Thursday, 8 May 2014

61. No. 33 श्लोक ३५ महारथीहरू तिमीलाई भयको कारण युद्धवाट भागेको भन्ने ठान्ने छन् ।

No. 33
 
श्लोक ३५ 
 
महारथीहरू तिमीलाई भयको कारण युद्धवाट भागेको भन्ने ठान्ने छन् ।  जसको धारणामा तिमी वहुमान्य भैसकेका छौ, अव यदि तिमीले युद्ध छोड्यौ भने उनीहरुको दृष्टिमा तिमी  गिर्नेछौ ।
 
भगवानको आशय: अहिले तिमीले युद्ध गर्दिन भनेर गरेको निश्चय मोहको कारण  हो । यदि तिम्रो निश्चय पहिले नै यस्तो  थियो भने तिमी पहिले नै युद्ध लड्दिन भन्ने थियौ, पहिले नै एकान्तमा वसेर भजन-स्मरण गर्थ्यौ, तिम्रो प्रवृत्ति युद्धमा हुने नै थिएन । तर तिमी एकान्तमा नवसेर अहिले युद्धकोलागि तत्पर भएर यो युद्धभूमिमा उपस्थित छौ ।
 
यस्तो अवस्थामा यदि तिमीले युद्ध छोड्यौ भने यी युद्ध गर्न तयार भएका महारथीहरुले तिमीलाई दयाले नभई कातरताले युद्ध छोडेको हो त भन्ने नै छन् ।
 
अझ तिम्रा गुरु द्रोणाचार्य र पितामह भीष्माचार्यले तिमीलाई कति ठूलो महारथी छौ भन्ने मानेका छन् । उनीहरुको यस्तो विश्वास छ, युद्ध गर्ने नामी शूरवीर अर्जुन छ भन्ने । तिमीले अरु अरु पहिलेका युद्धमा दैत्यहरु, देवताहरु र गन्धर्वहरु पनि हराई सकेका छौ । यदि तिमी यो युद्धवाट हट्यौ भने ती तिम्रा पूज्यहरुका दृष्टिमा पनि तिमी गिर्नेछौ ।
 
श्लोक ३६
 
तिम्रा शत्रुहरु पनि तिम्रो सामर्थ्यको निन्दा गर्दै तिमीलाई धेरै भन्नै नहुने वचन भन्नेछन् । त्यो वेला तिम्रोलागि कस्तो दुःखदायी अवस्था होला ?
 
यी दुर्योधन, दु:शासन, कर्ण आदि तिम्रा शत्रुहरु तिमीले वैरभाव नगर्दा पनि तिमीलाई अहित गर्ने स्वभावका छन् । तिनीहरुलाई यो पनि थाहा छ कि तिमी धेरै ठूलो शूरवीर छौ । यदि तिमीले युद्ध छोड्यौ भने तिनीहरुले पनि तिम्रो सामर्थ्यको निन्दा गर्ने छन् । उनीहरु भन्नेछन्, 'हेर, यो अर्जुन त नपुंषक रहेछ, यो त युद्धको वेला  भाग्यो । यसले हामीसँग के युद्ध गर्न सक्थ्यो ?' एकातिर तिमी युद्धवाट हटी सक्छौ, अर्कोतिर तिमीलाई भन्नै  नहुने वचनहरु भनेर  तिम्रो मन दुखाउने छन् । तिनीहरुको त्यस्तो वचन तिमी कसरी सहन्छौ ?
 
तिमीलाई यो भन्दा अत्यन्त  कष्ट के होला ? यो संसारमा देखिएकै कुरो हो, जस्तै तुच्छ मनुष्य पनि अरु व्यक्तिहरुवाट तिरस्कृत हुँदा त्यो तिरस्कार सहन सक्तैन र आफ्नो योग्यताले, आफ्नो शूरवीरताले धेरै काम गर्न मरि मेट्छ । त्यस्तै, जव शत्रुहरुद्वारा तिम्रो सर्वथा अनुचित तिरस्कार होला, त्यो वेला तिमी त्यो तिरस्कार सहन सक्तैनौ र दौडेर यही युद्धमा हाम्फाल्ने छौ ।
 
श्लोक ३७
 
यो श्लोकमा र अघिल्ला केही श्लोकहरुमा भगवान श्रीकृष्ण गुरुरूपमा आफ्नो चेलालाई सम्झाउनु हुन्छ । अर्जुन मोहमा छन्, मोह राजोगुणवाट हुन्छ, तर अर्जुनका गुरु गुणातीत हुनुहुन्छ । अर्जुन मोह उठेको र र मोह वढेको वेलामा आफू युद्ध नगर्ने निर्णय लिन तम्सिरहेका छन् । तर उनका गुरु यस्तो निर्णय नलिन अर्जुनलाई सिकाइरहनु भएको छ । चौध अध्यायमा तीन गुणहरुको विस्तृत व्याख्या दिइएको छ । गीता भन्छ,'रजोगुण वढेको वेलामा कुनै पनि निर्णय नगर्नु, आफूलाई धेरै खुशी लागेको वेलामा कसैसँग कुनै पनि प्रतिज्ञा नगर्नु' रजोगुण भनेको राग-द्वेष हो ।  यसको वेगमा परेर गरेको निर्णय सँधै गलत नै हुन्छ । गलत निर्णयको दुःखमय  फल त भोग्नु परिहाल्यो ।
 
यो श्लोकमा अर्जुनलाई 'कौन्तेय' भन्ने सम्बोधन गर्दै  भगवान अर्जुनलाई भन्नुहुन्छ, म सन्धिको प्रस्ताव लिएर कौरवहरुकहाँ गएको वेलामा तिम्री माता कुन्तीले तिमीहरुलाई युद्ध गर्ने सन्देश पठाएको पनि तिमीलाई सम्झना नै होला । त्यसैले, तिमीले युद्धवाट हट्नु हुँदैन । 
 
