No. 59
श्लोक ७० conversation on Gita Gyan and Tatwa Gyan between Indira didi and Hajurma.
Saturday, 31 May 2014
86. No. 59 श्लोक ७० जस्तो सम्पूर्ण नदीहरुको जल चारैतिरवाट जलले परिपूर्ण समुद्रमा आएर मिल्छन्, तर समुद्र
85. No. 58 श्लोक ६९ सम्पूर्ण प्राणीहरुको रात (परमात्मासंगको विमुखता)मा संयमी मनुष्य जागा रहन्छ, विउंझन्छ ।
No. 58
श्लोक ६९ 84. No. 57 श्लोक ६७ श्लोक ६८ माथिकै श्लोकलाई पुष्टि गर्दै यो श्लोक भन्छ, किनकि आफ्ना आफ्ना विषयमा डुलिरहेका
श्लोक ६७
माथिकै
श्लोकलाई पुष्टि गर्दै यो श्लोक भन्छ, किनकि आफ्ना आफ्ना विषयमा डुलिरहेका
इन्द्रियहरु मध्ये एउटा मात्र इन्द्रियले पनि मनलाई आफ्नो अनुगामी
वनाइदिन्छ । यस्तो अवस्थामा मन एक्लो भइदिन्छ । यस्तो मनले व्यक्तिको
बुद्धिलाई पनि हरिदिन्छ । यो प्रसंगमा डुंगा र वायु (हावा)को राम्रो
दृष्टान्त दिइएको छ ।
हाम्रो यो मनुष्य
शरीर केवल परमात्मा प्राप्तिकोलागि नै पाइएको हो । त्यसैले, 'मलाई त केवल
परमात्मप्राप्ति नै गर्नु छ' भन्ने ध्येय दृढ हुनुपर्छ हाम्रो । ध्येय दृढ
हुँदा साधकलाई भोगहरुको महत्व हट्छ । महत्व हटेपछि हाम्रो व्यवसायात्मिका
बुद्धि दृढ हुन्छ । यो व्यवसायात्मिका बुद्धि दृढ नहुन्जेल साधकको कस्तो
दशा हुन्छ भन्ने वर्णन छ यो श्लोकमा ।
साधकले उसको
कार्यक्षेत्रमा व्यवहार गर्दा उसको अगाडि इन्द्रियहरुले ग्रहण गर्ने
विभिन्न विषयहरु आउँछन् । ती विषयहरुमध्ये जुन इन्द्रियलाई आफ्नो विषयमा
राग हुन्छ, त्यही इन्द्रियले मनलाई आफ्नो अनुगामी वनाउँछ, त्यो इन्द्रियले
मनलाई जित्छ । त्यसपछि मन त्यो विषयको सुखभोग गर्न थाल्छ अर्थात् मनमा ती
ती वस्तुप्रति सुखबुद्धि, भोगबुद्धिको अनुभव हुन्छ, मनमा त्यो विषयको रंग
चढ्छ, त्यसको महत्व वस्छ । जस्तो हामीले कुनै खाना खाँदा त्यो पदार्थको
स्वादले हाम्रो रसना (जिव्रो) त्यसमा आसक्त हुन्छ । आसक्त भएको जिव्रोले
मनलाई पनि खिंचछ । त्यसपछि मन त्यो स्वादमा रमाउँछ, खुशी हुन्छ ।
मनमा कुनै पनि विषयको महत्व वसेपछि त्यो एक्लो मन नै साधकको बुद्धिलाई हरिदिन्छ । त्यो वेला साधकमा कर्तव्य-परायणता नरहेर भोगबुद्धिको विकास हुन्छ । त्यही भोगबुद्धिले साधकमा 'म त परमात्मा प्राप्त गर्ने हो' भन्ने व्यवसायात्मिका बुद्धि रहँदैन । अहिले हामीले गरिरहेको यस्तो विवेचनमा समय लागेको जस्तो लाग्छ हामीलाई । तर हामीवाट सम्झना रहनु पर्ने कुरा,साधकको अगाडि विषय आउनु, उसका इन्द्रिय कुनै विषयमा आकर्षण हुनु, त्यसमा रसबुद्धि हुनु, त्यो विशेष इन्द्रियले मनलाई आफूतिर आकृष्ट गर्नु, मन आकृष्ट भएपछि त्यो विषयको भोग गर्नु आदि आदि प्रक्रियाहरु हुन केही समय लाग्ला जस्तो लाग्छ हामीलाई । तर शास्त्र भन्छ, यी सबै प्रक्रियाहरु हुन एक सेकेन्ड पनि लाग्दैन अर्थात्, हाम्रो पतन हुन एक सेकेन्ड पनि लाग्दैन ।
मनमा कुनै पनि विषयको महत्व वसेपछि त्यो एक्लो मन नै साधकको बुद्धिलाई हरिदिन्छ । त्यो वेला साधकमा कर्तव्य-परायणता नरहेर भोगबुद्धिको विकास हुन्छ । त्यही भोगबुद्धिले साधकमा 'म त परमात्मा प्राप्त गर्ने हो' भन्ने व्यवसायात्मिका बुद्धि रहँदैन । अहिले हामीले गरिरहेको यस्तो विवेचनमा समय लागेको जस्तो लाग्छ हामीलाई । तर हामीवाट सम्झना रहनु पर्ने कुरा,साधकको अगाडि विषय आउनु, उसका इन्द्रिय कुनै विषयमा आकर्षण हुनु, त्यसमा रसबुद्धि हुनु, त्यो विशेष इन्द्रियले मनलाई आफूतिर आकृष्ट गर्नु, मन आकृष्ट भएपछि त्यो विषयको भोग गर्नु आदि आदि प्रक्रियाहरु हुन केही समय लाग्ला जस्तो लाग्छ हामीलाई । तर शास्त्र भन्छ, यी सबै प्रक्रियाहरु हुन एक सेकेन्ड पनि लाग्दैन अर्थात्, हाम्रो पतन हुन एक सेकेन्ड पनि लाग्दैन ।
यो बुद्धि कसरी
हरिन्छ भन्ने प्रश्नमा, यो कुरालाई दृष्टान्तद्वारा बुझाइएको छ, जस्तो
पानीमा चलिरहेको डुंगालाई हावाले विपरीत दिशातिर लैजान्छ, त्यसै गरी हाम्रो
मनले बुद्धिलाई विपरीत दिशातिर, आफ्नो ध्येयदेखि उल्टो दिशातिर लगिदिन्छ ।
अझ पनि हामी आफूलाई यसरी स्पष्ट गरौँ, जव हामी व्यवसायात्मिका बुद्धिरूपी
डुंगामा वसेर संसार-सागररूपी डुंगा पार गर्दै परमात्मातिर लाग्छौं, त्यो
वेला एउटा मात्रै इन्द्रियले पनि हाम्रो मनलाई अनुगामी वनाइदिन्छ र त्यो
एक्लो मनले नै हाम्रो बुद्धिरूपी डुंगालाई हर्छ अर्थात् संसारतर्फ लगिदिन्छ
। यसवाट हाम्रों विषयहरुमा सुखबुद्धि र ती विषयहरुका उपयोगी
पदार्थहरुमा महत्वबुद्धि हुन्छ ।
हावाले
डुंगालाई दुई तरिकाले विचलित गर्छ -- डुंगालाई पथभ्रष्ट गरिदिन्छ अथवा जलमा
डुवाइदिन्छ । त्यस्तै इन्द्रियको अनुगामी भएको मन बुद्धिलाई दुई
तरिकाले विचलित गर्छ -- परमात्मप्राप्तिको निश्चय दवाएर भोगबुद्धि
जगाइदिन्छ अथवा निषिद्ध भोगहरुमा लगाएर पतन गरिदिन्छ । परन्तु मन र
बुद्धि वशमा भएको साधकको बुद्धिलाइ मन विचलित गर्न सक्तैन । यस्तो साधकलाई मन अनुगामी भएको बुद्धि परमात्मा प्राप्त गर्न सहायता गर्छ । जवसम्म
कुनै इन्द्रियसँग मन रहँदैन, तवसम्म इन्द्रियलाई आफ्नो विषयको ज्ञान पनि
हुँदैन । श्रीमदभागवतमा दत्तात्रेय भन्नुहुन्छ,जसको चित्त आत्मामा नै
निरुद्ध हुन्छ, उसलाई वाहिर-भित्र कुनै पदार्थको भान हुँदैन । तात्पर्य,
मनसँगै रहँदा नै इन्द्रियलाई आफ्नो विषयको ज्ञान हुन्छ ।
श्लोक ६८
यही
कारण हे महाबाहो ! जुन मनुष्यका इन्द्रियहरु वशमा गरिएका इन्द्रियहरुको
विषयवाट सर्वथा वशमा गरिएका हुन्छन्, उसको बुद्धि स्थिर हुन्छ ।
यहाँ भनिएको, मन र इन्द्रियदेखि नै संसारको आकर्षण नभएको व्यक्तिको बुद्धि प्रतिष्ठित हुन्छ ।
संसारमा
व्यवहार गर्दा गर्दै अथवा एकान्तमा चिन्तन गर्दा गर्दै, कुनै पनि अवस्थामा
त्यो स्थितप्रज्ञको बुद्धि भोगहरुमा, विषयहरुमा प्रवृत्त हुँदैन ।
व्यवहारकालमा उसको सम्पर्कमा जति नै विषय आए पनि ती विषयले उसलाई विचलित
गर्न सक्तैनन् । उसको मन पनि इन्द्रियहरुसँग मिलेर उसलाई विचलित गर्न
सक्तैन । जस्तो पहाडलाई कसैले हल्लाउन सक्तैन, त्यस्तै स्थितप्रज्ञको
बुद्धिमा यति दृढता आउँछ कि उसलाई मन कुनै पनि अवस्थामा हल्लाउन सक्तैन ।
कारण कि त्यो मुनिको मनमा विषयहरुको महत्व नै रहेन । उसका इन्द्रियहरु
विषयहरुवाट यति राम्ररी वशमा गरिएका हुन्छन् कि उसलाई विषयहरुमा लेश मात्र
पनि राग, आसक्ति, खिंचाव रहँदैन । अर्को शब्दमा, इन्द्रियहरुलाई
राग-द्वेषदेखि रहित गर्नु नै महत्वपूर्ण भयो हामी जस्तो साधककोलागि ।
यो श्लोकको आशय, साधकले दृढताले
यस्तो निश्चय गर्ने, 'मेरो लक्ष्य परमात्माको प्राप्ति गर्ने हो भोग भोग्ने
र संग्रह गर्ने मेरो लक्ष्य होइन ' । यस्तो सावधानी निरन्तर रहने साधकको
बुद्धि स्थिर हुन्छ । 83. No. 56 श्लोक ६६ मन र इन्द्रियहरु समाहित नभएका व्यक्तिहरुको बुद्धि व्यवसायात्मिका हुँदैन र व्यवसायात्मिका बुद्धि नहुँदा
No. 56
श्लोक ६६ मन र इन्द्रियहरु समाहित नभएका व्यक्तिहरुको बुद्धि व्यवसायात्मिका हुँदैन र व्यवसायात्मिका बुद्धि नहुँदा त्यस्ता अयुक्त मनुष्यहरुमा निष्काम भाव अथवा कर्तव्यपरायणताको भाव हुँदैन । निष्कामभाव नहुँदा उसलाई शान्ति मिल्दैन । त्यस्तो शान्तिरहित मनुष्यलाई सुख कसरी मिल्न सक्छ र ?
