Wednesday, 3 December 2014

Gita: Chapter 6: Slok 4: श्लोक ४ कारण, जव मनुष्य न इन्द्रियहरुका भोगहरुमा र न कर्महरुमा नै आसक्त हुन्छ, त्यो वेला ऊ सम्पूर्ण संकल्पहरुको त्यागी मनुष्य योगरूढ़ हुन्छ ।

No. 166 

श्लोक ४ 

कारण, जव मनुष्य न इन्द्रियहरुका भोगहरुमा र न कर्महरुमा नै आसक्त हुन्छ, त्यो वेला ऊ सम्पूर्ण संकल्पहरुको त्यागी मनुष्य योगरूढ़ हुन्छ । 

साधकले इन्द्रियहरुको अर्थहरुमा अर्थात प्रारब्ध अनुसार प्राप्त हुने शब्द, स्पर्श, रुप, रस र गन्ध -- यी पाँच विषयहरुमा, अनुकूल पदार्थ, परिस्थिति, घटना, व्यक्तिमा र शरीरको आराम, मान, वड़ाई आदिमा आसक्ति नगर्ने, यिनीहरुलाई भोगबुद्धिले भोग नगर्ने, यिनमा खुशी नहुने । यस्तो अनुभव गर्ने  कि,यी सबै विषय, पदार्थ, आदि आएका छन् र प्रतिक्षण अभावमा  गइरहेका छन् । यी विषयहरु र पदार्थहरु आउने-जाने र अनित्य छन्, यिनमा के खुशी हुनु भन्ने अनुभव गरेर यिनसँग निर्लिप्त रहने ।

इन्द्रियहरुको भोगहरुमा आसक्त नहुने साधन हो -- इच्छापूर्तिको सुख नलिने । जस्तो, आफूलाई मन परेको कुरो पुगे, मन परेको वस्तु, व्यक्ति, परिस्थिति, घटना आफूलाई मिले र नचाहेको कुरो नभए मनुष्य त्यसमा खुशी (प्रसन्न) हुन्छ तथा सुख लिन्छ । त्यस्तो सुख लिएपछि  भोगहरुमा इन्द्रियहरुको आसक्ति वढ्छ । अतः साधकले अनुकूल वस्तु, पदार्थ, व्यक्ति आदि पाउने इच्छा नगर्नु र इच्छा नगरेको अनुकूल वस्तु पाइए पनि तिनसँग खुशी नहुनु । यसो हुँदा इन्द्रियहरुको भोगहरुमा आसक्ति हुँदैन ।

अर्को कुरो, मनुष्यसँग अनुकूल चीजहरु नहुँदा ऊ ती चीजहरूको अभावको अनुभव गर्छ र ती वस्तुहरु पाइंदा ती वस्तुहरुको ऊ अधीन हुन्छ । ती वस्तुहरुको अभावको अनुभव भएको वेला पनि व्यक्तिलाई परतन्त्रता थियो र अव ती चीजहरु पाइंदा पनि 'यिनीहरु छुट्ने हुन् कि' भन्ने परतन्त्रता हुन्छ उसमा । त्यसैले वस्तुहरु पाइंदा र नपाइंदा यति नै फरक रह्यो कि वस्तु नपाइंदा त परतन्त्रताको अनुभव हुन्थ्यो, तर वस्तु पाउँदा परतन्त्रताको अनुभव हुँदैन, उल्टै त्यसमा मनुष्यलाई स्वतन्त्रता देखिन्छ -- यही धोखा हुन्छ मनुष्यलाई । जस्तो, कसैले कसैलाई विश्वासघात गर्छ, त्यस्तै अनुकूल परिस्थितिमा राजी भयो भने मनुष्य आफूले आफैंसँग विश्वासघात गर्छ । कारण कि यो मनुष्य अनुकूल परिस्थितिको अधीन हुन्छ, तिनको भोग गर्दा गर्दा उसको स्वभाव धेरै विग्रन्छ र उसमा फेरि फेरि त्यही सुख भोग्ने कामना हुन थाल्छ । यो सुखभोगको कामना नै उसको जन्म-मरणको कारण वन्छ । छोटोमा भन्नु पर्दा, अनुकूलताको इच्छा गर्नु, आशा गर्नु र अनुकूल विषयमा खुशी हुनु नै सम्पूर्ण अनर्थहरुको मूल हो । यसवाट कुनै पनि अनर्थ, कुनै पाप वांकी रहँदैन । यस्तो अनर्थको त्याग गरियो भने मनुष्य योगारूढ़ हुन्छ ।

अर्को कुरो, हामीसँग रहेका निर्वाहको निमित्तका वस्तु सिवाय अरु अनुकूल भोग्य वस्तुहरु हाम्रा होइनन् । तिनीहरु कसका हुन् भन्ने हामीलाई थाहा हुँदैन ; तर कुनै अभावग्रस्त प्राणी भेटियो भने ती सामग्री त्यही प्राणीको हो भन्ने सम्झेर हामीले उसैलाई अर्पण गरिदिनु पर्छ । त्यो प्राणीलाई ('यो हजुरको हो') चाहिं भनिरहनु पर्दैन; तर उसलाई ती वस्तुहरु दिएपछि हामीले यस्तो मान्नुपर्छ, निर्वाह भन्दा वढी मसँग भएका वस्तुहरुको ऋणदेखि म मुक्त भएको छु । अर्को शब्दमा, निर्वाह भन्दा वाहेक वस्तुहरु आफ्नो र आफ़्नोलागि नमान्दा व्यक्तिलाई भोगहरुमा आसक्ति हुँदैन । 

इन्द्रियहरुको अर्थमा आसक्ति नभए जस्तै कर्महरुमा पनि आसक्ति हुनु हुँदैन । किनकि कर्म गर्न पनि राग हुन्छ । राम्रोसँग भएको कर्मवाट एउटा सुख हुन्छ,  नराम्रोसँग भएको कर्मवाट दुःख हुन्छ । यो सुख-दुःख हुनु कर्मको आसक्ति हो । त्यसैले, साधकले कर्म त विधिपूर्वक र तत्परताले गर्ने, तर त्यो कर्ममा आसक्त नभएर सावधानीपूर्वक निर्लिप्त रहने कि यी त आउने-जाने हुन् र म नित्य निरन्तर रहने छु, अतः यिनको हुनु-नहुनुमा, आउनु-जानुमा, मलाई के फरक पर्छ ?

कर्महरुमा आसक्ति भएको कसरी थाहा हुने ? यदि वर्तमानमा गरिएका कर्महरुको पूर्ति-अपूर्तिमा र तिनवाट पाइने तात्कालिक फलको प्राप्ति-अप्राप्तिमा अर्थात् सिद्धि-असिद्धिमा मनुष्य निर्विकार रहँदैन, वरु उसको अन्तःकरणमा हर्ष-शोक आदि विकार हुन्छन् भने यस्तो सम्झनु पर्छ, त्यो व्यक्तिको कर्महरुमा र तिनका तात्कालिक फलमा आसक्ति छ ।

इन्द्रियहरुका अर्थहरूमा र कर्महरुमा आसक्त नहुने तात्पर्य यो भयो, स्वयं (स्वरूप) चिन्मय परमात्माको अंश भएकोले नित्य अपरिवर्तनशील छ र पदार्थ तथा क्रियाहरु प्रकृतिका कार्य भएकाले नित्य-निरन्तर वदलिइरहन्छन् । परन्तु स्वयं ती परिवर्तनशील पदार्थहरु र क्रियाहरुमा आसक्त भएर तिनीहरुको अधीन हुन्छ र फेरि फेरि जन्म-मरणरूप महान् दुःखहरुको अनुभव गरिरहन्छ । ती पदार्थहरुसँग र क्रियाहरुसँग अर्थात् प्रकृतिसँग पूर्णरूपले मुक्त हुन भगवानले दुई विभाग वताउनु भएको छ कि न त इन्द्रियहरुको अर्थहरुमा अर्थात् पदार्थहरुमा आसक्ति गर्ने र न कर्महरुमा (क्रियाहरुमा) आसक्ति गर्ने । यसो गर्दा मनुष्य योगारूढ़ हुन्छ ।                      
                                   
बुझ्नु पर्ने कुरा, क्रियाहरुमा प्रियता धेरै जसो फललाई नै लिएर हुन्छ र फल हुन्छ -- इन्द्रियहरुको भोग । अतः इन्द्रियहरुको भोगहरुको आसक्ति सर्वथा मेटियो भने क्रियाहरुको आसक्ति पनि मेटिन्छ । तैपनि भगवानले क्रियाहरुको आसक्ति मेटाउने कुरा छुट्टै किन भन्नुभयो ? यसको कारण, क्रियाहरुमा पनि स्वतन्त्र आसक्ति हुन्छ । फलेच्छा नहुँदा पनि मनुष्यमा गर्ने वेग हुन्छ । यही वेग नै क्रियाहरुको आसक्ति हो । यो आसक्तिले गर्दा व्यक्ति केही नगरी वस्न सक्तैन, ऊ केही न केही गरी नै रहन्छ । यो आसक्ति मेटिने एक मात्र उपाय हो -- खालि अरुकोलागि कर्म गर्ने अथवा भगवानकोलागि कर्म गर्ने । यसैले भगवानले वारहौं अध्यायमा पहिले अभ्यासयोग वताउनु भयो । तर आफू भित्र गर्ने वेग रहि रहने हुनाले अभ्यासमा मन लाग्दैन । अतः गर्ने वेग मेटाउन भगवानले वताउनु भयो, 'साधकले मेरोलागि नै कर्म गर्नु ।'  यसको अर्थ, पारमार्थिक अभ्यास आदि गर्न मन नलाग्ने र भित्र कर्म गर्ने वेग (आसक्ति) रहेको त्यस्तो भक्तियोगको साधक केवल भगवानकोलागि नै कर्म गरोस् । यसो गर्दा व्यक्तिको आसक्ति मेटिन्छ । यसै गरी कर्मयोगको साधकले       
केवल संसारकोलागि नै कर्म गर्यो भने उसको गर्ने वेग (आसक्ति) मेटिन्छ ।

कर्म गर्ने आसक्ति जस्तै कर्म नगर्ने पनि आसक्ति हुन्छ । कर्म नगर्ने आसक्ति हुनु हुँदैन । किनकि कर्म नगर्ने आसक्तिले प्रमाद र आलस्य हुन्छ । यस्तो आसक्ति तामसी वृत्ति हो र कर्म गर्ने आसक्ति व्यर्थ चेष्टाहरुमा लगाउँछ । कर्म गर्ने आसक्ति, यही कारण, राजसी वृत्ति भयो ।

यहाँ प्रश्न छ: योगारूढ़ हुन कति दिन, कति महिना अथवा वर्ष लाग्ला ? यो विषयमा भगवान भन्नुहुन्छ, मनुष्य इन्द्रियहरु र तिनका अर्थहरूमा सर्वथा आसक्तिरहित भएपछि योगारूढ़ हुन्छ । जस्तो, कसैले 'म आजदेखि कहिले पनि इच्छापूर्तिको सुख लिन्न' भन्ने   निश्चय (प्रतिज्ञा) गर्छ भने ऊ तुरुन्तै योगारूढ़ हुन्छ । 

पदार्थहरुमा र क्रियाहरुमा आसक्ति गर्न र नगर्नमा भगवानले सबै मनुष्यलाई स्वतन्त्रता दिनु भएको छ । उहाँ हामीलाई भन्नुहुन्छ, तिमी साक्षात् मेरो अंश हौ र यी पदार्थ र क्रियाहरु प्रकृतिजन्य (प्रकृतिवाट उत्पन्न) हुन् । यिनमा पदार्थ पनि उत्पन्न र नष्ट हुने स्वभावका हुन् र क्रियाहरुको पनि आरम्भ र अन्त हुन्छ । अतः यी नित्य रहने स्वभावका होइनन् र तिमी नित्य रहने स्वभावका हौ । तिमी नित्य हुँदा हुँदै पनि अनित्यमा फस्छौ, अनित्यमा आसक्ति र प्रियता गर्छौ । यसो हुँदा केही पनि तिम्रो हात पर्दैन, केवल दुःखै-दुःख पाइरहन्छौ । अतः तिमी आजैदेखि यस्तो विचार गर, 'हामी पदार्थ र क्रियाहरुमा सुख लिंदैनौं ।' यसो गर्न सके तिमीहरु आजै योगारूढ़ हुन सक्छौ; किनकि योग अर्थात् समता तिमीहरुको आफ्नो चीज हो । समता तिम्रो स्वरूप हो र स्वरूप सत् छ । सत् को कहिले अभाव हुँदैन र असत् को कहिले भाव हुँदैन । यसैले सत्-स्वरूप तिमी असत् पदार्थहरु र क्रियाहरुमा आसक्ति गर्दैनौ भने तिमीलाई स्वतःसिद्ध योगारूढ़ अवस्थाको अनुभव हुनेछ । 

