Sunday 21 September 2014

174 No. 143 Ch5 श्लोक २ संन्यास (सांख्ययोग) र कर्मयोग दुवैले कल्याण गर्छन् । तर ती दुईमा पनि ...

No. 143

भगवानले भन्नुभयो 

श्लोक २  

संन्यास (सांख्ययोग) र कर्मयोग दुवैले कल्याण गर्छन् । तर ती दुईमा पनि कर्मसंन्यास (सांख्ययोग) भन्दा कर्मयोग श्रेष्ठ छ ।

भगवानको सिद्धान्त अनुसार सांख्ययोग र कर्मयोगको पालन प्रत्येक वर्ण, आश्रम, सम्प्रदायका व्यक्तिहरु गर्न सक्छन् । किनकि उहाँको सिद्धान्त कुनै वर्ण, आश्रम, सम्प्रदायलाई लिएर हुने होइन । यही अध्यायको पहिलो श्लोकमा अर्जुनले कर्महरु पूर्णरूपले छोडेर विधिपूर्वक ज्ञान सिक्ने प्रणालीलाई 'कर्मसंन्यास' भन्ने नाम दिएका छन् । तर भगवानको सिद्धान्त अनुसार ज्ञान-प्राप्तिकोलागि सांख्ययोगको पालन प्रत्येक मनुष्य स्वतन्त्रतासँग गर्न सक्छ र त्यसको पालन गर्न कर्महरु पूर्णरूपले त्याग गर्नुपर्ने आवश्यकता छैन । यसैले भगवान प्रचलित मतको पनि आदर गर्दै आफ्नो सिद्धान्त अनुसार अर्जुनको प्रश्नको उत्तर दिनुहुन्छ । 

यो श्लोकमा आएको संन्यास पदको अर्थ 'सांख्ययोग' हो, कर्महरुको स्वरूपले नै त्याग होइन । अर्जुनको प्रश्न अनुसार भगवान कर्महरुको पूरै त्यागवाट संन्यासको विवेचन नगरेर कर्म गरी गरी ज्ञान पाउने सांख्ययोगको मार्गको विवेचन गर्नुहुन्छ । त्यही सांख्ययोग द्वारा मनुष्य प्रत्येक वर्ण, आश्रम, सम्प्रदायमा रही रही सबै परिस्थितिमा स्वतन्त्रतापूर्वक ज्ञान पाउन सक्छ अर्थात् आफ्नो कल्याण गर्न सक्छ । 

सांख्ययोगको साधनामा विवेक-विचारको मुख्यता रहन्छ । विवेकपूर्वक तीव्र वैराग्य नभई यो साधना सफल हुँदैन । यो साधनामा संसारको स्वतन्त्र सत्ताको अभाव भएर परमात्मतत्वतिर नै दृष्टि रहन्छ । राग नमेटिई संसारको स्वतन्त्र सत्ताको अभाव हुन धेरै कठिन छ । यसैले भगवानले देहाभिमानीहरुकोलागि यो साधन क्लेषयुक्त भन्नुभएको छ ।यही अध्यायको छैठौं श्लोकमा पनि भगवान भन्नुहुन्छ, कर्मयोगको साधन नगरी संन्यासको साधन हुन गाह्रो छ; किनकि संसारवाट राग हटाउने सजिलो उपाय नै कर्मयोग हो। 

हामी सबै मनुष्यहरुमा कर्म गर्ने राग अनादिकालदेखि नै चलिआएको छ । यो राग मेटाउन कर्म गर्नु पर्ने आवश्यकता छ । तर ती कर्म कुन भावले र कुन उद्देश्यले कसरी गर्दा, राग-द्वेष मेटिने हो, त्यस्तो कर्तव्य-कर्म गर्ने कलालाई 'कर्मयोग' भन्छन् । कर्मयोगमा कर्म सानो अथवा ठूलोमा दृष्टि हुँदैन । आफ्नो अगाडि आएको जुनसुकै कर्म निष्कामभावले अरुको हितकोलागि गर्ने हो । आफ्नोलागि कुनै कर्म नगर्दा नै कर्मसँग सम्बन्ध-विच्छेद हुन्छ । आफ्नोलागि कुनै कर्म नगर्ने भनेको, कर्महरुको सट्टा आफ़्नोलागि केही पनि पाउने इच्छा नहुनु । केही न केही पाउने इच्छा रहुन्जेल कर्मसँग सम्बन्ध वनिरहन्छ । 

अर्जुनको प्रश्न थियो: सांख्ययोग र कर्मयोग -- यी दुई साधनहरुमा कुन चाहिं साधन साँच्चि नै कल्याण गर्ने खालको छ ? यसको उत्तरमा भगवान भन्नुहुन्छ, 'हे अर्जुन ! यी दुवै साधन निश्चयपूर्वक नै कल्याण गर्ने खालका छन् । किनकि यी दुवै द्वारा समताकै प्राप्ति हुन्छ ।' यही अध्यायको आउँदा चौथो-पाँचौं श्लोकमा भगवानले यही कुराको पुष्टि गर्नुभएको छ ।तेर्हौं अध्यायमा भगवानवाट सांख्ययोग र कर्मयोग -- दुवैवाट परमात्मतत्वको अनुभव हुने कुरा भएको छ । यसैले यी दुवै साधन परमात्मतत्वका स्वतन्त्र साधन हुन् । 

सांख्ययोगका दुई भेद छन् -- (१) कर्महरुको स्वरूपले नै त्याग गर्नुपर्ने सांख्ययोग र (२) कर्महरुको स्वरूपले नै त्याग नगरेर उपलब्ध हुने सांख्ययोग । यहाँ यो प्रसङ्ग दुवै प्रकारको सांख्ययोगको वाचक हो। 

अव आउने तेस्रो श्लोकमा भगवान यी शब्दहरुलाई व्याख्या गर्दै भन्नुहुन्छ, कर्मयोगीलाई नित्यसंन्यासी भन्ने बुझ्नु पर्छ; किनकि कर्मयोगी सजिलैसँग संसार-बन्धनदेखि मुक्त हुन्छ । त्यसपछि छैठौं श्लोकमा उहाँ भन्नुहुन्छ, कर्मयोग विना सांख्ययोगको साधन हुन गाह्रो छ । त्यसैले कर्मयोगी नै चांडै ब्रह्म पाउँछ । तात्पर्य, सांख्ययोगमा कर्मयोगको आवश्यकता छ, तर कर्मयोगमा सांख्ययोगको आवश्यकता छैन ।यसैले दुवै साधनहरु कल्याण गर्ने भए पनि भगवान कर्मयोगलाई नै श्रेष्ठ भन्नुहुन्छ ।

कर्मयोगी लोकसंग्रहकोलागि कर्म गर्छ । लोकसंग्रहको तात्पर्य, निःस्वार्थभावले लोक-मर्यादा सुरक्षित राख्न, जनता जनार्दनलाई नराम्रो वाटोवाट हटाएर राम्रो मार्गमा लगाउन कर्म गर्ने अर्थात् केवल अरुको हितकोलागि कर्म गर्ने । यही लोकसंग्रहलाई, कर्मयोगलाई गीतामा 'यज्ञार्थ कर्म' पनि भनिन्छ । आफ़्नोलागि मात्रै कर्म गर्ने मान्छे वाँधिन्छ । परन्तु कर्मयोगी निःस्वार्थभावले खालि अरुको हितकोलागि नै कर्म गर्छ; यही कारण ऊ कर्मबन्धनवाट सजिलैसँग मुक्त हुन्छ । यसैले कर्मयोग श्रेष्ठ छ । 

कर्मयोगको साधन हरेक परिस्थितिमा हरेक व्यक्ति द्वारा गर्न सकिन्छ । तर अर्जुनले लिन खोजेको कर्मसंन्यास विशेष परिस्थितिमा मात्र गर्न सकिन्छ; किनकि तत्वज्ञ महापुरुष पाइनु, उहाँमा आफ्नो श्रद्धा हुनु र उहाँसँग गएर वस्नु जस्ता परिस्थिति हरेक मनुष्यले पाउन सम्भव छैन । अतः प्रचलित प्रणालीको सांख्ययोगको साधन कुनै विशेष परिस्थितिमा मात्रै हुन सक्छ; तर कर्मयोगको साधन हरेक परिस्थितिमा र हरेक व्यक्तिकोलागि साध्य छ ।     यही कारण कर्मयोग श्रेष्ठ छ । 

आफ्नो अगाडि उपस्थित परिस्थितिको उपयोग गर्नु कर्मयोग हो । युद्ध जस्तो घोर परिस्थितिमा पनि कर्मयोगको पालन गर्न सकिन्छ । कर्मयोगको पालन गर्न मनुष्य कुनै पनि परिस्थितिमा असमर्थ र पराधीन छैन; किनकि कर्मयोगमा केही पनि पाउने इच्छाको त्याग हुन्छ । केही न केही पाउने इच्छा रहँदा नै कर्तव्य-कर्म गर्न असमर्थता र पराधीनताको अनुभव हुन्छ । 

कर्तृत्व र भोक्तृत्व नै संसार हो । सांख्ययोगी र कर्मयोगी दुबैलाई संसारसँग सम्बन्ध-विच्छेद गर्नु छ । यसैले यी दुवै साधकहरुलाई कर्तृत्व र भोक्तृत्व हटाउने आवश्यकता छ ।तीव्र वैराग्य र तीक्ष्ण बुद्धि भएको साधक सांख्ययोगी हुन्छ र उसैले कर्तृत्व मेट्छ । तर तीव्र वैराग्य र तीक्ष्ण बुद्धि नभए पनि कर्मयोगी अरुको हितकोलागि सबै कर्म गरेर भोक्तृत्व मेटाउँछ ।यसरी सांख्ययोगी कर्तृत्व त्यागेर संसारवाट मुक्त हुन्छ र कर्मयोगी भोक्तृत्व अर्थात् केही पाउने इच्छा त्यागेर मुक्त हुन्छ । यो नियम नै छ, कर्तृत्वको त्याग गरे भोक्तृत्वको त्याग र भोक्तृत्वको त्याग गरे कर्तृत्वको त्याग स्वतः (आफैं) हुन्छ । केही न केही पाउने इच्छाले नै कर्तृत्व हुने हो । आफ़्नोलागि कुनै पनि प्रकारको सुखभोगको इच्छा नभएको कर्म क्रिया मात्रै हो, कर्म होइन । कुनै यन्त्रमा कर्तृत्व नहुने जस्तो कर्मयोगीमा पनि कर्तृत्व रहँदैन ।

साधकलाई संसारका प्राणी, पदार्थ, परिस्थितिमा आफ्नो राग देखिन्छ । त्यो राग ऊ आफ्नो बन्धनको मुख्य कारण मान्दछ र त्यो बन्धन हटाउने चेष्टा पनि गर्छ । त्यो राग हटाउन कर्मयोगी कुनै पनि प्राणी, पदार्थ आदिलाई आफ्नो मान्दैन, आफ्नोलागि मान्दैन र आफ़्नोलागि केही पनि खोज्दैन । क्रियाहरुवाट सुख लिने भाव नरहँदा कर्मयोगीका क्रियाहरु परिणाममा सबैको हित र वर्तमानमा सबैको प्रसन्नता र र सुखकोलागि नै हुन्छ ।क्रियाहरुवाट सुख लिने भाव हुँदा क्रियाहरुमा अभिमान (कर्तृत्व) र ममता हुन्छ । परन्तु ती क्रियाहरुवाट सुख लिने भाव विल्कुलै नरहँदा कर्तृत्व समाप्त हुन्छ । किनकि क्रियाहरु दोषी होइनन् क्रियाजन्य आसक्ति र क्रियाहरुको फल खोज्नु नै दोषी हो । क्रियाजन्य सुख नलिने तथा क्रियाहरुको फल नखोज्ने साधकको कर्तृत्व रहन नै कसरी सक्छ र ? किनकि कर्तृत्व टिक्ने नै भोक्तृत्वमा हो । भोक्तृत्व नरहँदा कर्तृत्व आफ्नो उद्देश्यमा (जसकोलागि कर्म गरिएको हो) एक परमात्मतत्व शेष (वांकी) रहन्छ । 

कर्मयोगीको 'अहम्' (व्यक्तित्व) चांडै र सजिलोसँग नाश हुन्छ तर ज्ञानयोगीको 'अहम्' (व्यक्तित्व) धेरै पछिसम्म पनि रहिरहन्छ । कारण, 'म सेवक हुँ' (केवल सेव्यकोलागि सेवक हुँ, आफ्नोलागि होइन) भन्ने मान्दा कर्मयोगीको 'अहम्' पनि सेव्यको सेवामा लाग्छ, परन्तु 'म मुमुक्षु हुँ' भन्ने मान्दा ज्ञानयोगीको 'अहम्' ऊसँग रहिरहन्छ । कर्मयोगी आफ्नोलागि केही पनि नगरेर खालि अरुको हितकोलागि सबै कर्म गर्छ, तर ज्ञानयोगी आफ्नो हितकोलागि साधन गर्छ । आफ्नो हितकोलागि साधन गर्दा 'अहम्' जस्ता-को-तस्तो वनिरहन्छ । 

ज्ञानयोगको मुख्य कुरो -- संसारको स्वतन्त्र सत्ताको अभाव गर्ने र कर्मयोगको मुख्य कुरो --रागको अभाव गर्ने । ज्ञानयोगी विचार द्वारा संसारको सत्ताको अभाव त गर्न खोज्छ, तर पदार्थहरुमा राग रही रही संसारको स्वतन्त्र सत्ताको अभाव हुन धेरै गाहारो छ । ज्ञानयोगको साधकलाई विचारकालमा पदार्थहरुको स्वतन्त्र सत्ताको अभाव देखिए पनि तर व्यवहारकालमा ती पदार्थहरुको स्वतन्त्र सत्ताको अनुभव हुन्छ। तर कर्मयोगको साधकको लक्ष अरुलाई सुख पुर्याउने भएकोले उसको संसारप्रतिको राग स्वतः(आफैं) मेटिन्छ । अझ, आफूले पाएको सामग्रीको त्याग गर्न कर्मयोगीलाई जस्तो सजिलो ज्ञानयोगीलाई हुँदैन ।ज्ञानयोगको दृष्टिले कुनै वस्तुलाई माया भन्ने बुझेर त्यो वस्तुको त्याग गर्न गाहारो हुन्छ; तर त्यही वस्तु कसैलाई काम लागेको अथवा काम लाग्ने देखेर त्यसको त्याग गर्न सजिलो हुन्छ । जस्तो, हामीसँग रहिरहेको कम्बल (blanket) कसैलाई काम लाग्ने जानेर त्यसको त्याग गर्नु अर्थात् त्यो कम्बलसँगको आफ्नो राग हटाउने काम सजिलो छ, तर (यदि तीव्र वैराग्य नभए) तिनै कम्बलहरुलाई विचारद्वारा अनित्य, क्षणभंगुर, स्वप्न मायामय पदार्थ भन्ने सम्झेर यसै हिंडिदिनु गाह्रो छ । अर्को कुरा,(तीव्र वैराग्य छैन भने) माया भन्ने सम्झेर त्याग गर्ने क्रममा हामीलाई सुखबुद्धि नभएको वस्तुको त्याग गर्न त सजिलोसँग हुन्छ, तर हाम्रो सुखबुद्धि भएको वस्तुको त्याग हामीवाट गाहारोसँग हुन्छ । परन्तु अरुलाई काम लाग्ने भन्ने थाहा पाउँदा हामीलाई सुखबुद्धि भएको वस्तुको त्याग गर्न पनि सजिलो नै हुन्छ । जस्तो, हामीले खाना खाँदा हाम्रो थालको रोटी झिक्नु परे हामी सामान्यतया चिसो, वासी र सुकेको रोटी झिक्छौँ । तर, त्यही रोटी कसैलाई दिनु परे हामी राम्रो रोटी झिक्छौँ, नराम्रो रोटी झिक्दैनौं । यसैले कर्मयोगको प्रणालीले राग नहटाई सांख्ययोगको साधन निकै कठिन छ । विचारवाट पदार्थहरुको स्वतन्त्र सत्ता नमान्दा नमान्दै पनि तिनमा स्वाभाविक राग रहेको कारण भोगहरुमा फसेर पतनसम्म हुने सम्भावना रहन्छ ।                        

खालि असत् को ज्ञानले, असत् भनेको यस्तो हो भन्ने जानेर मात्रै रागको निवृत्ति हुँदैन । जस्तो, सिनेमामा देखिने पदार्थहरुको कुनै सत्ता नै छैन भन्ने जान्दा जान्दै पनि हामीलाई सिनेमामा राग (आकर्षण) हुन्छ । सिनेमा हेर्दा चरित्र,समय, नेत्र-शक्ति र धन -- यी चारैको नाश हुन्छ भन्ने जान्दा जान्दै पनि रागले गर्दा हामी सिनेमा हेर्छौं । यो कुराले सिद्ध भयो, वस्तुको सत्ता नहुँदा पनि ती वस्तुमा राग अथवा सम्बन्ध रहन सक्छ । राग नभए वस्तुको सत्ता मान्दा तिनमा राग उत्पन्न हुँदैन । यसैले साधकको मुख्य काम हो -- राग हटाउने, सत्ताको अभाव गर्ने होइन ; किनकि हामीलाई बाँध्ने राग अथवा सम्बन्ध नै हो, सत्ता होइन । पदार्थ चाहे सत् होस् चाहे असत्, चाहे सत् असत् देखि विलक्षण होस्, त्यसमा राग छ भने त्यसले हामीलाई बाँधिहाल्छ । वास्तवमा हामीलाई कुनै पनि पदार्थ बाँध्दैन, रागवाट हुने सम्बन्धले नै बाँध्छ । त्यसैले राग मेटाउने जिम्मेवारी हाम्रै हो । 

