Wednesday, 9 July 2014

121 No. 89 श्लोक २७ संसारका सबै कर्महरु सबै किसिमले प्रकृतिका गुणहरुद्वारा गरिन्छन्;

No. 89
श्लोक २७ 
संसारका सबै कर्महरु सबै किसिमले प्रकृतिका गुणहरुद्वारा गरिन्छन्; परन्तु अहंकारले मोहित अन्तःकरण भएको अज्ञानी मनुष्य 'म कर्ता हुँ' भन्ने मान्छ । समष्टि शक्तिवाट शरीर, वृक्ष, आदि पैदा हुन्छन् र वढ़छन्, घट्छन्, गंगाजी जस्ता नदीहरु प्रवाहित हुन्छन्, घर-जग्गा, धन-सम्पत्ति आदि पदार्थमा परिवर्तन हुन्छ । त्यही समष्टि शक्तिवाट हामीले देख्ने, सुन्ने, खाने-पिउने आदि सबै क्रियाहरु हुन्छन् । परन्तु मनुष्य मोहित भएर, अज्ञानले गर्दा यौटा शक्तिद्वारा हुने क्रियाहरुलाई दुई विभाग गरिदिन्छ: (१) स्वतः हुने क्रियाहरु -- जस्तो, शरीर वन्नु, भोजन पच्नु आदि, र (२) ज्ञानपूर्वक हुने क्रियाहरु -- जस्तो, हेर्नु, वोल्नु, भोजन गर्नु, आदि । ज्ञानपूर्वक हुने क्रियाहरुलाई मनुष्य अज्ञानवश आफूले गर्ने क्रियाहरु भन्ने मान्छ ।
 
प्रकृतिवाट उत्पन्न गुणहरु -- (सत्व, रज र तम-)को कार्य भएकोले बुद्धि, अहंकार, मन, पन्चमहाभूत, दस इन्द्रियहरु र इन्द्रियहरुको शब्द आदि पाँच विषय -- यिनीहरुलाई पनि प्रकृतिको गुण भनिन्छ । तात्पर्य, सम्पूर्ण क्रियाहरु (समष्टिको अथवा व्यष्टिको) प्रकृतिका गुणहरुद्वारा नै गरिन्छन्, स्वरूप द्वारा होइन ।
 
'अहंकार' अन्तःकरणको यौटा वृत्ति हो  । 'स्वयं' (स्वरूप) त्यो वृत्तिको ज्ञाता हो । परन्तु हामी भूलले 'स्वयं' आफूलाई त्यो वृत्तिसंग मिलाउँछ अर्थात् त्यो वृत्तिलाई आफ्नो स्वरूप मान्छ । यही कारण त्यो मनुष्यलाई विमूढात्मा भनिन्छ ।
 
शरीर 'इदम्' भए जस्तै अहंकार पनि 'इदम्' हो । 'इदम्' (यो) कहिले पनि 'अहम्' (म) हुन सक्तैन, यो त सिद्धान्त  हो । जव हामी भूलले 'इदम्' (यो)लाई म मान्छौं, त्यो वेला हामी अहंकारविमूढात्मा हुन्छौं । यस्तो मानिएको अहंकार मेट्न उद्योग गरेर हुने होइन, किनकि उद्योग गर्दा पनि अहंकार रहन्छ । मानिएको अहंकार अस्वीकृतिले अथवा नमान्नाले मेटिन्छ ।
अहम् दुई किसिमका हुन्छन् -- 

(१) वास्तविक (आधाररुप) 'अहम्'; जस्तो -- 'म सत्ता मात्र हुँ'।
(२) अवास्तविक (मानिएको) 'अहम्'; 'म शरीर हुँ' ।
'वास्तविक अहम्' स्वाभाविक एवं नित्य र 'अवास्तविक अहम्' अस्वाभाविक एवं अनित्य हुन्छ । अतः 'वास्तविक अहम्' विस्मृत त हुन सक्छ, तर मेटिन सक्तैन;  'अवास्तविक अहम्' प्रतीत हुन सक्छ, तर टिकदैन । हाम्रो भूल त्यहाँ हुन्छ, हामी 'वास्तविक अहम्'लाई (आफ्नो स्वरूप) भन्ने  विर्सेर 'अवास्तविक अहम्' लाई (म शरीर हुँ)लाइ नै सत्य मान्छौं ।
सबै कर्म सबै प्रकारले प्रकृतिजन्य गुणहरुवाट हुने भए पनि अहंकारले मोहित अन्तःकरण भएको अज्ञानी व्यक्ति कुनै कर्मको कर्ता आफूलाई मान्छ । कारण कि ऊ अहंकारलाई नै आफ्नो स्वरूप मान्छ । अहंकारले गर्दा नै हामी शरीर, इन्द्रियहरु, मन आदिमा 'म' भन्छौं  र ती शरीर आदि क्रियाहरुको कर्ता आफूलाई मान्छौं ।   यस्तो विपरीत मान्यता हामी आफैंले वनाएका हौँ, यस्तो मान्यता हटाउने काम पनि हाम्रो हो । यसको एक मात्र उपाय -- यस्तो मान्यतालाई विवेक-विचारपूर्वक नमान्ने, किनकि एउटा मान्यता अर्को मान्यतावाट नै काटिन्छ ।                             

एक 'गर्ने' हुन्छ, एक 'नगर्ने' हुन्छ। 'गर्ने' क्रिया भए जस्तै नगर्ने पनि क्रिया नै हो । सुत्नु, उठ्नु, वस्नु, हिंड्नु, समाधिस्थ हुनु आदि सबै क्रियाहरु  नै हुन् । सम्पूर्ण क्रियाहरु प्रकृतिमा हुन्छन् । 'स्वयं' (चेतन-स्वरूप) मा गर्ने र नगर्ने -- दुवै छैनन्, किनकि चेतन-स्वरूप यी दुइ भन्दा पनि माथि छ । यो चेतन-स्वरूप अक्रिय र सबैको प्रकाशक हो । क्रिया 'स्वयं'मा पनि क्रिया हुने भए (शरीर आदिमा परिवर्तनरुप क्रियाहरु)को ज्ञाता कसरी हुने ? 'अहम्' (म) रहँदा मात्रै 'गर्ने' र 'नगर्ने' हुन्छ । 'गर्ने' र 'नगर्ने'लाई  प्रकाशित गर्ने  त्यो अक्रिय तत्व (आफ्नो स्वरूप)मा सबै मनुष्यको स्वाभाविक स्थिति छ । तर 'अहम्'ले गर्दा मनुष्य प्रकृतिमा हुने क्रियाहरुसँग आफ्नो सम्बन्ध मान्छ । प्रकृति (जड)सँग मानिएको सम्बन्धलाई नै 'अहम्' भनिन्छ ।
 
समुद्रको नै अंश भएकोले सहर र समुद्रमा एकता भए जस्तै संसारको नै अंश भएकोले शरीरको संसारसँग जातीय एकता छ । हामी संसारलाई त 'म' मान्दैनौं, तर शरीरलाई चाहिं 'म' मान्छौं । 
 
समुद्र विना लहरको आफ्नो कुनै स्वतंत्र अस्तित्व नभए जस्तै संसार विना शरीरको आफ्नो कुनै अस्तित्व छैन । परन्तु अहंकारले मोहित अन्तःकरण भएको मनुष्यले शरीरलाई 'म' (आफ्नो स्वरूप) मान्दा उसमा अनेक प्रकारका कामनाहरु उत्पन्न हुन्छन् -- जस्तो, मलाई स्त्री (पुरुष), पुत्र, धन आदि पदार्थ मिलून, अरु व्यक्तिहरुले  मलाई असल भनून, मेरो आदर गरून, मैले भनेको जस्तो गरून, आदि आदि। उसलाई यो कुराको ध्यान रहँदैन, 'शरीरलाइ आफ्नो स्वरूप मानेर म पहिले नै वांधिइसकें, अव कामना गरेर अरु बन्धनमा परिरहेछु, आफूलाई विपत्तिमा पारिरहेछु' भन्ने ।
'म शरीर हुँ, म कर्ता हुँ' भन्ने असत् मान्यताहरु हामीमा यति दृढ हुन्छन्, ती मान्यताहरु छोड्न हामीलाई मुश्किल पर्छ । त्यसो भए 'म शरीर होइन ', 'म अकर्ता हुँ' भन्ने सत्य मान्यताहरु दृढ नहुने कुरै छैन । यस्तो मान्यता एक चोटि दृढ भएपछि छुट्ने कुरै आउँदैन ।
सबै क्रियाहरु जड-विभागमा हुन्छन्, चेतन-बिभागमा कहिले पनि अलि कति मात्र पनि कुनै क्रिया हुँदैन । अहंकारले अन्तःकरण मोहित भएको कारण अज्ञानी व्यक्ति 'म कर्ता हुँ' भन्ने मान्छ । अहंकारले अन्तःकरण मोहित हुनु भनेको -- अपरा प्रकृतिको अंश अहम् सँग आफ्नो सम्बन्ध मान्नु अर्थात् अहम् लाई आफ्नो स्वरूप मान्नु कि यो नै म हुँ । यसैलाई तादात्म्य भन्छन् ।
 
आफूलाई कर्ता मान्ने चेतन हो, तर यही चेतन जड अहम् लाई आफ्नो स्वरूप मान्छ । अहम् लाई आफ्नो स्वरूप मान्ने, आफूलाई एक देशीय मान्ने स्वयम् चाहिं परमात्माको अंश हो । त्यो स्वयम् मा कर्तापन सम्भव नै छैन । वास्तवमा स्वयम् शरीरसँग मिल्नै सक्तैन, तर हामी मिलेको मान्छौं । वास्तवमा तादात्म्य पनि हुँदैन, तर तादात्म्य मानिन्छ ।  स्वयम् कर्ता वन्दैन, केवल अविवेकपूर्वक आफूमा कर्तापनको मान्यता गरिन्छ । आफूलाई कर्ता मानेको कारण नै हामीमा शास्त्रविधि लागु हुन्छ र कर्मफलको भोक्ता पनि वन्नुपर्छ हामीलाई ।
 
