Friday, 18 July 2014

125. No. 93 श्लोक ३१ दोष-दृष्टिले रहित भएर, श्रद्धापूर्वक मैले पूर्वश्लोकमा भनेको मतको सँधै अनुसरण गर्ने व्यक्तिहरु कर्महरुको बन्धनवाट मुक्त हुन्छन् ।

No.  93
श्लोक ३१
दोष-दृष्टिले रहित भएर, श्रद्धापूर्वक मैले पूर्वश्लोकमा भनेको मतको सँधै अनुसरण गर्ने व्यक्तिहरु कर्महरुको बन्धनवाट मुक्त हुन्छन् ।

 कुनै पनि वर्ण, आश्रम, धर्म, सम्प्रदायको कुनै पनि मनुष्य कर्म बन्धनवाट मुक्त हुन चाहन्छ भने उसले यो सिद्धान्त मानेर यसको अनुसरण गर्नुपर्छ । शरीर, इन्द्रियहरु, मन,बुद्धि, पदार्थ कर्म केही हाम्रा आफ्ना होइनन् -- यो वास्तविकता जानेपछि सबै मनुष्य कर्म-बन्धनदेखि छुट्छन् ।
भगवान र उहाँको मतमा दृढ विश्वास र पूज्यभावले युक्त मनुष्यलाई यहाँ 'श्रद्धावन्तः' भनिएको छ ।
शरीर आदि जड पदार्थलाई आफ्नो र आफ़्नोलागि नमाने मनुष्य मुक्त हुन्छ -- यो वास्तविकतामा श्रद्धा भयो भने जडतासँग मानिएको सम्बन्ध त्याग गर्न सजिलो हुन्छ ।
श्रद्धावान् साधक नै सत्-शास्त्र, सत्-चर्चा र सत्संगको कुराहरु सुन्छ, र तिनीहरुलाई आचरणमा ल्याउँछ ।
मनुष्य-शरीर परमात्मा प्रप्तिकोलागि नै मिलेको हो ।अतः परमात्माको नै प्राप्त गर्ने एउटा मात्रै उत्कट अभिलाषा भएपछि साधकमा श्रद्धा, तत्परता, सम्यतेन्द्रियता स्वतः आउँछन् । त्यसैले साधकमा परमात्मा प्राप्त गर्ने इच्छा हुनुपर्छ ।

दोष-दृष्टि नगर्ने साधकलाई यहाँ 'अनसूयंत:' भनिएको छ ।  गुणहरुमा दोष देख्नुलाई 'असूया' भन्छन् । यसैले हामीले पनि गुणहरुमा दोष नदेख्नु पर्यो, यो ज्ञान बुझ्न ।
श्रद्धा भएको ठाउँमा  कुनै न कुनै अंशमा दोष दृष्टि हुन्छ । त्यसैले हामीले आफ्नो चिन्तनवाट दोष-दृष्टि हटाउनु नै गीताको अध्ययन र चिन्तनकोलागि राम्रो सोपान भयो ।
यो भन्दा पहिलो श्लोकको  वर्णनमा शंका गर्नु नै दोषदृष्टि गर्नु हो भन्छ गीता । साधकले भगवानमा र उहाँको मतमा कहिले पनि दोषदृष्टि गर्नुहुँदैन ।

विचार गर्दा, सबै भगवानको नै हो; परन्तु मनुष्य भूलले गर्दा भगवानका वस्तुहरुलाई आफ्नो मानेर बाँधिन्छ र ममता र कामनाको वशमा परेर दुःख पाइरहन्छ । यही कारण आफ्नोपनको त्याग गराएर मनुष्यको उद्धार गर्नकोलागि, त्यसो गर्दा मनुष्य सँधैकोलागि सुखी हुन्छ, भगवान सहज करुणाले सबै आफूलाई अर्पण गर्ने कुरा गर्नुहुन्छ । यसैले भगवानको यो वचनमा दोषदृष्टि गर्नु हुँदैन । यो त् भगवानको परम सौहार्द, कारूण्य, र वात्सल्य नै हो, भगवान (आफूमा कुनै कमी र आवश्यकता नहुँदा पनि केवल मनुष्यको कल्याणकोलागि उहाँ समस्त कर्महरूलाई आफूलाई अर्पण गर्ने सुझाव दिनुहुन्छ ।

भगवानको मतलाई नै सिद्धान्त भनिन्छ । सवोपरि सिद्धान्तलाई यहाँ 'मतम्' भनियो । यो मत अथवा सिद्धान्त तीनै कालमा एउटा सिद्धान्त नै हुन्छ अर्थात् यसमा कुनै परिवर्तन हुँदैन, कसैले श्रद्धा गरे पनि नगरे पनि । 

भगवान नित्य हुनुहुन्छ, त्यसैले उहाँका समस्त वस्तुहरु पनि नित्य छन्  । परमात्माको मत पनि नित्य छ । भगवानको मत सर्वोपरि सिद्धान्त भएकोले यो कहिले पनि हराउँदैन । यसैले यसको अनुष्ठान पनि नित्य हुनुपर्छ । यही कारण भगवान हामीलाई उहाँको मतमा नित्य-निरन्तर स्थित रहेर त्यही अनुसार आचरण गर्न सिकाउनु हुन्छ ।

प्रश्न: भगवानको मत के हो ? त्यो मतको सँधै आचरण कसरी गर्ने ?

उत्तर: यो संसारमा पाइएका कुनै पनि वस्तु आफ्ना होइनन् -- यही भगवानको मत हो । शरीर, इन्द्रियहरु, मन, बुद्धि प्राण, धन, सम्पत्ति, पदार्थ आदि सबै प्रकृतिका कार्य हुन् र संसार पनि प्रकृतिको कार्य हो । यसैले यी वस्तुहरुको एकता संसारसँग छ, तथा परमात्माको अंश भएकोले 'स्वयम्'को परमात्मासँग एकता छ । यही कारण, यी वस्तुहरु व्यक्तिगत (आफ्ना )होइनन्, खालि यिनीहरुको उपयोगको अधिकार व्यक्तिगत हो । अझ, सद्गुण, सदाचार, त्याग, वैराग्य, दया, क्षमा आदि पनि व्यक्तिगत होइनन्, भगवानका हुन् । यी दैवी सम्पत्ति अर्थात् भगवत्प्राप्तिको सम्पत्ति (पूँजी) भएकोले भगवानका नै हुन् ।         

जुन वस्तु आफ्नो होइन, त्यसलाई आफ्नो मान्नु र तिनीहरुको प्राप्तिकोलागि कर्म गर्नु नै बन्धन हो । शरीर आदि वस्तुहरु 'आफ्ना' त हुँदै होइनन्, 'आफ़्नोलागि' पनि होइनन् । यदि यिनीहरु आफ़्नोलागि भए यिनको प्राप्तिमा हामीलाई पूर्ण तृप्ति अथवा सन्तोष हुने थियो, पूर्णताको अनुभव हुने थियो । परन्तु संसारिक वस्तुहरु जति नै पाइए पनि पूर्णताको तथा तृप्तिको  अनुभव हामीलाई हुँदैन । तृप्ति अथवा पूर्णताको अनुभव त्यही (परमात्मा)पाउँदा हुन्छ, जुन वस्तु आफ्नो हो । आफ्नो वास्तविक वस्तु मिलेपछि स्वप्नमा पनि अरु केही पाउने इच्छा हुँदैन । पाइएको वस्तुलाई भूलले आफ्नो माने पनि वास्तवमा ती आफ्ना होइनन् ।
शरीर आदि पाइएका वस्तुहरु न हामीले आफूसँग ल्याएका थियौं, न आफूसँग लिएर जान सक्छौं तथा वर्तमानमा पनि हामी ती वस्तुहरुसंग प्रतिक्षण वियुक्त भैरहेका छौं । वर्तमानमा जुन वस्तुहरु आफ्ना प्रतीत भइरहेका छन्, ती वस्तु पनि  अर्थात् अरुको हितमा लगाउनकोलागि हुन् । त्यसैले प्राप्त वस्तुहरुको सदुपयोग गर्ने नै अधिकार छ, आफ्नो मान्ने अधिकार छैन हाम्रो । प्राप्त वस्तुको सदुपयोग नगरेर आफ्नो मान्नु नै ठूलो भूल हो । यही भूल मेटाउनकोलागि हामीले अध्यात्म चित्तद्वारा विचार गरेर ती वस्तुहरु भगवानलाई अर्पण गरिदिनु पर्छ अर्थात् भूलले मानिएको आफ्नोपन हटाउनु पर्छ ।
एक मात्र उद्देश्य परमात्मतत्व भएको साधकले विचार गर्दा उसलाई सजिलैसँग थाहा हुन्छ, पाइएको कुनै पनि वस्तु आफ्नो होइन, छुट्ने खालको हुन्छ । शरीर, पद, अधिकार, शिक्षा, योग्यता, धन, सम्पत्ति, जमीन जे पनि पाइएका छन्, ती हराउने खालका छन् । शरीर, पद, अधिकार, शिक्षा, योग्यता, धन, सम्पत्ति, जमीन पाइएका चीज जति संसारवाट नै मिलेका हुन्, संसारकालागि नै हुन् । पाइएका वस्तु चाहे संसार (कार्य)को मानौं, चाहे प्रकृति (कारण)को मानौं र चाहे भगवानको मानौं, मुख्य कुरो हो, यी आफ्ना होइनन् ।आफ्ना नै नभएका वस्तु आफ़्नोलागि कसरी हुन सक्छन् ?
यही सन्दर्भमा गीताले शिक्षा दिन्छ, हामीले न त कुनै वस्तुलाई आफ्नो मान्ने हो, न कुनै कर्म नै आफ्नोलागि गर्ने हो । आफ्नोलागि गरिने कर्मले  नै वाँधछन् हामीलाई अर्थात् यज्ञको अतिरिक्त अरु (आफ़्नोलागि गरिएका) कर्म नै हामीलाई वांधने हुन्छन् । यज्ञकोलागि कर्म गर्ने साधकको सम्पूर्ण कर्म, संचित कर्म पनि, विलीन हुन्छन् । भगवान सम्पूर्ण लोकहरुको महान् ईश्वर (स्वामी) हुनुहुन्छ । जव हामी आफूलाई वस्तुहरुको स्वामी मान्छौं, त्यो वेला हामी वास्तविक स्वामीलाई विर्संछौँ; किनकि हामी आफूलाई जुन वस्तुहरुको स्वामी मान्छौं, तिनै वस्तुको चिन्तन गर्छौं । यही कारण भगवानलाई नै विश्वको एक मात्र स्वामी मान्दै हामीले संसारमा सेवक जस्तो गरी व्यवहार गर्नुपर्छ । सेवक आफ्नो स्वामीको सबै काम गर्दा पनि आफूलाई स्वामी मान्दैन । त्यसैले हामीले शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थलाई आफ्नो नमानेर केवल भगवानको नै मानेर आफ्नो कर्तव्यको पालन गर्नुपर्छ, कर्म गर्ने निमित्त मात्र आफू वन्नुपर्छ । आफूमा स्वामीपनको अभिमान कहिले पनि गर्नु हुन्न ।
सर्वस्व भगवानमा अर्पण गरेपछि आफूमा लाभ, हानि, मन-अपमान, सुख-दुःख, आदि जेसुकै आए पनि तिनलाई पनि हामीले भगवानको नै मान्नुपर्छ र तिनीहरु प्रति आफ्नो कुनै वास्ता राख्नुहुन्न । कर्तव्य खालि आफ्नो अगाडि देखा परेको परिस्थिति अनुरुप हुने हो । परिस्थिति अनुरुप प्रसन्नतापूर्वक आफ्नो कर्तव्य पालन गरिरहनु पर्छ । भगवानको मतको अनुसरण गर्ने भनेको यही हो ।
भगवान यहाँ अर्जुनलाई स्पष्टरूपले भनिरहनु भएको छ, 'म तिमीलाई तिम्रो सर्वस्व मलाई अर्पण गरेर कर्तव्य कर्म गर्ने आज्ञा दिइरहेछु । मेरो आज्ञा पालन गरे तिमी मुक्त हुने कुरामा कुनै सन्देह छैन । तर मेरो आज्ञा नपाएकाहरुले पनि यदि यो मत (पाइएको चीजलाई आफ्नो नमानेर कर्तव्य पालन गर्नु) अनुसार व्यवहार गरे उनीहरु पनि मुक्त हुनेछन् । किनकि यो मत नै यस्तो छ, मलाई माने पनि, नमाने पनि यो मतको पालन मात्रै गरे मनुष्य मुक्त हुन्छन् ।
भगवानको यो मत नै सर्वोपरि सिद्धान्त हो, जुन अन्तर्गत सबै मत-मतान्तर आउँछन् । परन्तु भगवान रतिभर पनि आभिमान नगरेर वडो नम्रताले, सरलताले आफ्नो सिद्धान्तलाई 'मत' भन्ने नाम दिनुहुन्छ । भगवानले आफ्नो अथवा अरु कसैको मतको आग्रह राख्नु भएको छैन, निष्पक्ष भएर आफ्नो कुरो सबैको अगाडि राख्नुभएको छ ।
मत सर्वोपरि हुँदैन, व्यक्तिगत हुन्छ । हरेक व्यक्ति आफ्नो आफ्नो मत प्रकट गर्न सक्छ, तर सिद्धान्त सर्वोपरि हुन्छ, जुन सबैले मान्नुपर्छ । यही कारण गुरु-शिष्यमा पनि मतभेद हुन सक्छ, तर सिद्धान्तभेद हुन सक्तैन । ऋषि-मुनि, दार्शनिक आफ्नो आफ्नो मतलाई पनि सिद्धान्त भन्छन्, तर गीतामा भगवान आफ्नो सिद्धान्तलाई पनि मत भन्नुहुन्छ । ऋषि-मुनि, दार्शनिक, आचार्यहरुको मतमा त मतभेद रहन्छ, तर भगवानको मत अर्थात् सिद्धान्तमा कुनै पनि मतभेद रहँदैन ।       

