Saturday, 31 May 2014

86. No. 59 श्लोक ७० जस्तो सम्पूर्ण नदीहरुको जल चारैतिरवाट जलले परिपूर्ण समुद्रमा आएर मिल्छन्, तर समुद्र

No. 59
श्लोक ७०
जस्तो सम्पूर्ण नदीहरुको जल चारैतिरवाट जलले परिपूर्ण समुद्रमा आएर मिल्छन्, तर समुद्र आफ्नो मर्यादामा अचल स्थित रहन्छ, त्यस्तै सम्पूर्ण भोग-पदार्थहरु संयमी मनुष्यलाई कुनै विकार उत्पन्न नगरी प्राप्त हुन्छन् । त्यस्तो संयमी मनुष्य परमशान्ति प्राप्त गर्छ ।
वर्षा कालमा नदीहरुमा धेरै पानी हुन्छ, कति नदीहरुमा त वाढी नै आउँछ, तर जव त्यो जल चारैतिरवाट आएका जलद्वारा परिपूर्ण समुद्रमा आएर मिल्छ, त्यो वेला समुद्र वढ़दैन, आफ्नै मर्यादामा रहन्छ । तर गर्मीमा नदीहरुको र खोलानालाको पानी सुके पनि समुद्र घट्दैन । तात्पर्य, नदि र खोलाहरुको जल धेरै आउँदा अथवा कम आउँदा अथवा नआउँदा तथा वडवानल (जलमा पैदा हुने अग्नि) र सूर्य द्वारा जलको शोषण हुँदा समुद्रमा कुनै फरक पर्दैन, समुद्र वढ्ने घट्ने गर्दैन । उसलाई नदी अथवा खोलानालाहरुको जलको त्यति अपेक्षा रहँदैन । समुद्र सदा-सर्वदा जस्ता-को-तस्तो परिपूर्ण रहन्छ र आफ्नो मर्यादाको त्याग कहिले पनि गर्दैन ।        
यसै गरी यो संसारका सम्पूर्ण भोग परमात्म तत्व जान्ने संयमी मनुष्यलाई प्राप्त हुन्छन्, उसको अगाडि आउँछन्, तर ती भोगहरु उसका 'भनिने' शरीर र अन्तःकरणमा सुख-दुःख आदि विकार गराउन सक्तैनन् । अतः उसले परम शान्ति पाउँछ । उसले पाएको शान्ति संसारको पदार्थको कारणले नभएर परमात्म तत्वको कारणले भएको शान्ति हो ।
स्थितप्रज्ञ वसेको तत्व चेतन हो, नित्य हो, सत्य हो, असीम हो, अनन्त हो र सांसारिक भोग पदार्थ जड हुन्, अनित्य हुन्, असत् हुन्, सीमित हुन्, अन्त हुने स्वभावका हुन् ।
मनमा भोग पदार्थको कामना हुने, पदार्थहरुलाई महत्व दिने व्यक्तिलाई जति नै भोग पदार्थ मिले पनि तृप्ति हुँदैन, उनीहरुको शोक, सन्ताप, कामना, जलन मेटिन सक्तैन । त्यस्ता व्यक्तिलाई कसरी शान्ति मिल्न सक्छ र ? किनकि चेतन स्वरूपको तृप्ति जड पदार्थवाट पाउन सकिंदैन ।
कामनाले गर्दा नै यो संसार जड देखिन्छ, वास्तवमा यो संसार चिन्मय परमात्मा नै हो । जव व्यक्ति कामनारहित हुन्छ, त्यो वेला ऊसँग सबै वस्तु प्रसन्न हुन्छन् । यही कारण त्यो निष्काम व्यक्तिकहाँ आवश्यक वस्तुहरु आफैं आउन थाल्छन् । ऊकहाँ आएर सफल हुन वस्तुहरु लालयित हुन्छन् । तर स्थितप्रज्ञ पुरुषमा  कामना नरहेको कारण वस्तुहरु पाइए पनि ऊभित्र कुनै विकार (हर्ष आदि) उत्पन्न हुँदैन । उसको दृष्टिमा वस्तुहरुको कुनै महत्व छँदै छैन । तर, कामना भएका व्यक्तिहरुलाई वस्तुहरु प्राप्त हुन् अथवा नहुन्, उनीहरु भित्र सदा अशान्ति वनिरहन्छ ।      

85. No. 58 श्लोक ६९ सम्पूर्ण प्राणीहरुको रात (परमात्मासंगको विमुखता)मा संयमी मनुष्य जागा रहन्छ, विउंझन्छ ।

No. 58
श्लोक ६९
सम्पूर्ण प्राणीहरुको रात (परमात्मासंगको विमुखता)मा संयमी मनुष्य जागा रहन्छ, विउंझन्छ । जसमा सबै प्राणीहरु विउंझंछन्, भोग विलास र  संग्रहमा लागिरहन्छन्, त्यो तत्व जान्ने मुनिको दृष्टिमा रात हो ।   

इन्द्रियहरु वशमा नभएका, भोगमा आसक्त व्यक्तिहरु परमात्म तत्व तर्फवाट सुतेका जस्ता छन् । परमात्मा के हो ? तत्वज्ञान के हो ? हामी किन  दुःख पाइरहेका छौं ? सन्ताप-जलन किन भइरहेछ ? हामीले गरिरहेका कर्मको परिणाम के होला ? भन्ने तिर वास्ता नै हुँदैन उनीहरुलाई । उनीहरुकोलागि परमात्मतत्व विल्कुल अंध्यारो हुन्छ ।