अर्जुनले युद्ध नगर्ने निश्चय गरेका थिए र भगवानले यही अध्यायको तेस्रो श्लोकमा युद्ध गर्ने आज्ञ आज्ञा दिनुभयो । यसवाट अर्जुनको मनमा युद्ध गर्नु ठीक हो के कि होइन भन्ने सन्देह भयो । त्यसैले  अन्तर्यामी प्रभुले भन्नुभयो, 'तिमी युद्ध गर्ने निस्चय गर, यसमा कुनै पनि सन्देह नराख ।'                                      
 यहाँ भगवानको तात्पर्य, मनुष्यले कुनै पनि हालतमा आफ्नो कर्तव्यको त्याग गर्नु हुँदैन । यो कर्तव्यकर्मलाइ उत्साह र तत्परतापूर्वक पालन गर्नुपर्छ । कर्तव्यपालनमा नै  मनुष्यको मनुष्यता छ ।
 

धर्मको पालन गरे लोक-परलोक दुवै सुध्रन्छ । तात्पर्य, कर्तव्यको पालन र अकर्तव्यको त्याग गर्दा लोकको पनि सिद्धि हुन्छ र परलोकको पनि ।  

Song from Hajurmas Cassette collection: Saaja badai ayo

60. No. 32 श्लोक ३२ आफैं प्राप्त भएको (युद्ध) खोलिएको स्वर्गको ढोका हो । हे पृथानन्दन !

No. 32 

श्लोक ३२ 

आफैं प्राप्त भएको (युद्ध) खोलिएको स्वर्गको ढोका हो । हे पृथानन्दन ! यस्तो युद्ध गर्ने अवसर पाउने क्षत्रिय निकै भाग्यशाली हुन् । 
 
पहिले जुवा खेल्दाको दुर्योधनको शर्त अनुसार हार्नेले वारह वर्षको वनवास र एक वर्षको गुप्तवास भोग्नु पर्ने थियो । पाण्डवले जुवा हारे, उनीहरुले पहिले प्रतिज्ञा गरे बमोजिम वारह वर्षको वनवास र एक वर्षको अज्ञातवास पनि भोगे । त्यसपछि पाण्डवले आफ्नो राज्य माग्दा दुर्योधनले राज्य फिर्ता दिन मानेनन्, फिर्ता त के, एउटा सियोको टुप्पा राख्ने जमीन पनि नदिने कुरो गरे । तैपनि पाण्डवले फेरि फेरि पनि सन्धिको प्रस्ताव राखे, तर दुर्योधनले कुनै प्रस्ताव पनि मानेनन् । यसैले  भगवान अर्जुनसँग भन्नुहुन्छ, 'यो युद्ध तिमीहरुलाई आफैं प्राप्त भएको छ । आफैं मिलेको धर्ममय युद्धमा जो क्षत्रिय शूरवीरताले लड्दा लड्दै मर्छ, उसकोलागि स्वर्गको ढोका खुला रहन्छ । 

फेरि,  यस्तो धर्ममय युद्ध प्राप्त गर्ने क्षत्रिय धेरै सुखी हुन् । यहाँ सुखी भन्नुको अर्थ हुने सुख  कर्तव्य पालनमा हुने सुख सांसारिक भोगहरु  भोग्नमा छैन । सांसारिक सुख त पशु-पक्षीहरुलाई मिल्छ । अतः जसलाई कर्तव्य-पालनको अवसर प्राप्त भएको छ, उनीहरुलाई ठूलो भाग्यशाली मान्नु पर्छ ।

श्लोक ३३    

अव यदि तिमी यो धर्ममय युद्ध गर्दैनौ भने आफ्नो धर्म र कीर्ति त्याग गरेको  पाप तिमीलाई  लाग्नेछ ।

यहाँ भन्न खोजिएको, अर्जुनको क्षात्र स्वभाव भएकोले उनी युद्ध नगरी रहन सक्तैनन् । अहिले अर्जुनलाई मोह भएको कारणले उनी युद्धदेखि विमुख हुन खोजिरहेका छन् । भगवान अठारौं अध्यायमा अर्जुनलाई भन्नुहुन्छ, 

'स्वभावजेन कौन्तेय निबद्ध स्वेन कर्मणा । कर्तुम्  नेच्छसि  यन्मोहात्करिष्यस्यवशोपि  तत्  ।

कौन्तेय = हे कुन्तिनन्दन ! स्वेन = आफ्नो   स्वभावजेन = स्वभावजन्य   कर्मणा = कर्मवाट  निबद्ध = वांधिएका (तिमी)  मोहात् = मोहले गर्दा   यत्  = जुन युद्ध   कर्तुम् = गर्न   न  इचछसि  = चाहंदैनौ  तत् = त्यसलाई  अपि = पनि (तिमीले)  अवशः = (क्षात्र प्रकृतिको) परवश भएर  करिओ श्यसि = गरौला ।

हे कुन्तिनन्दन ! आफ्नो स्वभावजन्य कर्मवाट वांधिएका तिमी मोहले गर्दा जुन युद्ध गर्न चाहंदैनौ, त्यसलाई पनि तिमीले तिम्रो क्षत्रिय प्रकृतिको वशमा परेर गर्नेछौ । 

