Saturday, 10 January 2015

No. 238 श्लोक ४ हे देहधारीहरुमा श्रेष्ठ अर्जुन ! क्षर भाव अर्थात् नाशवान् पदार्थ अधिभूत हो, पुरुष अर्थात्

No. 238

श्लोक ४ 

हे देहधारीहरुमा श्रेष्ठ अर्जुन ! क्षर भाव अर्थात् नाशवान् पदार्थ अधिभूत हो, पुरुष अर्थात् हिरण्यगर्भ ब्रह्मा अधिदैव हो र यो देहमा (अन्तर्यामी रुपले) म नै अधियज्ञ हुँ । 

'अधिभूतं क्षरो भावः' -- पृथ्वी, जल, तेज वायु र आकाश -- यी पन्चमहाभूतहरुले वनेको प्रतिक्षण परिवर्तनशील र नाशवान् सृष्टिलाई अधिभूत भन्छन् । 

पुरुषश्चाधिदैवतम्' -- यहाँ 'अधिदैवतः' (अधिदैव) पद आदिपुरुष हिरण्यगर्भ ब्रह्माको वाचक हो । महासर्गको आदिमा भगवानको संकल्पले सब भन्दा पहिले ब्रह्माजी प्रकट हुनु हुन्छ र फेरि उहाँ नै सर्गको आदिमा सबै सृष्टिको रचना गर्नुहुन्छ । 

'अधियज्ञोहमेवात्र देहे देहभृताम्वर ' -- हे देहधारीहरुमा श्रेष्ठ अर्जुन ! यो देहमा अधियज्ञ म नै हुँ अर्थात् यो मनुष्यशरीरमा अन्तर्यामीरूपले म नै छु । भगवानले गीतामा 'हृदि सर्वस्य विष्ठितम्', 'सर्वस्य चाहं हृदि सन्निविष्ट:', ईश्वर: सर्वभूतानाम् हृद्देशेर्जुंन तिष्ठति' आदिमा आफूलाई अन्तर्यामीरुपले सबैको हृदयमा विराजमान वताउनु भएको छ ।

'अहमेव अत्र देहे' भन्नुको तात्पर्य हो, अरु योनिहरुमा त पूर्वकृत कर्महरुको भोग हुन्छ, नयाँ कर्म हुँदैन, तर यो मनुष्यशरीरमा नयाँ कर्म पनि वन्छन् । ती कर्महरुका प्रेरक भगवान हुनुहुन्छ । मनुष्यले राग-द्वेष गरेन भने उसका सबै कर्म भगवानको प्रेरणा अनुसार शुद्ध हुन्छन् अर्थात् बन्धनकारक हुँदैनन् र यदि मनुष्य राग-द्वेषको कारण भगवानको प्रेरणा अनुसार कर्म गर्दैन भने उसका कर्म बन्धनकारक हुन्छन् । कारण, राग-द्वेष मनुष्यका महान् शत्रु हुन् । तात्पर्य, भगवानको प्रेरणाले निषिद्ध कर्म हुँदै हुँदैन । श्रुति र स्मृति भगवानको आज्ञा हो । अतः भगवान श्रुति र स्मृति विरुद्ध प्रेरणा कसरी गर्नुहुन्छ ? निषिद्ध-कर्म मनुष्य कामनाको वशीभूत भएर नै गर्छ । मनुष्य कामनाको वशीभूत भएन भने ऊवाट स्वाभाविक नै विहित कर्म हुनेछन् । यही कर्मलाई गीतामा सहज, स्वभावनियत कर्म नामले भनिएको छ ।

यहाँ अर्जुनलाई 'देहभृताम्वर' भन्नुको तात्पर्य हो, 'यो देहमा परमात्मा हुनुहुन्छ' भन्ने जान्ने मनुष्य नै देहाधारीहरुमा श्रेष्ठ हो । यस्तो ज्ञान भएन भने पनि यस्तो मान्नु पर्छ, स्थूल, सूक्ष्म र कारणशरीरको कण-कणमा परमात्मा हुनुहुन्छ र उहाँको अनुभव गर्नु नै मनुष्य-जन्मको खास ध्येय हो । यो ध्येयको सिद्धिकोलागि परमात्मा को आज्ञा अनुसार नै काम गर्ने हो ।

ब्रह्म, अध्यात्म, कर्म, अधिभूत, अधिदैव र अधियज्ञको कुरा बुझ्न जलको दृष्टान्त दिइन्छ । आकाश सफा हुँदा सूर्य र हाम्रो वीचमा कुनै पदार्थ देखिएन भने पनि वास्तवमा त्यहाँ परमाणुरूपले जल तत्व रहन्छ । त्यही जल-तत्व वाफ वन्छ र वाफको वशीभूत भएर वाद ल वन्छ । वादलमा भएका जल कणहरु मिलेर थोपाहरु वन्छन् । ती थोपाहरुमा चिसोको संयोगले घनता आउँदा तिनै थोपाहरु वरफ वन्छन् -- वरफ जल तत्वको स्थूल रुप हो । यसै गरी निर्गुण-निराकार ब्रह्म परमात्माको जल-तत्व हो, 'अधियज्ञ' (व्यापक विष्णु) वाफरूपले जल हो; 'अधिदैव' (हिरण्यगर्भ ब्रह्मा) वादलरूपले जल हो, 'अध्यात्म' (अनन्त जीव) थोपा रूपले जल हुन्, 'कर्म' (सृष्टि-रचनारूप कर्म) वर्षाको क्रिया हो र 'अधिभूत (समस्त भौतिक सृष्टि) वरफरूपले जल हुन् ।  

यो वर्णनको तात्पर्य, यौटै जल परमाणु, वाफ, वादल, वर्षाको क्रिया, थोपाहरु र वरफका भिन्न-भिन्न देखिए पनि वास्तवमा एउटा नै हुन् । यसै गरी यौटै परमात्मतत्व ब्रह्म, अध्यात्म, कर्म, अधिभूत, अधिदैव र अधियज्ञको रूपमा भिन्न-भिन्न प्रतीत हुँदा पनि तत्वतः एउटा नै हुन् । यसैलाई सातौँ अध्यायमा 'समग्रम्' र 'वासुदेवः सर्वम्' भनिएको छ ।

तात्विक दृष्टिले सबै वासुदेव नै हो । यसमा पनि विवेक दृष्टिले हेर्दा, शरीर-शरीरी, प्रकृति-पुरुष -- यसरी दुई भेद हुन्छन् । उपासनाको दृष्टिले हेर्दा उपास्य (परमात्मा), उपासक (जीव) र त्याज्य (प्रकृतिको कार्य-संसार) -- यी तीन भेद हुन्छन् । यी तीनैलाई बुझ्न यहाँ यिनीहरुको छ भेद गरिएका हुन् ।    

परमत्माका दुई भेद -- ब्रह्म (निर्गुण) र अधियज्ञ (सगुण) 

जीवका दुई भेद -- अध्यात्म (सामान्य वद्ध जीव) र अधिदैव (कारक, मुक्त पुरुष) ।

संसारका  दुई भेद -- कर्म (परिवर्तनको पुञ्ज) र अधिभूत (पदार्थ)     

संसारभरी परमात्मा व्याप्त हुनुहुन्छ -- 'मया ततमिदम् सर्वम्', 'येन सर्वमिदं ततम्'; सबै परमात्मा  नै हुनुहुन्छ -- 'वसुदेवः सर्वम्'; सबै संसार परमात्माको हो -- 'अहं हि सर्वयज्ञानाम् भोक्ता च प्रभुरेव च', 'भोक्तारं यज्ञतपसाम् सर्वलोक महेश्वरम्' -- यसरी गीतामा भगवानका तरह तरहका वचनहरु आउँछन् । यी सबैको सामन्जस्य कसरी गर्ने ? सबैको संगति कसरी वस्ने ? यसमा विचार गरिन्छ ।

संसारमा परमात्मप्राप्तिकोलागि आफ्नो कल्याणकोलागि साधना गर्ने सबै साधक संसारवाट छुट्न र परमात्मा पाउन चाहन्छन् । कारण, संसारसँग सम्बन्ध राख्दा सँधै रहने शान्ति र सुख मिल्न सक्तैन, उल्टो अशान्ति र दुःख नै पाइरहिन्छ -- यस्तो सबै मनुष्यको प्रत्यक्ष अनुभव छ ।  परमात्मा अनन्त आनन्दको स्वरूप हुनुहुन्छ, त्यहाँ दुःखको लेश पनि छैन -- यस्तो शास्त्रहरूको कथन छ र सन्तहरुको अनुभव छ । 

अव विचार गर्नु पर्यो, साधकलाई संसार र प्रत्यक्षरूपले देखिन्छ र परमात्मालाई ऊ मान्छ मात्रै, किनकि परमात्मा प्रत्यक्ष देखिनु हुन्न । शास्त्र र सन्त भन्छन् कि 'संसारमा परमात्मा हुनुहुन्छ र परमात्मामा संसार छ' भन्ने मानेर साधन गर्छ । त्यो साधनामा संसारको मुख्यता रहुन्जेल परमात्माको मान्यता गौण रहन्छ । साधन गर्दा गर्दा जति-जति परमात्माको धारणा (मान्यता) मुख्य हुँदै जान्छ, त्यति त्यति संसारको धारणा (मान्यता) गौण हुँदै जान्छ | परमात्माको धारणा पूर्णतया मुख्य भएपछि साधकलाई यो स्पष्ट देखिन थाल्छ, संसार पहिले थिएन र पछि पनि रहने छैन तथा वर्तमानमा 'छ' रूपले देखिएको संसार पनि प्रतिक्षण अभावमा गइरहेछ । संसार नहुँदा पनि परमात्मा हुनुहुन्थ्यो, संसार नरहेपछि पनि परमात्मा रहनुहुनेछ र वर्तमानमा संसार प्रतिक्षण अभावमा गइरहँदा पनि परमात्मा जस्ता-को-तस्तो विद्यमान हुनुहुन्छ । तात्पर्य, संसारको सँधै अभाव छ र परमात्माको सँधै भाव छ । यसरी संसारको स्वतन्त्र सत्ताको अभाव भएपछि सत्यस्वरूपले 'सबै परमात्मा नै हुनुहुन्छ' भन्ने वास्तविक अनुभव हुन्छ । यसो भएपछि साधक सिद्ध हुन्छ । कारण, संसारमा परमात्मा हुनुहुन्छ र परमात्मामा संसार छ' भन्ने मान्यता संसारको सत्ता मान्दा नै हुन्थ्यो र संसारको सत्ता साधकको रागले गर्दा नै देखिन्थ्यो ।तत्वतः सबै परमात्मा नै हो ।                                                   

No. 237 अव आठौँ अध्याय शुरु हुन्छ । श्लोक १, २, श्लोक ३ हे पुरुषोत्तम ! त्यो ब्रह्म के हो ? अध्यात्म के हो ? कर्म के हो ? अ

No. 237 

अव आठौँ अध्याय शुरु हुन्छ ।

अर्जुनले भने 

श्लोक १, २ 

हे पुरुषोत्तम ! त्यो ब्रह्म के हो ? अध्यात्म के हो ? कर्म के हो ? अधिभूत कसलाई भनिएको छ ? र अधिदैव कसलाई भनिन्छ ? यहाँ अधियज्ञ को हो ? र (त्यो अधियज्ञ) यो देहमा कसरी छ ? हे मधुसूदन ! वशीभूत अन्तःकरण भएको मनुष्यले हजुर अन्तकालमा कसरी जानिनु हुन्छ ?
       
