Friday, 22 August 2014

143. No.110 अर्जुनले भने श्लोक ४ हजुरको जन्म त अहिलेको हो र सूर्यको जन्म धेरै पुरानो हो;

No.110

अर्जुनले भने
श्लोक ४

हजुरको जन्म  त अहिलेको हो र सूर्यको जन्म धेरै पुरानो हो; त्यसैले हजुरले नै सृष्टिको आरम्भमा सूर्यलाई यो योग भन्नुभएको थियो भन्ने कुरा म कसरी बुझुं ?

हजुरको जन्म हालै केही वर्ष पहिले श्री वसुदेवजीको घरमा भएको हो, तर सूर्यको जन्म सृष्टिको आरम्भमा भएको थियो । त्यसैले हजुरले यो ज्ञान सूर्यलाई कसरी भन्नु भयो ?

अर्जुनको यो प्रश्नमा भगवानप्रति तर्क या आक्षेप छैन, जिज्ञासा छ । उनी भगवानको जन्म-सम्बन्धी रहस्य सजिलोसँग बुझ्ने दृष्टिले नै प्रश्न गर्छन्, किनकि आफ्नो जन्म-सम्बन्धी रहस्य प्रकट गर्न भगवान्  नै समर्थ हुनुहुन्छ । 

अर्जुनको यो प्रश्नको तात्पर्य, सूर्यलाई उपदेश दिएपछि सूर्यवंशको (मनु, इक्ष्वाकु आदि) कति पिंढीहरु वितिसके र हजुरको अवतार अहिलेको हो । त्यसैले हजुरले सृष्टिको आदिमा सूर्यलाई उपदेश कसरी दिनुभएको थियो भन्ने कुरो म राम्रोसँग बुझ्न चाहन्छु । सूर्य त अहिले पनि छन्, उनलाई अहिले पनि उपदेश दिन सकिन्छ । तर हजुरले सूर्यलाई उपदेश दिएपछि सूर्यवंशको परम्पराको पनि वर्णन गर्नुभयो । यो कुराले सिद्ध हुन्छ, हजुरले यो उपदेश सूर्यलाई अहिले दिनुभएको होइन । त्यसैले कल्पको आदिमा कसरी दिनुभयो ?

142. No. 109 श्लोक ३ (चारौं आध्याय) तिमी मेरो भक्त र प्यारो सखा हौ,

No. 109
श्लोक ३ (चारौं आध्याय)
तिमी मेरो भक्त र प्यारो सखा हौ, यसैले उही पुरातन योग आज मैले तिमीलाई भनेको छु, किनकि यो (योग) वडो उत्तम रहस्य हो ।


अर्जुन भगवानलाई आफ्नो सखा नै मान्थे, अव भगवान यो श्लोकमा आफ्नो सखा अर्जुनलाई दास्य सखा भन्नुहुन्छ । आदेश या उपदेश दास अथवा शिष्यलाई नै दिइन्छ, सखालाइ होइन । अर्जुन भगवानको शरण भएपछि नै भगवानको उपदेश शुरु भयो गीतामा ।

आफ्नो सखालाई भन्न नसकिने कुरो पनि आफ्नो शरणागत शिष्यलाई भन्न सकिन्छ । अर्जुन भगवानसँग दोस्रो अध्यायमा भन्छन्,'म हजुरको शिष्य हुँ, यसैले हजुरको शरण भएको मलाई शिक्षा दिनुहोस् ।' यसैले भगवान अर्जुन समक्ष आफूलाई प्रकट गर्नुहुन्छ, रहस्य खोलिदिनुहुन्छ ।

भगवानप्रति अर्जुनको धेरै विशेष भाव थियो, त्यसैले त उनले वैभव र अस्त्र-शस्त्रले सुसज्जित 'नारायणी सेना'को त्याग गरेर निःशस्त्र भगवानलाई आफ्नो 'सारथि' वनाए ।

हामी जस्ता साधारण व्यक्ति भगवानले दिनुभएको वस्तुहरुलाई आफ्नो मानिहाल्छन् (जुन आफ्नो हुँदै होइन), तर भगवानलाई आफ्नो मान्दैनन् (जो वास्तवमा आफ्नो हुनुहुन्छ) । त्यस्ता व्यक्तिहरु वैभवशाली भगवान नदेखेर उहाँको वैभव मात्रै देख्छन् ।  वैभवलाई साँचो मान्दा उनीहरुको दृष्टि भ्रमित हुन्छ । यसो हुँदा उनीहरुको दृष्टि भगवान तिर जाँदै जाँदैन । कति व्यक्ति त वैभव पाउनलाई नै भगवानको भजन गर्छन् । भगवान चाह्यो भने वैभव त पछि लागिहाल्छ, तर वैभव चाहँदा भगवान आउन सक्नु हुन्न । वैभव भक्तको चरणमा आउँछ, परन्तु साँचो भक्त वैभव पाउन भगवानको भजन गर्दैनन् । उनीहरु वैभव चाहँदैनन, भगवान नै चाहन्छन् । वैभव चाहने व्यक्ति वैभवको दास हुन्छन्, भगवान चाहने मनुष्य भगवानको भक्त हुन्छन् । अर्जुनले वैभव त्यागेर भगवान स्वीकार गरे, यही कारण, युद्ध क्षेत्रमा भीष्म, द्रोण, युधिष्ठिर आदि महापुरुष हुँदा हुँदै पनि खालि अर्जुनले मात्रै गीताको उपदेश सुन्न पाए र पछि उनलाई राज्य पनि मिल्यो ।

भगवान भन्नुहुन्छ, 'हे अर्जुन ! मैले यो भन्दा अघिल्ला दुई अध्याय (  दोस्रो र तेस्रो) मा तिमीलाई कर्मयोगको विषयमा जे भनें, त्यो ज्ञान पूर्ण छ ।' उहाँ भन्नुहुन्छ, 'सृष्टिको शुरुमा मैले सूर्यलाई भनेको ज्ञान अहिले तिमीलाई भनेको हुँ । धेरै समय वितेकोले त्यो ज्ञान थियो र म पनि अप्रकट थिएँ । अव म अवतार लिएर प्रकट भएको छु र यो योग (कर्मयोग) पनि पुनः प्रकट गरेको छु । त्यसैले अनादिकालदेखि मनुष्यहरूलाइ कर्मबन्धनवाट मुक्त गर्दै आएको कर्मयोग अव अरु मनुष्यहरुलाई पनि कर्मबन्धनवाट मुक्त गर्नेछ ।'  यहाँ भगवान 'उत्तम रहस्य' प्रकट गर्नुहुन्छ, 'मैले नै सृष्टिको शुरुमा सूर्यलाई उपदेश दिएको ज्ञान अहिले तिमीलाई भनें ।'

भगवानले अर्जुनलाई यसो भने जस्तो लाग्छ, 'तिम्रो सारथि वनेर तिम्रो आज्ञाको पालन गर्ने भएर पनि म तिमीलाई त्यही उपदेश दिइरहेछु, जुन उपदेश मैले सृष्टिको आदिमा सूर्यलाई दिएको थिएँ । म साक्षात् उही छु र अहिले अवतार लिएर गुप्तरीतिले प्रकट भएको छु -- यो कुरो निकै रहस्य छ । तिमी मेरो भक्त र प्रिय सखा भएको यो रहस्य म अहिले तिमीसँग प्रकट गर्दैछु ।'

 साधारण मनुष्यको कुरा के गर्ने, साधकको दृष्टि पनि उपदेशतिर वढी उपदेष्टातिर (उपदेश गर्ने व्यक्ति)तिर कम जान्छ । यो प्रसंग सुन्दा-पढ्दा उपदिष्ट 'योग'तिर त दृष्टि जान्छ, तर उपदेष्टा भगवान श्रीकृष्ण नै आदि नारायण हुनुहुन्छ भन्नेतिर दृष्टि जाँदैन । साधारण तरिकाले बुझ्न नसकिने कुरो रहस्य हुन्छ । भगवान यहाँ 'रहस्य' शब्दले यो भन्नुहुन्छ, साधकको दृष्टि सर्वथा भगवानतिर हुनुपर्छ ।

आफूले आफूलाई 'उपदेष्टा' भनेर भगवान आफूलाई सम्पूर्ण  मानवको गुरु भन्ने आशय व्यक्त गर्नुहुन्छ । कुनै नाटककार नाटक खेलेको वेलामा दर्शकहरुको अगाडि आफ्नो सक्कली स्वरूप प्रकट गर्दैन, त कुनै आत्मीय व्यक्ति अगाडि आफूलाई प्रकट गरिदिन्छ । त्यस्तै मनुष्य अवतारको समयमा पनि भगवान अर्जुनको सामुन्ने आफ्नो ईश्वरभाव प्रकट गरिदिनु हुन्छ, जुन कुरो लुकाउनु पर्ने थियो, त्यही कुरो यहाँ प्रकट भयो। यही उत्तम रहस्य हो ।

कर्मयोगलाई पनि उत्तम रहस्य मान्न सकिन्छ । जुन कर्मले जीव वान्धिन्छ, त्यही कर्मले मुक्त हुने कुरो नै उत्तम रहस्य भयो । पदार्थहरुलाई आफ्नो मानेर आफ़्नोलागि कर्म गर्दा बन्धन हुन्छ र पदार्थहरुलाई आफ्नो नमानेर (अरुको मानेर) केवल अरुको हितकोलागि निःस्वार्थभावपूर्वक सेवा गरे मुक्ति हुन्छ । अनुकूलता-प्रतिकूलता, धनवत्ता-निर्धनता, स्वस्थता-रुग्णता जस्ता परिस्थितिमा पनि यो कर्मयोगको पालन स्वतन्त्रतापूर्वक गर्न सकिन्छ । कर्मयोगको रहस्यमा तीन कुरा मुख्य छन् ।

(१) मेरो केही छैन (होइन) । किनकि मेरो स्वरूप सत् (अविनाशी) हो र जे सुकै मिलेको छ, ती सबै असत् हुन्, फेरि असत् मेरो कसरी हुन सक्छ? अनित्यको सम्बन्ध नित्यसँग कसरी हुन सक्छ ?

