Wednesday 23 July 2014

126 No. 93 श्लोक ३१ दोष-दृष्टिले रहित भएर, श्रद्धापूर्वक मैले पूर्वश्लोकमा भनेको मतको सँधै अनुसरण गर्ने

No.  93
श्लोक ३१
दोष-दृष्टिले रहित भएर, श्रद्धापूर्वक मैले पूर्वश्लोकमा भनेको मतको सँधै अनुसरण गर्ने व्यक्तिहरु कर्महरुको बन्धनवाट मुक्त हुन्छन् ।

 कुनै पनि वर्ण, आश्रम, धर्म, सम्प्रदायको कुनै पनि मनुष्य कर्म बन्धनवाट मुक्त हुन चाहन्छ भने उसले यो सिद्धान्त मानेर यसको अनुसरण गर्नुपर्छ । शरीर, इन्द्रियहरु, मन,बुद्धि, पदार्थ कर्म केही हाम्रा आफ्ना होइनन् -- यो वास्तविकता जानेपछि सबै मनुष्य कर्म-बन्धनदेखि छुट्छन् ।

भगवान र उहाँको मतमा दृढ विश्वास र पूज्यभावले युक्त मनुष्यलाई यहाँ 'श्रद्धावन्तः' भनिएको छ ।
शरीर आदि जड पदार्थलाई आफ्नो र आफ़्नोलागि नमाने मनुष्य मुक्त हुन्छ -- यो वास्तविकतामा श्रद्धा भयो भने जडतासँग मानिएको सम्बन्ध त्याग गर्न सजिलो हुन्छ ।

श्रद्धावान् साधक नै सत्-शास्त्र, सत्-चर्चा र सत्संगको कुराहरु सुन्छ, र तिनीहरुलाई आचरणमा ल्याउँछ ।
मनुष्य-शरीर परमात्मा प्रप्तिकोलागि नै मिलेको हो ।अतः परमात्माको नै प्राप्त गर्ने एउटा मात्रै उत्कट अभिलाषा भएपछि साधकमा श्रद्धा, तत्परता, सम्यतेन्द्रियता स्वतः आउँछन् । त्यसैले साधकमा परमात्मा प्राप्त गर्ने इच्छा हुनुपर्छ ।


दोष-दृष्टि नगर्ने साधकलाई यहाँ 'अनसूयंत:' भनिएको छ ।  गुणहरुमा दोष देख्नुलाई 'असूया' भन्छन् । यसैले हामीले पनि गुणहरुमा दोष नदेख्नु पर्यो, यो ज्ञान बुझ्न ।
श्रद्धा भएको ठाउँमा  कुनै न कुनै अंशमा दोष दृष्टि हुन्छ । त्यसैले हामीले आफ्नो चिन्तनवाट दोष-दृष्टि हटाउनु नै गीताको अध्ययन र चिन्तनकोलागि राम्रो सोपान भयो ।

यो भन्दा पहिलो श्लोकको  वर्णनमा शंका गर्नु नै दोषदृष्टि गर्नु हो भन्छ गीता । साधकले भगवानमा र उहाँको मतमा कहिले पनि दोषदृष्टि गर्नुहुँदैन ।

विचार गर्दा, सबै भगवानको नै हो; परन्तु मनुष्य भूलले गर्दा भगवानका वस्तुहरुलाई आफ्नो मानेर बाँधिन्छ र ममता र कामनाको वशमा परेर दुःख पाइरहन्छ । यही कारण आफ्नोपनको त्याग गराएर मनुष्यको उद्धार गर्नकोलागि, त्यसो गर्दा मनुष्य सँधैकोलागि सुखी हुन्छ, भगवान सहज करुणाले सबै आफूलाई अर्पण गर्ने कुरा गर्नुहुन्छ । यसैले भगवानको यो वचनमा दोषदृष्टि गर्नु हुँदैन । यो त् भगवानको परम सौहार्द, कारूण्य, र वात्सल्य नै हो, भगवान (आफूमा कुनै कमी र आवश्यकता नहुँदा पनि केवल मनुष्यको कल्याणकोलागि उहाँ समस्त कर्महरूलाई आफूलाई अर्पण गर्ने सुझाव दिनुहुन्छ ।

भगवानको मतलाई नै सिद्धान्त भनिन्छ । सवोपरि सिद्धान्तलाई यहाँ 'मतम्' भनियो । यो मत अथवा सिद्धान्त तीनै कालमा एउटा सिद्धान्त नै हुन्छ अर्थात् यसमा कुनै परिवर्तन हुँदैन, कसैले श्रद्धा गरे पनि नगरे पनि ।


भगवान नित्य हुनुहुन्छ, त्यसैले उहाँका समस्त वस्तुहरु पनि नित्य छन्  । परमात्माको मत पनि नित्य छ । भगवानको मत सर्वोपरि सिद्धान्त भएकोले यो कहिले पनि हराउँदैन । यसैले यसको अनुष्ठान पनि नित्य हुनुपर्छ । यही कारण भगवान हामीलाई उहाँको मतमा नित्य-निरन्तर स्थित रहेर त्यही अनुसार आचरण गर्न सिकाउनु हुन्छ ।

प्रश्न: भगवानको मत के हो ? त्यो मतको सँधै आचरण कसरी गर्ने ?

