Friday 23 January 2015

No 142 श्लोक १० त्यो भक्तियुक्त मनुष्य अन्त समयमा अचल मनले योगबल द्वारा भृकुटीको वीचमा श्लोक ११ वेद्वेत्ताहरुले भन्ने 'अक्षर'लाई वीतराग यति प्राप्त गर्छन् र साधक यसको प्राप्तिको इच्छा गर्दै ब्

श्लोक १०

त्यो भक्तियुक्त मनुष्य अन्त समयमा अचल मनले योगबल द्वारा भृकुटीको वीचमा प्राणहरुलाई राम्रोसँग प्रविष्ट गरेर (शरीर छोडेपछि) त्यो परम दिव्य पुरुषलाई नै प्राप्त गर्छ । 

'प्रयाणकाले मनसाचलेन ……. स तं परं पुरुषमुपैति दिव्यम्' -- यहाँ भक्ति नाम प्रियताको हो; किनकि त्यो तत्वमा प्रियता (आकर्षण) हुँदा नै मन अचल हुन्छ । त्यो भक्ति अर्थात् प्रियता स्वयंसँग हुन्छ, मन-बुद्धिसँग होइन । 

अन्तकालमा कवि, पुराण, अनुशासिता आदि विशेषणहरुले भनिएको सगुण-निराकार परमात्मामा भक्तियुक्त मनुष्यको मन स्थिर हुनु अर्थात् सगुण-निराकार-स्वरूपमा आदरपूर्वक दृढ हुनु नै मन अचल हुनु हो ।

पहिले प्राणायामद्वारा पाइएको प्राणहरुलाई रोक्ने अधिकारको नाम 'योगबल' हो । त्यो योगबल द्वारा दुवै भृकुटीको वीचमा रहेको द्विदल चक्रमा रहेको सुषुम्णा नाडीमा प्राणहरु राम्रोसँग अडाएर ऊ (शरीर छोडेर दसौं द्वार) दिव्य परम पुरुष पाउँछ । 

'तं परं पुरुषमुपैति दिव्यम्' -- पदहरुको तात्पर्य हो, पूर्वश्लोकमा वर्णित दिव्य परम सगुण-निराकार परमात्मा प्राप्त हुन्छ उसलाई ।

यो प्रकरणमा सगुण-निराकार परमात्माको उपासनाको वर्णन छ । यो उपासनामा अभ्यासको आवश्यकता छ । प्राणायामपूर्वक मनलाई त्यो परमात्मामा लगाउनुलाई अभ्यास भन्छन् । यो अभ्यास अणिमा,महिमा आदि सिद्धि प्राप्त गर्ने नभएर केवल परमात्मा पाउन हो । यस्तो अभ्यास गरी गरी यस्तो अधिकार पाउनु कि जहिले चाह्यो प्राणहरुलाई रोक्न सकियोस् र मनलाई जुन वेला चाह्यो त्यही वेला जहाँ चाहियो त्यहीं लग्न सकियोस् । यस्तो अधिकार पाएको मनुष्यले अन्तकालमा प्राणहरुलाई सुषुम्णा नाडीमा प्रविष्ट गराउन सक्छ ।                             

साधकले पहिले यो निश्चय गर्ने, अज्ञानदेखि अत्यन्त पर (श्रेष्ठ), सब भन्दा अतीत परमात्म-तत्व सबैको प्रकाशक, सबैको आधार र सबैलाई सत्ता-स्फूर्ति दिने निर्विकार तत्व हो । त्यो तत्वमा नै साधकको प्रियता हुनुपर्छ, त्यो तत्वमा नै उसको मनको आकर्षण हुनुपर्छ । त्यसो भए उसको मन त्यतातिर स्वाभाविक नै लाग्नेछ । 

'भक्त्या युक्त'को तात्पर्य, संसारको आसक्ति मेटिएपछि त्यो साधकलाई परमात्मासँग मात्रै आकर्षण रहन्छ, ऊ भक्त हुन्छ । संसारी मनुष्य त अपरामा आकृष्ट हुने भएकोले 'विभक्त' अर्थात् भगवानदेखि छुट्टै हुन्छन्, तर भगवानमा लागेको साधक विभक्त रहँदैन, 'भक्त' अर्थात् भगवानसँग यौटै (अभिन्न) हुन्छ ।

'योग बलेन' भन्नुको तात्पर्य, पहिले गरिएको योगाभ्यासको कारण अन्त समयमा हुने अशक्त अवस्था उसलाई वाधा पुर्याउन सक्तैन, उसमा कुनै विकार पैदा गर्न सक्तैन। प्राणायाम आदिको बल 'योगबल' हो । 

श्लोक ११ 

वेद्वेत्ताहरुले भन्ने 'अक्षर'लाई वीतराग यति प्राप्त गर्छन् र साधक यसको प्राप्तिको इच्छा गर्दै ब्रह्मचर्यको पालन गर्छन् । यस्तो पद म तिम्रोलागि संक्षेपले भन्नेछु । 

