No. 71
पहिला श्लोकहरुको वाँकी अंश
वृक्ष,
लता आदिमा स्वाभाविक नै फूल-फल लाग्छन् । तिनीहरुलाई हामीले अझ मल, जल दिन
सक्यौं भने तिनीहरुमा फूल-फल विशेषरूपले फल्छन्, त्यस्तै यज्ञ, पूजा आदि
गर्दा देवताहरुलाई पुष्टि हुन्छ, जसवाट देवताहरुवाट हुने काम विशेष
न्यायप्रद हुन्छन् । यसको उल्टो, जव हामी आफ्नो कर्तव्य-कर्म द्वारा
देवताहरुको पूजा गर्दैनौं, त्यो वेला देवताहरुलाई तुष्टि-पुष्टि हुँदैन,
जसले गर्दा ती देवताहरुमा पनि आफ्नो कर्तव्य-पालनमा कमी आउन सक्छ ।
देवताहरुको कर्तव्य-पालनमा कमी आएको कारणले नै संसारमा अनावृष्टि,
अतिवृष्टि आदि हुन्छ ।
यो प्रकरणमा हामीले यो
बुझ्नु पर्छ, अरुले हाम्रो सेवा गरुन् या नगरुन्, तर हामीले आफ्नो कर्तव्य
द्वारा उनीहरुको सेवा गर्नुपर्छ । अरु के गर्छन्, के गर्दैनन्, हामीलाई सुख
दिन्छन् अथवा दुःख, यी कुराहरुमा हामीले कुनै पनि मतलव राख्नु हुँदैन ।
गीता भन्छ, अरुको कर्तव्य हेर्यो भने हामी आफ्नो कर्तव्यवाट अल्मलिंछौँ,
हाम्रो पतन हुन्छ । अरुवाट उसको कर्तव्यको पालन गराउनु, हाम्रो अधिकारको
कुरा पनि होइन । अरुको हितकोलागि हामीले केवल आफ्नो कर्तव्य-पालन गर्नु छ र
सबैलाई सुख पुर्याउनु छ । गीता अझ भन्छ, सेवा गर्न आफ्नो समझ, सामर्थ्य,
समय र सामग्रीलाई आफ्नोलागि अलिकति पनि वचाएर राख्नु हुन्न ।
हाम्रा सबै संसारिक
सम्बन्धीहरु -- जहान-परिवार, दाजु-भाउजु आदि सबै नाता-गोताको सेवा हामीले
गर्नुपर्छ । आफूले सुख लिनकोलागि हाम्रा नाता-गोता होइनन् । हाम्रा
नातागोतासंगको सम्बन्ध अनुसार उनीहरुको सेवा गर्नु, मर्यादा अनुसार
उनीहरुलाई सुख पुर्याउनु हाम्रो कर्तव्य हो । हामीले उनीहरुसँग कुनै आशा
राख्नु, उनीहरुमा आफ्नो अधिकार जमाउन खोज्नु हाम्रो भूल हो । हाम्रो जन्म
नै हाम्रा नाता-गोतासँग आफ्नो ऋण तिर्न भएको हो । सेवा त हामी सबैले गर्नु
पर्छ, तर जोसंग हाम्रो जिम्मेवारी छ, त्यसको सेवा अझ वढी तत्परतासँग गर्नु
पर्छ हामीले ।
यी शरीर, इन्द्रियहरु, मन,
बुद्धि, पदार्थ हाम्रा होइनन् र हाम्रालागि पनि होइनन् । त्यसैले,
आफ्नो-आफ्नो कर्तव्यको पालन गरे स्वतः एक अर्काको उन्नति हुन्छ ।
आफ्नो कर्तव्यको पालन गर्दै अर्काको अधिकारको रक्षा
गर्नुलाई कर्मयोग भन्छन् । अरुको अधिकारको रक्षा गर्नु नै हाम्रो कर्तव्य
हो । हामीले केवल हाम्रो कर्तव्यको विचार गर्ने हो, अरुको कर्तव्यको होइन ।
अरुको कर्तव्यको विचार गर्दा हामी कर्तव्यच्युत हुन्छौं, किनकि अरुको
कर्तव्य हेर्नु हाम्रो कर्तव्य होइन । अरुको हित गर्नु हाम्रो कर्तव्य हो र
अर्को व्यक्तिको अधिकार हो । अधिकार पनि कर्तव्यको नै अधीन हुन्छ,
अर्थात् कर्तव्य नगरी अधिकार पाइंदैन, तैपनि हामीले हाम्रो अधिकार हेर्ने
नै होइन, खालि आफ्नो कर्तव्य मात्रै हेर्ने हो । अरुको अधिकारको रक्षा गर्न
नै कर्तव्यको पालन गर्नु छ हामीले ।
अहिले चर्चा भैरहेको
प्रसंग हामीलाई विल्कुल नयाँ लाग्न सक्छ र यो पनि लाग्न सक्छ कि यो प्रसङ्ग
कुनै पनि अंशमा व्यावहारिक छैन । तर यो प्रसंग हामीले पहिले पढ्ने गरेको
