Saturday 12 April 2014

33. No. 5 यो श्लोकमा परमात्मा र जीवात्माको साधर्म्यताको वर्णन भएको छ ।

No. 5

यो श्लोकमा परमात्मा र जीवात्माको साधर्म्यताको वर्णन भएको छ । 'साधर्म्यता' भनेको परमात्माको जस्तो धर्म हो, जीवात्माको धर्म पनि त्यही हो । परमात्मा अविनाशी छ, जीव पनि अविनाशी छ भन्न खोजिएको छ, यहाँ । भगवान भन्नुहुन्छ, म कृष्णरूपले, तिमी अर्जुन रूपले र यहाँ युद्ध गर्न जम्मा भएका सबै योद्धाहरु राजा रूपले पहिले थिएनौं, र पछि पनि रहने छैनौं । तर सत्ता रूपले विचार गर्ने हो भने हामी पहिले पनि थियौं, पछि पनि रहने छौं । अर्को शब्दमा, हाम्रो सत्ता नित्य निरन्तर विद्यमान छ, यो शरीर रहंदा पनि सत्ता विद्यमान छ, यो शरीर नरहँदा पनि विद्यमान छ । यो शरीर रहुन्जेल मात्रै हामी हुने र शरीरको नाश भएपछी हामी नहुने भन्ने होइन । हामी ज्ञान नभएकाहरुले नै आफूलाई जीवित अथवा मृत हुने भन्ने ठानेका हुन्छौँ, यसैले हामीलाई निरन्तर भय, त्रास भैरहन्छ । शरीरलाई आफू नमान्ने सन्तहरुलाइ भय, त्रास हुँदैन । त्यसैले उनीहरुलाई भगवान भन्नुहुन्छ, 'वीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते' । अज्ञानले नै हामीलाई निरन्तर भयको जीवन विताउनु परिरहेको छ, कहिले रोगको भय, कहिले गरीवीको भय, कहिले आफ्नो सम्पत्तिको नाश होला भन्ने भय, कहिले मृत्युको भय । अझ शास्त्र भन्छ, पृथ्वीका समस्त प्राणीहरुलाई 'मृत्यु'को भय छ । तर फरक यत्तिमा छ, पशु, पन्छिहरु आफ्नो मृत्युलाई हटाउन केही उपाय गर्दैनन्, तर मनुष्य 'मृत्यु'वाट वच्न अनेक उपाय गर्छ, गरिरहेछ, कति पटक 'आफू सफल भएँ' भन्ने ठान्छ, कति चोटी निराश पनि हुन्छ ।

शास्त्र भन्छ, मनुष्यले आफू जन्मेको वेलामा नै जाति, आयु र भोग आफूसंग लिएर आएको हुन्छ । 'जाति' शब्दले कूललाइ बुझाउँछ । अर्थात, हाम्रो कूल कस्तो हुने, हाम्रा बाबु आमा को हुने आदि, आदि । आयुले, अझ 'पूर्व निर्धारित आयु'ले हाम्रो शरीर यो संसारमा कति दिन रहने भन्ने 'हिसाव किताव' राख्छ ।

आयुको विषयमा मलाई लागिरहन्छ, 'शास्त्रले भन्छ, हाम्रो आयु पूर्व निर्धारित छ, तर हामीलाई यो कुरो थाहा छैन, यदि थाहा हुने भए हामी कति सावधान रहने थियौं होला, नराम्रो कर्म गर्नवाट कति डराउँथ्यौं होला' । यस्तो पनि लाग्छ, 'हाम्रो आयु, (यहाँ आयुलाई हाम्रो व्यालेन्स भन्नु पर्ला ) हामी जन्मेदेखि खर्च भैरहेछ । तर विधाताले हामीलाई यस्तो 'trick' गरेको छ कि हामीलाई आफ्नो आयुको व्यालेन्स थाहा दिएको छैन, तर, हामी खर्च चाहिं 'अन्धाधुन्ध' गरिरहेछौँ ।

हाम्रो संस्कृतिमा यही कुराको भेद बताउने अर्को शास्त्र पनि छ, 'त्यो हो ज्योतीष शास्त्र' । यो शास्त्रलाई हामी अधिकतम प्रयोग पनि गरिरहेका छौं, आफ्नो आयु सोध्न हामी ज्योतीष कहाँ जान्छौं, रोग लाग्यो भने हामी ज्योतीषकै पाउ पर्छौं, सानो भन्दा सानो समस्या सुल्झाउनकोलागि हामीलाई ज्योतीषको जरुरत पर्छ । मेरो विचारमा, यसको कारण, एउटा मात्रै कारण, हाम्रो आत्मविश्वासको कमी हो । यदि हामी पूर्णरूपले भगवानको शरण पर्छौं भने हामीलाई यस्ता कुराको जरुरत पर्दैन । मीरावाईले भन्थिन्, 'मेरो तो गिरधर गोपाल दुसरो न कोइ' । मीराबाइको यो स्थिति 'शरणागति'को पूर्णता हो ।

त्यस्तै, यो संसारमा हामीले गर्ने 'भोग' पनि पहिले नै निर्धारण भइसकेको हुन्छ भन्छ शास्त्र । हामी जन्मेपछि हाम्रो भोग के हुन्छ, कस्तो हुन्छ, कोसंग हुन्छ, हाम्रो विहे कोसंग हुन्छ, हाम्रा छोराछोरी कति हुन्छन, हामीलाई सुख दुःख कस्तो के पर्छ, हामीलाई के कस्तो रोग लाग्छ, हाम्रो धन सम्पत्ति कति हुन्छ, हामी कस्तो कस्तो कुकर्म अथवा सुकर्म गर्छौं भन्ने पनि हुन्छ हाम्रो आफ्नो जन्मसँग आउने bio-dataमा । यहाँसम्म कि हालै हाम्रो वीच भैरहेको सम्बाद पनि हामी सबैको bio-dataमा लेखिएको छ । यही सन्दर्भमा रमण महर्षि भन्नुहुन्छ, 'कर्तुराज्ञया प्राप्यते फलं', हामीले अहिले संसारमा भोगिरहेको समस्त सुख-दुःख, समस्त भोग्य पदार्थ 'कर्तु:'को आज्ञाले भएको हो । उहाँ त कतिसम्म भन्नु हुन्छ, 'तिमीले विहान उठेर खाने 'वेड टी' पनि पहिले नै निश्चित भै सकेको छ ।' कसैले उहाँलाई प्रश्न सोधे, 'त्यसो भए हामी संसारमा आउनुको कारण के हो ?' उहाँको जवाफ, 'ईश्वर प्राप्ति' ।

यस्तै हो, आजको विषय कतिलाई नयाँ लाग्न सक्छ, चित्त नबुझ्न पनि सक्छ, तर शास्त्रीय कुरा यही हो हजुर!

