Wednesday, 25 June 2014

109. No. 77 पहिलो श्लोकको वांकी अंश साधकले उसको सुखको मूल कारण निष्कामतालाई मान्छ,

No. 77 

पहिलो श्लोकको वांकी अंश 

साधकले उसको सुखको मूल कारण निष्कामतालाई मान्छ, तर संसारमा आसक्त मनुष्य वस्तुहरुको प्राप्तिमा सुख मान्छन् र वस्तुहरु नपाउँदा दुःख मान्छन् । यदि आसक्त मनुष्यले पनि साधकले  जस्तो यथार्थ दृष्टिले निष्कामभावलाई महत्त्व दिए भने उनीहरुलाई पनि स्वतःसिद्ध निष्कामताको अनुभव हुन्छ । 

सकाम मनुष्यलाई नै कर्मयोगको अधिकारी भनिएको छ । सकाम मनुष्यहरुको प्रीति, तृप्ति र सन्तुष्टि संसारमा हुन्छ । तर यहाँ यो प्रकरणमा कर्मयोगद्वारा सिद्ध महापुरुषहरुको स्थितिको वर्णन गर्दै भगवान भन्नुहुन्छ, ती सिद्ध पुरुषको प्रीति, तृप्ति र सन्तुष्टि सकाम मनुष्यको जस्तो संसारमा नभएर आफैं आफूमा   (स्वरूप)मा नै हुन्छ । 

वास्तवमा, प्रीति, तृप्ति र सन्तुष्टि -- यी तीनै छुट्टा छुट्टै नहुँदा नहुँदै पनि संसारसँगको सम्बन्धले छुट्टै जस्तो लाग्छन् । यही कारण, संसारसँग सम्बन्ध भएकोले नै त्यो महापुरुषको प्रीति, तृप्ति र सन्तुष्टि खालि  एक तत्व (स्वरूप)मा नै हुन्छ । त्यो कर्मयोगीको प्रीति, तृप्ति र सन्तुष्टिमा कुनै प्रकारको कमी रहँदैन र उसलाई तत्व सिवाय अरु केहीको  आवश्यकता पनि रहँदैन । 

व्यक्तिकोलागि विधान गरिएको कर्मको उद्देश्य परम कल्याणस्वरूप परमात्मा प्राप्त गर्नु हो । कुनै पनि साधन -- कर्मयोग, ज्ञानयोग अथवा भक्तियोग -- द्वारा त्यो तत्वको सिद्धि भए मनुष्यकोलागि केही गर्न, जान्न अथवा पाउन शेष रहँदैन । यही नै मनुष्यजीवनको सफलता हो ।

हामीलाई वास्तविक स्वरूपमा किञ्चित मात्र अभाव नरहँदा पनि हामीले संसारसँग सम्बन्ध मानेर आफूमा अभाव भएको ठान्यौं । यही कारण शरीरलाई 'म' र 'मेरो' मानेर 'आफ़्नोलागि कर्म गर्यौं । यसो हुनाले नै हाम्रोलागि कर्तव्य वांकी रही रहेको छ । तर यदि हामीले 'आफ़्नोलागि' केही पनि नगरेर 'अरुकोलागि' अर्थात् शरीर, इन्द्रियहरु, मन, बुद्धिकोलागि , प्राणीहरुकोलागि, माता, पिता, स्त्री, पुत्र, परिवारकोलागि , समाजकोलागि, देशकोलागि र जगतकोलागि सम्पूर्ण कर्म गर्यौं भने संसारसँग हाम्रो सम्बन्ध-विच्छेद हुन्छ । संसारसँग सम्बन्ध-विच्छेद भएपछि हाम्रो आफ़्नोलागि कुनै कर्तव्य शेष रहँदैन । कारण कि स्वरूपमा कुनै क्रिया हुँदैन । सबै क्रियाहरु सांसारिक वस्तुहरु द्वारा  नै हुन्छन् । संसारसँग सम्बन्ध हुनेलाई नै कर्तव्य छ ।
केही न केही पाउने कामनाले कर्म हुन्छ र कामना अभावले पैदा हुन्छ । सिद्ध महापुरुषमा कुनै 

अभाव हुँदैन फेरि उनकोलागि गर्ने कसरी ?
कर्मयोगद्वारा सिद्ध महापुरुषको रति, तृप्ति र सन्तुष्टि आफैंमा भएपछि ऊ कृत-कृत्य, ज्ञात-ज्ञातव्य र प्राप्त-प्राप्तव्य हुन्छ, त्यसपछि त्यो महापुरुष विधि-निषेधदेखि माथि उठ्छ । अव उसलाई शास्त्रको शासन रहँदैन, तैपनि उसका समस्त क्रियाहरु स्वाभाविक नै शास्त्र अनुकूल तथा अरुकोलागि आदर्श हुन्छन् । 

केही पनि गर्न वांकी नरहँदा पनि त्यो महापुरुषवाट कुनै पनि क्रिया हुँदै हुँदैन भन्ने होइन । ऊ द्वारा लोकसंग्रहकोलागि क्रियाहरु स्वतः भैरहन्छन् । जस्तो हाम्रो आँखाहरु चिम्लनु, खुल्नु, स्वासहरु आउनु-जानु, भोजन पच्नु आदि क्रियाहरु स्वतः हुन्छन्, त्यस्तै कर्मयोगी महापुरुषद्वारा सबै शास्त्र अनुकूल आदर्शरुप क्रियाहरु पनि, कर्तृत्वाभिमान नभएकोले, स्वतः हुन्छ ।

कर्मयोगी निःस्वार्थ भावले संसारको सेवाकोलागि नै सम्पूर्ण कर्म गर्छ । गंगाजलद्वारा गंगाको पूजन भए जस्तै संसारवाट पाइएका शरीर, इन्द्रियहरु, मन, बुद्धि र अहंलाइ संसारको नै सेवामा लगाइदिए चिन्मय स्वरूप शेष रहन्छ । यसैले उसको प्रीति, तृप्ति र सन्तुष्टि स्वरूपमा नै हुन्छ ।
सांसारिक विधि र निषेध दुवै वास्तवमा निषेध नै हुन्; किनकि यी दुवै सँधै रहिरहने होइनन् । यसैले संसारदेखि सम्बन्ध-विच्छेद भएपछि कर्मयोगीकोलागि कुनै विधि निषेध नै रहँदैन ।          

 

