Saturday, 10 January 2015

No. 232 श्लोक २९ वृद्धावस्था र मृत्युवाट मुक्ति पाउन मेरो आश्रय लिएर प्रयत्न गर्नेहरु त्यो ब्रह्म, सम्पूर्ण अध्यात्म र सम्पूर्ण कर्महरु जान्दछन् ।

No. 232 

श्लोक २९ 

वृद्धावस्था र मृत्युवाट मुक्ति पाउन मेरो आश्रय लिएर प्रयत्न गर्नेहरु त्यो ब्रह्म, सम्पूर्ण अध्यात्म र सम्पूर्ण कर्महरु जान्दछन् ।

'जरामरणमोक्षाय मामाश्रित्य यतन्ति ये' -- यहाँ जरा (वृद्धावस्था) र मरणवाट मुक्ति पाउने तात्पर्य यो हैन कि ब्रह्म, अध्यात्म र कर्मको ज्ञान भएपछि वृद्धावस्था हुँदैन, शरीरको मृत्यु हुँदैन । यसको तात्पर्य, बोध भएपछि शरीरमा आउने वृद्धावस्था र मृत्यु त आइहाल्छ, तर यी दुवै अवस्थाहरु उसलाई (त्यो व्यक्तिलाई) दुःखी गर्न सक्तैनन् । यहाँ 'जरामरणमोक्षाय' भन्ने तात्पर्य हो, जरा, मृत्यु आदि शरीरका विकारहरुसँग सम्बन्ध विच्छेद हुनमा छ । 

सोचौं, कुनै नौजवान छ, उसलाई अहिले न वृद्धावस्था छ र न मृत्यु छ; त्यसैले ऊ अहिले जरा-मरणवाट मुक्त छ । परन्तु वास्तवमा त्यो व्यक्ति जरा-मरणदेखि मुक्त छैन; किनकि जरा-मरणको कारण शरीरसँग सम्बन्ध रहुन्जेल जरा-मरणदेखि रहित भए पनि ऊ यिनवाट मुक्त छैन । तर जीवन्मुक्त महापुरुषहरुको शरीरमा जरा-मरण हुँदा पनि उनीहरु यीदेखि मुक्त छन् । अतः जरा-मरणदेखि मुक्त हुने भनेको तात्पर्य हो -- जरामरण हुने प्रकृतिका कार्य शरीरसँग सर्वथा सम्बन्ध-विच्छेद हुनु हो ।        मनुष्यले शरीरसँग तादात्म्य (म यही हुँ) मानेपछि शरीर वृद्ध भएपछि 'म वृद्ध भएँ' र शरीर मर्नेलाई लिएर 'म मर्न लागें' भन्ने मान्छ । यो मान्यता 'शरीर म हुँ र मेरो शरीर हो' भन्नेमा नै टिकेको छ । मनुष्य 'म' र 'मेरोपन'वाट मुक्त भएपछि ऊ जरा, मरण आदिदेखि पनि मुक्त हुनेछ; किनकि शरीरसँग मानिएको सम्बन्ध नै वास्तवमा जन्मको कारण हो । शरीरसंग यसको सम्बन्ध नै नभएकोले  नै सम्बन्ध मेटिने हो । सम्बन्ध मेटिने त नभएकोसँग नै हो ।

यहाँ 'मामाश्रित्य यतन्ति ये' पदहरुमा आश्रय लिनु र यत्न गर्नु -- यी दुई कुराहरु भन्नुको अर्थ, मनुष्यले आफैं यत्न गर्छ भने उसमा अभिमान आउँछ 'मैले यस्तो गरें र यस्तो भयो भन्ने' र स्वयं यत्न नगरेर 'भगवानको आश्रयले सबै हुनेछ' भन्ने मान्छ भने ऊ प्रमाद र आलस्यमा तथा भोग र संग्रहमा लाग्छ । यसैले यहाँ दुई कुराहरु वताइयो, शास्त्रको आज्ञा अनुसार स्वयं तत्परताले उद्योग गर्ने र त्यो उद्योग हुनमा तथा उद्देश्यको सफलताको कारण भगवानलाई मान्ने ।

नित्य-निरन्तर वियुक्त भइरहेको शरीर-संसारलाई मनुष्य पाइएको र स्थायी मान्छ । शरीर र संसारलाई स्थायी मानेर सत्ता र महत्ता दिइरहुन्जेल जति साधन गरे पनि उसलाई भगवतप्राप्ति हुँदैन । तर यदि उसले शरीर र संसार स्थायी नमानेर त्यसलाई सत्ता र महत्ता दिएन भने भगवतप्राप्ति हुन उसलाई समय लाग्दैन । अतः यी दुई वाधाहरु अर्थात् शरीर-संसारको स्वतन्त्र सत्ता र महत्तालाई विचारपूर्वक हटाउने यत्न नै गर्ने हो । तर यो यत्न गर्दा पनि भगवानको आश्रय लिएर यत्न गर्ने व्यक्ति नै श्रेष्ठ छ । त्यस्ता मनुष्यहरुमा यस्तो भाव हुन्छ, त्यही प्रभुको कृपाले नै साधन भजन भइरहेको छ । भगवानको कृपाको आश्रय लिनाले उनीहरु भगवानको समग्ररुपलाई जान्दछन् ।

भगवानको आश्रय नलिएर आफ्नो कल्याण चाहँदै उद्योग गर्नेहरुलाई आफ्नो आफ्नो साधन अनुसार भगवतस्वरूपको बोध त हुन्छ, तर भगवानको समग्ररूपको बोध उनीहरुलाई हुँदैन । कुनै प्राणायाम आदि द्वारा योगको अभ्यास गर्नेलाई अणिमा, महिमा आदि सिद्धिहरु त मिल्छ र त्यो भन्दा माथि उठेपछि परमात्माको निराकार स्वरूपको बोध हुन्छ अथवा आफ्नो स्वरूपमा स्थिति हुन्छ । त्यस्तै, बौद्ध, जैन आदि सम्प्रदायमा लाग्ने र ईश्वर नमान्ने मनुष्यहरु पनि आफ्नो-आफ्नो सम्प्रदायका  सिद्धान्तहरु अनुसार साधन गरेर असत्-जडरूप संसारसँग सम्बन्ध-विच्छेद गरेर मुक्त हुन्छन् । परन्तु संसारवाट विमुख भएर भगवानको आश्रय लिएर यत्न गर्नेहरुलाई भगवानको समग्ररूपको बोध भएर भगवत्प्रेमको प्राप्ति हुन्छ -- भन्ने विलक्षणता वताउन नै भगवानले यहाँ 'मामाश्रित्य यतन्ति ये' भन्नुभएको हो । 

'ते ब्रह्म तत् (विदुः)' -- यसरी यत्न (साधन) गरे उनीहरु (ती साधकहरु)  मेरो स्वरूप अर्थात् मन-बुद्धि-इन्द्रियहरुको विषय नभएको र आफ्नो अगाडि नभएको (नदेखिने), शास्त्रहरुले पनि परोक्षरूपले वर्णन गर्ने निर्गुण- निराकाररुप, सच्चिदानन्दघन ब्रह्म जान्दछन् ।

'ब्रह्म'सँग 'तत्' शब्द दिनुको तात्पर्य हो, प्रायः सबै 'तत्' शब्दले भनिने परमात्मालाई परोक्षरूपले नै देख्नेहरु यस्तो परमात्मालाई (केही अघि वर्णन गरिएको परमात्मालाई) पनि उनीहरु साक्षात् अपरोक्षरूपले नै अनुभव गर्छन् । 

त्यो परमात्माको सत्ता सम्पूर्ण प्राणीहरुमा स्वतःसिद्ध छ । कारण, त्यो परमात्मा कुनै देशमा नहुने, कुनै समयमा नहुने, कुनै वस्तुमा नहुने र कुनै व्यक्तिमा नहुने भन्ने छैन । यो परमात्मा सबै देशमा छ, सबै कालमा छ, सबै वस्तुहरुमा छ र सबै व्यक्तिहरुमा छ । यस्तो हुँदा पनि त्यो परमात्मा अप्राप्त देखिने कारण के हो ? पहिले नभएको, पछि पनि नहुने, अहिले मौजूद रहँदा पनि प्रतिक्षण वियुक्त भइरहेको, अभावमा गइरहेको शरीर-संसारको महत्ता स्वीकार गरियो, यही कारण नित्य प्राप्त (सँधै पाइरहिएको) परमात्म-तत्व अप्राप्त (नपाइएको) देखिइरहिएको छ । 

