Friday 2 May 2014

54. No. 26 श्लोक २४ यो शरीरीलाई काट्न सकिंदैन, यसलाई पोल्न सकिंदैन, यसलाई भिजाउन सकिंदैन र यसलाई सुकाउन सकिंदैन ।

No. 26

श्लोक २४

 यो शरीरीलाई काट्न सकिंदैन, यसलाई पोल्न सकिंदैन, यसलाई भिजाउन सकिंदैन
र यसलाई सुकाउन सकिंदैन । किनभने यो शरीरी नित्य रहने, सबैमा परिपूर्ण,
अचल, स्थिर स्वभाव भएको र अनादि छ ।

शस्त्रले  यसलाई काट्न नसक्नुको कारण: छेदनरूपी क्रिया यो शरीरीमा  हुनै
सक्तैन, यो शरीरीमा वाल्ने क्रिया हुन सक्तैन, यो देहीलाइ भिजाउनै
सकिंदैन । यो शरीरी यस्तो छ कि यसमा क्रियाको प्रवेश हुनै सक्तैन । यो
देही नित्य-निरन्तर रहने स्वभावको छ । यो देही सबै समयमा जस्ता-को-तस्तो
रहन्छ, अर्थात् यो सम्पूर्ण व्यक्ति, वस्तु, र शरीरहरुमा एकरूपले
विराजमान छ । यो शरीरी सर्वगत छ ।
 ,
 यो देही स्थिर स्वभाव भएको, कहिले यसमा हुने, कहिले उसमा नहुने होइन,
यसमा आउने-जाने क्रिया हुँदैन । यो देही स्थाणु छ, यसमा हल्लाउने क्रिया
हुनै सक्तैन । हल्लाउन सकिने वस्तु सीमित हुनुपर्छ, असीमित तत्वलाई कसरी,
कसले हल्लाउने?

यो देही सनातन छ, यो कहिले भएको, कहिले नभएको हुनै सक्तैन ।

 'सर्वगतः' स्वयम् देहगत होइन, यो त सर्वगत छ--यस्तो अनुभव हुनु नै
जीवनमुक्ति हो । जस्तो शरीर संसारमा वसेको छ, त्यस्तै हामी शरीरमा वसेका
छौं । शरीरसँग हाम्रो मिलन कहिले भएकै छैन । शरीर हामीवाट धेरै टाढा छ ।
तर हाम्रो आफ्नै कामना, ममता र तादात्म्यले गर्दा हामीलाई शरीरसँग एकता
भए जस्तो लाग्छ । वास्तवमा शरीरीलाई शरीरको आवश्यकता नै छैन । शरीरी शरीर
नभए पनि आनन्दले रहन्छ ।

 श्लोक २५

यो देही प्रत्यक्ष देखिंदैन, यो चिन्तनको विषय होइन, र यसलाई निर्विकार
भनिन्छ । अतः यो देहीलाई यस्तो जानेर शोक गर्नु हुँदैन । यही विषयको नै
विस्तार:

जस्तो शरीर र संसार स्थूल-रूपले देख्नमा आउँछ, त्यस्तै यो शरीरी
स्थूल-रूपले देख्नमा आउँदैन ; किनकि यो शरीरी स्थूल-सृष्टिदेखि रहित छ ।
तर मन, बुद्धि त देख्नमा आउँदैनन्, तर चिन्तनमा आउँछन्,यिनीहरु सबै
चिन्तनका विषय हुन् । परन्तु यो देही चिन्तनको विषय पनि होइन; किनकि यो
सूक्ष्म सृष्टिदेखि पनि रहित छ ।

यो देहीलाई विकाररहित भनिन्छ, अर्थात् यसमा कहिले अलिकति पनि परिवर्तन
हुँदैन । प्रकृति सबैको कारण हो, त्यो कारणभूत प्रकृतिमा पनि विकृति
हुन्छ । परन्तु यो देहीमा कुनै प्रकारको विकृति  हुँदैन, किनकि यो कारण
सृष्टि देखि पनि रहित छ । यो देहीको वर्णन विधिमुखले गरिन्छ । तर
वास्तवमा यसको वर्णन हुनै सक्तैन; किनकि यो देही वाणीको  विषय पनि होइन ।
जसवाट वाणी आदि प्रकाशित हुन्छन्, त्यो देहीलाई यिनीहरु कसरी प्रकाशित
गर्न सक्छन् र ? अतः यो देहीको वारेमा यस्तो अनुभव गर्नु नै यसको वर्णन
गर्नु हो ।

 यसैले यो देहीलाई काट्न नसकिने, शोषन नसकिने, नित्य, सनातन, अविकारी आदि
जान्नु पर्छ । यस्तो जानेपछि हामीलाई शोक हुँदैन ।

 केही प्रश्नोत्तरहरु:

प्रश्न: महाराजजी ! के भगवत्-प्रेम पनि कामी र कामिनीको प्रेम जस्तो नै हुन्छ ?

उत्तर: कामी कामिनीलाई प्रेम गर्दैन । उनीहरु एक अर्कालाई नष्ट गर्छन् ।
भगवत्-प्रेम त प्रेमी र प्रेमास्पद  दुबैलाई  आल्हादित गर्छ ।


प्रश्न: के दुःख आउनु मानव पतित अथवा पापी भएको परिचय हो ?

उत्तर: दुःख आउनु पतित भएको फल होइन । दुःख त हाम्रो सुख-भोगको आसक्ति
मेटाउनलाई आउँछ ।

प्रश्न: महाराजजी ! धर्मात्मा कुन्  हुन्छ ?

उत्तर: समाजलाई जसको आवश्यकता हुन्छ ।

प्रश्न: व्यर्थ-चिन्तनवाट कसरी वच्ने ?

व्यर्थ-चिन्तन गरिसकिएको र गर्न वांकी भोगको प्रभाव हो । तिमीले त्यो
व्यर्थ-चिन्तनलाई असहयोग गर्नु पर्छ । त्यो व्यर्थलाई दवाउने पनि होइन,
त्यसवाट सुख लिने पनि होइन, भयभीत हुने पनि होइन, त्योसँग तादात्म्य
राख्ने पनि होइन । यसो गर्यो भने व्यर्थ चिन्तन प्रकट भएर नाश हुनेछ ।

मेरो आफ्नो अनुभवमा, सन्तहरुको यस्ता उपदेशहरूको विचारले  हाम्रो
चिन्तनको प्रवाहमा निकै मदत् पुग्छ ।

आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको

इन्दिरा

Wednesday 30 April 2014

53. No. 24 तेइसौं श्लोकको नै विस्तार: यो श्लोक यही अध्यायको तेर्हौं श्लोकको नै विस्तार हो ।

No. 24 
तेइसौं श्लोकको नै विस्तार: 
यो श्लोक यही अध्यायको तेर्हौं श्लोकको नै विस्तार हो । यहाँ मनुष्यवाट लुगा फेर्ने दृष्टान्त दिइएको छ । तर वास्तवमा विचार गर्दा समस्त प्राणीहरुमध्ये लुगा लगाउने त मनुष्यले नै हो । त्यसैले यहाँ लुगा लगाउने मानिसले मात्रै हो भनेर यो श्लोकमा 'नर' शब्दको प्रयोग भएकोछ ।
यो सन्दर्भ आत्माले पुरानो शरीर छोडेर अरु नयाँ शरीरहरु धारण गर्छ भन्ने कुरा गर्छ । यो प्रसंगले यो बुझायो, पुरानो शरीर छोड्नुलाई 'मर्ने' भन्ने रहेछ, नयाँ , शरीर धारण गर्नुलाई 'जन्मने' भन्ने रहेछ ।  ग्रन्थले हामीलाई यो भन्छ, जवसम्म प्रकृतिसँग सम्बन्ध रहन्छ, तवसम्म यो देही पुराना  शरीरहरु छोडेर उसको आफ्नो कर्महरु अनुसार अथवा उसको अन्तकालीन चिन्तन अनुसार नयाँ नयाँ शरीरहरू प्राप्त गरी रहन्छ । 
गीताको आठौं अध्यायमा अन्तकालीन चिन्तनको विशद व्याख्या छ ।
'यं यं वापि स्मरन्भावं त्यजत्यन्ते कलेवरम् ।
तं तमेवैति कौन्तेय सदा तद्भावभावितः ।
अर्थ, कौन्तेय ! = हे कुन्तीपुत्र अर्जुन ! अन्ते = मनुष्य, उसको अन्तकालमा, यम् ,यम् = जुन-जुन, वा, अपि =  पनि, भावम् =  भावको, स्मरन् =  स्मरण गर्दै, कलेवरम् = शरीर छोड्छ, सदा, तद्भावभावितः = ऊ त्यो अन्तकालको भावले सदा भावित वन्दै,  तम्, तम् = त्यो-त्यो, एव = नै, एति = प्राप्त हुन्छ अर्थात् त्यो त्यो योनिमा नै जान्छ ।
अर्थात्, हे कुन्तिनन्दन ! मनुष्य अन्तकालमा जुन-जुन पनि भावको स्मरण गर्दै शरीर छोड्छ , उ त्यो अन्तकालको भावले  सँधै  भावित हुँदै त्यही त्यही नै गति प्राप्त गर्छ अर्थात् त्यही त्यही योनिमा नै जान्छ   
यो श्लोकमा प्रस्तुत 'कुन्तिनन्दन' पदको नै व्याख्या गरौँ न त !
कुन्तीका छोरा भएकाले अर्जुनको नाम कुन्तिनन्दन भयो । हुन त यो शब्द कुन्तीका पाँचै छोरा र कर्णलाई पनि लागु हुन्छ । तर गीतामा वर्णित 'कुन्तिनन्दन' पद अर्जुनलाई मात्रै लागु हुन्छ । कुन्ती भक्तिको प्रतीक हुन् । उनको भगवत भक्ति, अझ सन्त भक्तिले नै दुर्वासा ऋषीलाई खुशी गरायो । भागवतमा कुन्तीको चरित्रले भक्तिको अनुपम उदाहरण प्रस्तुत गर्छ ।
महाभारतको युद्ध सकियो । भगवान कृष्ण द्वारका फर्कन लाग्नुभयो । उहाँले  आफ्नी फुपू कुन्तिलाई एउटा वर माग्ने निवेदन गर्नुभयो । त्यो वेला कुन्तीले कृष्णलाई भन्नुभयो, 'हे प्रभु, मलाई दुःख दिनुहोस्, जुन दुःखको प्रभावले म हरवखत हजुरलाई सम्झिरहन सकौं ।' कुन्तीको विचारमा, दुःख परेको वेलामा व्यक्तिले भगवानलाई सम्झन्छ, सुख परेको वेलामा सम्झंदैन । किनभने उहाँलाई थाहा थियो, उनका छोराहरुलाई दुःख परेको वेला उही भगवानले पाण्डवको सहायता गर्नुभएको थियो । हामी जस्ताहरु वर माग्नु पर्यो भने सुख माग्छौं, तर कुन्तीले दुःख माग्नु भयो ।
यही वरको रोचक प्रसङ्ग: कुनै गाउँमा कुनै बुढाबुढी वस्थे । बुढो रोगी थियो । बुढीले जंगलमा दाउरा खोजेर वेच्ने र आफ्नो दुलहालाई पाल्ने गर्थिन् । एक दिन दाउरा लिन जंगलमा गएको वेलामा बुढीले   आफूले भारी वनाएको दाउरा उचालेर आफ्नो टाउकोमाथि राख्न सकिनन् । उनले त्यही वेला भगवानलाई भनिन् , 'हे महादेव ! लौ न, यो भारी मैले कसरी बोक्ने होला ।' त्यही वेला लहडी महादेव त्यहाँ प्रकट हुनुभयो । उहाँले भन्नुभयो, 'ल, म तिमीलाई तीन ओटा वर दिन्छु, त्यसवाट तिमी सुखसंग वस ।'
ती बुढीले त्यो दाउराको भारी बोक्नकोलागि आफू युवती हुने वर् मागिन् । सो अनुसार आफू तरुनी पनि भइन्, दाउराको भारी वोकेर वजार गइन्, खाने सामान किनेर खुशी हुँदै घर आइन् । तर अचम्म, घरमा वसेको उनको दुलाहाले उनलाई चिन्न सकेनन्, उनले सबै वेली विस्तार लगाएपछि पनि उनले ती युवती वनेकी बुढीलाई स्वीकार गरेनन् ।  त्यसपछि फेरि उनले अर्को वरद्वारा आफ्नो श्रीमान्ले आफूलाई स्वीकार गरुन् भन्ने वर् मागिन् । ती बुढा श्रीमानले उनलाई  स्वीकारे।  त्यसपछि ती युवती वनेकी बुढीले राम्रोसँग  कमाइ गर्न थालिन् । केही समयपछि एउटा जवान केटाले उनीसँग विवाह गर्ने इच्छा प्रकट गर्यो । ती वनेकी युवतीलाई अर्को समस्या पर्यो । अव के गर्ने, कुनै किसिमले समस्या समाधान नभएपछि वांकी भएको तेस्रो वरले उनी फेरि बुढीको बुढी नै भइन् ।
फेरि यस्तै अर्को प्रसङ्ग :
एक जना युवक कतै कामको खोजमा हिंडेका थिए । भगवानको कृपा, एक दिन उनलाई भगवानसँग भेट भयो । भगवानले उनलाई एउटा मात्रै वर् माग्ने आज्ञा दिनुभयो । वर् माग्नको लागि सल्लाह लिन उनी आफ्नो घरमा आफ्नो मातापिता र श्रीमतीसंग 'के वर् मागौं' भनेर सोधे । उनका वावु अन्धा थिए । त्यसैले वावुले आफूले आँखा देख्न सक्ने वर् माग्ने कुरा छोरालाई भने । त्यसपछि उनकी आमाले नातिको मुख हेर्ने इच्छा प्रकट गरिन् । उता उनकी श्रीमतीले भनिन्,' धन न सन, यसै नाति मागेर के गर्ने, मलाइ त अकुत सम्पत्ति चाहिन्छ ।'
अव ती युवकलाई चिन्ता पर्यो । वर एउटा छ, लिस्ट तीनटा छ । उनले धेरै वेर विचार गरेर भगवानसँग भने, 'मेरो बाबुले मेरो घरको सातौं तलामा वसेर मेरो छोराले तल आँगनमा सुनको झोलुङ्गोमा खेलेको देख्न पाऊन् ।' 
अव विचार गरौं, पाएको वरलाई कसरी उपयोग गर्नलाई पनि विवेकको जरुरत पर्ने रहेछ । के थाहा, हामीलाई पनि भगवानबाट त्यस्तै अवसर मिलिरहेको तर हाम्रो गति  त्यही बुढीको जस्तो भइरहेको छ कि !
यो श्लोकले इंगित गर्ने अर्को कुरा, जवसम्म शरीरीलाई आफ्नो वास्तविक स्वरूपको यथार्थ बोध  हुँदैन , तवसम्म यो शरीरी अनन्तकालसम्म शरीर धारण गरी नै रहन्छ ।  यो प्रसंगमा भनिएको 'शरीरी' सूक्ष्म शरीर हो । गीताले हामीलाई यो पनि भनिरहेछ, पुरानो लुगा फुकाल्न र नयाँ लुगा लगाउन त मनुष्य आफैं सक्छ, यस्तो गर्न ऊ स्वतन्त्र छ, तर पुराना शरीरहरू छोड्न र नयाँ शरीरहरू धारण देहीको स्वतन्त्रता छैन । यहाँ भगवानको तात्पर्य स्वतन्त्रता र परतंत्रताको कुरा गर्ने नभएर शरीरको वियोगवाट हुने शोकलाई मेटाउने हो । जस्तो पुरानो कपडाहरु फुकालेर नयाँ कपडाहरु लगाउँदा हामी उहीको उही रहन्छौं, त्यस्तै पुराना शरीरहरू छोडेर नयाँ शरीरहरूमा जाँदा पनि देही जस्ताको तस्तो, निर्लिप्तरूपले नै रहन्छ;यसैले शोक गर्नुपर्ने कुनै कारण नै छैन । मलाई लाग्छ, हाम्रो शोक र चिन्ता हटाउन यही एक श्लोक नै पर्याप्त छ, अरु सबै कुरा त वाणीका विकार मात्र हुन् । यो कुरा मान्न हामीलाई कुनै वाधा, अड्चन छ भने हाम्रो 'अहंकार' मात्र हो । गीताको एक सन्देश नै हाम्रो अहंकारको नाश गर्नु हो ।
हस् त हजुर, कति वोलौं, कति लेखौँ, आजको पुण्यतिथिमा हामी सबैको अहंकारको नाश होस् ।
ओं असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्योर्मा अमृतम् गमय । ओं शान्ति: शांतिः शान्ति: । हरि: ओं  श्री गुरुभ्यो नमः हरिः ओं ।
हजुरहरुको
इन्दिरा   