Thursday, 17 July 2014

124. No. 92 श्लोक ३० तिमी विवेकवती बुद्धिद्वारा सम्पूर्ण कर्तव्य-कर्महरु मलाई अर्पण गरेर कामनारहित, ममतारहित र सन्तापरहित भएर युद्ध-रुप कर्तव्य-कर्म गर ।

No. 92
श्लोक ३० 

तिमी विवेकवती बुद्धिद्वारा सम्पूर्ण कर्तव्य-कर्महरु मलाई अर्पण गरेर कामनारहित, ममतारहित र सन्तापरहित भएर युद्ध-रुप कर्तव्य-कर्म गर ।

धेरै साधकहरुको विचार हुन्छ, कर्मले बन्धन हुन्छ र कर्म नगरी कोही पनि वस्न सक्तैन, त्यसैले कर्म गरें भने म बाँधिन्छु । यसैले, यहाँ बन्धन नहुने गरी र कर्मको वन्धनवाट मुक्त हुने गरी कर्म कसरी गर्नुपर्छ भन्ने बुझाउन भगवान अर्जुनलाई भन्नुहुन्छ, 'तिमी अध्यात्मचित्त (विवेक विचार युक्त अन्तःकरण)ले सम्पूर्ण कर्तव्य-कर्म मलाइ अर्पण गर अर्थात् यी कर्महरुसँग कुनै पनि सम्बन्ध नराख । किनकि संसारको सम्पूर्ण क्रियाहरुमा मेरो शक्ति काम गरिरहेको हुन्छ । शरीर, इन्द्रियहरु, मन, बुद्धि पनि मेरा हुन् र शक्ति पनि मेरै हो ।' यही कारण 'सबै भगवानको हो र भगवान मेरो हो' भन्ने कुरा विचार गरेर तिमीले कर्तव्य कर्म गर्यौं भने ती कर्म बन्धनकारक हुँदैनन्, ती कर्मले तिम्रो उद्धार गर्छन् ।'

हाम्रो अनुभव छ, शरीर, इन्द्रियहरु, मन, बुद्धि पदार्थ आदिमा हाम्रो कुनै अधिकार चल्दैन । यी सबै प्रकृतिका हुन् र 'स्वयं' परमात्माको हो । अतः शरीर आदि पदार्थसँग भूलले मानिएको आफ्नोपनलाई हटाएर यिनीहरुलाई भगवानको नै मानेर 'अर्पण' गर्नु पर्छ । आफ्नो विवेकलाई महत्व दिएर पदार्थहरु र कर्महरुसंग मूर्खतावश मानिएको सम्बन्धको त्याग गर्नुलाई नै अर्पण भनिएको छ यो श्लोकमा । 

जुनसुकै मार्गको साधकले पनि आफ्नो उद्देश्य आध्यात्मिक नै वनाउनु पर्छ, लौकिक होइन । वास्तवमा उद्देश्य अथवा आवश्यकता सँधै नित्य तत्वकै (आध्यात्मिक) हुन्छ र कामना सँधै अनित्य तत्वकै (लौकिक, उत्पत्ति विनाशशील वस्तु) हुन्छ । साधकमा उद्देश्य हुनुपर्छ, कामना होइन । उद्देश्ययुक्त अन्तःकरण विवेक-विचारयुक्त नै हुन्छ ।
 
दार्शनिक या वैज्ञानिक, कुनै पनि दृष्टिले, शरीर आदि भौतिक पदार्थ हाम्रो भन्ने सिद्ध हुँदैन । यी पदार्थ आफ्नो र  आफ़्नोलागि हुँदै होइनन्, केवल सदुपयोग गर्नकोलागि मिलेका हुन् । आफ्नो नभएकोले नै यिनीहरुमा कसैको पनि अधिकार छैन ।

सम्पूर्ण संसार परमात्माको हो; परन्तु हामी भूलले परमात्माको वस्तुलाई आफ्नो मानिदिन्छौं  र यसैले बन्धनमा पर्छौं । अतः विवेक-विचार द्वारा यो भूललाई हटाएर सम्पूर्ण पदार्थहरु र कर्महरूलाई अध्यात्मतत्वको (परमात्माको) भन्ने स्वीकार गर्नुपर्छ हामीले । यही कुरालाई अध्यात्म चित्त्द्वारा अर्पण  गर्ने भनिएको हो। 

अविवेकले नै उत्पत्ति-विनाशशील शरीर (संसार) आफ्नो देखिन्छ । विवेक-विचारपूर्वक हेर्दा शरीर र संसार आफ्नो देखिंदैन, यो त एक अविनाशी परमात्मतत्व नै देखिन्छ । संसारलाई आफ्नो देख्नु नै पतन हो, आफ्नो नदेख्नु नै उत्थान हो । शास्त्र भन्छ,

'दुइ अक्षरहरुको 'मम' ('यो मेरो हो' भन्ने भाव) मृत्यु हो र तीन अक्षरहरुको 'न मम' (यो मेरो होइन--भन्ने भाव) अमृत , सनातन ब्रह्म हो ।

यहाँ 'अर्पण' गर्ने प्रसङ्ग आउनुको कारण, हामीले करण (शरीर, इन्द्रियहरू, मन, बुद्धि, प्राण), उपकरण (कर्म गर्ने आवश्यक सामग्री) तथा क्रियाहरुलाई भूलले आफ्नो र आफ़्नोलागि मान्यौं, जुन कहिले पनि  हाम्रो छँदै थिएनन्, हुँदै होइनन् र हुने सक्तैनन् । उत्पत्ति-विनाशशील वस्तुहरुसंग अविनाशीको के सम्बन्ध? अतः कर्महरु चाहे भगवानलाई अर्पण गरौँ, चाहे प्रकृतिलाई अर्पण गरौँ र चाहे भगवानलाई अर्पण गरिदिऊँ  -- यी तीनैको एक नै नतीजा हुनेछ; किनकि संसार प्रकृतिको कार्य र भगवान प्रकृतिको स्वामी हुनुहुन्छ । यो दृष्टिले संसार र प्रकृति दुवै भगवानकै हुन् । अतः 'म भगवानको हुँ  र मेरो भनिने समस्त वस्तुहरु भगवानको हो' । यस्तो प्रकारले सबै भगवानलाई अर्पण गरिदिनु पर्छ अर्थात्  ती चीज प्रतिको आफ्नो ममता उठाउनु पर्छ । यसो गर्न सके हामीलाई संसार अथवा भगवानसँग केही पनि चाहना हुँदैन, किनकि हामीलाई चाहिएको चीज भगवान स्वतः व्यवस्था गरिदिनु हुन्छ । अर्पण गरिसकेपछि फेरि शरीर आदि पदार्थ आफ्नो भन्ने लाग्दैन । यदि आफ्नो लाग्छ भने वास्तवमा अर्पण नै भएको छैन । यसैले भगवानले विवेक-विचारयुक्त चित्तले अर्पण गर्ने कुरा गर्नुभयो । यसो गर्दा यी सबै पदार्थ भगवानका नै हुन्, आफ्ना होइनन् भन्ने वास्तविकता बुझ्न सजिलो हुन्छ ।
 
भगवानलाई अर्पण गर्ने कुरा धेरै विलक्षण छ । कुनै वेला  झर्को लागेर  अर्पण गरियो भने पनि लाभै लाभ छ । किनकि कर्म र वस्तुहरु आफ्ना हुँदै होइनन् । कर्महरु गरिसकेपछि पनि भगवानलाई अर्पण गर्न सकिन्छ । तर वास्तविक अर्पण पदार्थहरु र वस्तुहरुसँग सम्बन्ध-विच्छेद भएपछि नै हुन्छ, जव हामीलाई करण  (शरीर आदि), उपकरण (संसारिक पदार्थ), कर्म र 'स्वयम्' -- यी सबै भगवानका नै हुन् भन्ने ठीक ठीक अनुभव हुन्छ । हामीवाट धेरै जसो  यस्तो गल्ति हुन्छ, हामी उपकरणहरुलाई त भगवानको मान्ने चेष्टा गर्छौं, तर 'कारण स्वयम् पनि भगवानका हुन् -- भन्ने कुरामा ध्यान दिंदैनौं । यसो हुँदा हाम्रो अर्पण अधूरो हुन्छ । अतः हामीले करण, उपकरण, क्रिया र 'स्वयम्' -- सबैलाई एक मात्र भगवानको नै मान्नु पर्छ, किनकि वास्तवमा यी चीजहरु पनि उहाँकै हुन् ।