अहिलेको विषय कर्मयोग भएकोले यो साधनमा मन र इन्द्रियहरु
संयम हुनु जरूरी छ । विवेकपूर्वक संयम नगरी कामना नष्ट हुँदैन । कामना नष्ट
नभई बुद्धि स्थिर हुँदैन । यही हुनाले कर्मयोगी साधकले सब भन्दा पहिले मन र
इन्द्रियहरुको संयम गर्नुपर्छ ।
तर यो श्लोकले मन र इन्द्रियहरु संयमित नभएका साधकहरुको वर्णन गर्छ ।
मन
र इन्द्रियहरु संयमित नभएका अयुक्त व्यक्तिहरुलाई 'मलाई त खालि परमात्मा
प्राप्त गर्नु छ' भन्ने निश्चयात्मिका बुद्धि हुँदैन । संयमित नभएको मनले
सांसारिक भोगहरु र संग्रहहरुमा नै लागिरहन्छ । त्यो मनले कहिले मान
चाहन्छ, कहिले सुख-आराम चाहन्छ, कहिले धन चाहन्छ, कहिले भोग चाहन्छ । यस्तो
प्रकारले अयुक्त व्यक्तिको मनमा अनेक तरहका कामनाहरु भइरहन्छन् । यही
कारणले नै उसको बुद्धि परमात्मप्राप्तिकोलागि दृढ हुन सक्तैन ।
फेरि, अयुक्त व्यक्तिको बुद्धि व्यवसायात्मिका पनि हुन
सक्तैन । व्यवसायात्मिका बुद्धि भएको व्यक्तिलाई 'मलाइ त केवल आफ्नो
कर्तव्य पालन गर्नु छ र फलको इच्छा, कामना, आसक्ति आदिको त्याग गर्नु छ'
भन्ने भावना हुन्छ । तर अयुक्त व्यक्तिलाई यस्तो किसिमको भावना पनि हुँदैन ।
यस्तो भावना नहुनुको एक मात्र कारण हो -- आफ्नो ध्येय स्थिर नहुनु ।
आफ्नो कर्तव्यको पालना नगर्ने व्यक्तिलाई शान्ति मिल्दैन ।
आफ्नो कर्तव्य-परायण नहुने व्यक्तिलाई शान्ति मिल्न सक्तैन । आफ्नो
कर्तव्य-पालनमा दृढता नहुनाले नै अशान्ति हुन्छ ।
अशान्तलाई
कसरी सुख हुन्छ र ? किनकि अशान्त व्यक्तिको मनमा हरदम हलचल भइरहन्छ ।
वाहिरवाट जति नै अनुकूल भोग आदि मिले पनि उसको हृदयको हलचल मेटिन सक्तैन
अर्थात् त्यस्तो व्यक्ति सुखी हुन सक्तैन । 82. No. 55 श्लोक ६४, ६५ परन्तु अन्तःकरण वशीभूत भएको कर्मयोगी साधक राग-द्वेषदेखि रहित हुन्छ ।
No. 55
श्लोक ६४, ६५
परन्तु अन्तःकरण वशीभूत भएको कर्मयोगी साधक राग-द्वेषदेखि रहित हुन्छ । उसले आफ्नो वशमा भएका इन्द्रियहरुद्वारा विषयहरु को
सेवन गरिरहँदा पनि उसको अन्तःकरण निर्लिप्त नै रहन्छ । अन्तःकरण
निर्लिप्त भएपछि साधकको सम्पूर्ण दुःखहरुको नाश हुन्छ । यस्तो शुद्ध चित्त
भएको साधकको बुद्धि निःसन्देह वहुत छिट्टै परमात्मामा स्थिर हुन्छ ।
आसक्ति नभए विषयहरुको
सेवन गर्दा पनि उन्नति हुन्छ । साधकको अन्तःकरण आफ्नो वशमा रहनुपर्छ । हुन
त सबै साधनामा अन्तःकरणलाई वशमा गर्नु आवश्यक हुन्छ, भए पनि कर्मयोगमा
यसको वढी आवश्यकता छ । गीता अनुसार अन्तःकरण वशमा नगरी कर्मयोगी सिद्ध हुन
सक्तैन ।
तात्पर्य, व्यवहार
गर्दा इन्द्रियहरु हाम्रो वशमा हुनुपर्छ र इन्द्रियहरु हाम्रो वशमा रहन
यिनीहरु राग-द्वेष रहित हुनु जरूरी छ । अर्को शब्दमा, इन्द्रियहरुवाट हुने
विषय ग्रहण रागपूर्वक नहोस् र त्याग पनि द्वेशपूर्वक नहोस् । विषयको ग्रहण
र त्याग भन्दा पनि धेरै खरावी यिनीहरुको सेवन गर्दा हुने राग-द्वेष नै हो
।
अन्तःकरण शुद्ध भएको,
इन्द्रियहरु राग-द्वेषले रहित भएका र आफ्नो वशमा भएका साधकले विषयहरु सेवन
गर्दा, सबै प्रकारका व्यवहार गर्दा पनि विषयको भोग गर्दैन । भोगबुद्धिले
गरिएका विषय-सेवन नै पतनको कारण हो । यही प्रसंगमा भोग बुद्धिको निषेध गर्छ
गीता ।
राग-द्वेष रहित भएर
विषयको सेवन गरेपछि साधक अन्तःकरणको प्रसन्नता प्राप्त गर्छ । यो
प्रसन्नतालाई मानसिक तप भनिएको छ गीतामै । मानसिक तप शारीरिक र वाचिक तप
भन्दा धेरै उत्तम छ । राग-द्वेषवाट नै संसारसंग सम्बन्ध जोडिने हो,
राग-द्वेष नभएपछि संसारसँगको सम्बन्ध तोडिन्छ र परमात्माको प्राप्ति हुन्छ ।
अर्को कुरा,
राग-द्वेषसँग सम्बन्ध टुटेपछि हुने प्रसन्नतामा पनि साधकले भोग गर्नु
हुन्न, आनन्द लिनु हुन्न । त्यस्तो आनन्द नलिएपछि मात्रै त्यो प्रसन्नताले
परमात्माको प्राप्ति गराइदिन्छ । आशय, प्रसन्नतावाट दुई कुरा हुन्छन् --
संसारसँग सम्बन्ध-विच्छेद र परमात्मामा बुद्धिको स्थिरता ।
यहाँ यसो पनि भन्न
खोजिएको होइन, स्थितप्रज्ञलाई सुखदायी-दुःखदायी परिस्थिति नै आउँदैनन् ।
उसलाई पनि अरुलाई जस्तै सुख-दुःख आइपर्छन्, तर उसको अन्तःकरणमा दुःख,
सन्ताप, हलचल र विकृति हुन सक्तैन ।
चित्तमा
प्रसन्नता भएपछि सम्पूर्ण दुःखहरुको नाश हुन्छ अर्थात् कुनै दुःख वांकी
रहँदैन । किनभने हाम्रो चित्त खिन्न हुने राग-द्वेषले नै हो । खिन्नता हुने
वित्तिकै कामना पैदा हुन्छ र कामनावाट सारा दुःख-सुख उब्जन्छन् ।
राग-द्वेष मेटिएपछि कसरी कामना निस्कने, कामना नै नभएपछि कसरी प्रसन्नता
नहुने ?
हामीलाई भान हुने सबै
दुःख प्रकृति र प्रकृतिका कार्य शरीर-संसारको सम्बन्धवाट नै हुने र शरीर र
संसारसँग सम्बन्ध हुन्छ सुखको लिप्साले । सुखको लिप्सा हुन्छ हाम्रो
चित्तको खिन्नतावाट । प्रसन्नता भएपछि खिन्नता मेटिइहाल्छ । खिन्नता
मेटिएपछि सुखको लिप्सा रहँदैन । सुखको लिप्सा नरहेपछि शरीर-संसारसँग
सम्बन्ध रहँदैन, सम्बन्ध नरहेपछि सम्पूर्ण दुःखको अभाव भइहाल्छ ।
यही
सन्दर्भमा, भगवदविषयक प्रसन्नता होस् या व्याकुलता -- यी दुई मध्ये एक
मात्र भए पनि अथवा वृद्धि भएपनि त्यो प्रसन्नता अथवा व्याकुलताले साधकलाई
छिट्टै परमात्मा प्राप्ति गराइदिन्छ । जस्तो, भगवानकहाँ जाँदै गरेका
गोपीहरुलाई उनीहरुका माता-पिता, आदिले रोक लगाउँदा ती गोपीहरुलाई भगवानको
दर्शन गर्ने व्याकुलताले उनीहरुको राजोगुण-तमोगुण नष्ट भयो, साथै भगवानको
चिन्तन गर्दा उनीहरुको सत्वगुण पनि नष्ट भयो । गुणको संगवाट रहित भएपछि
उनीहरु शरीर त्यहीं, घरमै छोडेर अरु भन्दा पनि पहिले भगवानकहाँ पुगे ।
सांसारिक विषयहरुलाई
लिएर हुने प्रसन्नता र खिन्नतावाट भोगका संस्कार दृढ हुन्छन् अर्थात्
संसारको बन्धन दृढ हुन्छ । यसको उदाहरण त हामी जस्ता सामान्य प्राणी नै छौं
नि !
