Showing posts with label chapter 7. Show all posts
Showing posts with label chapter 7. Show all posts

Friday, 23 January 2015

No. 240 पहिलो श्लोकको नै वांकी अंश

No. 240

पहिलो श्लोकको नै वांकी अंश 

स्मरण तीन किसिमले हुन्छ -- बोधजन्य, सम्बन्ध-जन्य र क्रियाजन्य । बोधजन्य स्मरणको कहिले अभाव हुँदैन । सम्बन्ध नछोडुन्जेल सम्वन्धजन्य स्मरण वनिरहन्छ । क्रियाजन्य स्मरण निरन्तर रहँदैन । यी तीनै प्रकारका स्मरणको विस्तार यसरी छ -- 

(१) बोधजन्य स्मरण -- आफ्नो हुनुपनालाई स्मरण गर्नु पर्दैन । तर शरीरसँग सम्बन्ध मानिएको एकता नै भूल हो । बोध भएपछि यो भूल मेटिन्छ, त्यसपछि आफ्नो हुनुपना स्वतः सिद्ध रहन्छ । गीतामा भगवानको वचन छ -- 'तिमी, म र यी राजाहरु पहिले थिएनन् भन्ने कुरा होइन र भविष्यमा रहँदैनन् भन्ने पनि होइन अर्थात् निश्चय नै पहिले थिए र निश्चित नै पछि पनि रहन्छन् । 'पहिले  सर्ग-महासर्गमा र प्रलय-महाप्रलयमा भएको प्राणी-समुदाय उत्पन्न भई भई नष्ट हुन्छ' ।  यसरी यही 'प्राणी समुदाय' परमात्माको अंश हो र 'उत्पन्न भई भई नष्ट हुने' शरीर हो । नष्ट हुने भागलाई विवेकपूर्वक सर्वथा त्याग गरियो भने आफ्नो हुनुपनाको स्पष्ट बोध हुन्छ । यो बोधजन्य स्मरण नित्य-निरन्तर वनिरहन्छ, कहिले नष्ट हुँदैन; किनकि त्यो स्मरण आफ्नो नित्य-स्वरूपको हो ।                   

(२) सम्बन्ध-जन्य स्मरण -- हामीले स्वयं मानेको स्मरणलाई सम्बन्ध-जन्य स्मरण भनिन्छ, जस्तो, 'शरीर मेरो हो, संसार मेरो हो'। यस्तो मानिएको सम्बन्ध नमेटिउन्जेल हामी 'यो मेरो शरीर हो' भन्ने मान्छौं । परन्तु वास्तवमा भगवान हाम्रो हुनुहुन्छ । हामीले जाने पनि उहाँ हाम्रो हुनुहुन्छ, नजाने पनि हाम्रो हुनुहुन्छ । हामी सबै उहाँकै अंश हौँ र उहाँ अंशी हुनुहुन्छ । हामी उहाँसँग छुट्टिन सक्तैनौं । हामीले आफ्नो शरीरसँग सम्बन्ध मानुन्जेल भगवानको यो वास्तविक सम्बन्ध स्पष्ट हुँदैन ।हामीले शरीर र संसारको सम्बन्धलाई पूरापूर अस्वीकार गरेपछि मात्रै हाम्रो भगवानसँगको सम्बन्ध स्वतः जाग्रत हुन्छ । त्यसपछि भगवानको स्मरण नित्य-निरन्तर वनिरहन्छ । 

(३) क्रियाजन्य स्मरण -- क्रियाजन्य स्मरण अभ्यासजन्य हुन्छ । जस्तो महिलाहरु आफ्नो शिरमा (टाउकोमा) जलको घडा राखेर हिंडदै आफ्ना दुवै हातहरु खुला राखी राखी (घडा नसमाती) अरु महिलाहरुसँग कुरा पनि गर्छन्, तर उनीहरुको ध्यान आफ्नो टाउकोमा रहेको जलको घडाप्रति सावधान रहिरहन्छ । (नट) जादुगर डोरीमा हिंडी हिंडी गाउँछ पनि, वोल्छ पनि, तर डोरीको ध्यान उसलाई हर हमेशा रहिरहन्छ । ड्राइभर मोटर कार चलाउँछ, हातले गियर पनि चलाउँछ, हैन्डल पनि घुमाउँछ र आफ्नो मालिकसँग कुरा पनि गर्छ । यसो गर्दा गर्दै उसको सडकको ध्यान पनि निरन्तर रहन्छ । त्यस्तै सम्पूर्ण क्रियाहरुमा भगवानको निरन्तर स्मरण राख्नु अभ्यासजन्य स्मरण हो । अभ्यास-जन्य स्मरण तीन किसिमका छन् । 

(क) संसारका काम गर्दा भगवानको स्मरण गर्ने -- यसमा सांसारिक कार्यको मुख्यता र भगवानको स्मरणको गौणता रहन्छ । अतः यसमा यो भाव रहन्छ, संसारको काम नविग्रोस्, राम्रो किसिमले भइरहोस् र साथ-साथै भगवानको स्मरण पनि भइरहोस् ।         

(ख) भगवानको कार्य गरी गरी संसारको कार्य गर्ने -- यसमा भगवानको स्मरणको मुख्यता र सांसारिक कार्यको गौणता रहन्छ । यसमा भगवानको स्मरणमा भूल नहोस् भन्ने सावधानी रहन्छ र संसारको कार्यमा भूल भइहाले पनि पर्वाह हुँदैन । कारण, साधकमा यो जागृति भइरहन्छ, संसारको काम सुध्रिए पनि अन्तमा रहने होइन र विग्रिए पनि अन्तमा रहने होइन । यसैले यसमा भगवानको स्मरणमा भूल हुँदैन । 

(ग) संसारको कार्यलाई भगवानको नै कार्य सम्झने -- यसमा काम-धन्दा गरिरहँदा पनि यौटा विलक्षण आनन्द रहन्छ कि 'मेरो अहोभाग्य हो, म भगवानको नै काम गर्छु, भगवानको नै सेवा गर्छु ।' अतः यसमा भगवानको स्मृति विशेषताले रहन्छ । जस्तो कुनै पिता आफ्नो छोरीको विवाह गर्ने वेलामा किसिम किसिमका वस्तुहरु किन्छ, किसिम किसिमका कार्यहरु गर्छ, धेरै व्यक्तिहरुलाई निमन्त्रणा दिन्छ; तर अनेक प्रकारका कार्यहरु गर्दा पनि 'छोरीको विहे गर्नु छ' भन्ने कुरो उसलाई निरन्तर याद भइरहन्छ । आफ्नी छोरीमा भगवानको समान पूज्यभावपूर्वक सम्बन्ध नभए पनि उसलाई विवाहको काम गर्दा छोरीको विहेको सम्झना निरन्तर भइरहन्छ भने भगवानकोलागि कार्य गर्दा भगवानमा पूज्यभाव सहित आफ्नोपनको मीठो स्मृति निरन्तर वनिरहनुमा त भन्नु नै के पर्ला र ? 

भगवतसम्बन्धी कार्य पनि दुई प्रकारका हुन्छन् --

(१) स्वरूपले -- भगवानको नामको जप र कीर्तन गर्नु; भगवानको लीलाको श्रवण, ,पठन-पाठन  आदि गर्नु -- यो स्वरूपले भगवतसम्बन्धी काम हो । 

(२) भावले -- संसारको काम गर्दा पनि 'सबै संसार भगवानको हो भने संसारको काम पनि भगवानको नै भयो । यो काम भगवानकोलागि नै गर्ने हो, भगवानको प्रसन्नताकोलागि नै गर्ने हो । यो कामवाट मलाई केही पनि लिनु छैन । भगवानले मलाई जुन वर्णमा पैदा गर्नु भएको छ, जुन आश्रममा राख्नु भएको छ, त्यसैमा मलाई भगवानको आज्ञा अनुसार नै उचित काम गर्नु छ -- यस्तो भाव रहँदा त्यो काम सांसारिक हुँदा पनि भगवानको हुन्छ । 

भगवानले सातौँ अध्यायमा भन्नुभयो -- 'प्रयाणकालेपि च मां ते विदुर्युक्तचेतसः' । यसमा अर्जुनले यही वारेमा प्रश्न गरे । त्यसको उत्तरमा भगवानले भन्नुभयो, अन्तकालमा मेरो स्मरण गर्दै शरीर छोडने व्यक्तिले मलाई नै पाउँछ । तर यो नियम खालि मेरो प्राप्तिको विषयमा होइन । मनुष्य जस जसको पनि स्मरण गर्दै शरीर छोड्छ, ऊ त्यस त्यसलाई नै पाउँछ । यो सबैकोलागि सामान्य नियम हो । अन्तकाल जुन सुकै समयमा आउन सक्छ । यसैले मनुष्यले नित्य-निरन्तर, सबै समयमा मेरो स्मरण गर्नु पर्छ ।

No. 239 पहिलो श्लोकको वांकी अंश श्लोक ७

No. 239

पहिलो श्लोकको वांकी अंश 

अन्तकालीन गतिको विषयमा भगवानको  न्यायकारिता र दयालुता दुवै भरिएका छन् । साधारण दृष्टिले न्याय र दया -- दुवै परस्पर विरुद्ध जस्ता देखिन्छन् । न्याय गरियो भने दया सिद्ध हुँदैन र दया गरियो भने न्याय सिद्ध हुँदैन । कारण कि न्यायमा ठीक ठीक निर्णय हुन्छ, छुट हुँदैन र दयामा छुट हुन्छ । वास्तवमा यो  विरोध सामान्य र क्रूर पुरुषले वनाएको न्यायमा नै आउन सक्छ, भगवानले वनाएको न्यायमा होइन । किनकि भगवान परम सुहृद र सम्पूर्ण प्राणीहरुको सुहृद हुनुहुन्छ -- ' सुहृदम् सर्व भूतानाम्' । भगवानका सबै न्याय, कानून दयाले परिपूर्ण छन् । 

मनुष्य अन्तकालमा जस्तो स्मरण गर्छ, त्यही स्मरण अनुसार उसको गति हुन्छ । यदि कुनै मनुष्य कुकुरको विचार गर्दै मर्छ भने ऊ क्रमशः कुकुर नै वन्छ । मनुष्यकोलागि यो भगवानको न्याय भयो, किनकि भगवानले सम्पूर्ण मनुष्यलाई यो स्वतन्त्रता दिनुभएको छ कि 'ऊ चाहे मेरो (भगवानको) स्मरण गरोस्, चाहे अरु कसैको स्मरण गरोस्' । यसैले यो भगवानको 'न्याय' हो । जति मूल्यमा कुकुरको योनि मिल्छ, उति नै मूल्यमा भगवान मिल्नु हुन्छ  -- यो सम्पूर्ण मनुष्य प्रति भगवानको 'दया' हो । मनुष्यले भगवानको यो न्यायकारिता र दयालुतातिर ध्यान दियो भने भगवानमा उसको आकर्षण हुन्छ । 

सातौँ अध्यायमा भगवानले 'यो यो यां यां तनुम् भक्त:' पदहरुले उपासनाको विषयमा मनुष्यको स्वतन्त्रता वताउनु भएको थियो । यो श्लोकमा भगवान मनुष्यहरूको गतिको विषयमा वताउनु हुन्छ । तात्पर्य हो, आफ्नो उपासना र गतिको विषयमा मनुष्य स्वतन्त्र छ र त्यसमा भगवान आफ्नो दयालु स्वभावको कारण वाधक वन्नु हुन्न, भगवान मनुष्यलाई सहायता गर्नुहुन्छ । मनुष्य आफैं आफूलाई मिलेको स्वतन्त्रताको दुरुपयोग गरेर दुर्गतिमा जान्छ । 

मनुष्य शरीरको महत्ता यसैमा छ, उसले जे खोज्यो त्यो पाउन सक्छ । मनुष्यले पाउन नसक्ने कुनै दुर्लभ पद छैन । लाभ(सुख)को अन्त नभएको र दुःखको लेश पनि नभएको पद मनुष्य पाउन सक्छ । परन्तु भोग र संग्रहमा लागेर मनुष्य चौरासी लाख योनिहरुमा र नरकहरुमा जान्छ । यसैले भगवान दुःखसँग भन्नु हुन्छ -- 'अप्राप्य मां निवर्तन्ते संसारवर्त्मनि', 'मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम्' ।

मनुष्य अन्तकालमा जस्तो चिन्तन गर्छ, उसको गति त्यस्तै हुन्छ ।

तात्पर्य, हामी मृत्युकालमा हामी जस्तो चाहन्छौं, त्यस्तो चिन्तन गर्न सक्तैनौं, तर मनुष्य भित्र भएको वासना अनुसार नै उसको चिन्तन स्वतः हुन्छ र त्यही चिन्तन अनुसार नै उसको गति हुन्छ । उसले सत्ता र महत्ता दिएको , तिनसँग सम्बन्ध जोडेको, तिनवाट सुख लिएको वस्तु अनुसार नै  उसको वासना वन्छ । संसारमा सुख बुद्धि नभए संसारको वासना वन्ने छैन । वासना नभएपछि मृत्युकालमा जे सुकै चिन्तन भए पनि भगवानको नै चिन्तन होला, किनकि सिद्धान्तले सबै भगवान नै हो -- 'वासुदेवः सर्वम्' ।

'तं तमेवैति' -- जसरी सियोको पछि पछि (त्यही वाटोवाट) धागो जान्छ, त्यही किसिमले मनुष्य पनि अन्तकालको भाव अनुसार त्यही गतिमा जान्छ ।

श्लोक ७ 

यसैले तिमी हर समयमा मेरो स्मरण गर र युद्ध गर । ममा मन, बुद्धि अर्पण गर्ने भएपछि तिमी निःसन्देह मलाई नै पाउनेछौ ।