'कृत्स्नमध्यात्मम् (विदुः)' -- उनीहरु (ती व्यक्तिहरु) सम्पूर्ण अध्यात्म जान्दछन् अर्थात् सम्पूर्ण जीवहरु तत्वले के हुन् भन्ने कुरा उनीहरु जान्दछन् । पन्ध्रौँ अध्यायमा भगवान भन्नुहुन्छ, 'जीवले एउटा शरीर छोडेर अर्को शरीर लिने कुरा विमूढ जान्दैनन् र ज्ञानचक्षु भएकाहरु जान्दछन् । 'जीव कति छन्, उनीहरु के के गर्छन् र उनीहरुको के के गति भइरहेको छ' भनेर ज्ञान चक्षु भएकाहरुले  जान्दछन् भन्ने  यो प्रसंगको तात्पर्य होइन । उनीहरुले (ज्ञानचक्षुहरुले) आत्मा शरीरदेखि छुट्टै छ भन्ने तत्व राम्रोसँग जान्दछन् र अनुभव पनि गर्छन् भन्ने तात्पर्य हो प्रसंगको छ । 

भगवानले चारै वर्णहरुको रचना गर्नुभयो । त्यो रचनामा जीवहरुका  गुण र कर्म अनुसार अर्थात् उनीहरुको भाव र उनीहरुले गरिएका कर्म अनुसार नै उनीहरुको शरीरहरुको रचना गरिएको छ । ती वर्णहरुमा जन्म हुन स्वयं भगवान तर्फवाट कुनै सम्बन्ध छैन, यसैले भगवानमा कर्तृत्व छैन, फलेच्छा पनि छैन । अर्थ हो, सृष्टिको रचना गर्दा पनि भगवान कर्तृत्व र फलासक्तिवाट सँधै निर्लिप्त रहनु हुन्छ । यस्तै सम्पूर्ण मनुष्यहरुलाई देश, काल, परिस्थिति अनुरुप प्राप्त भएका कर्तव्य-कर्म उनीहरुले कर्तृत्व र फलासक्तिले रहित भएर पालन गरे त्यो कर्म उसलाई फलजनक वन्दैन । अर्को शब्दमा, कर्महरुसँग हाम्रो आफ्नो कुनै सम्बन्ध छैन; यसरी ती कर्महरुसँग निर्लिप्तताको अनुभव गर्नु नै अखिल कर्म जान्नु हो । 

अनन्यभावले केवल भगवानको मात्रै आश्रय लिनेलाई प्राकृत क्रियाहरु र पदार्थहरुसँग उसको आश्रय छुट्छ । यस्तो किसिमले आश्रय छुटेपछि साधकलाई  राम्रोसँग ज्ञान हुन्छ, यी सबै क्रियाहरु र पदार्थहरु परिवर्तनशील र नाशवान् छन् अर्थात् क्रियाहरुको पनि आरम्भ र अन्त हुन्छ तथा पदार्थहरुको पनि उत्पत्ति र विनाश, संयोग र वियोग हुन्छ । ब्रह्मलोकसम्मका सबै क्रियाहरु र पदार्थहरु नित्य रहने हैनन् । अतः कर्महरुसँग मेरो अलिकति पनि सम्बन्ध छैन -- यो पनि अखिल कर्मलाई जान्नु हो । 

तात्पर्य यो भयो, भगवानको आश्रय लिएर आचरण गर्नेहरु ब्रह्म, अध्यात्म र कर्मको वास्तविक तत्व जान्दछन् अर्थात् भगवानले भन्नुभएको छ, 'यो सम्पूर्ण संसार ममा नै ओतप्रोत छ' र 'सबै वासुदेव मात्रै हो' । ब्रह्म, अध्यात्म र कर्म -- यी सबै भगवतस्वरूप नै हुन्, भगवान सिवाय यिनीहरुमा अर्को कुनै सत्ता नै छैन भन्ने व्यक्तिहरु भगवानको समग्ररुप जान्दछन् । 

No. 228 श्लोक २६ हे अर्जुन ! भूतकालमा भइसकेका, तथा वर्तमानमा भइरहेका र भविष्यमा हुने सबै

No. 228 

श्लोक २६ 

हे अर्जुन ! भूतकालमा भइसकेका, तथा वर्तमानमा भइरहेका र भविष्यमा हुने सबै प्राणीहरुलाई त म जान्दछु; तर मलाई (मेरो भक्त वाहेक) अरु कसैले पनि जान्दैनन् ।

'वेदाहं समतीतानि …… मां तु वेद न कश्चन' -- यहाँ भगवानले प्राणीहरुकोलागि भूत, वर्तमान र भविष्यकालको तीन विशेषण दिनुभएको छ; परन्तु आफ़्नोलागि 'अहंवेद' पदहरुले खालि वर्तमानको मात्रै प्रयोग गर्नुभएको छ । यसको तात्पर्य, भगवानको दृष्टिमा भूत, भविष्य र वर्तमान -- यी तीनै कालहरु वर्तमान नै हुन् ।अतः चाहे भूतका प्राणी हुन्, चाहे भविष्यका प्राणी हुन् अथवा वर्तमानका प्राणी हुन् -- सबै भगवानको दृष्टिमा वर्तमान नै  हुनाले भगवान सबैलाई जान्नुहुन्छ । भूत, भविष्य र वर्तमान -- यी तीनै कालहरु प्राणीहरुका दृष्टिमा छन्, भगवानका दृष्टिमा छैनन् । सिनेमा हेर्ने मान्छेकोलागि भूत, वर्तमान र भविष्यको भेद रहन्छ, तर सिनेमाको फिल्ममा सबै वर्तमान नै हो, त्यस्तै प्राणीहरुको दृष्टिमा भूत, वर्तमान र भविष्यकालको भेद रहन्छ, तर भगवानको दृष्टिमा सबै वर्तमान नै रहन्छ । कारण, सम्पूर्ण प्राणी कालका अन्तर्गत छन् र भगवान कालदेखि अतीत हुनुहुन्छ । देश, काल, वस्तु, व्यक्ति, घटना, परिस्थिति आदि वदलिइरहन्छन् र भगवान हरदम जस्ता को तस्तै रहनुहुन्छ । काल अन्तर्गत आएका प्राणीहरुको ज्ञान सीमित हुन्छ र भगवानको ज्ञान असीम छ । ती प्राणीहरुमा पनि कसैले योगको अभ्यास गरेर उनीहरुको ज्ञान वढाए उनीहरु 'युञ्जान योगी' हुने छन् र जुन वेला जुन वस्तु जान्न चाहन्छन, त्यो वस्तु उनीहरु जान्दछन् । परन्तु भगवान त 'युक्त योगी' हुनुहुन्छ अर्थात् योगको अभ्यास नगरिकन नै उहाँ सम्पूर्ण जीवहरुको र सम्पूर्ण संसार सबै समयमा स्वतः जान्नुहुन्छ । 

भूत, वर्तमान र भविष्यका सबै जीव नित्य-निरन्तर भगवानमा नै रहन्छन्, भगवानवाट कहिले छुट्टिनै सक्तैनन् । ती जीवहरुवाट छुट्टिने ताकत भगवानमा पनि छैन । अतः प्राणी जहाँ रहे पनि भगवानको दृष्टिवाट छुट्टिन सक्तैनन् । 

'मां तु वेद न कश्चन' को तात्पर्य, यो भन्दा पहिलो श्लोकमा वर्णन गरिएको मूढ़ समुदाय मध्ये मलाई कोही पनि जान्दैनन् अर्थात् जो मलाई अज र अविनाशी जान्दैनन्, ती मलाई साधारण मनुष्य जस्तो जन्मने-मर्ने मान्छन्, ती मूढ़हरुमा कसैले पनि मलाई जान्दैनन्, तर म ती सबैलाई जान्दछु ।