वाचक ज्ञानी भन्दा कर्म गर्ने व्यक्ति श्रेष्ठ छ । त्यसमाथि, कर्मयोगको नै आचरण गर्ने व्यक्तिको त कुरै के गर्नु ? ज्ञानयोगी आफ्नोलागि उपयोगी हुन्छ, तर कर्मयोगी संसारभरीकोलागि नै उपयोगी हुन्छ । संसारकोलागि उपयोगी हुने व्यक्ति आफ्नोलागि पनि उपयोगी भइ नै हाल्छ । यसैमा कर्मयोगको विशेषता छ । 

सांख्ययोग विना कर्मयोग हुन सक्छ, तर कर्मयोग विना सांख्य हुन कठिन छ । त्यसैले सांख्ययोग भन्दा कर्मयोग विशेष छ । सांख्ययोग भन्दा कर्मयोग श्रेष्ठ छ र कर्मयोग भन्दा भक्तियोग श्रेष्ठ छ । यसैले गीतामा पहिले सांख्ययोग, त्यसपछि कर्मयोग र त्यसपछि भक्तियोग -- यो क्रमले विवेचन भएको छ । 

फलमा कर्मयोग र ज्ञानयोग एकै हुन् । साधनमा कर्मयोग र भक्तियोग एकै छन्; किनकि कर्मयोग र भक्तियोग दुवैमा अरुलाई सुख पुर्याउने भाव रहन्छ । कर्म गर्न कर्मी र कर्मयोगी एकै हुन् तथा तत्वज्ञ महापुरुष र भगवान पनि कर्म गर्नमा एकै छन् । यस्तो प्रकारले कर्मी, ज्ञानयोगी, भक्तियोगी र भगवान -- यी चारैसँग कर्मयोगी सँगै हुन्छ । यही नै कर्मयोगको विशेषता हो ।

सांख्ययोगमा अहम् को सूक्ष्म संस्कार रहन सक्छ, तर कर्मयोगमा क्रिया र पदार्थसँग पूरापूर सम्बन्ध-विच्छेद हुने हुँदा अहम् को सूक्ष्म संस्कार पनि रहँदैन । कर्मयोगमा अकर्म (अभाव) शेष (वांकी) रहन्छ र सांख्ययोगमा आत्मा शेष रहन्छ ।   

Song: Narayana_Stotram
- Bhagwan Shri Adi Shankaracharya

174 No 142 CH5 श्लोक १ हे कृष्ण ! हजुर कर्महरुको स्वरूपले नै त्याग गर्ने कुरा पनि गर्नुहुन्छ र फेरि कर्मयोगको प्रशंसा गर्नुहुन्छ ।

No 142

अव पाँचौं अध्याय शुरु हुन्छ ।

अर्जुनले भने 

श्लोक १ 

हे कृष्ण ! हजुर कर्महरुको स्वरूपले नै त्याग गर्ने कुरा पनि गर्नुहुन्छ र फेरि कर्मयोगको प्रशंसा गर्नुहुन्छ । त्यसैले यी दुई साधनहरुमध्ये जुन चाहिं साधन कल्याणकारक छ, त्यही साधन मेरोलागि भन्नुहोस् ।

बन्धु-बान्धवप्रतिको स्नेहले गर्दा अर्जुनको मनमा युद्ध नगर्ने भाव उठेको थियो । यो कुराको समर्थनमा उनले पहिलो अध्यायमा धेरै तर्क युक्तिहरु पनि पेश गरे । उनले युद्ध गर्दा पाप हुने कुरा पनि गरे । हुँदा हुँदा उनले त भिक्षाको अन्न खाएर जीवन-निर्वाह गर्न श्रेष्ठ माने । यही आधारमा उनले भगवानलाई भने, 'म कुनै पनि स्थितिमा युद्ध गर्दिन। 

धेरै जसो वक्ता (आफूसँग वोल्ने व्यक्ति)को शब्दहरुको अर्थ श्रोता (सुन्ने व्यक्ति) आफ्नो विचार अनुसार नै लगाउने गर्छन् । स्वजनहरु (आफ्ना बन्धु-बान्धव)लाई देखेर अर्जुनलाई हृदयमा मोह पैदा भयो र फलस्वरूप, उनलाई युद्धरुप कर्मको त्याग उचित लाग्न थाल्यो । अतः भगवानको शब्दहरुलाई पनि उनी आफ्नो विचार अनुसार नै अर्थ लगाउँदै छन्, भगवान कर्महरुको स्वरूपले नै त्याग गरेर प्रचलित प्रणाली अनुसार तत्वज्ञानको प्रशंसा गरिरहनु भएको छ । 

चौथो अध्यायमा भगवानले कर्मयोगीलाई कुनै अरु साधन विना नै तत्वज्ञान प्राप्त हुने कुरा गर्नु भयो । यही कुरालाई लक्ष गरेर अर्जुन भगवानलाई भन्छन्, 'कहिले हजुर ज्ञानयोगको प्रशंसा गर्नुहुन्छ र कहिले कर्मयोगको प्रशंसा गर्नुहुन्छ ।' यसो भन्नुको तात्पर्य, अर्जुनलाई कर्म नै नगरेर 'जोगी' भएर भिक्षाको अन्न खाएर वाँच्न सजिलो जस्तो लागिरहेछ अर्जुनलाई । अर्को शब्दमा, अर्जुन हाम्रो समाजको पनि प्रतिनिधित्व गरिरहेछन् । हामीलाई सुन्नमा आउँछ, 'यस्तो दुःख गर्नु भन्दा त जोगी हुनु राम्रो,' आदि, आदि । यस्ता अभिव्यक्तिहरु जोगीको जोगीपनमा भन्दा पनि कर्म नगर्ने बहाना मात्रै हो ।    

अर्जुनले सोधेको प्रश्नको जवाफमा भगवान भन्नुहुन्छ, तिम्रोलागि कर्मयोग श्रेष्ठ छ । कर्मयोगी सुखसँग संसार-बन्धनवाट छुट्छ । कर्मयोग विना सांख्ययोगको साधन हुन कठिन छ; परन्तु कर्मयोगी छिट्टै ब्रह्म प्राप्त गर्छ । यस्तो प्रकारले भगवान अर्जुनलाई भन्नुहुन्छ, 'कर्मयोग नै तिम्रोलागि चांडै र सजिलोसँग ब्रह्मको प्राप्ति गराउने खालको छ; अतः तिमी कर्मयोगको नै अनुष्ठान गर ।'

अर्जुनलाई खास गरेर आफ्नो कल्याणको नै इच्छा थियो । त्यसैले उनी वारम्वार भगवानसँग श्रेयको नै जिज्ञासा राख्छन् । कल्याण हुनमा इच्छाको प्रधानता हुन्छ । साधनको सफलतामा ढिलाइ हुने मुख्य कारण नै कल्याणको इच्छा पूर्णरूपले जाग्रत नहुनु हो । तीव्र वैराग्य नभएका साधकमा पनि कल्याणको इच्छा जाग्रत छ भने कर्मयोगको साधन सुगमतापूर्वक हुन सक्छ । अर्जुनको हृदयमा भोगहरुदेखि पूर्ण वैराग्य छैन, तर उनमा आफ्नो कल्याणको इच्छा छ, यसैले उनी कर्मयोगका अधिकारी हुन् ।

पहिलो अध्यायको वत्तिसौं र दोस्रो अध्यायको आठौँ श्लोक पढ्दा लाग्छ, अर्जुन मृत्युलोकको राज्यको त के कुरा, त्रिलोकीको राज्य पनि चाहँदैनन् । परन्तु उनी राज्य र भोग विल्कुल नै चाहँदैनन् भन्ने कुरा पनि होइन । उनी भन्छन्, युद्धमा कुटुम्बीहरुलाई मारेर म राज्य र विजय चाहन्न । यो भनाइको तात्पर्य, 'कुटुम्बीहरुलाई नमारी राज्य मिल्छ भने म लिन तयार छु ।' दोस्रो अध्यायमा पनि उनी यही भन्छन्, गुरुजनहरुलाई मारेर राज्य भोग्नु ठीक छैन । यो कुरावाट पनि यही अर्थ लाग्छ, गुरुहरु नमारी राज्य मिल्यो भने अर्जुनलाई स्वीकार छ । अर्जुन फेरि भन्छन्, 'कसले जित्छ भन्ने हामीलाई थाहा पनि छैन र उनीहरुलाई मारेर हामी वाँच्न पनि चाहँदैनौं '। यसको तात्पर्य हो, 'यदि हाम्रो विजय निश्चित छ र उनीहरु नमारी राज्य पाइन्छ भने म लिन तयार छु ।' यही सन्दर्भमा भगवान भन्नुहुन्छ, 'हे अर्जुन ! यदि तिमी युद्धमा मारियौ भने तिमीलाई स्वर्ग मिल्ने छ र जित्यौ भने राज्य मिल्ने छ, तिम्रो दुवै हातमा लड्डु हुनेछ ।' अर्जुनको मनमा स्वर्ग र संसारको राज्यको अलिकति पनि इच्छा नभइदिएको भए भगवान यस्तो भन्नुहुन्नथ्यो । त्यसैले अर्जुनको हृदयमा प्रतीत हुने वैराग्य स्थायी वैराग्य होइन । परन्तु उनमा आफ्नो कल्याणको इच्छा छ ।
           
xx 
माथिका कुराहरु अध्ययन गर्दा देखिन्छ, अर्जुनलाई मोह भयो, यही मोहसँग वैराग्य पनि भयो । शास्त्रमा दुई किसिमको वैराग्यको उल्लेख छ -- (१) तीव्र वैराग्य र (२) क्षणिक वैराग्य । क्षणिक वैराग्यलाई स्मशान वैराग्य पनि भन्छन् । आफ्नो परिस्थिति प्रतिकूल हुँदा स्मशान वैराग्य हुन्छ, तर केही समयपछि त्यो प्रतिकूलता विस्तारै विस्तारै विर्संदै गइन्छ, त्यो घटना पनि विर्संदै गइन्छ र त्यो वैराग्य पनि हराउँछ । हामी मध्ये धेरैलाई यस्तो स्मशान वैराग्य आइरहन्छ र गइ पनि रहन्छ । यही प्रसंगमा कवीरको कथा छ । 

एक दिन कवीरलाई भेट्न कोही व्यक्ति उनको घरमा गएछन् । घरका मान्छेले ती व्यक्तिलाई कवीर स्मशान गएको कुरा भनेछन् । ती व्यक्तिले स्मशान गएर कवीरलाई स्मशानमा नै भेट्ने इच्छा व्यक्त गरेछन् । तर कवीरलाई पहिले नभेटेको हुनाले उनले कवीरको पहिचान उनको परिवारको सदस्यलाई सोधेछन् । कवीरको पहिचान उनको शिरको टोपीमा कल्की छ भन्ने थाहा भयो । 

ती व्यक्ति स्मशानघाट गए, तर त्यहाँ उपस्थित सबै व्यक्तिको टोपीमा कल्की भएको देखेपछि ती व्यक्ति कवीरलाई कसरी चिन्ने होला भनेर छक्क परे र चिन्तित पनि भए । उनको मनमा अर्को कुनै उपाय पनि आएन र उनी त्यही स्मशानघाटमा वसिरहे । त्यहाँ स्मशानको सबै काम सकियो, एक एक गर्दै मशानमा जम्मा भएका व्यक्तिहरु आफ्नो आफ्नो वाटो लाग्न थाले । तर आश्चर्य, मशानवाट आफ्नो घरमा लाग्ने व्यक्तिहरु अलि पर पुगेपछि तिनीहरुको टोपीको कल्की फुतुफुतु खस्न थाल्यो । हुँदा हुँदा ती सबै मलामीहरुको टोपीको कल्की खस्यो, तर कवीरको टोपीको कल्की खसेन । यसो हुँदा कवीरलाई चिन्न त्यो व्यक्तिलाई गाह्रो भएन |

त्यो व्यक्तिले कवीरलाई भेटेपछि अरुको कल्की चाहिं मशानवाट फर्केपछि खसेको तर कवीरको कल्की चाहिं नखसेको कारण सोध्यो । कवीरले भन्नुभयो,'अरुको वैराग्य केही क्षणकोलागि मात्रै थियो, उनीहरु मसानमा वसुन्जेल यो संसारमा दुःख भएको अनुभव गरे र त्यही किसिमको कुरा पनि गरे, तर मसानवाट फर्केपछि उनीहरुले त्यो कुरा विर्से र संसारकै मारामारीमा लागे ।' तर कवीरको कल्की चाहिं मसानवाट फर्केपछि पनि खसेन, किनकि उनको वैराग्य स्थायी थियो । यही तीव्र वैराग्यको कारणले नै कवीर सन्त बने ।

यही प्रसंगमा यहाँ चर्चा भइरहेको अर्जुनको वैराग्य स्मशान वैराग्य थियो । अर्को शब्दमा, अर्जुनमा सत्व गुणको प्रभाव छ । सत्वगुणी व्यक्ति आफ्नो अधिकार चाहन्छ तर मारामारी नगरीकन । साधारण हिसावमा हेर्ने हो भने अर्जुन अरु साधारण व्यक्ति भन्दा माथि उठेका व्यक्ति हुन् । झगडा गरेर आफ्नो अधिकार लिनुभन्दा उनी आफ्नो अधिकार छोड्न पनि तयार छन् । तर अर्कोतिर दुर्योधन सम्पत्ति पाउन अरुलाई मार्न पनि तयार छ । यी विल्कुल भिन्न चरित्रको कथा नै महाभारत हो । यही महाभारत भित्रको गीताले हामीलाई हामी भित्र भएको महाभारतको युद्ध (मानसिक स्थिति भनौं) पनि कसरी तह लगाउने भन्ने विधिको राम्रोसँग वर्णन गर्छ । 

हाम्रा शास्त्रहरुले साधकहरुलाई सोझै 'यसो गर' भन्दैन । तर वेदका, उपनिषद्का मन्त्रहरु गुरुवाट सुनेर, गुरुको निर्देशन अनुसार, श्रवण, मनन र निदिध्यासन द्वारा ती शास्त्रका गूढ अर्थ आफैं नै निकालेर आफ्नो व्यवहारमा लगाउनु पर्छ । किनभने सबैको सोचाइ, घटना र परिवेश अलग अलग हुने भएकोले एकै किसिमको उपदेश सबै चेलाहरुलाई दिनु हुँदैन गुरुले । त्यसैले शास्त्रीय गुरुले आफ्नो अगाडि कुनै ग्रन्थ नराखी उपदेश नै दिंदैनन् । जस्तो, एउटा परिवारमा रहने व्यक्तिले त्यो भान्छामा नै पाकेको खाना खान्छन्, तर तिनै खानावाट ती मान्छेको blood group अर्कै हुन्छ, चिन्तन अलग हुन्छ, व्यवहार अलग हुन्छ । त्यस्तै एकै कक्षामा पढ्ने विद्यार्थीहरुले एकै गुरुवाट एकै शिक्षा लिए पनि उनीहरुको धारणा शक्ति अलग भए जस्तै अध्यात्मविद्याको साधकक क्षमता पनि यस्तै हो ।शास्त्रवाट आफूलाई चाहिएको जस्तो ज्ञान आफ्नो जीवनमा लगाउने काम त हाम्रै हो । तर शास्त्र नपढी शास्त्रको कुरो कसरी बुझ्नु र त्यसको उपदेशलाई कसरी जीवनमा उतार्नु ?                              
           
आजलाई यत्ति, अरु पछि निवेदन गर्ने नै छु ।

173 No. 141 श्लोक ४२ यसैले हे भरतवंशी अर्जुन ! हृदयमा रहेको यो अज्ञानवाट उत्पन्न आफ्नो संशय ज्ञानरूप तरवारले काटेर योग

No. 141 

श्लोक ४२ 

यसैले हे भरतवंशी अर्जुन ! हृदयमा रहेको यो अज्ञानवाट उत्पन्न आफ्नो संशय ज्ञानरूप तरवारले काटेर योग (समता)मा स्थित होऊ र युद्धकोलागि खडा होऊ । 

अघिल्लो श्लोकमा भगवानले वताउनु भयो, समता द्वारा सम्बन्ध-विच्छेद गरेको र ज्ञान द्वारा समस्त संशय नष्ट गरेको आत्मपरायण कर्मयोगीलाई कर्मले वाँध्दैनन् । अव यो श्लोकमा उहाँ अर्जुनलाई त्यस्तै जानेर कर्म गर्न प्रेरणा दिनुहुन्छ । 

अर्जुनको हृदयमा संशय थियो -- युद्धरूप घोर कर्मले मेरो कल्याण कसरी होला ?  आफ्नो कल्याणकोलागि म कर्मयोगको अनुष्ठान गरौँ कि ज्ञानयोगको ? अर्जुनको यही शंका हटाउन भगवान अर्जुनलाई उत्साहित गर्नुहुन्छ; किनकि संशय रही रही कर्तव्य पालन ठीक किसिमले हुन सक्तैन । 

सबै संशयहरू अज्ञानवाट अर्थात् कर्महरुको र योगको तत्व ठीक ठीक नबुझ्नाले उत्पन्न हुन्छन् । क्रियाहरु र पदार्थहरु आफ्नो र आफ़्नोलागि मान्नु नै अज्ञान हो । यो अज्ञान रहुन्जेल अन्तःकरणमा संशय रहन्छन; किनकि क्रियाहरु र पदार्थ विनाशी छन् र स्वरूप अविनाशी छ । 

