Sunday, 21 September 2014

170 No. 137 श्लोक ३८ मनुष्य लोकमा ज्ञान जस्तो पवित्र गर्ने अर्को कुनै साधन छैन ।

No. 137

हामी अझै पनि गीताको चौथो अध्यायको चर्चामा नै छौं । हालै अनुवाद भइरहेको पूर्ण भाग मेरा साथी सुबोध प्रधानले वनाउनु भएको ब्लगवाट प्राप्त गर्न सकिन्छ ।  लिंकको नाम हो -- http:indiradidi-hajurma.blogspot.com   
 
श्लोक ३८ 

यो मनुष्य लोकमा ज्ञान जस्तो पवित्र गर्ने अर्को कुनै साधन छैन । योग राम्रोसँग सिद्ध भएको कर्मयोगी त्यो तत्वज्ञान अवश्य नै स्वयं आफूले आफैंमा पाउँछ ।

मनुष्यलोकमा नै सबै पवित्रता पाइने हुनाले पवित्रता प्राप्त गर्ने अधिकार र अवसर मनुष्य-शरीरमा नै छ । यस्तो अधिकार अरु कुनै शरीरमा छैन । अरु अरु लोकहरुको अधिकार पनि मनुष्यलोकवाट नै मिल्छ । 

संसारको स्वतन्त्र सत्ता मान्दा तथा त्यसवाट सुख लिने इच्छाले नै सम्पूर्ण दोष, पाप हुन्छन् । तत्वज्ञान भएपछि संसारको स्वतन्त्र सत्ता नै रहँदैन, सबै पापको नाश हुन्छ र महान् पवित्रता आउँछ । यसैले ज्ञान समान पवित्र गर्ने अर्को कुनै साधन नै छैन । 

संसारमा यज्ञ, दान, तप, व्रत, उपवास, जप, ध्यान, प्राणायाम आदि समस्त साधन तथा गंगा, यमुना, गोदावरी समस्त तीर्थ सबै मनुष्यका पापहरु नाश गरेर उसलाई पवित्र गर्छन् । परन्तु ती सबैमा पनि तत्वज्ञान समान पवित्र गर्ने कुनै पनि साधन, तीर्थ छैन, किनकि ती सबै तत्वज्ञानका साधन हुन् र तत्वज्ञान ती सबैको साध्य हो ।

परमात्मा पवित्रहरुको पनि पवित्र हुनुहुन्छ -- 'पवित्राणाम् पवित्रम्' भन्ने कुरो विष्णुसहस्रनाममा उल्लेख छ । त्यही परमपवित्र परमात्माको अनुभव गराउने भएकोले तत्वज्ञान पनि अत्यन्त पवित्र छ । कर्मयोग सिद्ध भएको अर्थात् कर्मयोगको अनुष्ठान पूरापूर पूर्ण भएको महापुरुषलाई यहाँ 'योगसंसिद्ध' भनिएको छ । छैठौं अध्यायमा यही कर्मयोगीलाइ 'योगारूढ' भनियो । योगारूढ़ हुनु कर्मयोगको अन्तिम अवस्था हो । योगारूढ़ हुने वित्तिकै तत्वज्ञान हुन्छ । तत्वबोध भएपछि संसारसँग सर्वथा सम्बन्ध-विच्छेद हुन्छ ।          

कर्मयोगको मुख्य कुरो -- केही पनि आफ्नो नमानेर सम्पूर्ण कर्म संसारको हितकोलागि गर्ने, आफ्नोलागि केही पनि नगर्ने । यसो गर्दा सामग्री र क्रिया-शक्ति -- दुबैको प्रवाह संसारको सेवामा हुन्छ । संसारको सेवामा प्रवाह भएपछि 'म सेवक हुँ' भन्ने (अहम् को) भाव पनि रहँदैन केवल सेवा रहन्छ । यसरी सेवकले सेवा वनेर सेव्यमा लीन भएपछि प्रकृतिको कार्य शरीर तथा संसारसँग पूर्णरूपले वियोग (सम्बन्ध-विच्छेद) हुन्छ । वियोग भएपछि संसारको स्वतन्त्र सत्ता रहँदैन, खालि क्रिया मात्रै रहन्छ । यसैलाई योगको संसिद्धि अर्थात् सम्यक् सिद्धि भन्छन् ।

कर्म र फलको आसक्तिले नै योगको अनुभव हुँदैन । वास्तवमा कर्महरु र पदार्थहरुसँग सम्बन्ध-विच्छेद स्वतःसिद्ध छ । कारण, कर्म र पदार्थ अनित्य (आदि अन्त भएका) छन् र आफ्नो स्वरूप नित्य छ । अनित्य कर्महरुले नित्य स्वरूपको प्राप्ति कसरी पाइन्छ ? यसैले कर्म द्वारा स्वरूप पाउनु छैन भन्ने मान्नु 'कर्मविज्ञान' हो । कर्मविज्ञानको अनुभव भएपछि कर्मफलसँग सम्बन्ध-विच्छेद हुन्छ अर्थात् कर्मजन्य सुख लिने आसक्ति सँधैको लागि मेटिन्छ । यस्तो आसक्ति मेटिने वित्तिकै परमात्मासँग आफ्नो स्वाभाविक नित्य-सम्बन्धको अनुभव हुन्छ । यस्तो अनुभव हुनुलाई 'योगविज्ञान' भन्छन् ।योगविज्ञानको अनुभव हुनु नै योगको संसिद्धि हो । 

तत्वज्ञान  द्वारा सम्पूर्ण कर्म भस्म हुन्छन् र यो तत्वज्ञान जस्तो पवित्र गर्ने साधन संसारमा अरु केही छैन । यही तत्वज्ञान कर्मयोगी योगसंसिद्ध भएपछि अरु कुनै साधन विना स्वयं आफूले आफूमा तत्काल प्राप्त गर्छ । 

यही अध्यायमा केही श्लोक अघि वर्णन भइसक्यो, प्रचलित प्रणाली अनुसार कर्महरु छोडेर गुरुकहाँ गएपछि गुरुले तत्वज्ञानको उपदेश दिनुहुन्छ ।तर गुरुले त उपदेश दिनुहोला, तर त्यो उपदेशले तत्वज्ञान भइ नै हाल्छ भन्ने निश्चित छैन । फेरि पनि भगवान यहाँ वताउनु हुन्छ, कर्मयोगको प्रणालीले कर्म गर्ने मनुष्यलाई योगसंसिद्धि भएपछि तत्वज्ञान भइ नै हाल्छ । 

यो श्लोकमा भगवानको आशय, तत्वज्ञान प्राप्त गर्न कर्मयोगीलाई कुनै गुरुको, ग्रन्थको अथवा अरु कुनै साधनको आवश्यकता छैन । कर्मयोगको विधिले कर्तव्य-कर्म गरिरहँदा नै उसलाई आफूलाई आफैंमा तत्वज्ञान हुन्छ ।

परमात्मा सबै ठाउँमा परिपूर्ण भएकोले आफूमा पनि हुनुहुन्छ । जहाँ साधक 'म छु या हुँ' रूपले आफूलाई मान्छ, त्यहीं परमात्मा विराजमान हुनुहुन्छ । तर परमात्मादेखि विमुख भएर संसारसँग आफ्नो सम्बन्ध मानेको कारण आफूमा स्थित परमात्माको अनुभव नभएको हो । कर्मयोगको ठीक-ठीक अनुष्ठान गरे संसारसँग सम्बन्ध-विच्छेद हुन्छ अर्थात् संसारसँग तादात्म्य, ममता र कामना मेटिन्छ र साधकलाई आफूमा नै तत्वको सुखपूर्वक अनुभव हुन्छ । 

परमात्मतत्वको ज्ञान करणनिरपेक्ष छ । यसैले त्यसको अनुभव आफैंले आफैंमा नै हुन सक्छ, इन्द्रियहरु, मन, बुद्धि आदि करणहरुवाट होइन । साधकले यो तत्वज्ञान जान्ने जति नै प्रयत्न गरे पनि अन्तमा ऊ आफूमा आफैंले तत्वज्ञान जान्ने छ । श्रवण, मनन जस्ता साधन तत्वज्ञान प्राप्त गर्नमा असम्भावना, विपरीत भावना आदि ज्ञानका वाधाहरुलाई हटाउने परम्परागत साधन मान्न सकिन्छ, तर वास्तविक बोध आफूले आफैंमा हुन्छ । किनकि मन, बुद्धि सबै जड हुन् । जड द्वारा जडदेखि सर्वथा अतीत चिन्मय-तत्व कसरी जानिने ? तत्वको अनुभव जडसँगको सम्बन्ध-विच्छेदवाट हुन्छ, जडद्वारा होइन । जस्तो, आँखाले संसारलाई देख्न सकिन्छ तर आँखाले आँखालाई देख्न सकिंदैन । तर यो भन्न सकिन्छ, जसद्वारा देख्न सकिन्छ, त्यो नै आँखा हो । यसैले जो सबैलाई जान्ने छ, उसलाई को द्वारा जानिने ? परन्तु जसवाट सम्पूर्ण वस्तुहरुको ज्ञान हुन्छ, त्यही परमात्मतत्व हो ।

यही अध्यायको तेंत्तिसौं श्लोकदेखि सैंतिसौं श्लोकसम्म भगवानले गर्नुभएको ज्ञानको प्रशंसाले ज्ञानयोगको विशेष महिमाको वर्णन भए जस्तो लाग्छ हामीलाई । तर यहाँ भगवानले अर्जुनलाई यस्तो भनेको जस्तो लाग्छ, 'यस्तो महान् र पवित्र तत्वज्ञान, जुन ज्ञान जान्नकोलागि म तिमीलाई तत्वदर्शी महापुरुषकहाँ जाने पनि आज्ञा दिइरहेछु, तिमी आफैं कर्मयोगवाट अवश्य प्राप्त गर्न सक्छौ । यसरी ज्ञानयोगको प्रशंसा सँगसंगै यी श्लोकहरु  घुमाउरो पाराले कर्मयोगको विशेषता, वताउनकोलागि हो । अर्जुन ज्ञानीहरुकहाँ गएर ज्ञान सिकोस् भन्ने आशय भगवानको होइन । उहाँको आशय हो, 'यति गाह्रोसँग ज्ञानीहरूकहाँ गएर, उहाँहरुको सेवा गरेर र विनयपूर्वक प्रश्नोत्तर गरेर तथा श्रवण, मनन र निदिध्यासन गरेर प्राप्त गर्ने ज्ञान तिमीलाई कर्मयोगको विधिले प्राप्त कर्तव्य-कर्म (युद्ध)को पालन गरे प्राप्त हुनेछ । मैले अहिले तिमीलाई गरेको प्रेरणा अनुसार तत्वदर्शी महापुरुषकहाँ गएर प्राप्त गर्ने ज्ञान पनि तिमी पाइ नै हाल्नेछौ भन्ने पक्का पनि छैन । किनकि तिमीले गुरु वनाइने व्यक्ति तत्वदर्शी नै होला भन्ने के थाहा ? फेरि त्यो महापुरुष प्रति तिम्रो श्रद्धाको कमी पनि रहन सक्छ । अर्को कुरो, यस्तो प्रकारको प्रक्रियामा संशय तथा विलम्व (ढिलाइ)को सम्भावना पनि रहन्छ । परन्तु कर्मयोगद्वारा अरु व्यक्तिको सहायता विना अवश्यै र तत्कालै त्यो तत्वज्ञानको अनुभव हुन्छ । यही कारण म तिम्रोलागि कर्मयोग नै ठीक ठान्छु । त्यसैले म तिमीलाई प्रचलित प्रणाली अनुसार ज्ञानको उपदेश गर्दिन ।'

भगवान महापुरुषहरुको पनि महापुरुष हुनुहुन्छ । अतः भगवानले अरु महापुरुषकहाँ गएर ज्ञान सिक्ने कुरो अर्जुनलाई कसरी भन्नु हुन्थ्यो ? यही प्रसंगमा भगवानले  कर्मयोगको प्रशंसा गरेर अर्जुनलाई समतामा स्थित भएर युद्ध गर्ने स्पष्टरूपले आज्ञा दिनुभएको छ ।