'तस्मात्सर्वेषु कालेषु मामनुस्मर युध्य च' -- यहाँ 'सर्वेषु कालेषु' पदहरुको सम्बन्ध खालि स्मरण मात्रैले छुट्छ, युद्धले छुद्तैन; किनकि युद्ध जुन वेला पनि हुन सक्तैन ।कुनै पनि क्रिया निरन्तर हुँदैन, वेला वेलामा हुन्छ ।कारण कि प्रत्येक क्रियाको आरम्भ र समाप्ति हुन्छ -- यो कुरो त सबैको अनुभव नै हो । परन्तु भगवतप्राप्तिको उद्देश्य भए  भगवानको स्मरण जुन वेला पनि हुन्छ; किनकि उद्देश्यको जागृति हरदम रहन्छ । 

जुन वेला पनि भगवानको स्मरण गर्नु भनिएको तात्पर्य हो, प्रत्येक कार्यमा समयको विभाग हुन्छ; जस्तो -- यो समय सुत्ने, यो समय उठ्ने हो , यो समय नित्य कर्म गर्ने हो, यो समय जीविकाको निम्ति कर्म गर्ने हो, यो समयको भोजनको हो, आदि आदि । परन्तु भगवानको स्मरण गर्न समयको विभाग हुनुहुन्न । भगवानको स्मरण त हरहमेशा हुनु पर्छ । 

'युध्य च' भन्नुको तात्पर्य, यहाँ अर्जुनको अगाडि युद्धरूप कर्तव्य-कर्म छ । यो कर्म अर्जुनलाई स्वतः प्राप्त छ -- 'यदृच्छयाचोपपन्नम्' । यस्तै मनुष्यलाई कर्तव्यरूपले प्राप्त भएको कर्म उसले भगवानको स्मरण गर्दै गर्नु पर्छ । त्यो वेला भगवानको स्मरण मुख्य हुन्छ र कर्तव्य कर्म गौण हुन्छ । 

'अनुस्मर'को अर्थ हो, स्मरण पछि स्मरण भइरहोस् अर्थात् निरन्तर स्मरण भइरहोस् । अर्को अर्थ हो, भगवान कुनै पनि जीवलाई विर्सनु हुँदैन । भगवानले सातौँ अध्यायमा 'वेदाहम्' भनेर वर्तमानमा सबै जीवहरुलाई स्वतः जान्ने कुरा गर्नु भएको छ । वर्तमानमा भगवान सबैलाई जान्नु हुन्छ भने भगवानले सम्पूर्ण जीवहरुलाई सम्झनु त स्वाभाविक नै भयो । यदि हामीले पनि भगवानलाई सम्झ्यौं हाम्रो काम सफल भयो । 

 भगवानको स्मरणको जागृति हुन भगवानसँग आफ्नोपन हुनु पर्छ । यो आफ्नोपन जति दृढ भयो, त्यति नै भगवानको स्मृति वारम्वार आउनेछ । 

'मय्यर्पितमनोबुद्धि:' -- ममा मन-बुद्धि अर्पित गरिदिनेको साधारण अर्थ हुन्छ, मनले भगवानको चिन्तन होस् र बुद्धिले परमात्माको निश्चय गरियोस् । परन्तु यसो वास्तविक अर्थ हो -- मन, बुद्धि, इन्द्रियहरु, शरीर आदिलाई भगवानको मान्ने, कहिले भूलले पनि आफ्नो नमान्ने । कारण, सबै प्राकृत पदार्थहरु पनि भगवानका नै हुन् । ती प्राकृत पदार्थहरुलाई आफ्नो मान्नु नै गल्ति हो । साधकले ती पदार्थहरुलाई आफ्नो मानुन्जेल ऊ शुद्ध हुन सक्तैन; किनकि यिनीहरुलाई आफ्नो मान्नु नै खास अशुद्धि हो । र यो अशुद्धिले नै अनेक अशुद्धिहरु पैदा हुन्छन् ।  

वास्तवमा मनुष्यको सम्बन्ध केवल प्रभुसँग छ । प्रकृति र प्रकृतिको कार्यसँग मनुष्यको सम्बन्ध कहिले थिएन, छैन, र रहने पनि छैन । किनकि, मनुष्य साक्षात् परमात्माको अंश हो; अतः उसको सम्बन्ध प्रकृतिसँग कसरी हुन सक्छ ? यसैले साधकले आफ्नो मन र बुद्धि भगवानको नै सम्झेर भगवानलाई नै अर्पण गरिदिने । त्यसपछि उसलाई भगवानको प्राप्ति स्वाभाविक नै हुनेछ; किनकि प्रकृतिको कार्य शरीर, मन, बुद्धि, आदिसँग सम्बन्ध जोडेको कारण नै ऊ भगवानसँग विमुख भएको थियो । 
                                          
अव प्रश्न आउँछ, यी प्राकृत पदार्थ कस्ता छन् ? यो विषयमा दार्शनिकहरुको मतभेद छ, तर 'ती हाम्रा होइनन् र हामी पनि तिनीहरुका होइनौं' भन्ने वास्तविकतामा कुनै मतभेद छैन अर्थात् यो कुरालाई सबै दर्शनकारहरु मान्छन् र अरु दर्शनकारहरु पनि ती पदार्थहरुलाई चाहे पृथ्वीको मानून्, चाहे परमात्माको मानून्, तर दार्शनिक दृष्टिले ती पदार्थहरुलाई आफ्नो मान्न सक्तैनन् । अतः साधकले ती सबै पदार्थहरुलाई ईश्वरको नै मानेर ईश्वरलाई अर्पण गरिदियो भने 'म भगवानको नै थिएँ र भगवानको नै रहनेछु' भनेर भगवानसँग नित्य सम्बन्ध जोड्ने ।

'मामेवैश्यस्यसंशयम्' -- ममा मन-बुद्धि अर्पण गर्ने भएपछि तिमी मलाई नै प्राप्त गर्नेछौ । यो कुरामा कुनै पनि शंका छैन । कारण, म तिमीलाई नित्य प्राप्त छु । अप्राप्तिको अनुभव त कहिले पनि प्राप्त नहुने शरीर र संसारलाई आफ्नो मान्दा, तिनीहरुसँग सम्बन्ध जोड्दा नै हुन्छ । नित्यप्राप्त तत्वको कहिले अभाव छैन र हुन पनि सक्तैन । यदि तिमी मन, बुद्धि र स्वयं मलाई अर्पण गर्छौ भने तिम्रो मसँग भएको नित्य-सम्बन्ध प्रकट हुन्छ -- यसमा कुनै पनि शंका छैन ।

xx हालै मैले हजुरहरुलाई पठाइरहेको गीताको अनुवादमा भएका वर्णनहरु हजुरहरुलाई विश्वास गर्न गाहारो भैरहेको होला जस्तो लाग्छ वेला वेलामा मलाई । गीताका सबै ज्ञान र साधन पद्धतिहरु हाम्रो व्यवहारमा आउन सक्ने र त्यही किसिमको आचरण गर्न पनि गर्न सकिने छन् । तर यो ज्ञानले हामीलाई आफूमा आफैले आफ्नै गल्तीहरु पत्ता लगाउन सक्ने शक्ति दिन्छ । त्यस्तै, आफूलाई दुःख परेको अवस्थामा धैर्य गर्न सक्ने कला पनि सिकाउँछ । गीताको ज्ञानले हामीले आफ्नो प्रचलनमा मानिआएका धर्म र गीताको ज्ञानमा ठूलो अन्तर छ भन्ने कुरो बुझ्न पनि लगाउँछ । जे भए पनि हजुर, हाम्रो आफ्नो जीवन आफैं चलाउनु पर्छ हामीले । हाम्रो जीवन चलाउन अरुले मदत गर्लान्, अरुले सुख देलान्, अरुले सुख दिए म सुखी हुन्थें भन्नु पनि दुराशा हो हाम्रो ।     
 
अर्को कुरा, म केही दिनकोलागि भोलि दाङ जाँदैछु । त्यति वेलासम्म म  हजुरहरुको सम्पर्कमा रहन सक्तिन । त्यतावाट आएपछि अरु चिठी लेखिहाल्ने छु ।  

Friday, 26 December 2014

Gita: Chapter 7: Slok 1 - पहिलो श्लोकको वांकी अंश 'वासुदेवः सर्वम्' -- महासर्गको आदिमा एउटा भगवान नै अनेक रूपमा हुनुहुन्छ र अन्तमा अर्थात्

No. 219  

पहिलो श्लोकको वांकी अंश 

'वासुदेवः सर्वम्' -- महासर्गको आदिमा एउटा भगवान नै अनेक रूपमा हुनुहुन्छ र अन्तमा अर्थात् महाप्रलयमा एउटा भगवान नै शेष रहनुहुन्छ । यस्तो प्रकारले आदि र अन्तमा एउटा भगवान मात्रै रहनुहुन्छ भने वीचमा अर्को कहाँवाट आयो ? किनकि संसारको रचना गर्नमा भगवानसँग आफू सिवाय कुनै सामग्री थिएन, उहाँ त सारा संसारको रूपमा नै प्रकट हुनु भएको छ । त्यसैले यी सबै वासुदेव नै हुन् । आदि र अन्तमा हुने चीज मध्य (वीच) मा पनि हुन्छन् । जस्तो सुनका गहना आदिमा सुन थिए र अन्तमा सुन नै रहन्छन् वीचमा गहना कहाँवाट आए ? केवल सुन नै सुन छन् । माटोवाट वन्ने भाँडा कुँडा पहिले माटो थिए र अन्तमा माटो नै हुन्छन् भने वीचमा माटो सिवाय के छ ? खालि माटो मात्रै छ । चीनीवाट वनेका खेलौना पहिले चीनी नै थिए र पछि पनि चीनी नै हुन्छन् भने वीचमा चीनी सिवाय के छ ? खालि चीनी नै चीनी छ । यसै गरी सृष्टि भन्दा पहिले भगवान हुनुहुन्थ्यो र अन्तमा पनि भगवान नै रहनु हुनेछ भने वीचमा भगवान सिवाय के छ ? खालि भगवान नै भगवान नै भगवान हुनुहुन्छ । सुनलाई चाहे गहनाको रूपमा देखौं, चाहे डोरीको रूपमा देखौं, चाहे वालाको रूपमा देखौं, हो त सुन नै । त्यस्तै संसारमा अनेक रुपहरुमा, अनेक आकृतिहरुमा भगवान मात्रै हुनुहुन्छ ।

मनुष्यको दृष्टि गहना पट्टि, त्यसका आकृतिहरु पट्टि रहन्छ र ऊ ती आकृतिहरुलाई मात्रै महत्व दिन्छ, त्यो वेलासम्म 'यो सुन नै हो' भन्ने उसको दृष्टि हुँदैन । यसैले मनुष्यको दृष्टि संसारतिर रहुन्जेल, संसारलाई महत्व दिउन्जेल 'सबै भगवान नै हो' भन्ने उसको दृष्टि हुँदैन । तर गहनाहरुतिर दृष्टि नरहँदा गहनाहरुमा सुनको भावना हुँदैन, तर 'यो सुन नै हो' भन्ने भावना त रहन्छ । त्यस्तै, संसारतिर दृष्टि नहुँदा संसारमा भगवानको भावना हुँदैन, तर 'सबै भगवान नै हुनुहुन्छ, भगवान सिवाय केही छँदै छैन' भन्ने भावना हुन्छ । कारण संसारमा भगवानको भावना गर्दा संसारको सत्ता सँगै रहन्छ अर्थात् संसारको भावना राखी राखी, त्यसको सत्ता मानी मानी त्यसमा भावना गरिन्छ । अतः संसारको सत्ता मानुन्जेल संसारलाई महत्व दिउन्जेल संसारमा भगवानको भावना गरिरहँदा पनि 'वासुदेवः सर्वम्'को अनुभव हुँदैन ।                     

ब्रह्मभूत मनुष्य निर्वाण ब्रह्म पाउँछ; ब्रहमभूत योगीलाई उत्तम सुख हुन्छ; ब्रह्मभूत भगवानको परा भक्ति पाउँछ र त्यो भक्तिले तत्व जानेर त्यसैमा प्रवेश गर्छ -- गीताको दृष्टिमा यी तीनै अवस्थाहरु हुन् । अवस्थाहरुमा परिवर्तन हुन्छ; परन्तु 'वासुदेवः सर्वम्' -- यो अवस्था होइन, वास्तविक तत्व हो । यसमा कहिले परिवर्तन हुँदैन ।

हामीले देखेको संसार सबै भगवानको नै स्वरूप हो । भगवान सिवाय यो संसारको स्वतन्त्र सत्ता छँदै थिएन, छँदै छैन र कहिले हुने पनि छैन । अतः देख्ने, सुन्ने र सम्झनमा आउने संसार सबै-का-सबै भगवतस्वरूप नै हुन् । भगवान भागवतमा भन्नु हुन्छ --

'मनले, वाणीले, दृष्टिले तथा अरु इन्द्रियहरुले पनि ग्रहण गरिने (लिइने) जुन सुकै चीज सबै म नै हुँ । मदेखि केही छैन । यो सिद्धान्त तिमीहरु विचारपूर्वक बुझ्नु ।'

माथि वर्णित यही आज्ञा अनुसार नै त्यो ज्ञानी अर्थात् प्रेमीको जीवन हुन्छ । ऊ सबै ठाउँमा भगवानलाई नै देख्छ -- 'यो माम् पश्यति सर्वत्र सर्वं च मयि पश्यति' ।ऊ सबै थोक गरिरहँदा भगवानमा नै रहन्छ -- 'सर्वथा वर्तमानोपि स योगी मयि वर्तते' ।

कसैलाई कुनै ठाउँमा कुनै वस्तु पाइंदा वडो प्रसन्नता हुन्छ भने जसलाई सबै ठाउँमा आफ्नो प्यारो इष्टदेवको अनुभव हुँदा उसलाइ कति प्रसन्नताको, आनन्दको के ठेगान ? त्यो आनन्दमा विभोर भएर प्रेमी भक्त कहिले हाँस्छ, कहिले रुन्छ, कहिले नाच्छ र कहिले चुप भएर शान्त हुन्छ । यसरी उसको जीवन अलौकिक आनन्दले परिपूर्ण हुन्छ । त्यसपछि उसकोलागि केही गर्न, जान्न र पाउन वांकी रहँदैन । ऊ सर्वथा पूर्ण हुन्छ अर्थात् उसकोलागि कुनै पनि अवस्थामा, कुनै पनि परिस्थितिमा केही पनि गर्न वांकी रहँदैन । 