108. No.76 श्लोक १७ तर आफू आफूमा नै रमण गर्ने र आफू आफूमा नै तृप्त तथा

No.76
श्लोक १७

तर आफू आफूमा नै रमण गर्ने र आफू आफूमा नै तृप्त तथा आफू आफूमा नै सन्तुष्ट हुने मनुष्यकोलागि कुनै कर्तव्य छैन ।
यो श्लोकमा पहिलो श्लोकमा वर्णित आचरण भएको मनुष्य भन्दा सर्वथा पृथक् साधकको, अझ भनौं सिद्धको विलक्षणताको  वर्णन छ ।
आफ्नो सम्बन्ध संसारसँग मान्ने व्यक्ति उसको 'रति' (प्रीति) इन्द्रियहरुवाट हुने भोगहरुमा  एवं स्त्री,पुत्र, परिवारमा मान्छ । यही प्रकार त्यस्तो व्यक्ति आफ्नो  'तृप्ति' भोजन (अन्न-जल)मा  तथा 'सन्तुष्टि' धनमा  भन्ने मान्छ । तर, 'अबुझ' व्यक्तिको प्रीति, तृप्ति र सन्तुष्टि न कहिले पूर्ण हुन सक्छ, न निरन्तर रहन्छ । किनकि संसार निरन्तर परिवर्तनशील, जड र नाशवान्  छ तथा स्वयं सदा एकरस, चेतन र अविनाशी छ । तात्पर्य, स्वयंको संसारसँग कत्ति पनि सम्बन्ध छैन । अतः स्वयंको प्रीति, तृप्ति र सन्तुष्टि संसारसँग कसरी हुन सक्छ ?
वास्तवमा, कुनै पनि मनुष्यको प्रीति संसारमा सँधै रहन सक्तैन -- यो त सबैको अनुभव हो । विवाहको वेला हुने स्त्री र पुरुष वीचको 'प्रीति' अथवा आकर्षण एक या दुई सन्तान भएपछि (कारण जे सुकै होस्) हुन सक्तैन । भोजन गर्दा पाइने 'तृप्ति' पनि केही समयकोलागि मात्रै रहन्छ । धन-प्राप्तिवाट हुने 'सन्तुष्टि' पनि क्षणिक नै हुन्छ; किनकि धनको लालसा सँधै वढी नै रहन्छ । यसो हुनाले धनको अभाव महशूस भई रहन्छ । छोटोमा, संसारमा पाइने प्रीति, तृप्ति र सन्तुष्टि कहिले पनि स्थायी रहन सक्तैन ।
गीता भन्छ, व्यक्तिलाई संसारिक वस्तुहरुवाट  मिल्ने प्रीति, तृप्ति र सन्तुष्टि खालि देखिएका हुन्, प्रतीति मात्र हुन्, वास्तविक होइनन् । यदि हामीले ती वस्तुहरुवाट पाउने प्रीति वास्तविक भए हामीलाई ती वस्तुवाट फेरि, अरति, अतृप्ति र असन्तुष्टि नहुनु पर्ने । स्वरूपवाट हुने प्रीति, तृप्ति र सन्तुष्टि त स्वतःसिद्ध छ । स्वरूप सत् छ, सत् मा कहिले पनि, कुनै पनि अभाव हुँदैन । अभाव नभई कुनै कामना पैदा हुँदैन । यसैले स्वरूपमा निष्कामता स्वतःसिद्ध छ ।

परन्तु जव हामी भूलले संसारसँग सम्बन्ध जोडछौं, त्यो वेला हामी प्रीति, तृप्ति र सन्तुष्टि संसारमा खोज्छौं र यसकोलागि संसारिक वस्तुहरुको कामना गर्न थाल्छौं । कामना भएपछि जव ती वस्तु (धन, सम्पत्ति) पाइन्छन्, तव मनमा स्थित कामना निस्किएपछि (अर्को कामना उत्पन्न हुनु भन्दा पहिले) त्यो हाम्रो  अवस्था निष्काम हुन्छ र त्यही निष्कामताको सुखलाई नै हामीले भूलले सांसारिक वस्तुको प्राप्तिले उत्पन्न सुख मान्छौं र त्यही सुखलाई नै प्रीति, तृप्ति र सन्तुष्टिको नाम दिन्छौं । यदि वस्तुको प्राप्तिवाट त्यो सुख रहने भए त्यो वस्तु पाइएपछि त्यो वस्तु रहुन्जेल हामीलाई सुख हुनु पर्ने, दुःख कहिले पनि हुनु नपर्ने, फेरि त्यही वस्तुको कामना हुनु नपर्ने । परन्तु सांसारिक वस्तुहरुवाट कहिले पनि पूर्ण (सँधैकोलागि) प्रीति, तृप्ति र सन्तुष्टि पाइन नसकिनाले हामी फेरि फेरि अरु अरु कामना गर्न थाल्छौं । कामना उत्पन्न हुँदा आफूमा अभाव र इच्छित वस्तु पाउँदा आफूमा हुने पराधीनताको वास्ता नै गर्दैनौं हामी । यसैले कामना गर्ने हामी सँधै दुःखीको दुःखी नै रहन्छौं ।
के गर्ने हजुर, विषय नै त्यस्तै पर्यो, अहिलेसम्म हामीले संसारमा पाइएका वस्तु, व्यक्ति र पदार्थवाट सुख छँदै छैन, दुःख मात्रै छ भन्दा एक चोटी हामी झस्किन्छौँ, तर यो कुराको साँच्चि नै अनुभव गर्न गहिरो विचार नै चाहिन्छ हामीलाई । वेदान्तको अर्को नाम नै विचार शास्त्र हो, बुद्धिलाई खेलाउनु पर्छ हामीले । अहिलेसम्म हामीले, व्यवहारका, राजनीतिका र समाजका कुराहरु खेलाइरहेको बुद्धिले अव वेदान्तको कुरा खेलाउनु पर्यो । संसार 'कोलाहल' हो भन्छ शास्त्र । यहाँ खल्वल, आवाज सुनिन्छ, तर त्यो अवाज बुझ्न सक्तैनौं हामी । त्यो नबुझिने आवाजको कति पछि लाग्ने ! अहिले पनि हामी ठण्डा दिमागले सोचौं, संसारलाई हामीले बुझ्न नै सकेका छैनौं, किनभने संसार प्रतिक्षण परिवर्तनशील छ, वदलिने खालको छ । क्षण क्षणमा वदिलिने संसारलाई  कहाँ र कसरी समात्ने, पक्ड़ने हामीले ।

107. No. 75 पहिला श्लोकहरुको वांकी कामना, ममता, आसक्ति, पक्षपात, विषमता, स्वार्थ, अभिमान -- यस्ता दोष कर्महरुमा विष जस्ता हुन् ।