स्वरूप (स्वयम्)मा कुनै क्रिया छैन । कहिं कुनै खालि ठाउँमा नै क्रिया हुन्छ । सर्वथा ठोस स्वरूपमा क्रिया कसरी हुने ? परन्तु आफूलाई कर्ता मानेकोले हामी प्रकृतिको जुन क्रियासँग सम्बन्ध जोडछौं, त्यो क्रिया हाम्रोलागि फलजनक 'कर्म' भइदिन्छ, त्यो कर्मको फल हामीले भोग्नै पर्छ । किनभने कर्ता हुनेले भोक्ता हुनैपर्छ । 
         
सम्पूर्ण कारकहरुसँग स्वरूपको सर्वथा सम्बन्ध-विच्छेद छ । यसैले स्वरूपमा लेशमात्र पनि कर्तृत्व छैन । कर्तृत्वको बिभाग छुट्टै छ । अहिलेसम्म देवता, मनुष्य, पशु, पक्षी, यक्ष, राक्षस आदि अनेक शरीरहरुमा जति कर्म भए, ती मध्ये कुनै पनि कर्म स्वरूपसम्म पुग्न सकेन तथा कुनै पनि शरीर स्वरूपसम्म पुग्न सकेन ; किनकि कर्म र पदार्थ (शरीर)को बिभाग नै छुट्टै छ र स्वरूपको बिभाग नै छुट्टै छ । यही विवेकको महत्व नदिएको कारणले नै हामी कर्म र फलमा वाँधिन्छौँ ।
'गर्नु' हुन्जेल अहंकारसँग सम्बन्ध छ; किनकि अहंकार (कर्तापन) विना 'गर्नु' सिद्ध नै हुँदैन । गर्ने भाव हुँदा नै कर्तृत्वाभिमान भइहाल्छ । कर्तृत्वाभिमान हुँदा 'गर्नु' हुन्छ र 'गर्दा' कर्तृत्वाभिमान पुष्ट हुन्छ । यसैले गरिएको साधनवाट साधक कहिले पनि अहंकाररहित हुन सक्तैन । अहंकारपूर्वक गरिएका कर्म कहिले पनि कल्याण गर्न सक्तैनन्; किनकि सबै अनर्थहरुको मूल नै अहंकार हो । आफ़्नोलागि केही नगरे अहंकारसँग सम्बन्ध रहँदैन अर्थात् प्रकृतिसँग सम्बन्ध विच्छेद हुन्छ । त्यसैले, हामीले क्रियालाई महत्व नदिएर आफ्नो विवेकलाई महत्व दिनुपर्छ । विवेकलाई  महत्व दिने वित्तिकै विवेक स्वतःस्पष्ट भइरहन्छ र हाम्रो मार्गदर्शन गरिरहन्छ । पछि पछि यही विवेक नै तत्वज्ञानमा परिणत हुन्छ ।
 
विषय पनि यस्तै पर्यो, मेरो लेखाइ पनि यस्तै पर्यो, म खुरुखुरु लेखिरहेछु, हजुरहरु खुरुखुरु पढिरहनु भएको छ । यहाँ, विचार गर्नु पर्ने कुरो, यहाँका सबै प्रसंगले समस्या सँगसंगै समाधान पनि दिइरहेका छन् । एक जना सन्त भन्नुहुन्छ, ' विहान उठेर, side tableमा cofee राखेर, आफ्नो अगाडि भएको tv खोलेर, पत्रिका पढेको जस्तो गरेर गीता पढे कहिले पनि, कुनै हालतमा पनि बुझ्न सकिंदैन' । यो गीताको ज्ञान पढ्न, बुझ्न तीव्र जिज्ञासा चाहिन्छ हामीलाई । मलाई समय समयमा लाग्छ, म एकोहोरो ढंगले लेखिरहेछु, मेरा मित्रहरुले बुझेको अथवा नबुझेको के हो, उहाँहरुलाई मात्र थाहा छ । यसैले यो विषयमा उठेका जिज्ञासाहरुको चर्चा वेला वेलामा हुन सके मेरा मित्रहरुलाई लाभदायक हुन्थ्यो कि ! मैले हजुरहरुलाई सुझाव मात्र पेश गरेको, मेरो आफ्नो कुनै पनि स्वार्थ छैन यसमा । वांकी हजुरहरुको निर्णय ! 

Song of the Day: Bhichya Deide Maiya Pingala courtesy Hajurma's Cassette Collection
 

Monday, 7 July 2014

120 No. 88 पहिलो श्लोकको नै वांकी विद्वान पुरुषवाट पनि लोकसंग्रहकोलागि सबै कर्म हुन्छन् ।

No. 88 
पहिलो श्लोकको नै वांकी 
 विद्वान पुरुषवाट पनि लोकसंग्रहकोलागि सबै कर्म हुन्छन् । तर यस्तो हुँदा पनि उनमा 'म लोकसंग्रह गरिरहेछु' भन्ने अभिमान रहँदैन । कारण कि शरीर, इन्द्रियहरु, मन, बुद्धि, विद्या, योग्यता, पद आदि सबै संसारका हुन् र संसारवाट नै मिलेका हुन् । संसारवाट मिलेको सामग्रीलाई संसारको नै सेवामा लगाइदिनु इमान्दारी हो । ती सामग्री निकै इमान्दारीसंग  संसारलाई  अर्पण गरिदिने हो । यस्तो अर्पण गर्ने कुनै  ठूलो काम होइन । हामीलाई कसैले केही नासो सुम्पेको छ भने त्यो सुम्पने व्यक्तिले सो सामान मागेको वेलामा उसको सामान फिर्ता गर्दा हामीले कुन ठूलो काम गर्यौं र !  कुरो यत्ति हो, हामी ऋणमुक्त भयौं । यही किसिमले संसारको वस्तु संसारलाई अर्पण गर्दा हाम्रो दायित्व समाप्त हुन्छ, हामी ऋणमुक्त हुन्छौं, जन्म-मरणको बन्धनदेखि सँधैकोलागि छुटछौं । यसैले संसारिक पदार्थहरुलाई संसारको सेवामा लगाएर कुनै दान -पुण्य गर्ने हैन, खालि ती पदार्थहरुवाट  आफ्नो पिण्ड छुटाउनु छ । 
 
अन्तःकरणमा स्वतःस्वाभाविक समता भएको, स्थिति न्रिविकार भएको, सबै इन्द्रियहरु राम्रोसँग तह लागेको र माटो, पत्थर र स्वर्ण समान भएको व्यक्तिलाई गीता तत्वज्ञ भन्छ ।

श्रेष्ठ पुरुषमा विशेष जिम्मेवारी हुन्छ; किनकि अरु व्यक्तिहरु  सजिलै उसको  अनुसरण गर्छन् । यसैले भगवान यो प्रकरणमा विद्वान (ज्ञानी)लाई  आज्ञा दिनुहुन्छ कि त्यो ज्ञानीले अरु (कामनायुक्त अज्ञानी)लाइ पतन गर्ने कुनै कुरो भन्नु पनि हुँदैन, त्यस्तो आचरण गर्नु पनि हुँदैन । अज्ञानी पुरुषलाई उसको  आफ्नो स्थितिवाट विचलित गर्नु नै उनीहरुमा 'बुद्धिभेद' गर्नु हो । त्यसैले विद्वानले सबैको हितको भाव राख्दै आफ्नो वर्ण र आश्रम धर्म अनुसार शास्त्रविहित शुभ-कर्महरुको आचरण गरिरहनु पर्छ,जसले अरु व्यक्तिलाई पनि निष्कामभावले कर्तव्य-कर्म गर्ने  प्रेरणा मिलोस् । त्यो ज्ञानी व्यक्तिले आफ्नो समाज र परिवारको व्यक्तिसँग पनि यस्तै आचरण गर्नुपर्छ । आफ्नो परिवार र समाजसँग पनि उनीहरुमा राम्रो प्रभाव पार्नकोलागि  सावधानीपूर्वक आफ्नो कर्तव्य-कर्महरुको उचित आचरण गरिरहनुपर्छ । अज्ञानी पुरुषले वर्तमानमा गरिरहेका शास्त्रविहित शुभकर्महरुको विशेषरूपले प्रशंसा गरेर उनीहरुको कर्ममा भएको  त्रुटीहरु वारे उनीहरुलाई अवगत गराउनु पर्छ,। ज्ञानी पुरुषले यसो गर्दा अरु व्यक्तिहरु आफ्ना त्रुटीहरु हटाएर उचित विधिले आफ्नो कर्म सम्पादन गर्न  सकून । साथसाथै, ज्ञानी पुरुषले 'कर्मसंगी' पुरुषलाई यस्तो शिक्षा दिनु, 'यज्ञ, दान, पूजा, पाठ आदि शुभकर्म गर्नु त् धेरै राम्रो हो, तर ती कर्महरुमा फलको इच्छा राख्नु ठीक छैन, किनकि हीराको सट्टा रोडा, ढुंगा वेच्नु ठीक हुँदैन ।' किनकि सकाम भाव छोडेर निष्काम भाव तिर लग्नु बुद्धिभेद  हैन, वरु वास्तविकता हो । 
                            