वत्तिको डोरी ढोकामाथि झुण्डयाउँदा भित्रकाहरुले वाहिरकालाई पूर्णतया देख्न सक्छन्, तर वाहिरकाहरु चाहिँ ढोकामा झुण्डिएको डोरी मात्रै देख्न सक्छन् । यसै गरी योगमायारूपी डोरीले राम्रोसँग ढाकिएको हुँदा मूर्ख मनुष्यहरु भगवानलाई जान्दैनन्, तर भगवान सबैलाई देख्नुहुन्छ । 

यहाँ शंका हुन्छ, भगवानले भविष्यमा हुने सबै प्राणीहरुलाई जान्नुहुन्छ भने को मुक्त हुन्छ र को बन्धनमा रहन्छ भन्ने कुरो त जानिहाल्नु हुन्छ; किनकि भगवानको ज्ञान नित्य  छ । त्यसो भए भगवान जसको मुक्ति चाहनुहुन्छ, तीनीहरुको त मुक्ति भइहाल्छ र जसलाई बन्धनमा छन्  भन्ने जान्नुहुन्छ उनीहरु बन्धनमा नै रहन्छन् । भगवानको यो सर्वज्ञताले त मनुष्यको मुक्ति परतन्त्र भयो, मनुष्यको प्रयत्नसाध्य रहेन ।

यसको समाधान हो, भगवानले आफ्नो तर्फवाट मनुष्यलाई अन्तिम जन्म दिनुभएको छ । यो अन्तिम जन्ममा मनुष्य आफ्नो उद्धार गरोस् या पतन गरोस् -- यो उसमा नै निर्भर रहन्छ । उसको उद्धार या पतनको निर्णय भगवान गर्नुहुन्न । 

यही अध्यायमा केही अघि मात्रै भगवानले भनिसक्नु भयो, धेरै जन्महरुपछिको यो अन्तिम मनुष्य जन्ममा 'सबै वासुदेव नै हो' भनेर मेरो शरण लिने महात्मा पाउन वडो दुर्लभ (गाह्रो) छ । यसको तात्पर्य, मनुष्य शरीरमा सम्पूर्ण प्राणीहरुलाई यो स्वतन्त्रता छ, उनीहरु आफ्नो अनन्त जन्महरुको संचित कर्महरुको नाश गरेर भगवान प्राप्त गर्न सक्छन्, आफ्नो मुक्ति गर्न सक्छन् ।                 
                                        
यदि हामीले कुन प्राणी कुन गतिमा जान्छ भन्ने भगवानको संकल्प हुन्छ भन्ने मान्छौं भने आफ्नो उद्धार गर्न मनुष्यलाई स्वतन्त्रता नै रहने थिएन र 'यस्तो गर, यस्तो नगर' भन्ने भगवान, शास्त्र, सन्त र गुरुहरुको उपदेश वचन पनि व्यर्थ हुन्थ्यो । यो वाहेक 'जुन सुकै मनुष्य जुन जुन देवताको उपासना गर्न चाहन्छ, ती ती देवता प्रति म उसको श्रद्धा दृढ गराइदिन्छु' र अन्तमा मनुष्य जुन जुन भाव स्मरण गरेर शरीर छोड्छ, उसलाई त्यही त्यही शरीर प्राप्त हुन्छ' भन्ने उपासना र अन्तकालीन स्मरणको स्वतन्त्रता पनि हुने थिएन । यो स्वतन्त्रता भगवानले सबै मनुष्यलाई दिनुभएको छ । 

विना कारण कृपा गर्ने प्रभुले जीवलाई मनुष्यशरीर दिनुभएको छ । यो मनुष्य शरीरवाट जीवले आफ्नो उद्धार गर्न सक्छ । गीताको एघारौँ अध्यायमा भगवानले अर्जुनलाई भन्नुभयो, 'मयैवैते निहता पूर्वमेव निमित्तमामात्रम् भव सव्यसाचिन्' अर्थात् म द्वारा यी पहिले नै मारिइसकेका छन्, तिमी केवल निमित्तमात्र वन । त्यस्तै सबै मनुष्यलाई विवेक र उद्धारको पूरा सामग्री दिएर भगवानले भन्नुभएको छ, तिमी आफ्नो उद्धार गर अर्थात् आफ्नो उद्धारमा तिमी केवल निमित्तमात्र वन, मेरो कृपा तिमीसँग छ । यो मनुष्य शरीररूपी डुंगा पाएर मेरो कृपारूपी अनुकूल हावाले भवसागर नतर्ने अर्थात् आफ्नो उद्धार नगर्ने आत्म हत्यारा हो । गीतामा नै भगवानले भन्नुभएको छ, परमात्मालाई सबै ठाउँमा समान रूपले परिपूर्ण देख्ने व्यक्ति आफ्नो हत्या गर्दैन, यसैले ऊ परमात्मा पाउँछ । यसवाट सिद्ध हुन्छ, मनुष्य-शरीर प्राप्त भएपछि आफ्नो उद्धार गर्ने अधिकार, सामर्थ्य, समझ आदि पूरा सामग्री पाइन्छ । यस्तो अमूल्य अवसर पाएर पनि आफ्नो उद्धार नगर्ने, आफ्नो हत्या गर्ने व्यक्ति नै जन्म-मरणमा जान्छ । यदि यो जीवले मनुष्य-शरीर पाएर शास्त्र र भगवानको आज्ञा विरुद्ध नचले तथा आफूलाई मिलेको सामग्रीको ठीक-ठीक गरे उसको मुक्ति स्वतःसिद्ध छ । यसमा कुनै वाधा लाग्न सक्तैन ।

मनुष्यकोलागि मुख्य कुरो, भगवानले कृपा गरेर दिनुभएको सामर्थ्य, सामग्री म दुरुपयोग गर्दिन, भगवानको सिद्धान्त विरुद्ध चल्दिन भन्ने अटल निश्चय गर्नु र यो निश्चयमा अड्नु । यदि आफ्नो असामर्थ्यले कहिले दुरुपयोग भइहाल्यो भने पनि मनमा जलन पैदा हुनुपर्यो र भगवानलाई भन्नुपर्यो, 'हे नाथ ! मवाट गल्ति भयो, अव यस्तो गल्ति कहिले पनि गर्ने छैन । हे नाथ! मलाई यस्तो वल दिनुहोस्, यसवाट म कहिले पनि विचलित नहोउँ । यसो गरे त्यस्तो भूलको प्रायश्चित्त हुन्छ र भगवानवाट मदत पाइन्छ । मनुष्य असमर्थ दुइ किसिमले हुन्छ, एउटा हुन्छ, ऊ गर्नै सक्तैन; जस्तो -- कसैको नोकरीमा मालिकले कामदारलाई तिमी यो घरलाई उठाएर एक कोश पर लगेर राख भन्यो भने कामदारले त्यो काम गर्न सक्तैन । अर्को असामर्थ्य हुन्छ, उ गर्न त सक्छ, गर्न पनि चाहन्छ, तैपनि ऊ प्रमादवश समयमा त्यो काम गर्न सक्तैन । यस्तो असामर्थ्य साधकमा आइ नै रहन्छ । यसलाई हटाउन साधकले भगवानसँग भन्ने, 'हे नाथ ! म यस्तो प्रमाद फेरि कहिले नगरौं, यस्तो शक्ति मलाई दिनुहोस् ।' 

भगवानले नै दिनुभएको स्वतन्त्रताको कारण भगवान यस्तो संकल्प कहिले पनि गर्न नै सक्नुहुन्न, जीवको कति जन्म हुने भनेर । यति मात्रै होइन, चर-अचर अनन्त जीवहरुकोलागि पनि भगवान उनीहरुको कति जन्म हुन्छ भनेर संकल्प गर्नै सक्नुहुन्न । अर्को कुरो, मनुष्य वाहेक अरु प्राणीहरुको पछाडि कर्म-फलहरुको ताँती लागेको हुन्छ । यसो हुँदा उनीहरु वारम्वार जन्मने र मर्ने गरिरहन्छन् । यस्तो परम्परामा परेका जीवहरु मध्ये कुनै जीव कुनै कारणले मनुष्यशरीरमा अथवा कुनै अन्य योनिमा पनि प्रभुको चरणको शरण हुन्छ भने भगवान उसको अनन्त जन्महरुको पाप नष्ट गरिदिनुहुन्छ । 

