Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 46 श्लोक ४६ (सकामभाव भएका) तपस्वीहरू भन्दा पनि योगी श्रेष्ठ छ ।

No 197 

श्लोक ४६

(सकामभाव भएका) तपस्वीहरू भन्दा पनि योगी श्रेष्ठ छ । ज्ञानीहरु भन्दा पनि योगी श्रेष्ठ छ र कर्मीहरु भन्दा पनि योगी श्रेष्ठ छ भन्ने मेरो मत छ । अतः हे अर्जुन ! तिमी योगी वन ।

'तपस्विभ्योधिको योगी' -- ऋद्धि-सिद्धि आदि पाउन भोक,-प्यास, सर्दी-गरमी आदि कष्ट सहने व्यक्तिहरु तपस्वी हुन् । यी सकाम तपस्वीहरु भन्दा पारमार्थिक रुचि भएको, ध्येय भएको योगी श्रेष्ठ छ । 

'ज्ञानिभ्योपि मतोधिक:' -- शास्त्रहरु जान्ने, पढे लेखेका विद्वानहरुलाई यहाँ 'ज्ञानी' सम्झनु पर्छ । शास्त्रको विवेचन गर्ने, ज्ञानयोग के हो ? कर्मयोग के हो ? भक्तियोग के हो ? लययोग के हो ? आदि-आदि धेरै धेरै कुराहरु जान्ने र भन्ने तर सांसारिक भोग र ऐश्वर्यको उद्देश्य भएका सकाम शब्दज्ञानीहरु भन्दा पनि योगीलाई श्रेष्ठ मानिएको छ ।

'कर्मिभ्यश्चाधिको योगी' -- यो लोकमा राज्य मिलोस्, धन-सम्पत्ति, सुख-आराम, भोग आदि मिलोस र मरेपछि परलोकमा ऊँचो-ऊँचो लोकहरुको प्राप्ति होस् र ती लोकहरुको सुख मिलोस् -- यस्तो उद्देश्य राखेर कर्म गर्ने अर्थात् सकामभावले यज्ञ, दान, तीर्थ, आदि शास्त्रीय कर्महरु गर्ने कर्मीहरु भन्दा पनि योगी श्रेष्ठ छ ।

संसारदेखि विमुख भएर परमात्माको सम्मुख भएको व्यक्ति नै वास्तवमा योगी हो । यस्तो योगी ठूला-ठूला तपस्वीहरु, शास्त्रज्ञ पण्डितहरु र कर्मकाण्डीयहरु भन्दा पनि ऊँचो छ, श्रेष्ठ छ  । कारण, तपस्वीहरुको उद्देश्य संसार हो तथा सकामभाव हो र योगीको उद्देश्य परमात्मा हो तथा निष्कामभाव हो ।    

तपस्वी, ज्ञानी र कर्मी -- यी तीनैका क्रियाहरु छुट्टा छुट्टै छन् अर्थात् तपस्वीहरुमा सहिष्णुताको, ज्ञानीहरुमा शास्त्रीय ज्ञानको अर्थात् बुद्धिको ज्ञानको र कर्मीहरुमा शास्त्रीय क्रियाको प्रधानता छ । यी तीनैमा सकामभाव भयो भने तीनै योगी होइनन्, भोगी हुन् । यदि यी तीनै निष्कामभावले योगी हुँदा हुन् त भगवान यिनीहरुसँग योगीको तुलना गर्नुहुन्नथ्यो, यी तीनै भन्दा योगीलाई श्रेष्ठ भन्नुहुन्नथ्यो । 

'तस्माद्योगी भवार्जुन' -- अहिलेसम्म महिमा गाउनु भएको योगको सम्बन्धमा भगवान अर्जुनलाई आज्ञा दिनुहुन्छ, 'हे अर्जुन ! तिमी योगी वन, राग-द्वेषले रहित होऊ अर्थात् सबै कामहरु गर्दा गर्दै पनि जलमा कमलको पात जस्तो निर्लिप्त रहू ।' यही कुरा भगवानले आउँदो आठौँ अध्यायमा पनि भन्नु भयो -- 'योगयुक्तो भवार्जुंन' । 

पाँचौं अध्यायको आरम्भमा अर्जुनले प्रार्थना गरे, 'हजुर मेरोलागि एक निश्चित श्रेयको कुरा भन्नुहोस् ।' यसको जवाफमा भगवानले सांख्य योग, कर्मयोग, ध्यानयोगको कुराहरु वताउनु भयो । तर यो श्लोकभन्दा पहिले कहिले पनि भन्नु भएन, 'तिमी यस्तो वन, यो मार्गमा लाग ।' अव यहाँ भगवान अर्जुनको प्रार्थना अनुसार उनलाई आज्ञा गर्नुहुन्छ, 'तिमी योगी वन; किनकि यही तिम्रोलागि एक निश्चित श्रेय छ ।'

भोगीको विभाग छुट्टै छ र योगीको विभाग छुट्टै छ । भोगी योगी हुँदैन र योगी भोगी हुँदैन । सकामभाव भएकाहरु भोगी हुन्छन् र निष्कामभाव भएकाहरु योगी हुन्छन् । यसैले सकामभाव भएका तपस्वी, ज्ञानी र कर्मी भन्दा पनि निष्कामभाव भएको योगी श्रेष्ठ छ ।

श्लोक ४७ 

सम्पूर्ण योगीहरुमा पनि श्रद्धावान्, ममा तल्लीन मनले मेरो भजन गर्ने भक्त मेरो मतमा सर्वश्रेष्ठ योगी हो ।

'योगिनामपि सर्वेषाम्' -- जडतासँग सम्बन्ध-विच्छेद गर्ने मुख्यता भएको, कर्मयोग, सांख्य-योग, हठयोग, मन्त्रयोग, लययोग आदि साधनहरु द्वारा आफ्नो स्वरूपको प्राप्ति (अनुभव)मा नै लागेका सकाम तपस्वीहरू, ज्ञानीहरू भन्दा श्रेष्ठ छन् । परन्तु ती सम्पूर्ण योगीहरुमा पनि केवल मसँग सम्बन्ध जोड्ने भक्तियोगी सर्वश्रेष्ठ छ ।

'यः श्रद्धावान्' -- ममा श्रद्धा र विश्वास गर्ने अर्थात् अन्तःकरणमा मेरो नै श्रद्धा र महत्ता भएको श्रद्धावान् भक्त ममा लागेर मेरै भजन गर्छ । 

'मद्गतेरान्तरात्मना मां भजते' -- म भगवानको हुँ र भगवान मेरो हुनुहुन्छ -- यस्तो प्रकारले स्वयंको भगवानमा आफ़्नोपना हुँदा मन स्वतः नै भगवानमा लाग्छ, तल्लीन हुन्छ । विवाह भएपछि केटीको मन स्वाभाविक नै उसको पतिको घरमा लागे जस्तै भगवानमा आफ्नोपन भएपछि भक्तको मन स्वाभाविक नै भगवानमा लाग्छ, मन लगाउन पर्दैन । त्यसपछि खाँदा-पिउँदा, उठ्दा-सुत्दा, हिंड्दा-डुल्दा जस्ता सबै क्रियाहरुमा उसको (भक्तको)  मनले  भगवानको नै चिन्तन गर्छ, भगवानमा नै लागिरहन्छ । 

खालि भगवानको मात्रै हुने, आफ्नो व्यक्तिगत केही नरहेको व्यक्तिको साधन-भजन, जप-कीर्तन, श्रावण-मनन सबै पारमार्थिक क्रियाहरु, खानु-पिउनु, हिंडनु-डुल्नु, सुत्नु-उठ्नु आदि सबै शारीरिक क्रियाहरु र खेती-व्यापार, नोकरी आदि जीविका सम्बन्धी क्रियाहरु भजन हुन्छन् । 

अनन्य-भक्तको भजनको स्वरूप भगवानले एघारौँ अध्यायको पचपन्नौं श्लोकमा वताउनु भएको छ, त्यो भक्त मेरो प्रसन्नताकोलागि सबै कर्म गर्छ, सँधै मेरै परायण रहन्छ, खालि  मेरो नै भक्त छ, संसारको  भक्त छैन, संसारको आसक्तिलाई सर्वथा छोडिदिन्छ र सम्पूर्ण प्राणीहरुसँग वैरभावदेखि रहित हुन्छ ।  
'स मे युक्ततमो मतः' -- संसारदेखि विमुख भएर आफ्नो उद्धार गर्नमा लागेका सबै साधक 'योगी' हुन् । सगुण-साकारको अर्थात् व्यापकरूपले सबैमा परिपूर्ण परमात्माको शरण लिने सबै 'युक्ततर' हुन् । परन्तु म सगुण भगवानको नै शरण पर्नेहरु मेरो मान्यतामा 'युक्ततम' हुन् । 

कर्मयोग, ज्ञानयोग, भक्तियोग सबै योग आएपछि साधक युक्ततम हुन्छ । श्रद्धा-विश्वासपूर्वक भगवानमा तल्लीन भएको मनले भजन गर्दा सबै योग आउँछन् । कारण, भगवान महायोगेश्वर हुनुहुन्छ, सम्पूर्ण योगहरुको महान ईश्वर हुनुहुन्छ भने महयोगेश्वरको शरण परेपछि शरणागतको कुन चाहिं योग वांकी रहला ? ऊ (शरणागत) त सम्पूर्ण योगहरुसँग युक्त हुन्छ । यसैले भगवान उसलाई युक्ततम भन्नुहुन्छ । 

युक्ततम भक्त कहिले योगभ्रष्ट हुनै सक्तैन । किनकि उसको मनले भगवान छोडदैन भगवान पनि उसलाई छोड्न सक्नुहुन्न । अन्तसमयमा ऊ पीडा बेहोशीले गर्दा भगवानलाई सम्झन नसके पनि भगवान उसलाई सम्झनु हुन्छ । अतः त्यो योगभ्रष्ट हुन नै कसरी सक्छ र ?

तात्पर्य, यो संसारसँग सर्वथा विमुख भएपछि भगवानको नै परायण भएको, आफ्नो बलको, उद्योगको, साधनको सहारा र विश्वासको अभिमानको नभएको भक्तलाई भगवान योगभ्रष्ट हुन दिनुहुन्न; किनकि ऊ (त्यो भक्त) भगवानमा नै निर्भर हुन्छ । अन्तःकरणमा संसारको महत्व हुने तथा आफ्नो पुरुषार्थको सहारा, विश्वास र अभिमान भएको व्यक्तिलाई नै योगभ्रष्ट हुने सम्भावना रहन्छ । कारण, अन्तःकरणमा भोगहरुको महत्व भएपछि परमात्माको ध्यान गर्दा पनि मन संसारमा जान्छ । यसरी प्राण छोड्ने वेलामा मन संसारमा गयो भने ऊ योगभ्रष्ट हुन्छ । यदि वलको सहारा, विश्वास र अभिमान छैन भने मन संसारमा जाँदा पनि ऊ योगभ्रष्ट हुँदैन । किनकि यस्तो अवस्था आयो भने ऊ भगवानलाई पुकार्छ । अतः भगवानमा निर्भर यस्तो भक्तको चिन्तन भगवान स्वयं गर्नुहुन्छ, यसो हुँदा ऊ योगभ्रष्ट हुँदैन, भगवान नै प्राप्त गर्छ । 

यहाँ भक्तियोगलाई सर्वश्रेष्ठ वताउनाले यो सिद्ध हुन्छ, अरु योगीहरुको पूर्णतामा केही न केही कमी रहने होला । संसारको-विच्छेद भएपछि सबै योगीहरु बन्धनवाट सर्वथा मुक्त हुन्छन्, निर्विकार हुन्छन् र परम सुख, परम शान्ति, परम आनन्दको अनुभव गर्छन् -- यो दृष्टिले कसैको पूर्णतामा कुनै कमी रहँदैन । परन्तु अन्तरात्माले भगवानमा लाग्ने व्यक्ति भगवानसँग आफ्नोपन गर्छ, त्यो व्यक्तिमा भगवत्प्रेम प्रकट हुन्छ । त्यो प्रेम प्रतिक्षण वर्धमान छ तथा सापेक्ष वृद्धि, क्षति र पूर्तिदेखि रहित छ । यस्तो प्रेम प्रकट हुँदा नै भगवानले उसलाई सर्वश्रेष्ठ मान्नुभएको हो ।