प्रसन्नता र व्याकुलतामा (खिन्नता)
अन्तःकरण द्रवित हुन्छ । द्रवित भएको अन्तःकरणमा भगवतसम्बन्धी अथवा संसारिक
-- जुन भाव आए पनि ती भाव स्थायी हुन्छन् । ती स्थायी भावहरुले हाम्रो
उत्थान पनि गर्छन्, पतन पनि गर्छन् । यसैले, साधकले गर्नु पर्ने, संसारको
प्यारो भन्दा प्यारो वस्तु मिल्दा पनि प्रसन्न नहुने र अप्रिय भन्दा अप्रिय
वस्तु मिल्दा पनि दिक्क नहुने ।
भोगको र योगको दुई
बिभाग छन् । राग-द्वेष युक्त 'भोगी' मनुष्यले विषयको चिन्तन गर्दा पनि उसको
पतन हुन्छ । तर राग-द्वेष रहित 'योगी' मनुष्यले विषयको सेवन नै गरे पनि
उसको पतन हुँदैन । उसलाई त झन् परमात्मा प्राप्त हुन्छ ।
राग-द्वेष रहित
मनुष्यको विषय-सेवन भोगबुद्धिले हुँदैन, अथवा ऊवाट भोगजन्य सुख (रस) को
सेवन हुँदैन, किनकि भोगजन्य सुखको रस लिने ध्येय उसको हुँदैन । राग-द्वेष
रहित योगी विषयको भोग त्याग गरेर भोग्छ । यसो गर्दा उसको अन्तःकरण निर्मल
हुन्छ । त्यागपूर्वकको भोग वास्तवमा भोग नै होइन । अरुको दृष्टिमा ऊवाट
भोगको आचरण देखिए पनि उसले गरेको भोग भोग नभएर योग हुन्छ ।
राग-द्वेषदेखि रहित
भएपछि 'प्रसाद' पाइन्छ । हरदम प्रसन्नता रहोस्, कहिले पनि खिन्नता न आओस्,
नीरसता न आओस् -- यो प्रसाद हो । यो प्रसादको प्राप्तिमा पनि सन्तोष नगरे,
यसको उपभोग नगरे धेरै छिटो परमात्माको प्राप्ति हुन्छ ।
81. No. 54 श्लोक ६२, ६३ विषयको चिन्तन गर्ने मनुष्यलाई ती विषयहरुमा आसक्ति पैदा हुन्छ, आसक्तिवाट कामना पैदा हुन्छ ।
No. 54
श्लोक ६२, ६३
विषयको
चिन्तन गर्ने मनुष्यलाई ती विषयहरुमा आसक्ति पैदा हुन्छ, आसक्तिवाट कामना
पैदा हुन्छ । कामनामा वाधा पर्यो भने क्रोध पैदा हुन्छ । क्रोध हुँदा
सम्मोह (मूढ भाव) हुन्छ । सम्मोहवाट स्मृति भ्रष्ट हुन्छ । स्मृति भ्रष्ट
हुँदा बुद्धि (विवेक) नाश हुन्छ,बुद्धिको नाश भएपछि मनुष्यको पतन हुन्छ ।
भगवान परायण नहुँदा, भगवानको चिन्तन नहुँदा विषयको चिन्तन
हुन्छ । कारण, जीवको एकातिर परमात्मा हुनुहुन्छ, अर्कोतिर संसार छ । जीवले
परमात्माको आश्रय छोडेपछि ऊ संसारको आश्रय लिन्छ र संसारको नै चिन्तन
गर्छ । किनकि संसार वाहेक उसकोलागि चिन्तनको अर्को विषय नै हुँदैन । यसरी
चिन्तन गर्दा गर्दा व्यक्तिको त्यो विषयमा आसक्ति हुन्छ, राग, प्रियता पैदा
हुन्छ । आसक्ति पैदा भएपछि व्यक्ति त्यो विषय प्रयोग गर्न थाल्छ । विषयको
भोगवाट हुने सुखवाट, चाहे त्यो मानसिक होस् अथवा शारीरिक, विषयहरुमा
प्रियता पैदा हुन्छ । प्रियतावाट त्यो विषयको वारम्वार चिन्तन हुन थाल्छ ।
त्यसपछि त्यो व्यक्तिवाट, चाहे त्यो विषयको भोग होस् वा नहोस, ती विषयमा
राग पैदा हुन्छ, यो त नियम नै छ ।
विषयमा राग भएपछि त्यो विषय पाउने कामना पैदा हुन्छ ।
आफूले कामना गरेको वस्तुहरु मिलिरहे 'लोभ' पैदा हुन्छ तर त्यो कामनामा
कसैवाट वाधा भयो भने त्यो व्यक्तिसँग क्रोध हुन्छ ।
'कामना' रजोगुणी वृत्ति हो, 'सम्मोह' तमोगुणी वृत्ति हो र 'क्रोध' रजोगुण र तमोगुणको वीचको वृत्ति हो ।
क्रोधमा सम्मोह हुन्छ अर्थात् मूढता आउँछ, अर्थात् काम, क्रोध, लोभ र ममता -- यी चारैवाट सम्मोह हुन्छ ।
(१) कामवाट हुने सम्मोहाले विवेक्शक्ति ढाकिन्छ । यसो हुँदा व्यक्ति गर्न नहुने काम पनि गर्छ ।
(२) क्रोधवाट आउने सम्मोहले व्यक्ति आफ्ना मित्रहरु तथा पूज्यजनहरुलाई पनि भन्न नै नहुने कुराहरु भनिदिन्छ ।
(३) लोभवाट आउने सम्मोहवाट व्यक्तिलाई सत्य-असत्य, धर्म-अधर्म आदिको विचार रहँदैन र व्यक्ति कपट गरेर अरुलाई ठग्छ ।
(४) ममतावाट आउने सम्मोहवाट व्यक्तिमा समभाव रहँदैन, पक्षपात रहन्छ ।
गीतामा
भन्न खोजिएको, माथि उल्लिखित चार लक्षणहरुमा काम, लोभ र ममतामा आफ्नो
सुखभोग र स्वार्थको वृत्ति जाग्रत रहन्छ, तर क्रोधमा अरुको अनिष्ट गर्ने
वृत्ति जाग्रत रहन्छ । अतः क्रोधवाट हुने सम्मोह अरु तीन वृत्तिवाट हुने
सम्मोह भन्दा धेरै भयानक हुन्छ । यसैले यहाँ, यो श्लोकमा भगवानले खालि
क्रोधवाट सम्मोह हुने कुरा गर्नुभयो ।
मूढ़ता आएपछि स्मृति नष्ट हुन्छ अर्थात्, शास्त्रहरूवाट
सद्विचार हरुवाट गरिएको 'यस्तो गर्नु पर्छ, यस्तो गर्नु हुन्न, यस्तो साधन
गर्नुपर्छ, यस्तो साधन गर्नु हुन्न ' भन्ने स्मृति पनि व्यक्तिमा रहँदैन ।
स्मृति नष्ट भएपछि बुद्धिमा प्रकट हुने विवेक लुप्त हुन्छ अर्थात् मनुष्यमा नयाँ विचार गर्ने शक्ति आउँदैन ।
विवेक
लुप्त भएपछि व्यक्ति आफ्नो स्थितिवाट गिर्छ । अतः यस्तो किसिमको पतनवाट
वच्नकोलागि सबै साधकहरुलाई भगवानको परायण हुनु आवश्यक छ ।
80. No. 53 श्लोक ६० किनकि हे पृथानन्दन ! रसबुद्धि रह्यो भने यत्न गरिरहेका विद्वानलाई पनि प्रमथनशील इन्द्रियहरु उसको मनलाई जवर्जस्ती हर्छन् ।
No. 53
श्लोक ६०
किनकि हे पृथानन्दन ! रसबुद्धि रह्यो भने यत्न गरिरहेका विद्वानलाई पनि प्रमथनशील इन्द्रियहरु उसको मनलाई जवर्जस्ती हर्छन् ।
यो प्रसङ्ग आफैं यत्न गर्ने, साधन गर्ने, हरेक कामलाई विवेकपूर्वक गर्ने
व्यक्तिलाई प्रस्तुत छ । त्यस्तो व्यक्ति आसक्ति र फलको इच्छा त्याग गर्छ,
अरुको कसरी हित हुन्छ, अरुलाई कसरी सुख पुर्याउने, अरुको कसरी कल्याण गर्ने
भन्ने भाव उसमा रहिरहन्छ र ऊवाट त्यस्तै क्रियाहरु पनि हुन्छन् । त्यो
व्यक्ति स्वयं कर्तव्य-अकर्तव्य, सार-असारकोवारेमा जान्दछ र कुन्-कुन् कर्म
गर्दा ती कर्महरुको परिणाम कस्तो हुन्छ भन्ने ज्ञान पनि उसलाई हुन्छ ।
यहाँ भन्न खोजिएको कुरो, यस्तो असाधारण साधकको मनलाई
पनि प्रमथनशील इन्द्रियहरु वलपूर्वक हर्छन्, आफूतर्फ खिंचछन्
अर्थात् त्यो साधक विषयहरु तर्फ आफैं खिंचिन्छ, आकृष्ट हुन्छ । यसको
एक मात्र कारण हो, जवसम्म हाम्रो बुद्धि परमात्मामा स्थित हुँदैन, हाम्रो
बुद्धिमा संसारको अलिकति मात्रै पनि आकर्षण रहन्छ, विषय र इन्द्रियहरुको
संयोगवाट हामी सुख लिन्छौं, हाम्रो बुद्धिमा भोगिसकेका भोगहरुको संस्कार
रहन्छ, त्यो वेलासम्म साधनमा लागिरहेका बुद्धिमान् विवेकी पुरुषको
इन्द्रियहरु पनि सर्वथा वशमा हुँदैनन् ।
इन्द्रियहरुका विषयहरु अगाडि आउँदा भोगिसकेका भोगहरुको
संस्कारको कारणले इन्द्रियहरु मन-बुद्धिलाई जवर्जस्ती विषयहरुतिर तान्छन् ।
यसको उदाहरण धेरै ऋषीहरुको जीवनीमा देखिन्छ । अतः साधकलाई 'मेरा
इन्द्रियहरु वशमा छन्' भन्ने धारणा हुनुहुन्न ।
श्लोक ६१
कर्मयोगी साधक ती
सम्पूर्ण इन्द्रियहरुलाई वशमा गरेर, मेरो परायण भएर रहोस्, किनकि जसको
इन्द्रियहरु वशमा छन्, त्यसैको बुद्धि स्थिर छ ।
वलपूर्वक मन
हरण गर्ने इन्द्रियहरुलाई वश गर्ने अर्थात् सजगतापूर्वक ती इन्द्रियहरुलाई
कुनै वेला पनि विषयहरुमा विचलित हुन नदिने साधकले परमात्माको
परायण हुनुपर्छ । आशय, साधकले आफ्ना इन्द्रियहरु वश गर्दा पनि उसमा आफ्नो
वलको अभिमान रहन्छ । यही अभिमान साधकलाई उन्नति गर्न दिंदैन, जसले गर्दा ऊ
भगवानदेखि विमुख हुन्छ । अतः साधकले आफ्नो इन्द्रियहरुलाई वशमा गर्दा आफ्नो
वलको अभिमान गर्नु हुन्न । इन्द्रियको नियन्त्रणमा कहिले पनि आफ्नो
उद्योगको कारण हो नभन्ने, खालि भगवत् कृपालाई नै कारण मान्ने । यसरी
भगवानको परायण हुँदा साधकको साधन सिद्ध हुन्छ ।
मनुष्य शरीर पाइनु, साधनमा रुचि हुनु, साधनमा लाग्नु,
साधन सिद्ध हुनु -- यी सबै भगवान-कृपावाट नै हुन सक्छन् । तर अभिमानले
गर्दा हामीलाई यो तथ्यतिर ध्यान जाँदैन । अझ कर्मयोगीमा त कर्मकै प्रधानता
हुने भएकोले ऊ आफूवाट भएको साधनमा र ती साधनको सफलतामा आफ्नो वल
वुताकै प्रधानता मान्छ । यसैले भगवान कर्मयोगी साधकलाई विशेष कृपा
गरेर भन्नुहुन्छ, 'तिमी मेरो परायण होऊ' ।
भगवत् परायण कसरी हुने ?
