Friday, 26 December 2014

Gita: Chapter 7: Slok 1 - पहिलो श्लोकको वांकी अंश सत्वगुण, रजोगुण र तमोगुणवाट उत्पन्न हुने किसिम किसिमका भावहरु (प्राकृत पदार्थ र

No. 210 

पहिलो श्लोकको वांकी अंश 

सत्वगुण, रजोगुण र तमोगुणवाट उत्पन्न हुने किसिम किसिमका भावहरु (प्राकृत पदार्थ र क्रियाहरु) सब-का-सब भगवानको शक्ति प्रकृतिवाट नै उत्पन्न हुन्छन् । परन्तु प्रकृति भगवानदेखि अभिन्न भएको कारण यी गुणहरुलाई भगवानले 'मत्त एव' 'मवाट नै हुन्छन्' भन्नुभयो । तात्पर्य, प्रकृति भगवानदेखि अभिन्न हुनाले यी सबै भाव भगवानवाट नै उत्पन्न हुन्छन् र भगवानमा नै लीन हुन्छन्, तर परा प्रकृति (जीवात्मा)ले नै यिनीहरुसँग सम्बन्ध जोड्यो अर्थात् यिनलाई  आफ्नो र आफ़्नोलागि मान्यो । यही नै परा प्रकृतिले जगतलाई धारण गर्नु हो । यसैवाट ऊ (जीवात्मा) जन्मी मरिरहन्छ । अव त्यो बन्धनको निवारणकोलागि यहाँ भनिन्छ, सात्विक, राजस र तामस सबै भाव मवाट नै हुन्छन् । यही रीतिले दसौं अध्यायमा भनिएको छ -- 'भवन्ति भावा भूतानाम् मत्त एव पृथग्बिधा:' अर्थात् प्राणीहरुको भिन्ना-भिन्नै प्रकारका (बीस) भाव मवाट नै उत्पन्न हुन्छन: र 'अहं सर्वस्य प्रभवो मत्त सर्वं प्रवर्तते' अर्थात् सबैको प्रभव म हुँ र सबै मवाट प्रवृत्त हुन्छन् । पन्ध्रौँ अध्यायमा पनि भगवानले भन्नुभएको छ, -- 'मत्तः स्मृतिर्ज्ञानमपोहनं च' । जव सबै परमात्मावाट नै उत्पन्न हुन्छन् भने मनुष्यको ती गुणहरुसँग कुनै सम्बन्ध नै छैन । आफूसँग गुणको सम्बन्ध नमाने यो मनुष्य बाँधिदैन अर्थात् ती गुण उसकोलागि जन्म-मरणको कारण वन्दैनन् ।

गीतामा भक्तिको वर्णन भएको ठाउँमा भगवान भन्नुहुन्छ, सबै म नै हुँ -- 'सदसच्चाहमर्जुन' र अर्जुन पनि भगवानलाई भन्छन् कि हजुर सत् पनि हुनुहुन्छ र असत् पनि हुनुहुन्छ तथा ती (सत् र असत् देखि पर (श्रेष्ठ) पनि हुनुहुन्छ -- 'सदसत्तत्परं यत्' । ज्ञानी (प्रेमी) भक्तलाई पनि भगवान भन्नुहुन्छ, उसको दृष्टिमा वासुदेव मात्रै छ -- 'वासुदेवः सर्वम्' । कारण, भक्तिमा श्रद्धा र मान्यताको मुख्यता हुन्छ तथा भगवानमा दृढ अनन्यता हुन्छ । भक्तिमा अन्यको अभाव हुन्छ । भक्तलाई भगवान सिवाय अरु कुनै देखिंदै देखिंदैन, केवल भगवान मात्रै देखिनु हुन्छ । 

गीतामा आएको ज्ञानको वर्णनमा भगवान वताउनु हुन्छ, सत् र असत् -- दुवै अलग अलग छन् -- 'नासतो विद्यते भावो नाभावो विद्यते सतः' । ज्ञानमार्गमा शरीर-शरीरी, देह-देही, क्षेत्र-क्षेत्रज्ञ, प्रकृति-पुरुष -- दुवै छुट्टा छुट्टै जान्ने कुरा धेरै चोटी आएको छ; जस्तो, -- 'प्रकृतिम् पुरुषम् चैव विद्यनादि उभावपि' 'क्षेत्रक्षेत्रज्ञयोर्ज्ञानम्', क्षेत्रक्षेत्रज्ञसंयोगात्', 'क्षेत्रक्षेत्रज्ञयोरेवमन्तरं ज्ञानचक्षुषा' । कारण, ज्ञानमार्गमा विवेकको प्रधानता हुन्छ । अतः त्यहाँ नित्य-अनित्य, अविनाशी-विनाशी आदिको विचार हुन्छ र फेरि आफ्नो स्वरूप निर्लिप्त छ भन्ने बोध हुन्छ ।

साधक्मा श्रद्धा र विवेक -- दुवै रहनु पर्छ । भक्तिमार्गमा श्रद्धाको मुख्यता हुन्छ र ज्ञानमार्गमा विवेकको मुख्यता हुन्छ ।यस्तो हुँदा पनि भक्तिमार्गमा विवेकको र ज्ञानमार्गमा श्रद्धाको अभाव छैन । भक्तिमार्गमा मान्छन्, सात्विक, राजस, र तामस भाव भगवानवाट नै हुन्छन् (सातौँ अध्यायको वारहौं श्लोक) र ज्ञानमार्गमा मान्छन्, सत्व, रज र तम -- ती तीनै गुण प्रकृतिवाट नै हुन्छन् -- 'सत्वं रजस्तम इति गुणा: प्रकृति सम्भवा:'। दुवै थरीका साधक आफूमा निर्विकारता मान्छन् कि गुण आफ़्ना हैनन् र दुवैले एकै तत्व प्राप्त गर्छन् , त्यहाँ न द्वैत भन्न सकिन्छ, न अद्वैत; न सत् भन्न सकिन्छ न असत् । 

भक्तिमार्गका साधक भगवानसँग अभिन्न भएर प्रकृतिसँग सर्वथा रहित हुन्छ र ज्ञानमार्गका साधक प्रकृति एवं पुरुषको विवेक गरेर प्रकृतिसंग विल्कुल असम्बद्ध आफ्नो स्वरूपको साक्षात् अनुभव गरेर प्रकृतिसँग सर्वता सम्बन्धरहित हुन्छ |

'मत्तःपरतरं नान्यत् किञ्चिदस्ति' को विस्तार गर्दै भगवानले  अघिका चार श्लोकमा भनेका र नभनेका सबै कुराको उपसंहार यो श्लोकमा गरिदिनुभएको छ । भगवान भन्नुहुन्छ, सम्पूर्ण, सात्विक, राजस र तामस भाव मवाट उत्पन्न हुन्छन्, मवाट नै सत्ता-स्फुर्ति पाउँछन् तथापि यी ममा छैनन् र यिनमा म छैन अर्थात् सबै म-नै-म छु । अतः मेरो प्राप्ति चाहने साधकको दृष्टि यी भावहरुतर्फ नभएर मतर्फ नै रहनुपर्छ । यदि साधक यी भावहरुमा अल्झिन्छ भने ऊ कहिले पनि मुक्त अथवा भक्त हुन सक्तैन।
  
भगवानवाट उत्पन्न भएको कारण, यहाँ सात्विक, राजस र तामस गुणहरुलाई 'भाव' नामले भनिएको छ । तात्पर्य, भगवान भाव (सत्ता) रूप हुनुहुन्छ , अतः उहाँवाट भाव नै उत्पन्न हुनेछ, अभाव कसरी उत्पन्न होला ? भगवानवाट उत्पन्न यी सबै भगवानका नै स्वरूप हुन् -- 'भवन्ति भावा भूतानाम् मत्त एव पृथग्विधा:।'  तात्पर्य, शरीर-इन्द्रियहरु-मन-बुद्धिवाट हुने सात्विक, राजस र तामस भाव, क्रिया, पदार्थ आदि ग्रहण गरिन्छन् । यी सबै भगवान नै हुन् । मनका  सबै स्फुरणा, चाहे राम्रा हुन् या नराम्रा, भगवान नै हुन् । संसारमा राम्रा-नराम्रा, शुद्ध-अशुद्ध, शत्रु-मित्र, दुष्ट-सज्जन, पापात्मा, आदि  जे सुकै देख्न, सुन्न, भन्न, विचार गर्न, बुझ्नमा आउने सबै खालि भगवान नै हुन् । भगवान सिवाय कहिँ केही पनि छैन । 

आफ्नो कुनै इच्छा राखे, लिने इच्छा राखे नै सात्विक, राजस र तामस -- यी तीन भेदहरु हुन्छन् । यदि आफ्नो कुनै स्वार्थ नराखे र अरुको हितको दृष्टि राखे यी भगवानका नै स्वरूप हुन् । यिनीहरुलाई आफ़्नोलागि मान्नु, यिनवाट सुख लिनु नै पतनको कारण हो । 

'तीनै गुण मवाट नै प्रकट हुन्छन्' -- यस्तो भनेर भगवानले यो प्रकट गर्नुभएको छ कि साधकको दृष्टि यी गुणहरु तर्फ नगएर म गुणातीततिर नै जानुपर्छ । अर्थात् मेरो सत्ता र महत्ता मानेर मसँग सम्बन्ध जोड्नु पर्छ । यसो भए मेरो प्राप्ति हुनेछ र सँधैकोलागि दुःख मेटिएर महान् आनन्दको अनुभव हुनेछ । 'म तिनमा छैन र उनीहरु ममा छैनन्' -- यस्तो भनेर भगवानले यो भाव प्रकट गर्नु भएको छ कि यदि कुनै मनुष्यले मलाई सत्ता र महत्ता नदिएर सात्विक, राजस र तामस गुण, पदार्थ तथा क्रियालाई सत्ता र महत्ता दिएर उनीहरुसँग जोड्यो भने ऊ मलाई प्राप्त नभएर जन्म-मरणमा जान्छ -- 'कारणम् गुणसंगोस्य सद्सद्योनिजन्मसु' । 

'मत्त एव' पदहरुको प्रयोग गरेर भगवान भन्नुहुन्छ, तीनै गुण मवाट नै उत्पन्न हुन्छन् । अनि तिमी मतिर न आएर गुणहरुमा किन फस्छौ ? गुणहरुमा फस्नेहरु मेरो भजन गर्न सक्तैनन् । तर गुणहरुमा नफस्नेहरु मेरो भजन गर्छन् ।यी गुणहरु टिक्ने खालका छैनन्; किनकि कारण टिक्छ, कार्य टिक्दैनन् । गुण त परिवर्तनशील र मेटिने खालका छन्, तर भगवान नित्य-निरन्तर जस्ता-को-तस्तो रहनुहुन्छ । उहाँको न परिवर्तन हुन्छ, न नाश । यसैले भगवानको प्राप्ति गुणहरुले हुँदैनन्, गुणहरुको सम्बन्ध विच्छेदले हुन्छ । अतः तमोगुणलाइ रजोगुणले र रजोगुणलाइ सत्वगुणले जितेर गुणहरुदेखि अतीत हुनु छ । 