No. 75

पहिला श्लोकहरुको वांकी
कामना, ममता, आसक्ति, पक्षपात, विषमता, स्वार्थ, अभिमान -- यस्ता दोष कर्महरुमा विष जस्ता हुन् । हामीले गर्नु पर्ने प्रयास, हामीवाट गरिएका यी कर्महरुको यस्ता विषालु भागलाई निकालेर फ्याँक्ने हो । त्यसो गरेपछि तिनै कर्म अमृतमय हुन्छन् र हाम्रो जन्म-मरणरूपी महान भयलाई हटाउंछन्, यस्ता अमृतमय कर्मलाई नै 'यज्ञ' भनिन्छ ।
वेद कर्तव्य-कर्म गर्ने विधि वताउँछन् । हामीलाई कर्तव्य-कर्मको  विधिको ज्ञान वेदवाट हुन्छ । यसैले कर्महरूलाई वेदवाट उत्पन्न भएको भनिएको हो ।
'वेद' शब्दले चारै वेदको साथसाथै स्मृति, पुराण, इतिहास (रामायण, महाभारत) एवं भिन्न-भिन्न सम्प्रदायका आचार्यहरुका अनुभव-वचन आदि समस्त वेदानुकूल सत्-शास्त्रहरुलाई लिनुपर्छ ।
यहाँ 'ब्रह्म'  शब्दको वाचक हो । वेद सच्चिदानन्दघन परमात्मावाट नै प्रकट भएको हो । यही कारण नै परमात्मा सबैको मूल हुनु भयो ।
परमात्मावाट  वेद प्रकट हुन्छन् । वेद कर्तव्य-पालनको विधि वताउँछन् । मनुष्य ती कर्तव्य-कर्म विधिपूर्वक पालन गर्छन् । कर्तव्य कर्महरुको पालनले यज्ञ हुन्छ र यज्ञले वर्षा हुन्छ । वर्षावाट अन्न हुन्छ, अन्नवाट प्राणीहरु हुन्छन् र तिनै प्राणीहरुमध्येवाट मनुष्य कर्तव्य-कर्महरुको पालन द्वारा यज्ञ गर्छन् । यसरी यो सृष्टि चक्र चलिरहेछ ।
यहाँ 'ब्रह्म' शब्द अक्षर --(सगुण-निराकार परमात्मा--)को वाचक हो । अतः सर्वगत (सर्वव्यापी) परमात्मा हो, वेद होइन ।  
सर्वव्यापी हुँदा पनि परमात्मा विशेषरूपले 'यज्ञ' (कर्तव्य-कर्म) मा सदा विद्यमान रहनुहुन्छ । तात्पर्य, जहाँ निष्कामभावले कर्तव्य-कर्मको पालन हुन्छ, परमात्मा त्यहीं रहनुहुन्छ । त्यसैले परमात्माप्राप्ति चाहने मनुष्य आफ्नो कर्तव्य-कर्महरुद्वारा परमात्मा सजिलैसँग प्राप्त गर्न सक्छ ।
यहाँ शंका हुन सक्छ, यदि परमात्मा सर्वव्यापी भए उहाँलाई  केवल यज्ञमा नित्य प्रतिष्ठित किन भनियो ?
परमात्मा त सबैतिर समानरूपले नित्य विद्यमान हुनुहुन्छ । उहाँ सर्वदेशीय हुनुहुन्छ, एकदेशीय हुनुहुन्न । यही कारण उहाँलाई  'सर्वगत' भनिएको हो । यज्ञ (कर्तव्य-कर्म)मा परमात्मा नित्य रहने भन्नुको तात्पर्य, यज्ञ उहाँको उपलब्धि स्थान हो । जमीनमा सर्वत्र जल रहे पनि जल त कुवा, इनारवाट नै पाइन्छ, सबै ठाउँमा पाइंदैन । पाइपमा सर्वत्र जल रहे पनि जल पाइने ठाउँ धाराको टुटी नै हो । यस्तै परमात्मा सर्वगत भए पनि उहाँ यज्ञवाट नै प्राप्त हुनुहुन्छ ।
आफ्नोलागि कर्म गर्दा तथा जडता (शरीर आदि)सँग आफ्नो सम्बन्ध मान्दा सर्वव्यापी परमात्माको प्राप्तिमा वाधा आउँछ । निष्कामभावले  केवल अरुको हितकोलागि आफ्नो कर्तव्य-पालनवाट त्यो वाधा हट्छ र नित्यप्राप्त परमात्माको स्वतः अनुभव हुन्छ । यही कारण, अनेक कारणवाट आफ्नो कर्तव्य-कर्मवाट हट्न खोजेका अर्जुनलाई धेरै युक्तिहरुवाट कर्तव्य-पालन गर्न विशेष जोड दिइरहनु भएको छ भगवान ।
श्लोक १६
हे पार्थ ! यस्तो किसिमले यो लोकमा परम्परादेखि  प्रचलित सृष्टि-चक्र अनुसार नचल्ने, इन्द्रियहरुद्वारा भोगहरुमा नै रमाउने अघायु (पापमय जीवन विताउने) मनुष्य संसारमा व्यर्थ नै वाँचछ ।
'पार्थ' भन्ने शब्दले सम्बोधन गर्दै भगवान अर्जुनलाई भन्नु हुन्छ, 'हे अर्जुन ! आजीवन कष्ट सहेर पनि आफ्नो कर्तव्य पालन गर्ने कुन्तीका तिमी छोरा हौ । त्यसैले तिमीवाट पनि आफ्नो कर्तव्यको अवहेलना हुनु हुँदैन । जुन युद्धलाई तिमी घोर कर्म भनिरहेका छौ, त्यो तिम्रोलागि घोर कर्म हुँदै होइन, यो त यज्ञ (कर्तव्य-कर्म) हो । यसको पालन गर्नु नै सृष्टि-चक्र अनुसार व्यवहार गर्नु हो र यसको (कर्तव्य-कर्म)को पालन नगर्नु सृष्टि-चक्रको विपरीत व्यवहार गर्नु हो ।
जस्तो रथको सानो भन्दा सानो अंश पनि भाँचियो भने रथका समस्त अंगहरुमा वसेको रथी र सारथीलाई पनि धक्का लाग्छ, त्यस्तै सृष्टि-चक्र अनुसार नचल्ने मनुष्य सृष्टिको संचालनमा वाधा हाल्छ ।
संसार र वस्तु दुइटा होइनन् । जस्तो शरीरको अंगहरुसँग र अंगको शरीरहरुसँग घनिष्ठ सम्बन्ध छ, त्यस्तै संसारको व्यक्तिसँग र व्यक्तिको संसारसँग घनिष्ठ सम्बन्ध छ । जव व्यक्ति कामना, ममता, आसक्ति र अहंता त्यागेर आफ्नो कर्तव्य पालन गर्छ, त्यो वेला ऊ सम्पूर्ण सृष्टिलाई स्वतः सुख पुर्याउँछ ।
कामना, ममता र आसक्तिको वलमा इन्द्रियहरुद्वारा भोग भोग्ने व्यक्तिलाइ गीतामा 'भोगमा रमाउने' भनिएको छ । यस्तो मनुष्य पशु भन्दा नीचो हुन्छ । किनकि पशु नयाँ पाप गर्दैन; पहिले पहिले ऊवाट भएका पापहरुको फल भोगेर निर्मलता तर्फ लाग्छ, तर 'इन्द्रियाराम' मनुष्य नयाँ नयाँ पाप गरेर पतन तर्फ लाग्छ र सृष्टि-चक्रमा वाधा उत्पन्न गरेर सम्पूर्ण सृष्टिलाई नै दुःख दिन्छ ।
सृष्टि-चक्र अनुसार आचरण नगर्ने व्यक्तिको आयु, जीवन केवल पापमय हुन्छ । इन्द्रियहरु द्वारा भोग बुद्धिले भोग भोग्ने मनुष्य हिंसारुप पापवाट वच्न सक्तैन । स्वार्थी, अभिमानी र भोग र संग्रह चाहने व्यक्तिद्वारा अरुको अहित हुन्छ, त्यसैले त्यस्तो मनुष्यको जीवन पापमय हुन्छ ।
आफ्नो कर्तव्य-पालन नगर्ने मनुष्यलाई निन्दा गर्दै भगवान भन्नुहुन्छ, यस्तो मनुष्यले वांच्नु वेकार हो । उहाँको विचार, यदि कसैले आफ्नो कर्तव्यको पालन नगरेर सृष्टिलाई सुख नपुर्याए पनि दुःख त नपुर्याओस् । यो भन्दा अघिल्लो श्लोकमा सृष्टि-चक्र अनुसार आचरण नगर्ने मनुष्यलाई भगवान 'चोर', 'पाप खाने' भन्दै  यो श्लोकमा  त्यस्तो व्यक्ति वांच्नु वेकार हो भन्नुहुन्छ ।