(२) मेरोलागि केही चाहिंदैन । किनकी स्वरूप (सत्)मा कहिले पनि अपूर्ति या कमी नै हुँदैन, फेरि कुन वस्तुको कामना गर्नु । अनुत्पन्न अविनाशी तत्वकोलागि उत्पन्न हुने नाशवान् वस्तु कसरी काम लाग्छन् ?

(३) आफ़्नोलागि केही गर्नु छैन । यसमा पहिलो कारण हो, स्वयं चेतन परमात्माको अंश हो र कर्म जड हो । स्वयं नित्य-निरन्तर रहन्छ, तर कर्मको र त्यसको फलको आदि र अन्त हुन्छ । यसैले आफ़्नोलागि कर्म गर्दा आदि-अन्तवाला कर्म र फलसँग सम्बन्ध जोडिन्छ । कर्म र फलको त अन्त हुन्छ, तर तिनीहरुसंगको आसक्ति आफूभित्र रहिरहन्छ । यो आसक्ति नै बन्धनको कारण हो ।

अर्को कारण, 'गर्ने' दायित्व गर्न सक्नेलाई, गर्न सक्ने योग्यता हुनेलाई र केही पाउन खोज्नेलाई  नै हुन्छ । निष्क्रिय, निर्विकार, अपरिवर्तनशील र पूर्ण भएको कारण चेतन स्वरूप शरीरको सम्बन्ध नभई केही गर्न सक्तैन । यसैले यो विधान मान्नै पर्छ, स्वरूपलाई आफ़्नोलागि केही गर्नु छैन ।

तेस्रो कारण हो, स्वरूप सत् छ र पूर्ण छ । अतः उसमा कहिले कमी नै आउँदैन । आउने सम्भावना पनि छैन । कमी नआएको कारण स्वरूपमा केही पाउने इच्छा पनि हुँदैन । यसवाट सिद्ध हुन्छ, स्वरूपमा 'गर्ने' दायित्व छैन, अर्थात् उसलाई आफ़्नोलागि केही गर्नु छैन ।

कर्मयोगमा 'कर्म' संसारकोलागि हुन्छन्, र 'योग' आफ़्नोलागि हुन्छ । परन्तु आफ़्नोलागि कर्म गर्दा योगको अनुभव हुँदैन । कर्महरुको प्रवाह पूरा-का-पूरा संसारतिर लागे 'योग' हुन्छ । कारण कि शरीर, इन्द्रियहरु मन, बुद्धि, पदार्थ, धन, सम्पत्ति जे जति हामीसँग छन्, ती सबै संसारसँग अभिन्न छन्, संसारका नै हुन् र तिनलाई संसारको सेवामा नै लगाउने हो । अतः पदार्थ र क्रियारूप संसारसँग सम्बन्ध-विच्छेद गर्न अरुकोलागि कर्म गर्नु छ । यही कर्मयोग हो । कर्मयोग सिद्ध भएपछि  गर्ने राग, पाउने लालसा, वाँच्ने इच्छा र मर्ने डर सबै मेटिन्छन् ।

सूर्यको प्रकाशमा मनुष्यहरू अनेक कर्म गर्छन्, तर सूर्यलाई ती कर्महरुसँग आफ्नो कुनै पनि सम्बन्ध हुँदैन, त्यस्तै नै 'स्वयं' चेतनको प्रकाशमा सम्पूर्ण कर्म हुन्छन्, तर 'स्वयं'को ती कर्महरुसँग कुनै पनि सम्बन्ध हुँदैन । किनकि 'स्वयं' चेतन तथा अपरिवर्तनशील छ र कर्म जड तथा परिवर्तनशील छन् । परन्तु जव 'स्वयं' भूलले ती पदार्थहरु र कर्महरुसँग अलिकति मात्रै पनि सम्बन्ध जोड्छ, अर्थात् तिनीहरुलाई आफ्नो र आफ़्नोलागि मान्छ, त्यसपछि ती कर्मले अवश्य नै उसलाई वाँध्छन् ।

नियत -कर्मको कुनै पनि हालतमा त्याग नगर्नु तथा नियत समयमा कार्यकोलागि तत्पर रहनु पनि सूर्यको विलक्षणता हो । कर्मयोगी पनि सूर्य जस्तो आफ्नो नियत कर्महरु नियत समयमा गर्न सँधै तत्पर रहन्छ ।

कर्मयोगको ठीक ठीक पालन गरियो भने हामीमा ज्ञानको संस्कार भए ज्ञानको प्राप्ति अथवा भक्तिको संस्कार भए भक्तिको प्राप्ति स्वतः हुन्छ । कर्मयोगको पालन गर्दा आफ्नो मात्रै होइन, सम्पूर्ण संसारको परम हित हुन्छ । अरुले देखून् या नदेखून्, बुझून् या नबुझून्, मानून् या नमानून्, आफ्नो कर्तव्यको ठीक ठीक पालन गरे अरुलाई पनि कर्तव्य-पालनको प्रेरणा स्वतः मिल्छ र यसरी सबैको सेवा पनि हुन्छ ।
                         
गीतामा भगवानले आफ्नो उपदेशको आरम्भमा सम्पुर्ण मनुष्यको, सम्पूर्ण जीवको अनुभवको वर्णन गर्नुभएको छ । 'म छु' -- आफ्नो सत्ता (हुनुपना)को अनुभव स्थावर-जंगम सबै प्राणीहरुको छ । 'म छु'को अनुभव वृक्ष, पर्वत आदिमा पनि छ, तर उनीहरु व्यक्त गर्न सक्तैनन् । पशु-पक्षीमा त यो अनुभव देख्न नै सकिन्छ । जस्तो, पशु-पक्षी एक आपसमा झगडा गर्दा आफ्नो सत्तालाई लिएर नै झगडा हुन्छ । यदि आफ्नो छुट्टै सत्ताको अनुभव नहुने भए उनीहरु किन झगडा गर्थे ? हामीलाई यो कुराको प्रत्यक्ष अनुभव छ, तर हामी यो अनुभवतिर दृष्टि नै दिंदैनौं, यो अनुभवको आदर नै गर्दैनौं । यो अनुभव अथवा विवेकलाई निजज्ञान भन्छन् । यो विवेक सबैमा स्वतः छ र भगवत्प्रदत्त (भगवानवाट मिलेको) छ ।

इन्द्रियहरु,मन, बुद्धि प्रकृतिका अंश हुन्, यसैले यीवाट हुने ज्ञान प्रकृतिजन्य छ । शास्त्रहरू पढेर सुनेर इन्द्रियहरुद्वारा पाइएको पारमार्थिक ज्ञान प्रकृतिजन्य नै हो । परमात्मतत्व यो प्रकृतिजन्य ज्ञान भन्दा अत्यन्त विलक्षण छ । त्यसैले परमात्मतत्व निजज्ञान (स्वयंद्वारा हुने ज्ञान)वाट नै जान्न सकिन्छ । निजज्ञान अर्थात् विवेकको महत्व दिइयो भने 'म को हुँ'? मेरो के हो ? जड र चेतन के हो ? प्रकृति र परमात्मा के हो ?' यस्ता कुरा जान्ने शक्ति आउँछ । यही विवेक कर्मयोगमा पनि काम लाग्छ ।

कर्मयोगमा विवेकको तीन कुराहरु मुख्य छन् -- (१) आफ्नो हुनुपना (म छु, म हुँ)मा सन्देह छैन र (२) अहिले पाइएका वस्तुहरुमा आफ्नो कुनै अधिकार छैन; किनकि ती पहिले पनि आफ्ना थिएनन्, पछि पनि आफ्ना रहँदैनन् । म (स्वयं) निरन्तर रहन्छु र यहाँ पाइएका वस्तुहरु -- शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि निरन्तर वदलिई  रहन्छन् र यिनीहरुको निरन्तर वियोग भइरहन्छ । कर्महरुको आरम्भ र समाप्ति भए जस्तै ती कर्महरुको फलको पनि संयोग र वियोग हुन्छ । यसैले कर्महरु र पदार्थहरुको सम्बन्ध संसारसँग छ, स्वयंसँग छैन । यसरी विवेक जाग्रत हुने वित्तिकै कामनाको नाश हुन्छ । कामनाको नाश हुँदा स्वतःसिद्ध निष्कामता प्रकट हुन्छ अर्थात् पूर्णतः सिद्धि  हुन्छ ।

कामनाले विवेक ढाकिन्छ । स्वार्थबुद्धि, भोग-बुद्धि, संग्रह-बुद्धि राख्दा मनुष्य आफ्नो कर्तव्यको ठीक-ठीक निर्णय गर्न सक्तैन । उ आफ्ना मानसिक उल्झन् लाई उल्झनले नै अर्थात् शरीर-इन्द्रियहरु, मन, बुद्धिले नै सुल्झाउन चाहन्छ र यही कारण वर्तमान परिस्थिति वदल्ने नै उद्योग गर्छ । तर परिस्थिति वदल्ने आफ्नो वशको कुरो होइन । त्यसैले उल्झन् सुल्झिनु भन्दा झन् झन् उल्झिइरहन्छन् । विवेक जाग्रत भएपछि स्वार्थ-बुद्धि, भोग-बुद्धि, संग्रह-बुद्धि रहँदैन, आफ्नो कर्तव्य स्पष्ट देखिन थाल्छ र सबै प्रकारका उल्झन् हरु स्वतः सुल्झिन्छन् ।

