Friday, 22 August 2014

149 No 116 श्लोक ९ मेरा जन्म र कर्म दिव्य छन् ।

No 116
श्लोक ९

मेरा जन्म र कर्म दिव्य छन् । यसरी मेरो जन्म र कर्मलाई तत्वले जान्ने, दृढतापूर्वक मान्ने मनुष्य शरीर त्याग गरेपछि पुनर्जन्म प्राप्त गर्दैन; मलाई प्राप्त गर्छ ।

भगवान जन्म मृत्युदेखि सर्वथा अतीत, अजन्मा र अविनाशी हुनुहुन्छ । उहाँको मनुष्यरूपमा भएको अवतार साधारण मनुष्यहरूको जस्तो हुँदैन । उहाँ सम्पूर्ण जीवहरुको हितकोलागि स्वतन्त्रतापूर्वक मनुष्य आदिको रूपमा जन्म-धारणको लीला गर्नुहुन्छ । उहाँको जन्म कर्महरुको परवश हुँदैन । उहाँ आफ्नो इच्छाले नै शरीर धारण गर्नुहुन्छ ।

भगवानको साकार विग्रह जीवहरुको जस्तो हाड-मांसको हुँदैन । जीवहरुको शरीर त पापपुण्य-मय, अनित्य, रोगग्रस्त, लौकिक, विकारी, पाञ्चभौतिक र रज-वीर्यवाट उत्पन्न-हुने हुन्छन्, तर भगवानको विग्रह पाप-पुण्यदेखि रहित नित्य, अनामय, अलौकिक, विकाररहित, परम दिव्य र प्रकट हुने खालका हुन्छन् । अरु जीवहरु भन्दा देवताहरुको शरीर पनि दिव्य हुन्छन्, तर भगवानको शरीर देवताहरुको भन्दा पनि अत्यन्त विलक्षण हुन्छ, जुन शरीरको दर्शन देवताहरु पनि गर्न चाहन्छन् ।

भगवान श्रीराम तथा श्रीकृष्णरूपमा यो पृथ्वीमा आउनुहुँदा उहाँहरु माता कौसल्या तथा देवकीको गर्भवाट उत्पन्न हुनु भएन । उहाँहरुले आफ्ना माताहरुलाई पहिले शंख-चक्र-गदा-पद्मधारी स्वरूपको दर्शन दिनुभयो । त्यसपछि उहाँहरुले  माताको प्रार्थनामा वालकरूपले लीला गर्न लाग्नुभयो ।
भगवानको लीलाहरू सुन्दा, पढ्दा, याद गर्दा सर्वसाधारण व्यक्तिहरुको अन्तःकरण निर्मल, पवित्र हुन्छ र उनीहरुको अज्ञान हट्छ । यही नै भगवानका कर्महरुको दिव्यता हो । ज्ञानस्वरूप भगवान शंकर, ब्रह्माजी, सनकादिक ऋषि, देवर्षि नारद आदि ऋषि-मुनिहरु पनि भगवानको लीलाहरु गाएर र सुनेर मग्न हुन्छन् । भगवानको अवतारका लीलास्थलहरुमा आस्तिकभावले निवास गर्यो भने र ती स्थलहरुको दर्शन गरे पनि मनुष्यको कल्याण हुन्छ । तात्पर्य, भगवान सबै जीवहरुको कल्याण गर्ने उद्देश्यले नै अवतार लिनुहुन्छ र लीलाहरू गर्नुहुन्छ । त्यसैले, उहाँका लीलाहरू पढे, सुने, ती लीलाहरुको चिन्तन गरे मात्रै पनि स्वाभाविक  नै त्यो उद्देश्यको सिद्धि हुन्छ ।
यही अध्यायको चौथो श्लोकमा अर्जुनले भगवानसँग खालि उहाँको 'जन्म'को विषयमा सोधेका थिए; परन्तु यहाँ भगवानले अर्जुनले नसोधिकनै आफ्नो तर्फवाट 'कर्म'को विषयमा भन्न शुरु गर्नु भयो । यसमा भगवानको यस्तो अभिप्राय देखिन्छ, 'मेरो कर्म दिव्य भए जस्तै तिम्रो कर्म पनि दिव्य हुनुपर्छ ।' किनकि मनुष्य-जन्म दिव्य हुन सक्तैन, तर उसको कर्म अवश्य दिव्य हुन सक्छन्; किनकि आफ्नो जन्म दिव्य वनाउन नै उसको जन्म भएको हो । कर्महरुमा दिव्यता (शुद्धि) योगले आउँछ । वाँधने स्वभाव भएको कर्ममा  दिव्यता आएपछि तिनै कर्म मुक्ति दिने वन्छन् । कर्म दिव्य (फलेच्छा, ममता, आसक्तिदेखि रहित) भएपछि कर्ता एक त ती कर्महरुवाट वाँधिंदैन, अर्को, ऊ पुराना कर्महरुवाट पनि वाँधिंदैन, मुक्त हुन्छ र अर्को, ऊ द्वारा हुने कर्महरुवाट अरुलाई पनि स्वतः हित भइरहन्छ ।
गम्भीरतापूर्वक विचार गर्ने हो भने उत्पत्ति-विनाशशील वस्तुहरुसंग आफ्नो सम्बन्ध मान्दा नै कर्महरुमा मलिनता आउँछ र ती कर्महरु वाँधने हुन्छन् । विनाशीसँग आफ्नो सम्बन्ध मान्दा अन्तःकरण, कर्म र पदार्थ, तीनै मलिन हुन्छन् र विनाशीसँग मानिएको सम्बन्ध छुटेपछि यी तीनै स्वतः पवित्र हुन्छन् । अतः विनाशीसँग मानिएको सम्बन्ध नै मूल वाधा हो ।
अजन्मा र अविनाशी हुँदा हुँदै तथा सम्पूर्ण प्राणीहरुको ईश्वर हुँदा हुँदै पनि भगवान खालि जीवहरुको हितकोलागि आफ्नो प्रकृतिलाई अधीन गरेर स्वतन्त्रतापूर्वक युग-युगमा मनुष्य आदिको रूपमा अवतार लिनुहुन्छ -- यो तत्व जान्नु अर्थात् दृढतापूर्वक मान्नु भगवानको जन्महरुको दिव्यता जान्नु हो ।
सम्पूर्ण क्रियाहरु गरिरहँदा पनि भगवान अकर्ता नै हुनुहुन्छ अर्थात् उहाँमा गर्ने अभिमान छैन र कुनै पनि कर्मफलमा उहाँको स्पृहा (फलेच्छा) छैन -- यो तत्व जान्नु भगवानका कर्महरुको दिव्यता जान्नु हो ।
भगवानको जन्ममा स्वाभाविक नै सम्पूर्ण जीवहरुको हितैषिता र कर्ममा निर्लिप्तता भए जस्तै मनुष्यमा पनि सबै जीवहरुको हितैषिता आउनु नै वास्तवमा भगवानको जन्म र कर्मको तत्व जान्नु हो ।
भगवानलाई त्रिलोकीमा न त केही गर्नु वांकी छ र न केही पाउनु नै वांकी छ । तैपनि उहाँ केवल जीवहरुको उद्धारकोलागि कृपापूर्वक यो भूमण्डलमा अवतार लिनुहुन्छ र किसिम किसिमका अलौकिक लीलाहरु गर्नुहुन्छ । ती लीलाहरु गाउँदा, सुन्दा, पढ्दा र चिन्तन  गर्दा भगवानसँग सम्बन्ध जोडिन्छ । भगवानसँग सम्बन्ध जोडिएपछि संसारसँगको सम्बन्ध छुट्छ । संसारसँग सम्बन्ध छुटेपछि पुनर्जन्म हुँदैन अर्थात् मनुष्य जन्म-मरणरुप बन्धनदेखि मुक्त हुन्छ ।
वास्तवमा कर्म बन्धनकारक हुँदैनन् । कर्महरुमा वाँधने शक्ति पनि केवल मनुष्यले नै वनाएको (कामना) हो । कामना पूर्तिकोलागि रागपूर्वक आफ़्नोलागि कर्म गर्दा नै मनुष्य कर्महरुसँग वाँधिन्छ । त्यसपछि जति जति कामना वढ्छ, त्यति त्यति उ पापहरुमा प्रवृत्त हुन थाल्छ । यस्तो प्रकारले उसको कर्म अत्यन्त मलिन हुन्छ, जसले गर्दा ऊ वारम्वार नीच योनिहरुमा र नरकहरुमा खसिरहन्छ । तर जव ऊ केवल अरुको सेवाकोलागि निष्कामभावपूर्वक कर्म गर्छ, त्यो वेला उसको कर्महरुमा दिव्यता, विलक्षणता आउन थाल्छ । यसरी कामनाको सर्वथा नाश भएपछि उसका कर्महरु दिव्य हुन्छन् अर्थात् बन्धनकारक हुँदैनन् । त्यसपछि उसको पुनर्जन्मको प्रश्न नै रहँदैन ।

नाशवान् कर्महरुसँग आफ्नो सम्बन्ध मान्दा नै नित्यप्राप्त परमात्मा पनि अप्राप्त प्रतीत हुनुहुन्छ । निष्कामभावपूर्वक केवल अरुको हितकोलागि सम्पूर्ण कर्म गरे मात्रै कर्महरुको प्रवाह केवल संसारतिर हुन्छ र नित्यप्राप्त परमात्माको अनुभव हुन्छ ।

