Saturday 9 August 2014

136 No. 103 श्लोक ४२,४३ इन्द्रियहरुलाई (स्थूल शरीर भन्दा) पर (श्रेष्ठ, सबल, प्रकाशक व्यापक तथा सूक्ष्म) भन्छन् ।

103

श्लोक ४२,४३

इन्द्रियहरुलाई (स्थूल शरीर भन्दा) पर (श्रेष्ठ, सबल, प्रकाशक व्यापक तथा सूक्ष्म) भन्छन् । इन्द्रियहरु भन्दा पर (श्रेष्ठ) मन छ, मन भन्दा पनि पर (श्रेष्ठ) बुद्धि  छ र त्यो काम बुद्धि भन्दा पनि पर छ । यसरी बुद्धि भन्दा पर कामलाई जानेर (यो कामको स्वभाव बुझेर) आफूद्वारा आफूलाई वशमा गरेर, हे महावाहो ! तिमी यो कामरूप दुर्जय (जित्न गाहारो) शत्रुलाई मार ।

शरीर अथवा विषयहरु भन्दा इन्द्रियहरु पर छ । इन्द्रियहरुद्वारा विषयको ज्ञान हुन्छ, तर विषयहरु द्वारा इन्द्रियहरुको ज्ञान हुँदैन । इन्द्रियहरु विषय विना पनि रहन्छन्, तर इन्द्रियहरु विना विषयहरुको सत्ता सिद्ध हुँदैन । इन्द्रियहरुलाइ प्रकाशित गर्ने सामर्थ्य विषयहरुमा हुँदैन । तर इन्द्रियहरु विषयहरुलाई प्रकाशित गर्छन् । इन्द्रियहरु व्यापक छन्, विषयहरु व्याप्य छन् । अर्थात्  विषयहरु इन्द्रियहरु अन्तर्गत आउँछन्, तर इन्द्रियहरु विषय अन्तर्गत आउँदैनन् । विषयहरुको अपेक्षा इन्द्रियहरु सूक्ष्म छन् । यही कारण, विषयहरुको अपेक्षा इन्द्रियहरु, श्रेष्ठ, सबल, प्रकाशक, व्यापक र सूक्ष्म छन् ।

 
इन्द्रियहरु मनलाई जान्दैनन्, तर मन सबै इन्द्रियहरुलाई जान्दछ । इन्द्रियाहरुमा पनि प्रत्येक इन्द्रिय आफ्नो-आफ्नो विषय नै जान्दछन्, अरु इन्द्रियहरुको विषयहरु जान्दैनन् । जस्तो, कान खालि शब्द जान्दछ, तर स्पर्श, रुप, रस, र गन्ध जान्दैन, नेत्र खालि रुप जान्दछ, तर शब्द, स्पर्श, रस र गन्ध जान्दैन, रसना (जीव्रो) खालि रास जान्दछ, तर शब्द, स्पर्श, रुप र गन्ध जान्दैन र नाक खालि गन्ध जान्दछ, तर, शब्द, स्पर्श, रुप र रस जान्दैन; परन्तु मन पाँचै ज्ञानेंद्रियहरु तथा तिनका विषयहरु जान्दछ । यसैले, मन इन्द्रियहरु भन्दा श्रेष्ठ, सबल, प्रकाशक, व्यापक र सूक्ष्म छ ।

 

मन बुद्धिलाई जान्दैन, तर बुद्धि मनलाई जान्दछ । मन कस्तो छ ? शान्त छ कि चंचल? ठीक छ कि वेठीक ? आदि कुराहरु बुद्धि जान्दछ । इन्द्रियहरु ठीक काम गर्छन् कि गर्दैनन्? भन्ने कुरो पनि बुद्धि नै जान्दछ । तात्पर्य, बुद्धि मनलाइ तथा मनले गरेका संकल्पहरुलाई पनि जान्दछ र इन्द्रियहरुलाइ तथा तिनका विषयहरु पनि जान्दछ । इन्द्रियहरु भन्दा पर मन, त्यो मन भन्दा पनि पर बुद्धि (श्रेष्ठ, बलवान्, प्रकाशक, व्यापक र सूक्ष्म) छ ।
 

बुद्धिको स्वामी 'अहम्' हो, यसैले यो 'अहम्' भन्छ, 'मेरो बुद्धि' । बुद्धि करण हो र अहम् कर्ता । करण परतन्त्र हुन्छ, तर कर्ता स्वतन्त्र रहन्छ । जड-अंशसँग तादात्म्य भएको कारण त्यो काम स्वरूप (चेतन)मा रहेको जस्तो लाग्छ ।
 

