Saturday, 29 November 2014

Gita: Chapter 5: Slok 10: श्लोक १० भक्तियोगी सम्पूर्ण कर्महरु परमात्मालाई अर्पण गरेर र आसक्ति त्यागेर कर्म गर्छ, त्यो (भक्तियोगी) जलसँग कमलको पात जस्तो पापसँग लिप्त हुँदैन ।

No.150

श्लोक १० 

भक्तियोगी सम्पूर्ण कर्महरु परमात्मालाई अर्पण गरेर र आसक्ति त्यागेर कर्म गर्छ, त्यो (भक्तियोगी) जलसँग कमलको पात जस्तो पापसँग लिप्त हुँदैन । 

शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण आदि सबै भगवानका नै हुन्, आफ्ना हुँदै होइनन् । त्यसैले यीद्वारा हुने क्रियाहरुलाई भक्तियोगी आफ्नो कसरी मानोस् ?  त्यो भक्तियोगीको भाव रहन्छ, 'सबै क्रियाहरु भगवानद्वारा नै भइरहेछन् र भगवानकोलागि नै भइरहेछन्, म त निमित्त मात्र हुँ ।'   

भगवान नै मेरो इन्द्रियहरुद्वारा आफू नै सम्पूर्ण क्रियाहरु गर्नुहुन्छ -- यो कुराको ठीक-ठीक धारण गरेर सम्पूर्ण क्रियाहरुको कर्तापन भगवानमा नै मान्नु पर्छ भन्ने माथिका शब्दहरुको अर्थ हो ।

शरीर आदि वस्तुहरु आफ्ना हुँदै होइनन्, खालि मिलेका हुन् र हामीवाट छुटिरहेका छन्। यी त खालि भगवानकोलागि, भगवानको प्रीतिकोलागि, अरुको सेवा गर्नकोलागि हामीलाई उपलब्ध छन् । यी वस्तुहरुमा हाम्रो स्वतन्त्र अधिकार छैन अर्थात् यी वस्तुलाई आफ्नो इच्छा अनुसार न त हामी राख्न सक्छौं, न यी वस्तुलाई वदल्न सक्छौं, न हामी मर्दा यिनीहरुलाई सँगै लग्न सक्छौं । यसैले यी शरीर आदिलाई, यी द्वारा हुने क्रियाहरुलाई आफ्नो मान्नु इमान्दारी होइन । अतः हामीले हामीसँग भएका जसका हुन्, उसैको, अर्थात् भगवानको भन्ने मान्नु पर्छ ।
                  
सम्पूर्ण क्रियाहरु र पदार्थहरु कर्मयोगी 'संसार'लाई, ज्ञानयोगी 'प्रकृति'लाई र भक्तियोगी 'भगवान'लाई अर्पण गर्छ । प्रकृति र संसार -- दुबैको स्वामी भगवान हुनुहुन्छ । अतः क्रियाहरु र पदार्थहरुलाई भगवानमा अर्पण गर्नु नै श्रेष्ठ छ । 

कुनै पनि प्राणी, पदार्थ, शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण, क्रिया आदिमा अलिकति मात्रै पनि राग, खिंचाव, आकर्षण, लगाव, महत्व, ममता, कामना आदि नरहनु नै आसक्तिको पूरापूर त्याग हो ।

शास्त्रीय दृष्टिले 'अज्ञान' जन्म-मरणको कारण हुँदा हुँदै पनि साधनको दृष्टिले 'राग' नै जन्म-मरणको मुख्य हेतु हो । रागमा नै अज्ञान टिक्छ, यसैले राग मेटियो भने अज्ञान पनि मेटिन्छ । यो राग या आसक्तिवाट नै कामना उत्पन्न हुन्छ ।कामना नै सम्पूर्ण पापहरुको जड हो । यसैले यहाँ पापहरुको मूल कारण आसक्ति त्याग्ने कुरो आएको छ; किनकि यो आसक्ति रहँदा मनुष्य पापहरुदेखि वच्न सक्तैन र यो नरहँदा ऊ पापहरुसँग लिप्त हुँदैन। 

कुनै पनि क्रिया गर्दा, क्रियाजन्य सुख लिंदा तथा त्यो क्रियाको फलमा आसक्त रहँदा त्यो क्रियासँगको सम्बन्ध छुट्दैन, झन् झन् वढ्छ । कुनै पनि सानो र या ठूलो क्रियाको फलरूपमा कुनै वस्तु चाहनु मात्रै आसक्ति नभएर क्रिया गरेको समयमा पनि आफ्नो महत्वको, राम्रोपनको आरोप गर्नु र अरुले आफूलाई राम्रो भनोस् भन्ने भाव रहनु पनि आसक्ति नै हो । यसैले आफ़्नोलागि केही पनि गर्ने होइन । कुनै पनि कर्मवाट आफ्नोलागि कुनै किसिमको अलिकति मात्रै सुख पाउने इच्छा छ भने त्यो कर्म आफ्नोलागि हुन्छ । आफ्नो सुख-सुविधा र सम्मानको इच्छाको सर्वथा त्याग गरेर कर्म गर्नु पर्छ ।

भगवानको सम्मुख भएर भक्तियोगी संसारमा नै वसेर सम्पूर्ण कर्महरु भगवानमा अर्पण गरिरहँदा कर्महरुदेखि वाँधिंदैन । कमलको पात जलमा उत्पन्न भएर र जलमा रहेर पनि जलदेखि निर्लिप्त रहन्छ, त्यस्तै भक्तियोगी संसारमा वसेर सम्पूर्ण क्रियाहरु गरिरहँदा पनि भगवानको सम्मुख भएको कारण संसारमा सँधै, सबै प्रकारले निर्लिप्त रहन्छ ।

भगवानसँग विमुख भएर संसारको कामना गर्नु नै सबै पापहरुको मुख्य हेतु हो । कामना आसक्तिले उत्पन्न हुन्छ । आसक्तिको पूरै अभाव भयो भने कामना रहन सक्तैन, यसो हुँदा पाप हुने सम्भावना नै रहँदैन ।
  
अग्निसँग धुवाँ रहे जस्तै सबै कर्म कुनै-न-कुनै दोषले युक्त हुन्छन् । परन्तु आशा, कामना, आसक्ति त्याग गरेको व्यक्तिलाई यी दोषहरु लाग्दैनन् । आसक्तिरहित भएर भगवानकोलागि कर्म गरेको प्रभावले उसका सम्पूर्ण संचित पाप विलीन हुन्छन् । अतः भक्तियोगीलाई कुनै प्रकारको पापसँग सम्बन्ध रहँदैन । किनभने भक्तियोगी पाप-पुण्यरूपी फलदेखि कहिले पनि लिप्त हुँदैन अर्थात् बाँधिदैन । यहाँ यो श्लोकमा सगुण ईश्वरलाई 'ब्रह्म' भनिएको छ । तात्पर्य, ईश्वर सगुण, निर्गुण, साकार, निराकार सबै हुनुहुन्छ; किनकि उहाँ समग्र हुनुहुन्छ । समग्रमा सबै आउँछन् । तात्पर्य, 'सगुण' अन्तर्गत ब्रह्म, परमात्मा र भगवान -- तीनै पर्छन्, तर 'निर्गुण' अन्तर्गत केवल ब्रह्म मात्रै आउँछ, किनकि निर्गुणमा गुणहरुको निषेध छ । अतः निर्गुण सीमित छ र सगुण समग्र छ ।  

xx 
गीताको अहिले भइरहेको अध्ययन हामीहरुलाई कहिले त अलि boring पनि लाग्छ । त्यसैले हाम्रो वैदिक ज्ञान गुरुवाट सिक्नु पर्ने कुरा पनि आउँछ हाम्रो उपनिषद् हरु र गीतामा पनि । कुरा सत्य पनि हो, हाम्रो आफ्नो जीविकाकोलागि उपयुक्त ज्ञान सिक्न पनि हामीलाई गुरुहरुकहाँ नै जानु पर्छ भने यो ज्ञान सिक्न पनि गुरुको आवश्यकता पर्ने नै भयो हामीलाई । आफूले किताव पढ्दा त साधारण ज्ञान मात्रै बुझ्न सकिन्छ तर अरु ज्ञान बुझ्न त गाह्रो नै पर्छ हामीलाई । हामीलाई यस्तो पनि भ्रम छ, अहिले हामीले सकुन्जेल, शरीरमा वल रहुन्जेल त भौतिक ज्ञान नै लिने हो, भौतिक सुख गर्ने हो, भौतिक सम्पत्ति कमाउने हो, पछि, बुढो अथवा बुढी भएपछि मात्रै यता, धर्म कर्मतिर, तीर्थ व्रततिर लाग्ने हो । तर यो विचार अलि impractical जस्तो देखिन्छ । किनभने हामी बुढो भएपछि, हाम्रो कान सुन्न छोडेपछि, हाम्रा आँखाले राम्ररी देख्न छोडेपछि, हाम्रा खुट्टा राम्रोसँग हिंड्न नसक्ने भएपछि हामी कसरी यस्तो ज्ञानको अध्ययन गर्ने ? अहिलेसम्म संसारका गतिविधिमा चाख लिइरहेको हाम्रो बुद्धिले बुढो भएपछि विल्कुलै अर्कै विषय यो अध्यात्म कसरी बुझ्ने ? बुढो भएपछि, आफ्नो दैनिक क्रियाकलाप नै चलाउन अरुमा आश्रित हुनु पर्ने हाम्रो शरीरलाई लिएर हामीलाई तीर्थ, व्रत कसले लगिदिने, ज्ञानको चर्चा भइरहेको भएको ठाउँमा हामीलाई कसले पुर्याइदिने ? यस्तो कुरा सम्झंदा हाम्रो यो सोच त असम्भव नै हो जस्तो लाग्छ । 

शिवपुरी बाबाको जीवनी वारे लेखिएको The Long Pilgrimage भन्ने कितावमा उहाँ भन्नुहुन्छ, प्रत्येक व्यक्तिले यस्ता ज्ञानका कुराहरु भनौं, moral teachings भनौं, उसको जीवनको पाँच वर्षको उमेरदेखि नै सिक्नु पर्छ । एउटा अर्को foreigner को प्रश्नको जवाफमा उहाँ भन्नुहुन्छ, केही गरी उसले यो ज्ञान ढिलो सिक्न थाल्यो भने पनि अरुले पाँच वर्षदेखि के के सिकेका छन्, त्यो ढिलो सिक्ने व्यक्तिले पनि, पछि सिक्न थालेको भए पनि, ती सबै ज्ञान सिक्नु पर्छ । यसको अर्थ, हामीलाई भौतिक ज्ञान सिक्न प्रौढ कक्षामा जान पर्ने जस्तै भयो ।

मुख्य कुरो, अहिले मैले हजुरहरुलाई mail गरिरहेको ज्ञान सामान्य अवस्थामा, हाम्रो जीवन सुखमय, शान्तिमय किसिमले चलाउन निकै उपयोगी छ । यसले हामीलाई नैतिक जीवन विताएर, अर्को शब्दमा भन्नु पर्दा, धर्म शास्त्रले भनेको जस्तो जीवन विताएर वाँच्न सिकाउँछ । त्यही जीवन विताउँदा विताउँदै कहिले, कुनै वेला आफूलाई प्रतिकूल परिस्थिति आइपर्यो भने धैर्य लिएर आफ्नो जीवन अघि वढाउन सिकाउँछ । सानो सानो दुःख पर्दा नआत्तिन, उत्तेजित नहुन, आफूलाई आइपरेको घटनाको राम्रोसँग अध्ययन गरेर त्यही अनुसार समस्याको समाधान गर्ने शक्ति प्रदान गर्छ । पछि बुढेसकालमा पनि आफ्ना छोराछोरीसंग, आफ्ना नातापरिवारसँग कुनै किसिमले पनि आश्रित नभई शान्तिमय र आनन्दमय जीवन यापन गर्न सिकाउँछ । छोटोमा भन्नुपर्दा, एउटा सन्तको शब्दमा, यो ज्ञानले 'zero percent complain level ' मा वाँच्ने साहस र धैर्य दिन्छ । 

मेरो विचार यही हो हजुर । राम्रो लागे ग्रहण गरिदिनु होला । अरु त म के नै भन्न सक्छु र !  

