कर्म
गर्दा पनि कर्मयोगीको कर्महरुमा कामना, ममता र आसक्ति हुँदैन, वरु ती
कर्महरुमा प्रीति र तत्परता हुन्छ । कामना, ममता, आसक्तिले हामीलाई अपवित्र
वनाउँछन् र प्रीति र तत्परताले हामीलाई पवित्र वनाउँछन् । कामना, ममता र
आसक्तिले कुनै काम गर्दा पनि आफ्नो पतन र पदार्थको नाश हुन्छ, तथा त्यो
कर्मको सम्झना वारम्वार आइरहन्छ अर्थात् त्यो कर्मसँग सम्बन्ध वनिरहन्छ ।
परन्तु प्रीति तथा तत्परतापूर्वक कर्म गरे आफ्नो उन्नति र पदार्थको
सदुपयोग हुन्छ, नाश होइन; तथा त्यो कर्मको सम्झना फेरि आउँदैन अर्थात् त्यो
कर्मसँग हाम्रो सम्बन्ध-विच्छेद हुन्छ । यसरी कर्मसँग सम्बन्ध विच्छेद
हुने वित्तिकै नित्यप्राप्त स्वरूप अथवा परमात्मतत्वको अनुभव हुन्छ ।
कुनै पनि मनुष्य सजिलैसँग मान्न
सक्छ, मसँग जे भए पनि मेरो होइन, अरु कसैवाट पाइएका हुन्; जस्तो -- शरीर
माता-पितावाट मिलेको हो, विद्या-योग्यता गुरुहरुवाट मिलेको हो । तात्पर्य,
एक अर्काको सहयोगले जीवन चल्छ । धनी भन्दा धनी व्यक्तिको जीवन पनि अरुको
सहायता विना चल्न सक्तैन । हामीले कसैवाट केही लिएका छौं भने कसैलाई दिनु,
सहायता गर्नु, सेवा गर्नु हाम्रो परम कर्तव्य हो । यसैको नाम कर्मयोग हो ।
यो कर्मयोगको पालन सम्पूर्ण मनुष्य गर्न सक्छ र यसको पालन गर्न लेश पनि
असमर्थता तथा पराधीनता छैन ।
कर्तव्य त्यसैलाई भनिन्छ, जुन हामी
सुखपूर्वक गर्न सक्छौं, जसलाई अवश्य गर्नुपर्छ अर्थात् जुन गर्ने योग्य छ र
जे गर्दा आफ्नो उद्देश्यको सिद्धि हुन्छ । जुन कर्म हामी गर्न सक्तैनौं,
त्यो कर्म गर्ने जिम्मेवारी कसैलाई पनि छैन र जुन कर्म गर्नुहुँदैन, त्यो
कर्म त गर्न नै भएन । गर्न नहुने कर्म नगरे दुई अवस्था स्वतः आउँछन् । ती
हुन् -- निर्विकल्प अवस्था अर्थात् केही नगर्ने अथवा गर्नु पर्ने कर्म
गर्ने अवस्था ।
कर्तव्य सँधै निष्कामभावले एवं
परहितको दृष्टिले गरिन्छ । सकामभावले गरिएको कर्म बन्धनकारक हुन्छ, त्यसैले
सकाम कर्म गर्नै हुँदैन । निष्कामभावले गरिएको कर्म फलको कामनादेखि रहित
हुन्छ, उद्देश्यदेखि रहित हुँदैन । फल र उद्देश्यमा अन्तर छ । फल उत्पन्न
र नष्ट हुन्छ, तर उद्देश्य नित्य हुन्छ । उद्देश्य नित्यप्राप्त
परमात्माको अनुभवको हुन्छ, जसकोलागि मनुष्य जन्म भएको छ । आफ्नो कर्तव्यको
पालन नगरे त्यो परमात्माको अनुभव हुँदैन । सकामभाव, प्रमाद र आलस्य रहंदा
आफ्नो कर्तव्य पालन गर्न कठिन प्रतीत हुन्छ ।
खासै भन्नु पर्दा, कर्तव्य-कर्म पालन
गर्न परिश्रम छैन । कर्तव्य-कर्म सहज स्वाभाविक हुन्छ; किनकि यो स्वधर्म
हो । अहंता, आसक्ति, ममता र कामनाले युक्त भएर अर्थात् 'आफ़्नोलागि' कर्म
गर्दा परिश्रम हुन्छ । यही कारण, गीताले राजस कर्मलाई परिश्रमयुक्त भन्छ ।
भगवानद्वारा सम्पूर्ण प्राणीहरुको
हित हुन्छ, त्यस्तै भगवानको शक्ति पनि सम्पूर्ण प्राणीहरुको हितमा निरन्तर
लागिरहेको हुन्छ । त्यस्तै कर्मयोगीले स्वार्थभाव छोडेर केवल संसारमात्रको
हितको भावले समस्त कर्म गरेको समयमा भगवानको सर्वव्यापी हितैषिणी शक्तिसँग
