Saturday, 10 January 2015

No. 222 श्लोक २० ती ती कामनाहरुले ज्ञान हरिएका मनुष्य आफ्नो आफ्नो प्रकृति अर्थात् स्वभावले नियन्त्रित भएर

No. 222 

श्लोक २० 

ती ती कामनाहरुले ज्ञान हरिएका मनुष्य आफ्नो आफ्नो प्रकृति अर्थात् स्वभावले नियन्त्रित भएर ती ती अर्थात् देवताहरुकालागि तिनै तिनै नियमहरु धारण गर्दै अरु देवताहरुको शरण हुन्छन् । 

'कामैस्तैस्तैर्ह्रितज्ञानाः' -- ती ती अर्थात् यो लोकको र परलोकको भोगहरुको कामनाले ज्ञान ढाकिएकाहरु, आच्छादित भएकाहरुलाई यो पद आएको छ । तात्पर्य, परमात्मा प्राप्ति गर्न पाइएको विवेकयुक्त मनुष्यशरीरमा आएर परमात्मा नपाइकन उनीहरु आफ्नो कामनाहरु पूर्ति गर्नमा नै लागिरहन्छन् । संयोगजन्य सुखको इच्छालाई कामना भन्छन् । कामना दुई किसिमका हुन्छन् -- पहिलो, यहाँ चाहे जसरी भोग भोगौं, जहिले चाहे, जहाँ चाहे, जति धन खर्च गरौँ, सुख-आरामले दिन वितून् भन्ने विचारले संयोगजन्य सुखकोलागि धन-संग्रहको कामना हुन्छ । त्यस्तै, पुण्य संग्रहको कामना पनि दुई किसिमको हुन्छ -- पहिलो, यो लोकमा म पुण्यात्मा भनिऊँ, र दोस्रो, परलोकमा मलाई भोग मिलोस् । यी सबै कामनाहरुले सत्-असत्, नित्य-अनित्य, सार-असार, बन्ध-मोक्षको विवेक ढाकिएको हुन्छ । विवेक आच्छादित बुद्धिले यो बुझ्न सकिंदैन, हामी जुन पदार्थहरुको कामना गरिरहेका छौं, ती पदार्थहरु हामीसँग कहिलेसम्म रहन्छन् र हामी ती पदार्थहरुसँग कहिलेसम्म रहन्छौं । 

'प्रकृत्या नियता: स्वया' -- कामनाहरुले विवेक छोपिएकोले उनीहरु (त्यस्ता व्यक्तिहरु) आफ्नो प्रकृतिद्वारा नियन्त्रित रहन्छन् अर्थात् आफ्नो स्वभावको परवश रहन्छन् । यहाँ 'प्रकृति' शब्द व्यक्तिगत स्वभावको वाचक हो । समष्टि प्रकृतिको वाचक होइन । यो व्यक्तिगत स्वभाव सबैमा मुख्य हुन्छ । अतः व्यक्तिगत स्वभाव कोही छोड्न सक्तैन । परन्तु स्वभावमा हुने दोष त मनुष्य छोड्नै सक्छ । ऊ यी दोषहरु छोड्न सक्तैन भने मनुष्यजन्मको महिमा  नै के भयो ? मनुष्य आफ्नो स्वभावलाई निर्दोष, शुद्ध वनाउन समर्थ छ । तर मनुष्य भित्र कामना पूर्तिको उद्देश्य रहुन्जेल ऊ आफ्नो स्वभाव सुधार्न सक्तैन र त्यो वेलासम्म उसलाई आफूमा निर्वलता देखिन्छ । परन्तु कामना मेटाउने उद्देश्य भएकोले ऊ आफ्नो प्रकृति (स्वभाव) सुधार्न सक्छ अर्थात् उसमा प्रकृतिको परवशता रहँदैन ।

'तं तं नियममास्थाय' -- कामनाहरुले गर्दा आफ्नो प्रकृतिको परवश भएपछि कामनापूर्तिका अनेक उपायहरु र विधिहरु (नियमहरु) त्यो व्यक्ति खोजिरहन्छ । फलानो यज्ञ गरे मेरो कामना पूरा हुन्छ कि फलानो तप गरे ? फलानो दान दिएर कामना पूरा हुन्छ कि फलानो जप गरे ? आदि आदि उपायहरु ऊ खोजिरहन्छ । ती उपायहरुका विधिहरु अर्थात् नियमहरु छुट्टा छुट्टै हुन्छन् । जस्तो -- कामनापूर्ति गर्न फलानो विधिले यज्ञ गर्नुपर्छ र फलानो ठाउँमा गर्नुपर्छ आदि, आदि । यसरी मनुष्य आफ्नो कामनापूर्तिगर्न अनेक उपायहरु र नियमहरु धारण गर्छ । 

'प्रपद्यन्तेन्यदेवताः' -- कामनापूर्ति गर्न अनेक उपायहरु र नियमहरु धारण गरेर मनुष्य अरु देवताहरुको शरण लिन्छन्, भगवानको शरण लिंदैनन् । यहाँ 'अन्यदेवता:' भन्नुको तात्पर्य, उनीहरु ती देवताहरुलाई भगवतस्वरूप मान्दैनन्, उनीहरुको छुट्टै सत्ता मान्छन्, यसवाट उनीहरुलाइ अन्त हुने (नाशवान्) फल मिल्छ -- 'अन्तवत्तु फलम् तेषाम्'। उनीहरुले देवताहरुको छुट्टै सत्ता नमानेर उनीहरुलाई पनि भगवतस्वरूप नै माने त उनीहरुलाई अन्त हुने फल मिल्ने थिएन, अविनाशी फल मिल्ने थियो । 

यहाँ देवताहरुको शरण लिनमा दुई कारण मुख्य भए -- एउटा कामना र एउटा आफ्नो स्वभावको परवशता ।

भगवानका अर्थार्थी र आर्त भक्तहरुमा हुने कामनाहरु यो श्लोकमा वर्णित मनुष्यहरुमा पनि छन् । तर यी दुईमा फरक यति हो, अर्थार्थी भक्तहरुमा कामनाहरुको मुख्यता छैन, भगवानको मुख्यता छ । यसैले उनीहरुलाई 'हृतज्ञाना:' होइनन् । तर यहाँ वर्णित कामनाहरु हुने मनुष्य 'हृतज्ञाना:'  हुन् ।

अर्थार्थी र आर्त भक्त त खालि भगवानका नै शरण हुन्छन्, तर यी मनुष्य भगवान छोडेर अरु देवताहरुको शरण हुन्छन् । कामनाहरु, देवता, मनुष्य र नियम -- यी सबै धेरै हुने गर्छन् ।अनेक कामनाहरु हुँदा पनि उपास्यदेव एउटा परमात्मा मात्रै भए उहाँले उपासकको उद्धार गरिदिनुहुन्छ । परन्तु कामनाहरु पनि अनेक छन् र उपास्यदेव पनि अनेक छन् भने कसले उद्धार गर्ने ?

यौटा भगवान वाहेक अर्को कुनै वस्तु नै छैन -- भन्ने ज्ञान सुखको कामनाले ढाकिन्छ । यो कामना न प्रकृतिले वनाएको हो र न परमात्माले वनाएको हो, मनुष्य आफैंले वनाएको हो । यसैले यो कामना हटाउने जिम्मेवारी पनि मनुष्यमा नै छ । 'हृतज्ञाना:' भन्नुको तात्पर्य, यो ज्ञान नष्ट भएको होइन, कामनाले हरिएको छ । यो कुरालाई 'माययापहृतज्ञाना:', 'अज्ञानेनावृतं ज्ञानम्' आदि शब्दहरुले पनि भनिएका छन् ।

यही अध्यायको पन्ध्रौँ श्लोकमा आएको 'माययापहृतज्ञाना:' पदमा तमोगुणको प्रधानता र रजोगुणको गौणता छ, तर यहाँ आएको 'कामैस्तैस्तैहृतज्ञाना:' पदमा रजोगुणको प्रधानता र तमोगुणको गौणता छ । 'माययापहृतज्ञाना:'मा अर्थको इच्छा मुख्य छ र 'कामैस्तैस्तैह्रितज्ञाना:'मा भोगहरुको इच्छा मुख्य छ । दुबैमा फरक यति हो, मायाले अपहृत ज्ञान भएकाहरु देवताहरुको पूजन गर्दैनन्, तर कामनाले अपहरित ज्ञान भएकाहरु देवताहरुको पूजन गर्न सक्छन् । कारण, अर्थदेखि अरूचि हुँदैन, तर भोगहरुदेखि अरूचि हुन्छ नै । 'माययापहृतज्ञाना:'मा आसुरभावको झूठ, कपट, वेइमानी आदिको आश्रय छ तर 'कामैस्तैस्तैर्ह्रितज्ञाना:' पदमा देवताहरुको आश्रय छ । अतः 'माययापहृतज्ञाना:'मा विशेष जड़ता छ, 'कामैस्तैस्तैह्रितज्ञाना:'मा पहिलोको भन्दा चेतनताको प्रधानता छ ।

No 221 अझ पनि पहिलो श्लोकको नै वांकी अंश 'वासुदेवः सर्वम्' -- यसमा 'सर्वम्' असत् हो र 'वासुदेवः' सत् हो ।

No 221 

अझ पनि पहिलो श्लोकको नै वांकी अंश 

'वासुदेवः सर्वम्' -- यसमा 'सर्वम्' असत् हो र 'वासुदेवः' सत् हो । सत् को अभाव विद्यमान छैन र असत् को भाव विद्यमान छैन -- 'नासतो विद्यते भावो नाभावो विद्यते सतः' । तात्पर्य, सत् नै सत् छ, असत् छँदै छैन । वासुदेव नै वासुदेव छ, 'सर्वम्' छँदै छैन । परन्तु भन्ने, सुन्ने र पढ्ने साधकहरुको दृष्टिमा 'सर्वम्' (संसार) रहन्छ, यसैले भगवान 'सर्वम्'को धारणा मेटाउन 'वासुदेवःसर्वम्' भन्नुहुन्छ । 

शास्त्रमा वर्णन भएका कर्मयोगी, ज्ञानयोगी ध्यानयोगी, लययोगी, हठयोगी, राजयोगी, मन्त्रयोगी, अनासक्तयोगी जस्ता अनेक प्रकारका योगीहरुलाई भगवान अति दुर्लभ भन्नुहुन्न, 'सबै भगवान नै हो' -- भन्ने अनुभव गर्ने महात्मालाई नै अत्यन्त दुर्लभ भन्नुहुन्छ ।

