Wednesday, 23 July 2014

127. No. 94 श्लोक ३२ अहिले गीताको तेस्रो अध्यायको प्रसंग चलिरहेको छ ।

No. 94

अहिले गीताको तेस्रो अध्यायको प्रसंग चलिरहेको छ । हजुरहरुले यो लेख पढ्दा गीताको सानो पुस्तक (छोटो अर्थ भएको, संस्कृत शब्द पनि छुट्टयाइएको) लिए हजुरहरुलाई सजिलो हुनेछ ।
श्लोक ३२
परन्तु मेरो यो मतलाई दोष दृष्टिले हेर्दै यसको अनुष्ठान नगर्ने मनुष्यलाई सम्पूर्ण ज्ञानहरुमा मोहित भन्ने  जाने हुन्छ । ती मनुष्यहरुलाई तिमीले नष्ट भएकै सम्झे हुन्छ, किनकि तिनीहरुको पतन नै हुन्छ ।
जस्तो संसारका स्वार्थी व्यक्तिहरु चाहन्छन् , 'मलाई सबै पदार्थ मिलून,त्यस्तै भगवान पनि समस्त कर्महरु मलाइ नै अर्पण गरियोस्, मलाई नै स्वामी मानियोस्' भन्ने कसैले ठान्छ भने 'भगवान'लाई  दोष लगाउनु हो ।

'कामना नगरी संसारमा कसरी काम चल्छ ? ममताको सर्वथा त्याग हुनै सक्तैन, राग-द्वेष आदि विकारहरुदेखि रहित हुनु असम्भव छ' -- यस्तो मान्नु भगवानको मतमा दोषारोपण गर्नु हो ।
भोग र संग्रहको इच्छा भएका मनुष्यहरू शरीर आदि पदार्थहरुलाई आफ्नो र आफ़्नोलागि मान्छन् र समस्त कर्म आफ़्नोलागि नै गर्छन् । त्यस्ता व्यक्तिहरु भगवानको मत अनुसार व्यवहार गर्दैनन् ।   
भगवानको मत अनुसरण नगर्ने मनुष्यहरू सबै प्रकारका संसारिक ज्ञानहरु (विद्याहरु, कलाहरु) मा मोहित रहन्छन् । उनीहरु नयाँ नयाँ आविष्कारहरुमा, बिभिन्न शिल्पकलाहरुमा, यस्तै संसारी ज्ञान जान्नमा नै लागिरहन्छन् । 'जे हो, यही हो' भन्ने निश्चय उनीहरुको हुन्छ । यस्ता व्यक्तिहरुलाई सम्पूर्ण ज्ञानहरुमा मोहित भन्नुहुन्छ भगवान ।
भगवानको मतको अनुसरण नगर्ने मनुष्यहरुमा सत्-असत्, सार-असार,धर्म-अधर्म, बन्धन-मोक्ष आदि पारमार्थिक कुराहरुको पनि ज्ञान (विवेक) हुँदैन । उनीहरुमा चेतनता हुँदैन, उनीहरु पशु जस्तो बेहोश रहनछन् । उनीहरु व्यर्थ आशा, व्यर्थ कर्म र व्यर्थ ज्ञान भएका विक्षिप्त मूढ व्यक्ति हुन्छन् ।
मनुष्य शरीर पाएर पनि भगवानको मत अनुसार नचल्ने मनुष्यलाई नष्ट नै सम्झनु पर्छ । किनकि त्यस्ता व्यक्तिको पतन नै हुन्छ ।
मनुष्यजीवनमा अन्तकालसम्म मुक्तिको सम्भावना रहन्छ । अतः जो मनुष्य वर्तमानमा भगवानको मतको अनुसरण गर्दैनन्, ती पनि भविष्यमा सत्सँग, आदिको प्रभावले भगवानको मतको अनुसरण गर्न सक्छन् । तर त्यस्ता मनुष्यको भाव वर्तमानमा जस्तै भविष्यमा पनि वनिरहे त तिनीहरुलाई पनि नष्ट भएका नै मान्नुपर्छ ।
भगवानको मत नमान्ने मनुष्य समस्त कर्म राग द्वेषपूर्वक  नै गर्छ । राग र द्वेष -- दुवै मनुष्यका महान् शत्रु हुन् । नाशवान भएकाले पदार्थ र कर्म त सँधै रहँदैनन्, तर राग-द्वेषपूर्वक कर्म गर्दा मनुष्य तादात्म्य, ममता र कामनाले आवद्ध भएर वारंवार नीच योनिहरुमा र नरकहरुमा गैरहंछ ।
यदि साधकले भगवानको मत मानेर अनुष्ठान गर्छ भने भगवान उसमा  आफूलाई  नै समर्पित गरिदिनु हुन्छ ।    