यसै गरी उपासनाको विषयमा पनि तत्वज्ञ पुरुषले बुद्धिभेद पैदा गरिदिनु हुँदैन । उसले यस्तो उपदेश दिनु पर्छ, भगवानको पूजा, उपासना कहिले पनि व्यर्थ हुँदैन, किनकि भगवान प्रति कुनै न कुनै भाव हुँदा नै पूजा उपासना हुन सक्छ । भाव नभई नामजपमा प्रवृत्ति नै हुन सक्तैन । त्यसैले नामजपको त्याग कहिले पनि गर्नु हुँदैन । मन लगाएर ध्यान जप गर्यो भने सिद्धि हुन सक्छ, आदि आदि उपदेश दिएर सर्वसाधारणलाई सुमार्गतिर लगाउनु पर्छ । 

कुनै पनि व्यक्ति शतप्रतिशत गुणरहित हुँदैन । उसमा कुनै न कुनै गुण त हुन्छ नै । यसैले तत्वज्ञ महापुरुषले  कुनै व्यक्तिको उन्नातिकोलागि  शिक्षा दिनु छ भने त्यो व्यक्तिको निन्दा या अपमान नगरेर उसको गुणहरुको प्रशंसा गर्नुपर्छ । गुणहरुको प्रशंसा गर्दै आदरपूर्वक कसैलाई शिक्षा दिइयो भने त्यो शिक्षाको विशेष प्रभाव पर्छ ।

भगवान फेरि भन्नुहुन्छ,, (१) स्वयम् सावधानीपूर्वक शास्त्र-विहित कर्तव्य-कर्म राम्रोसंग गर्ने र (२) कर्ममा आसक्त अज्ञानी व्यक्तिहरुलाई पनि त्यसै गरी कर्म गर्न लगाउने । अरुलाई देखाउन कर्म गर्दा दम्भ हुन्छ। अतः भगवान लोक संग्रहकोलागि नै कर्तव्य-कर्म गर्ने आज्ञा दिनुहुन्छ । तत्वज्ञ पुरुषले कुनै कर्म गर्दा, आफ्नो कुनै प्रयोजन नरहँदा पनि उसवाट हुने समस्त कर्तव्य-कर्महरु सुचारुरूपले गरोस् । यसो हुन सक्यो भने कर्महरुमा आसक्त पुरुषहरुलाई निष्काम कर्महरु प्रति महत्व-बुद्धि जाग्रत हुनेछ र उनीहरु पनि निष्काम कर्म गर्न थाल्ने छन् । तात्पर्य, त्यो महापुरुषको आसक्तिरहित आचरण देखेर अरु पुरुष पनि त्यस्तै आचरण गर्ने चेष्ट गर्नेछन् ।
         

तत्वज्ञ महापुरुष र भगवान--दुबैमा कर्तृत्वाभिमान हुँदैन । त्यसैले यी दुवै केवल लोक संग्रहकोलागि नै कर्तव्य-कर्म गर्ने गर्छन्, आफ़्नोलागि होइन । साधकले (हामीले) पनि आफ़्नोलागि केही गर्ने होइन, किनकि स्वरूपमा कर्तृत्व छैन ।  अरुलाई उन्मार्गदेखि हटाएर संमार्गमा लगाउनु लोकसंग्रह हो । लोक संग्रहको उपाय हो -- शास्त्र अनुसार ठीक आचरण गर्नु, तर आफूभित्र साधकले यस्तो भाव राख्नु, 'मलाइ आफ़्नोलागि केही गर्नु छैन'।   फेरि उसले अरुलाई यो कुरा पनि नभन्नु । 
  


अहिलेसम्मको हाम्रो हालै चलिरहेको कुराकानीवाट स्पष्ट भइसक्यो, गीतामा तीन योग छन् -- कर्मयोग, भक्तियोग र ज्ञानयोग ।  गीताका अठार अध्यायहरु मध्ये पहिला छ अध्यायहरु कर्मयोगको व्याख्या गर्छन्, वीचका छ अध्यायहरु भक्ति (उपासना)योगको व्याख्या गर्छन् र पछिल्ला छ अध्यायहरु ज्ञानयोगको व्याख्या गर्छन् । अहिले भइरहेको व्याख्या कर्मयोगको व्याख्या हो ।
 
गीताको उपदेश अर्जुनलाई कर्म गर्न मन नलागेर शुरु भएको हो । कति वर्ष अघिदेखि हस्तिनापुरमा पाण्डव र कौरव वीचको अति तीतो सम्बन्धको कारण हस्तिनापुरको कुरुक्षेत्रमा युद्ध हुने निश्चित भइसक्यो, दुवैतिरका सेनाहरु रणभूमिमा युद्धकोलागि एकत्रित भैसके, दुबैतिरका महारथीले युद्धको शंख फुकिसके, अव केवल महारथीहरुवाट आफ्नो आफ्नो धनुषमा प्रत्यंचा चढ्न वांकी छ । यस्तो संकटपूर्ण समयमा अर्जुनलाई युद्ध गर्न मन लागेन, उनमा मोह भयो । उनको यो मोहको अभिव्यक्तिले अर्कै मोड लियो । उनको शरीर काँप्न थाल्यो, मुख सुक्यो, शरीरका रौं ठाडा भए, आँखावाट आँसु झर्न थाले, उनी उभिन पनि सकेनन्, रथमा थचक्क वसे, धुरु धुरु रुन थाले । अर्को शब्दमा, युद्ध जस्तो विषम परिस्थितिमा अर्जुनलाई depression भयो । यो depressionले पांडित्यको रुप लियो । जुन परमात्मावाट समस्त ज्ञानको प्रादुर्भाव भएको छ, त्यही परमात्मालाई शास्त्र सुनाउन लागे अर्जुन ।
अझ विचार गर्दा, अर्जुनलाई  द्वन्द्व भयो । उनलाई थाहा थियो, आफ्ना आदरणीयहरुलाई मार्नु हुन्न भन्ने कुरा । अझ उनले सुनेका थिए, आफ्नो गुरु (यहाँ द्रोणाचार्य र कृपाचार्य)लाई 'हूँ' मात्रै गर्यो भने पनि सयौं वर्षसम्म मसान अघिल्तिरको सुकेको रुखको ठुटो भएर रहनु पर्छ । अर्कोतिर उनले यो पनि जानेका थिए, क्षत्रियले आफूलाई आएको युद्धको चुनौति स्वीकार गरेर मृत्युको वरण पनि गर्नुपर्छ । यही द्वन्द्वमा रुमल्लिए अर्जुन, उनलाई के गरौँ र के नगरौं भन्ने भयो । केही समयसम्म उनले भगवानलाई आफू युद्ध नगर्ने दलील दिइरहे । तर, भगवानले अर्जुनको दलीललाई 'नपुंषकता', 'हृदयको कमजोरी', 'लाछी' भन्ने नाम दिनुभयो । भगवानको यस्तो वचन सुनेर अर्जुन अलि झस्के, तुरुन्तै उनले आफ्नो 'कमजोरी' थाहा पाए । आफू 'धर्मसम्मूढचेता:' भएको कुरा उनलाई थाहा भयो, उनी उही परमात्माको शरण परे । उनले भने, 'शिष्यस्तेहम्' (हजुरको शिष्य हुँ) । उनले भगवानलाई गुरुरूपमा स्वीकार गरे, (अहिलेसम्म अर्जुनले परमात्मालाइ दाजुरूपमा, जेठानरूपमा, साथीरूपमा मानेका थिए) उहाँको शरण परे, ''शाधिमाम् त्वाम् प्रपन्नम्' उचित मार्गदर्शनकोलागि प्रार्थना गरे, 'यच्छ्रेय: स्यान्निश्चितम् ब्रूहि तन्मे'। अर्जुनले आफूलाई गुरुरूपमा स्वीकार गरेर आफूलाई उचित सल्लाहको आग्रह नगरुन्जेल भगवानले अर्जुनलाई गीता सुनाउनु भएको थिएन, युद्ध हुनु भन्दा पहिले वारह वर्षको वनवासकालमा भगवान र अर्जुनको धेरै समय भेट भएको प्रसंग हामीले सुनेकै पनि हो । तर, ती समयमा कहिले पनि अर्जुनलाई मोह भएन, त्यसैले गीताको प्रसङ्ग पनि आएन । अहिले अर्जुनलाई विषाद भयो, यही विषाद नै 'विषादयोग' वन्यो, यो विषादले अर्जुनलाई गुरु भेटाइदियो, गीता ज्ञान सुनाइदियो, अर्जुनको माध्यमवाट हामीहरुले गीताको ज्ञान सुन्न पायौं, पढ्न पायौं । गीताको अठारौं अध्यायमा गीताको उपदेशको महत्त्वको उल्लेख गर्दै भगवान भन्नुहुन्छ, 'मेरो यो गीताको उपदेश कसैले पढ्छ मात्रै भने पनि मलाई त्यो व्यक्तिले ज्ञानयज्ञले पूजा गर्यो भन्ने मेरो निश्चित मत छ' ।
                          
यस्तै हो हजुर, मेरा कुरा, कहिले पनि सकिंदैनन् । अरु पछि ।



Sunday, 6 July 2014

119. No. 87 श्लोक २५, २६ हे भरतवंशोद्भव अर्जुन ! कर्ममा आसक्त भएका अज्ञानी

No. 87 

श्लोक २५, २६ 

हे भरतवंशोद्भव अर्जुन ! कर्ममा आसक्त भएका अज्ञानी व्यक्तिहरुले कर्म गर्ने जस्तो आसक्तिरहित तत्वज्ञ महापुरुषले पनि लोकसंग्रह गर्न खोज्दै त्यस्तै प्रकारले कर्म गरोस् । सावधान तत्वज्ञ महापुरुषले कर्महरुमा आसक्ति भएका अज्ञानी मनुष्यहरुको बुद्धिमा भ्रम उत्पन्न नगर्नु, बरु स्वयं नै समस्त कर्महरु राम्ररी गरी गरी अरु अज्ञानीहरुवाट पनि त्यस्तै कर्म गराउनु ।