'यदक्षरं ब्रह्मविदो वदन्ति' वेदहरु जान्ने पुरुष यसलाई अक्षर-निर्गुण-निराकार भन्छन्, यसको नाश कहिले पनि छैन र यो सदा-सर्वदा एकरूप, एकरस रहन्छ । यो तत्वलाई केही अघिको श्लोकमा 'अक्षरं ब्रह्म परमम्' भनिएको छ, त्यही निर्गुण-निराकार तत्वको यहाँ 'अक्षर' नामले वर्णन भएको छ । 

'विशन्ति यद्यतयो वीतरागा:' -- अन्त:करणमा रागको अत्यन्त अभाव भएको, अन्तःकरण महान् निर्मल भएको र हृदयमा अद्वितीय परम तत्व पाउने उत्कट लगन लागेको प्रयत्नशील यति महापुरुष त्यो तत्वमा प्रवेश गर्छन्, त्यो तत्व प्राप्त गर्छन् । 
                                          
'यदिच्छन्तो ब्रह्मचर्यम् चरन्ति' -- त्यस्ता यतिहरु खालि परमात्मतत्व मात्रै उद्देश्य भएका हुन्छन्, उनीहरु परमात्मप्राप्ति भन्दा अरु कुनै उद्देश्य नभएका हुन्छन् र परमात्मप्राप्तिको इच्छा राखेर ब्रह्मचर्यको पालन गर्छन् र सम्पूर्ण इन्द्रियहरुलाई संयम गर्छन अर्थात् कुनै पनि विषय उनीहरु भोगबुद्धिले सेवन गर्दैनन् ।   

'तत्ते पदं संग्रहेण प्रवक्ष्ये' -- सबै साधनहरुको आखिरी फल त्यो पद अर्थात् त्यो तत्व म तिमीलाई संक्षेपले भन्नेछु र राम्रोसँग भन्नेछु। संक्षेपले भन्नेको अर्थ हो, शास्त्रहरुमा सर्वपपरि विलक्षण भनेर वताइएको तत्व हरेक व्यक्ति पाउन सक्तैन -- यस्तो महिमा गाइएको पद (तत्व) कसरी प्राप्त हुन्छ भन्ने कुरो म तिमीलाई भन्नेछु । राम्रोसँग भन्ने भनेको -- ब्रह्मको उपासना गर्नेलाई ब्रह्म जसरी प्राप्त हुन्छ, त्यो किसिम म राम्रोसँग भन्नेछु ।

यो श्लोकमा गौणताले चारै आश्रमहरुको वर्णन लिन सकिन्छ । 'यदक्षरं वेद्विदो वदन्ति' पदहरुले गृहस्थाश्रमको संकेत गर्छन्; किनकि वेदहरुको अध्ययन गर्नु ब्राह्मणको खास काम हो । 'विशन्ति यद्यतयो वीतरागाः' पदहरुमा संन्यास र वानप्रस्थको संकेत छ । 'यदिच्छन्तो ब्रह्मचर्यं चरन्ति' पदहरुमा ब्रह्मचर्याश्रमको संकेत छ । 

मुक्ति सबै वर्णहरु, आश्रमहरुवाट हुन सक्छ " यसैले भगवानले आश्रमहरुको विस्तारले वर्णन गर्नु भएन र वर्णहरूको वर्णन पनि कर्तव्यपालनको दृष्टिले गर्नुभएको हो । अर्जुन क्षत्रिय थिए र उनी युद्धरुप कर्तव्य-कर्म छोड्न चाहन्थे ।यसैले भगवानले अर्जुनलाई आफ्नो कर्तव्य-कर्ममा लगाउन वर्णधर्मको वर्णन गर्नुभएको हो । युद्ध गर्नु वर्णधर्म हो ।आश्रम धर्म होइन ।          

No. 241 श्लोक ८ हे पृथानन्दन ! अभ्यासयोगले युक्त र अरु कुनै कुराको पनि चिन्तन श्लोक ९ सर्वज्ञ, अनादि, सवैमा शासन गर्ने, सूक्ष्म भन्दा पनि अत्यन्त सूक्ष्म

No. 241

श्लोक ८ 

हे पृथानन्दन ! अभ्यासयोगले युक्त र अरु कुनै कुराको पनि चिन्तन नगर्ने चित्तले परम दिव्य पुरुषको चिन्तन गर्दै शरीर छोड्ने मनुष्य त्यसैलाई (परम पुरुष) प्राप्त गर्छ । 

'अभ्यासयोगयुक्तेन' -- यो पदमा 'अभ्यास' र 'योग' दुई पद आएका छन् । संसारवाट मन हटाएर परमात्मामा वारम्वार लगाउने नाम अभ्यास र समताको नाम 'योग' हो -- 'समत्वं योग उच्यते' । अभ्यासमा मन लाग्यो भने प्रसन्नता हुन्छ र मन लागेन भने खिन्नता हुन्छ । यो अभ्यास त हो, तर अभ्यासयोग होइन । प्रसन्नता र खिन्नता दुवै नभए मात्रै प्रसन्नता हुन्छ । तर चित्तमा प्रसन्नता र खिन्नता भइ हाले पनि तिनलाई महत्व नदिएर केवल आफ्नो लक्षलाई मात्रै महत्व दिने हामीले । आफ्नो लक्षमा दृढ रहनु नै योग हो । हाम्रो चित्त यस्तो योगले युक्त हुनुपर्छ । 