यहाँ यो श्लोकमा खालि खाने, लुगा लगाउने, वच्चा जन्माउने, सुख-आराम मात्र  खोज्ने तर परमात्मतत्वदेखि विमुख हुने   मनुष्यलाई पशुसँग गणना गरिएको छ । किनकि पशु र यस्ता मनुष्य परमात्मतत्वदेखि सुतेका छन्, विमुख छन् । पशुमा त विवेकदृष्टि मनुष्यको भन्दा धेरै सीमित छ, त्यसैले  उनीहरु खान पिउनमा नै लागिरहन्छन्, तर, मनुष्यमा भगवानले प्रदान गर्नु भएको विवेकशक्ति जाग्रत छ, जुन विवेक्शक्तिवाट ऊ आफ्नो कल्याण गर्न सक्छ, सम्पूर्ण प्राणीको सेवा  गर्नसक्छ, परमात्मा प्राप्त गर्न सक्छ । तर यति महत्वपूर्ण विवेकशक्तिको दुरुपयोग गरेर मनुष्य पदार्थहरुको संग्रह र तिनीहरुको भोग गर्नमा नै लाग्छ । यसो हुँदा उसको जीवन पशुको भन्दा पनि दुःखदायी भइदिन्छ । किनकि पशु-पक्षी त आफूलाई जतिले पेट भरिन्छ, त्यति मात्रै खान्छन्,    संग्रह गर्दैनन्, तर मनुष्य जहाँ कहिं पनि कुनै चीज पाइयो भने, उसलाई ती चीज चाहिए पनि, नचाहिए पनि वटुलिहाल्छ र अरुलाई त्यो चीज काम लाग्ने भए पनि ती चीजको उपयोग गर्न दिंदैन ।      
परमात्मा तर्फको विमुखता, आफ्नो कल्याण तर्फको विमुखता भोगी मनुश्यहरुको रात हो, परमात्मा तर्फको, कल्याण तर्फको सम्मुखता संयमीहरुको दिन हो । यही दिनमा संयमी मनुष्य जागा रहन्छ । इन्द्रिय र मनलाई संयममा राख्ने, भोग र संग्रहमा आसक्त नहुने, खालि आफ्नो ध्येय परमात्मामा राख्ने मनुष्यलाई संयमी भन्छ गीता । परमात्मतत्वलाई, आफ्नो स्वरूपलाई र संसारलाई जस्ता-को-तस्तो जान्नु नै साधारण मनुष्यको रात र संयमीको दिन हुन्छ । त्यही दिनमा नै संयमी जागा रहन्छ ।
भोग र संग्रहमा नै सावधान रहने, एक-एक पैसाको हिसाव राख्ने, जमीनको एक-एक इन्चको याद राख्ने, न्यायपूर्वक अथवा अन्यायपूर्वक जति रुपियाँ आफ्नो अधिकारमा आउँछ, त्यसैमा खुशी हुने, अहिले 'यति जम्मा गरें, पछि अरु जम्मा गर्छु' भन्ने अभिलाषा राख्ने, यो संसारको क्षणभंगूर भोगहरु नै वटुल्न लागिरहने अज्ञानी व्यक्तिहरुको जाग्नु हो, जुन जाग्नु ज्ञानीहरुको रात हो ।
जुन सांसारिक पदार्थहरुको भोग र संग्रह गर्न मनुष्य आफूलाई वडो बुद्धिमान, चतुर मान्छन्, त्यसैमा खुशी हुन्छन्, संसार र परमात्मतत्वलाई जान्ने मननशील संयमी मनुष्यको दृष्टिमा ती सबै रात समान हुन्, विल्कुल अंध्यारो हो ।
भोग र संग्रहमा लागेका मनुष्य भोगहरुकोलागि लडाई-झगडा, झूठ-कपट वेइमानी आदि गर्छन् र ती भोगहरुलाई पाएर खुशी हुन्छन् । तर संसारलाई र परमात्मालाई जान्ने मननशील संयमी मनुष्यलाइ स्पष्ट छ कि जति नै भोग मिलोस्, जति नै आदर-सत्कार मिलोस्, जति नै सुख-आराम मिलोस्, जति नै खाइयोस्, पिइयोस्, जति नै सिंगार पटार गरियोस्, त्यसवाट के भयो र के हुन्छ ? यसवाट मनुष्यलाई के मिल्छ ? यी सबै मनुष्य कहिलेसम्म यी भोगहरुलाई साथमा राख्न सक्छन् ? यी भोगहरुवाट हुने वृत्ति कति दिनसम्म अडछन् ? यस्तो किसिमले सामान्य प्राणीहरुको विउंझनु त्यो संयमी मनुष्यको रातको समान हो ।
त्यो संयमी मननशील मनुष्य परमात्मालाई, आफ्नो स्वरूपलाई र संसारको परिणामको वारेमा त जानी नै हाल्छ, साथै ऊ पदार्थलाई पनि राम्रोसंग जान्दछ कि कुन चाहिं पदार्थ कसको हितमा  लाग्न सक्छ, यसवाट अरुलाई कति लाभ हुन्छ । ऊ पदार्थहरुलाई आफ्नो-आफ्नो ठाउँमा ठिक तरहले सदुपयोग गर्छ । ती पदार्थहरुलाई अरुको सेवामा लगाउँछ । सारा इन्द्रिय र अन्तःकरण द्वारा संसार देखिंदा पनि मननशील संयमी मनुष्यको बुद्धिमा यो निश्चय अटल रहन्छ कि वास्तवमा संसार छँदै छैन, केवल प्रतीति हो ।
 संसारिक मनुष्य रात-दिन भोग र  संग्रहमा नै लागिरहन्छन्, तिनैलाई महत्ता दिन्छन्, सांसारिक कामहरुमा वडो सावधान र निपुण हुन्छन्, किसिम  किसिमका कलाहरु सिक्छन्, किसिम किसिमका आविष्कारहरु गर्छन्, लौकिक वस्तुहरुको प्राप्तिमा आफ्नो उन्नति मान्छन्  सांसारिक वस्तुहरुको ठूलो महिमा गाउँछन्, सँधै जीवित रहेर सुख भोग्नकोलागि ठूला ठूला तपस्या गर्छन्, देवताहरुको उपासना गर्छन्, मन्त्र आदि जप गर्छन् । तर तत्वज्ञ, जीवन्मुक्त महापुरुष तथा साँचो साधकको दृष्टिमा त्यो विल्कुल रात हो, अन्धकार हो, त्यसको अलिकति पनि महत्व छैन । कारण कि उनको दृष्टिमा ब्रह्मलोकसम्म सम्पूर्ण संसार विद्यमान नै छैन । संसारिक व्यक्तिहरु यही संसारमा नै भिजिरहेका हुन्छन्, जे छ यही संसारमा छ भन्ने मानिरहेका हुन्छन् । पारामार्थिक विषयमा उनीहरुको बुद्धि नै जाँदैन । परन्तु पारमार्थिक साधक पारमार्थिक विषय सँगसँगै संसार पनि जान्दछ । संसारी मनुष्यहरु खालि रात मात्रै देख्छन्, दिन देख्दै देख्दैनन्, तर योगी दिन पनि देख्छ र रात पनि -- संसारी मनुष्य र संयमी मनुष्यमा हुने फरक यही हो ।  यो त नियम नै हो, संसारमा लागेको मनुष्य संसारलाई जान्न सक्तैन । संसारदेखि छुट्टै वसेर नै ऊ संसारलाई जान्न सक्छ; किनकि वास्तवमा मनुष्य संसारदेखि छुट्टै छ । यस्तै प्रकारले परमात्मासँग एक भएर नै मनुष्य परमात्मालाई जान्न सक्छ; किनकि  वास्तवमा ऊ परमात्मासँग एक छ ।  

