Saturday, 29 November 2014

Gita: Chapter 5: Slok 13: श्लोक १३ इन्द्रियहरु र मन वशमा भएका देहाधारी पुरुष नौ ढोका भएको (शरीररूपी) पुरमा सम्पूर्ण कर्महरु (विवेकपूर्वक) मनले नै त्यागेर निःसन्देह न गरी गरी र न गराई गराई सुखपूर्वक आफ्नो स्वरूपमा स्थित रहन्छ ।

No. 153

श्लोक १३ 

इन्द्रियहरु र मन वशमा भएका देहाधारी पुरुष नौ ढोका भएको (शरीररूपी) पुरमा सम्पूर्ण कर्महरु (विवेकपूर्वक) मनले नै त्यागेर निःसन्देह न गरी गरी र न गराई गराई सुखपूर्वक आफ्नो स्वरूपमा स्थित रहन्छ । 

इन्द्रियहरु, मन, बुद्धि आदिमा ममता-आसक्ति हुँदा नै यिनले मनुष्यमा आफ्नो अधिकार जमाउँछन् । हामीमा ममता आसक्ति भएन भने हाम्रा इन्द्रियहरू, मन, बुद्धि स्वतः आफ्नो वशमा रहन्छन् । यसैले त्यस्तो मनुष्यलाई यहाँ 'वशी' भनिन्छ । 

प्रकृतिको कुनै पनि कार्य (शरीर, इन्द्रियहरु) सँग मनुष्यको अलिकति मात्रै पनि प्रयोजन रहुन्जेल ऊ प्रकृतिको 'अवश' अर्थात् वशीभूत रहन्छ । प्रकृति सदैव क्रियाशील रहन्छ । अतः प्रकृतिमा सम्बन्ध वनिरहेको कारण मनुष्य कर्मरहित हुनै सक्तैन । परन्तु प्रकृतिको कार्य स्थूल, सूक्ष्म र कारण -- तीनै शरीरहरूदेखि ममता-आसक्तिपूर्वक कुनै सम्बन्ध नराखेकोले सांख्ययोगी ती क्रियाहरुको कर्ता वन्दैन । सांख्ययोगीको शरीरसँग कुनै पनि सम्बन्ध हुँदैन । तर अरुको दृष्टिमा ऊ शरीरधारी नै देखिन्छ । यसैले उसलाई (सांख्ययोगी) यहाँ 'देही' भनिएको हो । 

शब्द आदि विषयहरु सेवन गर्न दुई कान, दुई नेत्र, दुई नासिका छिद्र तथा एक मुख -- यी सात द्वारहरू शरीरको माथिल्लो भागमा छन् र मल-मूत्रको त्याग गर्न गुदा र उपस्थ -- यी दुई द्वार शरीरको तल्लो भागमा छन् । यी नौ ढोका भएका शरीरलाइ 'पुर' अर्थात् नगर भन्ने तात्पर्य, नगर र त्यसमा रहने मनुष्य -- दुवै छुट्टा-छुट्टै भए जस्तै यो शरीर र त्यसमा रहने जीवात्मा -- दुवै छुट्टा-छुट्टै हुन् । कुनै नगरमा वस्ने मनुष्य नगरमा हुने क्रियाहरुलाई आफ्ना क्रियाहरु भन्ने मान्दैन, त्यस्तै सांख्ययोगी शरीरमा रहने आफ्ना क्रियाहरुलाई आफ्ना क्रियाहरु मान्दैन ।

यही कारण, मनद्वारा विवेकपूर्वक क्रियाहरु त्याग्ने अर्थात् कर्तापनसँग मानिएको सम्बन्ध त्याग्ने । कर्तापनको सम्बन्ध जहाँवाट मानिएको हो, त्यहींवाट त्यो सम्बन्ध त्याग्ने । सांख्ययोगी आफूमा कर्तृत्व नमानेर त्यो कर्तापनलाई शरीरमा छोडिदिन्छ अर्थात् कर्तापन शरीरमा नै छ, आफूमा कहिले पनि छैन ।

सांख्ययोगीमा कर्तृत्व र कारयितृत्व दुवै हुँदैनन् अर्थात् ऊ गर्ने पनि होइन र गराउने पनि होइन। 

शरीर, इन्द्रियहरु, मन, बुद्धि आदिवाट अलिकति पनि अहंता-ममताको सम्बन्ध नहुनाले सांख्ययोगी ती द्वारा हुने क्रियाहरुको कर्ता आफूलाई मान्दैन । 

यहाँ एक शंका हुन सक्छ: जीवात्मा स्वयं कुनै कर्म त गर्दैन, किन्तु ऊ प्रेरक वनेर कर्म त गराउन सक्छ कि ? यसको समाधान: सूर्यनारायणको उदय हुँदा सम्पूर्ण जगत प्रकाशले भरिन्छ, सबै प्राणी आफ्ना आफ्ना काममा लाग्छन्, कोही खेति गर्छ, कोही वेदपाठ गर्छ, कोही व्यापार गर्छ । परन्तु सूर्य भगवान विहित या निषिद्ध कुनै पनि क्रियाको प्रेरक हुनुहुन्न । उहाँवाट सबैलाई प्रकाश मिल्छ, तर त्यो प्रकाशको कसैले सदुपयोग गरून् या दुरुपयोग, यसमा सूर्यनारायणको कुनै प्रेरणा छैन । यदि उहाँको प्रेरणा हुँदो हो त पाप-पुण्यकर्महरुको भागी पनि उहाँले नै हुनुपर्थ्यो । त्यस्तै, चेतनरूपवाट प्रकृतिलाई सत्ता र शक्ति त प्राप्त हुन्छ, तर त्यो चेतन शक्ति कुनै क्रियाको प्रेरक हुँदैन ।

सम्पूर्ण मनुष्यको स्वरूपमा स्वाभाविक स्थिति छ; परन्तु उनीहरु आफ्नो स्थिति शरीर, इन्द्रियहरु, मन, बुद्धि प्राण आदिमा मान्छन् । यही कारण उनीहरुलाई यो साधारण स्थितिको अनुभव हुँदैन । परन्तु सांख्ययोगीलाई निरन्तर स्वरूपमा आफ्नो स्वाभाविक स्थितिको अनुभव भइरहन्छ । स्वरूप सँधै सुख-स्वरूप छ । त्यो सुख अखण्ड, एकरस र परिच्छिन्नतादेखि रहित छ ।

एक वस्तुको अर्को वस्तुसँग रहेको जस्तो स्थिति स्वरूपमा हुँदैन । किनकि स्वरूप जस्ता-को-तस्तो विद्यमान रहन्छ । त्यो स्वरूपमा मनुष्यको स्थिति स्वतःस्वाभाविक छ; अतः त्यसमा स्थित हुन कुनै श्रम, उद्योग छैन । स्वरूपलाई जानेपछि स्वरूप नै स्वरूप वांकी रहन्छ । समस्त उत्पन्न तत्व त्यही स्वरूप, अनुत्पन्न तत्वको आश्रित छ । त्यो सबैको अधिष्ठानरुप तत्वलाई कुनै आधारको आवश्यकता छैन । 

तत्वप्राप्तिमा गर्ने भाव नै बाधक छ । गर्ने भावले नै कर्तृत्व आउँछ र कर्तृत्ववाट भोक्तृत्व आउँछ । क्रिया प्रकृतिमा छ, स्वरूपमा स्वतः अक्रियता छ । अतः गर्दा प्रकृतिसँग सम्बन्ध जोडिन्छ र केही नगर्दा स्वरूपमा स्वतः स्थिति हुन्छ । 'मलाई केही गर्नु छैन' भन्ने भाव पनि गर्ने अन्तर्गत छ । अतःगर्नमा पनि मतलव हुनु हुन्न र नगर्नमा पनि मतलव हुनुहुन्न ।स्वरूप गर्ने र नगर्ने -- दुवैदेखि रहित अर्थात् निरपेक्ष तत्व हो ।

गुणहरुको संगले नै जीव 'अवश' अर्थात् पराधीन हुन्छ । ज्ञानयोगले अवशता मेटिन्छ र जीव 'वशी' अर्थात् स्वाधीन, निरपेक्ष जीवन हुन्छ ।    

 xx 
हालै भइरहेको व्याख्या कहिले त बुझे जस्तो लाग्छ, कहिले अलि नबुझे जस्तो लाग्छ हामीलाई । कुनै वेला यस्तो पनि लाग्छ, यो ज्ञान सिकेर के हुन्छ ? नसिके पनि हुन्छ यो ज्ञान ! 

यसको उत्तर: मैले पहिलेदेखि निवेदन गर्दै आएको छु, हामीले होश सम्हालेदेखि नै यही संसारका पदार्थहरुलाई सत्य मान्दै आएका छौं । सत्य मान्दा मान्दै हाम्रा जीवनमा 'यो संसार सत्य होइन' भन्ने कति घटना घटिसके । त्यस्तो समयमा हामीलाई यो संसारमा सुख रहेनछ जस्तो पनि लाग्छ, तर हामीलाई संसारप्रतिको आकर्षण यति गाढा छ, हामी केही अघिको त्यो घटना भुसुक्कै भुल्छौँ र यही संसारको रमझममा नै लाग्न थाल्छौं । फेरि प्रश्न आउँछ, 'यसो गरे पनि के हुन्छ त ?' उत्तर: केही हुँदैन, तर हाम्रा अध्यात्म शास्त्रको उद्देश्य नै मनुष्यलाई दुःख, शोक, भयदेखि हटाउनु हो । त्यसैले हाम्रा अध्यात्म शास्त्रले यिनै कुरा बुझाउन साधकलाई मदत गर्छ । हामीलाई क्षण क्षणमा दुःख, शोक र भय भइरहने कुरो त हाम्रो अनुभव नै छ । कहिले शरीरमा रोग लाग्ने, कहिले आफ्नो मनले चिन्ता गर्ने, कहिले आफ्ना परिजनहरु हामीवाट छुट्ने अथवा उनीहरुलाई रोग आदि रोग लाग्ने ।

गम्भीर भएर विचार गर्दा यहाँ, यो संसारमा यहाँ जन्म लिएका समस्त प्राणीहरुलाई यही शोक, चिन्ता र भयले दुःख भइरहेको छ । यस्ता शोक हटाउन मनुष्यले, विचरा अरु प्राणीले त के नै गर्न सक्छन् र, धेरै समयदेखि केही न केही गरिरहेकै छ । संसारमा हुने र भएका सबै आविष्कारहरु सबै मनुष्य र पशु पक्षीका शारीरिक दुःख हटाउन नै भइरहेका छन् । अझ, मनुष्य अलि वढी विकसित प्राणी भएकोले ऊ हाम्रो मानसिक दुःख हटाउन पनि तत्पर भइरहेको छ । यही प्रसंगमा हाम्रा सनातन ग्रन्थहरु, वेद, पुराण आदिले हाम्रा मानसिक ताप (दुःख) हटाउन मदत गरिरहेछन् हामीलाई । 

विचार आयो, हामी 'सुख भयो, दुःख भयो' भन्छौं । अझ विचार गर्दै जाँदा, हामीले सोचेको अवस्था, पदार्थ र परिस्थिति र व्यक्ति हाम्रो अगाडि आउँदा हामी त्यसलाई सुख भन्दा रहेछौं, नसोचेको अवस्था, पदार्थ र परिस्थिति र व्यक्ति हाम्रो सामुन्ने आउँदा दुःख भन्दा रहेछौं हामी । यो अनुसार त यहाँका समस्त मनुष्यका सुख-दुःखका परिभाषा विल्कुल अलग अलग हुँदा रहेछन् । अव यस्तो, आफूले सोचेको दुःखदायी अथवा सुखदायी परिस्थितिमा आफूलाई विचलित नगर्ने र वढी उत्ताउलो नहुनु पर्ने रहेछ हामीले । अझ विचार गरौं, हामी आफैं आफ्नो सुखदायी र दुःखदायी परिस्थितिको कल्पना गर्छौं, त्यही परिस्थिति आओस् भन्ने विचार गर्छौं, केही गरी त्यस्तो परिस्थिति आइहाले पनि त्यो परिस्थिति सँधै रहिरहोस् भन्ने चाहन्छौं । कस्तो किसिमको भुलभुलैयामा वसेका रहेछौं हामी । 

सुख दिने परिस्थिति, अवस्था, पदार्थ र व्यक्ति जाँदै नजाओस् र दुःख दिने परिस्थिति र व्यक्ति आउँदै नआओस् भन्दा रहेछौं हामी । हाम्रो यस्तो हठी प्रवृत्तिलाई भगवान श्रीकृष्ण नै हाम्रो अगाडि आए पनि हाम्रो यस्तो सोचमा परिवर्तन होला त ! यस्तो अवस्थामा कसले कसलाई ज्ञानका कुरा गर्ने र कसले कसरी ज्ञानको कुरा सुन्ने र बुझ्ने ? अचम्म लागिरहेछ मलाई ।   

यस्तो परिस्थितिमा वसेको व्यक्तिको सोच वदल्न धर्मशास्त्र हामीसँग छन् । यस्ता धर्मशास्त्र, अर्को शब्दमा, हाम्रो मनोवैज्ञानिक उपचार गर्छन् । धर्मशास्त्रको काम पहिलो स्तरको (सिकिस्त) मनोरोगीको उपचार गर्छ । त्यो उपचार गर्ने प्रविधिलाइ (कर्मकाण्ड) भनिन्छ । त्यसपछि पालो आउँछ उपासनाकाण्डको प्रविधि जसले कर्मकाण्डीय प्रविधिको उपचारले अलि कति रोग कम भएको रोगीको उपचार गर्छ । अझ ज्ञानकाण्डीय प्रविधिले पूरै होश आइसकेको, आफूलाई भइरहेको उपचार पद्धतिमा सहयोग गरी लाभ पनि उठाइरहेको रोगीको उपचार गर्छ । 