पूर्वजन्ममा जस्तो कर्म र गुणहरुको वृत्तिहरु रहनछन्, यो जन्ममा जस्ता माता-पितावाट पैदा भएका छन् अर्थात् माता-पिताका जस्तो संस्कार रहेका छन्, जन्मेपछि जस्तो देखिएको, सुनिएको छ, जस्तो शिक्षा प्राप्त भएको छ र जस्तो कर्म गरिएको छ -- ती सबै मिलेर आफ्नो जुन कर्म गर्ने एक किसिमको आदत वनेको छ, त्यसको नाम स्वभाव हो । यसलाई भगवानले स्वभावजन्य स्वकीय कर्म भन्नुभएको छ । यसैलाई  स्वधर्म पनि भन्छन् ।

जीवन्मुक्त महापुरुषहरुको स्वभाव सर्वथा शुद्ध हुन्छ । अतः उनीहरुलाइ स्वभावले केही गर्न सक्तैन, तैपनि उनीहरु कर्ममा प्रवृत्त भएको वेला आफ्नो प्रकृति-(स्वभाव-) अनुसार नै काम गर्छन् । तर साधारण प्रकृतिको अधीन हुन्छन् त्यसैले उनीहरुको स्वभावले उनीहरुलाई जवर्जस्ती कर्ममा लगाइदिञ्छ । भगवान अर्जुनसँग भन्नुहुन्छ, 'तिम्रो क्षात्र स्वभाव पनि तिमीलाई जवर्जस्ती युद्धमा लगाई दिनेछ । यदि शास्त्र या सन्त-महापुरुषहरुको आज्ञाले अथवा मेरो आज्ञाले तिमीले युद्ध गर्यौ भने त्यही कर्म तिम्रोलागि कल्याणकारी हुनेछ ।            
     
फेरि श्लोक तिर नै जाँदा,भगवान भन्नुहुन्छ, तिमी युद्ध गर्दैनौ भने तिमीवाट क्षात्रधर्मको त्याग हुनेछ, त्यस्तो त्याग भएपछि तिमीलाई पाप लाग्नेछ र तिम्रो कीर्तिको पनि नाश हुनेछ ।

श्लोक ३४

 सबै प्राणी पनि तिम्रो सँधै रहने अपकीर्तिको कुरा गर्दै निन्दा गर्नेछन् । त्यस्तो किसिमको अपकीर्ति सम्मानित मनुष्यकोलागि मृत्युभन्दा पनि ठूलो दुःखदायी हुन्छ ।

अव स्वामीजीको प्रश्नोत्तरमा जाउँ ।

प्रश्न: महाराजजी ! के भगवत्-प्रेम पनि कामी र कामिनीको प्रेम जस्तो हुन्छ ?

उत्तर: कामी कामिनीलाई प्रेम गर्दैन । उनीहरु एक अर्कालाई नष्ट गर्छन्, खान्छन् । भगवत्-प्रेम त प्रेमी र प्रेमास्पद दुवैलाई आल्हादित गर्छ । 

प्रश्न: दुःख आउने मानव पतित अथवा पापी भएको परिचय हो ?

उत्तर: दुःख आएको मानव पतित अथवा पापी भएको फल होइन । दुःख त सुख-भोगको आसक्ति मेटाउन आउँछ । 

प्रश्न: महाराजजी ! धर्मात्मा को हुन्छ ?

उत्तर: जसको समाजलाई आवश्यकता हुन्छ ।

प्रश्न: व्यर्थ-चिन्तनसंग कसरी वच्ने ?

उत्तर: व्यर्थ-चिन्तन भुक्त-अभुक्त (भोगिएको अथवा नभोगिएको भोगको) प्रभाव हो । तिमी व्यर्थ-चिन्तनलाई असहयोग गर । त्यसलाई, न दबाउने, न त्यसवाट सुख लिने, न भयभीत हुने, न तादात्म्य नै राख्ने. त्यसो गरे व्यर्थ प्रकट भएर नाश हुनेछ ।

59. No. 31 यही अध्यायको एघारौं श्लोकदेखि तीसौं श्लोकसम्म भगवानले अर्जुनलाई खालि शरीर र शरीरी वीचको भेद वारे धेरै प्रकारले बुझाउनु भयो ।

No. 31


यही अध्यायको एघारौं श्लोकदेखि तीसौं श्लोकसम्म भगवानले अर्जुनलाई खालि शरीर र शरीरी वीचको भेद वारे धेरै प्रकारले बुझाउनु भयो । यसको तात्पर्य, हामीले पनि आफ्नो जीवनमा  सवभन्दा पहिले जान्नु पर्ने कुरो नै शरीर र शरीरीको भेद रहेछ । त्यसपछि मात्रै अरु अरु कुरा जान्नु पर्ने रहेछ । अव भगवान अर्जुनले युद्धवाट भागेदेखि निकट भविष्यमा नै उनलाई पर्न सक्ने  संकट देखाउंदै स्वधर्म पालन गर्न अर्जुनलाई प्रेरित गर्नु  हुन्छ । ज्ञान भनेकै त्यही रहेछ ।हामीले हरेक कर्म शुरु गर्दा त्यो कर्म गरेर हामीलाई के फाइदा हुन्छ, के वेफाइदा हुन्छ भनेर विचार गरेर गरेको कर्मले हामीलाई भविष्यमा दुःख दिंदैनन् । होइन भने,  हामीले गरेको कर्मको परिणामले हामीलाई दुःखै दिन्छ । यही उल्लेख भएको छ अव आउने प्रसंगमा ।      

श्लोक ३१ 

तिम्रो आफ्नो क्षात्रधर्म देखेर (विचार गरेर) पनि तिमी विकम्पित अर्थात् कर्तव्य-कर्मदेखि विचलित हुनुहुँदैन; किनकि धर्ममय युद्ध भन्दा ठूलो क्षत्रियकोलागि कल्याणकारक कर्म अर्को हुँदैन ।