उत्तर: यो संसारमा पाइएका कुनै पनि वस्तु आफ्ना होइनन् -- यही भगवानको मत हो । शरीर, इन्द्रियहरु, मन, बुद्धि प्राण, धन, सम्पत्ति, पदार्थ आदि सबै प्रकृतिका कार्य हुन् र संसार पनि प्रकृतिको कार्य हो । यसैले यी वस्तुहरुको एकता संसारसँग छ, तथा परमात्माको अंश भएकोले 'स्वयम्'को परमात्मासँग एकता छ । यही कारण, यी वस्तुहरु व्यक्तिगत (आफ्ना )होइनन्, खालि यिनीहरुको उपयोगको अधिकार व्यक्तिगत हो । अझ, सद्गुण, सदाचार, त्याग, वैराग्य, दया, क्षमा आदि पनि व्यक्तिगत होइनन्, भगवानका हुन् । यी दैवी सम्पत्ति अर्थात् भगवत्प्राप्तिको सम्पत्ति (पूँजी) भएकोले भगवानका नै हुन् ।        

जुन वस्तु आफ्नो होइन, त्यसलाई आफ्नो मान्नु र तिनीहरुको प्राप्तिकोलागि कर्म गर्नु नै बन्धन हो । शरीर आदि वस्तुहरु 'आफ्ना' त हुँदै होइनन्, 'आफ़्नोलागि' पनि होइनन् । यदि यिनीहरु आफ़्नोलागि भए यिनको प्राप्तिमा हामीलाई पूर्ण तृप्ति अथवा सन्तोष हुने थियो, पूर्णताको अनुभव हुने थियो । परन्तु संसारिक वस्तुहरु जति नै पाइए पनि पूर्णताको तथा तृप्तिको  अनुभव हामीलाई हुँदैन । तृप्ति अथवा पूर्णताको अनुभव त्यही (परमात्मा)पाउँदा हुन्छ, जुन वस्तु आफ्नो हो । आफ्नो वास्तविक वस्तु मिलेपछि स्वप्नमा पनि अरु केही पाउने इच्छा हुँदैन । पाइएको वस्तुलाई भूलले आफ्नो माने पनि वास्तवमा ती आफ्ना होइनन् ।

शरीर आदि पाइएका वस्तुहरु न हामीले आफूसँग ल्याएका थियौं, न आफूसँग लिएर जान सक्छौं तथा वर्तमानमा पनि हामी ती वस्तुहरुसंग प्रतिक्षण वियुक्त भैरहेका छौं । वर्तमानमा जुन वस्तुहरु आफ्ना प्रतीत भइरहेका छन्, ती वस्तु पनि  अर्थात् अरुको हितमा लगाउनकोलागि हुन् । त्यसैले प्राप्त वस्तुहरुको सदुपयोग गर्ने नै अधिकार छ, आफ्नो मान्ने अधिकार छैन हाम्रो । प्राप्त वस्तुको सदुपयोग नगरेर आफ्नो मान्नु नै ठूलो भूल हो । यही भूल मेटाउनकोलागि हामीले अध्यात्म चित्तद्वारा विचार गरेर ती वस्तुहरु भगवानलाई अर्पण गरिदिनु पर्छ अर्थात् भूलले मानिएको आफ्नोपन हटाउनु पर्छ ।

एक मात्र उद्देश्य परमात्मतत्व भएको साधकले विचार गर्दा उसलाई सजिलैसँग थाहा हुन्छ, पाइएको कुनै पनि वस्तु आफ्नो होइन, छुट्ने खालको हुन्छ । शरीर, पद, अधिकार, शिक्षा, योग्यता, धन, सम्पत्ति, जमीन जे पनि पाइएका छन्, ती हराउने खालका छन् । शरीर, पद, अधिकार, शिक्षा, योग्यता, धन, सम्पत्ति, जमीन पाइएका चीज जति संसारवाट नै मिलेका हुन्, संसारकालागि नै हुन् । पाइएका वस्तु चाहे संसार (कार्य)को मानौं, चाहे प्रकृति (कारण)को मानौं र चाहे भगवानको मानौं, मुख्य कुरो हो, यी आफ्ना होइनन् ।आफ्ना नै नभएका वस्तु आफ़्नोलागि कसरी हुन सक्छन् ?