Song from Hajurma's Cassette Collection: Tan Man Bachan Le

52. No.23 श्लोक २२ जस्तो मनुष्यले पुरानो लुगाहरु छोडेर अरु नयाँ लुगाहरु धारण गर्छ, त्यस्तै

No.23 
  
 श्लोक २२ 
 
जस्तो मनुष्यले पुरानो लुगाहरु छोडेर अरु नयाँ लुगाहरु धारण गर्छ, त्यस्तै देही पुराना शरीरहरू छोडेर अरु नयाँ शरीरहरूमा जान्छ ।
 
मनुष्य नयाँ नयाँ वस्तु चाहन्छ भने भगवान पनि उसलाई नयाँ नयाँ वस्तु (साधन सामग्री) दिइ रहनुहुन्छ । शरीर बुढो भयो भने भगवान उसलाई नयाँ शरीर दिनुहुन्छ । अतः नयाँ नयाँ इच्छा गर्नु भए पछि  नै जन्म मरणको हेतु हो । नयाँ नयाँ इच्छा गर्नेलाई अनन्तकालसम्म नयाँ-नयाँ वस्तु मिली नै रहन्छ । मनुष्यहरुका दुई शक्ति हुन्छन् -- इच्छाशक्ति र प्राणशक्ति । इच्छा शक्ति रहँदा रहँदै प्राणशक्ति नष्ट भयो भने नयाँ नयाँ जन्म भैरहन्छ ।  तर, तर जीवित अवस्थामा नै इच्छाशक्ति रहेन भने प्राणशक्ति नष्ट भएपछी  पुनः जन्म हुँदैन ।
 
यही कुरालाई हाम्रो स्वामीजीको प्रश्नोत्तरले पनि पुष्टि गर्छ ।
 
प्रश्न: जीवन्मुक्तिको स्वरूप के हो ?
 
उत्तर: इच्छाहरु रहँदा रहँदै प्राण छुट्यो भने मृत्यु हुन्छ । फेरि जन्म लिनु पर्छ र प्राण रहँदा नै इच्छाहरु समाप्त भए भने मुक्ति भयो । जस्तो, हामी वजार जाँदा खर्च गर्ने पैसा सकियो, तर किन्नुपर्ने सामान वांकी रह्यो भने हामीलाई फेरि वजार जानुपर्छ । त्यस्तै, हामीसँग पैसा वांकी रहँदा नै हाम्रो जरुरत समाप्त भयो भने हामीलाई किन वजार जानु पर्यो र ! अर्थात्, हाम्रो प्राण वांकी रहंदा नै हाम्रा इच्छा सकिए  भने हाम्रो अर्को जन्म हुने भएन । त्यसैले जीवनमुक्त भइसकेका तर आयु नसकिएका व्यक्तिहरुको शरीर छुट्नु  भन्दा पहिले हुने गरेका व्यवहार हामी मध्ये धेरैले प्रत्यक्ष देखेको पनि हुनुपर्छ । 
 
अघिल्लो पत्रमा पनि यही इच्छा वारे नै व्याख्या भएको थियो । त्यसको रुप अलि अर्कै थियो -- हाम्रो स्वीधनताको वारेमा । शास्त्र अनुसारको स्वाधीनतामा साधकलाई स्वाधीन हुन कुनै वाह्य वस्तु, व्यक्ति र पदार्थको जरुरत नपर्ने भयो । उसलाई आफैंमा रति, (कुनै विषय विना नै) हुने भयो । आफैंमा 'रति' हुनु भनेको त्यही एक अत्मतत्वमा, आफ्नै स्वरूपमा मग्न हुनु हो, त्यसैले त्यो 'आत्मरत' महापुरुषलाई आनन्दकोलागि भौतिक साधनको किञ्चित्  मात्र पनि जरुरत नपर्ने भयो, ती भौतिक विषयहरुको भोगको त कुरै छोडौं, चिन्तन मात्रले पनि उसको स्वरूप चिन्तनमा वाधा पर्ने भयो । त्यही कारणले नै उसलाई आफैंमा आफैंवाट तृप्ति हुने भयो । किनभने, शास्त्रले निर्वाधपूर्वक यस्तो घोषणा गर्छ, 'हे मनुष्य तिम्रो आफ्नो स्वरूप नै पूर्ण छ , तिमी सत, चित, आनन्द हौ, तिमीमा कुनै अपूर्णता छँदै छैन' । त्यो महापुरुषले आफ्नो साधनाकालदेखि  नै अनुभव गरिसकेको छ, कहिले पनि नमेटिने 'सन्तुष्टि' प्राप्त गर्न कुनै वाह्य सामग्रीको जरुरत पर्दैन, त्यसैले उ वाह्य वस्तुमा आकर्षित हुने कुरो नै आएन, अनि अनायास नै ऊ परमात्माको सृष्टिमा, उसको विधि विधानमा पूरा विश्वास र भरोसामा सन्तुष्ट हुँदै आफ्नो जीवन विताइरहेको हुन्छ । जस्तो केरा खाइसकेपछि हामीलाई वोक्राको मतलव हुँदैन, त्यस्तै, जीवनमुक्तले  उसको शरीरको प्रयोजन परमात्मप्राप्तिकोलागि हो भन्ने  बुझिसकेको हुन्छ, त्यही अनुसार उसलाई आफ्नो स्वरूपको अनुभव पनि भैसकेको हुन्छ, अव त्यो महापुरुषलाइ  यो शरीरमा अलिकति पनि आसक्ति रहँदैन । यही कारण, उसको वांकी जीवन वितिरहेको हुन्छ, तर, उसको स्वरूप चिन्तनमा  कहिले पनि, कुनै पनि उतारचढाव हुँदैन । यसैले शास्त्र भन्छ,
 