'चेतसा नान्यगामिना' -- चित्त अरुतिर जाने हुनुहुन्न अर्थात् परमात्मा सिवाय अरु कुनै लक्ष हुनुहुन्न हाम्रो । 

'परमं पुरुषम् दिव्यं याति पार्थानुचिन्तयन्' -- यस्तो चित्तले परम दिव्य पुरुषको अर्थात् सगुण-निराकार परमात्माको चिन्तन गर्दै शरीर छोड्ने मनुष्य परमात्मा नै पाउँछ अर्थात् ऊ परमात्मा नै हुन्छ । 

अर्जुनले 'प्रयाणकाले च कथं ज्ञेयोसि नियतात्मभि:' भनेर प्रश्न गरेका थिए । त्यो प्रश्नको उत्तर दिएर अव यो श्लोकसँगै अरु केही श्लोकहरुमा अन्तकालमा भगवानको स्मरण गर्ने मनुष्यहरुको प्रकारको वर्णन गर्नुहुन्छ भगवान ।

श्लोक ९ 

सर्वज्ञ, अनादि, सवैमा शासन गर्ने, सूक्ष्म भन्दा पनि अत्यन्त सूक्ष्म, सबैको धारण-पोषण गर्ने, अज्ञानदेखि अत्यन्त पर (श्रेष्ठ) सूर्य जस्तो प्रकाश स्वरूप अर्थात् ज्ञान स्वरूप -- यस्तो अचिन्त्य स्वरूपको चिन्तन गर्ने,

'कविम्' -- सम्पूर्ण प्राणीहरु र तिनका शुभ-अशुभ कर्महरु जान्ने भएकोले त्यो परमात्माको नाम 'कवि' अर्थात् सर्वज्ञ हो ।

'पुराणम्' -- त्यो परमात्मा सबैको 'आदि' (शुरु) भएकोले 'पुराण' भनिनु हुन्छ । 

'अनुशासितारम्' -- हामीले हेर्दा खालि आफ्ना आँखाले मात्रै हेर्छौं । हाम्रो आँखालाई शासन गर्ने मन छ, मन भन्दा माथि बुद्धि शासन गर्छ, बुद्धि भन्दा पनि माथि 'अहम्' र अझ सबैको  आश्रय, प्रकाशक र प्रेरक परमात्मा 'अनुशासिता' हो ।

अर्को भाव हो, जीवहरुको कर्म गर्ने स्वभाव अनुसार नै परमात्मा (वेद, शास्त्र, गुरु, सन्त आदि द्वारा) कर्तव्य-कर्म गर्ने आज्ञा दिनुहुन्छ र पाप-पुण्यरुप पुराना कर्महरुको (फल दिएर) नाश गर्ने भएकोले परमात्मा 'अनुशासिता' हुनुहुन्छ । 

'अणोरणीयांसम्' -- परमात्मा परमाणु भन्दा पनि अत्यन्त सूक्ष्म हुनुहुन्छ । तात्पर्य हो, परमात्मा मन बुद्धिको विषय हुनुहुन्न, मन-बुद्धि आदि परमात्मालाई पक्डन सक्तैनन् ।मन-बुद्धि प्रकृतिको कार्य भएकोले प्रकृतिलाई पनि पक्डन सक्तैनन् भने परमात्मा त त्यो प्रकृति भन्दा पनि अत्यन्त पर (श्रेष्ठ) हुनुहुन्छ । अतः त्यस्तो परमात्मा सूक्ष्म भन्दा पनि अत्यन्त सूक्ष्म हुनुहुन्छ अर्थात् सूक्ष्मताको पनि अन्तिम सीमा हुनुहुन्छ । 

'सर्वस्य धातारम्' -- परमात्मा अनन्तकोटि ब्रह्माण्डहरु धारण गर्नुहुन्छ, तिनलाई पोषण गर्नुहुन्छ । ती सबैलाई परमात्मावाट नै सत्ता-स्फूर्ति मिल्छ । अतः परमात्मा सबैको धारण-पोषण गर्ने भनिनुहुन्छ । 

'तमसः परस्तात्' -- परमात्मा अज्ञानदेखि अत्यन्त पर (श्रेष्ठ) हुनुहुन्छ, अज्ञानदेखि पूर्णतया रहित हुनुहुन्छ । उहाँमा लेशमात्र पनि अज्ञान छैन, अझ उहाँ अज्ञानको पनि प्रकाशक हुनुहुन्छ । 

'आदित्यवर्णम्' -- त्यो परमात्माको वर्ण सूर्यको जस्तो छ अर्थात् उहाँ सूर्य जस्तो सबैलाई, मन-बुद्धि आदिलाई पनि प्रकाशित गर्नुहुन्छ । त्यो परमात्मावाट नै सबैलाई प्रकाश मिल्छ ।