सगुण -साकार भगवान पनि वास्तवमा निर्गुण नै हुनुहुन्छ; किनकि उहाँ सत्व, रज र तमोगुणले युक्त हुनुहुन्न । उहाँ त ऐश्वर्य, माधुर्य, सौन्दर्य, औदार्य आदि गुणहरुले युक्त हुनुहुन्छ । यसैले सगुण-साकार भगवानको भक्तिलाई पनि निर्गुण (सत्वादि गुणहरुदेखि रहित) भनिएको छ । 

भगवान सबै ठाउँमा भए पनि उहाँलाई प्राप्त गर्ने स्थान यज्ञ (कर्तव्य-कर्म)  हो -- 'तस्मात्सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम्' । परन्तु सात्विक, राजस र तामस भाव उहाँको प्राप्ति स्थान होइन अर्थात् यी भाव द्वारा भगवानको प्राप्ति हुँदैन । यसैले यी भावहरु साधकको कामका चीज होइनन् । यसैले भगवान्ले भन्नुभएको छ, यी भावहरु मवाट भए पनि यिनमा म छैन र यिनीहरु ममा छैनन् । 

साधकको लक्ष पनि केवल भगवानको हुनु पर्छ, संसारको होइन । भगवान प्राप्त गर्न साधकले संसारको सेवा गर्नु पर्छ ।सेवा सिवाय संसारको कुनै मतलव राख्नु हुँदैन । सात्विक, राजस र तामस भाव मूढ (अविवेकी) मनुष्यहरुकोलागि हो, यी तीनै भाव मनुष्यलाई बाँध्छन् । यसैले यी भाव भगवानका रुप भए पनि स्वयंकालागि होइनन्, विवेकपूर्वक सांसारिक व्यवहारकालागि हुन् । जस्तो, विष पनि भगवानको नै रुप हो, तर विष खानकोलागि होइन । भगवानवाट पैदा हुने भए पनि सात्विक, राजस र तामस भावहरुमा भगवान हुनुहुन्न र भगवानमा सात्विक, राजस र तामस भाव छैनन् ।                       

Gita: Chapter 7: Slok 11 - श्लोक ११ हे भरतवंशीहरुमा श्रेष्ठ अर्जुन ! वलवानहरुमा काम र रागदेखि रहित वल म हुँ र प्राणीहरुमा

No. 209

श्लोक ११ 

हे भरतवंशीहरुमा श्रेष्ठ अर्जुन ! वलवानहरुमा काम र रागदेखि रहित वल म हुँ र प्राणीहरुमा धर्मदेखि अविरूद्ध (धर्मयुक्त) काम पनि म हुँ । 

'वलम् वलवलवतां चाहं कामरागविवर्जितम्' -- कठिन भन्दा कठिन काम गर्दा पनि आफू भित्र एउटा कामना-आसक्तिरहित शुद्ध, निर्मल उत्साह रहन्छ । काम पूरा हुँदा पनि 'मेरो कार्य शास्त्र र धर्म अनुकूल हो  तथा लोकमर्यादा अनुसार सन्तजनअनुमोदित छ' भन्ने विचारले मनमा एउटा उत्साह रहन्छ । यसको नाम वल हो । यो वल भगवानको नै स्वरूप हो । यसैले यो वल ग्राह्य (ग्रहण गर्नु पर्ने) हो । 

गीतामा भगवानले आफैं वलको व्याख्या गरिदिनु भयो । सत्रौं अध्यायको पाँचौं श्लोकमा 'कामरागवलन्विताः' शब्दहरुमा आएको वल कामना र आसक्तिले युक्त हुनाले दुराग्रहको वाचक हो । अतः यो वल भगवानको स्वरूप होइन, आसुरी सम्पत्ति हुनाले त्याज्य हो । यस्तै, 'सिद्धोहं बलवान्सुखी' र 'अहंकारं बलं दर्पम्' पदहरुमा आएको बल त्याज्य छ । छैठौं अध्यायको चौतिसौं श्लोकमा 'बलबद्धृढम्' पदमा आएको बल शब्द मनको विशेषण हो । यो बल पनि आसुरी सम्पत्तिको नै हो; किनकि त्यसमा कामना र आसक्ति छ । तर यहाँ वर्णित बल कामना र आसक्तिदेखि रहित छ । यसैले यो वल सात्विक उत्साहको वाचक हो र ग्राह्य हो । सत्रौं अध्यायको आठौँ श्लोकमा 'आयुःसत्वबलारोग्य ……'  पदमा आएको बल शब्द पनि यही सात्विक बलको वाचक हो । 

'धर्माविरूद्धो भूतेषु कामोस्मि भरतर्षभ' -- हे भरतवंशिहरुमा श्रेष्ठ अर्जुन ! मनुष्यहरुमा धर्मदेखि अविरूद्ध अर्थात् धर्मयुक्त 'काम' मेरो स्वरूप हो । कारण, शास्त्र र लोक-मर्यादा अनुसार शुभ-भावले केवल सन्तान उत्पत्तिकोलागि हुने काम मनुष्यको अधीन हुन्छ । परन्तु आसक्ति, कामना, सुखभोग आदिकोलागि हुने काममा मनुष्य पराधीन हुन्छ र उसको वंशमा भएर त्यो व्यक्ति गर्न नहुने शास्त्रविरुद्ध काममा लाग्छ । शास्त्रविरूद्ध काम पतनको तथा सम्पूर्ण पापहरुको र दुःखहरुको हेतु हुन्छ । सम्पूर्ण जंगम सृष्टि कामवाट पैदा हुन्छन् । अतः मनुष्यमा भएको धर्मदेखि अविरूद्ध, मर्यादा अनुसारको काम भगवानको स्वरूप हो । भगवानले पहिले पनि भनिसक्नु भयो -- 'मत्तः परतरं नान्यत्किञ्चिदस्ति' र पछि पनि भन्नुहुन्छ -- 'ये चैव सात्विका भावा', वसुदेवः सर्वम्' । धर्मयुक्त काम भगवानको स्वरूप भए जस्तै धर्मविरुद्ध काम पनि भगवानदेखि छुट्टै छै । धर्मविरुद्ध आचरण गर्नेलाई भगवान नरकरूपले पाइनु हुन्छ; किनकि नरक पनि भगवान नै हुनुहुन्छ । परन्तु गीताको उपदेश मनुष्यलाई नरकहरुमा अथवा जन्म-मरणमा पठाउनु नभएर उसको कल्याण गर्नु हो ।उद्देश्य सँधै कल्याणको, आनन्दको नै हुन्छ, दुःखको होइन । दुःख कोही पनि चाहँदैन ।अर्जुनले पनि कल्याणको कुरा नै सोधेका हुन् । 

श्लोक १२ 

जति पनि सात्विक भाव छन्, र जति पनि राजस तथा तामस भाव छन्, ती सबै-का-सबै मवाट नै हुन्छन् -- यो कुरो तिमी बुझ । परन्तु म तिनमा (भावहरुमा) र ती भावहरु ममा छैनन् ।    
सबै सात्विक, राजस र तामस भाव (गुण, पदार्थ र क्रिया) पनि मवाट नै उत्पन्न हुन्छन् । यसको तात्पर्य, सम्पूर्ण सृष्टि जे भइरहेको छ, मूलमा सबैको आश्रय, आधार र प्रकाशक भगवान नै हुनुहुन्छ अर्थात् सबै भगवानको नै सत्ता-स्फूर्ति पाउँछन् ।                                                     
                 
सात्विक, राजस र तामस भाव भगवानवाट नै हुन्छन्, यसैले यिनमा भएका सबै विलक्षणता पनि भगवानका नै हुन् । अतः मनुष्यको दृष्टि भगवान तर्फ नै जानुपर्छ, सात्विक आदि भाव तर्फ होइन ।उसको दृष्टि भगवानतिर गए ऊ मुक्त हुनेछ र संसार तिर गए ऊ बाँधिन्छ ।        

सात्विक, राजस र तामस -- यी भावहरु (गुण, पदार्थ र सबै क्रियाहरु) भन्दा अतिरिक्त अरु कुनै भाव नै छैनन् । यी सबै भगवतस्वरूप नै हुन् । सबै मनुष्य सुख खोज्छन्, दुःख कोही पनि खोज्दैनन् । अनुकूल-परिस्थिति शास्त्र विहित (शास्त्र अनुसार) कर्मको फल हो र प्रतिकूल परिस्थिति शास्त्र निषिद्ध (शास्त्रले भनेको नगर्ने) कर्महरुको फल हो । यसैले हामीलाई विहित कर्म गर्न निषिद्ध कर्म नगर्न लगाउँछ शास्त्र ।यदि निषिद्ध कर्मलाई पनि भगवतस्वरूप मानेर गरियो भने भगवान दुःखहरु र नरकहरुको रूपमा प्रकट हुनुहुन्छ । अशुभ कर्महरुको उपासना गर्नेको अगाडि भगवान नरकरूपले नै प्रकट हुनुहुन्छ; किनकि दुःख र नरक पनि भगवानका नै स्वरूप हुन् । 

गर्ने र नगर्ने कुरामा विधि र निषेध लागु हुन्छ । अतः त्यहाँ विहित नै गर्नु पर्छ, निषिद्ध गर्नु हुँदैन ।तर मान्ने र जान्ने कुरोमा परमात्मालाई नै 'मान्नु' पर्छ र आफूलाई र संसारलाई 'जान्नु' पर्छ ।

मान्ने कुरोमा परमात्मालाई नै मानेर उहाँलाई पाउने उत्कण्ठा वढाउनु पर्छ  । उहाँलाई पाउन र प्रसन्न गर्न उहाँको आज्ञाको पालन गर्नुपर्छ ।  भगवानको आज्ञा विरुद्ध काम गरियो भने उहाँलाई कसरी प्रसन्नता हुने ? र विरुद्ध काम गर्नेलाई उहाँ कसरी पाइने ? 