वास्तवमा, 'अहम्'मा नै काम रहन्छ; किनकि यही नै भोगहरुको इच्छा गर्छ र सुख-दुःखको भोक्ता वन्छ । भोक्ता, भोग र भोग्य--यी तीनैमा सजातीयता (जातीय एकता) छ, यिनीहरुमा सजातीयता  नभए भोक्तामा भोग्यको कामना या आकर्षण हुनै सक्तैन । भोक्तापनको प्रकाशकको प्रकाशमा भोक्ता, भोग र भोग्य -- तीनैको सिद्धि हुन्छ । त्यो परम प्रकाशक  (शुद्ध चेतन)मा 'काम' छैन । 'अहम्'सम्म सबै प्रकृतिका अंश हुन् । त्यो 'अहम्' भन्दा पनि पर साक्षात् परमात्माको अंश 'स्वयम्' छ । यो 'स्वयम्' शरीर, इन्द्रियहरू, मन, बुद्धि र अहम् -- यी सबैको आश्रय, आधार, कारण र प्रेरक हो । यही कारण 'स्वयम्' श्रेष्ठ, बलवान्, प्रकाशक, व्यापक र सूक्ष्म छ ।
 

जड (प्रकृति)को अंश नै सुख-दुःखरूपमा परिणत हुन्छ अर्थात् सुख-दुःखरूप विकृति जडमा नै हुन्छ । चेतनमा विकृति छैन, किनकि चेतन विकृतिको पनि ज्ञाता हो । तर जडसँग तादात्म्य हुँदा सुख-दुःखको भोक्ता चेतन नै वन्छ अर्थात् चेतन नै सुखी-दुःखी हुन्छ । खालि जडमा सुखी-दुःखी हुने कुरा आउँदैन । तात्पर्य, 'अहम्'मा भएको जड अंशसँग तादात्म्य गर्दा चेतनले  पनि आफूलाई 'म भोक्ता हुँ' भन्ने मानिदिन्छ । परमात्मतत्वको साक्षात्कार हुने वित्तिकै रसबुद्धि निवृत्त हुन्छ । उसको ज्ञानले कामनाको निवृत्ति हुन्छ । कारण कि सुखकोलागि नै कामना हुने हो र हाम्रो 'स्वरूप' सुखराशी छ । यही कारण त्यो परमतत्वको अनुभव भएपछि 'काम' (संयोगजन्य सुखको इच्छा) सबै सँधैकोलागि नाश हुन्छ ।   

 Song: Bhaja Govindam
Acharya Sankarcharya's one of the most renowned work

Be content with whatever you get,
Happiness lies in Contentment

- Shri Adi Shankaracharya

135 No. 102 श्लोक ४१ यसैले हे भरत वंशीहरुमा श्रेष्ठ अर्जुन !

No. 102
श्लोक ४१
यसैले हे भरत वंशीहरुमा श्रेष्ठ अर्जुन ! तिमी सब भन्दा पहिले इन्द्रियहरुलाई वशमा गर र  यो ज्ञान र विज्ञान नाश गर्ने महान् पापी कामलाई  वलपूर्वक अवश्य मारी हाल ।
 
इन्द्रियहरुलाई भोगपूर्वक विषयहरुमा प्रवृत्त हुन नदिनु, केवल निर्वाहबुद्धिले अथवा साधन-बुद्धिले प्रवृत्त हुन दिनु नै इन्द्रियहरुलाई वश गर्नु हो । अर्थात् इन्द्रियहरु विषयहरुमा रागपूर्वक प्रवृत्त नहुन् र द्वेषपूर्वक निवृत्त नहून । रागपूर्वक प्रवृत्ति र द्वेषपूर्वक निवृत्ति हुँदा राग-द्वेष पुष्ट हुन्छन् र राग-द्वेषले नचाहँदा नचाहँदै पनि मनुष्यलाई  पतनतिर लैजान्छन् । यसैले प्रवृत्ति र निवृत्ति अथवा कर्तव्य र अकर्तव्य जान्नकोलागि शास्त्र नै प्रमाण छ । शास्त्र अनुसार कर्तव्य पालन र अकर्तव्य त्याग गर्दा इन्द्रियहरु वशमा हुन्छन् ।
 
'काम' मार्नकोलागि सबभन्दा पहिले इन्द्रियहरु नियमन गर्नु पर्ने कुरा भनिएको छ यहाँ । यसको कारण, इन्द्रियहरुको वशमा रहुन्जेल मनुष्यको दृष्टि तत्वतिर जाँदैन । तत्वतिर दृष्टि नगई अर्थात् तत्वको अनुभव नभई 'काम'को सर्वथा नाश हुँदैन ।

मनुष्यहरूको प्रवृत्ति इन्द्रियहरु द्वारा नै हुन्छ । यसैले सब भन्दा पहिले व्यक्ति इन्द्रियहरुको विषयमा नै फस्छ, जसले गर्दा उसमा विषयहरुको कामना पैदा हुन्छ । कामना-सहित कर्म गर्दा मनुष्य पूर्णरूपले इन्द्रियहरुको वशमा हुन्छ र यसवाट उसको पतन हुन्छ । परन्तु जो मनुष्य इन्द्रियहरुलाई वशमा गरेर निष्काम-भावपूर्वक कर्तव्य-कर्म गर्छ, उसको छिट्टै उद्धार हुन्छ ।