भगवान सम्पूर्ण संसारको वीज हुनुहुन्छ -- 'यच्चापि सर्वभूतानाम् वीजं तदहमर्जुंन', 'वीजं मां सर्वभूतानाम् विद्धि पार्थ सनातनम्' । वीजले पैदा भएका समस्त चीज पनि वीजरूप  नै हुन् । जस्तो, गहुँवाट पैदा हुने खेतीलाई पनि गहुँ नै भन्छन् । किसानहरु भन्छन्, गहुँको खेती धेरै राम्रो भयो । हेर, खेतमा गहुँ खडा छ, गहुँले खेत भरिएको छ । तर, शहरमा रहने कुनै व्यापारी छ भने ऊ तिनलाई कसरी गहुँ कसरी मान्ला ? उसले भन्ला -- मैले बोरा-का-बोरा गहुँ किनिसकें र वेचिसकें, के म जान्दिन गहुँ कस्तो हुन्छ ? यी र डांठ र पात हुन्, गहुँ होइन । परन्तु खेती गर्ने व्यक्तिले भन्नेछ -- यो त पशुले खाने घास होइन, गहुँ हो । खेतीलाई कुनै गाइले खाइदियो भने भनिन्छ, तिम्रो गाइले मेरो गहुँ खायो, जवकि गाइले एक दाना गहुँ पनि खाएन । खेतमा गहुँको एक दाना नदेखिए पनि यो गहुँ हो भन्नेमा सन्देह रहँदैन । किनकि यो पहिले पनि गहुँ नै थियो, अन्तमा पनि गहुँ नै रहन्छ; अतः वीचमा खेतीरूपले छुट्टै देखिए पनि गहुँ नै हो । अहिले त हरियो घास देखिन्छ, तर पछि, पाकेपछि यसवाट गहुँ नै निस्कनेछ । यसै गरी यो संसारमा पहिले पनि परमात्मा नै हुनुहुन्थ्यो, अन्तमा पनि परमात्मा नै रहनुहुनेछ । अतः वीचमा पनि सबै परमात्मा नै हुनुहुन्छ --'वासुदेवःसर्वम्' ।

साधकमा अहम् रहुन्जेल ऊ भोगी हो । म योगी हुँ -- यो योगको भोग हो, म ज्ञानी हुँ -- यो ज्ञानको भोग हो, म प्रेमी हुँ -- यो प्रेमको भोग हो । साधकमा भोग रहुन्जेल उसको पतनको सम्भावना रहन्छ । योगको भोगी कुनै वेला विषयको भोगी पनि हुन सक्छ, ज्ञानको भोगी कुनै वेला अज्ञानको भोगी पनि हुन सक्छ र प्रेमको भोगी कुनै वेला रागको भोगी पनि हुन सक्छ । कारण, उसमा पहिलेदेखि नै भोगको प्रवृत्ति, आदत रहेको छ । भोगी नरहेपछि केवल योग रहन्छ । योग रहेपछि मनुष्य मुक्त हुन्छ । परन्तु मुक्त भएपछि पनि त्यो महापुरुषले जुन साधनले मुक्ति पाएको हो, त्यो साधनको संस्कार (अहम् को सूक्ष्म गन्ध) रहन्छ । यो गन्धले अरु दार्शनिकहरुसँग एकता हुन दिंदैन । यही संस्कारको कारण नै दार्शनिकहरुमा र उनका दर्शनहरुमा मतभेद रहन्छ । आफ्नो मतको संस्कार अरु दार्शनिकहरुको मतहरुलाई समान आदर गर्न दिंदैन । परन्तु प्रतिक्षण वर्धमान (वढ्ने) प्रेमको प्राप्ति भएपछि आफ्नो मतको संस्कार पनि रहँदैन र अरु सबैसँग एकता हुन्छ अर्थात् सम्पूर्ण मतभेद मेटिन्छन् र 'वासुदेवः सर्वम्'को अनुभव हुन्छ । वास्तवमा 'वासुदेवःसर्वम्'को अनुभव गर्ने, यसलाई जान्ने, भन्ने पनि नरहेपछि एउटा वासुदेव मात्रै रहन्छ । यही वासुदेव अनादिकालदेखि जस्ता-को-तस्तो छ । सबैमा परमात्मा देखेपछि सम्पूर्ण मतहरुमा समान आदरभाव हुन्छ; किनकि आफ्नो इष्ट परमात्मासँग विरोध सम्भव नै छैन ।                                                         
                . 
ईश्वर र जीवको विषयमा दुई किसिमको वर्णन छ -- (१) ईश्वर समुद्र हो र जीव उसको (समुद्रको) तरंग हो अर्थात् तरंग समुद्रको हो र (२) जीव (स्वरूप) समुद्र हो र ईश्वर उसको तरंग हो अर्थात् समुद्र तरंगको हो । यी दुई मध्ये तरंग समुद्रको हो -- भन्ने मान्नु ठीक देखिन्छ । समुद्र तरंगको हो -- यसो भन्नु ठीक देखिंदैन; किनभने समुद्र अपेक्षाकृत नित्य छ र तरंग अनित्य (क्षणभंगूर) छ । अतः तरंग समुद्रको हुन्छ, समुद्र तरंगको होइन । यदि आफूलाई समुद्र र ईश्वरलाई तरंग मान्छौं भने यो मान्यताले अनर्थ हुन्छ; किनकि यस्तो मान्दा अभिमान पैदा हुन्छ तथा अहम् (चिज्जडग्रन्थि) नित्य रहिदिन्छ र ईश्वर अनित्य भइदिन्छ । कारण, जीवमा अनादिकालदेखि नै अहम् (व्यक्तित्व)को अभ्यास परेको छ । हामीले स्वरूपलाई अहम् भन्ने वित्तिकै अहम् त्यहीं आइहाल्छ । यो अहम् अनादिकालदेखि छ र त्यो अहम् मेटिएपछि मुक्ति हुन्छ । ती दुवै कुराहरु वाहेक तेस्रो विलक्षण कुरो छ, जल-तत्वमा न समुद्र छ, न तरंग छ अर्थात् त्यहाँ समुद्र र तरंगको भेद छैन । यही वास्तविक कुरो हो । समुद्र र तरंग त सापेक्ष हुन्, तर जल-तत्व निरपेक्ष हो । 

जल-तत्वमा समुद्र, नदी, वर्षा, ओस, कुहिरो, वाफ, वादल सबै मेटिएर यौटै भए जस्तै 'वासुदेवः सर्वम्' मा सबै साधन, योगमार्ग मेटिएर एक (वासुदेवरुप) हुन्छन् । जल-तत्वमा कुनै भेद नभए जस्तै 'वासुदेवःसर्वम्'मा पनि भेद छैन मतभेदले असन्तोष हुन्छ, तर 'वासुदेवःसर्वम्'मा कुनै मतभेद नभएकोले यसमा सर्वथा सन्तोष हुन्छ । वासुदेवःसर्वम् मा न योगी छ, न ज्ञानी छ, न प्रेमी छ, यसैले यसको अनुभव गर्ने महात्मा अत्यन्त  दुर्लभ छ ।  

यौटै जल वरफ, कुहिरो, वादल, असिना, वर्षा, नदी, तलाउ, समुद्र आदि अनेक रूपमा हुन्छ । कराहीमा वरफ हालेर त्यसलाई आगोमा राखियो भने वरफ पग्लिएर पानी हुन्छ । त्यसपछि पानी पनि वाफ हुन्छ र वाफ परमाणु भएर निराकार हुनेछ । जल नै कुहिरोरूप हुन्छ, त्यही वादलरूप हुन्छ, त्यही निराकाररूप हुन्छ, त्यही वरफरुप हुन्छ, त्यही वर्षारूप भएर पृथ्वीमा खस्छ, त्यही नदीरूप हुन्छ, त्यही समुद्ररूप हुन्छ ।  अनेक रूपले हुँदा पनि तत्वले जल एउटा नै रहन्छ । यस्तै प्रकारले एउटा नै भगवान अनेक रूप वन्नु हुन्छ । जल ठण्डीले जमेर वरफ वने जस्तै र गर्मीले पग्लेर तथा वाफ वनेर परमाणुरुप वने जस्तै अज्ञानरूपी ठण्डीले भगवान स्थूल तथा जड संसाररूपले देखिनुहुन्छ र ज्ञानरूपी अग्निले सूक्ष्म तथा चेतन वासुदेवरूपले देखिनुहुन्छ । जल चाहे वरफ रूपले देखियोस्, चाहे वाफ, वादल आदि रुपहरुले देखियोस्, त्यो जल नै हो जल सिवाय केही छैन । त्यस्तै भगवान चाहे संसाररूपले देखिनुहोस्, चाहे अन्यरूपले देखिनुहोस्, हुनुहुन्छ त उहाँ भगवान नै । भगवान सिवाय केही छैन । 

साधकवाट यस्तो गल्ति हुन्छ, ऊ आफूलाई छुट्टै राखेर संसारलाई भगवतस्वरूप देख्ने चेष्टा गर्छ अर्थात् 'वासुदेवःसर्वम्'लाई आफ्नो बुद्धिको विषय वनाउँछ । वास्तवमा देखिने संसार हो, भगवतस्वरूप होइन, तर देख्ने पनि भगवतस्वरूप नै हो । अतः साधकले यस्तो मान्नु पर्छ, आफ्नो देह सहित सबै भगवान नै हो अर्थात् शरीर पनि भगवतस्वरूप हो, इन्द्रियहरु पनि भगवतस्वरूप हुन्, मन पनि भगवतस्वरूप हो, बुद्धि पनि भगवतस्वरूप हो, प्राण पनि भगवतस्वरूप हो र अहम् (मपना) पनि भगवतस्वरूप हो । सबै भगवान नै हो -- यसलाई मान्न साधकलाई बुद्धिले जोर लगाउनु हुँदैन, सहजरूपले जस्तो छ, त्यस्तै स्वीकार गर्नु छ ।

'सबै भगवान नै हो' भन्ने निश्चय भएपछि साधक यो अध्यात्मविद्या (ब्रह्मविद्या) द्वारा सबै प्रकारले संशयरहित भएर सबै ठाउँमा भगवानलाई भलीभाँती देख्दै उपराम हुनु अर्थात् 'सबै भगवान नै हो' -- यो चिन्तन पनि नरहोस्, प्रत्युत साक्षात् भगवान नै देखिन लागोस् । 

तात्पर्य, 'सबै भगवान नै हो' -- यस्तो भावले पनि उपराम हुनु अर्थात् न द्रष्टा (देख्ने) रहोस्, न दृश्य (देखिने) रहोस् र न दर्शन (देख्ने वृत्ति) नै रहोस्, खालि भगवान मात्रै रहोस्  । 

'वासुदेवः सर्वम्'को अनुभव अनेक दृष्टिहरुले हुन सक्छ, जस्तो 

(१) क्रिया, पदार्थ र व्यक्तिको त आदि र अन्त हुन्छ, तर सत्ता निरन्तर जस्ता-को-तस्तो रहन्छ । यसैले सम्पूर्ण मनुष्यलाई क्रिया, पदार्थ र व्यक्तिको अभावको त अनुभव हुन्छ, तर आफ्नो सत्ताको अभावको अनुभव कहिले कसैलाई हुँदैन । यो नित्य-निरन्तर रहने सत्ताको अनुभव हुनु विवेकको दृष्टिले 'वासुदेवःसर्वम्' हो । 

(२) सृष्टि भन्दा पहिले पनि खालि भगवान हुनुहुन्थ्यो र पछि पनि केवल भगवान रहनुहुन्छ, फेरि वीचमा भगवान वाहेक अर्को कसरी आउन सक्छ ? -- यो युक्तिको दृष्टिले 'वासुदेवः सर्वम्' हो । 

(३) मेरो त एउटा भगवान मात्रै हुनुहुन्छ, भगवान सिवाय मेरो कोही छँदै छैन, अरु कोही भए पो हुने, मलाई त्यसमा के मतलव ? -- यो सीधा-सरल विश्वासी भक्तहरुको दृष्टिले 'वासुदेवःसर्वम्' हो । व्रजमा जल भर्न एउटा गोपीले यस्ता कुराहरु सुनी र अर्को गोपीसँग सोधी -- हे साथी ! यी ब्रह्म, जीव आदि के हुन्छन् ? अर्की गोपीले भनी -- यी हाम्रो लालाको नै कुनै नातेदार होलान्, त्यसैले साधुहरु यिनको कुरा गर्दैछन्, हैन भने साधुहरुलाई लाला सिवाय अरुसँग के मतलव ?