कर्म र पदार्थहरुलाई स्वरूपले नै त्याग गर्नु अर्पण होइन । भगवानका वस्तुहरु भगवानको नै मान्नु अर्पण हो । वस्तुहरु आफ्नो मान्दै भगवानलाई अर्पण गर्नेलाइ पनि त्यसको वदलामा भगवान धेरै वस्तुहरु दिनुहुन्छ; जस्तो, पृथ्वीमा जति नै विउहरु रोप्यो, त्यसको कति गुणा वढी अन्न हामी पृथ्वीवाट पाऊँछौँ, तर जति गुणा पाइए पनि ती वस्तुहरु सीमित नै हुन्छन् । तर आफ्नो नमानेर (भगवानको नै मानेर) हामीवाट अर्पण गरिएका वस्तुहरु भगवान हामीलाई नै फिर्ता दिनुहुन्छ, र हामीसँग ऋणी पनि हुनुहुन्छ । तात्पर्य, वस्तु आफ्नो मानेर दिंदा हाम्रो अन्तःकरणमा ती वस्तुहरुको महत्व हुन्छ, त्यही हुनाले ती वस्तुको मूल्य वस्तुमा नै मिल्छ र आफ्नो नमानेर दियो भने भगवान नै पाइनुहुन्छ ।

वास्तविक अर्पणवाट भगवान अत्यन्त प्रसन्न हुनुहुन्छ । यसरी अर्पण गर्दा व्यक्ति कर्म-बन्धनदेखि मुक्त हुन्छ र यसैमा भगवानको प्रसन्नता हुन्छ । सम्पूर्ण पदार्थ, शरीर तथा शरीरी (स्वयं)  भगवानका नै हुन्; त्यसैले तीवाट आफ्नोपन हटाउने र तीनलाई भगवानमा अर्पण गर्ने भाव देखेर नै उहाँ (भगवान) प्रसन्न हुनुहुन्छ र त्यो व्यक्तिको ऋणी हुनुहुन्छ ।
परमात्माले मनुष्य-शरीरको रचना वडो विचित्र किसिमले गर्नुभएको छ । मनुष्यको जीवन निर्वाह र साधनकोलागि आवश्यक सामाग्रीहरु उसलाई भने जति मिलेका छन्। अझ भगवानले मनुष्यलाई विवेक पनि दिनुभएको छ । त्यो विवेकलाई महत्व नदिएर हामीले आफुले पाएको वस्तुहरुको ठीक ठीक उपयोग नगरेर आफ्नोलागि उपयोग गर्यौं भने, प्राप्त वस्तुहरुमा ममता तथा अप्राप्त वस्तुको कामना गर्न थाल्यौं भने हामी जन्म-मरणको बन्धनमा पर्छौं । वर्तमानका वस्तु, व्यक्ति, परिस्थिति, घटना, योग्यता, शक्ति, शरीर, इन्द्रियहरु, मन, प्रण, बुद्धि आदि पाइएका जस्ता देखिन्छन्, तर तिनीहरु पहिले पनि हाम्रा थिएनन् र पछि पनि हामीसँग सँधै रहँदैनन्, किनभने तिनीहरु कहिले पनि एकरूप रहँदैनन्, प्रतिक्षण वदलिइ रहन्छन् । यो वास्तविकता हामीलाई थाहा नै छ । यदि हामीले आफूले जानेको जस्तो मानिदिए र त्यस्तै आचरण गरे हाम्रो उद्धारमा कुनै पनि सन्देह छैन । अर्को शब्दमा, शरीर आदि पदार्थलाई आफ्नो र आफ़्नोलागि नमान्ने, तिनीहरुको आश्रित नहुने  र तिनीहरुलाई महत्व दिएर तिनीहरुको पराधीनता स्वीकार नगर्ने । पदार्थहरुलाई महत्व दिनु नै ठूलो भूल हो । ती पदार्थ पाउँदा आफूलाई भाग्यमानी सम्झनु पनि ठूलो बन्धन हो । नाशवान् पदार्थलाई महत्व दिंदा नै नयाँ नयाँ कामना उत्पन्न हुन्छन् । कामना सबै पापहरु, तापहरु, दुःखहरु, अनर्थहरु, नरकहरुको जड हो । कामना गरेर पदार्थ मिल्ने होइन, मिलि हाले पनि टिक्ने होइन । किनकि पदार्थहरु आउने-जाने खालका छन् र 'स्वयं' सदा रहन्छ । अतः कामनाको त्याग गरेर हामीले कर्तव्य-पालन गर्नुपर्छ ।

यहाँ शंका हुन्छ, 'कामना विना प्रवृत्ति कसरी हुन्छ ?
कामनाको पूर्ति र निवृत्तिकोलागि हामीमा कर्मको प्रवृत्ति हुन्छ । साधारण व्यक्ति कामनाको पूर्तिकोलागि कर्म गर्छ र साधक आत्मशुद्धि-हेतु कामनामा प्रवृत्त हुन्छ । वास्तवमा प्रवृत्ति पनि कामनाको निवृत्तिकोलागि नै हो, कामनाको पूर्तिकोलागि होइन । 

यो मनुष्य-शरीर उद्देश्यको पूर्तिकोलागि पाइएको छ । उद्देश्य पूर्ति भएपछि केही गर्न वांकी रहँदैन । आफ्नो वास्तविक उद्देश्यको विस्मृति भएका मनुष्य नै कामना पूर्तिकोलागि कर्ममा प्रवृत्त हुन्छन् । यस्ता मनुश्यहरुलाई भगवानले 'कृपण' दीन भन्नुभएको छ गीतामा । तर आफ्नो उद्देश्यको स्मरण गरी गरी आफ्नो (कामना निवृत्तिकोलागि) कर्महरुमा प्रवृत्त हुने व्यक्तिलाई भगवान 'मनीषी' भन्नुहुन्छ । सेवा, स्वरूप-बोध र भगवत् प्राप्तिको भाव उद्देश्य हो, कामना होइन । नाशवान् पदार्थहरुको प्राप्तिको भाव नै कामना हो । अतः कामना विना कर्महरुमा प्रवृत्ति हुँदैन -- यस्तो मान्नु नै भूल हो । उद्देश्य पूर्तिकोलागि पनि कर्म सुचारुरूपले चल्छ ।

आफ्नो अंशी परमात्मासँग विमुख भएर संसार-(जडता)सँग आफ्नो सम्बन्ध मान्दा नै आवश्यकता र कामना दुबैको उत्पत्ति  हुन्छ । संसारसँग मानिएको सम्बन्ध सर्वथा त्याग भएपछि आवश्यकताको पूर्ति र कामनाको निवृत्ति हुन्छ ।

सम्पूर्ण कर्महरु र पदार्थहरु (कर्मसामग्री) भगवानलाई अर्पण गरिसकेपछि पनि कामना, ममता र सन्तापको कुनै अंश वांकी रहन सक्छ । जस्तो, हामीले कसैलाई कुनै पुस्तक दिन्छौं । त्यो पुस्तक पाउने व्यक्तिले हामीले दिएको पुस्तक पढिरहेको देख्दा हाम्रो मनमा यस्तो भाव आउँछ, 'त्यो व्यक्ति मैले दिएको पुस्तक पढिरहेको छ' । यसैलाई आंशिक ममता भन्छन् । यो ममता दान दिइसकेपछि पनि रहिरहन्छ । यही अंशको त्याग गर्नकोलागि भगवान अर्जुनलाई भन्नुहुन्छ, 'तिमी नयाँ वस्तुको कामना नगर, आफूसँग भएको वस्तुमा पनि ममता नराख र आफूसँग भएको नष्ट हुँदा पनि सन्ताप नगर। सबै मलाई नै अर्पण गर्ने कसौटी नै यही हो, कामना, ममता र सन्तापको अंश पनि नरहोस् ।'

भगवान यहाँ हामीलाई भन्नुहुन्छ, कुनै वेला पहिलेको संस्कारले गर्दा शरीर आदि पदार्थहरुसँग कामना, ममता तथा सन्ताप देखिई हाले पनि निराश हुनुहुन्न । किनकि जसमा कामना देखिन्छ, त्यही कामनारहित हुने हो, जसमा ममता देखिन्छ, त्यही ममतारहित हुने हो, जसमा सन्ताप देखिन्छ, त्यही सन्तापरहित हुने हो । देहलाई 'अहम्' (म) मान्नेले नै विदेह (अहम् रहित) हुने हो । अतः हामी कामना, ममता, सन्तापरहित हुन पूर्ण अधिकारी छौं ।
यहाँ भगवान अर्जुनलाई 'विगतज्वर' हुने सल्लाह दिनुहुन्छ र भन्नुहुन्छ, 'तिमी पनि सन्तापरहित भएर युद्ध गर ।' युद्धमा (व्यवहारमा) कुटुम्वसँग मोह भएर हामीलाई ज्वर आउन सक्छ, त्यसैले त्यो ज्वरवाट उठ्ने हो हामीले ।        

यहाँ युद्धको प्रसङ्ग छ, त्यसैले धेरै ठाउँमा युद्ध भन्ने शब्द आउँछ । तर भगवानको आशय कर्तव्य-कर्म  गर्नुमा छ । त्यसैले कर्तव्य कर्म गर्दा नै सावधान हुनु छ हामीले । समय समयमा आइ पर्ने कर्तव्य कर्म हामीले निष्काम, निर्मम तथा निसंताप भएर गर्नु पर्ने भयो । त्यो कर्तव्य कर्मको परिणाम,सिद्धि,असिद्धि तर्फ दृष्टि दिनु भएन । सिद्धि-असिद्धि, अनुकूलता-प्रतिकूलतामा सम रहनु नै 'विगतज्वर' हुनु हो । किनकि अनुकूलतावाट हुने प्रसन्नता र प्रतिकूलतावाट हुने उद्विग्नता दुवै ज्वर हुन् । राग-द्वेष, हर्ष-शोक, काम-क्रोध आदि विकार पनि ज्वर हुन् । छोटोमा राग-द्वेष, चिन्ता, उद्वेग, हलचल आदि जम्मै मानसिक विकृतिहरु (विकार) हुन्, यी सबै ज्वर हुन् र यी विकारदेखि रहित हुनु नै 'विगतज्वर' हुनु हो ।    

Tuesday, 15 July 2014

123. No. 91 श्लोक २९ प्रकृतिजन्य गुणहरुवाट अत्यन्त मोहित भएका अज्ञानी मनुष्य गुणहरु र कर्महरुमा आसक्त रहन्छन् ।

No.  91
श्लोक २९ 

प्रकृतिजन्य गुणहरुवाट अत्यन्त मोहित भएका अज्ञानी मनुष्य गुणहरु र कर्महरुमा आसक्त रहन्छन् । तिनीहरुको ज्ञान पुर्ण नभएकोले ती  मन्द बुद्धि भएका अज्ञानीहरुलाई पूर्णतया जान्ने ज्ञानीहरुले विचलित नगर्नु ।

सत्व, रज, तम -- यी तीन गुणहरुले मनुष्यलाई वांध्छन् । सत्वगुण सुख र ज्ञानको  आसक्तिद्वारा, रजोगुण कर्मको आसक्तिद्वारा र तमोगुण प्रमाद आलस्य र निद्राद्वारा मनुष्यलाई वांध्छ ।
 
यो श्लोकमा शास्त्रमा, शास्त्रविहित शुभ कर्महरुमा र ती कर्महरुका फलहरुमा श्रद्धा-विश्वास भएका तर प्रकृतिजन्य गुणहरुले बाँधिएका     लौकिक र पारलौकिक भोगहरुको कामनाले गर्दा ती पुरुषहरु  पदार्थहरु र कर्महरुमा आसक्त भइरहन्छन् । यही कारण उनीहरु यो भन्दा माथि उठ्ने कुरो बुझ्नै सक्तैनन् । यही कारण भगवान यस्ता पुरुषलाई अज्ञानी भन्नुहुन्छ ।यस्ता अज्ञानी व्यक्तिहरु शुभकर्म त गर्छन्, तर नित्य-निरन्तर नरहने नाशवान् वस्तु पाउनलाई । उनीहरुले प्राप्त गर्ने अथवा गरेका धनादि वस्तुकोलागि उनीहरु ममता गर्छन् र नपाइएका वस्तुहरुका कामना गर्छन् । यसरी ममता र कामना रहिरहेको कारण उनीहरु गुणहरु (पदार्थहरु) र कर्महरुको तत्वलाई राम्ररी जान्दैनन् ।
 