पाँचौं अध्यायको आरम्भमा अर्जुनले सोधे -- सांख्ययोग र योग -- यी दुईमा श्रेष्ठ कुन चाहिं हो ? भगवानले अर्जुनको प्रश्न अनुसार त्यहाँ कर्मयोगलाई श्रेष्ठ वताउनु भयो । परन्तु अर्जुनलाई कुन चाहिं योग श्रेष्ठ हो भन्ने कुरा वताउनु भएन । त्यसपछि सांख्ययोग र कर्मयोगको साधना कसरी चल्छ भन्ने कुराको विवेचन गरेर छैठौं अध्यायको आरम्भमा कर्मयोगको विशेष महिमा भन्नुभो । (समता) कर्मयोगले पाइने योग ध्यानयोगले पनि पाउन सकिन्छ भन्ने कुरा लिएर ध्यानयोगको वर्णन गर्नुभयो भगवानले । ध्यानयोगमा मनको चंचलता वाधक हुन्छ भन्ने कुरालाई लिएर अर्जुनले प्रश्न गरे । यसको उत्तर भगवानले संक्षेपमा  दिनुभयो । त्यसपछि अर्जुनले सोधे कि योगको साधन गर्ने व्यक्ति अन्तसमयमा योगदेखि विचलित भयो भने उसको के दशा हुन्छ ? यसको उत्तरमा भगवानले योगभ्रष्टको गतिको वर्णन गर्नुभयो र छयालिसौं श्लोकमा योगीको विशेष महिमा भनेर अर्जुनलाई योगी वन्न स्पष्टरूपले आज्ञा दिनुभयो । परन्तु मेरो मान्यतामा कुन चाहिं योग श्रेष्ठ हो भन्ने कुरा भगवानले यहाँसम्म स्पष्ट भन्नुभएको थिएन । अव यहाँ यो अन्तिमश्लोकमा भगवान आफ्नो मान्यताको कुरा आफ्नै तर्फवाट (अर्जुनले सोध्दै नसोधी) भन्नुहुन्छ, 'म त भक्तियोगीलाई नै श्रेष्ठ मान्छु' -- स मे युक्ततमो मतः।' तर यसरी स्पष्टरूपले भन्दा पनि अर्जुनले भगवानको कुरा पक्डन सकेनन् । यसैले अर्जुन आउँदै गरेको वारहौं अध्यायको आरम्भमा पुनः प्रश्न गर्छन्, हजुरको भक्ति गर्ने र अविनाशी निराकरको उपासना गर्नेहरुमा कुन चाहिं श्रेष्ठ छ ? त्यहाँ पनि यो अध्यायमा वताएको जस्तै भक्तियोगीलाई नै श्रेष्ठ वताउनु हुन्छ भगवान ।      

Gita: Chapter 6: Slok 45: श्लोक ४५ परन्तु प्रयत्नपूर्वक यत्न गर्ने, पाप नष्ट भएको तथा अनेक जन्महरुदेखि सिद्ध भएको त्यो योगी

No. 196

श्लोक ४५ 

परन्तु प्रयत्नपूर्वक यत्न गर्ने, पाप नष्ट भएको तथा अनेक जन्महरुदेखि सिद्ध भएको त्यो योगी परम गति पाउँछ । 

वैराग्यवान् योगभ्रष्ट तत्वज्ञं योगीहरुको कुलमा जन्म लिएको र त्यहाँ विशेषताले यत्न गरेको कारण सुगमतासँग परमात्मा पाउँछ । तर श्रीमान् हरुको घरमा जन्म लिने योगभ्रष्टले कसरी परमात्मा प्राप्त गर्छ भन्ने कुराको वर्णन यो श्लोकमा गर्नुहुन्छ भगवान । 

'तु' -- यो पदको तात्पर्य हो, योगको जिज्ञासु पनि वेदमा भनिएको सकाम कर्महरुको अतिक्रमण गर्छ भने, तिनवाट माथि उठ्छ भने योगमा लागिरहने र तत्परताले यत्न गर्ने साधक वेदहरू भन्दा माथि उठ्यो र परम गति पायो भने यसमा सन्देह नै के छ र ? 

'योगी' -- परमात्मतत्व, समता चाहने र राग-द्वेष, हर्ष-शोकमा नफस्ने व्यक्ति योगी हो । 

'प्रयत्नाद्यतमान:' -- प्रयत्नपूर्वक यत्न गर्नुको तात्पर्य हो, ऊ भित्र परमात्मातिर लाग्ने उत्कण्ठा, लगन, उत्साह, तत्परता दिन प्रतिदिन वढी नै रहन्छ । साधनमा उसको निरन्तर सजगता रहन्छ ।  

श्रीमान् हरुको घरमा जन्म लिने योगभ्रष्ट पूर्वाभ्यासको कारण परमात्मातिर खिंचिन्छ र वर्तमानमा भोगहरुको संगले संसारतिर खिंचिन्छ । यदि ऊ  प्रयत्नपूर्वक शूरवीरताले भोगहरुको त्याग गर्छ भने उसले परमात्मा पाउँछ । किनकि जव योगको जिज्ञासु पनि शब्दब्रह्म अतिक्रमण गर्छ भने तत्परताले साधनमा लाग्नेको त कुरै के गर्नु ! निषिद्ध आचरण गर्ने मनुष्य पनि एक पटक चोट खाएपछि परमात्मामा लाग्छ भने योगभ्रष्ट श्रीमान् हरुको घरमा जन्म लिएपछि विशेष जोडले परमात्मामा लाग्छ ।

'संशुद्धकिल्विष: -- योगभ्रष्टको अन्तःकरणको सबै दोष, सबै पाप नष्ट भएका हुन्छन् अर्थात् परमत्मातिर लगन भएकोले ऊ भित्र भोग, संसार, मान, वढाई आदिको इच्छा सर्वथा मेटिएको हुन्छ ।

प्रयत्नपूर्वक यत्न गर्नेको प्रयत्नवाट नै थाहा हुन्छ, उसको सबै पाप नष्ट भइसकेका छन् ।

'अनेकजन्मसंसिद्ध:' -- पहिले मनुष्यजन्ममा योगकोलागि यत्न गरेकोले शुद्धि भयो, त्यसपछि अन्तसमयमा भोगले विचलित भएर स्वर्ग आदि लोकमा जानु पर्यो, त्यहाँ भोगहरुदेखि अरूचि भएर शुद्धि भयो, फेरि त्यसपछि यहाँ शुद्ध श्रीमान् हरुको घरमा जन्म लिएर परमात्माप्राप्तिको लागि यत्न गर्दा शुद्धि भयो । यसरी तीन जन्महरुमा शुद्ध हुनु नै अनेक जन्म संसिद्ध हुनु हो ।

'ततो याति परां गतिम्' -- यसैले ऊ परमात्मा पाउँछ । तात्पर्य, जुन पाउँदा त्यो भन्दा वढी कुनै लाभ मानिंदैन र जसमा स्थित भएपछि भयंकर भन्दा भयंकर दुःख पनि विचलित गर्न सक्तैन । यस्तो आत्यन्तिक सुख उसलाई प्राप्त हुन्छ ।   

वास्तवमा हेर्दा, सम्पूर्ण प्राणीहरु अनेक-जन्म-संसिद्ध छन् । किनकि यो मनुष्यशरीर भन्दा पहिले ऊ स्वर्ग आदि लोकहरुमा गएको छ । त्यहाँ शुभ कर्महरुको फल भोगेकोले उसका स्वर्ग पाउने पुण्य समाप्त भए र ऊ पुण्यहरुले शुद्ध भयो । यदि ऊ नरकहरुमा गयो भने त्यहाँ नारकीय यातना भोगेपछि उसलाई पापकारक (पाप गराउने) पाप सकिए र शुद्ध भयो । यदि ऊ चौरासी लाख योनिहरुमा गयो भने त्यहाँ त्यो त्यो योनिहरुको रूपमा अशुभ कर्महरुको फल भोग्दा उसको मनुष्य भन्दा अन्य योनिहरुको पाप काटियो र ऊ शुद्ध भयो । यस्तो प्रकारले यो जीव अनेक जन्महरुमा पुण्यहरु र पापहरुदेखि शुद्ध भएको छ । यही शुद्ध हुनु नै यसको 'संसिद्ध' हुनु हो । 

अर्को कुरो, सबै मनुष्य प्रयत्नपूर्वक यत्न गरेर परम-गति पाउन सक्छन्, आफ्नो कल्याण गर्न सक्छन् । कारण, भगवानले यो अन्तिम जन्म यो मनुष्यलाई केवल आफ्नो कल्याण गर्न नै दिनुभएको हो । यदि यो मनुष्य आफ्नो कल्याण गर्ने अधिकारी होइन भने यसलाई मनुष्य जन्म किन दिनु हुन्थ्यो भगवान । मनुष्य-जन्म दिएपछि मुक्तिको पात्र पनि यही नै भयो । अतः सबै मनुष्यले आफ्नो उद्धारकोलागि तत्परतापूर्वक यत्न गर्नु पर्छ ।

Gita: Chapter 6: Slok 44: श्लोक ४४ ऊ (श्रीमान् हरुको घरमा जन्म लिने योगभ्रष्ट मनुष्य) भोगहरुको परवश भएर पनि त्यो पहिले

सत् No. 195 

श्लोक ४४ 

ऊ (श्रीमान् हरुको घरमा जन्म लिने योगभ्रष्ट मनुष्य) भोगहरुको परवश भएर पनि त्यो पहिले मनुष्य-जन्ममा गरिएको अभ्यास (साधन)को कारण नै (परमात्मातिर) खिंचिन्छ; किनकि योग (समता)को जिज्ञासु पनि वेदहरुमा भनिएको सकाम कर्महरुको अतिक्रमण गर्छ । 

'पूर्वाभ्यासेन तेनैव ह्रियते ह्यवशोपि सः' -- योगीहरुको कुलमा जन्म लिने योगभ्रष्टले पाउने संग, शिक्षा, साधनको सुविधा, वायुमण्डल श्रीमान्रहरुको घरमा जन्म लिनेले पाउँदैन । परन्तु स्वर्ग आदि लोकहरुमा जानु भन्दा पहिले मनुष्य-जन्ममा गरे जति योगका साधन, संसारिक भोगहरुको त्याग, उसको अन्तःकरणमा परेका राम्रा संस्कारहरु त्यो मनुष्य-जन्ममा गरिएको अभ्यासको कारण नै भोगहरुमा आसक्त हुँदा हुँदै पनि ऊ परमात्मातिर जवर्जस्ती खिंचिन्छ ।

'अवशोपि' भन्नुको तात्पर्य, ऊ (साधक) श्रीमान् हरुको घरमा जन्म लिनु भन्दा पहिले धेरै वर्षहरुसम्म स्वर्ग आदि लोकहरुमा रहेको छ । त्यहाँ उसलाई भोग धेरै भयो  र यहाँ (साधारण घरको तुलनामा) श्रीमान् हरुको घरमा पनि भोगहरु धेरै भयो । उसको मनमा भोगको आसक्ति अहिले सबै मेटिएको छैन, यसैले ऊ भोगहरुको परवश हुन्छ । परवश भएपछि अर्थात् इन्द्रियहरु, मन आदि भोगहरुमा आकर्षित भइरहँदा पनि पूर्वको (पहिले)को अभ्यासको कारण पनि ऊ जवर्जस्ती परमात्मातिर खिंचिन्छ । कारण, भोग वासना जति नै प्रवल भए पनि हुन् त् 'असत्' नै । त्यो असत् भोग-वासनाको जीवको -स्वरूपसँग कुनै सम्बन्ध छैन । ध्यानयोग सम्बन्धी गरिएका सबै साधन, साधनका संस्कार जति नै साधारण भए पनि तिनीहरु 'सत्' नै हुन् । ती सबै जीवको सत्-स्वरूपको अनुकूल हुन् । त्यसैले ती संस्कार भोगहरुको परवश भएका योगभ्रष्टलाई भित्रैदेखि खिंचेर परमात्मातिर लगाइदिन्छन् । 