'पुरुषोत्तम किं तदब्रह्म' -- हे पुरुषोत्तम ! यो ब्रह्म के हो अर्थात् 'ब्रह्म' शब्दले के बुझ्नु पर्छ ?

'किमध्यात्मम्' -- 'अध्यात्म' शब्दले हजुरको के अभिप्राय हो ? 

'किं कर्म' -- कर्म के हो अर्थात् 'कर्म' शब्दसँग हजुरको के भाव छ ?

'अधिभूतम् च किं प्रोक्तम्' -- हजुरले भन्नुभएको 'अधिभूत' शब्दको तात्पर्य के हो ?

'अधिदैवं किमुच्यते' -- 'अधिदैव' कसलाई भन्छन् ? 

'अधियज्ञ कथं कोत्र देहेस्मिन्' -- यो प्रकरणमा 'अधियज्ञ शब्दले कसलाई लिने ? यो 'अधियज्ञ' यो देहमा कसरी छ ? 

'मधुसूदन प्रयाण काले च कथं ज्ञेयोसि नियतात्मभिः -- हे मधुसूदन ! वशीभूत अन्तःकरण भएका अर्थात् संसारवाट सर्वथा हटेर अनन्यभावले केवल हजुरमा नै लागेका व्यक्तिहरु द्वारा अन्तकालमा हजुर कसरी जानिनु हुन्छ ? अर्थात् उनीहरु हजुरको कुन रुप जान्दछन् र कुन प्रकारले जान्दछन ? 

श्रीभगवानले भन्नुभयो 

श्लोक ३ 

परम अक्षर ब्रह्म हो (र) परा प्रकृति (जीव)लाई अध्यात्म भन्छन् । प्राणीहरुको सत्ता प्रकट गर्ने त्यागलाई कर्म भनिन्छ । 

'अक्षरं ब्रह्म परमम्' -- परम अक्षरको नाम ब्रह्म हो । गीतामा 'ब्रह्म' शब्द प्रणव, वेद, प्रकृतिको पनि वाचक हो, तैपनि यहाँ 'ब्रह्म' शब्दसँग 'परम' र 'अक्षर' विशेषण दिंदा यो शब्द सवोपरि, सच्चिदानन्दघन, अविनाशी, निर्गुण-निराकार परमात्माको वाचक हो । 

'स्वभावोध्यात्ममुच्यते' -- त्यसो त आत्मालाई लिएर गरिने वर्णन पनि अध्यात्म हो; अध्यात्म मार्गमा भएको मार्गको वर्णन पनि अध्यात्म हो र यो आत्माको विद्या पनि अध्यात्म हो । परन्तु यहाँ 'स्वभाव' विशेषणसँगको 'अध्यात्म' शब्द आत्माको अर्थात् जीवको हुनुपनाको (स्वरूपको) वाचक हो । 
   
भूतभावोदभवकरो विसर्गः कर्मसंगितः' -- देखिनमा आउने स्थावर-जंगम समस्त प्राणीहरु उनीहरुको भाव अथवा हुनुपनालाई प्रकट गर्ने विसर्ग अथवा त्यागलाई कर्म भन्छन् । 

महाप्रलयमा प्रकृतिको अकृय अवस्था हुन्छ तथा महासर्गमा प्रकृतिको सकृय अवस्था हुन्छ । यो सकृय अवस्थाको कारणले भगवानको संकल्प हो, 'म एउटा नै धेरै रुपहरु होउँ। ' यही संकल्पले सृष्टिको रचना हुन्छ । तात्पर्य हो, महाप्रलयमा अहंकार र संचित कर्महरु सहित प्राणीहरु प्रकृतिमा लीन हुन्छन् र ती प्राणीहरु सहित प्रकृति एक किसिमले परमात्मामा लीन हुन्छ । त्यो लीन भएको प्रकृतिलाई विशेष क्रियाशील गर्न केही अघि वर्णित भगवानको संकल्प नै विसर्ग अर्थात् त्याग हो । भगवानको यो संकल्प नै कर्महरुको आरम्भ हो । यही आरम्भवाट नै प्राणीहरुको कर्म-परम्परा चल्छ । कारण, महाप्रलयमा प्राणीहरुको कर्महरु  वन्दैनन्, त्यसमा प्राणीहरुको सुषुप्त अवस्था रहन्छ । महासर्गको आदिवाट कर्महरु शुरु हुन्छन् ।

चौधौं अध्यायमा आएको छ -- परमात्माको मूल प्रकृतिको नाम 'महद्ब्रह्म' हो । त्यो प्रकृतिमा लीन भएका जीवहरुलाई प्रकृतिसँग विशेष सम्बन्ध गराइदिने अर्थात् जीवहरुलाई आफ्नो आफ्नो कर्महरुको फलस्वरूप शरीरहरुसँग सम्बन्ध गराइदिनु नै परमात्मा द्वारा प्रकृतिमा गर्भ-स्थापन गर्नु हो । तिनमा पनि छुट्टा छुट्टै योनिहरुमा तरह-तरहका पैदा हुने सबै शरीरहरुको उत्पत्तिमा प्रकृति हेतु छ र तिनीहरुमा जीवरूपले भगवानको अंश छ -- 'ममैवांशो जीवलोके' । यसरी प्रकृति र पुरुषको अंशले सम्पूर्ण प्राणीहरु पैदा हुन्छन् । 

तेर्हौं अध्यायमा भगवानले भन्नुभएको छ कि उत्पन्न भएका समस्त स्थावर-जंगम प्राणीहरु सबै क्षेत्र (प्रकृति)र क्षेत्रज्ञ (पुरुष) को संयोगले नै हुन्छन् । क्षेत्र-क्षेत्रज्ञको विशेष संयोग अर्थात् स्थूलशरीर धारण गराउन भगवानको संकल्प-रुप विशेष सम्बन्ध नै स्थावर-जंगम प्राणीहरुको स्थूलशरीर पैदा गर्ने कारण हो । त्यो संकल्प हुनमा भगवानको कुनै अभिमान छैन, तर जीवहरुका जन्म-जन्मान्तरहरुका कर्म-संस्कार महाप्रलयमा परिपक्क भएर जव फल दिन उन्मुख हुन्छन्, त्यो वेला भगवानको संकल्प हुन्छ । यसरी जीवहरुको कर्महरुको प्रेरणाले भगवानमा 'म एउटा नै धेरै होउँ' भन्ने संकल्प हुन्छ ।

सम्पूर्ण मनुष्य द्वारा हुने विहित र निषिद्ध क्रियाहरुको नाम 'कर्म' हुन् ।तात्पर्य, मुख्य कर्म त भगवानवाट भएको संकल्प हो त्यसपछि कर्म-परम्परा चल्छ ।

स्वभावोध्यात्ममुच्यते' -- 'परा प्रकृति' भगवानको स्वभाव हो -- प्रकृतिम् विद्धि मे पराम्' । प्रकृति भनौं, स्वभाव भनौ, यौटै कुरो हो । यो परा प्रकृति अर्थात् जीव नै 'अध्यात्म' नामले भनिएको हो । यसैलाई भगवानले आफ्नो अंश पनि वताउनु भएको हो -- 'ममैवांशो जीवलोके'।  

'स्वभावोध्यात्ममुच्यते'को अर्को अर्थ छ, वालक, जवानी र वृद्धावस्थामा, जाग्रत, स्वप्न र सुषुप्तिमा, चौरासी लाख योनिहरुमा, सर्ग र प्रलयमा, महासर्ग र महाप्रलयमा पनि जीवको कहिले पनि अभाव हुँदैन -- 'नाभावो विद्यते सतः' अर्थात् यसको आफ्नो भाव (सत्ता या हुनुपना) सँधै विद्यमान रहन्छ । 

सृष्टि-रचनारुप कर्मको 'त्याग' भन्नुको तात्पर्य, यसमा स्थिरताको त्याग छ । कारण, तत्व स्थिर, अचल छ र त्यो स्थिरताको त्याग नै कर्म हो । 

भगवानको सृष्टि-रचनारूप कर्म नै आदि कर्म हो । यही आदि कर्मवाट कर्महरुको परम्परा चलेको छ । अतः 'कर्म' अन्तर्गत तीन प्रकारका कर्म आउँछन् -- (१) सृष्टिको रचना (२) फलजनक नहुने सम्पूर्ण क्रियाहरु र (३) पाप-पुण्य (शुभाशुभ कर्म); यी कर्महरु फलजनक हुन्छन् । 

भगवानका सृष्टि-रचनारूप कर्म वास्तवमा 'अकर्म' नै हुन् । भगवानले भन्नु पनि भएको छ -- 'तस्य कर्तारपि मां विद्ध्यकर्तारमव्ययम्' 'त्यो सृष्टि-रचनाको कर्ता हुँदा पनि म अव्यय परमेश्वरलाई तिमी अकर्ता नै जान, बुझ ।  

No. 236 सातौँ अध्यायको सार भगवानका दुई प्रकृतिहरु छन् -- अपरा र परा । संसार 'अपरा' प्रकृति हो र जीव 'परा प्रकृति हो ।