84. No. 57 श्लोक ६७ श्लोक ६८ माथिकै श्लोकलाई पुष्टि गर्दै यो श्लोक भन्छ, किनकि आफ्ना आफ्ना विषयमा डुलिरहेका

श्लोक ६७
माथिकै श्लोकलाई पुष्टि गर्दै यो श्लोक भन्छ, किनकि आफ्ना आफ्ना विषयमा डुलिरहेका इन्द्रियहरु मध्ये एउटा मात्र इन्द्रियले पनि मनलाई आफ्नो अनुगामी वनाइदिन्छ । यस्तो अवस्थामा  मन एक्लो भइदिन्छ । यस्तो मनले व्यक्तिको बुद्धिलाई पनि हरिदिन्छ । यो प्रसंगमा डुंगा र वायु (हावा)को राम्रो दृष्टान्त दिइएको छ ।

हाम्रो यो मनुष्य शरीर केवल परमात्मा प्राप्तिकोलागि नै पाइएको हो । त्यसैले, 'मलाई त केवल परमात्मप्राप्ति नै गर्नु छ' भन्ने ध्येय दृढ हुनुपर्छ हाम्रो । ध्येय दृढ हुँदा साधकलाई भोगहरुको महत्व हट्छ । महत्व हटेपछि हाम्रो व्यवसायात्मिका बुद्धि दृढ हुन्छ । यो  व्यवसायात्मिका बुद्धि दृढ नहुन्जेल साधकको कस्तो दशा हुन्छ भन्ने वर्णन छ यो श्लोकमा ।

साधकले उसको कार्यक्षेत्रमा व्यवहार गर्दा उसको अगाडि इन्द्रियहरुले ग्रहण गर्ने विभिन्न विषयहरु आउँछन् । ती विषयहरुमध्ये जुन इन्द्रियलाई आफ्नो विषयमा राग हुन्छ, त्यही इन्द्रियले  मनलाई आफ्नो अनुगामी वनाउँछ, त्यो इन्द्रियले मनलाई जित्छ । त्यसपछि मन त्यो विषयको सुखभोग गर्न थाल्छ अर्थात् मनमा ती ती वस्तुप्रति सुखबुद्धि, भोगबुद्धिको अनुभव हुन्छ, मनमा त्यो विषयको रंग चढ्छ, त्यसको महत्व वस्छ । जस्तो हामीले कुनै खाना खाँदा त्यो  पदार्थको स्वादले  हाम्रो रसना (जिव्रो) त्यसमा आसक्त हुन्छ । आसक्त भएको जिव्रोले मनलाई पनि खिंचछ । त्यसपछि मन त्यो स्वादमा रमाउँछ, खुशी हुन्छ ।

मनमा कुनै पनि विषयको महत्व वसेपछि त्यो एक्लो मन नै साधकको बुद्धिलाई हरिदिन्छ । त्यो वेला साधकमा कर्तव्य-परायणता नरहेर भोगबुद्धिको विकास हुन्छ । त्यही भोगबुद्धिले साधकमा 'म त परमात्मा प्राप्त गर्ने हो' भन्ने व्यवसायात्मिका बुद्धि रहँदैन । अहिले हामीले गरिरहेको यस्तो विवेचनमा समय लागेको जस्तो लाग्छ हामीलाई । तर हामीवाट सम्झना रहनु पर्ने कुरा,साधकको अगाडि विषय आउनु, उसका इन्द्रिय कुनै विषयमा आकर्षण हुनु, त्यसमा रसबुद्धि हुनु, त्यो विशेष इन्द्रियले मनलाई आफूतिर आकृष्ट गर्नु, मन आकृष्ट भएपछि त्यो विषयको भोग गर्नु आदि आदि प्रक्रियाहरु हुन केही समय लाग्ला जस्तो लाग्छ हामीलाई । तर शास्त्र भन्छ, यी सबै प्रक्रियाहरु हुन एक सेकेन्ड पनि लाग्दैन अर्थात्, हाम्रो पतन हुन एक सेकेन्ड पनि लाग्दैन ।