अपवित्रता संसारको सम्बन्धले आउँछ । तत्वज्ञान भएपछि संसारको अत्यन्त अभाव हुन्छ, जसले गर्दा अपवित्रता रहने प्रश्न नै आउँदैन । यसैले ज्ञानमा अलिकति मात्रै पनि अपवित्रता, जडता, विकार छैन ।                      
                         
श्लोक ३९ 

जितेन्द्रिय तथा साधनपरायण र श्रद्धावान् मनुष्य ज्ञान प्राप्त गर्छ र ज्ञान प्राप्त भएपछि तत्काल उसलाई परम शान्ति मिल्छ । 

यो श्लोकले श्रद्धावान् पुरुषलाई ज्ञान प्राप्त हुने वर्णन गर्छ । आफूमा श्रद्धाको कमी हुँदा हुँदै पनि कुनै व्यक्ति आफूलाई श्रद्धा भएको भन्ने मानिदिन्छ । यसैले श्रद्धाको पहिचानकोलागि दुई विशेषण दिनु भयो -- ' संयतेन्द्रिय:' र 'तत्पर:' । 

इन्द्रियहरु पूर्णरूपले वशमा गर्ने व्यक्ति 'संयतेन्द्रिय:' हो र आफ्नो साधनामा तत्परतापूर्वक लागेको व्यक्ति 'तत्पर:' हो । साधनमा तत्परताको कसी हो -- इन्द्रियहरु संयत हुनु । संयत नभएका इन्द्रियहरु विषय भोगहरु तिर जान सक्छन् । यसले गर्दा साधनपरायणतामा कमी हुन्छ । 

परमात्मामा, महापुरुषहरुमा, धर्ममा र शास्त्रहरुमा प्रत्यक्ष जस्तो आदरपूर्वक विश्वास हुनुलाई 'श्रद्धा' भनिन्छ ।

परमात्मतत्वको अनुभव नहुन्जेल साधकलाई  परमात्मामा प्रत्यक्ष भन्दा पनि ठूलो विश्वास हुनु पर्छ । वास्तवमा परमात्मामा देश, काल, आदिको भेद छैन, केवल मानिएको भेद हो । भेद मानेको कारण नै परमात्मा सर्वत्र विद्यमान रहँदा रहँदै पनि हाम्रो अनुभवमा आउनु भएको छैन । यसैले 'परमात्मा आफूमा हुनुहुन्छ' भन्ने मान्नु नै श्रद्धा हो । कुनै व्यक्ति यदि परमात्मा प्राप्त गर्न खोज्छ र 'परमात्मा आफूमा हुनुहुन्छ' भन्ने श्रद्धा उसमा छ भने उसलाई परमात्मतत्वको अनुभव अवश्य हुन्छ ।

संसार प्रतिक्षण नाशमा गइ नै रहेछ, एक क्षण पनि टिक्तैन । केवल परमात्माको सत्ताले नै संसार सत्तावान् देखिइरहेछ । यसरी संसारको स्वतन्त्र सत्तालाई नमानेर एउटा परमात्माको सत्ता मात्रै मान्नु श्रद्धा हो । यस्तो श्रद्धा भएपछि तुरुन्तै ज्ञान हुन्छ ।   

हाम्रा इन्द्रियहरु संयत नहुँदा अर्कोको (संसारको) परायणता, अर्कोको (संसारको)आदर हुन्छ । साधन-परायणता नहुन्जेल पूर्ण श्रद्धा पनि हुँदैन । पूर्ण श्रद्धा नभएको कारण नै तत्वको अनुभवमा ढिलो हुने हो, हैन भने नित्य-प्राप्त तत्वको अनुभवमा ढिलाइ हुने कारण नै छैन ।

यही अध्यायमा भगवानले गुरुकहाँ गएर विधिपूर्वक ज्ञान प्राप्त गर्ने प्रणालीकोलागि तीन साधनहरु वताउनु भयो । ती हुन् -- प्रणिपात, परिप्रश्न र सेवा । यहाँ यो श्लोकमा भगवानले ज्ञान प्राप्त गर्ने एक साधन 'श्रद्धा' भन्नुभयो । चौतिसौं श्लोकमा गुरु द्वारा केवल ज्ञानको उपदेश दिने कुरा आयो; त्यो उपदेशले ज्ञान पाइएला भन्ने निश्चित छैन । तर यो श्लोकमा भनिएको साधन (श्रद्धा) ले निश्चितरूपले ज्ञान पाइन्छ । कारण हो, चौंतीसौं श्लोकको साधन वहिरंगी (वाहिरीया) भएकोले कपटभावले तथा साधारणभावले पनि गर्न सकिन्छ; तर यो श्लोकमा वर्णित साधन अन्तरंगी (भित्री) भएकोले यस्तो साधन (श्रद्धा) कपटभावले अथवा साधारणभावले गर्न सकिन्न । यसैले ज्ञान प्राप्त गराउने निश्चित् साधन श्रद्धा नै हो ।

'मलाई यही परमात्मतत्वको बोध गर्नु पर्यो र अनुभव पनि गर्नु पर्यो, त्यो अनुभव मलाई अहिले नै हुनुपर्यो' भन्नु नै श्रद्धा हो । 'तत्व पनि विद्यमान छ, म पनि विद्यमान छु र तत्वको अनुभव गर्न पनि चाहन्छु भने किन ढिलो गर्ने ?' भन्ने भावलाई पनि श्रद्धा भनिन्छ ।         

अनौठो कुरो छ, नित्य-निरन्तर विद्यमान रहने प्रिय नलाग्ने र निरन्तर वदलिइरहने, अभावमा गइरहने संसार प्रिय लाग्दो रहेछ । यसमा यही कारण हो, एक क्षण पनि एकै स्थितिमा रहन नसक्ने, निरन्तर नै अभावमा गइरहने संसारलाई हामी स्थायी मान्छौं; स्थायी मानेर नै यो संसारवाट स्थायी सुख लिन खोज्छौं, तर हाम्रो यो चाहना पूरा हुनु सर्वथा असम्भव छ ।                                                                                            

सुख लिन नै हामी संसारलाई आफ्नो मान्छौं । तर हामीले यो पनि बुझ्नु पर्यो, यो संसार कुनै कालमा पनि हाम्रो होइन । हामीवाट कहिले पनि नछुट्टिने र हामी पनि त्यसवाट छुट्टिन नसक्ने तत्व नै हाम्रो आफ्नो वस्तु हो । संसार हाम्रो आफ्नो भएको भए हरेक परिस्थिति हामीसँग रहन्थ्यो । तर न परिस्थिति हामीसँग रहन्छ, न हामी नै परिस्थितिसँग रहन्छौं ।यसैले, यो संसार हाम्रो आफ्नो हुँदै होइन । हामीले संसार देख्ने अन्तःकरण र इन्द्रियहरु पनि हाम्रा आफ्ना होइनन्, यिनलाई आफ्नो मानेको हाम्रो आफ्नै भूलले हो । तर, यिनीहरुमा (अन्तःकरण र इन्द्रियहरु) पनि हाम्रो कुनै अधिकार चल्दैन । वास्तवमा विचार गर्दा, हाम्रा इन्द्रियहरु सहित सम्पूर्ण संसार प्रलयतिर गैरहेछ, यसको स्थिति छँदै छैन ।   

संसारको प्रतीति मात्रै छ, यसैले, यसको प्राप्ति छँदै छैन, अथवा हामी यसलाई पाउनै सक्तैनौं । क्षण क्षण नाशतिर लम्किरहेको संसारलाई कहाँ समाउने, कसरी च्याप्ने ? संसार स्वरूपसम्म पुग्नै सक्तैन, तर स्वरूप सबै ठाउँमा सत्तारूपले विद्यमान छ । संसारको स्वतन्त्र अस्तित्व छैन, तर स्वयंको (आफ्नो) अस्तित्व नित्य-निरन्तर रहन्छ ।                 स्वरूपको अर्थात् आफ्नो हुनुपनाको प्रत्यक्ष हामीलाई अनुभव हुन्छ । स्वरूप (आफू) अपरिवर्तनशील छ । यदि स्वरूप पनि परिवर्तनशील हुँदो हो त संसारको परिवर्तन कसले देख्ने ? हामीलाई संसारको निरन्तर परिवर्तन र अभावको अनुभव त हुन्छ, तर आफ्नो परिवर्तनको अथवा आफ्नो अभावको अनुभव कहिले हुँदैन । यस्तो हुँदा हुँदै पनि परिवर्तनशील शरीरसँग आफूलाई मिलाएर शरीरको परिवर्तनलाई भूलले आफ्नो परिवर्तन मानिदिन्छौं हामी । शरीरसँग सम्बन्ध मानेर शरीरको अवस्थालाई आफ्नो अवस्था हामी मान्छौं । विचार गरौँ, शरीरको अवस्थासँग हामी एकै हुने भए एउटा अवस्था जाँदा र अर्को अवस्था आउँदा हामी पनि जानुपर्ने । यसवाट सिद्ध हुन्छ, आउने जाने अवस्था अर्कै हो र हामी अर्कै हौँ । यस्तो किसिमको आफ्नो स्वतःसिद्ध स्वरूपको अनुभव हुनु 'ज्ञान' हो ।
 
संसारको उत्पत्ति भन्दा पहिले पनि रहने, संसारको स्थितिमा पनि रहने र संसार नष्ट भएपछि पनि रहने तत्व 'छ, हो' नामले भनिन्छ । परन्तु उत्पन्न हुनु भन्दा पहिले नभएको र नष्ट भएपछि पनि नरहने र वीचमा पनि निरन्तर नाशतर्फ गइरहने वस्तु 'छैन, हैन' नामले भनिन्छ । 'छैन, हैन' को प्रतीति हुन्छ, प्राप्ति हुँदैन । जे 'छ, हो' त्यो त 'छ, हो' नै र जे 'छैन, हैन' त्यो छँदै छैन । 'छैन, हैन'लाई 'छैन, हैन' रूपले मान्दै 'छ, हो'लाई 'हो, छ' रूपले मान्नु नै श्रद्धा हो, जुन श्रद्धावाट नित्यसिद्ध ज्ञान प्राप्त हुन्छ । 

परम शान्तिको तत्काल अनुभव नहुनुको कारण -- आफूसँग भएको वस्तु आफूमा नखोजेर    वाहिर अरु ठाउँमा खोज्नु । परमशान्ति प्राणीमात्रमा स्वतःसिद्ध छ । परन्तु मनुष्य परमशान्ति स्वरूप परमात्मासंग विमुख हुन्छ र सांसारिक वस्तुहरुमा शान्ति खोज्छ । यसैले अनेक जन्महरूसम्म शान्तिको खोजमा भट्कीरहँदा पनि उसलाई शान्ति मिल्दैन । उत्पत्ति-विनाशशील वस्तुहरुमा कसरी शान्ति मिल्न सक्छ र ? तत्वज्ञानको अनुभव भएपछि दुःखरुप संसारसँग सँधैकोलागि सम्बन्ध-विच्छेद हुन्छ, स्वतःसिद्ध परमशान्तिको तत्काल अनुभव हुन्छ ।

सबै साधकलाई श्रद्धा-विश्वास र विवेकको आवश्यकता पर्छ । हो, कर्मयोग तथा ज्ञानयोगमा विवेकको मुख्यता छ र भक्तियोगमा श्रद्धा-विश्वासको मुख्यता छ । आरम्भमा 'तत्वज्ञान छ' भन्ने श्रद्धा हुनेछ, त्यसैले साधक त्यो तत्वज्ञानको प्राप्तिकोलागि साधन गर्नेछ ।

169 No 136 श्लोक ३६ यदि तिमी सबै पापीहरु भन्दा पापी छौ भने पनि ज्ञानरूपी डुंगा द्वारा निःसन्देह सम्पूर्ण पाप-समुद्रवाट राम्रोसँग तर्नेछौ ।