No. 236

सातौँ अध्यायको सार 

भगवानका दुई प्रकृतिहरु छन् -- अपरा र परा । संसार 'अपरा' प्रकृति हो र जीव 'परा प्रकृति हो । अपरा प्रकृति जड तथा परिवर्तनशील छ र परा प्रकृति चेतन तथा नित्य परिवर्तनशील छ । भगवानले अपरा र परा -- दुबैलाई आफ्नै प्रकृति अर्थात् स्वभाव वताउनु भएको छ -- 'इतीयं मे', 'मे पराम्' । भगवानको स्वभाव भएकोले अपरा प्रकृतिको स्वतन्त्र (भगवान भन्दा छुट्टै) सत्ता छैन; परन्तु जीवले (परा प्रकृति) अपरा लाई सत्ता र महत्ता दिएर उसँग आफ्नो सम्बन्ध जोड्छ । यो सम्बन्ध जीव दुई प्रकारले मान्छ -- (१) अहंतापूर्वक, जस्तो -- म शरीर हुँ र (२) ममतापूर्वक, जस्तो  शरीर मेरो हो । यो मानिएको सम्बन्ध नै सम्पूर्ण प्राणीहरु उत्पन्न हुनमा कारण छ -- 'कारणम् गुणसंगोस्य सदसदयोनिजन्मसु'। 

वास्तवमा सम्पूर्ण जगतको कर्ता, कारण तथा कार्य एउटा भगवान मात्रै हुनुहुन्छ । भगवान सिवाय अर्को कुनै छँदै छैन -- 'मत्त: परतरं नान्यदकिन्चिदस्ति' । यो सिद्धान्त छ, सत्ता एउटा मात्रै हुन्छ, दुइटा हुँदैन । अतः एक भगवान नै अनेक रूपहरूमा प्रकट हुनु भएको छ । आकाश, वायु, तेज, जल र पृथ्वी -- यी पाँच महाभूत तथा यिनका कार्य शब्द, स्पर्श, रुप, रस र गन्ध -- यी पाँच विषय -- यी सबैको मूल कारण भगवान मात्रै हुनुहुन्छ । भगवान नै सम्पूर्ण प्राणीहरुको अनादि तथा अविनाशी वीज हुनुहुन्छ । तात्पर्य, सृष्टिमा जुन सुकै क्रिया, पदार्थ, भाव आदि देख्न-सुन्न-सम्झनमा आउँछन्, ती सबैको वीज (मूल कारण) एक मात्र भगवान हुनुहुन्छ । कारण नै कार्यरूपमा परिणत हुन्छ । अतः कारणको त स्वतन्त्र सत्ता हुन्छ, कार्यको स्वतन्त्र सत्ता हुँदैन । कुनै साधकले कार्यवाट संसार प्राप्त गर्न खोज्छ भने उसले भगवान पाउंदैन -- 'न त्वहं तेषु ते मयि'। कारणरूप भगवानको शरण हुनेलाई नै भगवान पाइनु हुन्छ । परन्तु कारणरूप भगवानको शरण नभएर कार्यरूप सत्वादि गुणहरुमा अल्झिनेहरु जन्म-मरणको चक्रमा परिरहन्छन् । यस्ता मनुष्य कार्यरूप शरीर संसारको सम्बन्धले हुने कामनाहरुको पूर्ति गर्न देवताहरुको शरण लिन्छन् । यस्ता भक्तहरुका पनि चार भेद छन् -- अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी । यी शरणागत भक्तहरुमा पनि 'सबै भगवान नै हो' -- भनेर शरण हुने महात्मा भक्त मुक्त पुरुषहरु भन्दा श्रेष्ठ हुनाले अत्यन्त दुर्लभ छ । त्यो महात्मा भक्त भगवानको कृपाले परा-अपरा सहित भगवानको समग्ररुप जान्दछ । यो समग्ररूप जानेपछि फेरि कुनै कुरो जान्न शेष रहँदैन; किनकि त्यो सिवाय अरु कुनै चीज छँदै छैन । भगवानसँग उसको आत्मीय सम्बन्ध हुन्छ, जसवाट प्रतिक्षण वर्धमान प्रेमको प्राप्ति (जागृति) हुन्छ । यो प्रेमको जागृतिमा नै मनुष्यजन्मको पूर्णता छ ।                                       
एउटा अपरा प्रकृति छ, एउटा परा प्रकृति छ र एउटा परा-अपराको मालिक परमात्मा हुनुहुन्छ । सम्पूर्ण शरीर-संसार (अधिभूत) अपरा प्रकृति अन्तर्गत र सम्पूर्ण शरीरी (कृत्स्न अध्यात्म) परा प्रकृति अन्तर्गत आउँछन् । यसको तात्पर्य हो, सम्पूर्ण शरीर (संसार) पनि एक छ र सम्पूर्ण शरीरी पनि एक छ तथा परा र अपरा-- यी दुवै शक्तिको मालिक पनि एक छ । अतः शरीरहरुको दृष्टिले, आत्माको दृष्टिले र परमात्माको दृष्टिले -- तीनै दृष्टिहरुले हामी सबै एकै हौँ, अनेक छैनौं ।  

सम्पूर्ण शरीरहरुको एकता स्वीकार गरेपछि कुनै पनि प्राणीसँग राग अथवा द्वेष हुने छैन र सम्पूर्ण प्राणीहरुको हितको भाव हुनेछ । यस्तो भएपछि 'कर्मयोग' सुगमतापूर्वक स्वतः सिद्ध हुनेछ । कारण कि आफूदेखि भिन्न अर्को कुनै छँदै छैन र आफ्नो व्यक्तिगत केही छँदै छैन भने पछि आफ्नो भएको वस्तुमा ममता हुनेछैन र आफूसँग नभएको वस्तुमा कामना हुने छैन । ममता र कामना नभएपछि आफूसँग भएका वस्तु पाउने कामना हुँदैन । ममता र कामना नभएपछि आफूसँग भएका वस्तुहरु स्वतः अरुको सेवामा लाग्छन् । 

सम्पूर्ण जीवहरुमा एकता स्वीकार गरेपछि सर्वत्र  आत्मभाव अथवा ब्रह्मभाव हुनेछ -- सर्वं खल्विदम् ब्रह्म', आत्मैवेदम् सर्वम्' । यस्तो भएपछि 'ज्ञानयोग' सुगमतापूर्वक स्वतः सिद्ध हुनेछ । कारण, अनेक रुपहरुमा रहेको जीव एक रूपले ब्रह्म हो अर्थात् जीव र ब्रह्म एक नै हुन् -- 'अयमात्मा ब्रह्म' ।                   
अपरा र परा -- यी दुवै प्रकृतिहरुको स्वतन्त्र सत्ता छैन; किनकि यी दुवै भगवानका शक्तिहरु, स्वभाव भएकाले भगवतस्वरूप नै हुन् । यस्तो स्वीकार गरेपछि सर्वत्र भगवदभाव हुनेछ । 'वासुदेवः सर्वम्' ।यस्तो भएपछि 'भक्तियोग' सजिलोसँग स्वतः सिद्ध हुनेछ । कारण कि 'सबै भगवान नै हो' -- यही वास्तविक शरणागति हो । 
 
तात्पर्य यो निस्कियो, जगत्,जीव र परमात्मा --  तीनैको दृष्टिले हामी सबै एकै हौँ । यो समतालाई गीताले 'योग' भनेको छ -- 'समत्वं योग उच्यते' । भेद विषमता केवल व्यवहारकोलागि हो र यो विषमता अनिवार्य पनि छ; किनकि व्यवहारमा समता सम्भव छैन । अतः साधकको दृष्टि (भावना) सम हुनु पर्छ -- 'सर्वत्र समदर्शन:', 'पण्डिताः समदर्शिनः', 'समबुद्धिर्विशिष्य्ते', 'सर्वत्र समबुद्धय' । व्यवहारको भिन्नता त स्वाभाविक हो, तर भावको भिन्नता मनुष्यले आफ्नै राग-द्वेषले पैदा गरेको छ । राग-द्वेषको कारण नै मनुष्यले जगत्, जीव र परमात्मा -- तीनैमा अनेक भेद गरेको छ । यही भेदले उसलाई जन्म-मरण गराउँछ -- 'मृत्यो: स मृत्युं गच्छति य इह नानेव पश्यति' । कसैलाई अर्को मान्ने, कसैको नराम्रो चाहने, देख्ने र गर्ने र संसारवाट केही चाहने व्यक्ति न त कर्मयोगी हुन सक्छ, न ज्ञानयोगी नै हुन सक्छ र न भक्तियोगी नै हुन सक्छ । 

जगत, जीव र परमात्मा -- यी तीनैमा विचार गर्दा स्वतन्त्र सत्ता परमात्माको मात्रै छ । जगत् र जीवको स्वतन्त्र सत्ता छैन । जगतलाई जीवले नै धारण गरिरहेको छ -- 'ययेदम् धार्यते जगत्' अर्थात् जगतलाई सत्ता  जीवले नै दिएको हो, यसैले जीवको स्वतन्त्र सत्ता छैन । तात्पर्य हो, जगतको सत्ता जीवको अधीन छ  र जीवको सत्ता परमात्माको अधीन छ, यसैले एक परमात्मा सिवाय अरु केही छैन -- सदसच्चाहमर्जुन' । जगत र जीव -- दुवै परमात्मामा नै भासित भइरहेछन् ।  

सातौं अध्याय समाप्त भयो ।                        

No. 235 अझ पनि सातौँ अध्यायकै वांकी अंश यथार्थमा समग्ररूप सगुणको नै हुन्छ; किनकि सगुण शब्द अन्तर्गत निर्गुण आउन सक्छ, तर निर्गुण शब्द अन्तर्गत सगुण आउन सक्तैन ।

No. 235

अझ पनि सातौँ अध्यायकै वांकी अंश 

यथार्थमा समग्ररूप सगुणको नै हुन्छ; किनकि सगुण शब्द अन्तर्गत निर्गुण आउन सक्छ, तर निर्गुण शब्द अन्तर्गत सगुण आउन सक्तैन । कारण कि सगुणमा निर्गुणको निषेध छैन, जवकि निर्गुणमा गुणहरुको निषेध छ । अतः निर्गुणमा समग्र शब्द लाग्नै सक्तैन । यसैले यहाँ 'अध्यात्म' र 'कर्म'सँग क्रमशः 'कृत्स्न' र 'अखिल' शब्द आएका छन् । यो समग्रको वाचक हो, तर 'ब्रह्म'सँग समग्रताको वाचक कुनै शब्द कहिं पनि आएको छैन । अतः समग्रता सगुणमा नै छ, निर्गुणमा छैन ।

प्रश्न -- ब्रह्म, अध्यात्म र कर्म -- यी तीनै लौकिक कसरी हुन् ?