यो अध्यायको महत्व नै कर्मयोग तत्वले जान्नमा छ । किनकि कर्म गर्दा गर्दै कर्म जान्नु पर्ने ठूलो आवश्यकता छ । ठीकसँग नबुझी गरेको कुनै कर्म राम्ररी सम्पन्न हुँदैन ।राम्रोसँग बुझेर गरिएका कर्मवाट मनुष्य वाँधिदैन । कर्म गर्ने विद्या राम्ररी जान्ने मनुष्यको संशयहरू नाश हुन्छन् । कर्म गर्ने विद्या हो -- आफ़्नोलागि केही नगर्ने । 

अर्जुन आफ्नो धनुषवाण फ्याँकेर रथको वीचमा वसेका थिए । उनले भगवानसँग युद्ध नगर्ने आफ्नो मनशाय प्रकट गरेका थिए । यही सन्दर्भमा भगवान अर्जुनलाई योगमा स्थित भएर युद्धकोलागि खडा हुने आज्ञा दिनुहुन्छ । 

संसारमा रात दिन कति कर्महरु भैरहेका छन्, तर ती कर्ममा हाम्रो राग-द्वेष नभएकोले हामीलाई ती कर्मवाट दुःख सुख केही हुँदैन, हामी ती कर्महरुदेखि निर्लिप्त रहन्छौं । हामीमा राग-द्वेष भएका कर्महरुले नै हामीलाई बाँध्ने हुन् । किनकि कर्महरुसँग हाम्रो सम्बन्ध जोडिने राग-द्वेषले नै हो । राग-द्वेष नरहेर समता आएपछि कर्महरुसँग हाम्रो सम्बन्ध जुट्दैन र कर्म बन्धनदेखि हामी मुक्त हुन्छौं ।       


अर्जुन युद्धलाई पाप भन्ने ठान्थे । यसैले भगवान् अर्जुनलाई समतामा रहेर युद्ध गर्ने आज्ञा दिनुहुन्छ; किनकि समतामा स्थित भएर युद्ध गर्दा पाप लाग्दैन । यसैले समतामा स्थित भएर युद्ध गर्नु नै कर्म-बन्धनदेखि छुट्नु हो । 

आफ्नो स्वरूपको विचार गर्दा, स्वरूपमा समता स्वतःसिद्ध छ । प्रत्येक कर्मको आरम्भ र अन्त हुन्छ । तर स्वरूप निरन्तर जस्ताको तस्तो रहन्छ । कर्म र फलहरु अनेक हुन्छन्, तर स्वरूप एक नै रहन्छ । अतः कुनै पनि कर्म आफ़्नोलागि नगरे र कुनै पनि पदार्थ आफ्नो र आफ़्नोलागि नमाने क्रिया-पदार्थरूप संसारदेखि सर्वथा सम्बन्ध-विच्छेद हुन्छ, त्यसपछि स्वतःसिद्ध समताको आफूमा आफैं अनुभव हुन्छ ।

xx 
यो चौथो अध्यायको नाम ज्ञानकर्मसंन्यासयोग रहेको छ । ज्ञान भन्नाले आफ्नो स्वरूपको ज्ञान भन्ने बुझ्नु पर्यो हामीले । यहाँ ज्ञान शब्दले कुनै विषय र पदार्थको ज्ञान नभएर आफ्नो ज्ञान, आफ्नो स्वरूपको ज्ञानलाई बुझाउँछ । अव प्रश्न छ: हामी को हौँ त ? । यो सन्दर्भमा एउटा सानो कथा प्रस्तुत हुन्छ । 

कुनै एउटा राजा जंगलमा शिकार खेल्न गएछन् । उनी त्यो जंगलमा हराएर एउटा साधु भएको कुटीमा पुगेछन् । ती राजाले साधुलाई सोधेछन्, 'हजुर को ?' साधुको जवाफ: 'थाहा छैन' । फेरि राजाले प्रश्न सोधेछन्, 'हजुर कहाँवाट आएको ?' साधुको जवाफ: 'थाहा छैन'       । फेरि राजाले सोधेछन्, 'हजुर कहाँ जाने ? साधुको जवाफ: 'थाहा छैन' । राजालाई कस्तो कस्तो लाग्यो । केही अघि उनलाई एउटा व्यक्तिले 'हजुरले संसारमा  सबभन्दा मुर्ख कुनै व्यक्तिलाई भेट्नु भयो भने यो तक्मा लगाइदिनु होला' भनेर एउटा तक्मा दिएको रहेछ ।राजाले सोचे, 'यो भन्दा मुर्ख व्यक्ति कोही पनि छैन' । अनि उनले त्यो तक्मा त्यो साधुलाई लगाइदिएछन् ।

केही समयपछि ती तक्मा पाएका  साधुले त्यही राजा निकै विरामी भएको कुरा सुनेछन् ।उनी राजदरवार गए र कुनै प्रकारले ती मृत्यु शैयामा रहेका राजाले भेटे । अव साधुले राजालाई प्रश्न गरे: 'तिमी को हो ? राजाको जवाफ: 'थाहा छैन' । साधुले फेरि सोधे: 'तिमी कहाँवाट आएको? राजाको जवाफ: 'थाहा छैन' । फेरि पनि साधुले सोधे: 'तिमी कहाँ जाने ?' राजाको जवाफ: 'थाहा छैन' । 

त्यसपछि ती साधुले आफूले धेरै अघि त्यही राजावाट पाएको मुर्खको उपाधिको तक्मा ती राजालाई नै फिर्ता दिएछन् । राजाले ती साधुको महत्व बुझे र ती साधुको शरणमा परे, ती साधुवाट राजाले ज्ञान पाएपछि राजाको शोक,चिन्ता र भय हरायो ।

ती राजा समझदार भएको भए  साधुसंगको साधुसँगको पहिलो भेटमा 'थाहा छैन'   भन्ने जवाफले उनमा जिज्ञासा हुनु पर्थ्यो, 'साधुले किन यस्तो भनेका होलान्' भनेर । त्यो वेला राजा पद र ऐश्वर्यको मदमा थिए, साधुको जवाफको गहिराइमा जान सकेनन् र अरु प्रश्न पनि गर्न सकेनन् । पछि राजा बुढा भए, रोगी भए, उनलाई पद र ऐश्वर्यको कुनै महत्व रहेन, उनमा वैराग्य भयो । उनले धेरै अघि दर्शन पाएका साधुमा उनको कल्याण गर्ने करुणा भयो, तिनै साधुवाट नै राजाको कल्याण भयो । भनिन्छ, साधुको केही समयको भेटले पनि व्यक्तिको कल्याण हुन्छ । Leo Tolstoyको Three Questionsले पनि यही कुरा बुझाउँछ । हामीले  यो सोच्नु पर्यो, अहिले हाम्रो वल हुँदा हुँदै, हामीमा शक्ति हुँदा हुँदै हामीले आफ्नो उद्धारको उपाय के होला ? अहिले हामीले 'म,म' भनिरहेको तत्व के होला ? हाम्रो यो शरीर कसरी वनेको होला ? हामीलाई, हाम्रो शरीरलाई चलाउने तत्व के होला ? कस्तो होला ? भन्ने । भगवान शंकराचार्य आफ्नो 'भज गोविन्दम्' भन्ने ग्रन्थमा यही कुरा भन्नुहुन्छ,

'कस्त्वम् कोहम् कुत आयातः, का मे जननी को मे तात । इति परिभावय सर्वमसारम्, विश्वम् त्यक्त्वा स्वप्न विचारम् ।

अर्थ, 'तिमी को ? म को ? तिमी, म कहाँवाट आएको ? मेरो आमा को, मेरो वावु को ? यस्तो कुरा राम्ररी विचार गर । यो बुझ्नकोलागि यो जाग्रत अवस्था छोडेर स्वप्न अवस्थाको विचार गर ।'   

गीतामा युद्ध भन्ने शब्द महाभारत युद्धको प्रसंगमा आएको भए पनि यसलाई हामीले हाम्रो आफ्नो व्यवहार भन्ने बुझ्नु पर्छ । जस्तो 'समतामा रहेर युद्ध गर' भन्ने भगवानको वचन हाम्रोलागि 'समतामा रहेर व्यवहार गर'भनेको हो भन्ने बुझ्नु पर्यो  हामीले ।

संन्यासी नै भए पनि उसले आफ्नो आश्रम अनुसारको नीति नियमको पालना गर्नै पर्छ । केही नगरे पनि उसले आफ्नो जीवन-निर्वाहकोलागि न्युनतम क्रिया त गर्नै पर्यो । उसवाट त्यति क्रिया  नभए पनि साधारण क्रियाहरु, जस्तो, सुत्ने, उठ्ने, खाने, पिउने आदि क्रियाहरु त भैरहेका छन् । त्यस्तै, हामीले पनि हाम्रो गृहस्थ आश्रम अनुसारको कर्तव्य-कर्म गर्नुपर्छ । गृहस्थ आश्रमले नै अरु तीन आश्रमको रक्षा गरी रहेको हुन्छ । गृहस्थले  नै ब्रह्मचारीहरुको पालन पोषण गर्नु पर्यो, हैन भने समाजमा असल नागरिकको निर्माण कसरी हुने ? गृहस्थीले नै बुढा बुढीको पालन पोषण गर्नु पर्यो, हैन भने हाम्रा बुढा बुढी वावु आमा कसरी वाँच्ने ? हामी बुढो भएपछि कसरी वाँच्ने ?  गृहस्थीले नै साधु संन्यासीको पालन पोषण गर्नु पर्यो, हैन भने हामीलाई ज्ञान कसले दिने ? यही सन्दर्भमा भगवान शंकराचार्य भन्नुहुन्छ, 'ज्ञेयम् गीता नाम सहस्रम्, ध्येयम् श्रीपति रुपमजस्रम् । नेयम् सज्जनसंगे चित्तम्, देयम् दीनजनाय च वित्तम्'। अर्थ, गीता र विष्णुसहस्रानामको ज्ञान आफ्नो जीवनमा लगाउनु, चतुर्भुज विष्णुको ध्यान गर्नु, सज्जनसँगको संगतमा मन लगाउनु, दीनदुःखीलाई धन-सम्पत्ति दिनु । यहाँ धन-सम्पत्तिको अर्थ खालि रुपियाँ पैसा, घर खेत आदि नभएर अरु कुराहरु पनि बुझ्नु पर्छ, जस्तै कुनै आँखा नदेख्ने व्यक्तिलाई वाटो कटाइदिनु पनि पालन-पोषण हो, पढ्न नजान्ने र नसक्ने व्यक्तिलाई पढाइ दिनु पनि पालन-पोषण हो, कुनै भोजन, वस्त्र, वास, अझ आश्वासन नपाएको व्यक्तिलाई ती कुराहरु प्रदान गर्नु पनि पालन-पोषण हो । हाम्रो शास्त्रले हाम्रो सोचाइलाइ संकीर्णतावाट विशालतामा लग्न मदत गर्छ । केही अघिसम्म त्यही शब्दको प्रयोग सानो घेरामा गर्ने हाम्रो बुद्धि विशाल गर्न हाम्रा शास्त्रले हामीलाई मदत गर्छन् ।                                                                                 
आजलाई यत्ति । अरु पछि ।

172 No.139 श्लोक ४१ योग (समता) द्वारा सम्पूर्ण कर्महरुवाट सम्बन्ध-विच्छेद भएका र विवेकज्ञानद्वारा सबै शंकाहरु नाश भएका स्वरूप परायण मनुष्यलाई कर्महरुले बाँध्दैनन् ।

No.139

श्लोक ४१ 

योग (समता) द्वारा सम्पूर्ण कर्महरुवाट सम्बन्ध-विच्छेद भएका र विवेकज्ञानद्वारा सबै शंकाहरु नाश भएका स्वरूप परायण मनुष्यलाई कर्महरुले बाँध्दैनन् ।

शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि वस्तुहरु हामीले पाइएका हुन्, ती वस्तुहरु हाम्रा जस्ता पनि लाग्छन् । तर ती हामीलाई मिलेका वस्तुहरु अरुको सेवाकोलागि हुन्, हाम्रो आफ्नो अधिकार जमाउन होइन । यस्तो विचार गरेर हामीले यी वस्तुहरुलाई अरुको सेवामा (उनीहरुको नै भन्ने निश्चय गरेर) लगाइ दिन सक्नु पर्छ । त्यसो गर्दा, कर्महरु र वस्तुहरुको प्रवाह संसारतिर हुन्छ र आफ्नो स्वतःसिद्ध समताको अनुभव हामीलाई  हुन्छ । यसरी योग (समता) द्वारा कर्महरुसँग सम्बन्ध-विच्छेद भएका व्यक्तिहरु 'योगसंन्यस्तकर्मा' हुन् ।

कर्ममा अकर्म र अकर्ममा कर्म देख्ने कर्मयोगी कर्म गर्दा अथवा कर्म नगर्दा पनि -- दुवै अवस्थामा 'असंग' (आसक्ति छोडेको) हुन्छ । यही कर्मयोगी 'योगसंन्यस्तकर्मा' हुन्छ ।

हामीमा भित्र मनमा शंका हुन्छ, 'कर्महरु गर्दा गर्दै कर्महरुसँग सम्बन्ध-विच्छेद कसरी हुने होला ?  आफ़्नोलागि केही नगरे आफ्नो कल्याण कसरी होला ? भन्ने । हामीमा यस्तो शंका हुनु हामीले कर्मको तत्व राम्ररी नजान्नाले नै हो । हामीले कर्मको तत्व राम्रोसँग जानेपछि हाम्रा सबै शंकाहरु निवारण हुन्छन् । शंका मेटिएपछि हामीलाई स्पष्ट ज्ञान हुन्छ, कर्महरु र तिनका फलहरुको आदि र अन्त हुन्छ, तर स्वरूप जस्ता-को-तस्तो रहन्छ । यही कारण, सम्पूर्ण कर्महरुको सम्बन्ध 'पर' (संसार)सँग छ, 'स्व' (स्वरूप)सँग विल्कुलै छैन । यो दृष्टिले हेर्दा, आफ़्नोलागि कर्म गरे कर्महरुसँग हाम्रो सम्बन्ध जोडिन्छ र निष्कामभावपूर्वक केवल अरुकोलागि कर्म गरे कर्महरुसँग हाम्रो सम्बन्ध-विच्छेद हुन्छ । यो कुरावाट सिद्ध हुन्छ, हाम्रो आफ्नो कल्याण अरुकोलागि कर्म गर्दा नै हुन्छ, आफ्नोलागि कर्म गर्दा हुँदैन ।

कर्मयोगीको उद्देश्य स्वरूपबोध गर्ने हुन्छ, यसैले ऊ सँधै स्वरूपपरायण रहन्छ । उसका सम्पूर्ण कर्महरु संसारकोलागि नै हुन्छन्, आफ्नोलागि हुँदैनन् । ऊवाट सेवा त अरुकोलागि हुन्छ, उसका खानु-पिउनु, सुत्नु-उठ्नु आदि जीवन-निर्वाहका सम्पूर्ण क्रियाहरु पनि अरुको हितकोलागि नै हुन्छन्; किनकि उसको सम्पूर्ण क्रियाहरुको सम्बन्ध संसारसँग छ, स्वरूपसँग छैन । 

आफ़्नोलागि कुनै पनि कर्म नगरे कर्मयोगीको सबै कर्महरुसँग सम्बन्ध विच्छेद हुन्छ अर्थात् ऊ सँधैकोलागि संसार-बन्धनदेखि पूर्णरूपले मुक्त हुन्छ । कर्म वास्तवमा बन्धन गर्ने हुँदै होइनन्, कर्महरुमा फलको इच्छा, ममता, आसक्ति र कर्तृत्वाभिमान नै वाँध्छ हामीलाई ।बाँध्ने स्वार्थभावले नै हो, निःस्वार्थभावले होइन । 

xx यस्तो चिन्हले मेरो आफ्नो सोचाइवाट लेखिएको कुरा हो भन्ने बुझाउँछ हजुरहरुलाई ।
हामी सबै आफूले गरेको कर्म निःस्वार्थभाववाट भएको छ भन्ने दलील गर्छौं । तर त्यसमा कति प्रतिशत स्वार्थ भाव छ भन्ने कुरा हामी हाम्रो विचार, वोलीको र कर्मको आधारमा मुल्यांकन गर्न सक्छौं । महाभारतमा प्रसङ्ग छ, धर्म के हो, अधर्म के हो ? भन्ने । यसको उत्तर: 

'आत्मन: प्रतिकूलानि परेषाम् न समाचरेत्', अर्थ, 'आफूलाई प्रतिकूल (नराम्रो) लाग्ने काम अरुलाई नगर्नु' । अर्को शब्दमा, आफूलाई के राम्रो लाग्छ, त्यो वस्तु अरुलाई दिनु, आफूलाई अरुले कस्तो व्यवहार गरेको मन पर्छ, त्यो व्यवहार अरुलाई गर्नु, आफूलाई अरुवाट कस्तो (राम्रो)शब्द सुन्न मन लाग्छ, त्यस्तो शब्द अरुसँग प्रयोग गर्नु । अर्को शब्दमा, यो श्लोकले हामीलाई यो भन्छ, 'तिमी र तिमीले भन्ठानेको 'अरु'मा कुनै भेद नै छैन' । 

अव विचार गरौँ, हामीले दिनभरी गर्ने कर्महरु माथिका उपदेशहरुको आधारमा भएका छन् त ? मेरो उत्तर छ, 'छैन' । हामी भन्छौं, 'यी मेरा वस्तु, व्यक्ति र पदार्थ मेरा हुन्, यसमा मेरो पूर्ण अधिकार छ, मेरो स्वामित्व छ, मलाई जे मन लाग्छ मैले त्यही गर्न पाउनु पर्छ ।' हाम्रा यस्ता धारणाहरु हाम्रा आफ्ना विचार र अनुभववाट आएका होइनन् त ! हामी आफैं आफ्नो शास्त्र वनाउँछौं, आफ्ना आफ्ना शास्त्रलाई ठीक मान्छौं, त्यसैको डम्फु फुक्छौँ, त्यसैको आधारमा आफ्नो र अरुको मुल्यांकन गर्छौं, अझ त्यसैको आधारमा हाम्रा समस्त क्रियाकलाप भइ पनि रहेका छन् । हाम्रो आफ्नो विचारको आधार नै शास्त्रीय छैन । सबै देशलाई नै संविधानको जरुरत छ भने हामीलाई कुनै नियम, विधानको जरुरत छैन त ? यसैले, वैदिक संस्कृति अनुसार हाम्रा समक्ष शास्त्रहरु मौजूद छन् । हाम्रो आफ्नो देशमा संविधानको आवश्यकता भए जस्तै हाम्रा आफ्ना व्यक्तिगत जीवनकालागि पनि कुनै मूल्य, कुनै मान्यताको आवश्यकता छैन त हामीलाई ? यो कुरा तर्फ दृष्टि नै जाँदैन हाम्रो । खालि भोग र संग्रहमा लागेका छौं हामी । भोगको इच्छा पूरा गर्न र संग्रह गर्न पाए हामी आँखा नै देख्दैनौं । मैले आफूले पढेको र गुरु मुखवाट सुनेको, 'भोग गर्ने भोगीलाई कहिले पनि सुख हुँदैन । भोगमा रत मनुष्यले दुःख भोग्नै पर्छ ।' अव यहाँ प्रश्न हुन्छ: भोग के हो ? आवश्यकता के हो ? यही कुराको स्पष्ट निरूपण गीताको कर्मयोगले गर्छ ।
  
आजलाई यत्ति, अरु पछि । मेरो कुरा पढ्ने मान्छेलाई मेरो कुरा पच्न पनि त पर्यो नि !

