Saturday, 5 April 2014

26. यो भन्दा अघिल्लो पत्रको 'आइडेंटिटी क्राइसिस'कै चर्चा गर्ने हो कि ।

यो भन्दा अघिल्लो पत्रको 'आइडेंटिटी क्राइसिस' कै चर्चा गर्ने हो कि ।  
यस्तो उदाहरण  शास्त्रमा 'देवदत्त' नामवाट  दिइन्छ । देवदत्त एउटा छ, तर उ कसैको छोरा हो, कसैको वावु हो, कसैको दाजु हो, कसैको भिनाजु हो, कसैको सालो पनि हो, आदि आदि । त्यस्तै, देवदत्तको पनि यही किसिमका सम्बन्धहरु छन् । अव प्रश्न आउँछ, देवदत्त को हो त ?     

शास्त्र भन्छ, देवदत्त एक व्यक्ति हो, उसका अरु सबै नामहरु 'उपाधि' मात्र हुन् । उपाधि शरीरलाई लिएर हुन्छ्, आत्मालाई  लिएर हुँदैन । नाम र रुप नै नभएको आत्माको के उपाधि हुने । दुइटा भए पो, यसको नाम राख्नु, किनकि नाम राख्न त दुइटा हुनु पर्ने भयो, एउटा नाम राख्ने, अर्को नाम राखिने । किनभने आत्मा नै 'अद्वय' हो । अर्थात उपाधि सबै मान्यता हो, मान्यता पनि मनका उपज हुन् । फेरि शास्त्रले भन्छ, मनले भनेका जति सबै झूठा हुन् । 

हामी यो प्रसंग भन्दा अलि माथि उठ्नु पर्यो । हामी परमात्माका अंश हौँ । यो कुरा भगवानले गीताको पन्ध्रौँ अध्यायमा भन्नुभएको छ, 'ममैवांशो जीवलोके जीवभूतः सनातन' । भनाइको अर्थ, परमात्मा जति सनातन हुनुहुन्छ, जीव (हामी) त्यति नै सनातन छ । तर हामीले आफूलाई परमात्मा नमानेर 'शरीर' मान्यौं । हाम्रो सबभन्दा ठूलो गल्ति नै त्यही भयो । आफू सनातन हुँदा हुँदै पनि, अविनाशी हुँदा हुँदै पनि आफूलाई शरीर मान्दा हामीले शरीर ( यहाँ शरीर भन्दा तीनै शरीरलाई लिनुपर्छ) वाट हुने सम्पूर्ण क्रियाहरुलाई, अझ मुख्यतया सुक्ष्म शरीर द्वारा हुने सम्पूर्ण क्रियाहरुलाई, आफू 'स्वयम्'ले गरेको भन्ने ठान्यौं । वास्तवमा स्वयम् मा कुनै क्रिया हुँदैन । क्रिया त प्रकृतिमा हुन्छ । आफूवाट कुनै क्रिया नहुँदा नहुँदै पनि हामीले आफूलाई शरीर र संसारसँग जोड्यौं, प्रकृतिवाट भएका सबै क्रियाहरुलाई आफूले गरेको भन्ने ठान्यौं ।

संसारमा साधारणतया गल्ति गरेको व्यक्तिले पनि 'मैले गल्ति गरेको होइन' भन्छ भने गल्ति नै नगरेको 'स्वयम्'ले गल्ति गर्दा अनर्थ भयो । त्यही हुँदा ती क्रियाकलापका फलहरुवाट हामी सुखी दुःखी भयौं, रुने, कराउने गर्यौं । आफूले आफूलाई कर्ता मान्यौं, कर्ता मान्ने वित्तिकै भोक्ता पनि भयौं । यस्ता मान्छेहरुलाई भगवान भन्नुहुन्छ, 'अहंकारले विमूढ भएको व्यक्ति आफूलाई कर्ता मान्छ' ।                   

हाम्रो यस्तो विचारवाट उठ्न हामीले शरीर, इन्द्रियहरु, मन, बुद्धि आदिवाट भएका सम्पूर्ण क्रियाहरुलाई आफू र आफ्नो नमान्नु पर्यो । गीताको पाँचौं अध्यायमा भगवान भन्नुहुन्छ, 'नैव किञ्चित करोमीति युक्तो मन्येत तत्त्ववित' ।   

शरीरद्वारा हुने सम्पूर्ण क्रियाहरुलाई आफ्नो नमान्न भगवान हामीलाई सिकाउनु हुन्छ, 'असंग शस्त्रेण दृढेन छित्त्वा', अर्थ, 'अनासक्ति रूपी शस्त्रले काट्ने' । अर्थात्, हाम्रा शरीर, इन्द्रियहरु, मन र बुद्धि आदिवाट भएका सम्पूर्ण क्रियाहरु आफूले गरेको नमान्ने । आफू 'स्वयम्'लाइ असंग मान्ने, 'असंगोहम, असंगोहम, असंगोहम पुनः पुनः ।'       

अव फेरि गीताको दोस्रो अध्यायमा नै जानु पर्ला कि ।

अर्जुन अझ पनि आफ्नो धारणा राख्दैछन, भगवान समक्ष । 

श्लोक ६ 
हामी यो पनि जान्दैनौं कि हामीहरुकोलागि युद्ध गर्नु र नगर्नु, यी दुइ मध्ये कुन चाहिं श्रेष्ठ हो अथवा हामी यिनीहरुलाई जित्छौं कि यिनीहरु हामीलाई जित्छन । जसलाई  मारेर हामी वाँच्न पनि चाहँदैनौं, ती धृतराष्ट्रका सम्बंधीहरु हाम्रो अगाडि खडा छन् ।   