Gita: Chapter 5: Slok 8, 9: श्लोक ८, ९ तत्व जान्ने सांख्ययोगी देखिरहँदा, सुनिरहँदा, छोइरहँदा, सुंघिरहँदा, हिंडिरहँदा, ग्रहण गरिरहँदा (विषय सेवन गरिरहँदा),

 No. 149

श्लोक ८, ९ 

तत्व जान्ने सांख्ययोगी देखिरहँदा, सुनिरहँदा, छोइरहँदा, सुंघिरहँदा, हिंडिरहँदा, ग्रहण गरिरहँदा (विषय सेवन गरिरहँदा), वोलिरहँदा, (मल-मुत्र) त्याग गरिरहँदा, सुतिरहँदा, श्वास लिइरहँदा र आँखा खोलिरहंदा र आँखा चिम्लिरहँदा पनि 'सम्पूर्ण इन्द्रियहरु इन्द्रियहरुका विषयहरुमा व्यवहार गरिरहेछन्' भन्ने सम्झेर 'म (स्वयम्) कुनै व्यवहार गर्दिन' भन्ने मानोस् ।

यो श्लोक सांख्ययोगको विवेकशील साधककोलागि आएको छ । विवेकशील साधक तत्ववित् महापुरुषले जस्तो निर्भ्रान्त अनुभव गर्न तत्पर रहन्छ । उसमा यस्तो विवेक जागृत भएको हुन्छ, 'सबै क्रियाहरु प्रकृतिमा नै भइरहेका छन्, ती क्रियाहरुसँग मेरो कुनै पनि सम्बन्ध छँदै छैन ।' 

आफूमा अर्थात् स्वरूपमा कहिले अलिकति मात्रै पनि कुनै क्रियाको कर्तापन नदेख्ने व्यक्ति 'तत्ववित्' हो । उसमा नित्य-निरन्तर स्वाभाविक नै यस्तो सावधानी रहन्छ, 'स्वरूपमा कर्तापन छँदै छैन ।' प्रकृतिको कार्य शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण आदिसँग ऊ कहिले पनि आफ्नो एकता स्वीकार गर्दैन, त्यसैले ती द्वारा हुने क्रियाहरुलाई ऊ आफ्ना क्रियाहरु कसरी मान्न सक्छ ?

वास्तवमा माथि वर्णन गरिएको स्थिति सबै मनुष्यको हो; तर साधारण मनुष्य भूलले गर्दा स्वरूपलाई क्रियाहरुको कर्ता मान्छन् । परमात्माको समष्टि शक्तिले संसारका क्रियाहरु भए जस्तै त्यही समष्टि शक्तिले व्यष्टि शरीरका क्रियाहरु पनि भइरहेका छन् । परन्तु समष्टिको नै सानो अंश व्यष्टिसँग आफ्नो सम्बन्ध मानेको कारण मनुष्य व्यष्टिका केही क्रियाहरुलाई आफ्ना क्रियाहरु मान्न थाल्छ । यही मान्यता हटाउन भगवान भन्नुहुन्छ, साधकले आफूलाई कहिले पनि कर्ता नमानोस् । कुनै पनि अंशमा कर्तापनको मान्यता रहुन्जेल व्यक्तिलाई साधक मानिन्छ । आफूमा कर्तापनको मान्यताको सम्पूर्ण अभाव भएर आफ्नो स्वरूपको अनुभव भएपछि त्यही साधक तत्ववित् महापुरुष भनिन्छ ।सपना देखेर बिउँझिएको व्यक्तिको सपनासँग विल्कुल सम्बन्ध नरहे जस्तै तत्ववित् महापुरुषको शरीर आदिवाट हुने क्रियाहरुसँग विल्कुल सम्बन्ध (कर्तापन) रहँदैन । 

प्रकृति र पुरुषको विभाग अर्थात् गुण र क्रिया सबै प्रकृतिमा छन्, प्रकृतिदेखि अतीत तत्वमा गुण र क्रिया छैनन् भन्ने कुरा राम्ररी जान्ने व्यक्ति नै तत्ववित् हो । प्रकृतिदेखि निर्विकार तत्व सबैको प्रकाशक र सबैको आधार हो । सबैको प्रकाशक भए पनि यो तत्व प्रकाश्य अन्तर्गत ओतप्रोत छ । प्रकाश्य (शरीर आदि)मा मिसिएर रहे पनि प्रकाशक प्रकाशक नै हो र प्रकाश्य प्रकाश्य नै हो । त्यस्तै त्यो तत्व सबैको आधार हुँदा हुँदै पनि सबै (आधेय)को कण-कणमा व्याप्त छ; तर त्यो आधार कहिले पनि आधेय हुँदैन । कारण, प्रकाशक  र आधारमा गर्नु र हुनु नै छैन । गर्नु र हुनुरुप परिवर्तन त प्रकाश्य अथवा आधेयमा नै छ । यस्तो किसिमले प्रकाशक र प्रकाश्य र आधार र आधेयको भेद (विभाग) राम्ररी जान्ने व्यक्ति नै तत्ववित् हो । यही प्रकृति (क्षेत्र) र पुरुष (क्षेत्रज्ञ)को विभागलाई जान्ने कुरा भगवानले अरु अध्यायहरुमा भन्नु हुन्छ । 

यहाँ चर्चा भएका देख्ने, सुन्ने, स्पर्श गर्ने, सुँघ्ने र खाने आदि पाँच इन्द्रियहरुका क्रियाहरु ज्ञानेन्द्रियहरुका हुन् । हिंड्ने, ग्रहण गर्ने, वोल्ने र मल-मुत्रको त्याग गर्ने आदि पाँच क्रियाहरु कर्मेंद्रियहरुका हुन् । सुत्ने क्रिया अन्तःकरणको हो । स्वाश लिने क्रिया प्राणको र आँखा खोल्ने तथा चिम्लने क्रियाहरु 'कुर्म' नामक उपप्राणको हो ।

माथि उल्लिखित तेह्र क्रियाहरु ज्ञानेन्द्रियहरु, कर्मेन्द्रियहरु, अन्तःकरण, प्राण र उपप्राणवाट हुने सम्पूर्ण क्रियाहरु हुन् । तात्पर्य, सम्पूर्ण क्रियाहरु प्रकृतिका कार्य शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण आदि द्वारा नै हुन्छन्, स्वयं द्वारा होइन । अर्को कुरा, सांख्ययोगी द्वारा वर्ण, आश्रम, स्वभाव, परिस्थिति आदि अनुसार शास्त्रविहित शरीर-निर्वाहका क्रियाहरु -- खान-पान, व्यापार गर्ने, उपदेश दिने, लेख्ने, पढ्ने, सुन्ने, विचार गर्ने आदि क्रियाहरु हुँदैनन् भन्ने कुरा होइन । ऊ द्वारा पनि यी सबै क्रियाहरु हुन सक्छन् ।                                         

हामी आफूले जानेर अर्थात् मन-बुद्धिपूर्वक गर्ने क्रियाहरुको मात्रै आफूलाई कर्ता मान्छौं, जस्तो पढ्ने, लेख्ने, सोच्ने, देख्ने, भोजन गर्ने आदि । परन्तु धेरै क्रियाहरु हामी जानेर गर्दैनौं -- श्वास आउने-जाने, आँखाहरु खुल्ने र वन्द हुने आदि । त्यसो भए यी क्रियाहरुको कर्ता आफूलाई नमान्ने यो श्लोकमा कुरो कसरी भनियो ? यसको उत्तर हो, सामान्यरूपले श्वास आउने-जाने आदि क्रियाहरु स्वाभाविक हुने खालका छन्, किन्तु प्राणायाम आदिमा हामी श्वास लिने आदि क्रियाहरु जानेर नै गर्छौं । यस्तै आँखा खोल्ने र बन्द गर्ने क्रिया पनि जानेर नै गर्न सकिन्छ । यसैले यस्ता क्रियाहरुको कर्ता पनि आफूलाई नमान्ने आदेश गीता हामीलाई दिन्छ । अर्को कुरो, हामीले श्वास लिने, आँखा खोल्ने र बन्द गर्ने जस्ता क्रियाहरुलाई आफ्नो नमाने जस्तै अरु क्रियाहरु पनि स्वाभाविक मानेर तिनमा कर्तापन मान्नु हुँदैन । 

यहाँ वर्णन गरिएका तेह्र क्रियाहरु विना कुनै आधार हुन सम्भव छैन । यी क्रियाहरुले आश्रय लिनेमा अर्थात् यी क्रियाहरुका आधारमा कहिले कुनै क्रिया हुँदैन । यस्तै प्रकाशित हुने यी सम्पूर्ण क्रियाहरु कुनै प्रकाश विना सिद्ध हुन सक्तैन । यी क्रियाहरु प्रकाशित हुने प्रकाशमा कहिले कुनै क्रिया भएको छैन, हुँदै हुँदैन, हुने छैन, हुन नै सक्तैन र हुन सम्भव पनि छैन ।यस्तो यो तत्व सबैको आधार, प्रकाशक र स्वयं प्रकाशस्वरूप हो । यो प्रकाश सबैमा रहँदा पनि आफू केही गर्दैन । त्यो तत्वतर्फ लक्ष गराउनमा नै यी तेह्र क्रियाहरुको तात्पर्य हो ।

स्वरूपमा कर्तापन छँदै छैन भने ती क्रियाहरु कसरी र को द्वारा भइरहेका छन् ? यसको उत्तर छ, सम्पूर्ण क्रियाहरु इन्द्रियहरु द्वारा इन्द्रियहरुको विषयहरुमा नै भइरहेछन् । यहाँ भगवानको आशय इन्द्रियहरुमा कर्तृत्व वताउनुमा नभई स्वरूपलाई कर्तृत्वरहित (निर्लिप्त) वताउनुमा छ । 

इन्द्रियहरुका पाँच विषयमा नै इन्द्रियहरुको व्यवहार हुन्छ । सम्पूर्ण इन्द्रियहरु र इन्द्रियहरुका विषय प्रकृतिका कार्य हुन् । यही कारण इन्द्रियहरु द्वारा हुने सम्पूर्ण क्रियाहरु पनि प्रकृति द्वारा नै भइरहेका छन् । 

क्रियाको अर्थ हो -- परिवर्तन । परिवर्तनरुप क्रिया प्रकृतिमा नै हुन्छ । स्वरूपमा परिवर्तनरुप क्रिया अलिकति पनि छैन । किनकि प्रकृति निरन्तर क्रियाशील छ र स्वरूपमा कहिले क्रिया हुन सक्तैन । सबै क्रियाहरु प्रकाश्य हुन् र स्वरूप प्रकाशक हो ।

'म (स्वरूपले) कर्ता होइन' भन्दा 'म (स्वरूप) पहिले कर्ता थिएँ' भन्न खोजिएको होइन ।स्वरूपमा कर्तापन न वर्तमानमा छ, न भूतकालमा थियो, न भविष्यमा हुनेछ । सबै क्रियाहरु प्रकृतिमा नै भइरहेछन्; किनकि प्रकृति सँधै क्रियाशील र पुरुष अर्थात् चेतन-तत्व सँधै क्रियारहित छ । धेरै अघिदेखिको गल्तीले गर्दा चेतन प्रकृतिको क्रियाहरुसँग तादात्म्य गर्छ र ऊ प्रकृतिका क्रियाहरुलाई आफ्नो क्रियाहरु मान्न थाल्छ र ती क्रियाहरुको कर्ता स्वयं वन्छ ।

कुनै व्यक्ति चलिरहेको ट्रेनमा वसिरहेको छ, ऊ आफू हिंडिरहेको छैन । तर ट्रेन चलिरहेको कारण ऊ नहिंडिकन नै हिंडिरहेको हुन्छ । त्यस्तै, क्रियाशील प्रकृतिको कार्यरूप स्थूल, सूक्ष्म र कारण, कुनै पनि शरीरसँग स्वयंले आफ्नो सम्बन्ध मानेपछि ऊ (स्वयं) कर्म नगरी रहे पनि ती शरीरहरूमा हुने क्रियाहरुको कर्ता नभई रहन सक्तैन ।

सांख्ययोगी शरीर, इन्द्रियहरु, अन्तःकरणसँग आफ्नो सम्बन्ध मान्दैन । यसैले ऊ कर्महरुको कर्तापन आफूमा कहिले अनुभव गर्दैन । शरीर वालक अवस्थावाट जवान हुनु, हाम्रा कपालको रंग कालोवाट सेतो हुनु, हामीले खाएको अन्न पच्नु, शरीर वलियो अथवा निर्धो हुनु आदि क्रियाहरु स्वाभाविक (आफैं) हुन्छन् । त्यस्तै अरु सम्पूर्ण क्रियाहरु पनि स्वाभाविक हुने अथवा भइरहने अनुभव गर्छ सांख्ययोगी । ऊ आफूलाई कुनै पनि क्रियाको कर्ता भन्ने मान्दैन र अनुभव पनि गर्दैन ।

गीतामा स्वयंलाई कर्ता मान्नेहरुको निन्दा गरिएको छ । त्यस्तै शुद्ध स्वरूपलाई कर्ता मान्नेहरुलाई मलिन अन्तःकरण भएका र दुर्मति भनिएको छ । तर स्वरूपलाई अकर्ता मान्नेहरुको प्रशंसा गरिएको छ । साधकमा कर्तापनको भाव नरहेपछि ऊ द्वारा हुने कर्महरुको नाम 'कर्म' नरही 'क्रिया' रहन्छ । ती क्रियाहरुलाई केवल चेष्टा भनिन्छ ।