भगवान भन्नुहुन्छ, गुण र कर्मको विभाग पूर्णतया जान्ने तथा कामना-ममताले रहित ज्ञानी पुरुषले त्यस्ता (सकाम भावपूर्वक शुभ-कर्महरुमा लागेका) अज्ञानी पुरुषहरुलाई शुभ-कर्महरुवाट विचलित नगर्नु, जसले गर्दा ती मन्दबुद्धि व्यक्ति आफ्नो वर्तमान स्थितिदेखि तल नगिरून् ।
 
अर्कोतिर, तत्वज्ञ महापुरुष कर्मयोगी होस् अथवा ज्ञानयोगी -- सम्पूर्ण कर्महरु गर्दा गर्दै पनि उसलाई  कर्महरु र पदार्थहरुसँग कुनै पनि सम्बन्ध हुँदैन ।

अज्ञानी व्यक्तिहरु स्वर्ग-प्राप्तिकोलागि शुभ-कर्म गर्छन् । यसैले भगवानले यस्ता व्यक्तिहरुलाई विचलित नगर्ने आज्ञा दिनुहुन्छ ज्ञानीहरुलाई । पहिले पाइएको धन आदि पदार्थमा ममता गर्छन् र नपाइएका वस्तुको कामना गर्छन् ।यसरी ममता र कामनाले वांधिइरहेको कारणले उनीहरु गुणहरु (पदार्थहरु) र कर्मको तत्वलाई पूर्णरूपमा जान्न सक्तैनन् । यही कारण, ज्ञानीहरूले त्यस्ता सकाम व्यक्तिहरुलाई आफ्नो संकेत, वचन र क्रियाले यस्तो कुनै कुरो प्रकट नगर्नु जसवाट ती सकाम पुरुषहरुलाई शास्त्र-विहित शुभ कर्महरुमा अश्रद्धा, अविश्वास अथवा अरुचि पैदा नहोस्, किनकि त्यसो गर्दा त्यो व्यक्तिको पतन हुन्छ ।  यस्ता व्यक्तिलाई सकामभाववाट विचलित गर्ने हो, शास्त्रीय कर्महरुवाट होइन ।
 
यो अध्यायको शुरु नै अर्जुनले कर्म गर्न मन नलागेर 'मलाई किन घोर कर्ममा लगाएको' भनेकोले नै हो । यहाँ भगवान भन्नुहुन्छ, 'मैले तिमीलाई घोर कर्ममा लगाएको होइन, कर्ममा भएको 'विष' (आसक्ति)को त्यागपूर्वक निष्कामभावले कर्म गर्यो भने त्यो व्यक्तिले शाश्वत शान्ति पाउँछ भनेको मात्रै हो ।'
पहिले पहिले पनि आइसक्यो, निष्कामभावले, फलको आशा नराखेर कर्म गर्ने । सर्व साधारण मनुष्य फलको आशा नगर्ने हो भने किन कर्म गर्ने भन्ने ठानेर कर्ममा नै प्रवृत्त हुँदैनन् । यो निष्कामभावको उपदेश केही समय अघिदेखि सकामभावले कर्म गरिरहेका व्यक्तिहरुकोलागि हो । पहिलो कोटिका व्यक्तिलाई त शास्त्र पनि सकामभावले नै कर्म गर्न सिकाउँछ ।
 
फलको आशा राखेर कर्म गर्दा व्यक्तिको कर्ममा भन्दा वढी फलमा ध्यान जान सक्ने भएकोले कर्ममा केही त्रुटी हुने सम्भावना पनि हुन्छ । त्यसैले गीताको पहिलो ६ अध्यायले हामीले कर्म गर्नु पर्ने कला सिकाउँछन् । हामीलाई पनि यस्ता प्रसंग आइरहँदा कसरी कर्म गर्ने भन्ने कुरा आफ से आफ स्मरणमा आउँछ, त्यो स्मरण अनुसार कर्म गर्दै जाँदा हाम्रो कर्म शुद्ध हुन्छ, शुद्ध कर्मले हाम्रो बुद्धि शुद्ध हुन्छ, त्यही शुद्ध बुद्धिमा (अन्तःकरणमा) हाम्रै आत्माको प्रकाश पर्छ । त्यही बुद्धिमा परेको आत्माको प्रकाशलाई नै 'साक्षात्कार' भन्छन् हजुर । यसको विस्तृत चर्चा केही दिनअघि हामी मध्ये केहीले सुनेकै हो । ॐ असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतम् गमय । ॐ शान्ति, शान्ति, शान्ति ।    

Sunday, 13 July 2014

122. No. 90 श्लोक २८ परन्तु हे महावाहो ! गुण-बिभाग र कर्म-बिभाग तत्वले नै जान्ने महापुरुष 'सम्पूर्ण गुण नै

No. 90
श्लोक २८
परन्तु हे महावाहो ! गुण-बिभाग र कर्म-बिभाग तत्वले नै जान्ने महापुरुष 'सम्पूर्ण गुण नै गुणहरुमा व्यवहार गरिरहेछन् भन्ने मानेर ती गुणहरुमा आसक्त हुँदैन ।
सत्व, रज, तम -- यी तीनै गुणहरु प्रकृतिजन्य हुन् । सम्पूर्ण सृष्टि पनि  यी तीनै गुणहरुको कार्य भएकोले त्रिगुणात्मिका हो । अतः शरीर, इन्द्रियहरु, मन, बुद्धि वाणी, पदार्थ आदि सबै गुणमय नै हुन् । यसैलाई गुण-बिभाग भनिन्छ । यी शरीर आदिवाट हुने क्रियाहरुलाई 'कर्म-बिभाग भनिन्छ ।
गुण र कर्म अर्थात् पदार्थ र क्रियाहरु निरन्तर परिवर्तनशील छन् । पदार्थ उत्पन्न र नष्ट हुन्छन् तथा क्रियाहरु आरम्भ र समाप्त हुन्छन् । यही कुरालाई स्पष्टसँग अनुभव गर्नु नै गुण र कर्म-विभागलाई तत्वले जान्नु हो । चेतन (स्वरूप)मा कहिले कुनै क्रियाहरु हुँदैनन् । चेतन सदा निर्लिप्त, निर्विकार रहन्छ अर्थात् कुनै पनि प्राकृत पदार्थ र क्रियासँग उसको सम्बध हुँदैन । यस्तो ठीक-ठीक अनुभव गर्नु नै चेतनलाई तत्वले जान्नु हो ।
अज्ञानी पुरुष यी गुण-बिभाग र कर्म-बिभागसँग आफ्नो सम्बन्ध मान्छ, त्यसैले ऊ वाँधिन्छ । शास्त्रीय दृष्टिले यो बन्धनको कारण अज्ञान हो, साधकको दृष्टिले 'राग' नै यो बन्धनको कारण हो ।  राग 'अविवेक'वाट हुन्छ । विवेक जाग्रत भएपछि  राग नष्ट हुन्छ । यो विवेक मनुष्यमा मुख्यरूपले रहन्छ । अवको हाम्रो  आवश्यकता -- खालि यो विवेकलाई महत्व दिएर यसलाई जाग्रत गर्नु छ । अतः हामीमा भएको राग मेटाउनु पर्छ ।
तत्वको अनुभव गर्न चाहने साधकले गुण (पदार्थ) र कर्म-(क्रिया)सँग कुनै सम्बन्ध नमाने उ पनि गुण-बिभाग र कर्म-बिभाग तत्वले जान्दछ । गुणविभागलाई तत्वले जाने पनि, 'स्वयं'लाइ (चेतन स्वरूप)लाई तत्वले जाने पनि दुबैको परिणाम यौटै हो ।
गुण-बिभाग र कर्म-विभागलाई तत्वले जान्ने उपाय
(१) शरीरमा रहंदा पनि चेतन-तत्व (स्वरूप) सर्वथा अक्रिय र निर्लिप्त रहन्छ । प्रकृतिको कार्य (शरीर, इन्द्रियहरु, मन, बुद्धि) 'इदम्' (यो) भनिन्छ । 'इदम्' (यो) कहिले पनि 'अहम्' हुँदैन । 'यो' शरीर आदि म होइन भने 'यो'मा हुने क्रियाहरु 'मेरो' कसरी हुने ? अर्थ, शरीर, इन्द्रियहरु, मन,बुद्धि आदि सबै प्रकृतिका कार्य हुन् र 'स्वयं' प्रकृतिका कार्यहरुदेखि सर्वथा असम्बद्ध, निर्लिप्त छ । अतः प्रकृतिमा हुने क्रियाहरुको कर्ता 'स्वयं' कसरी हुन सक्छ ? यसरी आफूलाई पदार्थ एवं क्रियाहरुदेखि सर्वथा छुट्टै अनुभव गर्ने व्यक्ति बन्धनमा पर्दैन । सबै अवस्थाहरुमा 'म केही पनि गर्दिन' भन्ने अनुभव गर्नु नै आफूलाई छुट्टै जान्नु अर्थात् अनुभव गर्नु हो ।
(२) हेर्नु-सुन्नु, खानु-पिउनु जस्ता सबै 'क्रियाहरु' र हेर्ने-सुन्ने आदिका विषय, खाने-पिउने सामग्री, आदि सबै पदार्थ हुन् । यी क्रियाहरु र पदार्थहरुलाई हामी इन्द्रियहरु (आँखा, कान, मुख आदि)वाट जान्दछौं । इन्द्रियहरुलाई मनले र मनलाई बुद्धिले र बुद्धिलाई मानिएको 'अहम्'('म'पना) ले जान्दछौं । यो 'अहम्' एक सामान्य प्रकाश (चेतन) (चेतन) वाट प्रकाशित  हुन्छ ।  त्यही सामान्य प्रकाश नै सबैको ज्ञाता, सबैको प्रकाशक र सबै आधार हो ।
'अहम्' भन्दा पनि श्रेष्ठ आफ्नो (स्वरूप)लाई कसरी जान्ने ? मस्त निद्रामा बुद्धि अविद्यामा लीन हुन्छ, तैपनि हामी भन्छौं, 'म अत्यन्त सुखपूर्वक सुतें' । यसरी निद्रावाट उठेपछि 'म छु' को अनुभव सबैलाई हुन्छ, । यसवाट सिद्ध हुन्छ, सुषुप्तिकालमा आफ्नो सत्ता थियो । यदि यस्तो नहुँदो हो त 'म धेरै सुखपूर्वक सुतें, मैले केही पनि थाहा पाइनं' -- यस्तो स्मृति या ज्ञान हुने थिएन । स्मृति अनुभवजन्य हुन्छ । यही कारण सबैलाई प्रत्येक अवस्थामा आफ्नो सत्ताको अखण्ड अनुभव हुन्छ । कुनै अवस्थामा आफ्नो अभावको (म छैन'--यसको) अनुभव हुँदैन । मानिएको 'अहम्'-(म पना) सँग पनि सम्बन्ध-विच्छेद गरेर आफ्नो स्वरूप-('छ'-)को बोध भएको व्यक्तिलाई 'तत्ववित्' भनिन्छ ।
अपरिवर्तनशील परमत्मतत्वसँग हाम्रो स्वतःसिद्ध नित्य सम्बन्ध छ । परिवर्तनशील प्रकृतिसँग हाम्रो सम्बन्ध वस्तुतः छँदै छैन, केवल मानिएको हो । प्रकृतिसँग मानिएको सम्बन्ध विचारद्वारा मेट्ने कलालाइ 'ज्ञानयोग' भनिन्छ, त्यही सम्बन्ध परहितार्थ कर्म गर्दै मेटाइयो भने त्यसलाई 'कर्मयोग' भनिन्छ । प्रकृतिसँग सम्बन्ध विच्छेद हुँदा नै योग (परमात्माको नित्य सम्बन्धको अनुभव) हुन्छ, हैन भने केवल ज्ञान र कर्म नै हुन्छ । अतः प्रकृतिसँग सम्बन्ध विच्छेदपूर्वक परमात्मासँग आफ्नो नित्य-सम्बन्धको पहिचान गर्ने व्यक्ति नै 'तत्ववित्' हो ।           