वाहिरी परिस्थिति कर्महरु अनुसार नै वन्छन् अर्थात् कर्महरुका नै फल हुन् । धनवत्ता-निर्धनता, निन्दा-स्तुति, आदर-निरादर, यस-अपयश, लाभ-हानि, जन्म-मरण, स्वस्थता-रुग्णता जस्ता सबै परिस्थितिहरु कर्महरुका अधीन छन् । शुभ र अशुभ कर्महरुको फलस्वरूप अनुकूल र प्रतिकूल परिस्थिति आफ्नो अगाडि आउँछन्, तर ती परिस्थितिहरुसँग सम्बन्ध जोडेर, तिनीहरुलाई आफ्नो मानेर सुखी-दुःखी हुनु मूर्खता हो । तात्पर्य, अनुकूल र प्रतिकूल परिस्थिति आउनु त कर्महरुका फल हुन्, ती फलहरुवाट सुखी-दुःखी हुनु मूर्खताको फल हो । कर्महरुको फल मेटाउनु आफ्नो हातको कुरा होइन, तर मूर्खता मेटाउनु आफ्नो हातको कुरा हो । मेटाउन सकिने मूर्खतालाई मेटाउन सक्तैनौं, वदल्न नसकिने परिस्थितिलाई वदल्न खोज्छौं -- यही नै हाम्रो ठूलो भूल हो । यही कारण, हामीले आफ्नो विवेकलाई महत्व दिएर यस्तो मूर्खता मेटाउनु पर्छ र अनुकूल र प्रतिकूल परिस्थितिहरुलाई सदुपयोग गर्दै ती परिस्थितिहरु भन्दा माथि उठ्नु अर्थात् असंग हुनुपर्छ । कुनै पनि परिस्थितिसँग सम्बन्ध नजोडेर तिनको सदुपयोग गर्ने अर्थात् अनुकूल परिस्थितिमा अरुको सेवा गर्ने तथा प्रतिकूल परिस्थितिमा दुःखी नहुने अर्थात् सुखको इच्छा नगर्ने व्यक्ति नै संसार-बन्धनदेखि सुगमतापूर्वक मुक्त हुन्छ ।

हामीले नखोजी आउने प्रतिकूल परिस्थिति पहिले गरिएका अशुभ (पाप) कर्महरुको नै फल हुन् । यसैले, पाप कर्म त गर्नै हुँदैन । कसैलाई कष्ट पुग्ने काम सपनामा गर्नु हुँदैन । तर वर्तमानमा पाप कर्म नगर्दा पनि पुराना पाप कर्महरुका फलस्वरूप परिस्थिति आउँदा अन्तःकरणमा चिन्ता, शोक, भय पनि आउँछन् । यही कारण हामी चिन्ता शोकलाई धेरै परिचित वनाउँछौं, अर्थात् चिन्ता, शोक, भय आउँदा सुखी-दुःखी हुन्छौं । हामीले यो विचार गर्नुपर्छ, 'आउने जाने परिस्थितिसँग सम्बन्ध जोडेर चिन्ता, शोक गर्नु गल्ति हो, अव यो गल्ति म कहिले पनि गर्दिन'। यस्तो गर्यो भने चिन्ता,शोक आउन छोड्छन् ।
विवेक पूर्ण जाग्रत नहुँदा पनि कर्मयोगीमा एक निश्चयात्मिका बुद्धि रहन्छ, आफ्नो नभएकोसँग सम्बन्ध विच्छेद गर्ने र सांसारिक सुखहरु नभोगेर केवल सेवा गर्ने । यो निश्चयात्मिका बुद्धिको कारण हाम्रो अन्तःकरणमा सांसारिक सुखहरुको महत्व रहँदैन । त्यसपछि 'भोगहरुमा सुख छ' भन्ने भ्रम हामीलाई कसैले पनि पार्न सक्तैन । यही एक निश्चय अटल राख्दा नै हाम्रो कल्याण हुन्छ । सत्संग-स्वाध्यायले यस्तो निश्चयात्मिका बुद्धिलाई बल पुग्छ । अतः हरेक साधकले (हामीले) यस्तो कल्याणकारी निश्चय वनाउनै पर्छ । यस्तो निश्चय वनाउन हामी सबै स्वाधीन छौं, पराधीन छैनौं । यसमा कसैको अलिकति पनि सहायताको आवश्यकता छैन, यसो गर्न हामी सबै बलवान् छौं ।

141. No.108 श्लोक २ हे परंतप ! यस्तो किसिमले परम्परावाट प्राप्त यो कर्मयोग राजर्षीहरुले जाने,

No.108
श्लोक २

हे परंतप ! यस्तो किसिमले परम्परावाट प्राप्त यो कर्मयोग राजर्षीहरुले जाने,  समय वित्दै जाँदा यो  योग  मनुष्यलोकमा लुप्त जस्तो भयो ।

सूर्य, मनु, इक्ष्वाकु राजाहरुले यो कर्मयोगलाइ राम्ररी जाने र यसको आचरण आफूले पनि गरे र आफ्ना  प्रजाहरुलाई पनि गराए । यसरी राजर्षीहरुवाट यो कर्मयोगको परम्परा चल्यो । यो कर्मयोग राजाहरुको (क्षत्रियहरु) खास (निजी) विद्या हो । यही कारण प्रत्येक राजाले यो विद्या जान्नुपर्छ । प्राचीनकालमा कर्मयोग जान्ने राजाहरु भोगहरुमा आसक्त नभई सुचारुरूपले राज्यको संचालन गर्ने गर्थे । प्रजाको हितमा उनीहरुको स्वाभाविक प्रवृत्ति हुन्थ्यो । ती राजाहरु प्रजासँग लिएका करको रकम प्रजाको नै हितमा लगाइदिन्थे, आफ्नो स्वार्थकोलागि अलिकति पनि  करको धन खर्च गर्दैनथे । आफ्नो जीवन निर्वाहकोलागि उनीहरु छुट्टै खेती आदि काम गराउँथे । कर्मयोगको पालन गरेको कारण ती राजाहरुलाई विलक्षण ज्ञान र भक्ति प्राप्त थियो । यही कारण, ठूला ऋषिहरु पनि ज्ञानकोलागि ती राजाहरुकहाँ जान्थे । महर्षि व्यासका छोरा शुकदेवजी ज्ञान-प्राप्तिकोलागि जनक राजाकहाँ गएको प्रसंग शास्त्रमा उल्लेख छ । त्यस्तै, ब्रह्मविद्या सिक्न छ ऋषिहरु मिलेर महाराज अश्वपतिकहाँ गएका थिए ।

परमात्मा नित्य हुनुहुन्छ र उहाँको प्राप्तिको साधन -- कर्मयोग, ज्ञानयोग, भक्तियोग पनि परमात्मा द्वारा निश्चित गरिएको हुनाले नित्य छ । त्यसैले, यी साधनहरुको कहिले पनि अभाव हुँदैन । यी योगहरु कसैको आचरणमा आएको नदेखिए पनि नित्य छन् । यसैले यो प्रसंगमा आएको 'नष्ट' शब्द नाश भन्ने नभई लुप्त, अप्रकट भन्नु नै हो, अभाव भन्नु होइन । यहाँ भगवानको अभिप्राय, यो अविनाशी कर्मयोगको तत्वले वर्णन गर्ने ग्रन्थहरुको र यसको तत्व जान्ने तथा यसलाई आचरणमा ल्याउने श्रेष्ठ पुरुषहरुको अभाव भएको जस्तो देखिनु हो ।

भगवान भन्नुहुन्छ, 'कल्पको शुरुमा मैले यो कर्मयोग सूर्यलाई भनेको थिएँ, फेरि परम्पराले यो ज्ञान (कर्मयोग) राजर्षीहरुले जाने । यसरी केही न केही अन्तर पर्दै गयो र धेरै समय वितेपछि अव यो कर्मयोग मनुष्यलोकमा लुप्तप्रायः भएको छ ।' यही कारण हो, वर्तमानमा पनि यो कर्मयोग सुन्न र देख्न धेरै कम पाइन्छ ।

कर्मयोगको आचरण लुप्तप्रायः भए पनि कर्मयोगको सिद्धान्त (आफ़्नोलागि केही नगर्ने) सँधै नै रहन्छ । किनकि यो सिद्धान्त आचरणमा नल्याई कुनै पनि योग (ज्ञानयोग, भक्तियोग)को साधन निरन्तर हुन सक्तैन । कर्म त सबै व्यक्तिलाई गर्नै पर्छ । ज्ञानयोगी विवेकद्वारा कर्महरूलाई नाशवान् मानेर कर्महरुसँग सम्बन्ध-विच्छेद गर्छ र भक्तियोगी कर्महरूलाई भगवानमा अर्पण गरेर कर्महरुसँग सम्बन्ध-विच्छेद गर्छ । अर्को शब्दमा, ज्ञानयोगी र भक्तियोगीले  कर्मयोगको सिद्धान्त त मान्नै पर्छ, कर्मयोगको सिद्धान्तको अनुष्ठान नगरे पनि । तात्पर्य, वर्तमानमा कर्मयोग लुप्तप्रायः भए पनि सिद्धान्तको रूपमा त विद्यमान नै छ ।

गहिरिएर हेर्दा, कर्मयोगमा 'कर्म' लुप्त भएको छैन, तर (कर्महरुको प्रवाह आफूतिर हुँदा) 'योग' नै लुप्त भएको हो ।  कर्म गरेर संसारको पदार्थ पाइए जस्तै परमात्मा पनि कर्म गरेर पाइन्छ भन्ने कुरो साधकहरुको मनमा गडेर रहेको हुन्छ । तर 'परमात्मा नित्यप्राप्त छ' भन्ने वास्ताविकतातिर उनीहरुको ध्यान नै जाँदैन । 'कर्म' सँधै संसारकोलागि नै हुन्छ र 'योग' सँधै आफ्नोलागि हुन्छ । 'योग'कोलागि कर्म भन्ने  कुरा त स्वतः सिद्ध छ । त्यसैले योग कर्म गरेर प्राप्त हुन्छ भन्ने मान्नु नै 'योग' लुप्त हुनु हो ।

मनुष्य शरीर कर्मयोग पालन गर्न अर्थात् निःस्वार्थभावले अरुको सेवा गर्न पाइएको हो । परन्तु हालै मनुष्यहरू रात-दिन आफ्नो सुख-सुबिधा, सम्मान आदि पाउनमा नै लागिरहेछन् । स्वार्थ धेरै वढेकोले अरुको सेवा गर्नेतिर उनीहरुको ध्यान नै जाँदैन । अतः मनुष्य शरीर पाइएको उद्देश्य विर्सनु नै कर्मयोग लुप्त हुनु हो । 

हामी सेवाद्वारा पशु-पक्षीदेखि लिएर मनुष्य, देवता, पितृ, ऋषि, सन्त-महात्मा र भगवानसम्मलाई आफ्नो वशमा गर्न सक्छौं। परन्तु सेवाभाव विर्सेर मनुष्य स्वयं भोगहरुको वशमा पर्यो, जसको परिणाम महान् दुःखदायी हुनेछ । यही नै कर्मयोग लोप हुनु हो ।