'ज्ञान' शब्दको अर्थ शास्त्रीय ज्ञान पनि लिइन्छ । परन्तु यहाँ प्रसंग अनुसार 'ज्ञान'को अर्थ विवेक (कर्तव्य-अकर्तव्यवारे छुट्टा-छुट्टै जान्नु) भन्ने बुझ्नु पर्छ हामीले । 'विज्ञान' पदको अर्थ विशेष ज्ञान अर्थात् तत्वज्ञान (अनुभव-ज्ञान, सक्कली ज्ञान अथवा बोध) हो ।
विवेक र तत्वज्ञान--दुवै स्वतःसिद्ध छन् । तत्वज्ञानको अनुभव त सबैलाई छैन, तर विवेकको अनुभव सबैलाई छ । मनुष्यमा यो विवेक विशेषरुपले छ । अर्जुनको प्रश्न (मनुष्य नचाहँदा नचाहँदै पनि किन पाप गर्छ ?) मा आएको 'अनिच्छन्नपि' पदले यो सिद्ध हुन्छ, मनुष्यमा विवेक छ र यही विवेकले नै ऊ  पाप र पुण्य दुबैलाई जान्दछ र पाप गर्न चाहँदैन । पाप नगर्ने इच्छा विवेक विना हुँदैन । तर यो 'काम' मनुष्यको विवेक ढाकिदिन्छ र त्यो विवेक जाग्रत हुन दिंदैन ।
विवेक जाग्रत भएपछि मनुष्य भविष्यतिर अर्थात् परिणामतिर दृष्टि राखेर नै सबै काम गर्छ । परन्तु कामनाले विवेक ढाकिनाले परिणामतिर उसको दृष्टि नै जाँदैन । परिणामतिर दृष्टि नजाँदा नै ऊ पाप गर्छ ।
सबैको अनुभवमा आएको विवेकलाई पनि यो काम जाग्रत हुन दिंदैन भने सबैको अनुभवमा नआएको तत्व-ज्ञानलाई जाग्रत हुन यो काम कसरी देला र ? यसैले यहाँ 'काम'लाई ज्ञान (विवेक) र विज्ञान (बोध) -- दुबैलाई नाश गर्ने वताइयो ।

वास्तवमा, यो 'काम' ज्ञान र विज्ञानको नाश (अभाव) गर्दैन, वरु यी दुबैलाई ढाकिदिन्छ अर्थात् प्रकट हुन दिंदैन । ज्ञान विज्ञानलाई ढाक्नु नै नाश गर्नु भनिएको छ यहाँ । कारण कि ज्ञान-विज्ञानको नाश कहिले पनि हुँदैन ।  नाश त वास्तवमा 'काम'को नै हुन्छ । हाम्रो आँखा अगाडि वादल आउँदा 'वादलले सूर्य ढाक्यो' भनिन्छ, तर वास्तवमा सूर्य ढाकिने होइन, हाम्रा  आँखा ढाकिन्छन् । त्यस्तै 'कामनाले ज्ञान-विज्ञान ढाकियो' भनिएको मात्रै हो । वास्तवमा ज्ञान-विज्ञान ढाकिने होइनन्, हाम्रो बुद्धि ढाकिन्छ ।

कामना सम्पूर्ण पापहरुको जड हो । यसैले कामना उत्पन्न हुँदा पाप हुने सम्भावना  रहन्छ । पछि गएर यो कामना मनुष्यको विवेकलाई ढाकेर उसलाई अन्धो वनाइदिन्छ; जसले गर्दा उसलाई पाप-पुण्यको ज्ञान नै रहँदैन र ऊ पापहरुमा नै लाग्छ । यसवाट उसको महान् पतन हुन्छ । यसैले भगवान कामनालाई महान् पापी भनेर त्यो कामलाई मार्ने नै आज्ञा दिनुहुन्छ अर्जुनलाई ।

'गृहस्थ-जीवन ठीक छैन, साधु हुनु पर्यो, एकान्तमा वस्न जानु पर्यो' -- यस्तो विचार गरेर मनुष्य कार्य त वदल्न खोज्छ, तर यसको  कारण 'कामना' छोड्दैन, छोड्ने विचार पनि गर्दैन ।  उसले कामना छोड्न सके उसका सबै काम बन्ने थिए । मनुष्यको मृत्यु हुँदा आफू वाँच्ने अथवा अरु कामना रहि रह्यो भने ती कामनाहरु पछि गएर उसका अर्को जन्मका  कारण वन्छन् । अर्को शब्दमा मनुष्यमा कामना रहुन्जेल उ जन्म-मरणरूप बन्धनमा परिरहन्छ । 
 