जीवहरुमाथिको महान् कृपा नै भगवानको जन्ममा कारण हो -- यस्तो किसिमले भगवानको जन्मको दिव्यता जान्दा नै मनुष्यको भगवानमा भक्ति हुन्छ । भक्तिले भगवानको प्राप्ति हुन्छ । भगवानको कर्महरुको दिव्यता जान्दा मनुष्यको कर्महरु पनि दिव्य हुन्छन् अर्थात् तिनीहरु बन्धनकारक नभएर आफ्नो र अरुको पनि कल्याण गर्ने हुन्छन् । यसो भएपछि संसारसँग सम्बन्ध विच्छेदपूर्वक भगवानको प्राप्ति हुन्छ ।

सम्पूर्ण कर्म आरम्भ र समाप्त हुने खालका छन् (र कर्मको फलस्वरूप जे पाइन्छ, ती पनि अनित्य र नाशवान् नै हुन्छन्); परन्तु स्वयं (जीवात्मा) नित्य-निरन्तर रहने खालको छ । अतः वास्तवमा स्वयंको कर्महरुसँग कुनै सम्बन्ध छैन; खालि सम्बन्ध मानिएको मात्रै हो । अतः सम्पूर्ण कर्महरु गरिरहे पनि ती कर्महरुसँग आफ्नो सम्बन्ध छँदै छैन -- यस्तो अनुभव गर्यो भने हाम्रा कर्म दिव्य हुन्छन् । यही कर्महरुको तत्व हो । यही कर्मयोग हो ।
क्रियाशील प्रकृतिसँग तादात्म्य भएको कारण मनुष्यमा कर्म गर्ने वेग रहन्छ । ऊ क्षण मात्रै पनि कर्म नगरी रहँदैन । ऊ संसारमा देख्छ, कर्म गरेर नै सिद्धि हुन्छ । यही कारण ऊ परमात्माको प्राप्ति पनि कर्मद्वारा नै गर्न खोज्छ, तर यसो गर्न खोज्नु उसको महान् भूल हो । कारण कि नाशवान् कर्महरु द्वारा नाशवान् वस्तु पाइन्छ, अविनाशीको प्राप्ति हुँदैन । अविनाशीको प्राप्ति त कर्महरुसँग सम्बन्धविच्छेद भएर नै हुन्छ । कर्महरुसँग सम्बन्ध-विच्छेद कर्मयोगमा (ज्ञानयोग भन्दा पनि) सजिलोसंग हुन्छ । किनकि कर्मयोगमा स्थूल, सूक्ष्म र कारण शरीरहरुवाट सम्पूर्ण कर्म निष्कामभावपूर्वक केवल संसारको हितकोलागि हुने हुँदा कर्महरुको प्रवाह संसारतिर हुन्छ र आफ्नो चाहिं कर्महरुसँग सम्बन्ध-विच्छेद हुन्छ ।
मनुष्यले कर्महरुवाट चाहने सिद्धि, परमात्मतत्व स्वतःसिद्ध (नित्यप्राप्त) छ । स्वतःसिद्ध वस्तुकोलागि के गर्नु ? प्राप्त भएको वस्तुलाई कसरी प्राप्त गर्नु ? पहिले अप्राप्त वस्तुलाई प्राप्त गर्न पो केही गर्नु पर्यो त !
एउटा उत्पत्ति हुन्छ, एउटा खोज हुन्छ । स्वतन्त्र सत्ता नभएको वस्तुको उत्पत्ति हुन्छ, त्यो वस्तुको पहिले अभाव छ र पछि पनि जसको विनाश हुन्छ । खोज त्यसैको हुन्छ, जसको स्वतन्त्र सत्ता छ, पहिलेदेखि नै विद्यमान छ र नित्य-निरन्तर रहन्छ तर क्रिया र पदार्थरूप संसारको महत्व हुँदा ढाकिएको छ । मनुष्यले क्रियाहरु र पदार्थहरु केवल अरुको सेवामा 
लगाइदिएपछि क्रिया र पदार्थरूप संसारसँग स्वतः सम्बन्ध-विच्छेद र नित्यप्राप्त परमात्माको साक्षात् अनुभव हुन्छ । यही नै नित्यप्राप्तको खोज हो ।
कर्तव्य कर्महरु नगरी प्रमाद, आलस्य गर्नु र कर्तव्य-कर्महरु गरेर ती कर्महरुको फलको इच्छा राख्नु -- यी दुवै कारणवाट मनुष्यलाई नित्यप्राप्त परमात्माको अनुभवमा वाधा हुन्छ । यो वाधा हटाउने एक मात्र उपाय हो -- फलको इच्छा नराखेर अरुको सेवाको रूपमा कर्तव्य-कर्म गर्ने । फलको इच्छा नराखेर कर्तव्य-कर्म गरे कर्महरुदेखि सम्बन्ध-विच्छेद हुन्छ । कर्महरुसँग सम्बन्ध-विच्छेद हुने वित्तिकै परमात्मासँगको स्वतःसिद्ध नित्य सम्बन्धको अनुभव हुन्छ ।
निष्कामभावले खालि अरुको हितकोलागि सेवा गरे अथवा भगवानकोलागि कर्म (पूजा) गरे ती कर्म दिव्य मुक्तिदायक हुन्छन् । परन्तु कामनापूर्वक आफ्नोलागि गरिएको कर्म मलिन, बन्धनकारक हुन्छन् ।
कर्महरुमा कर्तृत्व नहुनु नै दिव्यता हो । आफ़्नोलागि केही नगरे कर्तृत्व रहँदैन ।

भगवानको सानो भन्दा सानो तथा ठूलो भन्दा ठूलो प्रत्येक क्रिया 'लीला' हुन्छ । लीलामा भगवान साधारण मनुष्य जस्तो क्रिया गर्दै निर्लिप्त रहनुहुन्छ । भगवानको लीला दिव्य हुन्छ । यो दिव्यता देवताहरुको दिव्यता भन्दा विलक्षण हुन्छ । देवताहरुको दिव्यता मनुष्यहरुको अपेक्षाले हुने भएकोले सापेक्ष र सीमित हुन्छ, तर भगवानको दिव्यता निरपेक्ष र असीम हुन्छ । जीवन्मुक्त, तत्वज्ञ, भगवत्प्रेमी महापुरुषहरुको क्रियाहरु पनि दिव्य हुन्छन्, तर ती क्रियाहरु पनि भगवल्लीला जस्तो हुँदैन । भगवानको साधारण लीला पनि अत्यन्त अलौकिक हुन्छन् । भगवानको रासलीला लौकिक देखिए पनि रासलीला पढ्ने-सुन्ने गर्यो भने साधकको काम-वृत्तिको नाश हुन्छ ।

यो जगत् भगवानको आदि अवतार हो । भगवान् नै जगतरूपले प्रकट हुनुभएको छ । परन्तु जीवले भोगको आसक्तिले गर्दा जगतलाई भगवतरूपले स्वीकार नगरेर नाशवान् जगतरूपले नै धारण गरी राखेको छ । यस्तो धारणा मेटाउन साधकले मान्नुपर्छ, जे देखिएको छ, त्यो भगवानको स्वरूप हो र जे भइरहेछ, त्यो भगवानको लीला हो । यस्तो मान्दा, स्वीकार गर्दा जगत जगतरूपले रहँदैन र 'भगवान सिवाय केही छैन' भन्ने अनुभव हुनेछ । अर्को शब्दमा, संसार लुप्त हुन्छ र केवल भगवान रहनुहुन्छ । कारण, प्रत्येक वस्तु तथा व्यक्तिलाई भगवानको स्वरूप र प्रत्येक क्रियालाई भगवल्लीला मान्दा भोगासक्ति राग, द्वेष रहँदैनन् । भोगको आसक्ति नाश भएपछि पहिले देखिएका लौकिक क्रियाहरु अलौकिक भगवानको लीलारूपले देखिन थाल्छ र जहाँ पहिले भोगको आसक्ति थियो, त्यहाँ भगवत्प्रेम  हुनेछ ।

भगवानले गर्ने लीला उहाँले लिएको रुप (शरीर) अनुसार नै हुन्छ । उहाँले मूर्तिको रुप धारण गरेको वेला उहाँ मूर्ति जस्तो अचल हुने लीला गर्नुहुन्छ । उहाँ अचल नरहे अर्चावतार कसरी हुने ? भगवानले राम, कृष्ण रुप लिनुभयो र मत्स्य, कच्छप आदि रुप पनि लिनुभयो । उहाँले जस्तो रुप लिनुभयो, त्यस्तै लीला गर्नुभयो । जस्तो, वराह अवतारमा भगवानले सुंगुर वनेर लीला गर्नुभयो र वामनावतारमा ब्रह्मचारी ब्राह्मण वनेर लीला गर्नुभयो । यसवाट हामीले यो सम्झनु पर्यो, अहिले जे भइरहेछ, ती सब भगवानका लीला भइरहेछन् ।

148 No. 115 श्लोक ८ साधुहरुको (भक्तहरु)रक्षा गर्न, पापकर्म गर्नेको विनाश गर्न र धर्मको भलिभाँति स्थापना गर्न म युग-युगमा प्रकट हुने गर्छु ।