अर्को कुरा, स्वयंको शरीरसँग जति नै तादात्म्य भए पनि, शरीरसँग स्वयं जति नै घुलमिल गरे पनि र आफूलाई 'कर्ता हुँ' भन्ने स्वयंले जति नै माने पनि स्वयंमा कहिले कर्तृत्व आउँदै  आउँदैन, आउन पनि सक्तैन। किन्तु प्रकृतिसँग तादात्म्य गरेर यो स्वयं आफूमा कर्तृत्व मान्छ, किनकि यसमा कर्तृत्व मान्ने र नमान्ने सामर्थ्य छ, स्वतन्त्रता छ, यसैले यो स्वयं आफूलाई कर्ता पनि मानिदिन्छ र आफूतिर हेर्दा उसलाई आफ्नो अकर्तापनको अनुभव पनि हुन्छ ।यी दुई कुराहरु (आफूमा कर्तृत्व मान्नु र नमान्नु) हुँदा हुँदै पनि स्वयंमा कहिले पनि कर्तृत्व आउँदैन । यही कारण भगवान भन्नुहुन्छ, शरीरमा रहँदा पनि यो स्वयं न गर्छ, न लिप्त नै हुन्छ । भोक्ता त प्रकृतिस्थ (प्रकृतिमा रहेको) पुरुष नै वन्छ । गुणहरुको, क्रियाफलको भोक्ता वन्दा पनि ऊ (स्वयं) वास्तवमा आफ्नो स्वरूपदेखि कहिले पनि तल झर्दैन; तर आफ्नो स्वरूपतिर दृष्टि नरहँदा आफूमा लिप्तताको भाव पैदा हुन्छ । 

पुरुष स्वयं स्वरूपले निर्लिप्त छ; उसमा भोक्तापन छँदै छैन, हुनै सक्तैन, तैपनि सुख-दुःखको भोक्ता त स्वयं पुरुष (चेतन) नै वन्छ । अर्थात् सुखी-दुःखी त स्वयं पुरुष (चेतन) नै हुन्छ, जड हुँदैन । किनकि जडमा सुखी-दुःखी हुने शक्ति र योग्यता छैन । त्यसो भए पुरुषमा भोक्तापन छँदै छैन र सुख-दुःखको भोक्ता पुरुष नै वन्छ -- यी दुई कुरा कसरी भए ? भोग भोग्दा भोगाकार -- सुख-दुःखाकार वनेको वृत्ति प्रकृतिको हुन्छ र प्रकृतिमा नै हुन्छ । तर त्यो वृत्तिसँग तादात्म्य हुँदा सुखी-दुःखी हुनु अर्थात् 'म सुखी छु, म दुःखी छु' भन्ने मान्यता आफूमा स्वयं पुरुष नै गर्छ । किनकि यस्तो मान्यता पुरुष विना हुँदैन अर्थात् यस्तो मान्नु पुरुषमा नै हुन सक्छ, जडमा होइन। यो दृष्टिले पुरुषलाई भोक्ता भनिएको हो । सुखी-दुःखी हुनु आफूमा माने पनि अर्थात् सुखको वेला सुखी र दुःखको वेला दुःखी भन्ने मान्यता आफूमा गरे पनि पुरुष स्वयं आफ्नो स्वरूपले निर्लिप्त र सुख-दुःखको प्रकाशक मात्रै नै रहन्छ । यो दृष्टिले पुरुषमा भोक्तापन छँदै छैन र हुन पनि सक्तैन । कारण एकदेशीयपनले नै भोक्तापन हुन्छ र एकदेशीयपन अहंकारवाट हुन्छ । अहंकार प्रकृतिको कार्य हो प्रकृति जड छ; त्यसैले प्रकृतिको कार्य पनि जड नै हुन्छ अर्थात् भोक्तापन पनि जडमा नै हुन्छ ।यसैले भोक्तापन पुरुष (चेतन) मा छैन । यदि यो पुरुष सुखको वेला सुखी र दुःखको वेला दुःखी हुने भए यसको स्वरूप परिवर्तनशील नै हुने थियो । किनकि सुखको पनि आरम्भ र अन्त हुन्छ तथा दुःखको पनि आरम्भ र अन्त हुन्छ । त्यस्तै यो पुरुष पनि आरम्भ र अन्तवाला हुने थियो । तर यस्तो धारणा विल्कुल नै अनुचित छ । कारण कि गीताले पुरुषलाई अक्षर, अव्यय र निर्लिप्त भनेको छ र तत्वज्ञ पुरुषहरुले यसको स्वरूप एकरस, एकरूप मानेका छन् । यदि यो पुरुषलाई सुखको वेला सुखी र दुःखको वेला दुःखी हुने नै मान्ने हो भने पुरुष सँधै एकरस, एकरूप रहन्छ कसरी भन्ने ?

कर्म गरेको वेला अथवा नगरेको वेला -- दुवै अवस्थाहरुमा स्वरूपमा अकर्तापन जस्ता-को-तस्तै छ । यसैले तत्ववित् पुरुष अनुभव गर्छ, 'कर्म गर्दा पनि म उही थिएँ र कर्म नगर्दा पनि म उही रहें' भने कर्म गर्दा अथवा नगर्दा आफ्नो स्वरूप-(सत्ता)मा के फरक पर्यो ? अर्थात् स्वरूप त अकर्ता नै रह्यो । यस्तो प्रकारले प्रकृतिको परिवर्तनको ज्ञान (अनुभव) त सबैलाई हुन्छ, तर आफ्नो स्वरूपको परिवर्तनको ज्ञान कसैलाई पनि हुँदैन । सम्पूर्ण क्रियाहरुको स्वरूप निर्लिप्तरूपले , आधार र प्रकाशक हो । उसमा कहिले अलिकति मात्र पनि परिवर्तनको सम्भावना छैन । 

स्वरूपमा कहिले अभाव हुँदैन । उसले प्रकृतिसँग राग द्वारा तादात्म्य मान्छ, त्यसपछि उसलाई आफूमा अभावको अनुभव हुन्छ । त्यो अभाव पूर्ति गर्न ऊ पदार्थहरुको कामना गर्न थाल्छ । कामनाको पूर्तिकोलागि उसमा कर्तापन आउँछ; किनकि कामना नभई स्वरूपमा कर्तापन आउँदैन ।

प्रकृतिसँग सम्बन्ध नभई स्वयं कुनै क्रिया गर्न सक्तैन । कारण कि कर्म हुने करणहरु पनि प्रकृतिका नै हुन् । कर्ता करणको अधीन हुन्छ । जति नै सिपालु सुनार भए पनि ऊ हथौडी आदि औजार नभई कुनै क्रिया गर्न सक्तैन । त्यसै गरी कर्ता करणहरु विना कुनै कार्य गर्न सक्तैन । यस्तो किसिमले योग्यता, सामर्थ्य र करण -- यी सबै प्रकृतिमा नै  र प्रकृतिको सम्बन्धले आफूमा भए जस्तो लाग्छन् । यी तीनै घट्ने, वढ्ने गर्छन् र स्वरूप सँधै जस्ता-को-तस्तो रहन्छ । अतः यिनको स्वरूपसँग सम्बन्ध छँदै छैन । 

कर्तापन प्रकृतिको सम्बन्धले छ, यसैले आफूलाई कर्ता मान्नु परधर्म हो । स्वरूपमा कर्तापन छैन, यसैले आफूलाई अकर्ता मान्नु स्वधर्म हो । ब्राह्मण आफ्नो ब्राह्मणपनामा (म ब्राह्मण हुँ)मा निरन्तर स्थित रहे जस्तै तत्ववित् आफ्नो अकर्तापन (स्वधर्म)मा निरन्तर स्थित रहन्छ । 

विवेकशील ज्ञानयोगी पहिले ज्ञानेन्द्रियहरु, कर्मेन्द्रियहरु, अन्तःकरण तथा                       प्राणहरु द्वारा हुने क्रियाहरु गरिरहँदा पनि 'म स्वयं केही पनि गर्दिन' भन्ने मान्छ, त्यसपछि उसलाई त्यस्तै अनुभव हुन्छ । वास्तवमा चिन्मय सत्तामा न गर्नु छ, न हुनु छ ।स्थूल, सूक्ष्म र कारणशरीरवाट हुने सम्पूर्ण क्रियाहरु प्रकृतिमा नै हुन्छन, स्वयंमा होइन ।यही कारण स्वयंको कुनै पनि क्रियासँग सम्बन्ध छैन । 

अविवेकपूर्वक  अहंलाई आफ्नो मानेको अहंकारयुक्त व्यक्ति विवेकपूर्वक आफूलाई अहंदेखि छुट्टै अनुभव गरेपछि 'तत्ववित्' हुन्छ अर्थात् उसमा कर्तृत्व रहँदैन । ऊ निरन्तर चिन्मय तत्वमा नै स्थित रहन्छ । 

अहंकारले मोहित भएर स्वयंले भूलले आफूलाई कर्ता मान्यो र ऊ कर्मसँग तथा ती कर्मको फलसँग बाँधियो र चौरासी लाख योनिमा गयो । अव उसले आफूलाई अहंदेखि अलग मानेर आफूलाई कर्ता नमाने अर्थात् स्वयं वास्तवमा जस्तो छ त्यस्तै अनुभव गरे उसलाई तत्ववित् हुनमा आश्चर्य नै के छ ? तात्पर्य, असत्यलाई सत्य मान्दा त्यो असत्य पनि सत्य जस्तो देखिन लाग्छ भने सत्यलाई सत्य मानेर सत्य नै देखिन लाग्यो भने यसमा आश्चर्य नै के छ र ? 

वास्तवमा स्वयंले आफूलाई कर्ता-भोक्ता मानेको वेला पनि ऊ कर्ता-भोक्ता छैन । कारण, आफ्नो स्वरूप सत्ता मात्रै हो । सत्तामा अहं छैन र अहंको सत्ता छैन । अतः 'म कर्ता हुँ' भन्ने मान्यता जति दृढ भए पनि त्यो भूल नै हो । भूललाई भूल मान्ने वित्तिकै त्यो भूल मेटिन्छ । कुनै गुफाको सयौं वर्षको अन्धकार पनि प्रकाश गर्ने वित्तिकै तत्काल मेटिन्छ, त्यो अन्धकार हट्न धेरै वर्ष लाग्दैन । यसैले साधकले दृढताले यस्तो मान्नु पर्यो, 'म कर्ता होइन' । त्यसपछि यो मान्यता मान्यतारूपले नरहेर अनुभवमा परिणत हुन्छ ।

जड-चेतनको तादात्म्य हुँदा 'म'को प्रयोग जड (तादात्म्यरूप अहम्)कोलागि पनि हुन्छ र चेतन (स्वरूप)कोलागि पनि हुन्छ । जस्तो, 'म कर्ता हुँ' भन्दा जडतर्फ दृष्टि भयो र 'म कर्ता होइन' भन्दा (जडको निषेध हुँदा) चेतनतर्फ दृष्टि भयो । जडतर्फ दृष्टि भएको अर्थात् अहंलाई आफ्नो स्वरूप मान्ने अहंकारी हो र चेतनतिर दृष्टि भएको व्यक्ति तत्ववित् हो ।

साधकले वर्तमानमा 'म स्वयं केही गर्दिन' भनेर स्वयंलाइ अकर्ता अनुभव गर्ने चेष्टा  
गर्दा उसको अगाडि एउटा ठूलो समस्या आउँछ । उसलाई भूतकालमा आफूवाट भएका राम्रा कर्मको सम्झना आऊँदा ऊ प्रसन्न हुन्छ र भन्छ, 'मैले धेरै ठूलो काम गरें, खूव ठीक गरें ।' त्यस्तै, उसलाई आफूले गरेको निषिद्ध कर्मको याद आउँदा ऊ दुःखी हुन्छ र भन्छ, 'मैले धेरै नराम्रो काम गरें, ठूलो गल्ति गरें ।' यसरी भूतकालमा गरिएको कर्महरुको संस्कार उसलाई सुखी-दुःखी गर्छन् । तर स्वरूपमा कर्तापन न वर्तमानमा छ, न भूतकालमा थियो, न भविष्यमा नै हुनेछ । त्यसैले साधकले यो बुझ्नु पर्यो, वर्तमानमा स्वयं अकर्ता भए जस्तै भूतकालमा पनि ऊ अकर्ता नै थियो । किनकि वर्तमान नै भूतकालमा गएको हो । स्वरूप सत्ता मात्रै हो र सत्तामात्रमा केही गर्नु हुनै सक्तैन । कर्म खालि अहंकारले मोहित अन्तःकरण भएका पुरुष द्वारा नै हुन्छन् । साधकलाई भूतकालमा गरिएको कर्महरुको सम्झना आउँदा हुने सुख-दुःख, चिन्ता पनि वास्तवमा अहंकारको कारण नै हो । वर्तमानमा पनि अहंकारसँग आफ्नो सम्बन्ध मानेर नै साधक सुखी-दुःखी हुने हो । अहिले भूतकालको अभाव भए जस्तै भूतकालमा गरिएका कर्मको पनि अहिले अभाव छ । अझ विचार गर्यो भने भूतकालमा वर्तमानको अभाव भए जस्तै भूतकालको पनि अभाव थियो । यसै गरी, वर्तमानमा भूतकालको अभाव भए जस्तै वर्तमानको पनि अभाव छ । परन्तु सत्ताको भाव नित्य-निरन्तर छ । तात्पर्य, सत्तामा भूत, भविष्य र वर्तमान -- तिनैको सर्वथा अभाव छ । अहिले हामीले वर्णन गरिरहेको सत्ता कालदेखि अतीत छ । त्यसैले यो सत्ता कुनै कालमा पनि कर्ता होइन । त्यस्तो कालातीत र अवस्थातीत सत्तामा कुनै कालविशेष र अवस्थाविशेषलाई लिएर कर्तृत्व र भोक्तृत्वको आरोप गर्नु अज्ञान हो । त्यसैले भूतकालमा गरिएका कर्महरुको स्मृति अहंकारीको स्मृति हो, तत्ववित् को होइन ।

