Wednesday, 3 September 2014

160. No. 127 श्लोक २१ आफ्नो शरीर र अन्तःकरण राम्रोसँग वशमा गरेको, सबै किसिमको संग्रहको त्याग गरिसकेको,

No. 127
श्लोक २१ 
आफ्नो शरीर र अन्तःकरण राम्रोसँग वशमा गरेको, सबै किसिमको  संग्रहको त्याग  गरिसकेको, इच्छारहित (कर्मयोगी) केवल शरीर सम्बन्धी गर्दा पनि पापको भागी बन्दैन ।
साधारण व्यक्तिहरुको संसारमा आशा र इच्छा रहेको कारण नै शरीर, इन्द्रियहरु, मन वशमा हुँदैनन् । यहाँ 'निराशी:' शब्दले यो वताउँछ, कर्मयोगीमा आशा या इच्छा रहँदैन । अतः उसका शरीर, इन्द्रियहरु, र अन्तःकरण स्वतः वशमा रहन्छन् । यिनीहरु वशमा रहनाले ऊ द्वारा व्यर्थका क्रियाहरु हुँदैनन् ।
कर्मयोगी संन्यासी छ भने ऊ सबै प्रकारको भोगहरुको संग्रहको स्वरूपले नै त्याग गरिदिन्छ । यदि गृहस्थ छ भने ऊ भोगबुद्धिले (आफ्नो सुखकोलागि) कर्म गर्दैन । ऊसँग भएको सबै सामग्रीलाई त्यो कर्मयोगी आफ्नो र आफ़्नोलागि नमानेर संसारको र संसारकोलागि भन्ने नै मान्छ तथा संसारको सुखमा नै ती सामग्रीहरु लगाइदिन्छ । भोगबुद्धिले संसारको त्याग गर्नु सबै साधकलाई आवश्यकता छ ।

कर्मयोगीमा आशा, कामना, स्पृहा, वासना आदि रहँदैनन् । ऊ वाहिरदेखि नै भोगसामग्रीको संग्रहको त्याग गर्ने मात्रै होइन, भित्रैदेखि भोग-सामग्रीको आशा या इच्छाको त्याग गर्छ । आशा या इच्छाको सर्वथाको त्याग नहुँदा पनि उसको उद्देश्य तिनीहरुको त्याग गर्ने नै हुन्छ ।

शरीर सम्बन्धी कर्मका दुई अर्थ हुन्छन् -- (१) शरीरवाट हुने कर्म र (२) शरीर-निर्वाहकोलागि गरिने कर्म । शरीरवाट हुने कर्मको (पाँचौं अध्यायमा वर्णन भएको) तात्पर्य, 'सबै कर्म केवल शरीर, इन्द्रियहरु, मन, बुद्धिद्वारा नै भैरहेछन्, तिनसँग मेरो कुनै पनि सम्बन्ध छैन' भन्ने मानेर कर्मयोगी अन्तःकरणको शुद्धिकोलागि कर्म गर्छ ।  तर यहाँ अहिले वर्णित श्लोक निवृत्तिपरक भएकोले यसको अर्थ, शरीर खालि निर्वाहकोलागि गरिने आवश्यक कर्म (खान-पान, शौच-स्नान आदि) मान्नु नै ठीक देखिन्छ । निवृत्तिपरायण कर्मयोगी आफ्नो शरीर निर्वाहकोलागि मात्रै आवश्यक कर्म गर्छ ।

कर्म गर्नु अथवा नगर्नुसँग अलिकति पनि सम्बन्ध रहुन्जेल जन्म-मरणरुप बन्धन प्राप्त हुन्छ । परन्तु आशारहित कर्मयोगी कर्म गर्नु अथवा कर्म नगर्नुसँग आफ्नो कुनै पनि सम्बन्ध राख्दैन, यसैले उसलाई पाप लाग्दैन अर्थात् उसका सबै कर्म अकर्म हुन्छन् ।
निवृत्तिपरायण हुँदा पनि कर्मयोगी कहिले आलस्य-प्रमाद गर्दैन । आलस्य-प्रमादको पनि भोग हुन्छ । एकान्तमा यसै वसिरहँदा आलस्यको भोग हुन्छ र शास्त्रविरुद्ध तथा निरर्थक कर्म गर्दा प्रमादको भोग हुन्छ । यही किसिमले निवृत्तिमा आलस्यको सुखको र प्रवृत्तिमा प्रमादको सुखको भोग हुन सक्छ । अतः आलस्य-प्रमादवाट मनुष्यलाई पाप लाग्छ । तर धेरै कम कर्म गर्दा पनि निवृत्ति-परायण कर्मयोगीमा अलिकति पनि आलस्य र प्रमाद आउँदैन । उसको शरीर, इन्द्रियहरु र अन्तःकरण संयत छन्, यसैले उसमा आलस्य-प्रमाद आउनै सक्तैनन् । शरीर, इन्द्रियहरु, तथा अन्तःकरण वशमा भएकोले, भोग सामग्रीको त्याग गरेर तथा आशा, कामना, ममता आदिदेखि रहित हुने हुँदा ऊद्वारा निषिद्ध क्रिया हुनै सक्तैन ।

साधारणतया, सबै क्रियाहरुका आरम्भमा अनिवार्य दोष (पाप) पाइन्छन् । तर मूलमा असत् को संग -- कामना, ममता र आसक्तिले नै पाप लाग्ने हो । कर्मयोगीमा कामना, ममता र आसक्ति हुँदै हुँदैन अथवा उसको कामना, ममता र आसक्तिको उद्देश्य नै हुँदैन; त्यसैले उसको कर्म गर्न र नगर्नमा कुनै प्रयोजन नै हुँदैन । यही कारण न उसलाई कर्महरुमा रहने आनुषङ्गिक पाप लाग्छ र न उसलाई शास्त्रविहित कर्महरुको त्यागको नै पाप लाग्छ ।

तेस्रो अध्यायमा भगवानले सिद्ध महापुरुषलाई (आफ़्नोलागि केही गर्न वांकी नरहे पनि) लोकसंग्रहकोलागि कर्म गर्ने प्रेरणा गर्नुभएको छ । भगवानले आफ़्नोलागि पनि भन्नुभएको छ, 'त्रिलोकीमा केही पनि कर्तव्य र प्राप्तव्य नहुँदा पनि म सावधानीपूर्वक कर्म गर्छु ।' अतः यहाँ शंका हुन सक्छ, शरीर-निर्वाहकोलागि कर्म गर्ने कर्मयोगीलाई के लोकसंग्रहको त्यागको दोष लाग्छ ? यो प्रश्नको उत्तर हो, कामना, ममता नरहेको कारणले उसलाई कुनै दोष लाग्दैन । सिद्ध महापुरुषमा र भगवानमा कामना, ममता आदिको सर्वथा अभाव भए तापनि उनीहरुले गर्ने कर्म उनीहरुको दया, कृपा हो । वास्तवमा उनीहरु लोकसंग्रह गरून् या नगरून्, तर उनीहरुमा लोकसंग्रह गर्नै पर्ने भन्ने जिम्मेवारी छैन । वास्तवमा यो पनि निवृत्तिपरायण साधकहरुकोलागि एउटा लोकसंग्रह नै हो । लोकसंग्रह गरिने होइन, हुने हो ।
अर्को एउटा शंका, तेश्रो अध्यायमा भगवानले खालि आफ्नो शरीरको पोषण गर्ने मनुष्यलाई पापी भन्नुभयो र यहाँ भन्नुहुन्छ, शरीर निर्वाहकोलागि कर्म गर्ने व्यक्ति पाप खाँदैन । यो कुराको समाधान: भोगबुद्धि रहुन्जेल र  कर्महरु तथा पदार्थहरुमा आसक्ति वनिरहुन्जेल कर्म गर्न अथवा नगर्नमा पाप लाग्छ । तर अहिले वर्णन भैरहेको कर्मयोगीमा भोगबुद्धि छैन र कर्महरुमा तथा पदार्थहरुमा आसक्ति छैन; अतः सर्वथा निर्लिप्त भएकोले उसलाई कर्म गरे अथवा नगरे पाप लाग्दैन ।

कर्मयोगको साधकमा स्पष्ट विवेक जाग्रत नहुँदा पनि उसको यो निश्चय हुन्छ, 'मेरो केही होइन; मेरोलागि केही होइन, मेरोलागि केही गर्नु छैन ।' यी तीन कुराको दृढ निश्चय रहनाले उ कर्म गर्दा पनि ती कर्महरुदेखि निर्लिप्त रहन्छ ।

सर्व साधारणमा यस्तो मान्यता हुन्छ, कर्मयोगी गृहस्थ-आश्रममा र ज्ञानयोगी (सांख्ययोगी) संन्यास आश्रममा वस्छ । तर यो कुरा होइन शरीर भन्दा आफूलाई छुट्टै सत्ताको स्पष्ट विवेक भएको मनुष्य ज्ञानयोगी नै हो; चाहे ऊ गृहस्थ-आश्रम वसोस् या संन्यास आश्रममा । जसमा यति धेरै विवेक त छैन तर माथि भनिएका कुराहरुको पक्का निश्चय छ, ऊ कर्मयोगी नै हो, चाहे गृहस्थ आश्रममा होस् या संन्यास आश्रममा ।  

Song : Dakshinamurti_Stotram 
- Bhagwan Adi Shankaracharya

Dakshinamurti is the form of Lord Shiva by which he is known as a youthful world teacher seated beneath the sacred fig-tree, facing South (Dakshina means 'south') and teaching elderly disciples through silence. The South indicates a downward path (spiritually) and the North indicates an upward path, so the students face north and look forward to, immortality.
 

