Wednesday, 10 September 2014

163 No. 130 श्लोक २४ अर्पण गरिने स्रुक्, स्रुवा, जस्ता पात्र (भाँडा) ब्रह्म हुन्, हव्य पदार्थ (तिल, जौ, घिउ आदि) पनि ब्रह्म

No. 130 

श्लोक २४ 

अर्पण गरिने स्रुक्, स्रुवा, जस्ता पात्र (भाँडा) ब्रह्म हुन्, हव्य पदार्थ (तिल, जौ, घिउ आदि) पनि ब्रह्म हुन् र ब्रह्मरूप कर्ताद्वारा ब्रह्मरूप अग्निमा आहुति दिने क्रिया पनि ब्रह्म हो, त्यस्तै ब्रह्ममा समाधि गरिएको यज्ञ गर्ने  मनुष्यले प्राप्त गर्ने फल पनि नै ब्रह्म हो । 

यज्ञमा आहुति मुख्य हुन्छ । त्यो आहुति अग्निरूप भएपछि पूर्ण हुन्छ अर्थात् हव्य पदार्थको अग्नि भन्दा अर्को सत्ता नै रहनु हुन्न । यस्तै किसिमले सबै साधनहरु साध्यरूप भएपछि यज्ञ  नै हुन्छन् ।

सबै यज्ञमा परमात्मतत्वको अनुभव गर्नु भावना होइन, वास्तविकता हो । भावना त पदार्थहरुको हुन्छ ।  

अग्निमा आहुति दिइने पात्रहरुलाई यहाँ 'अर्पणम्' भनिएको छ । त्यो अर्पणलाई पनि ब्रह्म नै मान्नुपर्छ भन्ने गीताको भनाइ छ ।       

तिल, जौ, घिउ, आदि हवनकोलागि आवश्यक पदार्थ पनि ब्रह्म नै मान्नुपर्छ।
आहुति दिने व्यक्ति पनि ब्रह्म नै हो । जसमा आहुति दिइन्छ, त्यो अग्नि पनि ब्रह्म नै हो र आहुति दिइने क्रिया पनि ब्रह्म नै हो ।

हवन गर्ने व्यक्तिले प्रयोग गर्ने स्रूक, स्रुवा, हवि,अग्नि आदि सबैलाई ब्रह्मको स्वरूप माने जस्तै प्रत्येक कर्ममा कर्ता, करण, कर्म र पदार्थ सबैलाई ब्रह्मरूपको अनुभव गर्ने व्यक्तिको ब्रहममा कर्म समाधि हुन्छ अर्थात् सम्पूर्ण कर्महरुमा उसको ब्रह्मबुद्धि हुन्छ । उसकोलागि सम्पूर्ण कर्म ब्रह्मरूप नै वन्छन् । उसकोलागि  ब्रह्म सिवाय कर्महरुको आफ्नो छुट्टै स्वरूप नै रहँदैन । 

ब्रहममा कर्म समाधि भएपछि सम्पूर्ण कर्म ब्रह्मरूप नै वनेको व्यक्तिकोलागि फलको रूपमा पनि निःसन्देह ब्रह्मको नै प्राप्ति हुन्छ । कारण कि उसको दृष्टिमा ब्रह्म सिवाय अरु कसैको स्वतन्त्र सत्ता नै रहँदैन ।  

यो श्लोक महात्माहरु भोजन गर्ने वेलामा भन्ने गर्छन् । यसो गर्दा भोजनरुप कर्म पनि यज्ञ वन्छ । भोजनरुप कर्ममा ब्रह्मबुद्धि यसरी गरिन्छ । 

(१) भोजन अर्पण गर्ने हात पनि ब्रह्मरूप  हो । 

(२) भोजनका पदार्थ पनि ब्रह्मरूप हुन् । 

(३) भोजन गर्ने व्यक्ति पनि ब्रह्मरूप हो ।

(४) जठराग्नि (प्राणीहरुलाई लाग्ने भोक) पनि ब्रह्मरूप हो । 

(५) भोजन गर्ने क्रिया अर्थात् जठराग्निमा अन्न आहुति दिने क्रिया पनि ब्रह्म हो ।

(६) यस्तो किसिमले भोजन गर्ने मनुष्यद्वारा प्राप्त गरिने फल पनि ब्रह्म नै हो ।

प्रकृतिको कार्य संसारको स्वरूप हो -- क्रिया र पदार्थ । वास्तविक दृष्टिले हेर्दा प्रकृति या संसार क्रियारूप नै हो  ।कारण कि पदार्थ एक क्षण पनि स्थिर रहँदैन, उसमा निरन्तर परिवर्तन भइरहन्छ । अतः वास्तवमा पदार्थ परिवर्तनरुप क्रियाको पुत्र (छोरो) हो । खालि 'राग'ले गर्दा पदार्थको मुख्यता देखिन्छ । सम्पूर्ण क्रियाहरु अभावमा गइरहेछन् । अतः संसार अभावरुप नै हो । भावरूपले केवल एक अक्रिय तत्व ब्रह्म हो, यही ब्रह्मको सत्ताले अभावरूप संसार पनि सत्तावान् प्रतीत भइरहेछ । संसारको अभावरुपतालाई यस्तो किसिमले बुझ्न सकिन्छ --

संसारका तीन अवस्थाहरु देखिन्छन्  -- उत्पत्ति, स्थिति र प्रलय; जस्तो, वस्तु उत्पन्न हुन्छ, त्यो वस्तु केही दिन रहन्छ र अन्तमा नष्ट हुन्छ अथवा मनुष्य जन्म लिन्छ केही दिन रहन्छ र अन्तमा मर्छ । यो भन्दा पनि विस्तृत विचार गर्दा, केवल उत्पत्ति र प्रलयको मात्रै काम छ, स्थिति त्यसैले छँदै छैन । जस्तो -- कुनै व्यक्तिको आयु पचास वर्षको छ भने वीस वर्ष वितेपछि उसको आयु तीस वर्ष मात्रै वांकी रहन्छ । अझ सूक्ष्मरूपले विचार गर्दा केवल प्रलय-नै-प्रलय छ (नाश-नै-नाश) छ, उत्पत्ति छँदै छैन । जस्तो आयुको वितेको जति वर्ष त त्यो व्यक्ति मरिहाल्यो । यस्तो प्रकारले मनुष्य प्रतिक्षण मरिरहेछ, उसको जीवन प्रतिक्षण मृत्युमा गइरहेछ । सम्पूर्ण दृश्य प्रतिक्षण अदृश्यमा गइरहेछ । प्रलय भनेको अभावको नै नाम हो ।   यसैले अभाव मात्रै वांकी रह्यो । अभावको सत्ता भावरुप ब्रह्ममा नै टिकेको छ ।अतः भावरूपले एक ब्रह्म मात्रै शेष रह्यो ।

गीतामा वर्णन भइरहेको ज्ञान 'अद्वैत' ज्ञान हो । यसले एक परमात्मतत्वको सत्ताको वर्णन गर्छ । यसको वर्णन अनुसार पूरा सृष्टि जड-चेतनमय हो । पूरा सृष्टिको आधार नै यही परमात्मतत्व हो । समस्त संसार, समस्त सृष्टि यही परमात्मतत्वको सत्तामा टिकेको छ । अर्को शब्दमा, संसारको स्वतन्त्र सत्ता छँदै छैन । यही कुरा बुझाउन गीता हाम्रो शरीरलाई, समस्त प्राणीहरुको शरीरलाई हामीले लगाउने लुगा भन्छ । गीता अझ भन्छ, लुगा भनेपछि लुगा नै हो, मनुष्यको पनि लुगा, मुसाको पनि लुगा, सुँगुरको पनि लुगा । हामीले एउटा लुगा फुकालेर अर्को लुगा लगाउँदा हामीलाई शोक नभए जस्तै हाम्रो आत्माले एउटा लुगा (शरीर) फुकालेर अर्को लुगा लगाउँदा हामीलाई शोक हुनु हुँदैन । हामीले यो पनि विर्सनु भएन, समस्त प्राणीको तीन शरीरहरू हुन्छन् -- (१) स्थूल, सूक्ष्म र कारण । हामीले लुगा लगाउने आत्माको सूक्ष्म शरीर भनेको हाम्रो मन हो । सबै प्राणीहरुको मन पनि भिन्न भिन्न छन् । 
उपनिषद् अनुसार, परमात्मालाई मनुष्य शरीर वनाउँदा अत्यन्त आनन्द भयो । यही मनुष्य शरीरमा विवेक पनि पर्याप्त मात्रामा छ ।यही विवेकले मनुष्य आफ्नो उद्धार गर्न सक्छ । तर आवश्यकता छ, विवेकको सही किसिमले प्रयोग गर्नु । यही विवेकले गर्दा नै मनुष्य र पशुको वीच भिन्नता भएको हो । गीता अनुसार पनि विवेकको प्रयोग नगर्ने मनुष्य पशु नै हो । प्रश्न छ: यो विवेक कहाँ वस्छ ? विवेक हाम्रो बुद्धिमा वस्छ । 