प्रकृतिजन्य गुणहरुवाट उत्पन्न भएको कारण शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि 'गुण' नै भनिन्छन् र यिनीहरुवाट नै सम्पूर्ण कर्महरु हुन्छन् । अज्ञानी व्यक्ति अविवेकले गर्दा यी गुणहरुसँग आफ्नो सम्बन्ध मान्छ र यी गुणहरुवाट हुने समस्त क्रियाहरुको कर्ता आफूलाई मान्छ । तर 'स्वयं' (सामान्य प्रकाश- चेतन)मा आफ्नो स्वतःसिद्ध स्थितिको अनुभव भएपछि 'म कर्ता हुँ' भन्ने भाव रहँदैन ।
रेलको engine चलेको वेला रेलमा क्रिया हुन्छ; तर रेल खिंचने शक्ति engine र driver को संयुक्त प्रयासवाट हुन्छ । वास्तवमा खिंच्ने शक्ति त driver को नै हो, र driverले संचालन गरेपछि नै रेल गन्तव्यमा पुग्छ । कारण कि engineमा इन्द्रियहरु, मन, बुद्धि हुँदैनन्, त्यसैले रेल चल्नलाई इन्द्रियहरु, मन बुद्धि भएको मनुष्यको जरुरत पर्छ । तर, मनुष्यसँग शरीररूपी engine पनि छ,  र संचालनको लागि इन्द्रियहरु, मन, बुद्धि पनि । शरीर, इन्द्रियहरू, मन, बुद्धि -- यी चारै एक सामान्य प्रकाश (चेतन)मा सत्ता-स्फूर्ति पाएर काम गर्न समर्थ हुन्छन् । सामान्य प्रकाश (चेतन) को बुद्धिमा आउँछ,        
बुद्धिको ज्ञानलाई मनले ग्रहण गर्छ, र शरीररूपी engine संचालित हुन्छ । बुद्धि, मन, इन्द्रियहरु, शरीर -- यी सबै गुण हुन् र यिनलाई प्रकाशित गर्ने अर्थात् यिनलाई सत्ता-स्फूर्ति दिने 'स्वयम्' यी गुणहरुदेखि विल्कुल असम्बद्ध, निर्लिप्त रहन्छ । अतः वास्तवमा सम्पूर्ण गुणहरु नै गुणहरुमा व्यवहार गरिरहेछन् ।
श्रेष्ठ व्यक्तिहरुको आचरणहरुको अनुसरण सबै गर्छन् । यसैले भगवान ज्ञानी व्यक्तिहरु द्वारा लोकसंग्रह हुने विषयको वर्णन गर्दै भन्नुहुन्छ, महापुरुषले 'सम्पूर्ण गुणहरु नै गुणहरुमा व्यवहार गरिरहछन्'  भनेर  आसक्त नभए जस्तै हामी (साधकले) पनि त्यस्तै मानेर आफूले गर्ने र गरेको कर्ममा आसक्त हुनुहुँदैन ।  

Wednesday, 9 July 2014

121 No. 89 श्लोक २७ संसारका सबै कर्महरु सबै किसिमले प्रकृतिका गुणहरुद्वारा गरिन्छन्;

No. 89
श्लोक २७ 
संसारका सबै कर्महरु सबै किसिमले प्रकृतिका गुणहरुद्वारा गरिन्छन्; परन्तु अहंकारले मोहित अन्तःकरण भएको अज्ञानी मनुष्य 'म कर्ता हुँ' भन्ने मान्छ । समष्टि शक्तिवाट शरीर, वृक्ष, आदि पैदा हुन्छन् र वढ़छन्, घट्छन्, गंगाजी जस्ता नदीहरु प्रवाहित हुन्छन्, घर-जग्गा, धन-सम्पत्ति आदि पदार्थमा परिवर्तन हुन्छ । त्यही समष्टि शक्तिवाट हामीले देख्ने, सुन्ने, खाने-पिउने आदि सबै क्रियाहरु हुन्छन् । परन्तु मनुष्य मोहित भएर, अज्ञानले गर्दा यौटा शक्तिद्वारा हुने क्रियाहरुलाई दुई विभाग गरिदिन्छ: (१) स्वतः हुने क्रियाहरु -- जस्तो, शरीर वन्नु, भोजन पच्नु आदि, र (२) ज्ञानपूर्वक हुने क्रियाहरु -- जस्तो, हेर्नु, वोल्नु, भोजन गर्नु, आदि । ज्ञानपूर्वक हुने क्रियाहरुलाई मनुष्य अज्ञानवश आफूले गर्ने क्रियाहरु भन्ने मान्छ ।
 
प्रकृतिवाट उत्पन्न गुणहरु -- (सत्व, रज र तम-)को कार्य भएकोले बुद्धि, अहंकार, मन, पन्चमहाभूत, दस इन्द्रियहरु र इन्द्रियहरुको शब्द आदि पाँच विषय -- यिनीहरुलाई पनि प्रकृतिको गुण भनिन्छ । तात्पर्य, सम्पूर्ण क्रियाहरु (समष्टिको अथवा व्यष्टिको) प्रकृतिका गुणहरुद्वारा नै गरिन्छन्, स्वरूप द्वारा होइन ।
 
'अहंकार' अन्तःकरणको यौटा वृत्ति हो  । 'स्वयं' (स्वरूप) त्यो वृत्तिको ज्ञाता हो । परन्तु हामी भूलले 'स्वयं' आफूलाई त्यो वृत्तिसंग मिलाउँछ अर्थात् त्यो वृत्तिलाई आफ्नो स्वरूप मान्छ । यही कारण त्यो मनुष्यलाई विमूढात्मा भनिन्छ ।
 
शरीर 'इदम्' भए जस्तै अहंकार पनि 'इदम्' हो । 'इदम्' (यो) कहिले पनि 'अहम्' (म) हुन सक्तैन, यो त सिद्धान्त  हो । जव हामी भूलले 'इदम्' (यो)लाई म मान्छौं, त्यो वेला हामी अहंकारविमूढात्मा हुन्छौं । यस्तो मानिएको अहंकार मेट्न उद्योग गरेर हुने होइन, किनकि उद्योग गर्दा पनि अहंकार रहन्छ । मानिएको अहंकार अस्वीकृतिले अथवा नमान्नाले मेटिन्छ ।
अहम् दुई किसिमका हुन्छन् -- 

(१) वास्तविक (आधाररुप) 'अहम्'; जस्तो -- 'म सत्ता मात्र हुँ'।
(२) अवास्तविक (मानिएको) 'अहम्'; 'म शरीर हुँ' ।
'वास्तविक अहम्' स्वाभाविक एवं नित्य र 'अवास्तविक अहम्' अस्वाभाविक एवं अनित्य हुन्छ । अतः 'वास्तविक अहम्' विस्मृत त हुन सक्छ, तर मेटिन सक्तैन;  'अवास्तविक अहम्' प्रतीत हुन सक्छ, तर टिकदैन । हाम्रो भूल त्यहाँ हुन्छ, हामी 'वास्तविक अहम्'लाई (आफ्नो स्वरूप) भन्ने  विर्सेर 'अवास्तविक अहम्' लाई (म शरीर हुँ)लाइ नै सत्य मान्छौं ।
सबै कर्म सबै प्रकारले प्रकृतिजन्य गुणहरुवाट हुने भए पनि अहंकारले मोहित अन्तःकरण भएको अज्ञानी व्यक्ति कुनै कर्मको कर्ता आफूलाई मान्छ । कारण कि ऊ अहंकारलाई नै आफ्नो स्वरूप मान्छ । अहंकारले गर्दा नै हामी शरीर, इन्द्रियहरु, मन आदिमा 'म' भन्छौं  र ती शरीर आदि क्रियाहरुको कर्ता आफूलाई मान्छौं ।   यस्तो विपरीत मान्यता हामी आफैंले वनाएका हौँ, यस्तो मान्यता हटाउने काम पनि हाम्रो हो । यसको एक मात्र उपाय -- यस्तो मान्यतालाई विवेक-विचारपूर्वक नमान्ने, किनकि एउटा मान्यता अर्को मान्यतावाट नै काटिन्छ ।                             

एक 'गर्ने' हुन्छ, एक 'नगर्ने' हुन्छ। 'गर्ने' क्रिया भए जस्तै नगर्ने पनि क्रिया नै हो । सुत्नु, उठ्नु, वस्नु, हिंड्नु, समाधिस्थ हुनु आदि सबै क्रियाहरु  नै हुन् । सम्पूर्ण क्रियाहरु प्रकृतिमा हुन्छन् । 'स्वयं' (चेतन-स्वरूप) मा गर्ने र नगर्ने -- दुवै छैनन्, किनकि चेतन-स्वरूप यी दुइ भन्दा पनि माथि छ । यो चेतन-स्वरूप अक्रिय र सबैको प्रकाशक हो । क्रिया 'स्वयं'मा पनि क्रिया हुने भए (शरीर आदिमा परिवर्तनरुप क्रियाहरु)को ज्ञाता कसरी हुने ? 'अहम्' (म) रहँदा मात्रै 'गर्ने' र 'नगर्ने' हुन्छ । 'गर्ने' र 'नगर्ने'लाई  प्रकाशित गर्ने  त्यो अक्रिय तत्व (आफ्नो स्वरूप)मा सबै मनुष्यको स्वाभाविक स्थिति छ । तर 'अहम्'ले गर्दा मनुष्य प्रकृतिमा हुने क्रियाहरुसँग आफ्नो सम्बन्ध मान्छ । प्रकृति (जड)सँग मानिएको सम्बन्धलाई नै 'अहम्' भनिन्छ ।
 
समुद्रको नै अंश भएकोले सहर र समुद्रमा एकता भए जस्तै संसारको नै अंश भएकोले शरीरको संसारसँग जातीय एकता छ । हामी संसारलाई त 'म' मान्दैनौं, तर शरीरलाई चाहिं 'म' मान्छौं । 
 