यो श्लोकको व्याख्या नै हामीले मानेको धर्मको व्याख्या अनुसार छ कि छैन भन्ने बुझ्नु पर्यो हामीले । सूक्ष्मरूपले विचार गर्दा, हामीले जे सुकै भने पनि साधारण अवस्थामा हामीवाट हुने कर्म सबै स्वार्थभावले नै प्रेरित छन् । यसो हुनुको मूल कारण, हामीले जानेदेखि हालसम्म हाम्रा अधीनमा भएका समस्त धन-सम्पत्ति, अझ हाम्रा शरीर, इन्द्रियहरु, मन, बुद्धि र मन, बुद्धि द्वारा हामीवाट हुने क्रियाकलापलाई हामीले हाम्रा आफ्ना भन्ने मानेका छौं । त्यही धारणा अनुसार हामीले के धर्म हो र के अधर्म हो भन्ने पनि हामीलाई थाहा छैन, अथवा यो विषयमा हाम्रो आफ्नै धारणा छ । जहाँ आफ्नो आफ्नो धारणा भयो, त्यहाँ मारामारी, विवाद शुरु भइहाल्छ ।

171 No. 138 श्लोक ४० विवेकहीन र श्रद्धारहित संशयात्मा मनुष्यको पतन हुन्छ ।

No. 138 

श्लोक ४०   

विवेकहीन र श्रद्धारहित संशयात्मा मनुष्यको पतन हुन्छ । यस्ता संशयात्मा मनुष्यकोलागि न यो लोक हितकारक छ र न सुख नै छ ।

विवेक राम्रोसँग जाग्रत नभएको तथा जाग्रत भएको विवेकलाई पनि महत्व नदिने, साथै अश्रद्धालु संशययुक्त पुरुषको पारमार्थिक मार्गवाट पतन हुन्छ । किनकि संशययुक्त व्यक्ति आफ्नो बुद्धि शिक्षाले रहित हुन्छ, त्यस्तो पुरुष अरुको कुरो पनि सुन्दैन । त्यस्तो पुरुषको संशय कसरी नष्ट हुने ? संशय नष्ट नभई उसको उन्नति कसरी हुने ?

किसिमका किसिमका कुराहरु सुन्दा 'यो ठीक हो अथवा त्यो ठीक हो' -- भन्ने निर्णय गर्न नसक्ने सन्देहयुक्त पुरुष संशयात्मा हो । पारमार्थिक मार्गमा लागेको साधकमा संशय हुनु स्वाभाविक हो; किनकि ऊ कुनै विषय पढ्दा केही कुरा बुझ्छ, केही कुरा बुझ्दैन । पूरै नबुझेको विषयमा संशय हुँदैन र पूरै बुझेको विषयमा पनि संशय हुँदैन । त्यसैले संशय सँधै अधूरो ज्ञानमा नै हुन्छ, यसैलाई अज्ञान पनि भन्छन् । यसैले, संशय हुनु हानिकारक छैन, तर संशयलाई समाधान नगर्नु र त्यो संशय आफूमा रहिरहन दिनु चाहिं हानिकारक हो । संशय हटाउने चेष्टा (कोशीस) नगर्दा त्यही संशय 'सिद्धान्त' वनिदिन्छ । संशय नहट्दा मनुष्य विचार गर्छ, 'पारमार्थिक मार्गमा सबै गोलमाल छ' । यस्तो सोचेर ऊ पारमार्थिक मार्ग छोडिदिन्छ तथा नास्तिक वन्छ । परिणामस्वरूप उसको पतन हुन्छ । यसैले आफूभित्र संशय रहँदा साधकलाई नराम्रो लाग्नु पर्छ । संशय नराम्रो लागेपछि जिज्ञासा जाग्रत हुन्छ ।त्यो जिज्ञासा पूर्ति भएपछि संशय-विनाशक ज्ञान प्राप्त हुन्छ ।

खोज गर्नु नै साधकको लक्षण हो । उसले इन्द्रियहरु र मनले देखेको कुरालाई नै सत्य मान्छ भने ऊ त्यहिं नै रोकिन्छ, अगाडि वढ्न सक्तैन । साधकले निरन्तर अघि वढी नै रहनु पर्छ । संशय अलिकति पनि वांकी रहुन्जेल कहिले पनि सन्तोष गर्नु हुन्न । यसो हुँदा उसको संशय सन्त-महात्माहरुवाट अथवा ग्रन्थहरुवाट कुनै-न-कुनै प्रकारले हट्छ । संशय हटाउने अरु कोही पाइएन भने पनि भगवत्कृपाले हट्छ । 

जीवात्मा परमात्माको अंश हो । यसैले, यो जीवलाई आफ्नो अंशी परमात्मा प्राप्तगर्ने इच्छाको भोक जाग्रत हुन्छ । आफ्नो इच्छा पूरा नहुँदा व्यक्तिलाई दुःख हुन्छ, त्यो वेला भगवान त्यो जीवको दुःख सहन सक्नुहुन्न । अतः त्यो इच्छा पूर्ति भगवान स्वयं गर्नुहुन्छ । त्यस्तै, साधकलाई आफ्नो भित्र स्थित संशयवाट व्याकुलता अथवा दुःख भएको वेला भगवानलाई साधकको त्यो दुःख असह्य हुन्छ । उसको संशय हटाउनकोलागि भगवानसँग प्रार्थना गर्नु पर्दैन, त्यो संशय हटाएर भगवान स्वतः उसको त्यो दु:ख मेट्नु हुन्छ । संशयात्मा पुरुषको पुकार स्वतः भगवानसम्म पुग्छ । 

संशयले गर्दा नै साधकको वास्तविक उन्नति रोकिन्छ, त्यसैले साधकले संशय हटाउनै पर्छ ।यो श्लोकमा संशयात्मा भइकन 'अज्ञ' र 'अश्रद्धालु' मनुष्यको वर्णन छ | तात्पर्य, भित्र संशय रहँदा पनि त्यो मनुष्यको न त विवेकवती बुद्धि छ, न ऊ अरुले भनेको कुरो नै मान्छ । यसैले त्यस्तो मनुष्यको पतन भएर उसको यो लोक पनि विग्रन्छ, परलोक पनि, न उसलाई सुख नै छ ।

संशयात्मा व्यक्तिको लोक व्यवहार पनि विग्रन्छ । किनकि उसको प्रत्येक क्रियामा संशय गर्ने वानी नै वसिसकेको हुन्छ । यस्तो व्यक्तिलाई परलोकमा पनि कल्याण हुँदैन । यो लोकमा र परलोकमा कल्याण हुने मुख्य उपाय नै निश्चायात्मिका बुद्धि हो । संसारको मान्छे द्विविधामा रहने हुनाले कुनै एक निश्चय गर्न सक्तैन । भित्र संशय रहिरहने हुनाले उसको मनमा सुख शान्ति पनि हुन सक्तैन । यसैले विवेकवती बुद्धि र श्रद्धा द्वारा आफ्नो शंका हटाउनै पर्छ ।

दुई छुट्टा छुट्टै कुरा सुन्दा अथवा पढ्दा शंका हुन सक्छ । त्यस्तो शंका कि त विवेक विचार द्वारा मेटिन सक्छ, कि शास्त्र तथा सन्त-महापुरुषहरुको कुराहरु श्रद्धापूर्वक मान्दा । यसैले यदि हामीमा अज्ञान छ भने हामीले आफ्नो विवेक विचार वढाउनु पर्छ र यदि अश्रद्धा छ भने श्रद्धा वढाउनु पर्छ, किनकि यी दुई मध्ये कुनै एउटाको सहायता विना हाम्रो संशय हट्दैन ।

ज्ञान भए पनि संशय मेटिन्छ, श्रद्धा भए पनि संशय मेटिन्छ । तर ज्ञान र श्रद्धा दुवै भएनन् भने संशय मेटिने कुरै आएन । ज्ञान र विवेक दुबै नभएको संशयात्मा न आफू जान्दछ र न अरुको कुरा मान्दछ । यस्तो व्यक्तिको पतन भइहाल्छ ।      

गीताको पहिलो छ अध्यायसम्म कर्मयोगको उल्लेख छ । हुन त यहाँ सातदेखि वारह अध्यायसम्म उपासना (योग)को र तेरह देखि अठार अध्यायसम्म ज्ञानयोगको पनि प्रसङ्ग छ । 

गीताको ज्ञान नै अर्जुनको मोहवाट शुरु भयो । अर्जुनले आफ्नो कर्तव्य कर्म (युद्ध) लाई घोर कर्म भन्ने ठाने र संन्यासीको भिक्षाचर्यालाई आफ्नो कर्तव्य कर्म भन्ने माने । सबै गडवड यहींवाट शुरु भयो । वर्णाश्रम धर्म अनुसार चारै जातको र चारै वर्णको आफ्नो आफ्नो कर्तव्य कर्म हुन्छ । अर्जुनलाई यो कुरा थाहा नभएको पनि होइन । तर युद्ध जस्तो जटिल परिस्थितिमा उनलाई मोह भइदियो । त्यही मोहले गर्दा युद्धको मैदान छोडेर अर्जुनलाई संन्यासी हुन मन लाग्यो । यही कुरालाई reinforce गर्न अर्जुन गीताको पहिलो अध्यायमा भगवानलाई युद्ध गर्दा हुने वेफाइदाहरु प्रस्तुत गर्छन् । यस्तो संकटपूर्ण समयमा अर्जुनको यस्तो कुरा सुनेर, भगवान अर्जुनको त्यस्तो गति देखेर हाँस्नु भयो । त्यसैले गीतामा 'प्रहसंन्निव', अर्थ, 'हाँसे जस्तो' भन्ने शब्द आउँछ । अर्को शब्दमा, अर्जुनको त्यस्तो मानसिक असहजतामा भगवान अर्जुनलाई हाँसी हाँसी उपदेश दिनुहुन्छ । 

अर्जुन महारथी भएर युद्धभूमिमा आएका छन्, भगवान कुनै पनि अस्त्र शस्त्र नलिने प्रतिज्ञा गरेर अर्जुनको रथ चलाउने सारथी भएर आउनु भएको छ । साधारण अवस्थामा कुनै रथ चलाउने सारथीको ज्ञान कति हुन्छ र ? उसको काम त महारथीले 'जहाँ जा' भन्छ, त्यहीं जाने न हो, 'जे गर्' भन्छ, त्यही गर्ने हो । गीतामा पनि अर्जुन महारथीको भूमिकामा भगवानलाई 'सेनयोरुभयोर्मध्ये रथम् स्थापय मेच्युत', 'दुई सेनाहरुको वीचमा मेरो रथ खडा गर्नुहोस्' भन्छन्  । हुन त अर्जुनले आफ्नो ओहोदा अनुसार भगवानलाई यो काम गर्न भनेका हुन्, तर यो भन्दा पछिल्ला श्लोकहरुमा आएको अर्जुनको अभिव्यक्तिले दुर्योधनप्रतिको द्वेष र ईर्ष्या भाव देखाउँछ । भगवानले अर्जुनको यो भाव थाहा पाउनु भयो र अर्जुनको आज्ञा अनुसार दुई सेनाको वीचमा, अझ भीष्म र द्रोणाचार्यको वीचमा लगेर अर्जुनको रथ खडा गरिदिनु भयो । 

आफ्नो अगाडि आफ्ना वाजे र गुरुलाई देखेर अर्जुनलाई मोह भयो । त्यसपछि उनलाई युद्ध गर्न  मन लागेन तर उनले आफ्नो यो कमजोरी स्वीकार्न सकेनन् र पण्डित जस्तो शास्त्रको कुरा भगवानसँग गर्न लागे । तर भगवानले अर्जुनलाई संन्यासी हुने सल्लाह दिनु भएन, कर्मयोगी वन्ने सल्लाह दिनुभयो । 

गीताकै अनुसार पनि संन्यासी शब्दको अर्थ आजकल हामीले देख्ने सुन्तला रङको लुगा लगाउने जोगी होइन । यहाँको संन्यासी जुन सुकै वर्ण र आश्रमको  हुन सक्छ । गीताले त सबै प्राणीहरुको शरीरलाई नै लुगा भन्छ । गीताको संन्यासीको अर्थ हो, सबै संकल्पको त्याग गरेको व्यक्ति । यस्तो व्यक्ति कुनै विशेष वर्ण र आश्रमको हुनु नपर्ने भयो । 

हाम्रो वैदिक मान्यताले आश्रमको अर्थ उमेर अनुसार गर्छ । मनुष्यको औसत उमेर सय वर्ष मानिएको छ । त्यसमा पहिलो २५ वर्ष ब्रह्मचर्याश्रम, दोस्रो २५ वर्ष गृहस्थाश्रम, तेस्रो वानप्रस्थाश्रम तेस्रो २५ वर्ष र संन्यसाश्रम चौथो २५ वर्ष भन्ने निर्धारण गरिएको छ । 

यहाँ अर्जुन गृहस्थाश्रमको धर्म अनुसार युद्ध गर्न तत्पर छन् । महाभारतको युद्द किन हुन लागेको, के कारणले हुन लागेको आदि कुराको जवाफ अर्जुनसँग छ । तर यही वेला अर्जुनलाई मोह भइदियो, उनको mood swing भयो, उनी भगवानलाई अहिले आफ्नो अगाडि उपस्थित युद्ध नगर्ने र संन्यासी भएर भिक्षा मागेर जीवन विताउने कुरा गर्न थाले ।मोह भएपछि व्यक्ति सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो देख्छ, त्यही अनुसार निर्णय गर्न तत्पर हुन्छ । तर शास्त्र भन्छ, मोहको, राग-द्वेषको प्रभाव परेको अवस्थामा हामीले कहिले पनि, सानो अथवा ठूलो, निर्णय लिनुहुँदैन । किनकि त्यस्तो वेलामा लिइएको निर्णय सँधै गलत हुन्छ, गलत निर्णयको फल पनि गलत नै हुन्छ, त्यस्तो निर्णयको परिणाम दुःखदायी नै हुन्छ ।

यस्तो अवस्थामा भगवान अर्जुनलाई संन्यासी वन्न सल्लाह दिनु हुन्न, गृहस्थ आश्रममा नै वसेर आफ्नो कर्मलाई कर्मयोग गर्ने प्रेरणा दिनुहुन्छ अर्जुनलाई । हामीले सामान्य अवस्थामा गरिने जति क्रियाहरु सबै कर्म नै हुन्छन् । क्रियामा कर्तृत्व (doership) भयो भने त्यो क्रिया कर्म हुन्छ । तर क्रियामा doership भएन भने त्यही कर्म कर्मयोग वन्छ । अर्जुन भगवानलाई भन्छन्, 'म युद्ध जस्तो घोर कर्म नगरेर संन्यासीले जस्तो भिक्षा मागेर खान्छु' । तर भगवान भन्नुहुन्छ, 'कुनै कर्म, सानो अथवा ठूलो,पनि हुँदैन, घोर अथवा सौम्य हुँदैन । हामीले आफूले गर्ने कर्म घोर हुने नै त्यो कर्ममा आसक्ति भएर हो । यदि कुनै कर्म गर्दा कर्ता (कर्म गर्ने व्यक्ति) मा फलको इच्छा र आसक्ति छैन भने त्यो कर्म कर्मयोग हुन्छ । त्यसैले, गीताको पहिलो छ अध्यायमा भगवान अर्जुनलाई कर्म गर्ने कला सिकाउनु हुन्छ । कर्म गर्ने कला भनेको, कर्ममा भएको आसक्तिको त्याग गर्ने  कर्ममा आसक्ति हुने भनेको -- 'मैले जे जस्तो गरेर कर्म गरे पनि फल चाहिं मैले भनेको जस्तो हुनु पर्छ' भन्ने हो । कर्मको फल खोज्ने व्यक्तिको ध्यान कर्ममा भन्दा कर्मको फलमा वढी रहन्छ । यसो हुँदा कर्ममा जानु पर्ने जति ध्यान जाँदैन र फलस्वरूप त्यो कर्मको फल आफूले सोचे जस्तो हुँदैन । 

