Saturday 19 April 2014

40. No. 11 श्लोक १५ किनकि हे पुरुषहरुमा श्रेष्ठ अर्जुन !

No. 11  

श्लोक १५ 

किनकि हे पुरुषहरुमा श्रेष्ठ अर्जुन ! सुख-दुःखमा सम रहने बुद्धिमान मनुष्यलाई यी 'मात्रास्पर्श' (पदार्थहरु) विचलित (सुखी-दुःखी) गर्दैनन् । यस्तो मनुष्य अमर हुन समर्थ हुन्छ, अर्थात् त्यो मनुष्य अमर हुन्छ ।     

स्वरूप सत्तारूप हो । सत्तामा कुनै दुःख छैन । शरीरमा आफ्नो स्थिति मान्दा, शरीरलाई 'म,मेरो' मान्दा नै दुःख हुने हो । त्यसैले शरीरलाई आफू मान्ने व्यक्ति कहिले पनि व्यथारहित हुन सक्तैन । व्यथारहित हुनुको अर्थ, आफूलाई प्रिय लागेको पाउँदा 'हर्षित' नहुने र आफूलाई अप्रिय लागेको पाउँदा 'उद्विग्न' नहुने । व्यथारहित  भएपछि मनुष्यको बुद्धि स्थिर हुन्छ । यही 'व्यथारहित' हुने कुरालाई लिएर गीता भन्छ:    

'न प्रह्रिष्येत्प्रियं प्राप्य नोद्विजेत्प्राप्य चाप्रियम् । स्थिरबुद्धिरसम्मूढो ब्रह्मविद् ब्रह्मणि स्थित: ।।         

अर्थ, 'जसको अन्तःकरण समतामा स्थित छ, तिनले यो जीवित अवस्थामा नै सम्पूर्ण संसार जितेका हुन्छन् अर्थात् त्यस्ता व्यक्ति जीवन्मुक्त हुन्छन्, किनभने ब्रह्म निर्दोष र सम छ, त्यसैले उनीहरु ब्रह्ममा नै स्थित छन् ।'   

अव कुरो आयो, यो 'समता' के हो ?

सम भनेको परमात्माको अर्को नाम हो । समतामा स्थित भएको भन्नु र परमात्मामा स्थित भएको भन्नु एकै कुरा हो । समतामा स्थित मान्छेले सर्वत्र परमात्माको अनुभव गरेको हुन्छ: त्यसैले उसले गर्ने हरेक कृयाकलापमा उसको ध्यान परमात्मामा हुन्छ । यही सन्दर्भमा, गीता भन्छ:  

'विद्यविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि । शुनि चैव श्वपाके च पण्डिताः समदर्शिन: ।   

अर्थ, 'ज्ञानी महापुरुष विद्या-विनययुक्त ब्राह्मणमा र चाण्डाल तथा गाइ, हात्ती र कुकुरमा पनि समरूप परमात्मालाई देख्छ ।'   

ब्राह्मण, चाण्डाल, गाई, हात्ती र कुकुर--यी सबै हरदम वदलिइरहेका छन् र अभावमा गैरहेछन्, तर तिनीहरुमा रहेको भावस्वरूप जुन सत्-तत्त्व छ , त्यो कहिले पनि वदलिंदैन, जस्ता-को-तस्तो रहन्छ । ज्ञानीहरू त्यही सत्-तत्त्वलाई नै  देख्छन् । जसरी एउटा कमिलाले वालुवामा मिसिएको चिनीको दाना समातेर निकाल्छ, त्यस्तै ज्ञानीहरुको विवेकवती सूक्ष्म दृष्टि असत् संसारमा व्याप्त सत् तत्त्व समात्छ । अर्थात्, ब्राह्मण होस् या चाण्डाल, गाई होस् या कुकुर, हात्ती होस् या कमिला, विषमभन्दा विषम प्राणीहरुमा पनि उनीहरुको दृष्टि सम नै रहन्छ । व्यवहार विषम (यथायोग्य) हुँदा पनि उनीहरुको दृष्टि कहिले विषम हुँदैन ।  गीताको दोस्रो अध्याय विशुद्ध ज्ञानयोग भएकोले यो कुरा बुझ्न यसको निरन्तर मनन अनिवार्य जस्तै देखिन्छ । यसपछिका अरु अध्यायका विषयहरु पनि यही अध्यायको नै वरिपरि घुम्ने हुनाले यो अध्यायले विशेष राख्छ । 

यही सन्दर्भमा एउटा कथा:
एउटा राजाका मदालसा नाम गरेकी रानी थिइन् । ती मदालसा आफ्नो  छोरालाई वेदान्तको शिक्षा दिन्थिन् । उनले त्यो वालक सुताउन गाउने गीत यस्तो थियो:    

'शुद्धोसि बुद्धोसि निरन्जनोसि संसार माया परिवर्जितोसि, संसार स्वप्ना त्यज मोह निद्रा.....'   

अर्थ, हे बाबु ! तिमी शुद्ध छौ, तिमी बुद्ध छौ, तिमी निरन्जन छौ, तिमीमा कुनै पनि मैलो  छैन, कुनै पनि अशुद्धता छैन, संसारको मायाले तिमीलाई छुन पनि सक्तैन । (यो कुरा मदालसाले स्वयंलाई  लिएर भनेकी हुन्) ।     यो संसार स्वप्ना हो, यसमा किन्चित्मात्र पनि सत्यता छैन । यो संसारलाई सत्य त मोहले देखिने हो, त्यसैले तिमीले यस्तो मोह छोड ।'             

यसरी हुर्काउँदा उनले अरु कति शास्त्रीय कुराहरु आफ्नो छोरालाई सिकाइन् होला । त्यो राजकुमार ठूलो भएपछि 'म राज्य गर्दिन' भनेर घरवाट हिंडेर संन्यासी भयो । त्यसपछि दोस्रो छोरालाई त्यही अर्ति उपदेश दिंदा दिंदा त्यो राजकुमार पनि सन्यासी हुनलाई घर छोड्यो । त्यही प्रकारले तेस्रो छोरो पनि जोगी हुन घरवाट हिंड्यो । त्यसपछि चौथो वच्चा जन्मने वेलामा राजाले ती मदालसालाई भने, 'हेर महारानी ! तिम्रो अर्ति उपदेशले तीनोटा राजकुमारहरु वनवास गइसके, अव यो वच्चालाई तिमी यस्तो अर्ति उपदेश नदेऊ, यो वच्चाले  हाम्रो राज्य चलाउनु पर्छ ।'

मदालसाले राजाको आज्ञा मानेर त्यो कान्छो छोरोलाई  केही पनि सिकाइनन् । एक त राजाको छोरा, त्यसमाथि कुनै संस्कार नपाएपछि त्यो राजकुमार भोगी, विलासी भयो । यस्तो देखेर मदालसाले आफ्नो मृत्यु हुनु भन्दा केही समय अघि त्यो राजकुमारलाई एउटा बूटीमा केही लेखेर उसको घाँटीमा झुन्ड्याउन लगाइन् र भनिन्, 'हे वाबु, तिमीलाई अत्यन्त दुःख परेको वेलामा तिमीले यो बूटी खोलेर हेर्नु र त्यही अनुसार गर्नु' ।           