जुन व्यक्तिहरुमा शास्त्र, शास्त्र-पद्धति र शास्त्रविहित शुभ कर्महरुमा पूरा श्रद्धा छ, त्यस्तै शास्त्रविहित कर्महरूको फल पनि अवश्य पाइन्छ भन्ने विश्वास छ, त्यस्ता व्यक्तिहरुलाई यहाँ 'सक्ताः', 'अविद्वांस:' भनिन्छ । यिनीहरु तत्वज्ञ पनि होइनन्, दुराचारी पनि होइनन्; तर यिनीहरु कर्महरुमा, भोगहरुमा एवं पदार्थहरुमा आसक्त छन् । शास्त्र जान्ने भए पनि कामनाको कारणले यिनीहरु अविद्वान (अज्ञानी) भएका हुन् । यस्ता व्यक्तिहरु शास्त्रज्ञ त हुन्छन्, तर तत्वज्ञ हुँदैनन् । यिनीहरु आफ़्नोलागि कर्म गर्छन्, यही कारण अज्ञानी मानिन्छन् ।

यस्ता अविद्वान (अज्ञानी) व्यक्तिहरु कर्महरुमा कहिले प्रमाद, आलस्य आदि नगरेर सावधानी र तत्परतापूर्वक विधिद्वारा कर्म गर्छन्; किनकि उनीहरुको मान्यता हुन्छ, कर्महरु गर्दा कुनै कमी आयो भने फलमा पनि कमी आउनेछ । भगवान अविद्वानको यस्तो किसिमको कर्म गर्ने तरिकालाई आदर्श मान्दै आसक्तिरहित विद्वानहरुलाई पनि यही विधिले लोकसंग्रह गर्ने प्रेरणा गर्नुहुन्छ ।

कामना, ममता, आसक्ति, वासना, पक्षपात, स्वार्थ आदिको सर्वथा अभाव भएको र शरीर आदि पदार्थहरुसँग अलिकति पनि सम्बन्ध नभएका तत्वज्ञ महापुरुषलाई यहाँ 'असक्तः', 'अविद्वान' भनिएको छ ।  

श्रेष्ठ व्यक्ति (आसक्तिरहित विद्वान)का सबै आचरण स्वाभाविक नै यज्ञकोलागि, मर्यादा सुरक्षित राख्नकोलागि हुन्छन् । जस्तो भोगी व्यक्तिलाई भोगहरुमा, मोही मनुष्यहरू लाई कुटुम्बहरुमा र लोभी मनुष्यहरुलाई धनमा रति हुन्छ, त्यस्तै श्रेष्ठ मनुष्यलाई सम्पूर्ण प्राणीहरुको हितमा रति हुन्छ । त्यो श्रेष्ठ पुरुषको अन्तःकरणमा 'म लोकहित गर्छु' भन्ने भाव पनि आउँदैन, वरु उद्वारा स्वतःस्वाभाविक लोकहित भइरहेको हुन्छ । प्राकृत पदार्थवाट सर्वथा सम्बन्ध-विच्छेद भएकोले त्यो ज्ञानी महापुरुषको शरीर, इन्द्रियहरु, मन, बुद्धि, आदि पनि 'लोकसंग्रह' पदमा आएको 'लोकः' शब्द अन्तर्गत नै आउँछन् ।

अरु सर्व साधारण व्यक्तिलाई यस्ता ज्ञानी महापुरुषले पनि लोकसंग्रहको इच्छा गरे जस्तो देखिन्छ, तर वास्तवमा त्यस्ता महापुरुषमा लोकसंग्रहको इच्छा पनि हुँदैन । किनकि संसारमा प्राप्त शरीर, इन्द्रियहरु, मन,बुद्धि, पदार्थ, पद, अधिकार, धन, योग्यता, सामर्थ्य, साधन अवस्थादेखि नै किञ्चित् मात्र पनि आफ्नो र आफ़्नोलागि मान्दैन, खालि संसारको र संसारकोलागि नै मान्छ । यही प्रवाहको कारणले सिद्धावस्थामा पनि उसको भनिने शरीर आदि पदार्थ स्वतःस्वाभाविक, कुनै प्रकारको इच्छा विना संसारको  सेवामा लागिरहन्छन् ।

अज्ञानी (सकाम) पुरुषले आफ्नो स्वार्थकोलागि सावधानी र तत्परतापूर्वक कर्म गरे जस्तो ज्ञानी पुरुषले  पनि लोकसंग्रहको अर्थात् अरुको हितकोलागि कर्म गर्नुपर्छ  । ज्ञानी पुरुषले प्राणीमात्रको हितको भाव राखेर सम्पूर्ण लौकिक र वैदिक कर्तव्य-कर्मको आचरण गरिरहनु पर्छ। सबैको कल्याण कसरी होला? भन्ने भावले कर्तव्य-कर्म गरे लोकमा राम्रो भावको प्रचार स्वतः हुन्छ ।

अज्ञानी पुरुष त फलको प्राप्तिकोलागि सावधानी र तत्परताले विधिपूर्वक कर्तव्य-कर्म गर्छ, तर ज्ञानी पुरुषको फलमा आसक्ति हुँदैन र उसकोलागि कुनै कर्तव्य पनि हुँदैन । त्यसैले ज्ञानी पुरुषवाट पनि कर्मको उपेक्षा हुन सक्छ । यसैले भगवान कर्म गर्ने विषयमा ज्ञानी पुरुषले पनि अज्ञानी (सकाम)ले जस्तो नै कर्म गर्ने आज्ञा दिनुहुन्छ ।

यो भन्दा अघिल्लो प्रसंगमा विद्वानलाई 'आदर्श' भनिएको थियो, तर यहाँ उसैलाई 'अनुयायी' भनिएको छ । तात्पर्य, विद्वान चाहे होस् या अनुयायी, ऊद्वारा स्वतः लोकसंग्रह नै हुन्छ । जस्तो भगवान रामचन्द्रले प्रजालाई उपदेश पनि दिनुभयो र पिताजीको आज्ञा मानेर वनवास पनि जानुभयो । दुवै परिस्थितिमा उहाँ द्वारा लोकसंग्रह भयो; किनकि कर्महरु गर्ने र नगर्नेमा उहाँको कुनै प्रयोजन थिएन ।

आसक्तिरहित विद्वानले गरेको कर्तव्य-कर्मवाट आसक्तियुक्त चित्त भएको पुरुषको अन्तःकरणमा पनि विद्वानको कर्महरुको स्वतः प्रभाव पर्छ, चाहे  उनीहरुलाई 'यो महापुरुष निष्कामभावले कर्म गरिरहेको छ' भन्ने परोस् अथवा नपरोस् । कुनै व्यक्तिको निष्काम भावको असर अरुमा अवश्य नै पर्छ--यो सिद्धान्त नै हो । यसैले आसक्तिरहित विद्वानका भावहरु, आचरणहरुको प्रभाव मनुष्यहरुमा मात्रै होइन, पशु-पक्षीहरूमा पनि पर्छ ।


साधकले निष्कामभावपूर्वक विहित कर्म नगरुन्जेल उसको जन्म-मरण मेटिन सक्तैन । आफ्नोलागि कर्म गरुन्जेल ऊ कृतकृत्य हुँदैन अर्थात् 'गर्नु' सकिंदैन । किनकि स्वयं नित्य रहने स्वभावको छ र कर्म एवं त्यसको फल नष्ट हुने स्वभावको छ । अतः सवै व्यक्तिले स्वार्थ त्यागेर, आफ्नोलागि कर्म नगरेर केवल अरुको हितकोलागि कर्तव्य-कर्म गर्ने आवश्यकता छ ।

सांसारिक वस्तुहरुलाई मूल्यवान मान्दा नै कर्मयोगको आचरणमा कठिनाइ आएको जस्तो लाग्छ हामीलाई । हामीले अरुसँग कुनै चीजको पनि आश नगरेर खालि अरुको हितकोलागि काम गर्ने हो भन्ने कुरो स्वीकार गर्यौं भने आज नै कर्मयोगको पालन गर्न सजिलो हुन्छ ।

वास्तवमा महत्व पदार्थको होइन, आचरणको हो । अन्तःकरणमा पदार्थको महत्व नभए मात्रै आचरणको महत्व हुन्छ । कुनै पनि पदार्थ व्यक्तिगत होइन, केवल उपयोगकोलागि नै व्यक्तिगत हो । पदार्थलाई व्यक्तिगत मान्दा नै परहितकोलागि पदार्थको त्याग गर्न गाह्रो हुने हो । कुनै पदार्थ अथवा क्रिया बन्धन-कारक होइन, तिनीहरुसंगको सम्बन्ध नै बन्धन-कारक हो ।