'अचिन्त्यरुपम्' -- त्यो परमात्माको स्वरूप अचिन्त्य छ अर्थात् उहाँ मन-बुद्धि आदिको चिन्तनको विषय हुनुहुन्न । 

'अनुस्मरेत्' -- सर्वज्ञ, अनादि, सबैको शासक, परमाणु भन्दा पनि अत्यन्त सूक्ष्म, सबैको धारण-पोषण गर्ने, अज्ञानदेखि अत्यन्त पर (श्रेष्ठ) र सबैलाई प्रकाशित गर्ने, अज्ञानदेखि पनि अत्यन्त पर (श्रेष्ठ) र सबैलाई प्रकाशित गर्ने सगुण-निराकार परमात्माको चिन्तनकोलागि यहाँ 'अनुस्मरेत्' भन्ने पद आएको हो ।

यहाँ 'अनुस्मरेत्' भन्नुको तात्पर्य हो, सम्पूर्ण प्राणी त्यही परमात्माको जानकारीमा हुनुहुन्छ; उहाँको जानकारी वाहिर केही पनि छँदै छैन अर्थात् त्यो परमात्मालाई सबैको सम्झना छ। त्यस्तो स्मरण परमात्मामा भएकोले मनुष्यले परमात्माको सँधै स्मरण गर्नुपर्छ ।

यहाँ शंका हुन सक्छ, अचिन्त्यको कसरी स्मरण गर्ने ? यसको समाधान हो, 'त्यो परमात्मतत्व चिन्तनमा आउँदैन' -- भन्ने दृढ धारणा नै अचिन्त्य परमात्माको चिन्तन हो ।                                                                                              
परमात्मालाई 'कविम्' भन्नुको तात्पर्य हो, उहाँको ज्ञान  वाहिर केही पनि छैन । 'पुराणम्' भन्नुको तात्पर्य हो, उहाँ अनादि हुनुहुन्छ, काल भन्दा पनि अतीत अर्थात् कालको पनि प्रकाशक हुनुहुन्छ । 'अनुशासितारम्' भन्नुको तात्पर्य हो, सबै स्वाभाविक नै त्यो परमात्माको शासनमा छन् । परमात्मा जीव र जगत् -- दुबैको शासक हुनुहुन्छ । 

उपनिषदमा पनि आउँछ, 'प्रकृति त विनाशशील छ र यो प्रकृति भोग्ने जीवात्मा अमृतस्वरूप अविनाशी छ । ती दुवै (विनाशी र अविनाशी)लाई यौटै ईश्वर आफ्नो शासनमा राख्छ ।'

'धातारम्' भन्नुको तात्पर्य, परमात्मा सबैको पालन-पोषण गर्नुहुन्छ । 'आदित्यवर्णम्' भन्नुको तात्पर्य, सूर्यमा स्वतः स्वाभाविक नित्य प्रकाश रहन्छ, त्यस्तै परमात्मामा स्वतः स्वाभाविक नित्य ज्ञान, बोध रहन्छ । परमात्मा ज्ञानस्वरूप हुनुहुन्छ र सबैको प्रकाशक हुनुहुन्छ । 'तमसः परस्तात्' भन्नुको तात्पर्य हो, परमात्मा अज्ञानदेखि अर्थात् अपरादेखि अत्यन्त पर (श्रेष्ठ) हुनुहुन्छ -- 'यस्मात्क्षरमतीतोहम्' ।       

No. 240 पहिलो श्लोकको नै वांकी अंश

No. 240

पहिलो श्लोकको नै वांकी अंश 

स्मरण तीन किसिमले हुन्छ -- बोधजन्य, सम्बन्ध-जन्य र क्रियाजन्य । बोधजन्य स्मरणको कहिले अभाव हुँदैन । सम्बन्ध नछोडुन्जेल सम्वन्धजन्य स्मरण वनिरहन्छ । क्रियाजन्य स्मरण निरन्तर रहँदैन । यी तीनै प्रकारका स्मरणको विस्तार यसरी छ -- 

(१) बोधजन्य स्मरण -- आफ्नो हुनुपनालाई स्मरण गर्नु पर्दैन । तर शरीरसँग सम्बन्ध मानिएको एकता नै भूल हो । बोध भएपछि यो भूल मेटिन्छ, त्यसपछि आफ्नो हुनुपना स्वतः सिद्ध रहन्छ । गीतामा भगवानको वचन छ -- 'तिमी, म र यी राजाहरु पहिले थिएनन् भन्ने कुरा होइन र भविष्यमा रहँदैनन् भन्ने पनि होइन अर्थात् निश्चय नै पहिले थिए र निश्चित नै पछि पनि रहन्छन् । 'पहिले  सर्ग-महासर्गमा र प्रलय-महाप्रलयमा भएको प्राणी-समुदाय उत्पन्न भई भई नष्ट हुन्छ' ।  यसरी यही 'प्राणी समुदाय' परमात्माको अंश हो र 'उत्पन्न भई भई नष्ट हुने' शरीर हो । नष्ट हुने भागलाई विवेकपूर्वक सर्वथा त्याग गरियो भने आफ्नो हुनुपनाको स्पष्ट बोध हुन्छ । यो बोधजन्य स्मरण नित्य-निरन्तर वनिरहन्छ, कहिले नष्ट हुँदैन; किनकि त्यो स्मरण आफ्नो नित्य-स्वरूपको हो ।                   