140. No.107 अघिल्लो श्लोकको नै वांकी

No.107
अघिल्लो श्लोकको नै वांकी 


क्रियाहरुमा र पदार्थहरुमा राग हुँदा अर्थात् ती क्रिया र पदार्थहरुसँग आफ्नो सम्बन्ध मान्दा कर्मयोग हुन पाउँदैन । गृहस्थ भई भई पनि सांसारिक भोगहरुमा अरूचि हुन्छ । यो नियम नै छ -- कुनै पनि भोग भोगौं, अन्तमा ती भोगहरुवाट अवश्य अरूचि भैहाल्छ । शुरु शुरुमा भोगमा भएको रुचि (कामना) भोग भोगेको समयमा हुँदैन, घट्दै जान्छ र आखिरमा समाप्त हुन्छ । तर, हाम्रो गल्ति यसैमा छ, आफूले अनुभव गरेको अरुचिलाई महत्व दिएर हामी त्यो अरुचि स्थायी वनाऊँदैनौं, त्यही अरुचिलाई नै तृप्ति (फल) मान्छौं । तर, वास्तवमा अरुचिमा थकावट अर्थात् भोग्ने शक्तिको अभाव नै  हुन्छ ।
 
कुनै कामना या रुचिको कुनै समय अभाव हुने भए त्यो रुचि या कामना वास्तवमा स्वयंको हुँदैन । कुनै वेला पनि अरुचि हुन सक्ने वस्तु, व्यक्ति र पदार्थसँग हाम्रो वास्तविक सम्बन्ध हुँदैन । हाम्रो वास्तविक सम्बन्ध नभएको सत्-स्वरूप परमात्मतत्वतिर लाग्न कहिले अरुचि हुँदैन , वरु रुचि वढ्दै जान्छ -- यहाँसम्म कि परमात्मतत्वको प्राप्ति भएपछि पनि 'प्रेम'को रूपमा त्यो रुचि वढ्दै जान्छ । 'स्वयं' पनि सत्-स्वरूप हो, यसैले आफ्नो अभावको रुचि पनि कसैलाई हुँदैन । कर्म, करण (शरीर, इन्द्रियहरु, मन, बुद्धि) र उपकरण (पदार्थ, अर्थात् कर्म गर्न उपयोगी सामग्री) -- यी तीनै उत्पन्न र नष्ट हुन्छन्, फेरि यीवाट पाइने फल कसरी नित्य होला ? त्यो पनि विनाशी नै होला । अविनाशीको प्राप्तिवाट पाइने तृप्ति विनाशी फलको प्राप्तिवाट कसरी हुन सक्छ ? यसैले हामीले कर्म, करण र उपकरणवाट नै सम्बन्ध-विच्छेद गर्नु छ ।  यो सम्बन्ध-विच्छेद त्यही वेला होला जव हामी केही पनि आफ्नोलागि  गर्दैनौं, आफ़्नोलागि केही पनि चाहँदैनौं, र आफ्नो केही मान्दैनौं, उल्टो, आफ्नो भनिने कर्म, करण र उपकरण --- यी तीनैसँग सम्बन्ध-विच्छेद गर्नकोलागि यिनलाई संसारको नै मानेर संसारको नै सेवामा लगाइदिन्छौं ।         

कर्म गर्दा पनि कर्मयोगीको कर्महरुमा कामना, ममता र आसक्ति हुँदैन, वरु ती कर्महरुमा प्रीति र तत्परता हुन्छ । कामना, ममता, आसक्तिले हामीलाई अपवित्र वनाउँछन् र प्रीति र तत्परताले हामीलाई पवित्र वनाउँछन् । कामना, ममता र आसक्तिले कुनै काम गर्दा पनि आफ्नो पतन र पदार्थको नाश हुन्छ, तथा त्यो कर्मको सम्झना वारम्वार आइरहन्छ अर्थात् त्यो कर्मसँग सम्बन्ध वनिरहन्छ । परन्तु प्रीति तथा तत्परतापूर्वक कर्म गरे आफ्नो उन्नति र पदार्थको सदुपयोग हुन्छ, नाश होइन; तथा त्यो कर्मको सम्झना फेरि आउँदैन अर्थात् त्यो कर्मसँग हाम्रो सम्बन्ध-विच्छेद हुन्छ । यसरी कर्मसँग सम्बन्ध विच्छेद हुने वित्तिकै नित्यप्राप्त स्वरूप अथवा परमात्मतत्वको अनुभव हुन्छ ।

कुनै पनि मनुष्य सजिलैसँग मान्न सक्छ, मसँग जे भए पनि मेरो होइन, अरु कसैवाट पाइएका हुन्; जस्तो -- शरीर माता-पितावाट मिलेको हो, विद्या-योग्यता गुरुहरुवाट मिलेको हो । तात्पर्य, एक अर्काको सहयोगले जीवन चल्छ । धनी भन्दा धनी व्यक्तिको जीवन पनि अरुको सहायता विना चल्न सक्तैन । हामीले कसैवाट केही लिएका छौं भने कसैलाई दिनु, सहायता गर्नु, सेवा गर्नु हाम्रो परम कर्तव्य हो । यसैको नाम कर्मयोग हो । यो कर्मयोगको पालन सम्पूर्ण मनुष्य गर्न सक्छ र यसको पालन गर्न लेश पनि असमर्थता तथा पराधीनता छैन ।

कर्तव्य त्यसैलाई भनिन्छ, जुन हामी सुखपूर्वक गर्न सक्छौं, जसलाई अवश्य गर्नुपर्छ अर्थात् जुन गर्ने योग्य छ र जे गर्दा आफ्नो उद्देश्यको सिद्धि हुन्छ । जुन कर्म हामी गर्न सक्तैनौं, त्यो कर्म गर्ने जिम्मेवारी कसैलाई पनि छैन र जुन कर्म गर्नुहुँदैन, त्यो कर्म त गर्न नै भएन । गर्न नहुने कर्म नगरे दुई अवस्था स्वतः आउँछन् । ती हुन् -- निर्विकल्प अवस्था अर्थात् केही नगर्ने अथवा गर्नु पर्ने कर्म गर्ने अवस्था ।

कर्तव्य सँधै निष्कामभावले एवं परहितको दृष्टिले गरिन्छ । सकामभावले गरिएको कर्म बन्धनकारक हुन्छ, त्यसैले सकाम कर्म गर्नै हुँदैन । निष्कामभावले गरिएको कर्म फलको कामनादेखि रहित हुन्छ, उद्देश्यदेखि रहित हुँदैन । फल र उद्देश्यमा अन्तर छ । फल उत्पन्न र नष्ट हुन्छ, तर उद्देश्य नित्य हुन्छ । उद्देश्य नित्यप्राप्त परमात्माको अनुभवको हुन्छ, जसकोलागि मनुष्य जन्म भएको छ । आफ्नो कर्तव्यको पालन नगरे त्यो परमात्माको अनुभव हुँदैन । सकामभाव, प्रमाद र आलस्य रहंदा आफ्नो कर्तव्य पालन गर्न कठिन प्रतीत हुन्छ ।

खासै भन्नु पर्दा, कर्तव्य-कर्म पालन गर्न परिश्रम छैन । कर्तव्य-कर्म सहज स्वाभाविक हुन्छ; किनकि यो स्वधर्म हो । अहंता, आसक्ति, ममता  र कामनाले युक्त भएर अर्थात् 'आफ़्नोलागि' कर्म गर्दा परिश्रम हुन्छ । यही कारण, गीताले राजस कर्मलाई परिश्रमयुक्त भन्छ ।

भगवानद्वारा सम्पूर्ण प्राणीहरुको हित हुन्छ, त्यस्तै भगवानको शक्ति पनि सम्पूर्ण प्राणीहरुको हितमा निरन्तर लागिरहेको हुन्छ । त्यस्तै कर्मयोगीले  स्वार्थभाव छोडेर केवल संसारमात्रको हितको भावले समस्त कर्म गरेको समयमा भगवानको सर्वव्यापी हितैषिणी शक्तिसँग त्यो कर्मयोगीको एकता हुन्छ र उसको कर्महरुमा विलक्षणता आउँछ । भगवानको शक्तिसँग एकता भएपछि उसमा भगवानको शक्ति नै काम गर्छ र त्यही शक्ति द्वारा नै अरु व्यक्तिहरुको हित हुन्छ । यसैले कर्तव्य-कर्ममा  न केही वाधा पर्छ, न परिश्रमको नै अनुभव हुन्छ ।

कर्मयोगमा पराश्रय (अरुको आश्रय)को आवश्यकता छैन । जस्तो सुकै परिस्थितिमा पनि कर्मयोगको पालन गर्ने हो । कर्मयोग अनुसार कसैको कार्यमा आवश्यकता परे सहायता गरिदिनु 'सेवा' हो । जानी जानी बुझी बुझी कर्म खोजी खोजी सेवा गर्नु कर्म हो, सेवा होइन; किनकि यसो गर्दा त्यो कर्म पारमार्थिक नभई लौकिक हुन्छ । परिस्थिति अनुरुप गरिने कर्म सेवा हो । कर्मयोगी न त परिस्थिति वदल्छ, न परिस्थिति खोज्छ । ऊ त प्राप्त परिस्थितिको सदुपयोग गर्छ । प्राप्त परिस्थितिको सदुपयोग नै कर्मयोग हो ।