मेरा मित्रहरु, मैले धेरै पटक गीता पढिसकें । अहिले हजुरहरुलाई पठाइरहेको यो आलेख पनि स्वामी श्रीरामसुखदासजी महाराजको 'साधक संजीवनी' भन्ने गीताको आधारमा नै हो । जति चोटि गीता पढ्दा पनि केही न केही नयाँ पाइरहेको जस्तो लाग्छ मलाई । जहिले पनि गीताले भनेको जस्तो आचरण गर्न केही न केही वांकी रहे जस्तो मलाई लागिरहन्छ । यसको अध्ययनले overnight परिवर्तन आउन सक्ने होइन, थाहा नपाइंदो किसिमले हामीमा केही न केही change आउँछ । अहिलेसम्म हामीले भोगेको, देखेको, सुनेको सूचनाको आधारमा पनि हामीलाई यो कुरा पक्का नै भएको हुनुपर्छ, भौतिक पदार्थ सम्पन्न व्यक्तिले पनि शाश्वत सुख पाउन सक्तैन, किनभने यो सुख पैसाले किन्न नसकिने रहेछ, यसलाई हामी आफैंले आर्जन गर्नुपर्ने रहेछ । अरु अहिले सम्म आर्जन गरेका पदार्थ तथा सूचना हाम्रो शरीर छुटेपछि हामीसँग जाँदैनन्, तर अहिले हामीले मनन गरिरहेको वेदान्तको ज्ञान हाम्रो शरीर छुटेपछि पनि हामीसँग जान्छ, यसले हाम्रो साथ कहिले पनि छोड्दैन । यो कुरो यही गीतको छैठौं अध्यायमा पढ्न पाइन्छ । शाश्वत सुख नपाई  व्यक्ति सन्तुष्ट हुन सक्तैन । यो कुरो निरन्तर सम्झिरहन गीताको अध्ययन चाहिन्छ हामीलाई । संसारका धनीहरु मध्ये एक मानिने एक व्यक्ति malnutrition भएर निधन भएको कुरो हामीलाई थाहा नै भएको हुनु पर्छ । मैले वयान गरिरहेको यो गीता, यसलाई 'मेरो' भन्न मन लाग्छ मलाई, हजुरहरुले पनि हजुरहरुको 'मेरो' वनाउनु छ । नत्र त हजुर, हाम्रो भविष्य अत्यन्त अनिश्चित छ, अहिलेको अहिले के हुन्छ हामीलाई मात्रै होइन, कसैलाई पनि थाहा छैन । यस्तो अनिश्चित जीवनमा 'ढुक्क' भएर वाँच्न सक्ने कला सिकाउँछ गीताले हामीलाई । कतिले त गीताको ज्ञानलाई abstract भनेर स्वीकार्नै सक्तैनन्, 'हामीले ईश्वर देखेका छैनौं,  कसरी पत्याउने' भन्छन् उनीहरु । गीताको ज्ञानले भन्छ, 'तिमीहरुको इन्द्रियहरू, मन, बुद्धिको पकडमा आउन नसक्ने तत्व हो यो, जसले तिमीहरुको शरीर, इन्द्रियहरु, मन, बुद्धिलाई सत्ता-स्फूर्ति दिन्छ, त्यो तत्वलाई तिम्रो शरीर, इन्द्रियहरु, मन, बुद्धिले कसरी जान्ने'? हाम्रा इन्द्रियहरु द्वारा जान्न सकिने तेज, वायु, आकाश त कति सूक्ष्म छ भने ती भन्दा पनि अति सूक्ष्म तत्वको ज्ञान हुन नित्य-निरन्तर श्रवण, मनन, निदिध्यासनको जरुरत छ हामीलाई । मैले पनि जानेको त के छ र हजुर, केवल हजुरहरुले मेरो अक्षरहरु पढिरहनु भएको छ भन्ने  मात्रै लाग्छ मलाई र यही भएर नै मैले हजुरहरुलाई आफ्नो feelings share गरिरहेको ।                 

118 No . 86 श्लोक २३, २४ किनभने हे पार्थ ! यदि मैले कुनै वेला होशियार भएर

No . 86

श्लोक २३, २४

किनभने हे पार्थ ! यदि मैले  कुनै वेला होशियार भएर कर्तव्य-कर्म गरिनं भने ठूलो हानि हुनेछ, किनभने मनुष्य सबै प्रकारले मेरो मार्गको नै अनुसरण गर्छन् । यदि मैले कर्म नगरुँ त म वर्णसंकरको कर्ता वन्नेछु तथा यी समस्त प्रजालाई नष्ट गर्ने वन्नेछु ।

भगवान भन्नुहुन्छ, मवाट सावधानीपूर्वक कर्म नहुने भन्ने कुरा त आउंदै आउँदैन । यहाँ भन्न खोजिएको, कर्तव्य-कर्म गर्न आलस्य, प्रमाद गर्नु हुँदैन, वरु अझ सावधानीपूर्वक गरिनु पर्छ ।   सावधानीपूर्वक कर्तव्य-कर्म नगर्दा मनुष्य आलस्य, प्रमादको वशमा पर्छ र ऊ आफ्नो अमूल्य जीवन नष्ट गर्छ । कर्ममा शिथिलता (आलस्य, प्रमाद) आउन नदिई ती कर्महरु सावधानीपूर्वक गरे नै कर्महरुसँग सम्बन्ध-विच्छेद हुन्छ ।  यदि कुनै कर्मको फेरि फेरि सम्झना आइरहन्छ भने हामीले यो बुझ्नु जरूरी छ, कर्म गर्न कुनै त्रुटी (कामना, आसक्ति, अपूर्णता, आलस्य, प्रमाद, उपेक्षा) भएको छ, जसले गर्दा त्यो कर्मसँग सम्बन्ध-विच्छेद भएको छैन । कर्मसँग सम्बन्ध-विच्छेद नभएको कारणले नै गरिएका कर्मको सम्झना आइरहन्छ ।
भगवान भन्नुहुन्छ, मेरो मार्गको अनुसरण गर्ने नै वास्तवमा मनुष्य हुन्छन् । मलाई आदर्श नमानेर आलस्य-प्रमादवश कर्तव्य-कर्म नगरेर अधिकार खोज्ने मान्छेलाई भगवानकोलागि आकृतिवाट मनुष्य भए पनि वास्तवमा मनुष्य भनिन योग्य छैनन् ।
मनुष्यले संसारमा कसरी रहनुपर्छ भन्ने कुरा वताउन  भगवान मनुष्यलोकमा अवतार लिनुहुन्छ । संसारमा आफ्नोलागि वस्ने नै होइन -- यो नै संसारमा रहने विद्या हो । संसार नै एउटा विद्यालय हो, जहाँ हामीलाई कामना, ममता, स्वार्थ त्यागेर अरुको हितकोलागि कर्म गर्न सिक्नुपर्छ र त्यही शिक्षा अनुसार कर्म गरेर आफ्नो उद्धार गर्नुपर्छ। 

यहाँ कर्महरुमा सावधानी नगरे हानि हुने र कर्म नै नगरे पनि हानि हुने कुरा छ ।भगवान यहाँ भन्नुहुन्छ, 'मेरोलागि केही पनि प्राप्तव्य नभए पनि म कर्म गर्छु । यदि मैले नै आफ्नो कर्तव्यको पालन गरिनँ भने सबै मनुष्य नष्ट-भ्रष्ट हुन्छन् अर्थात् उनीहरुको पतन हुन्छ ।   किनभने आफ्नो कर्तव्यको त्याग गर्दा तामस भाव आउँछ, जसवाट अधोगति हुन्छ ।' 

भगवान त्रिलोकीमा आदर्श पुरुष हुनुहुन्छ, सम्पूर्ण प्राणी उहाँको मार्गको अनुसरण गर्छन् । यदि भगवानले पनि आफ्नो कर्तव्यको पालन गर्नु भएन भने त्रिलोकीमा कोही पनि आफ्नो कर्तव्य-पालन गर्दैनन् । यसैले भगवान भन्नुहुन्छ, यदि म पनि आफ्नो कर्तव्यको पालन नगरौं त सबै लोक नष्ट-भ्रष्ट हुन्छन् र यिनीहरु नष्ट-भ्रष्ट हुने कारण म नै वन्नेछु। यसवाट थाहा हुन्छ, कर्तव्य-कर्म नगर्दा पनि वर्णसंकरता हुन्छ । यसैले भगवानले पनि आफ्नो कर्तव्य-पालन गर्नु भएन भने कर्म, धर्म, उपासना, वर्ण, आश्रम, जाति आदिमा पनि स्वतः वर्णसंकरता आउँछ । यहाँ अर्जुनलाई भगवान सावधान गर्नुहुन्छ, 'तिमीले पनि कर्तव्य-पालन गरेनौ भने तिमीलाई वर्णसंकरताको दोष लाग्नेछ ।' 

यो अध्यायको शुरु नै अर्जुनको 'मलाई घोर कर्ममा किन लगाउनु हुन्छ?' भन्ने थियो । भगवान यही सन्दर्भमा अर्जुनलाई उपदेश दिइरहनु भएको छ, 'तिमीले मात्रै कर्तव्य-कर्म गर्नु पर्ने होइन कि मैले आफैंले पनि कर्तव्य-पालन गरिरहेछु । अहिले यो अवतारमा तिमीले रथी वन्न स्वीकार गर्यौ, मैले सारथी वन्न स्वीकार गरें, त्यही प्रतिज्ञा अनुरुप मैले सारथीको काम गरिरहेको छु, तिमीले पनि रथीको काम स्वीकार गर्नै पर्छ ।   

Thursday, 3 July 2014

117. No. 85 पहिलो श्लोकको वांकी अन्तःकरणमा धन र पदको, त्यस्तै, लोभ रहेको कारणले हामीहरु धेरै धनी

No. 85

पहिलो श्लोकको वांकी

अन्तःकरणमा धन र पदको, त्यस्तै, लोभ रहेको कारणले हामीहरु धेरै धनी (लखपति, करोडपति) र ठूला ठूला पदमा रहेका (नेता, मन्त्रि)लाई श्रेष्ठ पुरुष भन्ने ठान्छौं र उनीहरुलाई धेरै आदरको दृष्टिले हेर्छौं । अन्तःकरणमा जड वस्तुहरुको महत्व भएका व्यक्तिहरु न आफैं श्रेष्ठ हुन्छन्, न श्रेष्ठ व्यक्तिको महत्व बुझ्न सक्छन् । उनीहरुले श्रेष्ठ मान्ने व्यक्ति पनि वास्तविक श्रेष्ठ हुँदैन । साँच्चि नै श्रेष्ठ नहुँदा पनि अरुले श्रेष्ठ मानिदिंदा ती धनी तथा ठूला कहलाइने पुरुषहरुको आचरणको प्रचार समाजमा स्वतः नै हुन्छ । जस्तो, समाजमा धनी व्यक्तिको प्रचार भइदिंदा ती व्यक्तिहरुले जुन जुन जुक्तिले धन कमाउने र जम्मा गर्ने गर्छन्, ती जुक्तिहरुको प्रचार , जति नै गोप्य भए पनि, समाजमा भइरहेको हुन्छ । यही कारण, हालसालै झूठ, कपट, वेइमानी, धोखा, आदिको निकै प्रचार भइरहेको पाइने गरेको छ ।