विषय 'नागरिक शास्त्र' नभएर कर्मयोग हो । अर्को शब्दमा, अहिले हामीले
प्रयोग गरिरहेका सिद्धान्त नागरिक शास्त्र हुन् । अहिले हामीले चिन्तन
गरिरहेका चाहिं कर्मयोगका विषय हुन्, जुन हामीलाई विल्कुल अव्यावहारिक पनि
लागिरहेछन् । विल्कुल नयाँ concept सुन्ने वित्तिकै हाम्रो मनले तुरुन्तै
reject गरिदिन्छ । तर, अध्यात्म-शास्त्रमा चाख हुन थालेपछि हामी फेरि फेरि
त्यही concept को विचार मन नलागी नलागी पनि गर्न थाल्छौं, यो concept वारे
वारम्वार विचार गरिरहेपछि यही कुरा अलि अलि गरेर स्पष्ट हुँदै जान्छ ।
यसैलाई भन्छन् वेदान्तमा श्रवण । यही श्रवण एक चोटी गरेर हाम्रो समझमा आउने
होइन । यसै गरी गरी श्रवण गर्दै, विचार गर्दै रहनुपर्छ हामीले । यही
विचारलाई, चिन्तनलाई मनन भन्छन् शास्त्रमा । यसरी मनन गर्दा गर्दा
निदिध्यासन गर्ने साहस आउँछ हामीमा । त्यही साहसले नै अघि वढाउने हो
हामीलाई । हाम्रो जीवनमा साना साना काम सम्पन्न गर्न पनि उत्साहको आवश्यकता
छ भने विल्कुल नयाँ विषय यो अध्यात्म-शास्त्रमा पनि उत्साह चाहिन्छ
हामीलाई । 'उत्साह' सत्वगुणको लक्षण हो । अध्यात्म शास्त्र बुझ्न सतत
सत्वगुणमा रहनु पर्छ हामीले । सत्वगुणमा रहन हरदम सत्वगुणमा वाधा आउने
विषयहरु हटाउँदै जानुपर्छ । यही हाम्रो अध्यात्म साधना हो । हजुरहरुलाई अलि
नमीठो पनि लाग्न सक्छ, तर भन्नै पर्छ मैले, यो शास्त्र पार्ट टाइम काम
होइन हाम्रो । फेरि हजुरहरुलाई मलाई सोध्न मन लाग्ला, 'जुन वेला पनि यही नै
पढी रहे कसरी जीवन चल्छ हाम्रो'?
मेरो जवाफ पनि प्रश्नमा नै छ ? 'हे हजुरहरुलाई
हाम्रो संस्कृतिमा वर्ण र आश्रमको पनि व्यवस्था छ भन्ने थाहा छैन ?' म
अहिले ६७ वर्ष भएँ, मैले सोच्नु परेन, 'के मैले अहिले गरिरहेका क्रियाकलाप,
आय आर्जन, परिश्रमको फल मैले उपयोग गर्न सक्छु ?' हाम्रो नोकरीले हामीलाई
retirement दिइ सकेपछि पनि हामी अरु कुनै त्यस्तै आय आर्जनमा नै
लागिरहन्छौं । कहिले पुग्ने हामीलाई यो संसारको विषय र पदार्थ?' अहिले
मैले गरिरहेको भागदौड मेरोलागि हुँदै होइन। जव शास्त्रले पनि ५० वर्षको
उमेरपछि 'तिमीहरुले आत्म-चिन्तन गर' भन्छ, नोकरीले पनि त्यसै भनिरहेछ भने
हामीले यो घोडदौड केकोलागि गरिरहेछौं? त्यो पनि त सोच्नु पर्यो हामीले ।
हाम्रो जीवनको लक्ष 'शाश्वत' शान्ति हुनु पर्नेमा त्यो लक्षलाई विर्सेर
अहिले पनि यही संसारका व्यक्ति र वस्तुको आकर्षणले नै हाम्रो
अध्यात्म-शास्त्रमा वाधा दिइरहेछ हामीलाई । यस्तो हिसावले कसरी
सुख हुन्छ हामीलाई? हामीले आफ्नो सुखको, भविष्यको विचार नगरे कसले गर्छ? एक
छिन ठण्डा दिमागले सोचौं, 'के हामीले हाम्रा पूर्वजको विचार गरेका थियौं ?
के हाम्रा छोराछोरीले हाम्रो विचार गर्लान् ?' यस्तो कटु सत्य आफ्नो अगाडी
प्रत्यक्ष देख्दा देख्दै पनि हामीलाई कस्तो चेत नआएको ? अरुलाई ढाँटन
खोजे पनि के हामीले हामीलाई ढाँटन समर्थ हुन्छौं ? समस्या अगाडि छ,
आइसक्यो, के त्यो समस्याको वास्ता नगरेर त्यो समस्या समाधान हुन्छ ? आफ्नो
अगाडि आएको बाघलाई आँखा चिम्लेर भगाउन अथवा मार्न सकिन्छ ?