'जिज्ञासुरपि योगस्य शब्दब्रह्मातिवर्तते' -- यो प्रकरणमा अर्जुनको प्रश्न थियो, साधनमा लागेको शिथिल प्रयत्न गर्ने साधक अन्तसमयमा योगवाट विचलित भयो भने उसले योगको संसिद्धि नपाएर कुन गतिमा जान्छ अर्थात् कहिं उसको पतन त हुँदैन ? यसको उत्तरमा भगवानले यो लोकमा र परलोकमा योगभ्रष्टको पतन नहुने कुरा भनेर यो श्लोकको पूर्वार्धसम्म भन्नुभयो । अव यो श्लोकको उत्तरार्धमा योगमा लागेका योगीको वास्तविक महिमा भन्न योगको जिज्ञासुको महिमा भन्नुहुन्छ भगवान । 

योगको  जिज्ञासुले पनि वेदहरुमा भनिएको सकाम कर्म र तिनका फलहरुको अतिक्रमण गर्छ अर्थात् ती भन्दा माथि उठ्छ भने योगभ्रष्टकोलागि त भन्नै के पर्यो र ! अर्थात् उसको पतनको कुनै शंका नै छैन । ऊ योगमा प्रवृत्त भइसक्यो; अतः उसको उद्धार अवश्य हुन्छ । 

यहाँ 'जिज्ञासुरपि योगस्य' पदहरुको अर्थ, अहिले योगभ्रष्ट नभएको र योगमा प्रवृत्त पनि नभएको; तर योग (समता) लाई महत्व दिने र त्यसलाई प्राप्त गर्न चाहने योगको जिज्ञासु पनि शब्दब्रह्म अर्थात् वेदहरुमा सकाम कर्मको भाग अतिक्रमण गर्छ । 

योगको जिज्ञासु साधारण व्यक्तिहरु जस्तो संग्रहलाई महत्व दिंदैन, तर तिनको उपेक्षा गरेर योगलाई अधिक महत्व दिन्छ । उसको भोग र संग्रहको रुचि मेटिएको हुँदैन, तर ऊ सिद्धान्तले योगलाई नै महत्व दिन्छ । त्यसैले त्यो व्यक्ति योगारूढ़ भएको छैन, तर योगको जिज्ञासु छ, योग पाउन चाहन्छ । यो जिज्ञासा मात्रैको पनि यति महात्म्य छ, ऊ, त्यो व्यक्ति, वेदहरुमा भनिएको सकाम कर्महरु र तिनका फलहरुदेखि माथि उठ्छ । यसवाट सिद्ध हुन्छ, यहाँको भोगहरु पनि सबै मेट्न नसकेको र तत्परताले योगमा पनि लाग्न नसकेको व्यक्तिको पनि यति महत्व छ भने योगभ्रष्टको विषयमा त भन्नै के पर्यो र ? यस्तै कुरो भगवानले दोस्रो अध्यायको चालीसौं श्लोकमा भन्नु भयो, योग (समता) को आरम्भ पनि नष्ट हुँदैन र त्यसको थोरै मात्र अनुष्ठान पनि महान् भयवाट रक्षा गर्छ अर्थात् कल्याण गर्छ ।फेरि योगमा प्रवृत्त भइसकेको व्यक्तिको पतन कसरी हुन सक्छ ? उसको कल्याण भइहाल्छ, यसमा कुनै सन्देह छैन । 

'योगभ्रष्ट' धेरै विशेषता भएको मनुष्यको नाम हो । कस्तो विशेषता ? गीताको सातौं अध्यायमा भनिसकियो, मनुष्यहरूमा हजारौं हजारौं मध्ये कोही एउटाले मात्रै सिद्धिको यत्न गर्छ । त्यही सिद्धिकोलागि यत्न गर्ने नै योगभ्रष्ट हुन्छ । 

योगमा लाग्नेहरुको महिमा धेरै छ । यो योगको जिज्ञासु पनि शब्दब्रह्मको अतिक्रमण गर्छ अर्थात् ऊँचो भन्दा ऊँचो ब्रहमलोक आदि लोकहरुदेखि पनि उसलाई अरूचि हुन्छ । किनभने, ब्रह्मलोक पनि पुनरावर्ती हो र ऊ (जिज्ञासु) चाहन्छ अपुनरावर्ति । योगको जिज्ञासा मात्रै हुन पनि यति ठूलो महिमा छ भने योगभ्रष्टको महिमा कति होला ? किनकि उसको उद्देश्यमा समता (योग) आयो, त्यसैले त ऊ योगभ्रष्ट भयो, ऊ सकामभावले ठूला-ठूला यज्ञ, दान, आदि गर्ने व्यक्तिहरु भन्दा नीचो हुँदैन, श्रेष्ठ नै हुन्छ । यसको कारण, त्यो साधकको उद्देश्य समता भएकोले । समताको उद्देश्य भएको व्यक्ति शब्दब्रह्मको अतिक्रमण गर्छ । 
                                                                                         
योगभ्रष्टको प्रसंगवाट साधकहरुलाई उत्साह दिलाउने विचित्र कुरो छ -- यदि साधक 'मलाई त परमात्माको नै प्राप्ति गर्नु छ' -- भन्ने दृढताले निश्चय गर्छ भने उ शब्दब्रहमको अतिक्रमण गर्छ ।

(२) यदि साधक आरम्भमा 'समता' पाउन सक्तैन भने उसको रुचि या उद्देश्य समता-प्राप्तिको हुनुपर्छ । तात्पर्य, साधक जस्तो भए पनि उसको रुचि या उद्देश्य सँधै ऊँचो हुनुपर्छ । साधकको रुचि या उद्देश्यपूर्तिको लगन जति तेज र तीव्र हुन्छ, त्यति नै छिटो उसको उद्देश्यको सिद्धि हुन्छ । भगवानको स्वभाव छ, उहाँ साधक के गर्छ भन्ने हेर्नुहुन्न, यो हेर्नुहुन्छ, साधक के चाहन्छ । 

एउटा प्रज्ञाचक्षु (आँखा नदेख्ने) सन्त सँधै मन्दिरमा (भगवानको विग्रहको दर्शन गर्न) जाने गर्थे । एक दिन उनी मन्दिर जाँदा कसैले सोध्यो, 'तिमी यहाँ किन आएको ?' सन्तले उत्तर दिए, 'दर्शन गर्न आएको ।' फेरि त्यो प्रश्नकर्ताले सोध्यो, 'तिमी त देख्न सक्तैनौं नि ?' ती सन्तले उत्तर दिए, 'मैले नदेखे पनि के हुन्छ त के भगवान मलाई देख्नुहुन्न ? म उहाँलाई देख्दिन, तर उहाँ त मलाई देखिहाल्नु हुन्छ, यसैले मेरो काम वन्छ ।'

यसै गरी हामीले समता प्राप्त गर्न नसके पनि हाम्रो रुचि र उद्देश्य समताको नै रहनुपर्छ, यो कुरा भगवान देखिहाल्नु हुन्छ । यसरी हाम्रो काम वनिहाल्छ । 

सांसारिक पुण्य पापको अपेक्षाले (द्वन्द्वयुक्त) छ, तर भगवानको सम्बन्ध (सत्संग, भजन, आदि)वाट हुने पुण्य (योग्यता, सामर्थ्य) विलक्षण छ । यसैले सांसारिक पुण्य मनुष्यलाई भगवानमा लगाउँदैन, तर भगवत्सम्बन्धी पुण्य मनुष्यलाई भगवानमा नै लगाइदिन्छ । यो पुण्य फल दिएर नष्ट हुँदैन । सांसारिक कामनाहरु छोड्नु र भगवानतिर लाग्नु -- दुवै भगवत्सम्बन्धी पुण्य हुन् । 

'पूर्वाभ्यासेन तेनैव' पदहरुको तात्पर्य, वर्तमान जन्ममा सत्संग, सच्चर्चा, आदि नहुँदा पनि केवल पूर्वजन्मको कारण नै परमात्मामा लागिन्छ । यो पूर्वाभ्यासमा क्रिया (प्रवृत्ति) छैन, गति छ । जिज्ञासुरपि योगस्य शब्दब्रह्मातिवर्तते मा पनि क्रिया हुने अभ्यास नभएर गति भएको अभ्यास छ । तात्पर्य, यो अभ्यासमा प्रयत्न पनि छैन र कर्तृत्व पनि छैन, तर गति छ । गतिमा स्वतः परमात्मातिर खिंच्ने शक्ति छ । क्रिया भएको अभ्यास गरिन्छ र गति भएको अभ्यास स्वतः हुन्छ । 

Gita: Chapter 6: Slok 42: श्लोक ४२ अथवा (वैराग्यवान् योगभ्रष्ट) ज्ञानवान् योगीहरुको कुलमा नै जन्म लिन्छ । यस्तो प्रकारले यस्तो

No. 194

श्लोक ४२ 

अथवा (वैराग्यवान् योगभ्रष्ट) ज्ञानवान् योगीहरुको कुलमा नै जन्म लिन्छ । यस्तो प्रकारले यस्तो जन्म यो संसारमा निःसन्देह ज्यादै दुर्लभ छ ।

साधन गर्नेहरु दुई किसिमका हुन्छन् -- वासनासहित र वासनारहित । साधन राम्रो लाग्ने, साधनमा रुचि हुने र परमात्माको प्राप्तिको उद्देश्य वनाएर साधनमा लागि पनि हाल्ने तर अहिले भोगहरुमा वासना पूरापूर नछुटेको साधक अन्तसमयमा साधनदेखि विचलित भएपछि योगभ्रष्ट हुन्छ । त्यसपछि ऊ स्वर्ग आदि लोकहरुमा धेरै वर्ष वसेर शुद्ध श्रीमान् को घरमा जन्मन्छ । यस्तो योगभ्रष्टको वर्णन यो भन्दा पहिलो श्लोकमा भइसक्यो । अर्को थरी, भित्र भोगको वासना नभएको, तीव्र वैराग्य भएको, परमात्माको उद्देश्य लिएर धेरै वेगले लागेको तर पूर्णता पाइनसकेको साधक यदि कुनै कारणले योगभ्रष्ट भइहाल्यो भने स्वर्ग आदिमा जानु पर्दैन, ऊ सीधै योगीहरुको कुलमा जन्म लिन्छ । यस्तो योगभ्रष्टको कुरो यो श्लोकमा भइरहेको छ ।

'अथवा' -- तिमीले सोधेको योगभ्रष्टको कुरा त मैले तिमीलाई वताएँ । तर यो संसारदेखि विरक्त भएर, संसारदेखि विमुख भएर साधनमा लागेको भक्त पनि कुनै कारणले, कुनै परिस्थितिले तत्काल मर्यो भने अथवा उसको वृत्ति अन्तसमयमा साधनमा लागेन भने ऊ पनि योगभ्रष्ट हुन्छ । यस्तो योगभ्रष्टको गति म भन्दैछु भन्नुहुन्छ यो श्लोकमा भगवान ।

'योगिनामेव कुले भवति धीमताम्' -- परमात्मतत्व प्राप्त गरिसकेका, बुद्धि परमात्मतत्वमा स्थिर भएका तत्वज्ञ जीवन्मुक्त बुद्धिमान् योगीहरुको कुलमा त्यो वैराग्यवान् योगभ्रष्ट जन्म लिन्छ । 

'कुले' भन्नुको अर्थ, उसको जन्म साक्षात् जीवन्मुक्त योगी महापुरुषको कुलमा नै हुन्छ; किनकि श्रुति भन्छ, त्यस्ता ब्रह्मज्ञानीको कुलमा कोही पनि ब्रह्मज्ञानदेखि रहित हुँदैन अर्थात् सबै ब्रह्मज्ञानी नै हुन्छन् । 