'आपूर्यमाणमचलप्रतिष्ठम्  समुद्रमापः प्रविशन्ति यद्वत् ।
तद्वत्कामा  यं प्रविशन्ति सर्वे स शान्तिमाप्नोति न कामकामी ।।
 
अर्थ, यद्वत् = जस्तो  आपः = सम्पूर्ण नदीहरुका जल  आपूर्यमाणम् = चारैतिरवाट आएका जलहरुद्वारा परिपूर्ण  समुद्रम् = समुद्रमा प्रविशन्ति =   आएर  मिल्छन्, तर  अचलप्रतिष्ठम् = समुद्र आफ्नो मर्यादामा अचल स्थित रहन्छ, तद्वत्  =  त्यस्तै   सर्वे = सम्पूर्ण  कामाः = भोग पदार्थ यम् = जुन  संयमी मनुष्यलाई,विकार उत्पन्न नै  नगरी  प्रविशन्ति = प्राप्त हुन्छन्, सः = त्यही मनुष्यलाई  शान्तिम् = परमशान्ति  आप्नोति = प्राप्त हुन्छ,  कामकामी = भोगहरुको कामना गर्नेलाई प्राप्त हुँदैन ।
 
यस्तै हो हजुर, मलाई मुख चिलाउँछ, हजुरहरुसंग कुरा गर्छु, हात चिलाउँछ , हजुरहरुलाई चिठी लेख्छु, हजुरहरुको आँखा चिलाएको छ, मेरो चिठी पढ्नु हुन्छ । यो भन्दा वढी केही होइन ।
 
हजुरहरुको
 
इन्दिरा         

51. No. 22 श्लोक २१ हे पृथानन्दन ! जो मनुष्य यो शरीरीलाई अविनाशी, नित्य, जन्मरहित र अव्यय जान्दछ,

No. 22 
 
श्लोक २१ 
 
हे पृथानन्दन ! जो मनुष्य यो शरीरीलाई अविनाशी, नित्य, जन्मरहित र अव्यय  जान्दछ, ऊ कसरी कसलाई मार्ला र कसरी कसैलाई मराउला ?
 
उत्पन्न हुने वस्तु त स्वतः मेटिन्छ, त्यसलाई मेटाउन पर्दैन । तर जुन वस्तु उत्पन्नै हुँदैन, त्यो कहिले पनि हराउँदैन । हामीहरुले चौरासी लाख शरीर धारण गरिसक्यौं, तर कुनै पनि शरीर हामीसँग रहेनन् र हामी पनि कुनै शरीरसँग रहेनौं, तर हामी जस्ता-को-तस्तो अलग रह्यौं । तर यो कुरा जान्ने विवेक्शक्ति अरु जन्ममा छैन, केवल मनुष्य शरीरमा मात्रै छ । यही जन्ममा हामीले यो कुरा जानेनौं भने भगवानले हामीलाई दिएको विवेकलाइ हामीले निरादर  हुन्छ  ।
 
यो शरीरीको नाश कहिले पनि हुँदैन, यसमा कहिले कुनै परिवर्तन हुँदैन, यसको कहिले जन्म हुँदैन र यसमा कहिले कुनै किसिमको कमी आउँदैन । यी कुरालाई जसले ठीक ठीक अनुभव गरेको हुन्छ, त्यस्तो पुरुषले कसरी कसलाई मारोस् र कसरी कसलाई मराओस्, अर्थात् अर्कोलाई मार्न र मराउन त्यो पुरुषको प्रवृत्ति नै हुन सक्तैन । यो शरीरी कुनै क्रियाको न कर्ता वन्न सक्छ र न कारयीता नै वन्नसक्छ ।
 
यहाँ भगवानले यो शरीरीलाई अविनाशी,, नित्य, अज र अव्यय भनेर त्यसमा हुने छ विकारहरुको निषेध गर्नुभएको छ । यो शरीरीलाई 'अविनाशी' भनेर मृत्युरूप विकारको, 'नित्य' भनेर अवस्थान्तर हुने (एक अवस्थावाट  अर्को अवस्था प्राप्त हुने, अर्थात्  वढ्नेरूप) विकारको, 'अज' भनेर जन्म हुने र जन्मेपछि हुने सत्तारूप विकारको तथा 'अव्यय' भनेर क्षयरुप विकारको निषेध गरिएको छ । यो शरीरीको कुनै पनि क्रियासँग अलिकति पनि कुनै पनि विकार हुँदैन ।                      
 
यो प्रकरणमा भगवानले युद्धको प्रसंग भएकोले मार्ने, मराउने कुरा गर्नु भएको हो । यसैले हामीले यो कुरा बुझ्नु पर्छ, युद्ध भनेको हाम्रो जीवन हो, हाम्रो जीवनलाई कसरी कुनै पनि गुनासो (grievances)  विना नै चलाउन सक्ने शक्तिको विकास  गर्नु हो । हामीले भूतकालमा गरिएको घटनालाई लिएर हामीलाई पछुतो हुन सक्छ । हाम्रोलागि सबभन्दा सुखी जीवन नै हामी स्वतन्त्र र स्वाधीन  वन्नु हो । यो सन्दर्भमा म फेरि हजुरहरुलाई उही हाम्रो स्वामीजीको प्रश्नोत्तर तर्फ लैजान्छु ।
 
प्रश्न: स्वामीजी ! स्वाधीनताको स्वरूप के हो ? 
 