हामी जड-पदार्थतर्फ आकृष्ट हुँदा नै हामीमा कामना उत्पन्न हुन्छ । कामना उत्पन्न हुने वित्तिकै विवेक-दृष्टि दब्छ र इन्द्रिय-दृष्टिको प्रधानता हुन्छ । इन्द्रियहरु हामीलाई केवल शब्द आदि विषयहरुको सुख-भोगमा नै लगाउँछन् । पशु-पक्षीहरूको प्रवृत्ति पनि इन्द्रियहरुवाट पाइने सुखसम्म मात्रै हो । तर कामनाले विवेक ढाकिएकोले हामी इन्द्रियजन्य सुखकोलागि पदार्थहरुको कामना गर्न  र फेरि पदार्थ हरुकोलागि रुपियाँको कामना गर्न थाल्छौं । यति मात्रै होइन, हाम्रो दृष्टि रुपियाँवाट पनि हटेर रुपियाँको गन्ती (संग्रह)मा हुन्छ । त्यसपछि हामी ती रुपियाँको गन्ती (संग्रह) वढाउनमा लाग्छौं । निर्वाहकोलागि मात्रैको भन्दा त्यो भन्दा वढी रुपियाँको संग्रह धेरै पतन गर्ने हुन्छ । त्यही गन्ति (संग्रह) वढाउनकोलागि हामी झूठ, कपट, धोखा, चोरी, आदि पाप-कर्महरु पनि गर्न थाल्छौं । अर्को तिर, रुपियाँको गन्ती वढ्दा हामीमा अभिमान पनि आउँछ । यो अभिमान आसुरी सम्पत्तिको मूल हो । यसरी, कामनाको कारण हामी आफ्नो महान् पतन गर्छौं । यसैले, भगवान यो महान् पापी कामलाई राम्रोसँग नाश गर्ने आज्ञा दिनुहुन्छ हामीलाई । 
        
हालै प्रस्तुत भैरहेको गीताको भावार्थ तेस्रो अध्यायको सन्दर्भ हो । हालै मैले mailing list मा add गरेका मेरा मित्रहरुसँग पहिले देखिको अंश छैन । मेरो साथी Subodh Pradhanले यी लेखहरुको ब्लग वनाउनु भएको छ । त्यो ब्लग उपलब्ध भएपछि हजुरहरुलाई गीताको भावार्थ बुझ्न अझ सजिलो हुन्छ कि भन्ने मेरो विश्वास छ ।

यो तेस्रो अध्याय गीताको कर्मयोगभित्र पर्छ । यो प्रसंगले हामीलाई आफ्नो कर्मलाई कर्मयोग वनाउन सिकाउँछ । कर्मयोगको  महत्व मैले हजुरहरुलाई भनिरहने आवश्यकता पर्दैन जस्तो लाग्छ मलाई । मेरो आफ्नो अनुभवमा चाहिं, गीताको ज्ञानले हामीलाई हाम्रो जीवन सुखमय तरिकाले विताउने guidelines दिन्छ । यी guidelines अनुसार  हामीले जीवन चलायौं भने हामीले आफूले पाएको सुख दुःखकोलागि अरुलाई दोष दिनु पर्दैन । किनभने, गीता भन्छ, 'तिमी आफूले आफूलाई माथि उठाउने हो, अथवा तल झार्ने हो, तिम्रो आफ्नै हातमा छ । यदि तिमीले आफ्नो उद्धार गर्यौं भने तिमी आफैं आफ्नो मित्र हुनेछौं, यदि तिमी आफैंले आफ्नो पतन गर्यौं भने तिमी आफ्नो शत्रु आफैं हुनेछौ ।'

भगवान भन्नुहुन्छ, गीताको ज्ञानले व्यक्तिलाई आफूमा नै रति (रमाइलो), तृप्ति र सन्तुष्टि मिल्न सक्छ । संसारिक भोग र संग्रहवाट मिल्ने सुख क्षणिक हुन्छ, त्यसैले अहिलेसम्म संसारका वस्तु, व्यक्ति र पदार्थवाट कोही पनि सुख हुन सकेको देखिंदैन । यही सन्दर्भमा, आजकल म हजुरहरुलाई यही ज्ञानको वारेमा सन्तहरुको कितावको आधारमा केही लेखिरहेकी छु । आफूले खाएर मीठो लागेको कुरो आफ्ना मित्रहरुलाई पनि चखाउने इच्छा मात्रै हो मेरो । 