हाम्रो मनको एकातिर बुद्धि छ, अर्कोतिर इन्द्रियहरु छन् । यदि हाम्रो बुद्धि मनको नोकर छ भने यस्तो बुद्धिमा विवेक हुँदैन । तर यदि हाम्रो बुद्दिले मनलाई आफ्नो नोकर वनाएको छ भने हाम्रो बुद्धिमा विवेक हुन्छ । यही विवेक नै पछि गएर ज्ञानमा परिणत हुन्छ । विवेक नभएको बुद्धि नै 'धृतराष्ट्र' हो । अविवेकी मनुष्यलाई के कुरा ठिक, के कुरा वेठिक भन्ने कुराको पत्तो नै हुँदैन । उसको बुद्धिमा भोग र पदार्थको मात्रै महत्व हुने हुनाले उसका समस्त आचार विचार, कसरी भोग गर्ने, कसरी संग्रह (जम्मा) गर्ने भन्ने पट्टि नै लागिरहन्छ, संसारका क्षणिक र परिवर्तनशील र नाशवान् पदार्थमा मात्रै उसको रुचि हुन्छ ।  त्यस्तो अविवेकी मनुष्यलाई 'म सँधै वाँचीरहूँ, निरोगी रहूँ' भन्ने आशा हुन्छ । सबैको शरीर यो संसारमा रहेको नदेखे पनि आफ्नो र आफ्नो परिवारको शरीर चाहिं सँधै वाँचीरहोस् भन्ने मनुष्यलाई 'मोघाशा' व्यक्ति भन्नुहुन्छ भगवान नवौं अध्यायमा । तीन लोकमा, तीन कालमा सम्भव नहुने आशा गर्ने व्यक्तिलाई 'मोघाशा' (खेर जाने आशा गर्ने) नभनेर के भन्ने ?  यस्तै छ हजुर, हामी पनि भगवानको 'मोघाशा' शब्दभित्र पर्छौं कि पर्दैनौं भन्ने विचार गर्ने हामीले नै हो ।  

Monday, 8 September 2014

162. No. 129 श्लोक २३ सबै आसक्ति मेटिएको, मुक्त भएको, बुद्धि स्वरूपको

No. 129

श्लोक २३ 

सबै आसक्ति मेटिएको, मुक्त भएको, बुद्धि स्वरूपको ज्ञानमा स्थित भएको, यज्ञकोलागि मात्रै कर्म गर्ने मनुष्यको सम्पूर्ण कर्म नष्ट हुन्छन् ।


क्रियाहरुको, पदार्थहरुको, घटनाहरुको, परिस्थितिहरुको र व्यक्तिहरुको संग, यिनीहरुसँगको लगाउ नै वास्तवमा बाँध्ने खालको अर्थात् जन्म-मरण दिने हुन्छ । स्वार्थभाव छोडेर खालि अरुको हितकोलागि कर्म गरिरहँदा कर्मयोगी क्रियाहरु, पदार्थहरुदेखि असंग हुन्छ अर्थात् उसको आसक्ति सबै मेटिन्छ ।


किन्तु स्वभावले नै असंग भएर पनि मनुष्य शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ, परिस्थिति, व्यक्तिसँग सम्बन्ध मानेर सुखको इच्छाले तिनीहरुमा आवद्ध हुन्छ । 'मेरो मनको कुरो पुग्नु पर्छ अर्थात् मैले चाहेको जस्तो हुनुपर्छ, मैले नचाहेको कुरो हुनुहुँदैन' भन्ने भाव रहुन्जेल यस्तो संग बढी नै रहन्छ । वास्तवमा जे हुनुपर्छ, त्यही हुन्छ, जे हुँदैन, त्यो चाहे हुँदैन पनि नचाहे पनि हुँदैन ।  अतः आफ्नो मन लागेको गरेर मनुष्य व्यर्थ फँस्छ र दुःख पाउँछ ।


कर्मयोगी संसारवाट पाइएका शरीर आदि वस्तुहरुलाई आफ्नो र आफ़्नोलागि नमानेर संसारको सेवामा अर्पण गर्छ । यसवाट वस्तुहरु र क्रियाहरुको प्रवाह संसारतिर हुन्छ र आफ्नो असंग स्वरूप जस्ता-को-तस्तो रहन्छ । 


कर्मयोगीको 'अहम्' पनि सेवामा लाग्छ । तात्पर्य, ऊ भित्र 'म सेवक हुँ' भन्ने भाव पनि रहँदैन । यो भावले त मनुष्यलाई सेवकपनाको अभिमानमा वाँधी दिन्छ । सेवा सामग्रीको अभिमान हुँदा नै सेवकपनाको अभिमान हुन्छ । सेवाको वस्तु उसैको थियो, उसैलाई दिइयो भने के सेवा भयो ? हामी त त्यो सेव्यको ऋणवाट उऋण भयौं । यसैले सेवक नरहोस्, केवल सेवा रहोस् । सेवाको सट्टा धन, मान, बडाई, पद, अधिकार आदि केही पनि लिने होइन, किनकि तिनमा हाम्रो हक नै छैन भन्ने भाव हुनुपर्छ हामीलाई । सेवाको सट्टा केही स्वीकार गर्नु पनि अनधिकार चेष्टा (कोशीश) हो । 'अरु मलाई सेवक भनून्'-- यस्तो भाव पनि नरहोस् र यदि कसैले यसो भन्छ भने त्यसमा खुशी पनि नहुनु पर्छ हामीले । यस्तो प्रकारले संसारको वस्तुहरुलाई संसारको सेवामा पूर्णरूपमा लगाइदिनाले अन्तःकरणमा प्रसन्नता हुन्छ । त्यो प्रसन्नताको पनि भोग नगरे त स्वतःसिद्ध असंगताको अनुभव हुन्छ ।


आफ्नो स्वरूपदेखि शरीर आदि पदार्थ सर्वथा भिन्नै भए पनि कामना, ममता र आसक्तिपूर्वक ती क्रिया तथा पदार्थसँग आफ्नो सम्बन्ध मान्दा मनुष्य वाँधिंन्छ अर्थात् पराधीन हुन्छ । कर्मयोगको अनुष्ठान गरेपछि मानिएको वास्तविक सम्बन्ध छुट्छ । यसरी कर्मयोगी सर्वथा असंग हुन्छ । असंग भएपछि नै ऊ सर्वथा मुक्त हुन्छ अर्थात् स्वाधीन हुन्छ । 


कर्मयोगीको बुद्धिमा स्वरूपको ज्ञान नित्य-निरन्तर जाग्रत रहन्छ । स्वरूप-ज्ञान हुने वित्तिकै उसको स्थिति स्वरूपमा हुन्छ, जुन स्थिति वास्तवमा पहिले नै थियो ।


वास्तवमा ज्ञान संसारको नै हुन्छ । स्वरूपको ज्ञान हुँदैन; किनकि स्वरूप स्वतः ज्ञानस्वरूप छ । क्रिया र पदार्थ नै संसार हो । क्रिया र पदार्थको बिभाग छुट्टै छ, स्वरूपको बिभाग छुट्टै छ अर्थात् क्रिया र पदार्थको स्वरूपसँग कहिले पनि सम्बन्ध छैन । क्रिया र पदार्थ जड हुन् तथा स्वरूप चेतन हो । क्रिया र पदार्थ प्रकाश्य हुन् तथा स्वरूप प्रकाशक हो । यसरी क्रिया र पदार्थसँग स्वरूपको भिन्नताको ठीक-ठीक ज्ञान हुने वित्तिकै क्रिया र पदार्थरुप संसारसँग सम्बन्ध-विच्छेद भएर स्वतःसिद्ध असंग स्वरूपमा आफ्नो स्थितिको अनुभव हुन्छ ।


कर्ममा अकर्म देख्ने एक प्रकार हो -- 'यज्ञार्थ' अर्थात् यज्ञकोलागि कर्म गर्ने । निःस्वार्थभावले केवल अरुको हितकोलागि कर्म गर्नु 'यज्ञ' हो । यज्ञकोलागि मात्रै सम्पूर्ण कर्म गर्ने व्यक्ति कर्मबन्धनवाट मुक्त हुन्छ र यज्ञकोलागि कर्म नगर्ने व्यक्ति कर्महरुमा बाँधिन्छ । 


प्रकृतिको कार्य हो -- पदार्थ र क्रिया । यी दुईमध्ये क्रियाको पनि आदि र अन्त हुन्छ तथा पदार्थको पनि आदि र अन्त हुन्छ । क्रिया आरम्भ हुनु भन्दा पहिले पनि थिएन र समाप्त भएपछि पनि रहँदैन, यसैले तिनीहरु वीचमा पनि रहँदैनन् । यसै गरी पदार्थ उत्पन्न हुनु भन्दा पहिले पनि थिएन र नष्ट भएपछि पनि रहँदैन, यसैले वीचमा पनि पदार्थ छैन ।आदि र अन्तमा नहुने वस्तु, पदार्थ वीच(वर्तमान)मा पनि हुँदैनन् । परन्तु चेतनको स्वरूपको आदि र अन्त हुँदैनन्, यो सँधै अक्रियरूपले जस्ता-को-तस्तै रहन्छ। त्यो चेतन तत्व क्रिया र पदार्थ दुबैको प्रकाशक हो । यसरी क्रिया र पदार्थसँग अलिकति पनि सम्बन्ध नहुँदा नहुँदै पनि सम्बन्ध मानेपछि व्यक्ति बाँधिन्छ । यस्तो बन्धनदेखि बच्ने एउटा मात्र उपाय -- फलेच्छा त्यागेर केवल अरुको हितकोलागि कर्म गर्ने । 


संसारमा अनेक प्रकारका क्रियाहरु भैरहेछन् र अनेक प्रकारका पदार्थ विद्यमान छन्। परन्तु मनुष्यले ती क्रिया र पदार्थसँग आसक्ति, ममता र कामनापूर्वक आफ्नो सम्बन्ध मानेकोले ऊ ती क्रिया र पदार्थहरुसँग बाँधिन्छ । तर आफ्नो कामना, ममता र आसक्ति त्यागेर केवल अरुको हितकोलागि सम्पूर्ण कर्म गर्ने र आफूले पाएका पदार्थहरु अरुको नै मानेर उनीहरुको सेवामा लगाइदिने व्यक्तिको सम्पूर्ण (क्रियमाण, संचित र प्रारब्ध) कर्म विलीन हुन्छन् अर्थात् उसलाई कर्महरुसँग स्वतःसिद्ध असंगताको अनुभव हुन्छ । 


(१) कर्ता, करण र कर्म -- यी तीनै मिल्दा कर्महरुको संचय हुन्छ । कर्तापन भएन भने कर्महरुको संग्रह हुँदैन; किनकि करण र कर्म -- दुवै कर्ताको नै अधीन छन्  । अतः कर्म संचयको मुख्य हेतु कर्तापन नै हो । 


विचारपूर्वक हेर्दा, केही न केही पाउने इच्छाले नै कर्म गर्ने इच्छा उत्पन्न हुन्छ, यही इच्छाले नै कर्तापन उत्पन्न हुन्छ । यही कर्तापनवाट बन्धन हुन्छ । केही पाउने इच्छाले कर्म गर्ने व्यक्तिको कर्तापन दृढ हुन्छ । आफूले केही पनि पाउने इच्छा त्यागेर केवल यज्ञकोलागि अर्थात् अरुको हितकोलागि कर्म गर्ने कर्मयोगीलाइ आफ्नो असंगताको बोध हुन्छ ।यसैले ऊ द्वारा हुने कर्महरूको संचय हुँदैन । कारण, आधार (कर्तापन) नै नभएपछि कर्म कसरी र केमा टिक्ने ?