हाम्रो मनमा हुने अनेकौं स्फूरणाहरुमा हामीलाई सुखबुद्धि हुने स्फूरणालाई लिएर हामीलाई विचार हुन्छ, ' यस्तो पाइयो भने हामी सुखी हुने थियौं' ।' यसरी स्फूरणामा लिप्तता हुनाले त्यो स्फूरणाको नाम 'संकल्प' हुन्छ । त्यो संकल्प नै अनुकूलता-प्रतिकूलताको कारण सुखदायी र दुःखदायी हुन्छ । सुखदायी संकल्प लिप्तता (राग-द्वेष) गर्छ, दुःखदायी संकल्प पनि लिप्तता गर्छ । त्यसैले दुवै संकल्प बन्धन पार्ने खालका छन् । ती संकल्पवाट हामीलाई हानि सिवाय कुनै लाभ छैन; किनकि संकल्प न त स्वरूपको बोध हुन दिन्छ; न अरुको सेवा गर्न दिन्छ, न भगवानमा प्रेम हुन दिन्छ, न भगवानमा मन लाग्न दिन्छ, न आफ्ना नजीकका कुटुम्बीहरुको अनुकूल नै बन्न दिन्छ । तात्पर्य, आफ्नो संकल्प राख्दा न आफ्नो हित हुन्छ, न संसारको हित हुन्छ, न कुटुम्बीहरुको कुनै सेवा हुन्छ, न भगवानको प्राप्ति हुन्छ र न आफ्नो स्वरूपको बोध नै हुन्छ । यसवाट खालि हानि नै हानि हुन्छ । यस्तो बुझेर साधकहरु संकल्पहरुदेखि रहित हुनु पर्छ ।

मनमा हुने स्फूरणाले संकल्पको रूप धारण नगरे त्यो स्फूरणा स्वतः नष्ट हुन्छ । स्फूरणा मात्रै हुँदा व्यक्तिलाई त्यति हानि र पतन हुँदैन; तर समय त नष्ट भइहाल्छ । त्यसैले स्फूरणा पनि त्याज्य (छोड्नु पर्ने) नै छ । तर संकल्पहरुको त्याग साधकले जरूर गर्नु पर्छ ।कारण, संकल्पको त्याग नगरी अर्थात् मनले भनेको जस्तो गर्न नछोडी साधक योगारूढ़ हुँदैन र योगारूढ़ नभई परमात्माको प्राप्ति हुँदैन, कृतकृत्यता हुँदैन, मनुष्य जन्म सार्थक हुँदैन, भगवानमा प्रेम हुँदैन, दुःखहरुको पूर्णतया नष्ट हुँदैन । 

दोस्रो श्लोकमा भगवान व्यतिरेक-रीतिले भन्नुहुन्छ, संकल्पहरु नछोडी कुनै पनि मनुष्य योगी हुँदैन र यहाँ अन्वय-रीतिले भन्नुहुन्छ, संकल्पहरू छोडे मनुष्य योगारूढ़ हुन्छ । यसको तात्पर्य, साधकले कुनै पनि प्रकारको संकल्प राख्नु हुँदैन । 

संकल्पहरु त्याग्ने उपाय: (१) भगवानले हाम्रोलागि आफ्नो तर्फवाट अन्तिम जन्म (मनुष्यजन्म) दिनु भएको छ, कि तिमी यो जन्मले आफ्नो उद्धार गर भनेर। अतः हामीले मनुष्य-जन्मको अमूल्य, मुक्तिदायक समयलाई निरर्थक संकल्पहरुमा वरवाद गर्नु हुन्न भन्ने विचार गरेर संकल्पहरु हटाउनु पर्छ । 

(२) कर्मयोगको साधकले आफ्नो कर्तव्य पालन गर्ने हो । कर्तव्यको सम्बन्ध वर्तमानसँग छ, भूत-भविष्यत् कालसँग छैन । तर संकल्प-विकल्प भूत र भविष्यत् कालका  हुन्छन्, वर्तमानको हुँदैन । अतः साधकले आफ्नो कर्तव्यको त्याग गरेर भूत-भविष्यत् कालका संकल्प-विकल्पहरुमा फस्नु हुन्न, आसक्तिरहित भएर कर्तव्य-कर्ममा लागिरहनु पर्छ । 

(३) ज्ञानयोगको साधकले यो कुरामा दृढ रहनुपर्छ, वास्तवमा सत्ता परमात्मतत्वको मात्रै हो । संकल्पहरुको, संसारको सत्ता नै छैन । यसैले कुनै संकल्प भयो भने त्योसँग उदासीन रहने; त्यसमा राग पनि नगर्ने, द्वेष पनि नगर्ने । 

(४) भक्तियोगको साधकले विचार गर्नु पर्छ, मनमा आउने जति संकल्प धेरै जसो भूतकालका हुन्छन्, जुन अहिले छैन अथवा भविष्यत् कालका हुन्छन्, जुन पछि आउने होलान्, तर अहिले छैनन् । अतः अहिले नभएको चिन्तनमा समय वरवाद गर्नु र अहिले भएको, आफूमा भएको र आफ्नो भगवानको चिन्तन नगर्नु कति ठूलो गल्ति हो । यस्तो विचार गरेर संकल्पको त्याग गर्नुपर्छ हामीले ।             
   
सिद्धि-असिद्धिमा सम रहनु 'योग' हो । यो योग अर्थात् समतामा आरूढ़ हुनु, स्थित हुनु नै योगारूढ़ हुनु हो । योगारूढ़ भएपछि परमात्माको प्राप्ति हुन्छ । 

यही अध्यायको दोस्रो श्लोकमा भगवानले भन्नुभएको थियो, संकल्पको त्याग नगरी कुनै पनि योग सिद्ध हुँदैन र यहाँ भन्नुहुन्छ, संकल्पहरुको सर्वथा त्याग गरिदिए व्यक्ति योगारूढ़ हुन्छ । यसवाट सिद्ध हुन्छ, सबै किसिमका योगहरुद्वारा योगारूढ़ अवस्था प्राप्त हुन्छ । यो प्रकरण कर्मयोगको हो, तर संकल्पहरु पूर्णतः त्याग्न सके योगारूढ़ अवस्थामा सबै एक नै हुन्छन् ।      

योगारूढ़ व्यक्ति कसरी चिन्ने ? यसकोलागि यहाँ तीन कुराहरु वताइयो -- पदार्थहरु (वस्तुहरु तथा व्यक्तिहरु) मा आसक्ति नहुनु, क्रियाहरुमा आसक्ति नहुनु र सम्पूर्ण संकल्पहरुको त्याग हुनु अर्थात् मनले भनेको गर्ने इच्छाको त्याग हुनु । तात्पर्य, इन्द्रियहरुका भोगहरुमा र क्रियाहरुमा आसक्ति नहोस् तथा भित्रैदेखि यो आग्रह पनि नहोस् कि यस्तो हुनु पर्छ, यस्तो हुनुहुँदैन भन्ने । पदार्थहरुमा आसक्ति नभएको, पदार्थहरुको अभावमा पनि आसक्ति नभएको, क्रियाहरुमा आसक्ति नभएको, क्रियाहरुको अभावमा पनि आसक्ति नभएको तथा कुनै संकल्प नभएको व्यक्ति 'योगारूढ़' हो । अर्को शब्दमा, पदार्थ मिलोस् या नमिलोस्, व्यक्ति मिलून् या नमिलून्, क्रिया होस् या नहोस् -- यसको कुनै आग्रह हुनु हुँदैन । 

साधकले विचार गर्नु छ, सँधै हामीसँग रहने र हामी सँधै त्योसँग रहन सक्ने वस्तु कुन होला ? सँधै हामीसँग रहने र हामी सँधै त्योसँग रहने व्यक्ति कुन होला ? हामीले सँधै गरिरहने र हामीवाट सँधै भैरहने क्रिया कुन होला ? सँधैकोलागि हामीसँग न कुनै वस्तु रहला, न कुनै व्यक्ति रहला, न कुनै क्रिया रहला । एक दिन हामीलाई वस्तु, व्यक्ति र क्रियादेखि रहित हुनु नै पर्ला । यदि हामीले वर्तमानमा नै ती वस्तु, व्यक्ति र क्रियासँग रहित हुन सक्यौं भने, अथवा अहिले नै तिनको वियोग स्वीकार गर्यौं भने, तिनसँग असंग भयौं भने जीवन्मुक्ति स्वतःसिद्ध छ । अर्को शब्दमा, वस्तु, व्यक्ति र क्रियाको संयोग अनित्य छ, तर वियोग नित्य छ । नित्य स्वीकार गरे नित्य-तत्वको प्राप्ति हुन्छ र कुनै अभाव शेष रहँदैन ।

इन्द्रियहरुका भोगहरुमा र कर्महरुमा आसक्ति नहुने भनेको -- कामनारहित र कर्तृत्वरहित हुने । इन्द्रियहरु पदार्थहरुमा, भोगहरुमा आसक्त नभए साधक कामनारहित हुन्छ र क्रियाहरुमा आसक्त नभए ऊ  कर्तृत्वरहित हुन्छ । कामनारहित र कर्तृत्वरहित भएपछि स्वरूपमा स्वतः स्थिति हुन्छ । वास्तवमा स्थिति हुने होइन, स्थिति छ । परन्तु कामनारहित र कर्तृत्वरहित नभएकोले यसको अनुभव हुँदैन । कामना र कर्तृत्वको अभाव भएपछि स्वरूपमा स्वतःसिद्ध स्थितिको अनुभव हुन्छ । 

साधकले काम गर्दा शरीरलाई काममा लिने र काम सकिने वित्तिकै त्यसलाई जस्ता को तस्तै राखिदिने अर्थात् शरीरवाट सर्वथा असंग हुने । यसरी प्रत्येक क्रियापछि साधकको स्थिति योग (समता)मा हुन्छ । यदि क्रियासँग पूरै सम्बन्ध-विच्छेद भयो भने ऊ योगारूढ़ हुन्छ । 

क्रिया (भोग) र पदार्थ (ऐश्वर्य)को आसक्तिले पतन हुन्छ । यसैले क्रियामा आसक्ति नहोस् र न फलमा नै आसक्ति होस् । संकल्पजन्य सुखको भोग पनि नहोस् अर्थात् संकल्पपूर्तिको सुख पनि नलिइयोस् । आफ्नो मुक्तिको पनि संकल्प नहोस्; किनकि मुक्तिको संकल्पले बन्धनको सत्ता दृढ हुन्छ । अतः कुनै पनि संकल्प नगरेर उदासीन रहने । 

Gita: Chapter 6: Slok 2: श्लोक २ हे अर्जुन ! संन्यासलाई तिमी योग भन्ने बुझ; किनकि संकल्पहरुको त्याग नगरी कुनै पनि मनुष्य योगी हुन सक्तैन ।

No. 165 

श्लोक २ 

हे अर्जुन !  संन्यासलाई तिमी योग भन्ने बुझ; किनकि संकल्पहरुको त्याग नगरी कुनै पनि मनुष्य योगी हुन सक्तैन । 

पाँचौं अध्यायमा भगवानले भन्नु भयो, संन्यास (सांख्ययोग) र योग (कर्मयोग) -- यी दुवै स्वतन्त्रताले कल्याण गर्छन्, तथा दुबैको फल पनि एक नै छ अर्थात् संन्यास र योग दुई होइनन्, एक नै हुन् । त्यही कुरा भगवान यहाँ भन्नुहुन्छ, संन्यासी पूर्णरूपले त्यागी भए जस्तै कर्मयोगी पनि पूर्णरूपले त्यागी हुन्छ । 

गीताकै अठारौँ अध्यायमा भगवान भन्नुहुन्छ, सम्पूर्ण फल र आसक्तिको त्याग गरेर केवल कर्तव्य मात्रै भनेर गरिने नियत कर्म 'सात्विक त्याग हो' । यसो गरे पदार्थहरु र क्रियाहरुसँग पूरै सम्बन्ध-विच्छेद हुन्छ र मनुष्य त्यागी तथा योगी हुन्छ । त्यस्तै संन्यासी पनि कर्तृत्वाभिमानको त्यागी हुन्छ । अतः दुवै त्यागी हुन् । तात्पर्य, योगी र संन्यासीमा कुनै भेद छैन । भेद नरहेकोले नै भगवान पाँचौं अध्यायमा भन्नुहुन्छ, राग-द्वेषको त्याग गर्ने योगी 'संन्यासी' नै हो ।                   

मनमा स्फूरणाहरु उठ्छन् अर्थात् किसिम किसिमका कुराहरु सम्झिइन्छन् । तिनमा पनि जुन स्फूरणासँग मन टाँसिन्छ, जुन स्फूरणामा प्रियता-अप्रियता हुन्छ, त्यही संकल्प हुन्छ ।त्यो संकल्प नछोडी कुनै पनि मनुष्य योगी हुँदैन, प्रत्युत भोगी नै हुन्छ । कारण, परमात्मासँगको सम्बन्धको नाम 'योग' हो । जसलाई भित्रैदेखि पदार्थहरुमा महत्व, सुन्दर तथा सुख-बुद्धि छ, ऊ (भित्रवाट पदार्थहरुसँग सम्बन्ध मानेको कारणले) भोगी नै होला, योगी त हुनै सक्तैन । असत् पदार्थहरुमा महत्व, सुन्दर तथा सुखबुद्धि नरहेपछि मात्रै व्यक्ति योगी हुन्छ । त्यसपछि ऊ सबै संकल्पहरुको त्यागी हुन्छ तथा उसलाई भगवानसँग आफ्नो नित्य-सम्बन्धको अनुभव हुन्छ । 