(४) भगवततत्व जान्ने व्याकुलता भएकालाई दिनमा भोक लाग्दैन, राती निद्रा लाग्दैन, ऊ कुनै सन्तवाट सुनेर अथवा पुस्तकमा पढेर दृढतापूर्वक मान्छ, सबै भगवान नै हो भन्ने । भगवान कस्तो हुनुहुन्छ भन्ने कुरो त थाहा छैन, तर भगवान भन्दा अरु केही छैन भन्ने सन्तको वचनमा विश्वासको दृष्टिले 'वासुदेवः सर्वम्' छ । सन्त वचनमा प्रत्यक्ष भन्दा पनि वढी विश्वास भएपछि त्यस्तै देखिन थाल्छ अर्थात् अनुभव हुन्छ । 

दार्शनिक दृष्टिले विचार गर्दा, सत्ता एउटा मात्रै हुन सक्छ, दुइटा होइन । श्रद्धा-विश्वास (भक्ति)ले सबै भगवान मात्रै हुनुहुन्छ, भगवान सिवाय केही छैन । भक्तको दृष्टि भगवान छोडेर अर्कोतिर जाँदै जाँदैन र भगवान सिवाय अर्को कुनै उसको दृष्टिमा आउँदै आउँदैन ।

No. 220 अझ पनि पहिलो श्लोकको वांकी अंश 'वासुदेवः सर्वम्' -- यो तत्व बुझ्ने दुई तरिकाहरु छन्

No. 220 

अझ पनि पहिलो श्लोकको वांकी अंश 

'वासुदेवः सर्वम्' -- यो तत्व बुझ्ने दुई तरिकाहरु छन् -- (१) संसारको अभाव गरेर आफ्नो मनमा परमात्मालाई राख्ने अर्थात् संसार छैन र परमात्मा छ भन्ने  (२) सबै भगवान नै भगवान हुनुहुन्छ । यसमा देखिने परिवर्तन पनि भगवानकै स्वरूप हो; किनकि भगवान सिवाय अर्को कुनै स्वतन्त्र सत्ता छैन । 

माथि वर्णन गरिएका दुवै किसिम साधकहरुकोलागि हो । पदार्थलाई लिएर संसारमा आकर्षण (राग) भएका साधकले 'यो सबै होइन, खालि परमात्मा मात्रै हो' -- भन्ने प्रणाली लिनुपर्छ । पदार्थलाई लिएर अलिकति पनि आकर्षण नभएका र केवल भगवानको स्मरण, चिन्तन, जप, कीर्तन आदिमा लागिरहने साधकलाई 'संसाररूपले सबै भगवान नै हो' -- भन्ने प्रणाली ठीक हुन्छ । वास्तवमा हेर्दा यी दुवै प्रणाली एकै हुन् । यी दुईमा फरक यत्ति हो, सुनका गहना र गहनाको नाम, रुप, आकृति छुट्टा छुट्टै भए पनि सबै सुन-नै-सुन भन्ने जान्नु । संसारको अभाव गरेर परमात्मा जान्न 'विवेक'को प्रधानता छ । संसारलाई भगवदस्वरूप मान्न 'भाव'को प्रधानता हुन्छ । निर्गुणका उपासकहरुमा विवेकको प्रधानता रहन्छ र सगुणका उपासकहरुमा भावको प्रधानता हुन्छ ।                

संसारलाई अभाव गरेर परमात्मतत्व जान्नु पनि तत्वले जान्नु हो र संसारलाई भगवतस्वरूप मान्नु नै तत्वले जान्नु हो । कारण, वास्तवमा तत्व यौटै छ । फरक यति मात्रै हो, ज्ञानमार्गमा जान्ने प्रधानता रहन्छ । यसैले भगवानले ज्ञानमार्गमा मान्नुलाई पनि जान्नुको अर्थमा नै लिनुभएको छ -- 'इति मत्वा न सज्जते' र भक्तिमार्गमा जान्नुलाई पनि मान्नुको नै अर्थमा लिनुभएको छ । यहाँ बुझ्नु पर्ने कुरो,परमात्मालाई जान्नु र मान्नु -- दुवै ज्ञान हो तथा संसारलाई सत्ता दिएर संसारलाई जान्नु र मान्नु -- दुवै अज्ञान हो ।

संसारलाई तत्वले जानेपछि संसारको स्वतन्त्र सत्ताको अभाव हुन्छ र परमात्मालाई तत्वले जानेपछि परमात्माको अनुभव हुन्छ । त्यस्तै संसार भगवतस्वरूप हो -- भन्ने दृढताले मानेपछि संसारको स्वतन्त्र सत्ताको अभाव हुन्छ, त्यसपछि संसार संसाररूपले नदेखिएर भगवतस्वरूप देखिन थाल्छ । तात्पर्य, परमात्मतत्वको अनुभव भएपछि जान्नु र मान्नु -- दुवै एक हुन्छन् । 

'इति ज्ञानवान्मां प्रपद्यते' -- प्रतिक्षण वदलिने संसारको सत्ता मान्ने व्यक्ति अज्ञानी हुन्, मूढ हुन्, परन्तु कहिले पनि नवदलिने भगवततत्व तर्फ दृष्टि रहने ज्ञानवान्, असम्मूढ हुन् । 

'ज्ञानवान्' भन्नुको तात्पर्य, ज्ञानी तत्वले जान्दछ, सबै ठाउँमा, सबैमा र सबैको रूपमा वस्तुतः एउटा भगवान मात्रै हुनुहुन्छ । यस्ता ज्ञानवानलाई पन्ध्रौँ  अध्यायमा 'सर्ववित्' भनिएको छ । 

ज्ञानवान् को शरणागति अर्थार्थी, आर्त र जिज्ञासु भक्तहरुको जस्तो होइन । भगवानले ज्ञानीलाई आफ्नै आत्मा भन्नुभएको छ -- 'ज्ञानी त्वात्मैव मे मतम्' । ज्ञानी भगवानको आत्मा भए भगवान पनि ज्ञानीको आत्मा हुनुभयो । यही कारण, एउटा भगवत तत्व सिवाय अर्को सत्ता छँदै छैन । यसैले ज्ञानीको शरणागति ती तीनहरुको भन्दा विलक्षण हुन्छ । उसको अनुभवमा, एक भगवततत्व सिवाय अर्को सत्ता छँदै छैन -- यही उसको शरणागति हो ।  

भगवानको दृष्टिमा आफू सिवाय कुनै अर्को तत्व नै छैन -- 'मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव' । सूतको मालामा मणिहरुको ठाउँमा सूतको डल्लो राख्दा मालामा सूत सिवाय अरु के रह्यो ? केवल सूत मात्रै रह्यो । हो, देख्नमा डल्लो छुट्टै देखिन्छ र धागो छुट्टै देखिन्छ, परन्तु तत्वले एकै चीज सूत मात्रै छ । त्यस्तै परमात्मा संसारमा व्यापक देखिनुहुन्छ; परन्तु तत्वले परमात्मा र संसार एक नै छन् । तिनमा व्याप्य-व्यापकको भाव छैन । अतः सबै एक वासुदेव मात्रै हो -- यस्तो अनुभव हुने व्यक्ति पनि भगवतस्वरूप नै भयो । भगवतस्वरूप हुनु नै शरणागति हो ।

'स महात्मा सुदुर्लभ:' -- धेरै मनुष्यहरु त 'मलाई परमात्मा प्राप्त गर्नु छ' भन्ने तर्फ दृष्टि नै दिंदैनन् र दृष्टि दिन पनि चाहँदैनन् । यसमा दृष्टि राख्नेहरु पनि उत्कण्ठापूर्वक अनन्यभावले आफ्नो जीवन सफल गर्नतिर लाग्दैनन् ।आफ्नो कल्याण गर्नमा लाग्ने पनि मूर्खताको कारण परमात्मप्राप्तिदेखि निराश भए आफूलाई आएको राम्रो अवसर गुमाउँछन् । यसो हुँदा उनीहरु परम लाभदेखि वन्चित रहन्छन् ।

यही अध्यायको तेस्रो श्लोकमा भगवानले भन्नुभएको छ, मनुष्यमा हजारौं मध्ये पनि कुनै एउटा मात्रै मनुष्य वास्तविक सिद्धिकोलागि यत्न गर्छ । यत्न गर्ने ती सिद्धहरुमा पनि कुनै एउटा मात्रै मनुष्य 'सबै वासुदेव नै हो' भन्ने तत्वले जान्दछ । यस्तो तत्वले जान्ने महात्मा अत्यन्त  दुर्लभ छ । यसको तात्पर्य यो होइन, परमात्मा दुर्लभ हुनुहुन्छ, तर साँचो हृदयले परमात्मप्राप्तिकोलागि लाग्ने व्यक्ति दुर्लभ छ । । साँचो हृदयले परमात्माप्राप्तिकोलागि मनुष्यलाई परमात्माप्राप्ति हुन सक्छ ; किनकि उहाँको प्राप्तिकोलागि नै मनुष्य शरीर पाइएको छ ।                                    

संसारमा सबै मनुष्य धनी हुन सक्तैनन् । सांसारिक भोग-सामग्री सबैलाई समान रीतिले पाइंदैनन् । परन्तु भगवान शंकरले पाउनुभएको परमात्मतत्व सनकादि ऋषिहरुलाई प्राप्त छ, नारद, वशिष्ठ आदि देवर्शीलाई पनि प्राप्त छ । त्यही तत्व हामी सबैलाई पनि अवश्य प्राप्त प्राप्त हुन सक्छ ।  यसैले मनुष्यले यस्तो दुर्लभ अवसर छोड्नु हुँदैन ।