कर्मयोगी आफ़्नोलागि कुनै कर्म नै गर्दैन र केही पनि चाहँदैन; अतः ऊ कर्महरुको फलको भोक्ता बन्दैन । जस्तो कुनै व्यक्तिलाई यहाँ (यो संसारमा) धेरै दण्ड भोग्नु पर्छ, तर यदि ऊ मर्यो भने उसका दण्ड सबै सकिन्छन्; किनकि भोग्ने व्यक्ति नै छैन भने दण्ड कसले भोग्ने ? त्यस्तै, कर्मयोगीको भोक्तापन मेटिएपछि उसका सबै कर्म समाप्त हुन्छन्; किनकि भोक्ता नै नरहेपछि कर्महरूको फल कसले भोग्ने ?


(२) यही अध्यायको शुरुमा नै भगवानले भन्नुभयो, 'मेरा जन्म र कर्म तत्वले मलाई जान्ने व्यक्ति मलाई पाउँछ ।' जन्म त भगवानको मात्रै दिव्य हुन्छ, तर कर्म त सबै व्यक्तिको पनि दिव्य हुन सक्छ । अतः यही अध्यायमा भगवान आफ्नो कर्मको दिव्यताको कारण वताउनु हुन्छ, 'कर्महरुको फलमा मेरो स्पृहा छैन, यसैले मलाई कर्महरु लिप्त गर्दैनन् अर्थात् मेरा कर्म अकर्म हुन्छन् ।' भगवान फेरि भन्नुहुन्छ 'मुमुक्षुहरुले पनि यही जानेर कर्म गरेका हुन् ।'  यही क्रममा भगवान कर्महरुको तत्व भन्ने प्रतिज्ञा गर्नुहुन्छ र भन्नुहुन्छ, मनुष्यले कर्म, विकर्म र अकर्मलाई तत्वले जान्नुपर्छ । 
        
एउटा 'क्रिया' हुन्छ, एउटा 'कर्म हुन्छ, एउटा 'कर्मयोग' हुन्छ । शरीर वालकवाट जवान र जवानवाट बुढो हुन्छ -- यो 'क्रिया' हो । क्रियावाट न पाप लाग्छ, न पुण्य, न बन्धन हुन्छ, न मोक्ष । क्रियासँग सम्बन्ध जोडेर कर्ता वनेपछि अर्थात् आफ़्नोलागि 'क्रिया' गरेपछि त्यो क्रिया फलजनक हुन्छ । कर्मबन्धनदेखि छुट्न साधक आफ्नोलागि केही नगरेर निःस्वार्थभावले केवल अरुको हितकोलागि मात्रै कर्म गर्छ, त्यो कर्म 'कर्मयोग' हुन्छ । कर्मयोगले बन्धन मेटिन्छ । बन्धन मेटिएपछि योग हुन्छ अर्थात् परमात्मासँग नित्य-सम्बन्धको अनुभव हुन्छ । 


यो श्लोक कर्मयोगको मुख्य श्लोक हो । यो श्लोकमा भगवानले कर्मयोगीको समग्र कर्म (पाप) नष्ट हुने कुरा गर्नु भयो ।                                                                 


मेरा मित्रहरु, म करीव पाँच दिनकोलागि काठमाडौँ वाहिर भैरहवा जाँदैछु, मेरा आदरणीय मित्रहरुसँग । यो visit को purpose हो, मेरो गुरुजीवाट सुनौलीमा निर्माण भएको आश्रमको उद्घाटनमा सहभागी हुन । यो tripमा जाँदा र आउँदा दुई दिन देवघाट पनि जाने कार्यक्रम छ हाम्रो । यही कारण, मेरा यी लेखहरु पनि आउन छोड्लान् हजुरहरुलाई । उतावाट फर्केपछि म हजुरहरुको सम्पर्कमा रहने नै छु । 

161. No. 128 श्लोक २२ आफैं पाइएकोमा सन्तुष्ट रहने, र ईर्ष्यादेखि रहित, द्वन्द्वहरुदेखि रहित (तथा) सिद्धि र असिद्धिमा सम रहने

No. 128
श्लोक २२ 

आफैं पाइएकोमा सन्तुष्ट रहने, र ईर्ष्यादेखि रहित, द्वन्द्वहरुदेखि रहित (तथा) सिद्धि र असिद्धिमा सम रहने कर्मयोगी कर्म गरिरहँदा पनि तिनीहरुसँग (ती कर्महरुसँग) बाँधिंदैन ।

कर्मयोगी साङ्गोपाङ्ग रीतिले (पूरा विधिपूर्वक) सम्पूर्ण कर्तव्य-कर्म गर्छ । फल-प्राप्तिको उद्देश्य नराखेर कर्म गर्दा फलको रूपमा उसलाई अनुकूलता या प्रतिकूलता, लाभ या हानि, मान या अपमान, स्तुति या निन्दा जे सुकै भए पनि उसको अन्तःकरणमा कुनै असन्तोष पैदा हुँदैन । जस्तो, उसले व्यापार गर्छ भने उसलाई त्यो व्यापारमा लाभ होस् अथवा हानि, त्यसवाट उसमा कुनै असर पर्दैन । ऊ हरेक परिस्थितिमा समानरूपले सन्तुष्ट रहन्छ; किनकि उसको मनमा फलको इच्छा हुँदैन । तात्पर्य, व्यापारमा उसलाई लाभ-हानिको ज्ञान हुन्छ तथा उ त्यही अनुसार यथोचित चेष्टा (कोशीस) पनि गर्छ, पर परिणाममा उ सुखी-दुःखी हुँदैन । यदि यस्तो अवस्थामा साधकको अन्तःकरणमा अनुकूलता-प्रतिकूलताको अलिकति पनि असर पर्छ भने पनि साधकले डराउनु पर्दैन; किनकि साधकको अन्तःकरणमा त्यो प्रभाव स्थायी रहँदैन, छिटै मेटिन्छ ।
 
यो श्लोकमा आएको 'लाभ' शब्दको अर्थ प्राप्ति हो । यो शब्दले लाभ य अनुकूलता हुनुलाई लाभ नभनेर लाभ-हानि, अनुकूलता-प्रतिकूलता आदिको प्राप्ति सबै 'लाभ' हुन् भन्ने बुझाउँछ ।
 
कर्मयोगी सम्पूर्ण प्राणीहरुसँग आफ्नो एकता मान्छ । यसैले उसलाई कुनै पनि प्राणीसंग किञ्चित् मात्र पनि ईर्ष्याको भाव हुँदैन ।
 
आफूमा कुनै प्राणीसँग अलिकति पनि ईर्ष्याको भाव नआओस् भन्ने कुरामा कर्मयोगी निकै सावधान रहन्छ । कारण कि कर्मयोगीका सम्पूर्ण क्रियाहरु अरुको हितकोलागि नै हुन्छन्, अतः यदि उसमा अलिकति मात्रै पनि ईर्ष्याको भाव भयो भने उसका सम्पूर्ण क्रियाहरु अरुको हितकोलागि हुन सक्तैनन् ।
ईर्ष्या-दोष धेरै सूक्ष्म छ । यसैले साधकले यो दोषदेखि वच्न विशेष सावधान हुनु पर्छ।
कर्मयोगी लाभ-हानि, मान-अपमान, स्तुति-निन्दा, अनुकूलता-प्रतिकूलता, सुख-दुःख जस्ता द्वन्द्वदेखि अतीत हुन्छ, यसैले उसको अन्तःकरणमा ती द्वन्द्ववाट हुने राग-द्वेष, हर्ष-शोक जस्ता विकार आउँदैनन् । 


द्वन्द्व अनेक प्रकारका हुन्छन् । जस्तो -- भगवानको सगुण-साकाररुप ठीक हो कि निर्गुण-निराकाररुप ठीक हो, अद्वैत सिद्धान्त ठीक हो या द्वैत सिद्धान्त ठीक हो, भगवानमा मन लाग्यो कि लागेन, एकान्त पाइयो कि पाइएन, शान्ति भयो कि भएन आदि, आदि । यी सबै द्वन्द्वहरुसंग सम्बन्ध नभएपछि साधक निर्द्वंद हुन्छ । अर्को शब्दमा, साधकको अन्तःकरणमा कुनै तर्फ झुकाव हुन्छ भने उसलाई द्वान्दातीत भनिंदैन ।
कर्मयोगी सबै प्रकारको द्वन्द्वहरुदेखि अतीत हुन्छ, यसैले ऊ सुखपूर्वक संसार-बन्धनदेखि मुक्त हुन्छ ।
कुनै पनि कर्तव्य-कर्म निर्विघ्नरूपले पूरा हुनु सिद्धि हो र कुनै प्रकारले विघ्न, वाधाले गर्दा पूरा नहुनु असिद्धि हो । सिद्धि र असिद्धिमा राग-द्वेष, हर्ष-शोक आदि विकारहरु नहुनु नै सिद्धि-असिद्धिमा सम रहनु हो ।
आफ्नो केही पनि होइन, आफ्नोलागि केही चाहिंदैन र आफ़्नोलागि केही गर्नु छैन -- यी तीनै कुरा ठीक ठीक अनुभवमा आयो भने मात्रै सिद्धि-असिद्धिमा पूर्णत: समता आउनेछ  । 
            