समुद्र विना लहरको आफ्नो कुनै स्वतंत्र अस्तित्व नभए जस्तै संसार विना शरीरको आफ्नो कुनै अस्तित्व छैन । परन्तु अहंकारले मोहित अन्तःकरण भएको मनुष्यले शरीरलाई 'म' (आफ्नो स्वरूप) मान्दा उसमा अनेक प्रकारका कामनाहरु उत्पन्न हुन्छन् -- जस्तो, मलाई स्त्री (पुरुष), पुत्र, धन आदि पदार्थ मिलून, अरु व्यक्तिहरुले  मलाई असल भनून, मेरो आदर गरून, मैले भनेको जस्तो गरून, आदि आदि। उसलाई यो कुराको ध्यान रहँदैन, 'शरीरलाइ आफ्नो स्वरूप मानेर म पहिले नै वांधिइसकें, अव कामना गरेर अरु बन्धनमा परिरहेछु, आफूलाई विपत्तिमा पारिरहेछु' भन्ने ।
'म शरीर हुँ, म कर्ता हुँ' भन्ने असत् मान्यताहरु हामीमा यति दृढ हुन्छन्, ती मान्यताहरु छोड्न हामीलाई मुश्किल पर्छ । त्यसो भए 'म शरीर होइन ', 'म अकर्ता हुँ' भन्ने सत्य मान्यताहरु दृढ नहुने कुरै छैन । यस्तो मान्यता एक चोटि दृढ भएपछि छुट्ने कुरै आउँदैन ।
सबै क्रियाहरु जड-विभागमा हुन्छन्, चेतन-बिभागमा कहिले पनि अलि कति मात्र पनि कुनै क्रिया हुँदैन । अहंकारले अन्तःकरण मोहित भएको कारण अज्ञानी व्यक्ति 'म कर्ता हुँ' भन्ने मान्छ । अहंकारले अन्तःकरण मोहित हुनु भनेको -- अपरा प्रकृतिको अंश अहम् सँग आफ्नो सम्बन्ध मान्नु अर्थात् अहम् लाई आफ्नो स्वरूप मान्नु कि यो नै म हुँ । यसैलाई तादात्म्य भन्छन् ।
 
आफूलाई कर्ता मान्ने चेतन हो, तर यही चेतन जड अहम् लाई आफ्नो स्वरूप मान्छ । अहम् लाई आफ्नो स्वरूप मान्ने, आफूलाई एक देशीय मान्ने स्वयम् चाहिं परमात्माको अंश हो । त्यो स्वयम् मा कर्तापन सम्भव नै छैन । वास्तवमा स्वयम् शरीरसँग मिल्नै सक्तैन, तर हामी मिलेको मान्छौं । वास्तवमा तादात्म्य पनि हुँदैन, तर तादात्म्य मानिन्छ ।  स्वयम् कर्ता वन्दैन, केवल अविवेकपूर्वक आफूमा कर्तापनको मान्यता गरिन्छ । आफूलाई कर्ता मानेको कारण नै हामीमा शास्त्रविधि लागु हुन्छ र कर्मफलको भोक्ता पनि वन्नुपर्छ हामीलाई ।
 
स्वरूप (स्वयम्)मा कुनै क्रिया छैन । कहिं कुनै खालि ठाउँमा नै क्रिया हुन्छ । सर्वथा ठोस स्वरूपमा क्रिया कसरी हुने ? परन्तु आफूलाई कर्ता मानेकोले हामी प्रकृतिको जुन क्रियासँग सम्बन्ध जोडछौं, त्यो क्रिया हाम्रोलागि फलजनक 'कर्म' भइदिन्छ, त्यो कर्मको फल हामीले भोग्नै पर्छ । किनभने कर्ता हुनेले भोक्ता हुनैपर्छ । 
         
सम्पूर्ण कारकहरुसँग स्वरूपको सर्वथा सम्बन्ध-विच्छेद छ । यसैले स्वरूपमा लेशमात्र पनि कर्तृत्व छैन । कर्तृत्वको बिभाग छुट्टै छ । अहिलेसम्म देवता, मनुष्य, पशु, पक्षी, यक्ष, राक्षस आदि अनेक शरीरहरुमा जति कर्म भए, ती मध्ये कुनै पनि कर्म स्वरूपसम्म पुग्न सकेन तथा कुनै पनि शरीर स्वरूपसम्म पुग्न सकेन ; किनकि कर्म र पदार्थ (शरीर)को बिभाग नै छुट्टै छ र स्वरूपको बिभाग नै छुट्टै छ । यही विवेकको महत्व नदिएको कारणले नै हामी कर्म र फलमा वाँधिन्छौँ ।
'गर्नु' हुन्जेल अहंकारसँग सम्बन्ध छ; किनकि अहंकार (कर्तापन) विना 'गर्नु' सिद्ध नै हुँदैन । गर्ने भाव हुँदा नै कर्तृत्वाभिमान भइहाल्छ । कर्तृत्वाभिमान हुँदा 'गर्नु' हुन्छ र 'गर्दा' कर्तृत्वाभिमान पुष्ट हुन्छ । यसैले गरिएको साधनवाट साधक कहिले पनि अहंकाररहित हुन सक्तैन । अहंकारपूर्वक गरिएका कर्म कहिले पनि कल्याण गर्न सक्तैनन्; किनकि सबै अनर्थहरुको मूल नै अहंकार हो । आफ़्नोलागि केही नगरे अहंकारसँग सम्बन्ध रहँदैन अर्थात् प्रकृतिसँग सम्बन्ध विच्छेद हुन्छ । त्यसैले, हामीले क्रियालाई महत्व नदिएर आफ्नो विवेकलाई महत्व दिनुपर्छ । विवेकलाई  महत्व दिने वित्तिकै विवेक स्वतःस्पष्ट भइरहन्छ र हाम्रो मार्गदर्शन गरिरहन्छ । पछि पछि यही विवेक नै तत्वज्ञानमा परिणत हुन्छ ।
 
विषय पनि यस्तै पर्यो, मेरो लेखाइ पनि यस्तै पर्यो, म खुरुखुरु लेखिरहेछु, हजुरहरु खुरुखुरु पढिरहनु भएको छ । यहाँ, विचार गर्नु पर्ने कुरो, यहाँका सबै प्रसंगले समस्या सँगसंगै समाधान पनि दिइरहेका छन् । एक जना सन्त भन्नुहुन्छ, ' विहान उठेर, side tableमा cofee राखेर, आफ्नो अगाडि भएको tv खोलेर, पत्रिका पढेको जस्तो गरेर गीता पढे कहिले पनि, कुनै हालतमा पनि बुझ्न सकिंदैन' । यो गीताको ज्ञान पढ्न, बुझ्न तीव्र जिज्ञासा चाहिन्छ हामीलाई । मलाई समय समयमा लाग्छ, म एकोहोरो ढंगले लेखिरहेछु, मेरा मित्रहरुले बुझेको अथवा नबुझेको के हो, उहाँहरुलाई मात्र थाहा छ । यसैले यो विषयमा उठेका जिज्ञासाहरुको चर्चा वेला वेलामा हुन सके मेरा मित्रहरुलाई लाभदायक हुन्थ्यो कि ! मैले हजुरहरुलाई सुझाव मात्र पेश गरेको, मेरो आफ्नो कुनै पनि स्वार्थ छैन यसमा । वांकी हजुरहरुको निर्णय ! 

Song of the Day: Bhichya Deide Maiya Pingala courtesy Hajurma's Cassette Collection
 

Monday, 7 July 2014

120 No. 88 पहिलो श्लोकको नै वांकी विद्वान पुरुषवाट पनि लोकसंग्रहकोलागि सबै कर्म हुन्छन् ।

No. 88 
पहिलो श्लोकको नै वांकी 
 विद्वान पुरुषवाट पनि लोकसंग्रहकोलागि सबै कर्म हुन्छन् । तर यस्तो हुँदा पनि उनमा 'म लोकसंग्रह गरिरहेछु' भन्ने अभिमान रहँदैन । कारण कि शरीर, इन्द्रियहरु, मन, बुद्धि, विद्या, योग्यता, पद आदि सबै संसारका हुन् र संसारवाट नै मिलेका हुन् । संसारवाट मिलेको सामग्रीलाई संसारको नै सेवामा लगाइदिनु इमान्दारी हो । ती सामग्री निकै इमान्दारीसंग  संसारलाई  अर्पण गरिदिने हो । यस्तो अर्पण गर्ने कुनै  ठूलो काम होइन । हामीलाई कसैले केही नासो सुम्पेको छ भने त्यो सुम्पने व्यक्तिले सो सामान मागेको वेलामा उसको सामान फिर्ता गर्दा हामीले कुन ठूलो काम गर्यौं र !  कुरो यत्ति हो, हामी ऋणमुक्त भयौं । यही किसिमले संसारको वस्तु संसारलाई अर्पण गर्दा हाम्रो दायित्व समाप्त हुन्छ, हामी ऋणमुक्त हुन्छौं, जन्म-मरणको बन्धनदेखि सँधैकोलागि छुटछौं । यसैले संसारिक पदार्थहरुलाई संसारको सेवामा लगाएर कुनै दान -पुण्य गर्ने हैन, खालि ती पदार्थहरुवाट  आफ्नो पिण्ड छुटाउनु छ । 
 
अन्तःकरणमा स्वतःस्वाभाविक समता भएको, स्थिति न्रिविकार भएको, सबै इन्द्रियहरु राम्रोसँग तह लागेको र माटो, पत्थर र स्वर्ण समान भएको व्यक्तिलाई गीता तत्वज्ञ भन्छ ।

श्रेष्ठ पुरुषमा विशेष जिम्मेवारी हुन्छ; किनकि अरु व्यक्तिहरु  सजिलै उसको  अनुसरण गर्छन् । यसैले भगवान यो प्रकरणमा विद्वान (ज्ञानी)लाई  आज्ञा दिनुहुन्छ कि त्यो ज्ञानीले अरु (कामनायुक्त अज्ञानी)लाइ पतन गर्ने कुनै कुरो भन्नु पनि हुँदैन, त्यस्तो आचरण गर्नु पनि हुँदैन । अज्ञानी पुरुषलाई उसको  आफ्नो स्थितिवाट विचलित गर्नु नै उनीहरुमा 'बुद्धिभेद' गर्नु हो । त्यसैले विद्वानले सबैको हितको भाव राख्दै आफ्नो वर्ण र आश्रम धर्म अनुसार शास्त्रविहित शुभ-कर्महरुको आचरण गरिरहनु पर्छ,जसले अरु व्यक्तिलाई पनि निष्कामभावले कर्तव्य-कर्म गर्ने  प्रेरणा मिलोस् । त्यो ज्ञानी व्यक्तिले आफ्नो समाज र परिवारको व्यक्तिसँग पनि यस्तै आचरण गर्नुपर्छ । आफ्नो परिवार र समाजसँग पनि उनीहरुमा राम्रो प्रभाव पार्नकोलागि  सावधानीपूर्वक आफ्नो कर्तव्य-कर्महरुको उचित आचरण गरिरहनुपर्छ । अज्ञानी पुरुषले वर्तमानमा गरिरहेका शास्त्रविहित शुभकर्महरुको विशेषरूपले प्रशंसा गरेर उनीहरुको कर्ममा भएको  त्रुटीहरु वारे उनीहरुलाई अवगत गराउनु पर्छ,। ज्ञानी पुरुषले यसो गर्दा अरु व्यक्तिहरु आफ्ना त्रुटीहरु हटाएर उचित विधिले आफ्नो कर्म सम्पादन गर्न  सकून । साथसाथै, ज्ञानी पुरुषले 'कर्मसंगी' पुरुषलाई यस्तो शिक्षा दिनु, 'यज्ञ, दान, पूजा, पाठ आदि शुभकर्म गर्नु त् धेरै राम्रो हो, तर ती कर्महरुमा फलको इच्छा राख्नु ठीक छैन, किनकि हीराको सट्टा रोडा, ढुंगा वेच्नु ठीक हुँदैन ।' किनकि सकाम भाव छोडेर निष्काम भाव तिर लग्नु बुद्धिभेद  हैन, वरु वास्तविकता हो । 
                            