जान्ने कुरोमा संसारलाई जान्नु पर्छ । उत्पत्ति-विनाशशील सँधै संगै रहने होइन, त्यो आफ्नो होइन र आफ़्नोलागि पनि होइन -- यस्तो जानेर त्योसँग सम्बन्ध-विच्छेद गर्नु पर्छ । त्यसमा कामना, ममता, आसक्ति गर्नु हुँदैन । त्यसको महत्व हृदयदेखि नै हटाउनु पर्छ । यसवाट सत्-तत्व प्रत्यक्ष हुनेछ र जान्नु पूर्ण हुनेछ । असत् (नाशवान्) वस्तु हामीसँग रहने होइन -- यस्तो बुझेपछि पनि त्यसलाई समय समयमा महत्व दिइरहियो भने वास्तविकता (सत्-वस्तु) प्राप्त हुँदैन ।

'मत्त एवेति तान्विद्धि' -- ती सबैलाई तिमी मवाट नै उत्पन्न हुने भन्ने बुझ अर्थात् सबै म नै हुँ । कार्य र कारण -- यी दुवै भिन्न देखिंदा पनि कार्य कारणदेखि भिन्न र स्वतन्त्र सत्ता राख्दैन । अतः कार्य कारणरूप नै हुन्छ । जस्तो सुवर्णवाट गहना पैदा हुन्छन् भने ती सुवर्ण भन्दा अलग छुट्टै हुँदैनन् अर्थात् सुवर्ण नै हुन्छन् । त्यस्तै परमात्मावाट पैदा हुने अनन्त सृष्टि परमात्मादेखि भिन्न सत्ता राख्न सक्तैनन् । 
        
'मत्त एव' भन्नुको तात्पर्य, अपरा र पारा प्रकृति मेरो स्वभाव हो; अतः कोही मवाट भिन्न सिद्ध गर्न सक्तैन । सातौँ अध्यायको परिशिष्टरुप नवौं अध्यायमा भगवानले  भन्नुभएको छ, 'कल्पको आदिमा प्रकृतिको वशमा गरेर म वारम्वार सृष्टिको रचना गर्छु ।' भगवान अझ भन्नुहुन्छ, मेरो अध्यक्षतामा प्रकृति चराचर संसारको रचना गर्छ' -- यी दुवै कुराहरु एक नै भए । चाहे प्रकृतिलाई लिएर भगवान रचना गर्नुहोस्, चाहे भगवानको अध्यक्षतामा प्रकृति रचना गरोस् -- यी दुबैको तात्पर्य यौटै हो । भगवानले रचना गर्दा प्रकृतिलाई लिएर नै गर्नुहुन्छ भने मुख्यता भगवानको नै भयो प्रकृतिले भगवानको अध्यक्षतामा रचना गर्दा पनि भगवानको नै मुख्यता भयो । यही कुरालाई यहाँ भनियो, 'म सम्पूर्ण जगतको प्रभव र प्रलय हुँ' र यही कुरालाई उपसंहार गर्दै भगवान भन्नुहुन्छ, 'सात्विक, राजस र तामस -- यी मवाट नै हुन्छन ।'

भगवानले विज्ञानसहित ज्ञान भन्ने भन्ने प्रतिज्ञा गरेर जान्ने व्यक्तिहरुको दुर्लभता वताउँदै आरम्भ गरिएको क्रिया, त्यसमा अपरा र पारा प्रकृतिको कथन गर्नुभयो । अपरा र परा प्रकृतिहरुलाई सम्पूर्ण प्राणीहरुको कारण वताउनु भयो; किनकि यिनको संयोगले नै सम्पूर्ण प्राणीहरु पैदा हुन्छन् । फेरि आफूलाई यी अपरा र पराको कारण वताउनु भयो -- 'मत्त: परतरं नान्यत्' यही कुरा विभूतिहरुको वर्णनको उपसंहार गर्दै यही भन्नुभयो, सात्विक, राजस र तामस भावहरुलाइ मवाट हुने जान ।

'न त्वहं तेषु ते मयि' -- म तिनमा छैन र ती ममा छैनन् । तात्पर्य, ती गुणहरुको मेरो सिवाय कुनै स्वतन्त्र सत्ता छैन अर्थात् म-नै-म हुँ; म सिवाय अरु केही छैन । ती सात्विक, राजस, तामस जति पनि प्राकृत पदार्थ र क्रियाहरु छन्, ती सब-का-सब उत्पन्न र नष्ट हुन्छन् । परन्तु म उत्पन्न पनि हुन्न र नष्ट हुन्न । यदि म तिनमा हुने भए तिनको नाश हुँदा मेरो पनि नाश हुनु पर्ने । त्यसैले म तिनमा छैन ।यदि तिनीहरु ममा हुने भए म जस्तो अविनाशी उनीहरुमा हुनुपर्ने । तर तिनीहरु त नष्ट हुन्छन् र म रहिरहन्छु, यसैले यिनीहरु ममा छैनन् । 

बीज नै वृक्ष, शाखाहरु, पातहरु, फूल आदिको रूपमा हुन्छ, परन्तु वृक्ष, शाखाहरु, पात आदिमा बीज खोज्यौं भने तिनमा बीज पाउँदैनौं । यस्तै सात्विक, राजस र तामस भाव मवाट नै हुन्छन्; तर ती भावहरुमा तिमीले मलाई खोज्यौ भने तिनमा म पाइंदैन । कारण कि म तिनमा मूलरूपले र तत्वरूपले  विद्यमान छु । अतः म तिनमा र तिनीहरु ममा छैनन्  अर्थात् सबै म-नै-म छु ।

वादल आकाशमा नै उत्पन्न हुन्छन्, आकाशमा नै रहन्छन् र आकाशमा नै लीन हुन्छन्; परन्तु आकाश जस्ता-को-तस्तो निर्विकार रहन्छ । न आकाशमा वादल रहन्छन् र न वादलहरुमा आकाश रहन्छ । त्यस्तै आठौँ श्लोकहरुदेखि यहाँसम्म वताइएका सत्र विभूतिहरु सबै मवाट नै उत्पन्न हुन्छन्, ममा नै रहन्छन् र ममा नै लीन हुन्छन् । तर तिनीहरु ममा छैनन् र म तिनमा छैन । मेरो सिवाय तिनीहरुको स्वतन्त्र सत्ता छैन । यो दृष्टिले सबै म नै म हुँ । तात्पर्य, भगवान वाहेक  यहाँ देखिएका सात्विक, राजास, तामस भाव अर्थात् प्राकृत पदार्थ र क्रियाहरुको सत्ता मानेर र तिनलाई महत्ता दिएर यी मनुष्य फसिरहेका छन् । अतः भगवान ती मनुष्यलाई लक्ष यता गराउँदै भन्नुहुन्छ, 'यी सबै पदार्थ र क्रियाहरुमा भएको सत्ता र महत्ता मेरो नै हो । 

Gita: Chapter 7: Slok 9- श्लोक ९ पृथ्वीमा पवित्र गन्ध म हुँ र अग्निमा तेज म हुँ तथा सम्पूर्ण प्राणीहरुमा जीवनीशक्ति म हुँ र तपस्वीहरुमा तपस्या म हुँ ।

No. 208

श्लोक ९ 
पृथ्वीमा पवित्र गन्ध म हुँ र अग्निमा तेज म हुँ तथा सम्पूर्ण प्राणीहरुमा जीवनीशक्ति म हुँ र तपस्वीहरुमा तपस्या म हुँ ।

'पुण्यो गन्धः  -- पृथ्वी गन्ध-तन्मात्राले उत्पन्न हुन्छ, गन्ध-तन्मात्रामा रहन्छ र गन्ध-तन्मात्रामा नै लीन हुन्छ । तात्पर्य, गन्ध विना पृथ्वी केही पनि होइन । भगवान भन्नुहुन्छ, पृथ्वीको पवित्र गन्ध म नै हुँ । 

यहाँ गन्धसँग 'पुण्य' विशेषण दिनुको तात्पर्य हो, सबै गन्ध पृथ्वीमा नै रहन्छन् । त्यसमा पनि पुण्य अर्थात् पवित्र गन्ध पृथ्वीमा स्वाभाविक रहन्छ, तर दुर्गन्ध कुनै विकृतिले प्रकट हुन्छ । 

'तेजश्चास्मि विभावसौ' -- तेज रूप-तन्मात्राले प्रकट हुन्छ, त्यसैमा रहन्छ र त्यसैमा लीन हुन्छ । अग्निमा तेज नै तत्व हो । तेज विना अग्नि निस्तत्व छ, त्यो तेज म नै हुँ । 

'जीवनं सर्वभूतेषु' -- सम्पूर्ण प्राणीहरुमा एउटा जीवनीशक्ति, प्राणशक्ति छ । यही शक्तिमा सबै वाँचिरहेका छन् । यही प्राणशक्तिले गर्दा तिनीहरु प्राणी भनिएका छन् । प्राणशक्ति विना तिनीहरुमा कुनै प्राणीपना छैन । प्राणशक्तिको कारण नै गाढा निद्रामा सुतेको व्यक्ति पनि मुर्दा भन्दा विलक्षण देखिन्छ । त्यो प्राणशक्ति म नै हुँ । 

'तपश्चास्मि तपस्विषु' -- द्वन्द्वसहिष्णुतालाई तप भन्छन् । परन्तु वास्तवमा परमात्मा प्राप्तिकोलागि कति नै कष्ट आओस्, तिनमा निर्विकार रहनु नै सक्कली तप हो । यही तपस्वीहरुमा तप हो, यसैवाट उनीहरु तपस्वी भनिन्छन् र यही तपलाई भगवान आफ्नो स्वरूप भन्नुहुन्छ । तपस्वीहरूवाट यस्तो तप निकालिदिए उनीहरु तपस्वी रहँदैनन् ।

सृष्टिको रचनामा भगवान नै कर्ता, भगवान नै कारण र भगवान नै कार्य हुनुहुन्छ । अतः गन्ध र पृथ्वी, तेज र अग्नि, जीवनीशक्ति र प्राणी, तपस्या र तपस्वी --  
यी सबै (कारण र कार्य) एउटा भगवान नै हुनुहुन्छ । कारण, परा र अपरा -- दुवै भगवानको शक्ति भएकाले भगवानदेखि अभिन्न छन् । अतः परा-अपराको संयोगले पैदा हुने सम्पूर्ण सृष्टि भगवत्स्वरूप नै हो ।

'पुण्यो गन्धः' -- गन्ध-तन्मात्रा कारण हो र पृथ्वी त्यसको कार्य हो । गन्धलाई पवित्र भन्नुको तात्पर्य, कारण (तन्मात्रा) सँधै पवित्र नै हुन्छ । अपवित्रता कार्यमा विकृति हुँदा आउँछ । अतः गन्ध-तन्मात्रा पवित्र भए जस्तो शब्द, स्पर्श, रुप र रस पनि पवित्र भन्ने बुझ्नु पर्छ ।

श्लोक १० 

हे पृथानन्दन ! सम्पूर्ण प्राणीहरुको अनादि वीज मलाई जान । बुद्धिमानहरुमा बुद्धि र तेजस्वीहरुमा तेज म हुँ । 

'बीजं मां सर्वभूतानाम् विद्धि पार्थ सनातनम्' -- हे पार्थ ! सम्पूर्ण प्राणीहरुको सनातन (अविनाशी) वीज म हुँ अर्थात् सबैको कारण म नै हुँ । सम्पूर्ण प्राणी वीजरूप मवाट उत्पन्न हुन्छन्, ममा नै रहन्छन् र अन्तमा ममा नै लीन हुन्छन् । म विना प्राणीहरुको स्वतन्त्र सत्ता छैन । 