कर्मयोगी कर्म गर्दा पनि बाँधिंदैन भने कर्म नगर्दा ऊ वांधिने भन्ने सवाल नै आउँदैन ।ऊ दुवै अवस्थाहरुमा निर्लिप्त रहन्छ । शरीर-निर्वाहकोलागि कर्म गर्ने कर्मयोगी कर्महरुसँग नबाँधिए जस्तै शास्त्रविहित सम्पूर्ण कर्महरु गर्ने कर्मयोगी पनि कर्महरुसँग वाँधिंदैन । 


कर्मयोगमा कर्म गर्नु, धेरै कर्म गर्नु, कम कर्म गर्नु अथवा नगर्नु बन्धन अथवा मुक्तिको कारण होइन । कर्महरुसँगको लिप्तता नै बन्धनको र निर्लिप्तता नै मुक्तिको कारण हो । जस्तो एउटा व्यक्ति नाटकमा लक्ष्मणको र अर्को व्यक्ति मेघनादको अभिनय गर्छ र दुवै व्यक्ति आफ्नो-आफ्नो अभिनय ठीक ठीक गर्दा पनि निर्लिप्त रहन्छन् अर्थात् आफूलाई वास्तवमा साँच्चिकै लक्ष्मण या मेघनाद मान्दैनन् । त्यस्तै कर्मयोगी आफ्नो वर्ण, आश्रम, अनुसार कर्तव्यको पालन गरी गरी ती कर्महरुसँग निर्लिप्त रहन्छ अर्थात् तिनसँग आफ्नो कुनै सम्बन्ध मान्दैन । उसको सम्बन्ध नित्य निरन्तर रहने स्वरूपसँग रहन्छ, प्रतिक्षण परिवर्तनशील प्रकृतिसँग होइन । यसैले उसको स्थिति स्वाभाविक नै समतामा रहन्छ । समतामा स्थिति रहने हुनाले ऊ कर्म गर्दा पनि ती कर्महरुसँग बाँधिंदैन । 


अझ विचार गर्दा, समता स्वतःसिद्ध छ । यो प्रत्येक मनुष्यको अनुभव हो, अनुकूल परिस्थितिमा हामी जे जस्तो हुन्छौँ, प्रतिकूल परिस्थितिमा पनि हामी त्यस्तै नै हुन्छौं । दुवै परिस्थितिमा हामी एकै नहुने भए दुई छुट्टा-छुट्टै परिस्थितिको हामीलाई ज्ञान कसरी हुने ? यसवाट सिद्ध हुन्छ, परिवर्तन परिस्थितिहरुमा हुन्छ, आफ्नो स्वरूपमा होइन । यसैले परिस्थितिहरु वदलिए पनि स्वरूपले हामी सम (जस्ता-को-तस्तो) नै रहन्छौं । भूल यही हुन्छ, हामी परिस्थितिहरुतिर हेर्छौं, तर स्वरूपतिर हेर्दैनौं । आफ्नो सम स्वरूपतिर न हेर्नाको कारण नै हामी आउने-जाने परिस्थितिहरुवाट सुखी-दुःखी हुन्छौं ।       


                                              












Wednesday, 3 September 2014

160. No. 127 श्लोक २१ आफ्नो शरीर र अन्तःकरण राम्रोसँग वशमा गरेको, सबै किसिमको संग्रहको त्याग गरिसकेको,

No. 127
श्लोक २१ 
आफ्नो शरीर र अन्तःकरण राम्रोसँग वशमा गरेको, सबै किसिमको  संग्रहको त्याग  गरिसकेको, इच्छारहित (कर्मयोगी) केवल शरीर सम्बन्धी गर्दा पनि पापको भागी बन्दैन ।
साधारण व्यक्तिहरुको संसारमा आशा र इच्छा रहेको कारण नै शरीर, इन्द्रियहरु, मन वशमा हुँदैनन् । यहाँ 'निराशी:' शब्दले यो वताउँछ, कर्मयोगीमा आशा या इच्छा रहँदैन । अतः उसका शरीर, इन्द्रियहरु, र अन्तःकरण स्वतः वशमा रहन्छन् । यिनीहरु वशमा रहनाले ऊ द्वारा व्यर्थका क्रियाहरु हुँदैनन् ।
कर्मयोगी संन्यासी छ भने ऊ सबै प्रकारको भोगहरुको संग्रहको स्वरूपले नै त्याग गरिदिन्छ । यदि गृहस्थ छ भने ऊ भोगबुद्धिले (आफ्नो सुखकोलागि) कर्म गर्दैन । ऊसँग भएको सबै सामग्रीलाई त्यो कर्मयोगी आफ्नो र आफ़्नोलागि नमानेर संसारको र संसारकोलागि भन्ने नै मान्छ तथा संसारको सुखमा नै ती सामग्रीहरु लगाइदिन्छ । भोगबुद्धिले संसारको त्याग गर्नु सबै साधकलाई आवश्यकता छ ।

कर्मयोगीमा आशा, कामना, स्पृहा, वासना आदि रहँदैनन् । ऊ वाहिरदेखि नै भोगसामग्रीको संग्रहको त्याग गर्ने मात्रै होइन, भित्रैदेखि भोग-सामग्रीको आशा या इच्छाको त्याग गर्छ । आशा या इच्छाको सर्वथाको त्याग नहुँदा पनि उसको उद्देश्य तिनीहरुको त्याग गर्ने नै हुन्छ ।

शरीर सम्बन्धी कर्मका दुई अर्थ हुन्छन् -- (१) शरीरवाट हुने कर्म र (२) शरीर-निर्वाहकोलागि गरिने कर्म । शरीरवाट हुने कर्मको (पाँचौं अध्यायमा वर्णन भएको) तात्पर्य, 'सबै कर्म केवल शरीर, इन्द्रियहरु, मन, बुद्धिद्वारा नै भैरहेछन्, तिनसँग मेरो कुनै पनि सम्बन्ध छैन' भन्ने मानेर कर्मयोगी अन्तःकरणको शुद्धिकोलागि कर्म गर्छ ।  तर यहाँ अहिले वर्णित श्लोक निवृत्तिपरक भएकोले यसको अर्थ, शरीर खालि निर्वाहकोलागि गरिने आवश्यक कर्म (खान-पान, शौच-स्नान आदि) मान्नु नै ठीक देखिन्छ । निवृत्तिपरायण कर्मयोगी आफ्नो शरीर निर्वाहकोलागि मात्रै आवश्यक कर्म गर्छ ।

कर्म गर्नु अथवा नगर्नुसँग अलिकति पनि सम्बन्ध रहुन्जेल जन्म-मरणरुप बन्धन प्राप्त हुन्छ । परन्तु आशारहित कर्मयोगी कर्म गर्नु अथवा कर्म नगर्नुसँग आफ्नो कुनै पनि सम्बन्ध राख्दैन, यसैले उसलाई पाप लाग्दैन अर्थात् उसका सबै कर्म अकर्म हुन्छन् ।
निवृत्तिपरायण हुँदा पनि कर्मयोगी कहिले आलस्य-प्रमाद गर्दैन । आलस्य-प्रमादको पनि भोग हुन्छ । एकान्तमा यसै वसिरहँदा आलस्यको भोग हुन्छ र शास्त्रविरुद्ध तथा निरर्थक कर्म गर्दा प्रमादको भोग हुन्छ । यही किसिमले निवृत्तिमा आलस्यको सुखको र प्रवृत्तिमा प्रमादको सुखको भोग हुन सक्छ । अतः आलस्य-प्रमादवाट मनुष्यलाई पाप लाग्छ । तर धेरै कम कर्म गर्दा पनि निवृत्ति-परायण कर्मयोगीमा अलिकति पनि आलस्य र प्रमाद आउँदैन । उसको शरीर, इन्द्रियहरु र अन्तःकरण संयत छन्, यसैले उसमा आलस्य-प्रमाद आउनै सक्तैनन् । शरीर, इन्द्रियहरु, तथा अन्तःकरण वशमा भएकोले, भोग सामग्रीको त्याग गरेर तथा आशा, कामना, ममता आदिदेखि रहित हुने हुँदा ऊद्वारा निषिद्ध क्रिया हुनै सक्तैन ।

साधारणतया, सबै क्रियाहरुका आरम्भमा अनिवार्य दोष (पाप) पाइन्छन् । तर मूलमा असत् को संग -- कामना, ममता र आसक्तिले नै पाप लाग्ने हो । कर्मयोगीमा कामना, ममता र आसक्ति हुँदै हुँदैन अथवा उसको कामना, ममता र आसक्तिको उद्देश्य नै हुँदैन; त्यसैले उसको कर्म गर्न र नगर्नमा कुनै प्रयोजन नै हुँदैन । यही कारण न उसलाई कर्महरुमा रहने आनुषङ्गिक पाप लाग्छ र न उसलाई शास्त्रविहित कर्महरुको त्यागको नै पाप लाग्छ ।