हजुरहरुको
इन्दिरा 

Song from Hajurma's Cassette Collection: Bhagwan timi lai ma kasari pau

32. No. 3 अव गीताको अर्थमा जानुपर्यो ।

No. 3

अव गीताको अर्थमा जानुपर्यो । जुन वेला हामी शरीर र शरीरीको विचार गर्छौं, त्यो वेला पनि शरीर र शरीरी त्यस्तै नै छन् । त्यस्तै हामीले तिनीहरुको वारेमा विचार नगरेको वेला पनि तिनीहरु त्यस्तै छन् । अर्थात्, तिनीहरुको गुण र धर्ममा कुनै अन्तर हुँदैन, शरीर त्यो वेला पनि नाशवान नै हुन्छ; शरीरी त्यो वेला पनि अविनाशी नै हुन्छ । त्यसो भए हामीलाई लाग्छ, त्यसो भए हामीले त्यो वारे किन विचार गर्नु पर्यो त ?

त्यसको उत्तर: विचार गर्दा वस्तुस्थितिमा केही फरक त पर्ने होइन, तर साधकको मोह हट्छ, उसको मनुष्य जन्म सफल हुन्छ ।

मनुष्य शरीर विवेकप्रधान हो । त्यसैले 'म शरीर होइन' भन्ने विवेक मनुष्य शरीरमा नै हुन सक्छ । शरीरलाई 'म-मेरो' मान्नु मनुष्य बुद्धि होइन, उल्टो पशुबुद्धि हो । यही कारण श्रीशुकदेवजी राजा परीक्षितसँग भन्नुहुन्छ,

त्वं तु राजन मरिश्येति पशुबुद्धिमिमां जहि ।
न जातः प्रागभूतोद्य देहवत्वं न ननङक्षसि ।।

अर्थ, 'हे राजन ! अव तिमी 'म मर्नेछु' भन्ने पशुबुद्धि छोडीदेऊ ' । जस्तो शरीर पहिले थिएन, पछि पैदा भएको हो, र फेरि मर्छ, त्यस्तै, तिमी पहिले थिएनौ, पछि पैदा भएका हौ र फेरि मर्छौ, यो कुरा होइन ।'

यहाँ पनि शरीर र शरीरीको भेदको नै चर्चा भएको छ । यही शरीर र शरीरीको भेदलाई बुझ्ने व्यक्तिलाई नै असली ज्ञानी भन्छ गीता । ज्ञानीले उसको आफ्नो विवेकशक्तिद्वारा सत् र असत् को भेदलाई सिद्धान्ततः जान्दछ, त्यही कुरालाई अनेक युक्ति लगाएर मनन गर्दछ, त्यही ज्ञानलाई आफ्नो जीवनमा विस्तारै विस्तारै उतारी पनि रहेको हुन्छ । उतार्ने क्रममा नै उसले आफ्नो शरीर, मन, बुद्धिको function पनि बुझिरहेको हुन्छ, त्यही क्रममा नै उसले गीताले भनेको ज्ञान प्रयोग गर्दा आफ्नो विचारमा आइरहने वाधाहरुको समेत पहिचान गर्दै, र ती वाधाहरु हटाउन के गर्न पर्ने हो भन्ने थाहा पाउँदै ती वाधाहरुको निराकरण पनि गर्दै जान्छ । कति पटक त उसलाई उत्साह पनि लाग्छ, तर धेरै पटक उसलाई नैराश्य पनि हुने गर्छ । तर, के गर्ने, उ सोच्छ, 'म यता (आध्यात्मिक क्षेत्रमा) लागि सकें, अव म संसारको विषयमा रमाउन सक्तिन, यो क्षेत्रमा नै मैले लागिरहनु पर्छ ।' भन्ने विचारले उ आफ्नो गन्तव्यतिर नै लागिरहन्छ, वाटो लागेपछि त पुगिहालिन्छ, होइन त ।

केही दिनअघि मैले you tube मा शिरडी साइवावाको movie हेरें । उहाँको दुइटा उपदेश रहेछन: (१) श्रद्धा; (२) सबुरी । श्रद्धा भनेको: गुरु र शास्त्रको वाक्यमा विश्वास हो; सबुरी भनेको: धैर्य र उत्साह हो । हामीलाई शाश्वत शान्ति पाउने तीब्र इच्छा छ भने हामीले यी दुइ कुराहरुलाई हाम्रो जीवनमा उतार्नै पर्ने रहेछ । भगवान गीताको अठारौँ अध्यायमा भन्नुहुन्छ, 'श्रद्धावान लभते ज्ञानम् ', 'धृति उत्साह समन्वितः' ज्ञान हुन श्रद्धा,धृति र उत्साहको आवश्यकता पर्छ । यही प्रसंगमा शिरडी साइवावाको एउटा प्रसङ्ग पनि लेख्न मन लाग्यो मलाई ।

एक दिन एउटा महाजन आफ्नो ट्रेनको return ticket समेत लिएर र एउटा टाँगामा साइ वावा कहाँ आयो । उसले साइ वावासँग 'ब्रह्मज्ञान' सुन्ने इच्छा प्रकट गर्यो, साथै उसले आफू चांडै आफ्नो घर फर्कनु पर्ने कुरा पनि गर्यो । अर्को शब्दमा, उसले ब्रह्मज्ञान जस्तो गहन विषयलाई त्यति चांडै उपलब्ध हुने कुरो भन्ने ठान्यो ।

साइवावाले उसलाई ब्रह्मज्ञान दिन आफ्नो अगाडि राख्नु भयो, त्यही वखत उहाँले आफ्नो आश्रमको एउटा ठिटोलाई भन्नुभयो, 'ए वावु, तिमी गाउँमा कसैसँग (कुनै एक व्यक्तिको नाम लिएर) पांच रुपियाँ लिएर आऊ' । उता त्यो ठिटो गयो, यता त्यो ज्ञान चाहने व्यक्ति मनमनै भन्दै थियो, 'आफूलाई हतारो भैसक्यो, यो वावालाई किन अहिले नै पाँच रुपियाँ चाहिएको होला ।' त्यो ठिटो फर्केर आयो र भन्यो, 'त्यो मान्छेको घरमा कोही पनि छैन, ढोकामा ताल्चा मारेको छ ।' वावाले त्यही केटालाई फेरि दोस्रो घरमा, अनि तेस्रो घरमा, अनि चौथो घरमा गरेर पटक पटक धेरै घरहरुमा पठाउनु भयो । तर सबै घरमा कसैलाई पनि भेट नभएको र पांच रुपियाँ पाउन नसकेको कुरो त्यो केटाले भनी रह्यो । उता, त्यो महाजनको छटपटी वढि नै रहेको थियो ।