उत्तर -- भगवानले ब्रह्मलाई 'अक्षर' भन्नु भएको छ -- 'अक्षरं ब्रह्म परमम्' र जीवलाई पनि 'अक्षर' भन्नु भएको छ -- 'द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च' । जीव र ब्रहम -- दुवै एकै हुन् -- 'अयमात्मा ब्रह्म' । प्रकृति (शरीर)सँग सम्बन्ध हुँदा 'जीव' (अध्यात्म) नै प्रकृतिसँग सम्बन्ध नहुनाले सामान्य 'ब्रह्म' हो । अतः गीता अनुसार जीव लोकमा भए जस्तो ब्रह्म पनि लोकमा छ अर्थात् ब्रह्म लौकिक निष्ठा (कर्मयोग तथा ज्ञानयोग)ले पाइने तत्व हो ।

'अध्यात्म' अर्थात् जीवले जगतलाई धारण गरेको छ -- 'ययेदम् धार्यते जगत' । जीवको आफ्नो स्वतन्त्र सत्ता छैन । यसैले जगतको संगले जीव पनि जगत अर्थात् लौकिक हुन्छ । लोकमा भएको कारणले पनि जीव लौकिक हो -- 'मवैवांशो जीवलोके', 'द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च' ।

'कर्म' दुई प्रकारका हुन्छन् -- सकामभावले र निष्कामभावले । यी दुवै प्रकारका कर्म लोकमा हुनाले लौकिक हुन् । 

प्रश्न -- अधिभूत, अधिदैव र अधियज्ञ -- यी तीनै अलौकिक कसरी हुन् ?

उत्तर -- 'अधिभूत' अर्थात् सम्पूर्ण पान्चभौतिक जगत तत्वले भगवानको नै स्वरूप हुँदा       
अलौकिक छ -- 'अमृतं चैव मृत्युश्च सदसच्चाहमर्जुन' 'अमृत र मृत्यु तथा सत् र असत् म नै हुँ' ।भगवानले अर्जुनलाई देखाउनु भएको विराटरूप पनि दिव्य तथा अलौकिक थियो । यो दिव्य विराटरुप भगवानले आफ्नै दिव्य विराट शरीरको एक अंगमा देखाउनु भएको थियो अर्जुनलाई । अतःभगवानको नै विराटरूप भएकोले यो पान्चभौतिक जगत पनि अलौकिक नै हो । भगवानले संसारमा आफ्ना विभूतिहरुलाई पनि दिव्य र अलौकिक भन्नु भएको छ -- 'दिव्या ह्यात्मविभूतय:', 'मम दिव्यानाम् विभूतिनाम्' । तर जीवलाई अज्ञानवश आफ्नो बुद्धिले (राग-द्वेषको कारण) यो जगत लौकिक देखिन्छ । यसैले अज्ञान मेटिएपछि जडता रहँदै रहँदैन, चिन्मयता मात्रै रहन्छ । 

'अधिदैव' अर्थात् ब्रह्माजी आदि सबै देवता अलौकिक छन् । 

'अधियज्ञ' अर्थात् अन्तर्यामी भगवान सबैको हृदयमा रहँदा रहँदै पनि निर्लिप्त भएकोले अलौकिक हुनुहुन्छ ।

भगवानले 'साधिभूताधिदैवम् मां साधियज्ञम्' पदहरुमा आफूलाई अधिभूत, अधिदैव तथा अधियज्ञ सहित जान्ने कुरा गर्नु भएको छ । यसवाट सिद्ध हुन्छ, परमात्मा सहित हुनाले यी तीनै अलौकिक हुन्, अन्यथा लौकिक हुन् । भगवानसँग सम्बन्ध नहुन्जेल सबै लौकिक नै हुन्छन् ; परन्तु भगवानसँग सम्बन्ध भयो भने सबै अलौकिक हुन्छन् । यसैले आफ्नो उद्योग मुख्य हुनाले कर्मयोग तथा ज्ञानयोग 'लौकिक निष्ठा' हो र भगवानको आश्रय मुख्य भएकोले भक्तियोग 'अलौकिक निष्ठा' हो ।

वास्तवमा लौकिक भन्ने कुनै तत्व छैन । वास्तविक तत्व त अलौकिक नै हो । परन्तु साधकको दृष्टिले लौकिक र अलौकिक -- यी दुई भेद भएका हुन् । तात्पर्य हो, लौकिक-अलौकिक विभाग अज्ञानवश हुने राग-द्वेषको कारण नै हो । राग-द्वेष नभए सबै अलौकिक, चिन्मय, दिव्य नै छन् -- 'वासुदेवः सर्वम्' । कारण कि लौकिकको स्वतन्त्र सत्ता नै छैन । राग-द्वेषको कारण नै लौकिक सत्ता र महत्ता देखिन्छ ।राग-द्वेषको कारण नै जीवले भगवतस्वरूप संसारलाई पनि लौकिक वनाइदियो र आफैं पनि लौकिक भयो । 

विज्ञानसहित ज्ञानको अर्थात् भगवानको समग्ररूपको वर्णन गर्ने तात्पर्य यही हो, जड-चेतन, सत्-असत्, परा-अपरा, क्षेत्र-क्षेत्रज्ञ आदि जे सुकै पनि भगवानका नै समग्र रूप हुन् । यसैले भगवानले यहाँ समग्ररुप वर्णनको आदि र अन्तमा 'माम्' पद दिइएको छ र यो पद समग्रताको वाचक हो -- 'मामाश्रित्य' र 'मां ते विदुः' ।

भगवानले कर्महरुको गति (तत्व) गहन वताउनु भएको छ -- 'गहना कर्मणो गतिः', तर भक्त त्यो (कर्मको गति)  पनि जान्दछ ।  कर्ममा अकर्म र अकर्ममा कर्म -- भक्त दुवै जान्दछ । तात्पर्य, ऊ कर्म पनि जान्दछ र कर्मयोग पनि जान्दछ । कर्मयोगी कर्मयोग मात्रै जान्दछ र ज्ञानयोगी ज्ञानयोग मात्रै जान्दछ, तर भक्त भगवतकृपाले कर्मयोग र ज्ञानयोग -- दुवै जान्दछ । 

यही अध्यायको पहिलो श्लोकमा आएको 'योगं युञ्जन्मदाश्रयः'लाई 'मामाश्रित्य यतन्ति ये'  पदहरुले र 'मय्यासक्तमनाः'लाई यहाँ 'युक्तचेतसः' पदहरुले भनिएको छ । तात्पर्य, मेरो आश्रय लिंदा भक्तलाई कर्मयोग र ज्ञानयोगको पनि सिद्धि हुन्छ अर्थात् ती भक्तहरु दुबैको फल (लक्ष)रुप ब्रह्म पनि जान्दछन् -- 'ते ब्रह्म तदविदु:' र मेरो समग्ररुप पनि जान्दछन् -- 'मां ते विदुः। 

'प्रयाणकालेपि'मा 'अपि' पद दिइएको तात्पर्य, ती भक्तहरु मलाई पहिले पनि जान्दछन र अन्तकालमा पनि जान्दछन् अर्थात् उनीहरुको ज्ञान कहिले पनि लुप्त हुँदैन । यस्ता भक्तहरु 'युक्तचेता:' हुन्छन् अर्थात् उनीहरुको मनको स्वतन्त्र सत्ता नै रहँदैन, भगवान  मात्रै रहनुहुन्छ । भगवानसँग उनीहरुको (ती भक्तहरुको) अभिन्नता (नित्ययोग) हुँदा उनीहरु भगवानवाट न वियुक्त हुन्छन् , न भगवान उनीहरुवाट वियुक्त हुनुहुन्छ । यस्ता युक्तचेता भक्तहरु अन्तकालमा जे सुकै चिन्तन हुँदा पनि योगभ्रष्ट हुँदैनन्, भगवान नै पाउँछन् -- 'प्रयाणकालेपि च मां ते विदुर्युक्तचेतसः।' कारण ती भक्तहरुको दृष्टिमा जव भगवान सिवाय केही पनि छैन भने उनीहरुको मन भगवान छोडेर अन्त कहाँ जाला ? कसरी जाला ? उसको मनमा कुनै चिन्तन होला भने भगवानको नै होला । त्यसपछि उनीहरुको मन कसरी विचलित होला र मन विचलित नभई ऊ योगभ्रष्ट कसरी होला ? कारण, करणसापेक्ष साधनमा योगवाट मन विचलित भएपछि मनुष्य योगभ्रष्ट हुन्छ -- 'योगाच्चलितमानसः'; परन्तु सबै ठाउँमा भगवान देख्नेहरुको भगवानसँग नित्ययोग रहन्छ ।

भगवानका कोही भक्त मुक्ति चाहन्छन् -- 'जरामरणमोक्षाय' र कुनै भक्त प्रेम चाहन्छन् -- मां ते विदुर्युक्तचेतसः'। मुक्ति चाहने भक्तहरु स्वयं आफैं समग्र भगवान जान्दछन् -- 'मां ते विदुः' । भगवान आफ्नो प्रेमी भक्तहरुलाई कर्मयोग (बुद्धियोग) र ज्ञानयोग -- दुवै प्रदान गरिदिनुहुन्छ । जरा-मरणरूप बन्धन र मुक्ति -- दुवै लौकिक हुन्, तर प्रेम अलौकिक हो । साधन भक्ति पनि लौकिक हो, तैपनि उद्देश्य अलौकिक हुनाले त्यही अलौकिक साध्य-भक्ति हुन्छ ।  

No. 234 यो अध्याय सम्बन्धी विशेष कुरो भगवानले यो अध्यायमा पहिले परिवर्तनशीललाई 'अपरा' र अपरिवर्तनशीललाई 'परा' भन्नुभयो