यो श्लोकमा पनि अर्जुनमा शंका र द्वन्द्व छ ।  

श्लोक ८ 
कारण कि पृथ्वीमा धन-धान्य-समृद्ध र शत्रुरहित राज्य तथा (स्वर्गमा) देवताहरुको आधिपत्य नै मिले पनि इन्द्रियहरुलाई सुकाउने मेरो जुन शोक छ, त्यो हटला भन्ने म देख्दिन । 

यो श्लोकको अर्जुनको शोक नै अर्जुनकोलागि वरदान सावित भएको छ । यो श्लोकले उनलाई गीताको ज्ञानको अधिकारी वनायो । कठोपनिषदमा नचिकेताको यमराजसँगको सम्बाद पनि यही खालको छ ।   

नचिकेता कुनै कारणवश यमलोकमा यमराजकहाँ गए । त्यो वेला यमराज यमलोकमा नभएको समय परेछ । नचिकेता यमराज फर्केर नआउन्जेल अन्न जल समेत नलिएर यमलोकमा नै वसिरहे । तीन दिनपछि यमराज फर्के, नचिकेतालाइ त्यहाँ  तीन दिन कुरे वापत तीन वर माग्ने आदेश दिए । तेस्रो वरमा नचिकेताले ब्रह्मविद्या जान्न खोजे । त्यो वेला यमराजले नचिकेतालाई यही आठौँ श्लोकमा अर्जुनले वयान गरेको जस्तो तीनै लोकको राज्य र अरु अरु पनि धन आदि दिने, तर ब्रह्मविद्या नदिने कुरा भने । त्यसको जवाफमा नचिकेताले अर्जुनले अहिले भनेको  जस्तै भने, 'हे यमराज ! हजुरले मलाइ दिन्छु भनेको वस्तुहरु सबै विनाशवान छन् । यी वस्तुहरुको भोगले मनुष्यलाई अमृत शान्ति दिन सक्तैनन्, उल्टै यिनीहरुले हाम्रा इन्द्रियहरु (मन, बुद्धि)को शक्ति क्षीण गर्छन । त्यसैले हजुरले मलाइ दिन्छु भनेका स्वर्गको सुख र त्यहाँका अप्सराहरु हजुर नै राख्नुहोस्, मलाई ब्रह्मविद्या नै दिनुहोस् ।'         

आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको 

इन्दिरा 

Song for Hajurma's cassette collection : Narayana narayan jaye gobinda hare

Thursday, 3 April 2014

25. हाम्रो वेदान्त सम्बन्धी ज्ञानको चर्चा अहिले पनि पहिलो अध्यायमा नै छ ।

हाम्रो वेदान्त सम्बन्धी ज्ञानको चर्चा अहिले पनि पहिलो अध्यायमा नै छ । यहाँ अर्जुनको मोहको नै प्रसंग छ।    
अर्जुन भन्दैछन्  

श्लोक ४३ 
यो वर्णसंकर पैदा गर्ने दोषहरुवाट कुलघातीहरुको सँधै चलिआएको कुलधर्म र जातिधर्म नष्ट हुनेछ ।  

श्लोक ४४  
हे जनार्दन ! जसको कूलधर्म नष्ट हुन्छ, ती मनुष्यहरुलाई  धेरै समयसम्म नरकहरुमा वस्नुपर्छ, यस्तो कुरा हामीले सुन्दै आएका छौं । 

श्लोक ४५  
यो वडो आश्चर्य र खेदको कुरा छ कि हामीहरु धेरै ठूलो पाप गर्ने निश्चय गरेर वसेका रहेछौं, जसको कारण हामी राज्य र सुखको लोभले आफ्ना स्वजनहरुलाई मार्नकोलागि तयार भएका छौं ।  

श्लोक ४६ 
यदि हातमा शस्त्र-अस्त्र लिएका धृतराष्ट्रका यी पक्षपाती युद्धभूमिमा सामना नगर्ने तथा शस्त्र नलिएको मलाई मार्छन नै भने त्यो (काम) मेरोलागि वडो हितकारी हुनेछ ।    

श्लोक ४७ 
यस्तो भनेर शोकाकुल मन भएका अर्जुन वाणसहित धनुष छोडेर युद्धभूमिमा रथको मध्यभागमा वसे ।

अर्जुनलाई यस्तो अवस्था किन भयो भन्ने प्रश्नको उत्तर हामीले उनको मोहको कारणले भएको भन्ने त बुझी नै सक्यौं । मनुष्यलाई मोह कसरी हुन्छ भन्ने कुराको पनि केही ज्ञान भैसक्यो । यसको एक र एक मात्रै कारण नै अज्ञान हो, अविवेक हो । एकै अज्ञानका अनेक अनेक अवगुणहरु हामीमा प्रकट हुन्छन । कहिले त्यही अज्ञान ममताको रूपमा प्रकट हुन्छ, कहिले राग, द्वेषको रूपमा प्रकट हुन्छ ।