श्लोक ३३
सम्पूर्ण प्राणीहरु प्रकृतिवाट उत्पन्न हुन्छन् । ज्ञानी महापुरुष पनि आफ्नो प्रकृति अनुसार नै चेष्टा गर्छन् । फेरि यसमा कसको हठले के गर्न सक्छ ?
संसारमा हुने जति सबै कर्महरु स्वभाव अथवा सिद्धान्तको आधारमा नै हुन्छन् । स्वभाव दुई प्रकारका हुन्छन् -- राग-द्वेषरहित र राग-द्वेषयुक्त । जस्तो, सडकमा हिंड्दा हामी कुनै सूचना पढ्छौं, त्यो वेला हामीमा न राग हुन्छ, न द्वेष हुन्छ । तर, कुनै मित्रको पत्र पढ्दा हामीलाई राग हुन्छ र कुनै शत्रुको पत्र पढदा हामीलाई द्वेष हुन्छ । कुनै सद्ग्रंथ पढ्दा हामी सिद्धान्तद्वारा पढ्छौं । मनुष्य-जन्म परमात्म प्रप्तिकोलागि हो, त्यसैले परमात्म प्राप्तिको उद्देश्यले कर्म गर्नु पनि सिद्धान्त अनुसार कर्म गर्नु हो ।
यसै गरी हेर्नु, सुन्नु, सुँघ्नु, स्पर्श गर्नु आदि क्रियाहरु स्वभाव र सिद्धान्त दुवैवाट हुन्छन् । राग-द्वेषरहित स्वभाव दोषी हुँदैन, वरु राग-द्वेषयुक्त स्वभाव दोषी हुन्छ । राग-द्वेषपूर्वक हुने क्रियाहरुले व्यक्तिलाई बाँध्छन्; किनकि राग-द्वेषले स्वभाव अशुद्ध पार्छन् र सिद्धान्तद्वारा हुने क्रियाहरुले उद्धार गर्छन्, किनभने सिद्धान्तले स्वभाव शुद्ध वनाउँछन् । स्वभाव अशुद्ध भएको कारणले नै संसारसंग मानिएको सम्बन्ध-विच्छेद हुँदैन । शुद्ध स्वभाव द्वारा संसारसँग मानिएको सम्बन्धको त्याग सजिलोसँग हुन्छ ।
   
ज्ञानी महापुरुषको आफ्नो भनिने शरीरद्वारा स्वतः क्रियाहरु हुन्छन्, किनकि यसमा कर्तृत्वाभिमान हुँदैन । परमात्मप्राप्ति चाहने साधकका क्रियाहरु सिद्धान्त अनुसार हुन्छन्। जस्तो लोभी व्यक्ति 'घाटा नलागोस्' भनेर सँधै सावधान रहन्छ, त्यस्तै साधक पनि कहिं कुनै क्रिया रागद्वेषपूर्वक होला कि भनेर सावधान रहन्छ । यस्तो सावधानी हुँदा साधकको स्वभाव छिट्टै शुद्ध हुन्छ र पछि गएर ऊ कर्म-बन्धनदेखि मुक्त हुन्छ ।

सम्पूर्ण क्रियाहरु प्रकृतिद्वारा नै हुन्छन्, तैपनि अज्ञानी पुरुष ती क्रियाहरुसँग आफ्नो सम्बन्ध मान्छ र आफूलाई ती क्रियाहरुको कर्ता मान्छ । पदार्थहरु र क्रियाहरुसँग आफ्नो सम्बन्ध मान्दा नै राग-द्वेष उत्पन्न हुन्छन्, यही राग-द्वेषवाट जन्म-मरण हुन्छ । परन्तु प्रक्रितिसंग सम्बन्ध नमान्ने साधक आफूलाई सँधै अकर्ता नै अनुभव गर्छ ।
स्वभावमा मुख्य दोष प्राकृत पदार्थहरुको राग नै हो । स्वभावमा राग रहुन्जेल अशुद्ध कर्म भइरहन्छन् ।  
राग मानिएको अहम् मा रहन्छ र मन, बुद्धि, इन्द्रियहरु र इन्द्रियहरुको विषयमा देखिन्छ ।
अहम् दुइ किसिमको हुन्छ ----