यस्तै छन् हजुर, मेरा कुरा, अरु पछि । 

Gita: Chapter 5: Slok 12: श्लोक १२ कर्मयोगी कर्मफल त्यागेर नैष्ठिकी शान्ति प्राप्त गर्छ । परन्तु सकाम मनुष्य कामनाको कारणले फलमा आसक्त भएर बाँधिन्छ ।

No.152

श्लोक १२ 

कर्मयोगी कर्मफल त्यागेर नैष्ठिकी शान्ति प्राप्त गर्छ । परन्तु सकाम मनुष्य कामनाको कारणले फलमा आसक्त भएर बाँधिन्छ । 

यही अध्यायको आठौँ श्लोकमा आफूलाई अकर्ता मान्ने सांख्ययोगीलाई युक्त भनिएको छ । यहाँ कर्मफल त्याग्ने कर्मयोगीलाई पनि युक्त भनिएको छ ।

'समता'को  उद्देश्य भएको व्यक्ति युक्त अथवा योगी हो । यो प्रसंग कर्मयोगको भएकोले यहाँको युक्त पद त्यस्तो कर्मयोगीलाई प्रयोग भएको छ । त्यस्तो कर्मयोगीको    व्यवसायात्मिका बुद्धि भएकोले उसमा समस्त संसारिक कामनाहरुको अभाव हुन्छ । 

कर्मफलको त्याग भन्दा फलको इच्छा, आसक्तिको त्याग गर्ने हो, किनकि वास्तवमा त्याग कर्मफलको होइन, कर्मफलको इच्छाको हुन्छ । कर्मफलको इच्छाको त्याग गर्ने अर्थ, कुनै पनि कर्म र कर्मफलवाट आफ़्नोलागि कहिले अलिकति मात्रै पनि कुनै प्रकारको सुख लिने इच्छा नराख्नु । कर्म गर्दा तात्कालिक फल (सुख) पाइन्छ र अर्को फल परिणाममा पाइन्छ । कर्मयोगमा आस्था राख्ने व्यक्तिले यी दुवै फलको इच्छाको त्याग गर्नु पर्छ । आफ्नो केही होइन, आफ़्नोलागि केही गर्ने होइन र आफूलाई केही पनि चाहिंदैन -- भन्ने कर्ता पूर्ण निष्काम हुन्छ र उसको कर्मफलको इच्छा पूरापूर त्याग हुन्छ ।

संचित-कर्म अनुसार प्रारब्ध वन्छ, प्रारब्ध अनुसार मनुष्यको जन्म हुन्छ र मनुष्य-जन्ममा नयाँ कर्म हुने हुँदा नयाँ कर्म-संस्कार संचित हुन्छन् । परन्तु कर्मफलको आसक्ति त्यागेर कर्म गरेर कर्म गर्दा ती कर्मले भुटिएको वीज जस्तो अरु नयाँ संस्कार वनाउन असमर्थ हुन्छन् । त्यस्ता कर्मलाई अकर्म भन्छन् । वर्तमानमा निष्कामभावपूर्वक गरिएका कर्महरुको प्रभावले उसका पुराना कर्म-संस्कार (संचित कर्म) पनि समाप्त हुन्छन् । यसरी त्यो कर्मयोगीको पुनर्जन्मको कारण नै खतम हुन्छ । 

कर्मफल चार किसिमका हुन्छन् -- 

(१) दृष्ट कर्मफल -- वर्तमानमा गरिने नयाँ कर्महरुको फल, यस्तो फल प्रत्यक्ष पाइएको जस्तो देखिन्छ । जस्तो -- भोजन गर्दा हुने तृप्ति ।

(२) अदृष्ट कर्मफल -- वर्तमानमा गरिने नयाँ कर्महरुको फल । यस्ता फल अहिले त संचितरूपले संगृहीत हुन्छ, तर भविष्यमा यो लोक र परलोकमा अनुकूलता अथवा प्रतिकूलताको रूपमा मिल्नेछ । 

(३) प्राप्त कर्मफल -- प्रारब्ध अनुसार वर्तमानमा पाइएका शरीर, जाति, वर्ण, धन, सम्पत्ति, अनुकूल या प्रतिकूल परिस्थिति आदि । 

(४) अप्राप्त कर्मफल -- प्रारब्ध-कर्मको फलरूपमा भविष्यमा पाइने अनुकूल अथवा प्रतिकूल परिस्थिति |   

माथि वर्णित चार प्रकारका कर्महरुमा दृष्ट र अदृष्ट कर्मफल 'क्रियमाण कर्म'का अधीन छन् तथा प्राप्त र अप्राप्त कर्मफल 'प्रारब्ध-कर्म'का अधीन छन् । कर्मफल त्याग्ने अर्थ हो -- दृष्ट कर्मफलको आग्रह नराख्ने तथा त्यो कर्मफल पाइए पनि, नपाइए पनि प्रसन्न या अप्रसन्न नहुने । त्यस्तै, अदृष्ट कर्मफलको आशा नराख्ने, पाइएको कर्मफलमा ममता नगर्ने तथा कर्मफल पाउँदा सुखी या दुःखी नहुने र नपाइएको कर्मफलको कामना नगर्ने कि 'मेरो दुःख मेटियोस् र सुख होस्' भनेर ।

साधारण मनुष्य कुनै-न-कुनै कामना लिएर नै कर्म गर्न थाल्छ र कर्मको अन्तसम्म ऊ आफूले गरेको कामनाको चिन्तन गरिरहन्छ । सबै मनुष्य स्त्री, पुत्र, धन, मान, बडाई जस्तो कुनै न कुनै अनुकूल फलको इच्छा राखेर नै कर्म गर्छन् । परन्तु कर्मयोगी फलको इच्छा छोडेर कर्म गर्छ । 

यहाँ प्रश्न उठ्छ: यदि कुनै इच्छा नै नभए किन कर्म गर्ने ? यही सन्दर्भमा गीता भन्छ, कुनै पनि मनुष्य कुनै पनि अवस्थामा कर्महरुको पूर्णरूपले त्याग गर्न सक्तैन । मनुष्यको अन्तःकरणमा संसारप्रति राग रहुन्जेल ऊ शान्तिसँग कर्म नगरी वस्न सक्तैन । उसले गर्ने विषय चिन्तन वास्तवमा कर्म नै हो । विषयहरुको चिन्तन हुँदा व्यक्ति क्रमश: पतनतिर जान्छ । यसैले रागको सबै नाश नहुन्जेल मनुष्य कर्महरुवाट छुट्न सक्तैन । कर्म गर्दा पुराना राग मेटिन्छन् र निःस्वार्थभावले खालि परहितकोलागि कर्म गर्दा नयाँ राग पैदा हुँदैन । 

कर्मफलको इच्छा राखेर कर्म गर्नु ठूलो वेसमझी हो । सबै कर्म आरम्भ र अन्त हुने स्वभावका छन् भने त्यसको फल नित्य कसरी होला ? फल पनि पाइएर नष्ट भइहाल्छ । तात्पर्य, कर्म र कर्मफल -- दुवै नाशवान् छन् । कि त फल सँधै नरहला या फल भोग्ने हाम्रो भनिने शरीर सँधै नरहला । अर्को कुरा, हामीले इच्छा राखौं या नराखौं, जे पाइनु छ, पाइहालिन्छ, जे पाइंदैन, त्यो पाइंदै पाइंदैन । इच्छा गरेर धेरै फल पाइने र इच्छा नगरेर थोरै फल पाइने भन्ने कुरा होइन । त्यसैले फलको इच्छा गर्नु वेवकुफी मात्रै हो ।

निष्कामभावले अर्थात् फलको कामना नराखेर लोकहितकोलागि कर्म गर्दा कर्महरुसँग सम्बन्ध-विच्छेद हुन्छ । कर्मयोगीको कर्म उद्देश्यहीन अर्थात् पागलको जस्तो हुँदैन । ऊवाट हुने कर्म परमात्मतत्व प्राप्तिको महान् उद्देश्य राखेर नै भएको हुन्छ । अर्को, उसले गर्ने सबै कर्म लोकहितकोलागि हुन्छ । उसको कर्महरुको लक्ष परमात्मतत्व हुन्छ, संसारिक पदार्थ होइन । शरीरमा ममता नरहँदा उसमा आलस्य, अकर्मण्यता आदि हुँदैनन् । तर त्यो कर्मयोगी आफूले सबै कर्महरु सुचारुरूपले र तत्परताले गर्छ । 

जुन कर्महरु गर्दा नाशवान् पदार्थहरुको प्राप्ति हुन्छ, तिनै कर्म निष्कामभावपूर्वक परमात्मतत्वको उद्देश्य राखेर लोक हितकोलागि  गरे नित्यसिद्ध परमात्मतत्वको अनुभूति  हुन्छ । 

वास्तवमा परमात्माको प्राप्ति कुनै कर्मले हुने होइन । परमात्मा कुनै कर्मको फल पनि होइन । परमात्मा प्रत्येक देश, काल, वस्तु, व्यक्ति, घटना, परिस्थिति आदिमा सदा-सर्वदा विद्यमान हुनुहुन्छ । उहाँ सदा-सर्वदा सवैलाई प्राप्त हुनुहुन्छ र सबै प्राणीहरुको सदा-सर्वदा उहाँमा नै स्थिति छ । परमात्मादेखि कुनै पनि मनुष्य कहिले छुट्टै छँदै थिएन, छँदै छैन, हुँदै हुँदैन र हुन पनि सक्तैन । परन्तु जड प्रकृतिको कार्य शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ आदिसँग अहंता-ममतापूर्वक आफ्नो सम्बन्ध मानी रहँदा मनुष्य परमात्मादेखि विमुख हुन्छ र वास्तवमा आफ्नो परमात्मालाई आफ्नो नमानेर आफूसँग सम्बन्ध नै नभएको नाशवान् पदार्थहरुलाई आफ्नो मान्न थाल्छ । त्यसैले जड पदार्थहरुसँग सम्बन्ध रहेको जीवको रागयुक्त सम्बन्ध मेटाउन नै सबै साधनहरुको सार्थकता छ ।

जडतासँग सर्वथा सम्बन्ध-विच्छेद हुने वित्तिकै नित्यप्राप्त परमात्माको अनुभव हुन्छ । त्यसैले तप आदि साधन गरिरहँदा जडतासँग सम्बन्ध भएपछि परमात्मप्राप्ति हुन्छ ।निष्कामभावले खालि अरुको हितकोलागि कर्तव्य-कर्म गरियो भने त्यस्तो सम्बन्ध-विच्छेद सजिलोसँग हुन्छ । 

परमात्मा कुनै साधनले किन्न सकिंदैन । प्रकृतिका सम्पूर्ण पदार्थ जोड्दा पनि चिन्मय र अविनाशी परमात्मासँग अलिकति मात्र पनि समानता गर्न सकिंदैन । अर्को कुरो, मूल्य दिएर किनिने वस्तु मूल्य भन्दा कमजोर (कम मूल्यको) नै हुन्छ । कर्महरुवाट परमात्मा पाइने हो भने परमात्मा कर्महरु भन्दा कमजोर हुनुभयो ।

साधकले कर्म गर्दा उसले कर्म गरिने शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि साधनहरुसँग सम्बन्ध मानेर नै ऊ कर्म गर्छ ।  गीता भन्छ, शरीर आदिसँग सम्बन्ध रहुन्जेल जडतासँग सम्बन्ध वनिरहन्छ । जडतासँग सम्बन्ध राखेर परमात्मतत्वको अनुभव हुँदैन । परमात्मतत्वको प्राप्ति जडतासँग हुँदैन, जडताको त्यागले हुन्छ ।

हाम्रो सामुन्नेको संसार र हाम्रा शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि एकै जातिका हुन् । त्यसैले यिनीहरुलाई संसारको नै मानेर, संसारको नै सेवामा लगाइदिने हो । यही प्रकृयालाई कर्मयोग भनिन्छ । तर यी शरीर आदिसँग अलिकति मात्रै पनि आफ्नो सम्बन्ध नमान्ने, यिनलाई महत्व नदिने, यिनसँग आफ्नो आश्रय नराख्ने, किनकि असत् सँग सम्बन्ध राखी राखी असत् पूरापूर छुट्न सक्तैन । असत् सँग सम्बन्ध-विच्छेद गर्नलाई निष्कामभावले गरिएका सबै कर्म सहायक हुन्छन् । असत् सँग पूर्णरूपले सम्बन्ध-विच्छेद हुने वित्तिकै परमात्मतत्वसँगको विमुखता छुट्छ र नित्यप्राप्त परमात्मतत्वको अनुभूति हुन्छ ।

अनुभव-सिद्ध कुरो हो, सांसारिक पदार्थहरुको कामना र ममता छोडेपछि हामीलाई शान्ति मिल्छ । सुषुप्तिमा (गाढा निद्रामा) संसारको विस्मृति हुँदा शान्तिको अनुभव हुन्छ हामीलाई । यदि जाग्रत अवस्थामा नै संसारसँग सम्बन्ध-विच्छेद भइदिए (कामना ममताको त्याग) भइदिए के नै भन्नु पर्ला र ! त्यस्तै निद्रा लाग्दा, कुनै काम पूरा हुँदा पनि एक किसिमको शान्ति पाउँछौं हामी ।  तात्पर्य, संसारिक कामना, ममता र आसक्तिको त्याग गर्ने वित्तिकै शान्ति पाइँदो रहेछ । तर यो शान्तिको उपभोग गरे अर्थात् त्यो शान्तिवाट सुख लिए र यसैलाई आफ्नो लक्ष माने साधक यो शान्तिवाट पाइने 'नैष्ठिकी शान्ति' अर्थात् परमात्मप्राप्ति गर्न सक्तैन । कारण, शान्ति ध्येय होइन, यो शान्ति त परमशान्तिको कारण हो । 

संसारसँग सम्बन्ध-विच्छेदवाट हुने शान्ति सत्व-गुणसँग सम्बन्ध राख्ने शान्ति हो । साधकले यो सम्बन्ध राख्ने शान्तिको भोग गरुन्जेल र यो शान्तिले 'ममा शान्ति छ' भन्ने मानुन्जेल उसमा परिच्छिन्नता रहन्छ । त्यो वेलासम्म अखण्ड एकरस रहने वास्तविक शान्तिको अनुभव हुँदैन ।