भक्तिमार्गमा चल्ने व्यक्ति 'यो सत् हो र यो असत् हो' भन्ने विवेकलाई लिएर चल्दैन । उसमा विवेक-ज्ञानको प्रधानता रहँदैन । उसमा खालि भगवदभावको प्रधानता रहन्छ । खालि भगवदभावको प्रधनता रहेको कारण उसकोलागि यो संसार सबै चिन्मय हुन्छ, जस्तो -- मीरावाईको शरीर (चिन्मय हुँदा) भगवानको विग्रहमा लीन भयो ।

सत्-असत् को विवेक हुने ज्ञानमार्गमा परिणाममा सत्-असत् दुबैको सत्ता रहँदैन, केवल सत् स्वरूप मात्रै रहन्छ । परन्तु भक्तिमार्गमा सत्-असत् सबै भगवतस्वरूप नै हुन्छ । त्यसपछि भक्त भगवतस्वरूप संसारको सेवा गर्छ । सेवामा पहिले त सेवक, सेवा र सेव्य तीनै रहन्छन् । परन्तु भगवदभावको अत्यधिक गाढ़ता भएपछि सेवक भावको विस्मृति हुन्छ । अनि भक्त स्वयं सेवारुप भएर सेव्यमा विलीन हुन्छ । खालि भगवान मात्रै शेष रहनुहुन्छ । यसरी भगवदभावमा तल्लीन भएका प्रेमी भक्त जहाँ विचरण गर्छन्, त्यहाँ उनको दर्शन, स्पर्श, भाषण आदिको अरु प्राणीहरुमा वडो असर पर्छ । 
                
मनुष्यलाई पदार्थमा भोगबुद्धि रहुन्जेल उसलाई ती पदार्थहरुको वास्तविक स्वरूप समझमा आउँदैन । परन्तु भोगबुद्धि सर्वथा हटेपछि भगवत्स्वरूप मात्रै देखिनमा आउँछ । 

Gita: Chapter 7: Slok 19 - श्लोक १९ धेरै जन्महरुको अन्तिम जन्ममा अर्थात् मनुष्यजन्ममा सबै परमात्मा मात्रै हो --

No. 218 

श्लोक १९ 

धेरै जन्महरुको अन्तिम जन्ममा अर्थात् मनुष्यजन्ममा सबै परमात्मा मात्रै हो -- यस्तो प्रकारले मेरो शरण हुने ज्ञानवान् भक्त महात्मा हो; त्यस्तो महात्मा पाउन अति नै दुर्लभ छ ।

'बहूनां जन्मनामन्ते' -- मनुष्यजन्म सम्पूर्ण जन्महरुको अन्तिम जन्म हो । भगवानले जीवलाई मनुष्य शरीर दिएर उसलाई जन्म-मरणको प्रवाहवाट छुट्टिएर आफ्नो प्राप्तिको पूरा अधिकार दिनुभएको छ । परन्तु यो मनुष्य भगवानलाई प्राप्त नगरेर रागले गर्दा फेरि पुरानै प्रवाहमा अर्थात् जन्म-मरणको चक्करमा जान्छ । यसैले भगवान भन्नुहुन्छ -- 'अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवर्त्मनि' । भगवान भन्नुहुन्छ, आसुरी योनिहरु र नरकहरुको अधिकारीहरुको वर्णन गर्दा दुर्गुण-दुराचारहरुको कारण भगवतप्राप्तिको सम्भावना न देखिंदा पनि 'मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम्' अर्थात् मलाई नपाएर नै यी प्राणी अधम गतिमा गए अर्थात् तिनीहरु मरेपछि मनुष्य योनिमा गए त कम से कम मनुष्य त रहन्थे; तर तिनीहरु मेरो प्राप्तिको पूरा अधिकार प्राप्त गरेर पनि अधम गतिमा गए । 

सन्तहरुको वाणीमा र शास्त्रमा आउँछ, मनुष्यजन्म केवल आफ्नो कल्याण गर्न पाइएको छ; विषयहरुको सुख भोग्न तथा स्वर्ग पाउनलाई पनि होइन । यसैले गीताले स्वर्गको प्राप्ति चाहनेहरुलाई मूढ र तुच्छ बुद्धि भएका व्यक्ति भन्छ --'अविपश्चितः', र 'अल्पमेधसाम्'। 

यो मनुष्य जन्म सम्पूर्ण जन्महरुको आदि जन्म पनि हो र अन्तिम जन्म पनि हो । सम्पूर्ण जन्महरुको आरम्भ मनुष्यजन्ममा गरिएका पाप चौरासी लाख योनिहरु र नरकहरुमा भोगेर पनि समाप्त हुँदैन, वांकी नै रहन्छन्, यसैले यो सम्पूर्ण जन्महरुको आदि जन्म हो । मनुष्यजन्ममा सम्पूर्ण पापहरुको नाश गरेर, सम्पूर्ण वासनाहरुको नाश गरेर आफ्नो कल्याण गर्न सकिन्छ, भगवान पाउन सकिन्छ, यसैले यो जन्म सम्पूर्ण जन्महरुको अन्तिम जन्म हो ।

भगवानले आठौँ अध्यायको छैठौं श्लोकमा भन्नुभएको छ, 'मनुष्यले अन्तिम समयमा जस्तो भावले स्मरण गर्दै शरीर छोडेर जान्छ, ऊ त्यही भाव पाउँछ ।' यसरी मनुष्यलाई जुन कुनै भावको स्मरण गर्न दिइएको स्वतन्त्रतावाट थाहा हुन्छ, भगवानले मनुष्यलाई पूरा अधिकार दिनुभएको छ अर्थात् मनुष्यको उद्धारकोलागि भगवानले आफ्नो तर्फवाट यो अन्तिम जन्म दिनुभएको हो । अव उसले नयाँ जन्मको तयारी गर्ने हो कि अथवा आफ्नो उद्धार गर्ने हो -- यसमा ऊ सर्वथा स्वतन्त्र छ । यही कुरालाई लिएर गीता सम्पूर्ण मनुष्यलाई परमात्म प्राप्तिको अधिकारी मान्छ र खुला शब्दहरुमा भन्छ, वर्तमानको दुराचारी भन्दा दुराचारी पनि पूर्व जन्मको पापहरुले गर्दा नीच योनिहरुमा जन्मिएको पाप योनि र चारै वर्णका स्त्री-पुरुष -- यी सबै भगवानको आश्रय लिएर परमगति प्राप्त गर्न सक्छन् ।   
            
गीताले भनेको 'पापयोनि'लाई शुद्र भन्दा पनि नीच भनियो र यसमा हामीले मानिएको चांडाल, यवन आदि पशु-पक्षी, कीट-पतंग, वृक्ष-लता, आदि सबैलाई लिन सकिन्छ । फरक यति मात्रै हो, पशु-पक्षी आदि प्राणीमा परमात्मातिर लाग्ने योग्यता छैन, परमात्माको अंश भएकोले उनीहरुकोलागि परमात्मातर्फवाट निषेध पनि छैन । ती मध्ये धेरै प्राणी परमात्माको कृपाले तथा तीर्थ र भगवदधामको प्रभावले परमगति पाउन सक्छन् । देवता भोगयोनि हुन्, उनीहरु भोगहरुमा नै लागिरहन्छन, यसैले उनीहरुलाई 'आफ्नो उद्धार गर्नु छ' भन्ने विचार नै आउँदैन परन्तु उनीहरु यदि कुनै कारणले भगवानमा लागे भने उनीहरुको पनि उद्धार हुन्छ । इन्द्रलाई पनि ज्ञान भयो भन्ने कुरो शास्त्रमा आउँछ ।                    

भगवानतर्फवाट सम्पूर्ण मनुष्यको जन्म अन्तिम जन्म हो । कारण, भगवानको यो संकल्प छ, मैले दिएको यो शरीरवाट मनुष्यले आफ्नो कल्याण गरोस् । अतः आफ्नो कुनै पनि संकल्प नराखेर केवल निमित्त वनियो भने भगवानको संकल्पले साधकलाई कल्याण हुन्छ । भगवानले एघारौँ अध्यायमा अर्जुनलाई भन्नुहुन्छ -- 'मद्वारा मारिएकालाई तिमी मार' -- 'मया हतास्त्वं जहि । तिमी चिन्ता नगर -- 'मा व्यथिष्ठा ।' तिमी युद्ध गर, तिम्रो विजय हुनेछ -- 'युद्ध्यस्व जेतासि ।' यही तरहले भगवानले कृपा गरेर हामीलाई मनुष्यशरीर दिनुभएको छ । यदि मनुष्य भगवानदेखि विमुख भएर संसारको रागमा नफसे भगवानको त्यो संकल्पवाट अनायास नै मुक्त होइन्छ ।

साधकको इच्छा नभई कल्याण गर्ने भन्ने भगवानको संकल्प होइन । त्यसो भए त्यो संकल्प कस्तो हो ? भगवानले मनुष्यलाई आफ्नो कल्याण गर्ने स्वतन्त्रता यही जन्ममा नै दिनुभएको छ । उहाँले दिनुभएको यो स्वतन्त्रता दुरुपयोग हामी ले नगरौँ अर्थात् भगवान र शास्त्र विपरीत नचलौं, कम-से-कम आफ्नो विवेक विरुद्ध नचलौं । यस्तो आचरण गरे साधकलाई भगवान र शास्त्रहरू अनुकूल जीवन विताउन सजिलो हुन्छ । कारण, भगवान र शास्त्रहरु विपरीत नचल्दा दुई अवस्थाहरु मध्ये एक अवस्था स्वाभाविक हुनेछ -- या त ऊ शरीर-इन्द्रियहरु-मन-बुद्धिले केही नगर्नेछ या केवल खालि भगवान र शास्त्र अनुकूल नै गर्ने छ ।              

केही नगर्ने अवस्थामा अर्थात् केही नगर्ने रूचि नरहने अवस्थामा मन, बुद्धि, इन्द्रियहरुसंग सम्बन्ध-विच्छेद हुन्छ । कारण, केही न केही गर्ने इच्छाले नै कर्तृत्वाभिमान उत्पन्न भएर अन्तःकरण र इन्द्रियहरुसँग सम्बन्ध जोडिन्छ र आफ्नोलागि कर्म गर्दा फलसँग सम्बन्ध जोडिन्छ । केही पनि नगर्दा न कर्तृत्व-   अभिमान हुनेछ र न फलेच्छा हुनेछ, तर स्वरूपमा स्वतः स्थिति हुनेछ । 

शास्त्रको आज्ञा अनुसार निष्कामभावपूर्वक कर्म गर्ने अवस्थामा गर्ने प्रवाह मेटिन्छ र क्रिया तथा पदार्थसँग सम्बन्ध विच्छेद हुन्छ । क्रिया र पदार्थसँग सम्बन्ध विच्छेद भएपछि नयाँ कामना हुँदैन र पुरानो राग मेटिएपछि स्वतः बोध हुन्छ -- 'तत्स्वयं योगसंसिद्ध: कालेनात्मनि विन्दति' । 

गीतामा आएको छ -- निष्कामभावले विधिपूर्वक आफ्नो कर्तव्यकर्मको पालन गरियो भने अनादिकालदेखि वनेका सम्पूर्ण कर्म नष्ट हुन्छन् । ज्ञानयोगले मनुष्य सम्पूर्ण पापहरुवाट तर्छ । भगवान भक्तलाई सम्पूर्ण पापहरुदेखि मुक्त गर्नुहुन्छ । भगवानलाई अज-अनादि भन्ने जान्ने व्यक्ति सबै पापहरुदेखि तर्छ ।यसरी कर्मयोग, ज्ञानयोग र भक्तियोग -- तीनै योगहरुले पाप नष्ट हुन्छन् ।तात्पर्य, अन्तिम मनुष्य जन्म खालि कल्याणकोलागि नै मिलेको छ ।मनुष्यजन्ममा सत्संग पाइयोस्, गीता जस्ता ग्रन्थसँग परिचय होस्, भगवान्नामसँग परिचय होस् । त्यसपछि साधकले यो बुझ्नु पर्यो कि भगवानले धेरै विशेषताले कृपा गर्नुभयो; अव मेरो उद्धार भइहाल्छ, अव मेरो अर्को जन्म नहोला । कारण, मेरो उद्धार नहुने भए यस्तो मौका आउँदैनथ्यो । परन्तु 'भगवानको कृपाले उद्धार त भइहाल्छ' -- यस्तो भरोसा गरेर साधन छोड्नु हुँदैन; झन् तत्परता र उत्साहपूर्वक साधनमा लागिरहनु पर्छ । समय सार्थक वनोस्, कुनै समय खालि नजाओस् -- यस्तो सावधानी हरदम राख्नु पर्छ । तर आफ्नो कल्याणको चिन्ता गर्नुहुँदैन; किनकि अवसम्म हाम्रो प्रवन्ध गर्नेले पछि पनि गरिहाल्ने छ । भगवानले हामीलाई मनुष्य शरीर दिनुभएको छ र उद्धारको सबै सामग्री (सत्संग, भगवान्नाम) आदि जुटाइदिनुभएको छ भने हाम्रो उद्धार भइहाल्छ । अव म संसार-समुद्रको किनारमा आइपुगेको छु -- यस्तो दृढ निश्चय गरेर निमित्त मात्रै भएर साधन गर्नुपर्छ । पूर्वजन्मको पुण्यले मात्रै भगवानतिर लाग्न सकिन्छ ।