भगवानको एउटा यस्तो विलक्षणता छ, उहाँ भोको व्यक्तिकोलागि अन्नरूपले, तिर्खाएको व्यक्तिकोलागि जलरूपले र विषयीहरुकोलागि शब्द, स्पर्श रुप, रस र गन्धरूप वनेर आउनुहुन्छ । उहाँ नै मन, बुद्धि-इन्द्रियहरु वनेर आउनुहुन्छ । उहाँ नै संकल्प-विकल्प वनेर आउनुहुन्छ । उहाँ नै व्यक्ति वनेर आउनुहुन्छ ।  तर साथसाथै दुःखरूपले आएर मनुष्यलाई चेताउनु हुन्छ, 'यदि तिमी यी वस्तुहरुलाई भोग्य मानेर यिनको भोक्ता वन्छौ भने यसको फलस्वरूप तिमीलाई दुःख नै दुःख भोग्नु पर्नेछ ।' यसैले मनुष्यलाई लाज लाग्नु पर्छ, मैले भगवानलाई भोग सामग्री वनाएँ भने मेरो सुखकोलागि भगवानलाई सुखको सामग्री वन्नुपर्छ । भगवान कति विचित्र दयालु हुनुहुन्छ, प्राणीले जे खोज्छ, भगवान त्यस्तै वनिदिनु हुन्छ ।

देख्न, सुन्न, बुझ्नमा आएका सबै चीज मन-बुद्धि-इन्द्रियहरुको विषय होइनन्, ती सबै भगवान नै हुन् र भगवानका नै हुन् -- यस्तो भाव हुनुपर्छ हाम्रो । यसरी वास्तविकताले अनुभव गरियो भने मनुष्य विलक्षण हुन्छ, 'स महात्मा सुदुर्लभ:' हुन्छ । 

एक जना वैरागी वावाजी थिए । उनी गणेशजीको पूजन गर्ने गर्थे । उनीसँग एउटा गणेशजीको र एउटा मुसाको मूर्ति थियो । ती दुवै मूर्तिहरू तौलमा वरावर थिए । एक चोटी वावाजीले तीर्थ जाने विचार गरे र ती मूर्तिहरू वेच्न सुनारकहाँ गए । सुनारले ती दुवै मूर्तिहरुलाई तौलेर दुबैलाई वरावर दाम दिए । तर ती वावाजी रिसाए, 'तिमी के भनिरहेछौ ? गणेशजी त देवता हुनुहुन्छ र मुसा उहाँको वाहन हो । तर तिमी दुबैको मूल्य वरावर भनिरहेका छौ ।' सुनारले भन्यो, 'वावाजी ! म गणेश र मुसा किन्दिन । सुनको तौल जति हुन्छ, त्यही अनुसार मुल्य हुन्छ ।' यदि सुनारले गणेश र मुसा देख्छ भने ऊ सुन देख्दैन र यदि सुन देख्छ भने गणेश र मुसा देख्दैन । यसैले सुनार न गणेश देख्छ, न मुसा, ऊ त खालि सुन मात्रै देख्छ । त्यस्तै भगवानसँग अभिन्न भएको महात्मा संसार देख्दैन, ऊ त केवल भगवान मात्रै देख्छ ।     

एक जना सन्त वाटोमा हिंड्दा हिंड्दै (कुनै कारण ?) कुनै खेतमा गए । त्यो खेतको मालिकले उनलाई देख्यो र 'तर्वुजा चोर्ने मान्छे यही हो' भन्ने ठानेर पछाडिवाट आएर उनको ढाडमा लठ्ठीले हान्यो । एक छिनपछि आफूले भन्ठानेको चोर त वावाजी रहेछ भन्ने थाहा पाएर भन्यो -- 'मैले हजुरलाई चिनिनं र चोर भन्ठानेर लठ्ठीले हानें । यसैले महाराज ! मलाई माफ गरि दिनु होस् ।' सन्तले भने -- 'के माफ गर्नु, तिमीले त मलाई पिटेनौ,चोरलाई पो पिट्यौ ।' त्यो व्यक्तिले भन्यो, -- 'अव के गरौँ महाराज !' सन्तले भने, 'तिमीलाई जे गर्न मन लाग्छ, त्यही गर ।' त्यो व्यक्तिले आफ्नो वैलगाडामा हालेर सन्तलाई अस्पतालमा भर्ना गर्यो । त्यहाँ मलम पट्टी गरिसकेपछि कुनै व्यक्तिले उनलाई दूध पिउन दियो र भन्यो -- 'महाराज ! दूध पिउनु होस् ।' सन्तले भने -- 'तिमी वडो वाठो रहेछौ, तिमी विचित्र-विचित्र लीलाहरू गर्छौ । पहिले तिमीले मलाई लठ्ठीले हान्यौ अव दूध पिउन भन्छौ ।' त्यो दूध दिने व्यक्ति डरायो र भन्न लाग्यो -- 'बाबाजी ! मैले हजुरलाई पिटेको छैन ।' सन्तले भने -- 'यो कुरो एकदम झूठो हो । म चिन्दछु, तिमी नै थियौं । मलाई पिट्ने तिमी नै हौ । तिमी सिवाय अरु को आयो ? कहाँवाट आयो ? कसरी आयो ? पहिले लठ्ठीले पिट्ने, अहिले दूध पिलाउन आउने ?' यसरी बाबाजी त आफ्नो 'वासुदेवः सर्वम्' भाषामा वोलिरहेका थिए र व्यक्ति चाहिं बाबाजीले कहाँ फसाउने हुन् भनेर डराइरहेको थियो । यसको तात्पर्य, सन्त खालि भगवान मात्रै देख्छन् कि लठ्ठीले पिट्ने पनि उही, मलम पट्टी लगाउने र दूध पिउन दिने पनि उही ।

महात्माहरुको महिमा 

सन्त-महात्माहरुको वर्णन आउँदा भनिन्छ -- 

(१) माथिल्लो दर्जाका तत्वज्ञ जीवनमुक्त महापुरुषहरु अभिन्नभाव र अखण्डरूपले खालि आफ्नो स्वरूपमा अथवा भगवत्तत्वमा स्थित रहन्छन् । उनको जीवनले, उनको दर्शनले, उनको चिन्तनले, उनको शरीरको स्पर्श गरेको वायुले जीवहरुको कल्याण भइरहन्छ । 

(२) ती महापुरुषको महिमा नजान्ने मनुष्यको अगाडि ती महापुरुष आफ्नो भावहरुदेखि तल ओर्लन्छन् र भनिदिन्छन्, जस्तो -- सन्त-महात्माहरुले यस्तो गरे, उनीहरुले गरिएका आचरण र भनिएका वचनले शास्त्र बन्छन् आदि ।

(३) ती सन्त-महात्माहरु यसवाट पनि तल ओर्लंदा भन्छन्, महात्माहरुको आज्ञा पालन गर्नु पर्छ । 

(४) अहिले माथि वर्णन गरिएका कुराहरुको पालन नगर्ने साधकहरुलाई उनीहरु यस्तो विधान गरिदिन्छन् कि यस्तो गर्नु पर्छ, यस्तो गर्नु हुन्न । 

(५) साधकहरु यो स्तर भन्दा पनि तल गिरेपछि ती महात्माहरु 'यस्तो गर, यस्तो नगर' भनिदिन्छन् ।
[सन्तहरुको आज्ञामा भरिएका सिद्धान्त आज्ञा पालकमा उत्रिन्छ । उहाँको आज्ञापालन विना पनि उहाँको सिद्धान्त पालना गर्नेहरुको कल्याण हुन्छ । तर, तिनै महात्माले आज्ञाको रूपमा कसैलाई केही भनिदिए भने ती आज्ञामा एउटा विलक्षण शक्ति आउँछ । आज्ञा पालन गर्नेलाई विशेष परिश्रम गर्नु पर्दैन र ऊ द्वारा स्वतः-स्वाभाविक त्यस्तै आचरण हुन थाल्छ ।] 

(६) ती महात्माहरुको आज्ञा पालन गर्नेलाई कहिले कहिले श्राप र आज्ञा पालन नगर्ने, नीच दर्जाका साधकहरुलाई कहिले कहिले वरदान पनि दिनुहुन्छ ।

यो परम्परामा विचार गर्दा, (१) का महात्मा केही गर्दैनन्, निरन्तर आफ्नो स्वरूपमा नै स्थित रहन्छन् -- यो ती महापुरुषहरुको ऊँचो दर्जा भयो, (२) शास्त्रहरुले भने, सन्त-महात्माहरुले यस्तो गरे -- यसरी संकेत गर्दा ती सन्तहरुको दोस्रो दर्जा भयो, (३) सन्त-महात्माहरुको आज्ञा पालन गर्नु पर्छ भन्दा ती महात्माहरुको तेस्रो दर्जा भयो, (४) यस्तो गर्नु पर्छ र यस्तो गर्नु हुँदैन -- यस्तो विधान गर्दा ती सन्त महात्माहरुको चौथो दर्जा भयो, (५) तिमी यस्तो गर र यस्तो नगर -- यस्तो भन्दा ती महात्माहरुको कुरो पाँचौं दर्जाको भयो, (६) श्राप र वरदान दिंदा ती सन्तहरुको दर्जा छैठौं भयो । यी सबै महात्माहरु मध्ये तल तल ओर्लने महात्माहरुमा क्रमश: धेरै भन्दा धेरै दयालुता छ । श्राप र वरदान दिने, तालिम दिने सन्तहरुको ज्यादै ज्यादै त्याग छ । कारण कि उनीहरुले जीवहरुको उद्धारकोलागि नै नीचो दर्जा स्वीकार गरेका छन् । यसमा उनीहरुको लेश मात्रै पनि आफ्नो स्वार्थ छैन ।

त्यस्तै भगवान पनि आफ्नो स्वरूपमा नित्य-निरन्तर स्थित रहनुहुन्छ, यो उहाँको ऊँचो दर्जाको कुरा हो, परन्तु  त्यही भगवान अत्यधिक कृपालुताको कारण, कृपा परवश भएर जीवहरुको उद्धार गर्न अवतार लिएर आदर्श लीला गर्नुहुन्छ । उहाँको लीला देख्दा, सुन्दा मनुष्यको उद्धार हुन्छ । भगवान अझ तल ओर्लनु हुन्छ र उपदेश दिनुहुन्छ । त्यो भन्दा पनि तल ओर्लेर उहाँ आज्ञा दिनुहुन्छ । अझ तल ओर्लंदा उहाँ शासन गरेर व्यक्तिहरुलाई ठीक वाटोमा ल्याउनु हुन्छ । त्यो भन्दा पनि तल ओर्लेर उहाँ श्राप र वरदान दिनुहुन्छ अथवा उसको र संसारको हितकोलागि उसको शरीरवाट वियोग पनि गराइदिनुहुन्छ । 