जति पनि वीज सबै वृक्षवाट उत्पन्न हुन्छन् र वृक्ष पैदा गरेर नष्ट हुन्छन् । तर यहाँ वर्णन भएको वीज 'सनातन' छ अर्थात् आदि-अन्तदेखि रहित (अनादि र अनन्त) छ । यही वीजलाई नवौं अध्यायको अठारौँ श्लोकमा 'अव्यय वीज' भनिएको छ । यो चेतन-तत्व अव्यय अर्थात् अविनाशी छ । यो स्वयं विकाररहित रहँदा रहँदै पनि सम्पूर्ण जगतको उत्पादक, आश्रय र प्रकाशक हो तथा जगतको कारण हो ।

गीतामा 'बीज' शब्द कहीं भगवान र कहीं जीवात्मा -- दुबैकोलागि आएको छ । अहिले यहाँ आएको बीज शब्द भगवानको वाचक हो; किनकि यहाँ कारणरूपले विभूतिहरुको वर्णन छ । दसौं अध्यायको उनन्चालिसौं श्लोकमा आएको 'बीज' शब्द पनि भगवानको नै वाचक हो; किनकि त्यहाँ भगवानलाई सम्पूर्ण प्राणीहरुको कारण भनिएको छ । नवौं अध्यायको अठारौँ श्लोकमा 'बीज' शब्द भगवानकोलागि आएको छ; किनकि त्यही अध्यायको उन्नाइसौं श्लोकमा 'सदसच्चाहमर्जुन' पदमा भनिएको छ, कार्य र कारण सबै म नै म छु । सबै भगवान नै हुनाले 'वीज' शब्द भगवानको वाचक हो                                       
                           
चौधौं अध्याको चौथो श्लोकमा 'अहं बीजप्रद: पिता' 'म बीज प्रदान गर्ने पिता हुँ' -- यसो हुँदा यहाँ बीज शब्द जीवात्माको वाचक हो । जडसँग आफ्नो सम्बन्ध मानेपछि नै 'बीज' शब्द जीवात्माको  हुन्छ । हैन भने यो शब्द भगवानको स्वरूप नै हो । 

'बुद्धिर्बुद्धिमतामस्मि' -- बुद्धिमानहरुमा बुद्धि म हुँ । बुद्धिको कारण नै उनीहरु बुद्धिमान भनिएका हुन् । यदि बुद्धिमानहरुमा बुद्धि भएन भने उनीहरुलाई  बुद्धिमान भन्ने सवाल नै आउँदैन । 

'तेतस्तेजस्विनामहम्' -- तेजस्वीहरुमा तेज म हुँ । यो तेज दैवी-सम्पत्तिको एउटा गुण हो । तत्वज्ञ जीवन्मुक्त महापुरुषहरुमा विशेष तेज -- शक्ति रहन्छ ।यो तेजको प्रभावले दुर्गुण-दुराचारी व्यक्ति पनि सद्गुण-सदाचारी वन्छन् । यो तेज भगवानको नै स्वरूप हो।                        

भगवान नै सम्पूर्ण संसारको कारण हुनुहुन्छ । संसारमा रहँदा पनि उहाँ सबैमा पूर्ण हुनुहुन्छ र सवै संसार मेटिएपछि पनि उहाँ रहनुहुन्छ । यसवाट सिद्ध भयो, सबै भगवान नै हुनुहुन्छ । यसकोलागि उपनिषद्हरुमा सुवर्ण, माटो र फलामको दृष्टान्त दिइएको छ । सुवर्णवाट वनेका गहना सबै सुवर्ण नै, माटोवाट वनेका भाँडा कुँडा माटा  र फलामवाट वनेका अस्त्र-शस्त्र फलाम नै भएजस्तै भगवानवाट उत्पन्न भएको सबै संसार पनि भगवान नै हो । परन्तु गीतामा भगवानले बीजको दृष्टान्त दिनुभएको छ, 'सबै संसारको बीज म हुँ । बीज वृक्षवाट पैदा हुन्छ, र वृक्ष पैदा गरेर स्वयं मेटिन्छ अर्थात् बीजवाट अंकुर निस्कन्छ, अङ्कुरवाट वृक्ष वन्छ र वीज स्वयं मेटिन्छ । परन्तु भगवानले आफूलाई संसारको बीज वताउंदै विलक्षण कुरा भन्नुभयो, 'म अनादि बीज हुँ, पैदा भएको बीज होइन' -- 'बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम्' र म अविनाशी बीज हुँ' । -- 'बीजमव्ययम्' । अविनाशी बीज भन्नुको मतलव हो, 'संसार मवाट पैदा हुन्छ, तर म मेटिन्न, जस्ता-को-तस्तो नै रहन्छु ।

सुवर्ण, माटो र फलामको दृष्टान्तमा गहनामा सुवर्ण, भाँडामा माटो र अस्त्र-शस्त्रहरुमा फलाम देखिन्छ, तर संसारमा भगवान देखिनु हुन्न । यदि बीजको दृष्टान्त लिए वृक्षमा बीज देखिंदैन । वृक्षमा बीज निस्केपछि मात्रै थाहा हुन्छ, यो वृक्ष यस्तो बीज छ, जसवाट यो बीज पैदा भयो । सम्पूर्ण वृक्ष बीजवाट नै निस्कन्छ र बीजमा नै समाप्त हुन्छ । वृक्षको आरम्भ बीजवाट नै हुन्छ र अन्त पनि बीजमा  नै हुन्छ अर्थात् त्यो वृक्ष सय वर्षसम्म रहे पनि त्यो वृक्षको अन्तिम परिणति वीजमा नै हुन्छ भने बीज सिवाय अरु के होला ? त्यस्तै भगवान संसारको बीज हुनुहुन्छ अर्थात् भगवानवाट नै संसार उत्पन्न हुन्छ र भगवानमा नै लीन हुन्छ । अन्तमा भगवान मात्रै वांकी रहनुहुन्छ । 

वृक्ष देखिंदा पनि 'यो बीज नै हो' -- यस्तो जान्ने मान्छेले नै वृक्षलाई ठीक-ठीक जान्दछ । बीजलाई नहेरेर खालि वृक्ष हेर्ने मान्छेले वृक्षलाई तत्वले जान्दैनन् । भगवान यहाँ 'बीजं मां सर्वभूतानाम्' भनेर सबैलाई यो ज्ञान गराउनु हुन्छ, 'तिमीलाई देखिएको यो संसार भन्दा पहिले पनि म थिएँ, म एउटा नै प्रजारूपले वहुत रूपहरुमा प्रकट भएको छु र सबै समाप्त भएपछि पनि म नै रहन्छु । तात्पर्य, पहिले म नै थिएँ र पछि पनि म नै रहन्छु भने बीचमा पनि म नै छु ।

विचार गर्नेलाई यो संसार पाञ्चभौतिक देखिन्छ, नत्र त यो संसार पाञ्चभौतिक पनि देखिंदैन । कोही यस्तो पनि भन्न सक्छ, 'यी सबै-का सबै शरीर पार्थिव (पृथ्वीवाट पैदा हुने) छन्, यसैले यिनमा माटोको प्रधानता छ ।' अर्को व्यक्ति भन्न सक्छ, 'यो कसरी माटो भयो ? माटोले हात धोइन्छ, माटो त कालो हुन्छ; अतः यो शरीर माटो होइन ।' यसरी शरीर माटो हुँदा पनि व्यक्तिलाई माटो देखिंदैन । परन्तु यो संसार जति देखिन्छ, यसलाई वालेर खरानी वनाइदियो भने अन्तमा माटो नै हुन्छ ।

विचार गर्दा, यी शरीरहरूको मूलमा के हो ? आमा-वावुको राज-वीर्यरूप अंशवाट शरीर वन्छ, त्यो अंश अन्नवाट पैदा हुन्छ । अन्न माटोवाट पैदा हुन्छ । अतः यी  शरीरहरु माटोवाट नै पैदा हुन्छन् र अन्तमा माटोमा नै लीन हुन्छन् । अन्तमा शरीरका तीन गतिहरु हुन्छन् -- जमीनमा गाडने, जलाउने, जनावरले खाने । यी मध्ये शरीरलाई जे सुकै गरे पनि यसको अन्तिम गति त माटो नै हो । यही किसिमले शुरु र अन्तिममा माटो भएकोले वीचमा शरीर देखिए पनि यो माटो नै हो । तर वीचमा यो शरीर र संसार माटो देखिंदैन । विचार गर्दा नै यो शरीर माटो देखिन्छ, आँखाले होइन । यसै गरी यो संसार विचार गर्दा नै परमात्मस्वरूप देखिन्छ । परमात्माले यो सृष्टि गर्दा कहींवाट कुनै सामान मगाउनु भएन र वनाउने अर्को पनि भएन । भगवान आफैं संसार वनाउने हुनुभयो  र आफैं शरीर वन्नुभयो । शरीरहरुको रचना गरेर उहाँ आफैं ती शरीरहरुमा प्रविष्ट हुनुभयो । यी शरीरहरुमा जीवरूपले उही परमात्मा हुनुहुन्छ । यसैले यो संसार पनि परमात्माको नै स्वरूप हो । 
  
आफूलाई सम्पूर्ण प्राणीहरुको बीज भन्नुको तात्पर्य हो, सबै प्राणीहरुको रूपमा म नै छु । सृष्टि अनन्त छ । तर ती अनन्त जीवहरुको बीज (परमात्मा)उही परमात्मा हुनुहुन्छ । अनन्त सृष्टि पैदा हुँदा पनि त्यो बीजमा कुनै फरक पर्दैन; किनकी त्यो बीज अव्यय छ -- 'वीजमव्ययम्' । त्यो एउटा बीजले अनेक प्रकारका सृष्टि हुन्छन् । बीजलाई जति नै सूक्ष्म दृष्टिले हेरे पनि त्यो बीजमा फल-फूल-पातहरु देखिंदैनन्; किनकि तिनीहरु त्यो बीजमा कारणरूपले विद्यमान छन् । त्यो बीजवाट पैदा हुने दुई पातहरु पनि एक अर्कासँग मिल्दैनन् -- यस्तो अनेकता पनि त्यही बीजमा रहन्छ । 

सृष्टिका एक एक वस्तुमा अनेक भेद छन् । विभिन्न देशहरुमा मनुष्यहरुका अनेक जातिहरु छन् । तिनमा यदि भेद छ कि एउटा मनुष्यको औंलाका रेखाहरु पनि अर्कोसँग मिल्दैनन् । तिनका रुप, स्वभाव, रूचि, प्रकृति, मान्यता, भाव आदि पनि परस्पर मिल्दैनन् । गाइ, भैंसी, भेंडा, वाख्रा, घोडा, ऊँट, कुकुर आदिका अनेक जातिहरु छन् र तिनका एक एक जातिमा पनि अनेक भेद छन् । वृक्षहरुमा पनि एक एक वृक्षको अनेक जातिहरु हुन्छन् । एक एक विद्या हेर्यौं भने पनि तिनमा यति भेद छ कि तिनको अन्त छैन । मूल रंग तीन छन्, तर ती तीन रंगको मिश्रणले अनेक रंग वन्छन् । तिनमा पनि एक एक रंगमा यति भेद छ कि दुई व्यक्तिलाई एकै रंग पनि समानरूपले देखिंदैनन् । यसरी सृष्टिमा एक समान देखिने दुई चीजहरु पनि वास्तवमा समान हुँदैनन् । यति अनेकता हुँदा पनि सृष्टिको बीज एकै हो । तात्पर्य, एक नै भगवान अनेक रुपहरुमा प्रकट हुनुहुन्छ र अनेक रुपहरुमा प्रकट भए पनि एक नै रहनु हुन्छ । 

भगवान देश, काल, आदि सबै दृष्टिहरुले अनन्त हुनुहुन्छ । भगवानले वनाएका सृष्टिहरुको पनि अन्त आउन सक्तैन भने भगवानको अन्त कसरी आउने ? आजसम्म भगवानको विषयमा जे जे सोचियो, जे जे भनियो, जे जे लेखियो, जे जे मानियो, त्यो पूरा-का-पूरा मिलेर पनि अधूरो नै छ । यति मात्रै होइन, भगवान स्वयं आफ्नो वारेमा पूरा कुरो भन्न सक्नुहुन्न, यदि सक्नुहुन्छ भने उहाँ अनन्त कसरी रहने ? 