उत्तर:  स्वाधीनताको अर्थ हो, आफूमा सन्तुष्ट हुनु, कुनै वस्तु अथवा परिस्थितिमा आवद्ध हुनु होइन ।
 
यो उत्तरवाट हामीले यो बुझ्नुपर्यो, अहिलेसम्म हामीले स्वतन्त्रताको परिभाषा नै गलत गरिरहेका रहेछौं । हाम्रो विचार अनुसार, हामीलाई सबै कुरा आफूले सोचेको जस्तो हुनु पर्छ, अहिलेको जमाना अनुसार सम्पूर्ण सुख सुबिधा हामीले पाउनु पर्छ, परिवारका हरेक सदस्यले आफूले भनेको जस्तो गर्न पाउनु पर्छ, आदि, आदि । तर, विडम्वना यो छ कि हाम्रा परिवारका र समाजका सवै सदस्यले नै यही धारणा राखेका हुन्छन् ।  यो सन्दर्भमा, के हामी हाम्रो धारणा अनुसार कहिले स्वाधीन हुन सकौंला त !  तर सन्त वाणी त हाम्रो मान्यतालाई पूरापूर खण्डन गर्छ ।
 
शास्त्र भन्छ, आफूमा सन्तुष्ट हुनु नै स्वाधीनता हो, यो स्वाधीनतामा कुनै व्यक्ति, वस्तु र परिस्थितिको आवश्यकता पर्दैन । गीताको तेस्रो अध्यायमा एक श्लोक आउँछ,
 
'यस्त्वात्मरतिरेव  स्यादात्मतृपश्च   मानव: । आत्मन्येव च सन्तुष्टस्तस्य कार्यं  न विद्यते ।।'
 
अर्थ, तु = परन्तु यः = जो   मानवः = मनुष्य  आत्मरतिः, एव =  आफू   आफैंमा नै  रमण गर्ने   च = र  आत्मतृप्त: = आफू आफूमा नै तृप्त   च = तथा  आत्मनि = आफू   आफैंमा एव = नै   सन्तुष्ट: = सन्तुष्ट   स्यात्  = छ,  तस्य  = उसकोलागि   कार्यम्  = कुनै कर्तव्य  छैन  ।  
 
परन्तु जो मनुष्य आफू-आफैंमा नै रमण गर्ने र आफू-आफैंमा नै तृप्त तथा आफू-आफैंमा नै सन्तुष्ट छ, उसकोलागि कुनै कर्तव्य छैन ।
 
यसवाट यो बुझ्नु पर्यो हामीले, हाम्रो जीवनमा आफूले आफूलाई सुखी राख्ने काम नै हाम्रो आफ्नो आफूप्रतिको कर्तव्य रहेछ । तर यो पनि विर्सनु भएन, हामीले पाउने तृप्ति कुनै वस्तु, व्यक्ति र पदार्थमा आधारित हुनु भएन, कुनै वाहिरी सुख साधनमा आश्रित हुनु भएन । यो कथन बुझ्नु त्यति सजिलो पनि छैन । किनभने हामीले अहिले सम्म मानेको तृप्ति नै वाहिरी वस्तु, व्यक्ति र पदार्थमा आधारित छ । अर्को शब्दमा, यो कथनले हाम्रो आफ्नो अहिलेसम्मको धारणामा नै आघात गर्छ । यस्तो कुरा हामी जस्ता सिकारु साधकलाई पक्कै मीठो लाग्दैन । यही कारण, हामी मध्ये धेरैलाई यो विषयको चाख नै हराउन सक्छ । त्यसैले, पहिले पनि प्रस्तुत भइसक्यो, हामीले ग्रन्थको यथार्थतालाई स्वीकार गर्न सक्नु पर्छ । त्यसैले भगवान ले गीतामा वेदान्तमा चाख लिने साधकलाई 'करोडौंमा एक' भन्नुभएको छ । गीताको विस्तृत अध्ययन गर्दा हामीलाई यी कुराहरुको ज्ञान हुन्छ ।
 
यो श्लोकले यो भन्न खोजेको छ, कर्मयोगी निःस्वार्थ भावले संसारको सेवाकोलागि नै सम्पूर्ण कर्म गर्छ । जस्तो गंगाजलले गंगाको नै पूजन गरिन्छ, त्यस्तै संसारवाट मिलेको शरीर, इन्द्रियहरु, मन, बुद्धि र अहम् लाइ संसारको नै सेवामा लगाई दिएपछि चिन्मय स्वरूप शेष रहन्छ । यसैले नै उसको (त्यो कर्मयोगीको) प्रीति, तृप्ति र सन्तुष्टि स्वरूपमा नै हुन्छ ।
 
सांसारिक विधि र निषेध दुवै नै वास्तवमा निषेध नै हुन्; किनकि यी दुवै नै सँधै रहिरहने होइनन् । यसैले संसारसँग सम्बन्ध विच्छेद भएपछि कर्मयोगीकोलागि कुनै विधि-निषेध नै रहँदैन ।  
 
हस् त, अहिलेलाई यत्ति, अरु पछि ।
 
हजुरहरुको
 
इन्दिरा       

50. No. 21 श्लोक २० यो शरीरी न कहिले जन्मन्छ र कहिले मर्छ तथा यो उत्पन्न भएर फेरि हुने पनि यो होइन ।

 No. 21 
 
श्लोक २० 
 
यो शरीरी न कहिले जन्मन्छ र कहिले मर्छ तथा यो  उत्पन्न भएर फेरि हुने पनि यो होइन । यो जन्मरहित, नित्य-निरन्तर रहिरहने, शाश्वत र अनादि छ । शरीर मारिंदा पनि यो (शरीरी) मारिंदैन ।
 
हाम्रो (स्वयंको) र शरीरको स्वभाव विल्कुल अलग अलग छ । हामी शरीरसँग टाँसिएका छैनौं, शरीरसँग जोडिएका छैनौं । शरीर हामीसँग जोडिएको पनि छैन ।  यसैले शरीर नरहँदा पनि हामीलाई कुनै  फरक पर्दैन । अहिलेसम्म हामीले असंख्य शरीरहरू धारण गरिसक्यौं, र ती शरीरहरू छोडिपनि सक्यौं, तर त्यसले हाम्रो सत्तामा कुनै फरक पर्यो र ? हामीलाई कुनै नोक्सान भयो र ? हामी त जस्ता-को-तस्तो नै रह्यौं । यही किसिमले यो शरीर छोडेपछि पनि हामी स्वयं जस्ता-को-तस्तो नै रहन्छौं ।       
 
अर्को कुरा, हाम्रा हात, खुट्टा आदि हाम्रा शरीरका अंग भए जस्तै यो शरीर शरीरीको अंश पनि होइन । वगेर जाने र विकारी हाम्रो अंग हुँदैन;   जस्तो कफ , पिसाव आदि वगेर जाने र घाउ, खटिरा आदि विकारी हुनाले यी शरीरका अंग होइनन्, त्यस्तै वग्ने (परिवर्तनशील) र विकारी हुँदा यिनीहरु शरीरको पनि अंग होइनन् ।  
 
पहिले पहिलेका श्लोकहरुमा जस्तै यो शरीरको अनित्यता र  शरीरीको नित्यताको वारेमा नै विशद विस्लेषण गरिएको छ ।  वारम्वार यही तथ्यको चर्चा भइरहेको किन होला जस्तो पनि हामीलाई लाग्छ । तर, विषय नै यति गम्भीर भैदियो कि शरीर र शरीरी वीचको भेद वुझ्नै  हामीलाई कठिनाइ पर्ने गर्छ, त्यसमाथि यी दुई  वीचको भेद बुझेर शरीरीलाइ  आफू  मान्नु पर्ने र शरीरलाई आफू  होइन भन्ने मान्नु पर्ने भयो । त्यो भेद मानेर हामीलाई हुने फाइदा यत्ति मात्रै हो, त्यो सत्यलाई हामीले पूरापूर आत्मसात् गर्न सक्यौं भने हाम्रो चिन्ता, शोक, मोह र भय हट्ने भयो । यहाँ यो प्रकरणमा हाम्रो मनोवैज्ञानिक रोगको मनोवैज्ञानिक उपचार भैरहेको छ । 
 
एक व्यक्तिले एक जना महात्मालाई सोधेछ, 'किन स्वामीजी, म हजुरको प्रवचनमा आउंछु, प्रवचन सुनुन्जेल मलाई हजुरको प्रवचन बुझेको जस्तो लाग्छ,तर जव मेरो जीवनमा हजुरको प्रवचनको आवश्यकता महशूस हुन्छ, त्यो वेलामा मलाई  हजुरको प्रवचन अलिकति पनि सम्झना हुँदैन । आफ्नो विषय पढेको विद्यार्थीलाई  परीक्षामा उत्तर लेख्नु पर्ने ऐन मौकामा उसलाई आफूले  पढेको एक जात पनि नआएको जस्तै हुन्छ  । किन यस्तो भएको होला ?'
 