कर्मयोगीलाई होइन, कर्मीलाई, सकाम पुरुषलाई यहाँ 'अयुक्त' भनिएको छ । सकाम पुरुष नयाँ-नयाँ कमानाहरुले गर्दा फलमा आसक्त भएर जन्म-मरणरुप बन्धनमा पर्छ ।  कामना मात्रै गरेर कुनै पदार्थ पाइने होइन, पाइई हाले पनि त्यो पदार्थ सँधै हामीसँग रहने होइन । यस्तो कुरा आफूलाई अनुभव हुँदा हुँदै पनि पदार्थहरुको कामना गर्नु प्रमाद हो । 

पदार्थहरुलाई स्वरूपले नै छोड्नु पर्ने भन्ने आशय छैन गीताको । स्वरूपले छोडेर मुक्ति हुने भए प्राण गएका सबै व्यक्ति मुक्त हुन्थे । पदार्थ त आफ आफैं स्वरूपदेखि छुटी नै रहेका छन् ।  ती पदार्थमा हुने र भएका कामना, ममता र आसक्ति नै छोड्ने हो । किनकि पदार्थहरुसँग आसक्तिपूर्वक मानिएको सम्बन्ध नै बन्धनको कारण हो । कर्मयोगको आचरणवाट, (कर्महरुको प्रवाह खालि परहितकोलागि हुँदा) यो मानिएको सम्बन्ध पनि सजिलोसँग छुट्छ ।

साँचो भन्नु पर्दा, मुक्तिकोलागि अथवा परमात्मप्राप्तिकोलागि साधन गर्नु पनि फलासक्ति हो । हरेक काम फलको कामनाले गर्ने वानी नै परेको छ हाम्रो । यसैले प्राथमिक अवस्थामा मुक्तिकोलागि, परमात्मप्राप्तिकोलागि कर्म गर भन्छ शास्त्र । वास्तवमा साधन पनि असाधन मेटाउन नै हो । मुक्ति स्वतःसिद्ध छ । परमात्मा नित्यप्राप्त हुनुहुन्छ । परमात्मा प्राप्ति कुनै क्रियाको फल होइन । अतः केही गरे परमात्मप्राप्ति होला भन्ने इच्छा राख्नु पनि फलेच्छा हो ।

साधकले यो विचार गर्ने होइन -- 'मैले यो साधन गरें भने मलाई यो फल मिल्ला' । फलतिर दृष्टि हुनु नै फलासक्ति हो । यसले गर्दा वर्तमानमा गरिने साधन पनि ठीक हुँदैन । त्यसैले फल नहेरेर साधन हेर्नु पर्छ, तत्पर भएर साधन गर्नु पर्छ, त्यसपछि सिद्धि आफैं हुनेछ । यदि साधकले फल हेर्यो भने सिद्धि हुँदैन । 

'हामी निर्विकल्प, निष्काम भयौं भने धेरै सुख पाउँछौं' भनेर सुख लिने इच्छा पनि फलेच्छा नै हो । सस्तो इच्छाले साधकलाई निर्विकल्प, निष्काम हुन दिंदैन ।      

Gita: Chapter 5: Slok 11: श्लोक ११ कर्मयोगी आसक्तिको त्याग गरेर खालि इन्द्रियहरु, शरीर, मन र बुद्धिद्वारा अन्तःकरणको शुद्धिकोलागि मात्रै कर्म गर्छ ।

No. 151

श्लोक ११ 

कर्मयोगी आसक्तिको त्याग गरेर खालि इन्द्रियहरु, शरीर, मन र बुद्धिद्वारा अन्तःकरणको शुद्धिकोलागि मात्रै कर्म गर्छ ।

सम्पूर्ण पदार्थहरु भगवानमा अर्पण गर्नुपर्छ भन्ने बुद्धिले कर्म गर्ने व्यक्तिलाई भक्तियोगी भनिन्छ । तर संसारको सेवाकोलागि निष्कामभावले कर्म गर्ने व्यक्तिलाई कर्मयोगी भनिन्छ । कर्मयोगी आफ्नो भनिने शरीर, इन्द्रियहरु, मन, बुद्धिले कर्म गरिरहँदा पनि ती कर्महरु आफ्नो मान्दैन, संसारको नै मान्छ । किनकि शरीर आदिको एकता संसारसँग छ ।

हामीले आफ्नो मान्ने शरीर, इन्द्रियहरु, मन, बुद्धि कुनै पनि दृष्टिले आफ्ना होइनन्, हामीले पाइएका हुन्, त्यसैले हामीसँगवाट छुट्ने किसिमका हुन् । यिनीहरुलाई आफ्नो मान्नु सर्वथा भूल हो । यी सबैको संसारसँग स्वतःसिद्ध एकता छ । 

विचारपूर्वक हेर्दा, शरीर आदि पदार्थ कुनै पनि दृष्टिले हाम्रा आफ्ना होइनन् । मालिकको दृष्टिले हेर्दा यी भगवानका हुन्, कारणको दृष्टिले हेर्दा यी प्रकृति हुन्, र कार्यको दृष्टिले हेर्दा यी संसारका (संसारदेखि अभिन्न) हुन् । यसरी कुनै पनि दृष्टिले यिनलाई आफ्नो मान्नु, यिनमा ममता राख्नु हाम्रो भूल हो । ममता पूरापूर मेट्न नै यो श्लोकको तात्पर्य हो ।शरीर आदिको सम्बन्ध समष्टि संसारसँग छ । व्यष्टि कहिले पनि समष्टिसँग छुट्टै हुन सक्तैन ।यसैले व्यष्टि (शरीर आदि)सँग सम्बन्ध जोड्दा समष्टि (संसार)संग स्वतः सम्बन्ध जोडिन्छ । विवाह भएपछि अर्थात् सम्बन्ध जोडिएपछि केटाको अथवा केटीको सासु, ससुरा आदि ससुरालीका अथवा घरका सबै नाता गोतासँग जोडिए जस्तै संसारको कुनै पनि वस्तु (शरीर आदि)सँग सम्बन्ध जोडिएपछि अर्थात् ती वस्तुलाई आफ्नो मानेपछि पुरा संसारसँग सम्बन्ध आफैं जोडिन्छ । यहाँ, यो श्लोकमा शरीर, इन्द्रियहरु, मन, बुद्धि सबैमा ममता हटाउने प्रेरणा दिइएको छ । 

वास्तवमा कर्ताले आफू निर्मम हुनु नै आवश्यक छ । कर्ता स्वयं निर्मम भए शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि सबै ठाउँवाट ममता पूर्णरूपले मेटिन्छ । किनभने शरीर, इन्द्रियहरु, आदि स्वरूपसँग सर्वथा छुट्टै छन्; अतः यिनमा ममता केवल मानिएको हो, वास्तवमा ममता छँदै छैन ।

कर्मयोगको साधनामा कर्मफलको इच्छाको त्याग मुख्य छ । साधारण व्यक्ति फल प्राप्तिकोलागि कर्म गर्छन्, तर कर्मयोगी फलको आसक्ति मेटाउनकोलागि कर्म गर्छ । परन्तु शरीर, इन्द्रियहरु, मन, बुद्धि प्राणलाई आफ्नो मानी रहने व्यक्ति फलको इच्छा त्याग्नै सक्तैन । उसको भाव रहन्छ, शरीर आदि आफ्ना भएपछि तिनद्वारा गरिएका कर्मका फल पनि आफूलाई नै मिल्नु पर्छ । यसरी शरीर आदिलाई आफ्नो मान्दा कर्म  फलको इच्छा स्वतः उत्पन्न हुन्छ । फलको इच्छा मेट्न कहिले पनि शरीर आदिलाई आफ्नो मान्नु हुँदैन ।

वर्षा हुन्छ, प्राणीहरुको हित हुन्छ; तर वर्षालाई  'म वर्सन्छु, मेरो वर्षा हो, म वर्संदा अरुलाई  हित हुन्छ अथवा अरुलाई  दुःख हुन्छ' भन्ने भाव हुँदैन । यसैगरी इन्द्रियहरु द्वारा हुने हितमा पनि आफ्नोपनको भाव नहोस् । परन्तु शरीर, मन, बुद्धि, इन्द्रियहरुद्वारा कसैलाई राम्रो भयो, आफूले भनेको जस्तो भयो भने पनि यी क्रियाहरु थाहा पाउँदा मन, बुद्धिमा अनासक्ति रहेन भने ती क्रियाहरुसँग सम्बन्ध जोडियो, ममता भयो ।

साधारणतया मल, विक्षेप र आवरणको दोष हट्नुलाई अन्तःकरणको शुद्धि मानिन्छ । परन्तु वास्तविक शुद्धि अन्तःकरणको हो -- शरीर-इन्द्रियहरु, मन, बुद्धिवाट ममता पूर्णरूपले हट्नु । शरीर आदिले कहिले पनि भन्दैनन्, 'हामी तिम्रा हौँ र तिमीहरु हाम्रा हौ' । हामीले नै उनीहरुलाई आफ्नो मानेका हौँ । उनीहरुलाई आफ्नो मान्नु नै अशुद्धि हो । त्यसैले शरीर आदि प्रति अहंता-ममतापूर्वक मानिएको पूर्णतः अभाव नै आत्मशुद्धि हो ।

यो श्लोकमा शरीर-इन्द्रियहरु-मन-बुद्धि आफ्नो नमान्नु पर्ने कुरो आएको छ ।आफ्नोपन हटाउने उद्देश्य छ यहाँ । अन्तःकरणको शुद्धिकोलागि शरीर-इन्द्रियहरु-मन-बुद्धिलाई आफ्नो नमान्दा पनि यिनीहरुमा सूक्ष्मरूपले आफ्नोपन रहन सक्छ ।  त्यो सूक्ष्म अहम् पनि पूरापूर मेटिनु नै आत्मशुद्धि अर्थात् अन्तःकरणको शुद्धि हो ।

अहंतामा पनि ममता रहन्छ । ममता पूर्णतया मेटिएपछि ममतामा अहंता पनि नरहेपछि अन्तःकरणको सर्वथा शुद्धि हुन्छ ।

शरीर-इन्द्रियहरु-मन-बुद्धिमा रहने सूक्ष्म आफ्नोपन हटाउन कर्मयोगी कर्म गर्छन् । मनुष्य कर्म गरिरहँदा आफ्नोलागि कुनै प्रकारको सुख चाहन्छ अर्थात् फलको इच्छा राख्छ र शरीर, इन्द्रियहरु, मन आदि कर्म-सामग्रीलाई आफ्नो मान्छ, त्यो वेलासम्म ऊ कर्मबन्धनदेखि मुक्त हुन सक्तैन । यसैले कर्मयोगी फलको इच्छा त्यागेर र कर्म-सामग्रीलाई आफ्नो नमानेर अरुको हितकोलागि कर्म गर्छ । योगारूढ़ हुने इच्छा भएको मननशील योगीकोलागि अरुको हित हुने कर्म गर्नु नै हेतु भनिएको छ । यस्तो प्रकारले ऊ जति जति अरुको हितकोलागि कर्म गर्छ, त्यति त्यति उसको ममता-आसक्ति घट्दै जान्छ र अन्तःकरणको शुद्दि हुँदै जान्छ ।

अन्तःकरण शुद्ध गरेर हुने होइन; शुद्ध गर्न खोज्दा पनि अन्तःकरणसँग सम्बन्ध वनिरहन्छ । 'मेरो अन्तःकरण शुद्ध होस्' भन्ने भाव रहुन्जेल अन्तःकरणको शुद्धि हुन सक्तैन; किनकि ममता नै अन्तःकरणको मूल अशुद्धि हो । भगवानले यहाँ अन्तःकरणमा ममता नराख्ने कुरा गर्नुभएको छ । शरीर, इन्द्रियहरु, मन र बुद्धिमा ममताको पूर्णरूपले अभाव हुनु नै अन्तःकरणको शुद्धि हो । त्यसैले आफ्नो अन्तःकरणवाट ममता हटाउन नै कर्मयोगी अनासक्त भावले कर्म गर्छ । ऊ आफ्नोलागि कुनै कर्म गर्दैन । ममता राख्दा कर्म हुन्छ, कर्मयोग हुँदैन । आफ़्नोलागि कुनै कर्म नगर्दा कर्मयोगीको गति स्वरूपतिर हुन्छ ।