त्यसपछि साइवावाले त्यहाँ उपस्थित अरुहरुलाई भन्नुभयो, 'हेर, यो व्यक्ति मसँग ब्रह्मज्ञान लिन आएकोछ, मैले पाँच रुपियाँ लिन गाउँमा मान्छे पठाइरहेको छु, यसको आफ्नै खल्तीमा अढाइ सय रुपियाँ छ, झिक्न सक्तैन, यस्ता 'असहिष्णु' व्यक्तिले के ज्ञान लिन्छ ?' त्यो महाजन लज्जित भएर फर्क्यो । यही सन्दर्भमा, एक जना सन्तको वचन: साइवावाले लिन पठाएको 'पाँच रुपियाँ' हाम्रो पाँच ज्ञानेंद्रियहरुको प्रतीक हो । साइवावाले यसो गर्नुको तात्पर्य हो कि ब्रह्मज्ञान कुनै पसलमा गएर केही सामान मागेको अथवा कसैको घरमा गएर कुनै माल मागेको जस्तो होइन, यसको अधिकारी हुन साधकले आफ्ना पाँच ज्ञानेंद्रियहरुलाई 'संयम'मा राख्नुको साथै आफ्नो मनलाइ पनि वशमा गर्नुपर्छ । अर्कोतिर, साइवावाले आफ्नो शक्तिद्वारा नै त्यो महाजनसंग अढाई सय रुपियाँ भएको थाहा पाउनुभएको थियो ।

श्लोक १२
कुनै कालमा म थिइन र तिमी पनि थिएनौ तथा हाम्रा सामुन्ने देखिएका राजाहरु थिएनन् भन्ने पनि होइन, र पछि पनि म, तिमी र यी सबै राजाहरु रहने छैनन् भन्ने पनि होइन ।

यो श्लोकको व्याख्या पछि ।

हजुरहरुको
इन्दिरा 


Thursday 10 April 2014

31. No. 2 अहिलेसम्म हजुरहरुलाई मेरो लेख्ने शैली थाहा भइसकेको हुनुपर्छ ।

No. 2

अहिलेसम्म हजुरहरुलाई मेरो लेख्ने शैली थाहा भइसकेको हुनुपर्छ । गीताको दोस्रो अध्यायको ११ श्लोकको नै व्याख्या भैरहेछ । सबै व्याख्या एकै चोटी गर्दा पढ्नेलाई झर्को लाग्ने हो कि भनेर अरु अरु कुरा पनि लेखिंदैछ । यही सन्दर्भमा, एक जना सन्तको वचन:


एउटा वच्चालाई रोग लागेछ । डाक्टरले वच्चालाई राम्ररी जाँचेर भनेछ, 'यो वच्चालाई 'घिउ' खान दिनु' । घरका मान्छेले पनि डाक्टरको सल्लाह अनुसार वच्चालाई घिउ खान दिन थाले । केही दिनपछि वच्चालाई झाडा वान्ता लाग्यो । त्यो वेला चाहिं डाक्टरले भन्यो, 'यो वच्चालाई 'घिउ' पचेन, त्यसैले अवदेखि यसलाई घिउ, पिठो, चिनी, पानी राखेर 'हलुवा' खान दिनु' । यस्तै, खान त हामीलाई 'घिउ' (ज्ञान) नै खान पर्ने हो, तर, 'ज्ञान' मात्रैले नपच्ने हो कि भन्ने विचारले अलि अलि ज्ञानसंगै अरु ज्ञानसम्बन्धी नै चर्चा हुने गरेको छ, मेरो लेखाइमा ।

अर्जुनलाई ज्ञान दिने क्रममा दोस्रो अध्यायको एघारौँ श्लोकको व्याख्या गर्दै भगवान भन्नु हुन्छ, शरीरी (आत्मा) कुनै शरीरसँग पनि लिप्त छैन, यही कारणले यसलाई (शरीरी) सर्वव्यापी भनिएको हो, 'सर्वगतः', 'येन सर्वमिदं ततम्' । तात्पर्य हो कि साधकको स्वरूप सत्तामात्र छ; 'अव्यक्त', 'अव्यक्तादीनि भूतानि' । शरीर प्रतिक्षण नष्ट हुने खालको र असत् छ । असत् को सत्ता विद्यमान छैन, 'नासतो विद्यते भावः' । सत्ता नै विद्यमान नभएको शरीरलाई लिएर शरीरी (शरीरवाला) कसरी हुन सक्छ? त्यसैले साधक शरीर पनि होइन, शरीरी पनि होइन । तर, यो प्रकरणमा भगवानले साधकलाई बुझाउने दृष्टिले त्यो सत्ता मात्र स्वरूपलाई 'शरीरी' (देही) नाम दिनुभएको हो । 'तिमी शरीर होइनौ' भन्नकोलागि नै 'शरीरी' भनिएको छ यहाँ ।

एउटा कुरा बुझ्न कठिन जस्तो देखिन्छ । हामीले जन्मेदेखि नै यही शरीरलाई नै 'आफू' भन्दै आएका छौं । अहिले आएर गीताले 'तिमी शरीर होइनौ' भन्दा हामीलाई अलि अनौठो लाग्छ, साथै यो कुरा हाम्रो दिमागमा घुस्न पनि गाह्रो हुन्छ । अव वेदान्तमा चर्चा गरिने तीन सत्ताको उल्लेख गर्नु पर्नेभएको छ । तीन सत्ताहरू हुन्: (१) प्रातिभासिक सत्ता; (२) व्यावहारिक सत्ता; र पारमार्थिक सत्ता । 'प्रातिभासिक' सत्ता भनेको हाम्रो स्वप्नको अवस्था हो । स्वप्ना अवस्थामा स्वप्ना देख्न हामीले जाग्रत अवस्था छोड्नु पर्छ। अर्थात्, स्वप्न जगत् मा पुगेपछि हामीलाइ 'जाग्रत' अवस्थाको कुनै पनि भान हुँदैन । अर्को शब्दमा, जाग्रत अवस्थामा 'जाग्रत जगत्' सत्य र स्वप्न अवस्थामा 'स्वप्न जगत्' सत्य हुन्छ हामीलाई जति नै छोटो समय भए पनि । त्यस्तै, स्वप्न (प्रतिभासिक) सत्ता र जाग्रत (व्यवहारिक) सत्ता भन्दा पनि अर्को सत्ता छ, त्यो हो 'पारमार्थिक' सत्ता ।