अर्कोतिर, अन्तःकरणमा कामना, ममता, आसक्ति, स्वार्थ, पक्षपात आदि दोष नभएका व्यक्तिहरुमा नाशवान् पदार्थहरुको महत्व हुँदैन र केही लिने भाव पनि हुँदैन । यस्ता व्यक्तिहरुको  वचनको प्रभाव अरुमा स्वतः पर्छ र उनीहरु त्यस्ता व्यक्तिहरुको वचन अनुसार स्वयं आचरण गर्न थाल्छन् ।  त्यस्तो श्रेष्ठ मनुष्य स्वयं आफ्नो वर्ण र आश्रम अनुसार आचरण गर्छ र अरु वर्ण आश्रमका व्यक्तिहरुकोलागि पनि ऊ आफ्ना वचनहरुद्वारा शास्त्र, इतिहासको प्रमाणले यस्तो शिक्षा दिन्छ, 'आफ्नोलागि केही नगरेर सम्पूर्ण प्राणीहरुको हितको भावले आफ्नो आफ्नो कर्तव्यको पालन गर्नु सुगम र श्रेष्ठ साधन हो।'  त्यस्ता श्रेष्ठ पुरुषका वचनहरुवाट प्रभावित भएर अरु वर्ण, आश्रमका व्यक्तिहरु पनि आफ्नो-आफ्नो कर्तव्यको पालन गर्न थाल्छन् ।

श्रेष्ठ पुरुषलाई श्रेष्ठ मान्ने व्यक्तिहरु नै श्रेष्ठ पुरुषको आचरण गर्छन् । साँच्चिकै श्रेष्ठ पुरुषलाई पनि श्रेष्ठ नमान्ने व्यक्तिहरु उसको आचरण अनुसार आचरण गर्न सक्तैनन् ।

श्लोक २२
हे पार्थ ! मलाई तीनै लोकहरुमा न त कुनै कर्तव्य छ र न (कुनै) प्राप्त गर्ने योग्य (वस्तु) अप्राप्त छ, तर पनि म आफ्नो कर्तव्यकर्ममा नै लागिरहन्छु।
भगवान एक लोकमा मात्रै सीमित हुनुहुन्न, त्यसैले उहाँ तीनै लोकमा आफ्नो कुनै कर्तव्य नभएको कुरा गर्नुहुन्छ । तीनै लोकमा उहाँको कर्तव्य वांकी नरहनुको कारण, उहाँकोलागि केही पाउनु नै छैन । सम्पूर्ण प्राणीहरुवाट कर्म भइरहनु केही न केही पाउन नै हो । भगवान यहाँ अनौठो कुरो गर्नुहुन्छ, 'केही गर्न र पाउन वांकी नरहँदा पनि म कर्म गरिरहन्छु ।'
आफ़्नोलागि कुनै कर्तव्य नहुंदा पनि भगवान केवल अरुको हितकोलागि अवतार लिनुहुन्छ र साधु पुरुषहरुको उद्धार, पापी पुरुषहरुको विनाश र धर्मको संस्थापना गर्नकोलागि कर्म गर्नुहुन्छ ।  अवतार मात्रै होइन, भगवानको सृष्टि-रचना पनि सम्पूर्ण जीवहरुको उद्धारकोलागि नै हुन्छ । स्वर्गलोक पुण्यकर्महरुको फल भोगाउन हो र चौरासी लाख योनिहरु एवं नरक पापकर्महरुको फल भोगाउन हो । हाम्रो मनुष्यजीवन पुण्य र पाप--दुवैदेखि माथि उठेर आफ्नो कल्याण गर्नकोलागि हो । हामी पुण्य र पापदेखि माथि उठेर आफ्नो कल्याण गर्न त्यही वेला सक्छौं, जव हामी हाम्रोलागि केही गर्दैनौं । हामीवाट हुने सम्पूर्ण कर्म -- स्थूल शरीरद्वारा हुने 'क्रिया', सूक्ष्म शरीरद्वारा हुने 'चिन्तन' र कारण शरीरद्वारा हुने 'स्थिरता' -- केवल अरुको हितकोलागि नै हुनुपर्छ, आफ़्नोलागि होइन । कारण, हामीवाट कर्म हुने तिनै शरीर संसारका हुन्, हाम्रा होइनन् । यसैले कर्मयोगी शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ आदि सामग्रीलाई संसारको भन्ने मान्छ र यसैको सेवामा लगाउँछ । हामीले संसारको वस्तु संसारको सेवामा नलगाएर आफ्नो सुख-भोगमा लगाउँछौं भने हामीवाट ठूलो भूल हुन्छ । संसारको वस्तु आफ्नो मान्दा नै फलको इच्छा हुन्छ र फल प्राप्तिकोलागि नै हामीवाट कर्म हुन्छन्। अर्को शब्दमा, फल प्राप्तिको इच्छाले कर्म गरुन्जेल हाम्रोलागि कर्तव्य अर्थात् 'गर्न' वांकी रहन्छ ।
विचारै गर्ने हो भने, हाम्रो आफ्नोलागि कुनै पनि कर्तव्य छैन । हामीले पाउनु पर्ने वस्तु (परमात्मा) नित्य-प्राप्त छ र स्वयं (हाम्रो स्वरूप) पनि नित्य छ, तर कर्म र फल अनित्य अर्थात् उत्पन्न र नष्ट हुने स्वभावका छन् । अनित्य कर्मको सम्बन्ध नित्य (स्वयं)सँग कसरी हुन सक्छ ?  कर्मको सम्बन्ध 'पर' (शरीर-संसारसँग) छ, 'स्व'संग छैन । कर्म सदैव 'पर'द्वारा र 'पर'कोलागि नै हुन्छ । यसैले आफ़्नोलागि केही गर्नु नै  छैन । सबै मनुष्यकोलागि कुनै कर्तव्य छैन भने भगवानकोलागि कसरी कर्तव्य हुन सक्छ र ?
 
कर्मयोग द्वारा सिद्ध भएका महापुरुषकालागि पनि यही अध्यायमा भगवान भन्नुहुन्छ, त्यो महापुरुषकोलागि कुनै कर्तव्य छैन; किनकि उसको रति, तृप्ति, र सन्तुष्टि आफू आफैंमा हुन्छ । त्यसैले त्यो महापुरुषलाई संसारमा गर्नु अथवा नगर्नुमा कुनै प्रयोजन रहँदैन तथा उसको कुनै पनि प्राणीसँग किञ्चित् मात्र पनि स्वार्थको सम्बन्ध रहँदैन । यसो हुँदा पनि त्यो महापुरुष लोकसंग्रहकोलागि कर्म गर्छ । यही किसिमले भगवान यो प्रकरणमा आफ़्नोलागि भन्नुहुन्छ, 'कुनै पनि कर्तव्य नरहँदा तथा केही पाउन वांकी नरहँदा पनि म लोकसंग्रहकोलागि कर्म गर्छु ।'  यसको तात्पर्य, तत्वज्ञ महापुरुषको भगवानसँग एकता हुन्छ । जस्तो भगवान त्रिलोकीमा नै आदर्श पुरुष हुनुहुन्छ, त्यस्तै तत्वज्ञ महापुरुष संसारमा आदर्श हुन्छ ।
 
फेरि भगवान भन्नुहुन्छ, 'म उत्साह एवं तत्परताले, आलस्यरहित भएर, सावधानीपूर्वक कर्तव्य-कर्म गर्छु । म न त कर्मको त्याग नै गर्छु न उपेक्षा नै गर्छु ।'

भगवान र सन्त महापुरुषवाट  इन्जिनवाट  जस्तो कर्तव्य कर्म हुन्छ, जसले गर्दा सर्व-साधारण पनि उहाँहरुकै अनुसरण गर्छन् । अरु मनुष्यमा गर्ने र पाउने इच्छा रहन्छ । यदि भगवान र सन्त-महापुरुषले  कर्तव्य-कर्म नगरे अरु मनुष्य पनि आफ्नो आफ्नो कर्तव्य कर्म नगर्ने हुन्छन्, जसवाट उनीहरुमा आलस्य, प्रमाद आउँछ र उनीहरु अकर्तव्य गर्न थाल्छन् । फेरि ती मनुष्यहरुको इच्छा कसरी मेटिन्छ ? यसैले सम्पूर्ण मनुष्यहरुको हितकोलागि भगवान र सन्त-महापुरुषहरु द्वारा स्वाभाविक नै कर्तव्य कर्म हुन्छन् ।

भगवान सदैव कर्तव्य-परायण रहनुहुन्छ, कहिले पनि कर्तव्यच्युत हुनुहुन्न। हामी जस्ता साधकले कहिले पनि कर्तव्यवाट हट्नु हुन्न । कर्तव्यवाट हट्दा नै हामी भगवत-तत्वको अनुभव गर्न सक्तैनौं । नित्य कर्तव्य परायण हामीलाई भगवत-तत्वको अनुभव सजिलोसँग हुन सक्छ ।