यहाँ अर्को शंका हुन सक्छ, भगवान सबै जीवहरुलाई जान्नुहुन्छ भने उहाँले बद्ध ठानेको जीव बद्ध नै रहला र उहाँले मुक्त ठानेको जीव मुक्त नै होला; किनकि उहाँको ज्ञान नित्य छ । यो शंका वस्तुतः संसारलाई सत्ता र महत्तालाई लिएर हाम्रो दृष्टिमा छ । वास्तवमा भगवान र महात्मा -- दुबैको दृष्टिमा संसार छैन, खालि भगवान मात्रै  हुनुहुन्छ -- 'वासुदेवः सर्वम्' । हामीले नै अज्ञानले गर्दा संसारलाई सत्ता र महत्ता दिइरहेका छौं । यसैले भगवान हाम्रो भाषामा भूत, वर्तमान र भविष्यको कुरा भन्नुहुन्छ । उहाँले हाम्रो भाषामा वोलेनौं भने हामीले कसरी बुझ्ने ?                                            

भगवानको ज्ञान नित्य छ । सबै कुरो भगवान ज्ञान अन्तर्गत छ । उहाँको ज्ञान वाहिर केही पनि छैन । भगवानको ज्ञान उहाँ सिवाय अरु केही छैन -- 'मत्तः परतरं नान्यत्किञ्चिदस्ति' ।  जीवले अहम् को कारण (अज्ञानले) जगतलाई धारण गरिराखेको छ  -- ययेदम् धार्यते जगत' । अतः बन्धन र मोक्ष जीवले वनाइएको हो । तत्वले न बन्धन छ, न मोक्ष, खालि परमात्मा मात्रै छ ।

यहाँ भन्न खोजिएको, कुनै पनि काल स्थायी छैन । न भूतकाल सँधै रहन्छ, न भविष्य  सँधै रहन्छ र न वर्तमान नै सँधै रहन्छ, तर भगवान सँधै रहनुहुन्छ । भूतकाल र भविष्य काल नभए जस्तै वर्तमानकाल पनि छैन । भूतकाल र भविष्यकालको सन्धिलाई नै वर्तमान काल भनिन्छ । तात्पर्य, प्रतिक्षण वदलिने वर्तमानकाल वर्तमान होइन, कहिले पनि नवदलिने वर्तमान हो । यसैले भगवानले यो श्लोकको आरम्भमा नै वर्तमान क्रिया दिनुभएको छ -- 'वेदाहम्' (म जान्दछु) । भगवान भूत, भविष्य र वर्तमान -- सबैमा सँधै वर्तमान हुनुहुन्छ, तर भगवानमा न भूत छ, न भविष्य छ, न वर्तमान छ । भगवानको वर्तमानपना कालको अधीन छैन; किनकि भगवान कालातीत हुनुहुन्छ । काल न भगवानको दृष्टिमा छ, न महात्माको दृष्टिमा । 

No. 227 श्लोक २५ यो मूढ मनुष्य समुदाय मलाई अज र अविनाशी भनेर ठीक किसिमले जान्दैन, मान्दैन ।

No. 227 

श्लोक २५ 

यो मूढ मनुष्य समुदाय मलाई अज र अविनाशी भनेर ठीक किसिमले जान्दैन, मान्दैन । त्यस्ता मनुष्यको सामुन्ने योगमायाले राम्रोसँग ढाकिएको हुनाले म प्रकट हुन्न ।

म अज र अविनाशी हुँ अर्थात् जन्म-मरणदेखि रहित हुँ । यस्तो भए पनि म प्रकट र अंतर्धान हुने लीला गर्छु अर्थात् जव म अवतार लिन्छु, तव अज (अजन्मा) रहँदा रहँदै अवतार लिन्छु र अव्ययात्मा रहँदा रहँदै अन्तर्धान हुन्छु । सूर्य भगवान उदय हुँदा हाम्रो सामुन्ने आउनु हुन्छ र अस्त हुँदा हाम्रो नेत्रहरुदेखि ओझेल हुनुहुन्छ, त्यस्तै म केवल प्रकट र अंतर्धान हुने लीला गर्छु । मलाई यस्तो प्रकारले जन्म-मरणदेखि रहित मान्ने असम्मूढ़ हुन् । तर मलाई साधारण प्राणीहरु जस्तो जन्मने-मर्ने मान्नेहरु तिनीहरु मूढ़ हुन् । 

भगवानलाई अज, अविनाशी नमान्नमा कारण हो, यो मनुष्यको भगवानसँगको आफ्नोपनलाई विर्सेर मनुष्यले शरीरलाई आफ्नो मान्यो 'यो शरीर नै म हुँ' भन्ने ।यसैले उसको अगाडि पर्दा आयो । यो पर्दाले गर्दा उसले भगवानलाई पनि जन्मने-मर्ने मान्न थाल्यो ।                  

मूढ़ मनुष्य मलाई अज र अविनाशी भन्ने जान्दैनन् । त्यो नजान्नमा दुई कारण हुन् -- (१) म योगमायाले लुकेर वस्ने, (२) उनीहरुको मुडता । जस्तो, आफ्नो कुनै घरमा मनुष्य वन्द छ, शहरका सबै घरहरु शहरका चार दीवारमा वन्द छन् । यदि कुनै मनुष्य आफ्नो घरवाट निस्कन खोज्यो भने ऊ आफ्नो घरवाट त निस्कन सक्छ तर शहरको चार दीवारहरुवाट निस्कन सक्तैन । तर त्यही शहरको राजाले चाह्यो भने ऊ चार दिवारहरुको ढोकाहरु पनि खोल्न सक्छ र उसको घरको ढोका पनि खोल्न सक्छ । यदि त्यो मनुष्य आफ्नो घरको ढोका खोल्न सक्तैन भने राजा त्यो ढोका फुटाउन पनि सक्छ । त्यस्तै यो प्राणी आफ्नो मूढ़तालाई हटाएर आफ्नो नित्य-स्वरूप जान्न सक्छ । परन्तु भगवततत्वको बोध त भगवतकृपाले नै हुन सक्छ । भगवान जसलाई बुझाउन चाहनु हुन्छ, त्यही व्यक्ति मात्रै त्यो तत्व जान्न सक्छ । मनुष्यले पूर्णतया भगवानको शरण हुन सक्यो भने भगवान उसको अज्ञान पनि हटाइ दिनु हुन्छ र आफ्नो माया पनि हटाइदिनु हुन्छ ।

'नाहं प्रकाशः सर्वस्य योगमायासमावृतः' -- ती सबैको सामुन्ने अर्थात् त्यो मूढ समुदायको सामुन्ने म भगवतरूपले प्रकट हुन्न । कारण, उनीहरु मलाई अज-अविनाशी भगवतरूपले मान्न नै चाहँदैनन् । उनीहरु त मलाई साधारण मनुष्य मानेर मेरो अवहेलना गर्छन् । अतः उनीहरुको सामुन्ने म कसरी प्रकट हुने ? तात्पर्य, मलाई अज-अविनाशी नमान्ने, मलाई जन्मने-मर्ने मान्नेहरुको अगाडि म योगमाया द्वारा लुकिरहन्छु र सामान्य मनुष्य जस्तो नै रहन्छु । परन्तु मलाई अज-अविनाशी र सम्पूर्ण प्राणीहरुको ईश्वर मान्ने, ममा मात्रै श्रद्धा राख्नेलाई उनीहरुको भाव अनुसार म उनीहरुको सामुन्ने प्रकट रहन्छु ।

भगवानको योगमाया विचित्र, विलक्षण, अलौकिक छ; भगवानप्रति  मनुष्यहरुको भाव अनुसार नै उनीहरु योगमाया समावृत भगवानलाई देख्छन् । 