हामी जाग्रत अवस्थामा जे जे गर्छौं, स्वप्न अवस्थामा पनि त्यही गर्छौं । अर्थात्, जाग्रत अवस्थामा हामीवाट भएका र हुने समस्त गतिविधि स्वप्न अवस्थामा पनि हुन्छ । अहिले जाग्रत अवस्थामा भएका समस्त कृयाकलाप हामीलाई 'साँचो' लाग्छ, त्यस्तै, त्यस्तै, स्वप्न अवस्थामा भएका सम्पूर्ण गतिविधि पनि हामीलाई स्वप्न देखुन्जेल 'साँचो' नै लाग्छ । स्वप्नवाट बिउँझेर जाग्रतमा आएपछि बेग्लै कुरा, स्वप्न देखुन्जेल स्वप्नमा देखिएका समस्त व्यक्ति, पदार्थ, वस्तु, देश, काल पनि त्यो वेला त 'साँचा' नै हुन्छन । हामी स्वप्नामा विहा पनि गर्छौं, परिवार पनि पाल्छौं, घर पनि वनाउँछौं, देश विदेश पनि घुम्छौँ, अनेक परिकार, मिठाई पनि खान्छौं, त्यो वेला सुखी दुःखी पनि हुन्छौँ । अर्को शब्दमा, हाम्रोलागि स्वप्न जगत र जाग्रत जगतमा कुनै पनि भेद हुँदैन । खालि फरक यत्ति हो कि, हामी स्वप्नवाट बिउँझेपछि त्यो स्वप्नलाई झूठो मान्छौं, जाग्रतलाई चाहिं झूठो मान्दैनौं ।

अव यहाँ कुरो आउँछ, स्वप्न जगत् र जाग्रत जगत् दुवै एक अर्कादेखि सर्वथा भिन्न छन् । हामी राति टन्न खाना खाएर सुत्छौँ, तर स्वप्नामा हामीलाई भोक लाग्न सक्छ, त्यस्तै, हामी स्वप्नामा टन्न खाएर बिउँझिन्छौँ, तर स्वप्नामा खाएको खानाले जाग्रतको हाम्रो पेट भर्न सक्तैन। त्यस्तै हामी जाग्रतमा जस्तै स्वप्नमा पनि सबै व्यवहार गर्छौं, तर स्वप्नमा गरेको क्रियाकलापले जाग्रतमा सन्तुष्टि दिन सक्तैन, र जाग्रतमा भएको क्रियाकलापले स्वप्नमा सन्तुष्टि दिन सक्तैन ।

माथि उल्लेखित स्वप्ना अवस्था (सत्ता) र जाग्रत अवस्था (सत्ता) दुबैदेखि पृथक पारमार्थिक सत्ता छ । यो सत्तामा अरु दुई सत्तामा जस्तो कुनै व्यक्ति, वस्तु, र पदार्थको जरुरत पर्दैन । स्वप्न सत्तामा र जाग्रत सत्तामा हामीले पाउने सुख-दुःख क्षणिक हुन्छ, तर परमार्थ सत्तामा मिल्ने आनन्दको वर्णन गर्न सक्तैन शास्त्रले पनि । अव यही क्रममा भन्नुपर्छ, जस्तो स्वप्नामा भएको अथवा गरेको भोगले हामीलाई जाग्रतमा आनन्द दिन सक्तैनन् र जाग्रतमा भएको र गरेको भोगले स्वप्नामा आनन्द दिन सक्तैनन, किनभने सत्ता फरक भएको हुनाले । यही कारण, जाग्रतमा र स्वप्नमा गरेको र भएको भोगले परमार्थमा शान्ति दिन सक्तैनन हामीलाई, यहाँ पनि त्यही कारण, एउटा मात्रै कारण, सत्ता पृथक भएकोले । वेदान्तले हामीलाई पारमार्थिक सत्ताको ज्ञान गराउन खोज्छ, कुनै व्यक्ति, वस्तु र पदार्थ विनाको असीम आनन्द, देशातीत, कालातीत, गुणातीत आनन्द, शान्ति र सन्तुष्टिको अधिकारी वनाउँछ । यही आनन्दको अधिकारी अर्जुनलाई माध्यम वनाएर भगवानले हामीलाई गीताको ज्ञान, उपनिषद्को ज्ञान, वेदान्तको ज्ञान भनिरहनु भएको छ । यो कुरा वुझाउन म कति सफल भएँ, थाहा छैन । एउटा सानो प्रसंगले आज विदा लिन्छु ।

लामो समयपछि दुइजना मित्रको भेट भएछ, एउटाले दोस्रोलाई सोधेछ: तिम्रो बिहे भयो? अर्कोको जवाफ: भयो । फेरि प्रश्न: कस्तो (सुख) छ त ? उत्तर: सुखै छ । प्रश्न: सुखै भनेको कस्तो? उत्तर: उनले झटारो हान्दा मलाई लाग्यो भने उनी सुखी हुन्छिन, उनले हानेको झटारो मैले छल्न सकें भने म सुखी हुन्छु , सुखै छ । यो कुराको विचार हजुरहरुले पनि गरिरहनु होला ।

हजुरहरुको
 
इन्दिरा

Song from Hajurmas Cassette Collection: Gara Rakhya Saba Ko Pasupatinath

30. अहिलेसम्मको चर्चामा शरीरलाई आफ्नो मान्नु र परमात्मालाई आफ्नो नमान्नुलाई हाम्रो भूल भन्यो गीताले ।

No 1

अहिलेसम्मको चर्चामा शरीरलाई आफ्नो मान्नु र परमात्मालाई आफ्नो नमान्नुलाई हाम्रो भूल भन्यो गीताले ।

यो भूल मेटाउनकोलागि भगवान शरीर र शरीरीको भेद वताउंदै हामीलाई भन्नुहुन्छ, तिमी शरीर होइनौ । तिमी ज्ञाता (जान्ने) हौ, शरीर ज्ञेय (जान्नमा आउने) हो । तिमी सर्वदेशीय 'नित्यः सर्वगतः' (सर्वव्यापक) छौ, तर तिम्रो शरीर एकदेशीय ( एक ठाउँमा हुने, अर्को ठाउँमा नहुने) छ । तिमी चिन्मय लोकमा निवास गर्छौ, तर तिम्रो शरीर जड संसारमा निवास गर्छ । तिमी म परमात्माको अंश हौ, 'ममैवांशो जीवलोके', शरीर प्रकृतिको अंश हो 'मनः षष्ठानीन्द्रियाणि प्रकृतिस्थानि' । तिमी निरन्तर अमरतामा रहन्छौ, तर तिम्रो शरीर अमरतामा रहन सक्तैन । शरीरको क्षतिले तिमीलाई कत्ति पनि क्षति हुँदैन । त्यसैले शरीरलाई लिएर तिमीलाई शोक, चिन्ता, भय हुनु हुँदैन ।

यस्तै यस्तै कुरा हाम्रो बुद्धिले पचाउन गाह्रो पर्ने प्रसंग आउने भएर होला उहिले हाम्रा बुढापाकाहरु भन्ने गर्थे, 'गीता पढ्नु हुँदैन, गीता पढ्यो भने मान्छे वहुलाउँछ' । यसो हेर्दा उनीहरुको भनाइ ठीकै हो, किनभने गीताको उपदेश शुरु शुरुमा त हामीलाई पनि कहाली लाग्दो नै हुन्छ । तर, यो ग्रन्थको वारम्वार मनन गरेपछि यो कुरा ठीकै त हो नि जस्तो लाग्छ । हामीलाई अनुभव भएकै कुरा हो, हामीले हाम्रो विद्यार्थी अवस्थामा अध्ययन गरेका कुरा पनि सजिला त कहाँ थिए र! तर, अभ्यासले नै हामीलाई हाम्रो लक्ष्य प्राप्त गर्न सफल वनायो । यही नियम यो ग्रन्थको विषयमा पनि लागु हुन्छ जस्तो लाग्छ मलाई ।