'एतद्धि दुर्लभतरं लोके जन्म यदिदृशम्' -- यसको किसिमको उसको (योगीहरुको) कुलमा हुने जन्म यो लोकमा धेरै दुर्लभ छ । अर्थ, शुद्ध सात्विक राजाहरुको, धनवानहरुका र प्रसिद्ध गुणवानहरुका घरमा जन्म हुनु पनि दुर्लभ मानिन्छ, पुण्यको फल मानिन्छ भने तत्वज्ञ जीवन्मुक्त योगी महापुरुषहरुकहाँ जन्म हुनु त दुर्लभतर -- धेरै दुर्लभ छ ।  कारण, ती योगीहरुको कुलमा, घरमा स्वाभाविक नै पारमार्थिक वायुमण्डल रहन्छ । त्यहाँ सांसारिक भोगहरुको चर्चा नै हुँदैन । अतः त्यहाको वायुमण्डलवाट, दृश्यवाट, तत्वज्ञ महापुरुषहरुको संगवाट, राम्रो शिक्षा आदिवाट उसलाई साधनमा लाग्न धेरै सुगम हुन्छ र ऊ (त्यो योगभ्रष्ट) केटाकेटीदेखि नै साधनमा लाग्छ । यसैले यस्ता योगीहरुको कुलमा जन्म लिने दुर्लभतर कुरा वताइएको छ । 

यहाँ 'एतत्' र 'ईदृशम्' प्रयोग भएका छन् । 'एतत्' पदले तत्वज्ञ योगीहरुको कुलमा जन्म लिने योगभ्रष्ट भन्ने बुझ्नु पर्छ र 'ईदृषम्' पदले ती तत्वज्ञ महापुरुषहरुको 'संगको अवसर प्राप्त भएको' साधक भन्ने बुझ्नु पर्छ । संसारमा दुई प्रकारका प्रजा मानिन्छन् -- विन्दुज र नादज । माता-पिताको रज-वीर्यवाट जन्मनेलाई 'विन्दुज प्रजा' भनिन्छ र महापुरुषहरुको नादवाट अर्थात् शब्दवाट, उपदेशवाट पारमार्थिक मार्गमा लाग्ने व्यक्ति 'नादज प्रजा' हुन्छ । यहाँ योगीहरुको कुलमा जन्म लिने योगभ्रष्ट 'विन्दुज' हो र तत्वज्ञ जीवन्मुक्त महापुरुषहरुको संग पाएको साधक 'नादज' हो ।यी दुबैमा साधकहरुको यस्तो जन्म र संग पाउनु धेरै दुर्लभ छ । 

शास्त्रहरूमा मनुष्य-जन्म दुर्लभ वताइएको छ, तर मनुष्यजन्ममा महापुरुषहरुको संग मिल्नु अझ दुर्लभ छ । नारदजी आफ्नो भक्तिसूत्रमा भन्छन्, 'महत्संगस्तु दुर्लभोगम्योमोघश्च' अर्थात् महापुरुषहरुको संग दुर्लभ, अगम्य र अमोघ छ । कारण, एक त उनीहरुको संग पाउनु कठिन छ र भगवानको कृपाले यस्तो संग मिलिहाले पनि ती महापुरुषहरुलाई चिन्नु कठिन छ । परन्तु उनीहरुको संग कुनै तरहले मिलिहाल्यो भने त्यो निष्फल हुँदैन । तात्पर्य, महापुरुषहरुको संग मिल्ने दृष्टिले माथि भनिएका दुवै साधकहरुलाई 'दुर्लभतर' भनिएको हो ।                                                                                              
श्लोक ४३ 

हे कुरुनन्दन ! त्यो योगभ्रष्टको त्यहाँ (त्यो जन्ममा) उसलाई पहिले मनुष्यजन्मको साधन-सम्पत्ति (अनायास) नै प्राप्त हुन्छ । त्यसपछि उसवाट साधन सिद्धिको विषयमा पुनः विशेषताले यत्न हुन्छ ।

'तत्र तं बुद्धिसंयोगम् लभते पौर्वदेहिकम्' -- तत्वज्ञ जीवन्मुक्त महापुरुषहरुको कुलमा जन्म भएपछि त्यो वैराग्यवान् साधकको के दशा हुन्छ ? भन्ने कुरा वताउन 'तत्र' पद आयो । 

'पौर्वदेहिकम्' तथा 'बुद्धिसंयोगम्' पदहरुको तात्पर्य, संसारदेखि विरक्त त्यो साधकलाई स्वर्ग आदि लोकहरुमा जानु पर्दैन, उसको त सीधै योगीहरुको कुलमा जन्म हुन्छ । त्यहाँ उसलाई अनायास नै पूर्वजन्मको साधन-सामग्री मिल्छ । जस्तो, कुनै वाटोमा हिंडदा हिंडदै कसैलाई निद्रा लाग्यो र ऊ वाटोको छेउमा सुत्यो । उसले केही वर सुतेर उठेपछि उसको वाटो त काटिएकै हुन्छ । त्यस्तै पूर्वजन्ममा त्यो साधकको जति साधन भइसकेको छ, जति राम्रा संस्कारहरु परिसकेका छन्, ती सबै साधनहरु, संस्कारहरु त्यो जन्ममा उसलाई प्राप्त हुन्छन्, जाग्रत हुन्छन् ।

'यतते च ततो भूयः सन्सिद्धौ' -- एक त त्यहाँ (संसारमा) पूर्वजन्ममा गरिएको बुद्धिसंयोग उसलाई हुन्छ र त्यहाँको संग राम्रो हुनाले साधनको राम्रा राम्रा कुराहरु हुन्छ, साधन गर्ने युक्तिहरु पाइन्छ । जति-जति ऊ नयाँ नयाँ युक्तिहरु पाउँछ  त्यति त्यति साधनमा उसको उत्साह वढ़छ । यसरी ऊ सिद्धिकोलागि विशेष तत्परताले यत्न गर्छ ।    

Gita: Chapter 6: Slok 41: श्लोक ४१ (त्यो) योगभ्रष्ट पुण्यकर्म गर्ने व्यक्तिहरुको लोकहरु पाउँछ र (त्यहाँ) धेरै वर्षहरुसम्म रहेर (फेरि यहाँ) शुद्ध (ममतारहित) श्रीमानहरुको घरमा जन्मन्छ ।

No. 193 

श्लोक ४१ 

(त्यो) योगभ्रष्ट पुण्यकर्म गर्ने व्यक्तिहरुको लोकहरु पाउँछ र (त्यहाँ) धेरै वर्षहरुसम्म रहेर (फेरि यहाँ) शुद्ध (ममतारहित) श्रीमानहरुको घरमा जन्मन्छ ।

शास्त्रीय विधि-विधानले यज्ञ आदि कर्महरु साङ्गोपाङ्ग गर्नेहरुको स्वर्ग आदि लोकहरुमा अधिकार हुन्छ । त्यसैले यहाँ पुण्यकर्म गर्नेको लोक भनिएको हो । छोटोमा, ती लोकहरुमा पुण्यकर्म गर्नेहरु नै जान्छन्, पापकर्म गर्नेहरु जाँदैनन् । परन्तु पुण्यकर्महरुको फलरुप सुख भोग्ने इच्छा नभएका साधकहरु ती स्वर्ग आदि लोक विघ्नरूपमा र सिंत्तैमा पाउँछन् । अर्थ, यज्ञ आदि शुभ कर्म गर्नेलाई परिश्रम गर्नुपर्छ, ती लोकहरुको याचना, प्रार्थना गर्नुपर्छ, यज्ञ आदि कर्म विधि-विधानले गर्नुपर्छ र साङ्गोपाङ्ग गर्नुपर्छ, त्यसपछि मात्रै उनीहरुलाई स्वर्ग आदि लोक प्राप्त हुन्छ । स्वर्गमा पनि ती भोगहरुको वासना वनिरहन्छ; किनकि उनीहरुको उद्देश्य नै भोग भोग्ने थियो । तर कुनै कारणवश अन्तसमयमा साधनवाट विचलितमना हुनेहरुलाई स्वर्गलोकको प्राप्तिकोलागि न त परिश्रम गर्नुपर्छ, न तिनको याचना गर्नुपर्छ, र न स्वर्गप्राप्तिकोलागि यज्ञ आदि शुभ कर्म गर्नुपर्छ । तैपनि उनीहरुलाई स्वर्गलोकको प्राप्ति हुन्छ । त्यहाँ (स्वर्गमा) रहँदा पनि तिनीहरुलाई भोगहरुदेखि अरूचि हुन्छ; किनकि उनीहरुको उद्देश्य भोग भोग्ने छँदै थिएन । उनीहरु त सांसारिक सूक्ष्म वासनाको कारण ती लोकहरुमा जान्छन् । परन्तु तिनीहरुको वासना भोगी व्यक्तिहरुको जस्तो हुँदैन । 

केवल भोग भोग्न स्वर्गमा जाने, भोगहरुमा तल्लीन रहने व्यक्ति जस्तो योगभ्रष्ट तल्लीन हुन  सक्तैन । कारण, भोगहरुको इच्छा भएका पुरुष भोगबुद्धिले भोगहरु स्वीकार गर्छन् र योगभ्रष्टलाई विघ्नरूपले भोगमा जानु पर्छ ।

'उषित्वा शाश्वती: समाः' -- स्वर्ग आदि ऊँचा लोकहरुमा यज्ञ आदि शुभ कर्म गर्ने पनि (भोग भोग्ने उद्देश्यले) जान्छन् र योगभ्रष्ट हुन्छन् । भोग भोग्ने उद्देश्यले स्वर्गमा जानेको पुण्यहरु क्षीण हुन्छन्  र पुण्यहरु सकिएपछि उनीहरुलाई फर्केर मृत्युलोकमा आउनु पर्छ । यसैले तिनीहरु त्यहाँ सीमित वर्षहरुसम्म मात्रै वस्न पाउँछन् । परन्तु भोग भोग्ने उद्देश्य नभएको, खालि परमात्मा प्राप्ति गर्ने मात्रै उद्देश्य भएको त्यो योगभ्रष्ट कुनै सूक्ष्म वासनाले गर्दा स्वर्गमा जाँदा पनि उसको साधन-सम्पत्ति क्षीण हुँदैन । यसैले ऊ त्यहाँ असीम वर्षहरुसम्म वस्छ अर्थात् उसकोलागि त्यहाँ वस्न कुनै सीमा हुँदैन । 

भोग भोग्ने उद्देश्यले ती लोकहरुमा जानेहरुलाई त त्यहाँ वस्न स्वतन्त्रता छ, न त्यहाँवाट आउने स्वतन्त्रता छ । उनीहरुले भोग भोग्न नै यज्ञ आदि कर्म गरेका हुन्, यसैले ती शुभकर्महरुको फल समाप्त भएपछि उनीहरु त्यहाँ रहन सक्तैनन् । परन्तु परमात्मा प्राप्तिकोलागि नै साधन गर्ने र केवल अन्तसमयमा योगवाट विचलित भएको कारण स्वर्ग आदिमा गएका हुन्, उनीहरुको वासनाको तारतम्यको कारण त्यहाँ धेरै-थोरै समय वस्न सकिन्छ, तर उनीहरु त्यहाँको भोगहरुमा फस्न सक्तैनन् । कारण, योगको जिज्ञासु पनि शब्दब्रह्मको अतिक्रमण गर्छ भने त्यो योगभ्रष्ट कसरी फस्न सक्छ र ?