(१) चेतन द्वारा जडसँग मानिएको सम्बन्धले हुने तादात्म्यरूप 'अहम्'
(२)  जड प्रकृतिको धातुरूप 'अहम्'
जड प्रकृतिको धातुरूप 'अहम्' मा कुनै दोष छैन; किनकि यो 'अहम्' मन, बुद्धि, इन्द्रियहरु आदि जस्तो एउटा करण नै हो । यसैले सम्पूर्ण दोष मानिएको 'अहम्' मा छ । ज्ञानी महापुरुषमा तादात्म्यरूप 'अहम्'को सर्वथा अभाव हुन्छ; अतः उसको भनिने शरीरद्वारा हुने समस्त क्रियाहरु प्रकृतिको धातुरूप 'अहम्' वाट नै हुन्छ । वास्तवमा समस्त प्राणीहरुको सबै क्रियाहरु यही धातुरूप 'अहम्' द्वारा नै हुने हो, तर जड शरीरलाई 'म' र 'मेरो' मान्ने अज्ञानी पुरुष ती क्रियाहरुलाई आफ्नो तथा आफ़्नोलागि मान्छ र बाँधिन्छ । किनकि क्रियाहरुलाई आफ्नो र आफ़्नोलागि मान्दा नै राग हुने हो ।
ज्ञानी महापुरुषको अन्तःकरणमा राग-द्वेष नरहने हुँदा उसको प्रकृति निर्दोष हुन्छ । यसैले,
ज्ञानी महापुरुष प्रकृतिको वशीभूत हुँदैन, तैपनि ऊ आफ्नो प्रकृति अनुसार नै चेष्टा गर्छ ।
भगवान पनि आफ्नो प्रकृति (स्वभाव)लाई वशमा गरेर जुन योनिमा अवतार लिनुहुन्छ, त्यही योनिको चेष्टा अनुसार व्यवहार गर्नु हुन्छ । उहाँको अवतारी शरीरहरुमा पनि वर्ण, योनि अनुसार स्वभावको भिन्नता रहन्छ, तर परवशता रहँदैन । तर प्रकृतिसँग सम्बन्ध-विच्छेद नभएका मनुष्यको प्रकृतिमा भिन्नता र परवशता रहिरहन्छ ।
ज्ञानी महापुरुषको प्रकृति निर्दोष हुने भएकोले उ प्रकृतिको वशमा हुँदैन, वरु प्रकृति उसको वशमा हुन्छ । कर्मलाई फल दिने वनाउने नै कर्तृत्वाभिमान र स्वार्थ बुद्धिले हो । ज्ञानी महापुरुषमा कर्तृत्वाभिमान र स्वार्थ बुद्धि हुँदैन । ऊवाट चेष्टा मात्रै हुन्छ । बन्धन गराउने कर्मले हो, चेष्टा र क्रियाले होइन । उसको स्वभाव यति शुद्ध हुन्छ, ऊवाट हुने क्रियाहरु पनि महान् शुद्ध एवं साधकहरुकोलागि आदर्श हुन्छ ।
पहिलेको अथवा वर्तमान जन्मको संस्कार, माता-पिताको संस्कार, वर्तमानको संग, शिक्षा, वातावरण, अध्ययन, उपासना, चिन्तन, क्रिया, भाव अनुसार स्वभाव वन्छ । यो स्वभाव सबै मनुष्यमा भिन्न भिन्न हुन्छ र स्वभावलाई निर्दोष वनाउनमा सबै स्वतन्त्र छन् । व्यक्तिगत स्वभावको भिन्नता ज्ञानी पुरुषहरुमा पनि रहन्छ । चेतनमा भिन्नता हुँदैन र प्रकृति (स्वभाव)मा भिन्नता रहन्छ । प्रकृतिको स्वभाव नै विषम हो । जस्तो एकै जातिको भए पनि वृक्षहरुमा भेद रहन्छ, त्यस्तै प्रकृति (स्वभाव) शुद्ध हुँदा पनि ज्ञानी महापुरुषहरुमा प्रकृतिको भेद रहन्छ ।
ज्ञानी महापुरुषको स्वभाव शुद्ध (राग-द्वेषरहित) हुन्छ; अतः ऊ प्रकृतिको वशमा हुँदैन । तर अशुद्ध (राग-द्वेषयुक्त) स्वभाव भएका व्यक्तिहरु आफैंले वनाएको परवशताद्वारा वाध्य भएर कर्म गर्छन् ।
 जसको स्वभाव महान् शुद्ध एवं श्रेष्ठ छ, तिनका क्रियाहरु पनि आफ्नो आफ्नो प्रकृति अनुसार नै हुने गर्छ । त्यस्तै, जसको स्वभाव अशुद्ध छ, ती व्यक्तिहरुका क्रियाहरु पनि उनीहरुको प्रकृति अनुसार नै हुन्छ । यो विषयमा हठ गर्ने कुनै काम छैन । जसको जस्तो स्वभाव छ, उसले त्यही स्वभाव अनुसार नै कर्म गर्नु पर्छ । यदि स्वभाव अशुद्ध भए उसलाई अशुद्ध कर्महरुमा र शुद्ध भए शुद्ध कर्महरुमा लगाइन्छ ।
अर्जुनले हठपूर्वक युद्धरुप कर्तव्य-कर्म छोड्न चाहेका छन्, त्यसैले भगवान अर्जुनलाई भन्नुहुन्छ, 'तिम्रो स्वभाव तिमीलाई वलपूर्वक युद्धमा लगाउने छ; किनकि तिम्रो स्वभावमा क्षात्र कर्म गर्ने प्रवाह छ । यसैले स्वाभाविक कर्महरुवाट बाँधिएका तिमी परवश भएर युद्ध गर्नेछौ अर्थात् यसमा तिम्रो हठले काम गर्दैन ।
   