106. No. 74 श्लोक १४, १५ सम्पूर्ण प्राणीहरु अन्नवाट उत्पन्न हुन्छन्।

No. 74
श्लोक १४, १५
सम्पूर्ण प्राणीहरु अन्नवाट उत्पन्न हुन्छन्। अन्नको उत्पत्ति वर्षावाट हुन्छ । वर्षा यज्ञवाट हुन्छ । यज्ञ कर्महरुवाट हुन्छ । कर्महरूलाई तिमी वेदहरुवाट उत्पन्न भएका भन्ने जान र वेदहरु अक्षर ब्रह्मवाट प्रकट भएको भन्ने जान । यसैले त्यो सर्वव्यापी परमात्मा यज्ञ (कर्तव्यकर्म)मा नित्य स्थित छ । 
प्राणहरुलाई धारणा (अडाउन) गर्न जे खाइन्छ, त्यसलाई अन्न भनिन्छ । जुन प्राणीवाट जे खाइन्छ, त्यो खानावाट उसको शरीरको उत्पत्ति, भरण र पुष्टि हुन्छ, त्यसैलाई यहाँ 'अन्न' नाम दिइएको छ, माटो खाएर वाँचने कीराको लागि माटो नै अन्न भए जस्तै ।
जरायुज (मनुष्य, पशु आदि), उद्भिज्ज (वृक्ष आदि), अन्डज (पक्षी, सर्प, कमिला आदि) र स्वेदज (जुका आदि)चारै प्रकारका प्राणीहरु अन्नवाट नै उत्पन्न हुन्छन् र अन्नमा नै वाँचछन् । 
समस्त खाद्य पदार्थको उत्पत्ति जलवाट हुन्छ । हरिया घाँस पात त जलवाट नै उत्पन्न हुन्छन् नै, माटो उत्पन्न हुन पनि जल नै कारण हो । अन्न, जल, वस्त्र, घर आदि शरीर निर्वाहका सामग्री स्थूल अथवा सूक्ष्मरूपले जलसँग नै सम्बन्ध राख्छन् ।
सोझै हेर्दा, 'यज्ञ'ले  हामीले आहुति दिने क्रियालाई बुझाउँछ, तर गीताको सिद्धान्त अनुसार र कर्मयोगको यो प्रकरण अनुसार 'यज्ञ' शब्दले सम्पूर्ण कर्तव्यकर्मलाई बुझाउँछ । यज्ञमा 'त्याग'को नै मुख्यता हुन्छ । 'आहुति'मा अन्न, घिउ आदिको त्याग हुन्छ, 'दान'मा वस्तुको त्याग हुन्छ, 'तप'मा आफ्नो सुख-आरामको त्याग हुन्छ, 'कर्तव्यकर्म'मा आफ्नो स्वार्थ, आरामको त्याग हुन्छ । अतः 'यज्ञ' शब्द यज्ञ (हवन), दान, तप आदि सम्पूर्ण शास्त्रविहित कर्महरुको परिसूचक हो ।
उपनिषद्को एउटा कथा -- प्रजापति ब्रह्माजीले देवता, मनुष्य र असुर -- यी तीनैलाई 'द' अक्षरको उपदेश दिनुभयो । देवताहरुसँग भोग-सामग्रीको अधिकता थियो । त्यसैले उनीहरुले 'द'को अर्थ 'दमन गर' भन्ने बुझे । मनुष्यमा संग्रहको प्रवृत्ति धेरै भएको कारण उनीहरुले 'द'को अर्थ 'दान गर' भन्ने बुझे । असुरहरुमा हिंसा (अरुलाई कष्ट दिने) भाव धेरै भएकोले उनीहरुले 'द'को अर्थ 'दया गर' भन्ने बुझे । यस्तो किसिमले देवता, मनुष्य र असुर -- तीनैलाई दिइएको उपदेशको तात्पर्य अरुको हित गर्ने नै हो । वर्षाको वेला 'द द द.…' को शब्दले गरिएको मेघको गर्जन आज पनि ब्रह्माजीको उपदेश (दमन गर, दान गर, दया गर)को रूपमा हाम्रो कर्तव्य कर्मको उपदेश दिइरहेछ ।                  
यहाँ प्रश्न छ, आफ्नो कर्तव्य-कर्म पालन गर्दा वर्षा कसरी हुन्छ ?
वचन भन्दा हाम्रो आचरणको असर अरुमा धेरै पर्छ । हामीले हाम्रो कर्तव्य-कर्मको पालन गर्यौं भने यो कर्तव्य पालनको असर देवतहरुमा पनि पर्छ, जसले गर्दा उनीहरु पनि आफ्नो कर्तव्य-पालन गर्नेछन् ।
निष्कामभावपूर्वक गरिने समस्त लौकिक र शास्त्रीय कर्महरुको नाम 'यज्ञ' हो । जस्तो, ब्रह्मचारीकोलागि अग्निहोत्र गर्नु 'यज्ञ' हो । हामी महिलाहरुले खाना वनाउनु 'यज्ञ' हो । आयुर्वेदका वैद्यले केवल अरुको हितकोलागि गरिने कर्म 'यज्ञ' हो । यस्तै, विद्यार्थी आफ्नो अध्ययन र व्यापारी आफ्नो व्यापार, यदि केवल अरुको हितकोलागि निष्कामभावले गर्छ भने, त्यो 'यज्ञ' हो । छोटोमा, वर्ण, आश्रम, देश, कालको मर्यादा राखेर निष्कामभावले गरिएका सबै शास्त्रविहित कर्तव्य-कर्म 'यज्ञ' रुप हुन्छन् । यज्ञ, जस्तो होस्, क्रियाजन्य नै हुन्छन् ।   
यहाँ अहिलेको प्रसङ्ग साधारण तवरले त हामीले बुझेका नै हुन्छौं, तर, यहाँ बुझेरै छोड्नु पर्ने दुइटा शब्दहरु हुन् -- निष्कामभाव र शास्त्रविहित । यो कुरा हामीले राम्रोसँग बुझ्न सक्यौं भने हामीले कर्मयोग बुझ्छौं । वेदान्त भनौं या गीता भनौं, यहाँका धेरै जसा शब्दहरुले हाम्रो बुद्धिको 'पक्डन सक्ने' क्षमताको पनि विकास गरिरहेका हुन्छन्, यदि हामीले यसका concept हरुलाई वारम्वार मनन गरिरह्यौं भने । जस्तो 'निष्काम भाव' शब्दकै अर्थ, आफ्नो कामना र फलेच्छाको त्याग हो । तर यही शब्द अनुरुप हाम्रो thinking र application भयो भने हाम्रो साधना धेरै पर पुग्छ हजुर । यही निष्काम भावलाई गीताको अठारौँ अध्यायमा 'नैष्कर्म्य सिद्धि' र 'निष्कर्मा स्थिति' भनेर धेरै प्रशंसा गरिएको छ । अर्को शब्दमा, गीतामा वर्णित निष्कामभाव साधन पनि हो, साध्य पनि हो ।    