गीताको ज्ञान अर्जुनको मोहवाट शुरु हुन्छ । अर्जुनका वावु पाण्डु र आमा कुन्ती हुन् । 'पाण्डु' शब्दले विवेक भन्ने बुझाउँछ । विवेक भनेको यो व्यावहारिक 'विवेक' होइन, पारमार्थिक  विवेक हो । 'कुन्ती' नामले भक्ति जनाउँछ । विवेक र भक्तिको समन्वय नै अर्जुन हो । हाम्रो सनातन धर्म 'प्रतीकवादी' हो । अर्जुन शब्द 'लक्ष्याकार वृत्ति' हो । यो वृत्ति (विचारधारा)ले हामीलाई आफ्नो लक्ष्यतर्फ अघि वढाउँछ ।  एउटा निश्चित लक्ष्य नभई हामी कुनै क्षेत्रमा पनि अघि वढ्न सक्तैनौं । लक्ष्यविहीन व्यक्ति यो भौतिक जगतमा पनि सुखी हुन सक्तैन भने यो भन्दा पनि अलौकिक जगतमा त कसरी सुखी हुन सक्ला ?
अर्जुन उनका लुगा गहना लगाएर, सबै अस्त्र शस्त्रले सुसज्जित भएर, राम्रो रथ चढेर, भगवान कृष्णलाई सारथी (driver) वनाएर युद्धभूमि आए । युद्धभूमिमा आउनु भन्दा पहिले र आइसकेपछि पनि उनमा जोश थियो, 'युद्ध गर्छु र त्यो युद्ध जित्छु' भन्ने । तर युद्ध भूमिमा आएपछि उनको त्यो जोश सबै हरायो, कारण धेरै देखिए पनि एउटा नै थियो, उनको स्वजनप्रतिको मोह । युद्धभूमिमा आउँदा र केही पछिसम्म पनि उनलाई 'दुष्ट' लागेका दुर्योधन आदि कौरव (कौरव त अर्जुन पनि कौरव नै हुन्, उनी कुरूवंशका नै हुन्) उनलाई मोह भए पछि 'स्वजन' भइदिए । उनको 'mood' swing  भयो । अर्जुन भन्छन्, 'हे कृष्ण ! यो युद्धभूमिमा खडा भएका गुरु र भीष्म पितामह सहितका मेरा स्वजनहरुलाई म मार्दिन ।' उनको mood change हुँदा हुँदा उनको मोह यति वढ्यो, उनलाई depression भयो, उनका रौंहरु ठाडा भए, उनको हात खुट्टा फतक्क गल्यो, उनको शरीर थरथर काँप्न थाल्यो, उनको हातवाट गाण्डीव धनु खस्यो, युद्ध लड्नकोलागि खडा भएका उनी थचक्क रथमा वसे, धुरु धुरु रुन थाले । यस्तो संकटपूर्ण वेलामा उनका सारथी कृष्णले अर्जुनको मोह हटाइदिनु भयो ।

त्यसैले, मलाई लाग्छ, हामीलाई त्यस्ता क्षणहरु वरावर आइरहन्छन्, तर हामी त्यसमा ध्यान दिंदैनौं । सबै 'मैले नै गरें, यस्तो गरें, त्यस्तो गरें भन्दै हिंडछौं' अर्जुन जस्तो । यही सन्दर्भमा हामी गीता पढिरहेका छौं ।      

पहिले पनि भनिएकै हो, हाम्रो मनमा लाग्न सक्छ, 'यो पारमार्थिक' ज्ञानको आवश्यकता नै किन पर्यो हामीलाई । यो कुरामा कुनै चित्त बुझ्दो readymade जवाफ त छैन मसँग । तर म यो भन्न सक्छु, यो आध्यात्मिक विनाको भौतिक ज्ञानले हामीलाई वास्तविक सुख दिन सक्तैन । हाम्रो आफ्नै अनुभव लिउँ, हामीले आफूले जानेदेखि अहिलेसम्म कति कामहरु गर्यौं, आफ़्नोलागि, परिवारकोलागि र अझ समाजकोलागि भनेर कति श्रम गर्यौं, त्यो सबै श्रमको फल हाम्रो अनुकूल भएको छ त ? ती फलले हाम्रो चित्त बुझाउन सकेको छ त ? चित्त बुझाउन सकेको भए हामी त्यही कर्म फेरि फेरि किन गरिरहन्छौं त ? मलाई लाग्छ, एउटा कर्म नै फेरि फेरि गरिरहनु भनेको त्यो particular कर्ममा हामी फेल भइरहेका छौं, पास भएको भए हामीलाई सन्तुष्टी भइहाल्थ्यो, हामी चुप लाग्थ्यौं । फेल हुनाको एक मात्र कारण, हामीले आफ्नो काम शुरु गर्नु भन्दा पहिले नै त्यो कामको फल 'यस्तो हुनु पर्छ' भन्ने set गरिसकेका हुन्छौं । सबै चोटी हामीले निस्चित् गरेको जस्तो कर्मको फल आउँछ त ? नआएको वेला हामी रुन्छौँ, कराउँछौं, छाती पिटछौं । अर्को शब्दमा, हामी हरवखत आफू 'नाफा'मा रहन चाहन्छौं, तर त्यो कदापि सम्भव छैन । यही सन्दर्भमा गीता भन्छ, 'सुख-दुःख, लाभ-हानि, जय-पराजयमा सम भएर कर्म गर, त्यसो भए तिमीलाई पाप लाग्दैन ।' पाप भनेको नै दुःख हो । 
 
गीता भन्छ, हामीले कुनै पनि कर्म गर्दा त्यो कर्म सफल हुनकोलागि पाँच कुराको आवश्यकता पर्छ । ती हुन् -- (१) अधिष्ठान (शरीर), (२) कर्ता (कर्म गर्ने विचार), (३) करण (हाम्रा शरीरका विभिन्न अंग, हात, खुट्टा आदि) (४) विभिन्न चेष्टाहरु (कोशीश), (५) दैव । यी पाँचै कुराले राम्रोसँग काम सम्पादन गरे मात्र सफल हुने भयो । तर, हामी कुनै कर्म गर्छौं, त्यो कर्म सफल अथवा असफल भयो भने हामी आफू (कर्ता) मात्रलाई त्यो कर्मको सफलता वा असफलताकोलागि जस अथवा अवजस दिन्छौं । त्यही नै हाम्रो गल्ति हो । अरु चारको पनि सहायता लिएर कर्म गर्ने, त्यसको सफलता अथवा असफलताकोलागि आफूलाई मात्र जिम्मेवार मान्ने ?