यहाँ अर्जुन राग द्वेषको भुमरीमा अल्झिरहेका छन् । कहिले उनलाई दुर्योधन प्रति राग हुन्छ । उनी युद्धको मैदानमा आफ्ना प्रतिपक्षीलाई देखेर भन्छन, 'दृष्ट्वेमं स्वजनम कृष्ण.........सीदन्ति मम गात्राणी मुखं च परिशुश्यति', अर्थ, 'मेरा 'स्वजन'हरु देखेर हे कृष्ण, मेरा अंगहरु शिथिल भैरहेका छन्, मेरो मुख पनि सुकिरहेको छ ' । यही कुरालाई प्रमाणित गर्न उनी विभिन्न बुँदाहरु पेश गर्छन, केही श्लोकहरुमा । फेरि छत्तीसौं र सैंतीसौं श्लोकहरुमा उनी भन्छन, 'निहत्य धार्तराष्ट्रान्नः का प्रीति: स्याज्जनार्दन',  अर्थ, 'हे जनार्दन ! यी धृतराष्ट्रका नातागोताहरुलाई मारेर हामीलाई के प्रसन्नता हुन्छ र ?' 'स्वजनं हि कथं हत्त्वा सुखिनः स्याम माधव', अर्थ, 'हे माधव ! आफ्नो कुटुम्बहरुलाई मारेर हामी कसरी सुखी हौंला र ?' यस्तै, अठ्तीसौं श्लोकमा दुर्योधन प्रति उनको द्वेष देखिन्छ, 'यद्यप्येते न पश्यन्ति लोभोपहतचेतसः। कुलक्षयकृतं दोषम् मित्रद्रोहे च पातकम्' , अर्थ, 'यद्यपि लोभको कारण यी दुर्योधन आदिको विवेक-विचार लुप्त भएको छ, त्यसैले  यिनीहरु कुलको नाश गर्ने दोष र मित्रसंग द्वेष गर्दा हुने पापको वारेमा जान्दैनन्' । फेरि त्यसपछिका श्लोकहरुमा अर्जुन उनले युद्ध नगर्ने कारणहरु एक पछि अर्को प्रस्तुत गर्दैछन । उनको मनोदशा अत्यन्त विचलित देखिन्छ यी श्लोकहरुमा । आफ्नो कुराहरु भगवानवाट अनुमोदन होस् भन्ने आशाले नै अर्जुन अनेक नचाहिंदा र 'अप्रासंगिक' शास्त्रीय चर्चाहरु पनि गरिरहेका छन् केही अन्तिम श्लोकहरुमा ।
  
राग, द्वेषको वारेमा केही बुझ्नु जरूरी देखिन्छ । अज्ञानले गर्दा हाम्रो मन हरवखत संसारमा र संसारका व्यक्ति, वस्तु, पदार्थमा नै दौडिरहेको हुन्छ । हामी आफ्नो दुःखको कारण आफूमा भएको अभाव भन्ने मान्यता राख्छौं । त्यसैले हामी तिनीहरुको प्राप्तिमा नै प्रयास गरिरहेका हुन्छौं । कहिले आफूले सोचेको वस्तु, व्यक्ति र पदार्थ मिल्दा हामी खुशी हुन्छौं, कहिले नमिल्दा हामी दुःखी हुन्छौं । त्यही अनुरुप हामीले पाएको व्यस्तु, व्यक्ति र पदार्थमा हाम्रो राग हुन्छ, नपाएको वस्तु, व्यक्ति र पदार्थमा हाम्रो द्वेष हुन्छ । यही राग, द्वेषको विस्तार हुँदै जान्छ । हामीले भनेको मान्ने, हामीले भनेको जस्तो गर्ने, आफ्नो अनुकूल व्यक्तिमा हाम्रो राग हुन्छ, अनि त्यसको उल्टो व्यवहार गर्ने व्यक्तिमा हाम्रो द्वेष हुन्छ । त्यस्तै, आफूलाई राग भएको व्यक्ति, वस्तु र पदार्थमा हाम्रो 'आकर्षण' वढ्दै जान्छ, आफूलाई द्वेष भएको वस्तु, व्यक्ति र पदार्थमा हाम्रो 'विकर्षण' वढ्दै जान्छ । जसमा हाम्रो राग छ, त्यसमा हामी टाँसिन्छौ, जसमा हाम्रो द्वेष छ, त्यसवाट हामी पर भाग्छौं । यही टाँसाटाँस र भागाभागमा वितिरहेको छ हाम्रो जीवन यात्रा । हाम्रो अवस्था विल्कुल अर्जुनको जस्तो छ । कति भनौं, राग र द्वेषको विस्तार नै 'जगत' हो, अर्को शब्दमा, हाम्रो जगतमा व्यवहार गर्ने दुई हात भनौं कि, दुई खुट्टा नै राग द्वेष हो । संसारमा नै रमाइरहने, संसारवाट  सुख खोजिरहने व्यक्तिलाई राग द्वेष नभई छोडदैन ।    

यो राग-द्वेषको बिस्तार र यसको निदानको वर्णन पनि गीतामा नै भएको छ । यही प्रसङ्गसंगै यो पहिलो अध्याय समाप्त हुन्छ । 

हजुरहरुको 
इन्दिरा 

Song from Hajurma's cassette collection: Jaye Krishna Hare

24. फेरि पनि श्लोक तिर नै जाने क्रम छ ।

फेरि पनि श्लोक तिर नै जाने क्रम छ ।

श्लोक ३८  
यद्यपि लोभको कारण जसको विवेक-विचार लुप्त भएको छ, त्यस्ता यी दुर्योधन कुलको नाशवाट  हुने दोषलाई र मित्रहरुसंग द्वेष गर्दा हुने पापलाई देख्दैनन् । 

श्लोक ३९ 
तर, हे जनार्दन ! हामी त कुलको नाश गर्दा हुने दोषलाई राम्रोसंग जान्दछौं नि । त्यसैले हामीले  यो पापवाट हट्ने विचार किन नगर्ने ?   