केवल
भगवानमा नै महत्वबुद्धि हुने । यस्तो मान्ने कि 'भगवान नै मेरो हो र म
भगवानको हुँ' 'संसार मेरो होइन, म पनि संसारको होइन ।' किनकि भगवान नै हरदम
मसँग रहनुहुन्छ, संसार मसँग रहँदैन ।' यसरी साधकको 'म'पना भगवानसँग नै
रहनुपर्छ । अर्को शब्दमा, साधनको सफलतामा केवल भगवत्-परायणता नै कारण छ ।
गीता भन्छ, योगीहरुमा पनि श्रद्धा-प्रेमपूर्वक भगवानको परायण भएर
भगवानको भजन गर्ने योगी सर्वश्रेष्ठ हो । यहाँ यो पनि भन्न खोजिएको छ,
इन्द्रियहरुको विषयमा रसबुद्धि नहुने अथवा इन्द्रियहरुको विषयसँग सम्बन्ध
विच्छेद गर्ने व्यक्ति स्थितप्रज्ञ हुन्छ भन्ने नियम छैन, किनकि उसमा
रसबुद्धि रहन सक्छ । परन्तु यो चाहिं नियम छ, स्थितप्रज्ञ भएपछि
उसका इन्द्रियहरु वशमा हुन्छन् ।
79. No. 52 श्लोक ५९ निराहारी (इन्द्रियहरुलाई विषयवाट हटाउने व्यक्ति) मनुष्यको पनि विषय त निवृत्त हुन्छ, तर रस निवृत्त हुँदैन ।
No. 52
श्लोक ५९
निराहारी (इन्द्रियहरुलाई
विषयवाट हटाउने व्यक्ति) मनुष्यको पनि विषय त निवृत्त हुन्छ, तर रस
निवृत्त हुँदैन । परन्तु परमात्मतत्वको अनुभव भएपछि यस्तो स्थितप्रज्ञ
पुरुषको रस पनि निवृत्त हुन्छ अर्थात् उसलाई संसारमा रसबुद्धि रहँदैन ।
मनुष्य निराहारी दुई किसिमले हुन्छ -- (१) आफ्नो इच्छाले
भोजन त्याग्नु अथवा विरामीवाट भोजनको त्याग हुनु र (२) सम्पूर्ण विषयहरुको
त्याग गरेर एकान्तमा वस्नु अर्थात् इन्द्रियहरुलाई विषयहरुवाट हटाउनु ।
यो श्लोकमा इन्द्रियहरुलाइ विषयहरुवाट हटाउने साधकलाई नै निराहारी भनिएको हो ।
विरामीको
मनमा हुन्छ, के गर्नु, शरीरमा विषयका वस्तु भोग गर्न सामर्थ्य छैन,
अहिले म सबै कुरा खान सक्तिन । तर म ठीक भएपछि, शरीरमा शक्ति आएपछि अहिले
खान नपाएको कुराहरु खान पाउँछु । यस्तो किसिमले विरामी पनि केही कालकोलागि
निराहारी रहन्छ र उसमा रसबुद्धि रहन्छ । यस्तै इन्द्रियहरु विषयवाट हट्दा
विषय त निवृत्त हुन्छन्, तर साधकको भित्र हुने रसबुद्धि, सुखबुद्धि निवृत्त
हुँदैन ।
विषयमा राग नभएको, तीव्र वैरग्यवान साधकको रसबुद्धि
साधनावास्थामा नै निवृत्त हुन्छ । तर तीव्र वैराग्य नै नभई साधनामा लागेका
साधकलाई विषयको त्याग गर्दा पनि राग निवृत्त भएको हुँदैन ।
यो
स्थितप्रज्ञको रसबुद्धि परमात्माको अनुभव भएपछि निवृत्त हुन्छ । रसबुद्धि
निवृत्त भएपछि साधक स्थितप्रज्ञ भइ नै हाल्छ भन्ने नियम पनि छैन । तर
स्थितप्रज्ञ भएपछि रसबुद्धि रहँदैन -- यो नियम हो ।
रसबुद्धि साधकको अहंतामा 'म'पनामा रहन्छ ।
यही रसबुद्धि स्थूलरूपले रागको रुप लिन्छ । अतः साधकले आफ्नो अहंत़ादेखि
नै रसलाई निकाली देओस् । 'म निष्काम छु, राग गर्नु, कामना गर्नु मेरो काम
होइन' भनेर ' । यस्तो किसिमले निष्कामता आएपछि अथवा निष्काम हुने उद्देश्य
भएपछि रसबुद्धि रहँदैन र परमात्मतत्वको अनुभव भएपछि रसको सर्वथा निवृत्ति
हुन्छ ।
भोगहरुको सत्ता र महत्ता मान्दा नै अन्तःकरणमा भोगहरु
प्रति एक सूक्ष्म खिंचाव, प्रियता, मिठास पैदा हुन्छ, त्यसको नाम रस हो ।
भोग भोगिसकेपछि मनुष्य भन्छ, 'एकदम रमाइलो भयो' -- यो रसको स्मृति हो । यो
रस अहम् मा रहन्छ, यही रसको स्थूलरुप राग, सुखासक्ति हो ।
जवसम्म संयोगजन्य सुखमा रसबुद्धि रहन्छ, तवसम्म प्रकृति
तथा उसको कार्य (क्रिया, पदार्थ, व्यक्ति) को व्यक्तिसँग पराधीनता रहन्छ नै
। रसबुद्धि निवृत्त भएपछि पराधीनता सर्वथा मेटिन्छ, भोगहरुको सुखको
परवशता रहँदैन, भित्रदेखि भोगहरुको गुलामी रहँदैन।
जवसम्म अन्तःकरणमा अलि कति मात्र पनि भोगहरुको सत्ता र
महत्ता रहन्छ, भोगहरुमा रसबुद्धि रहन्छ, तवसम्म परमात्माको अलौकिक रस प्रकट
हुँदैन । परमात्माको अलौकिक रसको त के कुरा, परमात्माको प्राप्ति गर्नु
छ -- यस्तो निश्चय पनि हुँदैन । वाहिरवाट इन्द्रियहरुको विषयहरुसँग
सम्बन्ध-विच्छेद हुँदा पनि अर्थात् भोगहरुको त्याग गर्दा पनि भित्र
रसबुद्धि वनिरहन्छ । तत्वबोध भएपछि यो रसबुद्धि सुक्छ, निवृत्त हुन्छ ।
तात्पर्य, जव संसारवाट आफ्नो भिन्नता र परमात्मासँग आफ्नो अभिन्नाताको
अनुभव हुन्छ, तव नाशवान (संयोगजन्य) रसको निवृत्ति हुन्छ । नाशवान रसको
निवृत्ति भएपछि अविनाशी (अखण्ड) रसको जागृति हुन्छ ।
तत्वबोध भएपछि त रस सर्वथा निवृत्त भइहाल्छ तर
तत्वबोध हुनु भन्दा पहिले पनि त्यो रसलाई महत्त्व नदिए, विचार गरे,
सत्संगले, सन्तकृपाले रस निवृत्त हुन सक्छ । जसको रसबुद्धि निवृत्त भैसकेको
छ , त्यस्तो तत्वज्ञ महापुरुषको संगले पनि रस निवृत्त हुन सक्छ ।
कर्मयोग, ज्ञानयोग र भक्तियोग -- तीनै साधनहरुवाट नाशवान्
रसको निवृत्ति हुन्छ । जति जति कर्मयोगवाट सेवाको रस, ज्ञानयोगवाट तत्वको
अनुभवको रस र भक्तियोगवाट प्रेमको रस मिल्न थाल्छ, त्यति त्यति नाशवान्
रस स्वतः छुट्दै जान्छ । जस्तो, केटाकेटी अवस्थामा खेलौनावाट रस
पाइन्थ्यो, अलि ठूलो भएपछि रुपियाँ, पैसामा रस मिल्न थालेको छ, तर खेलौनाको
रस छुटेको छ, त्यस्तै साधनाको रस मिल्न थालेपछि भोगहरुको रस स्वतः छुट्छ ।
रसबुद्धि रहेको साधकलाई जव भोग उसको अगाडि आउँछ, त्यो
वेला उसको मन पग्लिन्छ तथा ऊ भोगहरुको वशमा पर्छ । परन्तु रसबुद्धि निवृत्त
भएपछि भोगहरु प्राप्त हुँदा पनि तत्वज्ञ महापुरुषको चित्तमा किञ्चित्
मात्र पनि कुनै विकार उत्पन्न हुँदैन । ऊ भित्र त्यस्तो भोग
खिंच्ने कुनै वृत्ति नै पैदा हुँदैन । जस्तो, पशुको अगाडि रुपियाँको थैली
राखिदियो भने उसमा लोभ वृत्ति पैदा हुँदैन, किनभने पशुलाई रुपियाँ भनेको
के हो भन्ने नै थाहा हुँदैन । तर तत्वज्ञ महापुरुषलाई रुपियाँ भनेको के
हो भन्ने थाहा हुन्छ, तर पनि उसमा लोभ-वृत्ति पैदा हुँदैन । जस्तो, हामी
आफ्ना औंलाहरुले आफ्नो शरीरको कुनै अंग चिलाएको भागमा कन्याउँछौं र चिलाइ
मेटिएपछि ती औंलाहरुमा कुनै फरक पर्दैन, कुनै विकृति आउँदैन, त्यस्तै
इन्द्रियहरुद्वारा विषयको सेवन हुँदा पनि तत्वज्ञको चित्तमा कुनै विकार
आउँदैन, ऊ निर्विकार नै रहन्छ । कारण, रसबुद्धि निवृत्त भएपछि ऊ आफ्नो
सुखकोलागि कुनै विषयमा प्रवृत्त नै हुँदैन । उसको प्रत्येक प्रवृत्ति अरुको
हित र सुखकोलागि नै हुन्छ । आफ्नो सुखकोलागि गरिएको विषयको चिन्तनले पनि
पतन गर्छ र आफ्नो सुखकोलागि नगरिएको विषयको सेवन पनि बन्धनकरक हुँदैन ।
नाशवान् रस तात्कालिक हुन्छ, धेरै वेर टिकदैन । रुपियाँ
प्राप्तिको वेला जुन रस मिल्छ, त्यो रस पछि रहँदैन । भोजन गर्दा आएको रस
प्रत्येक गाँसमा कम हुँदै गएर अन्तमा सर्वथा मेटिन्छ, हुँदा हुँदा त्यो
भोजनवाट नै अरुचि हुन्छ । परन्तु अविनाशी रस कहिले पनि कम हुँदैन, वरु
जस्ता-को-तस्तो (अखण्ड) रहन्छ । नाशवान् रसको भोग गर्दा परिणाममा जडता,
अभाव, शोक, रोग, भय, उद्वेग आदि अनेक विकार पैदा हुन्छन् । यी विकारहरुवाट
भोगी व्यक्ति वच्न सक्तैन, किनकि विकार नै भोगको अवश्यम्भावी परिणाम हो ।
गीता भन्छ, काम आदि दोषहरुवाट मुक्त भएपछि नै व्यक्ति आफ्नो कल्याणको आचरण
गर्न सक्छ ।
78. No. 51 श्लोक ५८ जसरी कछुवा आफ्नो अंगहरुलाई सबैतिरवाट समेटछ, त्यसै गरी यो कर्मयोगी इन्द्रियहरुलाई इन्द्रियहरुका विषयहरुवाट सबै तरहले हटाउँछ ।
No. 51
श्लोक ५८
जसरी
कछुवा आफ्नो अंगहरुलाई सबैतिरवाट समेटछ, त्यसै गरी यो कर्मयोगी
इन्द्रियहरुलाई इन्द्रियहरुका विषयहरुवाट सबै तरहले हटाउँछ । त्यो वेला