कर्मयोगी पहिले ममतारहित हुने उद्देश्य वनाएर कर्म गर्छ, त्यसपछि उसको उद्देश्यको सिद्धि हुन्छ ।                  

xx
मैले पहिले पनि निवेदन गरेकै हो, हामीले हालै अध्ययन गरिरहेको ज्ञान वैदिक ज्ञान हो ।
वैदिक ज्ञान हाम्रो सनातन संस्कृतिको अन्तिम ज्ञान हो । वेदले सबभन्दा पहिले कर्मकाण्ड पक्षको ज्ञान प्रस्तुत गर्छ, त्यसपछि उपासनाकाण्ड प्रस्तुत गर्छ, र अझ त्यसपछि ज्ञानकाण्ड प्रस्तुत गर्छ । यी तीन थरीका ज्ञान अधिकारी भेदले हाम्रो समझमा आउँछन् । भनाइको मतलव, पहिले शास्त्रले, अझ धर्मशास्त्रले आदेश गरेका पद्धति अनुसार हामीले आफ्नो जीवन चलाउनु पर्यो, त्यसपछि धर्मशास्त्र भन्दा माथिको ज्ञान (उपासना) द्वारा हामीले परमात्माको खोजी गर्नु पर्यो । धर्मशास्त्र अनुसार कर्म गर्दा हाम्रो कर्म शास्त्रीय त हुन्छ, तर हामीले गरिने कर्मको फलको अपेक्षा हामीमा हुन्छ । धेरैसम्म यसरी फलको आशा  लिएर हामी कर्म गर्छौं । हाम्रो आफ्नो श्रद्धा अनुसार हाम्रो कर्म सफल हुन्छ, कहिले असफल पनि हुन्छ । कर्म राम्रोसँग सम्पन्न भए हामीलाई पुण्य हुन्छ, पुण्यको फल सुख हुन्छ । हैन, कर्म गर्दा हामीमा श्रद्धामा कमी भए हामीलाई पाप लाग्ने भयो, हाम्रो कर्म असफल हुने भयो, असफल कर्मको फल दुःख हुने भयो । यही सुख र दुःखको भुमरीमा हामी परिरहने भयौं ।धेरै समय यस्तो धर्मशास्त्रीय कर्म गरिरहेपछि हामीलाई आफूले गरिरहेको कर्मवाट कुनै वेला वैराग्य हुन्छ । अहिलेसम्म कर्म र कर्मको फल, कि सुख, कि दुःखमा लागिरहने हामी आफूवाट भएको कर्ममा नै शंका गर्ने हुन्छौं । अव हामी कर्मको फलमा होइन कि हाम्रो कर्मको फल दिने भगवान कस्तो होला भन्ने खोजी गर्नतिर लाग्छौं । त्यो वेलादेखि हाम्रो उपासना शुरु हुन्छ । अव त्यो भगवानको दर्शनको प्रवल इच्छा उठ्छ हामीमा । त्यसपछि हामीलाई हाम्रा पुराणहरु हामीले इच्छा गरेको भगवानको वयान गर्छन् । त्यही वयानको क्रममा उहाँको रुप, गुण, ऐश्वर्य, ज्ञान, वैराग्य, सामर्थ्य आदिको चर्चा गर्छन् । यसो हुँदा भगवानमा हाम्रो आकर्षण र श्रद्धा वढ्दै जान्छ । जति जति श्रद्धा वढ्दै गयो, उति उति हामीमा शान्ति पनि वढ्दै जान्छ । तर यो शान्ति सँधै रहने नभएर आउने जाने स्वभावको अथवा कहिले हुने कहिले नहुने हुन्छ । यही शान्तिको अनुभव गर्दै, तर त्यो शान्तिको अस्थायीपनाको पनि अनुभव गर्दै हामीलाई कहिले पनि नहराउने शान्ति पाउने इच्छा जाग्रत हुन्छ । त्यो शान्तिकोलागि वेदले हामीलाई वेदको, उपनिषद् को र गीताको ज्ञान जान्न र सुन्न लगाउँछ । 

अहिले प्रस्तुत ज्ञानले परमात्मा यस्तो छ, उस्तो छ भन्दैन; त्यो परमात्मालाई हामीले आफ्नै विचार द्वारा जान्न र बुझ्न सिकाउँछ, बिभिन्न संकेतहरु द्वारा ।गुरुले आफ्नो उपदेश भन्दा त्यो परमात्माको कुरा नभनी त्यो परमात्मालाई ढाक्ने धेरै किसिमका कुरा भन्छन् । गुरु भन्छन्, 'परमात्मा जान्न तिमीले परमात्मा विरोधी धेरै झ्यास झुस हटाउनु पर्छ। ती झयास झुस हुन्, तिम्रा नै अन्तःकरणका राग द्वेष आदि आदि ।यसै गरी गुरुले आफ्नो ज्ञान र अनुभवद्वारा आफ्नो शिष्यलाई धेरै युक्ति र अनुभूतिले सम्झाउँछन्, आफ्नो शिष्यको अनेक शंकाहरु झर्को नमानीकन निवारण गरिदिन्छन् ।                                            
माथिका कुरावाट स्पष्ट हुन्छ, परमात्माको ज्ञान हुन हामीले हामीमा भएका दुर्गुण, खरावीहरु हटाउने कोशीश गर्नुपर्छ । वेदले भन्छ, 'तिमीहरु आफैं परमात्मा हौ, तिमीहरुको राग, द्वेष, आसक्ति, ममताले तिमीहरु आफूले नै आफूलाई चिन्न सकेनौ । विचार गर, प्रयास गर, श्रद्धा गर, विश्वास गर, आफूमा रहेको उर्जा तिमी आफैं विकसित गर । तिमीलाई आफ्नो स्वरूपको ज्ञान आफैं, आफैंमा हुन्छ । त्यो वेला तिमी आफूले आफैंलाई परमात्मा रहेछु भन्ने अनुभव गर्नेछौ ।'     

छोटोमा भन्नु पर्दा, आफ्नो स्थितिको मुल्यांकन हामी आफैंले गर्नु पर्यो, आफ्नो सामर्थ्य र कमजोरीको मुल्यांकन गर्न सक्ने साहस हामीमा हुनु पर्यो । पहिले आफूमा भएको सामर्थ्य खोज्न थाल्नु पर्यो, आफ्नो दोष पहिचान गरेर त्यो दोषलाई कसरी हटाउने भन्ने उपाय पनि खोज्नु पर्यो, त्यसपछि आफ्नो दोष हटाउन तयार पनि हुनु पर्यो र सफल हुनु पर्यो । आफ्नो दोषको विचार गरेर त्यो दोष मेट्ने क्रमलाई 'अन्तर्मुखी वृत्ति' भन्छन् । शास्त्र भन्छ, अन्तर्मुखी वृत्ति नभई हाम्रो साधना शुरु नै हुँदैन । साधना शुरु हुन ढिलो होला, तर यो साधना शुरु भएपछि यसले हाम्रो लक्षमा पुर्याएर नै छोड्छ हामीलाई । 

यस्तै छन् हजुर, मेरा कुरा, अरु पछि ।

Gita: Chapter 5: Slok 10: श्लोक १० भक्तियोगी सम्पूर्ण कर्महरु परमात्मालाई अर्पण गरेर र आसक्ति त्यागेर कर्म गर्छ, त्यो (भक्तियोगी) जलसँग कमलको पात जस्तो पापसँग लिप्त हुँदैन ।

No.150

श्लोक १० 

भक्तियोगी सम्पूर्ण कर्महरु परमात्मालाई अर्पण गरेर र आसक्ति त्यागेर कर्म गर्छ, त्यो (भक्तियोगी) जलसँग कमलको पात जस्तो पापसँग लिप्त हुँदैन । 

शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण आदि सबै भगवानका नै हुन्, आफ्ना हुँदै होइनन् । त्यसैले यीद्वारा हुने क्रियाहरुलाई भक्तियोगी आफ्नो कसरी मानोस् ?  त्यो भक्तियोगीको भाव रहन्छ, 'सबै क्रियाहरु भगवानद्वारा नै भइरहेछन् र भगवानकोलागि नै भइरहेछन्, म त निमित्त मात्र हुँ ।'   

भगवान नै मेरो इन्द्रियहरुद्वारा आफू नै सम्पूर्ण क्रियाहरु गर्नुहुन्छ -- यो कुराको ठीक-ठीक धारण गरेर सम्पूर्ण क्रियाहरुको कर्तापन भगवानमा नै मान्नु पर्छ भन्ने माथिका शब्दहरुको अर्थ हो ।

शरीर आदि वस्तुहरु आफ्ना हुँदै होइनन्, खालि मिलेका हुन् र हामीवाट छुटिरहेका छन्। यी त खालि भगवानकोलागि, भगवानको प्रीतिकोलागि, अरुको सेवा गर्नकोलागि हामीलाई उपलब्ध छन् । यी वस्तुहरुमा हाम्रो स्वतन्त्र अधिकार छैन अर्थात् यी वस्तुलाई आफ्नो इच्छा अनुसार न त हामी राख्न सक्छौं, न यी वस्तुलाई वदल्न सक्छौं, न हामी मर्दा यिनीहरुलाई सँगै लग्न सक्छौं । यसैले यी शरीर आदिलाई, यी द्वारा हुने क्रियाहरुलाई आफ्नो मान्नु इमान्दारी होइन । अतः हामीले हामीसँग भएका जसका हुन्, उसैको, अर्थात् भगवानको भन्ने मान्नु पर्छ ।
                  
सम्पूर्ण क्रियाहरु र पदार्थहरु कर्मयोगी 'संसार'लाई, ज्ञानयोगी 'प्रकृति'लाई र भक्तियोगी 'भगवान'लाई अर्पण गर्छ । प्रकृति र संसार -- दुबैको स्वामी भगवान हुनुहुन्छ । अतः क्रियाहरु र पदार्थहरुलाई भगवानमा अर्पण गर्नु नै श्रेष्ठ छ । 

कुनै पनि प्राणी, पदार्थ, शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण, क्रिया आदिमा अलिकति मात्रै पनि राग, खिंचाव, आकर्षण, लगाव, महत्व, ममता, कामना आदि नरहनु नै आसक्तिको पूरापूर त्याग हो ।

शास्त्रीय दृष्टिले 'अज्ञान' जन्म-मरणको कारण हुँदा हुँदै पनि साधनको दृष्टिले 'राग' नै जन्म-मरणको मुख्य हेतु हो । रागमा नै अज्ञान टिक्छ, यसैले राग मेटियो भने अज्ञान पनि मेटिन्छ । यो राग या आसक्तिवाट नै कामना उत्पन्न हुन्छ ।कामना नै सम्पूर्ण पापहरुको जड हो । यसैले यहाँ पापहरुको मूल कारण आसक्ति त्याग्ने कुरो आएको छ; किनकि यो आसक्ति रहँदा मनुष्य पापहरुदेखि वच्न सक्तैन र यो नरहँदा ऊ पापहरुसँग लिप्त हुँदैन। 

कुनै पनि क्रिया गर्दा, क्रियाजन्य सुख लिंदा तथा त्यो क्रियाको फलमा आसक्त रहँदा त्यो क्रियासँगको सम्बन्ध छुट्दैन, झन् झन् वढ्छ । कुनै पनि सानो र या ठूलो क्रियाको फलरूपमा कुनै वस्तु चाहनु मात्रै आसक्ति नभएर क्रिया गरेको समयमा पनि आफ्नो महत्वको, राम्रोपनको आरोप गर्नु र अरुले आफूलाई राम्रो भनोस् भन्ने भाव रहनु पनि आसक्ति नै हो । यसैले आफ़्नोलागि केही पनि गर्ने होइन । कुनै पनि कर्मवाट आफ्नोलागि कुनै किसिमको अलिकति मात्रै सुख पाउने इच्छा छ भने त्यो कर्म आफ्नोलागि हुन्छ । आफ्नो सुख-सुविधा र सम्मानको इच्छाको सर्वथा त्याग गरेर कर्म गर्नु पर्छ ।

भगवानको सम्मुख भएर भक्तियोगी संसारमा नै वसेर सम्पूर्ण कर्महरु भगवानमा अर्पण गरिरहँदा कर्महरुदेखि वाँधिंदैन । कमलको पात जलमा उत्पन्न भएर र जलमा रहेर पनि जलदेखि निर्लिप्त रहन्छ, त्यस्तै भक्तियोगी संसारमा वसेर सम्पूर्ण क्रियाहरु गरिरहँदा पनि भगवानको सम्मुख भएको कारण संसारमा सँधै, सबै प्रकारले निर्लिप्त रहन्छ ।

भगवानसँग विमुख भएर संसारको कामना गर्नु नै सबै पापहरुको मुख्य हेतु हो । कामना आसक्तिले उत्पन्न हुन्छ । आसक्तिको पूरै अभाव भयो भने कामना रहन सक्तैन, यसो हुँदा पाप हुने सम्भावना नै रहँदैन ।
  
अग्निसँग धुवाँ रहे जस्तै सबै कर्म कुनै-न-कुनै दोषले युक्त हुन्छन् । परन्तु आशा, कामना, आसक्ति त्याग गरेको व्यक्तिलाई यी दोषहरु लाग्दैनन् । आसक्तिरहित भएर भगवानकोलागि कर्म गरेको प्रभावले उसका सम्पूर्ण संचित पाप विलीन हुन्छन् । अतः भक्तियोगीलाई कुनै प्रकारको पापसँग सम्बन्ध रहँदैन । किनभने भक्तियोगी पाप-पुण्यरूपी फलदेखि कहिले पनि लिप्त हुँदैन अर्थात् बाँधिदैन । यहाँ यो श्लोकमा सगुण ईश्वरलाई 'ब्रह्म' भनिएको छ । तात्पर्य, ईश्वर सगुण, निर्गुण, साकार, निराकार सबै हुनुहुन्छ; किनकि उहाँ समग्र हुनुहुन्छ । समग्रमा सबै आउँछन् । तात्पर्य, 'सगुण' अन्तर्गत ब्रह्म, परमात्मा र भगवान -- तीनै पर्छन्, तर 'निर्गुण' अन्तर्गत केवल ब्रह्म मात्रै आउँछ, किनकि निर्गुणमा गुणहरुको निषेध छ । अतः निर्गुण सीमित छ र सगुण समग्र छ ।  

xx 
गीताको अहिले भइरहेको अध्ययन हामीहरुलाई कहिले त अलि boring पनि लाग्छ । त्यसैले हाम्रो वैदिक ज्ञान गुरुवाट सिक्नु पर्ने कुरा पनि आउँछ हाम्रो उपनिषद् हरु र गीतामा पनि । कुरा सत्य पनि हो, हाम्रो आफ्नो जीविकाकोलागि उपयुक्त ज्ञान सिक्न पनि हामीलाई गुरुहरुकहाँ नै जानु पर्छ भने यो ज्ञान सिक्न पनि गुरुको आवश्यकता पर्ने नै भयो हामीलाई । आफूले किताव पढ्दा त साधारण ज्ञान मात्रै बुझ्न सकिन्छ तर अरु ज्ञान बुझ्न त गाह्रो नै पर्छ हामीलाई । हामीलाई यस्तो पनि भ्रम छ, अहिले हामीले सकुन्जेल, शरीरमा वल रहुन्जेल त भौतिक ज्ञान नै लिने हो, भौतिक सुख गर्ने हो, भौतिक सम्पत्ति कमाउने हो, पछि, बुढो अथवा बुढी भएपछि मात्रै यता, धर्म कर्मतिर, तीर्थ व्रततिर लाग्ने हो । तर यो विचार अलि impractical जस्तो देखिन्छ । किनभने हामी बुढो भएपछि, हाम्रो कान सुन्न छोडेपछि, हाम्रा आँखाले राम्ररी देख्न छोडेपछि, हाम्रा खुट्टा राम्रोसँग हिंड्न नसक्ने भएपछि हामी कसरी यस्तो ज्ञानको अध्ययन गर्ने ? अहिलेसम्म संसारका गतिविधिमा चाख लिइरहेको हाम्रो बुद्धिले बुढो भएपछि विल्कुलै अर्कै विषय यो अध्यात्म कसरी बुझ्ने ? बुढो भएपछि, आफ्नो दैनिक क्रियाकलाप नै चलाउन अरुमा आश्रित हुनु पर्ने हाम्रो शरीरलाई लिएर हामीलाई तीर्थ, व्रत कसले लगिदिने, ज्ञानको चर्चा भइरहेको भएको ठाउँमा हामीलाई कसले पुर्याइदिने ? यस्तो कुरा सम्झंदा हाम्रो यो सोच त असम्भव नै हो जस्तो लाग्छ । 