संकल्पको त्याग नगरी कुनै पनि मनुष्य, चाहे त्यो योगी अर्थात् कर्मयोगी, ज्ञानयोगी, भक्तियोगी, हठयोगी लययोगी हुँदैन । कारण, उसको सम्बन्ध उत्पन्न-नष्ट हुने जड पदार्थहरुसँग छ । त्यसैले ऊ कसरी योगी होला ? ऊ त भोगी नै होला । यस्ता भोगी मनुष्य मात्रै होइनन्, पशु पक्षी पनि भोगी नै हुन्, किनकि उनीहरुले पनि संकल्पहरुको त्याग गरेका छैनन् 

तात्पर्य, असत् पदार्थहरुसँग किञ्चित् मात्र पनि सम्बन्ध रहुन्जेल अर्थात् आफूले आफूलाई  केही न केही मानुन्जेल कुनै पनि व्यक्ति योगी हुन सक्तैन अर्थात् पदार्थहरुसँग सम्बन्ध राखुन्जेल ऊ जति नै अभ्यास गरोस्, जति नै समाधि लगाओस् जुन सुकै पहाडको  
गुफामा जाओस्, तैपनि गीताको सिद्धान्त अनुसार त्यो व्यक्ति योगी हुन सक्तैन । 

यसो हेर्दा संन्यास र योगको साधना छुट्टा-छुट्टै भए पनि संकल्पको त्यागमा दुवै साधन एकै हुन् ।

श्लोक ३ 

योग (समता) मा आरूढ़ हुन चाहने मननशील योगीकोलागि कर्तव्य-कर्म गर्नु कारण भनिएको छ र त्यही योगारूढ़ मनुष्यको शम (शान्ति) परमात्मप्राप्तिमा कारण भनिएको छ ।


योग (समता)मा आरूढ़ हुन चाहने मननशील योगीलाई निष्कामभावले कर्तव्य-कर्म गर्नु कारण मानिन्छ । तात्पर्य हो, गर्ने वेग मेट्न प्राप्त कर्तव्य-कर्म गर्नु कारण हो । व्यक्ति जन्मेको, वाँचेको र पालिएको कारण उसको जीवन अरुको सहायता नभई चल्न नसक्ने भएर हो । उसका शरीर, इन्द्रियहरु, मन, बुद्धि र अहंसम्म पनि प्रकृतिका नै हुन् । यसैले व्यक्तिले यी प्राकृत चिजहरुलाई संसारको सेवामा नलगाउञ्जेल ऊ योगारूढ़ हुन सक्तैन अर्थात् समतामा स्थित हुन सक्तैन; किनकि सबै प्राकृत वस्तुहरुको एकता संसारसँग छ, हामीसँग छँदै छैन । 

प्राकृत वस्तुहरु आफ्नो देखिनुको तात्पर्य हो, ती वस्तुहरुलाई अरुको सेवामा लगाइदिने दायित्व हाम्रो हो । अतः ती सबैलाई अरुको सेवामा लगाउने भाव हुँदा सम्पूर्ण क्रियाहरुको प्रवाह संसारतिर हुन्छ र व्यक्ति स्वयं योगारूढ़ हुन्छ । यही कुरा भगवानले अरु ठाउँमा पनि भन्नु भएको छ, यज्ञकोलागि अर्थात् अरुको हितकोलागि कर्म गर्नेहरुको सम्पूर्ण कर्म लीन हुन्छन् अर्थात् उनीहरुवाट हुने कर्म बन्धनकारक हुँदैनन् र यज्ञ भन्दा वाहेक आफ्नोलागि गरिएका कर्म बन्धनकारक हुन्छन् । 

योगारूढ़ हुन कर्म किन कारण छ ? किनकि फलको प्राप्ति-अप्राप्तिमा हाम्रो समता छ कि छैन,  हामीमा त्यसको असर के पर्छ -- यो कुरो त्यही वेला थाहा हुन्छ, जव हामी कर्म गर्छौं । समताको पहिचान कर्म गर्दा नै हुन्छ । तात्पर्य, कर्म गर्दा हामीमा समता रह्यो भने, राग-द्वेष भएन भने त ठीकै छ, किनकि त्यो कर्म 'योग'मा कारण भयो । तर हामीमा समता रहेन, राग-द्वेष भयो भने जडतासँग हाम्रो सम्बन्ध भएर त्यो कर्म 'योग'मा कारण भएन ।                    
असत् सँग सम्बन्ध राख्दा नै अशान्ति हुन्छ । यसको कारण हो, असत् पदार्थहरु (शरीर आदि)सँग स्वयंको सम्बन्ध एक क्षण पनि रहन सक्तैन र रहँदा पनि रहँदैन; किनकि स्वयं सँधै रहने खालको छ र शरीर आदि पदार्थ प्रतिक्षण अभावमा गइरहेछन् । ती प्रतिक्षण अभावमा गइरहनेसँग यो स्वयं सम्बन्ध जोड्छ र तिनीहरुसँग आफ्नो सम्बन्ध राख्न चाहन्छ । तर तिनीहरुसँग सम्बन्ध सँधै रहँदैन र ती वस्तु, व्यक्ति जाने डरले र तिनीहरु जानाले अशान्ति हुन्छ । तर शरीर आदि असत् पदार्थहरुलाई संसारको सेवामा लगाएर तिनीहरुसँग आफ्नो सम्बन्ध-विच्छेद गरेपछि असत् को त्यागले व्यक्तिलाई स्वतः शान्ति मिल्छ । यदि साधकले त्यो शान्तिमा सुख लियो भने ऊ बाँधिन्छ । यदि उसले त्यो शान्तिमा राग नगरे, त्यसवाट सुख नलिए त्यो शान्ति परमात्मतत्व प्राप्तिमा कारण हुन्छ । 

योगारूढ़ हुने इच्छा भएका साधककोलागि योगारूढ़ हुन निष्कामभावले कर्म गर्नु कारण हो र त्यो निष्काम कर्मवाट प्राप्त हुने शान्ति परमात्मप्राप्तिमा कारण हो । तात्पर्य, परमात्मप्राप्तिमा कर्म कारण छैन, कर्महरुको सम्बन्ध-विच्छेदवाट हुने शान्ति कारण हो । यो शान्ति साधन हो, सिद्धि होइन । 

विवेकपूर्वक कर्म गर्दा नै कर्महरुको राग मेटिन्छ, किनकि राग मेटाउने शक्ति कर्ममा छैन, विवेकमा छ । योगारूढ़ हुने लालसा भएको व्यक्ति सबै कर्म विवेकपूर्वक नै गर्छ । साधकले कामना पूर्तिमा परतन्त्रता र अपूर्तिमा अभावको अनुभव गरेपछि उसमा विवेक विकसित हुन्छ । परतन्त्रता र अभाव कोही पनि खोज्दैन, तर कामना गरे यी दुवै छुट्दैनन् ।                                            
  
योगारूढ़ अवस्थामा खुशी हुनु हुँदैन, त्यसो गरे साधक त्यहिं अड्किन्छ । यसले गर्दा परमात्मप्राप्ति हुन धेरै समय लाग्छ । जस्तो, वालकको पहिले खेलमा रुचि रहन्छ । तर त्यही वालक ठूलो भएपछि उसको रुचि रुपियाँ पैसामा हुन्छ, वालक वेलाको खेलको रुचि आफैं मेटिन्छ । परमात्मप्राप्तिको अनुभव नहुन्जेल शान्तिमा रुचि रहन्छ अर्थात् शान्ति धेरै राम्रो लाग्छ । परन्तु त्यो शान्तिको उपभोग गरिएन भने, त्यो शान्तिवाट उपराम भइयो भने त्यसको रुचि आफैं मेटिन्छ र धेरै छिटो परमात्मप्राप्तिको अनुभव हुन्छ ।

योगारूढ़ हुन कर्म गर्नु कारण हो अर्थात् निःस्वार्थभावले अरुको हितकोलागि कर्म गर्दा गर्दा सबैसँग वियोग भएपछि साधक योगारूढ़ हुन्छ । कर्महरुको समाप्ति हुन्छ र योग नित्य रहन्छ । 

कर्मी (भोगी) पनि कर्म गर्छ र कर्मयोगी पनि कर्म गर्छ । तर ती दुईको उद्देश्यमा धेरै ठूलो अन्तर रहन्छ । एउटा आसक्ति राख्न अथवा कामनापूर्तिकोलागि कर्म गर्छ र अर्को आसक्ति छुट्नकोलागि कर्म गर्छ । भोगी आफ्नोलागि कर्म गर्छ र कर्मयोगी अरुकोलागि कर्म गर्छ । अतः आसक्तिपूर्वक कर्म गर्नमा समान हुँदा पनि आसक्ति-त्यागको उद्देश्यले अरुकोलागि कर्म गर्ने योगी (योगारूढ़) हुन्छ । कर्म गर्दा नै योगीको पहिचान हुन्छ ।

यहाँ उल्लेख गरिएको 'शम' (शान्ति) लाई दोस्रो अध्यायमा 'प्रसाद' (अन्तःकरणको प्रसन्नता) भनिएको छ । यो शान्तिमा रमण नगरे 'निर्वाणपरमा शान्ति' पाइन्छ । त्यागले शान्ति पाइन्छ । तर यो शान्तिमा पनि रमण नगरे अखण्डरस (तत्वज्ञान) पाइन्छ  र अखण्डरसमा पनि सन्तोष नगरे अनन्तरस (परमप्रेम) पाइन्छ ।   

Gita: Chapter 6: Slok 1: श्लोक १ कर्मफलको आश्रय नलिएर कर्तव्य-कर्म गर्ने व्यक्ति संन्यासी तथा योगी

अव छैठौं अध्याय शुरु हुन्छ ।

No. १६४ 

श्रीभगवानले भन्नुभयो ।
  
श्लोक १

कर्मफलको आश्रय नलिएर कर्तव्य-कर्म गर्ने व्यक्ति संन्यासी तथा योगी हो र अग्निको मात्रै त्याग गर्ने व्यक्ति संन्यासी हुँदैन । तथा क्रियाहरुको मात्रै त्याग गर्ने योगी हुँदैन । 

मनुष्यले कुनै उत्पत्ति-विनाशशील वस्तु, व्यक्ति, घटना, परिस्थिति, क्रिया आदिको आश्रय राख्नु हुँदैन । किनकि जीव स्वयं परमात्माको अंश भएकोले नित्य निरन्तर रहन्छ र उसले आश्रय लिने वस्तु, व्यक्ति उत्पत्ति-विनाशशील र प्रतिक्षण वदलिने स्वभावका छन् । ती वस्तु र व्यक्ति प्रतिक्षण वदलिइरहने कारण नष्ट हुन्छन् र यो जीव रित्तो को रित्तो रहन्छ । खालि रित्तो मात्रै भए त हुन्थ्यो, उल्टो उसले राग पक्डिरहेको हुन्छ । वस्तु, व्यक्तिको राग पक्डिरहुन्जेल उसको कल्याण हुँदैन अर्थात् त्यो राग उसलाई ऊँच-नीच योनिहरुमा लगिरहन्छ । कुनै व्यक्तिले यदि राग छोड्छ भने ऊ स्वतः मुक्त नै छ, खालि रागले गर्दा उसलाई यसको (मुक्तिको) अनुभव हुँदैन । यही क्रममा भगवान भन्नुहुन्छ, मनुष्य कर्मफलको आश्रय नलिएर कर्म गरोस् । कर्मफलको आश्रय छोड्नेलाई नैष्ठिकी शान्ति प्राप्त हुन्छ, तर कर्मफलको आश्रयले व्यक्ति बाँधिन्छ । 

स्थूल, सूक्ष्म र कारण -- यी तीनै शरीरहरु 'कर्मफल' हुन् । यी तीनैहरुमध्ये कुनैको पनि आश्रय नलिएर यी शरीरहरुलाई सबैको हितमा लगाउनु पर्छ । जस्तो, स्थूल शरीरवाट हुने क्रियाहरुलाई र पदार्थहरुलाई संसारको नै मानेर ती क्रिया र पदार्थहरुको उपयोग संसारको सेवा (हित)मा लगाओस्, सूक्ष्म शरीरवाट अरुको हित कसरी होस्, सबै व्यक्ति कसरी सुखी होऊन्, सबैको उद्धार कसरी होस् -- यस्तो चिन्तन गर्नु कारण शरीरवाट हुने स्थिरता (समाधि) को फल पनि संसारको हितकोलागि नै अर्पण गरोस् । कारण, यी तीनै शरीरहरू आफ्ना (व्यक्तिगत) होइनन् र आफ्नालागि पनि होइनन्, वरु संसारका र संसारको सेवाकोलागि नै हुन् । यी तीनै शरीरहरूको संसारसँग अभिन्नता र आफ्नो स्वरूपसँग भिन्नता छ । यस्तो किसिमले यी तीनै शरीरहरुको आश्रय नलिनु नै 'कर्मफलको आश्रय नलिनु' हो र यी तीनैद्वारा संसारको हितकोलागि कर्म गर्नु नै 'कर्तव्य-कर्म गर्नु' हो । 