यसै गरी उपासनाको विषयमा पनि तत्वज्ञ पुरुषले बुद्धिभेद पैदा गरिदिनु हुँदैन । उसले यस्तो उपदेश दिनु पर्छ, भगवानको पूजा, उपासना कहिले पनि व्यर्थ हुँदैन, किनकि भगवान प्रति कुनै न कुनै भाव हुँदा नै पूजा उपासना हुन सक्छ । भाव नभई नामजपमा प्रवृत्ति नै हुन सक्तैन । त्यसैले नामजपको त्याग कहिले पनि गर्नु हुँदैन । मन लगाएर ध्यान जप गर्यो भने सिद्धि हुन सक्छ, आदि आदि उपदेश दिएर सर्वसाधारणलाई सुमार्गतिर लगाउनु पर्छ । 

कुनै पनि व्यक्ति शतप्रतिशत गुणरहित हुँदैन । उसमा कुनै न कुनै गुण त हुन्छ नै । यसैले तत्वज्ञ महापुरुषले  कुनै व्यक्तिको उन्नातिकोलागि  शिक्षा दिनु छ भने त्यो व्यक्तिको निन्दा या अपमान नगरेर उसको गुणहरुको प्रशंसा गर्नुपर्छ । गुणहरुको प्रशंसा गर्दै आदरपूर्वक कसैलाई शिक्षा दिइयो भने त्यो शिक्षाको विशेष प्रभाव पर्छ ।

भगवान फेरि भन्नुहुन्छ,, (१) स्वयम् सावधानीपूर्वक शास्त्र-विहित कर्तव्य-कर्म राम्रोसंग गर्ने र (२) कर्ममा आसक्त अज्ञानी व्यक्तिहरुलाई पनि त्यसै गरी कर्म गर्न लगाउने । अरुलाई देखाउन कर्म गर्दा दम्भ हुन्छ। अतः भगवान लोक संग्रहकोलागि नै कर्तव्य-कर्म गर्ने आज्ञा दिनुहुन्छ । तत्वज्ञ पुरुषले कुनै कर्म गर्दा, आफ्नो कुनै प्रयोजन नरहँदा पनि उसवाट हुने समस्त कर्तव्य-कर्महरु सुचारुरूपले गरोस् । यसो हुन सक्यो भने कर्महरुमा आसक्त पुरुषहरुलाई निष्काम कर्महरु प्रति महत्व-बुद्धि जाग्रत हुनेछ र उनीहरु पनि निष्काम कर्म गर्न थाल्ने छन् । तात्पर्य, त्यो महापुरुषको आसक्तिरहित आचरण देखेर अरु पुरुष पनि त्यस्तै आचरण गर्ने चेष्ट गर्नेछन् ।
         

तत्वज्ञ महापुरुष र भगवान--दुबैमा कर्तृत्वाभिमान हुँदैन । त्यसैले यी दुवै केवल लोक संग्रहकोलागि नै कर्तव्य-कर्म गर्ने गर्छन्, आफ़्नोलागि होइन । साधकले (हामीले) पनि आफ़्नोलागि केही गर्ने होइन, किनकि स्वरूपमा कर्तृत्व छैन ।  अरुलाई उन्मार्गदेखि हटाएर संमार्गमा लगाउनु लोकसंग्रह हो । लोक संग्रहको उपाय हो -- शास्त्र अनुसार ठीक आचरण गर्नु, तर आफूभित्र साधकले यस्तो भाव राख्नु, 'मलाइ आफ़्नोलागि केही गर्नु छैन'।   फेरि उसले अरुलाई यो कुरा पनि नभन्नु । 
  


अहिलेसम्मको हाम्रो हालै चलिरहेको कुराकानीवाट स्पष्ट भइसक्यो, गीतामा तीन योग छन् -- कर्मयोग, भक्तियोग र ज्ञानयोग ।  गीताका अठार अध्यायहरु मध्ये पहिला छ अध्यायहरु कर्मयोगको व्याख्या गर्छन्, वीचका छ अध्यायहरु भक्ति (उपासना)योगको व्याख्या गर्छन् र पछिल्ला छ अध्यायहरु ज्ञानयोगको व्याख्या गर्छन् । अहिले भइरहेको व्याख्या कर्मयोगको व्याख्या हो ।
 
गीताको उपदेश अर्जुनलाई कर्म गर्न मन नलागेर शुरु भएको हो । कति वर्ष अघिदेखि हस्तिनापुरमा पाण्डव र कौरव वीचको अति तीतो सम्बन्धको कारण हस्तिनापुरको कुरुक्षेत्रमा युद्ध हुने निश्चित भइसक्यो, दुवैतिरका सेनाहरु रणभूमिमा युद्धकोलागि एकत्रित भैसके, दुबैतिरका महारथीले युद्धको शंख फुकिसके, अव केवल महारथीहरुवाट आफ्नो आफ्नो धनुषमा प्रत्यंचा चढ्न वांकी छ । यस्तो संकटपूर्ण समयमा अर्जुनलाई युद्ध गर्न मन लागेन, उनमा मोह भयो । उनको यो मोहको अभिव्यक्तिले अर्कै मोड लियो । उनको शरीर काँप्न थाल्यो, मुख सुक्यो, शरीरका रौं ठाडा भए, आँखावाट आँसु झर्न थाले, उनी उभिन पनि सकेनन्, रथमा थचक्क वसे, धुरु धुरु रुन थाले । अर्को शब्दमा, युद्ध जस्तो विषम परिस्थितिमा अर्जुनलाई depression भयो । यो depressionले पांडित्यको रुप लियो । जुन परमात्मावाट समस्त ज्ञानको प्रादुर्भाव भएको छ, त्यही परमात्मालाई शास्त्र सुनाउन लागे अर्जुन ।
अझ विचार गर्दा, अर्जुनलाई  द्वन्द्व भयो । उनलाई थाहा थियो, आफ्ना आदरणीयहरुलाई मार्नु हुन्न भन्ने कुरा । अझ उनले सुनेका थिए, आफ्नो गुरु (यहाँ द्रोणाचार्य र कृपाचार्य)लाई 'हूँ' मात्रै गर्यो भने पनि सयौं वर्षसम्म मसान अघिल्तिरको सुकेको रुखको ठुटो भएर रहनु पर्छ । अर्कोतिर उनले यो पनि जानेका थिए, क्षत्रियले आफूलाई आएको युद्धको चुनौति स्वीकार गरेर मृत्युको वरण पनि गर्नुपर्छ । यही द्वन्द्वमा रुमल्लिए अर्जुन, उनलाई के गरौँ र के नगरौं भन्ने भयो । केही समयसम्म उनले भगवानलाई आफू युद्ध नगर्ने दलील दिइरहे । तर, भगवानले अर्जुनको दलीललाई 'नपुंषकता', 'हृदयको कमजोरी', 'लाछी' भन्ने नाम दिनुभयो । भगवानको यस्तो वचन सुनेर अर्जुन अलि झस्के, तुरुन्तै उनले आफ्नो 'कमजोरी' थाहा पाए । आफू 'धर्मसम्मूढचेता:' भएको कुरा उनलाई थाहा भयो, उनी उही परमात्माको शरण परे । उनले भने, 'शिष्यस्तेहम्' (हजुरको शिष्य हुँ) । उनले भगवानलाई गुरुरूपमा स्वीकार गरे, (अहिलेसम्म अर्जुनले परमात्मालाइ दाजुरूपमा, जेठानरूपमा, साथीरूपमा मानेका थिए) उहाँको शरण परे, ''शाधिमाम् त्वाम् प्रपन्नम्' उचित मार्गदर्शनकोलागि प्रार्थना गरे, 'यच्छ्रेय: स्यान्निश्चितम् ब्रूहि तन्मे'। अर्जुनले आफूलाई गुरुरूपमा स्वीकार गरेर आफूलाई उचित सल्लाहको आग्रह नगरुन्जेल भगवानले अर्जुनलाई गीता सुनाउनु भएको थिएन, युद्ध हुनु भन्दा पहिले वारह वर्षको वनवासकालमा भगवान र अर्जुनको धेरै समय भेट भएको प्रसंग हामीले सुनेकै पनि हो । तर, ती समयमा कहिले पनि अर्जुनलाई मोह भएन, त्यसैले गीताको प्रसङ्ग पनि आएन । अहिले अर्जुनलाई विषाद भयो, यही विषाद नै 'विषादयोग' वन्यो, यो विषादले अर्जुनलाई गुरु भेटाइदियो, गीता ज्ञान सुनाइदियो, अर्जुनको माध्यमवाट हामीहरुले गीताको ज्ञान सुन्न पायौं, पढ्न पायौं । गीताको अठारौं अध्यायमा गीताको उपदेशको महत्त्वको उल्लेख गर्दै भगवान भन्नुहुन्छ, 'मेरो यो गीताको उपदेश कसैले पढ्छ मात्रै भने पनि मलाई त्यो व्यक्तिले ज्ञानयज्ञले पूजा गर्यो भन्ने मेरो निश्चित मत छ' ।
                          
यस्तै हो हजुर, मेरा कुरा, कहिले पनि सकिंदैनन् । अरु पछि ।



Sunday, 6 July 2014

119. No. 87 श्लोक २५, २६ हे भरतवंशोद्भव अर्जुन ! कर्ममा आसक्त भएका अज्ञानी

No. 87 

श्लोक २५, २६ 

हे भरतवंशोद्भव अर्जुन ! कर्ममा आसक्त भएका अज्ञानी व्यक्तिहरुले कर्म गर्ने जस्तो आसक्तिरहित तत्वज्ञ महापुरुषले पनि लोकसंग्रह गर्न खोज्दै त्यस्तै प्रकारले कर्म गरोस् । सावधान तत्वज्ञ महापुरुषले कर्महरुमा आसक्ति भएका अज्ञानी मनुष्यहरुको बुद्धिमा भ्रम उत्पन्न नगर्नु, बरु स्वयं नै समस्त कर्महरु राम्ररी गरी गरी अरु अज्ञानीहरुवाट पनि त्यस्तै कर्म गराउनु ।

जुन व्यक्तिहरुमा शास्त्र, शास्त्र-पद्धति र शास्त्रविहित शुभ कर्महरुमा पूरा श्रद्धा छ, त्यस्तै शास्त्रविहित कर्महरूको फल पनि अवश्य पाइन्छ भन्ने विश्वास छ, त्यस्ता व्यक्तिहरुलाई यहाँ 'सक्ताः', 'अविद्वांस:' भनिन्छ । यिनीहरु तत्वज्ञ पनि होइनन्, दुराचारी पनि होइनन्; तर यिनीहरु कर्महरुमा, भोगहरुमा एवं पदार्थहरुमा आसक्त छन् । शास्त्र जान्ने भए पनि कामनाको कारणले यिनीहरु अविद्वान (अज्ञानी) भएका हुन् । यस्ता व्यक्तिहरु शास्त्रज्ञ त हुन्छन्, तर तत्वज्ञ हुँदैनन् । यिनीहरु आफ़्नोलागि कर्म गर्छन्, यही कारण अज्ञानी मानिन्छन् ।