मदालसाको निधन भयो, यही क्रममा वावु पनि मरेकोले त्यो राजकुमार राजा भयो । उसको विलासिता पनि झन् झन् बढ्दै गयो । त्यसै वीच त्यो राजकुमारको पहिले नै सन्यासी भएर घर छोडेर हिंडेको दाजुलाई आफ्नो  भाइ विग्रेको देखेर नराम्रो लाग्यो । उनले आफ्ना चेला काशीका राजालाई आफ्नो भाइको राज्यमा हमला गर्न आदेश दिए । आफ्नो गुरुको आज्ञा मानेर काशीका राजाले पनि राजकुमारको राज्यमा हमला गरे । राजकुमार यसै त व्यसनी थियो, उसले आफ्नो राज्य हार्ने नै थियो, हार्यो । यो घटनाले त्यो राजकुमार अत्यन्त चिन्तित भयो । उसले इनारमा हाम्फालेर मर्ने इच्छा गर्यो । त्यही वेला उसले आफ्नो घाँटीको बूटी देख्यो । उसले आफ्नो आमाको आज्ञा सम्झेर त्यो बूटी खोल्यो, जसमा लेखिएको थियो, 'तिमी आफ्नो संन्यासी  दाजुकहाँ जाऊ' । 

त्यो राजकुमार पनि सोही अनुसार त्यो संन्यासी दाजुकहाँ गयो । ती संन्यासीले आफ्नो भाइलाई वेदान्तको ज्ञान सुनाए, भाइलाई सबै कुराको ज्ञान भयो, उसको मोह हरायो । त्यसपछि ती संन्यासीले आफ्ना भाइलाई भने, 'अव तिमी आफ्नो राज्यमा जाऊ र राज्य गर।' त्यही वेला ती  भाइ राजाले भने, 'मेरो राज्य त मैले हारिसकें, मेरो राज्य कहाँ छ र ?'  आफ्नो गुरुको आज्ञा अनुसार काशीका राजाले आफूले जितेको राज्य  फिर्ता दिए र ती सुधारिएका राजाले पनि ज्ञानपूर्वक, विवेकपूर्वक राज्य गरे ।              

यसवाट हामीलाई थाहा हुन्छ, एउटा कुलमा कोही व्यक्ति ज्ञानी भयो भने उसले आफ्नो कुलकालाई र  अरु आफ्ना वरिपरिकलाई पनि सपार्छ ।  अर्को कुरा, यो संसारमा कर्म गर्न भनौं या व्यवहार गर्न, हामीलाई ज्ञानकै आवश्यकता पर्ने रहेछ, नभए त हाम्रो यो लोक पनि विग्रने रहेछ, परलोक पनि विग्रने रहेछ । 

हस् त हजुर, आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको 

इन्दिरा 

Songs from Hajurmas Cassette Collection: Sukha needa ma behosi


39. No. 10 चौधौं श्लोकको नै विस्तार:

No. 10  

चौधौं श्लोकको नै विस्तार:

यहाँ 'शीत' शब्द अनुकूलता र 'उष्ण' शब्द प्रतिकूलताको वाचक हो । तात्पर्य, धेरै जाडो हुँदा पनि वृक्ष (रुख) सुक्छ, धेरै गर्मी हुँदा पनि वृक्ष (रुख) सुक्छ, त्यसैले परिणाममा जाडो र गर्मी दुबैले वृक्षलाई सुकाउने नै हो, दुबैले गर्ने काम (नाश) नै हो । त्यस्तै, अनुकूलता र प्रतिकूलता पनि एकै हुन् । यदि हामी आफ्नो जीवनमा आइ पर्ने अनुकूलता र प्रतिकूलताको प्रभाववाट वच्न सक्तैनौं भने हामीलाई शोक, भय र चिन्ताले सताउने तथ्य अवश्यम्भावी छ । यही कारण भगवान यी दुबैलाई सहनु पर्ने कुरा, यी दुवैवाट माथि उठ्ने कुरा गर्नुहुन्छ, अर्जुनलाई ।

सुख-दुःख हर्ष-शोक, राग-द्वेष, काम-क्रोध आदि आउने-जाने, वदलिने स्वभावका छन्, तर स्वयं (स्वरूप) जस्ता-को-तस्तो रहने स्वभावको छ । हामीवाट  ठूलो गल्ति यही भइरहेछ, हामी वदलिने दशा हेर्छौं, तर स्वयंलाइ हेर्दैनौं । दशालाई स्वीकार गर्छौँ, तर स्वयंलाइ स्वीकार गर्दैनौं । दश पहिले पनि थिएन र पछि पनि रहँदैन, अतः वीचमा देखिंदा पनि त्यो (दशा) छँदै छैन । तर स्वयंमा आदि, अन्त र मध्य छँदै छैन । दशा कहिले पनि एकरूप रहँदैन र स्वयं कहिले अनेकरुप हुँदै हुँदैन । जे देखिन्छ, त्यो पनि दशा हो र जुन देख्ने बुद्धि हो, त्यो पनि दशा हो । जान्नमा आउने पनि दशा हो र जान्ने पनि दशा हो । स्वयंमा न देखिने छ, न देख्ने छ, न जान्नमा आउने छ, न त जान्ने नै छ । यी देख्ने-देखिने आदि सबै दशाकै अन्तर्गत हुन ।  देखिने-देख्ने त रहँदैनन्, तर स्वयं रहन्छ; किनकि दशा त मेटिन्छ, तर स्वयं रहिरहन्छ । तात्पर्य, 'देखिने' (दृश्य)सँग सम्बन्ध हुँदा नै स्वयं 'देख्ने' लाइ (द्रष्टा) भनिन्छ । यदि 'देखिने'सँग सम्बन्ध नै नरहे स्वयं त रहन्छ, तर उसको नाम 'देख्ने' (द्रष्टा) रहँदैन । यस्तै, यस्तै 'शरीर'सँग सम्बन्ध भएकोले नै स्वयं (चिन्मय सत्ता) 'शरीरी' भनिन्छ । यदि 'शरीर'सँग सम्बन्ध नरहे स्वयं त रहन्छ, तर उसको नाम 'शरीरी' रहँदैन । भगवानले केवल मनुष्यलाई सम्झाउनकोलागि नै 'शरीरी' भन्नुभएको हो ।                          