The word Daskshina also means 'efficient'. he (Lord Shiva) is the one who can teach us the most difficult thoughts in the most efficient manner. He is the teacher of all teachers. He is the ultimate which is inaccessible even to the mind and speech.  

159. No. 126 श्लोक २० (कर्मयोगी महापुरुष) कर्म र फलको आसक्ति त्याग्छ र सबै आश्रयदेखि रहित भएर सदा तृप्त

No. 126
श्लोक २० 

(कर्मयोगी महापुरुष) कर्म र फलको आसक्ति त्याग्छ र सबै आश्रयदेखि रहित भएर सदा तृप्त रहन्छ । कर्ममा राम्रोसँग लागे पनि त्यस्तो कर्मयोगी वास्तवमा केही पनि गर्दैन । 

कर्म गर्दा कर्तामा यो भाव रहन्छ, 'शरीर आदि कर्म सामग्री मेरो हो, म कर्म गर्छु, कर्म मेरो हो र मेरोलागि हो तथा मलाइ फलानो कर्मको फलानो फल चाहिन्छ ।' यस्तो मान्दा कर्ता कर्मफलको हेतु (कारण) वन्छ । तर कर्मयोगले सिद्ध महापुरुषलाई प्राकृत पदार्थहरुसँग सर्वथा सम्बन्ध-विच्छेदको अनुभव हुन्छ, यसैले कर्म गर्ने सामग्रीमा, कर्ममा तथा कर्मफलमा अलिकति पनि आसक्ति नरहेकोले त्यो कर्मयोगी कर्मफलको हेतु वन्दैन ।

सेना विजयको इच्छा लिएर युद्ध गर्छ । विजय हुँदा पनि सेनाको विजय हैन, राजाको विजय मानिन्छ; किनकि राजाले नै सेनाको जीवन-निर्वाहको प्रबन्ध गरेको छ, उसलाई युद्ध गर्ने सामान दिएको छ र उसलाई युद्ध गर्ने प्रेरणा दिएको छ र सेना पनि राजाकोलागि नै युद्ध गर्छ। त्यसै गरी, शरीर, इन्द्रियहरु, मन, बुद्धि जस्ता कर्म सामग्रीसँग सम्बन्ध जोड्दा नै जीव ती वस्तु र पदार्थ द्वारा गरिएको कर्मको फलको भागी वन्छ ।
कर्म-सामग्रीसँग अलिकति पनि सम्बन्ध नहुनुको कारण महापुरुषको कर्मफलसँग कुनै सम्बन्ध हुँदैन ।
वास्तवमा कर्मफलसँग स्वरूपको सम्बन्ध छँदै छैन । कारण, स्वरूप चेतन अविनाशी र निर्विकार छ; परन्तु कर्म र कर्मफल दुवै जड तथा विकारी छन् र कर्म र कर्मफलको आरम्भ र अन्त हुन्छ । सदा स्वरूपसँग न कुनै कर्म रहन्छ तथा न कुनै फल नै रहन्छ । यसै गरी कर्म र फलसँग स्वरूपको कुनै सम्बन्ध नभए पनि जीवले भूलले तिनीहरुसँग आफ्नो सम्बन्ध मानेको छ । यो मानिएको सम्बन्ध नै बन्धनको कारण हो । यो मानिएको सम्बन्ध मेटियो भने कर्म र फलसँग जीवको (हाम्रो) स्वतःसिद्ध निर्लिप्तताको बोध हुन्छ ।
देश, काल, वस्तु, व्यक्ति, परिस्थिति आदिको किञ्चित् पनि आश्रय नलिनु 'निराश्रय' अथवा आश्रयदेखि रहित हुनु हो । जति नै ठूलो धनी, राजा,महाराजा नै किन नहून्, उनीहरुलाई पनि देश, काल आदिको आश्रय लिनै पर्छ । परन्तु कर्मयोगले सिद्ध भएको महापुरुष देश, काल, आदिको कुनै आश्रय मान्दैन । आश्रय मिलोस् या नमिलोस्,-- यसमा उसलाई किञ्चित् पनि परवाह हुँदैन । यसैले ऊ निराश्रय हुन्छ ।
 
जीव (आत्मा) परमात्माको सनातन अंश भएकोले सत्-स्वरूप नै हो । सत् को कहिले पनि अभाव हुँदैन । परन्तु उसले असत् सँग सम्बन्ध मानेपछि उसलाई आफूमा अभाव अर्थात् कमीको अनुभव हुन थाल्छ । त्यो कमीको पूर्तिकोलागि उ सांसारिक वस्तुहरुको कामना गर्न थाल्छ । इच्छा गरिएको वस्तु पाईंदा एक तृप्ति त हुन्छ; तर यो तृप्ति टिक्तैन, क्षणिक हुन्छ । कारण कि संसारको प्रत्येक वस्तु, व्यक्ति, परिस्थिति आदि प्रतिक्षण अभाव तर्फ गैरहेछन् । त्यसैले त्यस्ता वस्तु र पदार्थसँग आश्रित रहने तृप्ति स्थायी कसरी हुन सक्छ ?
 

अतः जीवले उत्पत्ति-विनाशशील क्रियाहरु र पदार्थहरुसँग सम्बन्ध मानुन्जेल ती क्रियाहरु र पदार्थहरुसँग ऊ आश्रित रहन्छ  र उसलाई स्वतःसिद्ध नित्यतृप्तिको अनुभव हुँदैन ।
कर्मयोग द्वारा सिद्ध महापुरुष निराश्रय अर्थात् संसारको आश्रयदेखि सदा रहित हुन्छ, यसैले उसलाई स्वतःसिद्ध नित्यतृप्तिको अनुभव हुन्छ । तेस्रो अध्यायमा प्रस्तुत 'आत्मतृप्त' शब्दले पनि यही नित्यतृप्तिको कुरा भन्छ ।

कर्मयोगले सिद्ध महापुरुष द्वारा हुने सबै कर्म साङ्गोपाङ्ग रीतिले हुन्छन्; किनकि कर्मफलमा त्यो महापुरुषको रतिभर पनि आसक्ति हुँदैन । ऊद्वारा हुने सम्पूर्ण कर्म केवल संसारको हितकोलागि हुन्छ ।
कर्मफलमा आसक्ति भएको व्यक्ति साङ्गोपाङ्ग रीतिले कर्म गर्न सक्तैन, किनकि फलसँग सम्बन्ध भएकोले कर्म गर्दा गर्दै पनि वीच-वीचमा फलको चिन्तन हुने हुँदा उसको शक्ति व्यर्थ खर्च हुन्छ, जसले गर्दा उसको शक्ति पूर्णरूपले कर्म गर्नमा लाग्दैन ।
यो पनि भनिएको छ, साङ्गोपाङ्ग तरिकाले सबै कर्म गरिरहँदा पनि त्यो कर्मयोगी अलिकति पनि कुनै कर्म गर्दैन; किनकि सर्वथा निर्लिप्त भएको कारण उसमा  कर्मको स्पर्श नै हुँदैन । उसका सबै कर्म अकर्म हुन्छन् । ऊ कुनै पनि कर्म गर्दैन भने कसरी बाँधिन्छ र ? यसैले गीताको अठारौँ अध्यायमा भनिएको छ, कर्मफलको त्याग गर्ने कर्मयोगीलाई कहिले पनि कर्मफल मिल्दैन ।
 
प्रकृति निरन्तर क्रियाशील छ । अतः प्रकृतिका गुणहरु (क्रिया र पदार्थ) सँग सम्बन्ध रहुन्जेल कर्म नगर्दा पनि मनुष्यको प्रकृतिसँग सम्बन्ध हुन्छ । प्रकृतिका गुणहरुसँग सम्बन्ध नरहे मनुष्य कर्म गरिरहँदा पनि केही गर्दैन । कर्मयोगवाट सिद्ध महापुरुषको प्रकृतिजन्य गुणहरुसँग कुनै सम्बन्ध रहँदैन, यसैले ऊ लोकहितार्थ सबै कर्म गरिरहँदा पनि वास्तवमा केही गर्दैन ।

मनुष्यमा कर्तृत्व रहुन्जेल ऊ कर्म गर्दा कर्म गर्छ, कर्म नगर्दा पनि कर्म गर्छ । कर्तृत्व मेटिएपछि ऊ कहिले केही गर्दैन ।