जीव स्वयं परमात्माको अंश हो । जव यो जीव शरीरसँग तादात्म्य गर्छ, त्यो वेला ऊ स्वयंलाई अर्थात् आफूले आफैंलाई जे जस्तो मान्छ, त्यो वेला उसको कर्तव्य स्वधर्म भनिन्छ । यही सन्दर्भमा, कसैले आफूलाई ब्राह्मण, कसैले क्षत्रिय, वैश्य अथवा शुद्र मान्छ, त्यो वेला उसले आफ्नो वर्णधर्म अनुसार कर्तव्यहरुको पालन गर्नु उसको स्वधर्म हुन्छ । त्यस्तै, कसैले आफूलाई शिक्षक, कसैले नोकर मानेको हुन्छ, त्यो वेला उसले आफ्नो पेशा अनुसारको कर्तव्य पालन गर्नु उसको स्वधर्म भानिन्छ । 

यहाँ क्षत्रियको कर्तव्य कर्मलाई 'धर्म' भनिएको छ । क्षत्रियको मुख्य कर्तव्य हो -- युद्धदेखि विमुख नहुनु । अर्जुन क्षत्रिय हुन्, त्यसैले युद्ध गर्नु उनको स्वधर्म हो । यसैले भगवान भन्नुहुन्छ, यदि स्वधर्मको हिसावले हेर्ने हो भने पनि क्षात्रधर्म अनुसार तिम्रोलागि युद्ध गर्नु नै कर्तव्य हो । आफ्नो कर्तव्यवाट  विमुख हुनुहुँदैन । 

अर्जुनले यही अध्यायको  सातौं श्लोकमा भगवानसँग प्रार्थना गरेका थिए, 'हजुर मेरोलागि निश्चित श्रेयको उपाय वताउनुहोस्' । यसको उत्तरमा भगवान भन्नुहुन्छ, 'तिम्रोलागि 'श्रेय' त आफ्नो धर्मको पालन गर्दा नै हुन्छ । कुनै पनि दृष्टिले आफ्नो धर्मको त्याग कल्याणकारक छैन । अतः तिमीले आफ्नो युद्धरूप धर्मवाट विमुख हुनु हुँदैन ।'

पहिलो प्रकरणमा देह-देहीको वर्णन भएपछि अव भगवान केही श्लोकसम्म देहीको स्वधर्मपालन (कर्तव्यपालन)को वर्णन गर्नुहुन्छ ।उहाँको विचारमा देह-देहीको विवेकले जुन तत्व पाइन्छ, त्यही तत्व देहको सदुपयोगले, स्वधर्म पालनले पनि पाउन सकिन्छ ।विवेकमा 'जान्नु' मुख्य हुन्छ, स्वधर्म पालनमा 'गर्नु' मुख्य हुन्छ । व्यवहारमा र परमार्थमा, लोक र परलोकमा विवेक सबैतिर काम लाग्छ । तर, देह-देहीको विवेक बुझ्न नसक्ने व्यक्तिलाई भगवान स्वधर्म पालनको कुरा गर्नुहुन्छ, यसो हुँदा त्यो व्यक्ति कोरा वाचक ज्ञानी नवनेर वास्तविक तत्वको अनुभव गर्न सकोस् । 

तात्पर्य, कुनै व्यक्ति परमात्मतत्व जान्न चाहन्छ , तर तीक्ष्ण बुद्धि र तीव्र वैराग्यको कमीले ज्ञानयोगले जान्न सकेन भने ऊ कर्मयोगले परमात्मतत्व जान्न सक्छ; किनकि ज्ञानयोगले हुने अनुभव कर्मयोगवाट पनि हुन सक्छ । 

अर्जुन क्षत्रिय थिए, त्यसैले भगवानले यो प्रकरणमा क्षात्रधर्मको कुरा गर्नुभएको छ । वास्तवमा क्षात्रधर्म चारै वर्णको प्रतिनिधि हो। तात्पर्य, ब्राह्मणले उसको वर्ण अनुसारको कर्म गर्ने, क्षत्रियले क्षात्रधर्म अनुसारको कर्म गर्ने, त्यस्तै, वैश्य र शुद्रले पनि आफ्नो आफ्नो वर्णले भने जस्तो कर्म गर्ने । 

'स्वधर्म'लाई नै स्वभावज कर्म, सहज कर्म, स्वकर्म पनि भनिएको छ । स्वार्थ, अभिमान र फलेच्छा छोडेर अरुको हितकोलागि कर्म गर्नु स्वधर्म हो । स्वधर्मको पालन नै कर्मयोग हो । 

Monday, 5 May 2014

58. No. 29 श्लोक ३० हे भरत वंशोद्भव अर्जुन सबैको देहमा यो देही नित्य नै अवध्य छ।

No. 29

श्लोक ३०

हे भरत वंशोद्भव अर्जुन   सबैको देहमा यो देही नित्य नै अवध्य छ। यसैले
सम्पूर्ण प्राणीहरूकोलागि अर्थात् कुनै पनि प्राणीकोलागि तिमीले शोक्
गर्नु हुँदैन।

मनुष्य, देवता, पशु, पक्षी, किरा, पुतली आदि स्थावर-जंगम सम्पूर्ण
प्राणीहरुको शरीरहरुमा यो देही नित्य अवध्य अर्थात् अविनाशी छ। यो
देहीलाई कुनै पनि तरहले नाश गर्न सकिँदैन। देहीको विनाश कहिले पनि हुनै
सक्तैन र विनाशी देह क्षणभर पनि स्थिर रहँदैन।