यहाँ भगवानले भन्नुभएको छ, मलाई अज-अविनाशी नजान्नेहरु मूढ़ हुन् र दसौं अध्यायमा भगवान भन्नुहुन्छ, देवता र महर्षि मेरो प्रभव जान्दैनन् । यसमा शंका हुन्छ, भगवानलाई अज-अविनाशी भन्ने नजान्नु उहाँको प्रभाव नजान्नु -- यी दुई कुराहरु यौटै भए, परन्तु यहाँ नजान्नेहरुलाई मूढ़ भनियो, यस्तो किन ? यसको समाधान हो, भगवानको प्रभव अर्थात् प्रकट हुने कुरो नजान्नु दोषी छैन; किनकि त्यहाँ भगवान स्वयंले भन्नुभएको छ, सबै किसिमले देवताहरु र महर्षिहरुको म आदि हुँ । जस्तो, वालक आफ्नो पिताको जन्म कसरी देख्न सक्छ ? किनकि ऊ त्यो वेला जन्मेकै थिएन । ऊ त पितावाट पैदा भएको छ । अतः उसले पिताको जन्म नदेख्नु दोषी हैन । यस्तै किसिमले भगवान प्रकट हुने हेतुहरु नजान्ने देवताहरु र महर्षिहरुलाई मूढ़ भनिएको छैन । मनुष्य भगवानलाई अज-अविनाशी जान्न सक्छन् अर्थात् मान्न सक्छन् । यदि भगवानलाई अज-अविनाशी मान्दैनन् भने यो उनीहरुको दोष हो । यसैले उनीहरुलाई यहाँ मूढ़ भनिएको हो ।
                                               
जो बुद्धिहीन मनुष्यहरू भगवान मान्दैनन्, भगवान अवतारकालमा सबैको अगाडि प्रकट हुँदा पनि त्यस्ता मनुष्यहरुको अगाडि प्रकट हुनुहुन्न -- 'ये यथा मां प्रपद्यन्ते तान्स्तथैव भजाम्यहम्' । वास्तवमा भगवान अप्रकट रहन खोज्नु हुन्न, तर उहाँलाई नमान्ने मनुष्यको अगाडि उहाँ कसरी प्रकट हुने ?

अवतारकालमा भगवान लौकिक रूपमा देखिंदा पनि वास्तवमा सँधै अलौकिक नै रहनु हुन्छ । परन्तु राग-द्वेषले गर्दा अज्ञानी मनुष्यहरुलाई भगवान लौकिक नै देखिनु हुन्छ अर्थात् भगवानरूपले नदेखिएर मनुष्यरूपले नै देखिनुहुन्छ । 

श्लोक २४ बुद्धिहीन मनुष्य मेरो परम, अविनाशी र सर्वश्रेष्ठ भाव नजानेर अव्यक्त

No. 226 

श्लोक २४ 

बुद्धिहीन मनुष्य मेरो परम, अविनाशी र सर्वश्रेष्ठ भाव नजानेर अव्यक्त (मन-इन्द्रियहरु भन्दा श्रेष्ठ) म (सच्चिदानन्दघन परमात्मा)लाई सामान्य मनुष्य जस्तो शरीर धारण गर्ने मान्छन् । 

'अव्यक्तं व्यक्तिमापन्नं ….. ममाव्ययमनुत्तमम्' -- निर्बुद्धि, ममा श्रद्धा भक्ति नभएका व्यक्तिहरु अल्पमेधा भएको कारण अर्थात् समझको कमीको कारण मलाई साधारण मनुष्य जस्तो अव्यक्तवाट व्यक्त हुने अर्थात् जन्मने-मर्ने मान्दछन् । मेरो अविनाशी भाव अव्यय छ अर्थात् यो भाव जस्तो  ठूलो अर्को कुनै भाव नै छैन । यो अविनाशी अव्यय भाव देश, काल, वस्तु, व्यक्ति आदिमा परिपूर्ण रहँदै यी सबै भन्दा अतीत, सँधै एकरूप रहने, निर्मल र असम्वद्ध छ । यस्तो मेरो अविनाशी भाव त्यस्ता व्यक्ति जान्दैनन् र मैले अवतार लिने तत्व पनि जान्दैनन् । यसैले उनीहरु मलाई साधारण मनुष्य मानेर मेरो उपासना गर्दैनन्, देवताहरुको उपासना गर्छन् ।

'अबुद्धय:' पदको अर्थ यो होइन कि उनीहरुमा बुद्धिको अभाव छ, तर उनीहरुको बुद्धिमा विवेक रहँदा रहँदै पनि, अर्थात् संसारलाई उत्पत्ति-विनाशशील जान्दा जान्दै पनि यो कुरा उनीहरु मान्दैनन् -- यही उनीहरुमा हुने बुद्धिरहितपना हो, मूढता हो । 

अर्को भाव हो, कामनालाई कोही पनि राख्न सक्तैनन्, कामना रहन सक्तैन, किनकि कामना पहिले थिएन र कामनापूर्तिपछि पनि कामना रहँदैन । वास्तवमा कामनाको सत्ता नै छैन, तैपनि त्यसको त्याग गर्न सकिंदैन -- यही अबुद्धिपना हो । 

मेरो स्वरूप नजान्नाले ती व्यक्तिहरु अन्य देवताहरुको उपासनामा लागे र उत्पत्ति-विनाशशील पदार्थहरुको कामनामा लाग्नाले ती बुद्धिहीन मनुष्य मवाट विमुख भए । यद्यपि उनीहरु मवाट छुट्टै हुन सक्तैनन् तथा म पनि उनीहरुसँग छुट्टिन सक्तिनं, तथापि कामनाको कारण ज्ञान ढाकिएकोले उनीहरु देवतातिर खिंचिन्छन् । उनीहरुले मलाई (मेरो स्वरूप) बुझेको भए खालि मेरो मात्रै भजन गरिहाल्थे ।

(१) मेरो शरण हुने मनुष्य नै बुद्धिमान हुन्छन् । उनीहरु भगवानलाई मात्रै सर्वोपरि मान्छन् ।

(२) अल्पमेधा मनुष्य देवताहरुको शरण हुन्छन् । उनीहरु देवताहरुलाई आफू भन्दा ठूला ठान्छन् । यसो हुँदा उनीहरुमा अलि अलि नम्रता, सरलता रहन्छ । 

(३) अबुद्धि मनुष्य भगवानलाई देवता जस्तो पनि मान्दैनन्, तर साधारण मनुष्य जस्तो मान्छन् । उनीहरु आफूलाई नै सर्वोपरि, सबैभन्दा ठुलो मान्छन् ।   

'परं भावमजानन्तः' -- को अर्थ हो, म अज रहँदा रहँदै, अविनाशी हुँदा हुँदै र लोकहरुको ईश्वर हुँदा हुँदै पनि आफ्नो प्रकृतिलाई वशमा गरेर योगमाया द्वारा प्रकट हुन्छु -- यो मेरो परमभाव बुद्धिहीन मनुष्य जान्दैनन् । 

'अनुत्तमम्' -- भन्नुको तात्पर्य, पन्ध्रौँ अध्यायमा वर्णन गरिएको क्षर भन्दा अतीत र अक्षर भन्दा उत्तम अर्थात् यो भन्दा राम्रो मार्ग कुनै छैन, यस्तो मेरो अनुत्तम भाव उनीहरु जान्दैनन् ।

यो श्लोकको अर्थ अरु कोही यस्तो पनि गर्छन्, '(ये ) अव्यक्तं व्यक्तिमापन्नं मन्यन्ते (ते) अबुद्धय:' अर्थात् सँधै निराकार रहने मलाई केवल साकार मान्नेहरु निर्बुद्धि हुन्; किनकि उनीहरु मेरो अव्यक्त, निर्विकार र निराकार स्वरूप जान्दैनन् । अरु कोही यस्तो पनि अर्थ लगाउँछन्, '(ये) व्यक्तिमापन्नं माम् अव्यक्तं मन्यन्ते (ते) अबुद्धयः' अर्थात् म अवतार लिएर तिम्रो सारथि वनेको छु -- यस्तो मलाई खालि निराकार मान्छन्, तिनीहरु निर्बुद्धि हुन्; किनकि उनीहरु मेरो सर्वश्रेष्ठ अविनाशी भाव जान्दैनन् । 

माथिका दुवै अर्थहरूमा कुनै पनि अर्थ ठीक छैन । कारण, यस्तो अर्थ मान्दा केवल निराकार मान्नेहरु साकार रूपको उपासकहरुको निन्दा गर्नेछन् र केवल साकार मान्नेहरु निराकाररूपका उपासकहरुको निन्दा गर्ने छन् । यो सबै एकदेशीयपना हो । 