उसको बुद्धि स्थिर हुन्छ ।
कछुवाले हिंडदा उसको अंग देखिन्छ -- चार खुट्टा, एउटा
पुच्छर र एउटा टाउको । तर उसले आफ्नो अंग लुकाएको वेलामा त उसको ढाड मात्रै
देखिन्छ । त्यस्तै स्थितप्रज्ञ पाँच इन्द्रियहरु र एउटा मन -- यी छ
इन्द्रियहरुलाई आफ्नो आफ्नो विषयहरुवाट हटाउँछ । यदि साधकको सम्बन्ध यी
इन्द्रियहरुसँग रहन्छ भने ऊ स्थितप्रज्ञ हुन सक्तैन । स्थितप्रज्ञ
विषयहरुवाट आफ्ना इन्द्रियहरुलाइ हटाउँछ र मनले विषयको चिन्तन गर्दैन ।
इन्द्रियहरुलाई विषयवाट हटाएपछि हामीलाई आफ्नो स्वतःसिद्ध
तत्वको अनुभव हुन्छ । यो स्वतःसिद्ध तत्व कालको अधीन छैन, कालको सीमामा
छैन । किनकि यो अनुभव कुनै क्रिया अथवा त्यागको फल होइन । यो अनुभव उत्पन्न
हुने वस्तु होइन । जस्तो आकाशमा सूर्य रहँदा पनि आँखा बन्द गर्यो भने
सूर्य देखिंदैन र आँखा खोल्ने वित्तिकै सूर्य देखिन्छ । यहाँ सूर्य र
आँखाहरुमा कार्य-कारणको सम्बन्ध छैन अर्थात् आँखा खोल्दा सूर्य पैदा हुँदैन
। सूर्य त पहिलेदेखि जस्ता-को-तस्तो नै छ । आँखा बन्द गर्नु भन्दा पहिले
पनि सूर्य उस्तै छ र आँखा वन्द गर्दा पनि सूर्य उस्तै छ । खालि आँखा वन्द
गर्दा नै हामीलाई सूर्यको अनुभव नभएको हो । त्यस्तै इन्द्रियहरुलाई
विषयहरुवाट हटाउँदा हुने स्वतःसिद्ध परमात्मतत्वको अनुभव मनसहित
इन्द्रियहरूको विषय होइन । अर्को शब्दमा, भोगहरुसंग, विषयहरुसँग राख्दा
पनि, भोगहरु भोगी रहँदा पनि त्यो तत्व त्यस्तै नै छ । तर भोगहरुसँग
सम्बन्धरुप पर्दा रहँदा त्यो तत्वको अनुभव हुन नसकेको हो, पर्दा हट्ने
वित्तिकै यसको अनुभव भइहाल्छ ।
77. No. 50 श्लोक ५७ सबैतिर आसक्तिरहित भएको मनुष्य ती शुभ-अशुभहरु (वस्तु) पाउँदा न त प्रसन्न हुन्छ, न द्वेष नै गर्छ ।
No. 50
श्लोक ५७
सबैतिर
आसक्तिरहित भएको मनुष्य ती शुभ-अशुभहरु (वस्तु) पाउँदा न त प्रसन्न हुन्छ,
न द्वेष नै गर्छ । त्यस्तो व्यक्तिको बुद्धि स्थिर हुन्छ ।
सबै ठाउँमा स्नेहरहित मनुष्यकोलागि आफ्नो भनिने शरीर,
इन्द्रियहरु, मन बुद्धि, र स्त्री, पुत्र, घर, धन आदि केहीमा पनि लगाव
हुँदैन ।
वस्तु आदि रहँदा म वनिरहन्छु र तिनीहरु
विग्रंदा म विग्रंछु, धन आउँदा म ठूलो हुन्छु, धन नरहँदा म मारिन्छु --
यस्तो किसिमका वस्तु आदिमा भएको स्नेहलाइ 'अभिस्नेह' भन्छन् । स्थितप्रज्ञ
कर्मयोगीलाई कुनै पनि वस्तु आदिमा यस्तो अभिस्नेह रहँदैन । वाहिर देखिंदा
वस्तु, व्यक्ति, पदार्थ आदिको संयोग रही रहँदा पनि उ भित्रदेखि सर्वथा
निर्लिप्त रहन्छ ।
जव अहिले वर्णित स्थितप्रज्ञ व्यक्तिको अगाडि शुभ-अशुभ,
शोभनीय-अशोभनीय, राम्रो-नराम्रो, अनुकूल-प्रतिकूल परिस्थिति आउँछन्, त्यो
वेला उ अनुकूल परिस्थितिमा अभिनन्दित हुँदैन र प्रतिकूल परिस्थितिमा द्वेष
गर्दैन ।
अनुकूल परिस्थितिमा मनमा जुन प्रसन्नता आउँछ, वाणीवाट
जुन प्रसन्नता प्रकट गरिन्छ, तथा वाहिर पनि उत्सव मनाइन्छ -- त्यस्ता
कृयाकलापहरुलाई 'अभिनन्दन' भनिन्छ । त्यस्तै प्रतिकूल परिस्थितिलाई लिएर
मनमा जुन दुःख हुन्छ, खिन्नता हुन्छ, मलाइ यो किन र कसरी भयो। यस्तो नभएको
भए राम्रो हुन्थ्यो, अव यस्तो परिस्थिति छिट्टै हटे राम्रो हुन्थ्यो भनेर ।
व्यक्तिमा यस्तो विचार हुनुलाई 'द्वेष' भनिन्छ । तर सर्वत्र
स्नेहरहित,निर्लिप्त भएको मनुष्य अनुकूलतामा अभिनन्दन गर्दैन र
प्रतिकूलतालाई लिएर द्वेष गर्दैन । तात्पर्य, उसलाई अनुकूल-प्रतिकूल,
राम्रो-नराम्रो अवसर प्राप्त भइरहन्छन्, तर ऊ भित्र सँधै निर्लिप्तता
रहिरहन्छ ।
त्यो स्थितप्रज्ञको बुद्धि प्रतिष्ठित छ, एकरस
र
एकरूप छ । साधन अवस्थाको उसको व्यवसायात्मिका बुद्धि अव परमात्मामा
अटल-अचल भएको छ । उसको बुद्धिमा यो विवेक जाग्रत भएको छ,
'संसारमा राम्रो-नराम्रोसँग मेरो कुनै पनि सम्बन्ध छैन। कारण कि ती
राम्रा-नराम्रा अवसर त वदलिन्छन्, तर मेरो स्वरूप वदलिंदैन ।'
वास्तवमा हेर्ने हो भने परिस्थितिको फरक न स्वरूपमा पर्छ र
न शरीर-इन्दियहरु, मन बुद्धिमा नै पर्छन् । किनभने हाम्रो आफ्नो स्वरूपमा
कहिले पनि अलिकति पनि कुनै परिवर्तन हुँदैन; र प्रकृति तथा प्रकृतिको
कार्य शरीर आदि स्वाभाविक नै वदलिइ रहन्छन् । शरीरसँग तादात्म्य भएको कारण
यस्तो फरक त बुद्धिमा नै पर्छ । जव यस्तो तादात्म्य मेटिन्छ, तव बुद्धिमा
भएको फरक पनि हराउँछ, अनि बुद्धि प्रतिष्ठित हुन्छ ।
यहाँ विचारणीय कुरो, कसैको बुद्धि जति नै तीखो भए पनि,
आफ्नो बुद्धिले परमात्माको विषयमा जति नै विचार गरे पनि उसले परमात्मालाई
आफ्नो बुद्धि अन्तर्गत ल्याउन सक्तैन । किनकि बुद्धि सीमित छ, तर परमात्मा त
असीमित र अनन्त हुनुहुन्छ । तर त्यो असीम परमात्मामा जव हाम्रो बुद्धि लीन
हुन्छ, त्यो वेला त्यही सीमित बुद्धिमा परमात्मा सिवाय अर्को कुनै सत्ता
नै रहँदैन -- यसैलाई बुद्धि परमात्मामा लीन हुने भनिएको हो ।
76. No. 49 श्लोक ५६ जसको मनमा दुःखहरुको प्राप्ति हुँदा उद्वेग हुँदैन र सुखहरुको प्राप्ति हुँदा स्पृहा हुँदैन
No. 49
श्लोक ५६
जसको
मनमा दुःखहरुको प्राप्ति हुँदा उद्वेग हुँदैन र सुखहरुको प्राप्ति हुँदा
स्पृहा हुँदैन (तथा) जो राग, भय र क्रोधदेखि सर्वथा रहित भएको छ, त्यो
मननशील मनुष्यलाई स्थिरबुद्धि भनिन्छ ।
दुःखको सम्भावना अथवा ती दुःखको प्राप्ति हुँदा पनि जसको
उद्वेग हुँदैन अर्थात् कर्तव्य-कर्म गर्दा पनि वाधा हुनु, कर्मको फल
प्रतिकूल हुनु आदि आदि प्रतिकूलताहरू आउँदा पनि उसको मनमा उद्वेग हुँदैन ।
सुखहरुको सम्भावना र तिनीहरुको प्राप्ति हुँदा पनि जो
भित्र स्पृहा हुँदैन अर्थात् वर्तमानमा कर्म राम्रोसँग सफल हुनु, तात्कालिक
आदर र प्रशंसा हुनु, अनुकूल फल मिल्नु आदि अनुकूलाताहरु आउँदा पनि उसको
मनमा 'यो परिस्थिति यस्तै नै वनिरहोस्; यस्तो परिस्थिति सदा भइरहोस' --
यस्तो स्पृहा हुँदैन । उसको अन्तः:करणमा अनुकूलताको कुनै पनि असर हुँदैन ।
संसारका पदार्थहरुको मनमा जुन रंग चढ्छ, त्यसलाई 'राग'
भन्छन् । पदार्थहरुमा राग भएपछि यदि कोही आफू भन्दा वलियो व्यक्तिवाट ती
पदार्थहरुको नाश भयो भने, ती पदार्थहरुवाट साधकको सम्बन्ध-विच्छेद भयो भने,
ती वस्तुहरुको प्राप्तिमा बिघ्न पार्छ भने साधकको मनमा एक प्रकारको 'भय'
हुन्छ । तर त्यस्तो बिघ्न पार्ने व्यक्ति हामी भन्दा कमजोर छ भने हामीलाई
ऊसँग रीस पनि उठ्छ । तर जसको मनमा अरुलाइ सुख पुर्याउने, तिनीहरुको हित
गर्ने, तिनीहरुको सेवा गर्ने भाव जाग्रत हुन्छ, त्यो व्यक्तिको राग
स्वाभाविक तरिकाले मेटिन्छ । राग मेटिएपछि भय र क्रोध पनि रहँदैन। त्यसैले
त्यस्तो व्यक्ति राग,भय र क्रोधदेखि सर्वथा रहित हुन्छ ।
जवसम्म आंशिकरूपले उद्वेग, स्पृहा, राग, भय र क्रोध
रहन्छ, तवसम्म त्यो साधक हुन्छ । यिनीहरुवाट सर्वथा रहित भएपछि त्यही साधक
सिद्ध हुन्छ ।
75. No. 48 श्लोक ५५ हे पृथानन्दन ! जुन वेला साधक मनमा आएका सम्पूर्ण कामनाहरुलाई भलिभाँती त्याग गरिदिन्छ,
No. 48
भगवानले भन्नुभयो ।
श्लोक ५५
हे
पृथानन्दन ! जुन वेला साधक मनमा आएका सम्पूर्ण कामनाहरुलाई भलिभाँती त्याग
गरिदिन्छ, आफू आफैंमा सन्तुष्ट रहन सक्छ, त्यो वेला उसलाई 'स्थिरबुद्धि'
भनिन्छ ।
कामना न त स्वयंमा छ र मनमा नै छ । कामना त आउने-जाने
खालको हो र स्वयं निरन्तर रहने हो; त्यसैले स्वयंमा कामना कसरी हुन सक्छ ?