ज्ञानी महापुरुषद्वारा आफ्नो शुद्ध प्रकृति विपरीत कुनै पनि चेष्टा हुँदैन । अशुद्ध प्रकृति भएका व्यक्तिहरुको स्वभाव विग्रेको गाडीको जस्तो हुन्छ । विग्रेको गाडी सुधार्ने दुई उपाय छन् -- (१) गाडीलाई आफैं ठिक गर्ने र (२) गाडीलाई कारखानामा पुर्याउने । त्यस्तै, अशुद्ध प्रकृति सुधार्ने पनि दुई तरिका छन् -- (१) राग-द्वेषले रहित भएर कर्म गर्ने, (२) भगवानको शरणमा जाने । यदि गाडी राम्ररी चल्छ भने हामी गाडीको वशमा छैनौं र यदि गाडी विग्रिएको छ भने हामी गाडीको वशमा छौं ।
त्यस्तै ज्ञानी महापुरुष उसको प्रकृति शुद्ध भएकोले प्रकृतिको वशमा हुँदैन, र अज्ञानी पुरुष उसको प्रकृति अशुद्ध भएकोले प्रकृतिको वशमा हुन्छ ।
बुद्धिमा जडताको महत्व (सांसारिक भोग र संग्रह) भएको व्यक्ति कति नै विद्वान् किन नहोस्, उसको पतन अवश्य नै हुन्छ । तर जसको बुद्धिमा जडताको महत्व छैन र भगवतप्राप्तिको नै उद्देश्य छ, यस्तो मनुष्य विद्वान् नभए पनि उसको उत्थान भएर नै छोडछ । किनकि भोगको उद्देश्य  नभएर केवल परमात्मप्राप्तिको उद्देश्य भएको व्यक्तिको समस्त भाव, विचार, कर्म उसको उन्नतिमा सहायक हुन्छन् । अतः हामीमा सवभन्दा पहिले परमात्मप्राप्तिको उद्देश्य हुनु पर्छ, फेरि त्यो उद्देश्यको सिद्धिकोलागि राग-द्वेषदेखि रहित भएर कर्तव्य-कर्म गर्नुपर्छ । राग-द्वेषदेखि रहित हुने सजिलो उपाय हो -- पाइएका शरीर आदि पदार्थहरुलाई आफ्नो र आफ़्नोलागि नमान्दै अरुको सेवामा लगाइदिने र त्यसको वदलामा केही पनि नचाहने ।     
   