आश्रय नलिने तात्पर्य, साधनरूपले त शरीर आदिलाई अरुको हितकोलागि काममा ल्याउने, तर स्वयं यिनको आश्रय नलिने अर्थात् यिनीहरुलाई आफ्नो र आफ्नोलागि नमान्ने । किनकि मनुष्य-जन्ममा शरीर आदिको होइन, शरीर आदि द्वारा गरिने साधनको महत्व छ । अतः संसारवाट पाइएका चिज संसारलाई नै दियौं भने हामी 'संन्यासी' भयौं र पाइएका चिजमा आफ्नोपन छोड्यौं भने हामी 'त्यागी' भयौं । 

प्रश्न छ: कर्मफलको आश्रय नलिएर कर्तव्य-कर्म गरे के होला ? आफ्नोलागि कर्म नगरे नयाँ आसक्ति वन्दैन र खालि अरुको हितकोलागि कर्म गरे पुरानो आसक्ति मेटिन्छ तथा कर्म गर्ने वेग पनि मेटिन्छ । आसक्ति पूर्णरूपले मेटिए मुक्ति स्वतःसिद्ध छ । उत्पत्ति-विनाशशील वस्तुहरुवाट छुट्ने उपाय हो -- कर्मफलको आश्रय नलिने अर्थात् तिनसँग ममता नगर्ने र आफ्नो जीवनलाई तिनको आश्रित नमान्ने ।  

सबै कर्तव्य-कर्मको नाम कार्य हो । कार्य र कर्तव्य -- यी दुवै पर्यायवाची हुन् । कर्तव्य-कर्म त्यही हो, जसलाई हामी सजिलोसँग गर्न सक्छौं, जसलाई जरूर गर्नुपर्छ र जसको त्याग कहिले गर्नु हुँदैन । 

कार्य कर्म अर्थात् कर्तव्य-कर्म असम्भव त हुँदै हुँदैन; कठिन पनि हुँदैन । गर्न नहुने काम कर्तव्य-कर्म नै हुँदैन । त्यो त अकर्तव्य हुन्छ । त्यस्तो अकर्तव्य पनि दुई किसिमका हुन्छन् -- (१) जुन हामी गर्न सक्तैनौं अर्थात् जुन हाम्रो सामर्थ्य वाहिर छ र (२) जुन गर्नु हुँदैन अर्थात् जुन शास्त्र र लोकमर्यादा विरुद्ध छ । यस्तो अकर्तव्य कहिले पनि गर्नु हुँदैन । तात्पर्य, कर्मफलको आश्रय नलिएर शास्त्रविहित र लोकमर्यादा अनुसार पाइएको कर्तव्य-कर्म निष्कामभावले गर्ने र अरुको हितकोलागि नै गर्ने । 

कर्म दुई किसिमले गरिन्छन् -- कर्म तथा तिनको फलको आसक्ति मेटाउनकोलागि । यहाँ, यो श्लोकमा कर्म तथा कर्मफलको आसक्ति मेटाउने प्रेरणा गरिएको छ । 

माथि भनिएको तरिकाले कर्म गर्ने नै संन्यासी र योगी हो । ऊ कर्तव्य-कर्म गरिरहँदा पनि निर्लिप्त रहन्छ, त्यसैले ऊ 'संन्यासी' हो र ती कर्तव्य-कर्महरु गरिरहँदा ऊ  सुखी-दुःखी हुँदैन अर्थात् कर्महरुको सिद्धि-असिद्धिमा सम रहन्छ, यही कारण ऊ 'योगी हो । 

तात्पर्य, कर्मफलको आश्रय नलिएर कर्म गर्दा उसको कर्तृत्व र भोक्तृत्वको नाश हुन्छ अर्थात् न त कर्मसँग उसको सम्बन्ध रहन्छ र न फलसँग नै सम्बन्ध रहन्छ । यसैले ऊ 'संन्यासी'  हो । ऊ कर्म गर्नमा र कर्मफलको प्राप्ति-अप्राप्तिमा सम रहन्छ । यसैले ऊ 'योगी' हो । 

यहाँ पहिले 'संन्यासी' पद भन्नमा यस्तो भाव देखिन्छ, अर्जुन स्वरूपले नै कर्महरुको त्यागलाई श्रेष्ठ भन्ने सम्झन्थे । यसैले अर्जुनले 'युद्ध गर्नु भन्दा भिक्षा मागेर खानु श्रेष्ठ छ' भनेका थिए भगवानलाई । यसैले यहाँ भगवान पहिले 'संन्यासी' शब्दले अर्जुनलाई भनिरहनु भएको छ, 'हे अर्जुन ! तिमीले भन्ठानेको संन्यास वास्तवमा साँचो संन्यास होइन, वरु कर्मफलको आश्रय छोडेर आफ्नो कर्तव्य-कर्म खालि अरुको हितकोलागि कर्तव्य-बुद्धिले गर्ने व्यक्ति नै साँचो संन्यासी हो ।          

अग्निरहित भएर मात्रै संन्यासी भइंदैन अर्थात् वाहिरवाट यज्ञ, हवनको त्याग गरेको छ र पदार्थहरुको त्याग गरेको छ, तर भित्र मनमा क्रियाहरु र पदार्थहरुमा राग छ, महत्व छ, प्रियता छ भने त्यो व्यक्ति कहिले साँचो संन्यासी हुन सक्तैन ।

सर्व साधारणमा यस्तो पनि धारणा छ, कुनै पनि क्रिया नगर्ने, स्वरूपले नै क्रियाहरु र पदार्थहरु छोडेर वनमा जाने अथवा निष्क्रिय भएर समाधिमा वसिरहने व्यक्ति योगी हो । परन्तु भगवान भन्नुहुन्छ, मनुष्यले उत्पत्ति-विनाशशील वस्तुहरुको आश्रय नछोडुन्जेल र मनले ती क्रियाहरु र पदार्थहरुसँग सम्बन्ध जोडुन्जेल ऊ कति नै अक्रिय होस्, चित्तको वृत्तिहरु जति नै निरोध गरोस्, ऊ योगी हुन सक्तैन । हो, चित्तको वृत्तिहरुको निरोध हुँदा उसलाई किसिम किसिमका सिद्धिहरु त मिल्न सक्लान् तर उसको कल्याण हुन सक्तैन । तात्पर्य, केवल वाहिरवाट अक्रिय हुँदा कोही योगी हुँदैन । उत्पत्ति-विनाशशील वस्तुहरु (कर्मफल)को आश्रय नराखेर कर्तव्य-कर्म गर्ने व्यक्ति नै योगी हुन सक्छ । 

मनुष्यहरुमा कर्म गर्ने वेग रहन्छ । यो वेग कर्मयोगको विधिले कर्म गरेर नै मेटिन्छ, नभए त्यो वेग शान्त हुँदैन । प्रायः देखिनमा आउँछ, सम्पूर्ण क्रियाहरुसँग उपरत भएर एकान्तप्रिय, गतिला साधकहरुमा पनि अरुको उद्धार गर्ने प्रवृत्ति धेरै जोडले आउँछ र उनीहरु एकान्तमा  वसेर साधना गर्न छोडेर अरुको उद्धार गर्ने क्रियाहरुमा लाग्छन् । 

सकामभावले अर्थात् आफ़्नोलागि कर्म गर्दा कर्म गर्ने वेग वढ़छ । साधकले आफ़्नोलागि कहिले पनि अलिकति पनि कुनै कर्म नगरेर सम्पूर्ण कर्म खालि लोकहितकोलागि गरे कर्म गर्ने वेग शान्त हुन्छ । यसरी केवल निष्कामभावले अरुकोलागि कर्म गर्दा कर्मको वेग शान्त हुन्छ र समताको प्राप्ति हुन्छ । समताको प्राप्ति भएपछि समरूप परमात्मतत्वको अनुभव हुन्छ ।

शरीर-संसारमा अहंता-ममता गर्नु कर्मको फल होइन । यो अहंता-ममता त व्यक्तिले मानेको हो; त्यसैले अहंता-ममता वदलिइरहन्छ । जस्तो, मनुष्य कहिले गृहस्थ हुन्छ, त्यो वेला ऊ आफूलाई 'म गृहस्थ हुँ' भन्ने मान्छ । तर त्यही मनुष्य साधु भयो भने उसले आफूलाई साधु नै मान्छ अर्थात् उसको 'म गृहस्थ हुँ' भन्ने अहंता मेटिन्छ । त्यस्तै, 'यो मेरो वस्तु हो' भनेर मान्दा व्यक्तिको त्यो वस्तुमा ममता रहन्छ र त्यही वस्तु उसले अरु कसैलाई दियो भने उसको त्यो वस्तुमा ममता रहँदैन । अव सिद्ध भयो, अहंता-ममता मानिएको हो, वास्तविक होइन । यदि यो वास्तविक हुँदो हो त कहिले पनि मेटिनु नपर्ने र यदि मेटिन्छ भने त्यो ममता वास्तविक होइन ।                       

अहंता-ममताको आधार, आश्रय त साक्षात् परमात्माको अंश हो । उसको कहिले अभाव हुँदैन । उसको सबै ठाउँमा व्यापक परमात्मासँग एकता छ । त्यो परमात्माको अंशमा अहंता-ममताको गन्ध पनि छैन । अहंता-ममता त प्राकृत पदार्थहरुसँग तादात्म्य गरेर नै प्रतीत हुन्छ ।  यस्तो तादात्म्य गर्न र नगर्नमा मनुष्य स्वतन्त्र छ । जस्तो -- 'म गृहस्थ हुँ', 'म साधु हुँ' भन्ने मान्न र 'वस्तु मेरो हो', 'वस्तु मेरो होइन' भन्ने मान्न अर्थात् अहंता-ममतासँग सम्बन्ध जोड्न र छोड्न व्यक्ति स्वतन्त्र र समर्थ छ । यसो गर्न ऊ पराधीन र असमर्थ छैन; किनकि शरीर आदिसँग सम्बन्ध स्वयं चेतनले जोडेको हो, शरीर-संसारले होइन । अतः सम्बन्ध जोड्न जान्नेलाई सम्बन्ध छोड्न पनि आउँछ । 

सम्वन्ध जोड्न भन्दा छोड्न सजिलो हुन्छ । जस्तो, मनुष्य वालककालमा 'म वालक हुँ' भन्ने मान्छ र जवानीमा 'म जवान हुँ' भन्ने मान्छ । यसै गरी ऊ वाल्यावस्थामा 'खेलौनाहरु मेरा हुन्' भन्ने मान्छ र युवावस्थामा 'रुपियाँ पैसा मेरा हुन्' भन्ने मान्छ । यसरी व्यक्तिलाई वाल्यावस्था र युवावस्थासँग र खेलौना र रुपियाँ पैसासँग आफैं सम्बन्ध जोड्नु पर्छ । तर यिनीहरुसँग सम्बन्ध तोड्नु पर्दैन, त्यो सम्बन्ध आफैं टुट्दै जान्छ । तात्पर्य, वाल्यावस्था आदिको अहंता शरीर रहँदा अथवा नरहँदा निर्भर हुँदैन, स्वयंको मान्यतामा निर्भर छ ।त्यस्तै, खेलौना आदिको ममता वस्तु रहँदा अथवा नरहँदा निर्भर छैन, मान्यतामा निर्भर छ । यसैले कर्मफल (शरीर, वस्तु आदि) रहँदा पनि तीसँगको आश्रय सजिलोसँग छुट्न सक्छ ।

स्वयं नित्य छ र शरीर-संसार अनित्य छ । नित्यसँग अनित्यको सम्बन्ध कहिले टिक्न सक्तैन, रहन सक्तैन । तर स्वयंले अहंता-ममता समातेपछि त्यो अहंता-ममता पनि नित्य देखिन थाल्छ । त्यसपछि उसलाई त्यो अहंता-ममता छोड्न कठिन लाग्छ, किनकि उसले नित्य स्वरूपमा अनित्य अहंता-ममताको आरोप गर्यो । वास्तवमा हेर्दा शरीरसँग आफ्नो सम्बन्ध मानिएको हो, वास्तवमा सम्बन्ध छैन । कारण, शरीर प्रकाश्य हो र स्वयं प्रकाशक हो ।शरीर एकदेशीय हो र स्वरूप सर्वदेशीय हो अथवा देशातीत हो । शरीर जड हो र स्वरूप चेतन हो । शरीर ज्ञेय हो र स्वरूप ज्ञाता हो । स्वरूपको त्यो ज्ञातापन पनि शरीरको दृष्टिले नै हो । यदि शरीरको दृष्टि हटाइयो भने स्वरूप ज्ञातृत्वरहित चिन्मात्र हो अर्थात् केवल चितिरूपले रहने हो ।त्यो चिति स्वरूपमा 'म' र 'मेरो' पन छैन । उसमा अहंता-ममताको अभाव छ । त्यो चिति ब्रह्म स्वरूप हो र ब्रह्ममा 'म' र 'मेरो' पनि कहिले भएन, छँदै छैन र हुन पनि सक्तैन । 
                                         