मन एउटा करण हो र त्यसमा पनि कामना निरन्तर रहँदैन, वरु यसमा आउने जाने
गर्छ । अतः मनमा पनि कामना कसरी हुन सक्छ ? परन्तु
शरीर-इन्द्रियहरु-मन-बुद्धिसँग तादात्म्य भएको कारणले मनुष्य मनमा
आउने-जाने कामनाहरु आफूमा मानिदिन्छ ।
आफ्नो स्वरूपको कहिले त्याग हुँदैन र जोसँग आफ्नो कुनै
पनि सम्बन्ध छैन, त्यसको पनि त्याग हुँदैन । जुन आफ्नो होइन तर जसलाई आफ्नो
मानिन्छ, त्यसैको त्याग हुन्छ । त्यस्तै कामना पनि आफूमा छैन, तर त्यसलाई
आफ्नो मानिएको छ, यही मान्यता नै त्याग गर्ने हो हामीले । यहाँ यो पनि भन्न
खोजिएको छ, हामीमा कुनै पनि कामना नरहोस्, कामनाको कुनै पनि अंश वांकी
नरहोस् ।
जुन वेला सबै कामनाहरुको त्याग हुन्छ, त्यसपछि साधक आफू आफैंमा सन्तुष्ट रहन्छ, उसलाई आफूमा स्वाभाविक सन्तोष हुन्छ ।
सन्तोष
पनि दुई किसिमका हुन्छन्,-- एक सन्तोष गुण हो र एक सन्तोष स्वरूप हो ।
अन्तःकरणमा कुनै प्रकारको इच्छा नहोस् -- यो सन्तोष गुण हो; स्वयंमा
असन्तोषको अत्यंताभाव होस् -- यो सन्तोष स्वरूप हो । यो स्वरूपभूत सन्तोष
स्वतः सर्वदा रहन्छ । यसकोलागि कुनै अभ्यास या विचार गर्नु पर्दैन ।
स्वरूपभूत सन्तोषमा प्रज्ञा (बुद्धि) स्वतः स्थिर रहन्छ ।
हामी जव धेरै शाखाहरु भएका अनन्त कामनाहरुलाई आफूमा
मान्थ्यौं त्यो वेला पनि वास्तवमा कामनाहरु आफूमा थिएनन् र स्वयं
स्थितप्रज्ञ नै थियौं । परन्तु त्यो वेला आफूमा कामनाहरुले गर्दा हाम्रो
बुद्धि स्थिर छथिए न, हामीलाई स्थितप्रज्ञ भनिएको छैन अर्थात् हामीलाई
स्थितप्रज्ञको अनुभव भएको छैन । अव हामी सम्पूर्ण कमानाहरुको त्याग गर्न
सफल भयौं भने अर्थात् हामीले सम्पूर्ण कामनाहरुलाई हटाइदियौं भने हामी पनि
स्थितप्रज्ञ हुनेछौं अर्थात् हामीलाई आफ्नो स्थितप्रज्ञताको अनुभव हुनेछ ।
साधक बुद्धिलाई स्थिर गर्ने कोशीस गर्छ । परन्तु
कामनाहरुको सर्वथा त्याग भएपछि बुद्धिलाई स्थिर गर्नु पर्दैन, उसको बुद्धि
स्वतः स्वाभाविक स्थिर हुन्छ ।
कर्मयोगमा साधकको
कर्महरुसँग ज्यादा सम्बन्ध रहन्छ । उसकोलागि योगमा आरूढ़ हुन पनि कर्म कारण छ
। यसैले कर्मयोगीको कर्महरुसँग सम्बन्ध साधक अवस्थामा पनि रहन्छ र
सिद्धावस्थामा पनि रहन्छ । सिद्धावस्थामा कर्मयोगी द्वारा मर्यादा अनुसार
कर्म भइ नै रहन्छ । त्यो सिद्धवाट हुने सबै कर्महरु अरुकोलागि आदर्श
हुन्छन् । यही सन्दर्भमा भगवान भन्नुहुन्छ, कर्मयोगी कर्म गर्दा निर्लिप्त
रहन्छ र निर्लिप्त रहँदै कर्म गर्छ ।
जवसम्म साधकमा कामनाको अंश रहन्छ, त्यो वेलासम्म उसलाई
साधक भनिन्छ र जव उसका कामनाहरुको सर्वथा अभाव हुन्छ, त्यो वेला उसलाई
सिद्ध भनिन्छ । यो श्लोकमा स्थितप्रज्ञ पुरुषको पहिले संसारको त्याग हुन्छ,
त्यसपछि परमात्मामा स्थिति हुन्छ ।
74. No. 47 श्लोक ५४ अर्जुनले भने हे केशव ! परमात्मामा स्थित स्थिर बुद्धि भएको मनुष्यको बुद्धिको कस्तो लक्षण हुन्छ ?
No. 47
अर्जुनले भने
श्लोक ५४
हे
केशव ! परमात्मामा स्थित स्थिर बुद्धि भएको मनुष्यको बुद्धिको कस्तो लक्षण
हुन्छ ? त्यो स्थिर बुद्धि भएको मनुष्य कसरी वोल्छ, कसरी वस्छ, कसरी
हिंड्छ अर्थात् व्यवहार गर्छ ?
यो प्रश्न सोध्नु भन्दा पहिले अर्जुनको मनमा कर्म
र बुद्धिको वारेमा शंका भएको थियो । त्यसपछि भगवानले अर्जुनलाई यो श्लोक
भन्दा अघिका दुई श्लोकमा भगवानले अर्जुनलाई भन्नुभयो, 'जव तिम्रो बुद्धिले
मोहकलिल र श्रुतिविप्रतिपत्ति तर्नेछ, तव तिमी योग प्राप्त गर्नेछौ ।'
यस्तो सुनेपछि अर्जुनलाई लाग्यो, 'मैले पनि योग प्राप्त
गरें भने म पनि योग पाउनेछु, त्यसपछि मेरो लक्षण कस्तो होला ?' यही अनुसार
अर्जुनले आफ्नो व्यक्तिगत शंका पहिले सोधे ।
परमात्मा
प्राप्त भैसकेको व्यक्तिलाई यहाँ 'समाधिस्थ' भनिएको छ । 'स्थितप्रज्ञ'
भनेको साधक पनि हो, सिद्ध पनि हो । जसको विचार दृढ छ, जो साधनवाट कहिले पनि
विचलित हुँदैन, त्यस्तो साधकलाई पनि 'स्थितप्रज्ञ' (स्थिर बुद्धि भएको)
भन्छन् र परमात्मतत्वको अनुभव भएपछि जसको बुद्धि स्थिर भइसकेको छ, त्यस्तो
सिद्धलाई पनि 'स्थितप्रज्ञ' भन्छन् । साधक र सिद्ध दुबैलाई स्थितप्रज्ञ
शब्द दिइएकोले पहिले साधकको वर्णन भैसक्यो, अव आउँदा श्लोकहरुमा सिद्धको
वर्णन हुँदै छ ।
ज्ञानयोगी साधकलाई धेरै जसो साधन अवस्थामा नै कर्महरुदेखि
उपरति भइसकेको हुन्छ; सिद्ध भएपछि ज्ञानयोगीको साधकलाई कर्महरुवाट विशेष
उपराम हुन्छ । भक्तियोगी साधकलाई पनि साधन-अवस्थामा जप, ध्यान, सत्संग,
स्वाध्याय आदि भगवत् सम्बन्धी कर्महरु गर्नमा रुचि हुन्छ र यस्ता कर्महरु
ऊवाट धेरै हुन्छन् । सिद्ध-अवस्थामा त भक्तियोगी साधकको भगवत् सम्बन्धी
कर्महरु विशेष हुन्छन् । यस्तो किसिमले ज्ञानयोगी र भक्तियोगी दुबैको साधन
र सिद्ध अवस्थामा अन्तर आउँदैन । उनीहरुको दुवै अवस्थाहरुमा कर्म गर्ने
प्रवाह जस्ता-को-तस्तो चलिरहन्छ । कारण कि साधन अवस्थामा उनको कर्म गर्ने
प्रवाह रहन्छ र ऊ योगमा आरूढ़ हुनमा पनि कर्म नै खास कारण रहन्छन् । अतः
भगवानले सिद्धको लक्षणहरूमा, साधक जसरी सिद्ध हुन सक्छ, त्यसको साधन पनि
वताइदिनु भएको छ र जो सिद्ध भैसकेका छन्, तिनीहरुको लक्षण पनि वताउनुभएको छ
।
73. No. 46 श्लोक ५३ जुन वेला शास्त्रीय मतभेदहरुले विचलित भएको तिम्रो बुद्धि निश्चल हुनेछ र परमात्मामा अचल हुनेछ, त्यो वेला तिमीलाई योग प्राप्त हुनेछ ।
No. 46
श्लोक ५३
जुन
वेला शास्त्रीय मतभेदहरुले विचलित भएको तिम्रो बुद्धि निश्चल हुनेछ
र परमात्मामा अचल हुनेछ, त्यो वेला तिमीलाई योग प्राप्त हुनेछ ।
अर्जुनको मनमा यस्तो धारणा छ कि आफ्नो गुरुजनलाई र आफ्ना
कुटुम्बलाई मार्नु पनि ठिक छैन र आफ्नो क्षात्रधर्म (युद्ध गर्नु)को त्याग
गर्नु पनि उचित छैन । एकातिर आफ्नो कुटुम्बको पनि रक्षा गर्नु छ, अर्कोतिर
क्षात्रधर्मको पालना पनि गर्नु छ । कुटुम्बको रक्षा गर्ने हो भने युद्ध
हुँदैन र क्षात्र धर्मको रक्षा गर्ने हो भने कुटुम्बको रक्षा हुँदैन ।
यी दुई कुराहरुमा अर्जुनको 'श्रुतिप्रतिपत्ति' छ । जसवाट अर्जुनको बुद्धि
विचलित भइरहेछ । त्यसैले यहाँ भगवान शास्त्रीय मतभेदहरुमा बुद्धि निश्चल र
परमात्मतत्वको विषयमा बुद्धिलाई अचल गर्न प्रेरणा गर्नुहुन्छ अर्जुनलाई ।
साधकलाई यस्तो सन्देह हुन्छ, संसारिक व्यवहार ठीक गर्ने
हो कि परमात्मप्राप्ति गर्ने हो ? यस्तो विचार गर्दा गर्दा उसको निर्णय