No. 115
श्लोक ८
साधुहरुको (भक्तहरु)रक्षा गर्न, पापकर्म गर्नेको विनाश गर्न र धर्मको भलिभाँति स्थापना गर्न म युग-युगमा प्रकट हुने गर्छु ।
साधु मनुष्यहरूवाट नै अधर्मको नाश र धर्मको प्रचार हुन्छ, यसैले उहाँको रक्षा गर्न भगवान अवतार लिनुहुन्छ ।
अरुको हित गर्ने स्वभाव भएका, भगवानको नाम, रुप, गुण, प्रभाव, लीलाको श्रद्धा-प्रेमपूर्वक स्मरण, कीर्तन आदि गर्ने र सर्व साधारणमा पनि यसको प्रचार गर्ने भगवानको आश्रित भक्तहरुलाई साधु भनिन्छ ।

परमात्म-प्राप्तिको मात्रै उद्देश्य भएका व्यक्तिहरु साधु हुन् र नाशवान् संसारको उद्देश्य भएका व्यक्तिहरु असाधु हुन् । असत् र परिवर्तनशील वस्तुमा सद्भाव गर्दा, तिनीहरुलाई महत्व दिंदा कामनाहरु पैदा हुन्छन् । कामना नष्ट हुँदै जाँदा साधुता वढ्दै जान्छ, कामनाहरु वढ्दै जाँदा साधुता लुप्त हुन्छ । किनकि असाधुताको मूल हेतु नै कामना हो । साधुता द्वारा आफ्नो उद्धार र सर्व साधारणको स्वतः उपकार हुन्छ ।
साधु पुरुषका भावहरु र क्रियाहरुमा पशु, पक्षी, वृक्ष, पर्वत, मनुष्य, देवता, पितृ, ऋषि, मुनि सबैप्रति  हित भरिएको हुन्छ । यदि कसैले साधु पुरुषको मनको भाव थाहा पाए भने उनीहरु साधु पुरुषको दास हुन्थे । यसको विपरीत यदि कसैले दुष्ट पुरुषको मनको भावहरु थाहा पाए ती दुष्टले दिनभरी कति चोटी पिटाइ खान्थे ।
यहाँ शंका हुन्छ, भगवानले साधु पुरुषहरुको रक्षा गर्नुहुन्छ भने किन संसारमा साधु पुरुषले दुःख पाएको देखिन्छ ? यसको उत्तर: साधु पुरुषको रक्षा भनेको उनीहरुको भावहरुको रक्षा गर्ने हो, उनीहरुको शरीर, धन-सम्पत्ति, मान-वडाई आदिको रक्षा होइन; किनकि साधुहरु सांसारिक पदार्थहरुलाई महत्व दिंदैनन् । भगवान पनि यी वस्तुहरुलाई महत्व दिनुहुन्न; किनकि सांसारिक पदार्थहरुलाई महत्व दिंदा नै असाधुता पैदा हुने हो ।  

 
भक्तहरुमा सांसारिक पदार्थहरुको महत्व हुँदै हुँदैन, त्यसैले उनीहरु भक्त भनिएका हुन् । भक्तहरु प्रतिकूलता (दुःखदायी-परिस्थिति)मा विशेष प्रसन्न हुन्छन्, किनकि प्रतिकूलतावाट हुने जस्तो आध्यात्मिक लाभ अरु कुनै साधनले पनि हुँदैन । वास्तवमा भक्ति वढ्ने पनि प्रतिकूलताले नै हो । सांसारिक राग, आसक्तिले नै पतन हुन्छ र प्रतिकूलताले त्यो राग छुट्छ । यसैले भगवानले भक्तहरुलाई प्रतिकूलता पठाउनु पनि भक्तको रक्षा गर्नु नै हो ।

दुष्ट मनुष्य अधर्मको प्रचार र धर्मको नाश गर्छन्, यही कारण उनीहरुको विनाश गर्न भगवान अवतार लिनुहुन्छ ।
कामना ज्यादै वढेको कारण झूठ, कपट, छल, वेइमानी आदि दुर्गुण, दुराचार मा लागेका मनुष्यहरु निरपराध, सद्गुण, सदाचारी साधुहरुलाई अत्याचार गर्ने, अरुको अहित गर्ने, प्रवृत्ति र निवृत्ति नजान्ने, भगवान र वेद-शास्त्रहरूको विरोध गर्ने स्वभाव भएका मनुष्यहरूलाई भगवान 'दुष्ट' भन्नुहुन्छ । यस्ता दुष्टहरु आसुरी सम्पत्तिमा डुबेका हुनाले यिनीहरुको आचरण पनि त्यस्तै हुन्छ । भगवानको अवतारको एउटा कारण यस्ता दुष्टहरूको विनाश गर्नु हो ।
यहाँ एउटा शंका: भगवान त सबै प्राणीहरुमा सम हुनुहुन्छ र उहाँका कोही पनि वैरी छैनन्, फेरि उहाँ दुष्टको विनाश किन गर्नुहुन्छ ?
उत्तर: सम्पूर्ण प्राणीहरुको परम सुहृद हुँदा भगवानका कोही पनि वैरी हुँदैनन्, परन्तु भक्तहरुलाई अपराध गर्ने मनुष्य भगवानको वैरी हुन्छ । 
भगवानको 'भक्तभक्तिमान्' भन्ने नाम आउँछ भागवतमा । त्यसैले भक्तहरुलाई कष्ट दिने दुष्टहरुको विनाश भगवान आफैं गर्नुहुन्छ । पापको विनाश भक्त गर्छन्, पापीहरुको विनाश भगवान स्वयं गर्नुहुन्छ ।
साधुहरुको परित्राण गर्नमा भगवानको कृपा भए जस्तै दुष्टहरुको विनाश गर्नमा पनि भगवानको कृपा छ । दुष्टहरुको विनाश गरेर भगवान उनीहरुलाई शुद्ध, पवित्र  वनाउनु हुन्छ ।

सन्त-महात्माहरु धर्मको स्थापना त गर्छन्, तर दुष्टहरुको विनाश गर्ने काम उनीहरु गर्दैनन् । दुष्टहरुको विनाश गर्ने काम भगवान् आफू राख्नुहुन्छ ।
      
माता र पिता -- दुवै समानरूपले वालकको हित चाहन्छन् । वालकले नपढेको वेला, वदमासी गरेको वेला माता र पिता दुवै त्यो वालकलाई सम्झाउँछन् । तैपनि वालकले आफ्नो वदमासी छोडेन भने पिता उसलाई थप्पड पनि हान्छन् । तर वालक पितासँग डराएको वेला माता पितालाई थप्पड हान्न रोक्छिन् । माता पतिव्रता भए पनि, पतिको अनुसरण गर्नु उनको धर्म भए पनि असल माताले पति सँगसंगै वालकलाई पिटदिनन् । वालकको रक्षा गर्दा उनको पातिव्रत्य धर्म नष्ट हुँदैन । किनकि वास्तवमा पिता पनि वालकलाई थप्पड दिन चाहँदैन, ऊ त खालि उसको दुर्गुण-दुराचार हटाउन चाहन्छ । यसै गरी, भगवान पिता जस्तो हुनुहुन्छ र उहाँको भक्त माता समान । भगवान र सन्त-महात्मा मनुष्यहरूलाई सम्झाउनु हुन्छ । तैपनि मनुष्यले दुष्टता छोडेन भने उसको विनाश गर्न भगवानलाई नै अवतार लिएर आउनु पर्छ । यदि मनुष्यले आफ्नो दुष्टता छोडछ भने उसलाई पिटनै किन पर्छ र ?
निर्गुण-ब्रह्म प्रकृति, माया, अज्ञान आदिको विरोधी होइन, वरु यिनीहरुलाई सत्ता-स्फूर्ति दिने तथा यिनीहरुको पोषक हो । तात्पर्य, प्रकृति, मायामा भएको सामर्थ्य सबै निर्गुण ब्रह्मको नै हो । यस्तै किसिमले सगुण भगवान पनि कुनै जीवलाई द्वेष, वैर अथवा विरोध गर्नुहुन्न, समानरीतिले सबैलाई सामर्थ्य दिनुहुन्छ, सबैको पोषण गर्नुहुन्छ।
भगवानले रचेको पृथ्वी पनि वस्नकोलागि सबैलाई वरावर स्थान दिन्छिन् । महात्मालाई वस्न  विशेष स्थान दिने, दुष्टलाई वस्न स्थानै नदिने काम पृथ्वीवाट हुँदैन । त्यस्तै, अन्नले सबैको भोक हटाउँछ, जल सबैको प्यास समानरूपले मेट्छ, वायु सबैलाई एकै प्राणवायु एकै किसिमको दिन्छ, सूर्य सबैलाई एकै किसिमको प्रकाश दिन्छ । यदि पृथ्वी, अन्न, जल आदिले दुष्टलाई स्थान, अन्न, जल दिएनन् भने दुष्ट वांचनै सक्तैनन् । यसरी जव भगवानको विधान अनुसार चल्ने पृथ्वी, अन्न, जल, वायु, सूर्य आदिमा पनि यति उदारता, समता छ भने यो विधानको विधायक (भगवान)मा कति विलक्षण उदारता, समता होला । भगवान त उदारताको भण्डार नै हुनुहुन्छ । यदि विधायक (भगवान) र उहाँको विधानतिर अलिकति मात्रै पनि दृष्टि गयो भने मनुष्य कति गद्गद हुने थियो र भगवानको चरणमा उसको प्रेम हुने थियो ।
दुष्ट पुरुषहरुसँग भगवानको विरोध छैन, खालि उनीहरुको दुष्कर्महरुसँग विरोध छ । किनकि दुष्कर्मले  संसारको तथा ती दुष्टहरुको पनि अहित गर्छ । भगवान सर्वसमर्थ हुनुहुन्छ; अतः उहाँ संसारको तथा ती दुष्टहरुको पनि हित गर्न नै दुष्टहरुको विनाश गर्नुहुन्छ । उहाँ द्वारा मारिएका दुष्टहरुलाई भगवान आफ्नै धाममा पठाउनु हुन्छ । यो उहाँको उदारता हो ।       