वेदान्तको 'सार' नै यही हो ।

विडम्बना यसैमा छ, स्वयंको सत्ता नभई दशा हुनै सक्तैन, कोठामा उज्यालो नभई कोठाका वस्तु देख्नै सकिंदैनन्, हाम्रा इन्द्रियहरुमा स्वयंको  प्रकाश नभई यिनीहरु कुनै काम नै गर्न सक्तैनन्, त्यो सत्ताको प्रकाश विना हाम्रो मनले केही सोच्नै सक्तैन, त्यही सत्तावाट सत्तावान्  भएर नै हाम्रो बुद्धिले निश्चय गरिरहेछ, त्यति मात्र होइन, त्यही सत्तावाट नै समस्त जगत् चलिरहेको छ । तर, हामी त्यो स्वयंलाई, त्यो प्रकाशलाई, त्यो सत्तालाई स्वीकार्दैनौं, तर जुन सत्तावाट हाम्रो शरीर सहित यो समस्त सृष्टि चलि रहेको छ, त्यो शरीर र सृष्टिलाई स्वीकार्छौं । अर्को शब्दमा, हामी 'द्रष्टा'लाई  स्वीकार्दैनौं, 'दृश्य'लाई स्वीकार्छौं, कारणलाई स्वीकार गर्दैनौं, कार्यलाई स्वीकार गर्छौं । 
 
हामीले गरेको यस्तो भूल सच्च्याउने जिम्मेवारी पनि हाम्रै हो । त्यो भूल सच्च्याउन केही गर्नु पर्दैन, यति मात्रै गरे पुग्छ, जेलाई अहिलेसम्म स्वीकारिरहिएको थियो, त्यसलाई अवदेखि, अझ अहिलेदेखि नै नस्वीकार्ने, जेलाई स्वीकारिएको थिएन, त्यसलाई अवदेखि, अझ अहिलेदेखि नै स्वीकार्ने । अर्थात् अहिलेसम्म 'म, मेरो' भनिरहेको शरीरलाई म, मेरो भन्न छोडिदिने र अहिलेसम्म 'म' नभनेको स्वयंलाई म भन्ने वानी वसाल्ने । महात्माहरु भन्नुहुन्छ, हामीवाट हुने सबभन्दा ठूलो 'पाप' आफ्नो 'स्वरूप'लाइ नचिन्नु नै हो ।                        

अव प्रश्न आउँछ, हामीलाई त्यस्तो के प्रतिवन्ध छ, जसले गर्दा हामीले परमात्मालाई म नभनेर, संसारलाई म भनिरहेका छौं ? त्यसको एक मात्र कारण, शास्त्र भन्छ, हाम्रो अज्ञान नै हो । अज्ञानको उत्पत्ति रजोगुणवाट  हुन्छ । यो गुणले हामीलाई सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो देखाइदिन्छ । हामी मध्ये धेरैले वेदान्तको सबै भन्दा धेरै प्रचलित 'डोरी र सर्प'को प्रसंग थाहा पाएकै हुनुपर्छ ।      

कल्पना गरौँ, अष्टमीको रात छ, यो वेला पुर्णिमाको ज्योत्स्ना पनि छैन, औसीको वाक्लो अन्धकार पनि छैन । यही पूर्णिमाको रातमा हामी कतै गैरहेका छौं, अचानक वीच वाटोमा हामी सर्प देख्छौं, त्यो देखेर हामी डराउँछौं, रुन्छौँ, कराउँछौं, जमीनमा पछारिन्छौँ, हात खुट्टा पनि भाँच्छौं । यही समयमा कोही व्यक्ति हामी कराएको सुनेर घटनास्थलमा आउँछ, उसले आफ्नो हातमा रहेको 'torch light' वाल्छ, त्यो ठाउँ उज्ज्यालो हुन्छ । त्यसपछि  हामीलाइ थाहा हुन्छ, अष्टमीको आधा उज्यालो र आधा अँध्यारोमा त हामीले सत्य ठानेको 'सर्प' त एक फिट लामो, गुजुल्टिएको एउटा डोरी रहेछ । त्यो दृश्य देखेपछि हामी शान्त हुन्छौं, हामी रुन, कराउन त छोड्छौं, तर हामीलाई लागेको चोट पटक त केही समयसम्म रही नै रहन्छ ।           

अव हामी विचार गरौँ, यो के भएको त ?  अष्टमीको रातको समाधान: यो रातमा पूरै उज्ज्यालो पनि छैन, पूरै अँध्यारो पनि छैन । यदि पूर्णिमाको रात भएको भए पूरा उज्यालो हुन्थ्यो, हामी डोरीलाई डोरी नै देख्थ्यौं,  डोरीलाई सर्प मान्ने 'भ्रम' हुने थिएन, यदि औंसीको नै रात भएको भए पनि हामी केही पनि देख्दैनथ्यौं, हामीलाई भ्रम हुने थिएन, हाम्रो हात खुट्टा भाँचिने थिएन । यही भ्रमलाई नै 'मिथ्याज्ञान', अर्थात् 'अज्ञान मिसिएको ज्ञान' अर्थात् 'अपूर्ण ज्ञान' भन्छन्  । अहिले हाम्रो हालत त्यही छ, आफूले आफूलाई जानेको जस्तो पनि ठान्छौं, वेला वेलामा आफूमा नै अपूर्णताको अनुभव पनि गर्छौं । 'सबै भन्छन् म पागल, यस्तै छ मेरो हाल' ।    

38. No. 9 श्लोक १४ हे कुन्तिनन्दन !

No. 9 

श्लोक १४ 
हे कुन्तिनन्दन ! इन्द्रियहरुका विषय (जड पदार्थ) त शीत (अनुकूलता) र उष्ण (प्रतिकूलता) द्वारा सुख र दुःख दिने खालका हुन् तथा आउने-जाने खालका हुन् । हे भरतवंशी अर्जुन ! तिमी तिनीहरुको सहन गर ।    

जस्तो शरीर कहिले पनि एकरूप रहँदैन, प्रतिक्षण वदलिई रहन्छ, त्यस्तै हाम्रो इन्द्रिय-मन-बुद्धिद्वारा जसको ज्ञान हुन्छ, ती सम्पूर्ण सांसारिक पदार्थहरु (समस्त प्रकृति र प्रकृतिको कार्य) कहिले पनि एकरूप रहँदैनन्  । ती प्रकृतिका पदार्थहरुको निरन्तर संयोग र वियोग भैरहन्छ । यही परिप्रेक्षमा हाम्रो शरीर पनि प्रकृतिको नै कार्य हो । किनभने हाम्रो शरीर, इन्द्रियहरु, मन-बुद्धि पंचमहाभूतका कार्य हुन् । भगवान गीताको सातौँ अध्यायमा भन्नुहुन्छ,   

'भूमिरापोनालो वायु: खं मनो बुद्धिरेव च । अहंकार इतीयं मे भिन्ना प्रक्रितिरष्टधा ।'  
अर्थ, 'पृथ्वी, जल, तेज, वायु, आकाश (यी पाँच महाभूत) र मन, बुद्धि तथा अहंकार--यी आठ प्रकार भेद भएको मेरो 'अपरा प्रकृति' हो ।  