साधकको दृष्टि सत्तामा मात्र रहनु पर्छ । त्यो सत्ता चिन्मय भएकोले ज्ञानस्वरूप छ, र निर्विकार हुनाले आनन्दस्वरूप छ । त्यो आनन्द अखण्ड, शान्त, एकरस छ ।                           
शरीरसँग तादात्म्य भएपछि प्रत्येक क्रियामा स्वयंको मुख्यता रहन्छ, 'म हेर्छु, म सुन्छु' भन्ने । क्रिया हुन्छन् शरीरमा, तर मानिन्छन् आफूमा । स्वयंमा कुनै क्रिया छैन, स्वयम् गर्ने र नगर्ने दुवैदेखि रहित छ । यसैले शरीरद्वारा क्रिया हुँदा पनि सत्तामात्र आफ्नो स्वरूपमा दृष्टि रहनु पर्छ, 'म केही पनि गर्दिन ।'  

Gita: Chapter 5: Slok 7: श्लोक ७ सबै इन्द्रियहरु आफ्नो वशमा भएको, अन्तःकरण निर्मल र शरीर आफ्नो वशमा भएको साधकको सम्पूर्ण प्राणीहरुको आत्मा नै उसको

No148 

श्लोक ७ 

सबै इन्द्रियहरु आफ्नो वशमा भएको, अन्तःकरण निर्मल र शरीर आफ्नो वशमा भएको साधकको सम्पूर्ण प्राणीहरुको आत्मा नै उसको आत्मा हुन्छ । यस्तो साधकलाई कर्मयोगी भनिन्छ । यस्तो कर्मयोगी कर्म गरिरहँदा पनि लिप्त हुँदैन ।

इन्द्रियहरु वशमा हुनु भनेको -- हाम्रा इन्द्रियहरु राग-द्वेषदेखि रहित हुनु । राग-द्वेषदेखि रहित भएपछि मनलाई विचलित गराउने शक्ति इन्द्रियहरुम़ा  रहँदैन । साधक आफ्नो मनलाई जहाँ आवश्यक छ, त्यहीं लगाउन सक्छ ।  

कर्मयोगको साधकका इन्द्रियहरु आफ्नो वशमा हुनु धेरै जरूरी छ । यही कारण भगवान कर्मयोगको प्रकरणमा इन्द्रियहरु वशमा गर्नु पर्ने कुरोलाई विशेषरूपले भन्नुहुन्छ । कर्मयोगीको कर्महरुसँग धेरै सम्बन्ध रहन्छ; यसैले इन्द्रियहरु वशमा नभएको कर्मयोगी विचलित हुने सम्भावना रहन्छ । कर्मयोगको साधनमा अरुको हितकोलागि कर्तव्य-कर्म गर्नु पर्छ; यसकोलागि इन्द्रियहरु वशमा हुनु धेरै जरूरी छ । इन्द्रियहरु वशमा नभई कर्मयोगको साधन हुन धेरै गाह्रो छ ।

अन्तःकरणको मलिनतामा हेतु हो -- सांसारिक पदार्थहरुको महत्व । कामनाहरु रहने ठाउँ नै पदार्थहरुको महत्व भएको स्थानमा हो । साधकको अन्तःकरणमा सांसारिक पदार्थहरुको अलिकति मात्रै पनि महत्व नरहे ऊ निष्काम भइहाल्छ । पदार्थहरुको महत्व रहुन्जेल साधक कहिले पनि निष्काम हुन सक्तैन ।

परमात्मप्राप्तिको दृढ उद्देश्य भयो भने अन्तःकरणको चांडै शुद्धि हुन्छ । कर्मयोगमा शरीरको सुख-आराम त्याग्नु पर्ने ठूलो अवश्यकता छ । शरीरमा आलस्य, प्रमाद छ भने कर्मयोगको अनुष्ठान हुन पाउँदैन । यसैले यहाँ भगवानले शरीर वशमा गर्ने कुरो भन्नुभयो ।

कर्मयोगीलाई सम्पूर्ण प्राणीहरुसँग आफ्नो एकताको अनुभव हुन्छ । आफ्नो शरीरको कुनै अंगमा चोट लाग्दा अर्को अंग त्यो अंगको सेवा गर्न सजिलैसँग, कुनै अभिमान नगरी, कुनै कृतज्ञताको आशा नगरी आफैं लाग्छ, त्यस्तै कर्मयोगीद्वारा अरुलाई सुख पुर्याउने कोशीश सहजभावले, कुनै अभिमान र कामना विना, कृतज्ञताको अपेक्षा नै नगरी आफैं हुन्छ । उसले सेवा गर्दा कुनै पनि प्राणीलाई आफू भन्दा छुट्टै नै ठान्दैन, आफ्नो नै अंग मान्छ ।

आफ्नो शरीरमा भिन्न भिन्न अवयवमा भिन्न भिन्न व्यवहार भए पनि सबै अवयवसँग आफ्नोपन एउटा नै रहन्छ । त्यस्तै कर्मयोगी द्वारा मर्यादा अनुसार संसारमा यथायोग्य भिन्न-भिन्न व्यवहार हुँदा पनि सवैसँगको आत्मीयता समान रहन्छ । 

आफ्नो राग मेटाउन सबै प्राणीहरुसँग आफ्नो एकता मान्न धेरै जरूरी छ । कर्मयोगीको स्वभाव नै उदार हुन्छ । सबै प्राणीहरुसँग एकता नमानी उदारता आउँदैन हामीमा ।

हामी क्रिया र पदार्थसँग निरन्तर रहन सक्तैनौं । कारण कि क्रिया र पदार्थमा निरन्तर परिवर्तन हुन्छ, तर हामीमा (स्वरूप) कहिले परिवर्तन हुँदैन । यसै हुनाले क्रिया र पदार्थले निरन्तर हाम्रो त्याग गरिरहेछन् । हामी पनि यी पदार्थ र क्रियाको त्यागवाट नै मुक्ति पाउन सक्छौं, परमशान्ति पाउन सक्छौं । यी पदार्थ र क्रियासँग रहेर हामी मुक्ति, परमशान्ति पाउन सक्तैनौं, किनकि यिनीहरुसँग सँधै रहने स्वभाव हाम्रो होइन र यिनीहरुको स्वभाव पनि हामीसँग सँधै रहने होइन । यसैले क्रिया र पदार्थलाई अरुको सेवामा लगाउने हो । अरुको सेवामा हामीसँग भएका पदार्थ र क्रिया लगाऊँदा हामीले कुनै ठूलो काम गरेका होइनौं, यसो गर्नु त हाम्रो वास्तविकता हो, यो काम त हामीले गर्नै पर्छ । वास्तविकता सहज हुन्छ, यसमा परिश्रम र अभिमान हुँदैन ।अवस्ताविकतामा नै परिश्रम र अभिमान हुन्छ । 

हामीमा उदारता आएपछि नै क्रिया र पदार्थ अरुको सेवामा लाग्न सक्छन् । यहाँ ध्यान दिनुपर्ने कुरा -- उदारता हाम्रो स्वरूप हो । यसैले उदारतामा धन पनि खर्च गर्नु पर्दैन, परिश्रम पनि गर्नु पर्दैन । खालि यत्ति हो, सुखी व्यक्तिलाई देख्दा हामी सुखी हुनु पर्यो, दुःखीलाई देखेर हामी करुणित, दुःखी हुनु पर्यो । हृदयमा यस्तो करुणा उठ्नु पर्यो, 'यो व्यक्ति कसरी सुखी होला ?' सुखीलाई देख्दा सबै सुखी होऊन् भन्ने भाव हुनु पर्यो र दुःखीलाई देख्दा कसैलाई पनि दुःख नपरोस् भन्ने भाव हुनु पर्यो । 
                                     
भगवान भोग र संग्रहलाई साधनमा वाधा भन्नुहुन्छ । सुखीलाई देखेर प्रसन्न भइयो भने भोग भोग्ने इच्छा मेटिन्छ, किनकि भोग भोग्दा पाइने सुख भन्दा अरुलाई सुखी देखेर वढी मिल्छ, त्यसपछि भोग भोग्ने आवश्यकता हामीलाई रहँदैन । दुःखीलाई देखेर दुःखी हुँदा संग्रह गर्ने इच्छा हट्छ, किनकि आफ्नो दुःख हटाउन गरिने वस्तुहरुको संग्रह र खर्च स्वतः अरुको सेवामा दुःख हटाउनमा उपयोग हुन्छन् । आफूलाई  कुनै दुःख आइपर्दा त्यो दुःख हटाउने चेष्टा गरिए जस्तै अरुलाई दुःखी देख्दा आफ्नो शक्ति अनुसार उसको दुःख हटाउने चेष्टा आफैं हुन थाल्छ । 

प्रसन्नता र करुणामा विलक्षण रस छ । त्यो रस क्रिया र पदार्थसँग सम्बन्ध-विच्छेद गरेर जीवलाई परमात्मस्वरूप नित्य रससँग अभिन्न गराइदिन्छ । 

इन्द्रियहरु वशमा गरिएको, अन्तःकरण शुद्ध भएको, शरीर आफ्नो वशमा रहेको, र सम्पूर्ण प्राणीहरुको आत्मा नै आफ्नो आत्मा मान्ने व्यक्तिलाइ कर्मयोगी भनिन्छ ।    

साधनमा हाम्रो स्वाभाविक प्रवृत्ति नहुनुमा एउटा कारण हो -- उद्देश्य र रुचिमा भिन्नता । अन्तःकरणमा संसारको महत्व रहुन्जेल उद्देश्य र रुचिको संघर्ष हट्दैन । उद्देश्य अविनाशी परमात्माको हुन्छ र रुचि नाशवान् संसारको प्राणी, पदार्थ, परिस्थितिको हुन्छ । उद्देश्य र रुचि अभिन्न भएपछि मात्रै साधनले  आफैं रफ्तार लिन थाल्छ । यहाँ वर्णन गरिएको कर्मयोगीको उद्देश्य र रुचि अभिन्न हुन्छ अर्थात् उद्देश्य र रुचि अभिन्न भएको व्यक्ति परमात्मा नै हुन्छ । 

उत्पन्न र नष्ट हुने फल अलिकति मात्रै नचाहे कर्मयोग हुन्छ । फल र उद्देश्य दुवै भिन्न भिन्न हुन्छन् । कर्मयोगीमा फलको इच्छा त हुँदैन, तर उद्देश्य अवश्य हुन्छ ।कर्मयोगीको उद्देश्य सबैलाई प्राप्त हुने र सँधै सँगै रहने हुन्छ । यो दृष्टिले उसको उद्देश्य सँधै परमात्माको नै हुन्छ । परमात्मतत्व कुनै कर्म, अभ्यास आदिको फल होइन । फल उत्पन्न र नष्ट हुने वस्तु कर्मयोगी खोज्दै खोज्दैन, किनकि तिनीहरुप्रतिको चाहना परमात्मप्राप्तिमा वाधक हो । खालि परमात्माको उद्देश्य भएकोले कर्मयोगीलाई 'योगयुक्त' भनिन्छ ।

कर्मयोगी कर्म गरिरहँदा पनि कर्महरुसँग वाँधिंदैन । कर्मको बन्धनमा हेतु हो -- कर्महरुमा ममता, कर्महरुको फलको इच्छा, कर्मजन्य सुखको इच्छा तथा त्यो सुखको भोग र कर्तृत्वाभिमान । छोटोमा भन्नु पर्दा, कर्महरुवाट केही न केही पाउने इच्छा नै बन्धनको कारण हो । केही पनि पाउने इच्छा नभएकोले नै कर्मयोगी कर्म गरिरहँदा पनि बाँधिंदैन अर्थात् उसका समस्त कर्म अकर्म हुन्छन् ।

सांख्ययोगी 'गुणहरु नै गुणहरुमा व्यवहार गरिरहेछन्' भन्ने मानेर कर्महरुदेखि बाँधिंदैन, तर कर्मयोगी परहितकोलागि कर्म गरिरहँदा पनि कर्महरुदेखि बाँधिंदैन । खालि अरुकोलागि कर्म गरिंदा उसको कर्म पनि 'गुण नै गुणहरुमा व्यवहार गरिरहेछन्' जस्तै हुन्छन् । 

कर्मयोगी कर्म गर्दा निर्लिप्त त छ नै, कर्म नगर्दा पनि निर्लिप्त छ । उसलाई कर्म गर्नु र नगर्नुमा कुनै प्रयोजन रहँदैन । ऊ सँधै निर्लिप्त रहन्छ । 