शिवपुरी बाबाको जीवनी वारे लेखिएको The Long Pilgrimage भन्ने कितावमा उहाँ भन्नुहुन्छ, प्रत्येक व्यक्तिले यस्ता ज्ञानका कुराहरु भनौं, moral teachings भनौं, उसको जीवनको पाँच वर्षको उमेरदेखि नै सिक्नु पर्छ । एउटा अर्को foreigner को प्रश्नको जवाफमा उहाँ भन्नुहुन्छ, केही गरी उसले यो ज्ञान ढिलो सिक्न थाल्यो भने पनि अरुले पाँच वर्षदेखि के के सिकेका छन्, त्यो ढिलो सिक्ने व्यक्तिले पनि, पछि सिक्न थालेको भए पनि, ती सबै ज्ञान सिक्नु पर्छ । यसको अर्थ, हामीलाई भौतिक ज्ञान सिक्न प्रौढ कक्षामा जान पर्ने जस्तै भयो ।

मुख्य कुरो, अहिले मैले हजुरहरुलाई mail गरिरहेको ज्ञान सामान्य अवस्थामा, हाम्रो जीवन सुखमय, शान्तिमय किसिमले चलाउन निकै उपयोगी छ । यसले हामीलाई नैतिक जीवन विताएर, अर्को शब्दमा भन्नु पर्दा, धर्म शास्त्रले भनेको जस्तो जीवन विताएर वाँच्न सिकाउँछ । त्यही जीवन विताउँदा विताउँदै कहिले, कुनै वेला आफूलाई प्रतिकूल परिस्थिति आइपर्यो भने धैर्य लिएर आफ्नो जीवन अघि वढाउन सिकाउँछ । सानो सानो दुःख पर्दा नआत्तिन, उत्तेजित नहुन, आफूलाई आइपरेको घटनाको राम्रोसँग अध्ययन गरेर त्यही अनुसार समस्याको समाधान गर्ने शक्ति प्रदान गर्छ । पछि बुढेसकालमा पनि आफ्ना छोराछोरीसंग, आफ्ना नातापरिवारसँग कुनै किसिमले पनि आश्रित नभई शान्तिमय र आनन्दमय जीवन यापन गर्न सिकाउँछ । छोटोमा भन्नुपर्दा, एउटा सन्तको शब्दमा, यो ज्ञानले 'zero percent complain level ' मा वाँच्ने साहस र धैर्य दिन्छ । 

मेरो विचार यही हो हजुर । राम्रो लागे ग्रहण गरिदिनु होला । अरु त म के नै भन्न सक्छु र !  

Gita: Chapter 5: Slok 8, 9: श्लोक ८, ९ तत्व जान्ने सांख्ययोगी देखिरहँदा, सुनिरहँदा, छोइरहँदा, सुंघिरहँदा, हिंडिरहँदा, ग्रहण गरिरहँदा (विषय सेवन गरिरहँदा),

 No. 149

श्लोक ८, ९ 

तत्व जान्ने सांख्ययोगी देखिरहँदा, सुनिरहँदा, छोइरहँदा, सुंघिरहँदा, हिंडिरहँदा, ग्रहण गरिरहँदा (विषय सेवन गरिरहँदा), वोलिरहँदा, (मल-मुत्र) त्याग गरिरहँदा, सुतिरहँदा, श्वास लिइरहँदा र आँखा खोलिरहंदा र आँखा चिम्लिरहँदा पनि 'सम्पूर्ण इन्द्रियहरु इन्द्रियहरुका विषयहरुमा व्यवहार गरिरहेछन्' भन्ने सम्झेर 'म (स्वयम्) कुनै व्यवहार गर्दिन' भन्ने मानोस् ।

यो श्लोक सांख्ययोगको विवेकशील साधककोलागि आएको छ । विवेकशील साधक तत्ववित् महापुरुषले जस्तो निर्भ्रान्त अनुभव गर्न तत्पर रहन्छ । उसमा यस्तो विवेक जागृत भएको हुन्छ, 'सबै क्रियाहरु प्रकृतिमा नै भइरहेका छन्, ती क्रियाहरुसँग मेरो कुनै पनि सम्बन्ध छँदै छैन ।' 

आफूमा अर्थात् स्वरूपमा कहिले अलिकति मात्रै पनि कुनै क्रियाको कर्तापन नदेख्ने व्यक्ति 'तत्ववित्' हो । उसमा नित्य-निरन्तर स्वाभाविक नै यस्तो सावधानी रहन्छ, 'स्वरूपमा कर्तापन छँदै छैन ।' प्रकृतिको कार्य शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण आदिसँग ऊ कहिले पनि आफ्नो एकता स्वीकार गर्दैन, त्यसैले ती द्वारा हुने क्रियाहरुलाई ऊ आफ्ना क्रियाहरु कसरी मान्न सक्छ ?

वास्तवमा माथि वर्णन गरिएको स्थिति सबै मनुष्यको हो; तर साधारण मनुष्य भूलले गर्दा स्वरूपलाई क्रियाहरुको कर्ता मान्छन् । परमात्माको समष्टि शक्तिले संसारका क्रियाहरु भए जस्तै त्यही समष्टि शक्तिले व्यष्टि शरीरका क्रियाहरु पनि भइरहेका छन् । परन्तु समष्टिको नै सानो अंश व्यष्टिसँग आफ्नो सम्बन्ध मानेको कारण मनुष्य व्यष्टिका केही क्रियाहरुलाई आफ्ना क्रियाहरु मान्न थाल्छ । यही मान्यता हटाउन भगवान भन्नुहुन्छ, साधकले आफूलाई कहिले पनि कर्ता नमानोस् । कुनै पनि अंशमा कर्तापनको मान्यता रहुन्जेल व्यक्तिलाई साधक मानिन्छ । आफूमा कर्तापनको मान्यताको सम्पूर्ण अभाव भएर आफ्नो स्वरूपको अनुभव भएपछि त्यही साधक तत्ववित् महापुरुष भनिन्छ ।सपना देखेर बिउँझिएको व्यक्तिको सपनासँग विल्कुल सम्बन्ध नरहे जस्तै तत्ववित् महापुरुषको शरीर आदिवाट हुने क्रियाहरुसँग विल्कुल सम्बन्ध (कर्तापन) रहँदैन । 

प्रकृति र पुरुषको विभाग अर्थात् गुण र क्रिया सबै प्रकृतिमा छन्, प्रकृतिदेखि अतीत तत्वमा गुण र क्रिया छैनन् भन्ने कुरा राम्ररी जान्ने व्यक्ति नै तत्ववित् हो । प्रकृतिदेखि निर्विकार तत्व सबैको प्रकाशक र सबैको आधार हो । सबैको प्रकाशक भए पनि यो तत्व प्रकाश्य अन्तर्गत ओतप्रोत छ । प्रकाश्य (शरीर आदि)मा मिसिएर रहे पनि प्रकाशक प्रकाशक नै हो र प्रकाश्य प्रकाश्य नै हो । त्यस्तै त्यो तत्व सबैको आधार हुँदा हुँदै पनि सबै (आधेय)को कण-कणमा व्याप्त छ; तर त्यो आधार कहिले पनि आधेय हुँदैन । कारण, प्रकाशक  र आधारमा गर्नु र हुनु नै छैन । गर्नु र हुनुरुप परिवर्तन त प्रकाश्य अथवा आधेयमा नै छ । यस्तो किसिमले प्रकाशक र प्रकाश्य र आधार र आधेयको भेद (विभाग) राम्ररी जान्ने व्यक्ति नै तत्ववित् हो । यही प्रकृति (क्षेत्र) र पुरुष (क्षेत्रज्ञ)को विभागलाई जान्ने कुरा भगवानले अरु अध्यायहरुमा भन्नु हुन्छ । 

यहाँ चर्चा भएका देख्ने, सुन्ने, स्पर्श गर्ने, सुँघ्ने र खाने आदि पाँच इन्द्रियहरुका क्रियाहरु ज्ञानेन्द्रियहरुका हुन् । हिंड्ने, ग्रहण गर्ने, वोल्ने र मल-मुत्रको त्याग गर्ने आदि पाँच क्रियाहरु कर्मेंद्रियहरुका हुन् । सुत्ने क्रिया अन्तःकरणको हो । स्वाश लिने क्रिया प्राणको र आँखा खोल्ने तथा चिम्लने क्रियाहरु 'कुर्म' नामक उपप्राणको हो ।

माथि उल्लिखित तेह्र क्रियाहरु ज्ञानेन्द्रियहरु, कर्मेन्द्रियहरु, अन्तःकरण, प्राण र उपप्राणवाट हुने सम्पूर्ण क्रियाहरु हुन् । तात्पर्य, सम्पूर्ण क्रियाहरु प्रकृतिका कार्य शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण आदि द्वारा नै हुन्छन्, स्वयं द्वारा होइन । अर्को कुरा, सांख्ययोगी द्वारा वर्ण, आश्रम, स्वभाव, परिस्थिति आदि अनुसार शास्त्रविहित शरीर-निर्वाहका क्रियाहरु -- खान-पान, व्यापार गर्ने, उपदेश दिने, लेख्ने, पढ्ने, सुन्ने, विचार गर्ने आदि क्रियाहरु हुँदैनन् भन्ने कुरा होइन । ऊ द्वारा पनि यी सबै क्रियाहरु हुन सक्छन् ।                                         

हामी आफूले जानेर अर्थात् मन-बुद्धिपूर्वक गर्ने क्रियाहरुको मात्रै आफूलाई कर्ता मान्छौं, जस्तो पढ्ने, लेख्ने, सोच्ने, देख्ने, भोजन गर्ने आदि । परन्तु धेरै क्रियाहरु हामी जानेर गर्दैनौं -- श्वास आउने-जाने, आँखाहरु खुल्ने र वन्द हुने आदि । त्यसो भए यी क्रियाहरुको कर्ता आफूलाई नमान्ने यो श्लोकमा कुरो कसरी भनियो ? यसको उत्तर हो, सामान्यरूपले श्वास आउने-जाने आदि क्रियाहरु स्वाभाविक हुने खालका छन्, किन्तु प्राणायाम आदिमा हामी श्वास लिने आदि क्रियाहरु जानेर नै गर्छौं । यस्तै आँखा खोल्ने र बन्द गर्ने क्रिया पनि जानेर नै गर्न सकिन्छ । यसैले यस्ता क्रियाहरुको कर्ता पनि आफूलाई नमान्ने आदेश गीता हामीलाई दिन्छ । अर्को कुरो, हामीले श्वास लिने, आँखा खोल्ने र बन्द गर्ने जस्ता क्रियाहरुलाई आफ्नो नमाने जस्तै अरु क्रियाहरु पनि स्वाभाविक मानेर तिनमा कर्तापन मान्नु हुँदैन । 

यहाँ वर्णन गरिएका तेह्र क्रियाहरु विना कुनै आधार हुन सम्भव छैन । यी क्रियाहरुले आश्रय लिनेमा अर्थात् यी क्रियाहरुका आधारमा कहिले कुनै क्रिया हुँदैन । यस्तै प्रकाशित हुने यी सम्पूर्ण क्रियाहरु कुनै प्रकाश विना सिद्ध हुन सक्तैन । यी क्रियाहरु प्रकाशित हुने प्रकाशमा कहिले कुनै क्रिया भएको छैन, हुँदै हुँदैन, हुने छैन, हुन नै सक्तैन र हुन सम्भव पनि छैन ।यस्तो यो तत्व सबैको आधार, प्रकाशक र स्वयं प्रकाशस्वरूप हो । यो प्रकाश सबैमा रहँदा पनि आफू केही गर्दैन । त्यो तत्वतर्फ लक्ष गराउनमा नै यी तेह्र क्रियाहरुको तात्पर्य हो ।

स्वरूपमा कर्तापन छँदै छैन भने ती क्रियाहरु कसरी र को द्वारा भइरहेका छन् ? यसको उत्तर छ, सम्पूर्ण क्रियाहरु इन्द्रियहरु द्वारा इन्द्रियहरुको विषयहरुमा नै भइरहेछन् । यहाँ भगवानको आशय इन्द्रियहरुमा कर्तृत्व वताउनुमा नभई स्वरूपलाई कर्तृत्वरहित (निर्लिप्त) वताउनुमा छ । 

इन्द्रियहरुका पाँच विषयमा नै इन्द्रियहरुको व्यवहार हुन्छ । सम्पूर्ण इन्द्रियहरु र इन्द्रियहरुका विषय प्रकृतिका कार्य हुन् । यही कारण इन्द्रियहरु द्वारा हुने सम्पूर्ण क्रियाहरु पनि प्रकृति द्वारा नै भइरहेका छन् । 