105. No. 73 श्लोक १२ यज्ञवाट पुष्ट भएका देवताहरु पनि तिमीहरुलाई माग्दै नमागी कर्तव्य-पालनकोलागि

No. 73
श्लोक १२
यज्ञवाट पुष्ट भएका देवताहरु पनि तिमीहरुलाई माग्दै नमागी कर्तव्य-पालनकोलागि आवश्यक सामग्री दिइरहने छन् । यस्तो किसिमले ती देवताहरुवाट प्राप्त सामाग्रीहरु अरुको सेवामा नलगाई आफूले नै उपभोग गर्ने मनुष्य चोर नै हो ।
पहिलो श्लोकमा वर्णित कल्याण कसरी हुन्छ भन्ने उद्देश्यले नै यो श्लोक आएको छ । हामीलाई 'कल्याण कसरी हुन्छ त् ? भन्ने प्रश्नको उत्तर हो यो ।  
यही सन्दर्भमा गीता भन्छ, भोगहरुको इच्छा भई भई हाम्रो कल्याण हुनै  सक्तैन । यहाँ यो पनि भन्न खोजिएको छ, देवताहरु त आफ्नो अधिकार भन्ने मानेर मनुष्यहरुलाई आवश्यक सामग्री जुटाइदिन्छन्, मनुष्यले नै आफ्नो कर्तव्य पूरा गर्नु छ ।
हाम्रो शरीर मत-पितावाट पाइएको हो र यसको लालन-पालन पनि उहाँहरुवाट नै भएको हो । विद्या गुरुहरुवाट पाइएको हो । देवताहरु हामीहरु सबैलाई कर्तव्य-कर्मको सामग्री दिन्छन् । ऋषि सबैलाई ज्ञान दिन्छन् । पितृहरु हाम्रो सुख सुबिधाको उपाय वताउँछन् । पशु, पक्षी, वृक्ष, लताहरु अरुलाई सुख पुर्याउन स्वयम् लाई नै समर्पित गर्छन्, उनीहरुलाई यो कुराको ज्ञान नभए पनि उनीहरुवाट परोपकार भैरहेछ । यस्तो प्रकारले, हामीसंग भएका सबै सामग्री -- वल, योग्यता, पद, अधिकार, धन, सम्पत्ति, सबै हामीलाई अरुवाट मिलेको छ । यसैले यिनीहरुलाई हामीले अरुको सेवामा लगाउनु छ ।
शरीर, इन्द्रियहरु, मन, बुद्धि सबै पदार्थ हामीलाई संसारवाट मिलेको छ । यिनीहरु कहिले पनि हाम्रा होइनन्, हाम्रा हुने पनि होइनन् । त्यसैले, यिनीहरुलाई आफ्नो मान्नु र आफ़्नोलागि मानेर यिनीहरुवाट सुख भोग्नु  नै बन्धन हो । यो बन्धनवाट छुट्ने एक मात्र सरल उपाय, जोवाट हामीले यी पदार्थहरु पाएका छौं, ती पदार्थहरु उनीहरुकै मानेर उनीहरुकै सेवामा निष्कामभावपूर्वक लगाइदिने ।  
हामी मध्ये कसैलाई यस्तो पनि लाग्छ, यो संसारको सेवा गर्यौं भने त्यसैमा आसक्ति हुन्छ र हामी फस्छौं । तर भगवान भन्नुहुन्छ, फँस्नुको कारण आसक्ति होइन, आफ्नोलागि केही न केही लिने भाव नै हो । यसैले लिने भाव छोडेर देवताहरुले जस्तो अरुलाई सुख पुर्याउनु नै मनुष्य मात्रको परम कर्तव्य हो ।
कर्मयोगको सिद्धान्तमा आफूले पाएका सामग्री, सामर्थ्य, समय र समझदारीको सदुपयोग गर्ने नै विधान छ । प्राप्त सामग्री भन्दा वढी नयाँ नयाँ सामग्री जोड्ने पनि होइन । अतः हामीलाई मिलेका सामग्रीलाई नै अरुको हितमा लगाउने हो । आफूसँग भएको भन्दा धेरैको आवश्यकता पनि छैन । अर्को शब्दमा, जसको जति शक्ति छ, त्यति नै आशा गरिन्छ ऊसँग । झन् भगवान र देवतावाट साधकसँग भएको भन्दा वढी आशा नै कसरी हुन सक्थ्यो र ?
आफ्नो कर्तव्य-पालन नगर्ने मनुष्य सबैकोलागि मिलेको (अन्न, जल, वस्त्र आदि) भाग अरुलाई दिंदै नदिई आफू एक्लै लिइदिन्छ । त्यस्तो व्यक्तिलाई भगवान चोर भन्नुहुन्छ ।
अरुलाई दिनु पर्ने भाग नदिएर आफूले मात्रै उपभोग गर्ने व्यक्ति त चोर हो नै, तर जो सेवा-सामग्रीलाई सेवामा लगाएर आफ्नो कुनै स्वार्थ सिद्ध गर्न चाहन्छ, त्यो व्यक्ति पनि चोर नै हो । यस्तो व्यक्तिको अन्तःकरण कहिले पनि शुद्ध र शान्त हुन सक्तैन ।
हाम्रो अथवा अरु कसैको व्यष्टि शरीर कुनै पनि प्रकारले समष्टि शरीर भन्दा छुट्टै छैन र छुट्टै हुन पनि सक्तैन; किनकि समष्टिको अंशलाई नै व्यष्टि भनिन्छ । यसैले व्यष्टि (व्यक्ति)लाई आफ्नो मान्नु र समष्टि (संसार)लाई आफ्नो नमान्नु नै राग-द्वेष आदि द्वन्द्वको कारण हो, यही अहंकार, व्यक्तित्व र व्यवहारको विषमता हो । कर्मयोगको अनुष्ठानवाट यी राग-द्वेष आदि सजिलैसँग हराउँछन् । यसको कारण, कर्मयोगीको भाव यस्तो हुन्छ, 'मैले गरिरहेका सबै कामहरु मेरोलागि नभएर संसारकोलागि नै हो । अझ महत्वपूर्ण कुरो, कर्मयोगीवाट हुने कर्म आफ्नो व्यक्तिगत कल्याणकोलागि नभएर संसारको हितको उद्देश्यले प्रेरित हुन्छ । किनभने समष्टिको कल्याण भन्दा छुट्टै आफ्नो कल्याण मान्नु नै व्यक्तित्व र विषमतालाई जन्म दिनु हो, साधकको उन्नतिमा वाधा दिने पनि यही नै हो । हाम्रा शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि सबै हामीलाई संसारवाट नै मिलेको हो । संसारवाट पाइएको वस्तु केवल आफ्नो स्वार्थसिद्धिमा लगाउनु इमान्दारी होइन ।          
हामीले यो विचार गर्नु पर्यो, कर्मयोगका यी बुँदाहरु मध्ये हामीवाट के, कतिसम्म र कस्तो हिसावले यी बुँदाहरुको सेवन भैरहेछ त ? वेला वेलामा, अझ पलपलमा आत्म मूल्यांकन हुनु पर्नेछ हाम्रो । आफ्नो मूल्यांकन आफूवाट भन्दा वढी राम्रो अरुवाट हुन सक्तैन । यसरी आफूले नै आफ्ना विगतका व्यवहारको र हालैका व्यवहारको पनि आध्यात्मिक विकासको अवलोकन नगरे त हामीले जानेका ज्ञान पनि हाम्रो भार मात्र हुनेछ । स्वामी अनुभवनान्दजी भन्नुहुन्छ, नपचेको ज्ञानी 'philosopher' हुन्छ । त्यस्तो ज्ञानीले शास्त्र त जानेको हुन्छ, तर उसको मनमा हुन्छ, 'मैले जानेको ज्ञान मेरोलागि होइन, केवल अरुकोलागि हो' । त्यसैले कर्मयोगको साथर्कता यसैमा छ, यो सिद्धान्त अनुसार हामीले जे जे जान्छौं र मान्छौं, त्यो त्यो ज्ञान हामीले व्यवहारमा लगाउनै पर्छ । नत्र यो ज्ञान 'हात्तिको स्नान' जस्तो हुनेछ, समयको वर्वादी मात्रै, अरुलाई प्रभाव पार्ने मात्रै, कुनै वस्तुको उपभोग गरेर होइन, त्यो वस्तुको चित्र हेरेर सन्तुष्ट भए जस्तो मात्रै । अहिले हामीलाई ज्ञानको भारले थिचेको छ, ज्ञानको भार भनेको अज्ञान नै हो । यस्तो भारी बोक्ने मान्छे कहिले पनि शान्त हुन सक्तैन । ज्ञानको काम नै अशान्तिको नाश गर्नु हो । अशान्तिको नाश गर्न नसक्ने ज्ञानलाई के भन्नु त हामीले । व्यवहारको ज्ञानले हाम्रो अशान्ति नष्ट हुन सक्तैन, यसैले व्यवहारको ज्ञान पनि अज्ञान नै भयो । यसरी हाम्रोलागि हितकारी के हो, अहितकारी के हो भन्ने विवेचन गर्ने काम पनि हाम्रो नै हो । 