सांख्ययोगी जडता त्यागेर चिन्मयतासँग आफ्नो एकता मान्छ र कर्मयोगी आफ्नो भनिने शरीर, मन, बुद्धि र तिनका क्रियाहरुलाई आफ्नो नमानेर केवल संसारको र संसारकोलागि मात्रै मान्छ ।  पदार्थ, मन, बुद्धि आदिलाई र तिनका क्रियाहरुलाई आफ्नो मान्दै नमानेर संसारको मात्रै मानेपछि ऊ द्वारा कसैको हित भयो भने, कसैलाई सुख पुग्यो भने, कसैको उपकार भयो भने ऊ 'मैले गरें' 'मवाट यस्तो भयो' भन्ने मान्दैन । यसैले ऊ कर्म गरिरहँदा कर्ता हुँदैन अर्थात् कर्महरुदेखि लिप्त हुँदैन ।

शरीर, इन्द्रियहरु, र अन्तःकरणसँग सम्बन्ध-विच्छेद भएको कारण कर्मयोगीलाई सम्पूर्ण प्राणीहरुसँग आफ्नो एकताको अनुभव हुन्छ । त्यसो हुनाले उसमा कर्तापन रहँदैन । कर्तापन नरहेपछि ऊ द्वारा हुने कर्म बन्धनकारक हुँदैनन् । 

Gita: Chapter 5: Slok 6: श्लोक ६ तर हे महावाहो ! कर्मयोग विना सांख्ययोग सिद्ध हुन गाहारो छ ।

No147

श्लोक ६ 

तर हे महावाहो ! कर्मयोग विना सांख्ययोग सिद्ध हुन गाहारो छ । मननशील व्यक्तिले शीघ्र नै ब्रह्म पाउँछ । 

सांख्ययोगको सफलताकोलागि कर्मयोगको साधन आवश्यक छ; किनकि कर्मयोगको आचरण नगरी सांख्ययोगको साधन गाहारो हुन्छ । परन्तु कर्मयोग सिद्ध हुन सांख्ययोगको साधन गर्ने आवश्यकता पर्दैन ।

सांख्ययोगको लक्ष परमात्मतत्वको अनुभव गराउनु हो । तर अन्तःकरणमा राग हुँदा हुँदै परमात्मतत्वको अनुभव हुने कुरा त के गर्नु, यो साधन बुझ्न पनि गाहारो छ । 

राग मेटिने सजिलो उपाय हो -- कर्मयोगको अनुष्ठान गर्नु । कर्मयोगमा प्रत्येक क्रिया अरुको हितकोलागि नै गरिन्छ । हामीमा अरुको हितको भाव मात्रै भयो भने हाम्रो राग स्वतः घट्छ । यसैले कर्मयोगको आचरण द्वारा राग मेटिएपछि मात्रै सांख्ययोगको साधन गर्न सजिलो हुन्छ । कर्मयोगको साधन नगरी सांख्ययोग सिद्ध हुँदै हुँदैन ।

आफ्नो निष्कामभावको र अरुको हितको विचार गर्ने कर्मयोगीलाई यो श्लोकमा मुनि भनिएको छ । 
           
कर्मयोगी व्यक्ति सानो या ठूलो, हरेक क्रिया गर्दा 'मेरो कर्म निष्काम छ कि सकाम छ' भन्ने विचार गरिरहन्छ । आफूमा सकाम भाव आएको थाहा हुने वित्तिकै ऊ त्यो भावलाई हटाई दिन्छ, किनकि सकामभाव आउने वित्तिकै त्यो क्रिया आफ्नो र आफ़्नोलागि भइदिन्छ । अरुको हित कसरी होला भन्ने विचार गर्दा पनि कर्मयोगीको राग सजिलोसँग मेटिई रहेको हुन्छ । 

यो कुरावाट भगवान कर्मयोगीको विशेषता वताइरहनु भएको छ, साथै यो पनि भनिरहनु भएको छ, कर्मयोगी चांडै नै परमात्मतत्व प्राप्त गर्छ । भगवानकै अनुसार परमात्मतत्वको प्राप्तिमा ढिलाइको एउटा मात्र कारण संसारप्रतिको हाम्रो आकर्षण हो । निष्कामभावपूर्वक खालि अरुको हितकोलागि कर्म गरि रहे कर्मयोगीको सबै रागको नाश हुन्छ र स्वतःसिद्ध परमात्मतत्वको अनुभूति हुन्छ ।यही आशयलाई भगवानले चौथो अध्यायमा वताउनु भयो, 'योग संसिद्ध हुने वित्तिकै तत्वज्ञानको प्राप्ति हुन्छ ।' यो कर्मयोगको साधनमा अरु साधनको जरुरत हुँदैन । यो योगको सिद्धिमा कुनै कठिनाइ अथवा ढिलाइ हुँदैन ।

अर्को कारण, देहधारी -- देहाभिमानी मनुष्य सम्पूर्ण कर्म त्याग गर्न सक्तैन, तर कर्मफलको त्याग चाहिं गर्न सकिन्छ, त्यसैले कर्मफलको त्याग गर्ने व्यक्तिलाई नै साँचो त्यागी भनिन्छ गीता अनुसार । अर्को शब्दमा, देहधारी मनुष्य  कर्महरुको त्याग त गर्न सक्तैन, तर कर्मफलको त्याग चाहिं गर्न सक्छ । यही कारण, कर्मयोग आचरणमा ल्याउन सजिलो छ । 

कर्मयोगको महिमाको प्रसंगमा भगवान अझ भन्नुहुन्छ, कर्मयोगीलाई तत्कालै शान्ति मिल्छ, त्यस्तो कर्मयोगी संसारबन्धनदेखि सुखपूर्वक मुक्त हुन्छ ।त्यसैले कर्मयोगको साधन सुगम, चांडै सिद्धि दिने र अरु कुनै साधन विना परमात्मप्राप्ति गराउने स्वतन्त्र साधन हो ।                        

xx 
गीतामा युद्ध हुने प्रसंग चाहिं एउटा मात्रै छ -- त्यो हो आफ्ना कुलका वन्धु- वान्धवप्रतिको अर्जुनको मोह । हामी सबैलाई थाहा छ, अर्जुन कुशल योद्धा हुन् । उनले आफ्ना गुरु द्रोणाचार्यवाट धनुर्विद्या प्राप्त गरे, भगवान शिववाट पनि अरु धनुर्विद्या सिके । उनले द्रौपदीसँग विवाह हुनु भन्दा पहिले नै आफ्नो युद्ध कुशलता द्वारा गुरु द्रोणाचार्यको इच्छा पूरा गर्न राजा द्रुपदसँग युद्ध गरेर द्रोणाचार्यलाई द्रुपद्को आधा राज्य दिलाइदिएका थिए । यो कुरावाट सिद्ध हुन्छ, अर्जुनले कातर भएर महाभारतको युद्धवाट पलायन हुन खोजेका होइनन् । 

महाभारतको प्रसङ्गमा गीताको उपदेश जोडिनुको कारण -- अर्जुनलाई गीता सुन्नु भन्दा भगवानलाई नै गीता भन्नु थियो भन्छन् सन्तहरु । अर्जुन कुशल योद्धा थिए, उनलाई आफ्नो निरन्तरको सफलतामा अहंकार थियो । अर्जुनमा दैवी सम्पत्तिहरू प्रचुर मात्रामा थिए, तर उनको अहंकार नै उनमा मोह पैदा गर्न पर्याप्त भयो ।  गीतामा प्रसंग आउँछ, अर्जुन युद्धको मैदानमा अस्त्र-शस्त्रले सुसज्जित भएर, निकै उत्साहित हुँदै कुरुक्षेत्रको युद्धभूमिमा आए । त्यो वेला उनी युद्धकोलागि पूर्ण कटिवद्ध थिए । 

भगवानप्रतिको भक्तिको कारणले नै  उनले भगवानको विशाल नारायणी सेना त्यागेर निःशस्त्र भगवानको मदत मागेका थिए महाभारत युद्धकोलागि । गीताको प्रसंग महाभारतको युद्धको मात्रै होइन, मानव चरित्रको पूरा विश्लेषण पनि हो । यो युद्ध प्रतीकात्मक पनि हो, दैवी र आसुरी सम्पत्तिको संघर्ष पनि हो मनुष्यको अन्तरहृदयमा । यही दैवी सम्पत्तिलाई सकारात्मक सोच र आसुरी सम्पत्तिलाई नकारात्मक सोच पनि भन्छौं हामी । नकारात्मक सोचले हाम्रो पतन गर्छ, सकारात्मक सोचले उत्थान । यस्ता किसिमका नकारात्मक सोच आउनुको कारण पत्ता लगाएर यस्ता सोच हटाउनु र सकारात्मक सोच वनाउने कला सिकाउने शास्त्रको नाम नै हो गीता ।

मैले हजुरहरुलाई वारम्वार निवेदन गरिरहेको छु, गीता हामीले ठानेको जस्तो धर्म गर्न सिकाउने ग्रन्थ होइन, यो ग्रन्थले हामीलाई हाम्रा आफ्ना नकारात्मक विचार हटाएर सकारात्मक सोच द्वारा मानसिक उर्जाको विकास गरेर आफूले आफूलाई पूर्ण सन्तुष्ट राखेर, आफ्नो क्षमता भन्दा परको साधन र स्रोत विना नै आफूमा भएको साधन र स्रोतलाई पूर्ण उपयोग गरेर सुखमय, शान्तिमय जीवन वाँच्न सिकाउँछ । अर्को कुरा, यो गीताको ज्ञानले हामीलाई आफ्नो आत्मवल पूर्णरूपमा प्रस्फुटित गर्न सिकाउँछ । यहाँका  सम्पूर्ण शब्दका अर्थहरू, सबै concept हरु बुझेर, ती concept हरुलाई आफ्नो जीवनमा उतार्ने कलाहरु सिकाउंदै एउटा सन्तुष्ट साधुको, Three Questions मा चित्रण गरिएको hermit को जीवन विताउन सिकाउँछ मैले अध्ययन गरिरहेको गीताले । खालि भौतिक सुख-सुविधाले नै सबै सुख पाइन्छ भन्ने हाम्रो साधारण सोचलाई challenge गर्छ यो ग्रन्थ । मेरो आफ्नो अनुभव अनुसार, मैले वारम्वार गीताको अध्ययन गरिरहने क्रममा, मेरो समझमा आउने अर्थको पनि वेला वेलामा नयाँ नयाँ अर्थ लागिरहन्छ, म अचम्ममा पर्छु, 'यो शब्दको अर्थ मेरो दिमागमा पहिले नै किन चढ़ेन भनेर' ।     
      
मैले नै यहाँ प्रयोग गरेको 'धर्म'को वारे हजुरहरुलाई केही भन्न मन लाग्यो । धर्म के हो हो भन्ने कुराको व्याख्या हाम्रो सोचको हैसियतले गर्छ । कसैको सोचले यसलाई आफ्नो घरमा राखेको देवतालाई मात्रै विहान-वेलुकी पूजा गर्ने र वांकी समयमा जे गरे पनि हुने भन्ने व्याख्या गर्छ । कसैको सोचले मूर्तिको पूजा गर्ने होइन, जीवित प्राणीको नै सेवा गर्ने भन्ने सिकाउँछ । यस्तै, यस्तै, हामी सबैका धर्मका परिभाषा विल्कुल अलग छन् । यो हिसावले, हामीवाट परिभाषित 'धर्म'ले हाम्रो सोचलाई विभाजन गर्छ, जति जति विभाजन, उति उति झगडा, उति उति संघर्ष । तर मेरो अध्ययनले भन्छ, हामीवाट हुने, सोच, कर्म, वोली र व्यवहारले कसैको हृदयमा चोट पर्छ भने त्यो 'धर्म' नै होइन । धर्मले कसैलाई फुटाउन होइन, जुटाउन सिकाउँछ, अपूर्णतावाट पूर्णतातिर जान सिकाउँछ, किनभने पूर्णतामा नै आनन्द छ, पूर्णतामा नै शान्ति छ ।          

अहिलेलाई यत्ति, अरु पछि ।   

177. No.146 श्लोक ५ सांख्ययोगीहरु द्वारा पाइने तत्व नै कर्मयोगीहरू द्वारा पनि पाइन्छ ।

No.146

श्लोक ५ 

सांख्ययोगीहरु द्वारा पाइने तत्व नै कर्मयोगीहरू द्वारा पनि पाइन्छ । त्यसैले सांख्ययोग र कर्मयोग फलरूपमा एक देख्ने व्यक्ति नै ठीक देख्ने व्यक्ति हो । 

पूर्वश्लोकको पछिल्लो भागमा भगवानले  भन्नुभएको थियो, एउटा नै साधनमा राम्रोसँग लागेको व्यक्ति दुवै साधनरूप परमात्मा पाउँछ । त्यही कुराको पुष्टि भगवान् उपर्युक्त पदहरुवाट अर्को ढंगले भन्नुहुन्छ, 'सांख्ययोगीले पाउने तत्व कर्मयोगीले पनि पाउँछ ।' 