यी श्लोकहरुमा अर्जुन झन् झन् 'कन्फ्युज' भएको देखिन्छ । एकातिर उनको कौरवहरु प्रतिको द्वेष भाव पनि प्रष्ट देखिन्छ, अर्कोतिर उनको दयाले कायरता 'ओढेको' छ । 'ओढेको' शब्दले यो जनाउँछ, वास्तवमा अहिलेको अवस्थामा अर्जुनमा दया हैन, कातरपना छ । ओढेको जहिले पनि वनावटी हुन्छ । जस्तो रावणले सीताहरण गर्ने वेलामा 'साधुता' ओढेको थियो ।  यदि रावण आफ्नो असली रूपमा सीताजीको अगाडि आएको भए उसले निराश हुनुपर्थ्यो । 

छोटोमा भन्नु पर्दा, अर्जुनलाई युद्ध गर्न मन छैन, युद्धवाट भाग्न मन छ । हामीहरुलाई आफ्नै अनुभववाट पनि थाहा छ, कुनै वेला आफूलाई मन नलागेको काम गर्नु पर्यो भने हामी आफैंसंग र अरुसँग पनि नाना थरीका विवाद गरिरहन्छौं । केही गरी अरुले जिते भने हामीलाई मन नलागी नलागी पनि त्यो काम गर्नु नै पर्छ, आफूले जितियो भने त्यो काम गर्नु पर्दैन । त्यही गति छ अर्जुनको यहाँ ।

श्लोक ४० 
कुलको क्षय भएपछि सँधै चलिआएको कुलधर्म नष्ट हुन्छ, र धर्मको नाश भएपछि वांकी रहेको सम्पूर्ण कुललाई अधर्मले दवाउँछ ।  

श्लोक ४१ 
हे कृष्ण ! अधर्म धेरै वढेपछि कुलका स्त्रीहरु दूषित हुन्छन र स्त्रीहरु दूषित भएपछि वर्णसंकर पैदा हुन्छन ।   

व्यक्तिलाई मोह नहुनु एउटा कुरा, एकचोटि मोह भएपछि त्यो मोहले अनेक हाँगाहरु फैलाउँछ ।  कहिले त्यो मोह दया लिएर आउँछ, कहिले विद्वत्ता लिएर आउँछ, कहिले त्यो दान लिएर आउँछ, कहिले सद्भाव लिएर आउँछ । फेरि त्यो कुन वेला, कसरी आउँछ भन्ने कुरोको पत्तो पनि हामीलाई हुँदैन । यो आएपछि यसले हामीलाई त लडाइ  नै हाल्छ, हाम्रो अगाडिको अर्को व्यक्तिलाइ पनि लडाइ दिन्छ । यहाँ अर्जुनसँग भगवान हुनु भएर पो ! नत्र के के हुन्थ्यो, के के ! भगवानको भगवत्ताले लड्नै लागेका अर्जुनलाई पनि वचाइ दियो ! यस्तो हुनमा एउटा र एउटा मात्रै कारण अर्जुन दैवी सम्पत्तिका धनी थिए, त्यसैले उनी भगवानका प्रिय मित्र थिए, साथै भगवानका भक्त थिए । भगवान आफैं भन्नुहुन्छ, 'भक्तोसि मे सखा चेति'।   

श्लोक ४२ 
वर्णसंकर कुलघातीहरुलाई र कुललाई नरकमा नै  लैजान्छ । श्राद्ध र तर्पण नपाउँदा  यी कुलघातीहरुका पितृहरु पनि आफ्ना आफ्ना स्थानवाट तल खस्छन ।  

पितृहरु दुई थरी हुन्छन--(१) आजान र (२) मर्त्य । पितृलोकमा वस्ने पितृलाई 'आजान' भनिन्छ र मनुष्य लोकवाट मरेर गएका पितृलाई 'मर्त्य' भनिन्छ । श्राद्ध र तर्पण नपाउँदा मर्त्य पितृहरुको पतन हुन्छ । पतन तिनै पितृहरुको हुन्छ, जो कुटुम्बसँग, सन्तानसंग सम्बन्ध राख्छन र उनीहरुवाट श्राद्ध-तर्पणको आशा राख्छन ।         

अहिले अर्जुनको मोह एउटा 'कर्मकाण्डी' पण्डितको भेष लिएर आयो। जसको मुखवाट शास्त्र निस्केको छ, त्यही परमात्मालाई शास्त्र सिकाउँदैछन अर्जुन ।  