सोरहौं श्लोकमा भगवानले अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी -- यी चार प्रकारका भक्तहरु द्वारा आफ्नो भजन गर्ने कुरा भएको थियो -- 'चतुर्विधा भजन्ते माम्' । तिन मध्ये ज्ञानीको स्वरूप के हो -- त्यो कुरोलाई यो श्लोकमा वताउनु हुन्छ, 'सबै वासुदेव मात्रै हो' -- यस्तो अनुभव गर्नु नै ज्ञानीको भजन हो, शरणागति हो । सक्कली शरणागति त्यही हो, जसमा शरणागतको सत्ता नै नरहोस्, शरण्य मात्रै रहोस् । 

'महात्मा' शब्दको अर्थ हो -- महान् आत्मा अर्थात् अहंभाव व्यक्तित्व, एकदेशीयतादेखि सर्वथा रहित आत्मा । अहंभाव व्यक्तित्व, एकदेशीयता भएको 'अल्पात्मा' हो ।

Friday, 26 December 2014

Gita: Chapter 7: Slok 1 - पहिलो श्लोकको वांकी अंश 'वासुदेवः सर्वम्' -- महासर्गको आदिमा एउटा भगवान नै अनेक रूपमा हुनुहुन्छ र अन्तमा अर्थात्

No. 219  

पहिलो श्लोकको वांकी अंश 

'वासुदेवः सर्वम्' -- महासर्गको आदिमा एउटा भगवान नै अनेक रूपमा हुनुहुन्छ र अन्तमा अर्थात् महाप्रलयमा एउटा भगवान नै शेष रहनुहुन्छ । यस्तो प्रकारले आदि र अन्तमा एउटा भगवान मात्रै रहनुहुन्छ भने वीचमा अर्को कहाँवाट आयो ? किनकि संसारको रचना गर्नमा भगवानसँग आफू सिवाय कुनै सामग्री थिएन, उहाँ त सारा संसारको रूपमा नै प्रकट हुनु भएको छ । त्यसैले यी सबै वासुदेव नै हुन् । आदि र अन्तमा हुने चीज मध्य (वीच) मा पनि हुन्छन् । जस्तो सुनका गहना आदिमा सुन थिए र अन्तमा सुन नै रहन्छन् वीचमा गहना कहाँवाट आए ? केवल सुन नै सुन छन् । माटोवाट वन्ने भाँडा कुँडा पहिले माटो थिए र अन्तमा माटो नै हुन्छन् भने वीचमा माटो सिवाय के छ ? खालि माटो मात्रै छ । चीनीवाट वनेका खेलौना पहिले चीनी नै थिए र पछि पनि चीनी नै हुन्छन् भने वीचमा चीनी सिवाय के छ ? खालि चीनी नै चीनी छ । यसै गरी सृष्टि भन्दा पहिले भगवान हुनुहुन्थ्यो र अन्तमा पनि भगवान नै रहनु हुनेछ भने वीचमा भगवान सिवाय के छ ? खालि भगवान नै भगवान नै भगवान हुनुहुन्छ । सुनलाई चाहे गहनाको रूपमा देखौं, चाहे डोरीको रूपमा देखौं, चाहे वालाको रूपमा देखौं, हो त सुन नै । त्यस्तै संसारमा अनेक रुपहरुमा, अनेक आकृतिहरुमा भगवान मात्रै हुनुहुन्छ ।

मनुष्यको दृष्टि गहना पट्टि, त्यसका आकृतिहरु पट्टि रहन्छ र ऊ ती आकृतिहरुलाई मात्रै महत्व दिन्छ, त्यो वेलासम्म 'यो सुन नै हो' भन्ने उसको दृष्टि हुँदैन । यसैले मनुष्यको दृष्टि संसारतिर रहुन्जेल, संसारलाई महत्व दिउन्जेल 'सबै भगवान नै हो' भन्ने उसको दृष्टि हुँदैन । तर गहनाहरुतिर दृष्टि नरहँदा गहनाहरुमा सुनको भावना हुँदैन, तर 'यो सुन नै हो' भन्ने भावना त रहन्छ । त्यस्तै, संसारतिर दृष्टि नहुँदा संसारमा भगवानको भावना हुँदैन, तर 'सबै भगवान नै हुनुहुन्छ, भगवान सिवाय केही छँदै छैन' भन्ने भावना हुन्छ । कारण संसारमा भगवानको भावना गर्दा संसारको सत्ता सँगै रहन्छ अर्थात् संसारको भावना राखी राखी, त्यसको सत्ता मानी मानी त्यसमा भावना गरिन्छ । अतः संसारको सत्ता मानुन्जेल संसारलाई महत्व दिउन्जेल संसारमा भगवानको भावना गरिरहँदा पनि 'वासुदेवः सर्वम्'को अनुभव हुँदैन ।                     

ब्रह्मभूत मनुष्य निर्वाण ब्रह्म पाउँछ; ब्रहमभूत योगीलाई उत्तम सुख हुन्छ; ब्रह्मभूत भगवानको परा भक्ति पाउँछ र त्यो भक्तिले तत्व जानेर त्यसैमा प्रवेश गर्छ -- गीताको दृष्टिमा यी तीनै अवस्थाहरु हुन् । अवस्थाहरुमा परिवर्तन हुन्छ; परन्तु 'वासुदेवः सर्वम्' -- यो अवस्था होइन, वास्तविक तत्व हो । यसमा कहिले परिवर्तन हुँदैन ।

हामीले देखेको संसार सबै भगवानको नै स्वरूप हो । भगवान सिवाय यो संसारको स्वतन्त्र सत्ता छँदै थिएन, छँदै छैन र कहिले हुने पनि छैन । अतः देख्ने, सुन्ने र सम्झनमा आउने संसार सबै-का-सबै भगवतस्वरूप नै हुन् । भगवान भागवतमा भन्नु हुन्छ --

'मनले, वाणीले, दृष्टिले तथा अरु इन्द्रियहरुले पनि ग्रहण गरिने (लिइने) जुन सुकै चीज सबै म नै हुँ । मदेखि केही छैन । यो सिद्धान्त तिमीहरु विचारपूर्वक बुझ्नु ।'

माथि वर्णित यही आज्ञा अनुसार नै त्यो ज्ञानी अर्थात् प्रेमीको जीवन हुन्छ । ऊ सबै ठाउँमा भगवानलाई नै देख्छ -- 'यो माम् पश्यति सर्वत्र सर्वं च मयि पश्यति' ।ऊ सबै थोक गरिरहँदा भगवानमा नै रहन्छ -- 'सर्वथा वर्तमानोपि स योगी मयि वर्तते' ।

कसैलाई कुनै ठाउँमा कुनै वस्तु पाइंदा वडो प्रसन्नता हुन्छ भने जसलाई सबै ठाउँमा आफ्नो प्यारो इष्टदेवको अनुभव हुँदा उसलाइ कति प्रसन्नताको, आनन्दको के ठेगान ? त्यो आनन्दमा विभोर भएर प्रेमी भक्त कहिले हाँस्छ, कहिले रुन्छ, कहिले नाच्छ र कहिले चुप भएर शान्त हुन्छ । यसरी उसको जीवन अलौकिक आनन्दले परिपूर्ण हुन्छ । त्यसपछि उसकोलागि केही गर्न, जान्न र पाउन वांकी रहँदैन । ऊ सर्वथा पूर्ण हुन्छ अर्थात् उसकोलागि कुनै पनि अवस्थामा, कुनै पनि परिस्थितिमा केही पनि गर्न वांकी रहँदैन । 

भक्तिमार्गमा चल्ने व्यक्ति 'यो सत् हो र यो असत् हो' भन्ने विवेकलाई लिएर चल्दैन । उसमा विवेक-ज्ञानको प्रधानता रहँदैन । उसमा खालि भगवदभावको प्रधानता रहन्छ । खालि भगवदभावको प्रधनता रहेको कारण उसकोलागि यो संसार सबै चिन्मय हुन्छ, जस्तो -- मीरावाईको शरीर (चिन्मय हुँदा) भगवानको विग्रहमा लीन भयो ।

सत्-असत् को विवेक हुने ज्ञानमार्गमा परिणाममा सत्-असत् दुबैको सत्ता रहँदैन, केवल सत् स्वरूप मात्रै रहन्छ । परन्तु भक्तिमार्गमा सत्-असत् सबै भगवतस्वरूप नै हुन्छ । त्यसपछि भक्त भगवतस्वरूप संसारको सेवा गर्छ । सेवामा पहिले त सेवक, सेवा र सेव्य तीनै रहन्छन् । परन्तु भगवदभावको अत्यधिक गाढ़ता भएपछि सेवक भावको विस्मृति हुन्छ । अनि भक्त स्वयं सेवारुप भएर सेव्यमा विलीन हुन्छ । खालि भगवान मात्रै शेष रहनुहुन्छ । यसरी भगवदभावमा तल्लीन भएका प्रेमी भक्त जहाँ विचरण गर्छन्, त्यहाँ उनको दर्शन, स्पर्श, भाषण आदिको अरु प्राणीहरुमा वडो असर पर्छ । 
                
मनुष्यलाई पदार्थमा भोगबुद्धि रहुन्जेल उसलाई ती पदार्थहरुको वास्तविक स्वरूप समझमा आउँदैन । परन्तु भोगबुद्धि सर्वथा हटेपछि भगवत्स्वरूप मात्रै देखिनमा आउँछ । 

Gita: Chapter 7: Slok 19 - श्लोक १९ धेरै जन्महरुको अन्तिम जन्ममा अर्थात् मनुष्यजन्ममा सबै परमात्मा मात्रै हो --

No. 218 

श्लोक १९ 

धेरै जन्महरुको अन्तिम जन्ममा अर्थात् मनुष्यजन्ममा सबै परमात्मा मात्रै हो -- यस्तो प्रकारले मेरो शरण हुने ज्ञानवान् भक्त महात्मा हो; त्यस्तो महात्मा पाउन अति नै दुर्लभ छ ।

'बहूनां जन्मनामन्ते' -- मनुष्यजन्म सम्पूर्ण जन्महरुको अन्तिम जन्म हो । भगवानले जीवलाई मनुष्य शरीर दिएर उसलाई जन्म-मरणको प्रवाहवाट छुट्टिएर आफ्नो प्राप्तिको पूरा अधिकार दिनुभएको छ । परन्तु यो मनुष्य भगवानलाई प्राप्त नगरेर रागले गर्दा फेरि पुरानै प्रवाहमा अर्थात् जन्म-मरणको चक्करमा जान्छ । यसैले भगवान भन्नुहुन्छ -- 'अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवर्त्मनि' । भगवान भन्नुहुन्छ, आसुरी योनिहरु र नरकहरुको अधिकारीहरुको वर्णन गर्दा दुर्गुण-दुराचारहरुको कारण भगवतप्राप्तिको सम्भावना न देखिंदा पनि 'मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम्' अर्थात् मलाई नपाएर नै यी प्राणी अधम गतिमा गए अर्थात् तिनीहरु मरेपछि मनुष्य योनिमा गए त कम से कम मनुष्य त रहन्थे; तर तिनीहरु मेरो प्राप्तिको पूरा अधिकार प्राप्त गरेर पनि अधम गतिमा गए । 