सांख्ययोगी र कर्मयोगी -- दुबैको अन्तमा कर्महरुसँग अर्थात् क्रियाशील प्रकृतिसँग सम्बन्ध-विच्छेद हुन्छ । प्रकृतिसँग सम्बन्ध-विच्छेद भएपछि दुवै योग एकै हुन्छन् । साधन-कालमा पनि सांख्ययोगको विवेक (जड-चेतनको सम्बन्ध-विच्छेद) कर्मयोगीले मान्नु पर्छ । सांख्ययोगको विवेक प्रकृति-पुरुषको सम्बन्ध-विच्छेद गर्न हुन्छ र कर्मयोगको कर्म संसारको सेवा गर्न हुन्छ । सिद्ध भएपछि सांख्ययोगी र कर्मयोगी -- दुबैको स्थिति एकै हुन्छ; किनकि दुवै साधकहरुका आफ्ना आफ्ना निष्ठाहरु हुन्छन् ।

संसार विषम छ । घनिष्ठ भन्दा घनिष्ठ सांसारिक सम्बन्धमा पनि विषमता रहन्छ । परमात्मा सम हुनुहुन्छ । अतः समरूप परमात्माको प्राप्ति संसारवाट पूरै सम्बन्ध-विच्छेद भएपछि नै हुन्छ । संसारसँग सम्बन्ध विच्छेद गर्ने मार्ग दुई छन् । ती हुन् -- ज्ञानयोग र कर्मयोग । 'मेरो सत्-स्वरूपमा कहिले पनि अभाव हुँदैन; जवकि कामना र आसक्ति अभावमा नै पैदा हुन्छन् ।' यस्तो जानेर असंग हुनु ज्ञानयोग हो । आफूलाई राग भएका वस्तुहरु अरुको सेवामा लगाइदिनु र आफूलाई राग भएका व्यक्तिहरुको निःस्वार्थभावले सेवा गर्नु  कर्मयोग हो । यसरी ज्ञानयोगमा विवेक विचार द्वारा र कर्मयोगमा सेवा द्वारा संसारसँग सम्बन्ध-विच्छेद हुन्छ । यी दुवै साधनहरुको फल-दृष्टिले एकै देख्ने व्यक्तिले नै यथार्थरूपमा देखेको हुन्छ ।

यसरी अहिलेको र यो भन्दा अघिल्लो श्लोकको सार हो, भगवान सांख्ययोग दुबैलाई स्वतन्त्र साधन मान्नुहुन्छ र दुबैको फल एकै परमात्मा मान्नुहुन्छ । यो वास्तविकता नजान्ने व्यक्तिलाई भगवान् यथार्थ जान्ने बुद्धिमान् भन्नुहुन्छ ।  

कुनै पनि साधनको पूर्णता भएपछि वाँच्ने इच्छा, मर्ने डर, पाउने लालच, र गर्ने राग सबै मेटिन्छन् ।

निरन्तर मरिरहेको, अर्थात् निरन्तर अभावमा गइरहेको शरीर मर्ने हुन सक्तैन र नित्य-निरन्तर रहने स्वरूपलाई वाँच्ने इच्छा हुन सक्तैन भने वाँच्ने इच्छा र मर्ने डर कसलाई हुने ? स्वरूपले शरीरसँग तादात्म्य गरेपछि उसलाई वाँच्ने इच्छा र मर्ने डर हुन्छ । वाँच्ने इच्छा र मर्ने डर -- यी दुवै 'ज्ञानयोग'ले (विवेक द्वारा) मेटिन्छन् ।

कुनै अभाव भएकोलाई नै पाउने इच्छा हुन्छ । भावरूप स्वरूपमा कहिले अभाव हुन सक्तैन । यसैले स्वरूपमा कहिले पनि पाउने इच्छा हुँदैन । स्वयं (आफू) भावरूप हुँदा हुँदै स्वरूपले अभावरूप शरीरसँग तादात्म्य गरेपछि उसलाई आफूमा अभाव भए जस्तो लाग्न थाल्छ, जुन अभाववाट उसमा पाउने इच्छा पैदा हुन्छ र पाउने इच्छाले गर्ने राग पैदा हुन्छ । पाउने इच्छा र गर्ने राग -- यी दुवै 'कर्मयोग'ले मेटिन्छन् ।

सांख्ययोग र कर्मयोग -- दुवै साधन लौकिक भएकाले एकै हुन् । सांख्ययोगमा साधक चिन्मयतामा स्थित हुन्छ र चिन्मयतामा स्थित भएपछि जडताको त्याग हुन्छ । कर्मयोगमा साधक जडताको त्याग गर्छ र जडताको त्याग भएपछि उसको स्थिति चिन्मयतामा हुन्छ । यस्तो किसिमले सांख्ययोग र कर्मयोग -- दुवै साधनहरु परिणाममा चिन्मयताको प्राप्ति अर्थात् चिन्मय स्वरूपमा स्थितिको अनुभव हुन्छ । 

शरीरलाई संसारको सेवामा लगाउनु कर्मयोग हो र शरीरदेखि स्वयं (आफू) छुट्टिनु ज्ञानयोग हो । चाहे शरीरलाई संसारको सेवामा लगाइदिउँ, चाहे शरीरदेखि स्वयं छुट्टिऊँ -- दुबैको परिणाम एक नै हुनेछ अर्थात् दुवै साधनहरुवाट संसारसँग सम्बन्ध-विच्छेद भएर स्वरूपमा स्थिति हुनेछ ।

कर्मयोग, ज्ञानयोग र भक्तियोग -- यी तीन साधनहरुमा ज्ञानयोग र भक्तियोगको प्रचार त धेरै छ, तर कर्मयोगको प्रचार चाहिं धेरै कम छ । भगवानले गीतामा भन्नुभयो, 'धेरै समय वितेको कारण यो कर्मयोग मनुष्यलोकमा हराए जस्तो भएको छ ।' यसैले कर्मयोगको सम्बन्धमा यस्तो धारणा वनेको छ, कर्मयोग परमात्मप्राप्तिको स्वतन्त्र साधन होइन । त्यसैले कर्मयोगको साधक कि त ज्ञानयोगमा जान्छ अथवा भक्तियोगमा जान्छ । 

तर यहाँ भगवान ज्ञानयोग जस्तो कर्मयोगलाई पनि परमात्मप्राप्तिको स्वतन्त्र साधन भन्नुहुन्छ । कुनै कुनै ठाउँमा वाहेक धेरै ठाउँमा कर्मयोगवाट स्वन्त्रतापूर्वक तत्वज्ञान, परमशान्ति, मुक्ति अथवा परमात्मतत्वको प्राप्ति हुने कुरा आएको छ ।अरु शास्त्रमा पनि भनिएको छ, 'स्वधर्ममा रहेर तथा भोगहरुको कामना त्यागेर आफ्नो कर्तव्य-कर्महरु द्वारा भगवानको पूजन गर्ने तथा सकामभावपूर्वक कर्म नगर्ने व्यक्तिलाई स्वर्ग अथवा नरकमा जानु पर्दैन अर्थात् त्यो व्यक्ति कर्मबन्धनदेखि मुक्त हुन्छ ।'

फेरि भनिएको छ, 'स्वधर्ममा रहेको त्यो कर्मयोगी यो लोकमा कर्तव्य-कर्महरुको आचरण गर्दा गर्दै पनि पाप-पुण्यदेखि मुक्त भएर कुनै परिश्रम नै नगरी तत्वज्ञान अथवा परमप्रेम (पराभक्ति) प्राप्त गर्छ।' 

तात्पर्य, कर्मयोग साधकलाई ज्ञानयोग अथवा भक्तियोगको अधिकारी त वनाइहाल्छ र स्वतन्त्रताले कल्याण पनि गरिदिन्छ । अर्को शब्दमा, कर्मयोगवाट  साधन-ज्ञान अथवा साधन-भक्ति हुन सक्छ, र साध्य-ज्ञान (तत्व-ज्ञान) अथवा साध्य-भक्ति (परम प्रेम अथवा पराभक्ति) को प्राप्ति पनि हुन सक्छ ।

xx 

हामीले जान्ने भएदेखि गरिआएका धेरै कामहरु धेरै जस्तो आफ्नो स्वार्थ सिद्दिकालागि भएका हुन् कि जस्तो लाग्छ गीता पढ्दा । हामीले पनि हाम्रा गुरुहरुवाट सुनेको, तीन थरीका ज्ञान छन् हाम्रा अगाडि । ती हुन् -- फिल्मी ज्ञान, पौराणिक ज्ञान र वैदिक ज्ञान । फिल्मी ज्ञान भनौं अथवा गोठाले गफ, तिनीहरुले हाम्रो हित गर्दै गर्दैनन् । पौराणिक ज्ञानले हामीलाई गोठाले गफ भन्दा अलि माथि त लग्न खोज्छन् तर दुःख र सुखको प्रभाववाट छुटाउन सक्तैनन् । त्यस्ता ज्ञानले हामीलाई 'यो गर्यो भने पुण्य हुन्छ, यो गर्यो भने पाप हुन्छ' भन्ने कुरा सिकाउँछन् । पौराणिक ज्ञानले बिभिन्न देवी देवताको उपासना गरेर उहाँहरुलाई खुसी वनाएर यही संसारकै भौतिक पदार्थ पाउन प्रोत्साहित गर्छन् । त्यसैले हाम्रो समाजमा व्रत, उपासना पनि यही पौराणिक ज्ञानले सिकाउँछन् । हामी मध्ये धेरैले देवी देवताको उपासना गर्ने पनि केही पाउँला भनेर हो । केही पनि नपाउने हो भने हामी देवताको उपासना पनि गर्दैनौं । अर्को कुरा, हामीले भगवानको पूजा गरि नै हाले पनि हामीमा यही संसारको सुखको नै कामना हुन्छ । जस्तो, हामी आफ्नो छोराको भलाइकोलागि भगवानको पूजा गर्छौँ, आफ्नो श्रीमानको पदोन्नतिकोलागि भगवानको उपासना गर्छौं, आफूले जागिर नपाएको भए जागिर पाउनकोलागि भगवानको उपासना गर्छौं । अर्को शब्दमा, भगवान हाम्रो साध्य नभएर हाम्रो इच्छा पुर्याइदिने साधन वनाउँछौं । भगवान नै पाउँ भनेर उपासना गर्ने मनुष्य धेरै कम हुन्छन् । यस्तो कर्मलाई सकाम कर्म, फलको इच्छा राखेर गरिने कर्म भन्छन् शास्त्रहरू । हामीले गरेको उपासनाको फल पनि के हुन्छ त ? यसरी गरेको उपासनाको फल विनाशी नै हुन्छ । भगवानको उपासना गर्यो, त्यो उपासना विधिपूर्वक भयो भने पुण्य भयो, पुण्यको फल सुख भयो, त्यो पाइएको सुख पनि धेरै समय नरहने भयो । सुख भयो, सुख सकियो, दुःख आयो। यस्तै कहिले पनि नसकिने सुख-दुःखको चक्करमा परिरह्यो, सुख भयो, हाँस्यो, दु:ख भयो, रोयो, करायो । यो भन्दा वाहिर हामी निस्कनै सक्तैनौं हामी । हामीले अहिलेसम्म जानेको पौराणिक ज्ञानको फल यही नै हो ।

तेस्रो ज्ञान 'वैदिक' ज्ञान हो । वैदिक ज्ञानले हामीलाई सुख-दुःख भन्दा माथि उठ्न सिकाउँछ, फलको आशा नराखेर भगवानको उपासना गर्न सिकाउँछ, यस्तो उपासना गर्ने विधि पनि सिकाउँछ । वैदिक ज्ञान भन्छ, 'यो संसार दुःखमय छ, यहाँ तिमी जति गरे पनि कहिले पनि नहराउने सुख पाउन सक्तैनौ ।किनभने यो संसार नै दुःखले भरिएको छ । दुःखै दुःखले भरिएको संसारवाट सुख खोज्नु त मूर्खता मात्रै हो । तिमीले शाश्वत सुख पाउने हो भने र तिमीलाई कहिले नहराउने सुख पाउने इच्छा छ भने तिमी सुख पाउनकोलागि संसारको आशा नगर, साँच्चिकै सुख पाउन तिमीले अन्त कतै जानु पर्ने जरुरत पर्दैन । तिमी आफू नै सुखको खानी छौ । तिमीले आफ्नै अज्ञानले गर्दा सुखकोलागि वाहिर हेर्ने गरेका छौ । अव तिमी वाहिर हेर्न छोड, आफ्नै भित्र आफ्नै अन्तःकरणमा रहेको अनन्त सुखको खोजी गर । त्यसकोलागि तिमीलाई वेदले उपाय पनि वताइदिएको छ, उसको निर्देशन अनुसार तिमी कर्म गर, त्यही अनुसार तिमी आफ्नो जीवन चर्या वनाऊ । तिमी थाहा पाउँछौ, आनन्दको अखण्ड सागर भएर पनि त्यो ज्ञानको अनुभव गर्न सकेका रहेनछौं हामीले ।' वेदको ज्ञानले हामीलाई स्थूलवाट सूक्ष्म तिर लैजान्छ । हाम्रो स्थूल बुद्धिले स्थूल संसार बुझ्छ, सूक्ष्म बुद्धिले सूक्ष्म संसार बुझ्छ । हाम्रो विचार जति जति सूक्ष्म हुँदै गयो, हामी जीवनका अद्भूत रहस्यहरु बुझन सक्छौँ । यस्तै हो हजुर वैदिक ज्ञानको काम । 