158 No. 125 श्लोक १९ जसका सम्पूर्ण कर्महरुको आरम्भ संकल्प र कामनादेखि रहित छ तथा जसका सम्पूर्ण कर्म

No. 125
श्लोक १९ 

जसका सम्पूर्ण कर्महरुको आरम्भ संकल्प र कामनादेखि रहित छ तथा जसका सम्पूर्ण कर्म ज्ञानरूपी अग्निले जलेको छ, त्यस्ता ज्ञानीजन बुद्धिमान् भनिन्छन् ।

विषयको वारम्वार चिन्तन हुँदा, तिनको वारम्वार सम्झना भैरहँदा ती विषयहरुमा 'यी विषयहरु राम्रा छन्, काम लाग्छन्, जीवनमा उपयोगी छन् र यिनले सुख दिन्छन्' भन्ने सम्यग्बुद्धि हुनु 'संकल्प' हो र 'यी विषयहरु मेरोलागि राम्रा छैनन्, हानिकारक छन्' भन्ने बुद्धि हुनु 'विकल्प' हो । यस्ता संकल्प, विकल्प बुद्धिमा भैरहन्छन् । सबै विकल्पहरु मेटिई  खालि एउटा मात्रै संकल्प रहेर 'यी विषय-पदार्थ मैले पाउनुपर्छ, मेरो हुनुपर्छ ' भन्ने अन्तःकरणमा ती वस्तुहरु पाउने इच्छा उठ्छ, त्यसको नाम 'काम' (कामना) हो । कर्मयोगले सिद्ध भएका महापुरुषमा संकल्प र कामना दुवै रहँदैनन् अर्थात् उसमा न कामनाहरुको कारण संकल्प रहन्छ र न संकल्पहरुको कार्य कामना रहन्छ । त्यसैले ऊ द्वारा हुने सबै कर्म संकल्प र कामनादेखि रहित हुन्छ ।
संकल्प र कामना -- यी दुवै कर्मका वीज हुन् । संकल्प र कामना नरहेपछि कर्म अकर्म हुन्छन् अर्थात् कर्म बाँध्ने खालका हुँदैनन् ।  सिद्ध महापुरुषमा पनि संकल्प र कामना नरहँदा ऊ द्वारा हुने कर्म बन्धनकारक हुँदैनन् । ऊ द्वारा लोकसंग्रहार्थ र कर्तव्यपरम्पराको सुरक्षाकोलागि सम्पूर्ण कर्म हुँदा पनि ऊ ती कर्महरुवाट सर्वथा निर्लिप्त रहन्छ ।
 
भगवानले गीतामा कहिं संकल्पहरुको, कहिं कामनाहरुको र कहिँ संकल्प र कामना दुबैको त्यागको कुरा गर्नुभएको छ । अतः संकल्पको त्याग वताइएको प्रसंगमा कामनाको त्याग र कामनाको त्याग वताइएको प्रसंगमा संकल्पको त्याग भन्ने बुझ्नु पर्छ हामीले । किनकि संकल्प कामनाको कारण हो र कामना संकल्पको कार्य हो ।  तात्पर्य, साधकले सम्पूर्ण संकल्पहरु र कामनाहरुको त्याग गर्नुपर्छ ।
हामीले चलाउने मोटर कारका चार अवस्थाहरु हुन्छन् ।
(१) मोटर गराजमा रहिरहँदा न इंजिन चल्छ, न पाङ्ग्राहरु गुड्छन् । (२) मोटर स्टार्ट गर्दा इंजिन त चल्छ, तर पांग्राहरु गुडदैनन् । (३) मोटरलाई गराजवाट निकाल्दा इंजिन पनि चल्छ र पांग्राहरु पनि गुडछन् । (४) तर ठाडो ओरालो वाटोमा इंजिन वन्द गरिदियो भने पनि पांग्राहरु चलिरहन्छन् । यस्तो किसिमले मनुष्यको पनि चार अवस्थाहरु हुन्छन् ।
(१) न कामना हुन्छ, न कर्म हुन्छ । (२) कामना हुन्छ, तर कर्म हुँदैन । (३) कामना पनि हुन्छ र कर्म पनि हुन्छ । (४) कामना हुँदैन, तर कर्म हुन्छ ।
मोटर कारको सबभन्दा उत्तम अवस्था (चौथो) हो । त्यो अवस्था हो: इंजिन नचलोस् तर पाङ्ग्राहरु गुडिरहून् अर्थात् तेल पनि खर्छ नहोस् र वाटो पनि काटियोस् । यस्तै प्रकार, मनुष्यको सबभन्दा उत्तम अवस्था हो -- कामना नरहोस् तर कर्म भइरहून् । यस्ता अवस्था भएका मनुष्यलाई ज्ञानीजन पनि पण्डित भन्छन् ।
 
यो पनि भनिएको छ यहाँ, कर्मयोगले सिद्ध महापुरुष द्वारा गरिने हरेक कर्म सुचारुरूपले, पूर्णरूपले र तत्परतापूर्वक हुन्छ । अझ, उसका कार्यहरु शास्त्रसम्मत हुन्छन् । ऊ द्वारा गरिनुपर्ने कर्म मात्रै गरिन्छन् । कसैलाई अहित हुने कर्म ऊवाट कहिले पनि हुँदैन । 
 
कर्मयोगी महापुरुष द्वारा हुने सबै कर्म संकल्प र कामनादेखि रहित हुन्छ । उसका कुनै पनि कर्म संकल्प सहित हुँदैनन् । विहान उठेदेखि राति सुत्ने वेलासम्म शौच-स्नान, खानु-पिउनु, पाठ-पूजा, जप-चिन्तन, ध्यान-समाधि जस्ता सबै शरीर-निर्वाह सम्बन्धी उसका सम्पूर्ण कर्म कामना रहित नै हुन्छन् ।
कर्महरुको सम्बन्ध 'पर' (शरीर-संसार) सँग छ, 'स्व' (स्वरूप) सँग छैन; किनकि कर्महरुको आरम्भ र अन्त हुन्छ, तर स्वरूप सँधै जस्ता-को-तस्तो रहन्छ भन्ने तथ्य ठीक-ठीक जान्नु नै 'ज्ञान' हो । यो ज्ञानरुप अग्निले सम्पूर्ण कर्म भस्म हुन्छन् अर्थात् कर्महरुमा फल दिने (बाँध्ने शक्ति) रहँदैन । 
 
वास्तवमा शरीर र क्रिया -- दुवै संसारदेखि अभिन्न छन्, तर स्वयं संसारदेखि एकदम छुट्टै भए पनि भूलले यिनीहरुसँग आफ्नो सम्बन्ध मान्छ । तर महापुरुषलाई आफ्नो भनिने शरीरसँग पनि कुनै सम्बन्ध रहँदैन । त्यसैले संसार मात्रवाट सबै कर्म भए जस्तै त्यो महापुरुषको आफ्नो भनिने शरीरवाट सबै कर्म हुन्छन् । यसरी कर्महरुसँग निर्लिप्तताको अनुभव भएपछि त्यो महापुरुषको वर्तमान कर्म मात्रै नष्ट हुने होइनन्, संचित कर्म पनि नष्ट हुन्छन् । प्रारब्ध कर्म पनि केवल अनुकूल या प्रतिकूल परिस्थितिको रूपमा उसको अगाडि आएर नष्ट हुन्छन्,फलसँग भएको कारण ऊ ती फलहरुको भोक्ता वन्दैन अर्थात् किञ्चित् मात्र पनि सुखी या दुःखी हुँदैन । उसलाई, त्यो कर्मयोगीलाई प्रारब्ध कर्म पनि अस्थायी परिस्थिति उत्पन्न गरेर नष्ट हुन्छन् ।        


कर्महरुको स्वरूपले त्याग गरेर परमात्मामा लागेको मनुष्यलाई  बुझ्न त सजिलो छ, तर कर्महरुमा किञ्चित् मात्र पनि लिप्त नभई तत्परतापूर्वक कर्म गरिरहने मनुष्यलाई बुझ्न कठिन छ । तात्पर्य, संसारमा (वाहिरवाट त्याग गर्ने) त्यागी पुरुषको महिमा सबै गाउँछन्, तर गृहस्थमा रहेर सबै कर्तव्य-कर्म तत्परतापूर्वक गरी गरी तिनमा अलि कति मात्र पनि लिप्त नहुने व्यक्तिलाई जान्ने कोही कोही मात्रै हुन्छ ।
कमलको पात जलमा उत्पन्न भएर जलमा नै रहँदा पनि जलमा लिप्त हुँदैन, त्यस्तै कर्मयोगी कर्मयोनि (मनुष्य-शरीर) मा नै उत्पन्न भएर, कर्ममय जगत् मा रहेर कर्म गरि रहँदा पनि लिप्त हुँदैन । कर्महरुदेखि लिप्त नहुनु कुनै साधारण बुद्धिमानको काम होइन । यो भन्दा अघिल्लो श्लोकमा भगवानले यस्ता 
कर्मयोगीलाई मनुष्यहरुमा बुद्धिमान् भन्नुभयो र यहाँ भन्नुहुन्छ, 'त्यस्तो व्यक्तिलाई ज्ञानीजन पनि पण्डित भन्छन् ।' अर्को शब्दमा, यस्तो कर्मयोगी पण्डितहरुको पनि पण्डित र ज्ञानीहरुको पनि ज्ञानी हो ।