तेस्रो अध्यायमा भगवानले सिद्ध महापुरुषलाई (आफ़्नोलागि केही गर्न वांकी नरहे पनि) लोकसंग्रहकोलागि कर्म गर्ने प्रेरणा गर्नुभएको छ । भगवानले आफ़्नोलागि पनि भन्नुभएको छ, 'त्रिलोकीमा केही पनि कर्तव्य र प्राप्तव्य नहुँदा पनि म सावधानीपूर्वक कर्म गर्छु ।' अतः यहाँ शंका हुन सक्छ, शरीर-निर्वाहकोलागि कर्म गर्ने कर्मयोगीलाई के लोकसंग्रहको त्यागको दोष लाग्छ ? यो प्रश्नको उत्तर हो, कामना, ममता नरहेको कारणले उसलाई कुनै दोष लाग्दैन । सिद्ध महापुरुषमा र भगवानमा कामना, ममता आदिको सर्वथा अभाव भए तापनि उनीहरुले गर्ने कर्म उनीहरुको दया, कृपा हो । वास्तवमा उनीहरु लोकसंग्रह गरून् या नगरून्, तर उनीहरुमा लोकसंग्रह गर्नै पर्ने भन्ने जिम्मेवारी छैन । वास्तवमा यो पनि निवृत्तिपरायण साधकहरुकोलागि एउटा लोकसंग्रह नै हो । लोकसंग्रह गरिने होइन, हुने हो ।
अर्को एउटा शंका, तेश्रो अध्यायमा भगवानले खालि आफ्नो शरीरको पोषण गर्ने मनुष्यलाई पापी भन्नुभयो र यहाँ भन्नुहुन्छ, शरीर निर्वाहकोलागि कर्म गर्ने व्यक्ति पाप खाँदैन । यो कुराको समाधान: भोगबुद्धि रहुन्जेल र  कर्महरु तथा पदार्थहरुमा आसक्ति वनिरहुन्जेल कर्म गर्न अथवा नगर्नमा पाप लाग्छ । तर अहिले वर्णन भैरहेको कर्मयोगीमा भोगबुद्धि छैन र कर्महरुमा तथा पदार्थहरुमा आसक्ति छैन; अतः सर्वथा निर्लिप्त भएकोले उसलाई कर्म गरे अथवा नगरे पाप लाग्दैन ।

कर्मयोगको साधकमा स्पष्ट विवेक जाग्रत नहुँदा पनि उसको यो निश्चय हुन्छ, 'मेरो केही होइन; मेरोलागि केही होइन, मेरोलागि केही गर्नु छैन ।' यी तीन कुराको दृढ निश्चय रहनाले उ कर्म गर्दा पनि ती कर्महरुदेखि निर्लिप्त रहन्छ ।

सर्व साधारणमा यस्तो मान्यता हुन्छ, कर्मयोगी गृहस्थ-आश्रममा र ज्ञानयोगी (सांख्ययोगी) संन्यास आश्रममा वस्छ । तर यो कुरा होइन शरीर भन्दा आफूलाई छुट्टै सत्ताको स्पष्ट विवेक भएको मनुष्य ज्ञानयोगी नै हो; चाहे ऊ गृहस्थ-आश्रम वसोस् या संन्यास आश्रममा । जसमा यति धेरै विवेक त छैन तर माथि भनिएका कुराहरुको पक्का निश्चय छ, ऊ कर्मयोगी नै हो, चाहे गृहस्थ आश्रममा होस् या संन्यास आश्रममा ।  

Song : Dakshinamurti_Stotram 
- Bhagwan Adi Shankaracharya

Dakshinamurti is the form of Lord Shiva by which he is known as a youthful world teacher seated beneath the sacred fig-tree, facing South (Dakshina means 'south') and teaching elderly disciples through silence. The South indicates a downward path (spiritually) and the North indicates an upward path, so the students face north and look forward to, immortality.
 

The word Daskshina also means 'efficient'. he (Lord Shiva) is the one who can teach us the most difficult thoughts in the most efficient manner. He is the teacher of all teachers. He is the ultimate which is inaccessible even to the mind and speech.  

159. No. 126 श्लोक २० (कर्मयोगी महापुरुष) कर्म र फलको आसक्ति त्याग्छ र सबै आश्रयदेखि रहित भएर सदा तृप्त

No. 126
श्लोक २० 

(कर्मयोगी महापुरुष) कर्म र फलको आसक्ति त्याग्छ र सबै आश्रयदेखि रहित भएर सदा तृप्त रहन्छ । कर्ममा राम्रोसँग लागे पनि त्यस्तो कर्मयोगी वास्तवमा केही पनि गर्दैन । 

कर्म गर्दा कर्तामा यो भाव रहन्छ, 'शरीर आदि कर्म सामग्री मेरो हो, म कर्म गर्छु, कर्म मेरो हो र मेरोलागि हो तथा मलाइ फलानो कर्मको फलानो फल चाहिन्छ ।' यस्तो मान्दा कर्ता कर्मफलको हेतु (कारण) वन्छ । तर कर्मयोगले सिद्ध महापुरुषलाई प्राकृत पदार्थहरुसँग सर्वथा सम्बन्ध-विच्छेदको अनुभव हुन्छ, यसैले कर्म गर्ने सामग्रीमा, कर्ममा तथा कर्मफलमा अलिकति पनि आसक्ति नरहेकोले त्यो कर्मयोगी कर्मफलको हेतु वन्दैन ।

सेना विजयको इच्छा लिएर युद्ध गर्छ । विजय हुँदा पनि सेनाको विजय हैन, राजाको विजय मानिन्छ; किनकि राजाले नै सेनाको जीवन-निर्वाहको प्रबन्ध गरेको छ, उसलाई युद्ध गर्ने सामान दिएको छ र उसलाई युद्ध गर्ने प्रेरणा दिएको छ र सेना पनि राजाकोलागि नै युद्ध गर्छ। त्यसै गरी, शरीर, इन्द्रियहरु, मन, बुद्धि जस्ता कर्म सामग्रीसँग सम्बन्ध जोड्दा नै जीव ती वस्तु र पदार्थ द्वारा गरिएको कर्मको फलको भागी वन्छ ।
कर्म-सामग्रीसँग अलिकति पनि सम्बन्ध नहुनुको कारण महापुरुषको कर्मफलसँग कुनै सम्बन्ध हुँदैन ।
वास्तवमा कर्मफलसँग स्वरूपको सम्बन्ध छँदै छैन । कारण, स्वरूप चेतन अविनाशी र निर्विकार छ; परन्तु कर्म र कर्मफल दुवै जड तथा विकारी छन् र कर्म र कर्मफलको आरम्भ र अन्त हुन्छ । सदा स्वरूपसँग न कुनै कर्म रहन्छ तथा न कुनै फल नै रहन्छ । यसै गरी कर्म र फलसँग स्वरूपको कुनै सम्बन्ध नभए पनि जीवले भूलले तिनीहरुसँग आफ्नो सम्बन्ध मानेको छ । यो मानिएको सम्बन्ध नै बन्धनको कारण हो । यो मानिएको सम्बन्ध मेटियो भने कर्म र फलसँग जीवको (हाम्रो) स्वतःसिद्ध निर्लिप्तताको बोध हुन्छ ।
देश, काल, वस्तु, व्यक्ति, परिस्थिति आदिको किञ्चित् पनि आश्रय नलिनु 'निराश्रय' अथवा आश्रयदेखि रहित हुनु हो । जति नै ठूलो धनी, राजा,महाराजा नै किन नहून्, उनीहरुलाई पनि देश, काल आदिको आश्रय लिनै पर्छ । परन्तु कर्मयोगले सिद्ध भएको महापुरुष देश, काल, आदिको कुनै आश्रय मान्दैन । आश्रय मिलोस् या नमिलोस्,-- यसमा उसलाई किञ्चित् पनि परवाह हुँदैन । यसैले ऊ निराश्रय हुन्छ ।
 
जीव (आत्मा) परमात्माको सनातन अंश भएकोले सत्-स्वरूप नै हो । सत् को कहिले पनि अभाव हुँदैन । परन्तु उसले असत् सँग सम्बन्ध मानेपछि उसलाई आफूमा अभाव अर्थात् कमीको अनुभव हुन थाल्छ । त्यो कमीको पूर्तिकोलागि उ सांसारिक वस्तुहरुको कामना गर्न थाल्छ । इच्छा गरिएको वस्तु पाईंदा एक तृप्ति त हुन्छ; तर यो तृप्ति टिक्तैन, क्षणिक हुन्छ । कारण कि संसारको प्रत्येक वस्तु, व्यक्ति, परिस्थिति आदि प्रतिक्षण अभाव तर्फ गैरहेछन् । त्यसैले त्यस्ता वस्तु र पदार्थसँग आश्रित रहने तृप्ति स्थायी कसरी हुन सक्छ ?
 

अतः जीवले उत्पत्ति-विनाशशील क्रियाहरु र पदार्थहरुसँग सम्बन्ध मानुन्जेल ती क्रियाहरु र पदार्थहरुसँग ऊ आश्रित रहन्छ  र उसलाई स्वतःसिद्ध नित्यतृप्तिको अनुभव हुँदैन ।
कर्मयोग द्वारा सिद्ध महापुरुष निराश्रय अर्थात् संसारको आश्रयदेखि सदा रहित हुन्छ, यसैले उसलाई स्वतःसिद्ध नित्यतृप्तिको अनुभव हुन्छ । तेस्रो अध्यायमा प्रस्तुत 'आत्मतृप्त' शब्दले पनि यही नित्यतृप्तिको कुरा भन्छ ।

कर्मयोगले सिद्ध महापुरुष द्वारा हुने सबै कर्म साङ्गोपाङ्ग रीतिले हुन्छन्; किनकि कर्मफलमा त्यो महापुरुषको रतिभर पनि आसक्ति हुँदैन । ऊद्वारा हुने सम्पूर्ण कर्म केवल संसारको हितकोलागि हुन्छ ।
कर्मफलमा आसक्ति भएको व्यक्ति साङ्गोपाङ्ग रीतिले कर्म गर्न सक्तैन, किनकि फलसँग सम्बन्ध भएकोले कर्म गर्दा गर्दै पनि वीच-वीचमा फलको चिन्तन हुने हुँदा उसको शक्ति व्यर्थ खर्च हुन्छ, जसले गर्दा उसको शक्ति पूर्णरूपले कर्म गर्नमा लाग्दैन ।
यो पनि भनिएको छ, साङ्गोपाङ्ग तरिकाले सबै कर्म गरिरहँदा पनि त्यो कर्मयोगी अलिकति पनि कुनै कर्म गर्दैन; किनकि सर्वथा निर्लिप्त भएको कारण उसमा  कर्मको स्पर्श नै हुँदैन । उसका सबै कर्म अकर्म हुन्छन् । ऊ कुनै पनि कर्म गर्दैन भने कसरी बाँधिन्छ र ? यसैले गीताको अठारौँ अध्यायमा भनिएको छ, कर्मफलको त्याग गर्ने कर्मयोगीलाई कहिले पनि कर्मफल मिल्दैन ।
 