'शुचीनाम् श्रीमताम् गेहे योगभ्रष्टोभिजायते' -- स्वर्ग आदि लोकहरुको भोग भोग्दा अरूचि भएपछि योगभ्रष्ट फर्केर मृत्युलोकमा आउँछ र शुद्ध श्रीमान् को घरमा जन्म लिन्छ । ऊ फेरि फर्केर आउन कारण के छ ? वास्तवमा यसको कारण त भगवान नै जान्नुहोस्; तर गीतामा विचार गर्दा यस्तो देखिन्छ, त्यसले मनुष्य-जन्ममा साधन गरिरह्यो । त्यो साधन छोड्न चाहँदैनथ्यो; तर अन्तसमयमा साधन छुट्यो । अतः अन्तःकरणमा भएको त्यो साधनको महत्व योगभ्रष्टलाई अज्ञातरूपले फेरि साधन गर्न प्रेरित गरिरहन्छ, उक्साइरहन्छ । यसैले, योगभ्रष्टको मनमा म साधन गरूँ भन्ने आइरहन्छ । मनमा यस्तो आइरहनुको कारण ऊ आफैंलाई पनि थाहा हुँदैन । श्रीमान् हरुको घरमा भोगहरुको परवश हुँदा पनि पूर्वजन्मको अभ्यास उसलाई जवर्जस्ती भोगहरुवाट खिंच्छ भने त्यो साधन उसलाई स्वर्ग आदिमा साधन विना रहन कसरी देला ? अतः भगवान उसलाई गर्ने मौका दिन शुद्ध श्रीमान् हरुको घरमा जन्म दिनुहुन्छ । 

शुद्ध कमाइको धन भएको, कहिले पनि अरुको हक नलिने, आचरण तथा भाव शुद्ध भएको, भोगहरुमा  र पदार्थहरुमा महत्व, ममता नभएको, सम्पूर्ण पदार्थ, घर, परिवार आदिलाई साधन-सामग्री सम्झने, भोगबुद्धिले कसैमा आफ्नो आधिपत्य नजमाउने व्यक्तिलाई 'शुद्ध श्रीमान्' भन्छन् । धन र भोगहरुमा आधिपत्य जमाउने, आफूलाई ती धन र पदार्थहरुको मालिक सम्झने व्यक्तिहरु ती भोगहरुको गुलाम वन्छन् । त्यसैले ती शुद्ध श्रीमान् होइनन् ।   

Gita: Chapter 6: Slok 40: श्लोक ४० पृथानन्दन ! उसको (साधकको) न त यो लोकमा र न परलोकमा नै विनाश हुन्छ; किनकि हे बाबु !

No. 192 

श्रीभगवानले भन्नुभयो  

श्लोक ४० 

पृथानन्दन ! उसको (साधकको) न त यो लोकमा र न परलोकमा नै विनाश हुन्छ; किनकि हे बाबु ! कल्याणकारी काम गर्नेको दुर्गति हुँदैन ।

जसको अन्तकालमा परमात्माको स्मरण हुँदैन, उसको कहिं पतन त हुने होइन -- यो कुरालाई लिएर अर्जुनको हृदयमा धेरै व्याकुलता छ । यो व्याकुलता भगवानवाट लुकेको छैन । अतः भगवान अर्जुनलाई 'कां गतिम् कृष्ण गच्छति' -- यो प्रश्नको उत्तर दिनु भन्दा पहिले नै अर्जुनको हृदयको व्याकुलता हटाउनु हुन्छ । 

'पार्थ नैवेह नामुत्र विनाशस्तस्य विद्यते' -- हे पृथानन्दन ! साँचो हृदयले साधन गर्ने मनुष्यको न यो जन्ममा पतन हुन्छ र न मरेपछि पतन हुन्छ । तात्पर्य, उसको योगमा जति स्थिति वनिसकेको छ, त्यो भन्दा तल ऊ गिर्दैन । उसको साधन-सामग्री नष्ट हुँदैन । उसको पारमार्थिक उद्देश्य वदलिंदैन । अनादिकालदेखि जन्मिरहेको र मारिरहेको जस्तो ऊ पछि पनि जन्मने र मर्ने गरिरहँदैन -- यस्तो पतन उसको हुँदैन । 

भरत मुनि भारतवर्षको  राज्य छोडेर एकान्तमा तप गर्थे । त्यहाँ दयापरवश भएर उनी हरिणको वच्चामा आसक्त भए । यसले गर्दा अर्को जन्ममा उनलाई हरिण वन्नु पर्यो । परन्तु उनले गरेको त्याग, तप, जति सबै साधनको जम्मा पूँजी हरिणको जन्ममा पनि नष्ट भएन । उनलाई हरिणको जन्ममा पनि पूर्वजन्मको कुरा सम्झना थियो । यस्तो सम्झना त मनुष्य जन्ममा पनि हतपति हुँदैन । त्यसैले उनी (भरत राजा) हरिणको जन्ममा पनि सानैदेखि आमासँग वसेनन् । त्यो हरिण हरियो पात पनि नखाएर सुकेको पात खान्थ्यो । तात्पर्य, आफ्नो स्थितिवाट नगिरेको हुनाले हरिणको जन्ममा पनि ती राजाको पतन भएन । यही किसिमले, पहिले मनुष्यजन्ममा सेवा गर्ने, जप-ध्यान गर्ने र आफ्नो उद्धारको विचार गर्ने स्वभाव भएका व्यक्तिहरु कुनै कारणवश योगभ्रष्ट भए भने तथा यो लोकमा पशु-पक्षी नै वने पनि उनीहरुको राम्रो स्वभाव र सत्संस्कार नष्ट हुँदैनन् । 

'न हि कल्याणकृत्कश्चिद्दुर्गतिम् तात गच्छति' -- भगवानले यो श्लोकको पूर्वार्धमा अर्जुनलाई 'पार्थ' भन्नुभो । यो शब्द आत्मीय सम्बन्धको द्योतक हो । अर्जुनका सबै नामहरुमा भगवानलाई यो 'पार्थ' नाम धेरै प्यारो थियो । यहाँ यो श्लोकको उत्तरार्धमा त्यो भन्दा प्यारो शब्द भन्दै भगवान भन्नुहुन्छ, 'हे तात ! कल्याणकारी काम गर्नेको  दुर्गति हुँदैन ।' यो 'तात' शब्द पूरा गीतामा यही एक चोटी आएको छ । यो शब्द अत्यन्तै प्रेमको द्योतक हो । 

यो श्लोकमा भगवानले सबै साधकहरुलाई आश्वासन दिंदै भन्नुहुन्छ, कुनै पनि साधनले, साँचो हृदयले कल्याणकारी काम गर्ने भक्तको दुर्गति हुँदैन । 

उसको दुर्गति हुँदैन -- यस्तो भन्नुको तात्पर्य, मनुष्य शरीर पाइएको नै कल्याणकारी कार्यमा लाग्न हो ।त्यसैले आफ्नो हितको काममा लागेको र संग्रहमा आसक्त नभएको व्यक्ति, जुनसुकै मार्गवाट हिंडे पनि, दुःख पाउंदैन । किनकि उसको ध्येय चिन्मय-तत्व म (परमात्मा) हुँ, त्यसैले उसको पतन हुँदैन ।उसको रक्षा म गर्नेछु, त्यसपछि उसको दुर्गति कसरी हुन सक्छ ?

मेरो दृष्टि स्वतः समस्त प्राणीको हितमा रहन्छ । मतिर लाग्ने, आफ्नो परम हितकोलागि उद्योग गर्ने मनुष्य मलाई धेरै प्यारो लाग्छ; किनकि वास्तवमा ऊ मेरो नै अंश हो, संसारको होइन । उसको वास्तविक सम्बन्ध मसँग नै छ । संसारसंग उसको वास्तविक सम्बन्ध छैन । उसले मसँगको वास्तविक सम्बन्ध, असली लक्ष चिन्यो, अनि उसको दुर्गति कसरी हुने ? उसले गरेको साधन नष्ट कसरी हुने ? हो, कहिले कहिले हेर्दा ऊ मोहित भएको जस्तो देखिन्छ, उसको साधन छुटेको जस्तो पनि देखिन्छ; तर यस्तो परिस्थिति उसको अभिमानको कारण उसको अगाडि आउँछ । म पनि उसलाई चेताउन, उसको अभिमान हटाउन यस्ता घटनाहरु घटाइदिन्छु । यस्तो परिस्थितिमा ऊ व्याकुल हुन्छ र मतिर झन् वेगले दौडन्छ । जस्तो, गोपीहरुको मद (अभिमान) देखेर म रासमा अन्तर्धान भइदिंदा सबै गोपीहरु डराए । उनीहरु अझ वढी व्याकुल भएपछि म ती गोपीहरुको समुदायको वीचमा नै प्रकट भइदिएँ । उनीहरुले यो विषयमा सोध्दा मैले भनें -- 'मया परोक्षम् भजता तिरोहितम्' अर्थात् 'तिमीहरुले भजन गर्दा गर्दै नै मेरो अन्तर्धान भएको थियो । तिमीहरुको याद र तिमीहरुको हित मवाट छुटेको छैन ।' यसरी हृदयले नै  मेरो साधन गर्नेलाई धेरै ठूलो स्थान छ । यसको कारण, अनन्त जन्महरुदेखि भुलिरहेको यो व्यक्ति केवल मतर्फ लागेपछि ऊ मलाई धेरै प्यारो लाग्छ; किनकि उसले अनेक योनिहरुमा धेरै दुःख पाएर अहिले सन्मार्गमा आएको छ । एउटा माताले आफ्नो सानो वच्चालाई रक्षा, पालन र हित गरिरहने जस्तै म पनि त्यो साधकको साधन र उसको हितको रक्षा गर्दै उसको साधन वढाइरहन्छु । 

तात्पर्य, एक चोटी मात्रै साधनको संस्कार परेको व्यक्तिको संस्कार कहिले पनि नष्ट हुँदैन । कारण, परमात्माकोलागि गरिने काम 'सत्' नै हुन्छ -- 'कर्म चैव तदर्थीयं सदित्येवाभिधीयते' अर्थात् त्यसको अभाव हुँदैन । यही कुरा भगवान यहाँ भनिरहनु भएको छ, कल्याणकारी काम गर्ने कुनै पनि मनुष्यको दुर्गति हुँदैन । उसका वनेका जति सद्भाव, स्वभाव, त्यो प्राणी कुनै कारणवश कुनै पनि योनिमा गए पनि अथवा कुनै पनि परिस्थितिमा परे पनि उसका ती सद्भाव उसलाई कल्याण गरेर छोड्छन् । यदि ऊ कुनै कारणले कुनै नीच योनिमा गयो भने पनि त्यहाँ पनि आफ्नो सजातीय योनिहरु भन्दा उसको स्वभावमा फरक रहनेछ ।


यहाँ शंका हुन सक्छ, अजामिल जस्तो शुद्ध ब्राह्मण पनि वेश्यागामी भयो, विल्वामंगल पनि चिन्तामणि नामको वेश्याको वशमा भयो भने यिनीहरुको जीवित-अवस्थामा नै पतन कसरी भयो ?यसको समाधान हो, अरुलाई त उनीहरुको पतन भए जस्तो लाग्छ, तर वास्तवमा उनीहरुको पतन भएन,  किनकि अन्तमा उनीहरुको उद्धार नै भयो ।  अजामिललाई लिन भगवानका पार्षद आए र विल्वमंगल भगवानका भक्त भए । यसरी उनीहरु पहिले सदाचारी थिए र अन्तमा पनि उनीहरुको उद्धार भयो, खालि वीचमा मात्रै उनीहरुको दशा राम्रो भएन । तात्पर्य, कुनै कुसंगले, कुनै विघ्न-वाधाले, कुनै असावधानीले उसको भाव र आचरण गिर्न सक्छ र 'म को हुँ, म के गरिरहेछु, मैले के गर्नु पर्छ' भन्ने कुराको विस्मृति भएर ऊ संसारको प्रवाहसँग वग्न सक्छ । तर पहिलेको साधन अवस्थामा उसले गरिसकेको साधन र संसारसँग टुटिसकेको सम्बन्ध कहिले कुनै अवस्थामा छुट्दैन, ऊ भित्र सुरक्षित रहन्छ । उसलाई कुनै वेला अनुकूल समयमा अथवा कुनै ठूलो आपत आएको वेलामा उसको भित्रको भाव प्रकट हुन्छ र ऊ भगवानतिर लाग्छ । हो, साधनमा वाधा पर्नु, भाव र आचरणहरुवाट पतन हुनु, तथा परमत्मप्राप्तिमा ढिलाइ हुनु -- यो दृष्टिले त उसको पतन भएकै हो । अतः उपर्युक्त उदाहरणहरुवाट साधकले यो शिक्षा लिनु पर्छ, हामीले हरदम सावधान रहने हो, हामी कुनै वेला पनि कुसंगमा नपर्ने हो, कहिं विषयहरुको वशीभूत भएर आफ्नो साधन छोड्नु नपरोस् र कहिं विपरीत कामहरुमा नलागौं ।

Gita: Chapter 6: Slok 38: श्लोक ३८ हे महावाहो ! संसारको आश्रयदेखि रहित र परमात्मप्राप्तिको मार्गमा मोहित अर्थात् विचलित

No १९१ 

श्लोक ३८ 

हे महावाहो ! संसारको आश्रयदेखि रहित र परमात्मप्राप्तिको मार्गमा मोहित अर्थात् विचलित (यसरी) दुवैतिरवाट भ्रष्ट भएको साधक के छिन्न-भिन्न भएको वादल जस्तो नष्ट त हुँदैन ? 