सन्तहरुको वाणीमा र शास्त्रमा आउँछ, मनुष्यजन्म केवल आफ्नो कल्याण गर्न पाइएको छ; विषयहरुको सुख भोग्न तथा स्वर्ग पाउनलाई पनि होइन । यसैले गीताले स्वर्गको प्राप्ति चाहनेहरुलाई मूढ र तुच्छ बुद्धि भएका व्यक्ति भन्छ --'अविपश्चितः', र 'अल्पमेधसाम्'। 

यो मनुष्य जन्म सम्पूर्ण जन्महरुको आदि जन्म पनि हो र अन्तिम जन्म पनि हो । सम्पूर्ण जन्महरुको आरम्भ मनुष्यजन्ममा गरिएका पाप चौरासी लाख योनिहरु र नरकहरुमा भोगेर पनि समाप्त हुँदैन, वांकी नै रहन्छन्, यसैले यो सम्पूर्ण जन्महरुको आदि जन्म हो । मनुष्यजन्ममा सम्पूर्ण पापहरुको नाश गरेर, सम्पूर्ण वासनाहरुको नाश गरेर आफ्नो कल्याण गर्न सकिन्छ, भगवान पाउन सकिन्छ, यसैले यो जन्म सम्पूर्ण जन्महरुको अन्तिम जन्म हो ।

भगवानले आठौँ अध्यायको छैठौं श्लोकमा भन्नुभएको छ, 'मनुष्यले अन्तिम समयमा जस्तो भावले स्मरण गर्दै शरीर छोडेर जान्छ, ऊ त्यही भाव पाउँछ ।' यसरी मनुष्यलाई जुन कुनै भावको स्मरण गर्न दिइएको स्वतन्त्रतावाट थाहा हुन्छ, भगवानले मनुष्यलाई पूरा अधिकार दिनुभएको छ अर्थात् मनुष्यको उद्धारकोलागि भगवानले आफ्नो तर्फवाट यो अन्तिम जन्म दिनुभएको हो । अव उसले नयाँ जन्मको तयारी गर्ने हो कि अथवा आफ्नो उद्धार गर्ने हो -- यसमा ऊ सर्वथा स्वतन्त्र छ । यही कुरालाई लिएर गीता सम्पूर्ण मनुष्यलाई परमात्म प्राप्तिको अधिकारी मान्छ र खुला शब्दहरुमा भन्छ, वर्तमानको दुराचारी भन्दा दुराचारी पनि पूर्व जन्मको पापहरुले गर्दा नीच योनिहरुमा जन्मिएको पाप योनि र चारै वर्णका स्त्री-पुरुष -- यी सबै भगवानको आश्रय लिएर परमगति प्राप्त गर्न सक्छन् ।   
            
गीताले भनेको 'पापयोनि'लाई शुद्र भन्दा पनि नीच भनियो र यसमा हामीले मानिएको चांडाल, यवन आदि पशु-पक्षी, कीट-पतंग, वृक्ष-लता, आदि सबैलाई लिन सकिन्छ । फरक यति मात्रै हो, पशु-पक्षी आदि प्राणीमा परमात्मातिर लाग्ने योग्यता छैन, परमात्माको अंश भएकोले उनीहरुकोलागि परमात्मातर्फवाट निषेध पनि छैन । ती मध्ये धेरै प्राणी परमात्माको कृपाले तथा तीर्थ र भगवदधामको प्रभावले परमगति पाउन सक्छन् । देवता भोगयोनि हुन्, उनीहरु भोगहरुमा नै लागिरहन्छन, यसैले उनीहरुलाई 'आफ्नो उद्धार गर्नु छ' भन्ने विचार नै आउँदैन परन्तु उनीहरु यदि कुनै कारणले भगवानमा लागे भने उनीहरुको पनि उद्धार हुन्छ । इन्द्रलाई पनि ज्ञान भयो भन्ने कुरो शास्त्रमा आउँछ ।                    

भगवानतर्फवाट सम्पूर्ण मनुष्यको जन्म अन्तिम जन्म हो । कारण, भगवानको यो संकल्प छ, मैले दिएको यो शरीरवाट मनुष्यले आफ्नो कल्याण गरोस् । अतः आफ्नो कुनै पनि संकल्प नराखेर केवल निमित्त वनियो भने भगवानको संकल्पले साधकलाई कल्याण हुन्छ । भगवानले एघारौँ अध्यायमा अर्जुनलाई भन्नुहुन्छ -- 'मद्वारा मारिएकालाई तिमी मार' -- 'मया हतास्त्वं जहि । तिमी चिन्ता नगर -- 'मा व्यथिष्ठा ।' तिमी युद्ध गर, तिम्रो विजय हुनेछ -- 'युद्ध्यस्व जेतासि ।' यही तरहले भगवानले कृपा गरेर हामीलाई मनुष्यशरीर दिनुभएको छ । यदि मनुष्य भगवानदेखि विमुख भएर संसारको रागमा नफसे भगवानको त्यो संकल्पवाट अनायास नै मुक्त होइन्छ ।

साधकको इच्छा नभई कल्याण गर्ने भन्ने भगवानको संकल्प होइन । त्यसो भए त्यो संकल्प कस्तो हो ? भगवानले मनुष्यलाई आफ्नो कल्याण गर्ने स्वतन्त्रता यही जन्ममा नै दिनुभएको छ । उहाँले दिनुभएको यो स्वतन्त्रता दुरुपयोग हामी ले नगरौँ अर्थात् भगवान र शास्त्र विपरीत नचलौं, कम-से-कम आफ्नो विवेक विरुद्ध नचलौं । यस्तो आचरण गरे साधकलाई भगवान र शास्त्रहरू अनुकूल जीवन विताउन सजिलो हुन्छ । कारण, भगवान र शास्त्रहरु विपरीत नचल्दा दुई अवस्थाहरु मध्ये एक अवस्था स्वाभाविक हुनेछ -- या त ऊ शरीर-इन्द्रियहरु-मन-बुद्धिले केही नगर्नेछ या केवल खालि भगवान र शास्त्र अनुकूल नै गर्ने छ ।              

केही नगर्ने अवस्थामा अर्थात् केही नगर्ने रूचि नरहने अवस्थामा मन, बुद्धि, इन्द्रियहरुसंग सम्बन्ध-विच्छेद हुन्छ । कारण, केही न केही गर्ने इच्छाले नै कर्तृत्वाभिमान उत्पन्न भएर अन्तःकरण र इन्द्रियहरुसँग सम्बन्ध जोडिन्छ र आफ्नोलागि कर्म गर्दा फलसँग सम्बन्ध जोडिन्छ । केही पनि नगर्दा न कर्तृत्व-   अभिमान हुनेछ र न फलेच्छा हुनेछ, तर स्वरूपमा स्वतः स्थिति हुनेछ । 

शास्त्रको आज्ञा अनुसार निष्कामभावपूर्वक कर्म गर्ने अवस्थामा गर्ने प्रवाह मेटिन्छ र क्रिया तथा पदार्थसँग सम्बन्ध विच्छेद हुन्छ । क्रिया र पदार्थसँग सम्बन्ध विच्छेद भएपछि नयाँ कामना हुँदैन र पुरानो राग मेटिएपछि स्वतः बोध हुन्छ -- 'तत्स्वयं योगसंसिद्ध: कालेनात्मनि विन्दति' । 

गीतामा आएको छ -- निष्कामभावले विधिपूर्वक आफ्नो कर्तव्यकर्मको पालन गरियो भने अनादिकालदेखि वनेका सम्पूर्ण कर्म नष्ट हुन्छन् । ज्ञानयोगले मनुष्य सम्पूर्ण पापहरुवाट तर्छ । भगवान भक्तलाई सम्पूर्ण पापहरुदेखि मुक्त गर्नुहुन्छ । भगवानलाई अज-अनादि भन्ने जान्ने व्यक्ति सबै पापहरुदेखि तर्छ ।यसरी कर्मयोग, ज्ञानयोग र भक्तियोग -- तीनै योगहरुले पाप नष्ट हुन्छन् ।तात्पर्य, अन्तिम मनुष्य जन्म खालि कल्याणकोलागि नै मिलेको छ ।मनुष्यजन्ममा सत्संग पाइयोस्, गीता जस्ता ग्रन्थसँग परिचय होस्, भगवान्नामसँग परिचय होस् । त्यसपछि साधकले यो बुझ्नु पर्यो कि भगवानले धेरै विशेषताले कृपा गर्नुभयो; अव मेरो उद्धार भइहाल्छ, अव मेरो अर्को जन्म नहोला । कारण, मेरो उद्धार नहुने भए यस्तो मौका आउँदैनथ्यो । परन्तु 'भगवानको कृपाले उद्धार त भइहाल्छ' -- यस्तो भरोसा गरेर साधन छोड्नु हुँदैन; झन् तत्परता र उत्साहपूर्वक साधनमा लागिरहनु पर्छ । समय सार्थक वनोस्, कुनै समय खालि नजाओस् -- यस्तो सावधानी हरदम राख्नु पर्छ । तर आफ्नो कल्याणको चिन्ता गर्नुहुँदैन; किनकि अवसम्म हाम्रो प्रवन्ध गर्नेले पछि पनि गरिहाल्ने छ । भगवानले हामीलाई मनुष्य शरीर दिनुभएको छ र उद्धारको सबै सामग्री (सत्संग, भगवान्नाम) आदि जुटाइदिनुभएको छ भने हाम्रो उद्धार भइहाल्छ । अव म संसार-समुद्रको किनारमा आइपुगेको छु -- यस्तो दृढ निश्चय गरेर निमित्त मात्रै भएर साधन गर्नुपर्छ । पूर्वजन्मको पुण्यले मात्रै भगवानतिर लाग्न सकिन्छ ।

Gita: Chapter 7: Slok 18 श्लोक १८ पहिले भनिएका सबै चारै थरी नै भक्तहरु धेरै उदार र श्रेष्ठ भाव भएका हरु हुन् ।

No. 217 

श्लोक १८ 

पहिले भनिएका सबै चारै थरी नै भक्तहरु धेरै उदार र श्रेष्ठ भाव भएका हरु हुन् । परन्तु ज्ञानी प्रेमी त मेरो स्वरूप नै हो -- यस्तो मेरो मत छ; कारण, त्यो भक्त मदेखि अभिन्न छ| यो जस्तो उत्तम, श्रेष्ठ गति अर्को छैन । त्यस्तो विशिष्ट गतिमा ऊ दृढताले स्थित छ ।