प्रकृति निरन्तर क्रियाशील छ । अतः प्रकृतिका गुणहरु (क्रिया र पदार्थ) सँग सम्बन्ध रहुन्जेल कर्म नगर्दा पनि मनुष्यको प्रकृतिसँग सम्बन्ध हुन्छ । प्रकृतिका गुणहरुसँग सम्बन्ध नरहे मनुष्य कर्म गरिरहँदा पनि केही गर्दैन । कर्मयोगवाट सिद्ध महापुरुषको प्रकृतिजन्य गुणहरुसँग कुनै सम्बन्ध रहँदैन, यसैले ऊ लोकहितार्थ सबै कर्म गरिरहँदा पनि वास्तवमा केही गर्दैन ।

मनुष्यमा कर्तृत्व रहुन्जेल ऊ कर्म गर्दा कर्म गर्छ, कर्म नगर्दा पनि कर्म गर्छ । कर्तृत्व मेटिएपछि ऊ कहिले केही गर्दैन ।

158 No. 125 श्लोक १९ जसका सम्पूर्ण कर्महरुको आरम्भ संकल्प र कामनादेखि रहित छ तथा जसका सम्पूर्ण कर्म

No. 125
श्लोक १९ 

जसका सम्पूर्ण कर्महरुको आरम्भ संकल्प र कामनादेखि रहित छ तथा जसका सम्पूर्ण कर्म ज्ञानरूपी अग्निले जलेको छ, त्यस्ता ज्ञानीजन बुद्धिमान् भनिन्छन् ।

विषयको वारम्वार चिन्तन हुँदा, तिनको वारम्वार सम्झना भैरहँदा ती विषयहरुमा 'यी विषयहरु राम्रा छन्, काम लाग्छन्, जीवनमा उपयोगी छन् र यिनले सुख दिन्छन्' भन्ने सम्यग्बुद्धि हुनु 'संकल्प' हो र 'यी विषयहरु मेरोलागि राम्रा छैनन्, हानिकारक छन्' भन्ने बुद्धि हुनु 'विकल्प' हो । यस्ता संकल्प, विकल्प बुद्धिमा भैरहन्छन् । सबै विकल्पहरु मेटिई  खालि एउटा मात्रै संकल्प रहेर 'यी विषय-पदार्थ मैले पाउनुपर्छ, मेरो हुनुपर्छ ' भन्ने अन्तःकरणमा ती वस्तुहरु पाउने इच्छा उठ्छ, त्यसको नाम 'काम' (कामना) हो । कर्मयोगले सिद्ध भएका महापुरुषमा संकल्प र कामना दुवै रहँदैनन् अर्थात् उसमा न कामनाहरुको कारण संकल्प रहन्छ र न संकल्पहरुको कार्य कामना रहन्छ । त्यसैले ऊ द्वारा हुने सबै कर्म संकल्प र कामनादेखि रहित हुन्छ ।
संकल्प र कामना -- यी दुवै कर्मका वीज हुन् । संकल्प र कामना नरहेपछि कर्म अकर्म हुन्छन् अर्थात् कर्म बाँध्ने खालका हुँदैनन् ।  सिद्ध महापुरुषमा पनि संकल्प र कामना नरहँदा ऊ द्वारा हुने कर्म बन्धनकारक हुँदैनन् । ऊ द्वारा लोकसंग्रहार्थ र कर्तव्यपरम्पराको सुरक्षाकोलागि सम्पूर्ण कर्म हुँदा पनि ऊ ती कर्महरुवाट सर्वथा निर्लिप्त रहन्छ ।
 
भगवानले गीतामा कहिं संकल्पहरुको, कहिं कामनाहरुको र कहिँ संकल्प र कामना दुबैको त्यागको कुरा गर्नुभएको छ । अतः संकल्पको त्याग वताइएको प्रसंगमा कामनाको त्याग र कामनाको त्याग वताइएको प्रसंगमा संकल्पको त्याग भन्ने बुझ्नु पर्छ हामीले । किनकि संकल्प कामनाको कारण हो र कामना संकल्पको कार्य हो ।  तात्पर्य, साधकले सम्पूर्ण संकल्पहरु र कामनाहरुको त्याग गर्नुपर्छ ।
हामीले चलाउने मोटर कारका चार अवस्थाहरु हुन्छन् ।
(१) मोटर गराजमा रहिरहँदा न इंजिन चल्छ, न पाङ्ग्राहरु गुड्छन् । (२) मोटर स्टार्ट गर्दा इंजिन त चल्छ, तर पांग्राहरु गुडदैनन् । (३) मोटरलाई गराजवाट निकाल्दा इंजिन पनि चल्छ र पांग्राहरु पनि गुडछन् । (४) तर ठाडो ओरालो वाटोमा इंजिन वन्द गरिदियो भने पनि पांग्राहरु चलिरहन्छन् । यस्तो किसिमले मनुष्यको पनि चार अवस्थाहरु हुन्छन् ।
(१) न कामना हुन्छ, न कर्म हुन्छ । (२) कामना हुन्छ, तर कर्म हुँदैन । (३) कामना पनि हुन्छ र कर्म पनि हुन्छ । (४) कामना हुँदैन, तर कर्म हुन्छ ।
मोटर कारको सबभन्दा उत्तम अवस्था (चौथो) हो । त्यो अवस्था हो: इंजिन नचलोस् तर पाङ्ग्राहरु गुडिरहून् अर्थात् तेल पनि खर्छ नहोस् र वाटो पनि काटियोस् । यस्तै प्रकार, मनुष्यको सबभन्दा उत्तम अवस्था हो -- कामना नरहोस् तर कर्म भइरहून् । यस्ता अवस्था भएका मनुष्यलाई ज्ञानीजन पनि पण्डित भन्छन् ।
 
यो पनि भनिएको छ यहाँ, कर्मयोगले सिद्ध महापुरुष द्वारा गरिने हरेक कर्म सुचारुरूपले, पूर्णरूपले र तत्परतापूर्वक हुन्छ । अझ, उसका कार्यहरु शास्त्रसम्मत हुन्छन् । ऊ द्वारा गरिनुपर्ने कर्म मात्रै गरिन्छन् । कसैलाई अहित हुने कर्म ऊवाट कहिले पनि हुँदैन । 
 
कर्मयोगी महापुरुष द्वारा हुने सबै कर्म संकल्प र कामनादेखि रहित हुन्छ । उसका कुनै पनि कर्म संकल्प सहित हुँदैनन् । विहान उठेदेखि राति सुत्ने वेलासम्म शौच-स्नान, खानु-पिउनु, पाठ-पूजा, जप-चिन्तन, ध्यान-समाधि जस्ता सबै शरीर-निर्वाह सम्बन्धी उसका सम्पूर्ण कर्म कामना रहित नै हुन्छन् ।
कर्महरुको सम्बन्ध 'पर' (शरीर-संसार) सँग छ, 'स्व' (स्वरूप) सँग छैन; किनकि कर्महरुको आरम्भ र अन्त हुन्छ, तर स्वरूप सँधै जस्ता-को-तस्तो रहन्छ भन्ने तथ्य ठीक-ठीक जान्नु नै 'ज्ञान' हो । यो ज्ञानरुप अग्निले सम्पूर्ण कर्म भस्म हुन्छन् अर्थात् कर्महरुमा फल दिने (बाँध्ने शक्ति) रहँदैन । 
 
वास्तवमा शरीर र क्रिया -- दुवै संसारदेखि अभिन्न छन्, तर स्वयं संसारदेखि एकदम छुट्टै भए पनि भूलले यिनीहरुसँग आफ्नो सम्बन्ध मान्छ । तर महापुरुषलाई आफ्नो भनिने शरीरसँग पनि कुनै सम्बन्ध रहँदैन । त्यसैले संसार मात्रवाट सबै कर्म भए जस्तै त्यो महापुरुषको आफ्नो भनिने शरीरवाट सबै कर्म हुन्छन् । यसरी कर्महरुसँग निर्लिप्तताको अनुभव भएपछि त्यो महापुरुषको वर्तमान कर्म मात्रै नष्ट हुने होइनन्, संचित कर्म पनि नष्ट हुन्छन् । प्रारब्ध कर्म पनि केवल अनुकूल या प्रतिकूल परिस्थितिको रूपमा उसको अगाडि आएर नष्ट हुन्छन्,फलसँग भएको कारण ऊ ती फलहरुको भोक्ता वन्दैन अर्थात् किञ्चित् मात्र पनि सुखी या दुःखी हुँदैन । उसलाई, त्यो कर्मयोगीलाई प्रारब्ध कर्म पनि अस्थायी परिस्थिति उत्पन्न गरेर नष्ट हुन्छन् ।        


कर्महरुको स्वरूपले त्याग गरेर परमात्मामा लागेको मनुष्यलाई  बुझ्न त सजिलो छ, तर कर्महरुमा किञ्चित् मात्र पनि लिप्त नभई तत्परतापूर्वक कर्म गरिरहने मनुष्यलाई बुझ्न कठिन छ । तात्पर्य, संसारमा (वाहिरवाट त्याग गर्ने) त्यागी पुरुषको महिमा सबै गाउँछन्, तर गृहस्थमा रहेर सबै कर्तव्य-कर्म तत्परतापूर्वक गरी गरी तिनमा अलि कति मात्र पनि लिप्त नहुने व्यक्तिलाई जान्ने कोही कोही मात्रै हुन्छ ।
कमलको पात जलमा उत्पन्न भएर जलमा नै रहँदा पनि जलमा लिप्त हुँदैन, त्यस्तै कर्मयोगी कर्मयोनि (मनुष्य-शरीर) मा नै उत्पन्न भएर, कर्ममय जगत् मा रहेर कर्म गरि रहँदा पनि लिप्त हुँदैन । कर्महरुदेखि लिप्त नहुनु कुनै साधारण बुद्धिमानको काम होइन । यो भन्दा अघिल्लो श्लोकमा भगवानले यस्ता 
कर्मयोगीलाई मनुष्यहरुमा बुद्धिमान् भन्नुभयो र यहाँ भन्नुहुन्छ, 'त्यस्तो व्यक्तिलाई ज्ञानीजन पनि पण्डित भन्छन् ।' अर्को शब्दमा, यस्तो कर्मयोगी पण्डितहरुको पनि पण्डित र ज्ञानीहरुको पनि ज्ञानी हो ।