157 No 124 श्लोक १८ कर्ममा अकर्म र अकर्ममा कर्म देख्ने व्यक्ति मनुष्यहरूमा बुद्धिमान् छ,

No 124
श्लोक १८ 

कर्ममा अकर्म र अकर्ममा कर्म देख्ने व्यक्ति मनुष्यहरूमा बुद्धिमान् छ, त्यो व्यक्ति नै योगी हो र सम्पूर्ण कर्महरु गर्ने (कृतकृत्य) हो ।

कर्ममा अकर्म देख्ने तात्पर्य -- कर्म गर्दा र नगर्दा ती कर्महरुसँग निर्लिप्त रहनु अर्थात् आफ्नोलागि कुनै पनि प्रवृत्ति अथवा निवृत्ति नगर्नु । 'म फलानो कर्म गर्छु, यो कर्मले मलाई फलानो फल मिल्नेछ' भन्ने भाव राखेर कर्म गर्दा मान्छे कर्महरुसँग वाँधिन्छ । प्रत्येक कर्मको आरम्भ र अन्त हुन्छ, त्यस्तै ती कर्महरुका फलको पनि आरम्भ र अन्त हुन्छ । परन्तु जीव (हामी) नित्य रहने खालका छौं । यसरी जीव स्वयं परिवर्तनशील कर्म र तीनका फलहरुदेखि सर्वथा सम्बन्धरहित छ, तैपनि ऊ फलको इच्छाको कारण ती कर्महरुसँग वाँधिन्छ । यसैले भगवानले भन्नुभयो, 'मलाई कर्मले बाँध्दैनन्, किनकि कर्मफलमा मलाई स्पृहा छैन। फलको स्पृहा अथवा इच्छा नै वाँध्ने खालको हुन्छ ।
 
फलको इच्छा नराख्दा नयाँ राग उत्पन्न हुँदैन र अरुको हितकोलागि कर्म गर्दा पुरानो राग नष्ट हुन्छ । यसरी रागरूप बन्धन नरहेपछि साधक सर्वथा वीतराग हुन्छ । वीतराग भएपछि सबै कर्म अकर्म हुन्छन् ।
जीवको जन्म कर्महरुको अनुबन्धवाट हुन्छ । जस्तो, आफूले जन्म लिएको परिवारसँग ऋण अनुबन्ध छ अर्थात् कसैको ऋण तिर्नु छ र कसैसँग ऋण असूल गर्नु छ । किनकि अनेक जन्महरुमा अनेक व्यक्तिहरुसँग ऋण लिइएको हुन्छ र अनेक व्यक्तिलाई दिइएको पनि हुन्छ । यो लेन-देनको व्यवहार अनेक जन्महरूदेखि चलिआएको छ । यो व्यवहार नगरी जन्म-मरणवाट छुट्कारा पाइंदैन । यो व्यवहार बन्द गर्ने उपाय -- अबदेखि लिन वन्द गर्ने अर्थात् आफ्नो अधिकारको त्याग गर्ने र हामीसँग अधिकार भएकाको सेवा गर्न शुरु गर्ने । यसरी नयाँ ऋण नलिने र पुरानो ऋण (अरुकोलागि कर्म गरेर) चुकाइदिने । यसरी हाम्रो ऋणानुबन्ध (लिने-दिने व्यवहार) समाप्त हुनेछ अर्थात् जन्म-मरण बन्द हुनेछ । कुनै पसलेलाई आफ्नो पसल खालि गर्नु छ भने उसले दुई काम गर्नुपर्छ -- पहिलो, जसलाई दिनु छ, उसलाई त्यो रकम दिन्छ र अर्को, जोवाट लिनु छ छ उसँग त्यो रकम लिन्छ अथवा छोडिदिन्छ । यसो गरेपछि मात्र उसको पसल बन्द हुन्छ । यदि त्यो पसलेले आफूले लिनुपर्ने  व्यक्तिसँग सबै रकम असूल गरौँ भन्ने विचार गर्यो भने उसको पसल कहिले पनि उठ्दैन । कारण, त्यो पसलेले ऋण फिर्ता लिने इच्छाले त्यो व्यक्तिलाई वस्तुहरु दिइरह्यो भने उसको पसल चलि नै रहन्छ, कहिले पनि बन्द हुँदैन ।
 
आफ़्नोलागि केही पनि नगर्दा र नचाहँदा असंगता स्वतः प्राप्त हुन्छ । किनकि करण (शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण) र उपकरण (कर्म गर्न उपयोगी सामग्री) संसारका  हुन् र संसारको सेवामा लगाउन नै पाइएका हुन् , आफ़्नोलागि होइन । यसैले सम्पूर्ण कर्तव्य-कर्म (सेवा, भजन, जप, ध्यान, समाधि पनि) केवल संसारको हितकोलागि गरे कर्महरुको प्रवाह संसारतिर जान्छ र साधक स्वयं असंग, निर्लिप्त रहन्छ । यही नै कर्ममा अकर्म देख्नु हो ।
प्रकृतिसँग सम्बन्ध रहुन्जेल कर्म गर्नु अथवा नगर्नु दुवै  'कर्म' नै हुन् । यसैले कर्म गर्ने अथवा नगर्ने दुवै अवस्थादेखि कर्मयोगी निर्लिप्त रहनु पर्छ । कर्म गर्दा निर्लिप्त रहनेको तात्पर्य -- कर्म गरे मलाई राम्रो फल मिल्नेछ, मलाई लाभ हुनेछ, मलाई सिद्धि हुनेछ, अरुहरु मलाई असल भन्नेछन्, यो लोक र परलोकमा भोग मिल्नेछ -- यस्तो किसिमको कुनै पनि इच्छा नहुनु । यस्तै कर्म नगर्न निर्लिप्त रहने तात्पर्य -- कर्मको त्याग गरे मलाई मान, आदर, भोग, शरीरको आराम मिल्छ -- यस्तो कुनै पनि इच्छा नहुनु । 

दुःख मानेर एवं शारीरिक दुःखको भयले कर्म नगर्नु राजसी त्याग हो र मोह, आलस्य, प्रमादको कारणले कर्म नगर्नु तामसी त्याग हो । यी दुवै त्याग सर्वथा त्याज्य (छोड्नु पर्ने) छन् । यो वाहेक पनि कर्म नगर्नु यदि आफ्नो विलक्षण स्थितिकोलागि हो, समाधिको सुख भोग्न हो, जीवन्मुक्तिको आनन्द लिन हो भने यस्तो त्यागले प्रकृतिसँग सम्बन्ध विच्छेद हुँदैन । किनकि कर्म नगर्नुसँग सम्बन्ध रहुन्जेल प्रकृतिसँग सम्बन्ध वनिरहन्छ । प्रकृतिसँग सम्बन्ध विच्छेद भएपछि कर्मयोगी कर्म गर्ने र नगर्ने -- यी दुवै अवस्थाहरुमा जस्ता-को-तस्तो निर्लिप्त रहन्छ ।
अकर्ममा कर्म देख्नुको तात्पर्य -- निर्लिप्त रहँदै कर्म गर्ने अथवा नगर्ने । भाव हो कि कर्म गरेको वेला अथवा कर्म नगरेको वेला पनि नित्य-निरन्तर निर्लिप्त रहने ।     
संसारमा कोही कुनै कार्य गर्न प्रवृत्त हुन्छ भने उसंको अगाडि प्रवृत्ति (गर्नु) र निवृत्ति (नगर्नु) -- दुवै आउँछन् । कुनै कार्यमा प्रवृत्ति हुन्छ र कुनै कार्यमा निवृत्ति हुन्छ । परन्तु कर्मयोगीको प्रवृत्ति र निवृत्ति -- दुवै निर्लिप्ततापूर्वक र केवल संसारको हितकोलागि हुन्छ । प्रवृत्ति र निवृत्ति -- दुबैसँग उसलाई कुनै प्रयोजन नै हुँदैन । यदि प्रयोजन हुन्छ भने ऊ कर्मयोगी होइन, कर्मी हो ।
 