यदि हामीलाई प्रकृतिको वशमा नहुने इच्छा छ भने हामीले कुनै आदर्श आफ्नो मनमा राखेर कर्तव्य-कर्म गर्नुपर्छ । आदर्श दुई हुन सक्छन् -- (१) भगवानको मत (सिद्धान्त) र (२) श्रेष्ठ महापुरुषहरुको आचरण । आदर्श मनमा राखेर कर्म गर्ने मनुष्यको आचरण शुद्ध हुन्छ र नित्यप्राप्त परमात्मतत्वको अनुभव हुन्छ । यसको उल्टो, आदर्शलाई मनमा नराखेर कर्म गर्ने मनुष्य राग-द्वेषपूर्वक नै सबै कर्म गर्छ, जसवाट राग-द्वेष पुष्ट हुन्छ र त्यो व्यक्तिको पतन हुन्छ ।
हामी नदीको प्रवाहलाई रोक्न त सक्तैनौं, तर त्यसको प्रवाहलाई नहर वनाएर मोड्न सक्छौं,त्यस्तै हामी कर्मको प्रवाहलाई रोक्न सक्तैनौं, तर त्यसको प्रवाहलाई मोड्न सक्छौं । निःस्वार्थभावले केवल अरुको हितकोलागि कर्म गर्नु नै कर्महरुको प्रवाहलाई मोड्नु हो । आफ्नोलागि अलिकति पनि कर्म गरे कर्मको प्रवाह नमोडिने हुन्छ । तात्पर्य, केवल अरुको हितकोलागि कर्म गर्दा कर्महरुको प्रवाह संसार तर्फ हुन्छ, साधक कर्म बन्धनदेखि मुक्त हुन्छ ।
ज्ञानी महापुरुषले व्यवहार गर्दा पनि उसको स्वभावको अनुसार नै गर्छ । किनकि कारणहरु विना कोही पनि व्यवहार गर्न सक्तैन । जस्तो संस्कृतमा आचार्य गरेको व्यक्ति, सानो वालकलाई पढाउँदा, वालकको नै स्थितिमा आएर उसलाई 'वर्णमाला' सिकाउँछ, त्यस्तै ज्ञानी महापुरुष पनि साधारण पुरुषको स्थितिमा आएर नै उसलाई सम्झाउँछ, व्यवहार गर्छ ।
ज्ञानी महापुरुष वास्तवमा कर्म गर्दैन, तर उसवाट उसको प्रकृति अनुसार स्वतः क्रिया हुन्छ । कर्तृत्वभिमानले कर्म हुने हो, तर ज्ञानी महापुरुषमा कर्तृत्वभिमान नभएको कारण ऊद्वारा कुनै शुभ-अशुभ कर्म वन्दैन ।
ज्ञानी महापुरुष पनि अरुको हितमा लागिरहन्छन्; किनकि साधनावस्थामा नै उनीहरुको स्वभाव सम्पूर्ण प्राणीहरुको हितमा लागिरहेको हुन्छ । त्यसैले, केही पनि जान्न, पाउन र गर्न वांकी नरहँदा पनि उनीहरुमा सबैको हित गर्ने स्वभाव रहन्छ । तात्पर्य, अरुको हित गर्दा गर्दा जव उनीहरुको संसारसँग पूर्णतया सम्बन्ध-विच्छेद हुन्छ, त्यो वेला उनीहरुले  हित गर्नु पनि पर्दैन, पहिलेको प्रवाहको कारण उनीहरुद्वारा स्वतः अरुको हित हुन्छ ।  

126 No. 93 श्लोक ३१ दोष-दृष्टिले रहित भएर, श्रद्धापूर्वक मैले पूर्वश्लोकमा भनेको मतको सँधै अनुसरण गर्ने

No.  93
श्लोक ३१
दोष-दृष्टिले रहित भएर, श्रद्धापूर्वक मैले पूर्वश्लोकमा भनेको मतको सँधै अनुसरण गर्ने व्यक्तिहरु कर्महरुको बन्धनवाट मुक्त हुन्छन् ।

 कुनै पनि वर्ण, आश्रम, धर्म, सम्प्रदायको कुनै पनि मनुष्य कर्म बन्धनवाट मुक्त हुन चाहन्छ भने उसले यो सिद्धान्त मानेर यसको अनुसरण गर्नुपर्छ । शरीर, इन्द्रियहरु, मन,बुद्धि, पदार्थ कर्म केही हाम्रा आफ्ना होइनन् -- यो वास्तविकता जानेपछि सबै मनुष्य कर्म-बन्धनदेखि छुट्छन् ।