कमिलादेखि लिएर ब्रह्मलोकसम्म सम्पूर्ण संसार कर्मफल हो । संसारको स्वरूप हो -- वस्तु, व्यक्ति र क्रिया । सम्पूर्ण वस्तुको प्राप्ति र अप्राप्ति हुन्छ, सम्पूर्ण व्यक्तिसँग संयोग र वियोग हुन्छ तथा सम्पूर्ण क्रियाको आरम्भ र अन्त हुन्छ । वस्तु, व्यक्ति र क्रिया -- तीनैसँगको आश्रय त्यागेर प्राप्त कर्तव्य-कर्मको पालन गर्ने व्यक्ति साँचो संन्यासी तथा योगी हो । कर्मफलको त्याग नगरेर केवल अग्निको त्याग गर्ने साँचो संन्यासी होइन र खालि क्रियाहरुको त्याग गर्ने पनि साँचो योगी होइन । कारण, मनुष्य कर्मफलसँग बाँधिन्छ, अग्नि अथवा क्रियाहरुले होइन ।    

Gita: Chapter 5: Slok 29: श्लोक २९ म परमात्मालाई, सबै यज्ञहरुको र तपहरुको भोक्ता, सम्पूर्ण लोकहरुको महान् ईश्वर तथा

No163

श्लोक २९ 

म परमात्मालाई, सबै यज्ञहरुको र तपहरुको भोक्ता, सम्पूर्ण लोकहरुको महान् ईश्वर तथा सम्पूर्ण प्राणीहरुको सुहृद् (स्वार्थरहित दयालु र प्रेमी) जानेर (भक्त) शान्ति पाउँछ । 

कुनै व्यक्तिले शुभ कर्म गर्दा ऊ कर्म गर्ने उपकरण, शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थहरुलाई आफ्नो मान्छ र जसकोलागि शुभ कर्म गर्छ उसलाई त्यो कर्मको भोक्ता मान्छ । जस्तो, कुनै देवताको पूजा गर्दा ऊ त्यो देवतालाई पूजारूप कर्मको भोक्ता मान्छ । कसैको सेवा गरियो भने त्यो सेवा पाउने व्यक्तिलाई सेवारूप कर्मको भोक्ता मान्छ । कुनै भोको व्यक्तिलाई अन्न दिइयो भने अन्न पाउने व्यक्तिलाई भोक्ता मान्छ । यो मान्यता हटाउन भगवान भन्नुहुन्छ, सम्पूर्ण शुभ कर्महरुको भोक्ता म हुँ।' कारण सम्पूर्ण प्राणीहरुको हृदयमा भगवान नै विद्यमान हुनुहुन्छ । कसैको पूजन गर्नु, कसैलाई अन्न-जल दिनु, कसैलाई वाटो देखाउनु जस्ता शुभ कर्महरुको भोक्ता भगवानलाई नै मान्नु पर्छ । लक्ष भगवानको नै हुनुपर्छ, प्राणीको होइन ।

नवौं अध्यायमा पनि भगवानले आफूलाई सम्पूर्ण यज्ञहरुको भोक्ता वताउनु भएको छ । 

अर्को कुरा, शुभ कर्म गर्ने शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ आदि आफ्ना होइनन्, भगवानका नै हुन् । तिनलाई आफ्नो मान्नु भूल हो । तिनलाई आफ्नो मानेर आफ्नोलागि शुभ कर्म गर्दा मनुष्य स्वयं ती कर्महरुको भोक्ता वन्छ । अतः भगवान भन्नुहुन्छ, 'तिमी सम्पूर्ण शुभ कर्महरु आफ्नोलागि कहिले पनि नगर, केवल मेरोलागि गर ।' यसो गरे तिमी कर्महरुको फलभागी वन्दैनौ र कर्महरुसँग तिम्रो सम्बन्ध विच्छेद हुन्छ । 

सबै अशुभ कर्म कामनावाट नै हुन्छन् । कामना त्यागेर खालि भगवानकोलागि नै सबै कर्म गरे अशुभ कर्म त स्वरूपवाट हुँदैनन् तथा शुभ कर्महरुसँग आफ्नो सम्बन्ध रहंदैन । यसरी सम्पूर्ण कर्महरुसँग सर्वथा सम्बन्ध-विच्छेद भएपछि परमशान्ति प्राप्त हुन्छ ।

भिन्न-भिन्न लोकहरुको भिन्न-भिन्न ईश्वर हुन सक्छन्; किन्तु ती ईश्वरहरु पनि भगवानकै अधीन छन् । भगवान सम्पूर्ण लोकहरुको ईश्वरहरूको पनि ईश्वर हुनुहुन्छ, यसैले उहाँलाई 'सर्वलोकमहेश्वर' पद दिइएको हो । तात्पर्य, सम्पूर्ण सृष्टिको एक मात्र स्वामी भगवान नै हुनुहुन्छ; फेरि कुनै इमान्दार व्यक्ति सृष्टिको कुनै पनि वस्तुलाई आफ्नो कसरी मान्न सक्छ र ? 

शरीर, इन्द्रियहरु, मन, बुद्धि,प्राण, स्त्री, धन, जमीन, घर आदिलाई आफ्नो मानी मानी व्यक्तिहरु भन्छन्, 'भगवान नै सारा संसारको मालिक हुनुहुन्छ ।' तर यस्तो भन्नु समझदारी होइन; मनुष्यले शरीर, इन्द्रियहरु, मन आदि आफ्नो मानी मानी भगवानलाई सारा संसारको स्वामी मान्नु आफूले आफैंलाई धोखा दिनु हो। कारण, यदि सबैले शरीर आदि पदार्थहरुलाई आफ्नो आफ्नो भन्ने मानी रहे के वांकी रहन्छ र ? अनि भगवानलाई कसरी संसारको स्वामी मान्ने ? अर्थात् भगवानको भागमा केही पनि वांकी भएन । यही कारण, शरीर आदि पदार्थलाई आफ्नो नमान्ने व्यक्ति नै 'सबै भगवानको हो' भन्न सक्छ । कुनै पनि वस्तुलाई आफ्नो मान्ने व्यक्ति भगवानलाई यथार्थरूपले आफ्नो मान्दैन । 

शरीर आदि पदार्थहरुको सदुपयोग गर्ने अधिकार मनुष्यलाई छ, आफ्नो मान्ने अधिकार विल्कुलै छैन । यी पदार्थहरुलाई आफ्नो नमानेर केवल भगवानको मान्दै उहाँकै सेवामा लगाइदिए परमशान्ति प्राप्त हुन्छ ।

सम्पूर्ण लोकहरुको ईश्वरहरूको पनि ईश्वर, विना कारण स्वभावैले सम्पूर्ण प्राणीहरुको हित गर्ने, सम्पूर्ण प्राणीहरुको रक्षा गर्ने तथा सम्पूर्ण प्राणीहरुको प्रेम गर्ने हुनुहुन्छ र यस्तो हितैषी, रक्षक तथा प्रेमी अरु कोही पनि छैन भन्ने जाने  र  दृढतापूर्वक माने परमशान्ति प्राप्त हुन्छ; किनकि भगवान वास्तवमा यस्तै हुनुहुन्छ । महान् शक्तिशाली भगवान विना कुनै प्रयोजन हाम्रो परम सुहृद् हुनुहुन्छ, अनि हामीमा भय, चिन्ता, उद्वेग, अशान्ति कसरी हुन सक्छन् ? 

सबै जीवलाई विना कारण हित गर्ने दुई जना हुन्छन् -- भगवान र उहाँको भक्त । भगवानलाई कसैसँग केही पनि पाउनु छैन । यसैले उहाँ सबैको सुहृद् हुनुहुन्छ । भक्त पनि आफ़्नोलागि कसैसँग केही चाहँदैन र सबैको हित चाहन्छ र हित गर्छ । यसैले भक्त पनि सबैको सुहृद् हो । भक्तमा आउने सुहृत्ता भगवानवाट नै आएको हो । 

भगवान सम्पूर्ण यज्ञहरु र तपहरुको भोक्ता हुनुहुन्छ, सम्पूर्ण लोकहरुको महान् ईश्वर हुनुहुन्छ तथा हाम्रो परम सुहृद् हुनुहुन्छ -- यी तीन कुराहरुमध्ये एउटा मात्रै कुरा पनि दृढताले मानियो भने भगवत्प्राप्तिरुप परमशान्तिको प्राप्ति हुन्छ, यदि तीनै कुराहरु माने त भन्नै के पर्यो र ?

आफ्नोलागि केही चाहने, कुनै पनि वस्तु आफ्नो मान्ने र भगवानलाई आफ्नो नमान्ने -- यी तीनै कुराहरु भगवत्प्राप्तिमा मुख्य वाधक हुन् । भगवान भन्नुहुन्छ, आफ्नोलागि केही पनि नचाहनु र केही पनि नगर्नु, आफ्नो केही पनि नमान्नु अर्थात् सुखको इच्छाको त्याग गर्नु र व्यक्ति, वस्तुहरुको अधिकार त्याग्नु तथा खालि मलाई नै आफ्नो मान्नु, अरु कुनै वस्तु-व्यक्ति आदिलाई आफ्नो नमान्नु । यी कुरा मध्ये एउटा कुरा मात्रै माने अरु कुराहरु स्वतः आउँछ र भगवत्प्राप्ति हुन्छ ।

आफ्नो सुखको इच्छाको त्याग त्यही वेला हुन्छ, जव मनुष्य कुनै पनि प्राणी-पदार्थलाई आफ्नो मान्दैन । कुनै पनि पदार्थलाई आफ्नो मानुन्जेल व्यक्तिले वदलामा सुख खोजिहाल्छ । सुखको इच्छाको त्यागले ममताको त्याग हुन्छ र ममताको त्यागले सुखको इच्छाको त्याग हुन्छ । सबै वस्तु, व्यक्तिहरुमा ममताको त्याग भएपछि एक मात्र भगवान आफ्नो रहनुहुन्छ । अरु कसैलाई आफ्नो मान्नेले भगवानलाई पूर्णरूपले आफ्नो मान्दैन, चाहे 'भगवान मेरो हो' भनेर जतिसुकै भनोस् । मानिएका सम्बन्धहरुको अभाव भएपछि भगवानसँग आफ्नो साँचो आत्मीयता जाग्रत हुन्छ । तात्पर्य,चाहे सुखको इच्छाको त्याग होस्, चाहे ममताको अभाव होस् र चाहे भगवानसँग साँचो आत्मीयता होस्, यिनीहरु हुने वित्तिकै परमशान्तिको अनुभव हुन्छ । कारण, एउटा मात्रै भाव दृढ भए अरु भाव पनि सँगै आउँछन् ।

पहिले त कर्म गर्नु पर्छ, त्यसपछि कर्म गर्ने विद्या आउनु पर्छ ।मनुष्य कर्म त गर्छ, तर कर्म गर्ने विद्या जान्दैन भने अथवा कर्म गर्ने विद्या त जान्दछ तर कर्म गर्दैन भने उ द्वारा सुचारुरूपले कर्म हुँदैनन् । यही कारण, भगवानले तेस्रो अध्यायमा कर्म गर्नमा विशेष जोड दिनुभएको हो र साथसाथै कर्महरु जान्ने कुरा पनि गर्नु भयो। अझ चौथो अध्यायमा कर्महरुको तत्व जान्नमा विशेष जोड दिनुभयो र साथै कर्म गर्ने कुरा पनि गर्नुभयो । पाँचौं अध्यायमा     सांख्ययोग र कर्मयोग -- दुबैद्वारा कल्याण हुने कुरा आएको छ, तथापि भगवानले सांख्ययोग भन्दा कर्मयोग श्रेष्ठ वताउनु भयो ।यो अध्यायमा भगवानले क्रमपूर्वक कर्मयोग र सांख्ययोगको वर्णन गरेर फेरि संक्षेपले ध्यानयोगको वर्णन गर्नुभयो र अन्तमा संक्षेपले भक्तियोगको वर्णन गर्नु भयो । यही भगवानको मुख्य ध्येय हो ।  

Gita: Chapter 5: Slok 26: श्लोक २६ काम-क्रोधदेखि सर्वथा रहित, आफ्नो मनलाई जितेका र स्वरूपको साक्षात्कार गरेका

No. 162

श्लोक २६ 

काम-क्रोधदेखि सर्वथा रहित, आफ्नो मनलाई जितेका र स्वरूपको साक्षात्कार गरेका सांख्ययोगीहरुलाई सबैतिरवाट (शरीर रहँदा रहँदै अथवा शरीर छुटेपछि) निर्वाण ब्रह्म परिपूर्ण छ ।
यो श्लोकमा भगवान भन्नुहुन्छ, सिद्ध महापुरुषमा काम-क्रोध आदि दोषहरुको गन्ध पनि रहँदैन । काम-क्रोध आदि दोष उत्पत्ति-विनाशशील असत् पदार्थहरु (शरीर, इन्द्रियहरु, मन, बुद्धि) को सम्बन्धले उत्पन्न हुन्छन् । सिद्ध महापुरुषलाई उत्पत्ति-विनाशरहित सत्-तत्वमा आफ्नो स्वाभाविक स्थितिको अनुभव हुन्छ, त्यसैले उत्पत्ति-विनाशशील असत् पदार्थहरुसँग उसको सम्बन्ध रहँदै रहँदैन । उसको अनुभवमा आफ्नो भनिने शरीर -- अन्तःकरणसहित सम्पूर्ण संसारसँग सम्बन्धको पूर्ण अभाव हुन्छ; अतः उसमा काम-क्रोध आदि विकार कसरी उत्पन्न हुन सक्छन् ? सूक्ष्मरूपले पनि काम-क्रोध आफूमा छ भने आफूलाई जीवन्मुक्त मान्नु भ्रम नै हो ।

उत्पत्ति-विनाशशील वस्तुहरुको इच्छालाई 'काम' भन्छन् । काम अर्थात् कामना अभाववाट पैदा हुन्छन् । अभाव सँधै असत् मा रहन्छ । सत्-स्वरूपमा अभाव छँदै छैन । परन्तु स्वरूपले असत् सँग तादात्म्य गरेपछि असत-अंशको अभावलाई व्यक्ति आफूमा मान्छ । आफूमा अभाव मान्दा नै कामना पैदा हुन्छ र कामना पूर्तिमा वाधा लाग्दा क्रोध आउँछ । यसरी स्वरूपमा कामना नहुँदा पनि तादात्म्यले गर्दा आफूमा कामना प्रतीत हुन्छ । परन्तु तादात्म्य नष्ट भएका र स्वरूपमा स्वाभाविक स्थितिको अनुभव भएको व्यक्तिलाई स्वयंमा असत् को अभावको अनुभव कसरी हुन सक्छ र ?