Gita: Chapter 7: Slok 8 - श्लोक ८ हे कुन्तीनन्दन ! जलहरुमा रस म हुँ, चन्द्रमा र सूर्यमा प्रभा (प्रकाश) म हुँ,

No. 207

श्लोक ८ 

हे कुन्तीनन्दन ! जलहरुमा रस म हुँ, चन्द्रमा र सूर्यमा प्रभा (प्रकाश) म हुँ, वेदहरुमा प्रणव (ओंकार), आकाशमा शब्द, र मनुष्यहरुमा पुरुषार्थ म हुँ । 

'रसोह्मप्सु कौन्तेय' -- हे कुन्तीनन्दन ! जलहरुमा 'रस' म हुँ । जल रस-तन्मात्राले पैदा हुन्छ, रस-तन्मात्रामा रहन्छ र रस-तन्मात्रामा नै लीन हुन्छ । जलवाट रस निकालिदिने हो भने जल तत्व केही रहँदैन । अतः रस नै जलरूपले छ । त्यो रस म हुँ ।

'प्रभास्मि शशिसूर्ययोः' -- चन्द्रमा र सूर्यमा प्रकाश गर्ने विलक्षण शक्तिलाई 'प्रभा' भन्छन् । त्यो मेरो स्वरूप हो । प्रभा रुप-तन्मात्राले उत्पन्न हुन्छ, रुप-तन्मात्रामा रहन्छ र रुपतन्मात्रामा नै लीन हुन्छ ।यदि चन्द्रमा र सूर्यवाट प्रभा निकालिदिने हो भने चन्द्रमा र सूर्य निस्तत्व हुन्छन् । तात्पर्य, केवल प्रभा नै चन्द्र र सूर्यरूपले प्रकट भैरहेछन् । भगवान भन्नुहुन्छ, त्यो प्रभा पनि म नै हुँ ।

'प्रणव: सर्ववेदेषु' -- सम्पूर्ण वेदहरुमा प्रणव (ओंकार) मेरो स्वरूप हो | कारण, सब भन्दा पहिले प्रणव प्रकट भयो । प्रणववाट त्रिपदा गायत्री र त्रिपदा गायत्रीवाट वेदत्रयी प्रकट भयो । यसैले वेदहरुमा सार 'प्रणव' नै रह्यो । यदि वेदहरुमध्येवाट प्रणव निकालिदिए वेद वेदरूपले रहँदैन । प्रणव नै वेद र गायत्रीरूपले प्रकट भइरहेछ । त्यो प्रणव म नै हुँ । 

'शब्द खे' -- सबै ठाउँमा देखिने खालिपन आकाश हो । आकाश शब्द-तन्मात्राले पैदा हुन्छ, शब्द- । तन्मात्रामा नै र अन्तमा शब्द-तन्मात्रामा नै लीन हुन्छ । अतः शव्द-तन्मात्रा विना आकाश केही पनि होइन । त्यो शब्द म नै हुँ । 
'पौरुषम् नृषु' -- मनुष्यहरुमा सार चीज पुरुषार्थ हो, त्यो मेरो स्वरूप हो । वास्तवमा नित्यप्राप्त परमात्मतत्वको अनुभव गर्नु नै मनुष्यहरुमा सक्कली पुरुषार्थ हो । परन्तु मनुष्यहरुले अप्राप्त्लाई प्राप्त गर्नमा नै आफ्नो पुरुषार्थ मानिराखेका छन्, जस्तो -- निर्धन व्यक्ति धन प्राप्तिमा पुरुषार्थ मान्छ, अपढ़ व्यक्ति पढ्न पुरुषार्थ मान्छ, अप्रसिद्ध व्यक्ति आफ्नो नाम विख्यात गर्न आफ्नो पुरुषार्थ मान्छ । निष्कर्ष भयो, अहिले नभएको वस्तु प्राप्तिमा व्यक्ति आफ्नो पुरुषार्थ मान्छ । तर यी पुरुषार्थहरु  वास्तवमा पुरुषार्थ होइनन् । कारण, पहिले नभएका वस्तुको प्राप्तिको वेला पनि ती वस्तुहरुको निरन्तर सम्बन्ध-विच्छेद भइरहेछ र अन्तमा ती वस्तु 'छैन, हैन'मा भर्ती हुनेछन् । यस्ता वस्तु प्राप्त गर्नु पुरुषार्थ होइन । परमात्मा पहिले पनि मौजूद हुनुहुन्थ्यो, अहिले पनि मौजूद हुनुहुन्छ र पछि पनि सदा मौजूद रहनु हुनेछ, किनकि उहाँको कहिले पनि अभाव छैन । यसैले परमात्मालाई  उत्साहपूर्वक प्राप्त गर्ने प्रयत्न नै वास्तविक पुरुषार्थ हो । परमात्मा प्राप्त गर्नु नै मनुष्यहरुको मनुष्यता हो । त्यो मनुष्यता विना मनुष्य केही पनि होइन। 

छैठौं-सातौँ श्लोकहरुमा भगवानले आफूलाई सम्पूर्ण जगतको कारण वताउनु भयो । यसैले अव भगवान आठौँ श्लोकदेखि वारहौं श्लोकसम्म 'कारण'--रूपले आफ्नो विभूतिहरुको वर्णन गर्नुहुन्छ । कारण भन्दा कार्यको विशेष गुण भए पनि स्वतन्त्र सत्ता करणको नै हुन्छ अर्थात् कारण विना कार्यको स्वतन्त्र सत्ता हुँदैन । जस्तो, माटो कारण हो र कार्य घडा। घडामा जल भर्न सकिन्छ, तर यो काम माटोले गर्न सक्तैन । तर माटो विना घडाको स्वतन्त्र सत्ता छैन । तात्पर्य, कारण नै कार्यरूपमा परिणत हुन्छ ।घडाको रचनामा कर्ता, कारण र कार्य -- तीनै एक हुँदैनन् अर्थात् कारण (माटो) र कार्य (घडा) को त एकै सत्ता हुन्छ, तर कर्ता (कुम्हाले)को अलग (स्वतन्त्र) सत्ता हुन्छ । परन्तु सृष्टिको रचनामा कर्ता, कारण र कार्य -- तीनै भगवान हुनुहुन्छ । अतः रस पनि भगवान हुनुहुन्छ र जल पनि भगवान हुनुहुन्छ । प्रभा पनि भगवान हुनुहुन्छ र चन्द्र-सूर्य पनि भगवान हुनुहुन्छ । ओंकार पनि भगवान हुनुहुन्छ र वेद पनि भगवान हुनुहुन्छ । शब्द पनि भगवान हुनुहुन्छ र आकाश पनि भगवान हुनुहुन्छ । पुरुषार्थ पनि भगवान हुनुहुन्छ र मनुष्य पनि भगवान हुनुहुन्छ ।

माटो त् घडाको रूपमा परिणत हुन्छ, तर परमात्मा संसारको रूपमा परिणत हुनुहुन्न । किनकि परिणत हुने वस्तु विकारी हुन्छ, तर परमात्मा निर्विकार हुनुहुन्छ । अतः अँध्यारोमा डोरी नै सर्परूपमा देखिने जस्तै परमात्मा संसररूपमा देखिनुहुन्छ । तात्पर्य, परमात्मामा कार्य-कारणको भेद छैन; किनकि उहाँ सिवाय अर्को कुनै वस्तु नै छैन । कार्य-कारणको भेद मनुष्यहरूको दृष्टिमा नै छ । यसैले मनुष्यहरुलाई बुझाउन अरु वस्तुको कुनै-न-कुनै सत्ता मानेर नै परमात्माको वर्णन, विवेचन, विचार, चिन्तन, प्रश्नोत्तर आदि गरिन्छ ।      

Gita: Chapter 7: Slok 7 - श्लोक ७ हे धनन्जय ! म सिवाय यो जगतको अर्को कुनै कारण छँदै छैन ।

No. 206

श्लोक ७ 

हे धनन्जय ! म सिवाय यो जगतको अर्को कुनै कारण छँदै छैन । सूतको धागोमा उनिएका सूतका नै मणिहरु जस्तै यो सम्पूर्ण जगत ममा नै ओतप्रोत छ ।

'मत्तः परतरं नान्यत किञ्चिदस्ति धनन्जय' -- हे अर्जुन ! म सिवाय अर्को कुनै कारण छैन, म नै सबैको महाकारण हुँ । वायु आकाशवाट नै उत्पन्न हुन्छ, आकाशमा नै रहन्छ र आकाशमा नै लीन हुन्छ अर्थात् आकाश सिवाय वायुको छुट्टै स्वतन्त्र सत्ता छैन । त्यस्तै संसार भगवानवाट नै उत्पन्न हुन्छ, भगवानमा स्थित रहन्छ र भगवानमा नै लीन हुन्छ अर्थात् भगवान सिवाय संसारको कुनै पृथक स्वतन्त्र सत्ता छैन । 

यहाँ 'परतरं' भनेर सबैको मूल कारण वताइएको छ । मूल कारण भन्दा पर अर्को कुनै कारण छैन अर्थात् मूल कारणको कुनै उत्पादक छैन । भगवान नै सबैको मूल कारण हुनुहुन्छ । यो संसार अर्थात् देश, काल, व्यक्ति, वस्तु, घटना, परिस्थिति आदि सबै परिवर्तनशील छन् । परन्तु जसको हुनुपनाले यी सबैको हुनुपना देखिन्छ अर्थात् जसको सत्ताले यी सबै 'छ' देखिन्छन्, त्यही परमात्मा यी सबैमा परिपूर्ण हुनुहुन्छ ।