क्रियाको अर्थ हो -- परिवर्तन । परिवर्तनरुप क्रिया प्रकृतिमा नै हुन्छ । स्वरूपमा परिवर्तनरुप क्रिया अलिकति पनि छैन । किनकि प्रकृति निरन्तर क्रियाशील छ र स्वरूपमा कहिले क्रिया हुन सक्तैन । सबै क्रियाहरु प्रकाश्य हुन् र स्वरूप प्रकाशक हो ।

'म (स्वरूपले) कर्ता होइन' भन्दा 'म (स्वरूप) पहिले कर्ता थिएँ' भन्न खोजिएको होइन ।स्वरूपमा कर्तापन न वर्तमानमा छ, न भूतकालमा थियो, न भविष्यमा हुनेछ । सबै क्रियाहरु प्रकृतिमा नै भइरहेछन्; किनकि प्रकृति सँधै क्रियाशील र पुरुष अर्थात् चेतन-तत्व सँधै क्रियारहित छ । धेरै अघिदेखिको गल्तीले गर्दा चेतन प्रकृतिको क्रियाहरुसँग तादात्म्य गर्छ र ऊ प्रकृतिका क्रियाहरुलाई आफ्नो क्रियाहरु मान्न थाल्छ र ती क्रियाहरुको कर्ता स्वयं वन्छ ।

कुनै व्यक्ति चलिरहेको ट्रेनमा वसिरहेको छ, ऊ आफू हिंडिरहेको छैन । तर ट्रेन चलिरहेको कारण ऊ नहिंडिकन नै हिंडिरहेको हुन्छ । त्यस्तै, क्रियाशील प्रकृतिको कार्यरूप स्थूल, सूक्ष्म र कारण, कुनै पनि शरीरसँग स्वयंले आफ्नो सम्बन्ध मानेपछि ऊ (स्वयं) कर्म नगरी रहे पनि ती शरीरहरूमा हुने क्रियाहरुको कर्ता नभई रहन सक्तैन ।

सांख्ययोगी शरीर, इन्द्रियहरु, अन्तःकरणसँग आफ्नो सम्बन्ध मान्दैन । यसैले ऊ कर्महरुको कर्तापन आफूमा कहिले अनुभव गर्दैन । शरीर वालक अवस्थावाट जवान हुनु, हाम्रा कपालको रंग कालोवाट सेतो हुनु, हामीले खाएको अन्न पच्नु, शरीर वलियो अथवा निर्धो हुनु आदि क्रियाहरु स्वाभाविक (आफैं) हुन्छन् । त्यस्तै अरु सम्पूर्ण क्रियाहरु पनि स्वाभाविक हुने अथवा भइरहने अनुभव गर्छ सांख्ययोगी । ऊ आफूलाई कुनै पनि क्रियाको कर्ता भन्ने मान्दैन र अनुभव पनि गर्दैन ।

गीतामा स्वयंलाई कर्ता मान्नेहरुको निन्दा गरिएको छ । त्यस्तै शुद्ध स्वरूपलाई कर्ता मान्नेहरुलाई मलिन अन्तःकरण भएका र दुर्मति भनिएको छ । तर स्वरूपलाई अकर्ता मान्नेहरुको प्रशंसा गरिएको छ । साधकमा कर्तापनको भाव नरहेपछि ऊ द्वारा हुने कर्महरुको नाम 'कर्म' नरही 'क्रिया' रहन्छ । ती क्रियाहरुलाई केवल चेष्टा भनिन्छ ।

अर्को कुरा, स्वयंको शरीरसँग जति नै तादात्म्य भए पनि, शरीरसँग स्वयं जति नै घुलमिल गरे पनि र आफूलाई 'कर्ता हुँ' भन्ने स्वयंले जति नै माने पनि स्वयंमा कहिले कर्तृत्व आउँदै  आउँदैन, आउन पनि सक्तैन। किन्तु प्रकृतिसँग तादात्म्य गरेर यो स्वयं आफूमा कर्तृत्व मान्छ, किनकि यसमा कर्तृत्व मान्ने र नमान्ने सामर्थ्य छ, स्वतन्त्रता छ, यसैले यो स्वयं आफूलाई कर्ता पनि मानिदिन्छ र आफूतिर हेर्दा उसलाई आफ्नो अकर्तापनको अनुभव पनि हुन्छ ।यी दुई कुराहरु (आफूमा कर्तृत्व मान्नु र नमान्नु) हुँदा हुँदै पनि स्वयंमा कहिले पनि कर्तृत्व आउँदैन । यही कारण भगवान भन्नुहुन्छ, शरीरमा रहँदा पनि यो स्वयं न गर्छ, न लिप्त नै हुन्छ । भोक्ता त प्रकृतिस्थ (प्रकृतिमा रहेको) पुरुष नै वन्छ । गुणहरुको, क्रियाफलको भोक्ता वन्दा पनि ऊ (स्वयं) वास्तवमा आफ्नो स्वरूपदेखि कहिले पनि तल झर्दैन; तर आफ्नो स्वरूपतिर दृष्टि नरहँदा आफूमा लिप्तताको भाव पैदा हुन्छ । 

पुरुष स्वयं स्वरूपले निर्लिप्त छ; उसमा भोक्तापन छँदै छैन, हुनै सक्तैन, तैपनि सुख-दुःखको भोक्ता त स्वयं पुरुष (चेतन) नै वन्छ । अर्थात् सुखी-दुःखी त स्वयं पुरुष (चेतन) नै हुन्छ, जड हुँदैन । किनकि जडमा सुखी-दुःखी हुने शक्ति र योग्यता छैन । त्यसो भए पुरुषमा भोक्तापन छँदै छैन र सुख-दुःखको भोक्ता पुरुष नै वन्छ -- यी दुई कुरा कसरी भए ? भोग भोग्दा भोगाकार -- सुख-दुःखाकार वनेको वृत्ति प्रकृतिको हुन्छ र प्रकृतिमा नै हुन्छ । तर त्यो वृत्तिसँग तादात्म्य हुँदा सुखी-दुःखी हुनु अर्थात् 'म सुखी छु, म दुःखी छु' भन्ने मान्यता आफूमा स्वयं पुरुष नै गर्छ । किनकि यस्तो मान्यता पुरुष विना हुँदैन अर्थात् यस्तो मान्नु पुरुषमा नै हुन सक्छ, जडमा होइन। यो दृष्टिले पुरुषलाई भोक्ता भनिएको हो । सुखी-दुःखी हुनु आफूमा माने पनि अर्थात् सुखको वेला सुखी र दुःखको वेला दुःखी भन्ने मान्यता आफूमा गरे पनि पुरुष स्वयं आफ्नो स्वरूपले निर्लिप्त र सुख-दुःखको प्रकाशक मात्रै नै रहन्छ । यो दृष्टिले पुरुषमा भोक्तापन छँदै छैन र हुन पनि सक्तैन । कारण एकदेशीयपनले नै भोक्तापन हुन्छ र एकदेशीयपन अहंकारवाट हुन्छ । अहंकार प्रकृतिको कार्य हो प्रकृति जड छ; त्यसैले प्रकृतिको कार्य पनि जड नै हुन्छ अर्थात् भोक्तापन पनि जडमा नै हुन्छ ।यसैले भोक्तापन पुरुष (चेतन) मा छैन । यदि यो पुरुष सुखको वेला सुखी र दुःखको वेला दुःखी हुने भए यसको स्वरूप परिवर्तनशील नै हुने थियो । किनकि सुखको पनि आरम्भ र अन्त हुन्छ तथा दुःखको पनि आरम्भ र अन्त हुन्छ । त्यस्तै यो पुरुष पनि आरम्भ र अन्तवाला हुने थियो । तर यस्तो धारणा विल्कुल नै अनुचित छ । कारण कि गीताले पुरुषलाई अक्षर, अव्यय र निर्लिप्त भनेको छ र तत्वज्ञ पुरुषहरुले यसको स्वरूप एकरस, एकरूप मानेका छन् । यदि यो पुरुषलाई सुखको वेला सुखी र दुःखको वेला दुःखी हुने नै मान्ने हो भने पुरुष सँधै एकरस, एकरूप रहन्छ कसरी भन्ने ?

कर्म गरेको वेला अथवा नगरेको वेला -- दुवै अवस्थाहरुमा स्वरूपमा अकर्तापन जस्ता-को-तस्तै छ । यसैले तत्ववित् पुरुष अनुभव गर्छ, 'कर्म गर्दा पनि म उही थिएँ र कर्म नगर्दा पनि म उही रहें' भने कर्म गर्दा अथवा नगर्दा आफ्नो स्वरूप-(सत्ता)मा के फरक पर्यो ? अर्थात् स्वरूप त अकर्ता नै रह्यो । यस्तो प्रकारले प्रकृतिको परिवर्तनको ज्ञान (अनुभव) त सबैलाई हुन्छ, तर आफ्नो स्वरूपको परिवर्तनको ज्ञान कसैलाई पनि हुँदैन । सम्पूर्ण क्रियाहरुको स्वरूप निर्लिप्तरूपले , आधार र प्रकाशक हो । उसमा कहिले अलिकति मात्र पनि परिवर्तनको सम्भावना छैन । 

स्वरूपमा कहिले अभाव हुँदैन । उसले प्रकृतिसँग राग द्वारा तादात्म्य मान्छ, त्यसपछि उसलाई आफूमा अभावको अनुभव हुन्छ । त्यो अभाव पूर्ति गर्न ऊ पदार्थहरुको कामना गर्न थाल्छ । कामनाको पूर्तिकोलागि उसमा कर्तापन आउँछ; किनकि कामना नभई स्वरूपमा कर्तापन आउँदैन ।

प्रकृतिसँग सम्बन्ध नभई स्वयं कुनै क्रिया गर्न सक्तैन । कारण कि कर्म हुने करणहरु पनि प्रकृतिका नै हुन् । कर्ता करणको अधीन हुन्छ । जति नै सिपालु सुनार भए पनि ऊ हथौडी आदि औजार नभई कुनै क्रिया गर्न सक्तैन । त्यसै गरी कर्ता करणहरु विना कुनै कार्य गर्न सक्तैन । यस्तो किसिमले योग्यता, सामर्थ्य र करण -- यी सबै प्रकृतिमा नै  र प्रकृतिको सम्बन्धले आफूमा भए जस्तो लाग्छन् । यी तीनै घट्ने, वढ्ने गर्छन् र स्वरूप सँधै जस्ता-को-तस्तो रहन्छ । अतः यिनको स्वरूपसँग सम्बन्ध छँदै छैन । 

कर्तापन प्रकृतिको सम्बन्धले छ, यसैले आफूलाई कर्ता मान्नु परधर्म हो । स्वरूपमा कर्तापन छैन, यसैले आफूलाई अकर्ता मान्नु स्वधर्म हो । ब्राह्मण आफ्नो ब्राह्मणपनामा (म ब्राह्मण हुँ)मा निरन्तर स्थित रहे जस्तै तत्ववित् आफ्नो अकर्तापन (स्वधर्म)मा निरन्तर स्थित रहन्छ । 

विवेकशील ज्ञानयोगी पहिले ज्ञानेन्द्रियहरु, कर्मेन्द्रियहरु, अन्तःकरण तथा                       प्राणहरु द्वारा हुने क्रियाहरु गरिरहँदा पनि 'म स्वयं केही पनि गर्दिन' भन्ने मान्छ, त्यसपछि उसलाई त्यस्तै अनुभव हुन्छ । वास्तवमा चिन्मय सत्तामा न गर्नु छ, न हुनु छ ।स्थूल, सूक्ष्म र कारणशरीरवाट हुने सम्पूर्ण क्रियाहरु प्रकृतिमा नै हुन्छन, स्वयंमा होइन ।यही कारण स्वयंको कुनै पनि क्रियासँग सम्बन्ध छैन । 

अविवेकपूर्वक  अहंलाई आफ्नो मानेको अहंकारयुक्त व्यक्ति विवेकपूर्वक आफूलाई अहंदेखि छुट्टै अनुभव गरेपछि 'तत्ववित्' हुन्छ अर्थात् उसमा कर्तृत्व रहँदैन । ऊ निरन्तर चिन्मय तत्वमा नै स्थित रहन्छ । 

अहंकारले मोहित भएर स्वयंले भूलले आफूलाई कर्ता मान्यो र ऊ कर्मसँग तथा ती कर्मको फलसँग बाँधियो र चौरासी लाख योनिमा गयो । अव उसले आफूलाई अहंदेखि अलग मानेर आफूलाई कर्ता नमाने अर्थात् स्वयं वास्तवमा जस्तो छ त्यस्तै अनुभव गरे उसलाई तत्ववित् हुनमा आश्चर्य नै के छ ? तात्पर्य, असत्यलाई सत्य मान्दा त्यो असत्य पनि सत्य जस्तो देखिन लाग्छ भने सत्यलाई सत्य मानेर सत्य नै देखिन लाग्यो भने यसमा आश्चर्य नै के छ र ? 