हुन्छ, मलाइ त केवल संसारको सेवा गर्नु छ र संसारवाट केही लिनु छैन । यस्तो
निर्णय गर्ने वित्तिकै साधकलाई भोगहरुदेखि उपरति हुन थाल्छ, वैराग्य हुन
थाल्छ । यस्तो हुँदा साधक परमात्मातर्फ लाग्छ, तव उसको अगाडि साध्य र
साधन-विषयक किसिम किसिमका मतभेदहरु आउँछन् । त्यो वेला उसलाई 'मैले कुन
साध्यको स्वीकार गर्नु पर्छ र कुन साधन-पद्धतिले अघि वढ्नु पर्छ' भन्ने
कुराको निर्णय गर्न वडो कठिन हुन्छ । यही वेला साधकलाई सत्संग जरुरत पर्छ ।
सत्संग, द्वारा नै ऊ आफ्नो रुचि श्रद्धा-विश्वास र योग्यताको निर्णय गर्न
सक्छ अथवा निर्णय गर्न नसकेको अवस्थामा भगवानको शरण भएर भगवानलाई पुकार्छ ।
त्यसपछि परमात्माको कृपाले उसको बुद्धि निश्चल हुन्छ । अर्को कुरा,
सम्पूर्ण शास्त्र, सम्प्रदाय आदिमा जीव, संसार र परमात्मा -- यी तीनैको
अलग-अलग रुपहरुले वर्णन गरिएको छ । यसमा विचारपूर्वक हेर्यो भने जीवको
स्वरूप चाहे जस्तो होस्, तर जीव म हुँ -- यसमा सबै एकै मत छन्, र संसारको
स्वरूप चाहे जस्तो होस्, अतः संसारलाई छोड्नु छ -- यसमा सबै एक मत छन्; र
परमात्माको स्वरूप चाहे जस्तो होस्, तर यसलाई प्राप्त गर्नु छ -- यसमा सबै
एक मत छन् । यस्तो निर्णय गरेपछि साधकको बुद्धि निश्चल हुन्छ । मलाई
त केवल परमात्मा प्राप्त गर्नु छ -- यस्तो दृढ निश्चय भएपछि बुद्धि अचल
हुन्छ । तव साधकलाई सुगमतापूर्वक योग -- परमात्मासँग नित्ययोग प्राप्त
हुन्छ ।
हामीलाई यो साधनमा ढिलाइ हुनुको कारण शास्त्रीय
निर्णयमा र आफ्नो कल्याणको निश्चयमा हुने कमी नै हो । तर यी दुइमा आफ्नो
बुद्धि निश्चल र अचल भएपछि परमात्मासँग नित्य-योगको अनुभव हामीलाई हुन्छ ।
संसारसँगको सम्बन्ध विच्छेद गर्नकोलागि हाम्रो बुद्धि 'निश्चल'
हुनुपर्छ र परमात्मासँग सम्बन्ध जोड्न हाम्रो बुद्धि 'अचल' हुनुपर्छ । यो
अचल बुद्धिलाई यही अध्यायमा समता भनिएको छ ।
यसपछिको प्रसंग 'स्थितप्रज्ञ'को छ, यसको वर्णन विस्तारमा गरिन्छ ।
72. No. 45 श्लोक ५२ जुन वेला तिम्रो बुद्धिले मोहरूपी दलदल भलिभाँती तर्नेछ, त्यही वेला तिमी सुनेको र सुन्नमा आउने भोगहरुवाट वैराग्य पाउँछौ ।
No. 45
श्लोक ५२ 71. No. 44 श्लोक ५१ किनकि समतायुक्त बुद्धिमान् साधक कर्मजन्य फल त्यागेर -मरणरुप वन्धनदेखि मुक्त भएर निर्विकार पद पाउँछ ।
No. 44
श्लोक ५१
किनकि समतायुक्त बुद्धिमान् साधक कर्मजन्य फल त्यागेर -मरणरुप वन्धनदेखि मुक्त भएर निर्विकार पद पाउँछ ।
यहाँ
समताले युक्त व्यक्तिलाई मनीषी अर्थात् बुद्धिमान भन्नुभयो । कर्म त
फलरूपमा परिणत भई नै हाल्छ । त्यसको फलको त्याग हुने सक्तैन । कर्मजन्य
फलको त्याग गर्ने अर्थ, कर्मजन्य फलको इच्छा, कामना, ममता, वासनाको त्याग
गर्ने ।
समतायुक्त मनीषी जन्म रुप बन्धनवाट मुक्त हुन्छ ।
कारणसमतामा स्थित हुँदा साधकमा राग-द्वेष, कामना, वासना, ममता आदि दोष
अलिकति पनि रहँदैन । त्यस्ता व्यक्ति जन्म-मरणरूपी बन्धनवाट मुक्त हुन्छ ।
यस्ता मनीषीहरु 'अनामय' पद पाउँछन् । अनामय (निर्विकार) हाम्रो आफ्नो
स्वरूप नै हो, परमत्मतत्व नै हो , गुणातीत तत्व पनि यही हो, जुन तत्व पाएर
कसैलाई पनि जन्म-मरणको चक्रमा आउनु पर्दैन ।
'अनामय' पद प्राप्त हुनु भनेको के हो ?
प्रकृति
विकारशील छ, यसको कार्य शरीर-संसार पनि विकारशील छ । स्वयम् निर्विकार
हुँदा हुँदै पनि जव उ विकारी शरीरसंग तादात्म्य गर्छ, तव उ आफूलाई पनि
विकारी मान्छ । तर जव उ शरीरसँग मानिएको सम्बन्ध त्याग्छ, तव उसलाई आफ्नो
सहज निर्विकारी स्वरूपको अनुभव हुन्छ । यो स्वाभाविक निर्विकारताको अनुभव
हुन्छा । यसकोलागि हामीलाई कुनै पनि परिश्रम गर्नु पर्दैन, किनभने यो
व्यक्ति स्वतः स्वाभाविक छ ।
सात्विक कर्मको फल निर्मल हो , राजस कर्मको फल दुःख हो र
तामस कर्मको फल मूढता हो । यी तीनै प्रकारको फलहरु समतायुक्त मनुष्य
त्यागिदिन्छ । कर्मजन्य फलको त्यागको दुइ अर्थ हुन्छ -- फलको इच्छाको त्याग
गर्नु र कर्महरुको फलस्वरूप अनुकूल-प्रतिकूल परिस्थिति प्राप्त हुँदा पनि
सुखी-दुःखी नहुनु ।
वास्तवमा उत्पत्ति-विनाशशील सम्पूर्ण संसार कर्मफल सिवाय केही छँदै छैन । कर्मफलको त्याग गरियो भने कुनै बन्धन वांकी रहँदैन ।
'मनीषी' शब्दको अर्थ हो --बुद्धिमान् । पूर्वश्लोक अनुसार समतापूर्वक कर्म गर्नु नै बुद्धिमानी हो ।
70. No. 42 श्लोक ४९ बुद्धियोग (समता)को अपेक्षा सकामकर्म अत्यन्त नै निकृष्ट छ ।
No. 42
श्लोक ४९
बुद्धियोग
(समता)को अपेक्षा सकामकर्म अत्यन्त नै निकृष्ट छ । त्यसैले हे धनन्जय !
तिमी बुद्धि (समता)को आश्रय लिऊ, किनकि फलको हेतु वन्ने व्यक्ति अत्यन्त
दीन हुन्छन् ।
यहाँ बुद्धियोगको अपेक्षा सकामकर्मलाइ अत्यन्त निकृष्ट
भनियो, यसको अनुष्ठान गर्ने मनुष्यलाई अत्यन्त दीन भनियो । कारण कि कर्म
पनि उत्पन्न र नष्ट हुन्छन्, तथा ती कर्महरुको फलको पनि संयोग र वियोग
हुन्छ । परन्तु योग (समता) नित्य छ, योगको कहिले पनि वियोग हुँदैन, यसमा
कहिले पनि कुनै पनि विकृति आउँदैन ।
सम्पूर्ण कर्महरुमा समता नै श्रेष्ठ छ । समता विना
सम्पूर्ण जीव कर्म गरि रहनछन् तथा ती कर्महरुको परिणाममा जन्मने, मर्ने पनि
गरिरहन्छन् र दुःख भोगी रहन्छन् । किनकि समता विना कर्ममा उद्धार गर्ने
ताकत नै छैन । कर्महरुमा समता नै कुशलता हो । यदि कर्महरुमा समता छैन भने
शरीरमा अहंता, ममता हुनेछ र शरीरमा अहंता,ममता हुनु नै पशुबुद्धि हो ।
जस्तो प्रकाश र अन्धकार परस्पर विरोधी छन्, त्यस्तै
बुद्धियोग र सकाम कर्म पनि परस्पर विरोधी छन् । यी दुइमा दिन रात जस्तो
महान् अन्तर छ । किनकि बुद्धियोग परमात्मा प्राप्ति गराउँछ, र सकाम कर्म
जन्म -मरण दिन्छ ।
भगवान अर्जुनलाई माध्यम वनाएर हामीलाई भन्नुहुन्छ, 'तिमी
समताको शरण लेऊ ।' समतामा नित्य-निरन्तर स्थित हुनु नै समताको शरण लिनु हो ।
समतामा स्थित रहंदा नै हामीलाई स्वरूपमा आफ्नो स्थितिको अनुभव हुन्छ ।
भगवान अझ भन्नुहुन्छ, कर्महरुको फलको हेतु वन्नु अत्यन्त
निकृष्ट हो । कर्म, कर्मफल, कर्मसामग्री र शरीर आदि करणहरुसँग सम्बन्ध
जोड्नु नै कर्मफलको हेतु वन्नु हो ।
कर्म र
कर्मफलको बिभाग अलग छ, यी दुइदेखि रहित नित्य-तत्वको बिभाग अलग छ । त्यो
नित्य तत्व अनित्य कर्मफलको आश्रित हुनु -- यो जस्तो निकृष्ट अरु के होला ?