फेरि, उहिले मान्छेहरु भन्ने गर्थे, 'फलानी महिला गीता पढेर वहुलाएकी हो' । किनभने गीता बुझेको मान्छेले गर्ने व्यवहार गीता नबुझ्ने मान्छेकोलागि अनौठो नै हुन्छ । यही क्रममा, भगवान अर्जुनलाई सिकाउनुहुन्छ, 'हे भरतवंशी अर्जुन ! कर्ममा आसक्त भएका अज्ञानीहरु जुन प्रकारले कर्म गर्छन, आसक्तिरहित तत्त्वज्ञ महापुरुष पनि लोकसंग्रह गर्न परेको वेला त्यस्तै किसिमले कर्म गरोस' 'सक्ताः कर्मण्यविद्वांसो यथा कुर्वन्ति भारत । कुर्याद्विद्वान्स्तथासक्तश्चकीर्षु र्लोकसंग्रहम्'।।


यस्तै रहेछ, हजुर, गीता ज्ञानको रहस्य !

यो कुरा पनि एउटा महात्मावाट नै सुनेको: एकदिन उहाँ (महात्मा) एक दम्पतिसंग कतै गइरहनुभएको थियो । त्यो वेलामा श्रीमतीले महात्मासंग भनिछन्, 'स्वामीजी ! किन होला, कोही कोहीलाई सत्संगमा जान पटक्कै मन लाग्दैन ।' त्यही वेला उनका श्रीमानले महात्मासंग भनेछन, 'यो कुरा मेरो विषयमा भनिएको हो ।' फेरि तिनै श्रीमानले महात्मालाई सोधे, 'स्वामीजी, म हजुरलाई मन पराउंछु, हजुरसँग वस्न, यताउति जान मलाइ मन लाग्छ, तर हजुरको प्रवचन भएको 'हल'भित्र मलाई खुट्टै हाल्न मन लाग्दैन । यसको कारण के होला ?

महात्माको जवाफ, 'हरेक व्यक्तिले आफ्नो वारेमा, जगतको वारेमा, ईश्वरको वारेमा र आध्यात्मिक साधनाको वारेमा आफ्नै धारणा वनाएको हुन्छ । तर जव उ सत्संगमा जान्छ, त्यहाँ उसका सबै मान्यताहरु मुङ्ग्रो (hammer)ले सामान कुटिएको जस्तो शास्त्रीय बुँदाहरुले चुरचुर हुन्छन । यो कुरो उसलाई सह्य हुँदैन, त्यसैले उ सत्संगमा जाँदैन ।' अव के गर्ने होला लौ न हामीले ! ख्यालठट्टाको कुरा होइन रहेछ यो त !

अर्को शब्दमा, हाम्रो मोह (अज्ञान) हटाउने ज्ञानले नै हो । मोहको कारणले हामीलाई ममता हुने भयो । ममता भनेको हाम्रा वरपरका वस्तु र व्यक्तिमा हुने आसक्ति हो । यो ममतालाई 'राम्रो' मान्ने व्यक्तिको त कुरै गर्नु परेन । तर यो ममतालाई दोषको रूपमा स्वीकार गर्ने व्यक्तिले त सत्शास्त्रको अध्ययन गर्नुपर्ने रहेछ, शास्त्र आफूले पढेर मात्रै बुझिने विषय होइन, यसकोलागि अरु कुनै विशेषज्ञको परामर्शको जरुरत पर्छ हामीलाई । त्यसैले शास्त्रले हामीलाई सत्सँगमा जाने सल्लाह दिन्छ । सत्संगले हामीलाई विवेकरूपी शक्ति दिन्छ । यो विवेकले नै हामीलाई सत् के हो, असत् के हो, नित्य के हो, अनित्य के हो, गर्न हुने के हो, गर्न नहुने के हो भन्ने कुरा सिकाइरहन्छ ।

शास्त्रले हामीलाई भन्छ, हाम्रो आध्यात्मिक जीवनमा अघि वढ्न हामीलाई तीन कुराको आवश्यकता छ । ती हुन्: श्रवण, मनन र निदिध्यासन । श्रवण गर्दा अथवा शास्त्रको अध्ययन गर्दा शास्त्रमा भएका कुराहरुको ज्ञान हामीलाई हुन्छ । त्यसपछि ती ज्ञानहरुको विषयमा हामीले चिन्तन गर्नुपर्छ, चिन्तन गर्दा कति कुरो हामीलाई चित्त बुझ्छ, तर कति कुरो त चित्त नबुझ्न पनि सक्छ । त्यसकोलागि हामीले यो विषय सम्बन्धी विशेषज्ञसँग परामर्श गर्नुपर्छ । त्यसपछि आफूले धारण गरेको ज्ञानलाई आफ्नो जीवनमा प्रयोग गर्ने, त्यो क्रममा परेका वधाहरुको पहिचान गर्ने गरिरहनु पर्छ । यसो गर्दा गर्दा हामीलाई यो विषयमा रस लाग्न थाल्छ । यो वेलादेखि हाम्रो आध्यात्मिक यात्रा शुरु हुन्छ । 
 

आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको

इन्दिरा
 
Songs from Hajurmas Cassette Collection: Sab Nidaye Parbhu Chaina Koi Satha Ma

 
 

Wednesday 9 April 2014

29. फेरि गीताकै प्रसंगमा जानुछ हामीलाई ।

फेरि गीताकै प्रसंगमा जानुछ हामीलाई । 

यहाँ शरीरलाई 'जड' र शरीरीलाई 'चेतन' भनिइरहिएको छ । यी शब्दको परिभाषातिर जाँदा, जड भनेको त्यो हो, जुन आफूलाई पनि जान्दैन, अरुलाई पनि जान्दैन, त्यस्तै, चेतन भनेको त्यो हो, जो आफूलाई पनि जान्दछ, अर्कोलाई पनि जान्दछ । यहाँ हामी शरीरलाई जड र शरीरीलाई चेतन भनिरहेका छौं । हाम्रो शरीरले (यहाँ शरीर भन्दा तीनै शरीरहरू लिनुपर्छ) आफू को हो भन्ने जान्दैन, अर्को को हो, अथवा के हो भन्ने पनि जान्दैन । तर हाम्रो आत्मा (चेतन)ले आफू को हो, के हो भन्ने पनि जान्दछ, अर्को को हो, के हो भन्ने पनि जान्दछ । 