157 No 124 श्लोक १८ कर्ममा अकर्म र अकर्ममा कर्म देख्ने व्यक्ति मनुष्यहरूमा बुद्धिमान् छ,

No 124
श्लोक १८ 

कर्ममा अकर्म र अकर्ममा कर्म देख्ने व्यक्ति मनुष्यहरूमा बुद्धिमान् छ, त्यो व्यक्ति नै योगी हो र सम्पूर्ण कर्महरु गर्ने (कृतकृत्य) हो ।

कर्ममा अकर्म देख्ने तात्पर्य -- कर्म गर्दा र नगर्दा ती कर्महरुसँग निर्लिप्त रहनु अर्थात् आफ्नोलागि कुनै पनि प्रवृत्ति अथवा निवृत्ति नगर्नु । 'म फलानो कर्म गर्छु, यो कर्मले मलाई फलानो फल मिल्नेछ' भन्ने भाव राखेर कर्म गर्दा मान्छे कर्महरुसँग वाँधिन्छ । प्रत्येक कर्मको आरम्भ र अन्त हुन्छ, त्यस्तै ती कर्महरुका फलको पनि आरम्भ र अन्त हुन्छ । परन्तु जीव (हामी) नित्य रहने खालका छौं । यसरी जीव स्वयं परिवर्तनशील कर्म र तीनका फलहरुदेखि सर्वथा सम्बन्धरहित छ, तैपनि ऊ फलको इच्छाको कारण ती कर्महरुसँग वाँधिन्छ । यसैले भगवानले भन्नुभयो, 'मलाई कर्मले बाँध्दैनन्, किनकि कर्मफलमा मलाई स्पृहा छैन। फलको स्पृहा अथवा इच्छा नै वाँध्ने खालको हुन्छ ।
 
फलको इच्छा नराख्दा नयाँ राग उत्पन्न हुँदैन र अरुको हितकोलागि कर्म गर्दा पुरानो राग नष्ट हुन्छ । यसरी रागरूप बन्धन नरहेपछि साधक सर्वथा वीतराग हुन्छ । वीतराग भएपछि सबै कर्म अकर्म हुन्छन् ।
जीवको जन्म कर्महरुको अनुबन्धवाट हुन्छ । जस्तो, आफूले जन्म लिएको परिवारसँग ऋण अनुबन्ध छ अर्थात् कसैको ऋण तिर्नु छ र कसैसँग ऋण असूल गर्नु छ । किनकि अनेक जन्महरुमा अनेक व्यक्तिहरुसँग ऋण लिइएको हुन्छ र अनेक व्यक्तिलाई दिइएको पनि हुन्छ । यो लेन-देनको व्यवहार अनेक जन्महरूदेखि चलिआएको छ । यो व्यवहार नगरी जन्म-मरणवाट छुट्कारा पाइंदैन । यो व्यवहार बन्द गर्ने उपाय -- अबदेखि लिन वन्द गर्ने अर्थात् आफ्नो अधिकारको त्याग गर्ने र हामीसँग अधिकार भएकाको सेवा गर्न शुरु गर्ने । यसरी नयाँ ऋण नलिने र पुरानो ऋण (अरुकोलागि कर्म गरेर) चुकाइदिने । यसरी हाम्रो ऋणानुबन्ध (लिने-दिने व्यवहार) समाप्त हुनेछ अर्थात् जन्म-मरण बन्द हुनेछ । कुनै पसलेलाई आफ्नो पसल खालि गर्नु छ भने उसले दुई काम गर्नुपर्छ -- पहिलो, जसलाई दिनु छ, उसलाई त्यो रकम दिन्छ र अर्को, जोवाट लिनु छ छ उसँग त्यो रकम लिन्छ अथवा छोडिदिन्छ । यसो गरेपछि मात्र उसको पसल बन्द हुन्छ । यदि त्यो पसलेले आफूले लिनुपर्ने  व्यक्तिसँग सबै रकम असूल गरौँ भन्ने विचार गर्यो भने उसको पसल कहिले पनि उठ्दैन । कारण, त्यो पसलेले ऋण फिर्ता लिने इच्छाले त्यो व्यक्तिलाई वस्तुहरु दिइरह्यो भने उसको पसल चलि नै रहन्छ, कहिले पनि बन्द हुँदैन ।
 
आफ़्नोलागि केही पनि नगर्दा र नचाहँदा असंगता स्वतः प्राप्त हुन्छ । किनकि करण (शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण) र उपकरण (कर्म गर्न उपयोगी सामग्री) संसारका  हुन् र संसारको सेवामा लगाउन नै पाइएका हुन् , आफ़्नोलागि होइन । यसैले सम्पूर्ण कर्तव्य-कर्म (सेवा, भजन, जप, ध्यान, समाधि पनि) केवल संसारको हितकोलागि गरे कर्महरुको प्रवाह संसारतिर जान्छ र साधक स्वयं असंग, निर्लिप्त रहन्छ । यही नै कर्ममा अकर्म देख्नु हो ।
प्रकृतिसँग सम्बन्ध रहुन्जेल कर्म गर्नु अथवा नगर्नु दुवै  'कर्म' नै हुन् । यसैले कर्म गर्ने अथवा नगर्ने दुवै अवस्थादेखि कर्मयोगी निर्लिप्त रहनु पर्छ । कर्म गर्दा निर्लिप्त रहनेको तात्पर्य -- कर्म गरे मलाई राम्रो फल मिल्नेछ, मलाई लाभ हुनेछ, मलाई सिद्धि हुनेछ, अरुहरु मलाई असल भन्नेछन्, यो लोक र परलोकमा भोग मिल्नेछ -- यस्तो किसिमको कुनै पनि इच्छा नहुनु । यस्तै कर्म नगर्न निर्लिप्त रहने तात्पर्य -- कर्मको त्याग गरे मलाई मान, आदर, भोग, शरीरको आराम मिल्छ -- यस्तो कुनै पनि इच्छा नहुनु । 

दुःख मानेर एवं शारीरिक दुःखको भयले कर्म नगर्नु राजसी त्याग हो र मोह, आलस्य, प्रमादको कारणले कर्म नगर्नु तामसी त्याग हो । यी दुवै त्याग सर्वथा त्याज्य (छोड्नु पर्ने) छन् । यो वाहेक पनि कर्म नगर्नु यदि आफ्नो विलक्षण स्थितिकोलागि हो, समाधिको सुख भोग्न हो, जीवन्मुक्तिको आनन्द लिन हो भने यस्तो त्यागले प्रकृतिसँग सम्बन्ध विच्छेद हुँदैन । किनकि कर्म नगर्नुसँग सम्बन्ध रहुन्जेल प्रकृतिसँग सम्बन्ध वनिरहन्छ । प्रकृतिसँग सम्बन्ध विच्छेद भएपछि कर्मयोगी कर्म गर्ने र नगर्ने -- यी दुवै अवस्थाहरुमा जस्ता-को-तस्तो निर्लिप्त रहन्छ ।
अकर्ममा कर्म देख्नुको तात्पर्य -- निर्लिप्त रहँदै कर्म गर्ने अथवा नगर्ने । भाव हो कि कर्म गरेको वेला अथवा कर्म नगरेको वेला पनि नित्य-निरन्तर निर्लिप्त रहने ।     
संसारमा कोही कुनै कार्य गर्न प्रवृत्त हुन्छ भने उसंको अगाडि प्रवृत्ति (गर्नु) र निवृत्ति (नगर्नु) -- दुवै आउँछन् । कुनै कार्यमा प्रवृत्ति हुन्छ र कुनै कार्यमा निवृत्ति हुन्छ । परन्तु कर्मयोगीको प्रवृत्ति र निवृत्ति -- दुवै निर्लिप्ततापूर्वक र केवल संसारको हितकोलागि हुन्छ । प्रवृत्ति र निवृत्ति -- दुबैसँग उसलाई कुनै प्रयोजन नै हुँदैन । यदि प्रयोजन हुन्छ भने ऊ कर्मयोगी होइन, कर्मी हो ।
 
साधकले प्रकृतिसँग आफ्नो सम्बन्ध मानुन्जेल उ कर्म गर्दा आफ्नो संसारिक उन्नति मान्छ र कर्म नगर्दा आफ्नो पारमार्थिक उन्नति मान्छ । परन्तु वास्तवमा प्रवृत्ति र निवृत्ति -- दुवै निवृत्ति हुन्; किनकि दुबैमा प्रकृतिसँग सम्बन्ध रहन्छन् । हिंड्नु-डुल्नु, खानु-पिउनु स्थूल शरीरका क्रिया भए जस्तै एकान्तमा वसिरहनु, चिन्तन गर्नु, ध्यान लगाउनु सूक्ष्म शरीरका क्रिया र समाधि लगाउनु कारण शरीरका क्रिया हुन् । यसैले निर्लिप्त रहेर लोकसंग्रहार्थ कर्तव्य-कर्म गर्ने हो । यही अकर्ममा कर्म हो । यही कुरालाई भगवानले दोस्रो अध्यायमा 'योगस्थः कुरू कर्माणी', अर्थ, 'तिमी योग अर्थात् समतामा रहेर कर्म गर' भन्नु भयो अर्जुनलाई ।
सांसारिक प्रवृत्ति र निवृत्ति दुवै 'कर्म' हुन् । प्रवृत्ति अथवा निवृत्ति गर्दै निर्लिप्त रहनु र निर्लिप्त रहँदै प्रवृत्ति र निवृत्ति गर्नु । यस्तो किसिमले प्रवृत्ति र निवृत्ति दुबैमा निर्लिप्त रहनु 'योग' हो । यसैलाई कर्मयोग भन्छन् ।