२०७१ को विजया दशमीमा म नयाँ दिल्ली जाँदैछु । मेरो यो visit को उद्देश्य हो, स्वामी अनुभवानन्द सरस्वतीको प्रवचन सुन्ने । यो प्रवचन दिल्लीको विरला मन्दिरमा हुँदैछ नौ दिनकोलागि, दिनमा दुई पटक । स्वामी अनुभवानन्दजीको प्रवचन मैले करिव तीन महिना अघि पनि यहींको Park Village Hotel मा सुनेकी थिएँ । उहाँका ठाउँ ठाउँमा गरिएका प्रवचनहरु you tube मा छन् । फुर्शद भएको वेला हजुरहरुले पनि हेर्ने गर्नु भयो भने राम्रै हुनेछ भन्ने लाग्छ । 

त्यसपछि म करिव पाँच दिनकोलागि वृन्दावन जाँदैछु । त्यसपछि म October को 10 मा काठमाडौँ आएपछि हजुरहरुको सम्पर्कमा रहने नै छु । विजया दशमीको हार्दिक शुभकामना हजुरहरुलाई !!! ओम् असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतम् गमय । ओम् शान्ति: शान्ति: शान्ति: । हरिः ओम् तत् सत् श्री गुरुभ्यो नमः हरिः ओम् तत् सत् ।                        

176. No. 145 श्लोक ४ अबुझहरु सांख्ययोग र कर्मयोगलाई छुट्टा छुट्टै फल दिने भन्छन्,

No. 145 

श्लोक ४ 

अबुझहरु सांख्ययोग र कर्मयोगलाई छुट्टा छुट्टै फल दिने भन्छन्, पण्डितहरु त्यसो भन्दैनन्; किनकि यी दुईमध्ये एउटा साधनमा राम्रोसँग लागेको मनुष्य दुबैको फलरूप परमात्मा पाउँछ । 

यही अध्यायको पहिलो श्लोकमा अर्जुनले कर्महरु पूर्णरूपले छोडी तत्वदर्शी महापुरुषकहाँ गएर गर्ने साधनलाई 'कर्मसंन्यास' भनेका थिए । भगवानले पनि त्यसपछिको दोस्रो श्लोकमा आफ्नो सिद्धान्तको मुख्यता राख्दै ज्ञान पाउने साधनलाई 'संन्यास' र 'कर्मसंन्यास' नै भन्नुभयो । अव त्यही साधनलाई भगवान यहाँ 'सांख्य' नामले भन्नुहुन्छ । भगवान शरीर-शरीरीको भेद विचार गरेर स्वरूपमा स्थित हुनुलाई 'सांख्य' भन्नुहुन्छ । भगवानको मतमा 'संन्यास' र 'सांख्य'का उही अर्थ छन् । यो साधनमा कर्मको स्वरूपले नै त्याग गर्ने आवश्यकता छैन । 

अर्जुनले भनेको 'कर्मसंन्यास' पनि भगवानले भन्नुभएको 'सांख्य'को अवान्तर भेद हो । कारण कि गुरुसँग सुनेर पनि साधक शरीर-शरीरीको भेदको नै विचार गर्छ ।     
        
भगवान भन्नुहुन्छ, आयु र बुद्धिमा ठूलो भए पनि सांख्ययोग र कर्मयोगको छुट्टा  छुट्टै फल मान्ने व्यक्तिहरु वालक अर्थात् अबुझ नै हुन् । 

सांख्ययोग र कर्मयोगको तत्वलाई ठीक ठीक जान्ने व्यक्ति नै पण्डित अर्थात् बुद्धिमान् हुन् । उनीहरु दुवै (साधन)लाई छुट्टा छुट्टै फल दिने भन्दैनन् ; किनकि उनीहरु दुवै साधनका प्रणालीहरु नहेरेर ती दुबैको वास्तविक परिणाम हेर्छन् । 

साधन-प्रणाली हेर्दै स्वयं भगवानले सांख्ययोग र कर्मयोगलाई दुई किसिमको साधन स्वीकार गर्नु भएको छ । यी दुईको साधन प्रणाली त छुट्टा छुट्टै छ, तर साध्य (परमात्मा) छुट्टै छैन । 

गीतामा ठाउँ ठाउँमा सांख्ययोग र कर्मयोगको परमात्मा प्राप्तिरुप फल एक नै वताइएको छ । तेरहौं अध्यायमा दुवै साधनहरुवाट आफैंमा परमात्मतत्वको अनुभव हुने वताइएको छ । यस्तो प्रकारले भगवानको मतमा दुवै साधन एकै फल दिने छन् ।

अरु शास्त्रीय कुराहरु जान्ने, तर सांख्ययोग र कर्मयोगको तत्वलाई गहिराइले नजान्ने व्यक्ति वास्तवमा वालक अर्थात् अबुझ हो ।

गीतामा अविनाशी तत्वकोलागि 'फल' शब्द यही एक ठाउँमा मात्रै आएको छ ।'फल' शब्दको अर्थ हो -- परिणाम । कर्मयोग र ज्ञानयोग -- दुवै साधनहरुले प्राप्त हुने तत्वको फल भन्नुको तात्पर्य, यी दुवै साधनहरुमा मनुष्यको आफ्नो उद्योग मुख्य छ -- ज्ञानयोगमा विवेकरूप उद्योग मुख्य छ र कर्मयोगमा परहितको क्रियारूप योग मुख्य छ । साधकलाई आफ्नो उद्योग, परिश्रम सफल भयो, यसैले यसलाई 'फल' भनियो । यो फल नष्ट हुने होइन । कर्मयोग तथा ज्ञानयोग -- दुबैको फल आत्मज्ञान अथवा ब्रह्मज्ञान हो ।

कर्तव्य-कर्म गर्नु कर्मयोग हो र केही नगर्नु ज्ञानयोग हो । केही नगर्दा हुने तत्वको प्राप्ति कर्तव्य-कर्म गर्दा हुन्छ । 'गर्नु' र 'नगर्नु' साधन हुन्, र यीवाट हुने तत्वको प्राप्ति चाहिं साध्य हो                         


xx 
पहिलेदेखि नै भनिंदै आइएको छ, कर्म के हो ? अकर्म के हो ? विकर्म के हो ? भन्ने जान्ने, र त्यही अनुसार काम गर्ने मनुष्य कर्मयोगी हो ।

गीता भन्छ, "हामीवाट हुने सम्पूर्ण कर्म 'कामना' द्वारा हुन्छन् । हामीलाई कामना कुनै अभाव, अपूर्णताले हुन्छ" । शास्त्र भन्छ, "परमात्मा पूर्ण, परमात्माको अंश भएकोले जीव पनि पूर्ण छ ।" हामी मनुष्य पनि जीव नै हौँ । त्यसैले पूर्ण हुँदा हुँदै पनि हामीलाई अपूर्णताको अनुभव भयो । यस्तो हुनु हाम्रो अज्ञान हो । सत्, चित्, आनन्दघन भए पनि हामीलाई त्यो कुराको अनुभव नहुनुको कारण हामीमा भएको अज्ञान हो । कसैले, अझ कुनै ज्ञानीले, हामीलाई भन्छ, 'हे बाबु, तिमी परमात्मा नै हौ । तिमीमा र परमात्मामा कुनै भेद छैन ।' तर हामी त्यो कुरा मान्न तयार हुँदैनौं । यही प्रसंगमा एउटा कथा निवेदन गर्न मन लाग्यो ।         

एक जना सन्त कहाँ एउटा व्यक्ति ज्ञान सिक्न गएछ । ती महात्माले भनेछन्, 'तिमी ब्रह्म हौ ।' तर त्यो व्यक्तिले आफू ब्रह्म भएको हो भन्ने विश्वास गर्न सकेन । यस्तो विश्वास नहुनु भनेको श्रद्धा नहुनु हो । 

त्यसपछि त्यही व्यक्ति अर्को महात्माकहाँ गएछ । उसले भनेछ, 'म अर्को सन्तकहाँ गएको थिएँ, उहाँले मलाई 'तिमी परमात्मा हौ।' भन्नुभयो । मलाई त्यो कुरा विश्वास लागेन । त्यसैले मलाई ज्ञान दिनुहोस् ।' ती महात्माले भन्नुभयो, 'ए, तिमीलाई त्यस्तो लागेछ, ठीकै छ, मेरो आश्रममा तिमी वारह वर्ष वस, यहाँ पालिएका गाईहरुको गोवर सोहोर । त्यसपछि म तिमीलाई ज्ञान भन्नेछु ।' 

ती सन्तको आज्ञा अनुसार त्यो व्यक्तिले वारह वर्ष त्यो आश्रममा वसेर गाईको गोवर सोहोरेर वसेछ । त्यसपछि वारह वर्ष पुगेको दिन त्यो मानिस महात्मासँग ज्ञान लिन गएछ । ती महात्माले भन्नुभएछ, 'बाबु, तिमी परमात्मा हौ ।' अव त्यो व्यक्तिको हाल के भयो होला, हजुरहरु विचार गर्नुहोस् । बुझ्नु भो त हजुर, यस्तै छ हाम्रो हाल ! वारह वर्ष गोवर सोहोर्छौँ, तर जस्ताको तस्तै ।

175 No. 144 श्लोक ३ हे महाबाहो ! कसैसँग द्वेष पनि नगर्ने र न कसैसँग आशा

No. 144 

श्लोक ३ 

हे महाबाहो ! कसैसँग द्वेष पनि नगर्ने र न कसैसँग आशा पनि नगर्ने कर्मयोगी सँधै संन्यासी भन्ने बुझ्नु पर्छ; किनकि द्वन्द्वदेखि रहित मनुष्य सुखपूर्वक संसार-बन्धनवाट पार गर्छ । 

'महावाहो' भन्ने सम्बोधनको दुई अर्थ हुन्छ -- (१) लामा हातहरु भएका वलवान् र शूरवीर मनुष्य र (२) जसको मित्र तथा दाजुभाई ठूला अथवा प्रभावशाली व्यक्तित्व हुन्छन् । अर्जुनका मित्र सम्पूर्ण प्राणीहरुको सुहृद भगवान श्रीकृष्ण र दाजु धर्मराज युधिष्ठिर । यसैले यस्तो  सम्बोधन गरेर भगवान अर्जुनलाई भनिरहनुभएको छ, 'कर्मयोग अनुसार सबैको सेवा गर्ने वल तिमीमा छ । त्यसैले तिमी सुगमताले कर्मयोगको पालन गर्न सक्छौ ।'

कुनै पनि प्राणी, पदार्थ, परिस्थिति, सिद्धान्तसँग द्वेष नगर्ने व्यक्ति कर्मयोगी हो । कर्मयोगीको काम सबैको सेवा गर्ने, सबैलाई सुख पुर्याउने हो । यदि उसलाई कसैसँग अलिकति मात्र पनि द्वेष भए ऊ द्वारा कर्मयोगको आचरण राम्रोसँग हुन सक्तैन । त्यसैले, कर्मयोगीले कुनै द्वेष भएको व्यक्तिमा सबभन्दा पहिले कर्मयोगको आचरण गर्नुपर्छ ।कसैलाई पनि खराव ठान्ने र कसैलाई पनि अहित चाहने व्यक्ति कर्मयोगको तत्व बुझ्नै सक्तैन ।

सम्पूर्ण प्राणीहरुको हितको उद्देश्यले कर्मयोगीलाई खरावी त्याग्न जति आवश्यक छ, भलाइ गर्न त्यति आवश्यक छैन । भलाइ गर्दा केवल समाजको हित हुन्छ, परन्तु खरावीरहित भए विश्वमात्रको हित हुन्छ । कारण, भलाइ गर्न सीमित क्रियाहरु र पदार्थहरुको मुख्यता रहन्छ, परन्तु खरावीरहित हुन भित्रको असीम भावको प्रधानता रहन्छ । भित्रवाट खराव भाव नहटे र बाहिरवाट भलाइ गरे अभिमान पैदा हुन्छ । यो अभिमान आसुरी सम्पत्तिको मूल हो ।भित्र केही न केही खरावी नभई भलाइ गर्ने अभिमान हुँदैन । अपूर्णतामा (कमी) नै अभिमान पैदा हुन्छ । परन्तु पूर्णता मा अभिमानको प्रश्न नै रहँदैन ।                    

अझ विचार गर्ने हो भने नाशवान् वस्तुहरुको सहायता नलिई भलाइ गर्न सकिंदैन । हामीवाट भलाइ हुने वस्तुहरु हाम्रा हुँदै होइनन् । ती वस्तुहरु हामीवाट भलाइ गरिने व्यक्ति अथवा प्राणीका नै हुन् । तैपनि हामीलाई भलाइ गरेको अभिमान हुन्छ भने त्यो अभिमान नाशवान् पदार्थहरुको आसक्तिले नै हो । नाशवान् वस्तुहरुको आसक्ति रहुन्जेल 'योग'को सिद्धि हुँदैन । 'मैले भलाइ गरें' भन्ने अभिमान खरावी भन्दा पनि भयङ्कर हो;किनकि यो भाव 'मपना'मा वस्छ । कर्म र फल त मेटिन्छन् तर 'मपना' वनिरहुन्जेल 'मपना'मा वसेको भलाइको अभिमान हट्दैन । अर्को कुरा, खरावीलाई त हामी खरावीरूपले जानिहाल्छौं, तर भलाइलाई खरावीरूपले जान्दैनौं । यसैले भलाइको अभिमानको त्याग गर्न ज्यादै गाहारो छ । जस्तो, हामी फलामको हत्कडीको त्याग त गर्न सक्छौं, तर सुनको हत्कडीको त्याग गर्न सक्तैनौं; किनकि त्यो हत्कडी गहनारूपले देखिन्छ । यसैले खरावीरहित भएर नै भलाइ गर्नुपर्छ ।वास्तवमा खरावीको त्याग भएपछि समस्त विश्वको भलाई आफैं हुन थाल्छ; गर्नु पर्दैन ।यसैले खरावीरहित महापुरुष यदि हिमालयको एकान्त गुफामा वसे पनि ऊ द्वारा विश्वको धेरै हित हुन्छ । 