साधकले प्रकृतिसँग आफ्नो सम्बन्ध मानुन्जेल उ कर्म गर्दा आफ्नो संसारिक उन्नति मान्छ र कर्म नगर्दा आफ्नो पारमार्थिक उन्नति मान्छ । परन्तु वास्तवमा प्रवृत्ति र निवृत्ति -- दुवै निवृत्ति हुन्; किनकि दुबैमा प्रकृतिसँग सम्बन्ध रहन्छन् । हिंड्नु-डुल्नु, खानु-पिउनु स्थूल शरीरका क्रिया भए जस्तै एकान्तमा वसिरहनु, चिन्तन गर्नु, ध्यान लगाउनु सूक्ष्म शरीरका क्रिया र समाधि लगाउनु कारण शरीरका क्रिया हुन् । यसैले निर्लिप्त रहेर लोकसंग्रहार्थ कर्तव्य-कर्म गर्ने हो । यही अकर्ममा कर्म हो । यही कुरालाई भगवानले दोस्रो अध्यायमा 'योगस्थः कुरू कर्माणी', अर्थ, 'तिमी योग अर्थात् समतामा रहेर कर्म गर' भन्नु भयो अर्जुनलाई ।
सांसारिक प्रवृत्ति र निवृत्ति दुवै 'कर्म' हुन् । प्रवृत्ति अथवा निवृत्ति गर्दै निर्लिप्त रहनु र निर्लिप्त रहँदै प्रवृत्ति र निवृत्ति गर्नु । यस्तो किसिमले प्रवृत्ति र निवृत्ति दुबैमा निर्लिप्त रहनु 'योग' हो । यसैलाई कर्मयोग भन्छन् ।

कर्ममा अकर्म र अकर्ममा कर्म -- यी दुईमा एउटा निर्लिप्तता सार भए पनि पहिलो (कर्ममा अकर्म) मा कर्म गर्दा पनि अथवा नगर्दा पनि दुवै अवस्थामा रहने निर्लिप्तताको मुख्यता छ । र अर्को (अकर्ममा कर्म) मा निर्लिप्त रहँदै कर्म गर्ने अथवा नगर्नेको मुख्यता छ । तात्पर्य, निर्लिप्तता आफ़्नोलागि र कर्म संसारकोलागि हो; किनकि निर्लिप्तताको सम्बन्ध 'स्व' (स्वरूप)सँग र कर्म गर्नु अथवा नगर्नुको सम्बन्ध 'पर' (शरीर, संसार) सँग छ । यसैले निर्लिप्तता 'स्वधर्म' र कर्म गर्नु अथवा नगर्नु 'परधर्म' हो ।  यी दुबैको बिभाग सर्वथा छुट्टा छुट्टै वताइएको छ यो प्रसंगमा ।
      
कर्ममा अकर्म र अकर्ममा कर्म -- यी दुवै कुराहरु कर्मयोगका हुन् । प्रकृतिसँग सर्वथा सम्बन्ध-विच्छेद होस्, अर्थात् गर्ने र नगर्नमा आफ्नो कुनै प्रयोजन नरहोस् र लोकसंग्रहकोलागि कर्महरु गर्नु र नगर्नुमा कुनै सम्बन्ध नहोस् । कारण कि कर्म गर्दा निर्लिप्त रहने कर्म निर्लिप्त रहेर पनि अरुको हितकोलागि कर्म गर्ने -- यी दुवै गीताका सिद्धान्त हुन् ।
प्रवृत्ति (गर्नु) र निवृत्ति (नगर्नु) -- दुवै प्रकृतिका राज्यमा नै छन् । प्रकृति निरन्तर परिवर्तनशील छ, यसैले प्रवृत्तिको पनि आरम्भ र अन्त छ तथा निवृत्तिको पनि आरम्भ र अन्त छ । परन्तु यी दुई भन्दा सर्वथा अतीत परमनिवृत्ततत्व -- आफ्नो स्वरूपको आदि र अन्त हुँदैन । त्यो तत्व प्रवृत्ति र निवृत्तिको आरम्भमा पनि रहन्छ र तिनको अन्तमा पनि रहन्छ तथा प्रवृत्ति र निवृत्तिकालमा पनि जस्ता-को-तस्तो रहन्छ । त्यो प्रवृत्ति र निवृत्ति -- दुबैको प्रकाशक र आधार हो । यसैले त्यसमा न प्रवृत्ति छ, न निवृत्ति नै छ -- यो तत्व बुझ्न र त्यसमा स्थित भएर लोकसंग्रहार्थ (यज्ञार्थ) कर्म गर्न यहाँ कर्ममा अकर्म र अकर्ममा कर्म -- यी दुई कुरा भनिएको छ ।
कर्ममा अकर्म र अकर्ममा कर्म देख्ने अर्थात् नित्य-निरन्तर निर्लिप्त रहने पुरुष नै वास्तवमा कर्म-तत्व जान्ने व्यक्ति हो । निर्लिप्त नहुन्जेल अर्थात् कर्म र पदार्थलाई आफ्नो र आफ्नोलागि मान्ने साधकले कर्म-तत्व बुझेकै छैन ।
 
परमात्मालाई जान्न स्वयंलाई परमात्मादेखि अभिन्नताको अनुभव गर्नुपर्छ र संसारलाई जान्न स्वयंलाई संसार (क्रिया र पदार्थ)देखि सर्वथा भिन्नताको अनुभव गर्नुपर्छ । कारण, वास्तवमा हामी (स्वरूपले) परमात्मादेखि अभिन्न र संसारदेखि भिन्न छौं । यसैले कर्महरुदेखि छुट्टै भएर अर्थात् निर्लिप्त भएर नै कर्म-तत्वलाई जान्न सकिन्छ । कर्म आदि-अन्त हुने छ र म (स्वयं जीव ) नित्य रहने खालको हुँ; अतः म स्वरूपले कर्महरुदेखि छुट्टै (निर्लिप्त) हुँ -- यो वास्तविकताको अनुभव गर्नु नै 'जान्नु' हो । वास्तविकताको तहमा नवसी जान्नु कसरी हुन सक्छ ?

गाजलको थुप्रोमा प्रवेश गर्दा मात्रै पनि गाजलसँग सर्वथा निर्लिप्त रहनु साधारण बुद्धिमानको काम होइन, त्यस्तै सम्पूर्ण कर्तव्य-कर्महरु गरिरहँदा पनि कर्महरुसँग निर्लिप्त रहनु साधारण बुद्धिमानको काम होइन । यसैले भगवान यस्ता कर्मयोगीलाई मनुष्यहरुमा बुद्धिमान् भन्नुहुन्छ ।
यो भन्दा अघिल्लो श्लोकमा भगवानले कर्म, अकर्म र विकर्म -- तीनैको तत्व बुझ्न भन्नुभएको थियो अर्जुनलाई । यहाँ भगवान भन्नुहुन्छ, जसले कर्ममा अकर्म र अकर्ममा कर्मको तत्व जानेको छ, उसले सबै कुरा जानेको छ अर्थात उ ज्ञात-ज्ञातव्य भएको छ ।
कर्मयोगी सिद्धि र असिद्धिमा सम रहन्छ । कर्मको फल मिलोस् या नमिलोस्, उसमा कहिले विषमता आउँदैन, किनकि    उसले फलेच्छाको सर्वथा त्याग गरेको छ । समताको नाम योग हो । कर्मयोगी नित्य-निरन्तर समतामा स्थित छ, यही कारण ऊ योगी हो ।
सम्पूर्ण प्राणीहरुको परमात्मासँग स्वतःसिद्ध  नित्ययोग छ । परन्तु मनुष्यले संसारसँग आफ्नो सम्बन्ध मान्यो, यही कारण उसले यो नित्ययोग विर्सियो । तात्पर्य, जडसँग आफ्नो सम्बन्ध मान्नु नै परमात्मासँगको  आफ्नो नित्य सम्बन्ध विर्सनु हो । कर्मयोगी फलेच्छा, ममता र आसक्तिको त्याग गरेर केवल अरुकोलागि कर्तव्य-कर्म गर्छ । यसोभएको  हुँदा उसको जडसँग मानिएको सम्बन्ध छुट्छ र उसलाई परमात्मासँग स्वतःसिद्ध नित्ययोगको अनुभूति हुन्छ । यसैले उसलाई योगी भनिएको हो ।
यहाँ यो पनि भनियो, उसले प्राप्त गर्नुपर्ने तत्व प्राप्त गरेको छ अर्थात्  ऊ प्राप्त-प्राप्तव्य भएको छ । 'पाउन' वांकी रहुन्जेल अर्थात् पाउने इच्छा रहुन्जेल व्यक्तिको राग छुट्दैन ।
 
नाशवान् कर्महरुवाट पाइने फल पनि नाशवान् नै हुन्छ । नाशवान् फलको इच्छा हुन्जेल (कर्म) समाप्त हुँदैन । तर नाशवान् कर्म र फलसँग सर्वथा सम्बन्ध छुटेर परमात्मप्राप्तिरुप अविनाशी फलको प्राप्ति हुन्छ, त्यसपछि कर्म सँधैकोलागि समाप्त हुन्छ र कर्मयोगीलाई कर्म गर्नु र कर्म नगर्नुसँग कुनै प्रयोजन रहँदैन । यस्तो कर्मयोगी सम्पूर्ण कर्महरु गर्छ अर्थात् उसकोलागि अव केही गर्न वांकी रहँदैन, ऊ कृतकृत्य भएको हुन्छ ।

गर्नु, जान्नु र पाउनु वांकी नरहँदा त्यो कर्मयोगी अशुभ संसार-बन्धनदेखि मुक्त हुन्छ ।    