यहाँ प्रस्तुत भइरहेको 'स्वयं' शब्दको अर्थ बुझ्नु पर्ने जरुरत जस्तो लाग्यो मलाई । स्वयं भनेको जीवको स्वरूप हो । जीव भन्नाले सम्पूर्ण सृष्टिलाई नै जनाउँछ । अर्को शब्दमा स्वयं चेतन हो । यो संसारको सृष्टि नै जड चेतनको संघात हो भन्छ गीता । खालि जडवाट पनि संसार चल्दैन, खालि चेतन वाट पनि संसार चल्दैन । त्यस्तै, हाम्रो सृष्टि पनि जड चेतनको संयोगवाट भएको छ । कसमा कति जड हुन्छ र कति चेतन हुन्छ भन्ने अर्कै चर्चाको विषय हो । यहाँ 'स्वयं'ले पनि केवल चेतनलाई बुझाउँछ । हामीमा रहेको चेतन निराकार छ । यही चेतनलाई गीता दोस्रो अध्यायमा विस्तृत व्याख्या गर्छ । त्यो चेतनमा, स्वयंमा यो संसारका कुनै पनि व्यक्ति, वस्तु र पदार्थ, शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि केही पनि छैनन् । त्यो स्वयं विना हाम्रो शरीरको कुनै अस्तित्व छैन, हाम्रो यो शरीर मुर्दा हुन्छ । त्यही चेतनको आभासलाई चेतना भन्छन् । त्यही चेतना हाम्रो शरीरमा भएकोले हाम्रो शरीरद्वारा क्रिया हुन्छ । हाम्रो शरीरवाट हुने समस्त क्रियाहरु, यहाँसम्म कि हाम्रो मनले सोच्ने विषय, बुद्धिले गर्ने निर्णय आदि त्यही चेतनको सत्तामा, त्यही चेतनको प्रकाशमा भएको छ । त्यो चेतनमा कुनै सुख-दुःख, लाभ-हानि, जय-पराजय छैन । वेद भन्छ, 'त्यो चेतन तिमी हौ, तिमी शरीर होइनौ, तिमीमा हर्ष-शोक, चिन्ता, मोह केही पनि छैन, तिमी चिन्मय लोकको निवासी हौ, शरीर विनाशी लोकको निवासी हो, तिमी सर्वदेशीय हौ, शरीर एकदेशीय हो, तिम्रो जन्म छैन, शरीर जन्मिरहन्छ, तिम्रो मृत्यु छैन, शरीर मरिरहन्छ, तिम्रो कहिले नाश छैन, तर शरीरको हरदम नाश भइरहेछ, तिमीमा कुनै रोग-व्याध छैन, तर तिम्रो शरीर 'रोगको घर' हो।
हाम्रो वेदिक शास्त्र, गीता, उपनिषद् आदिमा यही चेतनको वर्णन गरेर गुरुले चेलोलाई उपदेश दिन्छन् । गीताको सार पनि त्यही नै हो । गीताको दोस्रो अध्यायमा वर्णित ज्ञानले आफू 'स्वयं' चेतन रहेछौं, हामी शरीर, इन्द्रियहरु, मन, बुद्धि होइन रहेछौं, हामी त अजर, अमर, नित्य, अविनाशी, शाश्वत आत्मा रहेछौं भन्ने सिकाउँछ । किनभने हाम्रो आफ्नो अनुभवमा पनि छ, हाम्रो शरीर अनित्य छ तर यसलाई चलाउने 'स्वयं' नित्य छ । यो 'स्वयं' हाम्रो शरीर हुनु भन्दा पहिले पनि थियो, शरीर रहंदा पनि छ, शरीर नरहँदा पनि छ, यसको नाश कहिले पनि छैन, तर शरीर एक क्षण पनि उही अवस्थामा रहँदैन । यहाँ शरीर भन्नाले स्थूल, सूक्ष्म र कारण शरीर हो । स्थूल शरीर हाम्रा इन्द्रियहरुले देख्न सक्छन्, सूक्ष्म शरीरलाई मन बुद्धिले चलाउँछन् । तेस्रो शरीर चाहिं कारण शरीर हो । यो कारण शरीर अविद्या हो । जाग्रत अवस्थामा स्थूल र सूक्ष्म शरीरले काम गर्छन्, स्वप्न अवस्थामा सूक्ष्म शरीरले मात्रै काम गर्छ, कारण शरीर सुषुप्ति (गाढ़ निद्रा)मा हुन्छ । वास्तवमा यी तीनै शरीर एक शरीरले काम गरेको वेलामा अर्को शरीरले काम नगर्ने भनेको होइन, यी तीनै शरीर साथसाथै रहन्छन्, खालि यिनीहरुवाट हुने कामको वर्णन गरेको मात्रै हो ।
मेरो आफ्नो अनुभवमा, यो वेद, उपनिषद्को ज्ञान हामीले आफ्नै किसिमले अध्ययन गरेर मात्रै हुँदैन, यसकोलागि कुनै विशेषज्ञको जरुरत छ । आध्यात्मिक विषयको विशेषज्ञलाइ 'गुरु' भन्छन् हाम्रो शास्त्रमा । गीताको चौथो अध्यायमा (अलि पछिका श्लोकमा) गुरुको उल्लेख छ । यो विषय विल्कुल नयाँ र अलि 'क्लिष्ट' पनि लाग्न सक्छ हामीलाई । किनभने, अहिलेसम्म हामीले जानेको ज्ञान भन्दा माथिल्लो ज्ञान छ उपनिषद् मा । यो ज्ञानले हामीलाई केही दिंदैन, हामीमा भएको र हुने (हामीले क्षण क्षणमा भोगिरहेको) शोक, मोहको नाश गरेर निश्चिन्त जीवन विताउन सिकाउँछ हामीलाई । अहिलेसम्म हामीलाई थाहा भइ पनि सक्यो, यहाँका अस्थायी पदार्थले हाम्रो भोक मेटाउन सक्तैनन् , हामीमा भएको काम, क्रोध, लोभ, मोह, राग-द्वेष आदिको नाश गर्न सक्तैनन् । काम, क्रोध, लोभ, मोह, राग-द्वेष भनेका अज्ञान हुन्, अज्ञानको नाश गर्न त ज्ञानले मात्रै सक्छ । त्यही ज्ञानको महत्व र त्यो ज्ञान पाउने उपाय, साधनको चर्चा भइरहेको छ यहाँ । गीतामा राम्रा कुराको चर्चा हुन्छ, हामीले ग्रहण गर्नकोलागि, नराम्रा कुराको पनि चर्चा हुन्छ, हामीवाट त्याग हुनकोलागि । त्यस्तै, त्यो साध्य 'स्वयं' हामी आफैं हौँ भन्ने बुझ्नकोलागि धेरै साधनको पनि चर्चा भइरहेछ ।

फेरि अर्को कुरो, हामीलाई लाग्न सक्छ, 'गीताको ज्ञान पनि लिंदै गर्ने, सँगसँगै संसारमा अहिलेसम्म गरिरहेको क्रियाकलाप (काम, क्रोध, लोभ, मोह) पनि गरिरहने ।' किनभने, हाम्रो दलील छ, संसारमा व्यवहार गर्न काम, क्रोध, लोभ, मोहको जरुरत छ हामीलाई । तर औपानिषदिक ज्ञानले हामीलाई भन्छ, भोग र योग सँगसँगै जान सक्दैनन्,  श्रेय र प्रेय सँगसँगै जान सक्तैनन्, कुनै एकको  ग्रहण गर्न अर्कोको त्याग गर्ने पर्छ । भोग गर्न र गर्दा काम-क्रोध, रीस-राग रहिरहन्छ, योग गर्न र गर्दा काम-क्रोध, रीस-राग छोड्नु पर्छ । योग भनेको आजकलको योग समाजमा चलेको योग होइन, अध्यात्मयोग हो (गीता, उपनिषद्ले वर्णन गरेको योग हो) । किनभने, हामीले हिंड्ने दिशा नै अर्कै पर्यो नि हजुर यहाँ त । संसार भनेको अंध्यारो हो, परमात्मा भनेको उज्यालो हो, उज्यालो तर्फ जाँदा हामीलाई शान्ति हुन्छ, अँध्यारो तर्फ जाँदा हाम्रो रूवावासी हुन्छ । जे गरे पनि choice हाम्रै हो । कति लेखौं हजुर, मेरा कुरा कहिले पनि सकिंदैनन् ।

139. No. 106 Ch 4 श्लोक १ मैले अविनाशी योग (कर्मयोग) सूर्यलाई भनेको थिएँ,

No. 106
अव चारौं अध्याय शुरु हुन्छ ।
श्लोक १
मैले  अविनाशी योग (कर्मयोग) सूर्यलाई भनेको थिएँ, त्यसपछि सूर्यले आफ्ना छोरा वैवश्वत मनुलाई भने र मनुले आफ्ना छोरा राजा इक्ष्वाकुलाइ  भने ।
यहाँ भगवानले उल्लेख गर्नुभएका व्यक्तिहरु (सूर्य, मनु र इक्ष्वाकु) सबै गृहस्थी थिए र उनीहरुले गृहस्थाश्रममा रही रही कर्मयोग द्वारा परमसिद्धि पाएका थिए । 
पुराणमा र उपनिषद्हरुमा पनि कर्मयोगको वर्णन आउँछ, तर गीतामा जस्तो कर्मयोगको विस्तृत वर्णन अन्त कतै पनि आउँदैन । गीतामा भगवानले धेरै युक्तिहरुले सरल तरिकाले कर्मयोगको विवेचन गर्नुभएको छ ।
भगवान नित्य हुनुहुन्छ र उहाँको अंश जीवात्मा पनि नित्य छ तथा भगवानसँग जीवको सम्बन्ध पनि नित्य छ । त्यसैले भगवात्प्राप्तिका सबै मार्गहरु (योगमार्ग, ज्ञानमार्ग, भक्तिमार्ग) पनि नित्य छन् । यो अध्यायमा भगवान कर्मयोगको नित्यताको प्रतिपादन गर्नुहुन्छ ।
परमात्मासँग जीवात्माको स्वतःसिद्ध सम्बन्ध (नित्ययोग) छ । साधकलाई परमात्माको हुनलाई केही गर्नु पर्दैन, किनभने ऊ परमात्माको नै हो । तर अनित्य क्रिया, पदार्थ, घटनासँग सम्बन्ध मान्दा नै उसलाई 'नित्ययोग' अर्थात् परमात्मासँग आफ्नो नित्यसम्बन्धको अनुभव हुँदैन । अतः अनित्यसँग मानिएको सम्बन्ध मेटाउनकोलागि कर्मयोगी शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि  समस्त वस्तुहरुलाई   
संसारको नै सेवामा लगाइदिन्छ ।  त्यो कर्मयोगीले मानेको हुन्छ, सानो भन्दा सानो धूलोको कण पनि विशाल पृथ्वीको नै  अंश भए जस्तै यो शरीर पनि विशाल ब्रह्माण्डको नै एक अंश हो । यस्तो मान्दा 'कर्म' संसारकोलागि हुन्छन् तर 'योग' (नित्ययोग) आफ़्नोलागि हुनेछ अर्थात् नित्ययोगको अनुभव हुनेछ ।
भगवान साधकहरुलाई यस्तो संकेत गर्नुहुन्छ, जस्तो सूर्य सँधै नै कर्म गरिरहन्छन् र सबैलाई प्रकाशित गरिरहँदा पनि निर्लिप्त रहनछन्, त्यस्तै साधकहरुले पनि प्राप्त परिस्थिति अनुसार आफ्नो आफ्नो कर्तव्य-कर्मको पालन स्वयं गरिरहनुपर्छ र अरुलाई पनि कर्मयोगको शिक्षा दिएर लोकसंग्रह गर्दै जीवन विताउनु पर्छ र स्वयं ती कर्तव्य-कर्मवाट निर्लिप्त (निष्काम, निर्मम र अनासक्त) रहनु पर्छ ।
सृष्टिमा सूर्य सबैका आदि हुन् । सृष्टिको रचनाको समयमा पनि सूर्य जस्तो पूर्वकल्पमा थिए, त्यस्तै प्रकट भए । ती (सबैको आदि) सूर्यलाई भगवानले अविनाशी कर्मयोगको उपदेश दिनुभयो । यसवाट सिद्ध भयो, भगवान सबैको आदिगुरु हुनुहुन्छ र कर्मयोग पनि अनादि हो ।  भगवान अर्जुनलाई भनिरहनु भएको छ, 'तिमीलाई मैले वताइरहेको कर्मयोग आजको कुरा होइन, अर्थात् सँधै रहिरहेको योग हो ।'
प्रश्न छ; भगवानले सृष्टिको शुरुमा सूर्यलाई कर्मयोगको उपदेश किन दिनुभयो ?
उत्तर:

(१) सृष्टिको आरम्भमा भगवानले सूर्यलाई नै कर्मयोगको अधिकारी जानेर उनलाई सर्वप्रथम यो योगको उपदेश दिनुभयो ।

(२) सृष्टिमा सर्वप्रथम उत्पन्न भएकोलाई नै उपदेश दिइन्छ। उपदेश दिनुको तात्पर्य हो -- कर्तव्यको बोध गराउनु । सृष्टिमा सर्वप्रथम सूर्यको उत्पत्ति भयो, त्यसपछि सूर्यवाट समस्त लोक उत्पन्न भए । सबैलाई उत्पन्न गर्ने सूर्यलाई सर्वप्रथम उपदेश दिइनुको अभिप्राय: सूर्यवाट उत्पन्न सम्पूर्ण सृष्टिलाई परम्पराले कर्मयोग सुलभ गराइदिनु ।
(३) सूर्य सम्पूर्ण जगत् का नेत्र हुन् । उनीवाट नै सबैलाई ज्ञान प्राप्त हुन्छ एवं उनको उदय हुँदा प्रायः समस्त प्राणी जाग्रत हुन्छन् र आफ्नो आफ्नो कर्ममा लाग्छन् । सूर्यवाट नै मनुष्यहरुमा कर्तव्य-परायणता आउँछ । सूर्यलाई सम्पूर्ण जगत् को आत्मा पनि भनिएको छ । त्यसैले सूर्यलाई प्राप्त उपदेश सम्पूर्ण प्राणीहरुलाई पनि प्राप्त हुन्छ । यही कारण भगवानले सर्वप्रथम सूर्यलाई नै उपदेश दिनुभयो ।
वास्तवमा नारायणरूपले उपदेश दिनु र सूर्यको रूपमा उपदेश ग्रहण गर्नु भगवानको लीला मान्नुपर्छ । यो लीला संसारको हितकोलागि धेरै आवश्यक थियो । अर्जुन पनि ठूला ज्ञानी नर-ऋषिको अवतार थिए, तर लोकसंग्रहकोलागि उनलाई पनि उपदेश लिने आवश्यकता पर्यो । यस्तै प्रकारले भगवानले स्वयं ज्ञानस्वरूप सूर्यलाई उपदेश दिनुभयो । यो उपदेशले संसारको महान् उपकार भएको छ, भइरहेछ, पछि पनि भइ रहनेछ ।
कर्मयोग गृहस्थहरुको खास विद्या हो । ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास -- यी चारै आश्रमहरुमा गृहस्थ आश्रम नै मुख्य हो; किनकि गृहस्थ आश्रमवाट नै अरु आश्रम वन्छन् र वढ़छन् । हामीले गृहस्थाश्रम रही रही आफ्नो कर्तव्य-कर्म पालन गरेर सजिलैसँग परमात्मप्राप्ति गर्न सक्छौं । परमात्मप्राप्तिकोलागि आश्रम वदल्ने जरुरत छैन हामीलाई । भगवानले सूर्य, मनु, इक्ष्वाकु आदि राजाहरुको नाम लिएर यो वताउनु भयो, कल्पको शुरुमा गृहस्थहरुले नै कर्मयोगको विद्या जाने र गृहस्थाश्रममा रहेर  नै उनीहरुले कामनाको नाश गरेर परमात्म-तत्व प्राप्त गरे । स्वयं भगवान श्रीकृष्ण र अर्जुन पनि गृहस्थ नै हुनुहुन्थ्यो । यसैले भगवान अर्जुनको माध्यमवाट हामी सबै गृहस्थहरुलाई उपदेश दिनुहुन्छ 'तिमीहरु आफ्नो घरको विद्या 'कर्मयोग' पालना गर्दै घरमा नै वसी वसी परमात्मा प्राप्त गर्न सक्छौ, तिमीहरुलाई अन्त कतै जानु पर्दैन ।'
गृहस्थ भएर पनि अर्जुन प्राप्त कर्तव्य-कर्म (युद्ध) छोडेर भिक्षाको अन्नले जीविका चलाउन श्रेष्ठ सम्झन्छन् अर्थात् आफ्नो कल्याणकोलागि गृहस्थ-आश्रम भन्दा संन्यास आश्रमलाई श्रेष्ठ मान्छन् । यही परिप्रेक्षमा भगवान अर्जुनलाई भन्नुहुन्छ, 'तिमी पनि राजघरानाको श्रेष्ठ गृहस्थ हौ, कर्मयोग तिम्रो घरको मुख्य विद्या हो, यसैले यही विद्या पालन गर्नु तिम्रोलागि श्रेयस्कर  छ । सन्यासीले पाउने परमात्मतत्व कर्मयोगी गृहस्थाश्रममा  वसेर सुखपूर्वक प्राप्त गर्न सक्छ । अतः कर्मयोग गृहस्थहरुको मुख्य विद्या हो, अरु आश्रमीहरु पनि यो विद्या पालन गरेर परमात्मतत्व प्राप्त गर्न सक्छन् । प्राप्त परिस्थितिको सदुपयोग नै कर्मयोग हो । अतः कर्मयोग पालन कुनै पनि वर्ण, आश्रम, सम्प्रदाय, देश, कालमा गर्न सकिन्छ ।
कुनै पनि  विद्यामा श्रेष्ठ र प्रभावशाली पुरुषहरुको नाम लिंदा त्यो विद्याको महिमा प्रकट हुन्छ, त्यसो गर्दा अरु अरु पनि त्यस्तै गर्न उत्साहित हुन्छन् । मनमा संसारिक पदार्थहरुको महत्व भएको व्यक्तिहरुमा ऐश्वर्यशाली राजाहरुको प्रभाव धेरै  पर्छ । यसैले भगवान सृष्टिको आरम्भमा हुने सूर्य र मनुको नाम लिएर कर्मयोग पालन गर्ने प्रेरणा गर्नुहुन्छ हामीलाई ।

138. No. 105 अझ पनि पहिला दुई श्लोकको नै वांकी

No.105
अझ पनि पहिला दुई श्लोकको नै वांकी
चेतनले आफ्नो सम्बन्ध जडसँग मानेपछि उसमा संसार (भोग) को पनि इच्छा हुन्छ र परमात्माको पनि । जडसँगको  सम्बन्धले नै हामी सत्-चित्-आनन्दस्वरूप परमात्माको इच्छा, अभिलाषा संसारवाट नै पूरा गर्न सांसारिक पदार्थहरुको इच्छा गर्न लाग्छौं । परिणामस्वरूप हाम्रा यी दुवै इच्छाहरु (स्वरूपबोध विना) कहिले पनि पूरा हुँदैन ।
संसार जान्नकोलागि संसारसंग छुट्टिनु पर्छ, परमात्मा जान्न परमात्मासँग अभिन्न हुनुपर्छ । किनकि स्वयंको संसारसंग भिन्नता र परमात्मासँग अभिन्नता छ । तर संसारको इच्छा गर्दा 'स्वयं' संसारसंग आफ्नो अभिन्नता या समीपता मान्छ, जुन सम्भव नै छैन । त्यस्तै परमात्माको इच्छा गर्दा 'स्वयं' परमात्मा भन्दा आफूलाई परमात्मा भन्दा भिन्न र टाढा मान्छ। हो, सांसारिक इच्छाहरु हटाउन पारमार्थिक इच्छा गर्नु बहुत उपयोगी छ । पारमार्थिक इच्छा तीव्र छ भने लौकिक इच्छाहरु स्वतः हराउँछन् । लौकिक इच्छाहरु पूरापूर मेटिएपछि पारमार्थिक इच्छा पूरा हुन्छ अर्थात् नित्यप्राप्त परमात्माको अनुभव हुन्छ । कारण कि वास्तवमा परमात्मा सदा सर्वदा विद्यमान हुनुहुन्छ, तर लौकिक इच्छाहरु रहँदा उहाँको अनुभव हुँदैन ।
अर्जुनलाई यहाँ 'महावाहो' अथवा शूरवीर भनेर भगवान भन्नुहुन्छ, 'तिमी यो 'काम'--रुप शत्रुको नाश गर्न समर्थ छौ ।'
संसारसँग सम्बन्ध राखी राखी 'काम'को नाश गर्नु धेरै गाह्रो छ । यो 'काम' ठूला ठूला व्यक्तिको विवेकलाइ  पनि ढाकेर उनीहरुलाई कर्तव्यच्युत गरिदिन्छ र ती व्यक्तिहरुको पतन हुन्छ । त्यसैले भगवान् यो कामलाई 'दुर्जय' भन्नुहुन्छ ।
'काम'लाई दुर्जय भन्नुको तात्पर्य यसवाट निकै सावधान हुनुमा हो, यसलाई दुर्जय मानेर निराश हुनुमा हैन ।
कुनै एक कामनाको उत्पत्ति, पूर्ति, आपूर्ति र निवृत्ति हुन्छ, यसैले, सबै कामनाहरु उत्पन्न र नष्ट हुन्छन् । परन्तु 'स्वयं' निरन्तर रहन्छ र कामनाहरु उत्पन्न र नष्ट हुने कुरा ऊ जान्दछ । अतः ऊ  कामनाहरुवाट सुगमतापूर्वक सम्बन्ध-विच्छेद गर्न सक्छ; किनकि वास्तवमा सम्बन्ध छँदै छैन । यसैले साधक कामनाहरुवाट कहिले पनि डराउनु हुँदैन ।आफ्नो कल्याणको उद्देश्य पक्का भएको साधक 'काम' सजिलै पार गर्न सक्छ ।
कामनाहरुको त्यागमा अथवा परमात्माको प्राप्तिमा सबै स्वतन्त्र, अधिकारी, योग्य र समर्थ छन् । परन्तु कामनाहरुको पूर्तिमा कोही पनि स्वतन्त्र, अधिकारी, योग्य समर्थ छैनन् । कारण कि कामना पूरा हुने नै होइनन् । परमात्माले मानव-शरीर आफ्नो प्राप्तिकोलागि नै दिनुभएको हो । त्यसैले कामना-त्याग कठिन छैन । सांसारिक भोग-पदार्थहरुलाई महत्व दिएको कारणले नै कामनाको त्याग गाह्रो जस्तो लाग्ने हो ।
सुख (अनुकूलता)को कामना मेटाउन नै भगवान समय समयमा 'दुःखको कामना नगर; कामना गर्यौ भने दुःख पाउनु पर्छ' भन्दै मनुष्यलाई दुःख (प्रतिकूलता) पठाउनुहुन्छ । सांसारिक पदार्थहरुको कामना गर्ने मनुष्य दुःखवाट कहिले पनि वच्न सक्तैन, यो त नियम नै हो । किनकि संयोगजन्य भोग नै दुःखको हेतु हो ।
'स्वयं' (स्वरूप)मा अनन्त बल छ । स्वरूपको सत्ता र बल पाएर नै बुद्धि, मन र इन्द्रियहरू सत्तावान् एवं बलवान् हुन्छन् । परन्तु जडसँग सम्बन्ध जोडेको कारण 'स्वयं' आफ्नो बललाई विर्सिरहेछ र आफूलाई बुद्धि, मन र इन्द्रियहरुको अधीन मानिरहेको छ । यही कारण, काम-रूपी शत्रु मार्न आफूले आफूलाई जान्नु र आफ्नो बल चिन्नु जरूरी छ ।    
      