No 136 

श्लोक ३६ 

यदि तिमी सबै पापीहरु भन्दा पापी छौ भने पनि ज्ञानरूपी डुंगा द्वारा निःसन्देह सम्पूर्ण पाप-समुद्रवाट राम्रोसँग तर्नेछौ ।  

पाप गर्नेहरुका तीन श्रेणी हुन्छन् -- (१) 'पापकृत्' (पाप गर्ने), (२) 'पापकृत्तर' (दुइ पापीहरुमध्ये वढी पाप गर्ने) र (३) 'पापकृत्तम' (सम्पूर्ण पापीहरुमा सबै भन्दा वढी पाप गर्ने व्यक्ति) । यहाँ भगवान अर्जुनलाई भन्नुहुन्छ, तिमी सम्पूर्ण पापीहरु मध्ये अत्यन्त पाप गर्ने व्यक्ति छौ भने पनि तत्वज्ञानले सम्पूर्ण पापहरुदेखि तर्नेछौ ।              

भगवानको यस्तो वचन आफ्नो चेलोलाई आश्वासन दिने खालको छ । सबै पापहरु छोडेर साधनमा लाग्ने व्यक्तिको त कुरै के गर्नु पर्यो र ! तर पहिले पाप गरेको व्यक्तिले पनि जिज्ञासा जाग्रत भएपछि आफ्नो उद्धारको वारे निराश हुनु नपर्ने भयो । कारण कि पापी भन्दा पापी मनुष्य पनि उसले चाहे यही जन्ममा अहिले नै आफ्नो कल्याण गर्न सक्छ । वर्तमानका पाप जति वाधक पुराना पाप हुँदैनन् । कुनै व्यक्तिले अहिले वर्तमानमा पाप गर्न छोडेर 'म अवदेखि कहिले पनि पाप गर्ने छैन र खालि तत्वज्ञान पाउनेछु' भन्ने निश्चय गर्यो भने उसका पापहरु नाश हुन धेरै समय लाग्दैन ।

सय वर्षदेखि अँध्यारो भैरहेको कुनै ठाउँमा वत्ति वाल्यो भने त्यो अँध्यारो हटाएर प्रकाश गर्न त्यो वत्तिलाई सय वर्ष लाग्दैन, वत्ति वाल्ने वित्तिकै अँध्यारो मेटिन्छ । यसै गरी तत्वज्ञान हुने वित्तिकै पहिले गरिएका सम्पूर्ण पाप तत्काल नष्ट हुन्छन् । 

यहाँ भन्न खोजिएको आशय, प्रायः यस्ता मनुष्य परमात्मामा लाग्दैनन्; तर यस्ता व्यक्ति परमात्मामा लाग्न सक्तैनन् भन्ने कुरो चाहिं होइन । कुनै महापुरुषको संगतले अथवा कुनै घटना, परिस्थिति, वातावरण आदिको प्रभावले त्यस्तो मानिसमा यस्तो निश्चय हुन सक्छ, 'अव मलाई परमात्माको ज्ञान प्राप्त गर्नु नै पर्छ' । त्यस्तो दृढ निश्चयले त्यो व्यक्ति पाप-समुद्रवाट राम्रोसँग पार तर्न सक्छ ।

यस्तै प्रसंग भगवानले नवौं अध्यायमा अनन्यभावले आफ्नो भजन गर्नेकोलागि भन्नुभएको छ, 'ठूलो दुराचारी मनुष्यले पनि यदि 'अवदेखि म भगवानको मात्रै भजन गर्छु' भन्ने निश्चय मात्रै गर्यो भने पनि उसको धेरै चाँडो कल्याण हुन सक्छ ।'                   

पाप हुने नै प्रकृतिको कार्य शरीर र संसारको सम्बन्धले हो । तत्वज्ञान भएपछि शरीर र संसारसँग सर्वथा सम्बन्ध-विच्छेद हुन्छ, त्यसपछि पाप रहन नै कसरी सक्छ र !

परमात्माको स्वतःसिद्ध ज्ञानसँग एक हुनु नै ज्ञानरुप नौका (डुंगा) पाउनु हो । मनुष्य जति नै पापी भए पनि ज्ञानरूपी नौकाले सम्पूर्ण पाप-समुद्र राम्रोसँग तर्न सक्छ । यो ज्ञानरुप नौका कहिले पनि टुट्ने, फुट्ने हुँदैन, यसमा कहिले प्वाल पर्दैन र यो कहिले पनि डुब्दैन । यो ज्ञानरूपी डुंगा मनुष्यलाई पापसमुद्रवाट पार लगाउँछ । 

यो ज्ञानरूपी डुंगा पाउने एक मात्र उपाय हो -- ज्ञानयज्ञ । यो ज्ञानयज्ञ शुरुदेखि नै विवेकलाई लिएर अघि वढ्छ र 'तत्वज्ञान' मा यसको पूर्णता हुन्छ । पूर्णता भएपछि अलिकति पनि पाप रहँदैन । 

श्लोक ३७ 

हे अर्जुन ! दन्दनी वलेको अग्निले दाउराहरु भस्म गरे जस्तै ज्ञानरूपी अग्नि सम्पूर्ण कर्महरु सर्वथा भस्म गरिदिन्छ । 

अघिल्लो श्लोकमा भगवानले ज्ञानरूपी डुंगा द्वारा पाप सागर तर्ने कुरा गर्नु भयो । यो कुराले यस्तो प्रश्न पैदा गर्छ, पापसमुद्र अलिकति मात्रै भए पनि शेष रहन्छ, फेरि त्यसको के होला ? अतः भगवान फेरि अरुको दृष्टान्त दिंदै भन्नुहुन्छ, प्रज्वलित (दन्दनी दन्केको) अग्निले काठ आदि सम्पूर्ण इन्धनहरु भस्म गरे जस्तै ज्ञानरूपी अग्निले पनि सम्पूर्ण पापहरु किञ्चित् मात्र पनि वांकी नराखी भस्म गरिदिन्छ । 

अग्निले काठ भस्म गरे जस्तै तत्वज्ञानरूपी अग्निले संचित, प्रारब्ध र क्रियमाण -- तीनै कर्महरु भस्म गरिदिन्छ । अग्निमा काठ अलिकति पनि वांकी नरहे जस्तै तत्वज्ञानमा सम्पूर्ण कर्महरुको विल्कुल अभाव हुन्छ । तात्पर्य, ज्ञान भएपछि कर्महरुसँग अथवा संसारसँग पूरा सम्बन्ध-विच्छेद हुन्छ । सम्बन्ध-विच्छेद भएपछि संसारको स्वतन्त्र सत्ताको अनुभव हुँदैन, एक परमात्मतत्व मात्रै शेष रहन्छ । 

वास्तवमा सम्पूर्ण क्रियाहरु प्रकृति द्वारा नै हुन्छन् । ती क्रियाहरुसँग आफ्नो सम्बन्ध मान्दा कर्म हुन्छन् । नशाहरुमा रक्त-प्रवाह हुनु, शरीर वालकवाट जवान हुनु, सास भित्र वाहिर गर्नु, भोजन आदि क्रियाहरु हुने समष्टि प्रकृतिवाट नै खानु-पिउनु, हिंड्नु, वस्नु, देख्नु, वोल्नु आदि क्रियाहरु पनि हुन्छन् । परन्तु मनुष्य अज्ञानले गर्दा ती क्रियाहरुसँग आफ्नो सम्बन्ध मान्छ अर्थात् आफूलाई ती क्रियाहरुको कर्ता मान्छ । यसले गर्दा ती क्रियाहरु 'कर्म' वनेर मनुष्यलाई वांधिदिन्छन् । यस्तो किसिमले मानिएका सम्बन्धले नै कर्म हुन्छ, नभए त क्रियाहरु नै हुन्छन् ।

तत्वज्ञान भएपछि अनेक जन्महरुका संचित कर्म सर्वथा नष्ट हुन्छन् । किनकि सबै संचित कर्म कै आश्रित रहन्छन्; त्यसैले ज्ञान हुने वित्तिकै ती कर्महरु नष्ट हुन्छन् । तत्वज्ञानमा  कर्तृत्वाभिमान रहँदैन; अतः सबै क्रियमाण कर्म अकर्म हुन्छन् अथवा फलजनक (फल दिने) हुँदैनन् । प्रारब्ध कर्मको घटना-अंश (अनुकूल-प्रतिकूल परिस्थिति) शरीर रहुन्जेल रहन्छ; परन्तु ज्ञानीलाई त्यसको कुनै असर पर्दैन । कारण कि तत्वज्ञान भएपछि भोक्तृत्व रहँदैन; त्यसैले अनुकूल-प्रतिकूल परिस्थिति आफ्नो अगाडि आउँदा पनि ज्ञानी सुखी-दुःखी हुँदैन ।यसरी तत्वज्ञान भएपछि संचित, प्रारब्ध र क्रियमाण -- तीनै कर्महरुसँग अलिकति पनि सम्बन्ध रहँदैन । कर्महरुसँग आफ्नो सम्बन्ध नरहँदा कर्म रहँदैनन्, भस्म वांकी रहन्छन् अर्थात् सबै कर्म अकर्म हुन्छन् ।

168 No 135 श्लोक ३४ त्यो तत्वज्ञान तत्वदर्शी ज्ञानी महापुरुषकहाँ गएर बुझ ।

No 135 

श्लोक ३४ 

त्यो तत्वज्ञान तत्वदर्शी ज्ञानी महापुरुषकहाँ गएर बुझ । तत्वज्ञानी महापुरुषलाइ दण्डवत् प्रणाम गरेर, उहाँको सेवा गरेर सरलतापूर्वक प्रश्न गरे ती तत्वदर्शी (अनुभवी) ज्ञानी (शास्त्रज्ञ) महापुरुष तिमीलाई त्यो तत्वज्ञानको उपदेश दिनेछन् ।

अर्जुनले पहिले भनेका थिए, 'युद्धमा स्वजनलाई मार्नु म आफ्नो हित देख्दिन,' 'यी आततायीलाई मार्दा त हामीलाई पाप लाग्छ,' 'युद्ध गर्नु भन्दा म भिक्षा मागेर जीवन-निर्वाह गर्नु श्रेष्ठ सम्झन्छु,' आदि आदि । यसरी अर्जुन युद्धरूप कर्तव्य-कर्म नगर्नु श्रेष्ठ सम्झन्छन् ।तर भगवानको मत अनुसार ज्ञानप्राप्तिकोलागि कर्महरुको त्याग गर्नु आवश्यक छैन ।यहाँ भगवानले अर्जुनलाई यसो पनि भने जस्तो लाग्छ, 'यदि तिमी कर्महरुको स्वरूपले नै त्याग गरेर ज्ञान पाउनुलाई श्रेष्ठ मान्छौ भने तिमी कुनै तत्वदर्शी ज्ञानी महापुरुषकहाँ गएर विधिपूर्वक ज्ञान प्राप्त गर, म तिमीलाई यस्तो उपदेश दिन्न ।' 

वास्तवमा, यहाँ भगवानको अभिप्राय अर्जुनलाई ज्ञानी महापुरुषकहाँ पठाउने नभएर उनलाई चेताउने प्रयास भए जस्तो लाग्छ । जस्तो, कुनै महापुरुष कसैलाई उसको कल्याणको कुरा गरिरहेको वेला त्यो सुन्ने व्यक्तिको श्रद्धाको कमीको कारणले उसलाई त्यो उपदेश ठीक लाग्दैन भने ती महापुरुषले त्यो व्यक्तिलाई भनिदिन्छन्, 'तिमी कुनै ज्ञानी महापुरुषकहाँ गएर आफ्नो कल्याणको उपाय सोध ।' यसै गरी भगवानले पनि अर्जुनलाई यसो भनिरहे जस्तो लाग्छ, 'यदि तिमीलाई मेरो कुरा ठीक लाग्दैन भने तिमी कुनै ज्ञानी महापुरुषकहाँ गएर प्रचलित प्रणाली द्वारा ज्ञान प्राप्त गर ।' ज्ञान प्राप्त गर्ने प्रचलित प्रणाली हो -- कर्महरु स्वरूपले नै त्यागेर, जिज्ञासापूर्वक श्रोत्रिय र ब्रहमनिष्ठ गुरुकहाँ गएर विधिपूर्वक ज्ञान प्राप्त गर्ने । 