No. 234 

यो अध्याय सम्बन्धी विशेष कुरो 

भगवानले यो अध्यायमा पहिले परिवर्तनशीललाई 'अपरा' र अपरिवर्तनशीललाई 'परा' भन्नुभयो ।त्यसपछि यी दुबैको संयोगले सम्पूर्ण प्राणीहरुको उत्पत्ति हुने कुरा वताउनु भयो र आफूलाई सम्पूर्ण संसारको प्रभव र प्रलय वताउनु भयो अर्थात् संसारको आदि र अन्तमा खालि 'म मात्रै रहन्छु' भन्नु   भयो । यही प्रसंगमा भगवानले सत्र विभूतिहरुको रूपमा कारणरूपले आफ्नो व्यापकता वताउनु भयो । फेरि भगवानले भन्नु भयो, 'तीन गुणहरुले मोहित अर्थात् निरन्तर परिवर्तनशील प्रकृतिसँग आफ्नो सम्बन्ध मानेको व्यक्ति गुण भन्दा श्रेष्ठ मलाई जान्न सक्तैन । यो गुणमयी माया तर्न ज्यादै दुष्कर छ । मेरो शरण हुनेहरु मात्रै माया तर्न सक्छन् । परन्तु मदेखि विमुख भएर निषिद्ध आचरणहरुमा लाग्ने दुष्कृती मनुष्यहरु मेरो शरण हुँदैनन् ।' 

शरण हुनेहरु पनि दुई प्रकारका छन् -- एक थरी, भगवानलाई भगवान सम्झेर अर्थात् भगवानको महत्ता सम्झेर भगवानको शरण हुन्छन् र अर्का थरी भगवानलाई साधारण मनुष्य मानेर देवताहरुलाई सबै भन्दा ठूलो मान्छन्, यसैले भगवानको आश्रय नलिएर कामनापूर्तिकोलागि देवताहरुको शरण पर्छन् ।

देवताहरुको शरण हुनमा पनि दुई हेतुहरु छन् -- कामनाहरु वढ्नु र भगवानको महत्ता नजान्नु । यस्तो शंका हुन सक्छ, के भगवान पनि मायाले ढाकिनु भएको छ त ? त्यसैले भगवान भन्नु हुन्छ, 'हैन मेरो ज्ञान ढाकिएको छैन । मलाई नजान्नमा राग-द्वेष नै मुख्य कारण हो । यो द्वन्द्वरुप मोहले रहित हुने व्यक्तिहरु दृढव्रती भएर मेरो भजन गर्छन् । मेरो आश्रय लिएर यत्न गर्नेहरु मेरो समग्ररूपलाई जान्दछन र अन्तमा मलाई नै पाउँछन् ।' 

यो अध्यायको आदिदेखि अन्तसम्म विचार गर्दा, भगवानदेखि विमुख र सम्मुख हुनु पर्ने कुराको  नै वर्णन छ । तात्पर्य हो, जडतातिर वृत्ति राख्दा मनुष्यहरु वारम्वार जन्मिरहन्छन् र मरिरहन्छन् । जडतादेखि विमुख भएर भगवानको सम्मुख भए भने उनीहरु सगुण-निराकार, निर्गुण-निराकार र सगुण-साकार भगवानलाई जानेर अन्तमा भगवान नै पाउँछन् । 

यो अध्यायको आरम्भमा भगवानले अर्जुनसँग भन्नुभएको थियो, 'म यो विज्ञान सहितको ज्ञान भन्नेछु, यो ज्ञान जानेर तिमी मेरो समग्ररूप जान्नेछौ र यो समग्ररुप जानेपछि अरु केही जान्न वांकी रहँदैन । त्यसपछिको श्लोकमा भगवानले 'वासुदेवःसर्वम्' भनेर आफ्नो समग्ररूपको संक्षेपमा वर्णन गर्नुभयो । अव अध्यायको अन्तमा भगवान त्यो कुराको खुलासा गर्नुहुन्छ । 

साधकको जन्म त भइसकेको छ र व्याधि अवश्यम्भावी छैन, तर वृद्धावस्था र मृत्यु अवश्यम्भावी छ र यिनवाट मनुष्यलाई धेरै दुःख हुन्छ । यसैले यहाँ 'जरामरणमोक्षाय' भन्नुको अर्थ हो, भगवानको आश्रय लिने भक्तहरु जरा र मरण -- दुवैवाट मुक्त हुन्छन् अर्थात् उनीहरुलाई शरीर रहँदा रहँदै वृद्धावस्थाको पनि दुःख हुँदैन र गतिको विषयमा पनि दुःख हुँदैन कि मरेपछि मेरो के गति होला ? भगवानको आश्रय लिएर प्रयत्न गर्नाले  उनीहरु परा-अपरा सहित भगवानको समग्ररुप जान्दछन् अर्थात् विज्ञानसहित ज्ञान जान्दछन् । 

कर्मयोगी र ज्ञानयोगी पनि जन्म-मरणवाट मुक्त हुन्छन्, तर भक्तहरु जरा-मरणवाट मुक्त हुनुको साथै भगवानको समग्ररुप पनि जान्दछन् । कारण, कर्मयोगी र ज्ञानयोगीको त आरम्भदेखि नै आफ्नो साधनमा निष्ठा हुन्छ, तर भक्त शुरुदेखि नै भगवन्निष्ठ अर्थात् भगवतपरायण हुन्छ । भगवन्निष्ठ भएपछि भगवान उसलाई आफ्नो समग्ररूपको ज्ञान गराइदिनुहुन्छ । 

यही अध्यायको शुरुमा नै भगवानले भन्नु भएको थियो, 'कुनै कुनै मनुष्यले मात्रै मेरो समग्ररूपको ज्ञान गर्छ -- 'कश्चिन्माम् वेत्ति तत्वतः' । यहाँ वताउनु हुन्छ, मेरो शरण पर्ने मनुष्य मलाई समग्ररूपले जान्दछ । अतः भगवानको समग्ररुप (विज्ञानसहित ज्ञान) जान्ने  मुख्य साधना हो -- शरणागति (मामाश्रित्य) । किनकि समग्रको ज्ञान विचारले हुँदैन, श्रद्धा-विश्वासपूर्वक शरणागत भएपछि भगवतकृपाले नै हुन्छ । यही कारण, भगवानले सातौँ अध्यायको आरम्भमा नै 'मदाश्रय' भनेर अन्तमा 'मामाश्रित्य' पदले प्रसंगको उपसंहार गर्नु भएको हो ।

ब्रह्म (निर्गुण-निराकार), कृत्स्न अध्यात्म (अनन्त योनिहरुको अनन्त जीव) तथा अखिल कर्म (उत्पत्ति-विनाश-प्रलय आदिका सम्पूर्ण क्रियाहरु) -- यो ज्ञानको विभाग हो । यो विभागमा निर्गुणको मुख्यता छ ।

'अधिभूत' (आफ्नो शरीरसहित सम्पूर्ण पान्चभौतिक जगत) अधिदैव' (मन-इन्द्रियहरुका अधिष्ठातृ देवतासहित ब्रह्माजी आदि सबै देवता) तथा अधियज्ञ (अन्तर्यामी विष्णु र उहाँका सबै रूप) -- यो 'विज्ञान'को विभाग  हो ।  यो विभागमा सगुणको मुख्यता छ । 

अधिभूत, अधिदैव र अधियज्ञ सहित भन्नुको तात्पर्य हो, सत्-असत्, परा-अपरा, सबै भगवान मात्रै हो । भगवान सिवाय अलिकति पनि अरु केही छैन । सत्-असत् लाई छुट्याउँदा  ज्ञानमार्ग हुन्छ -- नासतो विद्यते भावो नाभावो विद्यते सतः । उभयोरपि ……. र यौटै गर्दा भक्तिमार्ग हुन्छ -- 'सदसच्चाहमर्जुंन'। 

'ब्रह्म'को कुरो पहिले  पाँचौं अध्यायमा तेर्हौदेखि छाव्विसौं श्लोकसम्म भनिएको छ । 'कृत्स्न अध्यात्म'को कुरो पहिले नै छैठौँ अध्यायको उन्नाइसौं  श्लोकमा 'सर्वभूतास्थमात्मानम्' पदले भनिएको छ । 'अखिल' कर्मको कुरो पहिले चौथो अध्यायको अठारौँ, तेइसौं श्लोकमा क्रमश 'कृत्स्नकर्मकृत्', 'कर्म समग्रम्' र 'सर्व कर्माखिलम्' पदले भनिएको छ ।          

अभाव कर्मको हुन्छ, आत्मा या ब्रह्मको होइन । अतः मनुष्य जुन ज्ञानले कर्महरु जान्दछ (कर्म चाखिलम्) त्यही ज्ञानले कर्महरुको अभाव र अकर्म पनि जान्दछ -- 'कर्मण्यकर्म यः पश्येत्' । ब्रह्म, आत्मा र अकर्म -- यी तीनै यौटै हुन्, यसैले जान्नु नै 'ते ब्रह्म तद्विदु: कृत्स्नमध्यात्मं कर्म चाखिलम्' पदहरुको तात्पर्य हो । 

'कर्म' सीमित छ, कर्म भन्दा व्यापक 'अध्यात्म' छ, र अध्यात्म भन्दा व्यापक 'ब्रह्म' छ । परन्तु 'माम्' (समग्र) त्यो ब्रह्म भन्दा पनि श्रेष्ठ छ; किनकि ब्रह्म अन्तर्गत समग्र आउँदैन, तर समग्र अन्तर्गत ब्रह्म आउँछ । 

'अध्यात्म'सँग 'कृत्स्न' शब्द दिनुको तात्पर्य हो -- भगवानले आफ्नो परा प्रकृति भन्ने वताउनु भएको अनेक रुपहरुले देखिने सम्पूर्ण जीव । 'कर्म'सँग 'अखिल' दिनुको तात्पर्य हो --  जसको फलस्वरूप जीव अनेक योनिहरुमा र अनेक लोकहरुमा जान्छन्, त्यस्ता शुभ-अशुभ सम्पूर्ण कर्म, तर 'ब्रह्म'सँग 'कृत्स्न' या 'अखिल' शब्द नदिनुको तात्पर्य हो, ब्रह्म अनेक छैन, एक मात्रै छ । 