पृथ्वी, जल, तेज, आदि महाभूतहरु विनाशी र विकारी हुन्, ती पनि दुई किसिमका हुन्छन् -- स्थूल र सूक्ष्म । जस्तो, स्थूलरूपले पृथ्वी साकार छ र परमाणुरूपले निराकार छ; जल वरफ, थोपा, वादल र वाफरूपले साकार छ र परमाणुरूपले निराकार छ; तेज (अग्नितत्व) काठ र सलाइ रहंदा निराकार छ र प्रज्वलित हुँदा साकार छ । यही किसिमले भौतिक सृष्टिको पनि दुई रुप हुन्छन् र दुई रुप भए पनि तिनीहरु दुई हुँदैनन् । साकार हुँदा पनि निराकारले कुनै वाधा दिंदैन । फेरि परमात्मा साकार र निराकार दुवै हुन के वाधा हुन्छ ? अर्थात् कुनै वाधा छैन । उहाँ साकार पनि हुनुहुन्छ र निराकार पनि हुनुहुन्छ, सगुण पनि हुनुहुन्छ र निर्गुण पनि ।


गीता साकार-निराकार, सगुण-निर्गुण -- दुवै मान्छ । नवौं अध्यायमा भगवानले आफूलाई 'अव्यक्तमूर्ति' भन्नुभएको छ । चौथो अध्यायमा उहाँले भन्नुभएको छ, म अज हुँदा हुँदै पनि प्रकट हुन्छु, अविनाशी हुँदा हुँदै पनि अन्तर्धान हुन्छु र सबैको ईश्वर हुँदा हुँदै पनि आज्ञापालक पुत्र  र शिष्य वन्छु । अतः निराकार हुँदा हुँदै साकार हुन र साकार हुँदा हुँदै निराकार हुन भगवानमा अलिकति पनि अन्तर आउँदैन । भगवानको यस्तो स्वरूपलाई नजान्नाले व्यक्तिहरु उहाँको विषयमा धेरै थरी कल्पनाहरु गर्छन् ।

भगवान व्यक्त पनि हुनुहुन्छ र अव्यक्त पनि, लौकिक पनि हुनुहुन्छ र अलौकिक पनि -- 'वासुदेवः सर्वम्', 'सदसच्चाहमर्जुन' । परन्तु बुद्धिहीन मनुष्य भगवानलाई ती प्राणीहरु जस्तो अव्यक्तवाट व्यक्त हुने अर्थात् लौकिक (जन्मने-मर्ने) मान्छन्, जसकोलागि भगवान भन्नुहुन्छ ।'अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत । अव्यक्तनिधनान्येव तत्र का परिदेवना ।।'
'हे भारत! सबै प्राणी जन्मभन्दा पहिले अप्रकट थिए र मरेपछि अप्रकट हुनेछन्, केवल वीचमा मात्रै प्रकट देखिन्छन्; अतः यसमा शोक गर्ने कुरै के छ ?'

भगवान मनुष्य जस्तो अव्यक्तवाट व्यक्त हुनुहुन्न, तर अव्यक्त रहँदा रहँदै व्यक्त हुनुहुन्छ र व्यक्त हुँदा हुँदै अव्यक्त रहनुहुन्छ ।

'परम्' -- भगवान देवताहरुको उपासना गर्नेहरुलाई श्रद्धा पनि दिनुहुन्छ र उनीहरुको उपासनाको फल पनि दिनुहुन्छ -- यो भगवानको परम अर्थात् पक्षपातरहित भाव हो ।

'अव्ययम्' -- देवता सापेक्ष अविनाशी (अमर) हुन्, सर्वथा अविनाशी होइनन् । परन्तु भगवान निरपेक्ष अविनाशी हुनुहुन्छ । उहाँ जस्तो अविनाशी अर्को कुनै छैन र हुन पनि सक्तैन । 

'अनुत्तमम्' -- भगवान सम्पूर्ण प्राणीहरुको हित चाहनुहुन्छ -- यो भगवानको सर्वश्रेष्ठ भाव हो । यो भन्दा श्रेष्ठ अर्को कुनै भाव हुनै सक्तैन ।  

No. 225 श्लोक २३ परन्तु ती तुच्छ बुद्धि भएका मनुष्यहरुलाई देवताहरुका आराधनाको फल अन्त हुने (नाशवान्) नै

No. 225 

श्लोक २३ 

परन्तु ती तुच्छ बुद्धि भएका मनुष्यहरुलाई देवताहरुका आराधनाको फल अन्त हुने (नाशवान्) नै मिल्छ । देवताहरुको पूजन गर्नेहरु देवताहरु नै पाउँछन् र मेरो भक्त मलाई नै पाउँछन् । 

'अन्तवत्तु फलम् तेषाम् तद्भवत्यल्पमेधसाम्' -- देवताहरुको उपासना गर्ने अल्पबुद्धियुक्त मनुष्यहरुलाई अन्त हुने अर्थात् सीमित र नाशवान् फल पाइन्छ । यहाँ एउटा शंका आउँछ, भगवानको विधानवाट पाइने फल त नित्य हुनुपर्ने, तर अनित्य फल किन पाइन्छ उनीहरुलाई  ? यसको उत्तर, एउटा त त्यस्ता भक्तमा नाशवान् पदार्थहरुको कामना छ र अर्को, उनीहरु देवताहरूलाई भगवानदेखि छुट्टै मान्छन् । यसैले उनीहरुलाई नाशवान् फल नै मिल्छ । तर उनीहरुलाई दुई उपायहरुले अविनाशी फल मिल्न सक्छ -- एक त उनीहरुले कामना नराखेर (निष्कामभावले) देवताहरुको उपासना गरे भने उनीहरुलाई अविनाशी फल मिल्छ र अर्को, उनीहरुले देवताहरुलाई भगवानदेखि भिन्न नसम्झेर, अर्थात् भगवतस्वरूप नै सम्झेर उनीहरुको (देवताहरुको) उपासना गरे भने त्यस्ता साधकहरुमा कामना रहिहाले पनि उचित समयमा उनीहरुलाई अविनाशी फल मिल्न सक्छ अर्थात् भगवात्प्राप्ति हुन सक्छ ।                               

यहाँ 'तत्' भन्नुको अर्थ, मैले विधान गरिएको फल त मिलिहाल्छ, तर कामना भएपछि त्यो फल नाशवान् हुन्छ । 

यहाँ 'अल्पमेधसाम्' भन्नुको तात्पर्य, त्यस्ता अल्पबुद्धि भएकालाई नियम त धेरै धारण गर्नुपर्छ, तर फल मिल्छ सीमित र अन्त हुने । परन्तु मेरो आराधना गरेदेखि यति धेरै नियमहरु पालना गर्नु पर्दैन तथा त्यति विधिहरुको आवश्यकता पनि छैन, तर फल मिल्छ असीम र अनन्त । यसरी देवताहरुको उपासनामा नियम हुन् धेरै, तर फल होस् थोरै र जन्म-मरणरूप बन्धन होस् । तर मेरो आराधनामा नियम कम होस्, फल धेरै होस् र कल्याण होस् -- यस्तो हुँदा पनि ती व्यक्तिहरु देवताहरुको उपासनामा लाग्छन् र मेरो उपासना गर्दैनन् । यसैले यिनीहरुको बुद्धि अल्प छ, तुच्छ छ । 
 
'देवान्देवयजो यान्ति मद्भक्ता यान्ति मामपि' -- देवताहरुको पूजन     
गर्ने देवताहरु पाउँछन् र मलाई पूजन गर्ने म नै पाउँछन् । यहाँ 'अपि' पदले यो सिद्ध हुन्छ , मेरो उपासना गर्नेको पनि कामना पूर्ति हुन सक्छ र मेरो मेरो प्राप्ति त भइ नै हाल्छ अर्थात् मेरो भक्त सकाम हुन् या निष्काम, यी सबै नै मलाई पाउँछन् । परन्तु भगवानको उपासना गर्नेको सबै कामना पूरा हुन्छन् भन्ने नियम छैन । भगवानले उचित ठान्नु भयो भने कामना पूरा गरि पनि दिनु हुन्छ, नगरि पनि दिनु हुन्छ अर्थात् उनीहरुको हित हुने भए पूरा गरिदिनु हुन्छ र अहित नहुने भए कति पुकारा गरे पनि, रोए पनि पूरा गरिदिनु हुन्न ।