ती महात्माको उत्तर: 'म तिमीलाई तिम्रो प्रश्नको उत्तर प्रश्नमा नै दिन्छु । मलाई  भन, म विहान उठ्छु, मलाई  भोक लाग्छ, म के गरौं ?'
 
अर्को व्यक्तिको उत्तर:'हजुरले भोजन गर्नुपर्यो ।'
 
महात्माको प्रश्न: 'फेरि  दिउँसो मलाई  भोक लाग्छ, म के गरौँ ?'
 
उत्तर: 'फेरि  भोजन गर्नुहोस् ।'
 
फेरि प्रश्न: 'वेलुकी फेरि भोक लाग्छ, के गर्ने ?'
 
उत्तर: 'फेरि खानुहोस् ।'
 
महात्माले भन्नुभयो:  'ति म्रो प्रश्नको उत्तर तिमीले मैले तिमीलाई गरेको प्रश्नवाट  थाहा पाइसक्यौ ।'
 
अव केही प्रश्नको उत्तरसँग म विदा लिन्छु ।
 
प्रश्न: स्वामीजी! सृष्टिको सेवा गर्ने व्यक्ति भगवानलाई कस्तो लाग्छ?
 
उत्तर: जस्तो तिम्रो छोराको सेवा गर्ने व्यक्ति तिमीलाई प्यारो लाग्छ ।
 
प्रश्न: स्वामीजी ! भगवानको दर्शन कसरी हुन सक्छ ?
 
उत्तर: भगवत् -प्रेमको महत्व हो, भगवत्-दर्शनको कुनै महत्व छैन । भगवान दिनहुँ दिखियो र प्यारो लागेन भने तिम्रो विकास हुँदैन । भगवत्-विश्वास, भगवत्-संबन्ध र भगवत्-प्रेमको महत्व छ ।
 
आजलाई यत्ति । अरु पछि । 
 
हजुरहरुको 
 
इन्दिरा

Sunday 27 April 2014

49. No. 20 श्लोक १९ जो मनुष्य यो अविनाशी शरीरीलाई मार्ने मान्छ, र जो मनुष्य यसलाई मरेको मान्छ, ती दुवै यसलई (यो आत्मालाई) जान्दैनन् ।

No. 20 

श्लोक १९  

जो मनुष्य यो अविनाशी शरीरीलाई मार्ने मान्छ, र जो मनुष्य यसलाई मरेको मान्छ, ती दुवै यसलई (यो आत्मालाई) जान्दैनन् । किनभने यो (आत्मा) न मार्छ, न त मारिन्छ ।  

यो श्लोकको तात्पर्य, शरीरी कुनै क्रियाको कर्ता पनि होइन, कर्म पनि होइन, यसमा कुनै विकार पनि आउँदैन । जो  शरीर जस्तो शरीरीलाई पनि मार्ने र मर्ने किसिमको भन्ने ठान्छन्, तिनीहरु वास्तवमा शरीर र शरीरीको विवेकलाई महत्त्व दिंदैनन्, यो विचारमा अड्न सक्तैनन् । यस्ता व्यक्तिहरु त अविवेकलाई नै महत्त्व दिन्छन् ।           

शरीर र शरीरीको विवेकलाई महत्त्व नदिने भनेको, 'नित्य र अनित्य वस्तुको विवेक' नगर्ने भनेको हो । किनभने पहिले पनि हामीलाई कति चोटी बुझाइसकियो, शरीर अनित्य हो र शरीरी नित्य हो । त्यही पनि नबुझेर त्यही कुरा गरिरहनेलाई भगवानले 'विवेकलाई महत्त्व नदिने' भन्नुभयो, अर्को शब्दमा 'अविवेकी' भन्नुभयो ।    

तत्त्वज्ञानमा पुगिने विवेकले नै हो भन्ने कुराको चर्चा केही अघिको पत्रमा पनि भैसक्यो । विवेकलाई महत्त्व नदिने व्यक्तिले ज्ञानलाई पनि महत्त्व दिएन । त्यसो भए विवेकलाई महत्त्व नदिने अज्ञानी भयो । भगवानले गीतामा हामीलाई धेरै शब्दले गाली गर्नुभएको छ । उहाँ कहिले हामीलाई जन्तु भन्नुहुन्छ, कहिले आसुरी भन्नुहुन्छ, कहिले 'अल्पमेधसा' (छोटो बुद्धि भएको) भन्नुहुन्छ । साथै, उहाँ आफ्नो भक्तलाई 'महात्मा' (महान आत्मा, जसले आत्माको महानतालाई बुझेको छ) पनि भन्नुहुन्छ ।   भक्तको विषयमा उहाँको भनाइ:

'मच्चित्ता: मद्गतप्राणा: बोधयन्त: परस्परम् । कथयन्त्तश्च माम् नित्यं तुष्यन्ति च रमन्ति च ।।'        

अर्थ,  मच्चित्ताः = ममा चित्त भएका  मद्गतप्राणा = ममा प्राण अर्पण गर्ने भक्तजनहरु   परस्परम् = एक आपसमा  बोधयन्त: = मेरो गुण, प्रभाव आदि बुझाउँदै  च = र    कथयन्त: = ती गुण, प्रभावको कथन गर्दै    
नित्यम् = नित्य-निरन्तर  तुष्यन्ति = सन्तुष्ट रहन्छन्   च = र  माम् = ममा   च = नै   रमन्ति = प्रेम गर्छन् ।       

यहाँ भगवान आफ्ना अविचल (नडगमगाउने) भक्तको वर्णन गर्नुहुन्छ । भगवानको भक्तहरुको चित्त एक भगवानलाई छोडेर अन्त कहीं जाँदै जाँदैन । उनीहरुको दृष्टिमा जव एक भगवान सिवाय अरु केही छँदै छैन भने उनीहरुको मन कहाँ जाने, कसरी जाने, र किन जाने ?  ती भक्तहरु भगवानकोलागि नै वाँचछन् र उनीहरुको सम्पूर्ण चेष्टाहरु पनि भगवानको लागि नै हुन्छन् । कोही सुन्ने व्यक्ति आए भने उनीहरु भगवानको गुण, प्रभाव आदि भगवानका विलक्षण कुराहरु सुनाउँछन्, भगवानको लीला कथाको वर्णन गर्छन्, कोही सुनाउने व्यक्ति आए भने ती व्यक्तिहरुवाट प्रेमपूर्वक भगवानका लीला, कथाहरु सुन्छन् । न भन्ने व्यक्ति नै तृप्त हुन्छ, न सुनाउने नै तृप्त हुन्छ ।          