शरीर विनशी नै छ, किनभने यसको स्वभाव नै नाशवान छ। यो प्रतिक्षण नष्ट
भईरहेछ परन्तु आफ्नो नित्य स्वरुपको नाश कहिले पनि  छैन। यस्तो
वास्तविकताको ज्ञान यदि हामीलाई हुँदो हो त मोह मोह नै हुने थिएन।

गीता भन्छ, जवसम्म हामीलाई देह अलग छ, देही अलग हो भन्ने विवेक हुँदैन
तवसम्म कर्मयोग, ज्ञानयोग, भक्तियोग आदि कुनै पनि योग अनुष्ठानमा आउँदैन।
यति मात्रै होइन, स्वर्गादि लोकहरूको प्राप्तिकोलागि पनि देह-देहीको भेद
बुझ्नु जरूरी छ। किनभने देह देखि अलग नभए देह मरेपछि को स्वर्ग जाने ?
सबै दार्शनिक र अरु मतका अनुयायीहरू पनि यो शरीर र शरीरीको भेदलाई
पूर्णरूपले स्वीकार गर्छन्।

फेरि अर्को कुरो देह बदलिन्छ देही बदलिँदैन देही बदलिने भए देह वदलिने
कुरो कसले जान्ने?  पहिले वाल्यावस्था थियो, फेरि जवानी आयो, कहिले
विरामी भइयो, कहिले विरामी निको भयो। यस्तो किसिमले  अवस्थाहरू वदलिई रहे
तर यी सबै अवस्थाहरू जान्ने त उहीको उही रह्यो।

अहिले हामीले गरी रहेको चर्चा सत् र असत् को विवेक् हो। यो सत् र असत् को
विवेक् आफ्नो शरीरमा गर्नेलाई साधक भनिन्छ र यो विवेक संसारमा गर्नेलाई
विद्वान भनिन्छ। आफूलाई छुट्टै राखेर संसारमा सत्-असत् को विवेक गर्नेलाई
वाचक (सिकेको ज्ञानी) भनिन्छ तर त्यस्तो वाचकलाई अनुभव हुन सक्तैन।
तात्पर्य, संसारमा सत्-असत् को विवेक केवल पन्डित्याइँकोलागि हुन्छ तर
गीता पन्डित्याइँकोलागि होइन। यही सन्दर्भमा यदि हामीलाई अनुभव गर्नु छ
भने हामीले आफूलाई आफ्नो शरीरदेखि छुट्टै अनुभव गर्नु पर्छ।  यस्तो अनुभव
गर्नु पर्छ-शरीर शरीरीको सम्बन्धदेखि रहित छ र शरीरी शरीरको सम्बन्धदेखि
रहित् छ अर्थात् 'म शरीर होइन।'

songs form Hajurmas Cassette Collection: Aye akela gaye akel

57. No. 28 श्लोक २९ कोही यो शरीरीलाई आश्चर्य जस्तो गरी देख्छ (अनुभव गर्छ) र त्यस्तै अर्को

No. 28

श्लोक २९

कोही यो शरीरीलाई आश्चर्य जस्तो गरी देख्छ (अनुभव गर्छ) र त्यस्तै अर्को
कुनै यसलाई आश्चर्य जस्तो गरी वर्णन गर्छ र अर्को कोही यसलाई  (शरीरीलाई
) आश्चर्य जस्तो गरी सुन्छ र सुनेर पनि कोही यसलाई जान्नै सक्तैन, किनकि
यो तत्व (शरीरी) दुर्विग्येय छ ।

यो शरीरीलाई आश्चर्य  जस्तो जान्नु भनेको, अरु चीजहरु देख्न, सुन्न, पढ्न
र जान्नमा आउँछन्, त्यसैगरी यो देही जान्नमा आउँदैन । किनभने अरु
वस्तुहरु इदामताले जानिन्छन्, तर यो देही इन्द्रिय, मन,बुद्धिको विषय
होइन । यो शरीरीलाई त स्वयंले, आफैंले नै जानिन्छ । आफैं जानिने वस्तु
लौकिक ज्ञान जस्तो नभएर अत्यन्त विलक्षण हुन्छ ।

जस्तो दीपक (वत्ति) स्वयं प्रकाश छ, वत्तीलाई देख्न अर्को प्रकाशको जरुरत
छैन, त्यस्तै  यो देही (स्वरूप ) स्वयम् प्रकाश छ । यो आफैंले आफूलाई
जान्दछ । त्यसैले यसलाई जान्नु संसारिक वस्तु जस्तो जान्ने नभई वहुत
विलक्षण हुन्छ, यसैले यसलाई 'आश्चर्यवत् पश्यति' भनिएको हो ।

यहाँ भगवान भन्नुहुन्छ, यस्तो शरीरीको आफैंले आफैंमा अनुभव गर्ने कुनै एक
(दुर्लभ) नै हुन्छ। यही कारण यहाँ 'कश्चित्' पद आएको छ । यहाँ यो इंगित
गरिन्छ, यो तत्व जान्नु त्यति कठिन छैन, तर यो तत्वलाई साँचो हृदयले
जान्ने, यतातिर लाग्ने व्यक्तिको चाहिं अत्यन्त कमी छ । यस्तो कमी हुनुको
कारण पनि हाम्रो यो तत्वाप्रतिको जिज्ञासाको कमी नै हो ।

यो तत्व (शरीरी)को वारेमा वताउने महापुरुष पनि यसको वर्णन आश्चर्य जस्तो
गरी नै गर्छ, किनभने यो तत्व वाणीको विषय होइन । जसवाट (जुन तत्ववाट वाणी
प्रकाशित हुन्छ, त्यसलाई वाणीले कसरी प्रकाशित गर्ला ? यो तत्वलाई वर्णन
गर्ने महापुरुष पनि यसलाई 'शाखाचन्द्रन्याय' जस्तो वाणीले यसको केवल
संकेत मात्र गर्छ, जसवाट श्रोताको यो तर्फ लक्ष्य होस् ।