(२) सम्बन्ध-जन्य स्मरण -- हामीले स्वयं मानेको स्मरणलाई सम्बन्ध-जन्य स्मरण भनिन्छ, जस्तो, 'शरीर मेरो हो, संसार मेरो हो'। यस्तो मानिएको सम्बन्ध नमेटिउन्जेल हामी 'यो मेरो शरीर हो' भन्ने मान्छौं । परन्तु वास्तवमा भगवान हाम्रो हुनुहुन्छ । हामीले जाने पनि उहाँ हाम्रो हुनुहुन्छ, नजाने पनि हाम्रो हुनुहुन्छ । हामी सबै उहाँकै अंश हौँ र उहाँ अंशी हुनुहुन्छ । हामी उहाँसँग छुट्टिन सक्तैनौं । हामीले आफ्नो शरीरसँग सम्बन्ध मानुन्जेल भगवानको यो वास्तविक सम्बन्ध स्पष्ट हुँदैन ।हामीले शरीर र संसारको सम्बन्धलाई पूरापूर अस्वीकार गरेपछि मात्रै हाम्रो भगवानसँगको सम्बन्ध स्वतः जाग्रत हुन्छ । त्यसपछि भगवानको स्मरण नित्य-निरन्तर वनिरहन्छ । 

(३) क्रियाजन्य स्मरण -- क्रियाजन्य स्मरण अभ्यासजन्य हुन्छ । जस्तो महिलाहरु आफ्नो शिरमा (टाउकोमा) जलको घडा राखेर हिंडदै आफ्ना दुवै हातहरु खुला राखी राखी (घडा नसमाती) अरु महिलाहरुसँग कुरा पनि गर्छन्, तर उनीहरुको ध्यान आफ्नो टाउकोमा रहेको जलको घडाप्रति सावधान रहिरहन्छ । (नट) जादुगर डोरीमा हिंडी हिंडी गाउँछ पनि, वोल्छ पनि, तर डोरीको ध्यान उसलाई हर हमेशा रहिरहन्छ । ड्राइभर मोटर कार चलाउँछ, हातले गियर पनि चलाउँछ, हैन्डल पनि घुमाउँछ र आफ्नो मालिकसँग कुरा पनि गर्छ । यसो गर्दा गर्दै उसको सडकको ध्यान पनि निरन्तर रहन्छ । त्यस्तै सम्पूर्ण क्रियाहरुमा भगवानको निरन्तर स्मरण राख्नु अभ्यासजन्य स्मरण हो । अभ्यास-जन्य स्मरण तीन किसिमका छन् । 

(क) संसारका काम गर्दा भगवानको स्मरण गर्ने -- यसमा सांसारिक कार्यको मुख्यता र भगवानको स्मरणको गौणता रहन्छ । अतः यसमा यो भाव रहन्छ, संसारको काम नविग्रोस्, राम्रो किसिमले भइरहोस् र साथ-साथै भगवानको स्मरण पनि भइरहोस् ।         

(ख) भगवानको कार्य गरी गरी संसारको कार्य गर्ने -- यसमा भगवानको स्मरणको मुख्यता र सांसारिक कार्यको गौणता रहन्छ । यसमा भगवानको स्मरणमा भूल नहोस् भन्ने सावधानी रहन्छ र संसारको कार्यमा भूल भइहाले पनि पर्वाह हुँदैन । कारण, साधकमा यो जागृति भइरहन्छ, संसारको काम सुध्रिए पनि अन्तमा रहने होइन र विग्रिए पनि अन्तमा रहने होइन । यसैले यसमा भगवानको स्मरणमा भूल हुँदैन । 

(ग) संसारको कार्यलाई भगवानको नै कार्य सम्झने -- यसमा काम-धन्दा गरिरहँदा पनि यौटा विलक्षण आनन्द रहन्छ कि 'मेरो अहोभाग्य हो, म भगवानको नै काम गर्छु, भगवानको नै सेवा गर्छु ।' अतः यसमा भगवानको स्मृति विशेषताले रहन्छ । जस्तो कुनै पिता आफ्नो छोरीको विवाह गर्ने वेलामा किसिम किसिमका वस्तुहरु किन्छ, किसिम किसिमका कार्यहरु गर्छ, धेरै व्यक्तिहरुलाई निमन्त्रणा दिन्छ; तर अनेक प्रकारका कार्यहरु गर्दा पनि 'छोरीको विहे गर्नु छ' भन्ने कुरो उसलाई निरन्तर याद भइरहन्छ । आफ्नी छोरीमा भगवानको समान पूज्यभावपूर्वक सम्बन्ध नभए पनि उसलाई विवाहको काम गर्दा छोरीको विहेको सम्झना निरन्तर भइरहन्छ भने भगवानकोलागि कार्य गर्दा भगवानमा पूज्यभाव सहित आफ्नोपनको मीठो स्मृति निरन्तर वनिरहनुमा त भन्नु नै के पर्ला र ? 