एउटा प्रश्न उठ्छ: यदि हामीले  पाप-कर्म गरिरह्यौं भने के हामीलाई पनि मार्न भगवान आउनुहुन्छ ? यदि यस्तो हो भने भगवान द्वारा मारिए हाम्रो कल्याण नै हुनेछ । यदि त्यसो हो भने यस्तो संयम गर्नुपर्ने श्रमसाध्य सद्गुण-सदाचारको पालना नै किन गर्नु प्रर्यो र ?
उत्तर छ : वास्तवमा भगवान त्यस्ता व्यक्तिलाई मार्न अवतार लिनुहुन्छ, जो भगवानवाट भन्दा अरुवाट मर्न नै सक्तैनन् । अर्को कुरो, हामी जति शुभ कर्ममा लाग्छौं, त्यति नै हामीलाई पुण्य हुन्छ, अशुभ कर्महरुमा लागिरहँदा यदि वीचमा नै मरियो भने अथवा अरु कसैले मारिदियो भने खराव हुन सक्छ ! भगवानको हातवाट मरेर मुक्त हुने लालसा कसरी पूरा होला ! यसैले अशुभ कर्म गर्न नै हुँदैन ।

निष्कामभावको उपदेश, आदेश र प्रचार नै धर्मको स्थापना हो । कारण कि निष्कामभावलाई कर्महरुले र असत् वस्तुलाई  सत्ता दिएर तिनलाई महत्व दिनाले अधर्म वढ्छ, जसवाट मनुष्य दुष्ट स्वभावको हुन्छ । यसैले भगवान अवतार लिएर आफ्नो आचरण द्वारा निष्कामभावको प्रचार गर्नुहुन्छ । निष्कामभावको प्रचारले धर्मको स्थापना स्वतः हुन्छ ।
धर्मको आश्रय भगवान हुनुहुन्छ, यसैले शाश्वत धर्मको संस्थापना गर्न भगवान अवतार लिनुहुन्छ । संस्थापनको अर्थ हो -- सम्यक् स्थापना गर्नु । तात्पर्य, धर्मको कहिले पनि नाश हुँदैन केवल ह्रास हुन्छ । धर्मको ह्रास भएपछि भगवान फेरि त्यो धर्मलाई राम्रोसँग स्थापना गर्नुहुन्छ ।
आवश्यकता अनुसार भगवान युग युगमा अवतार लिनुहुन्छ । एकै युगमा जति चोटी आवश्यकता पर्छ, त्यति चोटी अवतार लिनुहुन्छ भगवान । 'कारक' पुरुष र सन्त महात्माहरुको रूपमा पनि भगवानको अवतार हुने गर्छ । भगवान र कारक पुरुषको अवतार 'नैमित्तिक' हो, तर सन्त महत्माहरुको अवतार 'नित्य' हो ।
अर्को प्रश्न छ: भगवान त सर्वसमर्थ हुनुहुन्छ, फेरि सन्तहरुको रक्षा गर्न, दुष्टहरुको विनाश गर्न र धर्मको स्थापना गर्न भगवान अवतार नै नलिई किन गर्न सक्नुहुन्न ?
उत्तर: भगवानले अवतार नलिई यस्तो काम गर्न सक्नुहुन्न भन्ने कुरो होइन । भगवान अवतार नै नलिई अनायास नै सबै काम गर्न सक्नुहुन्छ र गरी पनि रहनु भएको छ, तैपनि जीवहरुलाई विशेष कृपा गरेर उनीहरुको अझ वढी हित गर्न भगवान स्वयं अवतीर्ण हुनुहुन्छ । अवतारकालमा भगवानको दर्शन, स्पर्श, वार्तालाप आदिले, भविष्यमा उहाँको दिव्य लीलाहरुको श्रवण, चिन्तन र ध्यानले तथा उहाँको उपदेश अनुसार आचरण गरे व्यक्तिहरुको सहजै उद्धार होस् भन्ने एक रीति भगवान अवतार लिएर नै चलाउनु हुन्छ ।
भगवानका केही प्रेमी भक्त भगवानसँग खेल्न चाहन्छन्, उहाँसँग वस्न चाहन्छन् । उनीहरुको इच्छा पूरा गर्न पनि भगवान अवतार लिनुहुन्छ र उनीहरु सामुन्ने आएर उनीहरु जस्तै खेल्नुहुन्छ ।
जुन युगमा जति कार्य आवश्यक हुन्छ, भगवान त्यही अनुसार अवतार लिएर त्यो कार्य पूरा गर्नुहुन्छ । यसैले भगवानको अवतारमा त भेद हुन्छ, तर स्वयं भगवानमा कुनै भेद हुँदैन । भगवान सबै अवतारमा पूर्ण हुनुहुन्छ र पूर्ण नै रहनुहुन्छ ।
भगवानलाई न त कुनै कर्तव्य छ र न उहाँलाई केही पाउन नै वांकी छ, तैपनि उहाँ समय-समयमा अवतार लिएर केवल संसारको हित गर्न सबै कर्म गर्नुहुन्छ । यसैले हामीहरुले पनि केवल अरुको हितकोलागि नै कर्तव्य कर्म गर्नुपर्छ ।
चौथो श्लोकमा आएको अर्जुनको प्रश्नको उत्तरमा भगवानले मनुष्यहरुको जन्म र आफ्नो जन्म (अवतार) मा तीन अन्तर वताउनु भएको छ ।
(१) जान्नमा अन्तर -- मनुष्यहरुको र भगवानको धेरै जन्महरू भइसके । ती सबै जन्महरू वारे मनुष्य जान्दैन, तर भगवान जान्नुहुन्छ ।
(२) जन्ममा अन्तर -- मनुष्य प्रकृतिको परवश भएर, आफूले गरेका पाप-पुण्यको फल भोग्न र फलभोगपूर्वक परमात्माको प्राप्ति गर्न जन्म लिन्छ । तर भगवान आफ्नो प्रकृतिलाई अधीन गरेर स्वाधीनतापूर्वक आफ्नो योगमायाद्वारा स्वयं प्रकट हुनुहुन्छ ।
(३) कार्यमा अन्तर -- साधारणतः मनुष्य आफ्नो कामनाहरुको पूर्तिकोलागि कार्य गर्छन् । यस्तो कार्य मनुष्यजन्मको ध्येय होइन। तर भगवान केवल सम्पूर्ण जीवहरुको कल्याणकोलागि कार्य गर्नुहुन्छ ।

147 No.114 श्लोक ७ हे भरतवंशी अर्जुन ! जव जव धर्मको हानि र अधर्मको वृद्धि हुन्छ,

No.114
श्लोक ७
हे भरतवंशी अर्जुन ! जव जव धर्मको हानि र अधर्मको वृद्धि हुन्छ, तव तव म आफूले आफूलाई साकाररूपले प्रकट गर्छु ।

धर्मको हानि र अधर्मको वृद्धिको स्वरूप -- भगवत्प्रेमी, धर्मात्मा, सदाचारी, निरपराध र निर्वल मनुष्यहरूमा नास्तिक, पापी, दुराचारी र वलवान् मनुष्यहरुको अत्याचार वढ्नु तथा सर्वसाधारण मा सद्गुण-सदाचारको अत्यधिक कमी र दुर्गुण-दुराचारको अत्यधिक वृद्धि हुनु ।

भगवानको अवतार आवश्यकता पर्दा हुने हो । जस्तो, समुद्र-मन्थनको वेला भगवानले अजितरूपले समुद्र मन्थन गर्नुभयो, कच्छपरूपले मन्दराचल पर्वत धारण गर्नुभयो, तथा सहस्रवाहुरूपले मन्दराचललाई माथिवाट थिच्नुभयो । फेरि देवताहरुलाई अमृत वांडने वेलामा मोहिनीरूप धारण गर्नुभयो । यसरी भगवानले एकै चोटी अनेक रूप धारण गर्नुभयो ।