'शाखाचन्द्रन्याय' भनेको,  चतुर्थीको रात छ, कसैलाई चन्द्रमाको दर्शन
गर्नु परेको छ, उसले चन्द्रमालाई देख्न सक्तैन । अर्को व्यक्तिले उसलाई
चन्द्रमा देखाउनु परेको छ, तर त्यो व्यक्तिले पनि अर्को व्यक्तिलाई त
ठ्याक्कै भन्न सक्तैन । उसले यसरी भन्छ, 'हेर मेरो हातको लट्ठीलाई, उ
त्यो रुखलाई पनि हेर, त्यो रुखको दुइ हाँगाको वीचमा एउटा हँसिया जस्तो
आकारको एउटा सेतो घेरा देख्यौ, हो, त्यही हो चन्द्रमा' । वास्तवमा वताउने
व्यक्तिले अर्को व्यक्तिलाई केही गरे पनि चन्द्रमा देखाउन सक्तैन, खालि
संकेत मात्र गर्न सक्छ, त्यस्तै यसको वर्णन पनि आश्चर्य जस्तो नै हुन्छ ।

अर्को कुरा, जति पनि (यो शरीरी)लाई  जान्ने हुन्छन्, त्यसको वर्णन गर्ने
पनि ज्यादै कम हुन्छन् । सबै अनुभवी तत्वज्ञ महापुरुष पनि त्यो तत्वलाई
विवेचन गरेर श्रोतालाई त्यो तत्वसम्म पुर्याउन सक्तैनन्, श्रोताको
शंकाहरुको, तर्कहरुको पूर्णरूपले समाधान गर्नै सक्तैनन् ।

फेरि श्रोता पनि हालसम्म शास्त्रहरूको, लोक परलोकको वर्णन मात्रै सुन्दै
आएका हुनाले यो तत्वको यस्तो किसिमको वर्णन उनीहरुलाई विलक्षण लाग्छ ।
किनभने उनीहरुले अहिलेसम्म सुन्दै आएका सबै विषयहरु  इन्द्रीयहरू, मन,
बुद्धिको विषय हुन्छन्, तर यो देही इन्द्रियहरुको विषय नभएर यिनीहरुलाई
पनि प्रकाशित गर्ने विषय हो । त्यसैले यो विषयका श्रोता यो देहीको
विलक्षण कुरा आश्चर्य जस्तो गरी सुन्छन् ।

यहाँ गीताको अर्को आशय, जान्ने व्यक्ति र भन्ने व्यक्ति भन्दा पनि
विल्कुल अलग  सुन्ने व्यक्ति (तत्व जिज्ञासु) हुन्छ ।

यो तत्वलाई कुनै कुनै व्यक्ति त सुनेर पनि जान्दैनन् । यसको तात्पर्य,
खालि सुनेर मात्रै यसलाई जान्न कोही पनि सक्तैन । जव  व्यक्ति यो तत्वको
वारेमा सुनेपछि यसैमा स्थित होला, त्यो वेला मात्रै ऊ आफैंले आफैंलाई
जान्ला ।

यहाँ यो पनि भनिन्छ, यो कुरा बुझ्न साधक स्वयम् नै शास्त्र र गुरुमा
श्रद्धा-विश्वास गर्छ, शास्त्र  र  गुरुको सम्मुख हुन्छ ।
श्रद्ध-विश्वासपूर्वक सुन्दा स्वरूपमा स्थित हुन त अवश्य मदत मिल्ला, तर
स्वरूपमा स्थित त स्वयम् नै हुन्छ । यति धेरै कुरा भन्नु पर्ने तात्पर्य,
तत्वज्ञान असम्भव छ भन्नु नभएर यसको ज्ञान करण सापेक्ष नभएर करण निरपेक्ष
छ भन्नु नै हो । हामीले कुनै पनि तरिकाले तत्वज्ञान जान्ने प्रयत्न किन
नगरौं, तर यसलाई आफैंले आफैंमा जान्नु पर्छ । यसको वास्तविक बोध त करण
निरपेक्ष छ ।

अलि ध्यान दिनु पर्ने कुरा, स्वयम् द्वारा जानिने ज्ञान दुइ तरहको हुन्छ
-- (१) शरीर संसारसंग मेरो भिन्नता छ ; (२) परमत्मासंग मेरो अभिन्नता छ ।
 अर्को शब्दमा, (१) परिवर्तनशील नाशवान पदार्थहरुसँग मेरो कत्ति पनि
सम्बन्ध छैन र (२) अपरिवर्तनशील अविनाशी परमात्मासंग मेरो नित्य सम्बन्ध
छ । यस्तो जानेपछि फेरि स्वतः अनुभव हुन्छ । यो अनुभवको वर्णन वानीले हुन
सक्तैन ।

परमात्मतत्व केवल सुनेर मात्रै जान्न सकिंदैन, सुनेर उपासना गरे जान्न
सकिन्छ । यदि परमात्मतत्वको वर्णन गर्ने व्यक्ति अनुभवी भए र सुन्ने
व्यक्ति श्रद्धालु र जिज्ञासु भए तत्कालै ज्ञान हुन सक्छ ।

यो श्लोकले पनि हामीलाई धेरै कुराको जानकारी दिन्छ, यदि हामी आफ्नो
साधनामा सावधान छौं भने ।