यस्ता अविद्वान (अज्ञानी) व्यक्तिहरु कर्महरुमा कहिले प्रमाद, आलस्य आदि नगरेर सावधानी र तत्परतापूर्वक विधिद्वारा कर्म गर्छन्; किनकि उनीहरुको मान्यता हुन्छ, कर्महरु गर्दा कुनै कमी आयो भने फलमा पनि कमी आउनेछ । भगवान अविद्वानको यस्तो किसिमको कर्म गर्ने तरिकालाई आदर्श मान्दै आसक्तिरहित विद्वानहरुलाई पनि यही विधिले लोकसंग्रह गर्ने प्रेरणा गर्नुहुन्छ ।

कामना, ममता, आसक्ति, वासना, पक्षपात, स्वार्थ आदिको सर्वथा अभाव भएको र शरीर आदि पदार्थहरुसँग अलिकति पनि सम्बन्ध नभएका तत्वज्ञ महापुरुषलाई यहाँ 'असक्तः', 'अविद्वान' भनिएको छ ।  

श्रेष्ठ व्यक्ति (आसक्तिरहित विद्वान)का सबै आचरण स्वाभाविक नै यज्ञकोलागि, मर्यादा सुरक्षित राख्नकोलागि हुन्छन् । जस्तो भोगी व्यक्तिलाई भोगहरुमा, मोही मनुष्यहरू लाई कुटुम्बहरुमा र लोभी मनुष्यहरुलाई धनमा रति हुन्छ, त्यस्तै श्रेष्ठ मनुष्यलाई सम्पूर्ण प्राणीहरुको हितमा रति हुन्छ । त्यो श्रेष्ठ पुरुषको अन्तःकरणमा 'म लोकहित गर्छु' भन्ने भाव पनि आउँदैन, वरु उद्वारा स्वतःस्वाभाविक लोकहित भइरहेको हुन्छ । प्राकृत पदार्थवाट सर्वथा सम्बन्ध-विच्छेद भएकोले त्यो ज्ञानी महापुरुषको शरीर, इन्द्रियहरु, मन, बुद्धि, आदि पनि 'लोकसंग्रह' पदमा आएको 'लोकः' शब्द अन्तर्गत नै आउँछन् ।

अरु सर्व साधारण व्यक्तिलाई यस्ता ज्ञानी महापुरुषले पनि लोकसंग्रहको इच्छा गरे जस्तो देखिन्छ, तर वास्तवमा त्यस्ता महापुरुषमा लोकसंग्रहको इच्छा पनि हुँदैन । किनकि संसारमा प्राप्त शरीर, इन्द्रियहरु, मन,बुद्धि, पदार्थ, पद, अधिकार, धन, योग्यता, सामर्थ्य, साधन अवस्थादेखि नै किञ्चित् मात्र पनि आफ्नो र आफ़्नोलागि मान्दैन, खालि संसारको र संसारकोलागि नै मान्छ । यही प्रवाहको कारणले सिद्धावस्थामा पनि उसको भनिने शरीर आदि पदार्थ स्वतःस्वाभाविक, कुनै प्रकारको इच्छा विना संसारको  सेवामा लागिरहन्छन् ।

अज्ञानी (सकाम) पुरुषले आफ्नो स्वार्थकोलागि सावधानी र तत्परतापूर्वक कर्म गरे जस्तो ज्ञानी पुरुषले  पनि लोकसंग्रहको अर्थात् अरुको हितकोलागि कर्म गर्नुपर्छ  । ज्ञानी पुरुषले प्राणीमात्रको हितको भाव राखेर सम्पूर्ण लौकिक र वैदिक कर्तव्य-कर्मको आचरण गरिरहनु पर्छ। सबैको कल्याण कसरी होला? भन्ने भावले कर्तव्य-कर्म गरे लोकमा राम्रो भावको प्रचार स्वतः हुन्छ ।

अज्ञानी पुरुष त फलको प्राप्तिकोलागि सावधानी र तत्परताले विधिपूर्वक कर्तव्य-कर्म गर्छ, तर ज्ञानी पुरुषको फलमा आसक्ति हुँदैन र उसकोलागि कुनै कर्तव्य पनि हुँदैन । त्यसैले ज्ञानी पुरुषवाट पनि कर्मको उपेक्षा हुन सक्छ । यसैले भगवान कर्म गर्ने विषयमा ज्ञानी पुरुषले पनि अज्ञानी (सकाम)ले जस्तो नै कर्म गर्ने आज्ञा दिनुहुन्छ ।

यो भन्दा अघिल्लो प्रसंगमा विद्वानलाई 'आदर्श' भनिएको थियो, तर यहाँ उसैलाई 'अनुयायी' भनिएको छ । तात्पर्य, विद्वान चाहे होस् या अनुयायी, ऊद्वारा स्वतः लोकसंग्रह नै हुन्छ । जस्तो भगवान रामचन्द्रले प्रजालाई उपदेश पनि दिनुभयो र पिताजीको आज्ञा मानेर वनवास पनि जानुभयो । दुवै परिस्थितिमा उहाँ द्वारा लोकसंग्रह भयो; किनकि कर्महरु गर्ने र नगर्नेमा उहाँको कुनै प्रयोजन थिएन ।

आसक्तिरहित विद्वानले गरेको कर्तव्य-कर्मवाट आसक्तियुक्त चित्त भएको पुरुषको अन्तःकरणमा पनि विद्वानको कर्महरुको स्वतः प्रभाव पर्छ, चाहे  उनीहरुलाई 'यो महापुरुष निष्कामभावले कर्म गरिरहेको छ' भन्ने परोस् अथवा नपरोस् । कुनै व्यक्तिको निष्काम भावको असर अरुमा अवश्य नै पर्छ--यो सिद्धान्त नै हो । यसैले आसक्तिरहित विद्वानका भावहरु, आचरणहरुको प्रभाव मनुष्यहरुमा मात्रै होइन, पशु-पक्षीहरूमा पनि पर्छ ।


साधकले निष्कामभावपूर्वक विहित कर्म नगरुन्जेल उसको जन्म-मरण मेटिन सक्तैन । आफ्नोलागि कर्म गरुन्जेल ऊ कृतकृत्य हुँदैन अर्थात् 'गर्नु' सकिंदैन । किनकि स्वयं नित्य रहने स्वभावको छ र कर्म एवं त्यसको फल नष्ट हुने स्वभावको छ । अतः सवै व्यक्तिले स्वार्थ त्यागेर, आफ्नोलागि कर्म नगरेर केवल अरुको हितकोलागि कर्तव्य-कर्म गर्ने आवश्यकता छ ।

सांसारिक वस्तुहरुलाई मूल्यवान मान्दा नै कर्मयोगको आचरणमा कठिनाइ आएको जस्तो लाग्छ हामीलाई । हामीले अरुसँग कुनै चीजको पनि आश नगरेर खालि अरुको हितकोलागि काम गर्ने हो भन्ने कुरो स्वीकार गर्यौं भने आज नै कर्मयोगको पालन गर्न सजिलो हुन्छ ।

वास्तवमा महत्व पदार्थको होइन, आचरणको हो । अन्तःकरणमा पदार्थको महत्व नभए मात्रै आचरणको महत्व हुन्छ । कुनै पनि पदार्थ व्यक्तिगत होइन, केवल उपयोगकोलागि नै व्यक्तिगत हो । पदार्थलाई व्यक्तिगत मान्दा नै परहितकोलागि पदार्थको त्याग गर्न गाह्रो हुने हो । कुनै पदार्थ अथवा क्रिया बन्धन-कारक होइन, तिनीहरुसंगको सम्बन्ध नै बन्धन-कारक हो ।

मेरा मित्रहरु, मैले धेरै पटक गीता पढिसकें । अहिले हजुरहरुलाई पठाइरहेको यो आलेख पनि स्वामी श्रीरामसुखदासजी महाराजको 'साधक संजीवनी' भन्ने गीताको आधारमा नै हो । जति चोटि गीता पढ्दा पनि केही न केही नयाँ पाइरहेको जस्तो लाग्छ मलाई । जहिले पनि गीताले भनेको जस्तो आचरण गर्न केही न केही वांकी रहे जस्तो मलाई लागिरहन्छ । यसको अध्ययनले overnight परिवर्तन आउन सक्ने होइन, थाहा नपाइंदो किसिमले हामीमा केही न केही change आउँछ । अहिलेसम्म हामीले भोगेको, देखेको, सुनेको सूचनाको आधारमा पनि हामीलाई यो कुरा पक्का नै भएको हुनुपर्छ, भौतिक पदार्थ सम्पन्न व्यक्तिले पनि शाश्वत सुख पाउन सक्तैन, किनभने यो सुख पैसाले किन्न नसकिने रहेछ, यसलाई हामी आफैंले आर्जन गर्नुपर्ने रहेछ । अरु अहिले सम्म आर्जन गरेका पदार्थ तथा सूचना हाम्रो शरीर छुटेपछि हामीसँग जाँदैनन्, तर अहिले हामीले मनन गरिरहेको वेदान्तको ज्ञान हाम्रो शरीर छुटेपछि पनि हामीसँग जान्छ, यसले हाम्रो साथ कहिले पनि छोड्दैन । यो कुरो यही गीतको छैठौं अध्यायमा पढ्न पाइन्छ । शाश्वत सुख नपाई  व्यक्ति सन्तुष्ट हुन सक्तैन । यो कुरो निरन्तर सम्झिरहन गीताको अध्ययन चाहिन्छ हामीलाई । संसारका धनीहरु मध्ये एक मानिने एक व्यक्ति malnutrition भएर निधन भएको कुरो हामीलाई थाहा नै भएको हुनु पर्छ । मैले वयान गरिरहेको यो गीता, यसलाई 'मेरो' भन्न मन लाग्छ मलाई, हजुरहरुले पनि हजुरहरुको 'मेरो' वनाउनु छ । नत्र त हजुर, हाम्रो भविष्य अत्यन्त अनिश्चित छ, अहिलेको अहिले के हुन्छ हामीलाई मात्रै होइन, कसैलाई पनि थाहा छैन । यस्तो अनिश्चित जीवनमा 'ढुक्क' भएर वाँच्न सक्ने कला सिकाउँछ गीताले हामीलाई । कतिले त गीताको ज्ञानलाई abstract भनेर स्वीकार्नै सक्तैनन्, 'हामीले ईश्वर देखेका छैनौं,  कसरी पत्याउने' भन्छन् उनीहरु । गीताको ज्ञानले भन्छ, 'तिमीहरुको इन्द्रियहरू, मन, बुद्धिको पकडमा आउन नसक्ने तत्व हो यो, जसले तिमीहरुको शरीर, इन्द्रियहरु, मन, बुद्धिलाई सत्ता-स्फूर्ति दिन्छ, त्यो तत्वलाई तिम्रो शरीर, इन्द्रियहरु, मन, बुद्धिले कसरी जान्ने'? हाम्रा इन्द्रियहरु द्वारा जान्न सकिने तेज, वायु, आकाश त कति सूक्ष्म छ भने ती भन्दा पनि अति सूक्ष्म तत्वको ज्ञान हुन नित्य-निरन्तर श्रवण, मनन, निदिध्यासनको जरुरत छ हामीलाई । मैले पनि जानेको त के छ र हजुर, केवल हजुरहरुले मेरो अक्षरहरु पढिरहनु भएको छ भन्ने  मात्रै लाग्छ मलाई र यही भएर नै मैले हजुरहरुलाई आफ्नो feelings share गरिरहेको ।