116. No. 84 श्लोक २१ श्रेष्ठ मनुष्य जस्तो जस्तो आचरण गर्छन्, अरु मनुष्य पनि त्यस्तै त्यस्तै आचरण गर्छन् ।

No. 84

श्लोक २१

श्रेष्ठ मनुष्य जस्तो जस्तो आचरण गर्छन्, अरु मनुष्य पनि त्यस्तै त्यस्तै आचरण गर्छन् । श्रेष्ठ मनुष्य आफ्नो आचरण द्वारा जस्तो प्रमाण दिन्छ, अरु मनुष्य उही अनुसार आचरण गर्छन् । संसारलाई (शरीर आदि पदार्थ)लाई र स्वयं -(आफ्नो स्वरूप)लाइ तत्वले जान्ने व्यक्ति श्रेष्ठ हो । श्रेष्ठ व्यक्तिलाई हरदम यो अनुभव हुन्छ, शरीर, इन्द्रियहरु, मन, बुद्धि, धन, कुटुम्ब, जमीन आदि पदार्थ संसारको हो, आफ्नो होइन। यति मात्रै होइन, त्यो श्रेष्ठ पुरुष त्याग, वैराग्य,  प्रेम,ज्ञान,सद्गुण आदिलाई पनि आफ्नो मान्दैन; किनकि तिनीहरुलाई पनि आफ्नो मान्दा व्यक्तित्व पुष्ट हुन्छ। व्यक्तित्व नै कल्याणप्राप्तिमा वाधक हो ।  श्रेष्ठ पुरुषमा, जडताको सम्बन्धले हुने 'व्यष्टि अहंकार' त हुँदै हुन्न र 'समष्टि अहंकार' पनि व्यवहारकोलागि मात्रै हुन्छ । यो समष्टि अहंकार संसारको सेवामा लाग्छ, किनकि अहंकार पनि संसारको नै हो ।

संसारवाट पाइएको शरीर, धन, परिवार, पद, योग्यता, अधिकार आदि सबै पदार्थ सदुपयोग गर्न अर्थात् अरुको सेवामा लगाउने नै हो, उपभोग गर्न अथवा आफ्नो अधिकार जमाउनकोलागि होइन । संसारका वस्तुहरु आफ्नो र आफ़्नोलागि मान्ने व्यक्तिलाई भगवान चोर भन्नुहुन्छ । संसारका सबै पदार्थ समष्टिका हुन्, व्यष्टिका हुँदै होइनन्। यी पदार्थहरुसँग हाम्रो कुनै पनि सम्बन्ध छैन।  श्रेष्ठ पुरुषको आफ्नो भनिएका शरीर आदि पदार्थ, संसारको भएकोले स्वतः स्वाभाविक संसारको सेवामा लाग्छन् । सम्पूर्ण प्राणीहरुको हितमा श्रेष्ठ पुरुषको प्रवृत्ति हुन्छ।

'दिने' भावले समाजमा एकता, प्रेम  हुन्छ र 'लिने' भावले संघर्ष हुन्छ। 'दिने' भावले उद्धार गर्छ र 'लिने' भावले पतन गर्छ । शरीरलाई 'म' र 'मेरो' मान्दा नै 'लिने' भाव हुने हो शरीरसँग आफ्नो कुनै सम्बन्ध नमान्दा श्रेष्ठ पुरुषमा 'लिने' भाव किञ्चित मात्र पनि हुँदैन । यही कारण उसको प्रत्येक क्रिया अरुको हितकोलागि हुन्छ । यस्तो श्रेष्ठ पुरुषको दर्शन, स्पर्श, वार्तालाप, चिन्तन आदिवाट स्वतः अरुको हित हुन्छ । अझ, यस्ता व्यक्तिलाई स्पर्श गरेर वहने वायुवाट पनि अरुको हित हुन्छ ।

श्रेष्ठ पुरुष दुई प्रकारका हुन्छन् -- (१) अवधूत कोटीका र (२) आचार्य कोटीका । अवधूत कोटीका श्रेष्ठ पुरुष अवधूतहरुकोलागि नै आदर्श हुन्छन्, साधारण व्यक्तिकोलागि होइन । तर आचार्य कोटीका श्रेष्ठ पुरुष मनुष्य मात्रकोलागि आदर्श हुन्छन्। यहाँ वर्णन भएका श्रेष्ठ पुरुष आचार्य कोटीका हुन् । यस्ता श्रेष्ठ पुरुषका आचरण सँधै शास्त्र मर्यादा अनुकूल नै हुन्छ । कसैले देखोस् अथवा नदेखोस्, अहंता-ममता नभएको कारण उनीहरुवाट स्वाभाविक नै कर्तव्य-पालन हुन्छ । उसमा, कसैलाई थाहा भए पनि, नभए पनि, परहितको भाव भएको कारणले संसारैको उपकार हुने गर्छ । व्यक्तित्व भनेकै अहंता र ममता हो, त्यही अहंता र ममता मेटिएपछि, भगवानको त्यो पालन-शक्तिसँग उसको एकता हुन्छ। त्यही एकतावाट संसारको नै हित भइरहेको हुन्छ ।

एकै शरीरका सबै अंग भिन्न-भिन्न हुँदा पनि एक नै हुन्; किनभने जुन अंगमा पीडा हुँदा पनि मनुष्य आफ्नै पीडा सम्झन्छ। त्यस्तै संसारका सबै प्राणी छुट्टा-छुट्टै हुँदा पनि एक नै हुन्। शरीरको कुनै रोगी अंग स्वस्थ भयो भने शरीरको कल्याण (हित) हुन्छ, त्यस्तै मर्यादामा रहेर प्राप्त वस्तु, समय, परिस्थिति आदि अनुसार आफ्नो कर्तव्य-पालन गर्ने मनुष्यद्वारा सम्पूर्ण संसारको स्वतः हित हुन्छ ।

श्रेष्ठ पुरुषको भाव र आचरणवाट अरु व्यक्तिलाई धेरै प्रभाव पर्छ । आफ्नो वर्ण, आश्रम, सम्प्रदाय आदि आचरणहरु राम्रोसँग पालन गर्ने महापुरुषले भनेको वचनवाट अर्को वर्ण, आश्रम, सम्प्रदायका व्यक्तिहरुमा पनि धेरै प्रभाव पर्छ ।

वास्तवमा, श्रेष्ठ मनुष्य आफ्नोलागि कुनै आचरण गर्दैन र उसमा कर्तृत्वाभिमान पनि हुँदैन, तर अरुको दृष्टिमा उसले गरेको आचरण श्रेष्ठ जस्तो देखिन्छ । ऊ द्वारा सबैको उपकारकोलागि स्वतःस्वाभाविक क्रियाहरु हुन्छन्। आफ्नो कुनै स्वार्थ नभएको हुँदा ऊवाट हुने साना ठूला सबै क्रिया स्वतः अरुको हित गर्ने खालका हुन्छन्। खासै भन्नु पर्दा उसकोलागि कुनै कर्तव्य नै छैन र उसमा 'गर्ने' अभिमान पनि हुँदैन। तर ऊद्वारा सुचारुरूपले कर्तव्य पालन भइरहेको हुन्छ, ऊद्वारा स्वतःस्वाभाविक लोकसंग्रह हुन्छ।

समाजमा श्रेष्ठ देखिएको व्यक्तिको अनुसरण साधारण व्यक्ति गर्छन्, त्यस्तै आचरण पनि गर्छन्। अन्तःकरणमा धन र पदको महत्व, त्यस्तै, लोभ रहनाले हामीहरु धेरै धनी (लखपति,करोडपति) तथा ठूला ठूला पदमा आसीन (नेता, मंत्री) पुरुषहरुलाई श्रेष्ठ मान्छौं र उनीहरुलाई धेरै आदरको दृष्टिले हेर्छौं। जड वस्तुहरु  (धन, पद)को महत्व भएका व्यक्तिहरु न त आफैं श्रेष्ठ हुन्छन् र न श्रेष्ठ व्यक्तिलाई नै बुझ्न सक्छन्। उनीहरुले श्रेष्ठ भन्ने व्यक्ति पनि वास्तवमा श्रेष्ठ हुँदैन।  तर, गीता धनी, पदीय व्यक्तिहरुलाई श्रेष्ठ मान्दैन। यहाँ वर्णन भैरहेको श्रेष्ठ व्यक्तिको अन्तरिक स्थितिको वर्णन भैरहेको छ। गीता अनुसार, अझ हाम्रै अनुभवले पनि भनिरहेछ, हामीले आफ्नो होश सम्हाल्न सक्ने भएदेखि अहिलेसम्म जानेका, गरेका काम कारवाहीले के हामीलाई कहिले पनि नाश नहुने शान्ति दियो त !

मलाइ कसैले सोध्छ, 'तिम्रो वजन कति हो?' म भन्छु, 'पचास केजी' वास्तवमा यो वजन मेरो होइन; किनकि शरीर पनि 'मेरो' नै हो 'म' होइन। म मेरो परिचय हजुरहरुलाई शरीरद्वारा दिन सक्तिन। फेरि प्रश्न आउँछ, मेरो शरीरको वजन मेरो जन्म हुँदा कति थियो ? जवाफ छ, 'दुई केजी'। त्यो दुई केजी वजन पनि मैले मेरी आमाले खाएको अन्नको हो, मेरो होइन। जन्म हुँदाको दुई केजी अन्न अहिले वढेर पचास केजी भयो। मैले मेरो भनेको वजन त अन्नको रहेछ, मेरो होइन रहेछ। 'म' त वजनदेखि रहित रहेछु। यस्तो वजन नै नभएको 'म' कसरी धनी-गरीव, डाक्टर-इन्जिनियर, मन्त्री-नेता भएँ त? 'म' मा कुनै,केही उपाधि नै छैन, उपाधि पनि कल्पित हुन्, मिथ्या हुन्। त्यस्तो मिथ्या मान-सम्मान, मोटो-दुब्लो, धनी-गरीव, स्वस्थ-रोगी शरीरलाई लिएर म भन्ने र त्यही नक्कली 'म'लाई नै सत्य मानेर आचरण गर्ने हामीलाई कसरी शान्ति हुन्छ? जीवनको उत्तरार्धमा हुने मानसिक अशान्ति नहोस् भन्ने तात्पर्य छ गीताको। आदि गुरु शंकराचार्यको 'भज गोविन्दम्'मा यही कुराको विस्तृत वर्णन छ ।