अव प्रश्न आउँछ, 'हाम्रो शरीर, मन, बुद्धिले त आफू को हो, भन्ने पनि जान्दछ, अरु को हो भन्ने पनि जान्दछ । यो कसरी सम्भव भयो त? यसको जवाफ, चेतनको सत्ताले नै हाम्रा शरीर, मन, बुद्धि संचालित भएका छन् । हामीलाई थाहा नै छ, चेतनले छोड्ने वित्तिकै कसैको शरीरले केही पनि गर्न सक्तैन । त्यसैले यो श्लोकमा भगवान अर्जुन मार्फत हामीलाई यही कुरा भनिरहनुभएको छ, 'तिमीलाई चलाउने , हिंडाउने, समस्त कर्म गर्न लगाउने, रुवाउने, हँसाउने, सोच्न लगाउने, निश्चय गर्न लगाउने, चेतन (शरीरी) हो, त्यो चेतनको सत्ता मात्रले नै तिम्रा  शरीर, मन, बुद्धि, आदि सल्वलाइरहेका छन्, आफ्ना आफ्ना काममा लागिरहेका छन् । त्यसैले, तिमी  जड (शरीर) होइनौ,  चेतन (आत्मा) हौ । शरीरको नाश हुँदा पनि तिम्रो नाश हुँदैन, त्यसैले तिमीले शोक गर्नु हुँदैन ।' यसकारण हाम्रो शरीरको स्वतन्त्र सत्ता छँदै छैन । दोस्रो अध्यायको यही तथ्य नै गीताको सार हो भनिन्छ । अर्जुनको मोह नै यही विषयमा भएको छ ।  जसको नाश नभई छोड्दैन, त्यसको शोक गर्दा हामीलाई मानसिक दुःख मात्रै हुने भयो । जसकोलागि शोक गर्नुपर्ने कारण नै छैन, त्यसकोलागि शोक गर्दा हामी 'मूर्ख' हुने भयौं । यसैले भगवानले गीतामा धेरै ठाउँमा 'मूर्ख' भन्ने पदवी दिनुभएको छ । यो 'मूर्ख' पदवी भगवानलाई नै फिर्ता दिन हामीले शोक गर्न नहुने भयो ।  


यही शोक नगर्ने सिलसिलामा भगवान हामीलाई सिकाउनु हुन्छ, गीताको दोस्रो अध्यायको छपन्नौं श्लोकमा ' दुःखेष्वनुद्विग्नमना:……. स्थितधीर्मुनिरुच्यते ।'  अर्थदुःख आइपर्दा जसको मनमा उद्वेग हुँदैन, त्यस्तो मननशील मनुष्यलाई स्थिरबुद्धि (ज्ञानी) भनिन्छ ।'  यही सन्दर्भमा एउटा महात्मावाट सुनेको कुरा पनि निवेदन गर्छु ।      


एउटा समारोहमा एक सज्जनलाई सम्मान गर्न वोलाइएछ । उद्घोषकले भनेछन, 'हामीले यहाँलाई यो सभामा वोलाउनुको कारण हो, हजुरहरुको वैवाहिक जीवनको साठी वर्षसम्म पनि कुनै दिन पनि झगडा नभएको भन्ने हामीले सुन्यौं, त्यसको रहस्य के हो ?' ती सज्जनले आफ्नी श्रीमतीतर्फ हेरे, श्रीमतीको अनुमति पाएपछि उनले भने, 'She goes her way and I go her way', अर्थ, 'उनी उनले भनेको जस्तो गर्छिन्, म पनि उनले भने जस्तो गर्छु।' यो भनाइको महत्त्व यसमा छ, जे गरी हुन्छ, जसो गरी हुन्छ, आफ्नो अन्तःकरणको 'समता'लाई खल्वलिन नदिने। किनकि समतालाई नै योग भनिन्छ, 'समत्त्वम् योग उच्यते', 'समबुद्धिर्विशिष्यते' ।                



यही प्रसंगमा, शास्त्र भन्छ, जुन वस्तु आफ्नो होइन, त्यसलाई आफ्नो मान्नु र जुन वस्तु आफ्नो हो, त्यसलाई आफ्नो नमान्नु नै ठूलो भूल हो । सँधै हामीसँग रहने र हामी सँधै त्योसँग रहने वस्तु नै आफ्नो हो । शरीर एक क्षण पनि हामीसँग रहँदैन र परमात्मा निरन्तर हामीसँग रहनुहुन्छ । किनकि शरीरको जाति संसारसँग छ, र हाम्रो जाति परमात्मासँग छ । यही कारण, शरीरलाई आफ्नो मान्नु र परमात्मालाई आफ्नो नमान्नु सब भन्दा ठूलो भूल भयो हाम्रो। यहाँनेर हजुरहरुलाई बुझ्न अलि कठिन भयो कि जस्तो लाग्यो मलाई  । म एकातिरवाट लेखिरहेकी छु, हजुरहरु अर्कोतिरवाट मेरो पत्र पढिरहनुभएको छ । मैले आफ्नै हिसावले हजुरहरुले बुझ्नुभयो भन्ने ठान्नु परिरहेको छ । मेरी अढाइ वर्षकी नातिनी उसलाई अप्ठ्यारो परेको वेला मलाई भन्छे, 'what to do Amu, what to do?' अर्थ, 'के गर्ने आमु, के गर्ने ?'  ठीक यही स्थिति मेरो छ अहिले ।         


हस् त, आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको 


इन्दिरा 

28. अघिल्लो पत्रमा उल्लेख गरिएको 'म को हुँ' विचार गर्नु पर्ने जस्तो लाग्छ ।

अघिल्लो पत्रमा उल्लेख गरिएको 'म को हुँ' विचार गर्नु पर्ने जस्तो लाग्छ । 

अहिले दोस्रो अध्यायको प्रसङ्ग चलेको छ, अर्जुन 'द्वन्द्व'मा परेका छन् । द्वन्द्वमा परेको वेला व्यक्तिको स्थिति अप्ठ्यारो हुन्छ, ऊ आफूले सोचे जस्तो निर्णय गर्न सक्तैन, त्यसैले उसको मन अस्थिर, चंचल हुन्छ ।  हाम्रो मन किन चंचल हुन्छ? भन्ने प्रश्नको उत्तरमा शास्त्र भन्छ, 'मनुष्यको मन चंचल हुने एउटा र एउटा मात्र कारण हो 'इच्छा' ।' त्यसो भए हामी जस्ताको मनमा आउने अर्को प्रश्न, 'इच्छा नगरे त हामी संसारमा वाँच्न नै सक्तैनौं'।   


यही विषयमा गीतामा अर्जुन भगवानलाई सोध्छन, 'अथ केन प्रयुक्तोयं पापं चरति पूरुष:।', अर्थ, 'व्यक्ति नचाहँदा नचाहँदा नचाहँदै पनि केवाट प्रेरित भएर पाप गर्छ ।'     