भगवतसम्बन्धी कार्य पनि दुई प्रकारका हुन्छन् --

(१) स्वरूपले -- भगवानको नामको जप र कीर्तन गर्नु; भगवानको लीलाको श्रवण, ,पठन-पाठन  आदि गर्नु -- यो स्वरूपले भगवतसम्बन्धी काम हो । 

(२) भावले -- संसारको काम गर्दा पनि 'सबै संसार भगवानको हो भने संसारको काम पनि भगवानको नै भयो । यो काम भगवानकोलागि नै गर्ने हो, भगवानको प्रसन्नताकोलागि नै गर्ने हो । यो कामवाट मलाई केही पनि लिनु छैन । भगवानले मलाई जुन वर्णमा पैदा गर्नु भएको छ, जुन आश्रममा राख्नु भएको छ, त्यसैमा मलाई भगवानको आज्ञा अनुसार नै उचित काम गर्नु छ -- यस्तो भाव रहँदा त्यो काम सांसारिक हुँदा पनि भगवानको हुन्छ । 

भगवानले सातौँ अध्यायमा भन्नुभयो -- 'प्रयाणकालेपि च मां ते विदुर्युक्तचेतसः' । यसमा अर्जुनले यही वारेमा प्रश्न गरे । त्यसको उत्तरमा भगवानले भन्नुभयो, अन्तकालमा मेरो स्मरण गर्दै शरीर छोडने व्यक्तिले मलाई नै पाउँछ । तर यो नियम खालि मेरो प्राप्तिको विषयमा होइन । मनुष्य जस जसको पनि स्मरण गर्दै शरीर छोड्छ, ऊ त्यस त्यसलाई नै पाउँछ । यो सबैकोलागि सामान्य नियम हो । अन्तकाल जुन सुकै समयमा आउन सक्छ । यसैले मनुष्यले नित्य-निरन्तर, सबै समयमा मेरो स्मरण गर्नु पर्छ ।

No. 239 पहिलो श्लोकको वांकी अंश श्लोक ७

No. 239

पहिलो श्लोकको वांकी अंश 

अन्तकालीन गतिको विषयमा भगवानको  न्यायकारिता र दयालुता दुवै भरिएका छन् । साधारण दृष्टिले न्याय र दया -- दुवै परस्पर विरुद्ध जस्ता देखिन्छन् । न्याय गरियो भने दया सिद्ध हुँदैन र दया गरियो भने न्याय सिद्ध हुँदैन । कारण कि न्यायमा ठीक ठीक निर्णय हुन्छ, छुट हुँदैन र दयामा छुट हुन्छ । वास्तवमा यो  विरोध सामान्य र क्रूर पुरुषले वनाएको न्यायमा नै आउन सक्छ, भगवानले वनाएको न्यायमा होइन । किनकि भगवान परम सुहृद र सम्पूर्ण प्राणीहरुको सुहृद हुनुहुन्छ -- ' सुहृदम् सर्व भूतानाम्' । भगवानका सबै न्याय, कानून दयाले परिपूर्ण छन् । 

मनुष्य अन्तकालमा जस्तो स्मरण गर्छ, त्यही स्मरण अनुसार उसको गति हुन्छ । यदि कुनै मनुष्य कुकुरको विचार गर्दै मर्छ भने ऊ क्रमशः कुकुर नै वन्छ । मनुष्यकोलागि यो भगवानको न्याय भयो, किनकि भगवानले सम्पूर्ण मनुष्यलाई यो स्वतन्त्रता दिनुभएको छ कि 'ऊ चाहे मेरो (भगवानको) स्मरण गरोस्, चाहे अरु कसैको स्मरण गरोस्' । यसैले यो भगवानको 'न्याय' हो । जति मूल्यमा कुकुरको योनि मिल्छ, उति नै मूल्यमा भगवान मिल्नु हुन्छ  -- यो सम्पूर्ण मनुष्य प्रति भगवानको 'दया' हो । मनुष्यले भगवानको यो न्यायकारिता र दयालुतातिर ध्यान दियो भने भगवानमा उसको आकर्षण हुन्छ । 

सातौँ अध्यायमा भगवानले 'यो यो यां यां तनुम् भक्त:' पदहरुले उपासनाको विषयमा मनुष्यको स्वतन्त्रता वताउनु भएको थियो । यो श्लोकमा भगवान मनुष्यहरूको गतिको विषयमा वताउनु हुन्छ । तात्पर्य हो, आफ्नो उपासना र गतिको विषयमा मनुष्य स्वतन्त्र छ र त्यसमा भगवान आफ्नो दयालु स्वभावको कारण वाधक वन्नु हुन्न, भगवान मनुष्यलाई सहायता गर्नुहुन्छ । मनुष्य आफैं आफूलाई मिलेको स्वतन्त्रताको दुरुपयोग गरेर दुर्गतिमा जान्छ । 