काम जडको सम्बन्धले र जडमा नै हुन्छ । तादात्म्य हुँदा यो काम स्वयंमा प्रतीत हुन्छ । जडको सम्बन्ध नरहे 'काम' छँदै छैन । यसैले यहाँ 'काम'लाई मार्ने भन्नुको तात्पर्य, 'काम'को पूरापूर अभाव वताउनुमा नै छ । यसको विपरीत यदि 'काम' अर्थात् कामनाको सत्ता मानेर त्यसलाई हटाउने चेष्ट गर्यौं भने कामना मेटाउन कठिन छ । कारण कि वास्तवमा कामनाको स्वतन्त्र सत्ता छँदै छैन । कामना उत्पन्न हुन्छ र उत्पन्न हुने वस्तुको नाश हुन्छ, यो त नियमै हो । नयाँ कामना गरेनौं भने पहिलेका कामनाहरु आफैं मेटिन्छन् । यसैले, कामना मेटाउने तात्पर्य हो, नयाँ कामना नगर्ने ।
शरीर आदि संसारिक पदार्थलाई 'म', 'मेरो, र 'मेरोलागि' मान्दा नै आफूमा कमीको अनुभव हुने हो । तर भूलले गर्दा हामी त्यो कमीको पूर्ति पनि संसारिक  पदार्थहरुवाट गर्न  खोज्छौं । त्यसैले हामी ती पदार्थहरुको कामना गर्न थाल्छौं । तर आजसम्म संसारिक पदार्थहरुवाट कसैको पनि कमीको पूर्ति भएको छैन, हुने पनि छैन, हुँदा पनि हुँदैन, हुन सक्ने पनि होइन । किनकि स्वयं अविनाशी छ र पदार्थ नाशवान् छ । स्वयं अविनाशी भएर पनि विनाशीको कामना गर्दा लाभ त कुनै हुने होइन, अरु कुनै हानि हुन पनि वांकी रहँदैन । यसैले भगवान कामनालाई शत्रु वताउंदै यो कामनालाई मार्ने आज्ञा दिनुहुन्छ ।
यो कामनाको नाश कर्मयोगद्वारा सुगमताले हुन्छ । कारण, कर्मयोगको साधक संसारको सानो भन्दा सानो अथवा ठूलो भन्दा ठूलो प्रत्येक क्रिया परमात्मप्राप्तिको उद्देश्य राखेर अरुको हितकोलागि नै गर्छ, कामनाको पूर्तिकोलागि गर्दैन । उ प्रत्येक क्रिया निष्कामभावले एवं अरुको हित र सुखकोलागि नै गर्छ, आफ्नोलागि कहिले केही गर्दैन । ऊसँग भएको समय, समझ, सामग्री र सामर्थ्य उसको आफ्नो होइन, सबै पछि पाइएका हुन्, यसैले कुनै वेला पनि ऊवाट छुट्न सक्छन् । यसैले कर्मयोगी ती वस्तुहरुलाइ कहिले पनि आफ्नो र आफ्नोलागि मान्दैन र निःस्वार्थ भावले (संसारको नै मानेर) संसारको नै सेवामा लगाइदिन्छ, आफूसँग राख्दैन । आफ्नो नमान्दा नै त्यो कर्मयोगी संसारका सबै वस्तुलाई अरुको सेवामा लगाइ दिन सक्छ ।
कर्मयोगी आफ्नोलागि केही पनि गर्दैन, आफ्नोलागि केही पनि चाहँदैन र आफ्नो भन्ने केही पनि मान्दैन । यसैले उसका  कामनाहरुको नाश सजिलोसँग हुन्छ । कामनाहरुको नाश भएपछि उसको उद्देश्यको पूर्ति हुन्छ र ऊ आफू-आफूमा नै आफूले आफूलाई पाएर कृतकृत्य, ज्ञातज्ञातव्य र प्राप्त-प्राप्तव्य हुन्छ अर्थात् उसकोलागि केही गर्न, जान्न र पाउन वांकी रहँदैन ।
भगवानले इन्द्रियहरु, मन र बुद्धिको नाम त लिनुभयो, तर 'अहम्'को नाम लिनुभएन । अहम् बुद्धि भन्दा पर छ ।
स्वरूपको साक्षात्कार नहुन्जेल अहम् मा काम रहन्छ । सुख छ स्वरूपमा, तर कामले गर्दा मनुष्य जडतालाई सत्ता र महत्व दिएर जडतावाट सुख लिन खोज्छ । जडतासँग सम्बन्ध रहुन्जेल काम रहन्छ, जडतासँग सम्बन्ध-विच्छेद भएपछि 'प्रेम' हुन्छ ।
'काम' आफूमा छ । आफूमा भएकोले नै काम हाम्रोलागि वाधक हुन्छ । यदि यो काम आफूमा नभएर (इन्द्रिय-मन-बुद्धि)मा हुँदो हो त हामीलाई  के वाधा हुन्थ्यो र ? आफूमा काम भएर नै 'स्वयं' सुखी-दुःखी हुने हो, कर्ता-भोक्ता हुने हो । वास्तविक दृष्टिले हेर्ने हो भने काम पनि आफूमा मानिएको मात्रै हो, आफूमा छैन, त्यसैले यो मेटिन सक्छ । त्यसैले काम आफूमा छ, तर मानिएको छ ।
अहम् मा रहने वस्तुलाई मनुष्य आफूमा छ भन्ने मानिदिन्छ । आफूमा अहम् मानिएको छ र त्यो अहम् मा काम रहन्छ । त्यसैले अहम् रहुन्जेल अहम् को जातिको आकर्षण अर्थात् 'काम' रहन्छ । अहम् नहुँदा स्वयंको जातिको आकर्षण अर्थात् 'प्रेम' हुन्छ । काममा संसारतिर र प्रेममा परमात्मातिर आकर्षण हुन्छ ।
सम्पूर्ण त्रिलोकी, अनन्त ब्रहाण्ड विषय हुन् । विषय इन्द्रियहरुको एक देशमा छन्, इन्द्रियहरु मनको एक देशमा छन्, मन बुद्धिको एक देशमा छ, बुद्धि अहम् को एक देशमा छ र अहम् चेतन (स्वरूप)को एक देशमा छ । अतः चेतन अत्यन्त महान् छ । यो चेतन अन्तर्गत सम्पूर्ण त्रिलोकी, अनन्त ब्रह्माण्ड विद्यमान छन् । तर अपरा प्रकृतिको एक अंश अहम् सँग आफ्नो सम्बन्ध जोडेको कारण मनुष्य आफूलाई अत्यन्त सानो (एकदेशीय) देख्छ । 

137. No. 104 पहिला दुई श्लोकको वांकी

104
पहिला दुई श्लोकको वांकी
स्थूल शरीर 'विषय' हो, इन्द्रियहरु 'बहिःकरण' हुन् र मन-बुद्धि 'अन्तःकरण' हुन् । स्थूल शरीर भन्दा इन्द्रिय पर (श्रेष्ठ, सबल, प्रकाशक, व्यापक र सूक्ष्म) छन् तथा इन्द्रियहरु भन्दा बुद्धि पर छ । बुद्धि भन्दा पनि पर 'अहम्' छ । यो 'अहम्' नै कर्ता हो । त्यही 'अहम्' कर्तामा 'काम' अर्थात् लौकिक इच्छा रहन्छ ।