104. No. 73 श्लोक १३ यज्ञशेष (योग)को अनुभव गर्ने श्रेष्ठ मनुष्य सम्पूर्ण पापहरुवाट मुक्त हुन्छन् ।

No. 73
श्लोक १३
यज्ञशेष (योग)को अनुभव गर्ने श्रेष्ठ मनुष्य सम्पूर्ण पापहरुवाट मुक्त हुन्छन् । तर जो  केवल आफ़्नोलागि मात्रै सबै कर्महरु गर्छन्, ती पापीहरु त पाप नै खान्छन् ।
कर्तव्यकर्महरुको पालन निष्कामभावले विधिपूर्वक गरे यज्ञशेषको रूपमा योग अथवा समता नै शेष रहन्छ । कर्मयोगमा संसारवाट प्राप्त सामग्रीद्वारा नै कर्म हुन्छ । अतः संसारको पदार्थ संसारको सेवामा लगाइदिन सके त्यही कर्म 'यज्ञ' सिद्ध हुन्छ । यज्ञ सिद्ध भएपछि स्वतः अवशिष्ट रहने योग आफ़्नोलागि हुन्छ । यही योग, यही समता नै यज्ञशेष हो, यही यज्ञशेषलाई नै अमृत भन्छ गीता ।
यो श्लोकमा भनिएको कुरो, यस्तो यज्ञशेषको अनुभव गरेपछि अर्थात् अमृतको अनुभव गरेपछि हामीमा कुनै पनि प्रकारको बन्धन वांकी रहँदैन । साधकको सम्पूर्ण (संचित, प्रारब्ध र क्रियमाण) कर्म विलीन हुन्छन् । सम्पूर्ण कर्महरु विलीन हुनुलाई नै सनातन ब्रह्मको प्राप्ति भनिन्छ गीता अनुसार ।
पाप कर्म त बन्धनकारी हुन्छन् नै, सकामभावले गरिएका कर्महरु पनि बन्धनकारी हुन्छन् । यज्ञशेषको अनुभव गर्ने मनुष्यको पाप-पुण्य दुवै रहँदैनन् ।
अव प्रश्न छ, बन्धनको वास्तविक कारण के हो ?
'यस्तो हुनुपर्छ, यस्तो हुनु हुँदैन' भन्ने कामनावाट  नै बन्धन हुन्छ । यही कामना नै सम्पूर्ण पापहरुको जड हो । त्यसैले, कामनाको त्याग गर्नु अत्यन्त आवश्यक छ हाम्रो जीवनमा ।
विचार गर्ने हो भने, कामनाको आफ्नो कुनै स्वतन्त्र सत्ता छैन । कामनाको उत्पत्ति अभाववाट हुन्छ र 'स्वयम्' (सत् स्वरूप)मा कुनै किसिमको अभाव छँदै  छैन, हुन पनि सक्तैन । यसैले, 'स्वयम्'मा कामना छँदै छैन । हामीले आफ्नै  भूलले शरीर आदि असत् पदार्थसँग आफ्नो एकता मानेर त्यही  असत् पदार्थको अभाववाट आफूमा अभाव मान्न थाल्यौं र त्यही अभावको पूर्तिकोलागि असत् पदार्थको कामना गर्यौं । हामीले यो कुराको विचार गर्नुपर्यो, आरम्भ र समाप्त हुने क्रियाहरुसँग उत्पन्न र नष्ट हुने पदार्थहरु नै त पाइन्छन् । यस्ता उत्पत्ति-विनाशशील पदार्थहरुवाट हाम्रो अभावको पूर्ति कहिले पनि हुन सक्तैन । यस्ता पदार्थहरुवाट अभावको पूर्ति हुने प्रश्न नै नभएपछि यस्ता कामना गर्नु हाम्रो नै भूल होइन त । यस्तो प्रकारले विचार गर्न सके हाम्रो कामना हट्न सक्छ ।
हाम्रा आफ्ना भनिने शरीर आदि पदार्थहरुलाई कहिले पनि आफ्नो तथा आफ़्नोलागि नमानेर अरुको सेवामा ती पदार्थहरु लगाइदिन सके ती पदार्थहरुसँग स्वतः सम्बन्ध-विच्छेद हुन्छ हाम्रो । यस्तो सम्बन्ध-विच्छेदले तत्काल नै आफ्नो सत् स्वरूपको बोध हुन्छ हामीलाई । त्यसपछि कुनै अभाव वांकी रहँदैन । मनमा कुनै प्रकारको अभावको कामना नरहने मान्छे जीवित अवस्थामा नै मुक्त हुन्छ ।
आफ्नोलागि केही पनि चाहिने भाव अर्थात् स्वार्थ, कामना, ममता, आसक्ति नहुने, आफूलाई कसैले 'असल' भनिदेओस भन्ने पनि भाव नभएको व्यक्तिलाई मुक्त भन्छ गीता । जति धेरै स्वार्थ बुद्धि भयो हामी त्यति धेरै पापी हुन्छौं ।
संसारमा मिलेका साधन सामग्रीहरु संसारको सेवामा नलगाएर आफ्नो सुखभोगमा लगाउनु नै आफ्नोलागि 'पकाउनु' हो । यो श्लोकमा आएको 'पकाउनु' शब्दले खालि पकाउनु मात्र नभएर खानु, पिउनु, हिंड्नु, वस्नु आदि सबै संसारिक क्रियाहरुको सिद्धि भन्ने बुझाउँछ ।