अधर्मको वृद्धि र धर्मको नाश हुने मुख्य कारण -- नाशवान् पदार्थतिर आकर्षण । आमा बाबुवाट शरीर वने जस्तै प्रकृति र परमात्मावाट शरीर वन्छ । यसमा सृष्टि र सृष्टिको कार्य संसार त प्रतिक्षण वदलिइ रहन्छ, एक क्षणकोलागि पनि एकरूप रहँदैन र परमात्मा तथा उहाँको अंश जीवात्मा -- यी दुवै सम्पूर्ण देश, काल आदिमा नित्य निरन्तर रहनुहुन्छ, यी दुईमा अलिकति पनि परिवर्तन हुँदैन । जव जीव अनित्य, उत्पत्ति-विनाशशील प्राकृत पदार्थवाट सुख लिने इच्छा गर्छ र ती वस्तुहरुको प्राप्तिमा सुख मान्न थाल्छ, त्यसपछि उसको पतन हुन्छ । संसारिक भोग र संग्रहमा व्यक्तिको जति जति आसक्ति हुन्छ, समाजमा अधर्म त्यति त्यति नै वढ्छ, जति जति अधर्म वढ्छ, समाजमा त्यति त्यति पापाचरण, कलह, विद्रोह आदि दोष वढ़छन् ।
सत्य, त्रेता, द्वापर र कलि -- यी चारै युगहरुको विचार गर्दा यी युगहरुमा पनि क्रमशः धर्मको ह्रास हुन्छ । सत्ययुगमा धर्मको चार चरण (पाउ) हुन्छन्, त्रेतायुगमा तीन, द्वापरयुगमा दुई चरण रहन्छन र कलियुगमा धर्मको केवल एक चरण वांकी रहन्छ । युगको मर्यादा भन्दा पनि वढी धर्मको ह्रास भएको वेला धर्म पुनः स्थापना गर्न भगवान अवतार लिनुहुन्छ ।
पहिले पनि भनी सकियो, धर्मको हानि र अधर्मको वृद्धि भएपछि भगवान अवतार लिनुहुन्छ । अतः भगवानको अवतार लिने मुख्य प्रयोजन हो -- धर्मको स्थापना गर्नु र अधर्मको नाश गर्नु ।
धर्मको हानि र अधर्मको वृद्धि भएपछि व्यक्तिहरुको प्रवृत्ति अधर्म मा हुन्छ । अधर्ममा प्रवृत्ति भएपछि स्वाभाविक पतन हुन्छ । भगवान सम्पूर्ण प्राणीहरुको परम सुहृद हुनुहुन्छ । यसैले मनुष्यलाई पतन तर्फ जाने क्रम रोक्न उहाँ अवतार लिनुहुन्छ ।
कर्महरुमा सकाम भाव उत्पन्न हुनु नै धर्मको हानि हो र आफ्नो आफ्नो कर्तव्यवाट च्युत भएर निषिद्ध आचरण गर्नु नै अधर्मको अभ्युत्थान हो । 'काम' अर्थात् कामनाले नै सबै अधर्म, पाप, अन्याय आदि हुन्छन् । अतः यो 'काम'को नाश गर्न भगवान अवतार लिनुहुन्छ ।
प्रश्न उठ्छ, वर्तमान समयमा धर्मको ह्रास र अधर्मको वृद्धि भैरहेछ, किन भगवान अवतार लिनुहुन्न त ? यसको समाधान हो, युगलाई हेर्दा अहिले भगवानले अवतार लिने समय आएको छैन । त्रेतायुगमा राक्षसहरुले ऋषि-मुनिहरू मारेर उनीहरुको हाडको थुप्रो लगाएका थिए । अहिले त त्रेतायुग भन्दा विग्रिएको कलियुग छ, तर अहिले धर्मात्मा पुरुष वाँचिरहेका छन्, उनीहरुको नाश कसैले गरेको छैन । फेरि, धर्मको ह्रास र अधर्मको वृद्धि भएको वेला भगवानको आज्ञाले सन्त यो पृथ्वीमा आउँछन् अथवा यहाँ नै विशेष साधक पुरुष प्रकट हुन्छन् र धर्मको स्थापना गर्छन् । कहिले कहिले परमात्मा प्राप्त गरेका कारक महापुरुष पनि संसारको उद्धार गर्न आउँछन् । साधक र सन्त पुरुष वसेको देशमा अधर्मको त्यस्तो वृद्धि हुँदैन र धर्मको स्थापना हुन्छ ।

माथि उल्लिखित साधकहरु तथा  सन्त-महापुरुषहरुलाई जनताले नटेरेको अवस्थामा, उनीहरुको पनि विनाश गरेको वेला र धर्मको प्रचार गर्ने धेरै कम भएको वेला तथा जुन युगमा जस्तो धर्म हुनु पर्ने हो, त्यो धर्म नभएको वेला भगवान आफैं आउनु हुन्छ ।

146. No.113 अघिल्लो श्लोकको वांकी भगवान आफ्नो प्रकृति द्वारा अवतार लिनुहुन्छ र अनेक किसिमका लीलाहरु गर्नुहुन्छ ।

No.113
अघिल्लो श्लोकको वांकी
भगवान आफ्नो प्रकृति द्वारा अवतार लिनुहुन्छ र अनेक किसिमका लीलाहरु गर्नुहुन्छ । अग्नि स्वयं केही गर्दैन, उसको प्रकाशिका शक्ति प्रकाशित गरिदिन्छ, दाहिका शक्ति जलाइदिन्छ ।  त्यस्तै भगवान स्वयं केही गर्नुहुन्न, उहाँको दिव्य शक्ति नै सबै काम गर्छ । शास्त्रहरुमा सीताजी भन्नुहुन्छ, 'रावण मार्ने जस्ता सबै काम मैले गरेको हो, रामजीले केही गर्नुभएको छैन ।'
मनुष्य र मनुष्यको शक्ति जस्तो भगवान र उहाँको शक्ति हो । त्यो शक्तिलाई भगवान भन्दा छुट्टै पनि भन्न सकिंदैन, भगवानसँग  एक पनि भन्न सकिंदैन । मनुष्यमा भएको शक्ति उसले आफूवाट छुट्टयाएर देखाउन सक्तैन, त्यसैले ऊ उसको शक्तिदेखि छुट्टै छैन । मनुष्य रहन्छ, तर उसको शक्ति घटी वढी रहन्छ, त्यसैले त्यो शक्ति मनुष्यसंग एकै पनि छैन । यदि त्यो शक्तिको मनुष्यसँग एकता हुँदो हो त त्यो मनुष्यको स्वरूपसँग सँधै रहनु पर्ने, घट्नु वढ्नु नपर्ने । अतः भगवान र उहाँको शक्तिलाई भिन्न अथवा अभिन्न केही पनि भन्न सकिंदैन । दार्शनिकहरुले यसलाई भिन्न पनि भनेनन्, अभिन्न पनि भनेनन् । त्यो शक्ति अनिर्वचनीय छ । भगवान श्रीकृष्णका उपासक त्यो शक्तिलाई श्रीजी (राधाजी) भन्छन् ।
पुरुष र स्त्री दुई भए जस्तो श्रीकृष्ण र श्रीजी दुई होइनन् । ज्ञानमा त द्वैतमा अद्वैत हुन्छ अर्थात् दुई भएर एक हुन्छ र भक्तिमा अद्वैतको द्वैत हुन्छ अर्थात् एक भएर पनि दुई हुन्छन् । जीव र ब्रह्म एक भए 'ज्ञान' हुन्छ, एकै ब्रह्म दुई रुप भए 'भक्ति' हुन्छ । एकै अद्वैत-तत्व प्रेमको लीला गर्न, प्रेमको आस्वादन गर्न सम्पूर्ण जीवहरुलाइ प्रेमको आनन्द दिन श्रीकृष्ण र श्रीजी दुई रूपमा प्रकट हुन्छ । दुई रुप हुँदा पनि दुईमा कुन ठूलो र कुन सानो, कुन प्रेमी र कुन प्रेमास्पद ? यो कुरा थाहा हुँदैन । यी दुवै एक अर्को भन्दा विलक्षण देखिन्छन् । दुवै एक अर्काप्रति आकृष्ट हुन्छन् । श्रीजी देखेर भगवान प्रसन्न हुनुहुन्छ र भगवान देखेर श्रीजी प्रसन्न । दुबैको परस्पर प्रेम-लीलाले रसको वृद्धि हुन्छ । यसैलाई रास भन्छन् ।
भगवानका शक्तिहरु अनन्त छन्, अपार छन् । उहाँको दिव्य शक्तिहरुमा ऐश्वर्य-शक्ति पनि छ र माधुर्य-शक्ति पनि । ऐश्वर्य शक्ति द्वारा भगवानले गर्ने जस्तो विचित्र र महान कार्य अरु कोही गर्न सक्तैन । ऐश्वर्य शक्तिको कारण उहाँमा महत्ता, विलक्षणता, अलौकिकता देखिन्छ । माधुर्य शक्तिमा भगवान आफ्नो ऐश्वर्य विर्सनु हुन्छ । भगवानलाई पनि मोहित गर्ने माधुर्य शक्तिमा मधुरता, मिठास हुन्छ, जसले गर्दा भगवान वडो मधुर र प्रिय लाग्नुहुन्छ । भगवानले गोठालाहरुसँग खेल्दा उहाँको माधुर्य-शक्ति प्रकट रहन्छ । यो खेलमा ऐश्वर्य-शक्ति प्रकट भएको भए सारा खेल नै विग्रन्थ्यो, गोठालाहरु डराउँथे र भगवानसँग खेल्न पनि सक्तैनथे । यसै गरी भगवान कहिं मित्ररूपले, कहिं पुत्ररूपले र कहिं पतिरूपले प्रकट हुनु भएको वेला उहाँको ऐश्वर्य-शक्ति लुकिरहेको हुन्छ र माधुर्य-शक्ति प्रकट रहन्छ । तात्पर्य, भगवान भक्तहरुको भाव अनुसार उनीहरुलाई आनन्दित गर्न आफ्नो ऐश्वर्य-शक्ति लुकाएर माधुर्य-शक्ति प्रकट गरिदिनु हुन्छ ।
माधुर्य-शक्ति प्रकट भएको वेला ऐश्वर्य-शक्ति र ऐश्वर्य-शक्ति प्रकट भएको वेला माधुर्य-शक्ति प्रकट हुँदैन । माधुर्य-भावमा शंका भएको वेलामा ऐश्वर्य-शक्ति प्रकट हुन्छ । जस्तो माधुर्य-शक्ति प्रकट रहँदा भगवान् श्रीकृष्ण वाच्छाहरु खोज्नुहुन्छ । तर 'वाच्छाहरु कहाँ गए ?' भन्ने शंका हुँदा ऐश्वर्य-शक्ति प्रकट हुन्छ र भगवान तत्काल थाहा पाउनु हुन्छ, वाच्छाहरु ब्रह्माजीले लिएर गए ।
भगवानमा भएको सौन्दर्य-शक्तिले सबै प्राणी भगवानमा आकृष्ट हुन्छन् । भगवान श्रीकृष्णको सौन्दर्य देखेर मथुरामा वस्ने स्त्रीहरु आकृष्ट भएको चर्चा श्रीमद्भागवतमा छ । अर्को शब्दमा, भगवानको दिव्य सौन्दर्यमा प्रेमी, विरक्त, ज्ञानी, मूर्ख, वैरी, असुर र राक्षस पनि आकृष्ट हुन्छन् ।
भगवानसँग विमुख रहने व्यक्तिको अगाडि भगवान आफ्नो योगमायामा लुकिरहनु हुन्छ र साधारण मनुष्य जस्तै देखिनुहुन्छ । मनुष्य जति जति भगवानको सम्मुख हुन्छ, भगवान पनि त्यति त्यति आफूलाई प्रकट गर्नुहुन्छ । यही योगमायाको आश्रय लिएर भगवान विचित्र विचित्र लीलाहरू गर्नुहुन्छ ।
भगवानदेखि विमुख मूढ पुरुषको अगाडि दुई पर्दाहरु रहन्छन् -- एउटा त उनीहरुको मूढताको र अर्को भगवानको योगमायाको । आफ्नो मूढता रहंदा भगवानको प्रभाव साक्षात् आफू अगाडि प्रकट हुँदा पनि ऊ त्यो प्रभाव बुझ्न सक्तैन; जस्तो, द्रौपदीको चीर-हरण गर्न दुःशासन आफ्नो पूरा वल लगाउँछ, उसका हातहरु थाक्छन्; तर साडीको अन्त आउँदैन । यसरी त्यत्रो सभामा भगवानको ऐश्वर्य प्रकट भयो । तर मूढ़ताले गर्दा दुःशासन, दुर्योधन, कर्ण आदिमा द्रौपदीले भगवान पुकार्दा मात्र पनि  त्यत्रो विलक्षण घटना भएको कुराले  कुनै असर परेन । उनीहरुको मनमा 'एउटा स्त्रीको पनि चीर-हरण गर्न सक्तैनौं भने के गर्न सक्छौं ?' भन्ने पनि परेन । यो कुरामा उनीहरुको दृष्टि नै गएन । भगवानको प्रभाव आफ्नै अगाडि देख्दा देख्दै पनि उनीहरुले  त्यो प्रभाव जान्न सकेनन् ।
यदि हामीले आफ्नो मूढता (अज्ञान) हटायौं भने हामीलाई आफ्नो स्वरूपको अथवा परमात्मतत्वको बोध त हुन्छ, तर भगवानको दर्शन हुँदैन । भगवानले आफ्नो योगमायाको पर्दा हटाएपछि नै हामीलाई परमात्माको दर्शन हुन्छ । आफ्नो अज्ञान हटाउने त हाम्रो हातको कुरो हो, तर योगमायालाइ हटाउने हाम्रो हातको कुरो होइन । हामी सर्वथा भगवानको भयौं भने भगवान आफ्नो शक्तिले हाम्रो अज्ञान मेटाउनु हुन्छ र दर्शन पनि दिनुहुन्छ ।
 