अहिले सम्म हाम्रो मूल गल्ति नै यसैमा छ, पंच महाभूतवाट वनेका शरीर, इन्द्रियहरु, मन, बुद्धिलाई 'म, मेरो' भन्नु । अहिले मात्रै भनिरहिएको हैन, अझ भविष्यमा पनि कति भनिने हो ! भगवान शंकराचार्य भन्नुहुन्छ,     

'पुनरपि जननं पुनरपि मरणम्, पुनरपि जननिजठरे शयनम् । इह संसारे खलु दुस्तारे, कृपयापारे पाहि मुरारे ।।  भजo      

अर्थ, 'हे मूढमते ! अनादिकालदेखि तिमीले वारम्वार असंख्य जन्म लिइसक्यौ, अर्थात् तिमीले अनेक ऊँच नीच शरीर धारण गरिसक्यौ । असंख्य चोटी फेरि फेरि त्यही भयङ्कर मृत्यु पायौ, असंख्य माताहरुको दुर्गन्धमय कष्टकर उदरहरुमा सुत्यौ, अर्थात्, तिमीले यो असार संसारको जन्म मरण एवं गर्भशयनरूपी चक्रमा असंख्य चोटी फँसेर महाकष्ट उठायौ । हे मूढ ! अव त तिमी यो संसार-चक्रदेखि उठ्नकोलागि मुरारि भगवानसँग प्रार्थना गर, 'हे मुरारि प्रभु ! यो दुस्तर अपार संसारवाट मेरो उद्धार गर्नुहोस, मेरो शरण केवल हजुर मात्रै हुनुहुन्छ' । यसरी  हरदम ती कृपानिधि गोविन्द भगवानको एकाग्र मनले भजन गर ।'            

हामीलाई मन परेको पदार्थ पाउँदा हामीलाई खुशी लाग्छ, ती पदार्थ सँधै रहिरहून् भन्ने पनि  हामी चाहन्छौं,  ती पदार्थको वियोगले हामी दुःखी हुन्छौं । तर जुन पदार्थलाई हामी चाहँदैनौं, ती पदार्थ छुट्दा हामीलाई सुख हुन्छ र मिल्दा दुःख हुन्छ । किनकि पदार्थ पनि आउने-जाने र अनित्य छन् । यस्तै, यस्तै, जेवाट हामीलाई पदार्थको ज्ञान हुन्छ, ती इन्द्रियहरु र अन्तःकरण पनि आउने-जाने र अनित्य छन्, र पदार्थहरुवाट हुने सुख दुःख पनि आउने-जाने तथा अनित्य छन् । परन्तु स्वयं जस्ता-को-तस्तो रहने र निर्विकार तथा नित्य छ । यसैले ती पदार्थ र तिनवाट हुने सुख-दुःखलाइ सहनुपर्छ अर्थात् तिनीहरुसँगको संयोग र वियोगलाइ लिएर सुखी-दुःखी हुनुहुँदैन, केवल निर्विकार रहनुपर्छ । सुख र दुःख दुवै अलग-अलग हुन्छन्, तर तिनीहरुलाई 'देख्ने' एक नै हुन्छ र ती दुबैवाट अलग (निर्विकार) हुन्छ । परिवर्तनशीललाई  असंग भएर देखेपछि स्वयं (स्वरूप) को अपरिवर्तनशीलताको अनुभव स्वतः हुन्छ ।              

मलाई यो अवस्थामा राखेर यसरी हजुरहरुलाई दुइ शब्द लेख्ने क्षमता दिने (शरीर दृष्टिले हेर्दा) मेरा माता -पिताको शिक्षा- दीक्षा र मेरा  मित्रवत् पतिसँगको निरन्तर साहचर्य र मेरो गुरुजीको उपदेश हो, र (पारमार्थिक दृष्टिले हेर्दा) सर्वव्यापक परमात्मा नै हो । हरि: ओं श्री गुरुभ्यो नमः हरिः ओं श्री गुरुभ्यो नमः ।    

हस् त, आजलाई यत्ति, अरुपछि ।

हजुरहरुको 

इन्दिरा 

Wednesday 16 April 2014

37. No. 8 तेर्ह्रौं श्लोकको नै व्याख्या :

No. 8

तेर्ह्रौं श्लोकको नै व्याख्या :

जीव आफ्नो कर्मको फल भोग्नको अनेक योनिहरुमा जान्छ, नरकमा जान्छ, स्वर्गमा पनि जान्छ । यही कथनवाट सिद्ध हुन्छ कि चौरासी लाख योनिहरु छुटछन्, स्वर्ग र नरक पनि छुटछन्, तर स्वयम् (शरीरी) उही रहन्छ । योनिहरु (शरीर) वदलिन्छन, जीव (शरीरी) वदलिंदैन । जीव एक नै रहन्छ, त्यही भएर नै ऊ अनेक योनिहरुमा, अनेक लोकहरुमा जान्छ । जो अनेक योनिहरुमा जान्छ, ऊ स्वयम् कसैसँग लिप्त हुँदैन, कहीं पनि फँस्दैन । यदि ऊ लिप्त हुने भए, फँस्ने भए चौरासी लाख योनिहरु कसले भोग्ने ? स्वर्ग र नरकमा को जाने ? मुक्त को हुने ?

जन्मने र मर्ने हाम्रो धर्म होइन, शरीरको धर्म हो । हाम्रो आयु अनादि र अनन्त छ । यो आयु अन्तर्गत अनेक शरीरहरु उत्पन्न हुन्छन, र मरिरहन्छन । जस्तो हामी अनेक वस्त्र वदलिरहन्छौं, तर वस्त्र वदल्दा पनि हामी वदलिंदैनौ, उहीको उही रहन्छौं । त्यस्तै, अनेक योनिहरुमा जाँदा पनि हाम्रो सत्ता नित्य-निरन्तर जस्ताको तस्तो रहन्छ । भन्न खोजिएको कुरा, हाम्रो स्वतन्त्रता र असंगता स्वतःसिद्ध छ । हाम्रो जीवन कुनै एक शरीरको मात्र अधीन छैन । असंग भएको कारणले नै हामी अनेक शरीरहरुमा जाँदा पनि उहीको उही रहन्छौं, तर शरीरसँग सम्बन्ध मानेको कारण हामी फेरि फेरि अनेक शरीरहरू धारण गरिरहन्छौं । हामीले मानेको सम्बन्ध अडदैन, तर हामी अझ नयाँ नयाँ सम्बन्ध वनाइरहन्छौं । यदि हामी नयाँ नयाँ सम्बन्ध वनाउदैनौं भने हाम्रो मुक्ति (स्वाधीनता) स्वतःसिद्ध छ ।