Gita: Chapter 7: Slok 18 श्लोक १८ पहिले भनिएका सबै चारै थरी नै भक्तहरु धेरै उदार र श्रेष्ठ भाव भएका हरु हुन् ।

No. 217 

श्लोक १८ 

पहिले भनिएका सबै चारै थरी नै भक्तहरु धेरै उदार र श्रेष्ठ भाव भएका हरु हुन् । परन्तु ज्ञानी प्रेमी त मेरो स्वरूप नै हो -- यस्तो मेरो मत छ; कारण, त्यो भक्त मदेखि अभिन्न छ| यो जस्तो उत्तम, श्रेष्ठ गति अर्को छैन । त्यस्तो विशिष्ट गतिमा ऊ दृढताले स्थित छ ।

'उदाराः सर्व एवैते' -- यी सब-का-सब भक्त उदार छन्, श्रेष्ठ भाव भएका छन् । भगवानले यहाँ प्रयोग गर्नुभएको 'उदाराः' शब्दका विभिन्न भाव छन्; जस्तो -- 

(१) चौथो अध्यायको एघारौँ श्लोकमा भगवानले भन्नुभएको छ, 'भक्त जसरी मेरो शरण हुन्छन्, त्यसै गरी म उनीहरुको भजन गर्छु ।' भक्त भगवानलाई चाहन्छन् र भगवान भक्तलाई चाहनुहुन्छ । परन्तु यी दुईमा पहिले सम्बन्ध जोड्ने भक्त हो र सम्बन्ध पहिले जोड्ने नै उदार हुन्छ । तात्पर्य, भगवानले सम्बन्ध जोड़नुहोस् या नजोड्नु होस्, यसको पर्वाह भक्त गर्दैन । ऊ त पहिले आफ्नोतर्फवाट सम्बन्ध जोड्छ र आफूलाई समर्पित गर्छ । यसैले ऊ उदार हो । 

(२) देवताहरुका भक्त सकाम भावले विधिपूर्वक यज्ञ, तप, दान आदि त गर्छन् । त्यसपछि देवताहरुलाई उनीहरुको कामना अनुसार ती चीजहरु दिनै पर्छ । किनकि देवताहरु ती सकाम भक्तहरुको हित-अहित हेर्दैनन् । तर भगवानको भक्तले भगवानसँग केही चीज माग्छ भने भगवानले यदि उसको प्रार्थना उचित सम्झनु भयो भने ती चीज दिनुहुन्छ अर्थात् ती चीज दिंदा उसको भक्ति वढ्छ भने दिनुहुन्छ र भक्ति वढ़दैन भने, भक्त संसारमा नै फस्छ भने ती चीज दिनुहुन्न । कारण, भगवान परमपिता हुनुहुन्छ र परम हितैषि हुनुहुन्छ । अर्को शब्दमा, आफ्नो कामनाको पूर्ति होस् या नहोस्, तैपनि त्यस्ता ज्ञानी भक्त भगवानको नै भजन गर्छन्, भगवानको भजन गर्न छोडदैनन् -- यही उनीहरुको उदारता हो । 
                      
(३) संसारका भोग र रुपियाँ पैसा प्रत्यक्ष सुखदायी देखिन्छन् र भगवानको भजनमा प्रत्यक्ष छिट्टै सुख देखिंदैन, तैपनि त्यस्ता भक्त संसारको प्रत्यक्ष सुख त्यागेर अर्थात् भोग भोग्ने र संग्रह गर्ने लालसा छोडेर भगवानको भजन गर्छन् । यही उनीहरुको उदारता हो । 

(४) भगवानको दरवारमा माग्ने व्यक्तिहरुलाई पनि उदार भनिन्छ अर्थात् कोही केही माग्छ, कोही धन चाहन्छ, कोही आफ्नो कुनै दुःख हटाउन चाहन्छ -- यस्ता माग्ने भक्तलाई पनि भगवान उदार भन्नुहुन्छ भने यो पनि भगवानको विशेष उदारता नै हो । 

(५) भक्तहरुलाई  लौकिक र पारलौकिक कामना पूर्तिकोलागि अरु तर्फ अलिकति पनि भाव जाँदैन । उनीहरु खालि भगवानवाट नै कामनापूर्ति गराउन खोज्छन् । भक्तहरुको यो अनन्य भाव नै उनीहरुको उदारता हो । 

'ज्ञानी त्वात्मैव मे मतम्' -- यहाँ 'तु' पदले ज्ञानी अर्थात् प्रेमी भक्तको विलक्षणता वताइएको छ, अरु भक्त त उदार छँदै छन्, तर ज्ञानी भक्तलाई के उदार भन्नु, ऊ त मेरो स्वरूप नै हो । स्वरूपमा कुनै निमित्तले, कुनै कारण विशेषले प्रियता हुँदैन, प्रत्युत आफ्नो स्वरूप भएकोले स्वतःस्वाभाविक प्रियता हुन्छ ।

प्रेममा प्रेमी आफूले आफैंलाई प्रेमास्पदमा समर्पित गरिदिन्छ अर्थात् आफ्नो सत्ता छुट्टै मान्दैन । त्यस्तै प्रेमास्पद पनि प्रेमीमा स्वयं समर्पित हुन्छन् । उनीहरुलाई यो प्रेममा अद्वैतको विलक्षण अनुभूति हुन्छ । ज्ञानमार्गको यो अद्वैत भाव नित्य-निरन्तर अखण्डरूपले शान्त, सम रहन्छ । परन्तु प्रेमको यो अद्वैत भावले एक-अर्कोलाई अभिन्नताको अनुभव गराउँदै प्रतिक्षण वर्धमान रहन्छ । प्रेमको अद्वैत भाव एउटा हुँदा त्यो भावले एक-अर्कोलाई अभिन्नताको  अनुभव गराउँदै प्रतिक्षण वर्धमान रहन्छ । प्रेमको अद्वैत भाव एक हुँदा पनि दुई   र दुई हुँदा पनि एक छ । यसैले प्रेम-तत्व अनिर्वचनीय छ । शरीरसँग सर्वथा अभिन्नता (एकता) मान्दा मान्दै पनि निरन्तर भिन्नता वनिरहन्छ र भिन्नताको अनुभव गर्दा पनि भिन्नता वनिरहन्छ ।  यही किसिमले प्रेम-तत्वमा भिन्नता रहँदा पनि अभिन्नता वनिरहन्छ र अभिन्नताको अनुभव हुँदा पनि अभिन्नता वनिरहन्छ । 

नदी समुद्रमा प्रविष्ट हुन्छ भने प्रविष्ट हुने वित्तिकै नदी र समुद्रको जलको एकता हुन्छ । एकता भएपछि  पनि दुवैतिरवाट जलको एउटा प्रवाह चलिरहन्छ; अर्थात् कहिले नदीको  समुद्रतिर र कहिले समुद्रको नदीतिर एउटा विलक्षण प्रवाह चलिरहन्छ । त्यस्तै, प्रेमीलाई प्रेमास्पदतिर र प्रेमास्पदलाई प्रेमीतिरको प्रेमको एउटा विलक्षण प्रवाह चलिरहन्छ । उनीहरुको नित्य-योगमा वियोग र वियोगमा नित्य-योग -- यस्तो प्रकारको प्रेमको विलक्षण लीला अनन्तरूपले अनन्त कालसम्म चलिरहन्छ । तीमध्ये कुन चाहिं प्रेमास्पद हो र कुन प्रेमी भन्ने कुरा थाहा हुँदैन । त्यहाँ दुवै प्रेमास्पद छन् र दुवै प्रेमी छन् । 'ज्ञानी त्वात्मैव मे मतम्'को तात्पर्य यही हो ।

'आस्थितः स हि युक्तात्मा: मामेवानुत्तमाम् गतिम्' -- किनकि जुन भन्दा उत्तम गति अर्को हुन सक्तैन, यस्तो सर्वोपरि ममा नै उसको दृढ स्थिति छ ।

'भगवान मात्रै मेरो हो' -- भन्ने ममा हुने त्यो भक्तको आफ्नोपन अनुकूलतालाई -प्रतिकूलतालाई  लिएर कुनै मात्रामा पनि फरक पर्दैन, उल्टो त्यो आफ्नोपन दृढ हुँदै वढिरहन्छ । 

त्यो व्यक्ति युक्तात्मा हो अर्थात् ऊ कुनै पनि अवस्थामा मवाट छुट्दैन, सँधै मसंग अभिन्न रहन्छ ।

सांसारिक अर्थार्थी भगवान छोडेर खालि अर्थ मात्रै चाहन्छ; अतः ऊ झूठ, कपट, वेइमानी आदिको भक्त हुन्छ । ऊ भित्र धनको महत्व धेरै हुनाले ऊ उदार हुँदैन, महान् कृपण हुन्छ । यसैले उसकोलागि 'उदार' शब्द लागु नै हुँदैन । परन्तु भगवानको अर्थार्थी भक्त भित्र अर्थको महत्व नभएर भगवानको महत्व हुन्छ ।यसैले त्यस्तो भक्तमा कृपणता नभएर उदारता हुन्छ । यही कारण त्यस्तो भक्तलाई यहाँ उदार भनिएको हो । यहाँको उदार भावको अर्थ हो -- त्याग । अर्थार्थी, आर्त र जिज्ञासु संसार (भोग र संग्रह) छोडेर भगवानमा लागे -- यही उनीहरुको त्याग हो । यसैले यी सबै उदार हुन् -- 'उदाराः सर्व एवैते ।' भगवान मात्रैको सम्बन्ध मुख्य हुनाले अर्थार्थी, आर्त, र जिज्ञासु पनि पछि स्वतः 'ज्ञानी' हुन्छन् । 

भगवान नमान्नु कामना भन्दा पनि वढी दोषी हो । भगवान छोडेर अरु देवताहरुको उपासना गर्ने व्यक्तिहरुमा यदि कामना रह्यो भने उनीहरु जन्म-मरण पाउँछन् -- 'गतागतम् कामकामा लभन्ते'। परन्तु भगवानको मात्रै भजन गर्नेहरुमा कामना रहिहाल्यो भने पनि भगवानको कृपा र भजनको प्रभावले उनीहरु भगवान प्राप्त गर्छन् । कारण, मनुष्यको कुनै पनि तरहले भगवानसँग सम्बन्ध जोडियो भने ऊ भगवान प्राप्त गर्छ; किनकि मूलमा ऊ  भगवानको नै अंश हो । 

अर्थार्थी, आर्त र जिज्ञासु -- यी तीनैलाई भगवानले यहाँ 'उदार' भन्नुभएको छ । परन्तु भगवान सिवाय अन्यको भजन गर्नेहरुलाई भगवानले उदार नभनेर 'अल्पमेधा' भन्नुभयो र तिनको भजनलाई अविधिपूर्वक गरिएको भन्नुभयो ।  
देवताहरुलाई भगवान भन्दा छुट्टै मानेको कारणले अर्थात् देवताहरुमा भगवदबुद्धि नभएको कारणले उनीहरुको उपासना अविधिपूर्वक छ । तात्पर्य, सबैमा भगवदबुद्धि नहुनु सकामभाव भन्दा पनि वढी घातक छ; किनकि चेतनसँग सम्बन्ध भएन ।

तत्वज्ञानीलाई ब्रह्मसँग 'तात्विक एकता' अर्थात् सधर्मता हुन्छ; परन्तु भक्तको भगवानसँग 'आत्मीय एकता' हुन्छ -- 'ज्ञानी त्वात्मैव मे मतम्'। तत्वाज्ञानीको तात्विक एकता (सधर्मता)मा जीव र ब्रह्ममा अभेद हुन्छ अर्थात् ब्रह्म सत् -चित्-आनन्दस्वरूप भए जस्तै तत्वज्ञानी पनि सत्-चित्-आनन्दस्वरूप हुन्छ र एउटा तत्व सिवाय केही रहँदैन । परन्तु भक्तको आत्मीय एकतामा जीव र भगवानमा  अभिन्नता हुन्छ । अभिन्नतामा भक्त र भगवान यौटै हुँदा पनि प्रेमकोलागि दुई हुन्छन् । तिनमा दुवै प्रेमी र दुवै प्रेमास्पद हुन्छन् । यसैले उनीहरु दुइटा हुँदा पनि एउटा नै रहन्छन् ।

जीव परमात्माको अंश हो । अतः ऊ परमात्मासँग जति जति टाढा जान्छ, उसको अहंकार त्यति त्यति दृढ हुँदै जान्छ र ऊ जति जति परमात्मातिर आउँछ, त्यति त्यति उसको अहंकार मेटिन्छ । स्वरूपमा स्थित भएपछि पनि सूक्ष्म अहम् को गन्ध रहन सक्छ । परन्तु प्रेममा परमात्मासँग अभिन्नता (आत्मीयता) भएपछि जीवको अपरा प्रकृतिसँग सर्वथा सम्बन्ध-विच्छेद हुन्छ र अहंकार सर्वथा मेटिन्छ, किनकि अहंकार अपरा प्रकृतिको नै कार्य हो । यसैले भगवानले भन्नु भयो -- ज्ञानी त्वत्मैव मे मतम्' ।

अर्थार्थी, आर्त र जिज्ञासुमा क्रमशः आफ्नो स्वतन्त्र सत्ता (अहंता) कम हुँदै जान्छ र ज्ञानीमा उसको आफ्नो स्वन्त्र सत्ता विल्कुल रहँदैन । यसैले 'त्वात्मैव' भन्नुको तात्पर्य, प्रेमी भक्तको स्वतन्त्र सत्ता नै रहेन, खालि भगवान मात्रै रहनु भयो अर्थात् प्रेमीको रूपमा साक्षात् भगवान नै हुनुहुन्छ । यो आत्मीयता भक्तिको लागि स्वीकृत द्वैत हो । त्यो द्वैत ज्ञानयोगको अद्वैत भन्दा पनि राम्रो छ ।