'उदाराः सर्व एवैते' -- यी सब-का-सब भक्त उदार छन्, श्रेष्ठ भाव भएका छन् । भगवानले यहाँ प्रयोग गर्नुभएको 'उदाराः' शब्दका विभिन्न भाव छन्; जस्तो -- 

(१) चौथो अध्यायको एघारौँ श्लोकमा भगवानले भन्नुभएको छ, 'भक्त जसरी मेरो शरण हुन्छन्, त्यसै गरी म उनीहरुको भजन गर्छु ।' भक्त भगवानलाई चाहन्छन् र भगवान भक्तलाई चाहनुहुन्छ । परन्तु यी दुईमा पहिले सम्बन्ध जोड्ने भक्त हो र सम्बन्ध पहिले जोड्ने नै उदार हुन्छ । तात्पर्य, भगवानले सम्बन्ध जोड़नुहोस् या नजोड्नु होस्, यसको पर्वाह भक्त गर्दैन । ऊ त पहिले आफ्नोतर्फवाट सम्बन्ध जोड्छ र आफूलाई समर्पित गर्छ । यसैले ऊ उदार हो । 

(२) देवताहरुका भक्त सकाम भावले विधिपूर्वक यज्ञ, तप, दान आदि त गर्छन् । त्यसपछि देवताहरुलाई उनीहरुको कामना अनुसार ती चीजहरु दिनै पर्छ । किनकि देवताहरु ती सकाम भक्तहरुको हित-अहित हेर्दैनन् । तर भगवानको भक्तले भगवानसँग केही चीज माग्छ भने भगवानले यदि उसको प्रार्थना उचित सम्झनु भयो भने ती चीज दिनुहुन्छ अर्थात् ती चीज दिंदा उसको भक्ति वढ्छ भने दिनुहुन्छ र भक्ति वढ़दैन भने, भक्त संसारमा नै फस्छ भने ती चीज दिनुहुन्न । कारण, भगवान परमपिता हुनुहुन्छ र परम हितैषि हुनुहुन्छ । अर्को शब्दमा, आफ्नो कामनाको पूर्ति होस् या नहोस्, तैपनि त्यस्ता ज्ञानी भक्त भगवानको नै भजन गर्छन्, भगवानको भजन गर्न छोडदैनन् -- यही उनीहरुको उदारता हो । 
                      
(३) संसारका भोग र रुपियाँ पैसा प्रत्यक्ष सुखदायी देखिन्छन् र भगवानको भजनमा प्रत्यक्ष छिट्टै सुख देखिंदैन, तैपनि त्यस्ता भक्त संसारको प्रत्यक्ष सुख त्यागेर अर्थात् भोग भोग्ने र संग्रह गर्ने लालसा छोडेर भगवानको भजन गर्छन् । यही उनीहरुको उदारता हो । 

(४) भगवानको दरवारमा माग्ने व्यक्तिहरुलाई पनि उदार भनिन्छ अर्थात् कोही केही माग्छ, कोही धन चाहन्छ, कोही आफ्नो कुनै दुःख हटाउन चाहन्छ -- यस्ता माग्ने भक्तलाई पनि भगवान उदार भन्नुहुन्छ भने यो पनि भगवानको विशेष उदारता नै हो । 

(५) भक्तहरुलाई  लौकिक र पारलौकिक कामना पूर्तिकोलागि अरु तर्फ अलिकति पनि भाव जाँदैन । उनीहरु खालि भगवानवाट नै कामनापूर्ति गराउन खोज्छन् । भक्तहरुको यो अनन्य भाव नै उनीहरुको उदारता हो । 

'ज्ञानी त्वात्मैव मे मतम्' -- यहाँ 'तु' पदले ज्ञानी अर्थात् प्रेमी भक्तको विलक्षणता वताइएको छ, अरु भक्त त उदार छँदै छन्, तर ज्ञानी भक्तलाई के उदार भन्नु, ऊ त मेरो स्वरूप नै हो । स्वरूपमा कुनै निमित्तले, कुनै कारण विशेषले प्रियता हुँदैन, प्रत्युत आफ्नो स्वरूप भएकोले स्वतःस्वाभाविक प्रियता हुन्छ ।

प्रेममा प्रेमी आफूले आफैंलाई प्रेमास्पदमा समर्पित गरिदिन्छ अर्थात् आफ्नो सत्ता छुट्टै मान्दैन । त्यस्तै प्रेमास्पद पनि प्रेमीमा स्वयं समर्पित हुन्छन् । उनीहरुलाई यो प्रेममा अद्वैतको विलक्षण अनुभूति हुन्छ । ज्ञानमार्गको यो अद्वैत भाव नित्य-निरन्तर अखण्डरूपले शान्त, सम रहन्छ । परन्तु प्रेमको यो अद्वैत भावले एक-अर्कोलाई अभिन्नताको अनुभव गराउँदै प्रतिक्षण वर्धमान रहन्छ । प्रेमको अद्वैत भाव एउटा हुँदा त्यो भावले एक-अर्कोलाई अभिन्नताको  अनुभव गराउँदै प्रतिक्षण वर्धमान रहन्छ । प्रेमको अद्वैत भाव एक हुँदा पनि दुई   र दुई हुँदा पनि एक छ । यसैले प्रेम-तत्व अनिर्वचनीय छ । शरीरसँग सर्वथा अभिन्नता (एकता) मान्दा मान्दै पनि निरन्तर भिन्नता वनिरहन्छ र भिन्नताको अनुभव गर्दा पनि भिन्नता वनिरहन्छ ।  यही किसिमले प्रेम-तत्वमा भिन्नता रहँदा पनि अभिन्नता वनिरहन्छ र अभिन्नताको अनुभव हुँदा पनि अभिन्नता वनिरहन्छ । 

नदी समुद्रमा प्रविष्ट हुन्छ भने प्रविष्ट हुने वित्तिकै नदी र समुद्रको जलको एकता हुन्छ । एकता भएपछि  पनि दुवैतिरवाट जलको एउटा प्रवाह चलिरहन्छ; अर्थात् कहिले नदीको  समुद्रतिर र कहिले समुद्रको नदीतिर एउटा विलक्षण प्रवाह चलिरहन्छ । त्यस्तै, प्रेमीलाई प्रेमास्पदतिर र प्रेमास्पदलाई प्रेमीतिरको प्रेमको एउटा विलक्षण प्रवाह चलिरहन्छ । उनीहरुको नित्य-योगमा वियोग र वियोगमा नित्य-योग -- यस्तो प्रकारको प्रेमको विलक्षण लीला अनन्तरूपले अनन्त कालसम्म चलिरहन्छ । तीमध्ये कुन चाहिं प्रेमास्पद हो र कुन प्रेमी भन्ने कुरा थाहा हुँदैन । त्यहाँ दुवै प्रेमास्पद छन् र दुवै प्रेमी छन् । 'ज्ञानी त्वात्मैव मे मतम्'को तात्पर्य यही हो ।

'आस्थितः स हि युक्तात्मा: मामेवानुत्तमाम् गतिम्' -- किनकि जुन भन्दा उत्तम गति अर्को हुन सक्तैन, यस्तो सर्वोपरि ममा नै उसको दृढ स्थिति छ ।

'भगवान मात्रै मेरो हो' -- भन्ने ममा हुने त्यो भक्तको आफ्नोपन अनुकूलतालाई -प्रतिकूलतालाई  लिएर कुनै मात्रामा पनि फरक पर्दैन, उल्टो त्यो आफ्नोपन दृढ हुँदै वढिरहन्छ । 

त्यो व्यक्ति युक्तात्मा हो अर्थात् ऊ कुनै पनि अवस्थामा मवाट छुट्दैन, सँधै मसंग अभिन्न रहन्छ ।

सांसारिक अर्थार्थी भगवान छोडेर खालि अर्थ मात्रै चाहन्छ; अतः ऊ झूठ, कपट, वेइमानी आदिको भक्त हुन्छ । ऊ भित्र धनको महत्व धेरै हुनाले ऊ उदार हुँदैन, महान् कृपण हुन्छ । यसैले उसकोलागि 'उदार' शब्द लागु नै हुँदैन । परन्तु भगवानको अर्थार्थी भक्त भित्र अर्थको महत्व नभएर भगवानको महत्व हुन्छ ।यसैले त्यस्तो भक्तमा कृपणता नभएर उदारता हुन्छ । यही कारण त्यस्तो भक्तलाई यहाँ उदार भनिएको हो । यहाँको उदार भावको अर्थ हो -- त्याग । अर्थार्थी, आर्त र जिज्ञासु संसार (भोग र संग्रह) छोडेर भगवानमा लागे -- यही उनीहरुको त्याग हो । यसैले यी सबै उदार हुन् -- 'उदाराः सर्व एवैते ।' भगवान मात्रैको सम्बन्ध मुख्य हुनाले अर्थार्थी, आर्त, र जिज्ञासु पनि पछि स्वतः 'ज्ञानी' हुन्छन् । 

भगवान नमान्नु कामना भन्दा पनि वढी दोषी हो । भगवान छोडेर अरु देवताहरुको उपासना गर्ने व्यक्तिहरुमा यदि कामना रह्यो भने उनीहरु जन्म-मरण पाउँछन् -- 'गतागतम् कामकामा लभन्ते'। परन्तु भगवानको मात्रै भजन गर्नेहरुमा कामना रहिहाल्यो भने पनि भगवानको कृपा र भजनको प्रभावले उनीहरु भगवान प्राप्त गर्छन् । कारण, मनुष्यको कुनै पनि तरहले भगवानसँग सम्बन्ध जोडियो भने ऊ भगवान प्राप्त गर्छ; किनकि मूलमा ऊ  भगवानको नै अंश हो । 

अर्थार्थी, आर्त र जिज्ञासु -- यी तीनैलाई भगवानले यहाँ 'उदार' भन्नुभएको छ । परन्तु भगवान सिवाय अन्यको भजन गर्नेहरुलाई भगवानले उदार नभनेर 'अल्पमेधा' भन्नुभयो र तिनको भजनलाई अविधिपूर्वक गरिएको भन्नुभयो ।  
देवताहरुलाई भगवान भन्दा छुट्टै मानेको कारणले अर्थात् देवताहरुमा भगवदबुद्धि नभएको कारणले उनीहरुको उपासना अविधिपूर्वक छ । तात्पर्य, सबैमा भगवदबुद्धि नहुनु सकामभाव भन्दा पनि वढी घातक छ; किनकि चेतनसँग सम्बन्ध भएन ।