साधन गरे काम-क्रोध कम हुन्छन् भन्ने साधकहरुको अनुभव छ । कम हुने चिज मेटिन्छ पनि । अतः जुन साधनले काम-क्रोध कम हुन्छन्, तिनै साधनले ती मेटिइ पनि हाल्छन् ।

साधन गर्नेको अनुभव यस्तो हुन्छ, (१) काम-क्रोध पहिले जति छिटो आऊँथे, त्यति छिटो अव आउँदैनन् । (२) काम-क्रोध पहिले आउने जति वेगले अव आउँदैनन् । (३) काम-क्रोध पहिले जति वेर अडथे, अव अडदैनन् । कहिले कहिले त साधकहरुलाई यस्तो पनि लाग्छ, काम-क्रोधको वेग साधकलाई पहिले भन्दा पनि धेरै आयो । यसको कारण, (१) साधन गर्दा भोगासक्ति त मेटिदै गए र पूर्णावस्था प्राप्त भएन । (२) अन्तःकरण शुद्ध भएपछि थोरै काम-क्रोध पनि साधकलाई धेरै लाग्छन् । (३) कसैले आफ्नो मनको विरुद्ध काम गरे त्यो काम साधकलाई नराम्रो लाग्छ, तर साधक त्यो कुराको पर्वाह गर्दैन । तर नराम्रो लाग्ने भाव आफू भित्र जम्मा भइरहेको हुन्छ । त्यसपछि अन्तमा सानो कुरामा पनि कडा क्रोध आउँछ; भित्र जम्मा भएको क्रोध एकै चोटि वाहिर निस्कियो । यसो हुँदा अर्को व्यक्तिलाई पनि आश्चर्य हुन्छ, 'यति सानो कुरामा पनि यस्तो क्रोध किन आएको होला' भनेर ।

कहिले कहिले वृत्तिहरु ठीक हुँदा साधकलाई यस्तो लाग्छ, 'मेरो पूर्णावस्था भयो' । तर वास्तवमा पूर्णावस्थाको अनुभव गर्ने वृत्ति रहुन्जेल पूर्णावस्था (व्यक्तित्व वनिरहँदा) पूर्णावस्था भएको छैन ।

असत् सँग सम्बन्ध रहुन्जेल मन वशमा हुँदैन । असत् को सम्बन्ध पूर्णतया नरहे महापुरुषहरुको भनिने मन स्वतः वशमा रहन्छ । 

आफ्नो स्वरूपको वास्तविक बोध भएकोले ती महापुरुषहरुलाई 'विदितात्मनाम्' भनिएको छ । तात्पर्य, जुन उद्देश्य लिएर मनुष्यजन्म भएको छ र मनुष्यजन्मको यति ठूलो महिमा गाइएको छ, त्यही उद्देश्य ती महापुरुषहरुले प्राप्त गरे ।

शरीर रहँदा अथवा शरीर छुटेपछि, नित्य महापुरुषहरु नित्य निरन्तर शान्त ब्रह्ममा नै स्थित रहन्छन् । धेरै किसिमका क्रियाहरु गर्दा साधारण मनुष्यहरुको शरीरको स्थितिको मान्यता निरन्तर रहन्छ । त्यस्तै छुट्टा छुट्टै क्रियाहरु गरेको वेला ती महापुरुषहरुको स्थिति निरन्तर ब्रह्ममा नै रहन्छ । उनीहरुको यो स्वाभाविक स्थितिमा कहिले अलिकति पनि अन्तर आउँदैन; क्रियाहरु हुने बिभाग (असत्) सँग उनीहरुको कुनै सम्बन्ध नै रहँदैन । 

श्लोक २७, २८ 

वाहिरका पदार्थहरुलाई वाहिर नै छोडेर र नेत्रहरुको दृष्टिलाई आँखी भौंको वीचमा स्थित गरेर तथा नासिकामा विचरण गर्ने, प्राण र अपान वायुलाई सम गरेर इन्द्रियहरु, मन र बुद्धि आफ्नो वशमा गरेको मोक्षपरायण तथा इच्छा, भय र क्रोधले सर्वथा रहित मुनि सँधै मुक्त नै छ । 

परमात्मा सिवाय अरु सबै पदार्थ वाहिरी हुन् । वाहिरी पदार्थहरुलाई वाहिर नै छोडिदिने भनेको, मनले वाहिरी विषयहरुको चिन्तन नगर्ने । 

बाहिरी पदार्थहरुको सम्बन्धको त्याग कर्मयोगमा सेवा द्वारा र ज्ञानयोगमा विवेक द्वारा गरिन्छ । यहाँ भगवान ध्यानयोगद्वारा वाहिरी पदार्थहरुसँग सम्बन्ध-विच्छेदको कुरा गरिरहनु भएको छ ।ध्यानयोगमा परमात्माको मात्रै चिन्तन हुने हुनाले पदार्थहरुसँग विमुखता हुन्छ । 

वास्तवमा वाहिरी पदार्थहरु वाधक छैनन् । वाहिरी पदार्थहरुसँग रागपूर्वक मानिएको आफ्नो सम्बन्ध नै वाधक हो । यो मानिएको सम्बन्धको त्याग गर्नमा नै माथिका शब्दहरुको आशय हो ।

ध्यानकालमा नेत्रहरुलाई पूरै वन्द राखियो भने लयदोष अर्थात् निद्रा लाग्न सक्छ, र नेत्रहरु पूरै खोलियो भने पनि (आफ्नो अगाडि दृश्य रहने हुँदा) विक्षेप दोष हुने सम्भावना रहन्छ। यी दुवै प्रकारका दोषहरु हटाउन आधा चिम्लिएका नेत्रहरुको दृष्टिलाई दुवै आँखी भौंको वीचमा राख्न भनिएको हो ।

नासिकावाट वाहिर निस्कने वायुलाई 'प्राण' र नासिकावाट भित्र जाने वायुलाई 'अपान' भन्छन् । 

प्राणवायुको गति लामो र अपान वायुको गति छोटो हुन्छ । यी दुबैलाई सम गर्न पहिले वायाँ नासिकावाट अपान वायुलाई भित्र लगेर दायाँ नासिकाले प्राणवायुलाई वाहिर निकाल्ने । फेरि दायाँ नासिकाले अपान वायुलाई भित्र लगेर वायाँ नासिकाले वाहिर निकाल्ने । यी सबै क्रियाहरुमा वरावर समय लाग्नु पर्छ । यसरी लगातार अभ्यास गरिरहँदा प्राण र अपान वायुको गति सम, शान्त र सूक्ष्म हुन्छ । नासिकाको वाहिर र भित्र तथा कण्ठ आदि देशमा वायुको स्पर्शको ज्ञान भएन भने यो बुझ्नु पर्यो, प्राण-अपानको  गति सम भयो । यी दुबैको गति सम भएपछि (लक्ष परमात्मा भएकोले) मनले स्वाभाविक नै परमात्माको चिन्तन हुन थाल्छ । 
सबै मनुष्यमा एउटा इन्द्रियको ज्ञान रहन्छ र एउटा बुद्धिको ज्ञान हुन्छ । इन्द्रिय र बुद्धि -- यी दुईको वीचमा मनको निवास छ । हामीले विचार गर्नु पर्यो, हाम्रो ज्ञानमा इन्द्रियहरुको ज्ञानको प्रभाव छ कि, बुद्धिको ज्ञानको प्रभाव छ कि दुबैको ज्ञानको प्रभाव छ । इन्द्रियहरुको ज्ञानमा संयोगको प्रभाव पर्छ र बुद्धिको ज्ञानमा परिणामको । मनमा इन्द्रियहरुको ज्ञानको प्रभाव परेका मनुष्यहरू संयोगजन्य सुखभोगमा नै लागिरहन्छन् र मनमा बुद्धिको ज्ञानको प्रभाव परेको व्यक्तिहरु (उनीहरुको दृष्टि परिणामतिर रहेकोले) संयोगजन्य सुखभोग त्याग गर्न समर्थ हुन्छन् । 

प्रायः साधकहरुको मनमा आंशिकरूपले इन्द्रियहरु र बुद्धि -- दुवैको ज्ञानको प्रभाव रहन्छ । उनीहरुको मनमा इन्द्रियहरु तथा बुद्धिको ज्ञानको द्वन्द्व चलिरहन्छ । यसैले उनीहरु आफ्नो विवेकलाई महत्व दिन सक्तैनन् । यही द्वन्द्व ध्यानमा वाधक हो । त्यसैले यहाँ मन, बुद्धि तथा इन्द्रियहरु वशमा गर्ने तात्पर्य हो, मनमा केवल बुद्धिको ज्ञानको मात्रै प्रभाव रहोस्, इन्द्रियहरुको ज्ञानको प्रभाव रहँदै नरहोस् । 

परमात्मप्राप्ति मात्रै लक्ष भएको मननशील साधकलाई यहाँ 'मोक्षपरायण:' भनिएको छ । परमात्मतत्व सबै देश, कालमा परिपूर्ण भएको कारण सदा-सर्वदा सबैलाई प्राप्त छ । तर दृढ निश्चय नभएकोले यस्तो नित्यप्राप्त तत्वको अनुभूतिमा ढिलाइ भैरहेछ । यदि हाम्रो निश्चय एउटा मात्रै र दृढ हुन सक्यो भने तत्वको अनुभव हुन ढिलो हुँदैन । वास्तवमा उद्देश्य पहिले नै वनिसकेको छ, किनभने परमात्मा प्राप्तिकोलागि नै मनुष्य शरीर मिलेको हो हामीलाई । हामीले यो उद्देश्यको पहिचान गर्नु छ । साधकले यो उद्देश्य चिनेपछि परमात्मा प्राप्तिको लालसा हुन्छ उसमा । यही लालसाले सबै संसारका कामनाहरु हटाएर साधकलाई परमात्मतत्वको अनुभव गराइदिन्छ । अतः परमात्मप्राप्तिको उद्देश्यको पहिचान गर्ने व्यक्तिलाई नै 'मोक्षपरायण:' शब्दको प्रयोग भयो यहाँ ।

कर्मयोग, सांख्ययोग, ध्यानयोग, भक्तियोग -- सबै साधनहरुमा दृढ निश्चय या उद्देश्यको ठूलो आवश्यकता छ । आफ्नो कल्याणको मात्रै उद्देश्य नभए साधकलाई सिद्धि कसरी मिल्छ ? यसैले यहाँ 'मोक्षपरायण:' शब्दले ध्यानयोगमा दृढ निश्चयको आवश्यकताको कुरा गरिएको हो । 

