Showing posts with label Mahabharat. Show all posts
Showing posts with label Mahabharat. Show all posts

Monday, 31 March 2014

21. अहिलेसम्म पनि हामी गीताको पहिलो अध्यायको नै चर्चा गरिरहेका छौं ।

अहिलेसम्म पनि हामी गीताको पहिलो अध्यायको नै चर्चा गरिरहेका छौं । अर्जुनमा भएको मोह, डिप्रेसनको चर्चा ।

मोह भनेको अज्ञान नै हो । यसले व्यक्तिलाई सुल्टोको उल्टो र उल्टोको सुल्टो देखाइदिन्छ । यही हालत हामी सबैको छ । हामी गीता पढ्छौं, गीताको अर्जुनको कुरा गर्छौं, तर, त्यसवाट हाम्रो स्थितिको विचार गर्दैनौं । तर, गीता हामीलाई भन्छ, 'हे मुर्ख, अर्जुनलाई निमित्त वनाएर मैले तिमीहरुलाई यो ज्ञान दिई रहेको छु । वास्तवमा, तिमीहरु अर्जुन भन्दा कम छैनौ, अझ अर्जुन भन्दा वढी नै मुर्ख छौ ।'

भगवानले हामीलाई सृष्टिको अरु कुनै जीवलाई नदिएको दुइ कुरा दिनुभएको छ । ती हुन्--कर्मको स्वतन्त्रता र चिन्तनको स्वतन्त्रता । तर हामी यी दुइलाइ आफ्नो उपयोगमा ल्याउन असमर्थ भैरहेछौँ । फेरि मानव जातिले अरु जातिले भन्दा फरक 'विवेक' पाएको छ । यसको उपयोग पनि हामीवाट हुन सकिरहेको छैन ।      

शास्त्रमा आउँछ, परमात्माले सृष्टि गर्दा धेरै जीव जन्तुको सृष्टि गर्नुभयो, तर उहाँलाई सबभन्दा धेरै सन्तुष्टि 'मनुष्य' शरीर वनाउँदा भयो रे । यही सन्तुष्टिले गर्दा नै उहाँले हामीलाई, कर्ममा स्वतन्त्रता, चिन्तनमा स्वतन्त्रता र विवेक दिनु भएको होला । 

कर्ममा स्वतन्त्र हुन हामीले विवेक प्रयोग गर्नु पर्छ । विवेकको अर्थ यहाँ 'नित्यानित्य वस्तु विवेक' लिनु पर्छ । वेदान्तको अध्ययन गर्न नै हामीलाई चार साधनको आवश्यकता पर्छ: !  (१) विवेक, (२) वैराग्य, (३) शमादि षटसम्पत्ति, (४) मुमुक्षुता ।        

सबभन्दा पहिलो पूर्वाधार नै 'विवेक' भएकोले यसको प्रयोग नै हाम्रो जीवनमा वढी महत्त्व राख्छ जस्तो लाग्छ मलाइ । हुन त हामी व्यवहारिक प्रसंगमा पनि यो शब्दको प्रयोग गर्छौं, तर वेदान्तमा यसको प्रयोग पारामार्थिक प्रसंगमा आउँछ । 

यो संसारमा 'नित्य' के हो 'अनित्य' के हो भन्ने कुराको विचार हामीले गर्नु पर्छ । शास्त्र भन्छ, यो संसारको सबै वस्तु, व्यक्ति, पदार्थ 'अनित्य' हुन्, तर यो संसारको सृष्टि गर्ने परमात्मा 'नित्य' हो । अर्थात्, शास्त्र अनुसार हाम्रो शरीर, नातागोता, धन सम्पत्ति, हाम्रा इन्द्रियहरु, मन, बुद्धि सम्म सबै अनित्य छन् । तर हाम्रो शरीरमा रहने, हाम्रो शरीरलाई सत्ता, स्फूर्ति दिने परमात्मा मात्र नित्य हो । यस्तो किसिमको विभाजन गरेर अनित्यलाई महत्त्व नदिएर नित्यलाई महत्त्व दिने कलालाई नै 'नित्यानित्य वस्तु विवेक' भनिन्छ ।     

यस्तो विवेक गर्न हामीले हर वखत नै 'नित्य' र अनित्यलाई केलाई रहनुपर्छ । त्यसो गर्न सके हाम्रो कर्म पवित्र हुन्छ, हाम्रो सोच पवित्र हुन्छ । मैले पहिले पनि निवेदन गरिसकें, हाम्रो कर्म हाम्रो चित्त शुद्धिकोलागि हुनुपर्छ, उपासना हाम्रो मनको एकाग्रताको लागि हुनु पर्छ, हाम्रो ज्ञान परमात्मप्राप्तिकोलागि हुनुपर्छ । त्यसैले सबभन्दा पहिले हाम्रो व्यवहार नै शुद्ध हुनु पर्यो । व्यवहार शुद्ध गर्ने कुरामा गीतामा भगवान भन्नुहुन्छ, हामीले गरिने कर्म शास्त्रको विधान अनुसार हुनु पर्छ । गीतामा नै शास्त्रीय ढंगले कसरी व्यवहार (कर्म) गर्ने भन्ने चर्चा भएको छ, सत्र र अठार अध्यायमा । हाम्रो कर्म शुद्ध गीतामा वर्णित सात्त्विक तरिकाले गर्दा हुन्छ ।  सत्त्विक कर्म गरिरहँदा हाम्रो चित्त शुद्ध हुन्छ । गीताले भन्छ, 'सात्त्विकम् निर्मलम् फलम्' जति जति हाम्रो चित्त शुद्ध भयो, उति उति हामीलाई शान्ति हुन्छ । अहिले यो मेरो पत्र पढ्ने सबैलाई ज्ञान भएकै छ, यो संसारको भौतिक उन्नतिले हामीलाई शान्ति भएन, त्यसैले त्यही शान्तिको प्राप्तिकोलागि हाम्रो कर्म शुद्ध हुनु पर्यो ।     

अहिलेलाई यत्ति, अरु पछि । वेदान्तले एउटा बुँदा  फेरि फेरि भन्छ, दृढ गराउनकोलागि । मेरो पत्र पनि त्यस्तै देखिन्छ ।  

हजुरहरुको 

इन्दिरा