134 No. 101 श्लोक ४० इन्द्रियहरु, मन र बुद्धिलाई यो कामनाको वासस्थान भनिएका छन् ।

No. 101
श्लोक ४०
इन्द्रियहरु, मन र बुद्धिलाई  यो कामनाको वासस्थान भनिएका छन् । यो कामना यी (इन्द्रियहरु, मन र बुद्धि) द्वारा ज्ञान ढाकेर देहाभिमानी मनुष्यलाई मोहित गर्छ ।
'काम' पाँच ठाउँमा देखिन्छ -- (१) पदार्थमा, (२) इन्द्रियहरुमा, (३) मनमा, (४) बुद्धिमा र (५) मानिएको अहम् (म) अर्थात् कर्तामा । यी पाँच ठाउँमा देखिए पनि काम मानिएको 'अहम्' (चिज्ज्डग्रन्थि) मा नै रहन्छ । तर माथि वर्णन भएका पांच ठाउँमा देखिनुको कारण नै यिनीहरुलाई यो कामको वास-स्थान भनिएको हो ।
समस्त क्रियाहरु शरीर, इन्द्रियहरु, मन र बुद्धिद्वारा नै  हुन्छन् । यी चारै कर्म गर्ने साधन हुन् । यदि यिनीहरुमा काम रहन्छ भने यो कामले पारमार्थिक कर्म गर्न दिंदैन हामीलाई । यही कारण, कर्मयोगी निष्काम, निर्मम, र अनासक्त भएर शरीर, इन्द्रियहरु, मन र बुद्धिद्वारा अन्तःकरणको शुद्धिकोलागि कर्म गर्छ ।
वास्तवमा, काम अहम्- (जड-चेतनको तादात्म्य)मा नै रहन्छ । अहम् अर्थात् 'म'पन केवल मानिएको हो । 'म अमुक वर्ण, आश्रम, सम्प्रदायको हुँ' भन्नु केवल मान्यता हो । यस्तो मान्यता (मानिएको सम्बन्ध)मा नै कामना रहन्छ । कामनामा नै सबै पाप हुन्छन् । पाप त फल भोगाएर सकिन्छ, तर 'अहम्'सँग कामना नहटी नयाँ नयाँ पाप भइरहन्छन् । यसैले कामनाले  नै जीवलाई वांधने हो ।
कामनाले मनुष्य जे गर्नु पर्ने हो, त्यो नगरी गर्नु नहुने काम कारवाही गर्छ । यस्तो किसिमले कामना देहाभिमानी व्यक्तिलाई मोहित गर्छ ।

कामना उत्पन्न भएपछि मनुष्य पहिले इन्द्रियहरु द्वारा भोग भोग्ने इच्छा  गर्छ । पहिले त भोग पदार्थ पाइंदैन, फेरि पाइहालिए पनि ती टिक्ने होइनन् । यसैले ती भोग-पदार्थ कुनै किसिमले पाउनकोलागि व्यक्ति  धेरै प्रकारको उपाय सोच्छ । यसरी कामना इन्द्रियहरुलाई संयोगजन्य सुखको प्रलोभनमा लगाउँछ । त्यसपछि इन्द्रियहरू मनलाई आफूतिर खिंचछन् र  इन्द्रियहरू र मन मिलेर बुद्धिलाई आफूतिर खिंचछन् । यसरी काम देहाभिमानीको ज्ञान दवाएर इन्द्रियहरु, मन र बुद्धि द्वारा उसलाई मोहित गर्छ तथा उसलाई पतनको गडढामा जाकिदिन्छ ।
राम्रो नोकर तिरस्कारपूर्वक  निकाल्यो भने मालिकले  फेरि राम्रो नोकर पाऊँदैन । त्यसैले असल मालिकको तिरस्कार गर्यो भने उसलाई फेरि असल मालिक पाइंदैन । त्यस्तै, मनुष्य परमात्मप्राप्ति नगरी शरीरलाई सांसारिक भोग र संग्रहमा खेर फाल्छ भने उसलाई पछि मनुष्य शरीर प्राप्त हुँदैन । अन्तःकरण अशुद्ध भयो भने असल वस्तुको तिरस्कार हुन्छ, अन्तःकरण अशुद्ध हुन्छ कामनावाट । यही कारण सब भन्दा पहिले कामनाको नाश गर्नु पर्छ ।
यो काम देहाभिमानी पुरुषहरुलाई नै मोहित गर्छ । शरीरलाई 'म' र 'मेरो' मान्ने नै देहाभिमानी हुन्छ । भगवानले आफ्नो उपदेशको आरम्भमा (दोस्रो अध्यायमा) देह (शरीर) र देही (शरीर--आत्मा)को विवेचन गर्नुभयो । देह र देही दुवै छुट्टा-छुट्टै छन् -- यो त सबैको अनुभव नै छ । तैपनि यो काम ज्ञान ढाकेर देहाभिमानीलाई वांध्छ, देहीलाई (स्वरूप) वाँध्दैन । देहसँग आफ्नो सम्बन्ध नमान्नेलाई काम वाँध्न सक्तैन । देहलाई 'म', 'मेरो' र 'मेरोलागि' मान्दा नै मनुष्य उत्पत्ति-विनाशशील जड वस्तुहरुलाई महत्व दिन्छ; जसले उसमा जडताको राग उत्पन्न हुन्छ । जडतासँग सम्बन्ध भएपछि कामनाको उत्पत्ति हुन्छ । कामना उत्पन्न भएपछि जीव मोहित भएर संसार-बन्धनमा पर्छ ।