गीताको यो अध्यायको नाम नै ' सांख्ययोग' हो । भनिन्छ, भगवानले सबभन्दा पहिले अर्जुनलाई सांख्ययोग (ज्ञानयोग) को उपदेश गर्नुभयो । तर उपदेश दिने क्रममा अन्तर्यामी प्रभुले अर्जुनले यो ज्ञान बुझ्न नसकेको जस्तो लागेर उहाँले यही अध्यायमा नै 'बुद्धियोग', कर्मयोगको पनि व्याख्या गर्नुभयो । तर वीच वीचमा उहांले ज्ञानयोगको प्रशंसा पनि गर्नुभयो । अर्जुनले दोस्रो अध्यायमा वर्णित ज्ञानयोग बुझ्न सकेको भए गीता दोस्रो अध्यायमा नै समाप्त भइसक्थ्यो । त्यसैले, शास्त्रमा श्रोताको श्रेणीको वारेमा पनि चर्चा भएको छ ।

कठोपनिषदमा वर्णित नचिकेतालाई 'उत्तम' श्रोताको रूपमा लिनुपर्छ, अर्जुन 'मध्यम' श्रोताको दर्जामा पर्छन । यो कुराको पुष्टिकोलागि एउटा प्रसंग निवेदन गरिहालौं ।

महाभारतको युद्धको अवसरमा अर्जुनले भगवानवाट गीताको उपदेश सुने । त्यो वेला उनले भगवानसँग भने:

'नष्टो मोह: स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत । स्थितोस्मि गतसन्देह: करिष्ये वचनं तव ।।

अर्थ,'हे अच्युत! हजुरको कृपाले मेरो मोह नष्ट भयो र मैले स्मृति प्राप्त गरें ।
अहिले म सन्देहरहित भएको छु, अव म हजुरको आज्ञा पालन गर्छु ।'

त्यसपछि भगवानको उपदेश अनुसार अर्जुनले युद्ध गरे र युद्ध जिते पनि । केही वर्षपछि भगवान वासुदेवसँग कुनै प्रसंगमा अर्जुनले भने: 'हे कृष्ण ! हजुरले मलाई महाभारतको युद्ध हुनु भन्दा केही समय अगाडि गीतोपदेश गर्नुभएको थियो । अहिले म त्यो गीताको ज्ञान सम्झन्न । कृपा गरेर मलाई त्यो गीताको उपदेश फेरि गर्नु होस् ।'

अर्जुनको यस्तो वचन सुनेर भगवानले भन्नुभयो: 'हे अर्जुन ! त्यति खेर मैले तिमीलाई त्यो ज्ञान भनेको वेला म 'योग'मा आरूढ़ (त्यसैले संजयले भगवानलाई गीताको अन्तिम श्लोकमा 'योगेश्वर' भनेर सम्बोधन गरेका छन्) भएको थिएँ । तिमीलाई म अव त्यो ज्ञान फेरि भन्न सक्तिन ।' त्यसपछि उहाँले 'केही त भन्नै पर्यो' भन्ने लागेर अर्जुनलाई 'अनुगीता' सुनाउनु भयो । तर भगवदगीताको जस्तो ज्ञान अनुगीतामा छैन भनिन्छ ।

अव हामी विचार गरौँ, के भयो त अर्जुनलाई ?

अर्जुनले भगवानलाई आफ्नो मोह नष्ट भएको कुरा पनि गरे, त्यही अनुरूप युद्ध पनि गरे । तर उनको मोह छोटो समयकोलागि मात्रै हटेको रहेछ । किनकि अर्जुन महाभारतको युद्धपछि युधिष्ठिरले राज्य गर्दा त्यो राजकाजमा नै अलमलिए, आफूले पाएको गीताको उपदेशतिर उनको ध्यानै गएन । कालान्तरमा उनले आफूले केही समय अघि पाएको ज्ञान विर्से, फेरि सुन्न इच्छा गर्दा त्यो अवसर पाएनन् उनले ।

युद्धपछि पनि अर्जुनले आफूले पाएको त्यत्रो वहुमूल्य ज्ञानको श्रवण, मनन र निदिध्यासन गरिरहनु पर्थ्यो, त्यो नगरेको भएर उनले जानेको ज्ञान लोप भयो । कतै हामीले आर्जन गरेको ज्ञान पनि त्यस्तै भइरहेको त छैन ?

यही क्रममा गीताको चौथो अध्यायमा वर्णन भएको वेदान्तमा आवश्यक तीन साधनको पनि वयान गरौँ न त ।

'श्रद्धावाँल्लभते ज्ञानम् तत्पर: संयतेंद्रिय: । ज्ञानं लब्ध्वा परां शान्ति मचिराणेधिगच्छति ।।

अर्थ, जितेन्द्रिय तथा साधनपरायण र श्रद्धावान मनुष्य ज्ञान पाउँछ ज्ञान पाएर ऊ तत्काल परम शान्ति पाउँछ ।'

अर्थात्, वेदान्तको अधिकारी हुन हामीले श्रद्धावान हुनु पर्यो, तत्पर (साधनपरायण) हुनु पर्यो, र आफ्नो इन्द्रियहरु वशमा गर्न सक्ने हुनु पर्यो । यस्तो विचार गर्दा हामीलाई थाहा हुन्छ, हामीले गर्नु परेको 'साधन'वारे वारम्वार 'पुनरावृत्ति' भइरहेछ । वास्तवमा साधकलाई पुनरावृत्ति गराउने नै उद्देश्य हो शास्त्रको । त्यसो भए मात्रै त्यो विषय हाम्रो बुद्धिमा स्थिर रहन्छ ।




आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको

इन्दिरा

Song from Hajurma's Cassette Collection: Rachana Timro Apar Bhagwan

36. No. 7 श्लोक १३ जस्तो यो मनुष्य शरीरमा वालकपन, जवानी र वृद्धावस्था हुन्छ, त्यस्तै अर्को शरीरको पनि प्राप्ति हुन्छ ।


No. 7
श्लोक १३


जस्तो यो मनुष्य शरीरमा वालकपन, जवानी र वृद्धावस्था हुन्छ, त्यस्तै अर्को शरीरको पनि प्राप्ति हुन्छ । यस्तो विषयमा धीर मनुष्य शोक गर्दैनन् ।

यो श्लोक पनि पहिलेकै दुइ श्लोकको विस्तार हो । यसमा भनिएको छ, शरीर कहिले पनि एकरूप रहँदैन, अर्थात् यो शरीरलाई एक चोटी देखेपछि अर्को चोटी देख्दा (एक सेकेन्डको मात्रै अन्तर भए पनि) उही रूपमा देख्न सकिंदैन, किनकि शरीरको प्रतिक्षण नाश भैरहेको छ । तर सत्ता कहिले पनि, कुनै वेला पनि, अनेकरुप हुँदै हुँदैन, किनभने यसको कहिले पनि, कुनै वेला पनि नाश छैन ।