भगवान र उहाँको मतमा दृढ विश्वास र पूज्यभावले युक्त मनुष्यलाई यहाँ 'श्रद्धावन्तः' भनिएको छ ।
शरीर आदि जड पदार्थलाई आफ्नो र आफ़्नोलागि नमाने मनुष्य मुक्त हुन्छ -- यो वास्तविकतामा श्रद्धा भयो भने जडतासँग मानिएको सम्बन्ध त्याग गर्न सजिलो हुन्छ ।

श्रद्धावान् साधक नै सत्-शास्त्र, सत्-चर्चा र सत्संगको कुराहरु सुन्छ, र तिनीहरुलाई आचरणमा ल्याउँछ ।
मनुष्य-शरीर परमात्मा प्रप्तिकोलागि नै मिलेको हो ।अतः परमात्माको नै प्राप्त गर्ने एउटा मात्रै उत्कट अभिलाषा भएपछि साधकमा श्रद्धा, तत्परता, सम्यतेन्द्रियता स्वतः आउँछन् । त्यसैले साधकमा परमात्मा प्राप्त गर्ने इच्छा हुनुपर्छ ।


दोष-दृष्टि नगर्ने साधकलाई यहाँ 'अनसूयंत:' भनिएको छ ।  गुणहरुमा दोष देख्नुलाई 'असूया' भन्छन् । यसैले हामीले पनि गुणहरुमा दोष नदेख्नु पर्यो, यो ज्ञान बुझ्न ।
श्रद्धा भएको ठाउँमा  कुनै न कुनै अंशमा दोष दृष्टि हुन्छ । त्यसैले हामीले आफ्नो चिन्तनवाट दोष-दृष्टि हटाउनु नै गीताको अध्ययन र चिन्तनकोलागि राम्रो सोपान भयो ।

यो भन्दा पहिलो श्लोकको  वर्णनमा शंका गर्नु नै दोषदृष्टि गर्नु हो भन्छ गीता । साधकले भगवानमा र उहाँको मतमा कहिले पनि दोषदृष्टि गर्नुहुँदैन ।

विचार गर्दा, सबै भगवानको नै हो; परन्तु मनुष्य भूलले गर्दा भगवानका वस्तुहरुलाई आफ्नो मानेर बाँधिन्छ र ममता र कामनाको वशमा परेर दुःख पाइरहन्छ । यही कारण आफ्नोपनको त्याग गराएर मनुष्यको उद्धार गर्नकोलागि, त्यसो गर्दा मनुष्य सँधैकोलागि सुखी हुन्छ, भगवान सहज करुणाले सबै आफूलाई अर्पण गर्ने कुरा गर्नुहुन्छ । यसैले भगवानको यो वचनमा दोषदृष्टि गर्नु हुँदैन । यो त् भगवानको परम सौहार्द, कारूण्य, र वात्सल्य नै हो, भगवान (आफूमा कुनै कमी र आवश्यकता नहुँदा पनि केवल मनुष्यको कल्याणकोलागि उहाँ समस्त कर्महरूलाई आफूलाई अर्पण गर्ने सुझाव दिनुहुन्छ ।

भगवानको मतलाई नै सिद्धान्त भनिन्छ । सवोपरि सिद्धान्तलाई यहाँ 'मतम्' भनियो । यो मत अथवा सिद्धान्त तीनै कालमा एउटा सिद्धान्त नै हुन्छ अर्थात् यसमा कुनै परिवर्तन हुँदैन, कसैले श्रद्धा गरे पनि नगरे पनि ।


भगवान नित्य हुनुहुन्छ, त्यसैले उहाँका समस्त वस्तुहरु पनि नित्य छन्  । परमात्माको मत पनि नित्य छ । भगवानको मत सर्वोपरि सिद्धान्त भएकोले यो कहिले पनि हराउँदैन । यसैले यसको अनुष्ठान पनि नित्य हुनुपर्छ । यही कारण भगवान हामीलाई उहाँको मतमा नित्य-निरन्तर स्थित रहेर त्यही अनुसार आचरण गर्न सिकाउनु हुन्छ ।

प्रश्न: भगवानको मत के हो ? त्यो मतको सँधै आचरण कसरी गर्ने ?