वृन्दावनका गोपिनीहरु, भक्त प्रल्हाद र सनतकुमार जस्ता भक्तहरु यो श्लोकमा वर्णित भक्तहरुका उदाहरण हुन् ।  

यही हो  हजुर, म पनि यहीं विदा लिन्छु ।

हजुरहरुको 

इन्दिरा 

Song from Hajurma's Cassette Collection: Hami Bhule chaun  

48. No. 19 श्लोक १८ अविनाशी, जान्नमा नआउने, र नित्य रहने यो शरीरीको यी देहहरु अन्त हुने भनिएका छन् ।

No. 19  

श्लोक १८ 

अविनाशी, जान्नमा नआउने, र नित्य रहने यो शरीरीको यी देहहरु अन्त हुने भनिएका छन् । यसैले हे अर्जुन ! तिमी युद्ध गर ।    

भगवानले आफ्नो उपदेशको आरम्भमा 'गतासून्' (मृत) र 'अगतासून्' (जीवित) -- यी दुई प्राणीहरुलाई अशोच्य भन्नुभयो । त्यसपछि वारहौं-तेर्हौं श्लोकहरुमा 'गतासून्'लाई अशोच्य वताउनकोलागि 'सत्' (नित्य)को वर्णन गर्नुभयो र चौधौं र पन्ध्रौँ श्लोकहरूमा। फेरि सत् र असत् --दुबैको वर्णन सोह्रौं श्लोकमा गर्नुभयो । यसपछि सत् को भाव र असत् को अभावको विवेचन मुख्यरूपले सत्रौं-अठारौँ श्लोकहरुमा गरेर एक प्रकरण पूरा गर्नुभयो ।              

यद्यपि भाव (हुनुपना) आत्माको नै हो, शरीरको होइन, तैपनि हामीवाट यो भूल हुन्छ, हामी पहिले शरीरलाई हेरेर त्यो शरीरमा आत्मालाई देख्छौं, पहिले आकृतिलाई हेरेर फेरि भावलाई  देख्छौं । माथि माथि लगाएको पालिश कहिलेसम्म टिक्छ? हामीले यो विचार गर्नु पर्यो कि आत्मा पहिले थियो कि शरीर पहिले थियो ? विचार गरेपछि सिद्ध हुन्छ, आत्मा पहिले छ, शरीर पछि छ, भाव पहिले छ, आकृति पछि छ । यसैले, गीता भन्छ, हाम्रो दृिष्ट पहिले भावरूप आत्मा तर्फ हुनुपर्छ, शरीर तर्फ होइन ।  

यही सन्दर्भमा मेरो गुरुजीको प्रवचनको याद आयो ।

मानौं, एउटा ड्रममा पानी छ, त्यो ड्रम भित्र ठूलो वरफको टुक्रा छ । त्यो वरफको माथिल्लो भागमा वरफमा   एउटा गहिरो कचौराको आकार छ, त्यसमा पनि पानी भरी छ । तर, वरफ छुट्टै छ, पानी छुट्टै छ, जुन काम वरफ ले गर्छ, त्यो काम पानीले गर्न सक्तैन । जस्तो, एक डल्ला वरफले कसैलाई हान्यो भने उसलाई चोट लाग्न सक्छ, तर एक वाल्टिन पानी कसैलाई छ्याप्यो भने उसलाई चोट लाग्दैन । तर एक छिन पछि त्यो ड्रममा गएर हेर्दा  वरफ छैन, पानी पानी छ । त्यो वरफ कहाँ गयो त ? भन्न खोजिएको, पानी विना वरफको स्वतन्त्र सत्ता छैन, तर वरफ  विना पानीको स्वतन्त्र सत्ता छ । 

अर्को कुरा, वरफ भित्र पनि पानी छ, वाहिर पनि पानी छ, तल पनि पानी छ, माथि पनि पानी छ । त्यो वरफ मा कुन् ठाउँमा पानी छैन त ? यसै गरी यो सम्पूर्ण ब्रह्माण्डमा, अझ हामीलाई ज्ञात, अज्ञात अनेकौं ब्रह्माण्डहरुमा त्यो सत्ता व्याप्त छ । हाम्रो सत्ता पनि त्यही पानीको ड्रममा वरफ भए जस्तै त्यो सर्वव्यापक सत्तामा ओतप्रोत छ ।  (अहिले हाम्रो आफ्नो भनिएको शरीर पानीमा देखिएको वरफ जस्तै केही क्षणकोलागि शरीर प्रकृतिद्वारा वरफ वन्यो, तर त्यो हाम्रो शरीर वनाउने प्रकृति पनि परमात्मा नै हो)    यो संसार र संसारका समस्त पंचमहाभूत, पंचतन्मात्रा, अव्यक्त प्रकृति माया हामीले, हाम्रो मनले कल्पना गरे जति समस्त व्यक्ति, वस्तु, पदार्थ त्यही ड्रममा देखिएको वरफ जस्तै हुन् । यही कारण, हामीले त्यही सर्वव्यापक प्रभुको शरण पर्ने हो, हामीलाई परेको समस्त घटना र परिस्थितिहरु त्यही परमात्माको खटनवाट भएका हुन् भन्ने ठान्ने हो । 'म त यो सृष्टिको भुसुना समान हुँ, मेरो अस्तित्त्व अथवा सत्ता पनि त्यही सत्ता नै हो ।' भन्ने  विचार वारम्वार गरिरहने, यही कुरामा आफ्नो मन बुद्धि स्थिर गर्ने, यसैमा हामीलाई आनन्द छ । स्वयं परमात्माले नै जीव (हामी) लाई 'मेरो' अंश भन्नुभएकै छ, 'ममैवांशो जीवलोके', अर्थ, 'जीव मेरो नै अंश हो'  भनेर । यही नै हामीले जान्नु पर्ने अन्तिम ज्ञान हो, यो भन्दा वाहेक केही छंदै छैन, हुनै सक्तैन, हुने  सम्भावना पनि छैन ।                
 
लौ त हजुर, यस्तै छन् मेरा कुरा ।

हजुरहरुको 

इन्दिरा 

47. No. 18 श्लोक १७ कै विस्तार:

No. 18 

श्लोक १७ कै विस्तार:

यो सत्रौं श्लोकले  जीवात्माको साधर्म्य सर्वव्यापक परमात्मासँग छ भन्ने कुरामा जोड दिइरहेको छ । त्यसैले जस्तो परमात्मा संसारसँग असंग हुनुहुन्छ, त्यस्तै जीवात्मा पनि शरीर-संसारसँग स्वतः स्वाभाविक असंग छ । यही हुनाले जीवको स्थिति कुनै एक शरीरमा मात्रै छैन । ऊ कुनै पनि शरीरसँग टाँसिएको छैन । तर जीवलाई उसको असंगताको अनुभव नभएर नै जन्म-मरण भइरहेको छ ।       