भगवानले यही अध्यायको दोस्रो श्लोकमा भन्नुभएको छ, 'म विज्ञानसहित ज्ञान भन्नेछु, त्यो ज्ञान जानेपछि केही जान्न वांकी रहँदैन -- 'यज्ज्ञात्वा नेह भूयोन्यज्ज्ञातव्यमवशिषयते' र यहाँ भन्नुहुन्छ, 'म सिवाय अर्को कुनै कारण छैन -- मत्त: परतरं नान्यत् किञ्चिदस्ति ।' दुवै ठाउँमा 'न अन्यत्' भन्नुको तात्पर्य, म सिवाय कुनै केही छँदै छैन मलाई जानेपछि के कसरी जान्न वांकी रहन्छ ? अतः भगवानले यहाँ 'मयि सर्वमिदं प्रोतम्' र पछि 'वासुदेव: सर्वम्' तथा 'सदसच्चाहम्' भन्नुभएको छ । 

कार्य आफ्नो कारण भन्दा वाहेक अरु कुनै स्वतन्त्र सत्ता राख्दैन । वास्तवमा कारण नै कार्यरूपले देखिन्छ । यसरी कारणको ज्ञान भएपछि कार्य कारणमा लीन हुन्छ अर्थात् कार्यको छुट्टै सत्ता प्रतीत हुँदैन र 'एउटा परमात्मा सिवाय अन्य कुनै कारण छैन' -- यस्तो अनुभव स्वतः हुनेछ ।

'मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव' -- यो सारा संसार सूतको मणिहरु जस्तो ममा उनिएको छ ।अर्थात् ममा नै संसार अनुस्यूत (व्याप्त) छ । सूतमा वनेका मणिहरुमा र सूतमा सूतसिवाय अरु केही छैन, त्यस्तै संसारमा म सिवाय अरु कुनै तत्व छैन । तात्पर्य, सूतका मणिहरु र सूत फरक फरक देखिए पनि वास्तवमा सूत मात्रै छ । त्यस्तै संसारका समस्त प्राणीहरु नाम रुप आदिले अलग अलग देखिए पनि वास्तवमा तिनमा रहने चेतन तत्व यौटै छ । त्यो चेतन तत्व म नै हुँ -- 'क्षेत्रज्ञम् चापि मां विद्धि सर्वक्षेत्रेषु भारत' अर्थात् मणिरुप अपरा प्रकृति पनि मेरो नै स्वरूप हो र धागोरूप परा प्रकृति पनि म नै हुँ । यी दुबैमा म नै परिपूर्ण छु, व्याप्त छु । साधकले संसारलाई संसारबुद्धिले देखुन्जेल उसलाई संसारमा परिपूर्णरूपले व्याप्त परमात्मा देखिनु हुन्न । परमात्माको वास्तविक बोध भएपछि व्यप्य-व्यापक भाव मेटिएर एउटा परमात्मतत्व मात्रै देखिन्छ । यही तत्व वताउन नै भगवानले यहाँ कारणरूपले आफ्नो व्यापकताको वर्णन गर्नुभएको छ ।

सूतको धागोमा उनिएका सूतका मणिहरुमा सूत वाहेक केही छँदै छैन । यसै गरी संसारमा भगवान सिवाय अरु केही छैन । तात्पर्य, मणिरुप अपरा प्रकृति र धागोरूप परा प्रकृति -- दुबैमा भगवान नै परिपूर्ण हुनुहुन्छ । मणिहरु वन्न अपरा प्रकृतिको मुख्यता छ र धागो वन्न परा प्रकृतिको मुख्यता छ । 'मणिगणा:' पद वहुवचनमा दिइनुको तात्पर्य, अपरा प्रकृति स्थावर-जंगम, जलचर-नभचर-थलचर, चौध भूवन, चौरासी लाख योनिहरु आदि अनन्त रुपहरु र अनन्त समुदायहरुमा विभक्त छन् ।

परा र अपराको भेद अपराको कारण नै हो ; किनकि अपरालाई सत्ता र महत्ता दिएर अपरासँग सम्बन्ध जोडेकोले नै जीव वनेको हो । वास्तवमा न मणिहरु छन्, न धागो छ, खालि एउटा सूत (कपास) मात्रै छ । यस्तै किसिमले न अपरा छ, न परा छ, केवल एक परमात्मा मात्रै छ । यही कुरालाई भगवानले आउँदो वारहौं श्लोकसम्म वर्णन गर्नुभएको छ । यो श्लोकमा आएको 'मत्त:' पदले वारहौं श्लोकको 'मत्त एव' पदहरुसम्म भगवानले 'म सिवाय कोही छैन' भन्ने' कुरा नै वताउनु भएको छ । यहाँ 'मत्त' समग्र परमात्माको वाचक छ र परमात्मा परा र अपरा दुवै प्रकृतिहरुको मालिक हो । 

कारण नै कार्यमा परिणत हुन्छ, जस्तो कपास नै धागो वन्छ, वीज नै वृक्ष वन्छ । अतः सबैको परम कारण भगवान हुनाले सबै रुपहरुमा भगवान नै हुनुहुन्छ -- 'वासुदेवः सर्वम् ।' यसैले भगवान भन्दा अर्को सत्ता देख्नु नै भूल हो ।

'मत्तः परतरं नान्यत्किन्चिदस्ति' -- दुईमध्ये श्रेष्ठलाई 'परतर' भन्छन् । भगवान अद्वितीय हुनुहुन्छ, उहाँ सिवाय अर्को कुनै वस्तु (पर) छँदै छैन । फेरि उहाँ 'परतर' कसरी हुनुभयो ? उहाँमा 'परतर' शब्द लागु नै हुँदैन । यहाँ भगवानलाई अद्वितीय वताउन नै 'परतर' शब्द आएको हो । तात्पर्य, भगवान भन्दा अर्को केही पनि छैन र श्रेष्ठ पनि केही छैन ।     

Gita: Chapter 7 : Slok 6 - श्लोक ६ सम्पूर्ण प्राणीहरु (उत्पन्न हुन) अपरा -- अपरा र परा --

No 205 

श्लोक ६ 

सम्पूर्ण प्राणीहरु (उत्पन्न हुन) अपरा -- अपरा र परा -- प्रकृतिहरूको संयोग नै कारण हो भन्ने सम्झ तिमी । म सम्पूर्ण जगतको प्रभव तथा प्रलय हुँ ।

'एतद्योनीनि भूतानि' देवता, मनुष्य, पशु, पक्षी, आदि जंगम र वृक्ष, लता, घास आदि स्थावर प्राणी हुन् । यी सबै का सबै मेरो अपरा र परा पकृतिको सम्बन्धले नै उत्पन्न हुन्छन् । तेर्हौं अध्यायको छव्विसौं श्लोकमा पनि भगवानले क्षेत्र र क्षेत्रज्ञको सम्बन्धले सम्पूर्ण स्थावर-जंगम प्राणीहरुको उत्पत्ति वताउनुभयो । यही कुरो सामान्य रीतिले चौधौं अध्यायको चौथो श्लोकमा पनि वताउनुभयो, स्थावर, जंगम योनिहरुमा उत्पन्न हुने समस्त शरीर सबै प्रकृतिका हुन्, र ती शरीरहरुमा वीज जीवात्मा मेरो अंश हो । त्यही वीज अर्थात् जीवात्मालाई भगवानले 'परा प्रकृति' र 'आफ्नो अंश' भन्नुभयो ।

'सर्वाणीत्युपधारय'-- स्वर्गलोक, मृत्युलोक, पाताललोक आदि सम्पूर्ण लोकहरुका समस्त स्थावर-जंगम प्राणीहरु परा र अपरा प्रकृतिको संयोगले नै उत्पन्न हुन्छन् । तात्पर्य, परा प्रकृतिले अपरा प्रकृतिलाई आफ्नो मानेको छ, त्यसको संग गरेको छ, यसैवाट सबै प्राणी पैदा हुन्छन् -- यो कुरालाई तिमी धारण गर, मनमा लिऊ अर्थात् ठीक किसिमले बुझ। 

'अहं कृत्स्नस्य जगतः प्रभवः प्रलयस्तथा' -- सबै वस्तुहरुलाई सत्ता-स्फूर्ति परमात्मावाट नै मिल्छ, यसैले भगवान भन्नुहुन्छ, म सम्पूर्ण जगतको प्रभव उत्पन्न गर्ने) र प्रलय (लीन गर्ने ) हुँ । 

'प्रभवः'को तात्पर्य हो, म नै यो जगतको उपादान-कारण हुँ; किनकि सम्पूर्ण सृष्टि मेरो संकल्पले पैदा भएका छन् । 

घडा वनाउँदा कुम्हाले र सुवर्णको गहना वनाउँदा सुनार निमित्तकारण हो, सम्पूर्ण संसारको उत्पत्तिमा भगवान नै निमित्तकारण हुनुहुन्छ ।

'प्रलय:' भन्नुको अर्थ, यो जगतको उपादान-कारण पनि म नै हुँ; किनकि सबै कार्य उपादान कारणले उत्पन्न हुन्छ; उपादान-कारणरूपले नै रहन्छ र अन्तमा उपादान कारणमा नै लीन हुन्छ ।

घडा वनाउँदा माटो उपादान-कारण भए जस्तै सृष्टिको रचना गर्नमा भगवान नै उपादान-कारण हुनुहुन्छ । घडा माटोवाट नै पैदा हुन्छ, माटोरुप नै रहन्छ र अन्तमा फुटेर, खिइएर माटो नै वन्छ । सुवर्णका सबै गहनाहरु सुवर्णवाट नै उत्पन्न हुन्छन्, सुवर्णरूप नै रहन्छन् र अन्तमा सुवर्ण नै रहन्छन् । त्यस्तै संसार भगवानवाट नै उत्पन्न हुन्छ, भगवानमा नै रहन्छ र अन्तमा भगवानमा नै लीन हुन्छ । यस्तो जान्नु 'ज्ञान' हो । सबै भगवानको स्वरूप हो, भगवान वाहेक अर्को केही, कुनै छैन -- यस्तो अनुभव हुनु 'विज्ञान' हो ।

'कृत्स्नस्य जगतः' पदहरुमा भगवानले आफूलाई जड-चेतनात्मक सम्पूर्ण जगतको प्रलय वताउनुभयो । यसमा (जड) (अपरा प्रकृति)लाई प्रभव र प्रलय वताउनु त ठीक छ, तर चेतन (परा प्रकृति अर्थात् जीवात्मा) को उत्पत्ति र विनाश कसरी भयो ? किनकि त्यो (जीवात्मा) त नित्य तत्व हो -- 'नित्यः सर्वगत: स्थाणुरचलोयम् सनातनः' । परिवर्तनशीललाई जगत भन्छन् । तर यहाँ जगत शब्द जड-चेतनात्मक सम्पूर्ण संसारको वाचक हो । यसमा जड अंश त परिवर्तनशील छ र चेतन अंश सदा-सर्वदा परिवर्तनरहित तथा निर्विकार छ । निर्विकार तत्वले जडसँग तादात्म्य गरेपछि त्यो तत्व जड (शरीर) को उत्पत्ति-विनाशलाई आफ्नो उत्पत्ति-विनाश मान्छ । यसैले उसको जन्म-मरण भनिएको हो । यसैले भगवानले आफूलाई सम्पूर्ण जगत अर्थात् अपरा र परा प्रकृतिको प्रभव र प्रलय भन्नुभएको हो ।