भगवानवाट हुने जति लीलाहरू सबै योगमायाको आश्रय द्वारा  नै हुन्छन्  । यही कारण उहाँका लीलाहरु देख्न सकिन्छ, अनुभव गर्न सकिन्छ । यदि उहाँले योगमायाको आश्रय नलिए उहाँको लीला कसैले देख्न सक्तैन, त्यसको आस्वादन गर्न सक्तैन ।
अवतारको अर्थ हो -- तल ओर्लनु । सबै ठाउँमा परिपूर्ण रहने सच्चिदानन्दघन परमात्मा आफ्ना अनन्य भक्तहरुको इच्छा पूरा गर्न निकै कृपा गरेर एक विशेष स्थानमा अवतार लिनुहुन्छ र सानो वन्नुहुन्छ । अरु व्यक्तिको प्रभाव या महत्व ठूलो हुँदा देखिन्छ, तर भगवानको प्रभाव या महत्व सानो हुँदा देखिन्छ। कारण, अपार, असीम, अनन्त भएर पनि भगवान सानो जस्तो वन्नुहुन्छ -- यही उहाँको विलक्षणता हो । जस्तो, भगवान अनन्त ब्रह्माण्डहरु धारण गर्नुहुन्छ; परन्तु एउटा पर्वतलाई धारण गर्दा उहाँ 'गिरिधारी' नामले प्रसिद्ध हुनुभयो । अनन्त ब्रह्माण्ड रौँ रौँमा रहेको परमेश्वरले एउटा पर्वत उठाउनु कुन ठूलो कुरो भयो र ? तर सानो कुरामा नै भगवानको ठूलो कुरा हुन्छ । यस्तो प्रकारले अवतार लिनुमा नै भगवानको विशेषता छ ।
साधारण व्यक्ति रहेको स्थितिमा आएर भगवान त्यस्तै लीला गर्नुहुन्छ । उहाँ विल्कुल सीधा साधा साधारण वालक जस्तो वनेर लीला गर्नुहुन्छ । गोठालाहरुसँग खेल्दा उहाँ अरु गोठालाहरुसँग हार्नु पनि हुन्छ । खेलमा आफू हार्दा भगवान घोडा वन्नुहुन्छ, जित्ने गोठालो भगवानरूपी घोडा चढ्छ । यो भगवानको विशेष महत्ता हो ।
भगवानको प्रभाव जान्ने ज्ञानी महात्माहरु त उहाँको स्वरूपमा मस्त रहन्छन्; तर भक्तहरुलाई उहाँको साधारण अज्ञानी वालकको जस्तो लीला वडो विचित्र र मीठो लाग्छ । त्यहाँ ज्ञानीहरुको ज्ञान चल्दैन । ज्ञानीहरूका शिरोमणि ब्रह्माजी पनि भगवानको लीला देखेर अचम्ममा पर्नुभयो । ठूला ठूला ऋषि-मुनि, योगी-तपस्वी, सन्त-महात्मा पनि उहाँको लीलाको रहस्य जान्न सक्तैनन् र यो विषयमा लाटो जस्तो हुन्छन् । भगवानले नै कृपा गरेर आफ्ना प्यारा अन्तरंग भक्तहरुलाई आफ्नो लीलाको वारेमा थाहा दिन चाहनु भयो भने ती भक्तहरु मात्रै उहाँको लीलाको तत्व जान्न पाउँछन् । गाई चराउँदा, गोठालाहरुसँग खेल्दा पनि भगवान धेरै विलक्षण कार्य गर्नुहुन्छ, ठूला ठूला वलवान् राक्षसहरुलाई पनि कुनै परिश्रम विना खतम गरिदिनु हुन्छ । सानो वालक वन्दा पनि उहाँको प्रभाव जस्ताको तस्तै रहन्छ ।

भगवान् प्रकृतिको सहायताले नै क्रिया, लीला गर्नुहुन्छ । तर भगवान् मनुष्य जस्तो प्रकृतिको अधीन हुनुहुन्न । कारण, भगवानलाई प्रकृति 'पर' छैन, अभिन्न छ । भगवानलाई प्रकृतिमा रहेका मनुष्यको अगाडि आउनु छ; यही कारण उहाँलाई प्रकृति स्वीकार गरेर प्रकट हुनु परेको छ । त्यसो भए मात्रै व्यक्तिहरु उहाँलाई देख्न सक्छन् ।