आफ्नो इच्छा पूर्ति गर्न वाधा दिने प्राणीलाइ आफू भन्दा वलियो व्यक्तिसँग भय (डर) हुन्छ र आफू भन्दा निर्वल व्यक्तिसँग क्रोध हुन्छ । त्यस्तै, हामीमा वाँच्ने इच्छा छ भने मृत्युसँग डर लाग्छ र अरुसँग आफ्नो इच्छा पूर्ति गराउने तथा अरुमा आफ्नो अधिकार जमाउने इच्छा छ भने त्यो व्यक्तिमा क्रोध हुन्छ । अतः भय र क्रोध हुन इच्छा नै मुख्य छ । मनुष्यमा यदि इच्छापूर्तिको उद्देश्य छैन भने, खालि परमात्मा पाउने मात्रै उद्देश्य छ भने उसमा भय-क्रोधसहित सबै इच्छाहरुको अभाव हुन्छ । समस्त इच्छाहरुको अभाव भएपछि मनुष्य मुक्त हुन्छ । कारण, वस्तुहरुको इच्छा र वाँच्ने इच्छाले नै मनुष्य जन्म-मरणरुप बन्धनमा परेको हो । साधकले गम्भीरतापुर्वक विचार गर्नु पर्यो, के वस्तुहरुको इच्छावाट वस्तुहरु पाइन्छन् ? के वाँच्ने इच्छाले मृत्युसँग वच्न सकिन्छ ?  वास्तविकता यो छ, न त मनुष्यको इच्छाको पूर्ति हुन सक्छ र न मृत्युवाट वच्न नै सकिन्छ । यदि हामीलाई 'मलाई परमात्मा मात्रै चाहिन्छ, अरु केही पनि चाहिंदैन' भन्ने दृढ निश्चय भयो भने हामी अहिले नै मुक्त हुन सक्छौं ।तर यदि वस्तुहरुको र वाँच्ने इच्छा छ भने हाम्रो इच्छा कहिले पनि पूरा हुँदैन र मृत्युको डरवाट पनि वचाउ हुने छैन तथा क्रोधवाट पनि छुटकारा हुने छैन ।यही कारण, मुक्त हुने हो भने इच्छारहित हुनु पर्यो । 

कुनै वस्तु हामीलाई मिल्नु छ भने इच्छा नगरी पनि मिल्छ र मिल्नु छैन भने इच्छा गरे पनि मिल्दैन । त्यसैले वस्तु मिल्नु र नमिल्नु इच्छाको अधीन छैन, कुनै विधानको अधीन छ । इच्छाको अधीन नै नभएको वस्तुलाई छोड्न के गाहारो छ र ? यदि वस्तुको इच्छा पूरा हुने भए त्यो इच्छा पूरा हुने प्रयत्न गर्ने हो र वाँच्ने पूरा हुन्छ भने मृत्यसँग वच्ने प्रयत्न गर्ने हो । तर इच्छा अनुसार न त सबै वस्तुहरु पाइन्छन् र न मृत्युवाट वच्न नै सकिन्छ । वस्तुहरुको इच्छा नभए जीवन आनन्दमय हुन्छ र वाँच्ने इच्छा नभए मृत्यु पनि आनन्दमय हुन्छ । जीवन कष्टमय हुने नै वस्तुहरुको इच्छावाट हो, मृत्यु कष्टमय हुने वाँच्ने इच्छाले हो । यसैले वस्तुहरुको र वाँच्ने इच्छा त्याग गरिदिने व्यक्ति वाँचिरहंदा नै मुक्त हुन्छ, अमर हुन्छ । 

उत्पत्ति-विनाशशील पदार्थहरुसँग आफ्नो सम्बन्ध मान्नु नै बन्धन हो । यो मानिएको सम्बन्ध पूर्णरूपले त्याग गर्नु नै मुक्ति हो । मुक्त व्यक्तिलाई कुनै पनि घटना, परिस्थिति, निन्दा-स्तुति, अनुकूलता-प्रतिकूलता, जीवन-मरणको अलिकति पनि असर पर्दैन । 

वास्तवमा साधक स्वरूपले मुक्त नै छ । खालि उत्पन्न र नष्ट हुने वस्तुहरुसँग  आफ्नो सम्बन्ध मानेको कारण उसलाई आफ्नो मुक्त स्वरूपको अनुभव नभएको हो । संसारसँग मानिएको सम्बन्ध मेटिने वित्तिकै स्वतःसिद्ध मुक्तिको अनुभव हुन्छ । 

वाहिरका पदार्थहरुलाई वाहिर नै छोड्ने भनेको -- स्वयंलाई शरीरवाट अलग गर्ने कि 'शरीर म होइन, शरीर मेरो होइन र मेरोलागि होइन ।' यी तीन कुराहरु सबै साधकले मान्नै पर्छ; चाहे त्यो व्यक्ति कुनै पनि योगमार्गद्वारा साधना गरोस् ।शरीरसँग कुनै सम्बन्ध नमाने मुक्ति स्वतःसिद्ध छ । 

Gita: Chapter 5: Slok 24: श्लोक २४ खालि परमात्मामा सुख लिने र परमात्मामा मात्रै रमण गर्ने तथा परमात्मामा मात्रै छ ज्ञान

No161 

श्लोक २४

खालि परमात्मामा सुख लिने र  परमात्मामा मात्रै रमण गर्ने तथा परमात्मामा मात्रै छ ज्ञान भएको र ब्रह्ममा आफ्नो स्थितिको अनुभव गर्ने ब्रह्मरूप वनेको सांख्ययोगी निर्वाण ब्रहम पाउँछ । 

प्रकृतिजन्य वाहिरी पदार्थहरुमा सुख प्रतीत देखिंदैन ,परमात्मामा मात्रै सुख हुन्छ भन्ने  साधकलाई यहाँ 'अन्तःसुख' भनिएको छ । त्यस्तो साधकलाई परमात्मतत्व सिवाय कहिं पनि सुख-बुद्धि  रहँदैन । परमात्मतत्वमा सुखको अनुभव उसलाई हरवखत भइरहन्छ; किनकि उसको सुखको आधार बाहिरी पदार्थहरुको संयोग हुँदै होइन ।

स्वयं आफ्नो सत्तामा निरन्तर स्थित रहन वाहिरको आवश्यकता अलिकति पनि छैन । स्वयंलाई स्वयंसँग दुःख हुँदैन, स्वयंलाई स्वयंसँग अरुचि हुँदैन -- यो अन्त:सुख हो ।

सँधैलाई नमिल्ने र सबैलाई नमिल्ने वस्तु वाहिरी हो । परन्तु सँधै मिल्ने र सबैलाई मिल्ने भित्री हो ।

भोगहरुमा रमण नगर्ने, परमात्मतत्वमा मात्रै  रमण गर्ने र व्यवहार कालमा पनि एक मात्र परमात्मतत्वमा नै व्यवहार गर्ने साधकलाई यहाँ 'अन्तराराम' भनिएको छ । 

इन्द्रियजन्य (इन्द्रियवाट) हुने ज्ञान, बुद्धिजन्य (बुद्धिद्वारा हुने) ज्ञान जस्ता सांसारिक ज्ञानको प्रकाशक र आधार परमात्मतत्वको ज्ञान हो भनिन्छ । यो ज्ञान जुन वेला पनि जाग्रत भएको व्यक्तिलाई 'अन्तरज्योति' भनिएको छ । 

सांसारिक ज्ञानको त आरम्भ हुन्छ, तर परमात्मतत्वको ज्ञानको न आरम्भ हुन्छ न अन्त । त्यो ज्ञान नित्य-निरन्तर रहन्छ । यसैले 'सबैमा परमात्मतत्व नै परिपूर्ण छ' भन्ने ज्ञान सांख्ययोगीमा नित्य-निरन्तर र स्वतःस्वाभाविक रही रहन्छ ।

सांख्ययोगको माथिल्लो साधक ब्रह्ममा आफ्नो स्थितिको अनुभव गर्छ भने त्यो अनुभव परिच्छिन्नताको द्योतक हो । कारण साधकमा 'म स्वाधीन छु'; 'म मुक्त छु'; 'म ब्रह्ममा स्थित छु' भन्दा परिच्छिन्नताको संस्कार रहन्छ । ब्रह्मभूत साधकलाई आफूमा परिच्छिन्नताको अनुभव हुँदैन । अलिकति परिच्छिन्नता या व्यक्तित्व शेष रहुन्जेल व्यक्ति तत्वनिष्ठ भएको छैन । त्यसैले यस्तो अवस्थामा सन्तोष गर्नु हुँदैन । 

'ब्रह्मनिर्वाणम्' शब्दको अर्थ हो -- जसमा कहिले कुनै हलचल भएन, छँदै छैन, हुने नै छैन र हुन पनि सक्तैन, त्यस्तो निर्वाण अथवा शान्त ब्रह्म । 

ब्रह्भूत सांख्ययोगीको व्यक्तित्व निर्वाण ब्रह्ममा लीन भएपछि निर्वाण ब्रह्म मात्रै शेष रहन्छ अर्थात् साधक परमात्मतत्वसँग अभिन्न हुन्छ, तत्वनिष्ठ हुन्छ । यो अभिन्नता, तत्वनिष्ठता स्वतःसिद्ध छ । ब्रह्मभूत अवस्थामा त साधक ब्रह्ममा आफ्नो स्थितिको अनुभव गर्छ, तर व्यक्तित्वको नाश भएपछि अनुभव गर्ने कोही रहँदैन । साधक ब्रह्म नै भएर ब्रह्म प्राप्त गर्छ । 

यो श्लोकमा 'अन्तः' पदले 'परमात्मा' भन्ने बुझाउँछ । किनकि अन्तःकरणमा सुख लिने अथवा अन्तःकरणमा रमण गर्ने या अन्तःकरणमा ज्ञान भएको मनुष्यलाई ब्रह्मको प्राप्ति हुन सक्तैन । ब्रह्मको प्राप्ति त अन्तःकरणसँग सम्बन्ध-विच्छेद भएपछि नै हुन्छ ।

श्लोक २५ 

शरीर मन-बुद्धि-इन्द्रियहरुसहित वशमा भएको, सम्पूर्ण प्राणीहरुको हितमा रत, सम्पूर्ण संशयहरू नष्ट भएको, समस्त दोषहरु नष्ट भएको विवेकीले  साधक निर्वाण ब्रह्म पाउँछ ।                                                
नित्य सत्यतत्वको प्राप्तिको दृढ लक्ष भएको हुनाले  साधकहरुको शरीर-इन्द्रियहरु-मन-बुद्धि वशमा गर्नु पर्दैन, ती शरीर इन्द्रिय आदि स्वाभाविक नै सजिलैसँग उनीहरुको वशमा हुन्छन् । वशमा भएको कारण  ती शरीर इन्द्रिय आदिमा राग-द्वेष आदि दोषहरुको अभाव हुन्छ र यी द्वारा हुने प्रत्येक क्रिया अरुको हित गर्ने हुन्छ । 

शरीर-इन्द्रियहरु-मन-बुद्धि आफ्नो र आफ़्नोलागि मानी रहँदा नै यी आफ्ना वशमा हुँदैनन् र यिनमा राग-द्वेष, काम-क्रोध आदि दोष रहन्छन् । यस्ता दोष रहुन्जेल साधक स्वयं शरीर-मन-बुद्धिको वशमा रहन्छ । यसैले साधकले शरीर आदिलाई कहिले आफ्नो र आफ़्नोलागि मान्नुहुन्न । यसो गर्दा शरीर-इन्द्रियहरु-मन-बुद्धि आदिको आग्रह गर्ने स्वभाव समाप्त हुन्छ र यिनीहरु आफ्नो वशमा हुन्छन् । अतः शरीर-इन्द्रियहरु-मन-बुद्धिमा आफ्नोपनको भाव नभएका तथा यी शरीर आदिलाई कहिले पनि आफ्नो स्वरूप नमान्ने सावधान साधकहरुलाई यो श्लोकमा 'यतात्मानः' भनिएको छ ।

सांख्ययोगको सिद्धिमा व्यक्तित्वको अभिमान मुख्य वाधा हो । यो व्यक्तित्वको अभिमान मेटेर तत्वमा आफ्नो स्वाभाविक स्थितिको अनुभव गर्न सम्पूर्ण प्राणीहरुको हितको भाव हुनु आवश्यक छ । आफ्नो भनिने शरीरमा आकृति, अवयव, कार्य, नाम आदि छुट्टा-छुट्टै हुँदा पनि सबै अंगहरुलाई आराम पुगोस्, कुनै अंगलाई कष्ट नहोस् भन्ने भाव रहन्छ । यस्तै वर्ण, आश्रम, सम्प्रदाय, साधन-पद्धति छुट्टा-छुट्टै हुँदा पनि सम्पूर्ण प्राणीहरुको हितमा स्वाभाविक नै रति हुनु पर्छ कि सवैलाई सुख होस्, सबैको हित होस्, कहिले कसैलाई अलिकति पनि कष्ट नहोस् । कारण कि वाहिरवाट भिन्नता रहँदा पनि भित्रवाट परमात्मतत्व नै समानरूपले परिपूर्ण छ । अतः सम्पूर्ण प्राणीहरुको हितमा प्रीति हुँदा व्यक्तिगत स्वार्थभाव सजिलै नष्ट हुन्छ र परमात्मतत्वसँग आफ्नो अभिन्नताको अनुभव हुन्छ । 

तत्वप्राप्तिको निश्चय दृढ नहुन्जेल राम्रा-राम्रा साधकहरुको अन्तःकरणमा कुनै न कुनै द्विविधा भइरहन्छ । दृढ निश्चय भएपछि साधकहरुलाई आफ्नो साधनामा कुनै संशय, विकल्प, भ्रम आदि रहँदैन र उनीहरु निश्चिन्तरूपले तत्परतापूर्वक आफ्नो साधनामा लाग्छन् । 