आउँदा केही पछिका श्लोकहरुमा भगवान अर्जुनलाई भन्नुहुन्छ, 'यही तत्वज्ञान तिमीलाई आफ्नो कर्तव्य-कर्म गर्दा गर्दै (कर्मयोग सिद्ध हुने वित्तिकै) अरु कुनै साधन नै नगरी आफैं प्राप्त हुनेछ । तत्वज्ञानकोलागि कुनै अरु व्यक्तिकहाँ जानै पर्दैन ।' 

ज्ञानप्राप्तिकोलागि गुरुकहाँ गएर उहाँलाई साष्टांग दण्डवत् गर्नुपर्छ । तात्पर्य, गुरुसँग नीच पुरुष जस्तो रहनु । यसो गर्दा आफ्नो गुरुको कहिले पनि निरादर, तिरस्कार हुँदैन । नम्रता, सरलता र जिज्ञासुभावले उहाँसँग वस्नु र सेवा गर्नु । आफू आफैं गुरुमा समर्पित भइदिने, उहाँको अधीनमा रहने । शरीर र वस्तुहरु -- दुवै उहाँमा अर्पण गर्ने । साष्टांग दण्डवत् प्रणाम द्वारा आफ्नो शरीर र सेवाले आफ्ना वस्तुहरु गुरुलाई अर्पण गर्ने । 

शरीर र वस्तुहरुले गुरुको सेवा गर्ने । उहाँ प्रसन्न हुने काम गर्ने । उहाँको प्रसन्नता पाउनु छ भने आफूले आफूलाई सँधै उहाँको अधीन गरिदिने । उहाँको मन, संकेत, आज्ञा अनुकूल व्यवहार गर्ने । यही वास्तविक सेवा हो । 

सन्त-महापुरुषलाई गर्ने सब भन्दा ठूलो सेवा हो -- उहाँको सिद्धान्तहरु अनुसार आफ्नो जीवन विताउने । कारण कि उहाँहरुलाई आफ्नो सिद्धान्त जति आफ्नो शरीर पनि प्रिय हुँदैन । सिद्धान्त रक्षाकोलागि नै उहाँहरु आफ्नो शरीरसम्म त्यागिदिन्छन् । यसैले साँचो सेवक गुरुको सिद्धान्तहरु दृढतापूर्वक पालन गर्छ ।

परमात्मतत्व जान्न जिज्ञासुभावले सरलता र विनम्रतापूर्वक प्रश्न गर्नुपर्छ । आफ्नो विद्वत्ता देखाउन अथवा गुरुको परीक्षा गर्न प्रश्न गर्नु हुन्न ।

म को हुँ ? संसार के हो ? बन्धन के हो ? मोक्ष के हो ? परमात्मतत्वको अनुभव कसरी हुन सक्छ ? मेरो साधनमा के के वाधाहरु छन् ? ती वाधाहरु कसरी हटाउने ? तत्व किन बुझिरहिएको छैन ? जस्ता प्रश्न आफ्नो बोधकोलागि जिज्ञासा अनुसार गर्नुपर्छ ।

आफूले मानेको गुरु महापुरुषलाई परमात्मतत्वको अनुभव भएको हुनु पर्छ; र उहाँलाई वेदहरु र शास्त्रहरूको राम्रो ज्ञान भएको हुनुपर्छ । त्यस्ता तत्वदर्शी र ज्ञानी महापुरुषकहाँ गएर मात्रै ज्ञान प्राप्त गर्नुपर्छ ।

अन्तःकरणको शुद्धि अनुसार ज्ञानको अधिकारी तीन प्रकारका हुन्छन् -- उत्तम, मध्यम र कनिष्ठ । उत्तम अधिकारीलाई श्रवण मात्रैले तत्वज्ञान हुन्छ । मध्यम अधिकारीलाई श्रवण, मनन र निदिध्यासन गरेर तत्वज्ञान हुन्छ । कनिष्ठ अधिकारी तत्व बुझ्न धेरै किसिमका शंकाहरु गर्ने गर्छ । ती शंकाहरु समाधान गर्न वेदहरु र शास्त्रहरुको ठीक-ठीक ज्ञान हुनु आवश्यक छ; किनकि त्यस्तो समयमा केवल युक्तिहरुले तत्व बुझाउन सकिंदैन । अतः यदि गुरु तत्वदर्शी त छ तर ज्ञानी छैन भने त्यो गुरु आफ्नो चेलोको किसिम किसिमका शंकाहरुको समाधान गर्न सक्तैन । फेरि, यदि गुरु शास्त्रको ज्ञाता त छ तर तत्वदर्शी छैन भने उसका कुराहरुले श्रोतालाई ज्ञान गराउन सक्तैनन् । त्यस्तो गुरुले कुराहरु सुनाउन सक्छ, पुस्तकहरु पढाउन सक्छ, तर शिष्यलाई बोध गराउन सक्तैन । यसैले गुरु तत्वदर्शी र ज्ञानी दुवै हुनु निकै जरूरी छ ।

'महापुरुषलाई दण्डवत् प्रणाम गरे, उहाँको सेवा गरे र उहाँसँग सरलतापूर्वक प्रश्न गरे उहाँ तिमीलाई तत्वज्ञानको उपदेश दिनुहुन्छ' भन्ने वाक्यको अर्थ यो होइन कि महापुरुषलाई यी सबै कुराको आशा (अपेक्षा) रहन्छ । वास्तवमा, त्यस्ता महापुरुषलाई प्रणाम, सेवा आदिको अलिकति मात्र पनि भोक हुँदैन । यहाँ यस्तो भाव छ, साधकले यस्तो किसिमले जिज्ञासा गर्छ र सरलता-पूर्वक महापुरुषकहाँ गएर वस्छ भने त्यो महापुरुषको अन्तःकरणमा ऊ प्रति विशेष भाव पैदा हुन्छ । यस्तो विशेष भावले साधकलाई ज्यादै लाभ हुन्छ ।साधक यदि यसरी गुरुकहाँ वस्दैन भने ज्ञान पाउँदा पनि ऊ त्यो ज्ञानलाई ग्रहण गर्न सक्तैन ।

यहाँ आएको ज्ञान शब्द तत्वज्ञान अथवा स्वरूप-बोधको वाचक हो । वास्तवमा ज्ञान स्वरूपको हुँदैन, संसारको हुन्छ । संसारको ज्ञान हुने वित्तिकै संसारसँग सम्बन्ध-विच्छेद हुन्छ र स्वतः सिद्ध स्वरूपको अनुभव हुन्छ । 

यहाँ भन्न खोजिएको, महापुरुष साधकलाई ज्ञानको उपदेश त दिन्छन्, तर त्यो ज्ञानले साधकलाई बोध भइ नै हाल्छ भन्ने छैन । यहाँ यो बुझ्नु पर्छ हामीले, श्रद्धावान् साधकले मात्रै ज्ञान प्राप्त गर्न सक्छ । किनकि श्रद्धा अन्तःकरणको वस्तु हो; तर प्रणाम, सेवा, प्रश्न आदि कपटपूर्वक पनि गर्न सकिन्छ । यसैले यहाँ महापुरुषवाट खालि ज्ञान दिइने मात्रै कुरा भयो, शिष्य द्वारा ज्ञान पाउने नपाउने कुरोको उल्लेख छैन ।

श्लोक ३५ 

यस्तो तत्वज्ञान अनुभव गरेपछि तिमीलाई फेरि यस्तो प्रकारले मोह हुँदैन र हे अर्जुन ! यही तत्वज्ञानले तिमी सम्पूर्ण प्राणीहरुलाइ नि:शेषभावले पहिले आफूमा र त्यसपछि म सच्चिदानन्दघन परमात्मामा देख्नेछौ । 

पहिलो श्लोकमा भगवानले भन्नुभयो, ती महापुरुष तिमीलाई तत्वज्ञानको उपदेश दिनेछन्, तर उपदेश सुनेर मात्रै वास्तविक बोध अर्थात् स्वरूपको यथार्थ बोध हुन्छ भन्न सकिंदैन । फेरि वास्तविक बोधको वर्णन पनि कोही गर्न सक्तैन । किनकि वास्तविक बोध करण-निरपेक्ष छ अर्थात् मन, वाणी भन्दा पर छ । अतः वास्तविक बोध स्वयं द्वारा स्वयंलाई हुन्छ र मनुष्यले आफ्नो विवेकलाइ महत्व दिएपछि हुन्छ । विवेकलाई महत्व दिएपछि 
अविवेक सर्वथा मेटिन्छ र त्यही विवेक नै वास्तविक बोध भैदिन्छ र जडतासँग सर्वथा सम्बन्ध-विच्छेद गराइदिन्छ । वास्तविक बोध भएपछि फेरि कहिले मोह हुँदैन ।  

गीताको पहिलो अध्यायमा अर्जुनको मोह प्रकट हुन्छ कि युद्धमा सबै कुटुम्बी, नाता गोता मरे भने उनीहरुलाई पिण्ड दिने को होला ? पिण्ड-पानी नपाएपछि उनीहरु नरकमा खस्छन् ।वांचेका स्त्रीहरु बच्चाहरुको पालन कसरी होला ? तत्वज्ञान भएपछि यस्तो मोह रहँदैन । बोध भएपछि संसारसँग म र मेरो पनको सम्बन्ध हुँदैन । त्यसपछि पुनः मोह हुने प्रश्न नै रहँदैन । 

तत्वज्ञान हुने वित्तिकै 'मेरो सत्ता सर्वत्र परिपूर्ण छ र त्यही सत्ता अन्तर्गत नै सबै ब्रह्माण्ड छ' भन्ने अनुभव हुन्छ । स्वप्नवाट उठेको पुरुषले स्वप्नको सृष्टिलाई आफूमा नै देखे जस्तै तत्वज्ञान भएपछि मनुष्य सम्पूर्ण प्राणीहरु(जगत्) लाई आफूमा देख्छ । 

तत्वज्ञान प्राप्त गर्ने प्रचलित प्रक्रिया अनुसार भगवान भन्नु हुन्छ, गुरुवाट विधिपूर्वक (श्रवण, मनन र निदिध्यासनपूर्वक) तत्वज्ञान प्राप्त गरेपछि साधक पहिले आफ्नो स्वरूपमा सम्पूर्ण प्राणीहरु देख्छ -- यो 'त्वम्' पदको अनुभव हो । फेरि त्यही स्वरूप तथा सम्पूर्ण प्राणीहरुलाई एक सच्चिदानन्दघन परमात्मामा देख्छ -- यो 'तत्' पदको अनुभव भयो । यसै गरी उसलाई पहिले 'त्वम्' (स्वरूप) को र त्यसपछि 'तत्' (परमात्मतत्व) सँग 'त्वम्'को एकताको अनुभव हुन्छ । एक ब्रह्म मात्रै शेष रहन्छ । यस्तो अवस्थामा दृग, दृश्य र दर्शन तीनै रहँदैनन् । परन्तु अरुको दृष्टिमा उसको आफ्नो भनिने अन्तःकरणमा देखिने भावलाई लिएर भगवान भन्नुहुन्छ, 'ऊ सबैमा मलाई देख्छ' । 