अघिल्लो पत्रमा गरिएको छायाँको प्रसंग: 'छायाँ' हाम्रो जीवनमा साधारणतया  कुनै ठूलो महत्त्व राख्दैन । तर यो  प्रसंगमा चाहिं  'छायाँ'ले हामीलाई प्रभावित गर्ने गर्छ । मुख्य कुरो, हामीले छायाँलाई महत्त्व दिने भनेको हाम्रो मन बुद्धिले यो संसारका व्यक्ति, पदार्थ अथवा अवस्थालाई कति महत्त्व दिन्छ भन्ने हो । हामीलाई थाहा नै छ, यो संसार जड हो । तर, यो पनि भनिन्छ, यो संसार परिवर्तनशील छ । तर, संसार (यहाँ संसार शब्दले सम्पूर्ण सृष्टिलाइ नै लिनुपर्छ) जड भए यसमा परिवर्तन कसरी भयो ? परिवर्तन भए यो कसरी जड भयो ? यसको जवाफ हो, यो संसार जड भए पनि यो संसारलाई परिवर्तनशील वनाउने, चेतन जस्तो देखाई दिने यो संसारका अखण्ड ब्रह्माण्ड नायक परमेश्वरको सत्ता-स्फूर्ति नै हो । अर्थात्, यो संसारको आफ्नो स्वतन्त्र सत्ता छैन । यसमा स्वतन्त्र सत्ता देखिनु नै हाम्रो भ्रम हो । 

यही सन्दर्भमा, हाम्रो शरीर पनि जड नै भयो । गीताको तेर्हौं अध्यायमा यो शरीरलाई 'क्षेत्र' भनिएको छ, यो शरीरमा पर्ने सुख-दुःखलाई शरीरको विकार भनिएको छ । यसमा आउने जाने सुख-दुःख शरीरको छायाँ भयो । सुख-दुःखदेखि माथि उठ्न हामीले यो नाशवान शरीरलाई र शरीरका विकारहरुलाई (सुख-दुःख)  महत्त्व दिन छोड्नु पर्छ । त्यसो भन्दैमा शरीरको वास्ता नै नगर्ने, आफ्नो घर व्यवहारको वास्ता नै नगर्ने भन्ने पनि होइन । आफ्नो शरीरले गर्नुपर्ने सबै कर्तव्य कर्म गर्ने, तर त्यो शरीरमा र शरीरवाट भएका कर्ममा आसक्ति नराख्ने, ममता नराख्ने । यो शरीरद्वारा संसारको सेवा गर्ने । यसरी जीवन चलायो भने व्यक्तिलाई शान्ति हुन्छ, गीता अनुसार ।

 गीता भन्छ, शरीर हाम्रो आत्माको लुगा हो । यो शरीरलाई आफ्नो मान्नु, यो शरीरको पनि छायाँलाई आफू मान्नु त हाम्रो गल्ती नै हो । जो ज्ञानी छ, जसमा विवेकको अधिकता छ, उसले आफ्नो जीवनमा परेका सुख-दुःखलाई स्वीकार गर्छ, अर्थात्  छायाँलाइ जे जस्तो भए पनि उसले वास्ता राख्दैन । तर अर्को थरीले , जसमा विवेकको मात्रा कम छ, आफ्नो छायाँलाई आफ्नै अंगको रूपमा स्वीकार गर्छ । त्यसैले, उसले आफूलाई कर्ताको रूपमा स्वीकार गर्छ, कर्ताको रूपमा स्वीकार गरेपछि भोक्ताको रूपमा पनि स्वीकार गर्नै पर्यो, त्यही अनुसार सुख-दुःखलाई पनि आफ्नो मान्नै पर्यो, हाँस्नै पर्यो, रुनै पर्यो । यही कुराका अरु अरु अर्थहरू पनि छन्, प्रसंग अनुसार फेरि फेरि भन्ने नै छु ।  

आजलाई यत्ति ।

हजुरहरुको 
इन्दिरा 
 

Monday, 31 March 2014

23. अब गीताको श्लोकको अर्थतिर पनि जानुपर्ने छ हामीलाई ।

अब गीताको श्लोकको अर्थतिर पनि जानुपर्ने छ हामीलाई ।

श्लोक ३४ 
अर्जुन भगवानसँग आफ्नो तर्क यसरी राख्दैछन्, हाम्रा आचार्य, पिता, पुत्र र त्यस्तै प्रकार पितामह, मामा, ससुरा, नाति, सालाहरु तथा अरु जति पनि सम्बन्धीहरु छन् ।    

श्लोक ३५ 
यिनीहरुले मलाई प्रहार नै गरे पनि म यिनीहरुलाई मार्न चाहन्न, र हे मधुसूदन! मलाई त्रिलोकीको नै राज्य मिले पनि म यिनीहरुलाई मार्न चाहन्न, फेरि यो पृथ्वीको राज्यकोलागि त यिनीहरुलाई के मार्नु?

यी दुइ श्लोकहरुमा अर्जुनले युद्धको सम्पूर्ण जिम्मेवारी आफूले मात्र लिन खोजेका छन् । आफूलाई पूरापूर कर्ता र भोक्ता मान्दैछन अर्जुन । यो कर्ता र भोक्ता भावले नै हामीलाई दुःख दिने हो । जो कर्ता हुन्छ, उसले भोक्ता हुनै पर्छ, कर्ता र भोक्ता हुनेले दुःख पाउनै पर्छ । शास्त्रले हामीलाई यही भाववाट  छुट्न सिकाउँछ । गीताको प्रसिद्ध श्लोक छ, 'तिम्रो कर्ममा मात्रै अधिकार छ, फलमा छैन' । किनभने, हामी कर्म गर्न स्वतन्त्र छौं, तर कर्मको फल हाम्रो हातमा छैन । कर्मको फल आफूले आफूलाई दिन पनि सकिंदैन ।  आफूले परिक्षा दिने, आफूले नै आफूलाई नम्वर दिने, आफूले  नै आफूलाई पास गर्ने  कुरा कहीं पनि कहिले पनि सम्भव छैन । अर्को कुरा, हामी कर्म गर्ने वेलामा वास्ता गर्दैनौं, तर कर्मफल आफूले सोचे जस्तो हुनु पर्छ भन्ने धारणा राख्छौं । हाम्रो सबभन्दा ठूलो गल्ती नै यही हो । 