संसारको सानो भन्दा सानो अंश शरीरलाई आफ्नो र  आफ़्नोलागि मान्नु नै ठूलो पाप हो । तर यो शरीरलाई आफ्नो नमानेर यसलाई (यो शरीरलाई) आवश्यकता अनुसार अन्न, जल, वस्तु आदि दिएर यो शरीरलाई भोगी वन्न नदिनु  यो शरीरको सेवा हो । यसो गर्न सके हामीलाई यो शरीरमा ममता-आसक्ति रहँदैन ।
आफ्नो कर्मको फल आफैंले भोग्नु पर्छ हामीले । तर यो शरीरवाट गरिएका कर्महरुको प्रभाव सम्पूर्ण संसारमा नै पर्छ । 'आफ़्नोलागि' कर्म गर्ने मनुष्य आफ्नो कर्तव्यदेखि 'च्युत' हुन्छ, तल झर्छ । त्यसैले गीता भन्छ, हामीले आफ्नोलागि केही नगर्ने, आफ़्नोलागि केही नमान्ने र आफ़्नोलागि केही नचाहने ।
आफ़्नोलागि 'पकाउनु' भनेको कर्मफलको आश्रय लिनु हो । कर्मफलसंग सर्वथा अनाश्रित रहन सके साधक आफ़्नोलागि केही गर्दैन, जसले गर्दा ऊ योगमा स्थित रहन समर्थ हुन्छ ।
यो श्लोकमा भगवानले 'पाप खाने' मनुष्यलाई सभ्य भाषामा निन्दा गर्नुभयो । भगवानको आशय, आफ्नोलागि भनेर गरिएका कर्मवाट मनुष्य धेरै पाप संग्रह (जम्मा) गर्छ । यो पापसंग्रह जति खर्च गरे पनि, जति भोगे पनि सकिंदैन । फेरि गीता भन्छ, 'तिमीहरु आजैदेखि, अहिल्यैदेखि पाप गर्दिन भन', यस्तो निश्चयमा धेरै ठूलो शक्ति हुन्छ । किनभने परमात्मातिर लाग्ने दृढ निश्चय भएपछि पाप हुन स्वतः रोकिन्छ ।
मनुष्यसँग  भएका शरीर, योग्यता, पद, अधिकार, विद्या, वल सवै पछि पाइएका हुन् र छुट्ने किसिमका हुन् । यसैले यी सबै आफ़ो र आफ़्नोलागि होइनन्, अरुको सेवकोलागि हुन् । हाम्रा शरीरका सबै अवयव शरीरका भए जस्तै संसारका सबै मनुष्य संसारको हितकोलागि हुन् । कुनै पनि देश, वेश, वर्ण, आश्रम आदिका  व्यक्तिले आफ्नो कर्महरुद्वारा अरुको सेवा गरेर सजिलैसँग आफ्नो कल्याण गर्न सक्छ ।
हामीमा भएको विशेषता अरुकोलागि हो, आफ़्नोलागि होइन । यो सिद्धान्तलाई सबैले  आदर गरे सबै जीवन्मुक्त हुने थिए । पाइएको वस्तुलाई अरुको सेवामा लगाइदिने त हो, अरु के नै गर्नु पर्छ र ? सित्तैंमा आफ्नो कल्याण हुन्छ । हामीवाट यस्तो हुन सके मुक्तिकोलागि केही गर्नु जरुरत छैन । हामीसंग भएका वस्तुहरु अरुको सेवामा लागाउने जिम्मेवारी हो हाम्रो, त्यो भन्दा वढी केही गर्नु छैन हामीलाई । त्यो भन्दा वढी हामी केही गर्न पनि सक्तैनौं । हामीसँग भएका समस्त वस्तु, योग्यता र सामर्थ्य अरुको सेवामा पूरा खर्च गर्न सक्यौं भने हाम्रो कल्याण पनि पूरा हुनेछ ।
वास्तवमा शरीरवाट संसारको नै काम हुन्छ, आफ्नो काम हुँदै हुँदैन, किनकि शरीर हाम्रोलागि हुँदै होइन । केही न केही कामकोलागि नै शरीरको जरुरत हुन्छ । केही पनि नगरे  शरीरको के जरुरत ? त्यसैले, शरीर द्वारा आफ़्नोलागि केही गर्नु नै दोष हो । पाइएको वस्तु द्वारा आफ़्नोलागि केही गर्न हुँदैन, ती वस्तुहरुद्वारा संसारको सेवा गर्नुपर्छ हामीले। शरीर संसारको अंश भएकोले यसवाट जे जे हुन्छ, संसारकैलागि हुन्छ । संसार भन्दा पर हाम्रो शरीर, इन्द्रियहरु, मन, बुद्धि जानै सक्तैनन्, यिनीहरुलाई संसारवाट छुट्टयाउन पनि सक्तैनौं हामी । आफ़्नोलागि कर्म गर्नु मनुष्यपना होइन, राक्षसपना हो । अरुकोलागि कर्म गर्ने व्यक्ति  नै मनुष्य हो । आफ्नो सुखकोलागि कर्म गर्ने मान्छेले पाप खान्छ अर्थात्  सँधै दुःखी रहन्छ र अरुको हितकोलागि कर्म गर्ने मान्छे सबै पापहरुवाट मुक्त हुन्छ अर्थात् सँधैकोलागि सुखी रहन्छ ।  