स्थूल दृष्टिले हेर्दा समुद्र र लहरहरुमा भिन्नता देखिन्छ । लहरहरु समुद्रमा नै उठी रहन्छन् र लीन भई रहन्छन् । परन्तु समुद्र र लहरहरुको छुट्टै सत्ता छैन । सत्ता त खालि जल-तत्वको मात्रै छ । जल-तत्वमा न समुद्र छ, न लहरहरु नै छन् ।पृथ्वीसँग सम्बन्ध भएकोले समुद्र पनि सीमित छ र लहरहरु पनि; तर जल-तत्व सीमित छैन ।अतः समुद्र र लहरहरु नहेरेर एक जल-तत्व देख्नु नै यथार्थ दृष्टि  हो । यसै गरी संसाररुप समुद्र र शरीररुप लहरहरुमा भिन्नता देखिन्छ । शरीर संसारमा नै उत्पन्न र नष्ट भइरहन्छ । परन्तु  वास्तवमा संसार र शरीर-समुदायको स्वतन्त्र सत्ता छैन ।सत्ता खालि परमात्मतत्वको मात्रै छ । परमात्मतत्वमा न संसार छ, न शरीर । प्रकृतिसँग सम्बन्ध भएकोले संसार पनि सीमित छ र शरीर पनि । परन्तु परमात्मतत्व सीमित छैन । अतः संसार र शरीरहरु नदेखेर  एक परमात्मतत्व मात्रै देख्नु यथार्थ दृष्टि हो ।

तत्वज्ञान अथवा अज्ञानको नाश एकै चोटी हुन्छ र सँधैकोलागि हुन्छ । तात्पर्य, तत्वज्ञानको आवृत्ति (दोहोरिने क्रिया) हुँदैन । यो ज्ञान एक चोटी अनुभवमा आएपछि आइहाल्यो । कारण, अज्ञानको स्वतन्त्र सत्ता नै छैन भने फेरि अज्ञान कसरी हुने ? अतः नित्य-निवृत्त अज्ञानको नै निवृत्ति हुन्छ र नित्यप्राप्त तत्वको नै प्राप्ति हुन्छ ।

स्वयं सत्तामात्र र बोधस्वरूप हो । बोधको अनादर गर्दा हामीले असत् लाई स्वीकार गरेर अविवेक भयो । तात्पर्य, बोधसँग विमुख भएर हामीले असत् लाई सत्ता दियौं र असत् लाई सत्ता दिंदा विवेकको अनादर भयो । वास्तवमा बोधको अनादर गरेको होइन, अनादिकालदेखि अनादर छ । बोध एकै चोटी हुन्छ र सँधैकोलागि हुन्छ ।

तत्वज्ञान भएपछि फेरि मोह हुँदैन, किनकि वास्तवमा मोह छँदै छैन ।जगत् जीव अन्तर्गत छ र जीव परमात्मा अन्तर्गत छ । यसैले साधक पहिले जगत् आफूमा देख्छ, पछि आफूलाई परमात्मामा देख्छ । आत्मज्ञानमा निजानन्द (आफ्नो स्वरूपको आनन्द) छ र परमात्मज्ञानमा परम् आनन्द छ । लौकिक निष्ठा (कर्मयोग तथा ज्ञानयोग)मा आत्मज्ञानको अनुभव हुन्छ र अलौकिक निष्ठा (भक्तियोग)मा परमात्मज्ञानको अनुभव हुन्छ । 

सबै भगवान नै हो -- यस्तो समग्रको ज्ञान 'परमात्मज्ञान' हो । आत्मज्ञानले मुक्ति हुन्छ, तर आत्मज्ञानमा सूक्ष्म अहम् को गन्ध रहन्छ ।यो अहम् को गन्धले गर्दा दार्शनिकहरुमा मतभेद रहन्छ । सूक्ष्म अहम् को गन्ध नभए मतभेद हुँदैन ।परन्तु परमात्मज्ञानमा सूक्ष्म अहम् को गन्ध पनि रहँदैन र त्यही अहम् वाट पैदा हुने सम्पूर्ण दार्शनिक मतभेद समाप्त हुन्छन् । तात्पर्य, जवसम्म 'आत्मनि' छ, त्यो वेलासम्म दार्शनिक मतभेद छन् ।'वासुदेवःसर्वम्'को अनुभव भएपछि सबै मतभेद मेटिन्छन् मतभेद मेटिएपछि एक परमात्मा सिवाय अर्को कुनै सत्ता रहँदैन ।   

167 No.134 श्लोक ३१ हे कुरुवंशिहरुमा श्रेष्ठ अर्जुन ! यज्ञवाट वचेको अमृतको अनुभव गर्ने व्यक्तिहरु सनातन परब्रह्म परमात्मा पाउँछन् ।

No.134 

श्लोक ३१ 

हे कुरुवंशिहरुमा श्रेष्ठ अर्जुन ! यज्ञवाट वचेको अमृतको अनुभव गर्ने व्यक्तिहरु सनातन परब्रह्म परमात्मा पाउँछन् । यज्ञ नगर्ने मनुष्यकोलागि यो मनुष्यलोक नै सुखदायक छैन भने परलोक कसरी सुखदायक होला ?

यज्ञ गरे अर्थात् निष्कामभावपूर्वक अरुलाई  सुख पुर्याए समताको अनुभव हुन्छ । यही अनुभवलाई 'यज्ञशिष्ट अमृत'को अनुभव भनिएको  हो । अमृत अर्थात् अमरताको अनुभव गर्ने व्यक्ति सनातन परब्रह्म परमात्मा पाउँछन् ।

 स्वरूपले मनुष्य अमर छ । मर्ने वस्तुहरुको संगले नै मनुष्यलाई मृत्युको अनुभव हुन्छ । यी वस्तुहरुलाई संसारको हितमा लगाउँदा मनुष्य असंग हुन्छ, त्यसपछि उसलाई अमरताको अनुभव हुन्छ । 

सम्पूर्ण कर्तव्य केवल कर्तव्य सम्झेर गरियो भने त्यो कर्म यज्ञ हुन्छ । केवल अरुको हितकोलागि गरिने कर्म नै कर्तव्य हुन्छ । आफ़्नोलागि गरिने कर्म कर्तव्य हुँदैन, खालि कर्म हुन्छ, जसवाट मनुष्य बाँधिन्छ । यसैले यज्ञमा दिनु नै दिनु हुन्छ, लिनु केवल निर्वाह मात्रकोलागि हुन्छ । शरीर यज्ञ गर्न समर्थ रहोस् भन्ने दृष्टिले शरीर-निर्वाहकोलागि वस्तुहरुको उपयोग गर्नु पनि यज्ञको अन्तर्गत नै पर्छ । मनुष्य-शरीर यज्ञकोलागि नै हो ।यो शरीरलाई मान-वड़ाई, सुख-आराम आदिमा लगाउनु बन्धनकारक हो । केवल यज्ञकोलागि कर्म गरे मनुष्य बन्धनरहित (मुक्त) हुन्छ र उसलाई सनातन ब्रह्मको प्राप्ति हुन्छ ।  

अर्जुन मार्फत् हामीलाई भगवान भन्नुहुन्छ,'यज्ञ गर्दैनौ भने तिमीलाई यो लोक पनि लाभदायक हुँदैन, परलोकको त कुरै के गर्नु पर्यो र ? खालि स्वार्थभावले (आफ़्नोलागि) कर्म गरे यो लोकमा संघर्ष हुन्छ र सुख-शान्ति भंग हुनेछ र परलोकमा पनि कल्याण हुने छैन ।

आफ्नो कर्तव्य नगरे घरमा पनि भेद र संघर्ष हुन्छ, खटपट हुन्छ । घरमा कुनै व्यक्ति स्वार्थी छ भने त्यो घरका अरु व्यक्तिलाई त्यो व्यक्ति घरमा वसेको पनि मन पर्दैन । स्वार्थ त्यागेर आफ्नो कर्तव्यले सबैलाई सुख पुर्याउनु घरमा अथवा संसारमा वस्ने विद्या हो । 
आफ्नो कर्तव्यको पालनले अरुलाई पनि कर्तव्य-पालनको प्रेरणा मिल्छ । यसो गर्यो भने घरमा सुख र शान्ति स्वाभावले नै आउँछ । तर आफ्नो कर्तव्यको पालन नगरे यो लोकमा सुखपूर्वक वाँच्न पनि मुश्किल पर्छ भने अरु लोकको त कुरै के गर्नु ! तर आफ्नो कर्तव्यको पालन ठीकसँग गर्यो भने यो लोक पनि सुखदायक हुन्छ र परलोक पनि ।

श्लोक ३२ 

यसरी अरु पनि धेरै किसिमका यज्ञ वेदका वाणीमा भनिएका छन् । ती सबै यज्ञहरुलाई तिमी कर्मजन्य भन्ने बुझ । यस्तो किसिमले जानेर यज्ञ गरे तिमी कर्मबन्धनवाट छुट्ने छौ । 

हालै प्रस्तुत वारह यज्ञ भन्दा वाहेक अरु पनि अनेक प्रकारका यज्ञहरुको वेदका वाणीहरुमा विस्तारले  वर्णन छन् । किनकि साधकहरुको प्रकृति अनुसार उनीहरुको निष्ठा वेग्ला-वेग्लै हुन्छन्, त्यही अनुसार तिनका साधन पनि वेग्ला-वेग्लै हुन्छन् । 

वेद्हरुमा सकाम कर्मको अनुष्ठानको वर्णन पनि विस्तृत छ । तर ती सबै अनुष्ठानवाट नाशवान् फलको नै प्राप्ति हुन्छ, अविनाशी फलको हुँदैन । यसैले वेदहरुमा वर्णित सकाम अनुष्ठान गर्ने मनुष्य स्वर्गलोक जान्छन् र पुण्य सकिएपछि फेरि मृत्युलोकमा आउँछन् ।यसरी उनीहरु जन्म-मरणको बन्धनमा परिरहन्छन् । परन्तु यहाँ, यो श्लोकमा ती सकाम अनुष्ठानहरुको कुरा भएको छैन । यहाँ त निष्कामकर्मरुप अनुष्ठानवाट परमात्माको प्राप्ति गराउने यज्ञको कुरा भएको छ । 

वेदमा स्वर्गप्राप्तिको साधनरुप सकाम अनुष्ठानहरुको मात्रै वर्णन छैन । त्यहाँ परमात्मप्राप्तिको साधनरूप श्रवण, मनन,निदिध्यासन, प्राणायाम, समाधि आदि अनुष्ठानहरुको पनि वर्णन छ भन्ने भाव यो प्रसंगको छ । 

अर्जुन आफ्नो कल्याण त चाहन्छन्, तर युद्धरूप कर्तव्य-कर्मलाई पाप भन्ने मानेर त्यसको त्याग गर्न चाहन्छन् । यसैले भगवान अर्जुनलाई भन्नुहुन्छ, 'युद्धरुप कर्तव्यकर्म त्यागेर आफ्नो कल्याणकोलागि तिमीले गर्ने साधन पनि त कर्म नै हो। वास्तवमा कल्याण कर्मले हुने होइन, कर्महरुसँग पूरापूर सम्बन्ध-विच्छेद हुँदा नै हुन्छ ।यसैले तिमी युद्धरुप कर्तव्य-कर्म पनि निर्लिप्त भएर गर्छौ भने तिम्रो कल्याण हुनेछ, किनकि बाँध्ने कर्मले होइन, (कर्म र त्यसको फलको) आसक्तिले नै बाँध्छ ।  युद्ध त तिम्रो सहज कर्म (स्वधर्म) हो, यो सहज कर्म गर्न सजिलो पनि छ ।'

यहाँ, अझ यो अध्यायमा, भगवान भन्नुहुन्छ, 'मलाइ कर्मफलमा स्पृहा छैन, त्यही कारण मलाई कर्म बाँधदैनन् भन्ने कुरा जान्ने व्यक्ति पनि कर्मवाट वाँधिंदैन ।' तात्पर्य, कर्म गरी रहंदा पनि ती कर्महरुदेखि निर्लिप्त रहने विद्या सिकेर त्यसको अनुभव  गरेको व्यक्ति कर्म -बन्धनदेखि मुक्त हुन्छ ।' उहाँको भाव छ, मुमुक्षु (मोक्षको चाहना राख्ने ) पुरुषले  पनि यस्तो जानेर कर्म गर्दै आएका छन् । कर्मदेखि निर्लिप्त रहने यही तत्व विस्तारले भन्नको लागि भगवानले प्रतिज्ञा गर्नु भयो र यो तत्व जानेको फलवाट मुक्त भइने कुरा उहाँले भन्नु भयो । तात्पर्य, फलको इच्छा छोडेर केवल लोकहितार्थ कर्म गरे मनुष्य कर्म-बन्धनदेखि मुक्त हुन्छ । 