यदि यहाँ 'जगत' शब्दले केवल नाशवान परिवर्तनशील र विकारी संसारलाई नै लिने हो भने, चेतनलाई लिएन भने धेरै वाधा हुनेछ । भगवानले 'कृत्स्नस्य जगतः' पदहरुले आफूलाई सम्पूर्ण जगतको कारण वताउनु भयो । अतः सम्पूर्ण जगत अन्तर्गत स्थावर-जंगम, जड-चेतन, सबै लिइन्छ । यदि खालि जड मात्रै लिइयो भने चेतन-भाग छुट्नेछ । यसले गर्दा 'म सम्पूर्ण जगतको कारण हुँ' भन्न सकिंदैन र अझ वाधा लाग्नेछ । कारण, यही अध्यायको तेर्हौं श्लोकमा भगवानले भन्नुभएको छ, तीनै गुणले मोहित जगत मलाई जान्दैन । त्यसैले यहाँ जान्ने र नजान्ने चेतनको नै हुन सक्छ, जडको जान्ने र नजान्ने चेतनलाई नै हुन सक्छ, जडलाई जान्ने र नजान्ने हुँदै हुँदैन । यसैले 'जगत' शब्दले केवल जडलाई मात्रै होइन, चेतनलाई पनि लिनुपर्छ । यस्तै सोह्रौं अध्यायको आठौँ श्लोकमा पनि आसुरी सम्पत्ति भएका व्यक्तिको मान्यता अनुसार 'जगत' शब्दले जड र चेतन -- दुवैलाई नै लिनु पर्छ, किनकि आसुरी सम्पदा सम्पत्ति भएका व्यक्ति सम्पूर्ण शरीरधारी जीवहरुलाई असत्य मान्छन्, खालि जडलाई होइन । यसैले यहाँ जगत शब्दले केवल जड, संसारलाई मात्रै लिइयो भने जगतलाई (जड संसारलाई) असत्य, मिथ्य र अप्रतिष्ठित भन्ने अद्वैत सिद्धान्ती पनि आसुरी सम्पत्ति भएका व्यक्तिहरुमा पर्छन् । तर यसो भन्नु सर्वथा अनुचित छ । यस्तै आठौँ अध्यायको छव्विसौं श्लोकमा आएको 'शुक्लकृष्णे गती ह्येते जगतः' पदहरुमा 'जगत' शब्द केवल जडको नै वाचक मानियो भने जडको शुक्ल र कृष्ण गतिको के तात्पर्य होला ? गति त चेतनको नै हुन्छ । जडसँग तादात्म्य गरेको कारणले नै चेतनलाई 'जगत' नामले भनिएको हो । 

यी सबै कुराहरुमा विचार गर्दा यो निष्कर्ष निस्कन्छ, जडसँग एकात्मता गर्नाले जीव 'जगत' भनिन्छ । परन्तु जडदेखि विमुख भएर चिन्मय तत्वसँग आफ्नो एकताको अनुभव गरेपछि ऊ 'योगी' भनिन्छ । यो कुराको वर्णन गीतामा ठाउँ ठाउँमा भएको छ ।

आफूलाई पनि जान्न नसक्ने र अरुलाई पनि जान्न नसक्ने 'अपरा प्रकृति' हो ।आफूलाई पनि जान्ने र अरुलाई पनि जान्ने 'परा' प्रकृति हो । यी परा र अपरा -- दुवैसँग मानिएको संयोगले नै सम्पूर्ण स्थावर-जंगम प्राणी पैदा हुन्छन् ।

मूल दोष एक नै हो र यो दोष स्थानभेदले अनेकरुपले देखिन्छ । त्यो हो -- अपराको सम्बन्ध । यसरी एउटा दोषले नै सम्पूर्ण दोष उत्पन्न हुन्छन् । यो एउटा दोष आयो भने सम्पूर्ण दोष आउँछन् र यो एउटा दोष हट्यो भने सम्पूर्ण दोष हट्छन् । यही तरिकाले मूल गुण पनि एक नै हुन्छ, र यो मूल गुणवाट नै सम्पूर्ण गुण प्रकट हुन्छन् । त्यो हो -- भगवानसँगको सम्बन्ध ।

अपरालाई चाहे नित्य मानौं, चाहे अनित्य मानौं, तर अपरासँग हाम्रो सम्बन्ध अनित्य छ -- यो सर्वसम्मत कुरो हो । यो सम्बन्ध नै जन्म-मरणको कारण हो ।यही संसारको वीज हो ।

म सम्पूर्ण जगतको प्रभव र प्रलय हुँ -- यसको तात्पर्य, यो स्थावर-जंगमरुप जगतलाई म नै उत्पन्न गर्ने हुँ र म नै उत्पन्न हुने हुँ; म नै नाश गर्ने हुँ र म नै नाश हुने हु; किनकि म सिवाय संसारको अर्को कुनै पनि कारण तथा कार्य छैन अर्थात् म नै यसको निमित्त तथा उपादान कारण हुँ । अतः जगत-रूपले म नै म हुँ । नवौं अध्यायको उन्नाइसौं श्लोकमा पनि भगवानले भन्नुभएको छ, -- अमृतं चैव मृत्युश्च ससच्चाहमर्जुन' अर्थात् 'अमृत र मृत्यु तथा सत् र असत् पनि म नै हुँ ।' 

तात्पर्य, अपरा र परा प्रकृति तथा तिनको संयोगले पैदा हुने सम्पूर्ण प्राणी -- यी सबै एक भगवान मात्रै हुनुहुन्छ । कारण पनि भगवान हुनुहुन्छ र कार्य पनि । 

Gita: Chapter 7: Slok 1,2 पहिला दुई श्लोकको नै वांकी अंश चेतनले अपरा प्रकृतिसँग तादात्म्य गर्छ अर्थात् 'अहं'सँग मिलेर आफूमा 'म हुँ' मानेर ऊ जीवरूप वनेको 'परा प्रकृति' हुन्छ । '

No 204 

पहिला दुई श्लोकको नै वांकी अंश 

चेतनले अपरा प्रकृतिसँग तादात्म्य गर्छ अर्थात् 'अहं'सँग मिलेर आफूमा 'म हुँ' मानेर ऊ जीवरूप वनेको 'परा प्रकृति' हुन्छ । 'अहम्' (म) भन्दा एकातिर जगत् (अपरा प्रकृति) छ र अर्कोतिर परमात्मा छ । परन्तु जीव परमात्मालाई स्वीकार गर्दैन र उहाँको अपरा प्रकृतिलाई स्वीकार गरेर त्यसलाई जगत् रूपले धारण गर्छ र जन्म-मरणरूप बन्धनमा पर्छ ।

'अपरेयमितस्त्वन्याम्' -- अपरादेखि अर्को परा छ र परादेखि अर्को अपरा छ
 'अपरा' अर्को अथवा विजातीय हो । अर्कोलाई समातेर नै 'परा' जीव वनेको हो -- 'जीवभूताम्'। 

अपरा (परिवर्तनशील) र परा (अपरिवर्तनशील) -- दुवै भगवानका प्रकृतिहरु अर्थात् शक्तिहरु हुन्, स्वभाव हुन् । भगवानको शक्ति भएकोले दुवै भगवानदेखि अभिन्न छन्; किनकि शक्तिमान् विना शक्तिको स्वतन्त्र सत्ता हुँदैन । हाम्रो शरीरको नङ र केशको प्राण नभए पनि यिनीहरु हाम्रा शरीरदेखि छुट्टै छैनन्, त्यस्तै अपरा प्रकृति जड भए पनि चेतन परमात्मा भन्दा छुट्टै छैन -- 'सदसच्चाहमर्जुन'। यसरी परा र अपरा -- दुबै प्रकृतिहरु भगवानका स्वरूप हुन् भने भगवान सिवाय वांकी नै के रह्यो र ? केही पनि वांकी रहेन -- 'वासुदेवः सर्वम्'। तात्पर्य, अपरा र परा -- दुवै प्रकृतिहरु सहित भगवानको स्वरूप 'समग्र' हो अर्थात् परा-अपरा, सत्-असत्, जड-चेतन सबै भगवान नै हो । 

'ययेदम् धार्यते जगत्' को तात्पर्य, संसार न त भगवानको दृष्टिमा छ र न महात्माको दृष्टि (मान्यता)मा छ । भगवानको दृष्टिमा सत्-असत् सबै उहाँ आफू नै हुनुहुन्छ -- 'सदसच्चाहम्' र महात्माको दृष्टिमा सबै भगवान नै हो --'वासुदेवः सर्वम्' ।  जीवले नै राग-द्वेषले गर्दा जगत् लाई आफ्नो बुद्धिमा धारण गरिराखेको छ । यही कुरालाई पछि पन्ध्रौँ अध्यायको सातौँ श्लोकमा 'मनः षषठानि इन्द्रियाणि प्रकृतिस्थानि कर्षति' पदहरुले भनिएको छ । जगत् लाई सत्ता दिंदा नै राग-द्वेष हुने हो । 

जीवले संसारको सत्ता मान्यो र सत्ता मानेर त्यसलाई महत्व दियो । महत्ता दिनाले कामना अर्थात् सुखभोगको इच्छा पैदा भयो । यही इच्छावाट जीव जन्म-मरणमा पर्यो । तात्पर्य यो भयो, एउटा भगवान वाहेक अर्को सत्ता मान्नाले नै जीव संसार-बन्धनमा परेको हो । अतः अर्को सत्ता नमान्ने जिम्मेवारी जीवको नै हो । यदि ऊ संसारको सत्ता मान्दैन भने संसार नै कहाँ छ र ?