कर्मयोगमा कामनाको त्याग नै मुख्य हो । कर्मयोगी कुनै पनि प्राणी, पदार्थ, परिस्थितिको कामना गर्दैन । कामना-त्याग र परहितमा परस्पर घनिष्ठ सम्बन्ध छ । निष्काम हुन अरुको हित गर्नु पर्छ । अरुको हित गर्दा कामनाको त्याग गर्न वल पुग्छ ।                     

कर्मयोगमा कर्ता निष्काम हुन्छ, कर्म होइन; किनकि जड भएकोले कर्म आफैं सकाम अथवा निष्काम हुन सक्तैन । कर्म कर्ताको अधीन हुन्छ, यसैले कर्महरुको अभिव्यक्ति कर्तामा नै हुन्छ । निष्काम कर्ता द्वारा निष्काम कर्म हुन्छन् । निष्काम कर्मलाई नै कर्मयोग भनिन्छ । अतः चाहे 'कर्मयोग' भनौं अथवा 'निष्काम कर्म', दुबैको अर्थ एकै हुन्छ । सकाम कर्मयोग हुँदै हुँदैन । निष्काम भएपछि कर्ता कर्मफलसँग असंग रहन्छ । कर्तामा सकामभाव आएपछि ऊ कर्मफलसँग वाँधिन्छ । कर्ताले कुनै पनि कर्म आफ़्नोलागि नगरे, सम्पूर्ण कर्म अरुको हितकोलागि गरे उसको सकामभाव नष्ट हुन्छ । यसैले कर्ताको भाव नित्य-निरन्तर निष्काम हुनु पर्छ । कर्तामा जति जति निष्कामभाव हुन्छ, त्यति त्यति नै कर्मयोगको सही आचरण हुन्छ । कर्ता पूरापूर निष्काम भएपछि कर्मयोग सिद्ध हुन्छ । 

अर्जुनले युद्ध नगर्ने र भिक्षा मागेर जीवन-निर्वाह गर्ने इच्छा प्रकट गरेका थिए । उनलाई गुरुहरुलाई नमारेर संन्यास लिनु श्रेष्ठ लाग्यो । भगवान अर्जुनको गलत धारणाको उत्तर दिंदै भन्नुहुन्छ, 'हे अर्जुन ! तिम्रो यो संन्यास त गुरुहरु मर्ने डरले गरिने वाहिरी संन्यास हो । तर कर्मयोगको संन्यास राग-द्वेषको त्यागवाट हुने नित्य संन्यास अर्थात् एवम् साँचो संन्यास हो । 

गीताका अरु अध्यायमा पनि भगवान अग्निको त्याग गर्ने अर्थात् संन्यास-आश्रम मात्रै लिने पुरुषलाई संन्यासी नभनेर भित्रैवाट संसारको आश्रयको त्याग गर्ने कर्मयोगीलाई नै संन्यासी भन्नुहुन्छ । यसरी भगवानको मनमा कर्मयोगी नै सँधै संन्यासी छ ।

कर्मयोगको अनुष्ठान नगरी सांख्ययोगको पालन गर्न कठिन छ । यसैले सांख्ययोगको साधक पहिले कर्मयोगी हुन्छ, त्यसपछि संन्यासी (सांख्ययोगी) हुन्छ । परन्तु कर्मयोगको साधकलाई सांख्ययोगको अनुष्ठान गर्नु पर्दैन । यसैले कर्मयोगी शुरुदेखि नै संन्यासी छ ।

राग-द्वेष विल्कुलै नभएको व्यक्तिलाई संन्यास आश्रममा जाने आवश्यकता छैन ।कुनै पनि व्यक्ति, वस्तु, शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि आफ्ना होइनन् र आफ़्नोलागि पनि होइनन् -- यस्तो निश्चय भएपछि राग-द्वेष मेटिएर यस्तै यथार्थ अनुभव हुन्छ । त्यसपछि व्यवहारमा संसारसँग सम्बन्ध देखिंदा पनि भित्रवाट (राग-द्वेष नरहँदा) सम्बन्ध नै हुँदैन ।यसैलाई 'नित्यसंन्यास' भनिन्छ । लौकिक अथवा पारलौकिक प्रत्येक कार्य गरेको वेला कर्मयोगीको संसारसँग पूर्णरूपले संन्यास रहन्छ, यही कारण ऊ नित्यसंन्यासी नै हो । 

साधनाको आरम्भमा साधकको अन्तःकरणमा द्वन्द्व रहन्छ ।सत्संग, स्वाध्याय, विचार आदि गरेपछि ऊ परमात्मप्राप्ति आफ्नो ध्येय त मान्छ , तर उसको आफ्नो भनिने शरीर, मन, इन्द्रियहरुको रुचि चाहिं स्वाभाविक नै भोग भोग्न तथा संग्रह गर्नमा रहन्छ । यसैले साधक कहिले परमात्मतत्व प्राप्त गर्न खोज्छ, कहिले भोग-संग्रह गर्न । उसले गर्ने मनुष्य र वातावरणको संगत अनुसार उसका भावहरुमा परिवर्तन भइरहन्छन् । यस्तो हुँदा ऊ भोगहरु शान्तिसँग भोग्न पनि सक्तैन; किनकि सत्संग आदिको संस्कार उसको अन्तःकरणमा वैराग्य (भोगहरुदेखि अरुचि) पैदा गरिरहन्छन् । यस्तो प्रकारले साधकको अन्तःकरणमा द्वन्द्व (भोग भोगूँ अथवा साधन गरूँ) चलिरहन्छ । यही द्वन्द्वमा नै अहंभाव टिकेको छ । हामीलाई 'सांसारिक भोग र संग्रहमा लाग्नु छैन; परमात्मतत्व नै प्राप्त गर्नु छ' भन्ने दृढ निश्चय भएपछि द्वन्द्व रहँदैन र अहंभाव परमात्मतत्वमा लीन हुन्छ ।

खासै भन्ने हो भने संसारको महत्व अन्तःकरणमा अंकित भएर नै द्वन्द्व रहन्छ । भोग भोगिरहँदा, अरुवाट सुख खोजिरहँदा संसारका प्राणी-पदार्थहरुको महत्व अन्तःकरणमा गढेको हुन्छ । प्राणी-पदार्थवाट सुख लिइरहेपछि त्यो महत्व वढ्दै जान्छ । अनि ती चिजहरु अझ पाउने रुचि प्रवल हुन्छ । त्यही रूचिले परमात्म प्राप्तिको उद्देश्य स्थायी र दृढ हुन दिंदैन । यसैवाट साधकमा द्वन्द्व वनिरहन्छ । 

उद्देश्यको दृढताकोलागि साधकले पक्का विचार गर्नु पर्यो, कति नै सुख, आराम, भोग मिले पनि मलाई ती भोगहरु लिनु नै छैन, परहितकोलागि ती भोगहरुको त्याग गर्नु छ । यो विचार जति दृढ हुन्छ, साधक त्यति नै निर्द्वन्द्व हुन्छ । 

कसैसँग द्वेष पनि नगर्ने र न कसैसँग केही आशा पनि नगर्ने पुरुष निर्द्वन्द्व हो ।यसको तात्पर्य, राग-द्वेषदेखि रहित हुनु । राग-द्वेष मेट्न यस्तो विचार गर्नुपर्छ, आफूले नखोज्दा पनि अनुकूलता र प्रतिकूलता आइ नै हाल्छ अर्थात् आफूले चाहँदा अनुकूलता आइहाल्छ भन्ने कुरो होइन र नचाहँदा प्रतिकूलता आउँदैन भन्ने कुरो पनि होइन । अनुकूलता-प्रतिकूलता त प्रारब्धको फलस्वरूप आइ-गइ रहन्छ भने तिनीहरु आउने अथवा जानेको चाहना किन गर्ने ? अनुकूलतामा राग र प्रतिकूलतामा द्वेष हाम्रो भूलले हुने हो । यसरी विचार गर्दा भूल मेटिएर राग-द्वेष पूरै नष्ट हुन्छ । 

अर्को कुरो, आफ्नो (स्वयं)को सत्ता स्वतन्त्र छ, कुनै पदार्थ, व्यक्ति, क्रियाको अधीन छैन; किनकि सुषुप्ति-अवस्थामा हामीले संसारलाई विर्संदा पनि संसारको सत्ता रहिरहन्छ । जाग्रत र स्वप्न-अवस्थामा पनि हामी प्राणी, पदार्थ विना रहन सक्छौं । आफ्नो (स्वतन्त्र सत्ता हुँदा हुँदै पनि) ती प्राणी, पदार्थहरुमा राग-द्वेष गरेर हामी किन उनीहरुको अधीन हुने ? यसरी विचार गर्दा पनि राग-द्वेष मेटिन्छन् । 

संसारको राग उत्पन्न र नष्ट हुन्छन् । यो राग कहिले स्थायी रहँदैन; किन्तु हामी नयाँ नयाँ प्राणी, पदार्थहरुसँग राग गरेर यसलाई अड़ाइ रहने कोशीश गर्छौं । परन्तु परमात्माको अभिलाषा उत्पन्न र नष्ट हुने होइन; किनकि परमात्माको नै अंश भएकोले जीवको परमात्मासँग अखण्ड सम्बन्ध छ । परमात्माको अभिलाषा कहिले घट्ने वढ्ने गर्दैन । खालि संसारको धेरै राग हुँदा त्यो अभिलाषा घटेको जस्तो र राग कम हुँदा त्यो अभिलाषा वढेको जस्तो देखिन्छ । यसैले 'म सँधै वांची रहूँ, म सबै कुरा जानौं, म सँधै सुखी रहुँ' भन्ने रूपमा सत्-चित्-आनन्दस्वरूप परमात्माको अभिलाषा रहन्छ, त्यो वेला द्वन्द्व रहँदैन । कर्मयोग, ज्ञानयोग र भक्तियोग -- यी तीनै योगमार्गमा निर्द्वन्द्व हुनु धेरै आवश्यक छ । द्वन्द्व रहुन्जेल मुक्ति हुँदैन । परमात्मतत्वको प्राप्तिमा राग-द्वेष दुई शत्रु छन् । निर्द्वन्द्व भएपछि दुवै मेटिन्छन् र यिनीहरु मेटिएपछि परमात्मतत्वको प्राप्ति सुखपूर्वक हुन्छ । 

हामी संसारमा अल्झिने दुई कारण हो -- राग र द्वेष । हाम्रा सबै साधन राग-द्वेष मेटाउनकैलागि हुन् । राग-द्वेष मेटिएपछि नित्यप्राप्त परमात्मतत्वको अनुभूति स्वतःसिद्ध छ । यसमा परिश्रम छँदै छैन । कारण, परमात्मतत्वको अनुभूति असत् द्वारा हुँदैन, असत् को त्यागले हुन्छ । असत् को सत्ता राग-द्वेषमा टिकेको हुन्छ । असत् संसार स्वतः नै मेटिइरहेछ, तर आफूले राग-द्वेष समात्दा संसार स्थिर देखिन्छ । अतः निरन्तर मेटिइरहेको संसारमा राग-द्वेष नरहँदा मुक्ति नभए के हुन्छ ? यसैले निर्द्वन्द्व अर्थात् राग-द्वेषदेखि रहित पुरुष संसार-बन्धनदेखि सुखपूर्वक मुक्त हुन्छ ।

वाहिरको सुख-दुःख (सुखदायी-दुःखदायी परिस्थिति ) मा सम र भित्रको सुख-दुःखदेखि रहित हुनु 'निर्द्वनद्व' अर्थात् द्वन्द्वरहित हुनु हो । 

तादात्म्यमा चेतन-अंशको मुख्यताले 'जिज्ञासा' रहन्छ र जड-अंशको मुख्यताले 'कामना' रहन्छ । मनुष्यमा भोक त अविनाशी तत्वको रहन्छ, रुचि नाशवान् को रहन्छ; किनकि अविनाशीको भोक मनुष्य नाशवान् द्वारा मेटाउन चाहन्छ । भोक र रुचिको यो द्वन्द्व मनुष्यको संसार-बन्धन दृढ गर्छ । मनुष्यले संसारमा राग-द्वेष नगरे उसको जिज्ञासा पूर्ण हुन्छ र कामना मेटिन्छ अर्थात् ऊ  निर्द्वन्द्व हुन्छ ।