तत्वज्ञानीलाई ब्रह्मसँग 'तात्विक एकता' अर्थात् सधर्मता हुन्छ; परन्तु भक्तको भगवानसँग 'आत्मीय एकता' हुन्छ -- 'ज्ञानी त्वात्मैव मे मतम्'। तत्वाज्ञानीको तात्विक एकता (सधर्मता)मा जीव र ब्रह्ममा अभेद हुन्छ अर्थात् ब्रह्म सत् -चित्-आनन्दस्वरूप भए जस्तै तत्वज्ञानी पनि सत्-चित्-आनन्दस्वरूप हुन्छ र एउटा तत्व सिवाय केही रहँदैन । परन्तु भक्तको आत्मीय एकतामा जीव र भगवानमा  अभिन्नता हुन्छ । अभिन्नतामा भक्त र भगवान यौटै हुँदा पनि प्रेमकोलागि दुई हुन्छन् । तिनमा दुवै प्रेमी र दुवै प्रेमास्पद हुन्छन् । यसैले उनीहरु दुइटा हुँदा पनि एउटा नै रहन्छन् ।

जीव परमात्माको अंश हो । अतः ऊ परमात्मासँग जति जति टाढा जान्छ, उसको अहंकार त्यति त्यति दृढ हुँदै जान्छ र ऊ जति जति परमात्मातिर आउँछ, त्यति त्यति उसको अहंकार मेटिन्छ । स्वरूपमा स्थित भएपछि पनि सूक्ष्म अहम् को गन्ध रहन सक्छ । परन्तु प्रेममा परमात्मासँग अभिन्नता (आत्मीयता) भएपछि जीवको अपरा प्रकृतिसँग सर्वथा सम्बन्ध-विच्छेद हुन्छ र अहंकार सर्वथा मेटिन्छ, किनकि अहंकार अपरा प्रकृतिको नै कार्य हो । यसैले भगवानले भन्नु भयो -- ज्ञानी त्वत्मैव मे मतम्' ।

अर्थार्थी, आर्त र जिज्ञासुमा क्रमशः आफ्नो स्वतन्त्र सत्ता (अहंता) कम हुँदै जान्छ र ज्ञानीमा उसको आफ्नो स्वन्त्र सत्ता विल्कुल रहँदैन । यसैले 'त्वात्मैव' भन्नुको तात्पर्य, प्रेमी भक्तको स्वतन्त्र सत्ता नै रहेन, खालि भगवान मात्रै रहनु भयो अर्थात् प्रेमीको रूपमा साक्षात् भगवान नै हुनुहुन्छ । यो आत्मीयता भक्तिको लागि स्वीकृत द्वैत हो । त्यो द्वैत ज्ञानयोगको अद्वैत भन्दा पनि राम्रो छ ।

'मामेवानुत्तमां गतिम्' -- भगवान भन्दा ठूलो उत्तम गति अर्को कुनै छैन । 'गति' शब्दका तीन अर्थ हुन्छन् -- ज्ञान, गमन र प्राप्ति । यहाँ 'गति' शब्द प्राप्तिको अर्थमा आएको छ । अन्तिम प्रापणीय (पाउनु पर्ने) तत्व भएकोले भगवान सर्वोत्तम गति हुनुहुन्छ । 

'आस्थितः' -- एक थरी दृढता अभ्यासले हुन्छ र अर्को थरी दृढता स्वतः हुन्छ ।जस्तो सम्पूर्ण प्राणीहरुको 'म छु' -- भन्ने आफूमा स्थिति भए जस्तै ज्ञानी भक्तलाई भगवानमा स्वतः दृढ स्थिति हुन्छ । 

Gita: Chapter 7 : Slok 17 - श्लोक १७ ती चार भक्तहरुमा ममा नै निरन्तर लागेको अनन्य भक्तिले युक्त ज्ञानी अर्थात् प्रेमी भक्त श्रेष्ठ

No. 216

श्लोक १७ 

ती चार भक्तहरुमा ममा नै निरन्तर लागेको अनन्य भक्तिले युक्त ज्ञानी अर्थात् प्रेमी भक्त श्रेष्ठ छ;। किनकि ज्ञानी भक्तलाई म अत्यन्त प्रिय छु र त्यो भक्त मेरो अत्यन्त प्रिय छ । 

'तेषाम् ज्ञानी नित्ययुक्त:' -- ती (अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी) भक्तहरुमा ज्ञानी अर्थात् प्रेमी भक्त श्रेष्ठ छ, किनकि उ नित्ययुक्त छ अर्थात् उ सदा-सर्वदा केवल भगवानमा नै लागिरहन्छ । भगवान भन्दा अरु कसैमा ऊ अलिकति पनि अन्त लाग्दैन । गाई दुहुँदा, दही मथ्दा, धान कुट्दा जस्ता लौकिक क्रियाहरुमा पनि भगवान श्रीकृष्णमा नै गोपिहरुको चित्त हुन्थ्यो । त्यस्तै त्यो ज्ञानी भक्त लौकिक र पारमार्थिक सबै क्रियाहरु गर्दा सँधै भगवानमा नै जोडिइरहन्छ । भगवानसँग सम्बन्ध राखी राखी उसका सबै क्रियाहरु हुन्छन् । 

'एकभक्तिर्विशिष्यते' -- त्यो ज्ञानी अर्थात् प्रेमी भक्तको आकर्षण केवल भगवानमा हुन्छ । उसको आफ्नो कुनै व्यक्तिगत इच्छा रहँदैन । यसैले ऊ श्रेष्ठ हो। 

अर्थार्थी आदि भक्तहरुमा पूर्वसंस्कारहरुले गर्दा व्यक्तिगत इच्छाहरु उत्पन्न हुन्जेल उनीहरुको एक भक्ति हुँदैन अर्थात् भगवानमा मात्रै प्रेम हुँदैन । परन्तु ती भक्तहरुमा आफ्ना इच्छाहरु नष्ट गर्ने भाव पनि भइरहन्छ र इच्छाहरु सर्वथा नष्ट भएपछि सबै भक्त भगवानका प्रेमी र भगवानका प्रेमास्पद हुन्छन् । त्यहाँ भक्त र भगवानवीच द्वैत भाव नरहेर प्रेमाद्वैत (प्रेममा अद्वैत) हुन्छ ।

यसै पनि चारै भक्त भगवानमा नित्य-निरन्तर लागिरहन्छन्; परन्तु यी तीन भक्तहरु भित्र केही-न-केही व्यक्तिगत इच्छा रहन्छन्;  जस्तो अर्थार्थी भक्त अनुकूलताको इच्छा गर्छन्, आर्त भक्त आफ्नो प्रतिकूलता मेटाउने इच्छा गर्छन्, र जिज्ञासु भक्त आफ्नो स्वरूप या भगवततत्व जान्ने इच्छा गर्छन् । ज्ञानी अर्थात् प्रेमी भक्तमा आफ्नो कुनै इच्छा रहँदैन; अतः उनीहरु एक भक्ति हुन् । 

'प्रिय हि ज्ञानिनोत्यर्थमहं स च मम प्रियः' -- त्यो ज्ञानी प्रेमी भक्तलाई म अत्यन्त प्यारो छु । उसमा आफ्नो कुनै पनि इच्छा छैन, केवल ममा मात्रै प्रेम छ । यसैले ऊ पनि मेरो अत्यन्त प्यारो छ । 

भगवानको अंश भएकोले सबै जीव स्वाभाविक नै भगवानलाई प्यारा छन् । भगवानको प्रेममा कुनै निजी स्वार्थ छैन । एउटी आमाले वच्चा स्याहारेको जस्तो भगवान विना कुनै कारण सबैको पालन-पोषण र प्रबन्ध गर्नुहुन्छ । परन्तु कुनै मनुष्य कुनै कारणले भगवानको सम्मुख भयो भने उसको त्यो सम्मुखताको कारणले नै भगवानमा ऊप्रति एक विशेष प्रियता हुन्छ । 

भक्त सर्वथा निष्काम भएपछि अर्थात् उसमा लौकिक-पारलौकिक कुनै पनि प्रकारको इच्छा नरहेपछि उसमा स्वतःसिद्ध प्रेम पूर्णरूपले जाग्रत हुन्छ । पूर्णरूपले प्रेम जाग्रत हुनुको अर्थ हो, प्रेममा अलिकति पनि कमी नरहने। त्यो प्रेम कहिले समाप्त पनि हुँदैन, किनकि त्यो प्रेम अनन्त र प्रतिक्षण वर्धमान छ । प्रतिक्षण वर्धमानको तात्पर्य, प्रेममा प्रतिक्षण अलौकिक विलक्षणताको अनुभव भइरहन्छ अर्थात् यता हाम्रो दृष्टि पहिले गएकै थिएन, यता हाम्रो ध्यान गएकै थिएन, अहिले दृष्टि गयो -- भन्ने  प्रतिक्षण भाव र अनुभव भइरहन्छ । 

भगवानले आफ्नो प्रेमी  भक्तलाई 'ज्ञानी' नाम दिनुको अर्थ हो, 'सबै परमात्मा नै हो' -- यही वास्तविक र अन्तिम ज्ञान हो, यो भन्दा पछि केही पनि छैन । यसैले यस्तो अनुभव गर्ने प्रेमी भक्त नै वास्तविक ज्ञानी हो ।        
कारण, यस्ता भक्तको दृष्टिमा परमात्मा सिवाय अर्को सत्ता छँदै छैन जव कि विवेकी पुरुषको दृष्टिमा सत् र असत् -- दुई सत्ता रहन्छ । तात्पर्य, यहाँ 'ज्ञानी' शब्द जीवन्मुक्त तत्वज्ञानीकोलागि आएको होइन, 'वासुदेवः सर्वम्'को अनुभव गर्ने ज्ञानी अर्थात् प्रेमी भक्तकोलागि आएको हो । गीतामा भगवानले मुख्यरूपले भक्तलाई नै 'ज्ञानी' भन्नुभयो, किनकि त्यही अन्तिम र सक्कली ज्ञानी हो । उसको प्रेम खालि भगवानमा मात्रै हुन्छ, यसैले ऊ श्रेष्ठ हो -- 'एकभक्तिर्विशिष्यते' ।

भगवानको अर्थार्थी भक्त अनित्ययुक्त (निरन्तर भगवानमा नलागेको) हुन्छ । अर्थार्थी भन्दा आर्त भक्त कम अनित्ययुक्त हुन्छ । परन्तु ज्ञानी सर्वथा नित्ययुक्त हुन्छ । 

'प्रियो हि ज्ञानिनोत्यर्थमहं स च मम प्रियः' पदहरुको अर्थ, 'वासुदेवः सर्वम्'को अनुभव भएपछि भक्त र भगवान -- दुबैमा प्रेम नै प्रेम वांकी रहन्छ । यसैलाई शास्त्रहरुमा प्रतिक्षण वर्धमान प्रेम, अनन्त रस, आदि नामहरुले भनिन्छ ।