उत्तर: यो संसारमा पाइएका कुनै पनि वस्तु आफ्ना होइनन् -- यही भगवानको मत हो । शरीर, इन्द्रियहरु, मन, बुद्धि प्राण, धन, सम्पत्ति, पदार्थ आदि सबै प्रकृतिका कार्य हुन् र संसार पनि प्रकृतिको कार्य हो । यसैले यी वस्तुहरुको एकता संसारसँग छ, तथा परमात्माको अंश भएकोले 'स्वयम्'को परमात्मासँग एकता छ । यही कारण, यी वस्तुहरु व्यक्तिगत (आफ्ना )होइनन्, खालि यिनीहरुको उपयोगको अधिकार व्यक्तिगत हो । अझ, सद्गुण, सदाचार, त्याग, वैराग्य, दया, क्षमा आदि पनि व्यक्तिगत होइनन्, भगवानका हुन् । यी दैवी सम्पत्ति अर्थात् भगवत्प्राप्तिको सम्पत्ति (पूँजी) भएकोले भगवानका नै हुन् ।        

जुन वस्तु आफ्नो होइन, त्यसलाई आफ्नो मान्नु र तिनीहरुको प्राप्तिकोलागि कर्म गर्नु नै बन्धन हो । शरीर आदि वस्तुहरु 'आफ्ना' त हुँदै होइनन्, 'आफ़्नोलागि' पनि होइनन् । यदि यिनीहरु आफ़्नोलागि भए यिनको प्राप्तिमा हामीलाई पूर्ण तृप्ति अथवा सन्तोष हुने थियो, पूर्णताको अनुभव हुने थियो । परन्तु संसारिक वस्तुहरु जति नै पाइए पनि पूर्णताको तथा तृप्तिको  अनुभव हामीलाई हुँदैन । तृप्ति अथवा पूर्णताको अनुभव त्यही (परमात्मा)पाउँदा हुन्छ, जुन वस्तु आफ्नो हो । आफ्नो वास्तविक वस्तु मिलेपछि स्वप्नमा पनि अरु केही पाउने इच्छा हुँदैन । पाइएको वस्तुलाई भूलले आफ्नो माने पनि वास्तवमा ती आफ्ना होइनन् ।

शरीर आदि पाइएका वस्तुहरु न हामीले आफूसँग ल्याएका थियौं, न आफूसँग लिएर जान सक्छौं तथा वर्तमानमा पनि हामी ती वस्तुहरुसंग प्रतिक्षण वियुक्त भैरहेका छौं । वर्तमानमा जुन वस्तुहरु आफ्ना प्रतीत भइरहेका छन्, ती वस्तु पनि  अर्थात् अरुको हितमा लगाउनकोलागि हुन् । त्यसैले प्राप्त वस्तुहरुको सदुपयोग गर्ने नै अधिकार छ, आफ्नो मान्ने अधिकार छैन हाम्रो । प्राप्त वस्तुको सदुपयोग नगरेर आफ्नो मान्नु नै ठूलो भूल हो । यही भूल मेटाउनकोलागि हामीले अध्यात्म चित्तद्वारा विचार गरेर ती वस्तुहरु भगवानलाई अर्पण गरिदिनु पर्छ अर्थात् भूलले मानिएको आफ्नोपन हटाउनु पर्छ ।

एक मात्र उद्देश्य परमात्मतत्व भएको साधकले विचार गर्दा उसलाई सजिलैसँग थाहा हुन्छ, पाइएको कुनै पनि वस्तु आफ्नो होइन, छुट्ने खालको हुन्छ । शरीर, पद, अधिकार, शिक्षा, योग्यता, धन, सम्पत्ति, जमीन जे पनि पाइएका छन्, ती हराउने खालका छन् । शरीर, पद, अधिकार, शिक्षा, योग्यता, धन, सम्पत्ति, जमीन पाइएका चीज जति संसारवाट नै मिलेका हुन्, संसारकालागि नै हुन् । पाइएका वस्तु चाहे संसार (कार्य)को मानौं, चाहे प्रकृति (कारण)को मानौं र चाहे भगवानको मानौं, मुख्य कुरो हो, यी आफ्ना होइनन् ।आफ्ना नै नभएका वस्तु आफ़्नोलागि कसरी हुन सक्छन् ?