'मामेवानुत्तमां गतिम्' -- भगवान भन्दा ठूलो उत्तम गति अर्को कुनै छैन । 'गति' शब्दका तीन अर्थ हुन्छन् -- ज्ञान, गमन र प्राप्ति । यहाँ 'गति' शब्द प्राप्तिको अर्थमा आएको छ । अन्तिम प्रापणीय (पाउनु पर्ने) तत्व भएकोले भगवान सर्वोत्तम गति हुनुहुन्छ । 

'आस्थितः' -- एक थरी दृढता अभ्यासले हुन्छ र अर्को थरी दृढता स्वतः हुन्छ ।जस्तो सम्पूर्ण प्राणीहरुको 'म छु' -- भन्ने आफूमा स्थिति भए जस्तै ज्ञानी भक्तलाई भगवानमा स्वतः दृढ स्थिति हुन्छ । 

Gita: Chapter 7 : Slok 17 - श्लोक १७ ती चार भक्तहरुमा ममा नै निरन्तर लागेको अनन्य भक्तिले युक्त ज्ञानी अर्थात् प्रेमी भक्त श्रेष्ठ

No. 216

श्लोक १७ 

ती चार भक्तहरुमा ममा नै निरन्तर लागेको अनन्य भक्तिले युक्त ज्ञानी अर्थात् प्रेमी भक्त श्रेष्ठ छ;। किनकि ज्ञानी भक्तलाई म अत्यन्त प्रिय छु र त्यो भक्त मेरो अत्यन्त प्रिय छ । 

'तेषाम् ज्ञानी नित्ययुक्त:' -- ती (अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी) भक्तहरुमा ज्ञानी अर्थात् प्रेमी भक्त श्रेष्ठ छ, किनकि उ नित्ययुक्त छ अर्थात् उ सदा-सर्वदा केवल भगवानमा नै लागिरहन्छ । भगवान भन्दा अरु कसैमा ऊ अलिकति पनि अन्त लाग्दैन । गाई दुहुँदा, दही मथ्दा, धान कुट्दा जस्ता लौकिक क्रियाहरुमा पनि भगवान श्रीकृष्णमा नै गोपिहरुको चित्त हुन्थ्यो । त्यस्तै त्यो ज्ञानी भक्त लौकिक र पारमार्थिक सबै क्रियाहरु गर्दा सँधै भगवानमा नै जोडिइरहन्छ । भगवानसँग सम्बन्ध राखी राखी उसका सबै क्रियाहरु हुन्छन् । 

'एकभक्तिर्विशिष्यते' -- त्यो ज्ञानी अर्थात् प्रेमी भक्तको आकर्षण केवल भगवानमा हुन्छ । उसको आफ्नो कुनै व्यक्तिगत इच्छा रहँदैन । यसैले ऊ श्रेष्ठ हो। 

अर्थार्थी आदि भक्तहरुमा पूर्वसंस्कारहरुले गर्दा व्यक्तिगत इच्छाहरु उत्पन्न हुन्जेल उनीहरुको एक भक्ति हुँदैन अर्थात् भगवानमा मात्रै प्रेम हुँदैन । परन्तु ती भक्तहरुमा आफ्ना इच्छाहरु नष्ट गर्ने भाव पनि भइरहन्छ र इच्छाहरु सर्वथा नष्ट भएपछि सबै भक्त भगवानका प्रेमी र भगवानका प्रेमास्पद हुन्छन् । त्यहाँ भक्त र भगवानवीच द्वैत भाव नरहेर प्रेमाद्वैत (प्रेममा अद्वैत) हुन्छ ।

यसै पनि चारै भक्त भगवानमा नित्य-निरन्तर लागिरहन्छन्; परन्तु यी तीन भक्तहरु भित्र केही-न-केही व्यक्तिगत इच्छा रहन्छन्;  जस्तो अर्थार्थी भक्त अनुकूलताको इच्छा गर्छन्, आर्त भक्त आफ्नो प्रतिकूलता मेटाउने इच्छा गर्छन्, र जिज्ञासु भक्त आफ्नो स्वरूप या भगवततत्व जान्ने इच्छा गर्छन् । ज्ञानी अर्थात् प्रेमी भक्तमा आफ्नो कुनै इच्छा रहँदैन; अतः उनीहरु एक भक्ति हुन् । 

'प्रिय हि ज्ञानिनोत्यर्थमहं स च मम प्रियः' -- त्यो ज्ञानी प्रेमी भक्तलाई म अत्यन्त प्यारो छु । उसमा आफ्नो कुनै पनि इच्छा छैन, केवल ममा मात्रै प्रेम छ । यसैले ऊ पनि मेरो अत्यन्त प्यारो छ । 

भगवानको अंश भएकोले सबै जीव स्वाभाविक नै भगवानलाई प्यारा छन् । भगवानको प्रेममा कुनै निजी स्वार्थ छैन । एउटी आमाले वच्चा स्याहारेको जस्तो भगवान विना कुनै कारण सबैको पालन-पोषण र प्रबन्ध गर्नुहुन्छ । परन्तु कुनै मनुष्य कुनै कारणले भगवानको सम्मुख भयो भने उसको त्यो सम्मुखताको कारणले नै भगवानमा ऊप्रति एक विशेष प्रियता हुन्छ । 

भक्त सर्वथा निष्काम भएपछि अर्थात् उसमा लौकिक-पारलौकिक कुनै पनि प्रकारको इच्छा नरहेपछि उसमा स्वतःसिद्ध प्रेम पूर्णरूपले जाग्रत हुन्छ । पूर्णरूपले प्रेम जाग्रत हुनुको अर्थ हो, प्रेममा अलिकति पनि कमी नरहने। त्यो प्रेम कहिले समाप्त पनि हुँदैन, किनकि त्यो प्रेम अनन्त र प्रतिक्षण वर्धमान छ । प्रतिक्षण वर्धमानको तात्पर्य, प्रेममा प्रतिक्षण अलौकिक विलक्षणताको अनुभव भइरहन्छ अर्थात् यता हाम्रो दृष्टि पहिले गएकै थिएन, यता हाम्रो ध्यान गएकै थिएन, अहिले दृष्टि गयो -- भन्ने  प्रतिक्षण भाव र अनुभव भइरहन्छ । 

भगवानले आफ्नो प्रेमी  भक्तलाई 'ज्ञानी' नाम दिनुको अर्थ हो, 'सबै परमात्मा नै हो' -- यही वास्तविक र अन्तिम ज्ञान हो, यो भन्दा पछि केही पनि छैन । यसैले यस्तो अनुभव गर्ने प्रेमी भक्त नै वास्तविक ज्ञानी हो ।        
कारण, यस्ता भक्तको दृष्टिमा परमात्मा सिवाय अर्को सत्ता छँदै छैन जव कि विवेकी पुरुषको दृष्टिमा सत् र असत् -- दुई सत्ता रहन्छ । तात्पर्य, यहाँ 'ज्ञानी' शब्द जीवन्मुक्त तत्वज्ञानीकोलागि आएको होइन, 'वासुदेवः सर्वम्'को अनुभव गर्ने ज्ञानी अर्थात् प्रेमी भक्तकोलागि आएको हो । गीतामा भगवानले मुख्यरूपले भक्तलाई नै 'ज्ञानी' भन्नुभयो, किनकि त्यही अन्तिम र सक्कली ज्ञानी हो । उसको प्रेम खालि भगवानमा मात्रै हुन्छ, यसैले ऊ श्रेष्ठ हो -- 'एकभक्तिर्विशिष्यते' ।

भगवानको अर्थार्थी भक्त अनित्ययुक्त (निरन्तर भगवानमा नलागेको) हुन्छ । अर्थार्थी भन्दा आर्त भक्त कम अनित्ययुक्त हुन्छ । परन्तु ज्ञानी सर्वथा नित्ययुक्त हुन्छ । 

'प्रियो हि ज्ञानिनोत्यर्थमहं स च मम प्रियः' पदहरुको अर्थ, 'वासुदेवः सर्वम्'को अनुभव भएपछि भक्त र भगवान -- दुबैमा प्रेम नै प्रेम वांकी रहन्छ । यसैलाई शास्त्रहरुमा प्रतिक्षण वर्धमान प्रेम, अनन्त रस, आदि नामहरुले भनिन्छ ।

Gita: Chapter 7: अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी-- यी चारै भक्त भगवन्निष्ठ हुन् ।

No 215 

एउटा कुरा भन्न मन लाग्यो -- आजकल टिभीको 'संस्कार' च्यानलमा विहान करिव ५. १०  
वजे शांकरभाष्यको आधारमा एउटा स्वामीजीको प्रवचन आउँछ । त्यो प्रवचनले हामीलाई धेरै फाइदा हुन्छ ।

लेख्दा लेख्दै send भइदियो !!!

यही तरिकाले अर्थार्थी भक्त भगवानसँग अनुकूलता माग्छ, आर्त भक्त भगवानद्वारा प्रतिकूलता हटाउन खोज्छ, जिज्ञासु भक्त भगवान जान्न चाहन्छ र ज्ञानी अर्थात् प्रेमी भक्त भगवानसँग केही पनि माग्दैन । 

अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी-- यी चारै भक्त भगवन्निष्ठ हुन् । अतः यिनलाई योगभ्रष्ट पुरुषहरुमा लिन सकिंदैन । त्यस्तै अर्थार्थी र आर्त -- यी दुवै भक्त सकाम पुरुषहरु भन्दा छुट्टै छन्;  किनकि यी दुई भक्तहरुमा भगवानको आश्रय मुख्य छ । सकाम पुरुष कामना पूर्तिमा नै लागिरहनाले 'हृतज्ञानाः' हुन्, यसैले उनीहरुलाई आसुरी पुरुषहरुमा लिइएको छ । अर्थार्थी र आर्त भक्तहरुमा केही कमी भए पनि त्यो कमी कामनाको कारण नै हो, परन्तु कामना हुँदा हुँदै पनि उनीहरु 'हृतज्ञानाः' होइनन् । उनीहरुलाई त भगवानले 'सुकृतिन:' र 'उदाराः' भन्नु भयो र  ज्ञानी भक्तलाई आफ्नो स्वरूप भन्नुभयो -- 'ज्ञानी त्वात्मैव मे मतम्'। 

भगवानसँग आफ्नोपन मान्नु जस्तो अर्को कुनै साधन छैन, अर्को कुनै योग्यता छैन, कुनै वल छैन, कुनै अधिकारिता छैन । सम्पूर्ण प्राणीहरुमा भगवानको आफ्नोपन सँधै छ र  रहनेछ । त्यो आफ्नोपनलाई केवल प्राणीले नै विर्सेको छ र उसले भूलले संसारसँग आफ्नोपन मानेको छ । अतः यो भूलले गरिएको आफ्नोपन हटाउनु छ र प्रभुसँग आफ्नो स्वतःसिद्ध आफ्नोपन मान्नु छ । प्रभुलाई आफ्नो मान्न अरु साधनमा जस्तो मन, बुद्धि, केहीको सहायता लिनु पर्दैन ।

भगवानसँग आफ्नोपन भएपछि अर्थात् 'म केवल भगवानको नै हुँ र मेरो खालि भागावान मात्रै हो' भन्ने दृढताले मानेपछि साधक भक्तलाई आफ्नो भनिने अन्तःकरणमा भावहरुको, गुणहरुको कमी देखिएला, तर भगवानसँग आफ्नोपन भएपछि ती कमीहरु टिक्तैनन् । अर्को कुरो, साधक भक्तमा कुनै गुणहरुको कमी रहँदा पनि भगवानको दृष्टि खालि आफ्नोपनमा मात्रै जान्छ, गुणहरुको कमीमा जाँदैन । कारण भगवानसँग हाम्रो आफ्नोपन वास्तविक छ । 

भगवानको आफ्नोपन त दुष्ट-भन्दा-दुष्ट मनुष्यमा पनि त्यस्तै रहन्छ । यसैले सोह्रौं अध्यायमा आसुरी प्रकृतिका मनुष्यहरुको वर्णन गर्दै भगवान भन्नुहुन्छ, 'क्रूर, द्वेष गर्ने, नराधम दुष्टहरुलाई म आसुरी योनिहरुमा गिराइदिन्छु ।' यसारी भगवान तिनीहरुलाइ  गिराएर शुद्ध गर्नुहुन्छ । एउटा आमाले आफ्नो वालकलाई स्नान गराउँदा उसको अनुमति नलिए जस्तै भगवान ती आसुरी प्रकृतिका मनुष्यहरुको अनुमति लिनुहुन्न, किनकि भगवानको उनीहरुसँग आफ्नोपन छ ।

भगवानसँग हाम्रो आफ्नोपनको सम्बन्ध पहिलेदेखि नै छ । तैपनि कुनै कामना उत्पन्न भयो भने भक्तको भगवानसँग आफ्नोपनको सम्बन्ध मुख्य हुन्छ  र कामना गौण हुन्छ । त्यसैले हालै वर्णन भइरहेका भक्त पहिला श्रेणीका हुन् ।

भगवानको सम्बन्ध त पहिलेदेखि नै छ, तर वेला वेलामा कामना उत्पन्न हुन्छ । तर हामी त्यो कामना पूर्ति गर्न अरुवाट खोज्छौं । अरुवाट कामना पूर्ति नभएपछि अन्तमा हामी भगवानवाट खोज्छौं । यसरी अनन्यताको कमीले यी भक्त दोस्रो श्रेणीका हुन् ।

केवल कामना पूर्तिकोलागि नै भगवानसँग सम्बन्ध जोडिएमा कामना मुख्य हुन्छ र भगवानको सम्बन्ध गौण हुन्छ । यो दृष्टिले यी भक्त तेस्रो श्रेणीका हुन् । 

कामना दुई किसिमका हुन्छन् -- पारमार्थिक र लौकिक ।

(१) पारमार्थिक कामना -- पारामार्थिक कामना दुई किसिमका हुन्छन् -- (मुक्ति) कल्याणको र भक्ति (भगवत्प्रेम )को ।