गीतामा भगवानले दुई निष्ठाहरु वताउनु भएको छ -- कर्मयोग र ज्ञानयोग । यी दुवै निष्ठाहरु लौकिक हुन् -- 'लोकेस्मिन् द्विविधा निष्ठा'; परन्तु भक्तियोग अलौकिक निष्ठा हो । कारण, कर्मयोगमा 'क्षर' (संसार) को प्रधानता छ र ज्ञानयोगमा 'अक्षर' (जीवात्मा) को प्रधानता छ । क्षर र अक्षर -- दुवै लोकमा छन् -- 'द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च' यसैले कर्मयोग र ज्ञानयोग -- दुवै लौकिक निष्ठाहरु हुन् । तर भक्तियोगमा 'परमात्मा'को प्रधानता छ । यो परमात्मा क्षरदेखि अतीत र अक्षरदेखि उत्तम छ । यसैले भक्तियोग अलौकिक निष्ठा हो । भगवानको समग्ररूपलाई ब्रह्म, अध्यात्म तथा कर्म -- यीमध्ये लौकिक निष्ठा (कर्मयोग तथा ज्ञानयोग) को कुरा आएको छ र अधिभूत, अधिदैव र अधियज्ञ -- यीमध्ये अलौकिक निष्ठा -- भक्तियोगको कुरा आएको छ । 'ज्ञान' लौकिक छ -- न हि ज्ञानेन सद्रिशम् पवित्रमिह विद्यते' र विज्ञान अलौकिक छ । लौकिक तथा अलौकिक -- दुवै समग्र भगवानका रुप  हुन् -- वासुदेवः सर्वम्'  ।

'लोक' शब्दमा जड पनि हो र चेतन पनि । केवल जड अथवा केवल चेतनको वाचक 'लोक' हुन सक्तैन । अतः 'लौकिक'मा जड-चेतन दुबै आउँछन्, तर अलौकिकमा चेतन मात्रै आउँछ । किनकि अलौकिक सँधै चिन्मय मात्रै हुन्छ । परन्तु 'समग्र'मा लौकिक र अलौकिक -- दुवै आउँछन् । 

यहाँ ध्यान दिनुपर्ने कुरो, निर्गुण-निराकार 'ब्रह्म'को नाम भगवानको समग्ररूप अन्तर्गत आएको छ । सर्व साधारणमा यो कुराको प्रसिद्धि छ, 'निर्गुण-निराकार' ब्रह्म अन्तर्गत सगुण ईश्वर छ । ब्रह्म मायारहित छ र ईश्वर मायासहित छ । त्यसैले ब्रह्मको एक अंशमा ईश्वर छ ।' यस्तो मान्नु शास्त्रसम्मत र युक्तिसंगत छैन;  ब्रह्ममा माया हुँदै नभएको भए मायासहित ईश्वर ब्रह्म अन्तर्गत कसरी भयो ? ब्रह्ममा माया कहाँवाट आयो ? परन्तु गीतामा भगवान भनिरहनु भएको छ. 'मेरो समग्ररूपको एक अंशमा ब्रह्म छ !' यसैले भगवानले आफूलाई ब्रह्मको आधार वताउनु भएको छ -- 'ब्रह्मणों हि प्रतिष्ठाहम्' 'म ब्रह्मको प्रतिष्ठा हुँ ।' तथा 'मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना' 'यो सबै संसार मेरो अव्यक्त स्वरूपले व्याप्त छ ।' भगवानको यो कथनको तात्पर्य हो, ब्रह्मको अंश म होइन, मेरो अंश ब्रहम हो । अतः निष्पक्ष भएर विचार गर्दा थाहा हुन्छ, गीतामा ब्रहमको मुख्यता होइन, ईश्वरको मुख्यता छ । पूर्ण तत्व समग्र हो, समग्रमा सगुण-निर्गुण, साकार-निराकार सबै आउँछन् ।           

No.233 श्लोक ३० अधिभूत तथा अधिदैवसहित र अधियज्ञसहित मलाई जान्ने, ममा नै चित्त लागेका मनुष्य

No.233 

श्लोक ३० 

अधिभूत तथा अधिदैवसहित र अधियज्ञसहित मलाई जान्ने, ममा नै चित्त लागेका मनुष्य अन्तकालमा पनि मलाई नै जान्दछन् (सम्झन्छन्) अर्थात् म नै प्राप्त गर्छन् ।

'साधिभूताधिदैवं मां साधियज्ञम् च ये विदुः' -- पूर्वश्लोकमा निर्गुण-निराकार जान्ने वर्णन गरेर अव सगुण-साकार जान्ने कुरो भन्नुहुन्छ भगवान यो श्लोकमा ।

यहाँ 'अधिभूत' नाम भौतिक स्थूल सृष्टिको हो । यो सृष्टिमा तमोगुणको प्रधानता छ । समस्त भौतिक सृष्टिको स्वतन्त्र सत्ता छैन । तिनको स्थायित्व एक क्षण पनि छैन । तैपनि यो भौतिक सृष्टि सत्य देखिन्छ अर्थात् यसमा सत्यता, स्थिरता, सुखरूपता, श्रेष्ठता र आकर्षण देखिन्छ । यो सत्यता आदि सबै वास्तवमा भगवानका नै हुन्, क्षणभंगूर संसारको होइन । तात्पर्य, वरफको सत्ता जल विना हुन सक्तैन, त्यस्तै भौतिक स्थूल सृष्टि अर्थात् अधिभूतको सत्ता भगवान विना हुन सक्तैन । यसरी, तत्वले यो संसार भगवतस्वरूप मात्रै हो -- यस्तो जान्नु नै अधिभूत सहित भगवान जान्नु हो ।                   
'अधिदैव' नाम सृष्टिको रचना गर्ने हिरण्यगर्भ ब्रह्माजीको हो । हिरण्यगर्भमा रजोगुणको प्रधानता छ । भगवान नै ब्रह्माजीको रूपमा प्रकट हुनुहुन्छ अर्थात् तत्वले ब्रह्माजी भगवतस्वरूप नै हुनुहुन्छ -- भन्ने जान्नु नै अधिदैवसहित भगवान जान्नु हो । 

'अधियज्ञ' नाम भगवान विष्णुको हो । भगवान विष्णु अन्तर्यामीरूपले सबैमा परिपूर्ण हुनुहुन्छ -- भन्ने जान्नु नै अधियज्ञ सहित भगवान जान्नु हो । 

अधिभूत, अधिदैव र अधियज्ञ सहित भगवान जान्ने तात्पर्य हो, भगवान श्रीकृष्णको शरीरको कुनै अंशमा विराटरूप छ र त्यो विराटरूपवाट अधिभूत (अनन्त ब्रह्माण्ड), अधिदैव (ब्रह्माजी) र अधियज्ञ (विष्णु) आदि सबै छन् । यही क्रममा अर्जुन भन्छन् -- हे देव ! म हजुरको शरीरमा सम्पूर्ण प्राणीहरुलाई, नाभिवाट कमल निस्केका विष्णुलाई, कमलमा विराजमान ब्रह्माजीलाई र शंकर आदिलाई देखिरहेछु ।अतः तत्वले अधिभूत, अधिदैव र अधियज्ञ भगवान श्रीकृष्ण नै हुनुहुन्छ । श्रीकृष्ण नै समग्र भगवान हुनुहुन्छ । 

'प्रयाणकालेपि च मां ते विदुर्युक्तचेतसः' -- संसारको भोगहरुमा र संग्रहको प्राप्ति-अप्रप्तिमा समान रहने तथा संसारवाट सर्वथा उपरत भएर भगवानमा लागेका पुरुष युक्तचेता हुन् । यस्ता युक्तचेता मनुष्य अन्तकालमा पनि ममा नै अटल विश्वासले स्थित रहन्छन् । उनीहरुको स्थिति यति दृढ हुन्छ, उनीहरु स्थूल र सूक्ष्म शरीरमा जति नै हलचल भए पनि कहिले किन्चित् र विचलित हुँदैनन् ।

प्रकृति र प्रकृतिको कार्य -- क्रिया, पदार्थ आदिसँग आफ्नो सम्बन्ध मान्दा सबै विकार पैदा हुन्छन् र ती क्रिया, पदार्थ आदिको प्रकटरूपले सत्ता देखिन थाल्छ । परन्तु प्रकृति र प्रकृतिको कार्यवाट सर्वथा सम्बन्ध-विच्छेद गरेर भगवतस्वरूपमा स्थित भइयो भने तिनीहरुको स्वतन्त्र सत्ता भगवानमा नै लीन हुन्छ । त्यसपछि उनीहरुको आफ्नो स्वतन्त्र सत्ता देखिंदैन । 

जस्तो कुनै व्यक्तिको विषयमा हुने र भएका हाम्रा राम्रा या नराम्रा मान्यताहरु हामीले नै वनाएका हुन् । तत्वले त त्यो व्यक्ति भगवानको नै स्वरूप हो अर्थात् त्यो व्यक्तिमा तत्व सिवाय अर्को कुनै स्वतन्त्र व्यक्तित्व नै छैन । त्यस्तै, संसारमा 'यो ठीक हो, यो वेठीक हो' भन्ने ठीक-वेठीकको मान्यता हामीले नै गरेका हौँ । तत्वले त संसार भगवानको स्वरूप नै हो । संसारमा भएको वर्णाश्रमको व्यवस्थामा 'यस्तो गर्नु पर्छ, यस्तो गर्नुहुँदैन' भन्ने विधि निषेधको मर्यादालाई महापुरुषहरुले जीवहरुको कल्याणकोलागि व्यवहार गर्न मान्यता दिएका हुन् ।        

यो भौतिक सृष्टि हुनुभन्दा पहिले पनि भगवान हुनुहुन्थ्यो र यो सृष्टि लीन भएपछि पनि भगवान रहनु हुनेछ -- यसरी वास्तविक भगवततत्वको बोध भएपछि भौतिक सृष्टिको सत्ता परमात्मामा नै लीन हुन्छ अर्थात् यो सृष्टिको स्वतन्त्र सत्ता रहँदैन । यसको तात्पर्य यो होइन, संसारको स्वतन्त्र सत्ता नरहेपछि संसारको सत्ता मेटिन्छ, त्यसको अभाव हुन्छ, तर तात्पर्य यो हो, हाम्रो अन्तःकरणमा रहेको संसारको सत्यत्व बुद्धिको नाश हुन्छ अर्थात् हाम्रो अन्तःकरणमा रहेको संसारको सत्ता र महत्ता रहँदैन । सुनका गहनाहरुका अनेक तरहका आकृति र छुट्टा छुट्टै उपयोग हुँदा पनि ती सबैमा केवल सुन मात्रै छ, त्यस्तै भगवद्भक्त द्वारा यथायोग्य सांसारिक व्यवहार हुँदा पनि ती सबैमा यौटै भगवततत्व छ भन्ने अटल बुद्धि रहन्छ भगवदभक्तहरुको । यो तत्व बुझ्नलाई नै योभन्दा अघिको र यो श्लोकमा समग्ररूप भगवानको वर्णन भएको छ । 