56. No.27 श्लोक २७ कारण कि पैदा हुनेको जरूर मृत्यु हुनेछ र मरेकाको जरूर जन्म हुनेछ ।

 No.27

श्लोक २७

कारण कि पैदा हुनेको जरूर मृत्यु हुनेछ र मरेकाको जरूर जन्म हुनेछ । अतः
यही जन्म मरणको परिवर्तनको प्रवाहको निवारण हुनै सक्तैन । अतः यो विषयमा

तिमीले शोक गर्नु हुँदैन ।

पूर्वश्लोक अनुसार यदि शरीरीलाई नित्य जन्मने र नित्य मर्ने भन्ने माने
नै पनि यो शोकको विषय हुन सक्तैन । किनभने जसको जन्म हुन्छ, त्यसको
मृत्यु जरूर हुन्छ, जो मर्छ, त्यो जरूर जन्मन्छ ।

यही कारण, कुनै पनि प्राणी यो जन्म-मृत्युरूप प्रवाहको निवारण गर्न
सक्तैन, किनभने यसमा अलिकति पनि कसैको वश चल्दैन । यो जन्म-मृत्युरूप
प्रवाह त अनादिकालदेखि नै चलिआएको हो र अनन्तकालसम्म चलिरहनेछ । यो
दृष्टिले पनि तिमीले शोक गर्नु उचित छैन ।

माथिका श्लोकहरुवाट भगवान भन्नुहुन्छ, यी धृतराष्ट्रका पुत्रहरू जन्मेका
छन्, यी जरूर मर्छन् । तिमीसँग यस्तो कुनै उपाय छैन, जसले तिमी
यिनीहरुलाई वचाउन सक्छौ । जो मर्छन्, तिनीहरु जन्मन्छन्, तिनीहरुलाई पनि
तिमी रोक्न सक्तैनौ । फेरि शोक के काम ?

 जस्तो सूर्यको उदयको हुँदा यसको अस्त हुन्छ भन्ने सबै  जान्दछन् । यस्तै
मनुष्य सूर्यको अस्त हुँदा शोक गर्नुहुँदैन । यदि तिमी भीष्म द्रोण आदि
शरीरसँग मर्छन् भन्ने ठान्छौ भने तिमीले यो पनि स्वीकार गर्नु पर्यो कि
यिनीहरु शरीर
 लिएर  फेरि जन्मन्छन् । यो दृष्टिले पनि तिमीले शोक गर्नुहुँदैन ।

यो श्लोकले यो पनि भन्छ, संसारका सबै चीज  परिवर्तनशील हुनाले यिनीहरु
पहिलो रुप छोडेर अर्को रुप लिई रहन्छन् । यही अनुसार पहिलो रुप छोड्नु
मरण भयो, अर्को रुप लिनु जन्म भयो । यस्तो प्रकार जो जन्मन्छ, त्यसको
मृत्यु हुन्छ, र जसको मृत्यु हुन्छ, त्यो मर्छ ।

यही सन्दर्भमा गीताका व्याख्याकार भन्छन्, हाम्रो कुनै प्रियजनको मृत्यु
भयो भने, धन नष्ट भयो भने हामीलाई शोक हुन्छ । त्यस्तै, भविष्यको
चिन्ताले पनि शोक हुन्छ । यस्तो चिन्ता हुनुको मुख्य कारण नै विवेकलाई
महत्व नदिनु हो । संसारमा परिवर्तन हुनु, परिस्थिति वदलिनु आवश्यक छ ।
परिस्थिति नवदलिने हो भने संसार कसरी चल्छ ? मनुष्य वालकवाट जवान कसरी
हुन्छ ? मूर्खवाट विद्वान कसरी हुन्छ ? रोगीवाट निरोगी कसरी वन्छ ?
वीजवाट वृक्ष कसरी वन्छ? परिवर्तन नभए यो संसार स्थिर चित्र जस्तो वन्छ ।

के गर्ने हजुर, दोस्रो अध्यायको शरीर र शरीरीको यो प्रसंग नै धेरै धैर्य
गरेर पढ्नु पर्ने, सुन्नु पर्ने र बुझ्नु पर्ने छ । यो अध्यायमा वर्णित
ज्ञान पूरा गीताज्ञान को नै निचोड हो ।

श्लोक २८

हे भारत ! जन्मनु भन्दा पहिले अप्रकट थिए र मरेपछि पनि अप्रकट हुनेछन् ।
खालि यिनीहरु वीचमा नै प्रकट देखिन्छन् । त्यसैले तिमीले शोक गर्नु
हुँदैन ।

देख्न,सुन्न र समझमा आउने समस्त प्राणी (शरीर आदि) जन्मभन्दा पहिले पनि
अप्रकट थिए, अर्थात् देखिंदैनथे ।

त्यही प्रकार, यी सबै प्राणी मरेपछि अप्रकट हुनेछन् अर्थात् यिनीहरुको
नाश हुँदा यी सबै 'छैन'मा जान्छन्। देखिंदैनन् ।

यी सबै प्राणी वीचमा, अर्थात् जन्मेपछि र मृत्यु भन्दा पहिले प्रकट
देखिन्छन् । सुत्नु भन्दा पहिले पनि सुतेर उठेपछि पनि स्वप्न नभए जस्तै
यी प्राणीहरुको शरीरहरुको पहिले पनि अभाव थियो र पछि पनि अभाव हुनेछ । यो
कुरा विचारणीय छ, वीचमा भाव रूपले देखिए पनि यिनीहरुको प्रतिक्षण अभाव
भैरहेछ । जे शुरुमा र अन्तमा हुँदैन, त्यो वीचमा पनि हुँदैन भन्ने
सिद्धान्त नै छ । यसवाट यो थाहा हुन्छ, शरीरहरुको सँधै अभाव छ र शरीरीको
कहिले पनि अभाव छैन । त्यसैले यी दुबैकोलागि शोक हुन सक्तैन ।

जो आदि र अन्तमा छैन, त्यसको 'छैन'पना नित्य-निरन्तर छ तथा जो आदि र
अन्तमा छ, यसको 'छ'पना  नित्य-निरन्तर छ । 'छैन'पना नित्य-निरन्तर हुने
असत् (शरीर) हो र जसको 'छ'पना नित्य-निरन्तर छ, त्यो सत् (शारीरी) हो ।

 अव प्रश्नोत्तर तर्फ जाउँ ।

प्रश्न: स्वामीजी ! हामी के गरौं ?