मुक्तिको कामनामा तत्व जान्ने इच्छा हुन्छ, त्यसलाई जिज्ञासा पनि भन्छन् । यस्तो जिज्ञासा भएको व्यक्तिलाई नै जिज्ञासु भन्ने हो । जिज्ञासा कामना होइन; किनकि यो कामनाले  आफ्नो स्वरूप अर्थात् तत्व जान्न चाहन्छ । यो जिज्ञासा वास्तवमा हाम्रो साँचो आवश्यकता हो । आवश्यकता पूरा हुन्छ र यो जिज्ञासाको आवश्यकता पूरा भएपछि अर्को आवश्यकता पैदा हुँदैन । यो आवश्यकता सत् विषयको नै हुन्छ । 

अर्को कामना प्रभु प्रेम-प्राप्तिको हुन्छ । तर यो प्रेम-प्राप्तिको कामना आफ़्नोलागि नभएर प्रभुको प्राप्तिकोलागि हुन्छ । त्यसमा आफ्नो अलिकति पनि प्रयोजन रहँदैन; प्रभुमा समर्पित हुनलाई नै हुन्छ । प्रेमी आफूले आफूलाई प्रभुमा समर्पित गरिदिन्छ । किनकि प्रेमी प्रभुकै अंश हो । 

उपर्युक्त दुवै पारमार्थिक कामनाहरु वास्तवमा कामना होइनन् । 

लौकिक कामना -- लौकिक कामना पनि दुई किसिमका हुन्छन् -- सुख पाउने र दुःख हटाउने । 

शरीरले आराम पाओस्, वाँच्दा वाँच्दै मलाई आदर सत्कार मिलिरहोस् र मरेपछि मेरो नाम अमर होस्, मेरो स्मारक वनोस्, कसैले पुस्तक लेखिदिओस्, त्यो पुस्तक सबैले सँधै पढिरहून् र थाहा पाउन् कि यस्तो कुनै विलक्षण व्यक्ति पुरुष रहेछ भनेर, मरेपछि स्वर्ग आदिको भोग भोग्न पाइरहियोस् भन्ने धेरै लौकिक सुख-प्राप्तिको कामनाहरु भइरहन्छन् । यस्ता कामनाहरुले वासना झन् झन् वढिरहन्छन् ।यो कामना आसुरी सम्पत्ति हो, यसैले यो छोड्नु पर्छ ।                

अर्को दुःख हटाउने कामना हो । दुःख तीन प्रकारका छन् -- आधिदैविक, आधिभौतिक र आध्यात्मिक । 

अतिवृष्टि, अनावृष्टि, सर्दी-गर्मी, वायु आदिवाट हुने दुःखलाई 'आधिदैविक' दुःख भन्छन् । यो दुःख देवताहरुको अधिकारवाट हुन्छ । 

सिंह, सर्प, चोर आदि प्राणीहरुवाट हुने दुःखलाई 'आधिभौतिक' दुःख भन्छन् ।

शरीर र अन्तःकरणलाई लिएर हुने दुःख 'आध्यात्मिक' दुःख हो ।  

यी दुःखहरु हटाउने र सुख प्राप्त गर्ने कामना सर्वथा निरर्थक छ; किनकि ती कामनाहरुको पूर्ति हुँदैन । पूर्ति भइहाले पनि अर्को कामना तुरुन्तै पैदा हुन्छ र अन्तमा अपूर्ति नै वांकी रहन्छ । यसैले दुवै कामनाहरुको पूर्ति कुनै पनि मनुष्यको कहिले पनि भएको छैन, न हुन्छ र भविष्यमा नै पूरा हुनेछ ।

चौधौं श्लोकमा भगवानले भन्नुभएको छ, मेरो शरण लिने भक्त गुणमयी माया तर्छन् । ती शरण लिने भक्त को हुन् -- यो कुरालाई अव यो श्लोकमा वताउनु हुन्छ । 

यो भन्दा पहिलो श्लोकमा 'दुष्कृती' मनुष्यहरुको र यो श्लोकमा 'सुकृती' मनुष्यहरूको कुरा आएको छ । हामीवाट छुट्टै संसारलाई आफ्नो मान्नु सब भन्दा ठूलो दुष्कृत अर्थात् पाप हो । हामीदेखि अभिन्न भगवानलाई आफ्नो मान्नु आफ्नोलागि मान्नु नै सुकृत अर्थात् पुण्य हो । संसारलाई आफ्नो मान्ने दुष्कृती  हुन् र भगवानलाई आफ्नो मान्ने सुकृती हुन् । 

भोगी मनुष्य भगवानमा मन लगाउँदैन, यसैले 'अर्थार्थी' त भगवानको भक्त हुन सक्छ तर 'भोगार्थी' भगवानको भक्त हुन सक्तैन । कारण, भोगार्थीमा संसारको लिप्तता धेरै हुन्छ र अर्थार्थीमा लिप्तता कम हुन्छ । तथा भगवानको मुख्यता हुन्छ । 

कुनै अंशमा भगवान सिवाय अन्य सत्ताको मान्यता भएको कारण नै भक्त अर्थार्थी, आर्त अथवा जिज्ञासु हुन्छ । अर्को सत्ताको मान्यता छैन भने उ ज्ञानी (प्रेमी') हुन्छ । तात्पर्य, भगवान सिवाय अर्को सत्ता मान्दा नै चार भेद हुन्छन् । वास्तवमा भगवानको सत्ता सिवाय अर्को सत्ता सम्भव नै छैन । 

विज्ञानसहित ज्ञान अर्थात् परमात्मालाई समग्ररूपले जान्न चाहने व्यक्ति 'जिज्ञासु' हो । जिज्ञासु भगवानको ऐश्वर्य, प्रभाव, सामर्थ्य जान्न चाहन्छ , यसैले भगवानको लीला-कथामा उसलाई विशेष रस आउँछ ।  भगवानले 'मुमुक्षु' पद नदिएर 'जिज्ञासु' पद दिनुभयो; किनकि मुमुक्षु त केवल तत्वज्ञान चाहन्छ, तर 'जिज्ञासु' ज्ञान चाहने पनि हुन सक्छ, भक्ति चाहने पनि हुन सक्छ । मुमुक्षुमा आफ्नो कल्याणको कुरो मुख्य हुन्छ र जिज्ञासु भक्तलाई 'वासुदेवः सर्वम्' को ज्ञान हुन्छ । तत्वज्ञानीलाई त ब्रह्मको ज्ञान हुन्छ, तर भक्तलाई समग्रको ज्ञान हुन्छ । 

अर्थार्थी, आर्त र जिज्ञासुमा क्रमश संसारको सम्बन्ध घट्दै जान्छ र परमात्माको सम्बन्ध वढ्दै जान्छ । जीवले जगतलाई धारण गरुन्जेल अर्थार्थी, आर्त र जिज्ञासु रहन्छन् । जगतलाई धारण नगरेपछि केवल 'ज्ञानी' रहन्छ ।

'सबै वासुदेव नै हो' -- भन्ने परमात्माको समग्ररूपको ज्ञान हुनेलाई यहाँ 'ज्ञानी' भनिएको छ । यही ज्ञानी भक्तलाई पछि आउने उन्नाइसौं श्लोकमा 'ज्ञानवान्' भनिएको छ । 

'अर्थार्थी' प्राप्त परिस्थितिमा सन्तोष नगरेर धन खोज्छ । 'आर्त' प्राप्त परिस्थितिमा सन्तोष त गर्छ, तर दुःख आउँदा त्यसवाट दुःख सहन सकिंदैन । 'अर्थार्थी' मा अर्थको मुख्यता छैन, भगवानको मुख्यता छ । उसमा धनको इच्छा त रहन्छ र ऊ त्यो इच्छा भगवान द्वारा पूरा गराउन चाहन्छ । परन्तु 'मलाई त भगवान मात्रै प्यारो लाग्छ' भन्ने अभिलाषा भक्तमा प्रकट भयो भने उसमा अर्थार्थीपन, आर्तपन र जिज्ञासुपन रहँदैन र ऊ ज्ञानी अर्थात् प्रेमी हुन्छ ।

'अर्थार्थी'को अर्थसँग निरन्तर सम्बन्ध रहन्छ; किनकि अर्थको वासना हरदम रहन्छ । परन्तु 'आर्त'लाई दुःखको निरन्तर सम्बन्ध रहँदैन; किनकि दुःख हरदम रहँदैन । 'जिज्ञासु'लाई सुख-दुःखको पर्वाह हुँदैन; त्यसैले ऊ न सुख आउने इच्छा गर्छ र न दुःख जाने इच्छा गर्छ । अर्थार्थी र आर्त -- दुवै जिज्ञासु भएर ज्ञानी हुन्छन् । 

'अर्थार्थी' भक्तलाई अर्थ मिलेपछि उसलाई आफ्नो भूलमा पछुतो हुन्छ । तर 'आर्त' भक्तलाई त्यति पश्चाताप हुँदैन ।त्यो भक्तमा यो भाव रहन्छ, भगवानले दुःख हटाउनु हुन्छ । 'आर्त' भक्त आएको दुःख सहन सक्तैन -- यो उसको कमजोरी हो । 

'जिज्ञासु' भक्तमा भगवानलाई जान्ने कमजोरी रहन्छ । उसलाई मुक्ति, तत्वज्ञान हुँदा पनि सन्तोष हुँदैन, उसमा प्रेम पाउने भोक रहन्छ । परन्तु 'ज्ञानी' भक्तको दृष्टिमा एउटा वासुदेव सिवाय अर्को सत्ता लेशमात्र पनि हुँदैन; उसमा कुनै कमी कसरी रहन सक्छ ? यसैले भगवानले ज्ञानी भक्तलाई आफ्नो स्वरूप वताउनु भएको हो -- 'ज्ञानी त्वात्मैव मे मतम्'  

Gita: Chapter 7: Slok 1 - पहिलो श्लोकको नै वांकी अंश (४) ज्ञानी (प्रेमी) भक्त -- ज्ञानी भक्तलाई अनुकूल-भन्दा-अनुकूल र प्रतिकूल-भन्दा प्रतिकूल

No. 214 

पहिलो श्लोकको नै वांकी अंश 

(४) ज्ञानी (प्रेमी) भक्त -- ज्ञानी भक्तलाई अनुकूल-भन्दा-अनुकूल र प्रतिकूल-भन्दा प्रतिकूल परिस्थिति, घटना, व्यक्ति, वस्तु सबै भगवतस्वरूप नै देखिन्छन् अर्थात् उसलाई अनुकूल-प्रतिकूल परिस्थिति  भगवल्लीला मात्रै देखिन्छन् । भगवानमा आफ़्नोलागि अनुकूलता पाउने, प्रतिकूलता हटाउने, बोध प्राप्त गर्ने आदि कुनै तरहको कहिले अलिकति मात्र पनि इच्छा हुँदै हुँदैन, उहाँ त खालि भक्तहरुको प्रेममा मस्त रहनुहुन्छ । त्यस्तै ज्ञानी (प्रेमी)भक्तहरुमा किञ्चित् मात्र पनि कुनै इच्छा हुँदैन, उनीहरु केवल भगवानको प्रेममा नै मस्त रहन्छन् । 

ज्ञानी अर्थात् प्रेमी भक्तहरुमा गोपिकाहरुको नाम प्रसिद्ध छ । देवर्षी नारदजीले पनि गोपिहरुलाई प्रेमी भक्तहरुको आदर्श मानेका छन् । कारण, गोपिहरुमा आफ्नो सुखको सर्वथा त्याग थियो । प्रियतम भगवानको सुख नै उनीहरुको सुख थियो । 

धनको इच्छा, दुःख हटाउने इच्छा र जिज्ञासा-पूर्तिको इच्छाले भगवानतिर लाग्ने भक्तमा भगवानको प्रेम जाग्रत हुन्छ र उनीहरु भक्त भनिन्छन् । तर अरु उपायले धन पाइन्छ, दुःख हट्न सक्छ र जिज्ञासा पूर्ति हुन सक्छ भन्ने मान्ने भक्तको भगवानसँग सम्बन्ध नहुनाले उनीहरुमा प्रेम जाग्रत  हुँदैन र उनीहरुको नाम भक्त हुँदैन । 

सन्तको वाणीमा आउँछ, प्रेम त भगवान मात्रै गर्नुहुन्छ, भक्त खालि भगवानमा आफ्नोपन गर्छ ।कारण, कहिले कसैसँग केही नखोज्नेले नै प्रेम गर्न सक्छ । भगवानले सम्पूर्ण जीवमा आफूलाई अर्पित गरिराख्नु भएको छ र जीववाट कहिले केही पनि पाउने इच्छाको कुनै सम्भावना राख्नु भएको छैन । यसैले भगवान नै वास्तवमा प्रेम गर्नुहुन्छ । जीवलाई भगवानको आवश्यकता छ, यही कारण, जीव भगवानसँग आफ्नोपन मात्रै गर्छ । आफूले आफूलाई पूर्णरूपले अर्पित गरेपछि भक्तमा कहिले केही पनि पाउने कुनै अभिलाषा रहँदैन, त्यसपछि त्यो ज्ञानी अर्थात् प्रेमी भक्त भनिन्छ । आफूले आफूलाई पूरापूर अर्पित गरेपछि त्यो भक्तको सत्ता भगवानदेखि अलिकति पनि छुट्टै रहँदैन, भगवानको सत्ता नै उसको सत्ता रहन्छ ।

चार केटाहरु खेलिरहेका थिए । यही वेला उनीहरुको पिताजी चार ओटा आँप लिएर आए । पिताजीलाई देख्ने वित्तिकै एउटा केटा आँप माग्न थाल्यो र अर्को केटा आँप खान रुन थाल्यो । पिताजी ती दुबैलाई एउटा एउटा आँप दिए । तेस्रो केटा न रुन्छ र न माग्छ, खालि आँपतिर हेरिरहन्छ र चौथो केटा आँपतिर हेर्दै नहेरेर पहिले खेलिरहेको जस्तो खेली नै रहेको थियो । ती दुईलाई पनि पिताजीले एउटा एउटा आँप दिए । यसरी चारै केटाहरुले आँप पाए । यहाँ आँप माग्ने केटा अर्थार्थी हो, आँप खान रुने केटा आर्त हो, आँपतिर मात्रै हेर्ने केटा जिज्ञासु हो र आँपको वास्ता नगरेर खेल्नमा मात्रै लागिरहने केटा ज्ञानी हो ।यही तरिकाले अर्थार्थी भगवानसँग अनुकूलता माग्छ, आर्त        