उपासनाको दृष्टिले भगवानका प्रायः दुई रूपहरुको विशेष वर्णन आउँछ -- एक सगुण र अर्को निर्गुण ।यिनमा पनि सगुणको दुई भेद हुन्छन् -- एक सगुण-साकार र अर्को सगुण-निराकार । परन्तु निर्गुणका दुई भेद हुँदैनन्, निर्गुण-निराकार मात्रै हुन्छ । निराकारको चाहिं दुई भेद हुन्छन् -- एक सगुण-निराकार र अर्को निर्गुण-निराकार । 

उपासना गर्नेहरु पनि दुई रूचिका हुन्छन् -- एक सगुणविषयक रूचि भएका र अर्को निर्गुण-विषयक रूचि भएका । तर यी दुबैको उपासना भगवानको 'सगुण-निराकार'रूपले नै शुरु हुन्छ; जस्तो -- परमात्मा प्राप्तिकोलागि लागेको साधकले पहिले 'परमात्मा छ' भन्ने परमात्माको सत्ता मान्छ र 'परमात्मा सबै भन्दा श्रेष्ठ हुनुहुन्छ, सब भन्दा दयालु हुनुहुन्छ, उहाँ भन्दा ठूलो अर्को कोही छैन' भन्ने भाव ऊ भित्र रहन्छ । यसरी उसको उपासना सगुण-निराकारवाट शुरु भयो । यसको कारण यो हो, बुद्धि प्रकृतिको कार्य (सगुण) भएकोले निर्गुणलाई पक्डन सक्तैन । यसैले निर्गुण उपासकको लक्ष त निर्गुण-निराकरको हुन्छ; तर बुद्धिले ऊ सगुण-निराकारको नै चिन्तन गर्छ ।

सगुणको नै उपासना गर्नेहरु पहिले सगुण-साकार मानेर उपासना गर्छन् । परन्तु मनमा साकार रूप दृढ नहुन्जेल 'प्रभु हुनुहुन्छ र उहाँ मेरो सामुन्ने हुनुहुन्छ' भन्ने मान्यता मुख्य हुन्छ । यो मान्यतामा सगुण भगवानको अभिव्यक्ति जति धेरै हुन्छ, त्यति नै साधकको उपासनाको स्तर ऊँचो हुन्छ । अन्तमा साधकले सगुण-साकाररूपले भगवानको दर्शन, भाषण, स्पर्श र प्रसाद प्राप्त गरेपछि उसको उपासनाको पूर्णता हुन्छ । 

निर्गुण उपासना गर्ने व्यक्तिहरु परमात्मालाई सम्पूर्ण संसारमा व्यापक भन्ने मान्दै चिन्तन गर्छन् ।जति जति उनीहरुको वृत्ति सूक्ष्म हुँदै जान्छ, त्यति त्यति उनीहरुको उपासनाको स्तर माथिल्लो हुन्छ । अन्तमा सांसारिक आसक्ति र गुणहरुको पूर्णतया त्याग भएपछि 'म', 'तिमी' भन्ने केही पनि रहँदैन, खालि चिन्मय-तत्व शेष रहन्छ । त्यसपछि उसको उपासनाको पूर्णता हुन्छ । 

यसरी दुवै किसिमका साधकहरुको आफ्नो-आफ्नो उपासनाको पूर्णता भएपछि दुबैको एकता हुन्छ अर्थात् दुबैलाई एकै तत्वको प्राप्ति हुन्छ । सगुण-साकारका उपासकहरुलाई त भगवतकृपाले निर्गुण-निराकारको पनि बोध हुन्छ । निर्गुण-निराकारका उपासकमा यदि भक्तिको संस्कार भए र भगवानको दर्शनको अभिलाषा छ भने उसलाई भगवानको दर्शन हुनेछ अथवा भगवानलाई त्यो व्यक्तिसँग कुनै काम लिनु छ भने भगवान आफ्नो तर्फवाट पनि  उसलाई दर्शन दिन सक्नुहुन्छ । जस्तो, निर्गुण-निराकारका उपासक मधुसूदनाचार्यलाई भगवानले आफ्नो तर्फवाट दर्शन दिनुभएको थियो ।

वास्तवमा परमात्मा सगुण-निर्गुण, साकार-निराकार सबै हुनुहुन्छ । सगुण-निर्गुण त उहाँको विशेषण हो, नाम हो । साधक परमात्मालाई गुणहरु सहित मान्छ भने उसकोलागि उहाँ सगुण हुनुहुन्छ र साधक यदि निर्गुण मान्छ भने उहाँ निर्गुण हुनुहुन्छ । वास्तवमा परमात्मा सगुण र निर्गुण -- दुवै हुनुहुन्छ र ती दुवै भन्दा माथि पनि  हुनुहुन्छ । तर साधकलाई बोध भएपछि मात्रै यो वास्तविकताको बोध हुन्छ ।

भगवानका सौन्दर्य, माधुर्य, ऐश्वर्य, औदार्य आदि दिव्य गुणहरु सहित सर्वत्र व्यापक परमात्मालाई 'सगुण' भनिन्छ । यो सगुणका पनि दुई भेद हुन्छन् -- 

(१) सगुण-निराकार -- आकाशको गुण 'शब्द' हो, तर आकाशको कुनै आकार (आकृति) छैन, यसैले आकार सगुण-निराकार भयो । यस्तै प्रकृति र प्रकृतिको कार्य संसारमा परिपूर्णरूपले व्यापक नाम सगुण-निराकार हो ।

(२) सगुण-साकार -- त्यही सगुण-निराकार परमात्मा नै आफ्नो दिव्य प्रकृतिलाई अधिष्ठित गरेर आफ्नो योगमायाले व्यक्तिहरु अगाडि प्रकट हुनुहुन्छ; उनीहरुको इन्द्रियहरुको विषय भइदिनुहुन्छ । त्यस्तो परमात्मालाई साकार भनिन्छ । सगुण त उहाँ हुँदै हुनुहुन्छ, आकृतियुक्त भएर प्रकट भएकोले उहाँ साकार भनिनुभयो ।
                                                    
साधकले परमात्मालाइ दिव्य अलौकिक गुणहरुदेखि पनि रहित मानेपछि अर्थात् साधकको दृष्टि खालि परमात्मा तर्फ रहेपछि परमात्माको त्यो स्वरूपलाई 'निर्गुण निराकार' भनिन्छ । 

गुणहरुका पनि दुई भेद हुन्छन् -- (१) परमात्माको स्वरूपभूत सौन्दर्य, माधुर्य, ऐश्वर्य आदि दिव्य, अलौकिक अप्राकृत  गुण; र (प्रकृतिको सत्व, रज र तम गुण । परमात्मा चाहे निराकार हुनुहोस्, चाहे सगुण साकार हुनुहोस्, उहाँ प्रकृतिको सत्व, रज र तम -- यी तीनै गुणहरुदेखि सर्वथा अतीत हुनुहुन्छ । उहाँ प्रकृतिको गुणहरुलाई स्वीकार गरेर सृष्टिको उत्पत्ति, स्थिति र प्रलयको लीला गर्नुहुन्छ, तैपनि उहाँ प्रकृतिको गुणहरुदेखि सर्वथा रहित नै रहनुहुन्छ । 

गुणहरुले कहिले पनि नबाँधिने, गुणहरुमा पूर्ण आधिपत्य हुने परमात्मा निर्गुण हुनुहुन्छ । यदि परमात्मा गुणहरुले बाँधिने भए र गुणहरुको अधीन रहने भए उहाँ कहिले पनि निर्गुण-निराकार हुन सक्नु हुने थिएन । गुणहरुदेखि सर्वथा अतीत नै परमात्मा हुन सक्छ । यस्तो परमात्मामा नै सम्पूर्ण गुणहरु रहन सक्छन् । यसैले परमात्मालाई सगुण-निर्गुण, साकार-निराकार आदि सबै भन्न सकिन्छ । यस्तै परमात्माको वर्णन भइरहेछ यहाँ, यो प्रसंगमा ।                  
...





No. 232 श्लोक २९ वृद्धावस्था र मृत्युवाट मुक्ति पाउन मेरो आश्रय लिएर प्रयत्न गर्नेहरु त्यो ब्रह्म, सम्पूर्ण अध्यात्म र सम्पूर्ण कर्महरु जान्दछन् ।

No. 232 

श्लोक २९ 

वृद्धावस्था र मृत्युवाट मुक्ति पाउन मेरो आश्रय लिएर प्रयत्न गर्नेहरु त्यो ब्रह्म, सम्पूर्ण अध्यात्म र सम्पूर्ण कर्महरु जान्दछन् ।

'जरामरणमोक्षाय मामाश्रित्य यतन्ति ये' -- यहाँ जरा (वृद्धावस्था) र मरणवाट मुक्ति पाउने तात्पर्य यो हैन कि ब्रह्म, अध्यात्म र कर्मको ज्ञान भएपछि वृद्धावस्था हुँदैन, शरीरको मृत्यु हुँदैन । यसको तात्पर्य, बोध भएपछि शरीरमा आउने वृद्धावस्था र मृत्यु त आइहाल्छ, तर यी दुवै अवस्थाहरु उसलाई (त्यो व्यक्तिलाई) दुःखी गर्न सक्तैनन् । यहाँ 'जरामरणमोक्षाय' भन्ने तात्पर्य हो, जरा, मृत्यु आदि शरीरका विकारहरुसँग सम्बन्ध विच्छेद हुनमा छ । 