यो बुद्धि कसरी हरिन्छ भन्ने प्रश्नमा, यो कुरालाई दृष्टान्तद्वारा बुझाइएको छ, जस्तो पानीमा चलिरहेको डुंगालाई हावाले विपरीत दिशातिर लैजान्छ, त्यसै गरी हाम्रो मनले बुद्धिलाई विपरीत दिशातिर, आफ्नो ध्येयदेखि उल्टो दिशातिर लगिदिन्छ । अझ पनि हामी आफूलाई यसरी स्पष्ट गरौँ, जव हामी व्यवसायात्मिका बुद्धिरूपी डुंगामा वसेर संसार-सागररूपी डुंगा पार गर्दै परमात्मातिर लाग्छौं, त्यो वेला एउटा मात्रै इन्द्रियले पनि हाम्रो मनलाई अनुगामी वनाइदिन्छ र त्यो एक्लो मनले नै हाम्रो बुद्धिरूपी डुंगालाई हर्छ अर्थात् संसारतर्फ लगिदिन्छ । यसवाट हाम्रों विषयहरुमा सुखबुद्धि र ती विषयहरुका उपयोगी पदार्थहरुमा महत्वबुद्धि हुन्छ ।  

हावाले डुंगालाई दुई तरिकाले विचलित गर्छ -- डुंगालाई पथभ्रष्ट गरिदिन्छ अथवा जलमा डुवाइदिन्छ ।   त्यस्तै इन्द्रियको अनुगामी भएको मन बुद्धिलाई दुई तरिकाले विचलित गर्छ -- परमात्मप्राप्तिको निश्चय दवाएर भोगबुद्धि जगाइदिन्छ अथवा निषिद्ध भोगहरुमा लगाएर पतन गरिदिन्छ । परन्तु मन र बुद्धि वशमा भएको साधकको बुद्धिलाइ मन  विचलित गर्न सक्तैन ।  यस्तो साधकलाई मन अनुगामी भएको बुद्धि परमात्मा प्राप्त गर्न सहायता गर्छ । जवसम्म कुनै इन्द्रियसँग मन रहँदैन, तवसम्म इन्द्रियलाई आफ्नो  विषयको ज्ञान पनि हुँदैन । श्रीमदभागवतमा दत्तात्रेय  भन्नुहुन्छ,जसको चित्त आत्मामा नै निरुद्ध हुन्छ, उसलाई वाहिर-भित्र  कुनै पदार्थको भान हुँदैन । तात्पर्य, मनसँगै रहँदा नै इन्द्रियलाई आफ्नो विषयको ज्ञान हुन्छ ।
श्लोक ६८
यही कारण हे महाबाहो ! जुन मनुष्यका इन्द्रियहरु वशमा गरिएका इन्द्रियहरुको विषयवाट सर्वथा वशमा गरिएका हुन्छन्, उसको बुद्धि स्थिर हुन्छ ।
यहाँ भनिएको, मन र इन्द्रियदेखि नै संसारको आकर्षण नभएको व्यक्तिको बुद्धि प्रतिष्ठित हुन्छ ।
संसारमा व्यवहार गर्दा गर्दै अथवा एकान्तमा चिन्तन गर्दा गर्दै, कुनै पनि अवस्थामा त्यो स्थितप्रज्ञको बुद्धि भोगहरुमा, विषयहरुमा प्रवृत्त हुँदैन । व्यवहारकालमा उसको सम्पर्कमा जति नै विषय आए पनि ती विषयले उसलाई विचलित गर्न सक्तैनन् । उसको मन पनि इन्द्रियहरुसँग मिलेर उसलाई विचलित गर्न सक्तैन । जस्तो पहाडलाई कसैले हल्लाउन सक्तैन, त्यस्तै स्थितप्रज्ञको बुद्धिमा यति दृढता आउँछ कि उसलाई मन कुनै पनि अवस्थामा हल्लाउन सक्तैन । कारण कि त्यो मुनिको मनमा विषयहरुको महत्व नै रहेन । उसका इन्द्रियहरु विषयहरुवाट यति  राम्ररी वशमा गरिएका हुन्छन् कि उसलाई विषयहरुमा लेश मात्र पनि राग, आसक्ति, खिंचाव रहँदैन । अर्को शब्दमा, इन्द्रियहरुलाई राग-द्वेषदेखि रहित गर्नु नै महत्वपूर्ण भयो हामी जस्तो साधककोलागि ।
यो श्लोकको आशय, साधकले दृढताले यस्तो निश्चय गर्ने, 'मेरो लक्ष्य परमात्माको प्राप्ति गर्ने हो भोग भोग्ने र संग्रह गर्ने मेरो लक्ष्य होइन ' । यस्तो सावधानी निरन्तर रहने साधकको बुद्धि स्थिर हुन्छ ।          

83. No. 56 श्लोक ६६ मन र इन्द्रियहरु समाहित नभएका व्यक्तिहरुको बुद्धि व्यवसायात्मिका हुँदैन र व्यवसायात्मिका बुद्धि नहुँदा

No. 56
श्लोक ६६

मन र इन्द्रियहरु समाहित नभएका व्यक्तिहरुको बुद्धि व्यवसायात्मिका हुँदैन र व्यवसायात्मिका बुद्धि नहुँदा त्यस्ता अयुक्त मनुष्यहरुमा निष्काम भाव अथवा कर्तव्यपरायणताको भाव  हुँदैन । निष्कामभाव नहुँदा उसलाई शान्ति मिल्दैन । त्यस्तो शान्तिरहित मनुष्यलाई सुख कसरी मिल्न सक्छ र ?
अहिलेको विषय कर्मयोग भएकोले यो साधनमा मन र इन्द्रियहरु संयम हुनु जरूरी छ । विवेकपूर्वक संयम नगरी कामना नष्ट हुँदैन । कामना नष्ट नभई बुद्धि स्थिर हुँदैन । यही हुनाले कर्मयोगी साधकले सब भन्दा पहिले मन र इन्द्रियहरुको संयम गर्नुपर्छ ।
तर यो श्लोकले मन र इन्द्रियहरु संयमित नभएका साधकहरुको वर्णन गर्छ ।