त्यो कर्मयोगीको एकता हुन्छ र उसको कर्महरुमा विलक्षणता आउँछ । भगवानको
शक्तिसँग एकता भएपछि उसमा भगवानको शक्ति नै काम गर्छ र त्यही शक्ति द्वारा
नै अरु व्यक्तिहरुको हित हुन्छ । यसैले कर्तव्य-कर्ममा न केही वाधा पर्छ,
न परिश्रमको नै अनुभव हुन्छ ।
कर्मयोगमा पराश्रय (अरुको आश्रय)को
आवश्यकता छैन । जस्तो सुकै परिस्थितिमा पनि कर्मयोगको पालन गर्ने हो ।
कर्मयोग अनुसार कसैको कार्यमा आवश्यकता परे सहायता गरिदिनु 'सेवा' हो ।
जानी जानी बुझी बुझी कर्म खोजी खोजी सेवा गर्नु कर्म हो, सेवा होइन; किनकि
यसो गर्दा त्यो कर्म पारमार्थिक नभई लौकिक हुन्छ । परिस्थिति अनुरुप गरिने
कर्म सेवा हो । कर्मयोगी न त परिस्थिति वदल्छ, न परिस्थिति खोज्छ । ऊ त
प्राप्त परिस्थितिको सदुपयोग गर्छ । प्राप्त परिस्थितिको सदुपयोग नै
कर्मयोग हो ।
यहाँ प्रस्तुत भइरहेको 'स्वयं'
शब्दको अर्थ बुझ्नु पर्ने जरुरत जस्तो लाग्यो मलाई । स्वयं भनेको जीवको
स्वरूप हो । जीव भन्नाले सम्पूर्ण सृष्टिलाई नै जनाउँछ । अर्को शब्दमा
स्वयं चेतन हो । यो संसारको सृष्टि नै जड चेतनको संघात हो भन्छ गीता । खालि
जडवाट पनि संसार चल्दैन, खालि चेतन वाट पनि संसार चल्दैन । त्यस्तै,
हाम्रो सृष्टि पनि जड चेतनको संयोगवाट भएको छ । कसमा कति जड हुन्छ र कति
चेतन हुन्छ भन्ने अर्कै चर्चाको विषय हो । यहाँ 'स्वयं'ले पनि केवल चेतनलाई
बुझाउँछ । हामीमा रहेको चेतन निराकार छ । यही चेतनलाई गीता दोस्रो
अध्यायमा विस्तृत व्याख्या गर्छ । त्यो चेतनमा, स्वयंमा यो संसारका कुनै
पनि व्यक्ति, वस्तु र पदार्थ, शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि केही पनि
छैनन् । त्यो स्वयं विना हाम्रो शरीरको कुनै अस्तित्व छैन, हाम्रो यो शरीर
मुर्दा हुन्छ । त्यही चेतनको आभासलाई चेतना भन्छन् । त्यही चेतना हाम्रो
शरीरमा भएकोले हाम्रो शरीरद्वारा क्रिया हुन्छ । हाम्रो शरीरवाट हुने समस्त
क्रियाहरु, यहाँसम्म कि हाम्रो मनले सोच्ने विषय, बुद्धिले गर्ने निर्णय
आदि त्यही चेतनको सत्तामा, त्यही चेतनको प्रकाशमा भएको छ । त्यो चेतनमा
कुनै सुख-दुःख, लाभ-हानि, जय-पराजय छैन । वेद भन्छ, 'त्यो चेतन तिमी हौ,
तिमी शरीर होइनौ, तिमीमा हर्ष-शोक, चिन्ता, मोह केही पनि छैन, तिमी चिन्मय
लोकको निवासी हौ, शरीर विनाशी लोकको निवासी हो, तिमी सर्वदेशीय हौ, शरीर
एकदेशीय हो, तिम्रो जन्म छैन, शरीर जन्मिरहन्छ, तिम्रो मृत्यु छैन, शरीर
मरिरहन्छ, तिम्रो कहिले नाश छैन, तर शरीरको हरदम नाश भइरहेछ, तिमीमा कुनै
रोग-व्याध छैन, तर तिम्रो शरीर 'रोगको घर' हो।
हाम्रो वेदिक शास्त्र, गीता, उपनिषद् आदिमा यही चेतनको वर्णन गरेर
गुरुले चेलोलाई उपदेश दिन्छन् । गीताको सार पनि त्यही नै हो । गीताको
दोस्रो अध्यायमा वर्णित ज्ञानले आफू 'स्वयं' चेतन रहेछौं, हामी शरीर,
इन्द्रियहरु, मन, बुद्धि होइन रहेछौं, हामी त अजर, अमर, नित्य, अविनाशी,
शाश्वत आत्मा रहेछौं भन्ने सिकाउँछ । किनभने हाम्रो आफ्नो अनुभवमा पनि छ,
हाम्रो शरीर अनित्य छ तर यसलाई चलाउने 'स्वयं' नित्य छ । यो 'स्वयं' हाम्रो