133 No. 100 श्लोक ३९ हे कुन्तिनन्दन ! यो अग्नि जस्तो कहिले पनि तृप्त नहुने र विवेकीहरुको कामनारूप नित्य वैरी द्वारा

No. 100

श्लोक ३९ 

हे कुन्तिनन्दन ! यो अग्नि जस्तो कहिले पनि तृप्त नहुने र विवेकीहरुको कामनारूप नित्य वैरी द्वारा व्यक्तिहरुको विवेक ढाकिएको  छ । 

घिउको आहुति दिइरहँदा पनि अग्नि कहिले  तृप्त नभए जस्तै कामनाको अनुकूल भोग भोगिरहँदा पनि कामना कहिले पनि तृप्त हुँदैन, झन् झन् वढि नै रहन्छ । आफ्नो अगाडि जुन सुकै वस्तु आए पनि कामनाले, अग्निले जस्तो, त्यो वस्तुलाई खाइरहन्छ । 

भोग र संग्रहको कामना कहिले पनि पूरा हुँदैन । जति भोग गरे पनि, जति संग्रह गरे पनि तिनीहरुप्रतिको भोक त्यति नै वढी रहन्छ । कारण, कामना जडको हुन्छ, त्यसैले जडको सम्बन्धले कामना कहिले पनि हराउँदैन, झन् झन् वढ्दै जान्छ । 

जडको सम्बन्धले हुने सुखको चाहलाई 'काम' भन्छन् । अन्तःकरणमा दबिइरहेका अनेक सूक्ष्म कामनाहरुलाई 'वासना' भन्छन् । वस्तुहरुको आवश्यकता देखिनु 'स्पृहा' हो ।वस्तुमा उत्तमता र प्रियता देखिनु 'आसक्ति' हो । वस्तु पाउने सम्भावना राख्नु 'आशा' हो । अरु धेरै वस्तु पाइयोस् भन्नु 'लोभ' या 'तृष्णा' हो । वस्तुको इच्छा धेरै भयो भने 'याचना' हुन्छ । यी सबै 'काम'का नै धेरै रूप हुन् । 

यो श्लोकमा आएको 'ज्ञानिन:' पद साधनमा लागेका विवेकशील साधकहरुकोलागि भनिएको हो । किनकि विवेकशील साधक नै यो कामरूप वैरीलाई चिन्दछ र  त्यसको नाश गर्छ । साधन नगर्ने अरु व्यक्ति त यसलाई चिन्दै चिन्दैनन्, उल्टै यो कामनालाइ सुख दिने ठान्छन् । 

भगवान भन्नुहुन्छ, यो काम विवेकशील साधकहरुको नित्य वैरी छ ।कामना आउने वित्तिकै विवेकशील साधकलाई लाग्छ, अव कुनै आपत् आउन लाग्यो । कामनामा संसारको आश्रय र महत्व रहन्छ । यस्तो आश्रय र महत्व नै पारमार्थिक मार्गमा ठूलो वाधा हो । विवेकी साधकलाई कामना सँधै विझिरहन्छ । परिणाममा त कामनाले  सबैलाई  दुःख दिन्छ । यसैले यो साधकको नित्य वैरी हो । 

भोगहरुमा लागेका अज्ञानीहरुलाई  यो कामना मित्र जस्तो लाग्छ । किनकि कामनाले नै भोगहरुमा सुख हुन्छ । परन्तु परिणाममा उनीहरुलाई दुःख, सन्ताप प्राप्त हुन्छ । यही कारण, वास्तवमा यो कामना अज्ञानीहरुको पनि नित्य वैरी हो । तर अज्ञानीहरुलाई यो कुराको जागृति हुँदैन, तर विवेकशील साधकहरुलाई हुन्छ । 

विवेक सम्पूर्ण प्राणीहरुमा हुन्छ । पशु-पक्षी आदि योनिमा यो विवेक विकसित हुँदैन, खालि जीवन-निर्वाहसम्ममा सीमित हुन्छ । तर कामना नभएको मनुष्यमा यो विवेक विकसित हुन्छ  । विवेक ढाकिने नै कामनाले हो ।विवेक ढाकिंदा मनुष्य आफ्नो लक्ष परमात्मप्राप्ति तर्फ अघि वढ्न सक्तैन, किनकि कामना उसलाई चिन्मय तिर जान दिंदैन, जड तत्वमा नै लगाइराख्छ ।