वास्तवमा स्वयंले आफूलाई कर्ता-भोक्ता मानेको वेला पनि ऊ कर्ता-भोक्ता छैन । कारण, आफ्नो स्वरूप सत्ता मात्रै हो । सत्तामा अहं छैन र अहंको सत्ता छैन । अतः 'म कर्ता हुँ' भन्ने मान्यता जति दृढ भए पनि त्यो भूल नै हो । भूललाई भूल मान्ने वित्तिकै त्यो भूल मेटिन्छ । कुनै गुफाको सयौं वर्षको अन्धकार पनि प्रकाश गर्ने वित्तिकै तत्काल मेटिन्छ, त्यो अन्धकार हट्न धेरै वर्ष लाग्दैन । यसैले साधकले दृढताले यस्तो मान्नु पर्यो, 'म कर्ता होइन' । त्यसपछि यो मान्यता मान्यतारूपले नरहेर अनुभवमा परिणत हुन्छ ।

जड-चेतनको तादात्म्य हुँदा 'म'को प्रयोग जड (तादात्म्यरूप अहम्)कोलागि पनि हुन्छ र चेतन (स्वरूप)कोलागि पनि हुन्छ । जस्तो, 'म कर्ता हुँ' भन्दा जडतर्फ दृष्टि भयो र 'म कर्ता होइन' भन्दा (जडको निषेध हुँदा) चेतनतर्फ दृष्टि भयो । जडतर्फ दृष्टि भएको अर्थात् अहंलाई आफ्नो स्वरूप मान्ने अहंकारी हो र चेतनतिर दृष्टि भएको व्यक्ति तत्ववित् हो ।

साधकले वर्तमानमा 'म स्वयं केही गर्दिन' भनेर स्वयंलाइ अकर्ता अनुभव गर्ने चेष्टा  
गर्दा उसको अगाडि एउटा ठूलो समस्या आउँछ । उसलाई भूतकालमा आफूवाट भएका राम्रा कर्मको सम्झना आऊँदा ऊ प्रसन्न हुन्छ र भन्छ, 'मैले धेरै ठूलो काम गरें, खूव ठीक गरें ।' त्यस्तै, उसलाई आफूले गरेको निषिद्ध कर्मको याद आउँदा ऊ दुःखी हुन्छ र भन्छ, 'मैले धेरै नराम्रो काम गरें, ठूलो गल्ति गरें ।' यसरी भूतकालमा गरिएको कर्महरुको संस्कार उसलाई सुखी-दुःखी गर्छन् । तर स्वरूपमा कर्तापन न वर्तमानमा छ, न भूतकालमा थियो, न भविष्यमा नै हुनेछ । त्यसैले साधकले यो बुझ्नु पर्यो, वर्तमानमा स्वयं अकर्ता भए जस्तै भूतकालमा पनि ऊ अकर्ता नै थियो । किनकि वर्तमान नै भूतकालमा गएको हो । स्वरूप सत्ता मात्रै हो र सत्तामात्रमा केही गर्नु हुनै सक्तैन । कर्म खालि अहंकारले मोहित अन्तःकरण भएका पुरुष द्वारा नै हुन्छन् । साधकलाई भूतकालमा गरिएको कर्महरुको सम्झना आउँदा हुने सुख-दुःख, चिन्ता पनि वास्तवमा अहंकारको कारण नै हो । वर्तमानमा पनि अहंकारसँग आफ्नो सम्बन्ध मानेर नै साधक सुखी-दुःखी हुने हो । अहिले भूतकालको अभाव भए जस्तै भूतकालमा गरिएका कर्मको पनि अहिले अभाव छ । अझ विचार गर्यो भने भूतकालमा वर्तमानको अभाव भए जस्तै भूतकालको पनि अभाव थियो । यसै गरी, वर्तमानमा भूतकालको अभाव भए जस्तै वर्तमानको पनि अभाव छ । परन्तु सत्ताको भाव नित्य-निरन्तर छ । तात्पर्य, सत्तामा भूत, भविष्य र वर्तमान -- तिनैको सर्वथा अभाव छ । अहिले हामीले वर्णन गरिरहेको सत्ता कालदेखि अतीत छ । त्यसैले यो सत्ता कुनै कालमा पनि कर्ता होइन । त्यस्तो कालातीत र अवस्थातीत सत्तामा कुनै कालविशेष र अवस्थाविशेषलाई लिएर कर्तृत्व र भोक्तृत्वको आरोप गर्नु अज्ञान हो । त्यसैले भूतकालमा गरिएका कर्महरुको स्मृति अहंकारीको स्मृति हो, तत्ववित् को होइन ।

साधकको दृष्टि सत्तामा मात्र रहनु पर्छ । त्यो सत्ता चिन्मय भएकोले ज्ञानस्वरूप छ, र निर्विकार हुनाले आनन्दस्वरूप छ । त्यो आनन्द अखण्ड, शान्त, एकरस छ ।                           
शरीरसँग तादात्म्य भएपछि प्रत्येक क्रियामा स्वयंको मुख्यता रहन्छ, 'म हेर्छु, म सुन्छु' भन्ने । क्रिया हुन्छन् शरीरमा, तर मानिन्छन् आफूमा । स्वयंमा कुनै क्रिया छैन, स्वयम् गर्ने र नगर्ने दुवैदेखि रहित छ । यसैले शरीरद्वारा क्रिया हुँदा पनि सत्तामात्र आफ्नो स्वरूपमा दृष्टि रहनु पर्छ, 'म केही पनि गर्दिन ।'  

Gita: Chapter 5: Slok 7: श्लोक ७ सबै इन्द्रियहरु आफ्नो वशमा भएको, अन्तःकरण निर्मल र शरीर आफ्नो वशमा भएको साधकको सम्पूर्ण प्राणीहरुको आत्मा नै उसको

No148 

श्लोक ७ 

सबै इन्द्रियहरु आफ्नो वशमा भएको, अन्तःकरण निर्मल र शरीर आफ्नो वशमा भएको साधकको सम्पूर्ण प्राणीहरुको आत्मा नै उसको आत्मा हुन्छ । यस्तो साधकलाई कर्मयोगी भनिन्छ । यस्तो कर्मयोगी कर्म गरिरहँदा पनि लिप्त हुँदैन ।

इन्द्रियहरु वशमा हुनु भनेको -- हाम्रा इन्द्रियहरु राग-द्वेषदेखि रहित हुनु । राग-द्वेषदेखि रहित भएपछि मनलाई विचलित गराउने शक्ति इन्द्रियहरुम़ा  रहँदैन । साधक आफ्नो मनलाई जहाँ आवश्यक छ, त्यहीं लगाउन सक्छ ।  

कर्मयोगको साधकका इन्द्रियहरु आफ्नो वशमा हुनु धेरै जरूरी छ । यही कारण भगवान कर्मयोगको प्रकरणमा इन्द्रियहरु वशमा गर्नु पर्ने कुरोलाई विशेषरूपले भन्नुहुन्छ । कर्मयोगीको कर्महरुसँग धेरै सम्बन्ध रहन्छ; यसैले इन्द्रियहरु वशमा नभएको कर्मयोगी विचलित हुने सम्भावना रहन्छ । कर्मयोगको साधनमा अरुको हितकोलागि कर्तव्य-कर्म गर्नु पर्छ; यसकोलागि इन्द्रियहरु वशमा हुनु धेरै जरूरी छ । इन्द्रियहरु वशमा नभई कर्मयोगको साधन हुन धेरै गाह्रो छ ।

अन्तःकरणको मलिनतामा हेतु हो -- सांसारिक पदार्थहरुको महत्व । कामनाहरु रहने ठाउँ नै पदार्थहरुको महत्व भएको स्थानमा हो । साधकको अन्तःकरणमा सांसारिक पदार्थहरुको अलिकति मात्रै पनि महत्व नरहे ऊ निष्काम भइहाल्छ । पदार्थहरुको महत्व रहुन्जेल साधक कहिले पनि निष्काम हुन सक्तैन ।

परमात्मप्राप्तिको दृढ उद्देश्य भयो भने अन्तःकरणको चांडै शुद्धि हुन्छ । कर्मयोगमा शरीरको सुख-आराम त्याग्नु पर्ने ठूलो अवश्यकता छ । शरीरमा आलस्य, प्रमाद छ भने कर्मयोगको अनुष्ठान हुन पाउँदैन । यसैले यहाँ भगवानले शरीर वशमा गर्ने कुरो भन्नुभयो ।

कर्मयोगीलाई सम्पूर्ण प्राणीहरुसँग आफ्नो एकताको अनुभव हुन्छ । आफ्नो शरीरको कुनै अंगमा चोट लाग्दा अर्को अंग त्यो अंगको सेवा गर्न सजिलैसँग, कुनै अभिमान नगरी, कुनै कृतज्ञताको आशा नगरी आफैं लाग्छ, त्यस्तै कर्मयोगीद्वारा अरुलाई सुख पुर्याउने कोशीश सहजभावले, कुनै अभिमान र कामना विना, कृतज्ञताको अपेक्षा नै नगरी आफैं हुन्छ । उसले सेवा गर्दा कुनै पनि प्राणीलाई आफू भन्दा छुट्टै नै ठान्दैन, आफ्नो नै अंग मान्छ ।

आफ्नो शरीरमा भिन्न भिन्न अवयवमा भिन्न भिन्न व्यवहार भए पनि सबै अवयवसँग आफ्नोपन एउटा नै रहन्छ । त्यस्तै कर्मयोगी द्वारा मर्यादा अनुसार संसारमा यथायोग्य भिन्न-भिन्न व्यवहार हुँदा पनि सवैसँगको आत्मीयता समान रहन्छ । 

आफ्नो राग मेटाउन सबै प्राणीहरुसँग आफ्नो एकता मान्न धेरै जरूरी छ । कर्मयोगीको स्वभाव नै उदार हुन्छ । सबै प्राणीहरुसँग एकता नमानी उदारता आउँदैन हामीमा ।

हामी क्रिया र पदार्थसँग निरन्तर रहन सक्तैनौं । कारण कि क्रिया र पदार्थमा निरन्तर परिवर्तन हुन्छ, तर हामीमा (स्वरूप) कहिले परिवर्तन हुँदैन । यसै हुनाले क्रिया र पदार्थले निरन्तर हाम्रो त्याग गरिरहेछन् । हामी पनि यी पदार्थ र क्रियाको त्यागवाट नै मुक्ति पाउन सक्छौं, परमशान्ति पाउन सक्छौं । यी पदार्थ र क्रियासँग रहेर हामी मुक्ति, परमशान्ति पाउन सक्तैनौं, किनकि यिनीहरुसँग सँधै रहने स्वभाव हाम्रो होइन र यिनीहरुको स्वभाव पनि हामीसँग सँधै रहने होइन । यसैले क्रिया र पदार्थलाई अरुको सेवामा लगाउने हो । अरुको सेवामा हामीसँग भएका पदार्थ र क्रिया लगाऊँदा हामीले कुनै ठूलो काम गरेका होइनौं, यसो गर्नु त हाम्रो वास्तविकता हो, यो काम त हामीले गर्नै पर्छ । वास्तविकता सहज हुन्छ, यसमा परिश्रम र अभिमान हुँदैन ।अवस्ताविकतामा नै परिश्रम र अभिमान हुन्छ । 

हामीमा उदारता आएपछि नै क्रिया र पदार्थ अरुको सेवामा लाग्न सक्छन् । यहाँ ध्यान दिनुपर्ने कुरा -- उदारता हाम्रो स्वरूप हो । यसैले उदारतामा धन पनि खर्च गर्नु पर्दैन, परिश्रम पनि गर्नु पर्दैन । खालि यत्ति हो, सुखी व्यक्तिलाई देख्दा हामी सुखी हुनु पर्यो, दुःखीलाई देखेर हामी करुणित, दुःखी हुनु पर्यो । हृदयमा यस्तो करुणा उठ्नु पर्यो, 'यो व्यक्ति कसरी सुखी होला ?' सुखीलाई देख्दा सबै सुखी होऊन् भन्ने भाव हुनु पर्यो र दुःखीलाई देख्दा कसैलाई पनि दुःख नपरोस् भन्ने भाव हुनु पर्यो । 
                                     
भगवान भोग र संग्रहलाई साधनमा वाधा भन्नुहुन्छ । सुखीलाई देखेर प्रसन्न भइयो भने भोग भोग्ने इच्छा मेटिन्छ, किनकि भोग भोग्दा पाइने सुख भन्दा अरुलाई सुखी देखेर वढी मिल्छ, त्यसपछि भोग भोग्ने आवश्यकता हामीलाई रहँदैन । दुःखीलाई देखेर दुःखी हुँदा संग्रह गर्ने इच्छा हट्छ, किनकि आफ्नो दुःख हटाउन गरिने वस्तुहरुको संग्रह र खर्च स्वतः अरुको सेवामा दुःख हटाउनमा उपयोग हुन्छन् । आफूलाई  कुनै दुःख आइपर्दा त्यो दुःख हटाउने चेष्टा गरिए जस्तै अरुलाई दुःखी देख्दा आफ्नो शक्ति अनुसार उसको दुःख हटाउने चेष्टा आफैं हुन थाल्छ । 

प्रसन्नता र करुणामा विलक्षण रस छ । त्यो रस क्रिया र पदार्थसँग सम्बन्ध-विच्छेद गरेर जीवलाई परमात्मस्वरूप नित्य रससँग अभिन्न गराइदिन्छ । 

इन्द्रियहरु वशमा गरिएको, अन्तःकरण शुद्ध भएको, शरीर आफ्नो वशमा रहेको, र सम्पूर्ण प्राणीहरुको आत्मा नै आफ्नो आत्मा मान्ने व्यक्तिलाइ कर्मयोगी भनिन्छ ।    

साधनमा हाम्रो स्वाभाविक प्रवृत्ति नहुनुमा एउटा कारण हो -- उद्देश्य र रुचिमा भिन्नता । अन्तःकरणमा संसारको महत्व रहुन्जेल उद्देश्य र रुचिको संघर्ष हट्दैन । उद्देश्य अविनाशी परमात्माको हुन्छ र रुचि नाशवान् संसारको प्राणी, पदार्थ, परिस्थितिको हुन्छ । उद्देश्य र रुचि अभिन्न भएपछि मात्रै साधनले  आफैं रफ्तार लिन थाल्छ । यहाँ वर्णन गरिएको कर्मयोगीको उद्देश्य र रुचि अभिन्न हुन्छ अर्थात् उद्देश्य र रुचि अभिन्न भएको व्यक्ति परमात्मा नै हुन्छ । 

उत्पन्न र नष्ट हुने फल अलिकति मात्रै नचाहे कर्मयोग हुन्छ । फल र उद्देश्य दुवै भिन्न भिन्न हुन्छन् । कर्मयोगीमा फलको इच्छा त हुँदैन, तर उद्देश्य अवश्य हुन्छ ।कर्मयोगीको उद्देश्य सबैलाई प्राप्त हुने र सँधै सँगै रहने हुन्छ । यो दृष्टिले उसको उद्देश्य सँधै परमात्माको नै हुन्छ । परमात्मतत्व कुनै कर्म, अभ्यास आदिको फल होइन । फल उत्पन्न र नष्ट हुने वस्तु कर्मयोगी खोज्दै खोज्दैन, किनकि तिनीहरुप्रतिको चाहना परमात्मप्राप्तिमा वाधक हो । खालि परमात्माको उद्देश्य भएकोले कर्मयोगीलाई 'योगयुक्त' भनिन्छ ।