अहिले हामीले वर्णन गरिरहेको प्रसङ्ग उपनिषद्को 'तत्त्वमसि' कै विस्तार हो । यही ज्ञानले नै हामीलाई शरीर र संसारसँग असंग रहन सिकाउँछ । हामीले यसरी असंग रहन जान्यौं भने शरीर र संसार सम्बन्धी घटनाले हामीलाई विचलित गराउन सक्तैनन् । हामीले जानेको ज्ञान कसैलाई प्रदर्शन गर्न होइन, आफूले आफुलाई नै परिष्कृत गराउन हो । 

अव अलिकति हलुवा खानु पर्यो ।   

सनत, सनातन, सनन्दन र सनतकुमार ब्रह्माजीका मानसपुत्र हुन् । उनीहरुको  उमेर पाँच वर्ष भन्दा वढी नहुने थियो । उनीहरुले  वालक कालमा नै संन्यास लिएका थिए । उनीहरु चार जना जुन वेला पनि सत्संग गरिरहन्थे । कहिले एउटाले ज्ञानको चर्चा गर्ने, अरु तीनले सुन्ने, कहिले अर्कोले गर्ने, अरु तीनले सुन्ने गरेर आफ्नो जीवन विताइरहेका थिए, उनीहरु भगवत चर्चामा नै आनन्दित हुन्थे । यिनीहरु नारद ऋिषका दाजु हुन् । नारद ऋिषलाई मोह हुँदा यी चार कुमारहरुवाट ज्ञान सुनेर नारदजीको मोह हटेको थियो ।  भागवतमा हामीले पढ्ने अथवा सुन्ने ज्ञान, भक्ति, वैराग्यको प्रसंगमा पनि भागवत भनेर भक्तिको दुःख हटाउने पनि यी दाजु भाइ नै हुन् ।         

सनतकुमारवाट नै वैदिक गुरु परम्पराको प्रारम्भ भयो । हुन त यिनीहरुलाई ज्ञान नभएको होइन, तर पनि गुरु नभई ज्ञान हुन सक्तैन भन्ने संदेश दिनकोलागि पनि हो कि, एक चोटी यी ऋिषकुमारहरु गुरु खोज्दै देश विदेश घुम्न हिंडे । धेरै ठाउँ पुगेपछि पनि यी कुमारहरुले आफूलाई चित्त बुझ्दो गुरु पाएनन् । यही कारण उनीहरु निराश वनेर फर्के । तर भगवान् शंकरलाई उनीहरु निराश भएको ठीक लागेन, यसो हुँदा गुरु नै नभए पनि ज्ञान हुन्छ भन्ने गलत प्रचार हुने सम्भावना देखिन्थ्यो । भगवान शंकरले ब्राह्मणको भेष लिनुभयो र  कैलाश (कैलाश त उत्तरतर्फ छ,) वाट दक्षिणतर्फ फर्केर (किनभने सनतकुमारहरु दक्षिणतिर नै आइरहेका थिए) वस्नु भयो । फेरि, हाम्रो वेदमा उत्तर शब्दले 'माथि' र दक्षिण शब्दले 'तल' भन्ने बुझाउँछ । सिक्ने चेलोको स्तर कम भएकोले ऊ दक्षिणमा वसेर उत्तरतिर फर्कन्छ, तर गुरुको ज्ञानको स्तर माथि भएकोले ऊ चेलोकोलागि उत्तरवाट दक्षिणतिर (आफ्नो स्वरूपको स्थितिवाट चेलोको स्थितिमा आएर) फर्केर आफ्नो चेलोलाई ज्ञान सिकाउँछ ।

सनत्कुमारले ती ब्राह्मणलाई देखेर श्रद्धापूर्वक दर्शन पनि गरे । त्यही वेला ती ब्राह्मण भेषधारी शंकरले ती ब्रह्माजीका पुत्रहरुलाई ज्ञान मुद्रा देखाउनु भयो । ज्ञान मुद्रा भनेको दाहिने हातको बुढी औंला र चोरी औंला गोलो पारेर  जोड्ने र वांकी तीन औंला छुट्टै राख्ने हो । बुढी औंला 'ईश्वर'को प्रतीक हो र चोरी औंला 'जीव'को प्रतीक हो, वांकी तीन औंला तीन गुणका प्रतीक हुन् (कान्छी औंला 'सत्त्वगुण', साँहिली औंला 'रजोगुण' र माहिली औंला तमोगुण) ।  जीवले तीन गुणलाई छोडेर ईश्वरतिर लाग्यो भने शान्ति पाउँछ, होइन, तीन गुणतिर नै लाग्छ भने बन्धनमा पर्छ भन्ने संकेत गर्छ यो मुद्राले । यो देखेपछि ती कुमारहरुले ती ब्राह्मणरूपी शिवजीलाई गुरु माने । त्यही वेला देखि भगवान शंकरको नाम 'दक्षिणामूर्ति' भयो । त्यही वेलादेखि गुरु परम्परा पनि चल्यो ।  हामीले मान्ने गुरु पूर्णिमाको दिन गरिएको पूजा दक्षिणामूर्तिको शंकरको  नै पूजा हो ।  भगवान शंकराचार्य आफ्नो 'दक्षिणा मूर्ति स्तोत्र'मा भन्नुहुन्छ,                         

'तस्मै श्रीगुरुमूर्तये नम इदं श्रीदक्षिणामूर्तये '
 
अर्थ, तस्मै = त्यस्ता अद्भूत श्रीगुरुमूर्तये = श्रीगुरुमूर्तिरूप श्रीदक्षिणामूर्तये = श्रीदक्षिणामूर्ति भगवान् श्री महादेवलाई   नम = श्रद्धाभक्तिपूर्वक नमस्कार छ ।        

अर्थ, यस्तो अद्भुत साक्षात्कार जुन शिवरूप गुरुवाट मलाई प्राप्त छ, त्यस्तो श्रीगुरुमूर्ति-रुप श्रीदक्षिणा-मूर्ति भगवान् श्रीमहादेवलाई यो श्रद्धाभक्तिपूर्वक नमस्कार छ ।           

भनिन्छ, उनीहरुलाई भगवानको वैकुण्ठमा विना रोकटोक आउने जाने सुबिधा थियो । एक दिन वैकुण्ठ जाँदा ढोकामा पालो वसेका जय विजयले उनलाई वैकुण्ठ जान दिएनन् । यो कुराले ती ऋिषकुमारहरुले जय विजयलाई वैकुण्ठवाट झरेर पृथ्वीलोकमा तीन जन्मसम्म राक्षस हुनु पर्ने श्राप दिए । ती जय र विजयले त्यस्ता ज्ञानी महापुरुषहरुलाई अपमान गरेको कारणले नै राक्षस जुनी लिनु पर्यो । त्यही श्रापको कारणले नै उनीहरु एक जन्ममा हिरण्य कशिपू र हिरण्याक्ष, एक जन्ममा रावण र कुम्भकर्ण र एक जन्ममा शिशुपाल र दन्तवक्त्र भएर जन्मे । यिनीहरु राक्षस वनेर जन्मेकोले नै हिरण्यकशिपूको वध गर्न नृसिंह, हिरण्याक्षलाई नाश गर्न वराह, रावण र कुम्भकर्णको वध गर्न राम र शिशुपाल र दंतवक्त्रको वध गर्न कृष्णको अवतार लिनु पर्यो भगवानले ।    

कति गन्थन गर्नु !                             

हजुरहरुको 

इन्दिरा