तर वास्तवमा महाभारतको युद्ध अर्जुनको आफ्नो इच्छावाट मात्रै भएको होइन भन्ने हामी सबैलाई थाहा छ । अर्जुनमा यस्तो विचार आउनुको कारण पनि उनमा भएको मोह नै हो, अविवेकको नै हो । आउँदो दोस्रो अध्यायमा भगवान यही कुरालाई लिएर उपदेश दिनुहुन्छ । 

श्लोक ३६ 
हे जनार्दन! यी धृतराष्ट्रका सम्बन्धीहरुलाई मारेर हामीहरुलाई के खुशी होला र? यी आततायीहरुलाई मार्दा पनि हामीलाई पाप नै लाग्नेछ ।    

यहाँ अर्जुन 'आततायी' मारेर आफूलाई पाप लाग्ने कुरा गर्छन । वास्तवमा, आततायीहरुको त नाश हुनैपर्छ । किनभने आतातायीले नै समाजलाई दुःख दिन्छन, आततायीको वध भएन भने सारा समाज वरवाद हुन्छ, राष्ट्रमा अराजकता फैलन्छ । यहाँ भगवानको समेत सल्लाह अनुसार महाभारतको युद्ध हुँदैछ यी आततायीको नाश गर्न, उता अर्जुन भन्दैछन, 'आततायीलाई मारयो भने पाप लाग्छ' । व्यक्तिको बुद्धि भ्रमित भयो भने के गर्न हुने, के गर्न नहुने, के वोल्न हुने भन्ने कुराको पत्तो हुँदैन । भक्तिमति कुन्तीका पुत्र अर्जुनको त यो चाल छ भने भने हाम्रो चाल के होला?         

श्लोक ३७ 
यसैले आफ्ना वान्धव यी धृतराष्ट्र-सम्बन्धीहरुलाइ मार्नकोलागि हामी योग्य छैनौं । किनकि हे माधव ! आफ्ना कुटुम्बीहरुलाई मारेर हामी कसरी सुखी हुन सकौंला ?   

अर्जुनको यो कथन साधारण परिस्थितिमा एकदम सत्य हो । तर अहिलेको विशेष परिस्थितिमा अर्जुनको यो विचार गलत छ । 

यो अध्यायमा हामी अर्जुनको यस्तो प्रलाप मात्रै पढ्छौं । तर, गीता सहित अन्य सबै शास्त्रले भन्छन, हामीले  आफ्नो कल्याण चाहने हो भने आफूलाई 'प्रेय' मार्ग वाट हटाएर 'श्रेय' मार्गतिर उन्मुख गर्नुपर्छ । यसकोलागि निरन्तर शास्त्रको अध्ययन गर्नुपर्छ, र सत्संग गर्नुपर्छ । शास्त्र आफैंले पढ्दा बुझ्न गाह्रो हुन्छ, त्यसैले आफूले नबुझेका धेरै कुरा सत्संगवाट प्रष्ट हुन्छ ।     

मैले हालै सुनेको एक महात्माको प्रवचनमा उहाँ भन्नुहुन्छ, 'म एक चोटी घरवाट घुम्न निस्कें । जाँदा जाँदै एउटा शिव मन्दिरमा पुगें । त्यो वेला सूर्य अस्त हुनै लागेको थियो । मैले  शिव लिङ्गको अगाडि गएर शिवजीको दर्शन गरें । त्यही वेला मेरो छायाँ शिव लिंगमा पर्यो । शिव मन्दिरवाट फर्कंदै गर्दा कुनै कामले म वीच वाटोमा रोकिएँ, त्यही वेला एउटा कुकुरले आएर मेरो छायाँमा पिशाव गर्यो । अव म के गरौँ, मेरो छायाँ शिव लिङ्गमा पर्दा खुशी होउँ कि मेरो छायाँमा कुकुरको पिशाव पर्दा दुःखी होउँ ।' 

हजुरहरुले यो कुराको विचार गर्नुपर्यो । यसको अर्थ वारे चर्चा पछि  हुन्छ ।   

लौ त हजुर, आजलाई यत्ति ।
 
 