संसारमा अनगिन्ति क्रियाहरु हुन्छन्; तर मनुष्य जुन क्रियासँग आफ्नो सम्बन्ध जोडछ, त्यही क्रियासँग बाँधिन्छ । तर शरीर अथवा संसारसँग हुने कुनै पनि क्रियासँग मनुष्य सम्बन्ध जोडदैन भने ऊ कर्म-बन्धनदेखि मुक्त हुन्छ । 

श्लोक ३३ 

हे परंतप अर्जुन ! द्रव्यमय यज्ञ भन्दा ज्ञानयज्ञ श्रेष्ठ छ । सम्पूर्ण कर्म र पदार्थ ज्ञान (तत्वज्ञान)मा समाप्त (लीन) हुन्छन् । 

द्रव्यहरु (पदार्थहरु) तथा कर्महरुको आवश्यकता हुने यज्ञहरु 'द्रव्ययज्ञ' हुन्छन् । 'द्रव्य' शब्दसँग 'मय' को अर्थ प्रचुर मात्रा भन्ने बुझ्नु पर्छ । यही कारण द्रव्यमय यज्ञ भन्दा ज्ञानयज्ञ श्रेष्ठ छ; किनकि ज्ञानयज्ञमा द्रव्य र कर्मको आवश्यकता  हुँदैन । 

सबै यज्ञलाई भगवानले कर्मजन्य भन्नुभयो । तर यहाँ भगवान भन्नुहुन्छ, सम्पूर्ण कर्म ज्ञानयज्ञमा परिसमाप्त हुन्छ अर्थात् ज्ञान कर्मजन्य होइन, विवेक-विचारजन्य हो । यहाँ वर्णित ज्ञानयज्ञ पहिले उल्लेख भएका वारह ज्ञानयज्ञको वाचक नभएर आउँदो श्लोकमा व्याख्या हुने ज्ञान प्राप्त गर्ने प्रचलित प्रक्रियाको वाचक हो । पहिले वर्णन भएको वारह यज्ञहरुको वाचक यहाँ 'द्रव्यमय यज्ञ' हो द्रव्यमय यज्ञ समाप्त गरिएपछि नै ज्ञानयज्ञ गरिन्छ ।

सूक्ष्म दृष्टिले हेर्दा ज्ञानयज्ञ पनि केही हदसम्म क्रियाजन्य नै भए पनि यसमा विचार-विवेकको प्रधानता रहन्छ ।

मनुष्यले आफ्नोलागि कर्म गरुन्जेल उसको सम्बन्ध क्रियाहरु र पदार्थहरुसँग वनिरहन्छ । क्रियाहरु र पदार्थहरुसँग सम्बन्ध रहुन्जेल अन्तःकरणमा अशुद्धि रहन्छ, यसैले आफ्नोलागि कर्म नगर्दा नै अन्तःकरण शुद्ध हुन्छ । 

अन्तःकरणमा तीन दोष रहन्छन् -- मल (संचित पाप), विक्षेप (मनको चंचलता) र आवरण (अज्ञान) । आफ़्नोलागि कुनै पनि कर्म नगरे अर्थात् संसारको सेवाकोलागि मात्रै कर्म गरे साधकको अन्तःकरणमा रहेको मल र विक्षेप -- दुवै दोष मेटिन्छन् ।त्यसपछि त्यो साधक ज्ञानप्राप्ति द्वारा आवरण-दोष (अज्ञान) मेट्नकोलागि कर्महरु स्वरूपले नै छोडेर गुरुकहाँ जान्छ । त्यो वेला साधक कर्महरु र पदार्थहरुवाट माथि उठ्छ अर्थात् कर्म र पदार्थ उसको लक्ष रहँदैनन्, चिन्मय तत्व नै उसको लक्ष रहन्छ । यसैलाई सम्पूर्ण कर्महरु र पदार्थहरु तत्वज्ञानमा समाप्त हुने भनिएको हो ।

ज्ञानप्राप्तिको प्रचलित प्रक्रिया 

शास्त्रहरुमा ज्ञानप्राप्तिकोलागि आठ आन्तरिक साधन वताइएका छन् ।ती हुन्, (१) विवेक, (२) वैराग्य, (३) शमादि षट्सम्पत्ति (शम, दम, श्रद्धा, उपरति, तितिक्षा र समाधान), (४) मुमुक्षुता (५) श्रवण, (६) मनन, (७) निदिध्यासन, (८) तत्वपदार्थशोधन ।यिनीहरुमा पहिलो साधन विवेक हो । सत् र असत् लाई छुट्टा छुट्टै जान्नुलाई 'विवेक' भनिन्छ ।सत् र असत् लाई छुट्टा छुट्टै जानेर असत् को त्याग गर्नु अथवा संसारवाट विमुख हुनु 'वैराग्य' हो । शमादि षट्सम्पत्तिमा मनलाई विषयहरुवाट हटाउनु 'शम' हो । इन्द्रियहरूलाई विषयहरुवाट हटाउनु 'दम' हो । ईश्वर, शास्त्र आदिमा पूज्यभावपूर्वक प्रत्यक्ष भन्दा पनि धेरै विश्वास गर्नु 'श्रद्धा' हो । आफ्ना बुद्धिका वृत्तिहरु संसारवाट हट्नु 'उपरति' हो ।जाडो-गर्मी आदि द्वन्द्वहरु सहनु, तिनको उपेक्षा गर्नु 'तितिक्षा' हो ।अन्तःकरणमा शंकाहरु नहुनु 'समाधान' हो ।यसपछि अर्को साधन हो -- मुमुक्षुता । संसारदेखि छुट्ने इच्छा मुमुक्षुता हो ।

मुमुक्षुता जाग्रत भएपछि साधक पदार्थ र कर्महरु स्वरूपैले त्यागेर श्रोत्रिय र ब्रह्मनिष्ठ गुरुकहाँ जान्छ । गुरुसँग निवास गर्दै, केही समय विताउँदै शास्त्रहरू सुनेर शास्त्रहरूको आशयको निर्णय गर्नुलाई 'श्रवण' भनिन्छ । श्रवणवाट प्रमाणगत संशय हट्छ । परमात्मतत्वको युक्ति-प्रयुक्तिहरुवाट चिन्तन गर्नु 'मनन' हो । मननद्वारा प्रमेयगत शंका हट्छ । संसारको सत्ता मान्नु र परमात्माको सत्ता नमान्नुलाई 'विपरीत भावना' भनिन्छ ।विपरीत भावना हटाउनु 'निदिध्यासन' हो । सम्पूर्ण प्राकृत पदार्थसँग सम्बन्ध-विच्छेद होस् र केवल एक चिनमय-तत्व वांकी रहोस् -- यो 'तत्वपदार्थशोधन' हो । यसैलाई तत्व-साक्षात्कार भन्छन् । 

यी सबै साधनहरुको तात्पर्य हो -- असाधन अर्थात् असत् सँगको सम्बन्धको त्याग । त्याज्य (त्यागिने) वस्तु आफ़्नोलागि हुँदैन, तर त्यागको परिणाम (तत्वसाक्षात्कार) आफ्नोलागि हुन्छ । 

द्रव्यमय यज्ञमा क्रिया तथा पदार्थको मुख्यता भएकोले यो यज्ञ करणसापेक्ष हो ।ज्ञानयज्ञमा विवेक-विचारको मुख्यता भएकोले यो करणनिरपेक्ष हो । यसैले द्रव्यमय यज्ञ भन्दा ज्ञानयज्ञ श्रेष्ठ छ । ज्ञानयज्ञमा सम्पूर्ण क्रियाहरु र पदार्थहरुसँग सम्बन्ध-विच्छेद हुन्छ अर्थात् तत्वज्ञान भएपछि केही पनि गर्न, जान्न र पाउन शेष रहँदैन; किनकि एक परमात्मा सिवाय अरु सत्ता छँदै छैन । 

166 No. 133 श्लोक २९, ३० अरु कति प्राणायाम परायण योगीहरु अपानमा प्राणलाई (पूरक गरेर) प्राण र अपानको गति रोकेर

No. 133

श्लोक २९, ३० 

अरु कति प्राणायाम परायण योगीहरु अपानमा प्राणलाई (पूरक गरेर) प्राण र अपानको गति रोकेर (कुम्भक गरेर) फेरि प्राणमा अपानलाई (रेचक) गर्छन्; तथा अरु (कति) नियमित आहार गर्ने व्यक्तिहरु प्राणलाई प्राणहरुमा हवन गर्ने गर्छन् । यी सबै साधकहरु यज्ञहरुद्वारा पापहरुको नाश गर्ने र यज्ञहरु जान्ने व्यक्तिहरु हुन् । 

प्राणको स्थान हृदय (माथि) तथा अपानको स्थान गुदद्वार (तल) छ । स्वास वाहिर निकाल्दा वायुको गति माथितिर र स्वास भित्र लैजाँदा वायुको गति तलतिर हुन्छ ।यसैले स्वास वाहिर निकाल्नु 'प्राण'को काम हो स्वास भित्र लैजानु 'अपान'को काम हो । योगीहरू पहिले वाहिरको वायुलाई देव्रे नाक (चन्द्रनाडी) द्वारा भित्र लैजान्छन् । त्यो वायु हृदयमा स्थित प्राणवायुसँग नाभि हुँदै स्वाभाविक नै अपानमा लीन हुन्छ । यसलाई 'पूरक' भन्छन् ।त्यसपछि उनीहरु प्राणवायु र अपानवायु -- दुबैको गति रोकिदिन्छन् । न त स्वास वाहिर जान्छ र स्वास भित्र आउँछ । यसलाई 'कुम्भक' भन्छन् । त्यसपछि उनीहरु भित्री वायुलाई दाहिने नासिका (सूर्यनाडी) द्वारा वाहिर निकाल्छन् । त्यो वायु स्वाभाविक नै प्राणवायुलाई तथा त्यसको पछि पछि अपानवायुलाई सँगै लिएर वाहिर निक्लन्छ । यही प्रक्रियालाई  नै प्राणवायुमा अपानवायुको हवन गर्ने भनिएको हो । यसलाई 'रेचक' भन्छन् । चार भगवानको नामले पूरक, सोह्र भगवानको नामले कुम्भक र आठ भगवानको नामले रेचक गरिन्छ । 

यसरी योगीहरू पहिले चन्द्रनाडीले पूरक, अनि कुम्भक र अनि सूर्यनाडीले रेचक गर्छन् । त्यसपछि सूर्यनाडीले पूरक, अन्ति कुम्भक र अनि चन्द्रनाडीले रेचक गर्छन् । यस्तो किसिमले पटक पटक पूरक-कुम्भक-रेचक गर्नु प्राणायामरुप यज्ञ हो । परमात्मप्राप्तिको उद्देश्यले निष्कामभावपूर्वक परायण भएपछि सबै पाप नष्ट हुन्छन् ।

नियमित आहार-विहार गर्ने साधक नै प्राणहरुलाई प्राणहरुमा हवन गर्न सक्छन् । धेरै या वहुत कम भोजन गर्ने अथवा विल्कुल भोजन नगर्ने व्यक्ति प्राणायाम गर्न सक्तैन । 