एक बिभाग कर्मको हुन्छ, एक बिभाग अकर्मको हुन्छ । यी दुइमा अकर्म नै सार तत्व हो । यसैले कर्ममा अकर्म देख्ने व्यक्ति कर्म गरिरहँदा पनि निर्लिप्त रहन्छ र अकर्ममा कर्म देख्ने अर्थात् निर्लिप्त रहँदै कर्म गर्ने व्यक्तिकोलागि केही पाउनु शेष (वांकी) रहँदैन ।  तात्पर्य, आफूमा कहिले पनि लिप्तता (फलेच्छा र कर्तृत्वाभिमान) आउनु हुँदैन अर्थात् हरदम निर्लिप्त रहनुपर्छ ।

तेश्रो अध्यायमा भगवानले भन्नुभयो, कर्म नगर्नु भन्दा कर्म गर्नु श्रेष्ठ हो; यहाँ वताउनु हुन्छ, कर्म गर्नु भन्दा पनि अकर्म (अकर्तृत्व) श्रेष्ठ हो र यस्तो देख्ने व्यक्तिकोलागि केही पनि गर्नु, जान्नु र पाउनु शेष रहँदैन । यसवाट सिद्ध हुन्छ, मनुष्यमा फलेच्छा र कर्तृत्वाभिमान रहनु हुँदैन; किनकि यी दुइवाट नै व्यक्ति बाँधिन्छ ।

Friday, 29 August 2014

156. No. 123 श्लोक १७ कर्महरुको तत्व पनि जान्नु पर्छ र अकर्मको तत्व पनि जान्नुपर्छ तथा विकर्मको तत्व पनि

No. 123
श्लोक १७

कर्महरुको तत्व पनि जान्नु पर्छ र अकर्मको तत्व पनि जान्नुपर्छ तथा विकर्मको तत्व पनि जान्नुपर्छ; किनकि कर्महरुको गति गहन छ अर्थात् बुझ्न वडो कठिन छ ।
कर्म गर्दा पनि निर्लिप्त रहनु नै कर्मको तत्व जान्नु हो । कर्म स्वरूपले एकै देखिए कर्ताको अन्तःकरणको भाव अनुसार कर्मका तीन भेद हुन्छन् । ती हुन् -- कर्म, विकर्म र अकर्म । सकामभावले गरिएका शास्त्रविहित क्रिया 'कर्म' वन्छन्, फलेच्छा, ममता र आसक्तिदेखि रहित भएर केवल अरुकोलागि गरिएको कर्म 'अकर्म' वन्छ । विहित कर्म पनि अरुको अहित गर्ने अथवा उसलाई दुःख पुर्याउने भावले गरिएको छ भने त्यो कर्म पनि विकर्म वन्छ । निषिद्ध कर्म त 'विकर्म' हो नै ।
निर्लिप्त रहँदै कर्म गर्नु नै अकर्मको तत्व जान्नु हो । कामनावाट कर्म हुन्छन्, कामना धेरै वढेपछि विकर्म (पापकर्म) हुन्छन् ।       

दोश्रो अध्यायमा भगवानले भन्नुभयो, 'युद्ध जस्तो हिंसायुक्त घोर कर्म पनि शास्त्रको आज्ञाले र समतापूर्वक (जय-पराजय, लाभ-हानि र सुख-दुःख समान सम्झेर) गरियो भने पाप लाग्दैन । अर्को शब्दमा, समतापूर्वक कर्म हेर्दा विकर्म जस्तो देखिए पनि त्यो 'अकर्म' नै हुन्छ ।

शास्त्रनिषिद्ध कर्मको नाम 'विकर्म' हो । विकर्म हुनमा कामना नै हेतु हो । अतः विकर्मको तत्व हो -- कामना र विकर्मको तत्व जान्नु -- विकर्मको स्वरूपदेखि नै त्याग गर्नु तथा विकर्मको कारण कामनाको त्याग गर्नु ।
कुन चाहिं कर्म मुक्त गर्ने र कुन चाहिं कर्म वाँध्ने भन्ने कुराको निर्णय गर्न निकै कठिन छ । कर्म के हो, अकर्म के हो र विकर्म के हो -- यसको तत्व जान्न पनि ठूला-ठूला शास्त्रज्ञ (शास्त्रको जानकार) विद्वान पनि आफूलाई असमर्थ पाउँछन् । अर्जुन पनि यो तत्व नजानेको कारण आफ्नो युद्धरुप कर्तव्य-कर्मलाई घोर मान्छन् । अतः कर्मको गति (ज्ञान या तत्व) धेरै गहन छ ।

जुन कामनाले कर्म हुन्छन्, तीनै कामना धेरै वढ्दा 'विकर्म' हुन थाल्छन् । तर कामना नष्ट भएपछि सबै कर्म 'अकर्म' हुन्छन् । यो प्रकरणको खास तात्पर्य, 'अकर्म' जान्नमा नै छ र अकर्म हुन्छ कामनाको नाशवाट । कामनाको नाश भएपछि विकर्म हुँदै हुँदैन । विकर्मको विवेचनको जरुरत नै छैन । त्यसैले यो प्रकरणमा विकर्मको कुरा आएकै छैन । अर्को कुरो, पापजनक र नरकहरुको प्राप्ति गराउने विकर्म सँधै त्याज्य छ । यसैले पनि यसको विस्तार नगरिएको हो । तर, विकर्मको मूल कारण 'कामना'को त्याग गर्ने भाव यो प्रकरणमा मुख्य रूपले आएको छ ।

हाम्रोलागि अथवा अरुकोलागि, अहिले र परिणाममा कुन कर्मको के फल हुन्छ भन्ने बुझ्न धेरै गाहारो छ । कुनै कर्म गर्न मनुष्य आफ्नो हित सम्झन्छ, तर भइदिन्छ अहित । मनुष्य लाभकोलागि गर्छ, तर भइदिन्छ नोक्सान । ऊ सुखकोलागि गर्छ, तर पाउँछ दुःख । कारण कि कर्तृत्वाभिमान र फलेच्छा (सुखासक्ति) रहेकोले मनुष्य कर्महरुको गति बुझ्न सक्तैन ।  

Song of the Session: Guru_Ashtakam

155. No. 122 श्लोक १६ कर्म के हो र अकर्म के हो -- यस्तो प्रकारले यो विषयमा विद्वान् पनि मोहित हुन्छन्, अतः

No. 122
श्लोक १६

कर्म के हो र अकर्म के हो -- यस्तो प्रकारले यो विषयमा विद्वान् पनि मोहित हुन्छन्, अतः त्यो कर्म तत्व म तिमीलाई राम्रोसँग भन्नेछु । यो कर्म तत्व जानेर तिमी अशुभ संसारबन्धनदेखि मुक्त हुनेछौ ।

साधारणतः हामी शरीर र इन्द्रियहरुका क्रियाहरुलाई नै कर्म मान्छौं तथा शरीर र इन्द्रियहरुका क्रियाहरु बन्द हुनुलाई अकर्म मान्छौं । परन्तु भगवानले शरीर, वाणी र मनवाट हुने समस्त क्रियाहरुलाई पनि कर्म मान्नुभएको छ ।

भाव अनुसार नै कर्मलाई कर्म भनिन्छ । भाव वदलिंदा कर्मको नाम पनि वदलिन्छ । जस्तो, कर्म स्वरूपले सात्विक देखिए पनि कर्मको भाव राजस या तामस भयो भने त्यो कर्म राजस या तामस हुन्छ । जस्तो, कोही देवीको उपासनारुप सात्विक कर्म गरिरहेछ । तर त्यही कर्म कुनै कामना सिद्धिकोलागि गरिएको छ भने त्यो राजस हुन्छ र कसैको नाश गर्न गरिएको छ भने त्यही कर्म राजस हुन्छ । यही प्रकारले कर्तामा फलेच्छा, ममता र आसक्ति छैन भने ऊद्वारा गरिएका कर्म 'अकर्म' हुन्छन् अर्थात् फलमा वाँध्ने हुँदैनन् । तात्पर्य, केवल वाहिरी क्रिया गर्नु र नगर्नुले कर्मको वास्तविक स्वरूपको ज्ञान हुँदैन । यो विषयमा शास्त्रहरू जान्ने ठूला ठूला विद्वान् पनि मोहित हुन्छन् अर्थात् कर्मको तत्वको यथार्थ निर्णय गर्न सक्तैनन् । उनीहरुले मानेको क्रिया कर्म पनि हुन सक्छ, अकर्म पनि हुन सक्छ र विकर्म पनि हुन सक्छ । कारण, कर्ताको भाव अनुसार कर्मको स्वरूप वदलिन्छ । यसैले भगवान भन्नुहुन्छ, 'वास्तविक कर्म के हो ? त्यसले किन वाँध्छ ? कसरी वाँध्छ ? यसवाट व्यक्ति कुन तरहले मुक्त हुन सक्छन् ? -- यी सबै कुराको म विवेचन गर्छु । यो विवेचन बुझेर त्यही प्रकारले कर्म गरे ती कर्महरु वाँध्ने खालका हुन सक्तैनन् ।