शरीर जन्म भन्दा पहिले पनि थिएन, मरेपछि पनि रहँदैन र वर्तमानमा पनि प्रतिक्षण मरिरहेको छ । वाल्यावस्था मर्छ, युवावस्था आउँछ, युवावस्था मर्छ, वृद्धावस्था आउँछ, वृद्धावस्था मर्छ, देहान्तर अवस्था आउँछ, अर्थात् अर्को शरीरको प्राप्ति हुन्छ । वाल अवस्था, युवा अवस्था र वृद्धावस्था स्थूल शरीरको हो र देहान्तरको प्राप्ति सूक्ष्म शरीर तथा कारण शरीरको हो । परन्तु स्वरूपको चिन्मय सत्ता यी सबै अवस्था हरु भन्दा अतीत छ । अवस्थाहरु वदलिन्छन, तर स्वरूप चाहिं उही को उही नै रहन्छ । यस्तो किसिमले शरीर-बिभाग र सत्ता-विभागलाई छुट्ट्याउन जान्ने पुरुष नै तत्त्वज्ञ हो । त्यस्तो तत्त्वज्ञ पुरुष कहिले पनि, कुनै पनि अवस्थामा मोहित हुँदैन ।

हामीलाई हुने मोह नै शरीरलाई विनाशी मान्न नसकेर हो । जुनसुकै वस्तुलाई पनि जस्ताको तस्तो स्वीकार गर्न सक्नु पर्यो हामीले । शास्त्र भन्छ, विनाशी शरीरलाई विनाशी मान, अविनाशी शरीरी (आत्मा)लाई अविनाशी मान, यसमा प्रयत्न नै के गर्नु पर्यो र ! हामीलाई चिन्ता, शोक र भय हुनाको कारण नै जुन वस्तुको स्वभाव जे जस्तो हो, त्यसलाई त्यस्तो मान्न नसक्नु । त्यसको कारण एक मात्र अज्ञान नै हो भन्छ शास्त्र ।

शरीर मर्ने भन्ने कुरा पहिलो पटक सुन्दा हामीलाई डर जस्तो पनि लाग्छ, सुनी नै हाले पनि भित्रदेखि नै पत्याउन मन लाग्दैन । यो सत्य हामीले नदेखेको पनि होइन, आफ्नै आँखाले देखिरहेका छौं, क्षण क्षण । राजकुमार सिद्धार्थलाइ यही कुरो देखाएका थिएनन् राजा शुद्धोधनले । तर राजाले नचाहँदा नचाहँदै पनि सिद्धार्थलाई यस्ता दृश्य--रोग, बुढ्याइं र मृत्युले कति विचलित गरायो ! त्यही द्वन्द्ववीच त्यस्तो शोक र मोहको उपाय पनि सिद्धार्थले देखे--सिद्ध पुरुष । त्यही सिद्ध पुरुषको ज्ञानको आकर्षणले उनलाई जवान श्रीमती, वालक छोरो र आफ्नो राज्य त्याग्ने आँट दियो । सिद्धार्थले सारा दुनियाँलाई पर्ने मृत्युदेखि उन्मुक्ति हुने उपाय खोजे, पाए पनि ।

धैर्य गरेर विचार गर्दा हामीलाई थाहा हुन्छ, सृष्टिको हरेक वस्तु, व्यक्ति र पदार्थको हर पल नाश भै रहेको छ । हाम्रै शरीरमा क्षण क्षणमा हजारौं cell को जन्म भैरहेछ, हजारौं cell को मृत्यु पनि भइरहेछ । तर हामी यतातिर दृष्टि नै दिंदैनौं, आफ्नै सूरमा दौडिरहन्छौं, कुनै निकाश नै नखोजी । अरु परचक्रीलाई यस्तो घटना पर्दा हामीलाई कुनै फरक पर्दैन, अझ त्यति मात्र हो र, अरुलाई पर्दा हामी शिक्षा पनि दिन सक्छौं, तर आफूलाई पर्दा हामी विचलित हुन्छौं, आफूलाई जस्तो अवस्था कसैलाई परेको छैन कि भने जस्तो गरेर रोइ कराइ गर्छौं । जहाँ हाम्रो आसक्ति छ, त्यहाँ नै हाम्रो मन विचलित हुन्छ । के हो, के हो, के गर्ने, के नगर्ने !

उपनिषद्को ज्ञान पचाउन हामी सक्दैनौं, यसैले अरु संस्थातिर लाग्छौं, किनभने ती संस्थाहरुले हाम्रो मनोदशा बुझेका हुन्छन् , यही अनुसार हामीलाई शिक्षा दिन्छन् । तर शास्त्र भन्छ, वेदान्त, उपनिषद्को ज्ञान नबुझी व्यक्तिको मोह, शोक चिन्ता हट्दैन । हामीलाई मोह हटाउने इच्छा छ भने हामीले यो वेदान्तको महत्त्व बुझ्नु पर्छ, यसको श्रवण , मनन र निदिध्यासन गर्नु पर्छ, यसले भनेको उपदेशहरुलाई आफ्नो जीवनमा लगाउन तयार हुनुपर्छ, निरन्तरको मनन र चिन्तनले आफूमा त्यो खूवीको विकास गर्न खोज्नु र सक्नु पर्छ । त्यसकोलागि तुलसीदासजी भन्नुहुन्छ, ' विनु सत्सँग विवेक न होइ, रामकृपा विनु सुलभ न सोइ'। अर्थ, 'सत्सङ्ग नभई विवेक हुँदैन, त्यो सत्संग पनि रामको कृपा नभई हुँदैन'।

यो कुरा पनि बुझेका छौं हामीले कि संसारिक जीवनमा, यो शब्दले धेरै महत्त्व राख्छ । अव प्रश्न छ, कुनै व्यक्तिलाई 'ईश्वर कृपा' प्राप्त हुन कस्तो हुनु पर्ला । शास्त्रमा धेरै ठाउँमा भनिएको छ, ईश्वर कृपा भनेको सन्तसँगको भेट नै हो । किनकि ईश्वर त निराकार तत्त्व छ, ईश्वर साकार रूपले आएर जिज्ञासुलाई ज्ञान दिएको भन्ने प्रसङ्ग हामीले धेरै कम सुनेका छौं । यही क्रममा शास्त्र भन्छ,'मनुष्यत्वं मुमुक्षुत्वं महापुरुष संश्रय:' । अर्थ, 'यो संसारमा सब भन्दा पहिले मनुष्य जन्म पाउन नै गाह्रो छ, त्यसपछि वेदान्त जान्ने इच्छा हुन नै कठिन छ, फेरि त्यसमाथि महापुरुषको संगत पाउनु त झन् गाह्रो हुन्छ ।'

गीतामा भगवान भन्नुहुन्छ, 'मनुष्याणाम् सहस्रेषु कश्चिद्यतति सिद्धये । यततामपि सिद्धानां कश्चिंमां वेत्ति तत्त्वतः ।। अर्थ, 'हजारौं मनुष्यहरुमा कुनै एकले सिद्धि (आफ्नो कल्याण) कोलागि यत्न गर्छ र ती यत्न गर्ने सिद्धहरुमा पनि कुनै एकले मात्रै मलाई पाउँछ ।'

हस् त हजुर, मेरा कुरा जति गरे पनि सकिंदैनन्, आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको

इन्दिरा

35. No. 6 अझै पनि दोस्रो अध्यायको वारहौं श्लोकको नै व्याख्या गर्नुछ हामीलाई ।

No. 6

अझै पनि दोस्रो अध्यायको वारहौं श्लोकको नै व्याख्या गर्नुछ हामीलाई ।

भूतकाल वितिसकेको समय हो, त्यसैले भूतकाल हामीवाट टाढा छ , त्यस्तै भविष्यकाल आएकै छैन, त्यो पनि हामीवाट टाढा नै छ । अव गीता भन्छ, वर्तमान पनि हामीवाट त्यत्तिकै टाढा छ । जस्तो भूत र भविष्यसँग हाम्रो कुनै सम्बन्ध छैन, त्यस्तै वर्तमानसँग पनि हाम्रो (स्वरूप) सम्बन्ध छैन । जव सम्बन्ध नै छैन भने भूत, भविष्य र वर्तमानमा के फरक भयो ? यी तीनै कालहरु काल अन्तर्गत छन्, जवकि हाम्रो स्वरूप कालदेखि 'अतीत' छ । कालको त खण्ड हुन्छ, तर स्वरूप (सत्ता) अखण्ड छ । शरीरलाई आफ्नो स्वरूप मान्दा नै भूत, भविष्य र वर्तमानमा फरक देखिएको हो । वास्तवमा भूत, भविष्य र वर्तमान विद्यमान नै छैन स्वरूपमा स्थित भएको व्यक्ति (ज्ञानी) को दृष्टिमा ।

अनेक युग वदलिंदा पनि शरीरी (आत्मा) वदलिंदैन, यो जस्ताको तस्तो नै रहन्छ । किनकि यो परमात्माको अंश हो । तर शरीर वदलिई नै रहन्छ, क्षण मात्र पनि उही को उही रहँदैन, किनकि यो प्रकृतिको (संसार) अंश हो ।

'हलुवा' खाँदा 'घिउ' खाने क्रममा ।

केही दिनअघि चर्चा भएको 'आयु'को विषयमा हामी मध्ये धेरैलाई लाग्न सक्छ, हाम्रो आयु हाम्रो जन्मसँगै 'निश्चित' हुने हो भने हाम्रो परम्परामा 'आयु' वढाउने कसरत किन गरिन्छ ?

मेरो विचार: वास्तवमा हामीले जे सुकै गरे पनि हाम्रो आयु वढ्न सक्तैन, तर हामी हाम्रो 'आयु' नघटाउन चाहिं सक्छौं । विचरा हाम्रो स्थूल शरीरले के गर्न सक्छ र ? यो शरीरलाई कसैले 'तँ को' भनेर सोध्यो भने यसले जवाफ पनि दिन सक्तैन । हामीलाई राम्रो अथवा नराम्रो जे गर्ने हो यही मन नै हो । त्यसैले मनलाई दुइतिर वग्ने नदी भन्छ शास्त्र । अरु सामान्य नदीहरु एकातिर, समुद्रतिर नै जान्छन, तर मनरूपी नदी त दुइतिर वग्छ-- यो कि त आफ्नो उद्धार गर्नतिर लाग्छ, कि त आफ्नो पतन गर्नतिर लाग्छ ।

शास्त्रमा आफ्नो उद्धारतिर लाग्ने मार्गलाई 'श्रेय मार्ग' भनिन्छ, आफ्नो पतनतिर लाग्ने मार्गलाई 'प्रेय मार्ग' भनिन्छ । गीताको अर्जुन र कठोपनिषदको कुमार (उनको उमेर त्यो वेला केवल नौ वर्षको थियो) नचिकेताले श्रेय मार्ग छाने, अर्थात् आफूलाई आइपरेको जटिल परिस्थितिमा पनि आफ्नो 'उद्धार' नै रोजे ।

फेरि आयुकै विषयमा जाँदा, शास्त्र भन्छ, हामीले यति पटक हामीले सास फेर्ने भन्ने कुराको निर्णय पहिले नै भइ सकेको हुन्छ । हाम्रो आयु घटाउने काम हामीले (मनद्वारा) गर्छौं । हामीलाई थाहा नै छ, जुनसुकै आवेग आउँदा पनि हाम्रो मुटूको धड्कन वढ्छ, त्यो वेला हामी चाहिने भन्दा वढी सास फेर्छौं । अर्को शब्दमा, हाम्रो हरेक आवेगमा, काम (इच्छा)को आवेगमा, क्रोधको आवेगमा, लोभको आवेगमा, ईर्ष्याको आवेगमा हाम्रो सासको गति निश्चय नै वढ्छ । जति जति हामी आवेगको वशमा पर्छौं, त्यति त्यति हाम्रो सास घट्दै जान्छ । फेरि हामीलाई रोग लाग्दा पनि हाम्रो आयु अघिपछिको भन्दा वढी व्यय हुन्छ । अर्थात्, हामीलाई एक दिनमा खर्च हुने सास (एक दिनमा एक स्वस्थ व्यक्तिले २१,६०० पटक सास फेर्छ ) भन्दा वढी सास हामीवाट फेरियो भने हाम्रो सासको व्यय वढी हुने भयो ।

फेरि, हामीले के खाने भन्ने कुरोको निधो पनि मनले नै गर्ने हो । अनि हाम्रो आयु घटाउने र घट्न नदिने काम हाम्रो नै भएन त !

हामी हाम्रो मनद्वारा नै आफ्नो शरीरलाई नचाहिने कुरा खुवाइरहेका हुन्छौं । त्यसैले शास्त्र भन्छ, 'सात्त्विक आहार' गर । आहार भन्दा यहाँ हाम्रो स्थूल शरीरले लिने आहार मात्रै होइन, हाम्रो सूक्ष्म शरीर (मन)ले लिने आहारको वढी महत्त्व छ । यही क्रममा मैले मेरो गुरुवाट सुनेको: निरोगी हुन, हाम्रो आयु नघटाउन र हाम्रो ज्ञान अड्न हामीले चार कुराको अभ्यास गर्नु पर्छ । ती हुन्: (१) सात्विक आहार; (२) सात्विक चिन्तन; (३) सात्विक कर्म ; (४) सात्विक संग ।

गीताको सत्रौं अध्यायमा सात्विक आहारको वर्णन;

'आयु: सत्त्वबलारोग्यसुखप्रीतिविवर्धना: । रस्या: स्निग्धा: स्थिरा: हृद्या: आहारा: सात्त्विकप्रियाः ।।' अर्थ, 'आयु, सत्त्व-गुण, बल, आरोग्य, सुख र प्रसन्नता बढाउने, स्थिर रहने (एक चोटी खाएपछि तीन या चार घण्टा भोक नलाग्ने) हृदयलाई शक्ति दिने, (यहाँ 'हृदय' भन्दा हाम्रो 'पम्प' गर्ने मुटू होइन, परमात्मा वस्ने 'हृदय'लाइ बुझाउँछ) रसयुक्त, तथा चिल्लो आहार अर्थात् भोजन गर्ने पदार्थ सात्विक मनुष्यलाई 'प्यारो' (मीठो) लाग्छ ।