'अप्रतिष्ठो महाबाहो विमूढो ब्रह्मण पथि' -- त्यो (साधक) सांसारिक प्रतिष्ठावाट त जानी जानी रहित भएको छ अर्थात्  उसले संसारको सुख-आराम, आदर-सत्कार, यश-प्रतिष्ठा आदिको कामना त छोडेको छ, यी वस्तुहरु प्राप्त गर्ने उद्देश्य उसको छँदै छैन । यसरी संसारको आश्रय छोडेर ऊ परमात्मप्राप्तिको मार्गमा हिंड्यो; तर जीवित अवस्थामा परमात्माको प्राप्ति भएन र अन्तसमयमा साधनदेखि विचलित भयो अर्थात् उसलाई परमात्माको स्मृति रहेन ।

'कच्चिन्नोभयविभ्रष्टश्छिन्नाभ्रमिव नश्यति' -- यस्तो ऊ दुवैतिरवाट भ्रष्ट भएको अर्थात् सांसारिक र पारमार्थिक -- दुवै उन्नतिहरुवाट रहित भएको साधक छिन्न-भिन्न भएको वादल जस्तो नष्ट त हुँदैन ? तात्पर्य, जस्तो कुनै वादलले  आफ्नो वादललाई त छोड्यो तर अर्को वादलसम्म त्यो पुगेन, वायुले गर्दा वीचमा नै छिन्न-भिन्न भयो । त्यस्तै साधकले संसारको आश्रय त छोडिदियो र अन्तसमयमा परमात्माको स्मृति रहेन, त्यसो हुँदा ऊ (त्यो साधक) नष्ट त हुँदैन ? उसको पतन त हुँदैन ?

वादलको दृष्टान्त यहाँ पूरै मिल्दैन । कारण, त्यो वादलको टुक्रा जुन वादलवाट छुट्टियो र ऊ गइरहेको अर्को वादल तथा उ स्वयं (वादलको टुक्रो) -- एकै जातिका हुन् अर्थात् तीनै जड हुन् । तर जुन साधकले संसार छोड्यो, ऊ  संसार र जसको प्राप्तिकोलागि हिंड्यो, त्यो परमात्मा र ऊ स्वयं (साधक) -- यी तीनै एक जातिका हैनन् । यी तीनैमा संसार जड हो र परमात्मा तथा स्वयं चेतन हो । यसैले 'पहिलो आश्रय छोड्यो र अर्को आश्रय प्राप्त गरेन' -- यो विषयमा नै उपर्युक्त दृष्टान्त ठीक देखिन्छ ।

यो श्लोकमा अर्जुनको प्रश्नको आशय यो छ, साक्षात् परमात्माको अंश हुँदा जीवको अभाव त कहिले हुन सक्तैन ।  यदि यसको (जीवको) भित्र संसारको उद्देश्य भएको भए, संसारको आश्रय भएको भए यो स्वर्ग आदि लोकहरुमा अथवा नरकहरुमा तथा पशु-पक्षी आदि आसुरी योनिहरुमा जाने थियो, तर ऊ रहने त संसारमा नै हो । उसले संसारको आश्रय छोडिदियो र उसको उद्देश्य केवल परमात्मा प्राप्ति भयो, तर प्राणहरु रहँदा परमात्मा प्राप्त भएन र अन्तकालमा कुनै कारणले त्यो उद्देश्य अनुसार साधनमा स्थिति पनि रहेन, परमात्मचिन्तन पनि रहेन भने त्यो त्यहाँवाट पनि भ्रष्ट भयो । यस्तो साधक कुन गतिमा जाला ?

यदि यो श्लोकमा 'परमात्मा प्राप्तिदेखि र साधनदेखि भ्रष्ट (च्युत) भयो' भन्ने अर्थ लिइन्छ भने यस्तो भन्न नै सकिने थिएन । कारण कि वादलको दृष्टान्त ठीक हुने थिएन । वादलको टुक्रो एक वादल छोडेर अर्को वादल तर्फ गयो, तर अर्को वादलसम्म पुग्नु भन्दा पहिले नै वीचैमा वायुले छिन्न-भिन्न भयो । यो दृष्टान्तमा स्वयं वादलको टुक्राले पहिलो वादल छोड्यो र अर्को वादलसम्म पुगेन, त्यसैले त ऊ उभयभ्रष्ट (दुवैतिरवाट भ्रष्ट) भयो । परन्तु साधकलाई अहिले परमात्मप्राप्ति भएको छैन भने उसलाई परमात्मा प्राप्तिदेखि भ्रष्ट (च्युत) भएको कसरी भन्ने ?

अर्को कुरो, साध्यको प्राप्तिपछि साधक साध्यवाट कहिले च्युत हुनै सक्तैन अर्थात् कुनै पनि परिस्थितिमा ऊ साध्यसँग छुट्टै रहन सक्तैन, त्यसलाई छोड्न सक्तैन । अतः उसलाई साध्यसँग च्युत रहेको भन्न मिल्दैन । हो, उसलाई 'साधनभ्रष्ट' त भन्न सकिन्छ, तर 'उभयभ्रष्ट' भन्न सकिंदैन । अतः यहाँ वादलको दृष्टान्त अनुसार त्यही व्यक्तिलाई 'उभयभ्रष्ट' भन्न युक्तिसंगत देखिन्छ, जसले संसारको आश्रय थाहा पाउँदा पाउँदै पनि आफ्नो तर्फवाट छोड्यो र परमात्मा प्रप्तितिर लाग्यो, तर अन्तसमयमा कुनै कारणले परमात्माको याद रहेन, साधनवाट विचलितमना भयो । यसरी संसार र साधन -- दुबैमा उसको स्थिति नभएकोले ऊ उभयभ्रष्ट भएको हो । अर्जुनले पनि सैतिंसौं श्लोकमा 'योगाच्चलितमानस:' भनेका छन् र यो श्लोकमा 'अप्रतिष्ठ:', 'विमूढो ब्रह्मण; पथि' र 'छिन्नाभ्रमिव' भनेका छन् । यसको तात्पर्य यही हो, उसले संसार छोडदियो र परमात्माको प्राप्तिको साधनवाट विचलित भयो, मोहित भयो ।

श्लोक ३९ 

हे कृष्ण ! मेरो यो सन्देह सर्वथा हटाउन (हजुर नै) योग्य हुनुहुन्छ; किनकि यो संशय काट्न हजुर सिवाय अरु कोही सक्तैन ।

'एतन्मे संशयं कृष्ण छेत्तुमर्हस्यशेषतः' -- परमात्मप्राप्तिको उद्देश्य भएकोले साधक पाप कर्महरुदेखि त सर्वथा रहित भयो, यसैले ऊ नरकहरुमा त जान सक्तैन र स्वर्गको ध्येय नभएकोले ऊ स्वर्गमा पनि जान सक्तैन । मनुष्ययोनिमा आउने उसको उद्देश्य छैन, यसैले ऊ त्यसमा पनि आउन सक्तैन र परमात्मप्राप्तिको साधनदेखि पनि विचलित भयो । यस्तो साधक के छिन्न-भिन्न वादल जस्तो नष्ट त हुँदैन ? यही मेरो आशय हो । 

'त्वदन्य: संशयस्यास्य छेत्ता न ह्युपपद्यते' -- यो संशयको सर्वथा छेदन गर्ने अन्य कोही पनि हुन सक्तैन । यसको तात्पर्य हो, शास्त्रको कुनै गम्भीरता होस्, शास्त्रको कुनै गहन विषय होस्, कुनै यस्तो कठिन पंक्ति होस् जसलाई आफैं अर्थ लाग्न गाह्रो होस्, त्यसलाई शास्त्रको ज्ञाताले पनि  बुझाउन सक्छ । तर योगभ्रष्टको गति के हुन्छ ? यसको उत्तर ऊ (विद्वान्) दिन सक्तैन । हो, योगीले यो कुरा केही हदसम्म जान्न सक्छ, तर ऊ सम्पूर्ण प्राणीहरुको गति-अगतिलाई  अर्थात् जाने-आउनेलाई जान्न सक्तैन; किनकि ऊ 'युञ्जान योगी' हो अर्थात् अभ्यास गरेर योगी वनेको हो । अतः ऊ त्यहिंसम्म जान्न सक्छ, जहाँसम्म उसलाई जाने सीमा छ । परन्तु हजुर त 'युक्त योगी' हुनुहुन्छ अर्थात् अभ्यास, परिश्रम विना नै सर्वत्र सबै कुरा जान्ने हुनुहुन्छ । हजुर जस्तो जानकार कुनै हुनै सक्तैन । हजुर साक्षात् भगवान हुनुहुन्छ र सम्पूर्ण प्राणीहरुको गति-अगति जान्ने हुनुहुन्छ । अतः यो योगभ्रष्टको गति विषयक प्रश्नको उत्तर हजुर नै दिन सक्नु हुन्छ । हजुर नै मेरो संशय हटाउन सक्नुहुन्छ । 

अर्जुनलाई भगवानको भगवत्तामा विश्वास थियो, त्यसैले उनी योगभ्रष्टको गतिको विषयमा प्रश्न गर्छन् र भन्छन्, यो कुरा हजुर सिवाय अरु कोही वताउन सक्तैन । भगवान श्रीकृष्णको भगवत्तामा विश्वास भएको कारण नै उनले एक अक्षोहिणी सेना छोडेर निःशस्त्र भगवानलाई मात्र स्वीकार गरेका थिए ।   

Gita: Chapter 6: Slok 36: श्लोक ३६ ध्यानयोगमा अर्जुनले मनको चंचलतालाई वाधक माने र यसलाई (मनलाई) रोक्नु वायु

No. 190 

श्लोक ३६को वांकी अंश 

ध्यानयोगमा अर्जुनले मनको चंचलतालाई वाधक माने र यसलाई (मनलाई) रोक्नु वायु रोक्नु जस्तो असम्भव माने । यसमा भगवानले मनको निग्रहकोलागि अभ्यास र वैराग्य -- यी दुई उपायहरु वताउनु भयो । यी दुइ मध्ये पनि ध्यानयोगकोलागि 'अभ्यास' मुख्य छ । 'वैराग्य' ज्ञानयोगकोलागि विशेष सहायक छ । वैराग्य ध्यानयोगमा सहायक भए पनि ध्यानयोगमा राग रहँदा रहँदै पनि मनलाई रोक्न सकिन्छ । चित्तमा रागको कारणले सिद्धिहरु प्रकट हुन्छन् । किनकि संयम, (धारणा, ध्यान, समाधि) कुनै न कुनै सिद्धिकोलागि गरिन्छ र जहाँ सिद्धिको उद्देश्य छ, त्यहाँ रागको अभाव कसरी हुन सक्छ ? तर केवल परमात्मतत्वको उद्देश्य भएको अवस्थामा धारणा, ध्यान र समाधि पनि परमात्मतत्वको सहायक हुन्छन् ।

एकाग्रता भएपछि चित्तको निरुद्ध-अवस्थामा समाधि हुन्छ । समाधि कारण शरीरमा हुन्छ र समाधिवाट पनि व्युत्थान हुन्छ । समाधि र व्युत्थान -- यी दुई अवस्थाहरुमा पनि प्रकृतिसँग सम्बन्ध छ । प्रकृतिसँग पूरापूर सम्बन्ध-विच्छेद भएपछि सहजावस्था हुन्छ । यो सहजावस्थावाट व्युत्थान हुँदैन । अतः चित्तको चंचलता रोक्ने विषयमा भगवान धेरै वोल्नु भएन; किनकि चित्त निरुद्ध गर्ने भगवानको ध्येय होइन अर्थात् भगवानले वर्णन गरेको ध्यान साधन हो, ध्येय होइन । भगवानको मतमा संसारमा भएको राग नै खास वाधा हो र यही वाधा (राग) हटाउने नै भगवानको उद्देश्य हो । ध्यान एउटा शक्ति, पूँजी हो, जसलाई लौकिक-पारलौकिक सिद्धिहरुमा ठीक प्रकारले उपयोग गर्न सकिन्छ ।         