Gita: Chapter 17: Slok 15 - श्लोक १५ मायाद्वारा आफ्नो ज्ञान हरिएका, आसुर भावको आश्रय लिने र मनुष्यहरुमा महान्

No. 212 

श्लोक १५  

मायाद्वारा आफ्नो ज्ञान हरिएका, आसुर भावको आश्रय लिने र मनुष्यहरुमा महान् नीच तथा पाप-कर्म गर्ने मूढ मनुष्य मेरो शरण लिंदैनन् । 

'म मां दुष्कृतिनो मूढा: प्रपद्यन्ते नराधमा:' -- दुष्कृती र मूढ़हरु भगवानको शरण लिंदैनन् । आफूले पाएका नाशवान्, परिवर्तनशील पदार्थमा 'ममता' राख्ने र नपाइएका पदार्थहरुमा कामना राख्नेहरु नै दुष्कृती हुन् । कामना पूरा भएपछि 'लोभ' हुन्छ र कामनामा वाधा परेपछि 'क्रोध' हुन्छ । 'कामना'मा फसेर व्यभिचार आदि शास्त्र निषिद्ध विषयहरुको सेवन गर्ने, लोभमा फसेर झूठ, कपट, विश्वासघात वेइमानी आदि पाप गर्ने र क्रोधमा फसेर द्वेष, वैर, आदि दुर्भावपूर्वक हिँसा आदि पाप गर्नेहरु दुष्कृती हुन् । 

भगवानको सत्तालाई वाहेक अर्को सत्ता मानेर त्यो सत्तालाई महत्व दिएपछि कामना पैदा हुन्छ । कामना पैदा भएपछि मनुष्य मायाले मोहित हुन्छ र 'म वाँचिरहूँ र भोग भोगिरहूँ' भन्ने कुरा उसलाई लाग्न थाल्छ । यसैले त्यस्ता व्यक्ति भगवानको शरण हुँदैनन् र विनाशी वस्तु, पदार्थ आदिको शरण हुन्छन् । 

तमोगुणको अधिकताले सार-असार, नित्य-अनित्य, सत्-असत्, कर्तव्य-अकर्तव्य आदितिर ध्यान नदिने भगवद्विमुख मनुष्यलाई 'मूढ' भनिन्छ । दुष्कृती र मूढ मनुष्य परमात्मा तर्फ लाग्ने निश्चय नै गर्न सक्तैनन्; त्यस्ता व्यक्ति परमात्माको शरण कसरी पर्न सक्छन् र ? 

'नराधमाः' भन्नुको अर्थ, ती दुष्कृती र मूढ मनुष्य पशुहरु भन्दा पनि नीच हुन् ।पशु त आफ्नो मर्यादामा रहन्छन्, तर यी मनुष्य भएर पनि आफ्नो मर्यादामा रहँदैनन् । पशु आफ्नो योनि भोगेर मनुष्ययोनितिर आइरहेका छन् र यी मनुष्य भएर (जसलाई परमात्मा प्राप्ति गर्न मनुष्य शरीर दिइएको छ) पनि पाप, अन्याय आदि गरेर नरकहरु र पशुयोनिहरुतिर गइरहेका छन् । यस्तो   मूढ़तापूर्वक पाप गर्ने प्राणी नरकहरुका अधिकारी हुन्छन् । यस्तै प्राणीहरुकोलागि भगवानले भन्नुभएको छ, 'द्वेष राख्ने मूढ, क्रूर र संसारमा नराधम पुरुषहरुलाई म फेरि-फेरि आसुरी योनिहरुमा गिराइदिन्छु । ती व्यक्तिहरु आसुरी योनिहरु पाएर घोर नरकमा जान्छन् ।' 

'माययापहृतज्ञाना आसुरं भावमाश्रिता:' -- भगवानको तीन गुणमयी मायाले विवेक ढाकिएको कारण आसुरी भावका व्यक्तिहरु, अर्थात् शरीर, इन्द्रियहरु, अन्तःकरण र प्राणहरुका पोषण गर्नमा लागेका व्यक्तिहरु मसँग सर्वथा विमुख नै रहन्छन् । यसैले तिनीहरु मेरो शरण हुँदैनन् ।

अर्को भाव हो, मायाले ज्ञान ढाकिएकाहरुको वृत्ति पदार्थहरुको आदि र अन्ततिर जाँदै जाँदैन । उत्पत्ति-विनाशशील पदार्थहरुलाई प्रत्यक्ष नश्वर देख्दा देख्दै पनि उनीहरु रुपियाँ-पैसा, सम्पत्ति आदिको संग्रहमा र मान, योग्यता, प्रतिष्ठा, कीर्ति आदिमा नै आसक्त रहन्छन् र तिनको प्राप्ति गर्नमा नै आफ्नो वहादुरी र उद्योगको सफलता मान्छन् । यसैले उनीहरु यो कुरा बुझ्नै सक्तैनन्, अहिले नभएकोलाई प्राप्त गरे पनि अन्तमा त्यो 'छैन' नै रहनेछ र त्योसँग हाम्रो सम्बन्ध रहने छैन । 

'असु' नाम प्राणहरुको हो । प्राणहरु प्रत्यक्ष आउने-जाने, क्रियाशील र नाशवान् देख्दा देख्दै पनि आसुरी व्यक्तिहरु प्राणहरुको पोषण गर्नमा लागिरहन्छन्, जीवन-निर्वाहमा काम आउने सांसारिक वस्तुहरुलाई नै महत्व दिन्छन् । ती वस्तुहरु भन्दा पनि बढी उनीहरु रुपियाँ-पैसालाई महत्व दिन्छन्, जुन (रुपियाँ- पैसा) स्वयं काममा आउँदैनन्, खालि वस्तुहरु द्वारा काममा आउँछन् । त्यस्ता व्यक्तिहरु केवल रुपियाँलाई मात्रै आदर दिने नभएर त्यसको संख्यालाई पनि  धेरै आदर दिन्छन् । रुपियाँको संख्याले अभिमान वढाउने काम गर्छ । अभिमान सम्पूर्ण आसुरी सम्पत्तिको आधार र सम्पूर्ण दुःखहरुको र पापहरुको कारण हो ।
अभिमान द्वारा आफूलाई मुख्य मान्नेलाई नै आसुरी भन्छन् । 

भगवान भन्नुहुन्छ, दुष्कृती मनुष्य मेरो शरण हुन सक्तैनन् भन्दै सुदुराचारी मनुष्य पनि यदि अनन्यभावले मेरो भजन गर्छ भने त्यो व्यक्ति धेरै चांडै धर्मात्मा हुन्छ तथा निरन्तर रहने शान्ति पाउन सक्छ । यो कसरी ? यसको समाधान, दुराचारीको प्रवृत्ति परमात्मातिर स्वाभाविक हुँदैन, परन्तु यदि उ भगवानको शरण भयो भने उसकोलागि भगवानले निषेध गर्नुभएको छैन । भगवानले कुनै पनि जीवलाई अलिकति मात्र पनि वाधा गर्नुभएको छैन; किनकि भगवान सम्पूर्ण प्राणीहरुकोलागि सम हुनुहुन्छ । उहाँलाई कुनै पनि प्राणीसँग राग-द्वेष हुँदैन । दुराचारी-भन्दा-दुराचारी मनुष्य पनि भगवानको द्वेषको विषय होइन । सबै प्राणीहरुमा भगवानको प्रेम र कृपा समानरूपले नै छ ।

वास्तवमा भन्दा, दुराचारी धेरै दयाको पात्र छ । कारण, ऊ आफ्नो नै महान् अहित गरिरहेको छ, भगवानलाई केही पनि विगारेको छैन उसले । यसैले कुनै कारणवशले कुनै आपत आयो भने, धेरै ठूलो संकट आयो भने र उसको कुनै सहारा भएन भने ऊ भगवानलाई पुकार्छ । त्यस्तै, उसले कुनै सन्तलाई दुःख दियो भने र सन्तको हृदयमा दया लाग्यो भने सन्तको कृपाले ऊ भगवानमा लाग्यो अथवा  धेरै ठूला ठूला महात्मा विलक्षण दयालु महात्मा निवास गरेको ठाउँमा जाँदा त्यहाँ उसको भाव वदलियो भने अथवा कुनै कारणले उसको कुनै पुरानो विलक्षण पुण्यको उदय भयो भने ऊ अचानक चेत्न सक्छ र भगवानको शरण पर्न सक्छ । यस्तो पापी पुरुष यदि भगवानमा लाग्यो भने वडो दृढताले लाग्छ । कारण उसमा कुनै गुण नभएको हुँदा उसलाई गुणको अभिमान हुँदैन ।

तात्पर्य, सम्पूर्ण प्राणीहरुमा भगवानको व्यापकता र कृपा समान हो । सदाचार र दुराचार त ती प्राणीहरुवाट भएका कार्यहरु हुन् । मूलमा त ती प्राणी भगवानका नै शुद्ध अंश हुन् । केवल दुराचारले गर्दा नै उनीहरुलाई भगवानमा रूचि नभएको हो ।यदि कुनै कारणले रूचि भयो भने भगवान उनीहरुवाट भएको गल्तिहरुलाई नहेरेर उनीहरुलाई स्वीकार गर्नुहुन्छ । 

आमाको हृदय आफ्नो सम्बन्धले वालकहरु प्रति समान नै रहन्छ । ती वालकहरुको सदाचार-दुराचारले उनीप्रति आमाको व्यवहार त विषम हुन्छ तर हृदय विषम हुँदैन । आमाले त एउटा जन्मको एउटा शरीरको मात्रै जन्म दिन्छिन् तर प्रभु त सदा रहने आमा हुनुहुन्छ । प्रभुको हृदय त सम्पूर्ण प्राणीहरुप्रति सदैव द्रवित रहन्छ । प्राणीले उहाँको शरण पर्यो भने प्रभु विशेषरूपले द्रवित हुनुहुन्छ ।             
चराचर जगतसँग नै द्वेष गर्ने व्यक्ति पनि यदि ऊ कहिं पनि आश्रय नपाउँदा,   भयभीत भएर सर्वथा मेरो नै आश्रय लिएर मेरो नै शरण हुन्छ भने उसमा हुने मद्, मोह, कपट, अनेक प्रकारका छलतिर नहेरेर केवल उसको भावतिर हेरेर म उसलाई धेरै छिटो साधु वनाइदिन्छु भन्नुहुन्छ भगवान ।

धर्मको आश्रय रहँदा धर्मात्मा पुरुष भित्र अनन्यभाव हुन कठिनता रहन्छ । परन्तु दुरात्मा पुरुष कुनै पनि कारणले भगवानको सम्मुख हुन्छ भने उसमा कुनै पनि प्रकारको शुभ कर्मको आश्रय हुँदैन र उसमा केवल भगवतपरायणताको नै वल रहन्छ । यो वलले साधकलाई निकै चांडै पवित्र गर्छ । कारण, यो वल उसको आफ्नै हुन्छ अर्थात् कुनै तरहको आश्रय नरहँदा उसको आफ्नो पुकार हुन्छ । यो पुकार हुनमा पुण्यात्मा-पापात्मा, विद्वान-मूर्ख, सुजाति-कुजाति आदि हुनु कारण छैन, संसारतिरवाट सर्वथा निराश हुनु नै खास कारण हो । यो निराशा हरेक मनुष्यको हुन सक्छ ।

अर्को कुरो, भगवानको कथनको तात्पर्य, दुष्कृती पुरुष मेरो शरण हुँदैनन्, किनकि उनको स्वभाव मेरो विपरीत हुन्छ । ती मध्ये कोही मेरो शरण भयो भने म उसलाई प्रेम गर्न हरदम तयार छु । भगवानको कृपालुता यति विलक्षण छ, भगवान पनि आफ्नो कृपा परवश भएर जीवलाई शीघ्र कल्याण गरिदिनु हुन्छ ।अतः त्यहाँको र यहाँको प्रसंगमा विरोध छैन, यसमा भगवानको कृपालुता नै प्रकट हुन्छ । 

सुकृती र दुष्कृती हुनु उनीहरुको क्रियामा निर्भर नभएर भगवानको सम्मुख र विमुख हुनमा निर्भर छ । भगवानका सम्मुख हुने सुकृती हुन् र विमुख हुने दुष्कृति हुन् । भगवानका सम्मुख हुनुको जस्तो माहात्म्य सकामभावपूर्वक गरिएका यज्ञ, दान, तप, तीर्थ, व्रत आदि शुभ कर्महरुको पनि छैन । यज्ञ, दान, तप जस्ता क्रियाहरु पनि पवित्र हुन्, तर आफूलाई सर्वथा अयोग्य सम्झेर र आफूमा कुनै प्रकारको पवित्रता नदेखेर आर्तभावले भगवानको सम्मुख हुनेको पवित्रता भगवतकृपाले धेरै छिटो हुन्छ । भगवतकृपाले हुने पवित्रता अनेक जन्महरुमा गरिएका शुभ कर्महरु भन्दा धेरै नै विलक्षण हुन्छ । यही प्रकारले शुभ कर्म गर्ने सुकृती पनि शुभ कर्महरुको आश्रय छोडेर भगवानलाई पुकार्छन् भने उनीहरुको आश्रय पनि शुभ कर्महरुको नरहेर खालि भगवानको मात्रै हुन्छ ।   भगवानको मात्रै आश्रय हुनाको कारण उनीहरु पनि भगवानका प्यारा भक्त हुन्छन् । 