यही सन्दर्भमा गीताले शिक्षा दिन्छ, हामीले न त कुनै वस्तुलाई आफ्नो मान्ने हो, न कुनै कर्म नै आफ्नोलागि गर्ने हो । आफ्नोलागि गरिने कर्मले  नै वाँधछन् हामीलाई अर्थात् यज्ञको अतिरिक्त अरु (आफ़्नोलागि गरिएका) कर्म नै हामीलाई वांधने हुन्छन् । यज्ञकोलागि कर्म गर्ने साधकको सम्पूर्ण कर्म, संचित कर्म पनि, विलीन हुन्छन् । भगवान सम्पूर्ण लोकहरुको महान् ईश्वर (स्वामी) हुनुहुन्छ । जव हामी आफूलाई वस्तुहरुको स्वामी मान्छौं, त्यो वेला हामी वास्तविक स्वामीलाई विर्संछौँ; किनकि हामी आफूलाई जुन वस्तुहरुको स्वामी मान्छौं, तिनै वस्तुको चिन्तन गर्छौं । यही कारण भगवानलाई नै विश्वको एक मात्र स्वामी मान्दै हामीले संसारमा सेवक जस्तो गरी व्यवहार गर्नुपर्छ । सेवक आफ्नो स्वामीको सबै काम गर्दा पनि आफूलाई स्वामी मान्दैन । त्यसैले हामीले शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थलाई आफ्नो नमानेर केवल भगवानको नै मानेर आफ्नो कर्तव्यको पालन गर्नुपर्छ, कर्म गर्ने निमित्त मात्र आफू वन्नुपर्छ । आफूमा स्वामीपनको अभिमान कहिले पनि गर्नु हुन्न ।

सर्वस्व भगवानमा अर्पण गरेपछि आफूमा लाभ, हानि, मन-अपमान, सुख-दुःख, आदि जेसुकै आए पनि तिनलाई पनि हामीले भगवानको नै मान्नुपर्छ र तिनीहरु प्रति आफ्नो कुनै वास्ता राख्नुहुन्न । कर्तव्य खालि आफ्नो अगाडि देखा परेको परिस्थिति अनुरुप हुने हो । परिस्थिति अनुरुप प्रसन्नतापूर्वक आफ्नो कर्तव्य पालन गरिरहनु पर्छ । भगवानको मतको अनुसरण गर्ने भनेको यही हो ।
भगवान यहाँ अर्जुनलाई स्पष्टरूपले भनिरहनु भएको छ, 'म तिमीलाई तिम्रो सर्वस्व मलाई अर्पण गरेर कर्तव्य कर्म गर्ने आज्ञा दिइरहेछु । मेरो आज्ञा पालन गरे तिमी मुक्त हुने कुरामा कुनै सन्देह छैन । तर मेरो आज्ञा नपाएकाहरुले पनि यदि यो मत (पाइएको चीजलाई आफ्नो नमानेर कर्तव्य पालन गर्नु) अनुसार व्यवहार गरे उनीहरु पनि मुक्त हुनेछन् । किनकि यो मत नै यस्तो छ, मलाई माने पनि, नमाने पनि यो मतको पालन मात्रै गरे मनुष्य मुक्त हुन्छन् ।
भगवानको यो मत नै सर्वोपरि सिद्धान्त हो, जुन अन्तर्गत सबै मत-मतान्तर आउँछन् । परन्तु भगवान रतिभर पनि आभिमान नगरेर वडो नम्रताले, सरलताले आफ्नो सिद्धान्तलाई 'मत' भन्ने नाम दिनुहुन्छ । भगवानले आफ्नो अथवा अरु कसैको मतको आग्रह राख्नु भएको छैन, निष्पक्ष भएर आफ्नो कुरो सबैको अगाडि राख्नुभएको छ । 

मत सर्वोपरि हुँदैन, व्यक्तिगत हुन्छ । हरेक व्यक्ति आफ्नो आफ्नो मत प्रकट गर्न सक्छ, तर सिद्धान्त सर्वोपरि हुन्छ, जुन सबैले मान्नुपर्छ । यही कारण गुरु-शिष्यमा पनि मतभेद हुन सक्छ, तर सिद्धान्तभेद हुन सक्तैन । ऋषि-मुनि, दार्शनिक आफ्नो आफ्नो मतलाई पनि सिद्धान्त भन्छन्, तर गीतामा भगवान आफ्नो सिद्धान्तलाई पनि मत भन्नुहुन्छ । ऋषि-मुनि, दार्शनिक, आचार्यहरुको मतमा त मतभेद रहन्छ, तर भगवानको मत अर्थात् सिद्धान्तमा कुनै पनि मतभेद रहँदैन ।