन्छ र संसारको सेवा स्वतः हुन्छ ।
यसवाट शरीर, इन्द्रीयहरू, मन र बुद्धि सँगसँगै 'अहम्' पनि स्वतः संसारको
सेवामा लाग्छ । परिणामस्वरूप शरीर आदिसँग पनि सम्बन्ध विच्छेद भएपछि अहम्
मा रहने राग-द्वेष सर्वथा नष्ट हुन्छ ।
मनुष्यका क्रियाहरु स्वभाव अथवा
सिद्धान्तलाई लिएर हुन्छन् । केवल आध्यात्मिक उन्नतिकोलागि कर्म गर्नु
सिद्धान्तलाई लिएर कर्म गर्नु हो । स्वभाव दुई किसिमका हुन्छन् -- (१)
रागद्वेषरहित (शुद्ध) र (२) राग-द्वेषयुक्त (अशुद्ध) । स्वभाव एकदमै मेट्न त
सकिंदैन, तर त्यो स्वभावलाई शुद्ध वनाउन अर्थात् रागद्वेषरहित वनाउन
सकिन्छ । हाम्रा स्वाभाविक कर्मको प्रवाह त मेट्न सकिंदैन, तर त्यो
प्रवाहलाई वदल्न सकिन्छ, अर्थात् त्यो कर्मलाई राग-द्वेषरहित वनाउन सकिन्छ
। गीताको मार्मिक सिद्धान्त नै यही हो । रागद्वेष अनुसार हुने जति
क्रियाहरुमा प्रवृत्ति र निवृत्ति भन्दा पनि राग-द्वेष नै वाधक हुन् । यही
कारण भगवानले राग-द्वेषको त्यागीलाई नै सच्चा त्यागी भन्नुभएको हो ।
हामीहरु धेरै जसालाई राग-द्वेषतिर ध्यान नगएकोले
हाम्रो प्रवृत्ति र निवृत्ति पनि राग-द्वेषपूर्वक हुन्छ । त्यसैले
राग-द्वेषरहित हुन हामीले सिद्धान्तलाई आफ्नो विचारमा राखेर नै सबै
कर्महरु गर्नुपर्छ । त्यसपछि हाम्रो स्वभाव स्वतः सिद्धान्त अनुरूप र शुद्ध
हुनेछ ।
राग- द्वेषयुक्त
स्फूरणाहरु उत्पन्न भएपछि ती स्फूरणा अनुसार कर्म गर्दा राग-द्वेष पुष्ट
हुन्छन् र ती स्फूरणा अनुसार कर्म नगरेर सिद्धान्त अनुसार कर्म गरे
राग-द्वेष मेटिन्छन् ।
मनको शुभ अथवा
अशुभ स्फूरणामा राग-द्वेष हुनु हुँदैन । हामीले आफ्नो मनमा हुने
स्फूरणाहरुलाई स्वयंमा नमानेर ती स्फूरणाहरुसँग कुनै पनि सम्बन्ध नाजोड़ने,
ती स्फूरणालाई समर्थन पनि नगर्ने, विरोध पनि नगर्ने।
यदि हामी आफूलाई
राग-द्वेषको निवारण गर्न असमर्थ ठान्छौं भने हामीले सर्वसमर्थ परम प्रभुको
शरणमा जानुपर्छ । त्यसो गरे प्रभुको कृपाले राग-द्वेष हट्न सक्छ र परम
शान्ति प्राप्त हुन्छ। मानिएको 'अहं' सहित शरीर, इन्द्रियहरु, मन, बुद्धि,
प्राण र संसारिक पदार्थहरु सबै भगवानका नै हुन् भन्ने मान्नु नै भगवानको
शरण हुनु हो । त्यसपछि भगवानको प्रसन्नताकोलागि, भगवानवाट प्राप्त भएको
सामग्रीले भगवानका नै सन्तानको सेवा गरिदिने हो र त्यो सेवाको वदलामा
आफूले केही नचाहने हो ।
निष्कामभावपूर्वक
हुने संसारको सेवा नै राग-द्वेष हटाउने उत्तम उपाय हो । हाम्रो स्थूल,
सूक्ष्म र कारण शरीरदेखि लिएर मानिएको 'अहं'सम्मको सम्पूर्ण वस्तु संसारको
सेवामा लगाइदिने हो । किनकि यी सबै पदार्थ संसारका नै हुन्, संसारदेखि
अभिन्न हुन् । यी पदार्थहरुलाई संसारदेखि छुट्टै (आफ्नो) मान्नु नै बन्धन
हो । स्थूल-शरीरका क्रियाहरु र पदार्थहरुको सुख, सूक्ष्म शरीरका चिन्तनको
सुख र कारण शरीरको स्थिरताको सुख हामीले लिनु हुँदैन । वास्तवमा मनुष्य
शरीर आफ्नो सुखकोलागि हुँदै होइन ।
अर्को कुरा,
हाम्रो शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ आदिवाट जुन संसारको सेवा
हुन्छ, ती सबै पदार्थ पनि संसारका नै अंश हुन् ।संसार त हाम्रो होइन भने
संसारको अंश आफ्नो कसरी हुन सक्छ ? यी शरीर र पदार्थलाई आफ्नो मान्दा साँचो
सेवा हुन सक्तैन हामीवाट । किनकि यिनीहरुलाई आफ्नो मान्दा नै हामीमा ममता र
स्वार्थभाव उत्पन्न हुन्छ । त्यसैले संसारको पदार्थ संसारको नै मानेर
कर्मयोग हुनसक्छ ।
Subscribe to:
Posts (Atom)