कर्मयोगी कर्म गरिरहँदा पनि कर्महरुसँग वाँधिंदैन । कर्मको बन्धनमा हेतु हो -- कर्महरुमा ममता, कर्महरुको फलको इच्छा, कर्मजन्य सुखको इच्छा तथा त्यो सुखको भोग र कर्तृत्वाभिमान । छोटोमा भन्नु पर्दा, कर्महरुवाट केही न केही पाउने इच्छा नै बन्धनको कारण हो । केही पनि पाउने इच्छा नभएकोले नै कर्मयोगी कर्म गरिरहँदा पनि बाँधिंदैन अर्थात् उसका समस्त कर्म अकर्म हुन्छन् ।

सांख्ययोगी 'गुणहरु नै गुणहरुमा व्यवहार गरिरहेछन्' भन्ने मानेर कर्महरुदेखि बाँधिंदैन, तर कर्मयोगी परहितकोलागि कर्म गरिरहँदा पनि कर्महरुदेखि बाँधिंदैन । खालि अरुकोलागि कर्म गरिंदा उसको कर्म पनि 'गुण नै गुणहरुमा व्यवहार गरिरहेछन्' जस्तै हुन्छन् । 

कर्मयोगी कर्म गर्दा निर्लिप्त त छ नै, कर्म नगर्दा पनि निर्लिप्त छ । उसलाई कर्म गर्नु र नगर्नुमा कुनै प्रयोजन रहँदैन । ऊ सँधै निर्लिप्त रहन्छ । 

सांख्ययोगी जडता त्यागेर चिन्मयतासँग आफ्नो एकता मान्छ र कर्मयोगी आफ्नो भनिने शरीर, मन, बुद्धि र तिनका क्रियाहरुलाई आफ्नो नमानेर केवल संसारको र संसारकोलागि मात्रै मान्छ ।  पदार्थ, मन, बुद्धि आदिलाई र तिनका क्रियाहरुलाई आफ्नो मान्दै नमानेर संसारको मात्रै मानेपछि ऊ द्वारा कसैको हित भयो भने, कसैलाई सुख पुग्यो भने, कसैको उपकार भयो भने ऊ 'मैले गरें' 'मवाट यस्तो भयो' भन्ने मान्दैन । यसैले ऊ कर्म गरिरहँदा कर्ता हुँदैन अर्थात् कर्महरुदेखि लिप्त हुँदैन ।

शरीर, इन्द्रियहरु, र अन्तःकरणसँग सम्बन्ध-विच्छेद भएको कारण कर्मयोगीलाई सम्पूर्ण प्राणीहरुसँग आफ्नो एकताको अनुभव हुन्छ । त्यसो हुनाले उसमा कर्तापन रहँदैन । कर्तापन नरहेपछि ऊ द्वारा हुने कर्म बन्धनकारक हुँदैनन् । 

Gita: Chapter 5: Slok 6: श्लोक ६ तर हे महावाहो ! कर्मयोग विना सांख्ययोग सिद्ध हुन गाहारो छ ।

No147

श्लोक ६ 

तर हे महावाहो ! कर्मयोग विना सांख्ययोग सिद्ध हुन गाहारो छ । मननशील व्यक्तिले शीघ्र नै ब्रह्म पाउँछ । 

सांख्ययोगको सफलताकोलागि कर्मयोगको साधन आवश्यक छ; किनकि कर्मयोगको आचरण नगरी सांख्ययोगको साधन गाहारो हुन्छ । परन्तु कर्मयोग सिद्ध हुन सांख्ययोगको साधन गर्ने आवश्यकता पर्दैन ।

सांख्ययोगको लक्ष परमात्मतत्वको अनुभव गराउनु हो । तर अन्तःकरणमा राग हुँदा हुँदै परमात्मतत्वको अनुभव हुने कुरा त के गर्नु, यो साधन बुझ्न पनि गाहारो छ । 

राग मेटिने सजिलो उपाय हो -- कर्मयोगको अनुष्ठान गर्नु । कर्मयोगमा प्रत्येक क्रिया अरुको हितकोलागि नै गरिन्छ । हामीमा अरुको हितको भाव मात्रै भयो भने हाम्रो राग स्वतः घट्छ । यसैले कर्मयोगको आचरण द्वारा राग मेटिएपछि मात्रै सांख्ययोगको साधन गर्न सजिलो हुन्छ । कर्मयोगको साधन नगरी सांख्ययोग सिद्ध हुँदै हुँदैन ।

आफ्नो निष्कामभावको र अरुको हितको विचार गर्ने कर्मयोगीलाई यो श्लोकमा मुनि भनिएको छ । 
           
कर्मयोगी व्यक्ति सानो या ठूलो, हरेक क्रिया गर्दा 'मेरो कर्म निष्काम छ कि सकाम छ' भन्ने विचार गरिरहन्छ । आफूमा सकाम भाव आएको थाहा हुने वित्तिकै ऊ त्यो भावलाई हटाई दिन्छ, किनकि सकामभाव आउने वित्तिकै त्यो क्रिया आफ्नो र आफ़्नोलागि भइदिन्छ । अरुको हित कसरी होला भन्ने विचार गर्दा पनि कर्मयोगीको राग सजिलोसँग मेटिई रहेको हुन्छ । 

यो कुरावाट भगवान कर्मयोगीको विशेषता वताइरहनु भएको छ, साथै यो पनि भनिरहनु भएको छ, कर्मयोगी चांडै नै परमात्मतत्व प्राप्त गर्छ । भगवानकै अनुसार परमात्मतत्वको प्राप्तिमा ढिलाइको एउटा मात्र कारण संसारप्रतिको हाम्रो आकर्षण हो । निष्कामभावपूर्वक खालि अरुको हितकोलागि कर्म गरि रहे कर्मयोगीको सबै रागको नाश हुन्छ र स्वतःसिद्ध परमात्मतत्वको अनुभूति हुन्छ ।यही आशयलाई भगवानले चौथो अध्यायमा वताउनु भयो, 'योग संसिद्ध हुने वित्तिकै तत्वज्ञानको प्राप्ति हुन्छ ।' यो कर्मयोगको साधनमा अरु साधनको जरुरत हुँदैन । यो योगको सिद्धिमा कुनै कठिनाइ अथवा ढिलाइ हुँदैन ।

अर्को कारण, देहधारी -- देहाभिमानी मनुष्य सम्पूर्ण कर्म त्याग गर्न सक्तैन, तर कर्मफलको त्याग चाहिं गर्न सकिन्छ, त्यसैले कर्मफलको त्याग गर्ने व्यक्तिलाई नै साँचो त्यागी भनिन्छ गीता अनुसार । अर्को शब्दमा, देहधारी मनुष्य  कर्महरुको त्याग त गर्न सक्तैन, तर कर्मफलको त्याग चाहिं गर्न सक्छ । यही कारण, कर्मयोग आचरणमा ल्याउन सजिलो छ । 

कर्मयोगको महिमाको प्रसंगमा भगवान अझ भन्नुहुन्छ, कर्मयोगीलाई तत्कालै शान्ति मिल्छ, त्यस्तो कर्मयोगी संसारबन्धनदेखि सुखपूर्वक मुक्त हुन्छ ।त्यसैले कर्मयोगको साधन सुगम, चांडै सिद्धि दिने र अरु कुनै साधन विना परमात्मप्राप्ति गराउने स्वतन्त्र साधन हो ।                        

xx 
गीतामा युद्ध हुने प्रसंग चाहिं एउटा मात्रै छ -- त्यो हो आफ्ना कुलका वन्धु- वान्धवप्रतिको अर्जुनको मोह । हामी सबैलाई थाहा छ, अर्जुन कुशल योद्धा हुन् । उनले आफ्ना गुरु द्रोणाचार्यवाट धनुर्विद्या प्राप्त गरे, भगवान शिववाट पनि अरु धनुर्विद्या सिके । उनले द्रौपदीसँग विवाह हुनु भन्दा पहिले नै आफ्नो युद्ध कुशलता द्वारा गुरु द्रोणाचार्यको इच्छा पूरा गर्न राजा द्रुपदसँग युद्ध गरेर द्रोणाचार्यलाई द्रुपद्को आधा राज्य दिलाइदिएका थिए । यो कुरावाट सिद्ध हुन्छ, अर्जुनले कातर भएर महाभारतको युद्धवाट पलायन हुन खोजेका होइनन् । 

महाभारतको प्रसङ्गमा गीताको उपदेश जोडिनुको कारण -- अर्जुनलाई गीता सुन्नु भन्दा भगवानलाई नै गीता भन्नु थियो भन्छन् सन्तहरु । अर्जुन कुशल योद्धा थिए, उनलाई आफ्नो निरन्तरको सफलतामा अहंकार थियो । अर्जुनमा दैवी सम्पत्तिहरू प्रचुर मात्रामा थिए, तर उनको अहंकार नै उनमा मोह पैदा गर्न पर्याप्त भयो ।  गीतामा प्रसंग आउँछ, अर्जुन युद्धको मैदानमा अस्त्र-शस्त्रले सुसज्जित भएर, निकै उत्साहित हुँदै कुरुक्षेत्रको युद्धभूमिमा आए । त्यो वेला उनी युद्धकोलागि पूर्ण कटिवद्ध थिए । 

भगवानप्रतिको भक्तिको कारणले नै  उनले भगवानको विशाल नारायणी सेना त्यागेर निःशस्त्र भगवानको मदत मागेका थिए महाभारत युद्धकोलागि । गीताको प्रसंग महाभारतको युद्धको मात्रै होइन, मानव चरित्रको पूरा विश्लेषण पनि हो । यो युद्ध प्रतीकात्मक पनि हो, दैवी र आसुरी सम्पत्तिको संघर्ष पनि हो मनुष्यको अन्तरहृदयमा । यही दैवी सम्पत्तिलाई सकारात्मक सोच र आसुरी सम्पत्तिलाई नकारात्मक सोच पनि भन्छौं हामी । नकारात्मक सोचले हाम्रो पतन गर्छ, सकारात्मक सोचले उत्थान । यस्ता किसिमका नकारात्मक सोच आउनुको कारण पत्ता लगाएर यस्ता सोच हटाउनु र सकारात्मक सोच वनाउने कला सिकाउने शास्त्रको नाम नै हो गीता ।

मैले हजुरहरुलाई वारम्वार निवेदन गरिरहेको छु, गीता हामीले ठानेको जस्तो धर्म गर्न सिकाउने ग्रन्थ होइन, यो ग्रन्थले हामीलाई हाम्रा आफ्ना नकारात्मक विचार हटाएर सकारात्मक सोच द्वारा मानसिक उर्जाको विकास गरेर आफूले आफूलाई पूर्ण सन्तुष्ट राखेर, आफ्नो क्षमता भन्दा परको साधन र स्रोत विना नै आफूमा भएको साधन र स्रोतलाई पूर्ण उपयोग गरेर सुखमय, शान्तिमय जीवन वाँच्न सिकाउँछ । अर्को कुरा, यो गीताको ज्ञानले हामीलाई आफ्नो आत्मवल पूर्णरूपमा प्रस्फुटित गर्न सिकाउँछ । यहाँका  सम्पूर्ण शब्दका अर्थहरू, सबै concept हरु बुझेर, ती concept हरुलाई आफ्नो जीवनमा उतार्ने कलाहरु सिकाउंदै एउटा सन्तुष्ट साधुको, Three Questions मा चित्रण गरिएको hermit को जीवन विताउन सिकाउँछ मैले अध्ययन गरिरहेको गीताले । खालि भौतिक सुख-सुविधाले नै सबै सुख पाइन्छ भन्ने हाम्रो साधारण सोचलाई challenge गर्छ यो ग्रन्थ । मेरो आफ्नो अनुभव अनुसार, मैले वारम्वार गीताको अध्ययन गरिरहने क्रममा, मेरो समझमा आउने अर्थको पनि वेला वेलामा नयाँ नयाँ अर्थ लागिरहन्छ, म अचम्ममा पर्छु, 'यो शब्दको अर्थ मेरो दिमागमा पहिले नै किन चढ़ेन भनेर' ।     
      
मैले नै यहाँ प्रयोग गरेको 'धर्म'को वारे हजुरहरुलाई केही भन्न मन लाग्यो । धर्म के हो हो भन्ने कुराको व्याख्या हाम्रो सोचको हैसियतले गर्छ । कसैको सोचले यसलाई आफ्नो घरमा राखेको देवतालाई मात्रै विहान-वेलुकी पूजा गर्ने र वांकी समयमा जे गरे पनि हुने भन्ने व्याख्या गर्छ । कसैको सोचले मूर्तिको पूजा गर्ने होइन, जीवित प्राणीको नै सेवा गर्ने भन्ने सिकाउँछ । यस्तै, यस्तै, हामी सबैका धर्मका परिभाषा विल्कुल अलग छन् । यो हिसावले, हामीवाट परिभाषित 'धर्म'ले हाम्रो सोचलाई विभाजन गर्छ, जति जति विभाजन, उति उति झगडा, उति उति संघर्ष । तर मेरो अध्ययनले भन्छ, हामीवाट हुने, सोच, कर्म, वोली र व्यवहारले कसैको हृदयमा चोट पर्छ भने त्यो 'धर्म' नै होइन । धर्मले कसैलाई फुटाउन होइन, जुटाउन सिकाउँछ, अपूर्णतावाट पूर्णतातिर जान सिकाउँछ, किनभने पूर्णतामा नै आनन्द छ, पूर्णतामा नै शान्ति छ ।          

अहिलेलाई यत्ति, अरु पछि ।