145. No. 112 Ch4 श्लोक ६ म अजन्मा र अविनाशीस्वरूप हुँदा हुँदै पनि र सम्पूर्ण प्राणीहरुको ईश्वर हुँदा हुँदै पनि आफ्नो

No. 112
श्लोक ६
 
म अजन्मा र अविनाशीस्वरूप हुँदा हुँदै पनि र सम्पूर्ण प्राणीहरुको ईश्वर हुँदा हुँदै पनि आफ्नो प्रकृतिलाई अधीन गरेर आफ्नो योगमायाद्वारा आफैं प्रकट हुन्छु ।
यो चौथो अध्यायको छैठौं श्लोकमा छ कुराको वर्णन छ । अज, अव्यय र ईश्वर --- यी तीन कुराहरु भगवानका हुन्; प्रकृति र योगमाया -- यी दुई कुरा भगवानका शक्तिको हो र यौटा कुरा भगवान प्रकट हुनु हो ।
भगवान यहाँ वताउनुहुन्छ, साधारण मनुष्यहरू जस्तो न त मेरो जन्म छ र न मेरो मरण नै छ । मनुष्य जन्म लिन्छन् र मर्छन्; तर म 'अजन्मा' भएर पनि प्रकट हुन्छु र अविनाशी भएर पनि अन्तरधान हुन्छु । प्रकट हुनु र अन्तर्धान हुनु -- दुवै मेरा अलौकिक लीला हुन् ।
गीता भन्छ, सम्पूर्ण प्राणीहरु जन्म भन्दा पहिले अप्रकट (अव्यक्त) थिए र मरेपछि पनि अप्रकट (अव्यक्त) हुने खालका छन्, खालि वीचमा नै प्रकट (व्यक्त) छन् । परन्तु भगवान सूर्य जस्तो सँधै प्रकट रहनुहुन्छ । तात्पर्य, सूर्य उदय हुनु भन्दा पहिले पनि जस्ताको तस्तो रहन्छ र अस्त भएपछि पनि जस्ताको तस्तो रहन्छ अर्थात् सूर्य सँधै  नै रहन्छ; तर स्थान भेदले गर्दा, स्थानविशेषका व्यक्तिहरुको दृष्टिमा सूर्यको उदय र अस्त भएको देखिन्छ । यस्तै भगवान प्रकट हुनु र अन्तर्धान हुनु अरु व्यक्तिहरुको दृष्टिमा हो, तर वास्तवमा भगवान सँधै प्रकट रहनुहुन्छ ।
अरु प्राणीहरु कर्महरुमा  परतन्त्र भएर जन्म लिन्छन्, तर यस्तो जन्म   भगवानको हुँदैन । कर्महरुको परतन्त्रता द्वारा जन्म हुँदा दुई कुरा हुन्छन् -- आयु र सुख-दुःखको भोग । भगवानमा यी दुवै हुँदैनन् ।
साधारण प्राणीहरु जन्मेपछि उनीहरुको शरीर पहिले वालक हुन्छ; फेरि ठूलो भएर युवक या युवती हुन्छ, फेरि वृद्ध हुन्छ र मर्छ । तर भगवानमा यस्ता परिवर्तन हुँदैनन् । उहाँ अवतार लिएर वाललीला गर्नुहुन्छ र किशोर अवस्था (पन्ध्र वर्षको अवस्था) सम्म वढ्ने लीला गर्नुहुन्छ । किशोर अवस्था पुगेपछि उहाँ नित्य-किशोर नै रहनुहुन्छ । सयौं वर्ष वित्दा पनि भगवान त्यस्तै सुन्दर स्वरूप रहनुहुन्छ । त्यसैले भगवानका चित्रहरुमा दाह्री -जुँगा हुँदैनन् । यसरी अरु प्राणी जस्तो न त भगवानको जन्म हुन्छ, न परिवर्तन हुन्छ न मृत्यु नै हुन्छ ।
सम्पूर्ण प्राणीहरुको ईश्वर (महान् शासक) रहँदा पनि भगवान अवतारको वेला सानो भन्दा सानो वालक वन्नुहुन्छ; परन्तु वालक वन्दा पनि उहाँको ईश्वरभाव (शासकत्व)मा कुनै कमी आउँदैन । यही कारण, श्रीकृष्णले छैठीको दिनमा पूतना राक्षसीलाई मार्नुभयो । पूतनाको शरीर अढाई योजन (एक योजनमा चार कोश हुन्छ)को महान् भयङ्कर थियो । उहाँमा ईश्वरभाव नहुँदो हो त जन्मेको छ दिनको दिन पूतनाको बध  कसरी हुन्थ्यो ? भगवानले तीन महिनाको अवस्थामा शकटासुरलाई, एक वर्षको अवस्थामा तृणावर्तलाई र पाँच वर्षको अवस्थामा अघासुरलाई मार्नुभयो । यस्तो किसिमले भगवानले वाल्यावस्थामा नै अनेक राक्षसहरुलाई मार्नुभयो । सात वर्षको अवस्थामा नै उहाँले गोवर्धन पर्वतलाई एक औंलाले उठाउनु भयो ।
सम्पूर्ण प्राणीहरुको ईश्वर भएर पनि भगवान् अवतार समयमा सानो भन्दा सानो पनि वन्नुहुन्छ र सानो भन्दा सानो काम पनि गर्नु हुन्छ । वास्तवमा यही भगवानको भगवत्ता हो । भगवान् अर्जुनको घोडाहरु हाँक्नुहुन्छ र उनको आज्ञा पालन पनि गर्नुहुन्छ, तैपनि भगवानको अर्जुनमा र अरु प्राणीहरुमा पनि ईश्वरभाव जस्ताको तस्तै छ । सारथि हुँदा पनि उहाँ अर्जुनलाई गीताको उपदेश दिनुहुन्छ ।
भगवान् को शुद्ध प्रकृति सत्व, रज र तम गुणहरुदेखि छुट्टै छ । यो शुद्ध प्रकृति भगवानको स्वकीय सच्चिनान्दघन स्वरूप हो । यही प्रकृतिलाई संधिनी-शक्ति, सम्वित्-शक्ति, र आल्हादिनी-शक्ति भन्छन् । यसैलाई चिन्मयशक्ति, कृपाशक्ति पनि भनिन्छ श्रीराधाजी, श्रीसीताजी आदि पनि यिनै शक्ति हुन् । भगवान प्राप्त गराउने 'भक्ति' र 'ब्रह्मविद्या' पनि यही हो ।
प्रकृति भगवानको शक्ति हो । अग्निमा दुई शक्ति रहन्छन् -- प्रकाशिका र दाहिका । प्रकाशिका-शक्ति अन्धकार हटाएर प्रकाश गराइदिन्छ तथा भय पनि मेटाउँछ । दाहिका-शक्ति वस्तुलाई  जलाउँछ, पकाइ पनि दिन्छ एवं चिसो पनि हटाउँछ । यी दुवै शक्तिहरु अग्नि भन्दा भिन्न पनि छैनन् र अभिन्न पनि छैनन् । भिन्न यो कारण छैनन्, यिनीहरु अग्निरूप नै हुन् अर्थात् यिनीहरुलाई अग्निवाट छुट्टयाउन सकिंदैन र अभिन्न यो कारण छैनन्, अग्नि रहँदा रहँदै पनि मन्त्र, औषधिवाट अग्निको दाहिका शक्ति कुण्ठित गराउन सकिन्छ । त्यस्तै नै भगवानमा रहने शक्ति पनि भगवानदेखि भिन्न र अभिन्न दुवै हुन सक्छन् ।
हामीले आगो वाल्ने सलाईमा अग्निको सत्ता त सँधै रहन्छ, तर सलाईको दाहिका-शक्ति लुकेको हुन्छ । त्यस्तै भगवान् सम्पूर्ण देश, काल, वस्तु, व्यक्ति आदिमा सँधै रहनुहुन्छ, तर उहाँको शक्ति लुकिरहेको हुन्छ । त्यो शक्तिलाई अधिष्ठित गरेर अर्थात् आफुलाई वशमा गरेर, त्यही शक्ति द्वारा भगवान प्रकट हुनुहुन्छ । जवसम्म अग्नि आफ्नो प्रकाशिका र दाहिका शक्ति लिएर प्रकट हुँदैन, तवसम्म सँधै रहे पनि अग्नि देखिंदैन । जवसम्म भगवान् आफ्नो शक्ति लिएर प्रकट हुनुहुन्न, तवसम्म भगवान हरदम रहे पनि देखिनु हुन्न ।
        
राधाजी, सीताजी, रुक्मिणीजी सबै भगवानका निजी दिव्य शक्तिहरु  हुन् । भगवान सामान्यरूपले सबै ठाउँमा रहे पनि कुनै काम गर्नुहुन्न । उहाँले काम गर्नु पर्दा आफ्नो दिव्य शक्तिलाई लिएर नै गर्नुहुन्छ । त्यही दिव्य शक्तिद्वारा भगवान् विचित्र-विचित्र लीलाहरु गर्नुहुन्छ । उहाँका दिव्य लीलाहरू सुनेर, गाएर र सम्झेर पनि हामी पवित्र हुन्छौं र आफ्नो उद्धार गर्छौं ।
निर्गुण-उपासनामा त्यही शक्ति 'ब्रह्मविद्या' हुन्छ, सगुण-उपासनामा त्यही शक्ति भक्ति हुन्छ । जीव भगवानको नै अंश हो । जव जीव अरुमा मानिएको ममता हटाएर एक मात्र भगवानको स्वतःसिद्ध वास्तविक आत्मीयता जाग्रत गर्छ, त्यो वेला भगवानको शक्ति उसमा भक्तिरूपले प्रकट हुन्छ । यो भक्ति यति विलक्षण छ कि यसले निराकार भगवानलाई पनि साकाररूपले प्रकट गरिदिन्छ, भगवानलाई पनि खिंच्छ । यो भक्ति दिने पनि भगवान नै हो ।