यही सन्दर्भमा गीताले शिक्षा दिन्छ, हामीले न त कुनै वस्तुलाई आफ्नो मान्ने हो, न कुनै कर्म नै आफ्नोलागि गर्ने हो । आफ्नोलागि गरिने कर्मले  नै वाँधछन् हामीलाई अर्थात् यज्ञको अतिरिक्त अरु (आफ़्नोलागि गरिएका) कर्म नै हामीलाई वांधने हुन्छन् । यज्ञकोलागि कर्म गर्ने साधकको सम्पूर्ण कर्म, संचित कर्म पनि, विलीन हुन्छन् । भगवान सम्पूर्ण लोकहरुको महान् ईश्वर (स्वामी) हुनुहुन्छ । जव हामी आफूलाई वस्तुहरुको स्वामी मान्छौं, त्यो वेला हामी वास्तविक स्वामीलाई विर्संछौँ; किनकि हामी आफूलाई जुन वस्तुहरुको स्वामी मान्छौं, तिनै वस्तुको चिन्तन गर्छौं । यही कारण भगवानलाई नै विश्वको एक मात्र स्वामी मान्दै हामीले संसारमा सेवक जस्तो गरी व्यवहार गर्नुपर्छ । सेवक आफ्नो स्वामीको सबै काम गर्दा पनि आफूलाई स्वामी मान्दैन । त्यसैले हामीले शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थलाई आफ्नो नमानेर केवल भगवानको नै मानेर आफ्नो कर्तव्यको पालन गर्नुपर्छ, कर्म गर्ने निमित्त मात्र आफू वन्नुपर्छ । आफूमा स्वामीपनको अभिमान कहिले पनि गर्नु हुन्न ।

सर्वस्व भगवानमा अर्पण गरेपछि आफूमा लाभ, हानि, मन-अपमान, सुख-दुःख, आदि जेसुकै आए पनि तिनलाई पनि हामीले भगवानको नै मान्नुपर्छ र तिनीहरु प्रति आफ्नो कुनै वास्ता राख्नुहुन्न । कर्तव्य खालि आफ्नो अगाडि देखा परेको परिस्थिति अनुरुप हुने हो । परिस्थिति अनुरुप प्रसन्नतापूर्वक आफ्नो कर्तव्य पालन गरिरहनु पर्छ । भगवानको मतको अनुसरण गर्ने भनेको यही हो ।
भगवान यहाँ अर्जुनलाई स्पष्टरूपले भनिरहनु भएको छ, 'म तिमीलाई तिम्रो सर्वस्व मलाई अर्पण गरेर कर्तव्य कर्म गर्ने आज्ञा दिइरहेछु । मेरो आज्ञा पालन गरे तिमी मुक्त हुने कुरामा कुनै सन्देह छैन । तर मेरो आज्ञा नपाएकाहरुले पनि यदि यो मत (पाइएको चीजलाई आफ्नो नमानेर कर्तव्य पालन गर्नु) अनुसार व्यवहार गरे उनीहरु पनि मुक्त हुनेछन् । किनकि यो मत नै यस्तो छ, मलाई माने पनि, नमाने पनि यो मतको पालन मात्रै गरे मनुष्य मुक्त हुन्छन् ।
भगवानको यो मत नै सर्वोपरि सिद्धान्त हो, जुन अन्तर्गत सबै मत-मतान्तर आउँछन् । परन्तु भगवान रतिभर पनि आभिमान नगरेर वडो नम्रताले, सरलताले आफ्नो सिद्धान्तलाई 'मत' भन्ने नाम दिनुहुन्छ । भगवानले आफ्नो अथवा अरु कसैको मतको आग्रह राख्नु भएको छैन, निष्पक्ष भएर आफ्नो कुरो सबैको अगाडि राख्नुभएको छ । 

मत सर्वोपरि हुँदैन, व्यक्तिगत हुन्छ । हरेक व्यक्ति आफ्नो आफ्नो मत प्रकट गर्न सक्छ, तर सिद्धान्त सर्वोपरि हुन्छ, जुन सबैले मान्नुपर्छ । यही कारण गुरु-शिष्यमा पनि मतभेद हुन सक्छ, तर सिद्धान्तभेद हुन सक्तैन । ऋषि-मुनि, दार्शनिक आफ्नो आफ्नो मतलाई पनि सिद्धान्त भन्छन्, तर गीतामा भगवान आफ्नो सिद्धान्तलाई पनि मत भन्नुहुन्छ । ऋषि-मुनि, दार्शनिक, आचार्यहरुको मतमा त मतभेद रहन्छ, तर भगवानको मत अर्थात् सिद्धान्तमा कुनै पनि मतभेद रहँदैन ।    

No comments:

Post a Comment