यो नियम हो, भगवानको भजन गरे भगवानसँग नित्य-सम्बन्धको स्मृति हुन्छ; किनकि भगवानको सम्बन्ध सँधै रहने खालको छ । अतः भगवान प्राप्ति भएपछि फेरि संसारमा फर्केर आउनु पर्दैन -- 'यद्गत्वा न निवर्तन्ते' । परन्तु देवताहरुको सम्बन्ध सँधै रहने खालको होइन; किनकि त्यो कर्मजनित हो । अतः देवतालोकको प्राप्ति भएपछि       संसारमा फर्केर आउनै पर्छ । -- 'क्षीणे पुण्ये मर्त्यलोकं विशन्ति' । 

मेरो भजन गर्ने मलाई नै प्राप्त गर्छन् -- यही भावलाई लिएर भगवानले अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी -- यी चार किसिमका भक्तहरुलाई सुकृती र उदार भन्नुभएको हो । 

यहाँ 'मद्भक्ता यान्ति मामपि'को तात्पर्य हो, जीव जस्तो नै आचरणको भए पनि अर्थात् ऊ दुराचारी भन्दा दुराचारी भए पनि, आखिर हो त मेरो नै अंश । यदि संसारको आसक्ति र आग्रह नभए उसलाई मेरो प्राप्ति हुनेछ ।

सबै भगवतस्वरूप नै हो र भगवानको विधान पनि भगवतस्वरूप छ -- यस्तो हुँदा हुँदै पनि भगवानदेखि भिन्न संसारको सत्ता मान्नु र आफ्नो कामना राख्नु -- यी दुवै पतनका कारण हुन् । यिन मध्ये कामनाको सर्वथा नाश भयो भने संसार भगवतस्वरूप देखिन लाग्नेछ र संसार भगवतस्वरूप देखिन लाग्यो भने कामना मेटिनेछ । त्यसपछि क्रियाहरुवाट मात्रै भगवानको सेवा हुन थाल्नेछ । यदि संसार भगवतस्वरूप देखिनु र कामनाको नाश हुनु एकै चोटी भयो भने भन्नु नै के पर्यो र !

देवताहरुको उपासना गर्नेहरु वढी भन्दा वढी देवताहरुका पुनरावर्ती लोकहरुमा नै जान सक्छन्, तर भगवानको उपासना गर्नेहरु भगवान नै प्राप्त गर्छन् । हो, यदि साधकको देवताहरुमा भगवदबुद्धि भए र आफूमा निष्कामभाव भए उसको उद्धार हुनेछ अर्थात् उसले पनि भगवान पाउनेछ । परन्तु देवताहरुमा भगवदबुद्धि नभए र आफूमा निष्कामभाव पनि नभए त उद्धार हुने छैन ।

देवताहरुको उपासनाको दोष यो हो, त्यसको फल अन्त हुने खालको र नाशवान् छ; किनकि देवता आफैं पनि सीमित अधिकार भएका छन् । अतः भगवानलाई छोडेर अन्य देवताहरुको उपासना गर्ने अल्प बुद्धि भएका हुन् । यदि उनीहरुको अल्प बुद्धि नभएको भए नाशवान् फल दिने देवताहरुको उपासना किन गर्थे ? भगवानको मात्रै उपासना गर्थे अथवा देवताहरुमा भगवदबुद्धि गर्थे । भगवानको उपासना त धेरै सुगम छ, त्यसमा विधिको, नियमको, परिश्रमको जरुरत छैन । त्यसमा त खालि भावको मात्रै प्रधानता छ । परन्तु देवताहरुको उपासनामा क्रिया, विधि र पदार्थको प्रधानता छ ।

मनुष्यलाई संसारका जति नै विद्याहरुको, कला कौशलको ज्ञान भए    पनि त्यो 'अल्पमेधा' (तुच्छ बुद्धि भएको) नै हो । त्यो ज्ञानले  वास्तवमा अज्ञानलाइ दृढ गर्छ । परन्तु भगवान जान्नेलाई सांसारिक विद्या, कला-कौशल आदिको ज्ञान नहुँदा पनि ऊ 'सर्ववित्' (सबै जान्ने) हो ।

No. 224 श्लोक २२ मैले दृढ गरिदिएको त्यो श्रद्धाले युक्त भएर त्यो मनुष्य त्यो देवताको (सकामभाव पूर्वक) उपासना

No. 224 

श्लोक २२ 

मैले दृढ गरिदिएको त्यो श्रद्धाले युक्त भएर त्यो मनुष्य त्यो देवताको (सकामभाव पूर्वक) उपासना गर्छ र उसको त्यो कामना पूरा पनि हुन्छ; परन्तु त्यो कामना पूर्ति मैले नै विहित गरिएको हुन्छ ।

'स तया श्रद्धया युक्तः ……मयैव विहितान्हि तान्' -- मैले दृढ गरिएको श्रद्धाले सम्पन्न मनुष्य त्यो देवताको आराधनाको चेष्टा गर्छ र त्यो देवतासँग जुन कामनापूर्तिको आशा राख्छ, उसको कामना पूर्ति पनि हुन्छ । मैले नै उसको कामना पूरा गरिदिए पनि त्यो व्यक्ति उसको कामनाको पूर्ति आफ्नो देवतावाट नै भएको मान्छ । वास्तवमा देवताहरुमा मेरो नै शक्ति छ र मेरो नै विधानले उनीहरु कामना पूर्ति गराइदिन्छन् । 

जागिरदारलाई एक सीमित अधिकार दिइएको हुन्छ, तिमीहरु फलानो विभागमा फलानो अवसरमा यति खर्च गर्न सक्छौ । त्यस्तै, देवताहरुमा पनि एउटा सीमासम्म मात्रै दिने शक्ति हुन्छ; अतः उनीहरु त्यति मात्रै दिन सक्छन्, धेरै होइन । देवताहरुमा धेरै भन्दा धेरै शक्ति यति हुन्छ, उनीहरु आफ्ना आफ्ना उपासकहरुलाई आफ्ना आफ्ना लोकहरुमा लग्न सक्छन् । परन्तु आफ्नो उपासनाको फल भोगेपछि उनीहरुलाई त्यहाँवाट फर्केर फेरि संसारमा आउनु पर्छ । 

यहाँ 'मयैव' भन्नुको तात्पर्य, संसारमा भइरहेको सबै मैले नै गरिएका हुन् । कसैले केही पाउँछ भने म द्वारा नै पाउँछ । कारण, म वाहेक विधान गर्ने अर्को छैन । यो रहस्य जान्ने व्यक्ति खालि मतिर नै खिंचिने छ ।

भगवानले सबै देवताहरुलाई छुट्टा-छुट्टै र सीमित अधिकार दिनुभएको छ । परन्तु भगवानको अधिकार असीम छ । भगवानमा विशेषता यो छ, उहाँ कसैलाई पनि शासन गर्नुहुन्न, कसैलाई आफ्नो गुलाम वनाउनु हुन्न, कसैलाई आफ्नो चेला वनाउनु हुन्न, सबैलाई आफ्नो मित्र वनाउनु हुन्छ, आफू समान वनाउनु हुन्छ । निषादराज सिद्ध भक्त थिए, विभीषण साधक थिए र सुग्रीव विषयी थिए, तर भगवान श्रीरामले तीनैलाई आफ्नो सखा वनाउनु भयो । यो विशेषता अरु देवताहरुमा छैन । यसैले वेदमा भगवानलाई जीवको सखा वताइएको छ ।

गीतामा पनि भगवानले अर्जुनलाई भन्नुभएको छ -- 'भक्तोसि मे सखा चेति' । यहाँ भगवानले 'भक्त' त अर्जुनको दृष्टिले भन्नुभयो, तर आफ्नो दृष्टिले अर्जुनलाई सखा नै भन्नुभयो । 'ममैवांशो जीवलोके' -- यी पदहरुमा पनि भगवानले 'एव' पदले जीवलाई साक्षात् आफ्नो स्वरूप वताउनु भएको छ ।यो मेरो नै अंश हो -- यस्तो भन्नुको तात्पर्य, यसमा प्रकृतिको अंश विल्कुल छैन ।       