कर्मयोगमा 'कर्म' करणसापेक्ष हो, तर योग करण निरपेक्ष हो
। योगको प्राप्ति कर्मले होइन, सेवा, त्यागले हुन्छ । अतः कर्मयोग कर्म
होइन । कर्मयोग करणनिरपेक्ष अर्थात् विवेकप्रधान साधन हो । सेवा, त्यागको
प्रधानता नभए कर्म हुन्छ, कर्मयोग हुँदैन ।
समता परमात्मालाई प्राप्ति गराउँछ, तर सकाम कर्म जन्म-मरण
दिन्छ । त्यसैले हामीले समताको नै आश्रय लिनुपर्छ, समतामा नै स्थित
रहनुपर्छ । समतामा स्थित हुन सके हामी दीन हुँदैनौं, वरु कृतकृत्य,
हुन्छौं । तर सकामभावपूर्वक आफ़्नोलागि कर्म गर्ने व्यक्ति सँधै दीन, वद्ध
नै रहन्छ ।
गीतामा कर्मयोगकोलागि तीन शब्द आएका छन् -- बुद्धि, योग र
बुद्धियोग । कर्मयोगमा कर्मको प्रधानता छैन, योगको प्रधानता छ । कर्मयोगमा
व्यवसायात्मिका बुद्धिको प्रधानता भएकोले यसलाई बुद्धियोग भनिएको हो र
विवेकपूर्वक त्यागको प्रधानता भएकोले यसलाई 'योग' या 'बुद्धियोग' भनिएको हो
।
ध्यानयोगमा मन र कर्मयोगमा बुद्धिको प्रधानता छ । मनको
निरोधमा स्थिरता र चंचलता दुवै धेरै पछिसम्म रहिरहन्छ । हाम्रो दृष्टिमा
अर्को सत्ताले मान्यता पाउन्जेल मनको निरोध सर्वथा हुन सक्तैन । यसैले
समाधिसम्म पुग्दा पनि दुइ अवस्था -- समाधि र व्युत्थान -- रही रहन्छन् ।
परन्तु बुद्धिको प्रधानता रहंदा कर्मयोगमा विवेकको मुख्यता रहन्छ । विवेकमा
सत् र असत् दुवै रहन्छन् । कर्मयोगी असत् वस्तुहरुलाई सेवा-सामग्री मानेर
ती वस्तुहरुलाई अरुको सेवामा लगाउँछ । यसो गर्दा असत् को छिट्टै र सजिलोसँग
त्याग हुन्छ ।
मनको निरोध नित्य-निरन्तर हुँदैन, समय समयमा र एकान्तमा
हुन्छ । परन्तु व्यवसायात्मिका बुद्धि अर्थात् बुद्धिको निश्चय निरन्तर
रहन्छ ।
वेदमा एक लाख मन्त्रहरु छन्, ती मध्ये
असी हजार मात्र कर्मकाण्डको लागि छन्, वांकी वीस हजारमा सोह्र हजार उपासना
काण्डकोलागि छन्, वाट वांकी चार हजार ज्ञान काण्डकोलागि छन् ।
कर्मकाण्डकोलागि यति धेरै मात्र दिइनुको कारण, संसारमा ज्ञानका अधिकारी
थोरै हुनुले नै हो । तमोगुणमा वसिरहेको 'निष्क्रिय' व्यक्तिलाई कर्ममा
लगाउन पनि वेदले भन्यो, 'हे बाबु, यसरी नसुत, उठ, हेर तिमी देवताको पूजा
गर, आराधना गर, त्यसो भए देवताहरुले तिमीलाई इच्छा लागेको फल दिन्छन् ।'
यस्तो सुनेपछि त्यसरी सुतिरहेको व्यक्ति कर्ममा प्रवृत्त हुन्छ । तर, वेदले
भनेको छैन, 'तिमी कर्म मात्रै गरिरहु' । वेदको उद्देश्य जो व्यक्ति जुन
स्तरको छ, त्यसको स्तर माथि उठाउनु हो ।
तर, हालै देख्नमा पनि आएको छ, हामी पूजाको नाममा,
उपासनाको नाममा 'यान्त्रिक' पूजा, उपासना गरिरहेछौं । केही दिन मात्रै
हामीले हाम्रो घरमा राखेको 'सहयोगी'को वारेमा कसैले सोध्यो भने हामी त्यसको
पूरा 'biodata' भन्न सक्छौं, तर आफूले वर्षौँदेखि पूजा गरिरहेको भगवान 'के
हो, को हो' भनेर कसैले हामीलाई सोध्यो भने हामीसंग जवाफ छैन । यस्तो किन
भएको भन्ने प्रश्नको जवाफ: हामीले यसको खोजी नै गरेका छैनौं । सँधै
पूजाकोठामा जान्छौं, पूजा गर्छौं, तर, आफूले नै पूजा गरेको तत्वको ज्ञान नै
नहुने हामी जस्ता व्यक्तिलाई हामीले नै के भन्ने ? यस्तो 'यान्त्रिक' जीवन
विताउने हामीलाई के भन्ने? हामीलाई यतिका दिनसम्म किन प्रश्न आएन, 'मैले
पूजा गरिरहेको तत्व के हो ? 'म' पूजा गरिरहेको तत्व को हो, के हो' भनेर ?
अचम्म लाग्छ, विचार गर्दा पनि । यन्त्रवत् कर्म गर्ने हामी जस्तालाई कसरी
सुख हुन्छ ? अज्ञानवश कर्म भैरहेछ हामीवाट, तर हामी आफूलाई त्यस्तो ठानी
रहेका छैनौं ।
अहिले मैले सोचेको विषयमा हजुरहरुले थोरै भए पनि समय
दिने हो कि ? हजुरहरुको मुख देखेर कुरा गर्न पाएको छैन, हजुरहरु रिसाउने हो
कि भन्ने डर पनि लाग्यो मलाई त !
69. No 41 श्लोक ४८ हे धनन्जय ! तिमी आसक्ति त्यागेर सिद्धि-असिद्धिमा सम भएर योगमा स्थित हुँदै कर्महरु गर, किनकि समत्व नै योग हो ।
No 41
श्लोक ४८
हे धनन्जय ! तिमी आसक्ति त्यागेर सिद्धि-असिद्धिमा सम भएर योगमा स्थित हुँदै कर्महरु गर, किनकि समत्व नै योग हो ।
कुनै
पनि कर्ममा, कुनै पनि कर्मको फलमा, कुनै पनि देश, काल, घटना, परिस्थिति
अन्तःकरण, वहिःकरण आदि प्राकृत वस्तुमा हाम्रो आसक्ति नभए हाम्रो कर्म
निर्लिप्ततापूर्वक हुन सक्छ । यदि हामी कर्म,फल आदि केहीमा पनि टाँसिन्छौँ
भने हामी कसरी निर्लिप्त रहन सक्छौं ? निलिप्त नभई हाम्रो कर्म मुक्ति
दिने कसरी हुन्छ ?
यहाँ प्रश्न आउँछ:
आसक्तिको त्यागको परिणाम के हुन्छ ? यसको उत्तर हो, सिद्धि र असिद्धिमा समता हुनेछ ।
कर्म पूरा
होस् अथवा नहोस्, सांसारिक दृष्टिले आफूले गरेको कर्मको फल अनुकूल होस्
अथवा नहोस्, त्यो कर्म गर्दा आदर-निरादर, प्रशंसा-निन्दा होस् या नहोस,
अन्तःकरणको शुद्धि होस् या नहोस् आदि आदि जति पनि सिद्धि र असिद्धिहरु छन्,
तिनमा सम रहनु पर्छ ।
कर्मयोगमा समता
भएको व्यक्तिलाई आफ्नो मुक्तिको पनि मतलव हुँदैन । उसलाई लाग्छ,'जे सुकै
होस्, मैले त खालि कर्तव्य-कर्म गर्ने हो ।' त्यो समता हाम्रो अन्तःकरणमा
निरन्तर वनी रहनुपर्छ । हामीलाई असंगता नभए पनि, समता नआए पनि हाम्रो
उद्देश्य असंग हुने, सम हुने नै हुनु पर्छ । यो त नियम नै छ कि उद्देश्यमा
भएको कुरो अन्तमा सफल भएरै छोड्छ । त्यसैले, साधनरुप समताले अर्थात्
अन्तःकरणको समताले साध्यरुप समता स्वतः आउँछ ।
सिद्धि-असिद्धिमा
सम भएपछि त्यो समतामा निरन्तर अटल भएर स्थित रहनु नै 'योगस्थ' हुनु हो ।
यही समतामा हरदम स्थित रहँदै हामीले कर्तव्य-कर्म गर्नुपर्छ । समता नै योग
हो, समता परमात्माको स्वरूप हो ।
'समता
नै योग हो' --यो योगको परिभाषा हो । यो श्लोकको तात्पर्य, स्थूल, सूक्ष्म
र कारण-शरीरवाट हुने सम्पूर्ण क्रियाहरु केवल संसारको सेवारूपले गर्ने हो,
आफ्नोलागि होइन । यसो गरेर नै समता आउँछ ।
यही सन्दर्भमा बुद्धि र समता सम्बन्धि विशेष कुरोको पनि वर्णन छ ।
बुद्धिका
दुइ किसिम छन् --अव्यवसायात्मिका र व्यवसायात्मिका । जसमा संसारिक सुख,
भोग, आराम,मान-वडाई आदि प्राप्त गर्ने ध्येय हुन्छ, त्यो बुद्धि
'अव्यवसायात्मिका' हुन्छ । जसमा समता प्राप्त गर्ने, आफ्नो कल्याण गर्ने
नै उद्देश्य रहन्छ,त्यो बुद्धि 'व्यवसायात्मिका' हुन्छ । अव्यवसायात्मिका
बुद्धि अनन्त हुन्छ र व्यवसायात्मिका बुद्धि एक हुन्छ । बुद्धि
अव्यवासायात्मिका भएको व्यक्ति स्वयम् अव्यवसायी हुन्छ, संसारी हुन्छ ।
व्यवसायात्मिका बुद्धि भएको व्यक्ति स्वयम् व्यवसायी हुन्छ, तथा ऊ साधक
हुन्छ ।
समता पनि
दुइ प्रकारका हुन्छन् -- साधनरुप समता र साध्यरुप समता । साधनरुप समता
अन्त:करण सम्बन्धी हुन्छ र साध्य रुप समता परमात्मस्वरूपको हुन्छ । सिद्धि
-असिद्धि, अनुकूलता - प्रतिकूलता आदिमा सम रहनु, अर्थात् अन्तःकरणमा राग -
द्वेष नहुनु साधनरुप समता हो । यो समताको वर्णनको गीतामा विस्तृत व्याख्या
गरिएको छ । यो साधनरुप समतावाट जुन स्वतः सिद्ध समताको प्राप्ति हुन्छ,
त्यो साध्यरुप समता हो, जसको वर्णन यही अध्यायको त्रिपन्नौं श्लोकमा छ ।
एक संसारी
हुन्छ, एक साधक हुन्छ, एक साधन हुन्छ, एक साध्य हुन्छ । भोग भोग्ने र
संग्रह गर्ने मात्रै उद्देश्य भएको व्यक्तिलाई संसारी भन्छन्, त्यो
संसारीको व्यवसायात्मिका बुद्धि हुँदैन, उल्टो उसका बुद्धिहरु अनन्त
हुन्छन्, अनन्त कामनाहरुको कारणले । व्यवसायात्मिका बुद्धि भएका साधकलाई
यस्तो निश्चय हुन्छ, 'मलाई त समता नै प्राप्त गर्नु छ, चाहे जे सुकै होस्
।' यस्तो निश्चय भएको व्यवसायात्मिका साधक व्यवहारमा आइपर्ने
सिद्धि-असिद्धिमा, लाभ-हानिमा, अनुकूल-प्रतिकूल परिस्थितिमा सम रहन्छ,,
राग-द्वेष गर्दैन । यस्तो साधनरुप समताले ऊ संसारवाट माथि उठ्छ । यही
साधनरुप समताले उसलाई स्वतःसिद्ध समरुप परमात्माको प्राप्ति हुन्छ
।
Subscribe to:
Posts (Atom)