शरीर हुनु भन्दा पहिले पनि थियो, शरीर रहंदा पनि छ, शरीर नरहँदा पनि छ,
यसको नाश कहिले पनि छैन, तर शरीर एक क्षण पनि उही अवस्थामा रहँदैन । यहाँ
शरीर भन्नाले स्थूल, सूक्ष्म र कारण शरीर हो । स्थूल शरीर हाम्रा
इन्द्रियहरुले देख्न सक्छन्, सूक्ष्म शरीरलाई मन बुद्धिले चलाउँछन् ।
तेस्रो शरीर चाहिं कारण शरीर हो । यो कारण शरीर अविद्या हो । जाग्रत
अवस्थामा स्थूल र सूक्ष्म शरीरले काम गर्छन्, स्वप्न अवस्थामा सूक्ष्म
शरीरले मात्रै काम गर्छ, कारण शरीर सुषुप्ति (गाढ़ निद्रा)मा हुन्छ ।
वास्तवमा यी तीनै शरीर एक शरीरले काम गरेको वेलामा अर्को शरीरले काम नगर्ने
भनेको होइन, यी तीनै शरीर साथसाथै रहन्छन्, खालि यिनीहरुवाट हुने कामको
वर्णन गरेको मात्रै हो ।
मेरो आफ्नो अनुभवमा, यो वेद,
उपनिषद्को ज्ञान हामीले आफ्नै किसिमले अध्ययन गरेर मात्रै हुँदैन, यसकोलागि
कुनै विशेषज्ञको जरुरत छ । आध्यात्मिक विषयको विशेषज्ञलाइ 'गुरु' भन्छन्
हाम्रो शास्त्रमा । गीताको चौथो अध्यायमा (अलि पछिका श्लोकमा) गुरुको
उल्लेख छ । यो विषय विल्कुल नयाँ र अलि 'क्लिष्ट' पनि लाग्न सक्छ हामीलाई ।
किनभने, अहिलेसम्म हामीले जानेको ज्ञान भन्दा माथिल्लो ज्ञान छ उपनिषद् मा
। यो ज्ञानले हामीलाई केही दिंदैन, हामीमा भएको र हुने (हामीले क्षण
क्षणमा भोगिरहेको) शोक, मोहको नाश गरेर निश्चिन्त जीवन विताउन सिकाउँछ
हामीलाई । अहिलेसम्म हामीलाई थाहा भइ पनि सक्यो, यहाँका अस्थायी पदार्थले
हाम्रो भोक मेटाउन सक्तैनन् , हामीमा भएको काम, क्रोध, लोभ, मोह, राग-द्वेष
आदिको नाश गर्न सक्तैनन् । काम, क्रोध, लोभ, मोह, राग-द्वेष भनेका अज्ञान
हुन्, अज्ञानको नाश गर्न त ज्ञानले मात्रै सक्छ । त्यही ज्ञानको महत्व र
त्यो ज्ञान पाउने उपाय, साधनको चर्चा भइरहेको छ यहाँ । गीतामा राम्रा
कुराको चर्चा हुन्छ, हामीले ग्रहण गर्नकोलागि, नराम्रा कुराको पनि चर्चा
हुन्छ, हामीवाट त्याग हुनकोलागि । त्यस्तै, त्यो साध्य 'स्वयं' हामी आफैं
हौँ भन्ने बुझ्नकोलागि धेरै साधनको पनि चर्चा भइरहेछ ।
फेरि अर्को कुरो, हामीलाई लाग्न
सक्छ, 'गीताको ज्ञान पनि लिंदै गर्ने, सँगसँगै संसारमा अहिलेसम्म गरिरहेको
क्रियाकलाप (काम, क्रोध, लोभ, मोह) पनि गरिरहने ।' किनभने, हाम्रो दलील छ,
संसारमा व्यवहार गर्न काम, क्रोध, लोभ, मोहको जरुरत छ हामीलाई । तर
औपानिषदिक ज्ञानले हामीलाई भन्छ, भोग र योग सँगसँगै जान सक्दैनन्, श्रेय र
प्रेय सँगसँगै जान सक्तैनन्, कुनै एकको ग्रहण गर्न अर्कोको त्याग गर्ने
पर्छ । भोग गर्न र गर्दा काम-क्रोध, रीस-राग रहिरहन्छ, योग गर्न र गर्दा
काम-क्रोध, रीस-राग छोड्नु पर्छ । योग भनेको आजकलको योग समाजमा चलेको योग
होइन, अध्यात्मयोग हो (गीता, उपनिषद्ले वर्णन गरेको योग हो) । किनभने,
हामीले हिंड्ने दिशा नै अर्कै पर्यो नि हजुर यहाँ त । संसार भनेको अंध्यारो
हो, परमात्मा भनेको उज्यालो हो, उज्यालो तर्फ जाँदा हामीलाई शान्ति हुन्छ,
अँध्यारो तर्फ जाँदा हाम्रो रूवावासी हुन्छ । जे गरे पनि choice हाम्रै हो
। कति लेखौं हजुर, मेरा कुरा कहिले पनि सकिंदैनन् ।