भगवानको जवाफ, 'काम एष', अर्थ, 'व्यक्तिवाट हुने पाप 'इच्छा'वाट नै हो ।' इच्छावाट हाम्रो चित्त चंचल हुन्छ, अझ भनौं, चित्त चंचल भएपछि हामीमा इच्छा उठ्छ । इच्छा पूर्ति गर्न हामीसँग साधन स्रोत हुनु पर्यो । साधन स्रोत हुन्जेल त हामी इच्छा पूर्ति गरौंला, तर, स्रोत सकिएपछि के गर्ने? शास्त्र भन्छ, 'हाम्रो इच्छा ज्यादै खन्चुवा छ, यसलाई जति खाए पनि चित्त बुझ्दैन, फेरि यो इच्छाको स्वभाव मनुष्यलाई अत्यन्त पाप गराउने खालको छ' । पाप गराउने यो अर्थमा कि हामीले हाम्रो हरेक इच्छा पुर्याउँदा पुर्याउंदा हाम्रो मनको स्वभाव हठी भइसकेको हुन्छ, तर, त्यो वेला हाम्रो साधन वांकी हुँदैन । तर इच्छाको वेगले हामीलाई शान्त रहन दिंदैन । अव के गर्ने, हामी पाप गरेर पनि आफ्नो इच्छा पूर्ति गर्न उद्यत हुन्छौं । गीताको सोरहौं अध्यायमा आसुरी व्यक्तिको स्वभावको वर्णन गर्ने क्रममा भगवान भन्नुहुन्छ, 'ईहन्ते काम भोगार्थम् अन्न्यायेनार्थ संचायान् ।', अर्थ, ' त्यस्ता व्यक्ति आफूले इच्छा गरिएको वस्तु अथवा पदार्थ भोग गर्नकोलागि अन्यायपूर्वक धन-संचय गर्ने कोशिस गरिरहन्छन ।' इच्छा छ, तर धन छैन भने हामी अन्यायपूर्वक धन कमाउँछौं, अन्यायले धन कमाएपछि  हामीवाट पाप भयो । अव मिलेन त हाम्रो मनको चंचलताले  अथवा इच्छाले हामीलाई पाप गराउने कुरा ।     


यस्तै 'द्वन्द्वमोह'मा डुबेका अर्जुन हाम्रा प्रतिनिधि हुन् । गीताको अध्ययन गर्दा हामीले अर्जुनको 'गुणदोष'मा आफू कहाँ कहाँ 'फिट' र कहाँ कहाँ 'अनफिट' छौं भन्ने पत्ता लगाउन सक्नुपर्छ, 'म नै गीताको अर्जुन हुँ, यो गीता मलाई नै भनिएको हो' भन्ने सोच्नुपर्छ । कुनै उपन्यास पढेको जस्तो, अथवा कुनै  सिरियल हेरेको जस्तो गीता पढ्ने र सुन्ने विषय होइन, गीता त आफूले आफ्नो जीवनमा उतार्ने ग्रन्थ हो ।      


यो परिप्रेक्ष्यमा हामीले 'म को हुँ' विचार गर्नु पर्ने भयो । आदिगुरु शंकराचार्य 'भज गोविन्दम्'मा भन्नुहुन्छ, 'कस्त्वम् कोहं कुतः आयात का  मे जननी को मे तातः ।' अर्थ, 'म को हुँ, तिमी को हौ, तिमी हामी कहाँवाट आएको, मेरो आमा को, मेरो वावु को ।' 


अव हामी माथिको प्रश्नको उत्तर खोजौं । पहिलो प्रश्न: 'म को?'  यही प्रसंगमा अर्को प्रश्न,  यो संसारमा आउनु भन्दा पहिले मेरो अस्तित्त्व थियो कि थिएन ? उत्तर: थियो, किनकि हामी यो जन्म भन्दा पहिले नभएको भए यो जन्ममा हामी कसरी आउँथ्यौं? प्रश्न: हामी यो जन्म भन्दा पहिले भए यो जन्म भन्दा पहिले कहाँ थियौं त?  उत्तर: आमाको गर्भमा । प्रश्न: त्यो भन्दा पहिले कहाँ ? उत्तर: वावुको शरीरमा । प्रश्न: त्यो भन्दा पहिले कहाँ ? वावुले खाएको अन्नमा ।  प्रश्न: त्यो भन्दा पहिले कहाँ ? उत्तर: पृथ्वीमा । प्रश्न: त्यो भन्दा पहिले कहाँ ? उत्तर: जलमा । त्यो भन्दा पहिले कहाँ ? उत्तर: तेजमा । प्रश्न: त्यो भन्दा पहिले कहाँ ? उत्तर: वायुमा । प्रश्न: त्यो भन्दा पहिले कहाँ ? उत्तर: आकाशमा । प्रश्न: त्यो भन्दा पहिले कहाँ ? उत्तर: आत्मामा ।                



'म को हुँ' प्रश्नको जवाफ जस्तै 'तिमी को हौ ? भन्ने प्रश्नको जवाफ पनि यही भयो । त्यस्तै हाम्रा आमा वावु पनि हामी आएको आत्मावाट आएका हुन् अथवा थिए भन्ने बुझ्नु पर्यो हामीले । त्यसै गरी, हामी पनि आत्मा नै रहेछौं,  हाम्रा वावु आमा पनि आत्मा नै रहेछन । यही कुरालाई दृढ गर्नु नै हाम्रो आफूप्रतिको प्रथम र अन्तिम कर्तव्य रहेछ ।     


यस्तै अलि अलि क्लिष्ट कुरा पनि आउने हुँदा धेरैलाई वेदान्तवाट चाख हट्न सक्छ । विहान, वेलुकी पूजाकोठामा गयो, नियमित पूजा गर्यो, आफ्नो अरु अरु काम गर्यो । यसो गर्दा धेरै कुरा बुझ्न पनि नपर्ने, विचार गर्नु पनि नपर्ने । तर त भगवानले कृपा गर्नुभएकोले नै यस्तो ज्ञानको चिन्तन, मनन गर्ने अवसर हामीलाई मिलेको छ ।     


आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको 

इन्दिरा 

27. संजयले भने - संजयले भने

संजयले भने
पहिलो पत्रमा छुटेको  

श्लोक ७ 

कातरतारूपी दोषले तिरस्कृत भएको र धर्मको विषयमा अन्तःकरण मोहित भएको म  हजुरलाई मेरोलागि निश्चित कल्याण गर्ने उपाय वताइदिनु हुन अनुरोध गर्छु । म हजुरको शिष्य हुँ. हजुरको शरणमा आएको छु, मलाई उपदेश दिनुहोस ।

संजयले भने    
श्लोक ९ 
हे शत्रुतापन धृतराष्ट्र ! निद्रा जित्ने अर्जुनले अन्तर्यामी गोविन्दसँग 'म युद्ध गर्दिन' भनेर चुप भए ।   
     
श्लोक १० 

हे भरतवंशी धृतराष्ट्र ! दुवै सेनाहरुको वीचमा विषाद गरिरहेका  अर्जुन प्रति हाँसे जस्तो गरी भगवान हृषिकेशले भन्नुभयो ।    