उत्तर: सेवा, त्याग र आस्था । सेवाको अर्थ हो उदारता, सुखीहरुलाई देखेर
प्रसन्न हुनु र दुःखीहरुलाई देखेर करुणित हुनु । त्यागको अर्थ हो,
हामीसंग भएको हाम्रो आफ्नो होइन । जोसँग अथवा जुनसंग तथा स्वरूपको एकता
छैन, त्यसको कामना त्याग हुनुपर्छ । प्राप्तमा ममता छैन र अप्राप्तको
कामना छैन । हाम्रो आस्था र विश्वास  प्रभुमा हुनुपर्छ । सेवा,
व्यक्तिलाई समाजकोलागि, त्याग आफ़्नोलागि र आस्था प्रभुकोलागि उपयोगी
वनाउँछ ।

प्रश्न: संकल्प-पूर्तिको कुनै स्थान जीवनमा छ ?

उत्तर: अरुको संकल्प-पूर्तिको छ, आफ्नो संकल्प-पूर्तिको छैन ।

प्रश्न: भक्ति कस्तो हुनुपर्छ ?

उत्तर: संसारलाई आफ्नोलागि भन्ने कुरा अस्वीकार गर्ने र केवल भगवानलाई नै
आफ्नो मान्दा नै अस्वीकार गर्ने र केवल भगवानलाई नै आफ्नो मान्नाले
भति-भावको अभिव्यक्ति हुन्छ ।

55. No. 27 श्लोक २६ हे महाबाहो ! यदि तिमी यो देहीलाई नित्य जन्मने अथवा नित्य मर्ने

No. 27
 श्लोक २६

हे महाबाहो ! यदि तिमी यो देहीलाई  नित्य जन्मने  अथवा नित्य मर्ने
मान्छौ भने पनि तिमीले यस्तो किसिमले शोक गर्नु हुँदैन ।

भगवान यहाँ भन्नुहुन्छ, 'हे अर्जुन ! सिद्धान्त यो छ, यो देही कुनै समयमा
पनि जन्मने र मर्ने स्वभावको होइन । तैपनि यदि तिमी यो  सिद्धान्तदेखि
विल्कुल उल्टो कि 'देही त जन्मने र मर्ने नै हो' भन्ने ठान्छौ भने पनि
तिमीले शोक गर्नु हुँदैन । किनभने जो जन्मन्छ, त्यो मर्छ र जो मर्छ, त्यो
जन्मन्छ । यो त नियम नै हो, यसलाई कसैले पनि तल माथि गर्न सक्तैन । यही
कुरालाई अर्को तरिकावाट बुझाउनु हुन्छ हाम्रो भगवान ।

 कुनै वीज(विउ)लाई पृथ्वीमा रोपिदियों भने त्यो वीज फुलेर त्यसवाट अङ्कुर
निस्कन्छ र त्यही अङ्कुर क्रमशः वढेर वृक्ष रुप हुन्छ । यो कुरालाई
गहिरिएर विचार गर्दा, के त्यो वीज  एकै क्षण पनि  एकै रूपले रह्यो ?
पृथ्वीमा पहिले त्यो वीजवीजले   आफ्नो कठोररूपलाई छोडेर कोमलरुप भयो,
फेरि कोमलरूपलाई छोडेर अङ्कुररूपमा पुग्यो, त्यसपछि अङ्कुररूपलाई छोडेर
वृक्षरुप भयो, अन्तमा आयु सकिएपछि यो मर्यो । यस्तो प्रकारले त्यो वीज
(विउ) एक क्षण पनि एकरूपले रहेन, उल्टो प्रतिक्षण वदलिइ रह्यो। यदि वृक्ष
एकै क्षण पनि एकै रूपले रहेको भए वृक्ष मर्नेसम्मको क्रिया कसरी हुन्थ्यो
? त्यो वीजले पहिलो रुप छोड्यो, यो उसको 'मर्नु' भयो, अर्को रुप धारण
गर्यो,यो उसको जन्मनु भयो । यही किसिमले यो क्षण क्षण मर्नु र जन्मनु गरी
रह्यो । त्यही वीज जस्तो यो शरीर हो । अत्यन्त सूक्ष्म रूपले वीर्यको
जन्तु रजसँग मिल्यो । त्यही वीज वढी वढी वच्चाको रुप भयो, फेरि त्यसको
जन्म भयो । जन्मेपछि पनि त्यो  वढ्यो,फेरि घट्यो र अन्तमा मर्यो । यस्तो
प्रकारले हाम्रो शरीर एक क्षण पनि एकै रूपले नरहेर वदलिंदै गयो,  अर्थात्
प्रतिक्षण जन्मिई मरी रह्यो ।

भगवान भन्नुहुन्छ, यदि तिमी यो शरीरीलाई नित्य जन्मने र मर्ने मान्छौ
भने पनि तिमीले शोक गर्नु हुँदैन ।