यदि मनुष्यमा ममता, आसक्ति र फलेच्छा छ भने कर्म नगर्दा पनि वास्तवमा कर्म भइरहेछ अर्थात् कर्महरुमा लिप्तता छ । परन्तु यदि कर्ममा ममता, आसक्ति र फलेच्छा छैन भने कर्म गरिरहँदा पनि कर्म भइरहेको हुँदैन अर्थात् कर्महरुसँग निर्लिप्तता छ । तात्पर्य, यदि कर्ता निर्लिप्त छ भने कर्म गर्नु अथवा नगर्नु -- दुवै अकर्म नै हुन् र यदि कर्ता लिप्त छ भने कर्म गर्नु अथवा नगर्नु -- दुवै नै कर्म हुन् र वाँध्ने खालका हुन् ।

भगवानले कर्मको दुई भेद वताउनु भएको छ -- कर्म र अकर्म । कर्मले जीव वाँधिन्छ र अकर्मले (अरुकोलागि कर्म गर्दा)  जीव मुक्त हुन्छ ।

कर्महरुको त्याग अकर्म होइन । मोहपूर्वक गरिएका कर्महरुको त्यागलाई भगवानले भगवानले 'तामस' त्याग भन्नुभएको छ । त्यस्तै, शारीरिक कष्टको डरले गरिएका; त्यसैले  कर्मको त्यागलाई 'राजस' त्याग भन्नुहुन्छ भगवान ।


तामस र राजस त्यागमा कर्महरुको स्वरूपले त्याग हुँदा पनि कर्महरुसँग सम्बन्ध-विच्छेद हुँदैन । कर्महरुमा फलेच्छा र आसक्तिको त्याग 'सात्विक' त्याग हो ।  सात्विक त्यागमा स्वरूपले कर्म गर्नु पनि वास्तवमा अकर्म नै हो; किनकि सात्विक त्यागमा कर्महरुसँग सम्बन्ध-विच्छेद हुन्छ । अतः गरिरहँदा पनि निर्लिप्त रहनु वास्तवमा अकर्म हो ।

शास्त्रहरू तत्वले जान्ने विद्वान् पनि अकर्म के हो -- यो विषयमा मोहित हुन्छन् । अतः कर्म गर्दा पनि र नगर्दा पनि जीव नबाँधियोस्, यो तत्व सम्झंदा (बुझ्दा) नै कर्म के हो र अकर्म के हो भन्ने कुरा बुझ्न सकिन्छ । अर्जुन युद्धरुप कर्म नगर्न कल्याणकारक सम्झन्छन् । यसैले भगवान भन्नुहुन्छ, 'युद्धरूप कर्महरु त्यागेर मात्रै तिम्रो अकर्म-अवस्था (बन्धनवाट मुक्ति) हुँदैन, वरु युद्ध गर्दा गर्दै पनि तिमी अकर्म-अवस्था प्राप्त गर्न सक्छौ; त्यसैले अकर्म के हो भन्ने तत्व बुझ्नु पर्यो तिमीले।'

निर्लिप्त रही रही कर्म गर्ने र कर्म गरिरहँदा निर्लिप्त रहने अवस्था नै वास्तवमा अकर्म-अवस्था हो । साधारण मनुष्यहरूमा कर्म र अकर्मको तात्विक निर्णय गर्न सक्ने सामर्थ्य छैन । शास्त्रहरुका ठूला ठुला जानकारहरुवाट  पनि यो विषयमा भूल हुन्छ । कर्म र अकर्मको तत्व जान्न उनीहरुको बुद्धि अलमलिन्छ । तात्पर्य, कर्मको र अकर्मको तत्व कि त कर्मयोगवाट सिद्ध भएका अनुभवी महापुरुष जान्दछन् कि त भगवान जान्नुहुन्छ ।

कर्ममा फसेको जीव कर्मवाट मुक्त हुन पनि सक्छ । यहाँ भगवान प्रतिज्ञा गर्नुहुन्छ, 'म त्यो कर्म-तत्व तिमीलाई भलिभाँती भन्नेछु, जसवाट कर्म गर्दा गर्दै पनि ती कर्म बन्धनकारक नहून् । अर्को शब्दमा, म तिमीलाई कर्म गर्ने त्यो विद्या सिकाउँछु, जुन जानेर कर्म गर्दा गर्दै पनि तिमी जन्म-मरणरुप बन्धनदेखि मुक्त हुनेछौ ।'

कर्म गर्ने दुई मार्ग छन् -- प्रवृत्ति मार्ग र निवृत्ति मार्ग । प्रवृत्तिमार्गलाई 'कर्म गर्ने' र निवृत्तिमार्गलाइ 'कर्म नगर्ने' भन्छन् । यी दुवै मार्गले बाँध्ने होइनन् हामीलाई । चाहे प्रवृत्तिमार्ग होस्, चाहे निवृत्तिमार्ग, हामीलाई बाँध्ने त हाम्रै आसक्ति, कामना, ममता हो । यदि कामना, ममता र आसक्ति छैन भने प्रवृत्तिमार्ग र निवृत्तिमार्ग दुवैमा मनुष्य स्वतः मुक्त छ । यो कुरा बुझ्नु नै कर्म-तत्व बुझ्नु हो ।

दोश्रो अध्यायमा भगवानले 'कर्महरुमा योग नै कुशलता हो' भनेर कर्म तत्व वताउनु भएको छ । तात्पर्य हो, कर्मबन्धनवाट छुट्ने वास्तविक उपाय 'योग' अर्थात् समता नै हो । परन्तु अर्जुनले यो कुरा बुझ्न सकेनन् । यसैले भगवान यो तत्व फेरि सम्झाउने प्रतिज्ञा गरिरहनु भएको छ ।

कर्मयोग कर्म होइन, सेवा हो । सेवामा त्यागको मुख्यता हुन्छ । सेवा र त्याग -- यी दुवै कर्म होइनन् । यी दुईमा विवेकको नै प्रधानता छ ।  हामीसँग भएका शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि वस्तुहरु सबै हामीले पाइएका हुन् र हामीवाट छुट्छन  । पाइएका वस्तुलाई आफ्नो मान्ने अधिकार हामीलाई छैन । संसारवाट पाइएका वस्तुहरु संसारको नै सेवामा लगाइदिने हाम्रो अधिकार हो । हाम्रो आफ्नो वस्तु स्वरूप) को त्याग हुनै  सक्तैन र आफ्नो नभएको वस्तु (शरीर र संसार) सँग त्याग स्वतःसिद्ध छ । त्याग त्यसैको हुन्छ, जुन आफ्नो होइन, तर जसलाई भूलले आफ्नो मानिएको छ । वास्तवमा आफ्नोपनको  मान्यताको नै त्याग हुन्छ । जुन वस्तु आफ्नो हुँदै होइन, त्यसलाई आफ्नो नमान्नु कसरी त्याग हुन्छ ? यो त विवेक हो ।

विवेक कुनै कर्मको फल होइन । यो विवेक सबै प्राणीहरुलाई अनादिकालदेखि स्वतः प्राप्त छ । विवेक कुनै शुभ कर्मको फल भए विवेक विना त्यो शुभ कर्म को गर्थ्यो ? किनकि विवेक द्वारा नै मनुष्य शुभ र अशुभ कर्मको भेदलाई जान्दछ तथा अशुभ कर्म त्यागेर शुभ कर्मको आचरण गर्छ । अतः विवेक शुभ कर्मको कारण हो, कार्य होइन । यो विवेक स्वतःसिद्ध छ । यसैले कर्मयोग पनि स्वतःसिद्ध छ, अर्थात् कर्मयोगमा परिश्रम छैन । यस्तै ज्ञानयोगमा आफ्नो असंग स्वरूप स्वतःसिद्ध छ र भक्ति-योगमा भगवानसँग सम्बन्ध स्वतःसिद्ध छ ।

जीव स्वयं शुभ छ र परिवर्तनशील संसार अशुभ छ । जीव स्वयं परमात्माको नित्य अंश हुँदा पनि परमात्मासँग विमुख भएर अनित्य संसारमा फँसेको छ । भगवान भन्नुहुन्छ, 'म त्यो कर्म तत्वको वर्णन गर्छु, जुन जानेर कर्म गरे तिमी अशुभदेखि मुक्त हुनेछौ ।

कर्मयोगको तात्पर्य, 'कर्म' संसारकोलागि र 'योग' आफ़्नोलागि । कर्मका दुई अर्थ हुन्छन् -- कर्म गर्नु र नगर्नु । यी दुवै (कर्म गर्नु र नगर्नु) प्राकृत अवस्थाहरु हुन् । यी दुवै अवस्थाहरुमा अहंता रहन्छ । कर्म गर्दा 'कार्य' रूपले अहंता रहन्छ, र कर्म नगर्दा 'कारण' रूपले । अहंता रहुन्जेल संसारसँग सम्बन्ध छ । परन्तु 'योग' दुवै अवस्थाहरु भन्दा अतीत छ । त्यो योगको अनुभव गर्न अहंतादेखि रहित हुनु आवश्यक छ । अहंतादेखि रहित हुने उपाय हो -- कर्म गरी गरी अथवा नगरी योगमा स्थित रहने र योगमा स्थित रहेर कर्म गर्ने  अथवा नगर्ने । अर्थ, कर्म गर्नु अथवा नगर्नु -- दुबै अवस्थामा निर्लिप्तता रहोस् ।