एउटा कृति हुन्छ र एउटा भाव हुन्छ । कृतिमा वाहिरको क्रिया हुन्छ र भाव भित्र हुन्छ । भावको पछाडि उद्देश्य हुन्छ र उद्देश्यको पछाडि भगवानतिर अनन्यता हुन्छ । त्यो अनन्यता कृतिहरु र भावहरु भन्दा वहुत विलक्षण हुन्छ; किनकि यो स्वयंको हुन्छ । त्यो अनन्यताको अगाडि कुनै पनि दुराचार टिक्नै सक्तैन । त्यो अनन्यताले दुराचारी भन्दा दुराचारी व्यक्तिलाई छिट्टै पवित्र गरिदिन्छ ।वास्तवमा जीव परमात्माको अंश हुनाले पवित्र त छँदै छ । खालि दुर्भावहरु र दुराचारहरुले गर्दा नै यसमा अपवित्रता आउने हो ।

भगवानका आश्रय नलिनेहरु आसुरी, राक्षसी र मोहिनी प्रकृतिको आश्रय लिन्छन् । उनीहरुको दृष्टि संसार (पदार्थ र क्रिया) छोडेर अरुतर्फ जाँदै जाँदैन । उनीहरुको दृष्टिमा भगवानको सत्ता नै हुँदैन । यसो हुँदा भगवानको शरण लिने प्रश्न नै उठ्दैन । भोग भोग्नु र संग्रह गर्नु नै उनीहरुको अन्तिम लक्ष हुन्छ -- 'कामोपभोगपरमा एतावदिति निश्चिताः' । उनीहरुको ज्ञान माया द्वारा अपहृत भएकोले उनीहरु मायाको वशमा हुन्छन् । मायाको वशमा हुनाले उनीहरु मायालाई तर्नै सक्तैनन् । 

'माययापहृतज्ञानाः' पदको तात्पर्य हो, मायाको कारण ती मनुष्यहरुको विवेकशक्ति तिरस्कृत भएको हुन्छ । ती मनुष्यहरू मायामा भिजिरहेका हुन्छन् अर्थात् भोग भोग्न र संग्रह गर्न, शरीर सिंगार्न, घरको सजावट गर्नमा नै लागिरहन्छन् । उनीहरु शरीरलाई सुख-आराम दिने वस्तुहरुको नयाँ-नयाँ आविष्कारहरू गरिरहन्छन् र त्यसैलाई विशेष महत्व दिन्छन् । यस्तो अनित्य, परिवर्तनशील वस्तुहरुलाई मात्रै जान्ने व्यक्तिहरु नित्य, अपरिवर्तनशील तत्वलाई कसरी जानून् ? किनकि उनीहरुको दृष्टि त्यतातिर जानै सक्तैन ।  

Gita: Chapter 13: Slok 13 - श्लोक १३ यी तीनै गुणरूप भावहरुले मोहित यो सम्पूर्ण जगत (सम्पूर्ण प्राणीहरु)

No. 211

श्लोक १३ 

यी तीनै गुणरूप भावहरुले मोहित यो सम्पूर्ण जगत (सम्पूर्ण प्राणीहरु) यी गुणहरुदेखि अतीत अविनाशी मलाई जान्दैनन् । 

सत्व,रज र तम -- तीनै गुणहरुका वृत्तिहरु उत्पन्न र लीन भइरहन्छन् । ती गुणहरुसँग तादात्म्य गरेर मनुष्य आफूलाई सात्विक, राजस र तामस मान्छ अर्थात् ती गुणहरु आफूमा आरोप गर्छ,  'म सात्त्विक, राजस र तामस छु' भनेर । यसरी तीनै गुणहरुले मोहित मनुष्य 'म परमात्माको अंश हुँ भन्ने कुरा           
मान्नै सक्तैन । त्यो मनुष्य आफ्नो अंशी परमात्मातिर नहेरेर उत्पन्न र नष्ट हुने वृत्तिहरुसँग आफ्नो सम्बन्ध मान्दछ । ऊ मोहित हुने भनेको यही हो । यसरी मोहित भएको हुनाले ऊ 'मेरो परमात्मासँग नित्य सम्बन्ध छ' भन्ने कुरो बुझ्नै सक्तैन । 

यहाँ जगत शब्द 'जीवात्मा'को वाचक हो । निरन्तर परिवर्तनशील शरीरसँग तादात्म्य भएको कारण नै यो जीव 'जगत' नामले भनिएको छ । तात्पर्य, शरीर जन्मँदा आफू जन्मने, शरीर आफू मर्ने, शरीर विरामी हुँदा आफू विरामी हुने  र शरीर स्वस्थ हुँदा आफू स्वस्थ हुने भन्ने मान्दछ त्यस्तो व्यक्तिलाई 'जगत' नाम दिइएको हो । शरीरसँग आफ्नो तादात्म्य रहुन्जेल यो जीव जगत नै रहनेछ अर्थात् जन्मने र मर्ने नै गरिरहन्छ, कहीं पनि स्थायी रहँदैन  । 

गुणहरुलाई भगवानदेखि छुट्टै सत्ता मानुन्जेल प्राणी मोहित हुन्छन् । यदि उनीहरु गुणहरुलाई पनि भगवतस्वरूप नै मान्छन् भने उनीहरु कहिले पनि मोहित हुन सक्तैनन् । 

तीनै गुणहरुको कार्य शरीरलाई चाहे आफ्नो मानौं, चाहे आफूलाई शरीर मानौं -- दुवै मान्यताहरुवाट मोह हुन्छ । शरीरलाई आफ्नो मान्नु 'ममता' भयो र आफूलाई शरीर मान्नु 'अहंता' भयो । शरीरसँग अहंता-ममता गर्नु नै मोहित हुनु हो। मोहित भएपछि गुणहरुदेखि अतीत भगवत्तत्व जान्न सकिंदैन । त्रिगुणात्मिका शरीरसँग अहंता-ममता मेटिएपछि नै व्यक्ति भगवानलाई जान्न सक्छ । यो सिद्धान्त नै छ, मनुष्य संसारसँग पूर्णरूपले छुट्टै भएपछि नै संसारलाई जान्न सक्छ र परमात्मासँग पूर्णरूपले अभिन्न भएपछि नै परमात्मालाई जान्न सक्छ । यसको कारण हो, त्रिगुणात्मक शरीरसँग स्वयं सर्वथा भिन्न छ र परमात्मासँग यो स्वयं सर्वथा अभिन्न छ ।

अस्वाभाविकमा स्वाभाविक भाव हुनु नै मोहित हुनु हो । प्रतिक्षण नष्ट हुने तीन गुण भन्दा पर (श्रेष्ठ), अत्यन्त निर्लिप्त र नित्य-निरन्तर एक रूपले रहने परमात्मा 'स्वाभाविक' हुनुहुन्छ । परमात्माको यो स्वाभाविकता वनाइएको होइन, कृत्रिम होइन, अभ्याससाध्य होइन, स्वतः स्वाभाविक छ । परन्तु शरीर तथा संसारमा अहंता-ममता अर्थात् 'म' र 'मेरो' भाव उत्पन्न भएको छ र नष्ट हुन्छ, यो त केवल मानिएको छ । यही कारण यो 'अस्वाभाविक' हो । यो अस्वाभाविकलाई स्वाभाविक मान्नु नै मोहित हुनु हो । यसले गर्दा मनुष्य  स्वाभाविकतालाई बुझ्नै सक्तैन । 

जीव पहिले परमात्मासँग विमुख भयो कि परमात्मा उसँग विमुख हुनुभयो ? यसमा दार्शनिकहरुको मत छ, परमात्मासँग विमुख हुनु र संसारसँग सम्बन्ध जोड्नु दुवै अनादि हुन्, यिनको आदि छैन । अतः यहाँ पहिले र पछि भन्ने कुरा छैन । मनुष्यले आफूले पाएको स्वतन्त्रताको दुरुपयोग नगरे, त्यो स्वतन्त्रलाई खालि भगवानमा मात्रै लगाउन शुरु गरे ऊ यो संसारदेखि माथि उठ्छ अर्थात् यसको जन्म-मरण छुट्छ । यसवाट सिद्ध हुन्छ, मनुष्य भगवानले दिनुभएको स्वतन्त्रताको दुरुपयोग गरेर नै बन्धनमा परेको हो । आफ्नो स्वतन्त्रताको दुरुपयोग गरेर नष्ट हुने पदार्थहरुमा अल्झिएकोले उसले परमात्मतत्व जान्न नसकेको हो ।

'परमव्ययम्' पदले भगवान भन्नुहुन्छ, म यी गुणहरु भन्दा श्रेष्ठ छु अर्थात् म यी गुणहरुदेखि सम्बन्ध-रहित, असम्बद्ध, निर्लिप्त छु । म न कुनै गुणले बाँधिएको छु र न गुणहरुको परिवर्तनमा मेरो कुनै परिवर्तन हुन्छ । मेरो यस्तो वास्तविक स्वरूपलाई गुणहरुले मोहित प्राणी जान्न सक्तैनन् ।

भगवानलाई नदेखेर सात्विक, राजस र तामस भावहरुलाई देख्ने, तिनको भोग गर्ने, तिनवाट सुख लिने व्यक्ति ती भावहरुसँग मोहित हुन्छ अर्थात् भगवानको दुरत्यय गुणमयी मायाले बाँधिन्छ र फलस्वरूप फेरि फेरि जन्मन्छ र मर्छ ।तात्पर्य, सात्विक, राजस र तामस भाव (कर्म, पदार्थ, काल, स्वभाव, गुण आदि ) अनित्य छन् र भगवान नित्य हुनुहुन्छ । अनित्यको भोग गर्नेहरु अनित्यसँग बाँधिन्छन्; परन्तु अनित्यलाई छोडेर नित्यस्वरूप भगवानको आश्रय लिनेहरु मुक्त हुन्छन् । 

यो श्लोकमा जीवात्मालाई 'जगत' शब्द आएको छ । सत्ता विद्यमान नै नभएकोलाई सत्ता र महत्ता दिएर त्योसँग सम्बन्ध जोडेकोले जीव पनि जगत भइदिन्छ । चेतन पनि (चेतनताको दुरुपयोग गरेर) जड हुन्छ । उत्कृष्ट परा प्रकृति पनि निकृष्ट अपरा प्रकृति भइदिन्छ । जीव जगतको उत्पत्ति-विनाशलाई आफ्नो उत्पत्ति विनाश, जगतको लाभ-हानिलाई आफ्नो लाभ-हानि मान्छ । मनुष्य कामनासँग अभिन्न भएर 'कामात्मानः' अर्थात् कामनारुप हुन्छ र भगवानसँग अभिन्न भएर 'मन्मया:' हुन्छ । फरक यही हो, भगवतरूपले ऊ नित्य छ, तर कामनारुप या जगत-रूपले ऊ अनित्य छ ।

जीवले भगवान वाहेक अर्को सत्ता मान्यो, सत्ता मानेर त्यो सत्तालाई महत्व दियो, महत्व दिएर त्योसँग सम्बन्ध जोडेर आफ्नो स्वतन्त्र सत्ताको लोप गर्यो, त्यसैले ऊ जगत वन्यो । केवल जगतको सत्तालाई आफ्नो सत्ता मान्ने व्यक्ति आफ्नो सत्तावाट विमुख भएर जगत हुन्छ, जुन (जगत) अवास्तविक छ र खालि भगवानको सत्ता मान्ने व्यक्ति आफ्नो स्वतन्त्र सत्ताको मान्यता मेटाएर भगवान हुन्छ -- 'मम साधर्म्यमागताः', जुन वास्तविक छ ।

जीवलाई 'जगत' भन्ने तात्पर्य, कामनाग्रस्त व्यक्तिको ध्यान चेतानतातिर जाँदैन, जड शरीरलाई नै 'म' (आफ्नो स्वरूप) र 'मेरो' मान्न लाग्यो ऊ । जीव स्वरूपले निर्गुण तथा अव्यय हुँदा हुँदै पनि 'जगत' भएकोले सात्विक, राजस र तामस गुणहरुले बाँधिन्छ -- 'निबध्नन्ति महावाहो देहेदेहिनमव्ययम्' ।
वास्तवमा अलौकिक परमात्माको अंश भएकोले जीव पनि अलौकिक नै छ, तर लौकिक जगतलाई समातेर ऊ पनि लौकिक भइदिन्छ । अहंदेखि लिएर पृथ्वीसम्म सबै अपरा प्रकृति हो । त्यसैले पृथ्वी जड भए जस्तै अहम् पनि जड हो । जीव अहम् लाई दृढताले समातेर 'अहंकारविमूढात्मा' हुन्छ अर्थात् अहम् लाई आफ्नो स्वरूप मान्छ । त्यसपछि उसको पतन हुँदा हुँदा ऊ पनि जड जगत नै बन्छ अर्थात् उसको चेतनपना लुप्त (विस्मृत) हुन्छ, उसलाई चेतनपनाको अनुभव नै हुँदैन । 

गुणहरुमा आसक्त नभएकालाई जडता नै रहँदैन । यसैले उनीहरुलाई सबै ठाउँमा भगवान-नै-भगवान देखिन्छ -- 'वासुदेवः सर्वम्'। परन्तु गुणहरुमा आसक्त हुनेलाई भगवान नै देखिंदैन, संसार नै संसार देखिन्छ । ती गुणहरुले अतीत भगवानलाई पनि गुणहरुले बाँधिएको देख्छन्, अविनाशी भगवानलाई पनि जन्मने मर्ने देख्छन् । भक्तको दृष्टि त भगवान छोडेर अर्को तर्फ जाँदै जाँदैन ।तर गुणहरुमा आसक्त संसारीहरुको दृष्टि संसारलाई छोडेर अरुतिर जाँदै जाँदैन ।यसैले भगवानको भक्तलाई आनन्द-नै-आनन्द प्राप्त हुन्छ र संसारी मनुष्यलाई दुःखै दुःख -- 'दुःखालयम्' ।