मनुष्य शरीरको महत्ता यसैमा छ, उसले जे खोज्यो त्यो पाउन सक्छ । मनुष्यले पाउन नसक्ने कुनै दुर्लभ पद छैन । लाभ(सुख)को अन्त नभएको र दुःखको लेश पनि नभएको पद मनुष्य पाउन सक्छ । परन्तु भोग र संग्रहमा लागेर मनुष्य चौरासी लाख योनिहरुमा र नरकहरुमा जान्छ । यसैले भगवान दुःखसँग भन्नु हुन्छ -- 'अप्राप्य मां निवर्तन्ते संसारवर्त्मनि', 'मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम्' ।

मनुष्य अन्तकालमा जस्तो चिन्तन गर्छ, उसको गति त्यस्तै हुन्छ ।

तात्पर्य, हामी मृत्युकालमा हामी जस्तो चाहन्छौं, त्यस्तो चिन्तन गर्न सक्तैनौं, तर मनुष्य भित्र भएको वासना अनुसार नै उसको चिन्तन स्वतः हुन्छ र त्यही चिन्तन अनुसार नै उसको गति हुन्छ । उसले सत्ता र महत्ता दिएको , तिनसँग सम्बन्ध जोडेको, तिनवाट सुख लिएको वस्तु अनुसार नै  उसको वासना वन्छ । संसारमा सुख बुद्धि नभए संसारको वासना वन्ने छैन । वासना नभएपछि मृत्युकालमा जे सुकै चिन्तन भए पनि भगवानको नै चिन्तन होला, किनकि सिद्धान्तले सबै भगवान नै हो -- 'वासुदेवः सर्वम्' ।

'तं तमेवैति' -- जसरी सियोको पछि पछि (त्यही वाटोवाट) धागो जान्छ, त्यही किसिमले मनुष्य पनि अन्तकालको भाव अनुसार त्यही गतिमा जान्छ ।

श्लोक ७ 

यसैले तिमी हर समयमा मेरो स्मरण गर र युद्ध गर । ममा मन, बुद्धि अर्पण गर्ने भएपछि तिमी निःसन्देह मलाई नै पाउनेछौ ।

'तस्मात्सर्वेषु कालेषु मामनुस्मर युध्य च' -- यहाँ 'सर्वेषु कालेषु' पदहरुको सम्बन्ध खालि स्मरण मात्रैले छुट्छ, युद्धले छुद्तैन; किनकि युद्ध जुन वेला पनि हुन सक्तैन ।कुनै पनि क्रिया निरन्तर हुँदैन, वेला वेलामा हुन्छ ।कारण कि प्रत्येक क्रियाको आरम्भ र समाप्ति हुन्छ -- यो कुरो त सबैको अनुभव नै हो । परन्तु भगवतप्राप्तिको उद्देश्य भए  भगवानको स्मरण जुन वेला पनि हुन्छ; किनकि उद्देश्यको जागृति हरदम रहन्छ । 

जुन वेला पनि भगवानको स्मरण गर्नु भनिएको तात्पर्य हो, प्रत्येक कार्यमा समयको विभाग हुन्छ; जस्तो -- यो समय सुत्ने, यो समय उठ्ने हो , यो समय नित्य कर्म गर्ने हो, यो समय जीविकाको निम्ति कर्म गर्ने हो, यो समयको भोजनको हो, आदि आदि । परन्तु भगवानको स्मरण गर्न समयको विभाग हुनुहुन्न । भगवानको स्मरण त हरहमेशा हुनु पर्छ । 

'युध्य च' भन्नुको तात्पर्य, यहाँ अर्जुनको अगाडि युद्धरूप कर्तव्य-कर्म छ । यो कर्म अर्जुनलाई स्वतः प्राप्त छ -- 'यदृच्छयाचोपपन्नम्' । यस्तै मनुष्यलाई कर्तव्यरूपले प्राप्त भएको कर्म उसले भगवानको स्मरण गर्दै गर्नु पर्छ । त्यो वेला भगवानको स्मरण मुख्य हुन्छ र कर्तव्य कर्म गौण हुन्छ । 

'अनुस्मर'को अर्थ हो, स्मरण पछि स्मरण भइरहोस् अर्थात् निरन्तर स्मरण भइरहोस् । अर्को अर्थ हो, भगवान कुनै पनि जीवलाई विर्सनु हुँदैन । भगवानले सातौँ अध्यायमा 'वेदाहम्' भनेर वर्तमानमा सबै जीवहरुलाई स्वतः जान्ने कुरा गर्नु भएको छ । वर्तमानमा भगवान सबैलाई जान्नु हुन्छ भने भगवानले सम्पूर्ण जीवहरुलाई सम्झनु त स्वाभाविक नै भयो । यदि हामीले पनि भगवानलाई सम्झ्यौं हाम्रो काम सफल भयो । 

 भगवानको स्मरणको जागृति हुन भगवानसँग आफ्नोपन हुनु पर्छ । यो आफ्नोपन जति दृढ भयो, त्यति नै भगवानको स्मृति वारम्वार आउनेछ । 