धर्मभूमि कुरुक्षेत्रमा एकातिर कौरव-सेना खडा छ र अर्कोतिर पाण्डव -सेना । दुवै सेनाहरुको वीचमा सेता घोडाहरुले युक्त एउटा महान रथ खडा छ । त्यो रथको एकातिर भगवान कृष्ण वस्नुभएको छ अर्कोतिर अर्जुन वसेका छन् । त्यस्तो दुःखी अर्जुनलाई भगवान भन्दै हुनुहुन्छ, प्रसन्न मुद्रामा । अरु सामान्य व्यक्ति भए यो वेला अर्जुनलाई हप्काऊंथे, तर भगवानलाई थाहा छ, अर्जुन अहिले सामान्य अवस्थामा छैनन् । आफैं सामान्य अवस्थामा नभएको व्यक्तिलाई गाली गर्ने, हप्काउने काम त विवेकीले गर्दैनन् । फेरि भगवान प्रसन्न मुद्रामा हुने कारण अर्को पनि छ, उहाँ अर्जुनलाई निमित्त वनाएर मनुष्यमात्रको कल्याणकोलागि आफ्नो अलौकिक उपदेश शुरु गर्दै हुनुहुन्छ ।       

भगवानको अव हुन लागेको उपदेश सातौँ श्लोकको अर्जुनको अनुरोधको जवाफ हो । अर्जुनले लामो प्रलाप गरिरहे, भगवानले  सबै प्रलाप सुनिरहनु भयो, अर्जुनलाई सम्झाउने कुनै पनि प्रयास गर्नु भएन, किनभने अर्जुनले अहिलेसम्म आफूमा भएको कमजोरी पत्ता लगाउन सकेका थिएनन् । यही दोस्रो अध्यायको शुरुमा नै भगवानले अर्जुनलाई 'नपुंसक' भनेको र 'तिम्रो मुटू कमजोर भएछ' भन्नुभएको सन्दर्भवाट पनि अर्जुन अलि झस्के । त्यसैले सातौं श्लोकमा उनलॆ आफ्नो 'रोग'को वारे भगवानलाई वर्णन गर्दै आफूलाई मार्गदर्शन गर्न निवेदन  गरे ।  त्यसपछिको आठौँ श्लोकमा अर्जुन  फेरि आफ्नै हठमा अडिएको देखिन्छ, तर यो पाली चाहिं उनको यो हठ अलि खुकुलो भैसकेछ  । त्यसपछिका दुई श्लोक त संजयले राजा धृतराष्ट्रलाई गरेको वयान मात्रै हो ।     
अव आउने श्लोकदेखि भगवान सर्वप्रथम शरीर र शरीरीको विभागको वर्णन गर्नुहुन्छ । 

श्रीभगवान भन्नुहुन्छ 
श्लोक ११ 
तिमी शोक गर्न नपर्ने कुराको शोक गरिरहेका  छौ र विद्वत्ता (पण्डित्याँइ) का कुरा पनि गरिरहेका छौ;  प्राण गैसकेकालागि र प्राण नगैसकेकाकोलागि  पण्डितहरु शोक गर्दैनन् ।       

यो श्लोकमा भगवान अर्जुनलाइ उनको विरोधाभासपूर्ण कथन औंल्याउनु हुन्छ । अर्जुन एकातिर पण्डितको कुरा पनि गर्छन, अर्कोतिर शोक पनि गर्छन । अर्को शब्दमा अर्जुनको ज्ञान अरुलाई भन्नकोलागि मात्रै हो, आफूले व्यवहारमा ल्याउनकोलागि होइन । 

एक विभाग शरीरको छ र एक बिभाग शरीरीको छ । दुवै एक अर्कासँग विल्कुल अलग छन् । यी दुबैको स्वभाव पनि विल्कुल छुट्टै छ । एउटा (शरीर) जड छ, अर्को (शरीरी) चेतन छ । एउटा नाशवान छ, अर्को अविनाशी छ । एउटा विकारी छ, अर्को निर्विकार छ । एउटामा निरन्तर परिवर्तन भैरहन्छ, अर्को अनन्तकालसम्म जस्ता-को-तस्तो रहन्छ । 

शरीर र शरीरी दुबै हामीले शोक गर्नु नपर्ने छन्। शरीरको निरन्तर विनाश भै रहेछ, त्यसकोलागि के शोक गर्नु, शरीरीको विनाश कहिले पनि हुँदैन, त्यसको लागि पनि के शोक गर्नु ? हामीलाई खालि हाम्रो मूर्खताले शोक  हुने हो । शरीर हामीवाट निरन्तर छुटिरहेछ र शरीरी सबैलाई सँधै प्राप्त नै छ । भगवान अनुसार हामीले हामीसंग सँधै नरहने शरीरलाई सँधै रहोस् भन्ने ठान्यौं, र सँधै हामीसँग रहने, हामीवाट कहिले पनि नछुट्ने आत्मालाइ महत्त्व दिएनौं । अर्को शब्दमा, शरीर र शरीरीको यस्तो विभागलाई हामीले राम्रोसँग बुझेनौं । त्यसैले, भगवान भन्नुहुन्छ, विवेकी मनुष्य मरेको अथवा वांची रहेको, कुनै पनि प्राणीकोलागि कहिले पनि शोक गर्दैनन् । किनभने, उनीहरुको दृष्टिमा वदलिने शरीरको बिभाग नै छुट्टै छ, नवदलिने शरीरी अर्थात् स्वरूपको सत्ताको विभाग नै छुट्टै छ ।         

गीताको उपदेश शरीर र शरीरीको भेदवाट शुरु हुन्छ । गीता सबैको अनुभवलाई मान्यता दिएर देह-देही, शरीर-शरीरीको वर्णन गर्छ । अरु अरु ग्रन्थले आत्मालाई अरु अरु नाम दिएका छन् । सज्जनहरु भन्छन, गीताको विलक्षणता नै यही हो । हामीले आफ्नो कल्याण चाहने हो भने सबभन्दा पहिले  यो जान्नु पर्यो, 'म को हुँ' । यही सन्दर्भमा अर्जुन पनि आफ्नो कल्याण चाहन्छन, त्यसैले सोध्छन--'यच्छ्रेय: स्यान्निश्चितम्  ब्रूहि तन्मे ' ।  देह र देहीको भेद हामीले स्वीकार गर्नै पर्छ । जवसम्म 'म देह हुँ' भन्ने भाव रहन्छ, तवसम्म हामी जति नै उपदेश सुनिरहौं, सुनाइ रहौं, साधन पनि गरिरहौं, हाम्रो कल्याण हुँदैन ।        

अव अलि क्लिष्ट र सुनौं, सुनौं नलाग्ने विषय आउन लागेको छ । यहाँ नै रोकिनु उचित होला । 

हजुरहरुको 

इन्दिरा