सोचौं, कुनै नौजवान छ, उसलाई अहिले न वृद्धावस्था छ र न मृत्यु छ; त्यसैले ऊ अहिले जरा-मरणवाट मुक्त छ । परन्तु वास्तवमा त्यो व्यक्ति जरा-मरणदेखि मुक्त छैन; किनकि जरा-मरणको कारण शरीरसँग सम्बन्ध रहुन्जेल जरा-मरणदेखि रहित भए पनि ऊ यिनवाट मुक्त छैन । तर जीवन्मुक्त महापुरुषहरुको शरीरमा जरा-मरण हुँदा पनि उनीहरु यीदेखि मुक्त छन् । अतः जरा-मरणदेखि मुक्त हुने भनेको तात्पर्य हो -- जरामरण हुने प्रकृतिका कार्य शरीरसँग सर्वथा सम्बन्ध-विच्छेद हुनु हो ।        मनुष्यले शरीरसँग तादात्म्य (म यही हुँ) मानेपछि शरीर वृद्ध भएपछि 'म वृद्ध भएँ' र शरीर मर्नेलाई लिएर 'म मर्न लागें' भन्ने मान्छ । यो मान्यता 'शरीर म हुँ र मेरो शरीर हो' भन्नेमा नै टिकेको छ । मनुष्य 'म' र 'मेरोपन'वाट मुक्त भएपछि ऊ जरा, मरण आदिदेखि पनि मुक्त हुनेछ; किनकि शरीरसँग मानिएको सम्बन्ध नै वास्तवमा जन्मको कारण हो । शरीरसंग यसको सम्बन्ध नै नभएकोले  नै सम्बन्ध मेटिने हो । सम्बन्ध मेटिने त नभएकोसँग नै हो ।

यहाँ 'मामाश्रित्य यतन्ति ये' पदहरुमा आश्रय लिनु र यत्न गर्नु -- यी दुई कुराहरु भन्नुको अर्थ, मनुष्यले आफैं यत्न गर्छ भने उसमा अभिमान आउँछ 'मैले यस्तो गरें र यस्तो भयो भन्ने' र स्वयं यत्न नगरेर 'भगवानको आश्रयले सबै हुनेछ' भन्ने मान्छ भने ऊ प्रमाद र आलस्यमा तथा भोग र संग्रहमा लाग्छ । यसैले यहाँ दुई कुराहरु वताइयो, शास्त्रको आज्ञा अनुसार स्वयं तत्परताले उद्योग गर्ने र त्यो उद्योग हुनमा तथा उद्देश्यको सफलताको कारण भगवानलाई मान्ने ।

नित्य-निरन्तर वियुक्त भइरहेको शरीर-संसारलाई मनुष्य पाइएको र स्थायी मान्छ । शरीर र संसारलाई स्थायी मानेर सत्ता र महत्ता दिइरहुन्जेल जति साधन गरे पनि उसलाई भगवतप्राप्ति हुँदैन । तर यदि उसले शरीर र संसार स्थायी नमानेर त्यसलाई सत्ता र महत्ता दिएन भने भगवतप्राप्ति हुन उसलाई समय लाग्दैन । अतः यी दुई वाधाहरु अर्थात् शरीर-संसारको स्वतन्त्र सत्ता र महत्तालाई विचारपूर्वक हटाउने यत्न नै गर्ने हो । तर यो यत्न गर्दा पनि भगवानको आश्रय लिएर यत्न गर्ने व्यक्ति नै श्रेष्ठ छ । त्यस्ता मनुष्यहरुमा यस्तो भाव हुन्छ, त्यही प्रभुको कृपाले नै साधन भजन भइरहेको छ । भगवानको कृपाको आश्रय लिनाले उनीहरु भगवानको समग्ररुपलाई जान्दछन् ।

भगवानको आश्रय नलिएर आफ्नो कल्याण चाहँदै उद्योग गर्नेहरुलाई आफ्नो आफ्नो साधन अनुसार भगवतस्वरूपको बोध त हुन्छ, तर भगवानको समग्ररूपको बोध उनीहरुलाई हुँदैन । कुनै प्राणायाम आदि द्वारा योगको अभ्यास गर्नेलाई अणिमा, महिमा आदि सिद्धिहरु त मिल्छ र त्यो भन्दा माथि उठेपछि परमात्माको निराकार स्वरूपको बोध हुन्छ अथवा आफ्नो स्वरूपमा स्थिति हुन्छ । त्यस्तै, बौद्ध, जैन आदि सम्प्रदायमा लाग्ने र ईश्वर नमान्ने मनुष्यहरु पनि आफ्नो-आफ्नो सम्प्रदायका  सिद्धान्तहरु अनुसार साधन गरेर असत्-जडरूप संसारसँग सम्बन्ध-विच्छेद गरेर मुक्त हुन्छन् । परन्तु संसारवाट विमुख भएर भगवानको आश्रय लिएर यत्न गर्नेहरुलाई भगवानको समग्ररूपको बोध भएर भगवत्प्रेमको प्राप्ति हुन्छ -- भन्ने विलक्षणता वताउन नै भगवानले यहाँ 'मामाश्रित्य यतन्ति ये' भन्नुभएको हो । 

'ते ब्रह्म तत् (विदुः)' -- यसरी यत्न (साधन) गरे उनीहरु (ती साधकहरु)  मेरो स्वरूप अर्थात् मन-बुद्धि-इन्द्रियहरुको विषय नभएको र आफ्नो अगाडि नभएको (नदेखिने), शास्त्रहरुले पनि परोक्षरूपले वर्णन गर्ने निर्गुण- निराकाररुप, सच्चिदानन्दघन ब्रह्म जान्दछन् ।

'ब्रह्म'सँग 'तत्' शब्द दिनुको तात्पर्य हो, प्रायः सबै 'तत्' शब्दले भनिने परमात्मालाई परोक्षरूपले नै देख्नेहरु यस्तो परमात्मालाई (केही अघि वर्णन गरिएको परमात्मालाई) पनि उनीहरु साक्षात् अपरोक्षरूपले नै अनुभव गर्छन् । 

त्यो परमात्माको सत्ता सम्पूर्ण प्राणीहरुमा स्वतःसिद्ध छ । कारण, त्यो परमात्मा कुनै देशमा नहुने, कुनै समयमा नहुने, कुनै वस्तुमा नहुने र कुनै व्यक्तिमा नहुने भन्ने छैन । यो परमात्मा सबै देशमा छ, सबै कालमा छ, सबै वस्तुहरुमा छ र सबै व्यक्तिहरुमा छ । यस्तो हुँदा पनि त्यो परमात्मा अप्राप्त देखिने कारण के हो ? पहिले नभएको, पछि पनि नहुने, अहिले मौजूद रहँदा पनि प्रतिक्षण वियुक्त भइरहेको, अभावमा गइरहेको शरीर-संसारको महत्ता स्वीकार गरियो, यही कारण नित्य प्राप्त (सँधै पाइरहिएको) परमात्म-तत्व अप्राप्त (नपाइएको) देखिइरहिएको छ । 

'कृत्स्नमध्यात्मम् (विदुः)' -- उनीहरु (ती व्यक्तिहरु) सम्पूर्ण अध्यात्म जान्दछन् अर्थात् सम्पूर्ण जीवहरु तत्वले के हुन् भन्ने कुरा उनीहरु जान्दछन् । पन्ध्रौँ अध्यायमा भगवान भन्नुहुन्छ, 'जीवले एउटा शरीर छोडेर अर्को शरीर लिने कुरा विमूढ जान्दैनन् र ज्ञानचक्षु भएकाहरु जान्दछन् । 'जीव कति छन्, उनीहरु के के गर्छन् र उनीहरुको के के गति भइरहेको छ' भनेर ज्ञान चक्षु भएकाहरुले  जान्दछन् भन्ने  यो प्रसंगको तात्पर्य होइन । उनीहरुले (ज्ञानचक्षुहरुले) आत्मा शरीरदेखि छुट्टै छ भन्ने तत्व राम्रोसँग जान्दछन् र अनुभव पनि गर्छन् भन्ने तात्पर्य हो प्रसंगको छ । 

भगवानले चारै वर्णहरुको रचना गर्नुभयो । त्यो रचनामा जीवहरुका  गुण र कर्म अनुसार अर्थात् उनीहरुको भाव र उनीहरुले गरिएका कर्म अनुसार नै उनीहरुको शरीरहरुको रचना गरिएको छ । ती वर्णहरुमा जन्म हुन स्वयं भगवान तर्फवाट कुनै सम्बन्ध छैन, यसैले भगवानमा कर्तृत्व छैन, फलेच्छा पनि छैन । अर्थ हो, सृष्टिको रचना गर्दा पनि भगवान कर्तृत्व र फलासक्तिवाट सँधै निर्लिप्त रहनु हुन्छ । यस्तै सम्पूर्ण मनुष्यहरुलाई देश, काल, परिस्थिति अनुरुप प्राप्त भएका कर्तव्य-कर्म उनीहरुले कर्तृत्व र फलासक्तिले रहित भएर पालन गरे त्यो कर्म उसलाई फलजनक वन्दैन । अर्को शब्दमा, कर्महरुसँग हाम्रो आफ्नो कुनै सम्बन्ध छैन; यसरी ती कर्महरुसँग निर्लिप्तताको अनुभव गर्नु नै अखिल कर्म जान्नु हो । 

अनन्यभावले केवल भगवानको मात्रै आश्रय लिनेलाई प्राकृत क्रियाहरु र पदार्थहरुसँग उसको आश्रय छुट्छ । यस्तो किसिमले आश्रय छुटेपछि साधकलाई  राम्रोसँग ज्ञान हुन्छ, यी सबै क्रियाहरु र पदार्थहरु परिवर्तनशील र नाशवान् छन् अर्थात् क्रियाहरुको पनि आरम्भ र अन्त हुन्छ तथा पदार्थहरुको पनि उत्पत्ति र विनाश, संयोग र वियोग हुन्छ । ब्रह्मलोकसम्मका सबै क्रियाहरु र पदार्थहरु नित्य रहने हैनन् । अतः कर्महरुसँग मेरो अलिकति पनि सम्बन्ध छैन -- यो पनि अखिल कर्मलाई जान्नु हो । 

तात्पर्य यो भयो, भगवानको आश्रय लिएर आचरण गर्नेहरु ब्रह्म, अध्यात्म र कर्मको वास्तविक तत्व जान्दछन् अर्थात् भगवानले भन्नुभएको छ, 'यो सम्पूर्ण संसार ममा नै ओतप्रोत छ' र 'सबै वासुदेव मात्रै हो' । ब्रह्म, अध्यात्म र कर्म -- यी सबै भगवतस्वरूप नै हुन्, भगवान सिवाय यिनीहरुमा अर्को कुनै सत्ता नै छैन भन्ने व्यक्तिहरु भगवानको समग्ररुप जान्दछन् ।