कर्ममा अकर्म र अकर्ममा कर्म -- यी दुईमा एउटा निर्लिप्तता सार भए पनि पहिलो (कर्ममा अकर्म) मा कर्म गर्दा पनि अथवा नगर्दा पनि दुवै अवस्थामा रहने निर्लिप्तताको मुख्यता छ । र अर्को (अकर्ममा कर्म) मा निर्लिप्त रहँदै कर्म गर्ने अथवा नगर्नेको मुख्यता छ । तात्पर्य, निर्लिप्तता आफ़्नोलागि र कर्म संसारकोलागि हो; किनकि निर्लिप्तताको सम्बन्ध 'स्व' (स्वरूप)सँग र कर्म गर्नु अथवा नगर्नुको सम्बन्ध 'पर' (शरीर, संसार) सँग छ । यसैले निर्लिप्तता 'स्वधर्म' र कर्म गर्नु अथवा नगर्नु 'परधर्म' हो ।  यी दुबैको बिभाग सर्वथा छुट्टा छुट्टै वताइएको छ यो प्रसंगमा ।
      
कर्ममा अकर्म र अकर्ममा कर्म -- यी दुवै कुराहरु कर्मयोगका हुन् । प्रकृतिसँग सर्वथा सम्बन्ध-विच्छेद होस्, अर्थात् गर्ने र नगर्नमा आफ्नो कुनै प्रयोजन नरहोस् र लोकसंग्रहकोलागि कर्महरु गर्नु र नगर्नुमा कुनै सम्बन्ध नहोस् । कारण कि कर्म गर्दा निर्लिप्त रहने कर्म निर्लिप्त रहेर पनि अरुको हितकोलागि कर्म गर्ने -- यी दुवै गीताका सिद्धान्त हुन् ।
प्रवृत्ति (गर्नु) र निवृत्ति (नगर्नु) -- दुवै प्रकृतिका राज्यमा नै छन् । प्रकृति निरन्तर परिवर्तनशील छ, यसैले प्रवृत्तिको पनि आरम्भ र अन्त छ तथा निवृत्तिको पनि आरम्भ र अन्त छ । परन्तु यी दुई भन्दा सर्वथा अतीत परमनिवृत्ततत्व -- आफ्नो स्वरूपको आदि र अन्त हुँदैन । त्यो तत्व प्रवृत्ति र निवृत्तिको आरम्भमा पनि रहन्छ र तिनको अन्तमा पनि रहन्छ तथा प्रवृत्ति र निवृत्तिकालमा पनि जस्ता-को-तस्तो रहन्छ । त्यो प्रवृत्ति र निवृत्ति -- दुबैको प्रकाशक र आधार हो । यसैले त्यसमा न प्रवृत्ति छ, न निवृत्ति नै छ -- यो तत्व बुझ्न र त्यसमा स्थित भएर लोकसंग्रहार्थ (यज्ञार्थ) कर्म गर्न यहाँ कर्ममा अकर्म र अकर्ममा कर्म -- यी दुई कुरा भनिएको छ ।
कर्ममा अकर्म र अकर्ममा कर्म देख्ने अर्थात् नित्य-निरन्तर निर्लिप्त रहने पुरुष नै वास्तवमा कर्म-तत्व जान्ने व्यक्ति हो । निर्लिप्त नहुन्जेल अर्थात् कर्म र पदार्थलाई आफ्नो र आफ्नोलागि मान्ने साधकले कर्म-तत्व बुझेकै छैन ।
 
परमात्मालाई जान्न स्वयंलाई परमात्मादेखि अभिन्नताको अनुभव गर्नुपर्छ र संसारलाई जान्न स्वयंलाई संसार (क्रिया र पदार्थ)देखि सर्वथा भिन्नताको अनुभव गर्नुपर्छ । कारण, वास्तवमा हामी (स्वरूपले) परमात्मादेखि अभिन्न र संसारदेखि भिन्न छौं । यसैले कर्महरुदेखि छुट्टै भएर अर्थात् निर्लिप्त भएर नै कर्म-तत्वलाई जान्न सकिन्छ । कर्म आदि-अन्त हुने छ र म (स्वयं जीव ) नित्य रहने खालको हुँ; अतः म स्वरूपले कर्महरुदेखि छुट्टै (निर्लिप्त) हुँ -- यो वास्तविकताको अनुभव गर्नु नै 'जान्नु' हो । वास्तविकताको तहमा नवसी जान्नु कसरी हुन सक्छ ?

गाजलको थुप्रोमा प्रवेश गर्दा मात्रै पनि गाजलसँग सर्वथा निर्लिप्त रहनु साधारण बुद्धिमानको काम होइन, त्यस्तै सम्पूर्ण कर्तव्य-कर्महरु गरिरहँदा पनि कर्महरुसँग निर्लिप्त रहनु साधारण बुद्धिमानको काम होइन । यसैले भगवान यस्ता कर्मयोगीलाई मनुष्यहरुमा बुद्धिमान् भन्नुहुन्छ ।
यो भन्दा अघिल्लो श्लोकमा भगवानले कर्म, अकर्म र विकर्म -- तीनैको तत्व बुझ्न भन्नुभएको थियो अर्जुनलाई । यहाँ भगवान भन्नुहुन्छ, जसले कर्ममा अकर्म र अकर्ममा कर्मको तत्व जानेको छ, उसले सबै कुरा जानेको छ अर्थात उ ज्ञात-ज्ञातव्य भएको छ ।
कर्मयोगी सिद्धि र असिद्धिमा सम रहन्छ । कर्मको फल मिलोस् या नमिलोस्, उसमा कहिले विषमता आउँदैन, किनकि    उसले फलेच्छाको सर्वथा त्याग गरेको छ । समताको नाम योग हो । कर्मयोगी नित्य-निरन्तर समतामा स्थित छ, यही कारण ऊ योगी हो ।
सम्पूर्ण प्राणीहरुको परमात्मासँग स्वतःसिद्ध  नित्ययोग छ । परन्तु मनुष्यले संसारसँग आफ्नो सम्बन्ध मान्यो, यही कारण उसले यो नित्ययोग विर्सियो । तात्पर्य, जडसँग आफ्नो सम्बन्ध मान्नु नै परमात्मासँगको  आफ्नो नित्य सम्बन्ध विर्सनु हो । कर्मयोगी फलेच्छा, ममता र आसक्तिको त्याग गरेर केवल अरुकोलागि कर्तव्य-कर्म गर्छ । यसोभएको  हुँदा उसको जडसँग मानिएको सम्बन्ध छुट्छ र उसलाई परमात्मासँग स्वतःसिद्ध नित्ययोगको अनुभूति हुन्छ । यसैले उसलाई योगी भनिएको हो ।
यहाँ यो पनि भनियो, उसले प्राप्त गर्नुपर्ने तत्व प्राप्त गरेको छ अर्थात्  ऊ प्राप्त-प्राप्तव्य भएको छ । 'पाउन' वांकी रहुन्जेल अर्थात् पाउने इच्छा रहुन्जेल व्यक्तिको राग छुट्दैन ।
 
नाशवान् कर्महरुवाट पाइने फल पनि नाशवान् नै हुन्छ । नाशवान् फलको इच्छा हुन्जेल (कर्म) समाप्त हुँदैन । तर नाशवान् कर्म र फलसँग सर्वथा सम्बन्ध छुटेर परमात्मप्राप्तिरुप अविनाशी फलको प्राप्ति हुन्छ, त्यसपछि कर्म सँधैकोलागि समाप्त हुन्छ र कर्मयोगीलाई कर्म गर्नु र कर्म नगर्नुसँग कुनै प्रयोजन रहँदैन । यस्तो कर्मयोगी सम्पूर्ण कर्महरु गर्छ अर्थात् उसकोलागि अव केही गर्न वांकी रहँदैन, ऊ कृतकृत्य भएको हुन्छ ।

गर्नु, जान्नु र पाउनु वांकी नरहँदा त्यो कर्मयोगी अशुभ संसार-बन्धनदेखि मुक्त हुन्छ ।    

एक बिभाग कर्मको हुन्छ, एक बिभाग अकर्मको हुन्छ । यी दुइमा अकर्म नै सार तत्व हो । यसैले कर्ममा अकर्म देख्ने व्यक्ति कर्म गरिरहँदा पनि निर्लिप्त रहन्छ र अकर्ममा कर्म देख्ने अर्थात् निर्लिप्त रहँदै कर्म गर्ने व्यक्तिकोलागि केही पाउनु शेष (वांकी) रहँदैन ।  तात्पर्य, आफूमा कहिले पनि लिप्तता (फलेच्छा र कर्तृत्वाभिमान) आउनु हुँदैन अर्थात् हरदम निर्लिप्त रहनुपर्छ ।

तेश्रो अध्यायमा भगवानले भन्नुभयो, कर्म नगर्नु भन्दा कर्म गर्नु श्रेष्ठ हो; यहाँ वताउनु हुन्छ, कर्म गर्नु भन्दा पनि अकर्म (अकर्तृत्व) श्रेष्ठ हो र यस्तो देख्ने व्यक्तिकोलागि केही पनि गर्नु, जान्नु र पाउनु शेष रहँदैन । यसवाट सिद्ध हुन्छ, मनुष्यमा फलेच्छा र कर्तृत्वाभिमान रहनु हुँदैन; किनकि यी दुइवाट नै व्यक्ति बाँधिन्छ ।