103. No. 72 फेरि पनि पहिला श्लोकहरुका नै वांकी अंश आफ्नो कर्तव्य पालनपूर्वक अरुको अधिकारको रक्षा गर्ने जिम्मेवारीलाई नै कर्मयोग भनिन्छ ।

No72
फेरि पनि पहिला श्लोकहरुका नै वांकी अंश
आफ्नो कर्तव्य पालनपूर्वक अरुको अधिकारको रक्षा गर्ने जिम्मेवारीलाई नै कर्मयोग भनिन्छ । अरुको अधिकार नै हाम्रो कर्तव्य हो भन्छ गीताको कर्मयोग । छोटोमा, प्रत्येक व्यक्तिले आफ्नो कर्तव्य-पालन द्वारा अरुको अधिकारको रक्षा गर्ने, आफ्नो अधिकार नहेर्ने । अरुको हित गर्नु हाम्रो कर्तव्य हो र हामीवाट हुने त्यही कर्तव्य अर्को व्यक्तिको अधिकार हो । हामीले आफ्नो कर्तव्यको पालन गर्नु पर्ने अर्को व्यक्तिको अधिकारको रक्षाकोलागि नै हो । यसैले ब्रह्माजी देवताहरुलाई र मनुष्यहरुलाई उपदेश दिनुहुन्छ, 'एक अर्काको हित गर्नु तिमीहरुको कर्तव्य हो ।'
कर्मयोगको मूल मन्त्र -- अरुको नासो अरुलाई फर्काउने । हामीले यो संसारमा आउँदा आफूले केही लिएर आएका थिएनौं, फेरि यहाँवाट फर्केर जाँदा यहाँवाट केही लग्न सक्ने पनि होइनौं । संसारको वस्तु संसारमा नै छोडेर जानुपर्ने त संसारको नियम नै हो । जस्तो हामी कुनै होटेलमा जाँदा त्यो होटेलको समस्त सामान उपयोग गर्न त पाउँछौं, तर त्यहाँको कुनै पनि सामान आफू फर्कंदा लिन हामी पाउँदैनौं । यही नियम यो संसारको वस्तु, व्यक्ति र पदार्थमा पनि लागु हुन्छ ।  कर्मयोगको वारेमा जानकारी हुनुभन्दा पहिले हामीले आफ्नो मानी रहेको यहाँका वस्तु, व्यक्ति र पदार्थको सहज त्याग हुन नसक्ने भएकोले यसलाई 'संसारको सेवामा लागाई देऊ' भन्छ कर्मयोग । अहिलेसम्म हामीले सम्बन्ध मानी रहेका व्यक्ति, वस्तु र पदार्थसँग सम्बन्ध हटाउनकोलागि नै कर्मयोगको आवश्यकता छ हामीलाई । हामी परा  प्रकृति (जीव)ले अपरा प्रकृति (जड)सँग सम्बन्ध राखेर, यही अपरा प्रकृतिलाई नै साँचो मानेर जीवन चलाउँदा नै समस्या भएको हो। हामीलाई केही गर्नु छैन, पहिले साँचो मानिरहेको संसारसंगको सम्बन्धलाई र संग्रहलाई झूठो मान्ने । वस्तु, व्यक्ति र सम्बन्ध त व्यवहारमा आवश्यक छन्, तिनीहरुको उपयोग कुशलतासँग गर्ने, तर तिनीहरुलाई साँचो नमान्ने, आजकल हामी महिलाहरुले सुनको भनेर सुनको जलप भएको नक्कली गहना लगाए जस्तो । त्यसो गर्न हामी महिलाहरु कुशल भए जस्तै पुरुषले पनि संसारमा व्यवहार गर्ने, तर संसारलाई र व्यवहारलाई झूठो मानेर । यसो गर्न सके संसारमा रहेको हाम्रो आकर्षण घट्छ, अलि अलि गरेर संसारप्रतिको  आकर्षण घट्दै गएपछि परमात्मामा आकर्षण वढ्दै जान्छ हाम्रो । यही हो कर्मयोगवाट परमात्माको अनुभव हुने प्रक्रिया ! अर्को शब्दमा, हाम्रा समस्त  चित्तवृत्ति, हाम्रा कृयाकलाप अहिलेसम्म संसार उन्मुख छन्, अव तिनै चित्तवृत्ति, तिनै क्रियाकलाप ईश्वर उन्मुख हुनु पर्यो । सजिलोसँग बुझ्नु पर्दा, पूर्वतिर हिंडिरहेको मनुष्यले पश्चिमतर्फ  लाग्नु पर्ने भयो । यो ज्ञानको जानकारी हुनुभन्दा पहिले हिंडिरहेको दिशा नै वदल्नु पर्यो हामीले । फेरि बुझ्नु  पर्दा, हाम्रा समस्त चिन्तन, समस्त क्रियाकलाप (शारीरिक, मानसिक)ले अर्को दिशा लिनु पर्ने भयो । यदि हामी अहिले गरिरहेका चिन्तन, क्रियाकलाप र रहनसहनवाट नै ईश्वरप्राप्ति खोज्छौं भने, त्यो त हजुर, आकाशमा फूल टिप्न खोजेको प्रयास जस्तै हुनेछ ।     
अझ विस्तृतमा भन्दा, हामीले संसारलाई नै  सत्य मानेर व्यवहार गरेको वेला हाम्रा क्रियाकलाप रजोगुणवाट संचालित भैरहेका हुन्छन् ।  अध्यात्म शास्त्रको अध्ययन, श्रवण, मनन र निदिध्यासनकोलागि सत्वगुणको जरुरत पर्छ हामीलाई। सत्सँग  र सत्शास्त्रको श्रवण र मननले हाम्रो रजोगुण नाश हुन सक्छ । शास्त्र अनुसार हाम्रो अन्तःकरण अत्यन्त निर्मल छ।  तर हामीले नाना थरीका कचरा भरिदिएका छौं हाम्रो अन्तःकरणमा। अव हामीलाई केही गर्नु छैन, आफैंले अन्तःकरणमा  थुपारेको कचरा जति फाल्नु छ । यो कचरा हटाउने काम पनि सत्सँग र सत्शास्त्रको नै हो ।
 
अर्को कुरो, हामीवाट आफ्नोलागि कर्म हुन्जेल हाम्रो कर्मको समाप्ति हुँदै हुँदैन, हामी झन् झन् ती कर्महरुवाट वाँधिन्छौँ । आफ़्नोलागि कहिले पनि, केही पनि नगर्ने व्यक्ति नै कृतकृत्य हुन्छ । आफ़्नोलागि केही नगर्दा पापको आचरण हुँदैन, किनभने पापको आचरण कामनावाट नै हुन्छ । त्यसैले हामीले आफ्नो कल्याण चाहने हो भने शास्त्रले भने जस्तो फलको इच्छा नराखेर र आसक्तिको त्याग गरेर कर्तव्य-कर्म गर्नु पर्छ ।
आफ्नो कामनाको त्याग गरेपछि संसार मात्रको हित हुन्छ । आफ्नो कामनाको पूर्तिकोलागि आसक्तिपूर्वक भोग भोग्ने व्यक्ति आफ्नो पनि पतन गर्छ, भोग सामग्रीको अभाव हुनेहरुको पनि पतन गर्छ, अभाव ग्रस्त व्यक्तिलाई पनि दुःख दिन्छ, अभावग्रस्त व्यक्तिहरुलाई भोगी मनुष्यले गरेका भोग देखेर दुःख त हुन्छ नै। यही कारण भोगी व्यक्ति कुनै हालतमा पनि वच्न सक्तैन ।
तर पारमार्थिक मार्गमा हिंडने व्यक्तिलाई देख्दा अरुलाई आफैं शान्ति हुन्छ; किनकि पारमार्थिक सम्पत्तिमा सबैको अधिकार छ । निष्कर्ष, हामीले कामना-आसक्तिको त्याग गरेर आफ्नो कर्तव्य-कर्मको पालन गरि रहे ब्रह्माजीले भने जस्तो हामीलाई परम कल्याण प्राप्त हुन्छ ।
यो श्लोकमा भनिएको कल्याण-प्राप्ति पनि विशेष गरी मनुष्यलाई नै भनिएको हो, देवताहरुलाई होइन । किनकि देवयोनिमा आफ्नो कल्याण गर्न सकिंदैन । मनुष्यवाट हुने कर्मको अनुसार फल दिने, कर्म गर्ने सामग्री दिने तथा आफ्नो आफ्नो शुभ कर्महरुको फल भोग्नकोलागि देवताहरु वनाइएका हुन् ।
मनुष्य कर्मयोनि हो र चौरासी लाख योनिहरु, देवता, नरकमा वस्ने जीव भोगयोनिहरु हुन् । सकाम भाव भएका व्यक्तिहरु भोग भोग्नकोलागि नै स्वर्गमा जाने हुन् । त्यसैले देवताहरु निष्काम भाव राख्दैनन्, केवल आफ्नो जिम्मेवारी निभाउँछन्, त्यसैले यो श्लोकमा वर्णित कल्याण मनुष्यकोलागि नै हो ।
मुक्ति स्वाभाविक छ र बन्धन अस्वाभाविक छ । मनुष्ययोनि आफ्नो कल्याण गर्नकोलागि नै हो । आफ्नो कर्तव्य-कर्मको पालन गर्ने मनुष्यको  अवश्य कल्याण हुन्छ ।

कल्याणकोलागि नयाँ नयाँ काम गर्नु पर्ने होइन । तर हामीवाट हुने काम स्वार्थ, अभिमान र फलेच्छाको त्यागद्वारा हुनु पर्यो, त्यस्तो हुन सके हाम्रो कल्याण हुने भयो । ठूला ठुला यज्ञवाट प्राप्त हुने स्वर्ग लोक क्षत्रियले आफ्नो कर्तव्य-कर्म (युद्ध) गरेर पाउने भयो । 
यो श्लोकमा ब्रह्माजीले देवताहरुलाई र मनुष्यहरुलाई परस्पर एक अर्कोलाई हित गर्ने कुरो गर्नुभयो । त्यस्तै यही कुरा वैदिक सनातन धर्मका चारै वर्ण र आश्रमका व्यक्तिहरुलाई लागु हुन्छ ।