सँधै त होइन, कुनै कुनै वेला मेरो लेखाइको अन्तमा मेरो आफ्नो व्याख्या भनौं, मैले गरिरहेको चिन्तन आउँछ । आज पनि त्यस्तै भएको छ । यही सन्दर्भमा मलाइ लाग्छ, कर्मयोगले निष्काम कर्म गर्ने प्रेरणा दिन्छ । यसो विचार गरौँ, के हामीले सबै कर्म कुनै किसिमको फलको आशा नराखी गरेका छौं त ! यदि कुनै फलको आशा राखेर गरेका छौं भने हाम्रो कर्म कर्मयोग नभएर कर्म मात्रै भयो । 

भनिन्छ, सबै व्यक्तिका तीन एषणाहरु हुन्छन -- (१) पुत्रैषणा (छोरोको इच्छा); (२) वित्तैषणा (धन पाउने इच्छा) र लोकैषणा (कीर्तिको इच्छा) । ती तीनमध्ये एकको मात्रै पनि एषणा हामीमा छ भने हामीवाट 'कर्मयोग' हुँदैन । कर्मलाई कर्मयोग वनाउने कला गीताले सिकाउँछ हामीलाई । मलाई केही दिन अघिदेखि विचार आइरहेको छ, आजकल वहुचर्चित 'परोपकार' भन्ने शब्द गीतामा कहाँ fit होला त ? केही समयपछि जवाफ पनि पाइयो, यो शब्द गीतामा धेरै पटक उल्लेखित 'लोकसंग्रह' शब्द हो । लोकसंग्रह गर्न सक्ने क्षमता कर्मयोगीमा हुन्छ । कर्मयोगीको आसक्ति र फलेच्छा छुटेको हुन्छ, उसलाई कुनै कर्म गरेर 'आफूले केही पाउँला' भन्ने किन्चित् मात्र पनि आशा हुँदैन । त्यसैले, मेरो विचारमा कर्मयोगी नै परोपकारी हो, कर्मयोगी नै लोकसंग्रह गर्ने व्यक्ति हो, कर्मयोगी नै फलको आशा र कुनै कर्मको फलको इच्छा नखोज्ने संन्यासी पनि हो ।

यस्तै छन् हजुर, मेरा कुरा, जति गरे पनि सकिंदैनन् । प्रसंगवश फेरि फेरि पनि यस्ता कुराहरु भइ नै रहने छन् । 

170 No. 137 श्लोक ३८ मनुष्य लोकमा ज्ञान जस्तो पवित्र गर्ने अर्को कुनै साधन छैन ।

No. 137

हामी अझै पनि गीताको चौथो अध्यायको चर्चामा नै छौं । हालै अनुवाद भइरहेको पूर्ण भाग मेरा साथी सुबोध प्रधानले वनाउनु भएको ब्लगवाट प्राप्त गर्न सकिन्छ ।  लिंकको नाम हो -- http:indiradidi-hajurma.blogspot.com   
 
श्लोक ३८ 

यो मनुष्य लोकमा ज्ञान जस्तो पवित्र गर्ने अर्को कुनै साधन छैन । योग राम्रोसँग सिद्ध भएको कर्मयोगी त्यो तत्वज्ञान अवश्य नै स्वयं आफूले आफैंमा पाउँछ ।

मनुष्यलोकमा नै सबै पवित्रता पाइने हुनाले पवित्रता प्राप्त गर्ने अधिकार र अवसर मनुष्य-शरीरमा नै छ । यस्तो अधिकार अरु कुनै शरीरमा छैन । अरु अरु लोकहरुको अधिकार पनि मनुष्यलोकवाट नै मिल्छ । 

संसारको स्वतन्त्र सत्ता मान्दा तथा त्यसवाट सुख लिने इच्छाले नै सम्पूर्ण दोष, पाप हुन्छन् । तत्वज्ञान भएपछि संसारको स्वतन्त्र सत्ता नै रहँदैन, सबै पापको नाश हुन्छ र महान् पवित्रता आउँछ । यसैले ज्ञान समान पवित्र गर्ने अर्को कुनै साधन नै छैन । 

संसारमा यज्ञ, दान, तप, व्रत, उपवास, जप, ध्यान, प्राणायाम आदि समस्त साधन तथा गंगा, यमुना, गोदावरी समस्त तीर्थ सबै मनुष्यका पापहरु नाश गरेर उसलाई पवित्र गर्छन् । परन्तु ती सबैमा पनि तत्वज्ञान समान पवित्र गर्ने कुनै पनि साधन, तीर्थ छैन, किनकि ती सबै तत्वज्ञानका साधन हुन् र तत्वज्ञान ती सबैको साध्य हो ।

परमात्मा पवित्रहरुको पनि पवित्र हुनुहुन्छ -- 'पवित्राणाम् पवित्रम्' भन्ने कुरो विष्णुसहस्रनाममा उल्लेख छ । त्यही परमपवित्र परमात्माको अनुभव गराउने भएकोले तत्वज्ञान पनि अत्यन्त पवित्र छ । कर्मयोग सिद्ध भएको अर्थात् कर्मयोगको अनुष्ठान पूरापूर पूर्ण भएको महापुरुषलाई यहाँ 'योगसंसिद्ध' भनिएको छ । छैठौं अध्यायमा यही कर्मयोगीलाइ 'योगारूढ' भनियो । योगारूढ़ हुनु कर्मयोगको अन्तिम अवस्था हो । योगारूढ़ हुने वित्तिकै तत्वज्ञान हुन्छ । तत्वबोध भएपछि संसारसँग सर्वथा सम्बन्ध-विच्छेद हुन्छ ।          

कर्मयोगको मुख्य कुरो -- केही पनि आफ्नो नमानेर सम्पूर्ण कर्म संसारको हितकोलागि गर्ने, आफ्नोलागि केही पनि नगर्ने । यसो गर्दा सामग्री र क्रिया-शक्ति -- दुबैको प्रवाह संसारको सेवामा हुन्छ । संसारको सेवामा प्रवाह भएपछि 'म सेवक हुँ' भन्ने (अहम् को) भाव पनि रहँदैन केवल सेवा रहन्छ । यसरी सेवकले सेवा वनेर सेव्यमा लीन भएपछि प्रकृतिको कार्य शरीर तथा संसारसँग पूर्णरूपले वियोग (सम्बन्ध-विच्छेद) हुन्छ । वियोग भएपछि संसारको स्वतन्त्र सत्ता रहँदैन, खालि क्रिया मात्रै रहन्छ । यसैलाई योगको संसिद्धि अर्थात् सम्यक् सिद्धि भन्छन् ।

कर्म र फलको आसक्तिले नै योगको अनुभव हुँदैन । वास्तवमा कर्महरु र पदार्थहरुसँग सम्बन्ध-विच्छेद स्वतःसिद्ध छ । कारण, कर्म र पदार्थ अनित्य (आदि अन्त भएका) छन् र आफ्नो स्वरूप नित्य छ । अनित्य कर्महरुले नित्य स्वरूपको प्राप्ति कसरी पाइन्छ ? यसैले कर्म द्वारा स्वरूप पाउनु छैन भन्ने मान्नु 'कर्मविज्ञान' हो । कर्मविज्ञानको अनुभव भएपछि कर्मफलसँग सम्बन्ध-विच्छेद हुन्छ अर्थात् कर्मजन्य सुख लिने आसक्ति सँधैको लागि मेटिन्छ । यस्तो आसक्ति मेटिने वित्तिकै परमात्मासँग आफ्नो स्वाभाविक नित्य-सम्बन्धको अनुभव हुन्छ । यस्तो अनुभव हुनुलाई 'योगविज्ञान' भन्छन् ।योगविज्ञानको अनुभव हुनु नै योगको संसिद्धि हो । 

तत्वज्ञान  द्वारा सम्पूर्ण कर्म भस्म हुन्छन् र यो तत्वज्ञान जस्तो पवित्र गर्ने साधन संसारमा अरु केही छैन । यही तत्वज्ञान कर्मयोगी योगसंसिद्ध भएपछि अरु कुनै साधन विना स्वयं आफूले आफूमा तत्काल प्राप्त गर्छ । 

यही अध्यायमा केही श्लोक अघि वर्णन भइसक्यो, प्रचलित प्रणाली अनुसार कर्महरु छोडेर गुरुकहाँ गएपछि गुरुले तत्वज्ञानको उपदेश दिनुहुन्छ ।तर गुरुले त उपदेश दिनुहोला, तर त्यो उपदेशले तत्वज्ञान भइ नै हाल्छ भन्ने निश्चित छैन । फेरि पनि भगवान यहाँ वताउनु हुन्छ, कर्मयोगको प्रणालीले कर्म गर्ने मनुष्यलाई योगसंसिद्धि भएपछि तत्वज्ञान भइ नै हाल्छ । 

यो श्लोकमा भगवानको आशय, तत्वज्ञान प्राप्त गर्न कर्मयोगीलाई कुनै गुरुको, ग्रन्थको अथवा अरु कुनै साधनको आवश्यकता छैन । कर्मयोगको विधिले कर्तव्य-कर्म गरिरहँदा नै उसलाई आफूलाई आफैंमा तत्वज्ञान हुन्छ ।

परमात्मा सबै ठाउँमा परिपूर्ण भएकोले आफूमा पनि हुनुहुन्छ । जहाँ साधक 'म छु या हुँ' रूपले आफूलाई मान्छ, त्यहीं परमात्मा विराजमान हुनुहुन्छ । तर परमात्मादेखि विमुख भएर संसारसँग आफ्नो सम्बन्ध मानेको कारण आफूमा स्थित परमात्माको अनुभव नभएको हो । कर्मयोगको ठीक-ठीक अनुष्ठान गरे संसारसँग सम्बन्ध-विच्छेद हुन्छ अर्थात् संसारसँग तादात्म्य, ममता र कामना मेटिन्छ र साधकलाई आफूमा नै तत्वको सुखपूर्वक अनुभव हुन्छ । 

परमात्मतत्वको ज्ञान करणनिरपेक्ष छ । यसैले त्यसको अनुभव आफैंले आफैंमा नै हुन सक्छ, इन्द्रियहरु, मन, बुद्धि आदि करणहरुवाट होइन । साधकले यो तत्वज्ञान जान्ने जति नै प्रयत्न गरे पनि अन्तमा ऊ आफूमा आफैंले तत्वज्ञान जान्ने छ । श्रवण, मनन जस्ता साधन तत्वज्ञान प्राप्त गर्नमा असम्भावना, विपरीत भावना आदि ज्ञानका वाधाहरुलाई हटाउने परम्परागत साधन मान्न सकिन्छ, तर वास्तविक बोध आफूले आफैंमा हुन्छ । किनकि मन, बुद्धि सबै जड हुन् । जड द्वारा जडदेखि सर्वथा अतीत चिन्मय-तत्व कसरी जानिने ? तत्वको अनुभव जडसँगको सम्बन्ध-विच्छेदवाट हुन्छ, जडद्वारा होइन । जस्तो, आँखाले संसारलाई देख्न सकिन्छ तर आँखाले आँखालाई देख्न सकिंदैन । तर यो भन्न सकिन्छ, जसद्वारा देख्न सकिन्छ, त्यो नै आँखा हो । यसैले जो सबैलाई जान्ने छ, उसलाई को द्वारा जानिने ? परन्तु जसवाट सम्पूर्ण वस्तुहरुको ज्ञान हुन्छ, त्यही परमात्मतत्व हो ।

यही अध्यायको तेंत्तिसौं श्लोकदेखि सैंतिसौं श्लोकसम्म भगवानले गर्नुभएको ज्ञानको प्रशंसाले ज्ञानयोगको विशेष महिमाको वर्णन भए जस्तो लाग्छ हामीलाई । तर यहाँ भगवानले अर्जुनलाई यस्तो भनेको जस्तो लाग्छ, 'यस्तो महान् र पवित्र तत्वज्ञान, जुन ज्ञान जान्नकोलागि म तिमीलाई तत्वदर्शी महापुरुषकहाँ जाने पनि आज्ञा दिइरहेछु, तिमी आफैं कर्मयोगवाट अवश्य प्राप्त गर्न सक्छौ । यसरी ज्ञानयोगको प्रशंसा सँगसंगै यी श्लोकहरु  घुमाउरो पाराले कर्मयोगको विशेषता, वताउनकोलागि हो । अर्जुन ज्ञानीहरुकहाँ गएर ज्ञान सिकोस् भन्ने आशय भगवानको होइन । उहाँको आशय हो, 'यति गाह्रोसँग ज्ञानीहरूकहाँ गएर, उहाँहरुको सेवा गरेर र विनयपूर्वक प्रश्नोत्तर गरेर तथा श्रवण, मनन र निदिध्यासन गरेर प्राप्त गर्ने ज्ञान तिमीलाई कर्मयोगको विधिले प्राप्त कर्तव्य-कर्म (युद्ध)को पालन गरे प्राप्त हुनेछ । मैले अहिले तिमीलाई गरेको प्रेरणा अनुसार तत्वदर्शी महापुरुषकहाँ गएर प्राप्त गर्ने ज्ञान पनि तिमी पाइ नै हाल्नेछौ भन्ने पक्का पनि छैन । किनकि तिमीले गुरु वनाइने व्यक्ति तत्वदर्शी नै होला भन्ने के थाहा ? फेरि त्यो महापुरुष प्रति तिम्रो श्रद्धाको कमी पनि रहन सक्छ । अर्को कुरो, यस्तो प्रकारको प्रक्रियामा संशय तथा विलम्व (ढिलाइ)को सम्भावना पनि रहन्छ । परन्तु कर्मयोगद्वारा अरु व्यक्तिको सहायता विना अवश्यै र तत्कालै त्यो तत्वज्ञानको अनुभव हुन्छ । यही कारण म तिम्रोलागि कर्मयोग नै ठीक ठान्छु । त्यसैले म तिमीलाई प्रचलित प्रणाली अनुसार ज्ञानको उपदेश गर्दिन ।'

भगवान महापुरुषहरुको पनि महापुरुष हुनुहुन्छ । अतः भगवानले अरु महापुरुषकहाँ गएर ज्ञान सिक्ने कुरो अर्जुनलाई कसरी भन्नु हुन्थ्यो ? यही प्रसंगमा भगवानले  कर्मयोगको प्रशंसा गरेर अर्जुनलाई समतामा स्थित भएर युद्ध गर्ने स्पष्टरूपले आज्ञा दिनुभएको छ ।

अपवित्रता संसारको सम्बन्धले आउँछ । तत्वज्ञान भएपछि संसारको अत्यन्त अभाव हुन्छ, जसले गर्दा अपवित्रता रहने प्रश्न नै आउँदैन । यसैले ज्ञानमा अलिकति मात्रै पनि अपवित्रता, जडता, विकार छैन ।                      
                         
श्लोक ३९ 

जितेन्द्रिय तथा साधनपरायण र श्रद्धावान् मनुष्य ज्ञान प्राप्त गर्छ र ज्ञान प्राप्त भएपछि तत्काल उसलाई परम शान्ति मिल्छ । 

यो श्लोकले श्रद्धावान् पुरुषलाई ज्ञान प्राप्त हुने वर्णन गर्छ । आफूमा श्रद्धाको कमी हुँदा हुँदै पनि कुनै व्यक्ति आफूलाई श्रद्धा भएको भन्ने मानिदिन्छ । यसैले श्रद्धाको पहिचानकोलागि दुई विशेषण दिनु भयो -- ' संयतेन्द्रिय:' र 'तत्पर:' । 

इन्द्रियहरु पूर्णरूपले वशमा गर्ने व्यक्ति 'संयतेन्द्रिय:' हो र आफ्नो साधनामा तत्परतापूर्वक लागेको व्यक्ति 'तत्पर:' हो । साधनमा तत्परताको कसी हो -- इन्द्रियहरु संयत हुनु । संयत नभएका इन्द्रियहरु विषय भोगहरु तिर जान सक्छन् । यसले गर्दा साधनपरायणतामा कमी हुन्छ । 

परमात्मामा, महापुरुषहरुमा, धर्ममा र शास्त्रहरुमा प्रत्यक्ष जस्तो आदरपूर्वक विश्वास हुनुलाई 'श्रद्धा' भनिन्छ ।

परमात्मतत्वको अनुभव नहुन्जेल साधकलाई  परमात्मामा प्रत्यक्ष भन्दा पनि ठूलो विश्वास हुनु पर्छ । वास्तवमा परमात्मामा देश, काल, आदिको भेद छैन, केवल मानिएको भेद हो । भेद मानेको कारण नै परमात्मा सर्वत्र विद्यमान रहँदा रहँदै पनि हाम्रो अनुभवमा आउनु भएको छैन । यसैले 'परमात्मा आफूमा हुनुहुन्छ' भन्ने मान्नु नै श्रद्धा हो । कुनै व्यक्ति यदि परमात्मा प्राप्त गर्न खोज्छ र 'परमात्मा आफूमा हुनुहुन्छ' भन्ने श्रद्धा उसमा छ भने उसलाई परमात्मतत्वको अनुभव अवश्य हुन्छ ।