मन र इन्द्रियहरु संयमित नभएका अयुक्त व्यक्तिहरुलाई 'मलाई त खालि परमात्मा प्राप्त गर्नु छ' भन्ने निश्चयात्मिका बुद्धि हुँदैन । संयमित नभएको मनले सांसारिक भोगहरु  र संग्रहहरुमा नै लागिरहन्छ । त्यो मनले कहिले मान चाहन्छ, कहिले सुख-आराम चाहन्छ, कहिले धन चाहन्छ, कहिले भोग चाहन्छ । यस्तो प्रकारले अयुक्त व्यक्तिको मनमा अनेक तरहका कामनाहरु भइरहन्छन् । यही कारणले नै उसको बुद्धि परमात्मप्राप्तिकोलागि दृढ हुन सक्तैन ।
फेरि, अयुक्त व्यक्तिको बुद्धि व्यवसायात्मिका पनि हुन सक्तैन । व्यवसायात्मिका बुद्धि भएको व्यक्तिलाई 'मलाइ त केवल आफ्नो कर्तव्य पालन गर्नु छ र फलको इच्छा, कामना, आसक्ति आदिको त्याग गर्नु छ' भन्ने भावना हुन्छ । तर अयुक्त व्यक्तिलाई यस्तो किसिमको भावना पनि हुँदैन । यस्तो भावना नहुनुको एक मात्र कारण हो -- आफ्नो ध्येय स्थिर नहुनु ।
आफ्नो कर्तव्यको  पालना नगर्ने व्यक्तिलाई शान्ति मिल्दैन । आफ्नो कर्तव्य-परायण नहुने व्यक्तिलाई शान्ति मिल्न सक्तैन । आफ्नो कर्तव्य-पालनमा दृढता नहुनाले नै अशान्ति हुन्छ ।
अशान्तलाई कसरी सुख हुन्छ र ? किनकि अशान्त व्यक्तिको मनमा हरदम हलचल  भइरहन्छ । वाहिरवाट जति नै अनुकूल भोग आदि मिले पनि उसको हृदयको हलचल मेटिन सक्तैन अर्थात् त्यस्तो व्यक्ति सुखी हुन सक्तैन ।

82. No. 55 श्लोक ६४, ६५ परन्तु अन्तःकरण वशीभूत भएको कर्मयोगी साधक राग-द्वेषदेखि रहित हुन्छ ।

No. 55 
 
श्लोक ६४, ६५ 
 
परन्तु अन्तःकरण वशीभूत भएको कर्मयोगी साधक राग-द्वेषदेखि रहित हुन्छ । उसले आफ्नो वशमा भएका इन्द्रियहरुद्वारा विषयहरुको सेवन गरिरहँदा पनि उसको अन्तःकरण निर्लिप्त नै रहन्छ ।  अन्तःकरण निर्लिप्त भएपछि साधकको सम्पूर्ण दुःखहरुको नाश हुन्छ । यस्तो शुद्ध चित्त भएको साधकको बुद्धि निःसन्देह वहुत छिट्टै परमात्मामा स्थिर हुन्छ ।

आसक्ति नभए विषयहरुको सेवन गर्दा पनि उन्नति हुन्छ । साधकको अन्तःकरण आफ्नो वशमा रहनुपर्छ । हुन त सबै साधनामा अन्तःकरणलाई वशमा गर्नु आवश्यक हुन्छ, भए पनि कर्मयोगमा यसको वढी आवश्यकता छ । गीता अनुसार अन्तःकरण वशमा नगरी कर्मयोगी सिद्ध हुन सक्तैन ।

तात्पर्य, व्यवहार गर्दा इन्द्रियहरु हाम्रो वशमा हुनुपर्छ र इन्द्रियहरु हाम्रो वशमा रहन यिनीहरु राग-द्वेष रहित हुनु जरूरी छ । अर्को शब्दमा, इन्द्रियहरुवाट हुने विषय ग्रहण रागपूर्वक नहोस् र त्याग पनि द्वेशपूर्वक नहोस् । विषयको ग्रहण र त्याग भन्दा पनि धेरै खरावी  यिनीहरुको सेवन गर्दा हुने राग-द्वेष नै हो ।

अन्तःकरण शुद्ध भएको, इन्द्रियहरु राग-द्वेषले रहित भएका र आफ्नो वशमा भएका साधकले विषयहरु सेवन गर्दा, सबै प्रकारका व्यवहार गर्दा पनि विषयको भोग गर्दैन । भोगबुद्धिले गरिएका विषय-सेवन नै पतनको कारण हो । यही प्रसंगमा भोग बुद्धिको निषेध गर्छ गीता ।

राग-द्वेष रहित भएर विषयको सेवन गरेपछि साधक अन्तःकरणको प्रसन्नता प्राप्त गर्छ । यो प्रसन्नतालाई मानसिक तप भनिएको छ गीतामै । मानसिक तप शारीरिक र वाचिक तप  भन्दा धेरै उत्तम छ । राग-द्वेषवाट नै संसारसंग सम्बन्ध जोडिने हो, राग-द्वेष नभएपछि संसारसँगको सम्बन्ध तोडिन्छ र परमात्माको प्राप्ति हुन्छ ।

अर्को कुरा, राग-द्वेषसँग सम्बन्ध टुटेपछि हुने प्रसन्नतामा पनि साधकले भोग गर्नु हुन्न, आनन्द लिनु हुन्न । त्यस्तो आनन्द नलिएपछि मात्रै त्यो प्रसन्नताले परमात्माको प्राप्ति गराइदिन्छ । आशय, प्रसन्नतावाट दुई कुरा हुन्छन् -- संसारसँग सम्बन्ध-विच्छेद र परमात्मामा बुद्धिको स्थिरता ।