No. 223 श्लोक २१ जुन जुन भक्त जुन जुन देवता श्रद्धापूर्वक पूजन गर्न चाहन्छन्, ती ती देवतामा नै म त्यही श्रद्धा दृढ गरिदिन्छु ।

No. 223 

श्लोक २१ 

जुन  जुन भक्त जुन जुन देवता श्रद्धापूर्वक पूजन गर्न चाहन्छन्, ती ती देवतामा नै म त्यही श्रद्धा दृढ गरिदिन्छु । 

'यो यो यां यां तनुम् भक्तः ……. तामेव विदध्याम्यहम्' -- जुन जुन मनुष्य जुन जुन देवताको भक्त भएर श्रद्धापूर्वक यजन-पूजन गर्न चाहन्छन्, ती ती मनुष्यको श्रद्धा ती ती देवताहरुप्रति म अचल (दृढ) गरिदिन्छु । तिनीहरु अरुमा नलागेर ममा मात्रै लागून् -- यस्तो म गर्दिन । ती ती देवताहरुमा लाग्दा कामनाले गर्दा तिनीहरुको कल्याण त हुने होइन, तैपनि म तिनीहरुको श्रद्धा ती देवताहरुमा लगाइदिन्छु । ममा श्रद्धा राख्ने, आफ्नो कल्याण गर्न चाहनेको श्रद्धा म आफू प्रति किन दृढ गर्दिन, अर्थात् अवश्य गर्नेछु । कारण, म सम्पूर्ण प्राणीहरुको सुहृद हुँ -- सुहृदम् सर्वभूतानाम्'। 

यहाँ एउटा शंका हुन्छ, भगवान सबैको श्रद्धा आफूमा नै किन दृढ गर्नुहुन्न ? यहाँ भगवानले यस्तो भन्नु भए जस्तो लाग्छ, यदि  मैले सबैको श्रद्धा आफू प्रति दृढ गरें भने मनुष्यजन्मको स्वतन्त्रता, सार्थकता नै कहाँ रह्यो र ?  तथा मेरो स्वार्थपरताको त्याग कहाँ भयो ? यदि व्यक्तिहरुलाई ममा नै लगाउने मेरो आग्रह रहे यो कुनै ठूलो कुरो होइन; किनकि यस्तो व्यवहार त दुनियाँको सबै स्वार्थी जीवहरुवाट  स्वाभाविक नै हुन्छ । अतः म यो स्वार्थपरता मेटेर यस्तो स्वभाव सिकाउन चाहन्छु, कुनै पनि मनुष्य पक्षपात गरेर अरुवाट खालि आफ्नो पूजा-प्रतिष्ठा गराउनमा नै नलागिरहोस् र कसैलाई  पराधीन नवनाओस् । 

अव अर्को शंका हुन्छ, भगवानले ती व्यक्तिहरुको श्रद्धा ती देवताहरुप्रति दृढ गरिदिनु हुन्छ, त्यसमा त उहाँको साधुता सिद्ध भयो, तर ती जीवहरुको त अहित नै भयो । यसको समाधान भगवान गर्नुहुन्छ, यदि मैले उनीहरुको श्रद्धालाई अरुवाट हटाएर आफूमा लगाउने भाव राखें भने उनीहरुलाई ममा अश्रद्धा हुन्छ । तर यदि मैले त्यो श्रद्धा आफूमा लगाउने भाव गरिनं भने र उनीहरुलाई स्वतन्त्रता दिएँ भने त्यो स्वतन्त्रता पाउनेहरुमा बुद्धिमानहरु मेरो यो व्यवहार देखेर मतर्फ आकृष्ट हुनेछन् । अतः उनीहरुको उद्धारको यो तरिका वढिया हो ।

अव तेस्रो शंका हुन्छ, यदि भगवान स्वयंले उनीहरुको श्रद्धा अरुमा दृढ गरिदिए त्यो श्रद्धा अर्को कुनै व्यक्तिले मेटाउन नै सक्तैन । नभए उसको पतन भइ नै रहन्छ । यसको समाधान, म उनीहरुको श्रद्धा उनीहरुका देवताहरुप्रति नै दृढ गरिदिन्छु, अरुप्रति होइन -- यस्तो कुरो होइन । म त उनीहरुको इच्छा अनुसार नै उनीहरुको श्रद्धा दृढ गरिदिन्छु र आफ्नो इच्छा वदल्न मनुष्य स्वतन्त्र छ, योग्य छ । इच्छा वदल्न उनीहरु परवश, निर्वल र अयोग्य छैनन् । आफ्नो इच्छा वदल्न उनीहरु परवश हुनेभए मनुष्यजन्मको महिमा नै कहाँ रह्यो ? र  इच्छा (कामना)को त्याग गर्ने आज्ञा पनि म कसरी दिन सक्थें ?

प्राय: मनुष्य अरु मनुष्यहरूलाई आफूतिर लगाउन चाहन्छन् आफ्नो शिष्य या दास वनाउन चाहन्छन्, आफ्नो सम्प्रदायमा अरुलाई ल्याउन चाहन्छन्, आफूमा श्रद्धा गराउन चाहन्छन्, आफ्नो पूजन, आदर, मन-सम्मान गराउन चाहन्छन्, आफ्नो कुरो अरुलाई मनाउन चाहन्छन् । परन्तु भगवान आफू सर्वोपरि हुँदा हुँदै पनि कसैलाई आफ्नो अधीन वनाउनुहुन्न, तर जो जहाँ श्रद्धा राख्छ, उसको श्रद्धा त्यहीँ दृढ गरिदिनुहुन्छ -- यो भगवानको कति ठूलो उदारता छ. निष्पक्षता छ । 

भगवानको दृष्टिमा सबै उहाँको नै स्वरूप हो -- 'मत्तः परतरं नान्यत्किञ्चिदस्ति' । यसैले भगवानमा कसैप्रति अलिकति पनि पक्षपात छैन । परन्तु भगवानको यस्तो पक्षपातरहित स्वभाव सजिलै समझमा आउँदैन, तर गहिरोसँग विचार गरे समझमा आउँछ । यदि यो स्वभाव कसैको समझमा आयो भने ऊ भगवानको भक्त हुनेछ -- 'स सर्वविद्भजति मां सर्वभावेन भारत ।' 

अरुलाई आफ्नो दास वनाउने व्यक्तिमा कुनै न कुनै कमी हुन्छ । भगवानमा कुनै कमी नै छैन, यसैले उहाँ आफ्नो तर्फवाट कसैलाई दास (अधीन) कसरी वनाउन सक्नुहुन्छ ? परन्तु कोही उहाँको दास वन्न चाहन्छ भने उहाँ मनाही गर्नुहुन्न । र दयापूर्वक त्यो व्यक्तिलाई आफ्नो दास स्वीकार गर्नुहुन्छ । यो उहाँको विशेष उदारता हो । आफ्नो दास वन्नेसँग भगवान चांडै खुशी हुनुहुन्छ ।  गीताको अठारौँ अध्यायमा भगवानले 'यथेच्छसि तथा कुरू' भन्ने सुनेर अर्जुन डराए, त्यही वेला भगवानले अर्जुनलाई भन्नुभयो, 'मामेकं शरणम् व्रज', परन्तु यसो भन्नु भन्दा पहिले भगवानले भन्नुभयो, यो सबै भन्दा गोपनीय कुरो छ र पछि पनि भन्नुभयो, यो कुरो सबैलाई नभन्नु । यसवाट सिद्ध हुन्छ, अरुलाई आफ्नो दास वनाउने नीयत नहुँदा पनि यदि अर्को कुनै सहारा नपाएर मनुष्य डरायो र उहाँको दास वन्न चाह्यो भने भगवान दयापरवश भएर उसलाई स्वीकार गर्नुहुन्छ । तात्पर्य, कुनै देवतालाई श्रद्धा गर्ने भक्तको श्रद्धा त्यही देवतामा दृढ गरिदिनु हुन्छ र  भगवानमा श्रद्धा गर्नेलाई उसको श्रद्धा भगवान आफैंमा दृढ गरिदिनु हुन्छ -- यसमा सन्देह नै के रह्यो र ! कारण, भगवानको दृष्टि भगवानको हितकोलागि हुन्छ, आफ्नो स्वार्थकोलागि होइन ।