संसार प्रतिक्षण नाशमा गइ नै रहेछ, एक क्षण पनि टिक्तैन । केवल परमात्माको सत्ताले नै संसार सत्तावान् देखिइरहेछ । यसरी संसारको स्वतन्त्र सत्तालाई नमानेर एउटा परमात्माको सत्ता मात्रै मान्नु श्रद्धा हो । यस्तो श्रद्धा भएपछि तुरुन्तै ज्ञान हुन्छ ।   

हाम्रा इन्द्रियहरु संयत नहुँदा अर्कोको (संसारको) परायणता, अर्कोको (संसारको)आदर हुन्छ । साधन-परायणता नहुन्जेल पूर्ण श्रद्धा पनि हुँदैन । पूर्ण श्रद्धा नभएको कारण नै तत्वको अनुभवमा ढिलो हुने हो, हैन भने नित्य-प्राप्त तत्वको अनुभवमा ढिलाइ हुने कारण नै छैन ।

यही अध्यायमा भगवानले गुरुकहाँ गएर विधिपूर्वक ज्ञान प्राप्त गर्ने प्रणालीकोलागि तीन साधनहरु वताउनु भयो । ती हुन् -- प्रणिपात, परिप्रश्न र सेवा । यहाँ यो श्लोकमा भगवानले ज्ञान प्राप्त गर्ने एक साधन 'श्रद्धा' भन्नुभयो । चौतिसौं श्लोकमा गुरु द्वारा केवल ज्ञानको उपदेश दिने कुरा आयो; त्यो उपदेशले ज्ञान पाइएला भन्ने निश्चित छैन । तर यो श्लोकमा भनिएको साधन (श्रद्धा) ले निश्चितरूपले ज्ञान पाइन्छ । कारण हो, चौंतीसौं श्लोकको साधन वहिरंगी (वाहिरीया) भएकोले कपटभावले तथा साधारणभावले पनि गर्न सकिन्छ; तर यो श्लोकमा वर्णित साधन अन्तरंगी (भित्री) भएकोले यस्तो साधन (श्रद्धा) कपटभावले अथवा साधारणभावले गर्न सकिन्न । यसैले ज्ञान प्राप्त गराउने निश्चित् साधन श्रद्धा नै हो ।

'मलाई यही परमात्मतत्वको बोध गर्नु पर्यो र अनुभव पनि गर्नु पर्यो, त्यो अनुभव मलाई अहिले नै हुनुपर्यो' भन्नु नै श्रद्धा हो । 'तत्व पनि विद्यमान छ, म पनि विद्यमान छु र तत्वको अनुभव गर्न पनि चाहन्छु भने किन ढिलो गर्ने ?' भन्ने भावलाई पनि श्रद्धा भनिन्छ ।         

अनौठो कुरो छ, नित्य-निरन्तर विद्यमान रहने प्रिय नलाग्ने र निरन्तर वदलिइरहने, अभावमा गइरहने संसार प्रिय लाग्दो रहेछ । यसमा यही कारण हो, एक क्षण पनि एकै स्थितिमा रहन नसक्ने, निरन्तर नै अभावमा गइरहने संसारलाई हामी स्थायी मान्छौं; स्थायी मानेर नै यो संसारवाट स्थायी सुख लिन खोज्छौं, तर हाम्रो यो चाहना पूरा हुनु सर्वथा असम्भव छ ।                                                                                            

सुख लिन नै हामी संसारलाई आफ्नो मान्छौं । तर हामीले यो पनि बुझ्नु पर्यो, यो संसार कुनै कालमा पनि हाम्रो होइन । हामीवाट कहिले पनि नछुट्टिने र हामी पनि त्यसवाट छुट्टिन नसक्ने तत्व नै हाम्रो आफ्नो वस्तु हो । संसार हाम्रो आफ्नो भएको भए हरेक परिस्थिति हामीसँग रहन्थ्यो । तर न परिस्थिति हामीसँग रहन्छ, न हामी नै परिस्थितिसँग रहन्छौं ।यसैले, यो संसार हाम्रो आफ्नो हुँदै होइन । हामीले संसार देख्ने अन्तःकरण र इन्द्रियहरु पनि हाम्रा आफ्ना होइनन्, यिनलाई आफ्नो मानेको हाम्रो आफ्नै भूलले हो । तर, यिनीहरुमा (अन्तःकरण र इन्द्रियहरु) पनि हाम्रो कुनै अधिकार चल्दैन । वास्तवमा विचार गर्दा, हाम्रा इन्द्रियहरु सहित सम्पूर्ण संसार प्रलयतिर गैरहेछ, यसको स्थिति छँदै छैन ।   

संसारको प्रतीति मात्रै छ, यसैले, यसको प्राप्ति छँदै छैन, अथवा हामी यसलाई पाउनै सक्तैनौं । क्षण क्षण नाशतिर लम्किरहेको संसारलाई कहाँ समाउने, कसरी च्याप्ने ? संसार स्वरूपसम्म पुग्नै सक्तैन, तर स्वरूप सबै ठाउँमा सत्तारूपले विद्यमान छ । संसारको स्वतन्त्र अस्तित्व छैन, तर स्वयंको (आफ्नो) अस्तित्व नित्य-निरन्तर रहन्छ ।                 स्वरूपको अर्थात् आफ्नो हुनुपनाको प्रत्यक्ष हामीलाई अनुभव हुन्छ । स्वरूप (आफू) अपरिवर्तनशील छ । यदि स्वरूप पनि परिवर्तनशील हुँदो हो त संसारको परिवर्तन कसले देख्ने ? हामीलाई संसारको निरन्तर परिवर्तन र अभावको अनुभव त हुन्छ, तर आफ्नो परिवर्तनको अथवा आफ्नो अभावको अनुभव कहिले हुँदैन । यस्तो हुँदा हुँदै पनि परिवर्तनशील शरीरसँग आफूलाई मिलाएर शरीरको परिवर्तनलाई भूलले आफ्नो परिवर्तन मानिदिन्छौं हामी । शरीरसँग सम्बन्ध मानेर शरीरको अवस्थालाई आफ्नो अवस्था हामी मान्छौं । विचार गरौँ, शरीरको अवस्थासँग हामी एकै हुने भए एउटा अवस्था जाँदा र अर्को अवस्था आउँदा हामी पनि जानुपर्ने । यसवाट सिद्ध हुन्छ, आउने जाने अवस्था अर्कै हो र हामी अर्कै हौँ । यस्तो किसिमको आफ्नो स्वतःसिद्ध स्वरूपको अनुभव हुनु 'ज्ञान' हो ।
 
संसारको उत्पत्ति भन्दा पहिले पनि रहने, संसारको स्थितिमा पनि रहने र संसार नष्ट भएपछि पनि रहने तत्व 'छ, हो' नामले भनिन्छ । परन्तु उत्पन्न हुनु भन्दा पहिले नभएको र नष्ट भएपछि पनि नरहने र वीचमा पनि निरन्तर नाशतर्फ गइरहने वस्तु 'छैन, हैन' नामले भनिन्छ । 'छैन, हैन' को प्रतीति हुन्छ, प्राप्ति हुँदैन । जे 'छ, हो' त्यो त 'छ, हो' नै र जे 'छैन, हैन' त्यो छँदै छैन । 'छैन, हैन'लाई 'छैन, हैन' रूपले मान्दै 'छ, हो'लाई 'हो, छ' रूपले मान्नु नै श्रद्धा हो, जुन श्रद्धावाट नित्यसिद्ध ज्ञान प्राप्त हुन्छ । 

परम शान्तिको तत्काल अनुभव नहुनुको कारण -- आफूसँग भएको वस्तु आफूमा नखोजेर    वाहिर अरु ठाउँमा खोज्नु । परमशान्ति प्राणीमात्रमा स्वतःसिद्ध छ । परन्तु मनुष्य परमशान्ति स्वरूप परमात्मासंग विमुख हुन्छ र सांसारिक वस्तुहरुमा शान्ति खोज्छ । यसैले अनेक जन्महरूसम्म शान्तिको खोजमा भट्कीरहँदा पनि उसलाई शान्ति मिल्दैन । उत्पत्ति-विनाशशील वस्तुहरुमा कसरी शान्ति मिल्न सक्छ र ? तत्वज्ञानको अनुभव भएपछि दुःखरुप संसारसँग सँधैकोलागि सम्बन्ध-विच्छेद हुन्छ, स्वतःसिद्ध परमशान्तिको तत्काल अनुभव हुन्छ ।

सबै साधकलाई श्रद्धा-विश्वास र विवेकको आवश्यकता पर्छ । हो, कर्मयोग तथा ज्ञानयोगमा विवेकको मुख्यता छ र भक्तियोगमा श्रद्धा-विश्वासको मुख्यता छ । आरम्भमा 'तत्वज्ञान छ' भन्ने श्रद्धा हुनेछ, त्यसैले साधक त्यो तत्वज्ञानको प्राप्तिकोलागि साधन गर्नेछ ।

169 No 136 श्लोक ३६ यदि तिमी सबै पापीहरु भन्दा पापी छौ भने पनि ज्ञानरूपी डुंगा द्वारा निःसन्देह सम्पूर्ण पाप-समुद्रवाट राम्रोसँग तर्नेछौ ।

No 136 

श्लोक ३६ 

यदि तिमी सबै पापीहरु भन्दा पापी छौ भने पनि ज्ञानरूपी डुंगा द्वारा निःसन्देह सम्पूर्ण पाप-समुद्रवाट राम्रोसँग तर्नेछौ ।  

पाप गर्नेहरुका तीन श्रेणी हुन्छन् -- (१) 'पापकृत्' (पाप गर्ने), (२) 'पापकृत्तर' (दुइ पापीहरुमध्ये वढी पाप गर्ने) र (३) 'पापकृत्तम' (सम्पूर्ण पापीहरुमा सबै भन्दा वढी पाप गर्ने व्यक्ति) । यहाँ भगवान अर्जुनलाई भन्नुहुन्छ, तिमी सम्पूर्ण पापीहरु मध्ये अत्यन्त पाप गर्ने व्यक्ति छौ भने पनि तत्वज्ञानले सम्पूर्ण पापहरुदेखि तर्नेछौ ।              

भगवानको यस्तो वचन आफ्नो चेलोलाई आश्वासन दिने खालको छ । सबै पापहरु छोडेर साधनमा लाग्ने व्यक्तिको त कुरै के गर्नु पर्यो र ! तर पहिले पाप गरेको व्यक्तिले पनि जिज्ञासा जाग्रत भएपछि आफ्नो उद्धारको वारे निराश हुनु नपर्ने भयो । कारण कि पापी भन्दा पापी मनुष्य पनि उसले चाहे यही जन्ममा अहिले नै आफ्नो कल्याण गर्न सक्छ । वर्तमानका पाप जति वाधक पुराना पाप हुँदैनन् । कुनै व्यक्तिले अहिले वर्तमानमा पाप गर्न छोडेर 'म अवदेखि कहिले पनि पाप गर्ने छैन र खालि तत्वज्ञान पाउनेछु' भन्ने निश्चय गर्यो भने उसका पापहरु नाश हुन धेरै समय लाग्दैन ।

सय वर्षदेखि अँध्यारो भैरहेको कुनै ठाउँमा वत्ति वाल्यो भने त्यो अँध्यारो हटाएर प्रकाश गर्न त्यो वत्तिलाई सय वर्ष लाग्दैन, वत्ति वाल्ने वित्तिकै अँध्यारो मेटिन्छ । यसै गरी तत्वज्ञान हुने वित्तिकै पहिले गरिएका सम्पूर्ण पाप तत्काल नष्ट हुन्छन् । 

यहाँ भन्न खोजिएको आशय, प्रायः यस्ता मनुष्य परमात्मामा लाग्दैनन्; तर यस्ता व्यक्ति परमात्मामा लाग्न सक्तैनन् भन्ने कुरो चाहिं होइन । कुनै महापुरुषको संगतले अथवा कुनै घटना, परिस्थिति, वातावरण आदिको प्रभावले त्यस्तो मानिसमा यस्तो निश्चय हुन सक्छ, 'अव मलाई परमात्माको ज्ञान प्राप्त गर्नु नै पर्छ' । त्यस्तो दृढ निश्चयले त्यो व्यक्ति पाप-समुद्रवाट राम्रोसँग पार तर्न सक्छ ।

यस्तै प्रसंग भगवानले नवौं अध्यायमा अनन्यभावले आफ्नो भजन गर्नेकोलागि भन्नुभएको छ, 'ठूलो दुराचारी मनुष्यले पनि यदि 'अवदेखि म भगवानको मात्रै भजन गर्छु' भन्ने निश्चय मात्रै गर्यो भने पनि उसको धेरै चाँडो कल्याण हुन सक्छ ।'                   

पाप हुने नै प्रकृतिको कार्य शरीर र संसारको सम्बन्धले हो । तत्वज्ञान भएपछि शरीर र संसारसँग सर्वथा सम्बन्ध-विच्छेद हुन्छ, त्यसपछि पाप रहन नै कसरी सक्छ र !

परमात्माको स्वतःसिद्ध ज्ञानसँग एक हुनु नै ज्ञानरुप नौका (डुंगा) पाउनु हो । मनुष्य जति नै पापी भए पनि ज्ञानरूपी नौकाले सम्पूर्ण पाप-समुद्र राम्रोसँग तर्न सक्छ । यो ज्ञानरुप नौका कहिले पनि टुट्ने, फुट्ने हुँदैन, यसमा कहिले प्वाल पर्दैन र यो कहिले पनि डुब्दैन । यो ज्ञानरूपी डुंगा मनुष्यलाई पापसमुद्रवाट पार लगाउँछ । 

यो ज्ञानरूपी डुंगा पाउने एक मात्र उपाय हो -- ज्ञानयज्ञ । यो ज्ञानयज्ञ शुरुदेखि नै विवेकलाई लिएर अघि वढ्छ र 'तत्वज्ञान' मा यसको पूर्णता हुन्छ । पूर्णता भएपछि अलिकति पनि पाप रहँदैन । 

श्लोक ३७ 

हे अर्जुन ! दन्दनी वलेको अग्निले दाउराहरु भस्म गरे जस्तै ज्ञानरूपी अग्नि सम्पूर्ण कर्महरु सर्वथा भस्म गरिदिन्छ । 

अघिल्लो श्लोकमा भगवानले ज्ञानरूपी डुंगा द्वारा पाप सागर तर्ने कुरा गर्नु भयो । यो कुराले यस्तो प्रश्न पैदा गर्छ, पापसमुद्र अलिकति मात्रै भए पनि शेष रहन्छ, फेरि त्यसको के होला ? अतः भगवान फेरि अरुको दृष्टान्त दिंदै भन्नुहुन्छ, प्रज्वलित (दन्दनी दन्केको) अग्निले काठ आदि सम्पूर्ण इन्धनहरु भस्म गरे जस्तै ज्ञानरूपी अग्निले पनि सम्पूर्ण पापहरु किञ्चित् मात्र पनि वांकी नराखी भस्म गरिदिन्छ । 

अग्निले काठ भस्म गरे जस्तै तत्वज्ञानरूपी अग्निले संचित, प्रारब्ध र क्रियमाण -- तीनै कर्महरु भस्म गरिदिन्छ । अग्निमा काठ अलिकति पनि वांकी नरहे जस्तै तत्वज्ञानमा सम्पूर्ण कर्महरुको विल्कुल अभाव हुन्छ । तात्पर्य, ज्ञान भएपछि कर्महरुसँग अथवा संसारसँग पूरा सम्बन्ध-विच्छेद हुन्छ । सम्बन्ध-विच्छेद भएपछि संसारको स्वतन्त्र सत्ताको अनुभव हुँदैन, एक परमात्मतत्व मात्रै शेष रहन्छ । 

वास्तवमा सम्पूर्ण क्रियाहरु प्रकृति द्वारा नै हुन्छन् । ती क्रियाहरुसँग आफ्नो सम्बन्ध मान्दा कर्म हुन्छन् । नशाहरुमा रक्त-प्रवाह हुनु, शरीर वालकवाट जवान हुनु, सास भित्र वाहिर गर्नु, भोजन आदि क्रियाहरु हुने समष्टि प्रकृतिवाट नै खानु-पिउनु, हिंड्नु, वस्नु, देख्नु, वोल्नु आदि क्रियाहरु पनि हुन्छन् । परन्तु मनुष्य अज्ञानले गर्दा ती क्रियाहरुसँग आफ्नो सम्बन्ध मान्छ अर्थात् आफूलाई ती क्रियाहरुको कर्ता मान्छ । यसले गर्दा ती क्रियाहरु 'कर्म' वनेर मनुष्यलाई वांधिदिन्छन् । यस्तो किसिमले मानिएका सम्बन्धले नै कर्म हुन्छ, नभए त क्रियाहरु नै हुन्छन् ।

तत्वज्ञान भएपछि अनेक जन्महरुका संचित कर्म सर्वथा नष्ट हुन्छन् । किनकि सबै संचित कर्म कै आश्रित रहन्छन्; त्यसैले ज्ञान हुने वित्तिकै ती कर्महरु नष्ट हुन्छन् । तत्वज्ञानमा  कर्तृत्वाभिमान रहँदैन; अतः सबै क्रियमाण कर्म अकर्म हुन्छन् अथवा फलजनक (फल दिने) हुँदैनन् । प्रारब्ध कर्मको घटना-अंश (अनुकूल-प्रतिकूल परिस्थिति) शरीर रहुन्जेल रहन्छ; परन्तु ज्ञानीलाई त्यसको कुनै असर पर्दैन । कारण कि तत्वज्ञान भएपछि भोक्तृत्व रहँदैन; त्यसैले अनुकूल-प्रतिकूल परिस्थिति आफ्नो अगाडि आउँदा पनि ज्ञानी सुखी-दुःखी हुँदैन ।यसरी तत्वज्ञान भएपछि संचित, प्रारब्ध र क्रियमाण -- तीनै कर्महरुसँग अलिकति पनि सम्बन्ध रहँदैन । कर्महरुसँग आफ्नो सम्बन्ध नरहँदा कर्म रहँदैनन्, भस्म वांकी रहन्छन् अर्थात् सबै कर्म अकर्म हुन्छन् ।