राजसी भोजनको पनि वर्णन यसरी गरिन्छ गीतामा ।

'कट्वम्ललवणात्युष्णतीक्ष्ण रूक्ष विदाहिनः ।आहारा राजसस्येष्टा दुःखशोकामयप्रदा: ।।' अर्थ, 'अति तीतो, अति अमिलो, अति नुनिलो, अति तातो, अति पीरो, अति रूखो (सुक्खा) र अति दाहकारक आहार अर्थात् भोजनका पदार्थ राजस मनुष्यलाई प्यारो (मीठो) लाग्छ, यस्तो राजसी भोजन दुःख, शोक र रोगहरु निम्त्याउने हुन्छ ।'

अव तामसी भोजनको पनि वर्णन गरिहालौं न त ।

'यातायामं गतरसम् पूति पर्युषितं च यत् । उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ।। सडेको, रसरहित, दुर्गन्धित (गन्हाउने), वासी र जूठो तथा महान् अपवित्र (माछा मासु) तामस मनुष्यलाई प्यारो लाग्छ ।

संक्षेपमा, माथि उल्लिखित यी तीन प्रकारका भोजनले नै हाम्रो आयु र गुण (सात्विक, राजस र तामस) निर्धारण हुने भयो । यही आधारमा सात्विक भोजनले साधकको 'आयु, सत्त्व गुण, बल, आरोग्य, सुख र प्रसन्नता वढाउने' काम गर्छ, राजसी भोजनले साधकलाई दुःख, शोक र रोगहरु प्रदान गर्छ । तर, तामसी भोजनले गर्ने प्रभावको वर्णन नै छैन गीतामा । किनकि तामसी भोजन मनुष्यले खाने भोजन नै भएन गीता अनुसार ।

हस् त हजुर, आजलाई यत्ति ।

हजुरहरुको

34. पहिले गीताको वारहौं श्लोकको नै व्याख्या गर्ने हो कि ?

पहिले गीताको वारहौं श्लोकको नै व्याख्या गर्ने हो कि ?

यो भन्दा अघिको 'सत्ता'को प्रसंगको व्याख्या गर्दै गीता भन्छ, परमात्माको सत्ता र जीवको सत्ता एकै छ, अर्थात् 'छ' र 'छु' अथवा 'हो' र 'हुँ' दुबैमा एक नै चिन्मय सत्ता छ । 'म' (अहम्)को सम्बन्धले नै 'छु' छ । यदि 'म' (अहम्) सँग सम्बन्ध नरहे 'छु' रहँदैन, खालि 'छ' नै रहनेछ । त्यही 'छ' अथवा 'हो' अर्थात चिन्मय सत्तामात्र नै हाम्रो स्वरूप हो, शरीर हाम्रो स्वरूप होइन । यसैले शरीरलाई लिएर शोक गर्नुहुँदैन ।

यहाँ विचारयोग्य कुरो हो, 'छु' अथवा 'हुँ' र 'छ' अथवा 'हो'मा तात्त्विक अन्तर के छ त? 'छ' अथवा 'हो' भन्दा त्यसमा कुनै पनि मिश्रण आदि केही छैन, यसमा केवल शुद्ध, बुद्ध, नित्य, अविनाशी, निर्विकार, निराकार 'आफू'लाइ लिनु पर्यो साधकले । तर 'छु' र 'हुँ' भन्ने वित्तिकै 'जगत्' खडा हुन्छ । संसार भन्दा एकदम पृथक 'छ' अथवा 'हो' भन्ने स्वरूपले 'हुँ' र 'छु' भन्दा आफू दुर्गतिमा पर्यो, उसको विनाश भयो । यही 'पतीत' 'छु' र 'हुँ' भन्ने जीवलाई नै 'छ' र 'हो' भन्ने कला सिकाउने शास्त्रको नाम नै उपनिषद् हो ।

यो 'छ' र 'हो' मा केही पनि छैन, संसार, शरीर, नातागोता, धन सम्पत्ति, जग्गा घर, केही पनि छैनन्, यहाँसम्म कि इन्द्रियहरु, मन, बुद्धि, अहंकार, महत्तत्त्व, अव्यक्त प्रकृति केही पनि छैनन् । केवल सत्, चित्, आनन्द, बुद्ध्मार्गीको 'शून्यवाद'को पनि साक्षी नाम, आकार र रुपदेखि पनि 'विलक्षण' तत्त्व 'छ' अथवा 'हो' हो । यसैलाई गीतामा भगवान भन्नुहुन्छ, 'अव्यक्तोय मचिन्त्योयमविकार्योयमुच्यते, तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि', अर्थ, 'यो देही (शरीरी) प्रत्यक्ष देखिंदैन, यो चिन्तनको विषय पनि होइन, यसलाई निर्विकार भनिन्छ, (वास्तवमा यसलाई 'निर्विकार' भनेको पनि विकारको दृष्टिले नै हो) अतः यो देहीलाई 'यस्तो हो' भन्ने जसले जान्दछ, (जान्दछ भन्नाले पूर्णरूपले बुझ्ने, अनुभव गर्ने ) उसलाई शोक हुँदैन ।

मेरा मित्रहरु, मैले पनि यहाँ श्रवण र मननकै क्रममा सिकेको, यो आउँदो नयाँ वर्षको पुनीत अवसरमा हामीले एउटा 'प्रण' (pledge) गर्ने हो कि! मैले चाहिं, वैशाख १ गतेदेखि 'किन' र 'कसरी' भन्ने शब्द प्रयोग नगर्ने भएकी छु । सन्तहरुको उपदेशमा पनि यही भनिएको छ, हामीले हाम्रो जीवनमा आध्यात्मिक उन्नति चाहने हो भने यी दुई शब्दलाई त्याग्न सक्नुपर्छ । यी दुइ शब्दले 'संसार'मा, अझ व्यवहारमा, अनावश्यक वहस निम्त्याउँछन्, साथै 'अध्यात्म'मा संशय र अश्रद्धा पैदा गर्छन् । सकेसम्म यी शब्दहरुको प्रयोग कम गर्ने, हैन, व्यवसायमा नै असजिलो हुन्छ भने यसलाई अत्यन्त 'हल्का' (lightly) रूपमा प्रयोग गर्ने । यी शब्दले नै हाम्रो 'अहंकार' नजानिँदो रूपले वढिरहेको हुन्छ । हाम्रो ज्ञानलाई ढाक्ने 'अहंकार' नै हो, अहंकार नहटी हाम्रो ज्ञान प्रकट हुने होइन ।

अरु कुरा त म के भनौं, २०७१ साल हामी सबैको 'आध्यात्मिक' उन्नतिकोलागि लाभदायक वनोस् । 'ओम् असतो मा सद्गमय; तमसो मा ज्योतिर्गमय; मृत्योर्मा अमृतम् गमय । ओम् शान्ति: शान्ति: शान्ति:' 'हरि ओम् श्री गुरुभ्यो नमः हरि ओम् '

हजुरहरुको

इन्दिरा