हाम्रो सत्ता (हुनुपना) अर्थात् हाम्रो स्वरूप चेतन, निर्विकार, र सत्-चित्-आनन्दरूप छ । जव यो चेतन जड  (प्रकृतिजन्य शरीर)शरीरसँग तादात्म्य गर्छ, त्यो वेला 'अहम्' उत्पन्न हुन्छ र स्वरूप 'कर्ता' वन्छ । यसरी कर्तामा जड-अंश र चेतन-अंश हुन्छ । जड-अंशको मुख्यताले संसारतर्फ र चेतन-अंशको मुख्यताले परमात्मातर्फ आकर्षण हुन्छ । तात्पर्य, जड-अंशको प्रधानताले हामीमा लौकिक (संसारको) इच्छाहरु रहन्छन् र चेतन-अंशको प्रधानताले पारमार्थिक (परमात्माको) इच्छा रहन्छ । जड-अंशको स्वभाव मेटिने छ, यसैले लौकिक इच्छाहरु मेटिन्छन् र चेतन-अंश सँधै रहने खालको छ । यसैले पारमार्थिक इच्छाहरु पूरा हुन्छन् । यही हुनाले लौकिक इच्छाहरु (कामनाहरु) को निवृत्ति र पारमार्थिक इच्छा (संसारवाट छुट्ने इच्छा, स्वरूपबोधको जिज्ञासा र भगवत्प्रेमको अभिलाषा) को पूर्ति हुन्छ । लौकिक इच्छाहरु उत्पन्न हुन सक्छन्, तर अड्न सक्तैनन् । तर पारमार्थिक इच्छा दब्न सक्छ, तर मेटिन सक्तैन । कारण, लौकिक इच्छाहरु अवास्तविक र पारामार्थिक इच्छा वास्तविक हो । यसैले साधकले न त लौकिक इच्छाहरुको पूर्तिको आशा गर्ने हो, न पारमार्थिक इच्छाको पूर्तिमा निराश हुने हो ।

खासै भन्दा, आफ्नो अंशी परमात्मासँग मिल्ने इच्छा मात्रै साँचो इच्छा हो । तर जडसँगको  सम्बन्धले यो इच्छाको पनि दुई भेद हुन्छ र हामी आफ्नो वास्तविक इच्छा पूर्ति  परिवर्तनशील संसारद्वारा गर्न कोशीश गर्छौं । यही नै हाम्रो भूल हो । कारण, लौकिक इच्छाहरु 'परधर्म' र पारमर्थिक इच्छा 'स्वधर्म' हो । परन्तु हामीमा लौकिक र पारमार्थिक दुवै इच्छा रहँदा द्वन्द्व हुन्छ । यही द्वन्द्वले गर्दा हामीमा भजन, ध्यान, सत्संग गर्ने वेलामा पारमर्थिक इच्छा जाग्रत रहन्छ, तर अरु वेला हाम्रो पारमर्थिक इच्छा दब्छ र लौकिक (भोग एवं संग्रह)को इच्छाहरु उत्पन्न हुन्छन् । लौकिक इच्छाहरु रहँदा हामीमा परमात्मप्राप्ति मात्र गर्ने दृढ निश्चय हुँदैन । परमात्मप्राप्तिको मात्र इच्छा हामीमा भए हाम्रो द्वन्द्व हट्छ र पारमार्थिक इच्छा मात्रै प्रवल रहन्छ । यसो भयो भने हामी सजिलैसँग आफ्नो लक्ष्य (परमात्मप्राप्ति)मा पुग्न सफल हुन्छौं । यसैले लौकिक इच्छा र पारमार्थिक इच्छाको द्वन्द्व मेटाउन धेरै आवश्यक छ हामीलाई ।

शुद्ध स्वरूपमा आफ्नो अंशी परमात्मातिर स्वतः एक आकर्षण अथवा रुचि रहन्छ । यो रूचिलाई नै 'प्रेम' भनिन्छ । हामीले संसारसँग सम्बन्ध मान्दा त्यो 'प्रेम' दब्छ र 'काम' उत्पन्न हुन्छ । 'काम' रहुन्जेल 'प्रेम' जाग्रत हुँदैन । 'प्रेम' जाग्रत नहुन्जेल 'काम'को नाश हुँदैन । जड-अंशको मुख्यताले जसमा संसारिक भोगहरुको इच्छा (काम) रहन्छ, त्यसैमा चेतन-अंशको मुख्यताले परमात्माको इच्छा पनि रहन्छ । अतः वास्तवमा 'काम'को निवास जड-अंशमा नै छ, तर त्यो पनि चेतनको सम्बन्धले नै हो । चेतनको सम्बन्ध छुट्ने वित्तिकै 'काम'को नाश हुन्छ । तात्पर्य, चेतनद्वारा जडसँग सम्बन्ध विच्छेद गर्ने वित्तिकै जड-चेतनको तादात्म्यरूप 'अहम्'को नाश हुन्छ र 'अहम्'को नाश हुने वित्तिकै 'काम' पनि नष्ट हुन्छ ।

'अहम्'मा भएको जड अंशमा 'काम' रहन्छ । दृश्यरूपले देखिने संसार, त्यो संसार देख्ने  इन्द्रियहरु तथा बुद्धि र बुद्धिलाई पनि देख्ने 'स्वयं' भोक्ता -- यी तीनैमा जातीय एकता नभई भोक्तालाई भोग्यतिर आकर्षण हुन सक्तैन । कारण, आकर्षण सजातीयतामा नै हुन्छ, विजातीयतामा होइन । जस्तो, आँखालाई रुपतिर नै आकर्षण हुन्छ, शब्द प्रति हुँदैन । यही कुरा सबै इन्द्रियहरुमा लागु हुन्छ, । बुद्धिलाई  पनि उसको सम्झने विषय (विवेक-विचार) मा नै आकर्षण हुन्छ, शब्द आदि विषयमा होइन । त्यस्तै, स्वयं (चेतन)को परमात्मामा तात्विक एकता हुन्छ, यसैले, 'स्वयं'को परमात्मातिर आकर्षण हुन्छ । यो तात्विक एकता जड-अंशको सर्वथा त्याग गर्दा अर्थात् जडसँग मानिएको सम्बन्ध पूरापूर विच्छेद  गर्दा नै अनुभवमा आउँछ । त्यस्तो अनुभव हुने वित्तिकै 'प्रेम' जाग्रत हुन्छ । प्रेममा जडता (असत्)को अंश पनि शेष रहँदैन अर्थात् जडताको अत्यन्त अभाव हुन्छ ।
     

प्रकृतिको कार्य महत्तत्व (समष्टि बुद्धि)को अत्यन्त सूक्ष्म अंश 'कारणशरीर' नै 'अहम्'को जड-अंश हो । यही कारणशरीरमा 'काम' रहन्छ । कारणशरीरको तादात्म्यले 'काम' स्वयंमा देखिन्छ । तादात्म्य मेटिएपछि 'काम'को लेश पनि नभएको शुद्ध स्वरुपको अनुभव हुन्छ । स्वरूपको अनुभव भएपछि 'काम' सर्वथा निवृत्त हुन्छ ।

पहिले शरीर भन्दा इन्द्रियहरु, इन्द्रियहरु भन्दा पर मन, मन भन्दा पर बुद्धि र बुद्धि भन्दा पार 'काम' भन्ने वताइयो । अव भनिन्छ, यो 'काम' 'अहम्'मा रहन्छ । आफ्नो वास्तविक स्वरूपमा 'काम' छैन । स्वरूपमा 'काम' हुने भए यो कहिले मेटिने थिएन । नाशवान् जडसँग  तादात्म्य गर्दा नै 'काम' उत्पन्न हुने हो । तादात्म्यमा पनि काम त जडमा नै छ, तर देखिन्छ स्वरूपमा । यसैले बुद्धि भन्दा पर रहने यो 'काम' जानेर त्यसको नाश गर्नु पर्छ ।

बुद्धि भन्दा पर 'अहम्'मा रहने 'काम'लाई मार्ने उपाय हो -- आफूद्वारा आफैंलाई वशमा गर्ने अर्थात आफ्नो सम्बन्ध केवल आफ्नो शुद्ध स्वरूपसँग अथवा आफ्नो अंशी भगवानसँग राख्ने ।

स्वरूप 'स्वयं' साक्षात् परमात्माको अंश हो र शरीर-इन्द्रियहरु-मन-बुद्धि संसारका अंश हुन् । स्वरूप आफ्नो अंशी  परमात्मासँग विमुख भएर प्रकृति (संसार)को सम्मुख हुँदा स्वरूपमा कामनाहरु उत्पन्न हुन्छन् । कामनाहरुवाट अभाव उत्पन्न हुन्छन् र अभाव संसारको सम्बन्धले हुन्छ, किनभने संसार अभावरूप नै हो ।  संसारसँग सम्बन्ध-विच्छेद हुने वित्तिकै कामनाहरुको नाश हुन्छ, किनकि स्वरूपमा अभाव छैन ।

परमात्मादेखि विमुख भएर संसारसँग आफ्नो सम्बन्ध मान्दा पनि जीवको वास्तविक इच्छा (आवश्यकता या भोक) आफ्नो अंशी परमात्मा प्राप्त गर्ने हुन्छ । 'म सँधै वाँची रहुँ; म सबै जान्न सकूँ; म सँधैकोलागि सुखी होउँ' भन्ने विचार सत्-चित्-आनन्द-स्वरूप परमात्माको नै इच्छा हो, तर संसारसँग सम्बन्ध मानेकोले हामी यी इच्छाहरु संसारवाट नै पूरा गर्न चाहन्छौं -- यही 'काम' हो । यो 'काम'को पूर्ति कहिले पनि हुन सक्तैन । त्यसैले यस्तो कामको नाश गर्नै पर्छ ।

संसारसँग सम्बन्ध जोड्ने व्यक्तिले त्यो सम्बन्ध तोड्न पनि सक्छ । यसैले भगवान आफूद्वारा नै संसारसँग आफ्नो सम्बन्ध-विच्छेद गरेर 'काम' मार्ने आज्ञा दिनुहुन्छ हामीलाई ।
आफूद्वारा नै आफैंलाई वशमा गर्ने कुनै अभ्यास छैन; किनकि अभ्यास संसार (शरीर, इन्द्रियहरु,मन, बुद्धि)को सहायताले नै हुन्छ । अभ्यासमा संसारको सम्बन्धको सहायता लिनु पर्छ । वास्तवमा आफ्नो स्वरूपमा स्थिति र अथवा परमात्माको प्राप्ति संसारको सहायताले हुने होइन, संसारको त्याग (सम्बन्ध-विच्छेद)ले आफू-आफैंवाट हुन्छ ।