168 No 135 श्लोक ३४ त्यो तत्वज्ञान तत्वदर्शी ज्ञानी महापुरुषकहाँ गएर बुझ ।

No 135 

श्लोक ३४ 

त्यो तत्वज्ञान तत्वदर्शी ज्ञानी महापुरुषकहाँ गएर बुझ । तत्वज्ञानी महापुरुषलाइ दण्डवत् प्रणाम गरेर, उहाँको सेवा गरेर सरलतापूर्वक प्रश्न गरे ती तत्वदर्शी (अनुभवी) ज्ञानी (शास्त्रज्ञ) महापुरुष तिमीलाई त्यो तत्वज्ञानको उपदेश दिनेछन् ।

अर्जुनले पहिले भनेका थिए, 'युद्धमा स्वजनलाई मार्नु म आफ्नो हित देख्दिन,' 'यी आततायीलाई मार्दा त हामीलाई पाप लाग्छ,' 'युद्ध गर्नु भन्दा म भिक्षा मागेर जीवन-निर्वाह गर्नु श्रेष्ठ सम्झन्छु,' आदि आदि । यसरी अर्जुन युद्धरूप कर्तव्य-कर्म नगर्नु श्रेष्ठ सम्झन्छन् ।तर भगवानको मत अनुसार ज्ञानप्राप्तिकोलागि कर्महरुको त्याग गर्नु आवश्यक छैन ।यहाँ भगवानले अर्जुनलाई यसो पनि भने जस्तो लाग्छ, 'यदि तिमी कर्महरुको स्वरूपले नै त्याग गरेर ज्ञान पाउनुलाई श्रेष्ठ मान्छौ भने तिमी कुनै तत्वदर्शी ज्ञानी महापुरुषकहाँ गएर विधिपूर्वक ज्ञान प्राप्त गर, म तिमीलाई यस्तो उपदेश दिन्न ।' 

वास्तवमा, यहाँ भगवानको अभिप्राय अर्जुनलाई ज्ञानी महापुरुषकहाँ पठाउने नभएर उनलाई चेताउने प्रयास भए जस्तो लाग्छ । जस्तो, कुनै महापुरुष कसैलाई उसको कल्याणको कुरा गरिरहेको वेला त्यो सुन्ने व्यक्तिको श्रद्धाको कमीको कारणले उसलाई त्यो उपदेश ठीक लाग्दैन भने ती महापुरुषले त्यो व्यक्तिलाई भनिदिन्छन्, 'तिमी कुनै ज्ञानी महापुरुषकहाँ गएर आफ्नो कल्याणको उपाय सोध ।' यसै गरी भगवानले पनि अर्जुनलाई यसो भनिरहे जस्तो लाग्छ, 'यदि तिमीलाई मेरो कुरा ठीक लाग्दैन भने तिमी कुनै ज्ञानी महापुरुषकहाँ गएर प्रचलित प्रणाली द्वारा ज्ञान प्राप्त गर ।' ज्ञान प्राप्त गर्ने प्रचलित प्रणाली हो -- कर्महरु स्वरूपले नै त्यागेर, जिज्ञासापूर्वक श्रोत्रिय र ब्रहमनिष्ठ गुरुकहाँ गएर विधिपूर्वक ज्ञान प्राप्त गर्ने । 

आउँदा केही पछिका श्लोकहरुमा भगवान अर्जुनलाई भन्नुहुन्छ, 'यही तत्वज्ञान तिमीलाई आफ्नो कर्तव्य-कर्म गर्दा गर्दै (कर्मयोग सिद्ध हुने वित्तिकै) अरु कुनै साधन नै नगरी आफैं प्राप्त हुनेछ । तत्वज्ञानकोलागि कुनै अरु व्यक्तिकहाँ जानै पर्दैन ।' 

ज्ञानप्राप्तिकोलागि गुरुकहाँ गएर उहाँलाई साष्टांग दण्डवत् गर्नुपर्छ । तात्पर्य, गुरुसँग नीच पुरुष जस्तो रहनु । यसो गर्दा आफ्नो गुरुको कहिले पनि निरादर, तिरस्कार हुँदैन । नम्रता, सरलता र जिज्ञासुभावले उहाँसँग वस्नु र सेवा गर्नु । आफू आफैं गुरुमा समर्पित भइदिने, उहाँको अधीनमा रहने । शरीर र वस्तुहरु -- दुवै उहाँमा अर्पण गर्ने । साष्टांग दण्डवत् प्रणाम द्वारा आफ्नो शरीर र सेवाले आफ्ना वस्तुहरु गुरुलाई अर्पण गर्ने । 

शरीर र वस्तुहरुले गुरुको सेवा गर्ने । उहाँ प्रसन्न हुने काम गर्ने । उहाँको प्रसन्नता पाउनु छ भने आफूले आफूलाई सँधै उहाँको अधीन गरिदिने । उहाँको मन, संकेत, आज्ञा अनुकूल व्यवहार गर्ने । यही वास्तविक सेवा हो । 

सन्त-महापुरुषलाई गर्ने सब भन्दा ठूलो सेवा हो -- उहाँको सिद्धान्तहरु अनुसार आफ्नो जीवन विताउने । कारण कि उहाँहरुलाई आफ्नो सिद्धान्त जति आफ्नो शरीर पनि प्रिय हुँदैन । सिद्धान्त रक्षाकोलागि नै उहाँहरु आफ्नो शरीरसम्म त्यागिदिन्छन् । यसैले साँचो सेवक गुरुको सिद्धान्तहरु दृढतापूर्वक पालन गर्छ ।

परमात्मतत्व जान्न जिज्ञासुभावले सरलता र विनम्रतापूर्वक प्रश्न गर्नुपर्छ । आफ्नो विद्वत्ता देखाउन अथवा गुरुको परीक्षा गर्न प्रश्न गर्नु हुन्न ।

म को हुँ ? संसार के हो ? बन्धन के हो ? मोक्ष के हो ? परमात्मतत्वको अनुभव कसरी हुन सक्छ ? मेरो साधनमा के के वाधाहरु छन् ? ती वाधाहरु कसरी हटाउने ? तत्व किन बुझिरहिएको छैन ? जस्ता प्रश्न आफ्नो बोधकोलागि जिज्ञासा अनुसार गर्नुपर्छ ।

आफूले मानेको गुरु महापुरुषलाई परमात्मतत्वको अनुभव भएको हुनु पर्छ; र उहाँलाई वेदहरु र शास्त्रहरूको राम्रो ज्ञान भएको हुनुपर्छ । त्यस्ता तत्वदर्शी र ज्ञानी महापुरुषकहाँ गएर मात्रै ज्ञान प्राप्त गर्नुपर्छ ।

अन्तःकरणको शुद्धि अनुसार ज्ञानको अधिकारी तीन प्रकारका हुन्छन् -- उत्तम, मध्यम र कनिष्ठ । उत्तम अधिकारीलाई श्रवण मात्रैले तत्वज्ञान हुन्छ । मध्यम अधिकारीलाई श्रवण, मनन र निदिध्यासन गरेर तत्वज्ञान हुन्छ । कनिष्ठ अधिकारी तत्व बुझ्न धेरै किसिमका शंकाहरु गर्ने गर्छ । ती शंकाहरु समाधान गर्न वेदहरु र शास्त्रहरुको ठीक-ठीक ज्ञान हुनु आवश्यक छ; किनकि त्यस्तो समयमा केवल युक्तिहरुले तत्व बुझाउन सकिंदैन । अतः यदि गुरु तत्वदर्शी त छ तर ज्ञानी छैन भने त्यो गुरु आफ्नो चेलोको किसिम किसिमका शंकाहरुको समाधान गर्न सक्तैन । फेरि, यदि गुरु शास्त्रको ज्ञाता त छ तर तत्वदर्शी छैन भने उसका कुराहरुले श्रोतालाई ज्ञान गराउन सक्तैनन् । त्यस्तो गुरुले कुराहरु सुनाउन सक्छ, पुस्तकहरु पढाउन सक्छ, तर शिष्यलाई बोध गराउन सक्तैन । यसैले गुरु तत्वदर्शी र ज्ञानी दुवै हुनु निकै जरूरी छ ।

'महापुरुषलाई दण्डवत् प्रणाम गरे, उहाँको सेवा गरे र उहाँसँग सरलतापूर्वक प्रश्न गरे उहाँ तिमीलाई तत्वज्ञानको उपदेश दिनुहुन्छ' भन्ने वाक्यको अर्थ यो होइन कि महापुरुषलाई यी सबै कुराको आशा (अपेक्षा) रहन्छ । वास्तवमा, त्यस्ता महापुरुषलाई प्रणाम, सेवा आदिको अलिकति मात्र पनि भोक हुँदैन । यहाँ यस्तो भाव छ, साधकले यस्तो किसिमले जिज्ञासा गर्छ र सरलता-पूर्वक महापुरुषकहाँ गएर वस्छ भने त्यो महापुरुषको अन्तःकरणमा ऊ प्रति विशेष भाव पैदा हुन्छ । यस्तो विशेष भावले साधकलाई ज्यादै लाभ हुन्छ ।साधक यदि यसरी गुरुकहाँ वस्दैन भने ज्ञान पाउँदा पनि ऊ त्यो ज्ञानलाई ग्रहण गर्न सक्तैन ।

यहाँ आएको ज्ञान शब्द तत्वज्ञान अथवा स्वरूप-बोधको वाचक हो । वास्तवमा ज्ञान स्वरूपको हुँदैन, संसारको हुन्छ । संसारको ज्ञान हुने वित्तिकै संसारसँग सम्बन्ध-विच्छेद हुन्छ र स्वतः सिद्ध स्वरूपको अनुभव हुन्छ । 

यहाँ भन्न खोजिएको, महापुरुष साधकलाई ज्ञानको उपदेश त दिन्छन्, तर त्यो ज्ञानले साधकलाई बोध भइ नै हाल्छ भन्ने छैन । यहाँ यो बुझ्नु पर्छ हामीले, श्रद्धावान् साधकले मात्रै ज्ञान प्राप्त गर्न सक्छ । किनकि श्रद्धा अन्तःकरणको वस्तु हो; तर प्रणाम, सेवा, प्रश्न आदि कपटपूर्वक पनि गर्न सकिन्छ । यसैले यहाँ महापुरुषवाट खालि ज्ञान दिइने मात्रै कुरा भयो, शिष्य द्वारा ज्ञान पाउने नपाउने कुरोको उल्लेख छैन ।

श्लोक ३५ 

यस्तो तत्वज्ञान अनुभव गरेपछि तिमीलाई फेरि यस्तो प्रकारले मोह हुँदैन र हे अर्जुन ! यही तत्वज्ञानले तिमी सम्पूर्ण प्राणीहरुलाइ नि:शेषभावले पहिले आफूमा र त्यसपछि म सच्चिदानन्दघन परमात्मामा देख्नेछौ । 

पहिलो श्लोकमा भगवानले भन्नुभयो, ती महापुरुष तिमीलाई तत्वज्ञानको उपदेश दिनेछन्, तर उपदेश सुनेर मात्रै वास्तविक बोध अर्थात् स्वरूपको यथार्थ बोध हुन्छ भन्न सकिंदैन । फेरि वास्तविक बोधको वर्णन पनि कोही गर्न सक्तैन । किनकि वास्तविक बोध करण-निरपेक्ष छ अर्थात् मन, वाणी भन्दा पर छ । अतः वास्तविक बोध स्वयं द्वारा स्वयंलाई हुन्छ र मनुष्यले आफ्नो विवेकलाइ महत्व दिएपछि हुन्छ । विवेकलाई महत्व दिएपछि 
अविवेक सर्वथा मेटिन्छ र त्यही विवेक नै वास्तविक बोध भैदिन्छ र जडतासँग सर्वथा सम्बन्ध-विच्छेद गराइदिन्छ । वास्तविक बोध भएपछि फेरि कहिले मोह हुँदैन ।  

गीताको पहिलो अध्यायमा अर्जुनको मोह प्रकट हुन्छ कि युद्धमा सबै कुटुम्बी, नाता गोता मरे भने उनीहरुलाई पिण्ड दिने को होला ? पिण्ड-पानी नपाएपछि उनीहरु नरकमा खस्छन् ।वांचेका स्त्रीहरु बच्चाहरुको पालन कसरी होला ? तत्वज्ञान भएपछि यस्तो मोह रहँदैन । बोध भएपछि संसारसँग म र मेरो पनको सम्बन्ध हुँदैन । त्यसपछि पुनः मोह हुने प्रश्न नै रहँदैन । 

तत्वज्ञान हुने वित्तिकै 'मेरो सत्ता सर्वत्र परिपूर्ण छ र त्यही सत्ता अन्तर्गत नै सबै ब्रह्माण्ड छ' भन्ने अनुभव हुन्छ । स्वप्नवाट उठेको पुरुषले स्वप्नको सृष्टिलाई आफूमा नै देखे जस्तै तत्वज्ञान भएपछि मनुष्य सम्पूर्ण प्राणीहरु(जगत्) लाई आफूमा देख्छ । 

तत्वज्ञान प्राप्त गर्ने प्रचलित प्रक्रिया अनुसार भगवान भन्नु हुन्छ, गुरुवाट विधिपूर्वक (श्रवण, मनन र निदिध्यासनपूर्वक) तत्वज्ञान प्राप्त गरेपछि साधक पहिले आफ्नो स्वरूपमा सम्पूर्ण प्राणीहरु देख्छ -- यो 'त्वम्' पदको अनुभव हो । फेरि त्यही स्वरूप तथा सम्पूर्ण प्राणीहरुलाई एक सच्चिदानन्दघन परमात्मामा देख्छ -- यो 'तत्' पदको अनुभव भयो । यसै गरी उसलाई पहिले 'त्वम्' (स्वरूप) को र त्यसपछि 'तत्' (परमात्मतत्व) सँग 'त्वम्'को एकताको अनुभव हुन्छ । एक ब्रह्म मात्रै शेष रहन्छ । यस्तो अवस्थामा दृग, दृश्य र दर्शन तीनै रहँदैनन् । परन्तु अरुको दृष्टिमा उसको आफ्नो भनिने अन्तःकरणमा देखिने भावलाई लिएर भगवान भन्नुहुन्छ, 'ऊ सबैमा मलाई देख्छ' । 

स्थूल दृष्टिले हेर्दा समुद्र र लहरहरुमा भिन्नता देखिन्छ । लहरहरु समुद्रमा नै उठी रहन्छन् र लीन भई रहन्छन् । परन्तु समुद्र र लहरहरुको छुट्टै सत्ता छैन । सत्ता त खालि जल-तत्वको मात्रै छ । जल-तत्वमा न समुद्र छ, न लहरहरु नै छन् ।पृथ्वीसँग सम्बन्ध भएकोले समुद्र पनि सीमित छ र लहरहरु पनि; तर जल-तत्व सीमित छैन ।अतः समुद्र र लहरहरु नहेरेर एक जल-तत्व देख्नु नै यथार्थ दृष्टि  हो । यसै गरी संसाररुप समुद्र र शरीररुप लहरहरुमा भिन्नता देखिन्छ । शरीर संसारमा नै उत्पन्न र नष्ट भइरहन्छ । परन्तु  वास्तवमा संसार र शरीर-समुदायको स्वतन्त्र सत्ता छैन ।सत्ता खालि परमात्मतत्वको मात्रै छ । परमात्मतत्वमा न संसार छ, न शरीर । प्रकृतिसँग सम्बन्ध भएकोले संसार पनि सीमित छ र शरीर पनि । परन्तु परमात्मतत्व सीमित छैन । अतः संसार र शरीरहरु नदेखेर  एक परमात्मतत्व मात्रै देख्नु यथार्थ दृष्टि हो ।

तत्वज्ञान अथवा अज्ञानको नाश एकै चोटी हुन्छ र सँधैकोलागि हुन्छ । तात्पर्य, तत्वज्ञानको आवृत्ति (दोहोरिने क्रिया) हुँदैन । यो ज्ञान एक चोटी अनुभवमा आएपछि आइहाल्यो । कारण, अज्ञानको स्वतन्त्र सत्ता नै छैन भने फेरि अज्ञान कसरी हुने ? अतः नित्य-निवृत्त अज्ञानको नै निवृत्ति हुन्छ र नित्यप्राप्त तत्वको नै प्राप्ति हुन्छ ।

स्वयं सत्तामात्र र बोधस्वरूप हो । बोधको अनादर गर्दा हामीले असत् लाई स्वीकार गरेर अविवेक भयो । तात्पर्य, बोधसँग विमुख भएर हामीले असत् लाई सत्ता दियौं र असत् लाई सत्ता दिंदा विवेकको अनादर भयो । वास्तवमा बोधको अनादर गरेको होइन, अनादिकालदेखि अनादर छ । बोध एकै चोटी हुन्छ र सँधैकोलागि हुन्छ ।

तत्वज्ञान भएपछि फेरि मोह हुँदैन, किनकि वास्तवमा मोह छँदै छैन ।जगत् जीव अन्तर्गत छ र जीव परमात्मा अन्तर्गत छ । यसैले साधक पहिले जगत् आफूमा देख्छ, पछि आफूलाई परमात्मामा देख्छ । आत्मज्ञानमा निजानन्द (आफ्नो स्वरूपको आनन्द) छ र परमात्मज्ञानमा परम् आनन्द छ । लौकिक निष्ठा (कर्मयोग तथा ज्ञानयोग)मा आत्मज्ञानको अनुभव हुन्छ र अलौकिक निष्ठा (भक्तियोग)मा परमात्मज्ञानको अनुभव हुन्छ । 

सबै भगवान नै हो -- यस्तो समग्रको ज्ञान 'परमात्मज्ञान' हो । आत्मज्ञानले मुक्ति हुन्छ, तर आत्मज्ञानमा सूक्ष्म अहम् को गन्ध रहन्छ ।यो अहम् को गन्धले गर्दा दार्शनिकहरुमा मतभेद रहन्छ । सूक्ष्म अहम् को गन्ध नभए मतभेद हुँदैन ।परन्तु परमात्मज्ञानमा सूक्ष्म अहम् को गन्ध पनि रहँदैन र त्यही अहम् वाट पैदा हुने सम्पूर्ण दार्शनिक मतभेद समाप्त हुन्छन् । तात्पर्य, जवसम्म 'आत्मनि' छ, त्यो वेलासम्म दार्शनिक मतभेद छन् ।'वासुदेवःसर्वम्'को अनुभव भएपछि सबै मतभेद मेटिन्छन् मतभेद मेटिएपछि एक परमात्मा सिवाय अर्को कुनै सत्ता रहँदैन ।   

167 No.134 श्लोक ३१ हे कुरुवंशिहरुमा श्रेष्ठ अर्जुन ! यज्ञवाट वचेको अमृतको अनुभव गर्ने व्यक्तिहरु सनातन परब्रह्म परमात्मा पाउँछन् ।

No.134 

श्लोक ३१ 

हे कुरुवंशिहरुमा श्रेष्ठ अर्जुन ! यज्ञवाट वचेको अमृतको अनुभव गर्ने व्यक्तिहरु सनातन परब्रह्म परमात्मा पाउँछन् । यज्ञ नगर्ने मनुष्यकोलागि यो मनुष्यलोक नै सुखदायक छैन भने परलोक कसरी सुखदायक होला ?