'भज गोविन्दम् भज गोविन्दम् गोविन्दम् भज मूढ़मते ।
प्राप्ते सन्निहिते मरणे  न हि न हि रक्षति डुक्रियंकरणे ।
हे मूर्ख, गोविन्द भज, गोविन्द भज, गोविन्द भज ।
तिमी मर्ने वेला तिम्रा नाता-गोता, धन-सम्पत्ति, विद्या-वुद्धिले केही गर्न सक्तैनन् ।

115. No. 83 पहिलो श्लोकको नै वांकी हामी परमात्मा प्राप्त गर्न सांसारिक वस्तु पाउने जस्तै कर्मजन्य

No. 83
पहिलो श्लोकको नै वांकी 

हामी परमात्मा प्राप्त गर्न सांसारिक वस्तु पाउने जस्तै कर्मजन्य (कर्मवाट प्राप्त हुने) भन्ने ठान्छौं । हामीलाई यो पनि लाग्छ, हामीलाई यो संसारका प्रख्यात व्यक्तिहरुसँग  भेट्न 
त कति परिश्रम गर्नुपर्छ भने परमात्मा भेट्न कति परिश्रम गर्नु पर्ला । तर यस्तो विचार हामीमा आउनुको कारण हाम्रो अज्ञान हो । 

मनुष्ययोनिको कर्मसँग धेरै सम्बन्ध छ । यसैले मनुष्यलाई 'कर्मसंगी' पनि भनिन्छ ।यही कारण हामीलाई कर्म गर्ने विशेष प्रवृत्ति रहेको र हामीले कर्मद्वारा नै आफूले चाहेको वस्तु प्राप्त गर्न चाहेको । प्रारब्धले साथ दिंदा हामी कर्मद्वारा नै आफूले खोजेको वस्तु प्राप्त गरिरहेका पनि छौं । यही अनुभवको आधारमा नै हामी कर्मद्वारा नै परमात्मा प्राप्ति गर्ने प्रयास गर्छौं । तर वास्तविकता हो, हामी परमात्मा कर्मले पाउन सक्तैनौं । यो विषयलाई निकै गम्भीरतापूर्वक बुझ्नुपर्छ हामीले ।

कर्मद्वारा नाशवान वस्तुको प्राप्ति हुन्छ, अविनाशी (परमात्मा)को प्राप्ति हुँदैन; किनकि सम्पूर्ण कर्म नाशवान्  (शरीर, इन्द्रियहरु, मन आदि)को सम्बन्धले नै हुन्छन् ।  तर परमात्माको प्राप्ति नाशवान् पदार्थसँग सर्वथा सम्बन्ध-विच्छेद भएपछि नै हुन्छ ।

हरेक कर्मको आरम्भ र अन्त हुन्छ, यसैले कर्मद्वारा प्राप्त फल पनि उत्पन्न र नष्ट हुन्छ । कर्म द्वारा पाइने वस्तु पनि उत्पन्न र नष्ट हुने खालका हुन्छन् । कर्मद्वारा पाइने वस्तु देश-कालको दृष्टिले अप्राप्त हुन्छन् ।संसारिक वस्तु एक देश, काल आदिमा रहने, उत्पन्न र नष्ट हुने एवं प्रतिक्षण वदलिइरहने हुन् । अतः तिनीहरुको प्राप्ति कर्म-साध्य छ । परन्तु परमात्मा सबै देश, काल, वस्तु, व्यक्ति आदिमा परिपूर्ण (नित्यप्राप्त) एवं उत्पत्ति-विनाश र परिवर्तनरहित छ । त्यसैले परमात्माको प्राप्ति स्वतःसिद्ध छ, कर्म-साध्य होइन । यही कारण संसारिक पदार्थको प्राप्ति चिन्तनवाट हुँदैन, तर परमात्माको प्राप्तिमा चिन्तन मुख्य छ । चिन्तनवाट पाइने वस्तु हामी आफूसँग अत्यन्त नजीक हुनुपर्छ । वास्तवमा परमात्मा हामीसंग अत्यन्त समीप भएकोले परमात्माको प्राप्ति चिन्तनरुप क्रियाले पनि हुँदैन । परमात्माको चिन्तन गर्ने सार्थकता नै अरु (संसार)को चिन्तनको नगर्न  हो । संसारको चिन्तन सर्वथा छुट्ने वित्तिकै नित्यप्राप्त परमात्माको अनुभव हुन्छ ।
सर्वव्यापी परमात्मा हामीवाट टाढा हुँदै हुनुहुन्न, जसवाट हामी आफूलाई अत्यन्त टाढा मान्दैनौं, त्यो 'म' पनावाट पनि परमात्मा अत्यन्त समीप हुनुहुन्छ । 'म' पना परिच्छिन्न छ, तर परमात्मा परिच्छिन्न हुनुहुन्न। यस्तो अत्यन्त समीपस्थ, नित्यप्राप्त परमात्माको अनुभव गर्नकोलागि सांसारिक वस्तुहरुको प्राप्ति जस्तो तर्क तथा युक्तिहरु लगाउने हो भने आफूले आफूलाई नै धोखा दिनु हुन्छ ।

सांसारिक वस्तुहरुको प्राप्ति इच्छा गरेर मात्रै हुँदैन, तर परमात्माको प्राप्ति उत्कट अभिलाषा मात्रैले हुन्छ । यस्तो उत्कट अभिलाषा जाग्रत हुन संसारिक भोग र संग्रहको इच्छा नै वाधक हुन्छ । हामीलाई परमात्मा प्राप्तिको उत्कट इच्छा अहिले नै जाग्रत भयो भने अहिले नै परमात्मा प्राप्त हुन सक्छ।

मनुष्यजीवनको उद्देश्य कर्म गर्नु र त्यसको फल भोग्नु होइन । संसारिक भोग र संग्रहको इच्छाको त्यागद्वारा परमात्माप्राप्तिको उत्कट अभिलाषा जाग्रत हुनलाई साधकको जीवनभरीको उद्देश्य परमात्मा प्राप्ति मात्रै हुनुपर्छ । परमात्माप्राप्ति सिवाय अरु कुनै पनि कार्यको महत्व हुनुहुन्न हामीमा । खासै भन्नु पर्दा, हाम्रो जन्मको प्रयोजन पनि परमात्मा प्राप्ति नै हो ।

यहाँ उद्देश्य र फलेच्छा -- दुवैको भेद बुझ्नु जरूरी छ । नित्य परमात्म तत्व प्राप्त गर्ने उद्देश्य  हुन्छ र अनित्य (उत्पत्ति-विनाशशील) पदार्थहरु प्राप्त गर्ने 'फलेच्छा' हुन्छ । उद्देश्य पूरा  हुन्छ, तर फलेच्छा मेटिने खालको हुन्छ । स्वरूपबोध र भगवत्-प्राप्ति --यी दुवै उद्देश्य हुन्, फल होइनन् । उद्देश्यप्राप्तिकोलागि गरिएको कर्मलाई  सकाम भनिंदैन । यसैले निष्काम-पुरुष-(कर्मयोगी)का सबै कर्म उद्देश्यलाई लिएर हुन्छन्, फलेच्छालाई लिएर हुँदैनन् ।

कर्मयोगमा गरिने  कर्महरु (जडता)सँग सम्बन्ध-विच्छेदको उद्देश्य राखेर शास्त्रविहित हुन्छन् । सकाम पुरुष फलको इच्छा त्यागेर अरुकोलागि कर्म (सेवा) गर्छ । कर्म नै फलरूपले परिणत हुन्छ । त्यसैले फलको सम्बन्ध कर्मसँग हुन्छ। उद्देश्यको सम्बन्ध कर्मसँग हुँदैन । निश्कम भावपूर्वक केवल अरुको हितकोलागि कर्म गर्दा 'परमात्मा हामीवाट टाढा हुनुहुन्छ' भन्ने धारणा हट्छ ।

'लोकसंग्रह' भनेको लोक मर्यादा सुरक्षित राख्न, अरुलाई असत् वाट विमुख गरेर सत् को सम्मुख गर्न निःस्वार्थभावपूर्वक कर्म गर्नु हो । यही कर्मलाई गीतामा 'यज्ञार्थ कर्म'को नामले पनि भनिन्छ । आफ्नो आचरण र वोलीवचनद्वारा अरुलाई असत् वाट विमुख गरेर सत् को सम्मुख गरिदिनु धेरै ठूलो सेवा हो; किनकि सत् को सम्मुख हुँदा व्यक्तिको सुधार एवं उद्धार हुन्छ।

कुनै पनि कर्तव्य-कर्म ठूलो र सानो हुँदैन । सानो या ठूलो कर्म कर्तव्य सम्झेर गर्दा समान नै हुन्छ । देश, काल, परिस्थिति, अवसर, वर्ण, आश्रम, सम्प्रदाय आदि अनुसार जे कर्तव्यकर्म आफ्नो सामुन्ने आउँछ, त्यही कर्म ठूलो हुन्छ । कर्मको स्वरूप र फलको दृष्टिले नै कर्म ठूलो अथवा सानो, घोर अथवा सौम्य हुन्छ । फलेच्छा त्याग गरेपछि सबै कर्म उद्देश्य सिद्धि गर्ने हुन्छन् । जडतासँग सम्बन्ध-विच्छेद भएपछि  साना ठूला सबै कर्म एकै हुन् ।

कर्मयोग मुक्तिको स्वतन्त्र साधन हो । यही क्रममा भगवान अर्जुनलाई भन्नुहुन्छ, तिमीले कर्मयोग अनुसार चल्यो भने परमसिद्धि मिल्छ भन्ने आदर्श स्थापित गर्नुपर्छ ।