भगवानको भक्तिरूप शक्तिका दुई रूप छन् -- विरह र मिलन । भगवान विरह पनि पठाउनु हुन्छ र मिलन पनि । भगवानले विरह पठाउँदा भक्त भगवान विना व्याकुल हुन्छ । व्याकुलताको अग्निमा संसारको आसक्ति जल्छ, वल्छ र भगवान प्रकट हुनुहुन्छ । ज्ञानमार्गमा भगवानको शक्ति पहिले उत्कट जिज्ञासाको रूपमा आउँछ । (जुन जिज्ञासाले गर्दा तत्व नजानुञ्जेल साधकलाई शान्ति हुँदैन ) र ब्रह्मविद्या-रूपले जीवको अज्ञानको नाश गरेर उसको वास्तविक स्वरूप प्रकाशित गरिदिन्छ । तर भगवानद्वारा विरहरूपले पठाइने दिव्यशक्ति यति विलक्षण छ, यसले  भगवान कहाँ हुनुहुन्छ ? म के गरौँ ? कहाँ जाउँ ? भन्ने विचारले भक्तलाई व्याकुल गराउँछ । यही व्याकुलता भक्तको सबै पाप नाश गरेर भगवानलाई  साकाररूपले प्रकट गरिदिन्छ । व्याकुलताले गर्ने जस्तो काम विवेक विचारपूर्वक गरिएको साधनले गर्न सक्तैन ।  

145 No. 111 श्रीभगवानले भन्नुभयो श्लोक ५ हे परन्तप अर्जुन ! मेरो र तिम्रो धेरै जन्म भैसके ।

No. 111
श्रीभगवानले भन्नुभयो
श्लोक ५
हे परन्तप अर्जुन ! मेरो र तिम्रो धेरै जन्म भैसके । ती जन्महरू म जान्दछु, तर तिमी जान्दैनौ ।

तेस्रो श्लोकमा भगवानले आफूलाई प्रिय सखा भन्नुभएको सुनेर चौथो श्लोकमा अर्जुन आफ्नो मनको कुरा भगवानसँग खुलेर गर्छन् । अर्जुनलाई भगवानको जन्म-रहस्य जान्न प्रवल जिज्ञासा भयो । यसैले भगवान अर्जुनको सामुन्ने मित्रताको नाताले आफ्नो जन्मको रहस्य प्रकट गर्नुहुन्छ । श्रोताको प्रवल जिज्ञासा भए वक्ता आफ्नो रहस्य लुकाएर राख्न सक्तैन । यसैले, सन्त-महात्माहरु आफूमा विशेष श्रद्धा राख्नेहरुलाई आफूले आफैंलाई प्रकट गर्न सक्छन् ।

वेला वेलामा मेरो र तिम्रो धेरै जन्म भैसैकेका छन् । मेरो जन्म (परमात्मा)को किसिम अर्कै छ, र तिम्रो (जीवको) जन्म अर्कै किसिमको छ । तात्पर्य, मेरो र तिम्रो धेरै जन्म भए पनि ती जन्म छुट्टा छुट्टै किसिमका छन् ।

दोस्रो अध्यायमा भगवानले  अर्जुनलाई भन्नुभयो, 'म (भगवान) र तिमी तथा यहाँ जम्मा भएका सबै राजाहरु (जीव) पहिले थिएनन् र पछि पनि रहँदैनन् भन्ने कुरा हुँदै होइन ।' तात्पर्य, भगवान र उहाँको अंश जीवात्मा दुवै अनादि र नित्य छन् ।

संसारमा आफ्नो पूर्वजन्मको ज्ञान हुने 'जातिस्मर' जीव पनि हुन्छन् । यस्ता साधना गरेर सिद्ध भएका यस्ता महापुरुष 'युन्जान योगी' भनिन्छन् । साधनामा अभ्यास गर्दा यस्ता व्यक्तिहरुको वृत्ति धेरै तेज भैसकेको हुन्छ, जहाँ वृत्ति लगायो, त्यहींको ज्ञान यिनीहरुलाई हुन्छ । यस्ता योगी पनि कुनै सीमासम्म मात्रै आफ्नो पुरानो जन्मको ज्ञान गर्न सक्छन्, सबै जन्मको होइन । यसको विपरीत भगवान 'युक्तयोगी', साधना नै नगरी स्वतःसिद्ध नित्य योगी,  भनिनुहुन्छ । उहाँलाई आफ्नो जन्महरू जान्न कुनै वृत्ति लगाउनु पर्दैन, आफ्नो र सम्पूर्ण जीवहरुको पनि जन्महरुको स्वतःस्वाभाविक ज्ञान उहाँमा सँधै वनिरहन्छ । उहाँमा भूत, भविष्य र वर्तमानको भेद छैन, उल्टो उहाँको अखण्ड ज्ञानमा सबै सँधै वर्तमान नै रहन्छ । कारण कि भगवान सम्पूर्ण देश, काल, वस्तु, व्यक्ति, परिस्थिति आदिमा पूर्णरूपले रहँदा पनि यिनीहरु भन्दा सर्वथा अतीत रहनुहुन्छ ।

'म सबैलाई जान्दछु' भन्ने अभिव्यक्तिवाट हामी जस्ता साधकलाई यस्तो अनुभूति हुन्छ, हामी पनि भगवानको जानकारीमा छौं, भगवान हामीलाई निरन्तर हेरिरहनु भएको छ । हामी जे जस्तो भए पनि छौं त भगवानकै ज्ञानमा ।

आफ्नो जन्म नजान्नमा मूल हेतु हो -- अन्तःकरणमा नाशवान् पदार्थहरुको आकर्षण, महत्व हुनु । यही कारण हाम्रो ज्ञान विकसित नहुने हो । अर्जुनको अन्तःकरणमा नाशवान् पदार्थहरुको, व्यक्तिहरुको महत्व थियो, यही कारण उनी कुटुम्बीहरु मर्ने भयले युद्ध गर्न चाहँदैनथे । अतः नाशवान् पदार्थहरुको कामना भएको कारण उनी आफ्नो पूर्वजन्महरु जान्दैनथे ।

ममता-आसक्तिपूर्वक आफ्नो सुखभोग र आरामकोलागि धनादि पदार्थ संग्रह गर्नुलाई 'परिग्रह' भन्छन् । परिग्रहको सर्वथा परित्याग गर्नु अर्थात् आफ्नो सुख, आरामकोलागि कुनै पनि वस्तुको संग्रह नगर्नु 'अपरिग्रह' भनिन्छ । अपरिग्रह्को दृढता भएपछि पूर्वजन्मको ज्ञान हुन्छ ।
संसार (क्रिया र पदार्थ) सदैव परिवर्तनशील र असत् छ; अतः उसमा अभाव (कमी) हुनु निश्चित छ । अभावरुप  संसारसँग सम्बन्ध विच्छेद जोडेको कारण मनुष्यलाई आफूमा पनि अभाव देखिन थाल्छ । अभाव देखिनाले उसमा आफ्नो अभावको पूर्ति होस्, फेरि फेरि यस्ता चिज मिलि रहून् भन्ने  कामना पैदा हुन्छ । यस्तै कामनाको पूर्तिमा नै मनुष्य दिन रात लागिरहन्छ । तर कामनाको पूर्ति कहिले पनि हुँदैन । कामनाहरुले गर्दा नै मनुष्य बेहोश जस्तो हुन्छ । अतः यस्ता मनुष्यको अनेक जन्महरुको ज्ञान हुने कुरै छोडौं, वर्तमान कर्तव्यको पनि ज्ञान (के गरिरहेछु र के गर्नुपर्छ) पनि हुँदैन ।

143. No.110 अर्जुनले भने श्लोक ४ हजुरको जन्म त अहिलेको हो र सूर्यको जन्म धेरै पुरानो हो;

No.110

अर्जुनले भने
श्लोक ४

हजुरको जन्म  त अहिलेको हो र सूर्यको जन्म धेरै पुरानो हो; त्यसैले हजुरले नै सृष्टिको आरम्भमा सूर्यलाई यो योग भन्नुभएको थियो भन्ने कुरा म कसरी बुझुं ?

हजुरको जन्म हालै केही वर्ष पहिले श्री वसुदेवजीको घरमा भएको हो, तर सूर्यको जन्म सृष्टिको आरम्भमा भएको थियो । त्यसैले हजुरले यो ज्ञान सूर्यलाई कसरी भन्नु भयो ?

अर्जुनको यो प्रश्नमा भगवानप्रति तर्क या आक्षेप छैन, जिज्ञासा छ । उनी भगवानको जन्म-सम्बन्धी रहस्य सजिलोसँग बुझ्ने दृष्टिले नै प्रश्न गर्छन्, किनकि आफ्नो जन्म-सम्बन्धी रहस्य प्रकट गर्न भगवान्  नै समर्थ हुनुहुन्छ । 

अर्जुनको यो प्रश्नको तात्पर्य, सूर्यलाई उपदेश दिएपछि सूर्यवंशको (मनु, इक्ष्वाकु आदि) कति पिंढीहरु वितिसके र हजुरको अवतार अहिलेको हो । त्यसैले हजुरले सृष्टिको आदिमा सूर्यलाई उपदेश कसरी दिनुभएको थियो भन्ने कुरो म राम्रोसँग बुझ्न चाहन्छु । सूर्य त अहिले पनि छन्, उनलाई अहिले पनि उपदेश दिन सकिन्छ । तर हजुरले सूर्यलाई उपदेश दिएपछि सूर्यवंशको परम्पराको पनि वर्णन गर्नुभयो । यो कुराले सिद्ध हुन्छ, हजुरले यो उपदेश सूर्यलाई अहिले दिनुभएको होइन । त्यसैले कल्पको आदिमा कसरी दिनुभयो ?