प्रकृतिसँग मानिएका सबै सम्बन्ध कल्मष नै हुन्; किनकि प्रकृतिसँग मानिएको सम्बन्ध नै सम्पूर्ण कल्मषहरु अर्थात् पापहरु, दोषहरु, विकारहरुको हेतु हो । प्रकृति तथा प्रकृतिको कार्य शरीर, इन्द्रियहरु, मन, बुद्धिदेखि स्पष्टतया आफ्नो स्वरूपको छुट्टै अनुभव गर्दा साधकमा निर्विकारता स्वतः आउँछ । 

माथि भनिएको ज्ञान (विवेक)लाई महत्व दिनेलाई ऋषि भनिन्छ । प्राचीनकालमा ऋषिहरुले गृहस्थीमा रही रही परमात्मतत्व पाएका थिए । यो श्लोकमा पनि सांसारिक व्यवहार गरी गरी परमात्मतत्व प्राप्तिकोलागि साधन गर्ने साधकहरुको वर्णन छ । अतः आफ्नो विवेकलाई महत्व दिने यी साधक पनि ऋषि नै हुन् ।

ब्रह्म त सबैलाई सँधै प्राप्त नै छ, तर परिवर्तनशील शरीर आदिसँग आफ्नो एकता मानेको कारण नै मनुष्य ब्रह्मदेखि विमुख रहेको हो । शरीर आदि उत्पत्ति-विनाशशील वस्तुहरुसँग सम्बन्ध-विच्छेद भएपछि सम्पूर्ण विकारहरु र संशयहरूको नाश भएर सर्वत्र परिपूर्ण ब्रह्मको अनुभव हुन्छ । 

समुद्रका लहरहरु समुद्रमा विलीन भए जस्तै सांख्ययोगी निर्वाण ब्रह्ममा लीन हुन्छन् । जल-तत्वमा समुद्र र लहरहरुमा दुई भेद हुँदैनन्, निर्वाण ब्रह्ममा पनि आत्मा र परमात्मामा दुई भेद छैन ।

Gita: Chapter 5: Slok 23: श्लोक २३ यो मनुष्य-शरीरमा नै शरीर छुट्नु भन्दा पहिले नै काम-क्रोधवाट उत्पन्न हुने वेगलाई

No 160 

श्लोक २३ 

यो मनुष्य-शरीरमा नै शरीर छुट्नु भन्दा पहिले नै काम-क्रोधवाट उत्पन्न हुने वेगलाई पूर्णरूपले सहन सक्ने व्यक्ति योगी हो र त्यही व्यक्ति सुखी हो ।

हामी सबै प्राणीलाइ अलौकिक विवेक मिलेको छ । यो विवेक पशु-पक्षी आदि प्राणीहरुमा लुकेर रहन्छ । उनीहरुमा खालि आफ्नो शरीर अनुसार शरीर-निर्वाह मात्रकोलागि विवेक रहन्छ । देव आदि शरीरहरुमा यो विवेक ढाकिएर रहन्छ, किनकि यी शरीरहरू भोग गर्नकालागि हुन् । यही कारण उनीहरुमा भोगहरुको वहुलता र भोगहरुको नै उद्देश्य रहन्छ । मनुष्य शरीरमा पनि भोगी र संग्रही (भौतिक पदार्थ जम्मा गर्ने) को बुद्धि ढाकिएको हुन्छ । ढाकिइरहे पनि यो विवेकले मनुष्यलाई समय-समयमा भोग र संग्रहमा दुःख र दोषको दर्शन गराइरहन्छ । परन्तु यसलाई महत्व नदिएको कारण मनुष्य भोग र संग्रहमा फसिरहन्छ । अतः हामीले यो विवेकलाई महत्व दिनुपर्छ र यसलाई स्थायी वनाउनु पर्छ । आफूलाई प्राप्त विवेकलाई स्थायी वनाएर ऊ राग-द्वेष, काम-क्रोध, आदि विकारहरुलाई पूर्णरूपले समाप्त गर्न सक्छ । 

मृत्यु कहिले आउने हो केही थाहा छैन । अतः मनुष्य शरीर दुःखहरुदेखि छुट्न नै पाइएको हो । यसैले हामी सबैले काम-क्रोधको वेग सहनु पर्छ । काम-क्रोधको वशीभूत हुने होइन भन्ने सावधानी जीवन भरी राख्नु पर्छ । यो काम (काम-क्रोधको वेगलाई सहने)  हामी आफैं गर्न सक्छौं, अरु कसैले हाम्रोलागि गर्न सक्तैन । यो काम गर्ने अवसर पनि मनुष्य शरीरमा नै छ, अरु शरीरहरुमा छैन । यही कारण, हामीले हाम्रो शरीर छुट्नु भन्दा पहिले नै आफ्नो काम र क्रोधको वेगलाई अवश्य सहन गर्न सक्नु पर्छ ।

यो श्लोकको भाव यस्तो छ, हाम्रो शरीरले काम-क्रोधको वशीभूत भएर केही काम गर्नु भन्दा पहिले नै तिनको (काम-क्रोधको) वेगलाई सहन सक्नुपर्छ हामीले । किनकि काम-क्रोध अनुसार क्रिया आरम्भ गरिसकेपछि शरीर र वृत्तिहरु आफ्ना वशमा रहँदैनन् । 

भोगहरु पाउने इच्छा हुनु भन्दा पहिले ती भोगहरुको संकल्प हुन्छ । त्यस्तो संकल्प हुने वित्तिकै साधकले सावधान हुनु पर्यो, 'म त साधक हुँ, मलाई भोगहरुमा फस्नु छैन, किनकि यो काम साधकको होइन।' यसरी संकल्प हुने वित्तिकै त्यो संकल्पको त्याग गरिदिनु पर्छ ।

पदार्थहरुप्रति राग (काम) रहेकोले 'फलाना पदार्थहरु सुन्दर र सुखमय छन्' भन्ने संकल्पहरु उत्पन्न हुन्छन् । संकल्प उत्पन्न भएपछि ती पदार्थहरु पाउने कामना उत्पन्न हुन्छ र तिनको प्राप्तिमा वाधा दिने व्यक्तिसँग हामीलाई उत्पन्न हुन्छ ।

काम-क्रोधको वेग सहने भनेको -- काम क्रोधको वेग उत्पन्न नै हुन नदिने । काम-क्रोधको संकल्प उत्पन्न भएपछि वेग आउँछ र वेग आएपछि काम-क्रोध रोक्न गाहारो हुन्छ । यसैले काम-क्रोधको संकल्प उत्पन्न हुन नै नदिने । कारण, काम-क्रोधको संकल्प उत्पन्न भएपछि अन्तःकरणमा अशान्ति, उत्तेजना, संघर्ष हुन थाल्छन् । यस्तो किसिमको अशान्ति, उत्तेजना र संघर्ष रहँदा व्यक्ति सुखी हुन सक्तैन । तर यहाँ, यो श्लोकमा, काम-क्रोधको वेग सहने मनुष्यलाई नै सुखी भनियो । अर्को कुरा, काम-क्रोधको वेगलाई व्यक्ति आफू भन्दा शक्तिशाली व्यक्तिको सामुन्ने त रोक्न सक्ला अथवा आफूले गरिरहेको व्यापारमा आम्दानी भइरहेको देखेर पनि रोक्न सक्ला । परन्तु यसरी कुनै भय र लोभले काम-क्रोधको वेग सही सही कुनै मनुष्य सुखी हुन सक्तैन । किनकि ऊ क्रोधमा फसेको जस्तै भय र लोभमा पनि फस्यो । फेरि अर्को कुरा, यो श्लोकमा काम-क्रोधको वेग सहने व्यक्तिलाई 'योगी' भनियो; तर संकल्पको त्याग नगरी कोही पनि योगी हुन सक्तैन पनि भनिएको छ यही गीताको छैठौं अध्यायमा । यही कारण, काम-क्रोधको वेग रोक्नु राम्रो भए पनि साधकले यिनको (काम-क्रोधको) संकल्प नै छोड्नु पर्छ । 

काम-क्रोधको संकल्प रोक्ने उपाय, आफूमा काम-क्रोध नमान्ने । कारण, हामी (स्वयं) रहन्छौँ र काम-क्रोध आऊँछन्, जान्छन् ।यसैले, यी (काम-क्रोध) हामीसँग रहिरहने होइनन् । अर्को कुरा, हामी काम-क्रोधलाई आफ़ूदेखि छुट्टै भन्ने पनि जान्दछौं । हामीले आफूसँग छुट्टै भनेको वस्तु हामी आफूमा हुँदैनन् । फेरि अर्को कुरा, काम-क्रोधदेखि रहित हुन सकिन्छ । पहिलेदेखि नै यीदेखि (काम-क्रोध) रहित भइरहने  व्यक्ति नै यीदेखि रहित हुन सक्छ । फेरि अर्को कुरा, भगवानले काम-क्रोधलाई (राग-द्वेषको नै स्थूलरूप) क्षेत्र अर्थात् प्रकृतिको विकार वताउनु भएको छ । अतः यी (काम-क्रोध) प्रकृतिमा नै हुन्छन्, आफूमा हुँदैनन्, किनकि हामी (स्वरूप) निर्विकार छौं । यसवाट सिद्ध हुन्छ, काम-क्रोध आफूमा छैन । यिनलाई आफूमा मान्नु यिनलाई निमन्त्रणा दिनु हो ।

अज्ञानद्वारा ज्ञान ढाकिएका मनुष्यहरुलाई भगवानले यही अध्यायमा 'जन्तु' भन्नुभयो । तर यो श्लोकमा भगवान काम-क्रोधको वेग सहने व्यक्तिलाई नर भन्नुहुन्छ । तात्पर्य, काम-क्रोधको वशमा हुने व्यक्ति नै मनुष्य भनिन योग्य छ । काम-क्रोधमथि विजय गरेको व्यक्ति वास्तवमा नर हो, शूरवीर हो ।

समतामा स्थित मनुष्यलाई योगी भन्छन् । आफ्नो विवेकलाई महत्व दिएर काम-क्रोधको वेग उत्पन्न नै हुन नदिने व्यक्ति समतामा स्थित हुन सक्छ ।

मनुष्य मात्रै होइन, पशु-पक्षी पनि काम-क्रोध उत्पन्न हुँदा सुख-शान्तिसँग रहन सक्तैनन् । यसैले काम-क्रोधको संकल्प मेटाउने व्यक्ति नै वास्तवमा सुखी हो ।

पहिले स्फूरणा हुन्छ । त्यो स्फूरणामा सत्ता, आसक्ति र आग्रह हुँदा त्यो स्फूरणा समातिइन्छ र संकल्प वन्छ । संकल्पवाट मनोरथ (मनोराज्य) हुन थाल्छ, जसवाट काम-क्रोध आदिको वेग उत्पन्न हुन्छ । साधनकोलागि पहिलो कुरा, वेग उत्पन्न हुन नदिने अर्थात् संकल्प नगर्ने । त्यसपछि वेग उत्पन्न भए पनि त्यस्तो क्रिया नगर्ने ।

xx 
यो श्लोकमा आफ्नो मनलाई वशमा लिने क्रममा काम-क्रोधले हामीलाइ दिने वाधाको विशद चर्चा गरियो । काम (इच्छा)ले गर्न सक्ने कुकृत्यको वर्णनले यो काम हामीमा हुँदा हामी कति दुःखी हुँदा रहेछौं भन्ने पनि हामीलाई ज्ञान भयो । अर्को कुरा, हामीमा इच्छा र रीसवाट हुने वाधा भन्दा पनि यसको वेग थाम्न सक्ने र नसक्ने सामर्थ्यको महत्वको वर्णन भयो यो प्रसङ्गमा । अव हामीले यो पनि थाहा पायौं, यसको वेग सहन नसक्ने व्यक्ति मान्छे नै होइन रहेछ अर्थात् पशु रहेछ । अर्कोतिर, यसको वेग सहन सक्ने व्यक्ति नै वास्तवमा 'नर' रहेछ, 'सुखी' रहेछ र 'योगी' रहेछ । अझ भन्नु पर्दा, यसको वेग सहन नसक्ने व्यक्तिले जति नै साधना गरे पनि ऊ काँचोको काँचो नै रहेछ । 

हामीले कसैलाई रीस गर्नु हुँदैन, कसैलाई नराम्रो गर्नु हुँदैन, कसैसँग कुनै कुराको पनि चाहना (लोभ) गर्नु हुँदैन भन्ने कुरा जानेका छौं । तर यदि हामी नै वेला वेलामा इच्छाको, क्रोधको र लोभको वशमा पर्छौं भने हाम्रो पतन हुने रहेछ । अर्को शब्दमा, हामीले आफूले जानेको ज्ञानको, यदि साँचो अर्थमा जानेको भए, आदर गर्न सकेका रहेनछौं । यसरी आफ्नो ज्ञानको आफैंले आदर गर्न नसक्ने हामीलाई अरु कसले आदर गर्ला त ? आफूले नै आफ्नो ज्ञानको आदर गर्न नसक्ने व्यक्तिले अरुवाट आदर खोज्नु कति युक्तिसंगत होला त ? 

आजलाई यत्ति । अरु पछि ।