स्वयं केवल परमात्मा चाहन्छ भने उसलाई प्रकृतिको कार्य मनसँग सम्बन्ध-विच्छेद गर्ने, मनसँग आफ्नोपन हटाउने जति आवश्यकता मन एकाग्र गर्ने छैन । अतः समाधिदेखि उप्रत भएपछि सर्वातीत तत्वको प्राप्ति हुन्छ । तात्पर्य हो, समाधि-अवस्था प्राप्त नहुन्जेल समाधिमा एउटा आकर्षण रहन्छ । त्यो अवस्था प्राप्त भएपछि समाधिमा आकर्षण नरहेर जिज्ञासुलाई समाधिसँग पनि उपरति हुन्छ । उपरति भएपछि अर्थात् सम्पूर्ण अवस्थाहरुदेखि सम्बन्ध-विच्छेद भएपछि अवस्थातीत चिन्मय-तत्वको अनुभूति स्वतः हुन्छ । यही योगको सिद्धि हो । चिन्मय-तत्वसँग स्वयंको नित्ययोग अर्थात् नित्य-सम्बन्ध छ ।

वास्तवमा ध्यानयोगको सिद्धिकोलागि मनलाई शुद्ध गर्ने जस्तो आवश्यक मन निग्रह गर्नु होइन । शुद्ध गर्ने भनेको -- मनमा विषयको राग नरहनु । मन शुद्ध गरेको व्यक्तिलाई ध्यान अलि अलि प्रयत्न गर्दा सिद्ध हुन्छ । 

यही अध्यायको एकतीसौं श्लोकमा 'सर्वभूतस्थितं यो मां भजत्येकत्वमास्थितः' पदहरुले भनेको कुरामा यही वाधा छ -- भगवदबुद्धि नहुनु र वत्तिसौं  श्लोकमा 'आत्मौपम्येन सर्वत्र समं पश्यति योर्जुन' पदहरुले भनिएका कुराहरुमा मुख्य वाधा हो -- राग-द्वेष नहुनु । परन्तु अर्जुनले भूलले मनको चंचलता वाधक सम्झे । वास्तवमा मनको चंचलता वाधक होइन, सबैमा भगवदबुद्धि नहुनु र राग-द्वेष नहुनु वाधक छ । राग-द्वेष रहुन्जेल सबैमा भगवदबुद्धि हुँदैन र सबैमा भगवदबुद्धि नहुन्जेल अर्थात् भगवान सिवाय अर्को सत्ताको मान्यता रहुन्जेल मनको सर्वथा निरोध हुँदैन । 

वृत्तिको निरोध गर्दा वृत्तिको सत्ता आउँछ, किनकि वृत्त्ति स्वीकार गरिन्छ, त्यसैले त निरोध गरिन्छ । स्वरूपमा कुनै वृत्ति छैन । अतः वृत्ति निरोध गर्दा केही वेरलाई त मनको निरोध होला,  त्यसपछि व्युत्थान पनि भइहाल्ला । यदि अर्को सत्ताको मान्यता नै रहेन भने व्युत्थानको प्रश्न नै हुँदैन ।कारण अर्को सत्ता नभए मन छँदै छैन ।                      

अर्जुनले भने 

श्लोक ३७ 

हे कृष्ण ! जसको साधनमा श्रद्धा छ, तर जसको प्रयत्न शिथिल छ (त्यो व्यक्ति अन्त समयमा यदि) योगवाट विचलितमना भयो भने (ऊ) योगसिद्धि प्राप्त नगरेर कुन गतिमा जान्छ ?

अयतिः श्रद्धयोपेतो योगाच्चलितमानसः' -- जसको साधनामा अर्थात् जप, घ्यान, सत्संग, स्वाध्याय आदिमा रूचि छ, श्रद्धा छ र गर्छ पनि, तर अन्तःकरण र वहिःकरण वशमा नहुनाले साधनमा शिथिलता छ, तत्परता छैन । यस्तो साधक अन्तसमयमा संसारमा राग रहनाले, विषयहरुको चिन्तन हुनाले आफ्नो साधनवाट विचलित भयो भने, आफ्नो ध्येयमा स्थिर रहेन भने उसको के गति हुन्छ ?

'अप्राप्य योगसंसिद्धिम् कां गतिम् कृष्ण गच्छति' -- विषयासक्ति, असावधानीको कारण अन्तकालमा मन विचलित भएको अर्थात् साधनावाट मन हटेको र यही कारण योगको संसिद्धि -- परमात्मामाको प्राप्ति भएन भने ऊ (साधक) कुन गति प्राप्त गर्छ ?

तात्पर्य, उसले (त्यो व्यक्तिले) पाप गर्न त पूरै छोडिसक्यो; अतः ऊ नरकमा त जान सक्तैन र स्वर्गको कामना नभएको कारण स्वर्गमा पनि जान सक्तैन तथा श्रद्धापूर्वक साधनमा लागेकोले उसको पुनर्जन्म पनि हुन सक्तैन । परन्तु अन्त समयमा परमात्माको स्मृति नरहनाले, अर्को चिन्तन हुनाले परमात्मा पनि प्राप्त भएन भने उसको के गति होला ? ऊ कहाँ जाला ?

'कृष्ण' सम्बोधन गर्ने तात्पर्य हो, हजुर सम्पूर्ण प्राणीहरुलाई खिंच्नुहुन्छ र ती प्राणीहरुका गति-अगति जान्नुहुन्छ तथा यी गतिहरुको विषयमा पनि जान्नुहुन्छ । अतः म हजुरलाई सोध्दै छु, योगवाट विचलित भएको साधकलाई हजुर कहाँ खिंच्नुहुन्छ ? उसलाई हजुर कस्तो गति दिनुहुन्छ ?

करणसापेक्ष साधनमा मनसँग स्वरूपमा स्थिति हुन्छ -- 'यदा विनियतं चित्त्मात्मन्येवावतिष्ठते' । अतः मनसँग सम्बन्ध रहँदा विचलितमना भएर योगभ्रष्ट हुने सम्भावना रहन्छ । करणलाई आफ्नो मान्दा नै करणसापेक्ष साधन हुन्छ । ध्यानयोगी मन (करण) लाई आफ्नो मानेर मनलाई परमात्मामा लगाउँछ । मन लगाउँदा नै ऊ योगभ्रष्ट हुन्छ । अतः योगभ्रष्ट हुन करणसापेक्षता कारण हो । यो करणसापेक्षता कर्मयोग, ज्ञानयोग, भक्तियोग -- तीनै साधनहरुमा छैन । 

ध्यानयोगीको पुनर्जन्म हुन्छ -- मन विचलित हुँदा अर्थात् आफ्नो साधनवाट भ्रष्ट हुँदा । तर कर्मयोगी अथवा ज्ञानयोगीको पुनर्जन्म हुन्छ -- आसक्ति रहंदा । भक्तियोगमा भगवानको आश्रय रहँदा भगवान आफ्नो भक्तलाई विशेष प्रकारले सेवा गर्नुहुन्छ -- 'योगक्षेमं वहाम्यहम्', 'मच्चित्तः सर्वदुर्गाणी मत्प्रसादात्तरिस्यसि' । 

Gita: Chapter 6: Slok 36: श्लोक ३६ मन पूरा वशमा नभएको व्यक्तिले योग पाउन कठिन छ ।

No. 189

श्लोक ३६ 

मन पूरा वशमा नभएको व्यक्तिले योग पाउन कठिन छ । परन्तु उपायपूर्वक यत्न गर्ने तथा मन वशमा गर्ने साधकलाई योग प्राप्त हुन सक्छ । यस्तो मेरो मत छ ।

'असम्यतात्मना योगो दुष्प्राप' भगवान भन्नुहुन्छ -- 'मेरो मतमा त योग सिद्ध नभएका व्यक्तिलाई योग सिद्ध हुन कठिन छ । कारण, योगको सिद्धिमा मनको चंचलता भन्दा पनि मन वशमा नहुनु वाधक छ । जस्तो, पतिव्रता स्त्री मन वशमा त राख्छे, तर त्यसलाई एकाग्र गर्न सक्तिन । अतः ध्यानयोगीले   आफ्नो मन वशमा गर्नु पर्छ । मन वशमा भएपछि ऊ आफ्नो मनलाई जहाँ मन लाग्यो त्यहीं लगाउन सक्छ, जति वेर लगाउन चाह्यो, त्यति वेर लगाउन सक्छ र जहाँवाट हटाउन चाह्यो, त्यहाँवाट हटाउन पनि सक्छ । साधकहरुको यस्तो प्रवृत्ति हुन्छ, उनीहरु साधन त श्रद्धापूर्वक गर्छन् तर तिनीहरुको प्रयत्नमा शिथिलता रहन्छ । यसले गर्दा साधकमा संयम रहँदैन अर्थात् मन, इन्द्रियहरु, अन्तःकरणको पूर्णतया संयम हुँदैन । यही कारण योग हुन कठिन हुन्छ अर्थात् परमात्मा सदा-सर्वत्र विद्यमान रहँदा पनि चांडै प्राप्त हुनुहुन्न ।

भगवानतिर लाग्ने वैष्णव संस्कार भएका साधकहरुलाई मांस आदिमा हुने जस्तो  अरुचि साधकलाई विषयभोगहरुमा हुँदैन अर्थात् विषय-भोग त्यति निषिद्ध र पतन गर्ने देखिंदैन उनीहरुलाई । कारण, विषयभोगहरुको धेरै अभ्यास भएकोले उनीहरुलाई मांसमा जस्तो ग्लानि हुँदैन । मांस आदि निषिद्ध वस्तु खाँदा पतन भइहाल्छ तर त्यो भन्दा पनि धेरै पतन हुन्छ -- रागपूर्वक विषयभोगहरु भोग्दा । कारण, मांस आदिमा त 'यो निषिद्ध वस्तु हो' भन्ने भावना त रहन्छ, तर भोगहरु भोग्दा 'यो निषिद्ध हो' भन्ने भावना रहँदैन । यही कारण हामी भित्र रहेको भोगहरु भोग्ने संस्कार वडो भयंकर हुन्छ । तात्पर्य, मांस आदि खाँदा लागेको पाप त दण्ड भोगेर नष्ट हुनेछ  र यो पापले पछि अरु पापमा पनि लगाउँदैन । परन्तु रागपूर्वक विषयभोगहरुको सेवन गर्दा पर्ने संस्कार जन्म-जन्मान्तरसम्म विषयभोगहरुमा र उनीहरुको रुचिको परिणामस्वरूप पापहरुमा लगाइ रहन्छन् ।  

तात्पर्य हो, साधकको अन्तःकरणमा विषयभोगहरुको रुची रहेको कारणले नै उ सम्यतात्मा हुन पाउँदैन, मन इन्द्रियहरुलाइ आफ्नो वशमा गर्न पाउँदैन । यसैले उसलाई योगको प्राप्तिमा अर्थात् ध्यानयोगको सिद्धिमा कठिनता हुन्छ । 

'वश्यात्मना: तु यतता शक्यो वाप्तुमुपायतः' -- तर तत्परतापूर्वक साधनमा लागेको अर्थात् ध्यानयोगको सिद्धिकोलागि ध्यानयोगको उपयोगी आहार-विहार, सुत्ने-उठ्ने आदि उपायहरुको अर्थात् नियमहरुको नियतरूपले र दृढतापूर्वक पालन गर्ने, मन पूर्णरूपले आफ्नो वशमा भएको साधकले योग पाउन सक्छ अर्थात् उसलाई ध्यानयोगको सिद्धि मिल्न सक्छ, यस्तो मेरो मत छ -- 'इति मे मतिः ।                                      
वश्यात्मा हुने उपाय हो -- सब भन्दा पहिले आफूले आफैंलाई यस्तो ठान्ने -- 'म भोगी हैन, म जिज्ञासु हुँ । त्यसैले तत्व जान्ने नै  मेरो काम हो; म भगवानको हुँ भने सेवा गर्ने मेरो काम हो; म भगवानको हुँ भने केवल भगवानमा अर्पित हुने काम मेरो हो; म सेवक हुँ भने केवल सेवा गर्ने नै मेरो काम हो । कसैवाट केही चाहने मेरो काम होइन ।' -- यसरी आफ्नो अहंताको परिवर्तन गरिदियो भने मन धेरै चांडै वशमा हुन्छ । 