यहाँ यसो पनि भन्न खोजिएको होइन, स्थितप्रज्ञलाई सुखदायी-दुःखदायी परिस्थिति नै आउँदैनन् । उसलाई पनि अरुलाई जस्तै सुख-दुःख आइपर्छन्, तर उसको अन्तःकरणमा दुःख, सन्ताप, हलचल र विकृति हुन सक्तैन ।
   

चित्तमा प्रसन्नता भएपछि सम्पूर्ण दुःखहरुको नाश हुन्छ अर्थात् कुनै दुःख वांकी रहँदैन । किनभने हाम्रो चित्त खिन्न हुने राग-द्वेषले नै हो । खिन्नता हुने वित्तिकै कामना पैदा हुन्छ र कामनावाट सारा दुःख-सुख उब्जन्छन् । राग-द्वेष मेटिएपछि कसरी कामना निस्कने, कामना नै नभएपछि कसरी प्रसन्नता नहुने ?

हामीलाई भान हुने सबै दुःख प्रकृति र प्रकृतिका कार्य शरीर-संसारको सम्बन्धवाट नै हुने र शरीर र संसारसँग सम्बन्ध हुन्छ सुखको लिप्साले । सुखको लिप्सा हुन्छ हाम्रो चित्तको खिन्नतावाट । प्रसन्नता भएपछि खिन्नता मेटिइहाल्छ । खिन्नता मेटिएपछि सुखको लिप्सा रहँदैन । सुखको लिप्सा नरहेपछि शरीर-संसारसँग सम्बन्ध रहँदैन, सम्बन्ध नरहेपछि सम्पूर्ण दुःखको अभाव भइहाल्छ ।   
 
 यही सन्दर्भमा, भगवदविषयक प्रसन्नता होस् या व्याकुलता -- यी दुई मध्ये एक मात्र भए पनि अथवा वृद्धि भएपनि त्यो प्रसन्नता अथवा व्याकुलताले साधकलाई छिट्टै परमात्मा प्राप्ति गराइदिन्छ । जस्तो, भगवानकहाँ जाँदै गरेका गोपीहरुलाई उनीहरुका माता-पिता, आदिले रोक लगाउँदा ती गोपीहरुलाई भगवानको दर्शन गर्ने व्याकुलताले उनीहरुको राजोगुण-तमोगुण नष्ट भयो, साथै भगवानको चिन्तन गर्दा उनीहरुको सत्वगुण पनि नष्ट भयो । गुणको संगवाट रहित भएपछि उनीहरु शरीर त्यहीं, घरमै छोडेर अरु भन्दा पनि पहिले भगवानकहाँ पुगे ।

सांसारिक विषयहरुलाई लिएर हुने प्रसन्नता र खिन्नतावाट भोगका संस्कार दृढ हुन्छन् अर्थात् संसारको बन्धन दृढ हुन्छ । यसको उदाहरण त हामी जस्ता सामान्य प्राणी नै छौं नि !
प्रसन्नता र व्याकुलतामा (खिन्नता) अन्तःकरण द्रवित हुन्छ । द्रवित भएको अन्तःकरणमा भगवतसम्बन्धी अथवा संसारिक -- जुन भाव आए पनि ती भाव स्थायी हुन्छन् । ती स्थायी  भावहरुले हाम्रो  उत्थान पनि गर्छन्, पतन पनि गर्छन् । यसैले, साधकले गर्नु पर्ने, संसारको प्यारो भन्दा प्यारो वस्तु मिल्दा पनि प्रसन्न नहुने र अप्रिय भन्दा अप्रिय वस्तु मिल्दा पनि दिक्क नहुने ।

 भोगको र योगको दुई बिभाग छन् । राग-द्वेष युक्त 'भोगी' मनुष्यले विषयको चिन्तन गर्दा पनि उसको पतन हुन्छ । तर राग-द्वेष रहित 'योगी' मनुष्यले विषयको सेवन नै गरे पनि उसको पतन हुँदैन । उसलाई त झन् परमात्मा प्राप्त हुन्छ ।

राग-द्वेष रहित मनुष्यको विषय-सेवन भोगबुद्धिले हुँदैन, अथवा ऊवाट भोगजन्य सुख (रस) को सेवन हुँदैन, किनकि भोगजन्य सुखको रस लिने ध्येय उसको हुँदैन । राग-द्वेष रहित योगी विषयको भोग त्याग गरेर भोग्छ । यसो गर्दा उसको अन्तःकरण निर्मल हुन्छ । त्यागपूर्वकको भोग वास्तवमा भोग नै होइन । अरुको दृष्टिमा ऊवाट भोगको आचरण देखिए पनि उसले गरेको भोग भोग नभएर योग हुन्छ ।

राग-द्वेषदेखि रहित भएपछि 'प्रसाद' पाइन्छ । हरदम प्रसन्नता रहोस्, कहिले पनि खिन्नता न आओस्, नीरसता न आओस् -- यो प्रसाद हो । यो प्रसादको प्राप्तिमा पनि सन्तोष नगरे, यसको उपभोग नगरे धेरै छिटो परमात्माको प्राप्ति हुन्छ ।          