भगवानले पृथ्वी, जल, तेज, वायु, आकाश, मन, बुद्धि र अहम् -- यी आठलाई अपरा (जड) प्रकृति भन्नुभयो । अतः पृथ्वी जड र जान्नमा आउने भए जस्तै अहम् पनि जड र जान्नमा आउने छ । तात्पर्य हो पृथ्वी, जल आदि आठै एकै जातिका हुन् । अतः जुन जातिको पृथ्वी छ, त्यही जातिको अहम् छ अर्थात् अहम् पनि माटोको थुप्रो जस्तै जड र दृश्य छ । अतः भगवानले अहम् लाइ एतत्ताले भन्नुभएको छ; जस्तो -- 'एतद् यो वेत्ति' । 'एतत्' (यो) कहिले 'अहम्' हुँदैन; अतः अहम् लाई एतत्ताले भन्नुको तात्पर्य हो, यो हाम्रो स्वरूप होइन । परन्तु जव चेतन (जीव) यो अहम् सँग आफ्नो तादात्म्य मान्छ, त्यो वेला ऊ वाँधिन्छ -- 'अहंकारविमूढात्मा कर्ताहमिति मन्यते'। यसैलाई चिज्जडग्रन्थि भन्छन् ।

'अहङ्कार इतीयं मे' -- अहंकार अपरा प्रकृतिको जड हो, तर 'म हुँ' -- यो ग्रन्थिरूप अहङ्कार केवल अपरा प्रकृतिको मात्रै होइन, यसमा परा प्रकृति (चेतन) पनि जोडिएको छ । तत्वज्ञान भएपछि जन्म-मरण दिने ग्रन्थिरूप अहंकार रहँदैन तर अपरा प्रकृतिको धातुरूप अहंकार रहन्छ ।

क्रिया र पदार्थ न त परा प्रकृतिमा छन् र न परमात्मामा छ, खालि अपरामा छ ।अपरा प्रकृति क्रियारूप र पदार्थरूप छ । परमात्मा प्रकृतिको सहायताले नै सृष्टि-रचना गर्नुहुन्छ । परा प्रकृति अर्थात् जीव क्रिया र पदार्थरूप अपरा प्रकृतिसँग आसक्ति गरेर र त्यसको आश्रय लिएर बाँधिन्छ । अपरासँग आसक्ति गर्नु र त्यसको आश्रय लिनु नै जगत् लाई धारण गर्नु हो । यसैले भगवानले सातौँ अध्यायको आरम्भमा नै 'मय्यासक्तमना: पार्थ योगं युञ्जन मदाश्रयः' पदहरुले आफूमा आसक्ति (प्रेम) गर्ने र आफ्नो आश्रय लिने कुरा गर्नुभएको हो । यदि जीवले अपरा प्रकृतिमा आसक्ति नराखे र त्यसको आश्रय नलिए उ 'मुक्त' हुनेछ । यदि ऊ भगवानमा आसक्ति (प्रेम) गर्छ भने र उहाँमा आसक्ति (प्रेम) गर्छ भने र उहाँको आश्रय लिन्छ भने ऊ 'भक्त' हुनेछ ।

जगत् को स्वतन्त्र सत्ता छैन । बाँध्ने जगत् त् जीवले न वनाइराखेको हो, यसैले सुख-दुःख हुन्छन्, बन्धन हुन्छ, चौरासी लाख योनिहरु, भूत, प्रेत, पिशाच, देवता योनिहरु र नरकहरुको प्राप्ति हुन्छ । सत्व, रज र तम -- यी तीनै गुणहरु कुनै वाधा दिंदैनन, परन्तु यिनको संग गरे जीव ऊर्ध्वगति, मध्यगति अथवा अधोगतिमा जान्छ -- 'कारणम् गुणसंगोस्य सदसद्योनिजन्मसु' । गुणहरुको संग जीव आफैं गर्छ । अपरा प्रकृति कसैसँग कुनै सम्बन्ध गर्दैन । सम्बन्ध न प्रकृति गर्छ, न गुण गर्छन्, न इन्द्रियहरु गर्छन्, न मन गर्छ, न बुद्धि गर्छ । जीव स्वयम् नै सम्बन्ध गर्छ, यसैले सुखी-दुःखी भइरहेछ, जन्म-मरणमा गइरहेछ ।जीव स्वतन्त्र छ, किनकि यो 'परा' अर्थात् उत्कृष्ट हो । अपरा प्रकृति त केही गर्दैन, किनकि उसमा चेतना र कामना छैन । अपरा प्रकृतिसँग सम्बन्ध जोडेर, त्यसको सदुपयोग-दुरुपयोग गरेर जीव ऊँच-नीच योनिहरुमा जान्छ, भड्किन्छ ।तात्पर्य, अपरिवर्तनशील हुँदा हुँदै पनि जीव विजातीय जगतसँग सम्बन्ध जोडेर परिवर्तनशील जगतरुप हुन्छ । उसको दृष्टि शरीर तर्फ मात्रै रहन्छ, आफ्नो स्वरूपको स्फुरणा नै हुँदैन ।                                                                                           
हामीसँग पूर्णरूपले अलग जगत अर्थात् शरीर-इन्द्रियहरु-मन-बुद्धि अहम् सँग आफ्नो एकता मानियो -- यही जगत् लाई धारण गर्नु हो । वास्तवमा जगत् हाम्रो हुँदै होइन । हाम्रो चीज हामीलाई भेटिएको भए हाम्रा कामनाहरु सँधैकोलागि मेटिने थिए, हामी निर्मम, निर्भय, निश्चिन्त, निष्काम हुने थियौं । परन्तु जगतले हामीलाई हामीवाट कहिले पनि नछुट्टिने चीज दिन सक्तैन । हाम्रो वास्तविक चीज हामी जगतवाट प्राप्त गर्न सक्तैनौं, जगतसँगको सम्बन्ध-विच्छेदले प्राप्त गर्न सक्छौं । हाम्रो वस्तु हो -- परमात्मा । हामी परमात्माको नै अंश हौँ -- 'ममैवांशो जीवलोके' ।  त्यो प्राप्तिको उपाय (कर्मयोगको दृष्टिले) हो, जगतवाट मिलेका वस्तुहरु (शरीर आदि) लाई जगतको नै सेवामा लगाइदिने र त्यसको वदलामा संसारसंग केही पनि आशा (फलको इच्छा) नराख्ने । त्योसँग कुनै पनि सम्बन्ध नाजोड़ने, न क्रियासँग, न पदार्थसँग । सेवा गर्नु भन्दा पनि कसैलाई दुःख नदिनु श्रेष्ठ छ । कसैलाई पनि दुःख नदिनाले, कसैको पनि अहित नगर्नाले सेवा आफैं हुन थाल्छ, गर्नु पर्दैन । आफैं हुने क्रियाको अभिमान हुँदैन र त्यो क्रियाको फलको इच्छा पनि हुँदैन । अभिमान र फलेच्छाको त्याग भएपछि हामीलाई हाम्रो आफ्नो वास्तविक वस्तु मिल्छ ।

वास्तवमा अपरा प्रकृतिको परमात्मा सिवाय छुट्टै सत्ता छँदै छैन -- 'नासतो विद्यते भाव:' । अपरा प्रकृतिलाई विशेष सत्ता जीवले नै दिएको हो । जस्तो, रुपियाँको कुनै महत्ता छैन, हामी नै लोभको कारण यसलाई महत्ता दिन्छौं ।हामीले महत्ता दिएको वस्तुमा नै हाम्रो आकर्षण हुन्छ । महत्ता दिंदा दोषहरु पनि स्वीकारिन्छ । कामरुप दोषको कारण नै स्त्री (पुरुष)मा आकर्षण हुन्छ, लोभरूप दोषको कारण नै धनमा आकर्षण हुन्छ, मोहरूप दोषको कारण नै कुटुम्ब-परिवारमा आकर्षण हुन्छ । तर दोषहरुसँग तादात्म्य हुँदा नै दोष दोषरूपले देखिंदैन र हामीलाई यो कुराको पत्ता नै लाग्दैन, हामी नै तिनलाई (अपरा प्रकृतिलाई) सत्ता र महत्ता दिइरहेछौं । तादात्म्य मेटिएपछि दोष  रहँदैनन् र गुण देखिंदैनन् । अनन्त ब्रह्माण्डहरुमा तीन लोक, चौध भूवन, जड-चेतन, स्थावर-जंगम, थलचर-नभचर-जलचर, जरायुज-अन्डज-स्वेदज-उद्भिज्ज, सात्विक-राजस-तामस, मनुष्य, देवता, पितृ, गन्धर्व, पशु, पक्षी, कीट, पतंग, भूत-प्रेत-पिशाच, ब्रह्म-राक्षस आदि देख्न. सुन्न, पढ्न तथा कल्पना गर्नमा आउने जे सुकैमा पनि 'परा' र 'अपरा' -- यी दुई प्रकृतिहरु सिवाय केही पनि छैन ।जे सुकै देख्न, सुन्न, पढ्न तथा कल्पना गर्नमा आउने र जुन शरीर-इन्द्रियहरु, मन, बुद्धि-अहम् द्वारा देखियो, सुनियो, पढियो, ती सबै सबै अपरा हुन् । तर देख्ने, सुन्ने, पढ्ने, सोच्ने, जान्ने, मान्ने चाहिं 'पर' हो ।परा र अपरा -- यी दुवै भगवानका शक्ति भएकाले भगवानदेखि अभिन्न अर्थात् भगवतस्वरूप नै हुन् ।त्यसैले अनन्त ब्रह्माण्डहरुको भित्र तथा वाहिर र अनन्त ब्रह्माण्डहरुको रूपमा भगवान सिवाय किञ्चित् पनि, केही पनि छैन -- 'वसुदेवः सर्वम्', 'सदसच्चाहमर्जुन'। संसारका सबै दर्शन मत-मतान्तर आचार्यलाई लिएर छन्, तर 'वासुदेवः सर्वम्' कुनै आचार्यको दर्शन, मत होइन, साक्षात् भगवानको अटल सिद्धान्त हो। यही सिद्धान्त अन्तर्गत सबै दर्शन, मत-मतान्तर आउँछन् ।
                                              
अपरा (जगत् )लाई स्वतन्त्र सत्ता जीवले नै दिएको हो -- 'ययेदम् धार्यते जगत्' । 'अपरा' भगवानको हो, तर त्यसलाई अर्थात् शरीर-इन्द्रियहरु-मन-बुद्धि-अहमलाई आफ्नो र आफ़्नोलागि मान्दा नै जीव बन्धनमा परेको हो । अतः साधकलाई जगत देखिन्छ भने त्यो उसको व्यक्तिगत दृष्टि हो । व्यक्तिगत दृष्टि सिद्धान्त होइन । देखिनु सीमित हुन्छ, तर तत्व असीम छ । जस्तो, सूर्य थाल जस्तो देखिन्छ, तर वास्तवमा सूर्य थालको आकारको छैन, पृथ्वी भन्दा कति गुना धेरै ठूलो छ ।

साधकलाई जगत देखिन्छ भने उसले निष्कामभावपूर्वक सेवा गर्नु पर्छ । जगतलाई आफ्नो र आफ़्नोलागि मान्नु तथा त्यसवाट सुख लिनु नै असाधन हो, बन्धन हो । कारण, हामीसँग शरीर-इन्द्रियहरु-मन-बुद्धि आदि सबै जगतका हुन् र जगतकालागि हुन् । अतः जगतको वस्तु जगतको सेवामा लागाइदिए जगत जगतरूपले देखिंदैन, भगवतरूपले देखिनेछ । सत्य वास्तवमा त्यही हो । तात्पर्य, साधक चाहे जगतलाई मानोस् , चाहे आत्मालाई मानोस्, यी मध्ये जुनलाई पनि मानेर ऊ साधना गर्न सक्छ र अन्तिम तत्व 'वासुदेवः सर्वम्' को अनुभव गर्न सक्छ ।