मन शुद्ध भएपछि यो स्वतः वशमा हुन्छ । मनमा उत्पत्ति-विनाशशील वस्तुहरुमा राग रहनु नै मनको अशुद्धि हो । साधकलाई परमात्मप्राप्तिको नै दृढ उद्देश्य भयो भने उत्पत्ति-विनाशशील वस्तुहरुको राग हट्छ, र मन शुद्ध हुन्छ । 

व्यवहारमा साधकले सावधान रहनु पर्यो, कहिले कुनै अंशमा अरुको हक आफूमा नआओस्; किनकि अरुको हक लिंदा मन अशुद्ध हुन्छ । कहिं नोकरी गर्दा, कुल्लीकाम गर्दा पैसा त पाइन्छ, तर आफूले पाउने भन्दा धेरै काम गर्नु । व्यापार गर्दा वस्तुको तौल, नाप या गिन्ती अरुहरु भन्दा ज्यादा दिन नसके पनि कम नदिइयोस् । मजदूर आदिलाई पैसा दिंदा उसलाई कामवाट मिल्ने भन्दा पनि धेरै पैसा दिइयोस् । यसरी व्यवहार गर्दा मन शुद्ध हुन्छ ।   

Gita: Chapter 6: Slok 35: श्लोक ३५ हे महावाहो ! यो मन वडो चंचल छ र यसलाई निग्रह गर्न पनि धेरै कठिन छ भन्ने तिम्रो भनाइ

No. 188

श्री भगवानले भन्नुभयो 
श्लोक ३५ 

हे महावाहो ! यो मन वडो चंचल छ र यसलाई निग्रह गर्न पनि धेरै कठिन छ भन्ने तिम्रो भनाइ विल्कुल ठीक हो । परन्तु हे कुन्तिनन्दन ! अभ्यास र वैराग्यद्वारा यसको नियन्त्रण गर्न सकिन्छ । 

'असंशयं महावाहो मनो दुर्निग्रहं चलम्' -- यहाँ 'महावाहो' सम्बोधनको तात्पर्य, शूरवीरता वताउनुमा छ अर्थात् अभ्यास गर्दा कहिले पनि झर्को मान्नुहुन्न । आफूमा धैर्यपूर्वक त्यस्तै शूरवीरता राख्नु पर्छ । 

अर्जुनले पहिले चंचलताको कारण मनको निग्रह गर्न वहुत गाहारो भन्ने कुरा वताए । त्यही कुरामा भगवान भन्नुहुन्छ, 'तिमीले भनेको कुरो एकदम साँचो हो, यसमा कुनै शंका छैन; किनकि मन वडो चंचल छ र यसको नियन्त्रण गर्न पनि धेरै गाह्रो छ ।

'अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते' -- अर्जुनकी माता कुन्ती वहुत विवेकवती तथा भोगहरुदेखि विरक्त रहने स्वभावकी थिइन् । कुन्तीले भगवान कृष्णसँग विपत्तिको वरदान मागेकी थिइन् । त्यसैले भगवानले यहाँ 'कौन्तेय' सम्बोधन गरेर अर्जुनलाई कुन्ती माताको सम्झना दिंदै भन्नुहुन्छ, जस्तो तिम्रो माता कुन्ती विरक्त छन्, त्यस्तै तिमी पनि संसारदेखि विरक्त भएर परमात्मामा लाग अर्थात मनलाई संसारदेखि हटाएर परमात्मामा लगाऊ । 

मनलाई वारम्वार ध्येयमा लागउने काम 'अभ्यास' हो । यो अभ्यासको सिद्धि हुन धेरै समय लाग्छ । समय पनि निरन्तर लागोस्, दिनदिनै लागोस् । कहिले अभ्यास गरियो, कहिले गरिएन -- यस्तो हुनु भएन । तात्पर्य, अभ्यास निरन्तर हुनुपर्छ र आफ्नो ध्येयमा महत्व तथा आदरबुद्धि हुनु पर्छ । यसरी अभ्यास गरे अभ्यास दृढ हुन्छ ।

अभ्यासका दुई भेद छन् -- (१) आफ्नो लक्ष, ध्येयमा मनोवृत्ति लगाउने र अर्को वृत्ति आए अर्थात् अरु कुनै पनि चिन्तन आए त्यसको उपेक्षा गरिदिने, त्यसमा उदासीन हुने ।

(२) जहाँ जहाँ मन जान्छ, त्यहाँ त्यहाँ नै आफ्नो लक्ष, इष्ट देख्ने ।

माथि उल्लिखित दुई साधनहरु वाहेक मन लगाउने अरु कति उपायहरु छन् । ती हुन् -- 

(१) साधकले ध्यान गर्न वस्दा सबभन्दा पहिले दुई चोटी सास वाहिर फ्याँकेर यस्तो भावना गर्नु कि मैले मनले संसार सम्पूर्णतया निकालें, अव मेरो मन संसारको चिन्तन गर्नेछैन, भगवानको नै चिन्तन गर्नेछ र चित्तमा जे सुकै आउनेछ, भगवानको स्वरूप नै आउने छ । भगवान सिवाय मेरो मनमा अर्को कुरा आउनै सक्तैन । अतः भगवानको स्वरूप त्यही हो, जुन मनमा आउँछ | यो वासुदेव: सर्वम् को सिद्धान्त हो । यसो हुँदा मन परमात्मामा नै लाग्नेछ ।

(२) भगवानको नामको जप गर्ने, तर जपमा दुई कुराको ख्याल राख्ने -- एउटा, नामको उच्चारणमा खालि समय जान नदिने अर्थात् 'रा.……म.….रा..…म' यस्तो किसिमले विस्तारै विस्तारै नाम उच्चारण गर्ने, तर वीचको समय खालि जान नदिने अर्को, नाम नसुनी जान नदिने अर्थात् जप गर्दा गर्दै त्यो नाम पनि सुन्ने ।

(३) आफूले उच्चारण गरेको नामको मनले निगरानी राख्ने अर्थात् त्यो नाम औंला अथवा मालाले नगनेर मनले नै नामको उच्चारण गरिने र मनले पनि नामको गन्ती गर्ने ।

(४) एउटा नाम त वाणीले उच्चारण गर्ने अर्को नाम मनले जप गर्ने; जस्तो -- वाणीले त 'राम-राम-राम'को उच्चारण गर्ने र मनले 'कृष्ण-कृष्ण-कृष्ण'को जप गर्ने । 

(५) राग-रागिनीसँग वोलेर नामको कीर्तन गर्ने जस्तै राग-रागिनीसँग मनले नामको कीर्तन गर्ने । 

(६) चरणदेखि लिएर मुकुटसम्म र मुकुटदेखि लिएर चरणहरुसम्म भगवानको स्वरूपको चिन्तन गर्ने । 

(७) भगवान मेरो अगाडि उभिनुभएको छ -- यस्तो ठानेर भगवानको स्वरूपको चिन्तन गर्ने । भगवानको दाहिने चरणको पांच औंलाहरुमा मन मनै पाँच नाम लेखिदिने । औंलाहरुको माथिल्लो भागको लम्बाइमा तीन नाम लेखिदिने । चरणहरु अड्ने अघिल्लो भागमा, त्यो भागको सन्धिमा, दुई नामहरुको कडा (वाला) वनाइदिने । फेरि त्यो अघिल्लो भागको लम्बाइमा तीन नाम लेखिदिने । घुँडा भन्दा तल र माथि एउटा एउटा नामको गोलो कडा (वाला) वनाइदिने        
अर्थात् गोलाकार नाम लेखिदिने । उरु (तिघ्रा) को लम्वाइमा तीन नाम लेखिदिने ।आधी (दाहिनेतिरको) कमरमा दुई नामको कन्धनी वनाइदिने । तीन नाम पसलीमा लेखिदिने । दुई नाम काँधमा र तीन नाम पाखुरामा (हातको माथिल्लो भागमा) लेख्ने । कुहिना भन्दा तल र माथि दुई नामहरुको कडा वनाइदिने । फेरि तीन नाम (कुहिना भन्दा तल) नाडी भन्दा माथि लेख्ने । नाडीमा दुइ नामहरुको वाला वनाउने । गलामा चार नामहरुको आधा हार र कानमा चार नामहरुको कुण्डल वनाइदिने । मुकुटको दाहिने आधा भागमा छ नाम लेखिदिनु अर्थात् तलको भागमा दुई नामहरुको कडा (वाला) र माथिको भागमा दुई नामहरुको कडा वनाइदिने । 

तात्पर्य हो, भगवानको दाहिने अंगमा चरणदेखि लिएर मुकुटसम्म चवन्न नाम अथवा मन्त्र आउनु पर्छ । यसले भगवानको एक परिक्रमा हुन्छ, भगवानका सम्पूर्ण अंगहरुको चिन्तन हुन्छन् र एक सय आठ नामहरुको एउटा माला वन्छ ।यो भन्दा धेरै गर्न खोजे धेरै पनि गर्न सकिन्छ । 

यसरी अभ्यास गर्ने अनेक रुप, अनेक तरिकाहरु छन् । यस्तै अरु तरिकाहरु साधक स्वयं सोच्न सक्छ ।

अभ्यासको सहायताकोलागि 'वैराग्य'को जरुरत छ । कारण, संसारको भोगहरुदेखि जति जति राग घट्छ, उति उति मन परमात्मामा लाग्नेछ ।
संसारको राग पूर्णरूपले हटेपछि मनमा संसारको रागपूर्वक चिन्तन हुनेछैन । अतः पुराना संस्कारहरुको कारण कहिले कुनै स्फुरणा भइहाले पनि त्यो स्फुरणालाई उपेक्षा गरिदिने अर्थात् त्यसमा (त्यो स्फुरणामा न राग गर्ने न द्वेष नै गर्ने । त्यसो भए त्यो स्फुरणा आफैं मेटिन्छ । यसरी अभ्यास र वैराग्यले मनको नियन्त्रण हुन्छ, मन पकडमा आउँछ । 

वैराग्य हुन धेरै उपाय छन् । जस्तो --

(१) संसार प्रतिक्षण वदलिन्छ र स्वरूप कहिले पनि तथा कुनै पनि क्षण वदलिंदैन । अतः संसार हामीसँग छैन र हामी संसारसँग छैनौं । जस्तो, वाल्यावस्था, युवावस्था हामीसँग रहेनन् । यस्तो विचार गरे संसारसँग वैराग्य हुन्छ ।

(२) आफ्नो भनिने कुटुम्वी, सम्बन्धीहरु हामीवाट अनुकूलताको इच्छा राख्छन् भने आफ्नो शक्ति, सामर्थ्य, योग्यता समझ अनुसार उनको न्याययुक्त इच्छा पूरा गर्ने र परिश्रम गरेर उनको सेवा गर्ने । तर तिनवाट आफ्नो अनुकूलता तथा केही पाउने इच्छा पूर्णरूपले त्याग्ने । यसरी आफ्नो सामर्थ्य अनुसार वस्तु दिंदा र परिश्रम अनुसार सेवा गर्दा पुरानो राग मेटिन्छ र उनीहरुवाट केही पनि नखोज्दा नयाँ राग पैदा हुँदैन । यसरी संसारदेखि स्वाभाविक वैराग्य हुन्छ ।

(३) जति पनि दोष, पाप, दुःख सबै संसारको राग, दुःखवाट नै पैदा हुन्छन् र  सुख, शान्ति सबै राग-रहित हुनाले नै पाइन्छ । यस्तो विचार गर्दा वैराग्य भइहाल्छ ।