81. No. 54 श्लोक ६२, ६३ विषयको चिन्तन गर्ने मनुष्यलाई ती विषयहरुमा आसक्ति पैदा हुन्छ, आसक्तिवाट कामना पैदा हुन्छ ।

No. 54 
श्लोक ६२, ६३  
विषयको चिन्तन गर्ने मनुष्यलाई ती विषयहरुमा आसक्ति पैदा हुन्छ, आसक्तिवाट कामना पैदा हुन्छ । कामनामा वाधा पर्यो भने क्रोध पैदा हुन्छ । क्रोध हुँदा सम्मोह (मूढ भाव) हुन्छ । सम्मोहवाट स्मृति भ्रष्ट हुन्छ । स्मृति भ्रष्ट हुँदा बुद्धि (विवेक) नाश हुन्छ,बुद्धिको नाश भएपछि मनुष्यको पतन हुन्छ ।
भगवान परायण नहुँदा, भगवानको चिन्तन नहुँदा विषयको चिन्तन हुन्छ । कारण, जीवको एकातिर परमात्मा हुनुहुन्छ, अर्कोतिर संसार छ । जीवले परमात्माको आश्रय छोडेपछि ऊ संसारको आश्रय लिन्छ र संसारको नै चिन्तन गर्छ । किनकि संसार वाहेक उसकोलागि चिन्तनको अर्को विषय नै हुँदैन । यसरी चिन्तन गर्दा गर्दा व्यक्तिको त्यो विषयमा आसक्ति हुन्छ, राग, प्रियता पैदा हुन्छ । आसक्ति पैदा भएपछि व्यक्ति त्यो विषय प्रयोग गर्न थाल्छ । विषयको भोगवाट हुने सुखवाट, चाहे त्यो  मानसिक होस् अथवा शारीरिक, विषयहरुमा प्रियता पैदा हुन्छ । प्रियतावाट त्यो विषयको वारम्वार चिन्तन हुन थाल्छ । त्यसपछि त्यो व्यक्तिवाट, चाहे त्यो विषयको भोग होस् वा नहोस, ती विषयमा राग पैदा हुन्छ, यो त नियम नै छ ।
विषयमा राग भएपछि त्यो विषय पाउने कामना पैदा हुन्छ । आफूले कामना गरेको वस्तुहरु मिलिरहे 'लोभ' पैदा हुन्छ तर त्यो कामनामा कसैवाट वाधा भयो भने त्यो व्यक्तिसँग क्रोध हुन्छ ।
'कामना' रजोगुणी वृत्ति हो, 'सम्मोह' तमोगुणी वृत्ति हो र 'क्रोध' रजोगुण र तमोगुणको वीचको वृत्ति हो ।
क्रोधमा सम्मोह हुन्छ अर्थात् मूढता आउँछ, अर्थात् काम, क्रोध, लोभ र ममता -- यी चारैवाट सम्मोह हुन्छ ।
(१) कामवाट हुने सम्मोहाले विवेक्शक्ति ढाकिन्छ । यसो हुँदा व्यक्ति गर्न नहुने काम पनि गर्छ ।
(२) क्रोधवाट आउने सम्मोहले व्यक्ति आफ्ना मित्रहरु तथा पूज्यजनहरुलाई पनि भन्न नै नहुने कुराहरु भनिदिन्छ ।
(३) लोभवाट आउने सम्मोहवाट व्यक्तिलाई सत्य-असत्य, धर्म-अधर्म आदिको विचार रहँदैन र व्यक्ति कपट गरेर अरुलाई ठग्छ ।
(४) ममतावाट आउने सम्मोहवाट व्यक्तिमा समभाव रहँदैन, पक्षपात रहन्छ ।
गीतामा भन्न खोजिएको, माथि उल्लिखित चार लक्षणहरुमा काम, लोभ र ममतामा आफ्नो सुखभोग र स्वार्थको वृत्ति जाग्रत रहन्छ, तर क्रोधमा अरुको अनिष्ट गर्ने वृत्ति जाग्रत रहन्छ । अतः क्रोधवाट हुने सम्मोह अरु तीन वृत्तिवाट हुने सम्मोह भन्दा धेरै भयानक हुन्छ । यसैले यहाँ, यो श्लोकमा भगवानले खालि क्रोधवाट सम्मोह  हुने कुरा गर्नुभयो ।
मूढ़ता आएपछि स्मृति नष्ट हुन्छ अर्थात्, शास्त्रहरूवाट सद्विचार हरुवाट गरिएको 'यस्तो गर्नु पर्छ, यस्तो गर्नु हुन्न, यस्तो साधन गर्नुपर्छ, यस्तो साधन गर्नु हुन्न ' भन्ने स्मृति पनि व्यक्तिमा रहँदैन । 
स्मृति नष्ट भएपछि बुद्धिमा प्रकट हुने विवेक लुप्त हुन्छ अर्थात् मनुष्यमा नयाँ विचार गर्ने शक्ति आउँदैन ।
विवेक लुप्त भएपछि व्यक्ति आफ्नो स्थितिवाट गिर्छ । अतः यस्तो किसिमको पतनवाट वच्नकोलागि सबै साधकहरुलाई भगवानको परायण हुनु आवश्यक छ ।
यहाँ विषयको ध्यान मात्र गर्नाले राग, रागवाट काम, कामवाट क्रोध, क्रोधवाट सम्मोह, सम्मोहवाट स्मृतिनाश, स्मृतिनाशवाट बुद्धिनाश र बुद्धिनाशवाट पतन -- यस्तो क्रम वताइएको छ । यी कुराहरुको विवेचन गर्न केही समय लाग्छ, तर यी सबै वृत्तिहरु पैदा हुन र यी वृत्तिहरुवाट मनुष्यको पतन हुन एक क्षण पनि लाग्दैन । विजुलीको करेंट जस्तो यी सबै वृत्तिहरु तत्काल पैदा भएर मनुष्यको पतन गर्छन् ।                              
      

80. No. 53 श्लोक ६० किनकि हे पृथानन्दन ! रसबुद्धि रह्यो भने यत्न गरिरहेका विद्वानलाई पनि प्रमथनशील इन्द्रियहरु उसको मनलाई जवर्जस्ती हर्छन् ।

No. 53 
 
श्लोक ६० 
 
किनकि हे पृथानन्दन ! रसबुद्धि रह्यो भने यत्न गरिरहेका विद्वानलाई पनि प्रमथनशील इन्द्रियहरु उसको मनलाई जवर्जस्ती हर्छन् ।
 