प्राणहरुलाई प्राणहरुमा हवन गर्ने तात्पर्य -- प्राणलाई प्राणमा र अपानलाई अपानमा हवन गर्ने अर्थात् प्राण र अपानलाई आफ्नो आफ्नो स्थानमा रोक्ने । न स्वास वाहिर निकाल्ने र न स्वास भित्र लग्ने । यसलाई 'स्तम्भवृत्ति' प्राणायाम पनि भन्छन् । यो प्राणायामले वृत्तिहरु स्वाभाविक नै शान्त हुन्छन् र पापहरुको नाश हुन्छ ।  केवल परमात्मप्राप्तिको उद्देश्य राखेर प्राणायाम गर्दा अन्तःकारण निर्मल हुन्छ र परमात्मप्राप्ति हुन्छ ।

चौविसौं श्लोकदेखि तीसौं श्लोकको पूर्वार्धसम्म वर्णन गरिएका यज्ञहरु अनुष्ठान गर्ने साधकहरुको सम्पूर्ण पापहरु नष्ट हुन्छन् र उनीहरुलाई अविनाशी परमात्मतत्व प्राप्त   हुन्छ । 

वास्तवमा सम्पूर्ण यज्ञहरु केवल कर्महरुवाट सम्बन्ध-विच्छेद गर्न नै हो भन्ने कुरा जान्ने साधकलाई 'यज्ञवित्' भनिन्छ अर्थात् त्यस्तो साधकले यज्ञको तत्व जानेको हुन्छ । कर्महरुवाट पूरापूर सम्बन्ध-विच्छेद भएपछि परमात्म तत्वको अनुभव हुन्छ । परमात्मतत्वको अनुभव गर्न यज्ञ नगर्ने, यो लोक र परलोक (स्वर्ग) को विनाशी भोगहरुकोलागि यज्ञ गर्नेहरु यज्ञको तत्व जान्दैनन् । किनकि विनाशी पदार्थहरुको कामना नै बन्धनको कारण हो । त्यसैले, मनमा कामना-वासना राखेर परिश्रमपूर्वक ठूला ठूला यज्ञ गरे पनि जन्म-मरणको बन्धन वनिरहन्छ ।

यज्ञ गर्दा अग्निमा आहुति दिइन्छ । आहुति दिइने वस्तुहरुको रुप पहिले छुट्टै छुट्टै हुन्छ; तर अग्निमा आहुतिमा दिइसकेपछि तिनको रुप छुट्टै रहँदैन, सबै वस्तु अग्निरूप नै हुन्छन् । यस्तै प्रकारले परमात्मप्राप्तिकोलागि यज्ञरूपले वर्णन गरिएका साधनहरु आहुति दिने तात्पर्य हो, आहुति दिइने वस्तुहरुको छुट्टै सत्ता नै नरहोस्, सबै स्वाहा होउन् ।साधनहरुको छुट्टै सत्ता रहुन्जेल वास्तवमा तिनीहरुको आहुति नै दिइएको छैन अर्थात् यज्ञको अनुष्ठान नै भएन ।

यही अध्यायमा भगवान कर्महरुको तत्व (कर्ममा अकर्म)को वर्णन गर्नुहुन्छ । कर्मको तत्व हो -- कर्म गरिरहँदा पनि ती कर्महरुसँग नवाँधिने । कर्महरुसँग एउटा मात्रै साधन हो -- यज्ञ । अग्निमा हालिएका सबै वस्तुहरु स्वाहा भएजस्तै केवल लोकहितकोलागि गरिने सबै यज्ञ स्वाहा हुन्छन् । 

निष्कामभावपूर्वक केवल लोकहितार्थ गरिएका साधारण भन्दा साधारण कर्म पनि परामात्मा प्राप्ति गराउने हुन्छ । परन्तु सकामभावपूर्वक गरिएका ठूला भन्दा ठूला कर्महरुद्वारा पनि परमात्मा प्राप्ति हुँदैन । कारण, उत्पत्ति-विनाशशील पदार्थहरुको कामना नै बाँध्ने खालका हुन्छन् । पदार्थ र क्रियारुप संसारसँग सम्बन्ध मानेकोले सबै व्यक्तिहरुमा पदार्थ पाउने र कर्म गर्ने राग रहन्छ । यो रागवाट मनुष्यलाई 'मलाइ केही न केही मिलिरहोस् र म केही न केही गरिरहूँ' भन्ने विचार हुन्छ । यसैलाई 'पाउने कामना' र 'गर्ने वेग' भन्छन् ।

मनुष्यमा रहेको 'पाउने कामना' वास्तवमा आफ्नो अंशी परमात्मा नै पाउने भोक हो; तर परमात्मादेखि विमुख र संसारसँग विमुख भएको कारण मनुष्य यो भोकलाई सांसारिक पदार्थहरुवाट नै मेट्न खोज्छ । संसारिक पदार्थ विनाशी छन् र जीव अविनाशी छ । अविनाशीको भोक विनाशी पदार्थवाट कसरी मेटिन सक्छ ? तर संसारको सम्मुखता रहुन्जेल पाउने कामना वनिरहन्छ । मनुष्यमा पाउने कामना रहुन्जेल गर्ने वेग रहन्छ । यसरी पाउने कामना र गर्ने वेग वनुन्जेल जन्म मरण छुट्दैन । यी दुई वेगवाट छुट्ने उपाय हो -- केही पनि पाउने कामना नराखेर केवल अरुको हितकोलागि कर्म गर्ने । यसैलाई लोकसंग्रह, यज्ञार्थ कर्म, लोकहितार्थ कर्म आदि नामहरुले पनि भनिन्छ । 

केवल अरुको हितकोलागि कर्म गर्दा संसारसँग सम्बन्ध छुट्छ र असंगता आउँछ । केवल भगवानकोलागि कर्म गरिए संसारसँग सम्बन्ध छुटेर असंगता त आइ नै हाल्छ, यो असंगता सँगै भगवानको 'प्रेम' प्राप्त हुन्छ ।                                                                                             
निःस्वार्थभावले केवल अरुको हितकोलागि कर्तव्यकर्म गर्नुको नाम 'यज्ञ' हो । यज्ञवाट सबै कर्म अकर्म हुन्छन् अर्थात् वांधने खालका हुँदैनन् । यो प्रकरणमा जम्मा वारह यज्ञ वताइएका छन् । ती हुन् --

(१) ब्रह्मयज्ञ -- प्रत्येक कर्ममा कर्ता, करण, क्रिया, पदार्थ सबैलाई ब्रह्मरूपले अनुभव गर्ने । (२) भगवदर्पणरुप यज्ञ -- सम्पूर्ण क्रियाहरु पदार्थहरु केवल भगवानको र भगवानकोलागि नै मान्ने ।
(३) अभिन्नतारुप यज्ञ -- असत् देखि सर्वथा विमुख भएर परमात्मामा लीन हुने अर्थात् परमात्मादेखि भिन्न आफ्नो स्वतन्त्र सत्ता नराख्ने । 
 अघिल्लो श्लोकको नै वांकी 

(४) संयमरुप यज्ञ -- एकान्तकालमा आफ्नो इन्द्रियहरुलाई विषयहरुमा प्रवृत्त हुन नदिने ।(५) विषय-हवनरुप यज्ञ -- व्यवहार गर्दा इन्द्रियहरुको संयोग विषयहरुसँग हुँदा पनि तिनमा राग-द्वेष पैदा हुन नदिने ।
(६) समाधिरुप यज्ञ -- मन-बुद्धि सहित सम्पूर्ण इन्द्रियहरु र प्राणहरुको क्रियाहरु रोकेर ज्ञान द्वारा प्रकाशित समाधिमा स्थित हुने ।
(७) द्रव्ययज्ञ -- सम्पूर्ण पदार्थहरु निःस्वार्थभावले अरुको सेवामा लगाइदिने ।
(८) तपोयज्ञ -- आफ्नो कर्तव्यको पालनमा आउने कठिनाइहरु प्रसन्नतापूर्वक सहने ।
(९) योगयज्ञ -- कार्यको सिद्धि-असिद्धिमा तथा फलको प्राप्ति-अप्रप्तिमा सम रहने ।
(१०) स्वाध्यायरुप ज्ञानयज्ञ -- अरुको हितकोलागि सत्-शास्त्रहरू पठन-पाठन, नाम-जप आदि गर्ने ।
(११) प्राणायामरूप यज्ञ -- पूरक, कुम्भक र रेचकपूर्वक प्राणायाम गर्ने ।
(१२) स्तम्भवृत्ति (चतुर्थ) प्राणायामरुप यज्ञ -- नियमित आहार गर्दै प्राण र अपानलाई आफ्नो-आफ्नो स्थानहरुमा रोक्ने ।

यी सबै यज्ञहरुको तात्पर्य, हाम्रो सम्पूर्ण क्रियाहरु यज्ञरुप हुनु पर्छ, त्यसो भए मात्रै जीवन सफल हुन्छ । हामीलाई आफ़्नोलागि केही गर्नु छैन । क्रिया र पदार्थसँग हाम्रो कुनै सम्बन्ध छैन । हाम्रो सम्बन्ध परमात्मासँग छ । यो सम्बन्ध क्रिया र पदार्थदेखि रहित छ ।     

165 No. 132 श्लोक २७ अरु योगीहरू सम्पूर्ण इन्द्रियका क्रियाहरुलाई र प्राणहरुका क्रियाहरुलाई ज्ञानद्वारा प्रकाशित

No. 132
श्लोक २७

अरु योगीहरू सम्पूर्ण इन्द्रियका क्रियाहरुलाई र प्राणहरुका क्रियाहरुलाई ज्ञानद्वारा प्रकाशित आत्मसंयमयोग (समाधियोग)रुप अग्निमा हवन क्रिया गर्छन् ।      

यो श्लोकमा समाधिलाइ यज्ञको रुप दिइएको छ । केही योगीहरु दसै इन्द्रियहरुका क्रियाहरुलाई समाधिमा हवन गर्छन् । तात्पर्य, समाधि-अवस्थामा मन-बुद्धिसहित सम्पूर्ण इन्द्रियहरु (ज्ञानेन्द्रियहरु र कर्मेन्द्रियहरु) का क्रियाहरु रोकिन्छन् । इन्द्रियहरु पूरै निश्चल र शान्त हुन्छन् । 

समाधिरूप यज्ञमा प्राणहरुका क्रियाहरुको पनि हवन हुन्छ अर्थात् समाधिकालमा प्राणहरुका क्रियाहरु पनि रोकिन्छन् । समाधिमा प्राणहरुको गति रोक्ने दुइ तरिका छन् । 

एउटा हठयोगको समाधि हुन्छ, जुन समाधिमा प्राणहरुलाई रोक्न कुम्भक (प्राणायाम) गरिन्छ । कुम्भकको अभ्यास गर्दा गर्दा प्राण रोकिन्छ । यो रोकिने क्रम केही समयकोलागि मात्रै नभएर घन्टौं, दिनौं सम्म पनि रोकिइरहन सक्छ ।यस्तो प्राणायामले आयु वढ्छ ।

अर्को प्रकारको समाधिमा मनलाई एकाग्र गरिन्छ । मन सर्वथा एकाग्र भएपछि प्राणहरुको गति आफैं रोकिन्छ । 

समाधि र निद्रा -- दुबैमा कारणशरीरसँग सम्बन्ध रहन्छ । यसैले वाहिरवाट दुबैको समान अवस्था देखिन्छ । त्यसैले यहाँ समाधि र निद्रामा परस्पर भिन्नता सिद्ध गरिएको छ । तात्पर्य, वाहिरवाट समान देखिए पनि समाधिकालमा 'एक सच्चिदानन्द परमात्मा नै सर्वत्र परिपूर्ण हुनुहुन्छ' भन्ने ज्ञान प्रकाशित (जाग्रत) रहन्छ र निद्राकालमा वृत्तिहरु अविद्यामा लीन हुन्छन् । समाधिकालमा प्राणहरुको गति रोकिन्छ र निद्राकालमा प्राणहरुको गति चलिरहन्छ । त्यसैले निद्रा आएपछि समाधि लाग्दैन ।  