 कर्म गर्दा संसारसँग र कर्म नगर्दा परमात्मासँग प्रवृत्ति हुन्छ -- यस्तो मान्दै संसारदेखि निवृत्त भएर एकान्तमा ध्यान र समाधि लगाउनु पनि कर्म नै हो । एकान्तमा ध्यान र समाधि लगाउँदा तत्वको साक्षात्कार हुनेछ -- यस्तो प्रकारले भविष्यमा परमात्मतत्व प्राप्ति गर्ने भाव पनि कर्मको सूक्ष्म रुप हो । कारण कि गर्ने आधारमा नै भविष्यमा तत्वाप्रप्तिको आशा हुन्छ । परन्तु परमात्मतत्व गर्ने र नगर्ने -- दुबैदेखि अतीत छ । 

भगवान भन्नुहुन्छ, 'म तिमीलाई त्यो कर्म-तत्व भन्नेछु जुन जानेर तिमीलाई तत्काल परमात्मतत्वको प्राप्ति हुनेछ । यसकोलागि भविष्यको आशा गर्नु पर्दैन; किनकि परमात्मतत्व सम्पूर्ण देश, काल, वस्तु, व्यक्ति, शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण आदिमा समानरूपमा परिपूर्ण छ । मनुष्य जहाँ छ, परमात्मा त्यहीं हुनुहुन्छ । कर्म गर्दा अथवा नगर्दा -- दुवै अवस्थाहरुमा परमात्मतत्वको हामीसंग सम्बन्ध जस्ताको तस्तो रहन्छ । केवल प्रकृतिजन्य क्रिया र पदार्थसँग सम्बन्ध मानेको कारण नै त्यसको अनुभूति भइरहेको छैन ।

अहंतापूर्वक गरिएका साधन र साधनको अभिमान रहुन्जेल अहंता हट्दैन, झन् झन् दृढ हुन्छ; चाहे त्यो अहंता स्थूलरूपले (कर्म गर्नेसँग) रहोस् अथवा सूक्ष्मरूपले (कर्म नगर्नेसँग) रहोस् ।

'म गर्छु' भन्दा हुने अहंता 'म गर्दिन' भन्दा पनि छ । आफ़्नोलागि केही नगरे अर्थात् कर्ममात्र संसारको हितकोलागि गरे अहंता संसारमा विलीन हुन्छ । 

154. No. 121 श्लोक १५ पूर्वकालमा मुमुक्षुहरुले पनि यस्तै प्रकारले जानेर कर्म गरेका थिए;

No. 121
श्लोक १५
पूर्वकालमा मुमुक्षुहरुले पनि यस्तै प्रकारले जानेर कर्म गरेका थिए; यही कारण तिमी पनि पूर्वजहरु द्वारा सँधै गरिएको कर्महरूलाई उनीहरुले (पूर्वजहरुले) गरे जस्तै गरी गर ।
अर्जुन मुमुक्षु थिए अर्थात् आफ्नो कल्याण चाहन्थे । परन्तु युद्धरूपले प्राप्त आफ्नो कर्तव्य-कर्म गर्न उनले कल्याण देख्दैनन् । यही कारण उनी यो युद्धरूप कर्मलाई घोर-कर्म  ठानेर त्यसको त्याग गर्न चाहन्छन्  । यसैले भगवान अर्जुनलाई पहिलेका मुमुक्षुहरुको उदाहरण दिंदै भन्नुहुन्छ, 'उनीहरुले पनि आफ्नो-आफ्नो कर्तव्य-कर्महरु पालन गरेर कल्याण प्राप्त गरे, तिमी पनि उनीहरु जस्तो आफ्नो कर्तव्यको पालन गर ।
तेस्रो अध्यायमा जनक राजाहरुको उदाहरणले भनिएको कुरो यहाँ भनिएको छ ।  शास्त्रमा प्रसंग छ, मुमुक्षुता जाग्रत भएपछि कर्महरु स्वरूपले नै छोडिदिनु पर्छ; किनकि मुमुक्षापछि मनुष्य कर्मको अधिकारी हुँदैन; ज्ञानको अधिकारी हुन्छ । तर यहाँ भगवान भन्नुहुन्छ, मुमुक्षुहरुले पनि कर्मयोगको तत्व जानेर कर्म गरेका छन् । यसैले मुमुक्षा जाग्रत भएपछि आफ्नो कर्तव्य-कर्महरुको त्याग गर्नु हुँदैन, वरु निष्कामभावपूर्वक कर्तव्य-कर्म गरिरहनु पर्छ ।
कर्मयोगको तत्व हो -- कर्म गरी गरी योगमा स्थित रहने र योगमा स्थित भई भई कर्म गर्ने । कर्म संसारकोलागि र योग आफ्नोलागि हुन्छ । कर्महरु गर्ने र नगर्ने दुई अवस्थाहरु छन् । अतः प्रवृत्ति (कर्म गर्ने) र निवृत्ति (कर्म नगर्ने) -- दुवै नै प्रवृत्ति (कर्म गर्ने) हुन् । प्रवृत्ति र निवृत्ति -- यी दुवैवाट माथि उठ्नु योग हो, त्यही नै पूर्ण निवृत्ति हो । पूर्ण निवृत्ति कुनै अवस्था होइन ।
यो कर्मयोग (विद्या) जानेर फलेच्छा त्यागेर कर्म गर्ने मनुष्य वांधिदैन, कारण कि फलेच्छावाट नै मान्छे वाँधिन्छ । आफ्नो सुखाभोगकोलागि अथवा धन, मान, वड़ाई,  स्वर्ग आदि पाउन व्यक्तिले कर्म गर्दा ती कर्म उसलाई  वाँध्ने हुन्छन् । परन्तु उसको लक्ष प्राप्ति उत्पत्ति-विनाशशील संसार छैन भने उ संसारसँग सम्बन्ध विच्छेद गर्न निःस्वार्थभावले केवल अरुको हितकोलागि कर्म गर्छ । यसो गर्दा उसलाई कर्मले वाँध्दैनन् । किनकि अरुको हितकोलागि कर्म गर्दा कर्महरुको प्रवाह संसारतर्फ हुन्छ । यसरी व्यक्तिको कर्महरुको सम्बन्ध हट्छ र फलेच्छा नरहँदा नयाँ सम्बन्ध पैदा हुँदैन ।
यी शब्दहरुले भागवान् अर्जुनलाई आज्ञा दिइरहनुभएको छ, 'तिमी मुमुक्षु हौ, यसैले मुमुक्षुले पहिले पहिले लोकको हितकोलागि कर्म गरे जस्तै तिमी पनि संसारको हितकोलागि कर्म गर ।'
शरीर, इन्द्रियहरु, मन, बुद्धि सबै आफू भन्दा भिन्न तथा संसारदेखि अभिन्न छन् । ती चीजहरु संसारका हुन् र संसारको सेवाकोलागि नै पाइएका हुन् । तिनलाई आफ्नो मानेर कर्म गर्दा कर्महरुको सम्बन्ध आफूसँग हुन्छ । जव सम्पूर्ण कर्म केवल अरुको हितकोलागि गरिन्छन्, त्यो वेला कर्महरुको सम्बन्ध हामीसँग हुँदैन । कर्महरुसँग सर्वथा सम्बन्ध-विच्छेद भएपछि 'योग' अर्थात् परमात्मासँग सम्बन्धको अनुभव हुन्छ, जुन सम्बन्ध पहिलेदेखि नै छ ।
यो श्लोक भन्दा अघिका केही श्लोकहरुमा भगवानले वताउनु भयो, कर्तृत्वाभिमान र फलेच्छादेखि रहित भएर सृष्टि-रचना आदि गरेको कारण ती कर्म मलाई वाँध्दैनन् । यहाँ भगवान भन्नुहुन्छ, मुमुक्षुहरुले पनि यसै गरी कर्तृत्वाभिमान फलेच्छाको त्याग गरेर कर्म गरेका थिए । कारण कि कर्तृत्वाभिमान र फलेच्छा हुँदा नै कर्म बन्धनकारक हुने हुन् । यसैले तिमी पनि त्यही किसिमले कर्म गर ।
ज्ञानयोगमा पहिले कर्तृत्वाभिमानको त्याग गरिन्छ, त्यसपछि फलेच्छाको त्याग स्वतः हुन्छ । कर्मयोगमा पहिले फलेच्छाको त्याग गरिन्छ, त्यसपछि कर्तृत्वाभिमानको त्याग सजिलोसँग हुन्छ ।