यो प्रसङ्ग आफैं यत्न गर्ने, साधन गर्ने, हरेक कामलाई विवेकपूर्वक गर्ने व्यक्तिलाई प्रस्तुत छ । त्यस्तो व्यक्ति आसक्ति र फलको इच्छा त्याग गर्छ, अरुको कसरी हित हुन्छ, अरुलाई कसरी सुख पुर्याउने, अरुको कसरी कल्याण गर्ने भन्ने भाव उसमा रहिरहन्छ र ऊवाट त्यस्तै क्रियाहरु पनि हुन्छन् । त्यो व्यक्ति स्वयं कर्तव्य-अकर्तव्य, सार-असारकोवारेमा जान्दछ र कुन्-कुन् कर्म गर्दा ती कर्महरुको परिणाम कस्तो हुन्छ भन्ने ज्ञान पनि उसलाई हुन्छ । 
 
यहाँ भन्न खोजिएको कुरो, यस्तो असाधारण साधकको मनलाई  पनि प्रमथनशील इन्द्रियहरु वलपूर्वक हर्छन्, आफूतर्फ खिंचछन् अर्थात्       त्यो साधक विषयहरु तर्फ आफैं खिंचिन्छ, आकृष्ट हुन्छ । यसको एक मात्र कारण हो, जवसम्म हाम्रो बुद्धि परमात्मामा स्थित हुँदैन, हाम्रो बुद्धिमा संसारको अलिकति मात्रै पनि आकर्षण रहन्छ, विषय र इन्द्रियहरुको संयोगवाट हामी सुख लिन्छौं, हाम्रो बुद्धिमा भोगिसकेका भोगहरुको संस्कार रहन्छ, त्यो वेलासम्म साधनमा लागिरहेका बुद्धिमान् विवेकी पुरुषको इन्द्रियहरु पनि सर्वथा वशमा हुँदैनन् ।
 
इन्द्रियहरुका विषयहरु अगाडि आउँदा भोगिसकेका भोगहरुको संस्कारको कारणले इन्द्रियहरु मन-बुद्धिलाई जवर्जस्ती विषयहरुतिर तान्छन् । यसको उदाहरण धेरै ऋषीहरुको जीवनीमा देखिन्छ । अतः साधकलाई 'मेरा इन्द्रियहरु वशमा छन्' भन्ने धारणा हुनुहुन्न ।                
 
श्लोक ६१ 
 
कर्मयोगी साधक ती सम्पूर्ण इन्द्रियहरुलाई वशमा गरेर, मेरो परायण भएर रहोस्, किनकि जसको इन्द्रियहरु वशमा छन्, त्यसैको बुद्धि स्थिर छ ।
 
वलपूर्वक मन हरण गर्ने इन्द्रियहरुलाई वश गर्ने अर्थात् सजगतापूर्वक ती इन्द्रियहरुलाई कुनै वेला पनि विषयहरुमा विचलित हुन नदिने साधकले परमात्माको परायण हुनुपर्छ । आशय, साधकले आफ्ना इन्द्रियहरु वश गर्दा पनि उसमा आफ्नो वलको अभिमान रहन्छ । यही अभिमान साधकलाई उन्नति गर्न दिंदैन, जसले गर्दा ऊ भगवानदेखि विमुख हुन्छ । अतः साधकले आफ्नो इन्द्रियहरुलाई वशमा गर्दा आफ्नो वलको अभिमान गर्नु हुन्न । इन्द्रियको नियन्त्रणमा कहिले पनि आफ्नो उद्योगको कारण हो नभन्ने, खालि भगवत् कृपालाई नै कारण मान्ने । यसरी भगवानको परायण हुँदा साधकको साधन सिद्ध हुन्छ ।
 
मनुष्य शरीर पाइनु, साधनमा रुचि हुनु, साधनमा लाग्नु, साधन सिद्ध हुनु -- यी सबै भगवान-कृपावाट नै हुन सक्छन् । तर अभिमानले गर्दा हामीलाई यो तथ्यतिर ध्यान जाँदैन । अझ कर्मयोगीमा त कर्मकै प्रधानता हुने भएकोले ऊ आफूवाट भएको साधनमा र ती साधनको सफलतामा आफ्नो वल वुताकै प्रधानता मान्छ । यसैले भगवान कर्मयोगी साधकलाई विशेष कृपा गरेर भन्नुहुन्छ, 'तिमी मेरो परायण होऊ' ।
 
भगवत् परायण कसरी हुने ?
 
केवल भगवानमा नै महत्वबुद्धि हुने । यस्तो मान्ने कि 'भगवान नै मेरो हो र म भगवानको हुँ' 'संसार मेरो होइन, म पनि संसारको होइन ।' किनकि भगवान नै हरदम मसँग रहनुहुन्छ, संसार मसँग रहँदैन ।' यसरी साधकको 'म'पना भगवानसँग नै रहनुपर्छ । अर्को शब्दमा, साधनको सफलतामा केवल भगवत्-परायणता नै कारण छ । गीता भन्छ, योगीहरुमा पनि श्रद्धा-प्रेमपूर्वक भगवानको परायण भएर भगवानको भजन गर्ने योगी सर्वश्रेष्ठ हो । यहाँ यो पनि भन्न खोजिएको छ, इन्द्रियहरुको विषयमा रसबुद्धि नहुने अथवा इन्द्रियहरुको विषयसँग सम्बन्ध विच्छेद गर्ने व्यक्ति स्थितप्रज्ञ हुन्छ भन्ने नियम छैन, किनकि उसमा रसबुद्धि रहन सक्छ । परन्तु यो चाहिं नियम छ, स्थितप्रज्ञ भएपछि उसका इन्द्रियहरु वशमा हुन्छन् ।
 
कर्मयोगमा त्याग छ र शान्तिले सुख पाइन्छ । परन्तु यो सुख प्राप्तिको सुख होइन, दुःख छुटेको सुख हो ।