22. हामीले यो भन्दा अघिको पत्रमा पहिलो अध्यायको ३३ श्लोक्सम्मको चर्चा गर्यौं ।

हामीले यो भन्दा अघिको पत्रमा पहिलो अध्यायको ३३ श्लोक्सम्मको चर्चा गर्यौं । यो अध्यायको नाम नै 'विषादयोग' हो । विषाद  त सबैलाई हुन्छ, तर अर्जुनलाई भएको विषाद चाहिं विषाद 'योग' भयो । शास्त्रमा आउँछ, व्यक्तिलाई दुई किसिमको वैराग्य हुन्छ--(१) श्मशान  वैराग्य, (२) तीब्र वैराग्य । यही दुइ वैराग्यलाई अर्को  दुई नाम पनि दिइएको छ--(१) परिस्थितिजन्य वैराग्य, (२) ज्ञानजन्य वैराग्य । जीवनमा हरेक व्यक्तिलाई प्रतिकूल परिस्थिति (दुःख) त आइ नै हाल्छ । तर, त्यो दुःखको फलस्वरूप वैराग्य पनि आउँछ । कसैलाई केही समय वितेपछि, परिस्थिति सामान्य भएपछि केही अघि आएको वैराग्य हराउँछ, तर कसैलाई प्रतिकूल परिस्थिति आउँदा भएको वैराग्य केही समयपछि  पनि हराउँदैन, त्यो वैराग्य रहिरहन्छ । दुःख पर्दा आउने र पछि हराउने वैरग्यलाई 'श्मशान वैराग्य' अथवा 'परिस्थितिजन्य वैराग्य' भनिन्छ र दुःख पर्दा आउने तर केही समय पछि पनि नहराउने वैराग्यलाई 'तीब्र वैराग्य' अथवा 'ज्ञानजन्य वैराग्य' भन्छन ।          

यहाँ अर्जुनको वैराग्य ज्ञानजन्य वैराग्य भयो, उनले आफूलाई भएको वैराग्यवाट ज्ञान हासिल गरे । किनभने, अर्जुनलाइ आफूमा परेको वैराग्यवाट कसरी वाहिर निस्कने भन्ने विचार उठ्यो । त्यो उठेको विचारलाई नै यहाँ योग भनियो ।  

शास्त्रले भन्छ, (हुन त हामीलाई यो कुरा त्यती राम्रो नलाग्न सक्छ, नलागे पनि के गर्ने, शास्त्रले सत्य वोल्छ, सत्य सुन्न हामी तयार छैनौं भने त्यसले पनि के गरोस्) ज्ञान हुनकोलागि 'विषाद'को आवश्यकता छ, विषाद नपरी कसैलाई वैराग्य हुन्दैन, वैराग्य नभई कसैलाई पनि ज्ञानको वारेमा 'जिज्ञासा' हुन्दैन । जिज्ञासा नभई कसैलाई परमात्माको कुरा जान्ने इच्छा हुँदैन ।  यसैले गीताको सातौं अध्यायमा ज्ञानीलाई क्रमैसँग चार किसिमले 'विभाजन' गरिएकोछ । भनिन्छ, 'आर्तो जिज्ञासु, अर्थार्थी ज्ञानी च  भरतर्षभ' । 

गीताले यहाँ भन्न खोजेको चार थरीका भक्त नभई एकै भक्तको चार अवस्था हुन् । किनभने, महात्मा ध्रुवलाई पनि भक्त भनिन्छ, तर ध्रुवको चरित्र हेर्दा ध्रुवले भगवानको दर्शन पाएपछि पनि आफ्नो भाई उत्तम युद्धमा मारिएपछि अत्यन्त क्रोधित भएर भीषण युद्ध गरे । यो युद्ध रोक्न महाराज मनुले नै ध्रुवलाइ सम्झाउनु पर्यो । यसवाट थाहा हुन्छ, साक्षात्  नारायणको दर्शन हुँदा पनि क्रोध रोक्न त ज्ञान नै चाहिने रहेछ, आफ्नो प्रयास नै चाहिने रहेछ । आर्त भक्तले पनि ज्ञानी नै हुनुपर्ने रहेछ, अर्थार्थी भक्तले पनि ज्ञानी नै हुनुपर्ने रहेछ, जिज्ञासु भक्तले पनि ज्ञानी नै हुनुपर्ने रहेछ । अर्थात्, ज्ञान भन्दा ठूलो, पवित्र यो संसारमा अरु केही रहेनछ । गीताले नै भन्छ, 'न हि ज्ञानेन सदृशम् पवित्रमिह विद्यते ।'        

हाम्रो सामान्य समझमा ज्ञानी र भक्तलाई दुइ किसिमले विभाजन गरेको छ । तर गीता अनुसार आर्त पनि भक्त नै हो, अर्थार्थी पनि भक्त नै हो, जिज्ञासु पनि भक्त नै हो, ज्ञानी पनि भक्त नै हो । गीताले ज्ञानमार्गद्वारा चल्नेलाई पनि साधक र भक्तिमार्गद्वारा चल्नेलाई साधक नै भन्छ । यसको विस्तृत चर्चा गीताको वारहौं र तेर्हौं अध्यायमा गरिएको छ ।    

यस्तै हो हजुर, एउटी सासुले बुहारीलाई भन्थी रे, 'के गर्छेस्, बुहारी?'  बुहारीले जवाफ दिई रे, 'पोख्छु, उठाउँछु' । मेरो पनि त्यही हविगत छ ।   

हजुरहरुको 
इन्दिरा 
 


21. अहिलेसम्म पनि हामी गीताको पहिलो अध्यायको नै चर्चा गरिरहेका छौं ।

अहिलेसम्म पनि हामी गीताको पहिलो अध्यायको नै चर्चा गरिरहेका छौं । अर्जुनमा भएको मोह, डिप्रेसनको चर्चा ।

मोह भनेको अज्ञान नै हो । यसले व्यक्तिलाई सुल्टोको उल्टो र उल्टोको सुल्टो देखाइदिन्छ । यही हालत हामी सबैको छ । हामी गीता पढ्छौं, गीताको अर्जुनको कुरा गर्छौं, तर, त्यसवाट हाम्रो स्थितिको विचार गर्दैनौं । तर, गीता हामीलाई भन्छ, 'हे मुर्ख, अर्जुनलाई निमित्त वनाएर मैले तिमीहरुलाई यो ज्ञान दिई रहेको छु । वास्तवमा, तिमीहरु अर्जुन भन्दा कम छैनौ, अझ अर्जुन भन्दा वढी नै मुर्ख छौ ।'