समाधिरुप यज्ञ गर्ने योगीहरू इन्द्रियहरु तथा प्राणहरुको क्रियाहरुलाई समाधियोगरुप अग्निमा हवन गर्छन् अर्थात् मनबुद्धिसहित सम्पूर्ण इन्द्रियहरु र प्राणहरुका क्रियाहरुलाई रोकेर समाधिमा रहन्छन् । समाधिकालमा सम्पूर्ण इन्द्रियहरु र प्राणको चंचलता हराउँछ । सच्चिदानन्दघन परमात्माको ज्ञान मात्रै जाग्रत रहन्छ ।

श्लोक २८ 

अरु पनि कडा ब्रत गर्ने प्रयत्नशील साधक द्रव्यमय यज्ञ गर्छन् र अरु कति तपोयज्ञ गर्छन् र अरु धेरै साधक योगयज्ञ गर्छन् तथा अरु स्वाध्यायरुप ज्ञानयज्ञ गर्छन् । 

अहिंसा, सत्य, अस्तेय (चोरी नगर्ने), ब्रह्मचर्य, र अपरिग्रह (आफ्नो भोगकोलागि संग्रह नगर्ने) -- यी पाँच नियम हुन् । यी नियमहरुलाई 'महाव्रत' भन्छन् । शास्त्रहरुमा यी महाव्रतहरुको धेरै प्रशंसा, महिमा छ । यी व्रतहरुको महत्व साधकलाई संसारदेखि विमुख गराउनुमा छ । यी व्रतहरु पालन गर्ने साधकहरुलाई यहाँ 'संशितव्रता:' भनिएको छ ।  यस्ता साधकहरु आफ्नो व्रतको अनुष्ठानमा प्रयत्नशील भएको कारण उनीहरुलाई 'यत्नशील' पनि भनिएको हो ।

यो श्लोकमा 'द्रव्ययज्ञ' भनेको संसारको हितको उद्देश्यले कुवा, तलाउ, मन्दिर, धर्मशाला आदि वनाउनु, अभावमा परेका व्यक्तिलाई अन्न, जल, वस्त्र (लुगा, कपडा) औषधि, पुस्तक आदि दिनु, दान हो । अर्को अर्थमा, आफूसँग रहेको द्रव्य (तीनै शरीरहरुसहित सम्पूर्ण पदार्थहरु) आफ्नो र आफ़्नोलागि नमानेर निःस्वार्थभावले जसलाई दान दिइएको हो उसैको मानेर उसैको सेवामा लगाइदिए द्रव्ययज्ञ सिद्ध हुन्छ । 

हामीसँग भएका शरीर सहित समस्त  वस्तुहरुवाट नै यज्ञ हुन सक्छ, त्यो भन्दा धेरैको आवश्यकता छैन हामीलाई । हामी पनि एउटा वालकवाट पाउन सक्ने जति मात्रै आशा गर्छौं भने सर्वव्यापी भगवान तथा संसार हामीवाट हाम्रो क्षमता भन्दा धेरैको आशा किन राख्थे ?

आफ्नो कर्तव्य (स्वधर्म) पालनमा आइपर्ने प्रतिकूलताहरू, कठिनाइहरु प्रसन्नतापूर्वक सहनु 'तपोयज्ञ' हो । लोकहितकोलागि एकादशीको  आदिको व्रत वस्नु, मौन धारण गर्नु आदि पनि 'तपोयज्ञ' अर्थात् तपस्यारुप यज्ञ हुन् । परन्तु प्रतिकूल भन्दा प्रतिकूल परिस्थिति, वस्तु, व्यक्ति, घटना आइपर्दा पनि साधकले प्रसन्नतापूर्वक आफ्नो कर्तव्यको पालन गरिरहने, आफ्नो कर्तव्यवाट अलिकति पनि विचलित नहुने नै सब भन्दा ठूलो तपस्या हो । यस्तो तपस्याले चांडै सिद्धि पाइन्छ । 

कतै कुनै ठाउँमा गाउँभरीको फोहोर रहँदा नराम्रो देखिन्छ । तर तिनै फोहोर खेतमा पर्यो भने त्यो फोहोर खेतिकोलागि मल वन्छ । त्यस्तै, प्रतिकूलता खराव जस्तो देखिए पनि त्यो प्रतिकूलतालाई हामी फोहोर फाले जस्तो फालिदिन्छौं अर्थात् त्यसलाई महत्व दिंदैनौ, तर त्यही प्रतिकूलता आफ्नो कर्तव्य-पालनको निमित्त राम्रो साधन हो । यसैले प्रतिकूल भन्दा प्रतिकूल परिस्थितिलाई सहर्ष सहनु जस्तो अर्को कुनै तप हुँदैन । भोगहरुमा आसक्ति रहँदा अनुकूलता राम्रो र प्रतिकूलता नराम्रो लाग्ने हो । यही कारण प्रतिकूलताको महत्व हाम्रो समझमा आउँदैन । 

यहाँ वर्णित योग अन्तःकरणको समताकोलागि हो । समताको अर्थ -- कुनै पनि कामको पूर्ति या अपूर्तिमा, फलको प्राप्ति या अप्राप्तिमा, अनुकूल र प्रतिकूल परिस्थितिमा, निन्दा या स्तुतिमा, आदर र अनादरमा सम रहनु अर्थात् अन्तःकरणमा हलचल, राग-द्वेष, हर्ष-शोक, सुख-दुःख नहुनु । यसरी सम रहनु नै 'योगयज्ञ' हो ।

केवल लोकहितकोलागि गीता, रामायण, भागवत आदि तथा वेद, उपनिषद्को आफ्नो अधिकार अनुसार मनन-विचारपूर्वक पठन-पाठन गर्नु, आफ्नो वृत्तिहरु तथा जीवनको अध्ययन गर्नु जस्ता सबै स्वाध्यायरुप ज्ञानयज्ञ हुन् ।

गीताको अन्तमा भगवानले भन्नुभयो, 'गीता-शास्त्रको अध्ययन गर्ने व्यक्तिद्वारा म ज्ञानयज्ञले पूजित हुनेछु भन्ने मेरो मत छ' ।तात्पर्य, गीताको स्वाध्याय 'ज्ञानयज्ञ' हो । गीताको भावलाई गहिरोसँग विचार गर्नु, गीताको भावहरुलाई राम्रोसँग बुझ्ने चेष्टा गर्नु आदि पनि स्वाध्यायरुप ज्ञानयज्ञ नै हुन् । 

164 No. 131 श्लोक २५ अरु योगीहरू दैव (भगवदर्पणरुप) यज्ञको नै अनुष्ठान गर्छन् ।

No. 131 

श्लोक २५

अरु योगीहरू दैव (भगवदर्पणरुप) यज्ञको नै अनुष्ठान गर्छन् । र अर्का किसिमका (योगीहरू) ब्रह्मरूप अग्निमा (विचाररुप) यज्ञद्वारा नै (जीवात्मारुप) यज्ञको हवन गर्छन् ।

यो भन्दा अघिल्लो श्लोकमा भगवानले सर्वत्र ब्रह्मदर्शनरुप यज्ञ गर्ने व्यक्तिहरुको वर्णन गर्नुभयो ।यो श्लोकमा भगवान 'अपरे' शब्दले ती व्यक्ति भन्दा भिन्न किसिमका यज्ञ गर्ने साधकहरुको वर्णन गर्नुहुन्छ ।             

यो श्लोकमा प्रस्तुत 'योगिनः' पद यज्ञार्थ (यज्ञकोलागि) कर्म गर्ने निष्काम साधकहरुकोलागि हो ।
सम्पूर्ण क्रियाहरु र पदार्थहरुलाई आफ्नो र आफ़्नोलागि भन्ने नमानेर तिनलाई केवल भगवानको र भगवानकोलागि नै मान्नु 'दैवयज्ञ' अर्थात् भगवदर्पणरुप यज्ञ हो । भगवान देवहरुको पनि देव हुनुहुन्छ, यही कारण यी सबै पदार्थहरु उहाँमा अर्पण गर्नु 'दैवयज्ञ' हो ।

कुनै पनि क्रिया र पदार्थमा अलिकति पनि आसक्ति, ममता र कामना नराखेर तिनलाई सर्वथा भगवानको मान्नु नै दैवयज्ञको राम्रो अनुष्ठान हो ।

जडसँग चेतनको तादात्म्य भएको कारण नै उसलाई जीवात्मा भन्छन् । विवेक-विचारपूर्वक जडसँग सबै किसिमले विमुख भएर परमात्मामा लीन हुनुलाई यहाँ यज्ञ भनिएको हो । लीन हुने भनेको -- परमात्मतत्वदेखि भिन्न आफ्नो स्वतन्त्र सत्ता अलिकति पनि नमान्ने ।

छोटोमा, अरू योगीहरु (श्लोक चौविसमा वताइएको भन्दा छुट्टै) संसाररुप ब्रह्मको सेवाकोलागि केवल लोकसंग्रहरुप यज्ञ निमित्त  कर्तव्य-कर्मरुप यज्ञ गर्छन् अर्थात् यज्ञार्थ कर्म गर्छन् ।

श्लोक २६
अरु (योगीहरू) श्रोत्रादि समस्त इन्द्रियहरुलाई संयमरुप अग्निहरुमा हवन गर्ने गर्छन् र अरु योगीहरू शब्द आदि विषयहरुलाई इन्द्रियरुप अग्निहरुमा हवन गर्ने गर्छन् ।
संयमरुप अग्निहरुमा इन्द्रियहरु आहुति दिनुलाई यज्ञ भनिएको छ यो श्लोकमा । यसको अर्थ, एकान्तकालमा श्रोत्र (कान), त्वचा (छाला), नेत्र (आँखा), रसना (जीव्रो) र घ्राण (सुँघ्नु) जस्ता पाँचै इन्द्रियहरु आफ्ना-आफ्ना विषयहरु (शब्द, स्पर्श, रुप, रस र गन्ध) तिर विल्कुल प्रवृत्त नहून् । इन्द्रियहरु संयमरुप नै वनून् ।
इन्द्रियहरु, मन, बुद्धि तथा अहम् -- यी सबैवाट राग-आसक्तिको सर्वथा अभाव भयो भने पूरा संयम हुन्छ ।

शब्द, स्पर्श, रुप, रस र गन्ध -- यी पांच विषय हुन् । विषयहरुलाई इन्द्रियरुप अग्निमा हवन गरिदिए यज्ञ हुन्छ । तात्पर्य, व्यवहारकालमा विषयहरुको इन्द्रियहरुसँग पूरापूर संयोग भइरहँदा पनि इन्द्रियहरुमा कुनै विकार नहोस् । इन्द्रियहरु राग-द्वेषले रहित हून् । यतिसम्म कि इन्द्रियहरुमा राग-द्वेष गर्ने शक्ति विषयहरुमा हुँदै नहून् ।
यो श्लोकमा वर्णित दुवै किसिमका यज्ञहरुमा राग-आसक्तिको पूरापूर अभाव भएपछि नै सिद्धि (परमात्मा प्राप्ति) हुन्छ । राग-आसक्ति मेटाउनकोलागि नै यस्तो किसिमको प्रक्रियालाई यज्ञरूपले वर्णन गरिएको हो ।
पहिलो प्रक्रियामा साधक एकान्तकालमा इन्द्रियहरुलाई संयम गर्छ । विवेक-विचार, जप-ध्यान आदिवाट इन्द्रियहरुको संयम हुन थाल्छ । पूरा संयम भएपछि राग एकदम घट्छ, त्यसपछि एकान्त काल र व्यवहारकाल -- दुबैमा साधकको स्थिति समान रहन्छ ।

अर्को प्रक्रियामा साधक व्यवहारकालमा राग-द्वेषरहित इन्द्रियहरु द्वारा व्यवहार गर्दै मन, बुद्धि र अहम् द्वारा पनि राग-द्वेषको अभाव गरिदिन्छ । राग पूर्णरूपमा छुटेपछि एकान्तकाल र व्यवहारकालमा साधकको स्थिति समान (एकै) रहन्छ ।