'मय्यर्पितमनोबुद्धि:' -- ममा मन-बुद्धि अर्पित गरिदिनेको साधारण अर्थ हुन्छ, मनले भगवानको चिन्तन होस् र बुद्धिले परमात्माको निश्चय गरियोस् । परन्तु यसो वास्तविक अर्थ हो -- मन, बुद्धि, इन्द्रियहरु, शरीर आदिलाई भगवानको मान्ने, कहिले भूलले पनि आफ्नो नमान्ने । कारण, सबै प्राकृत पदार्थहरु पनि भगवानका नै हुन् । ती प्राकृत पदार्थहरुलाई आफ्नो मान्नु नै गल्ति हो । साधकले ती पदार्थहरुलाई आफ्नो मानुन्जेल ऊ शुद्ध हुन सक्तैन; किनकि यिनीहरुलाई आफ्नो मान्नु नै खास अशुद्धि हो । र यो अशुद्धिले नै अनेक अशुद्धिहरु पैदा हुन्छन् ।  

वास्तवमा मनुष्यको सम्बन्ध केवल प्रभुसँग छ । प्रकृति र प्रकृतिको कार्यसँग मनुष्यको सम्बन्ध कहिले थिएन, छैन, र रहने पनि छैन । किनकि, मनुष्य साक्षात् परमात्माको अंश हो; अतः उसको सम्बन्ध प्रकृतिसँग कसरी हुन सक्छ ? यसैले साधकले आफ्नो मन र बुद्धि भगवानको नै सम्झेर भगवानलाई नै अर्पण गरिदिने । त्यसपछि उसलाई भगवानको प्राप्ति स्वाभाविक नै हुनेछ; किनकि प्रकृतिको कार्य शरीर, मन, बुद्धि, आदिसँग सम्बन्ध जोडेको कारण नै ऊ भगवानसँग विमुख भएको थियो । 
                                          
अव प्रश्न आउँछ, यी प्राकृत पदार्थ कस्ता छन् ? यो विषयमा दार्शनिकहरुको मतभेद छ, तर 'ती हाम्रा होइनन् र हामी पनि तिनीहरुका होइनौं' भन्ने वास्तविकतामा कुनै मतभेद छैन अर्थात् यो कुरालाई सबै दर्शनकारहरु मान्छन् र अरु दर्शनकारहरु पनि ती पदार्थहरुलाई चाहे पृथ्वीको मानून्, चाहे परमात्माको मानून्, तर दार्शनिक दृष्टिले ती पदार्थहरुलाई आफ्नो मान्न सक्तैनन् । अतः साधकले ती सबै पदार्थहरुलाई ईश्वरको नै मानेर ईश्वरलाई अर्पण गरिदियो भने 'म भगवानको नै थिएँ र भगवानको नै रहनेछु' भनेर भगवानसँग नित्य सम्बन्ध जोड्ने ।

'मामेवैश्यस्यसंशयम्' -- ममा मन-बुद्धि अर्पण गर्ने भएपछि तिमी मलाई नै प्राप्त गर्नेछौ । यो कुरामा कुनै पनि शंका छैन । कारण, म तिमीलाई नित्य प्राप्त छु । अप्राप्तिको अनुभव त कहिले पनि प्राप्त नहुने शरीर र संसारलाई आफ्नो मान्दा, तिनीहरुसँग सम्बन्ध जोड्दा नै हुन्छ । नित्यप्राप्त तत्वको कहिले अभाव छैन र हुन पनि सक्तैन । यदि तिमी मन, बुद्धि र स्वयं मलाई अर्पण गर्छौ भने तिम्रो मसँग भएको नित्य-सम्बन्ध प्रकट हुन्छ -- यसमा कुनै पनि शंका छैन ।

xx हालै मैले हजुरहरुलाई पठाइरहेको गीताको अनुवादमा भएका वर्णनहरु हजुरहरुलाई विश्वास गर्न गाहारो भैरहेको होला जस्तो लाग्छ वेला वेलामा मलाई । गीताका सबै ज्ञान र साधन पद्धतिहरु हाम्रो व्यवहारमा आउन सक्ने र त्यही किसिमको आचरण गर्न पनि गर्न सकिने छन् । तर यो ज्ञानले हामीलाई आफूमा आफैले आफ्नै गल्तीहरु पत्ता लगाउन सक्ने शक्ति दिन्छ । त्यस्तै, आफूलाई दुःख परेको अवस्थामा धैर्य गर्न सक्ने कला पनि सिकाउँछ । गीताको ज्ञानले हामीले आफ्नो प्रचलनमा मानिआएका धर्म र गीताको ज्ञानमा ठूलो अन्तर छ भन्ने कुरो बुझ्न पनि लगाउँछ । जे भए पनि हजुर, हाम्रो आफ्नो जीवन आफैं चलाउनु पर्छ हामीले । हाम्रो जीवन चलाउन अरुले मदत गर्लान्, अरुले सुख देलान्, अरुले सुख दिए म सुखी हुन्थें भन्नु पनि दुराशा हो हाम्रो ।     
 
अर्को कुरा, म केही दिनकोलागि भोलि दाङ जाँदैछु । त्यति वेलासम्म म  हजुरहरुको सम्पर्कमा रहन सक्तिन । त्यतावाट आएपछि अरु चिठी लेखिहाल्ने छु ।