भगवानले हामीलाई सृष्टिको अरु कुनै जीवलाई नदिएको दुइ कुरा दिनुभएको छ । ती हुन्--कर्मको स्वतन्त्रता र चिन्तनको स्वतन्त्रता । तर हामी यी दुइलाइ आफ्नो उपयोगमा ल्याउन असमर्थ भैरहेछौँ । फेरि मानव जातिले अरु जातिले भन्दा फरक 'विवेक' पाएको छ । यसको उपयोग पनि हामीवाट हुन सकिरहेको छैन ।      

शास्त्रमा आउँछ, परमात्माले सृष्टि गर्दा धेरै जीव जन्तुको सृष्टि गर्नुभयो, तर उहाँलाई सबभन्दा धेरै सन्तुष्टि 'मनुष्य' शरीर वनाउँदा भयो रे । यही सन्तुष्टिले गर्दा नै उहाँले हामीलाई, कर्ममा स्वतन्त्रता, चिन्तनमा स्वतन्त्रता र विवेक दिनु भएको होला । 

कर्ममा स्वतन्त्र हुन हामीले विवेक प्रयोग गर्नु पर्छ । विवेकको अर्थ यहाँ 'नित्यानित्य वस्तु विवेक' लिनु पर्छ । वेदान्तको अध्ययन गर्न नै हामीलाई चार साधनको आवश्यकता पर्छ: !  (१) विवेक, (२) वैराग्य, (३) शमादि षटसम्पत्ति, (४) मुमुक्षुता ।        

सबभन्दा पहिलो पूर्वाधार नै 'विवेक' भएकोले यसको प्रयोग नै हाम्रो जीवनमा वढी महत्त्व राख्छ जस्तो लाग्छ मलाइ । हुन त हामी व्यवहारिक प्रसंगमा पनि यो शब्दको प्रयोग गर्छौं, तर वेदान्तमा यसको प्रयोग पारामार्थिक प्रसंगमा आउँछ । 

यो संसारमा 'नित्य' के हो 'अनित्य' के हो भन्ने कुराको विचार हामीले गर्नु पर्छ । शास्त्र भन्छ, यो संसारको सबै वस्तु, व्यक्ति, पदार्थ 'अनित्य' हुन्, तर यो संसारको सृष्टि गर्ने परमात्मा 'नित्य' हो । अर्थात्, शास्त्र अनुसार हाम्रो शरीर, नातागोता, धन सम्पत्ति, हाम्रा इन्द्रियहरु, मन, बुद्धि सम्म सबै अनित्य छन् । तर हाम्रो शरीरमा रहने, हाम्रो शरीरलाई सत्ता, स्फूर्ति दिने परमात्मा मात्र नित्य हो । यस्तो किसिमको विभाजन गरेर अनित्यलाई महत्त्व नदिएर नित्यलाई महत्त्व दिने कलालाई नै 'नित्यानित्य वस्तु विवेक' भनिन्छ ।     

यस्तो विवेक गर्न हामीले हर वखत नै 'नित्य' र अनित्यलाई केलाई रहनुपर्छ । त्यसो गर्न सके हाम्रो कर्म पवित्र हुन्छ, हाम्रो सोच पवित्र हुन्छ । मैले पहिले पनि निवेदन गरिसकें, हाम्रो कर्म हाम्रो चित्त शुद्धिकोलागि हुनुपर्छ, उपासना हाम्रो मनको एकाग्रताको लागि हुनु पर्छ, हाम्रो ज्ञान परमात्मप्राप्तिकोलागि हुनुपर्छ । त्यसैले सबभन्दा पहिले हाम्रो व्यवहार नै शुद्ध हुनु पर्यो । व्यवहार शुद्ध गर्ने कुरामा गीतामा भगवान भन्नुहुन्छ, हामीले गरिने कर्म शास्त्रको विधान अनुसार हुनु पर्छ । गीतामा नै शास्त्रीय ढंगले कसरी व्यवहार (कर्म) गर्ने भन्ने चर्चा भएको छ, सत्र र अठार अध्यायमा । हाम्रो कर्म शुद्ध गीतामा वर्णित सात्त्विक तरिकाले गर्दा हुन्छ ।  सत्त्विक कर्म गरिरहँदा हाम्रो चित्त शुद्ध हुन्छ । गीताले भन्छ, 'सात्त्विकम् निर्मलम् फलम्' जति जति हाम्रो चित्त शुद्ध भयो, उति उति हामीलाई शान्ति हुन्छ । अहिले यो मेरो पत्र पढ्ने सबैलाई ज्ञान भएकै छ, यो संसारको भौतिक उन्नतिले हामीलाई शान्ति भएन, त्यसैले त्यही शान्तिको प्राप्तिकोलागि हाम्रो कर्म शुद्ध हुनु पर्यो ।     

अहिलेलाई यत्ति, अरु पछि । वेदान्तले एउटा बुँदा  फेरि फेरि भन्छ, दृढ गराउनकोलागि । मेरो पत्र पनि त्यस्तै देखिन्छ ।  

हजुरहरुको 

इन्दिरा