यज्ञ गरे अर्थात् निष्कामभावपूर्वक अरुलाई  सुख पुर्याए समताको अनुभव हुन्छ । यही अनुभवलाई 'यज्ञशिष्ट अमृत'को अनुभव भनिएको  हो । अमृत अर्थात् अमरताको अनुभव गर्ने व्यक्ति सनातन परब्रह्म परमात्मा पाउँछन् ।

 स्वरूपले मनुष्य अमर छ । मर्ने वस्तुहरुको संगले नै मनुष्यलाई मृत्युको अनुभव हुन्छ । यी वस्तुहरुलाई संसारको हितमा लगाउँदा मनुष्य असंग हुन्छ, त्यसपछि उसलाई अमरताको अनुभव हुन्छ । 

सम्पूर्ण कर्तव्य केवल कर्तव्य सम्झेर गरियो भने त्यो कर्म यज्ञ हुन्छ । केवल अरुको हितकोलागि गरिने कर्म नै कर्तव्य हुन्छ । आफ़्नोलागि गरिने कर्म कर्तव्य हुँदैन, खालि कर्म हुन्छ, जसवाट मनुष्य बाँधिन्छ । यसैले यज्ञमा दिनु नै दिनु हुन्छ, लिनु केवल निर्वाह मात्रकोलागि हुन्छ । शरीर यज्ञ गर्न समर्थ रहोस् भन्ने दृष्टिले शरीर-निर्वाहकोलागि वस्तुहरुको उपयोग गर्नु पनि यज्ञको अन्तर्गत नै पर्छ । मनुष्य-शरीर यज्ञकोलागि नै हो ।यो शरीरलाई मान-वड़ाई, सुख-आराम आदिमा लगाउनु बन्धनकारक हो । केवल यज्ञकोलागि कर्म गरे मनुष्य बन्धनरहित (मुक्त) हुन्छ र उसलाई सनातन ब्रह्मको प्राप्ति हुन्छ ।  

अर्जुन मार्फत् हामीलाई भगवान भन्नुहुन्छ,'यज्ञ गर्दैनौ भने तिमीलाई यो लोक पनि लाभदायक हुँदैन, परलोकको त कुरै के गर्नु पर्यो र ? खालि स्वार्थभावले (आफ़्नोलागि) कर्म गरे यो लोकमा संघर्ष हुन्छ र सुख-शान्ति भंग हुनेछ र परलोकमा पनि कल्याण हुने छैन ।

आफ्नो कर्तव्य नगरे घरमा पनि भेद र संघर्ष हुन्छ, खटपट हुन्छ । घरमा कुनै व्यक्ति स्वार्थी छ भने त्यो घरका अरु व्यक्तिलाई त्यो व्यक्ति घरमा वसेको पनि मन पर्दैन । स्वार्थ त्यागेर आफ्नो कर्तव्यले सबैलाई सुख पुर्याउनु घरमा अथवा संसारमा वस्ने विद्या हो । 
आफ्नो कर्तव्यको पालनले अरुलाई पनि कर्तव्य-पालनको प्रेरणा मिल्छ । यसो गर्यो भने घरमा सुख र शान्ति स्वाभावले नै आउँछ । तर आफ्नो कर्तव्यको पालन नगरे यो लोकमा सुखपूर्वक वाँच्न पनि मुश्किल पर्छ भने अरु लोकको त कुरै के गर्नु ! तर आफ्नो कर्तव्यको पालन ठीकसँग गर्यो भने यो लोक पनि सुखदायक हुन्छ र परलोक पनि ।

श्लोक ३२ 

यसरी अरु पनि धेरै किसिमका यज्ञ वेदका वाणीमा भनिएका छन् । ती सबै यज्ञहरुलाई तिमी कर्मजन्य भन्ने बुझ । यस्तो किसिमले जानेर यज्ञ गरे तिमी कर्मबन्धनवाट छुट्ने छौ । 

हालै प्रस्तुत वारह यज्ञ भन्दा वाहेक अरु पनि अनेक प्रकारका यज्ञहरुको वेदका वाणीहरुमा विस्तारले  वर्णन छन् । किनकि साधकहरुको प्रकृति अनुसार उनीहरुको निष्ठा वेग्ला-वेग्लै हुन्छन्, त्यही अनुसार तिनका साधन पनि वेग्ला-वेग्लै हुन्छन् । 

वेद्हरुमा सकाम कर्मको अनुष्ठानको वर्णन पनि विस्तृत छ । तर ती सबै अनुष्ठानवाट नाशवान् फलको नै प्राप्ति हुन्छ, अविनाशी फलको हुँदैन । यसैले वेदहरुमा वर्णित सकाम अनुष्ठान गर्ने मनुष्य स्वर्गलोक जान्छन् र पुण्य सकिएपछि फेरि मृत्युलोकमा आउँछन् ।यसरी उनीहरु जन्म-मरणको बन्धनमा परिरहन्छन् । परन्तु यहाँ, यो श्लोकमा ती सकाम अनुष्ठानहरुको कुरा भएको छैन । यहाँ त निष्कामकर्मरुप अनुष्ठानवाट परमात्माको प्राप्ति गराउने यज्ञको कुरा भएको छ । 

वेदमा स्वर्गप्राप्तिको साधनरुप सकाम अनुष्ठानहरुको मात्रै वर्णन छैन । त्यहाँ परमात्मप्राप्तिको साधनरूप श्रवण, मनन,निदिध्यासन, प्राणायाम, समाधि आदि अनुष्ठानहरुको पनि वर्णन छ भन्ने भाव यो प्रसंगको छ । 

अर्जुन आफ्नो कल्याण त चाहन्छन्, तर युद्धरूप कर्तव्य-कर्मलाई पाप भन्ने मानेर त्यसको त्याग गर्न चाहन्छन् । यसैले भगवान अर्जुनलाई भन्नुहुन्छ, 'युद्धरुप कर्तव्यकर्म त्यागेर आफ्नो कल्याणकोलागि तिमीले गर्ने साधन पनि त कर्म नै हो। वास्तवमा कल्याण कर्मले हुने होइन, कर्महरुसँग पूरापूर सम्बन्ध-विच्छेद हुँदा नै हुन्छ ।यसैले तिमी युद्धरुप कर्तव्य-कर्म पनि निर्लिप्त भएर गर्छौ भने तिम्रो कल्याण हुनेछ, किनकि बाँध्ने कर्मले होइन, (कर्म र त्यसको फलको) आसक्तिले नै बाँध्छ ।  युद्ध त तिम्रो सहज कर्म (स्वधर्म) हो, यो सहज कर्म गर्न सजिलो पनि छ ।'

यहाँ, अझ यो अध्यायमा, भगवान भन्नुहुन्छ, 'मलाइ कर्मफलमा स्पृहा छैन, त्यही कारण मलाई कर्म बाँधदैनन् भन्ने कुरा जान्ने व्यक्ति पनि कर्मवाट वाँधिंदैन ।' तात्पर्य, कर्म गरी रहंदा पनि ती कर्महरुदेखि निर्लिप्त रहने विद्या सिकेर त्यसको अनुभव  गरेको व्यक्ति कर्म -बन्धनदेखि मुक्त हुन्छ ।' उहाँको भाव छ, मुमुक्षु (मोक्षको चाहना राख्ने ) पुरुषले  पनि यस्तो जानेर कर्म गर्दै आएका छन् । कर्मदेखि निर्लिप्त रहने यही तत्व विस्तारले भन्नको लागि भगवानले प्रतिज्ञा गर्नु भयो र यो तत्व जानेको फलवाट मुक्त भइने कुरा उहाँले भन्नु भयो । तात्पर्य, फलको इच्छा छोडेर केवल लोकहितार्थ कर्म गरे मनुष्य कर्म-बन्धनदेखि मुक्त हुन्छ । 

संसारमा अनगिन्ति क्रियाहरु हुन्छन्; तर मनुष्य जुन क्रियासँग आफ्नो सम्बन्ध जोडछ, त्यही क्रियासँग बाँधिन्छ । तर शरीर अथवा संसारसँग हुने कुनै पनि क्रियासँग मनुष्य सम्बन्ध जोडदैन भने ऊ कर्म-बन्धनदेखि मुक्त हुन्छ । 

श्लोक ३३ 

हे परंतप अर्जुन ! द्रव्यमय यज्ञ भन्दा ज्ञानयज्ञ श्रेष्ठ छ । सम्पूर्ण कर्म र पदार्थ ज्ञान (तत्वज्ञान)मा समाप्त (लीन) हुन्छन् । 

द्रव्यहरु (पदार्थहरु) तथा कर्महरुको आवश्यकता हुने यज्ञहरु 'द्रव्ययज्ञ' हुन्छन् । 'द्रव्य' शब्दसँग 'मय' को अर्थ प्रचुर मात्रा भन्ने बुझ्नु पर्छ । यही कारण द्रव्यमय यज्ञ भन्दा ज्ञानयज्ञ श्रेष्ठ छ; किनकि ज्ञानयज्ञमा द्रव्य र कर्मको आवश्यकता  हुँदैन । 

सबै यज्ञलाई भगवानले कर्मजन्य भन्नुभयो । तर यहाँ भगवान भन्नुहुन्छ, सम्पूर्ण कर्म ज्ञानयज्ञमा परिसमाप्त हुन्छ अर्थात् ज्ञान कर्मजन्य होइन, विवेक-विचारजन्य हो । यहाँ वर्णित ज्ञानयज्ञ पहिले उल्लेख भएका वारह ज्ञानयज्ञको वाचक नभएर आउँदो श्लोकमा व्याख्या हुने ज्ञान प्राप्त गर्ने प्रचलित प्रक्रियाको वाचक हो । पहिले वर्णन भएको वारह यज्ञहरुको वाचक यहाँ 'द्रव्यमय यज्ञ' हो द्रव्यमय यज्ञ समाप्त गरिएपछि नै ज्ञानयज्ञ गरिन्छ ।

सूक्ष्म दृष्टिले हेर्दा ज्ञानयज्ञ पनि केही हदसम्म क्रियाजन्य नै भए पनि यसमा विचार-विवेकको प्रधानता रहन्छ ।

मनुष्यले आफ्नोलागि कर्म गरुन्जेल उसको सम्बन्ध क्रियाहरु र पदार्थहरुसँग वनिरहन्छ । क्रियाहरु र पदार्थहरुसँग सम्बन्ध रहुन्जेल अन्तःकरणमा अशुद्धि रहन्छ, यसैले आफ्नोलागि कर्म नगर्दा नै अन्तःकरण शुद्ध हुन्छ । 

अन्तःकरणमा तीन दोष रहन्छन् -- मल (संचित पाप), विक्षेप (मनको चंचलता) र आवरण (अज्ञान) । आफ़्नोलागि कुनै पनि कर्म नगरे अर्थात् संसारको सेवाकोलागि मात्रै कर्म गरे साधकको अन्तःकरणमा रहेको मल र विक्षेप -- दुवै दोष मेटिन्छन् ।त्यसपछि त्यो साधक ज्ञानप्राप्ति द्वारा आवरण-दोष (अज्ञान) मेट्नकोलागि कर्महरु स्वरूपले नै छोडेर गुरुकहाँ जान्छ । त्यो वेला साधक कर्महरु र पदार्थहरुवाट माथि उठ्छ अर्थात् कर्म र पदार्थ उसको लक्ष रहँदैनन्, चिन्मय तत्व नै उसको लक्ष रहन्छ । यसैलाई सम्पूर्ण कर्महरु र पदार्थहरु तत्वज्ञानमा समाप्त हुने भनिएको हो ।

ज्ञानप्राप्तिको प्रचलित प्रक्रिया 

शास्त्रहरुमा ज्ञानप्राप्तिकोलागि आठ आन्तरिक साधन वताइएका छन् ।ती हुन्, (१) विवेक, (२) वैराग्य, (३) शमादि षट्सम्पत्ति (शम, दम, श्रद्धा, उपरति, तितिक्षा र समाधान), (४) मुमुक्षुता (५) श्रवण, (६) मनन, (७) निदिध्यासन, (८) तत्वपदार्थशोधन ।यिनीहरुमा पहिलो साधन विवेक हो । सत् र असत् लाई छुट्टा छुट्टै जान्नुलाई 'विवेक' भनिन्छ ।सत् र असत् लाई छुट्टा छुट्टै जानेर असत् को त्याग गर्नु अथवा संसारवाट विमुख हुनु 'वैराग्य' हो । शमादि षट्सम्पत्तिमा मनलाई विषयहरुवाट हटाउनु 'शम' हो । इन्द्रियहरूलाई विषयहरुवाट हटाउनु 'दम' हो । ईश्वर, शास्त्र आदिमा पूज्यभावपूर्वक प्रत्यक्ष भन्दा पनि धेरै विश्वास गर्नु 'श्रद्धा' हो । आफ्ना बुद्धिका वृत्तिहरु संसारवाट हट्नु 'उपरति' हो ।जाडो-गर्मी आदि द्वन्द्वहरु सहनु, तिनको उपेक्षा गर्नु 'तितिक्षा' हो ।अन्तःकरणमा शंकाहरु नहुनु 'समाधान' हो ।यसपछि अर्को साधन हो -- मुमुक्षुता । संसारदेखि छुट्ने इच्छा मुमुक्षुता हो ।

मुमुक्षुता जाग्रत भएपछि साधक पदार्थ र कर्महरु स्वरूपैले त्यागेर श्रोत्रिय र ब्रह्मनिष्ठ गुरुकहाँ जान्छ । गुरुसँग निवास गर्दै, केही समय विताउँदै शास्त्रहरू सुनेर शास्त्रहरूको आशयको निर्णय गर्नुलाई 'श्रवण' भनिन्छ । श्रवणवाट प्रमाणगत संशय हट्छ । परमात्मतत्वको युक्ति-प्रयुक्तिहरुवाट चिन्तन गर्नु 'मनन' हो । मननद्वारा प्रमेयगत शंका हट्छ । संसारको सत्ता मान्नु र परमात्माको सत्ता नमान्नुलाई 'विपरीत भावना' भनिन्छ ।विपरीत भावना हटाउनु 'निदिध्यासन' हो । सम्पूर्ण प्राकृत पदार्थसँग सम्बन्ध-विच्छेद होस् र केवल एक चिनमय-तत्व वांकी रहोस् -- यो 'तत्वपदार्थशोधन' हो । यसैलाई तत्व-साक्षात्कार भन्छन् । 

यी सबै साधनहरुको तात्पर्य हो -- असाधन अर्थात् असत् सँगको सम्बन्धको त्याग । त्याज्य (त्यागिने) वस्तु आफ़्नोलागि हुँदैन, तर त्यागको परिणाम (तत्वसाक्षात्कार) आफ्नोलागि हुन्छ । 

द्रव्यमय यज्ञमा क्रिया तथा पदार्थको मुख्यता भएकोले यो यज्ञ करणसापेक्ष हो ।ज्ञानयज्ञमा विवेक-विचारको मुख्यता भएकोले यो करणनिरपेक्ष हो । यसैले द्रव्यमय यज्ञ भन्दा ज्ञानयज्ञ श्रेष्ठ छ । ज्ञानयज्ञमा सम्पूर्ण क्रियाहरु र पदार्थहरुसँग सम्बन्ध-विच्छेद हुन्छ अर्थात् तत्वज्ञान भएपछि केही पनि गर्न, जान्न र पाउन शेष रहँदैन; किनकि एक परमात्मा सिवाय अरु सत्ता छँदै छैन ।