आफूसँग कसैले अप्रिय र असत्य वोले हामीलाई नराम्रो लाग्छ र प्रिय र सत्य वोले हामीलाई राम्रो लाग्छ । छोटोमा, राम्रो-नराम्रो, सद्गुण-दुर्गुण, कर्तव्य-अकर्तव्य आदिको ज्ञान अर्थात् विवेक सबै मनुष्यमा रहन्छ । यसो हुँदा पनि ऊ अप्रिय र असत्य वोल्छ, आफ्नो कर्तव्यको पालन गर्दैन । यसको कारण, कामनाले उसको विवेक ढाकिएको हुन्छ ।

कामनाले गर्दा नै 'त्यागमा सुख हुन्छ' -- भन्ने विवेक काम गर्दैन । हामीलाई लाग्छ, भोग-पदार्थ पाइए सुख हुन्छ, तर वास्तवमा सुख कामनाको त्यागमा छ । हामी सबैलाई थाहा छ, जाग्रत र स्वप्नमा भोग पदार्थसँग सम्बन्ध रहँदा सुख र दुःख दुवै हुन्छ, तर सुषुप्ति (गाढा निद्रा)मा भोग-पदार्थहरुसँग सम्बन्ध नरहँदा सुख मात्रै हुन्छ, दुःख हुँदैन । यसैले गाढा निद्रावाट बिउँझेपछि हामी भन्छौं, 'म वडो सुखसँग सुतें' । फेरि जाग्रत र स्वप्नमा थकाइ लाग्छ, तर सुषुप्तिमा थकाइ मर्छ, शरीर चंगा हुन्छ । यसवाट थाहा हुन्छ, भोग-पदार्थको त्यागमा नै सुख छ ।

धनको कामना हुने वित्तिकै धन मनद्वारा पक्डिइन्छ । वाहिरवाट धन पाइएपछि मनले समातेको धनको त्याग हुन्छ र सुख भए जस्तो लाग्छ । वास्तवमा सुख वाहिरवाट धन पाउँदा हुने भएन, मनले समातेको धनको त्यागवाट नै हुने  भयो । धन पाउँदा सुख हुने भए त्यो धन रहुन्जेल कहिले पनि दुःख हुनु नपर्ने, तर धन रहँदा दुःख भैरहने  हाम्रो अनुभव छ ।
हामीले कुनै कामना गरेपछि हामी पराधीन हुन्छौं । जस्तो, हाम्रो मनमा घडीको कामना भयो । कामना हुने वित्तिकै त्यो घडीको अभावको दुःख हुन थाल्छ, यो घडीको पराधीनता हो । हामी विचार गर्छौं, 'पैसा भए अहिले नै घडी किन्थें' अर्थात् पैसा हुँदा हामी आफूलाई स्वाधीन र पैसा नहुँदा पराधीन मान्छौं । तर यो मान्यता विल्कुल गलत छ । पैसा पाउँदा घडीको पराधीनता त रहेन, त पैसाको पराधीनता त रही नै हाल्यो, किनकि पैसा पनि 'पर' नै हो, 'स्व' होइन । वस्तुको कामना हुँदा वस्तुको पराधीन भइयो, पैसाको कामना हुँदा पैसाको पराधीन भइयो । पराधीनता त जस्ताको तस्तै रह्यो । तर कामनाले विवेक ढाकिएको हुनाले हामीलाई वस्तुको पराधीनताको अनुभव त भयो, तर पैसाको पराधीनताको अनुभव भएन, पैसाको कारण हामीलाई स्वाधीनताको अनुभव भयो । स्वाधीनताको रूपमा देखिने पराधीनतावाट छुट्न निकै कठिन छ ।
संसार क्षणभंगुर छ । शरीर, धन, जमीन, घर जति सबै संसारिक वस्तुहरु प्रतिक्षण विनाशतिर गैरहेका छन्, हामीवाट टाढा भैरहेछन् । तर भोग भोग्दा तिनीहरुको क्षणभंगुरताको ज्ञान रहँदैन । पदार्थहरुलाई नित्य र स्थिर नमानी सुखभोग हुनै सक्तैन । साधारण मनुष्यहरुको कुरा के गर्नु, साधकहरु पनि वेला वेलामा भोगहरुलाई नित्य र स्थिर मान्दा फस्छन् । यसको कारण, कामना द्वारा विवेक ढाकिनु नै हो ।
हामीलाई महान् वनाउने उद्देश्यले भगवान कामनालाई 'नित्यवैरी' भनेर त्यसवाट वच्न हामीलाई सावधान पनि गर्नुहुन्छ । किनकि कामना नै सम्पूर्ण पापहरु र दुःखहरुको जड हो । संसारको विनाशी पदार्थहरुको कामना गर्ने मनुष्यलाई दुःख आफैं आउँछ ।
हामी दुःखवाट वच्न खोज्छौं, तर दुःखहरुको कारण 'काम' (कामना)वाट वच्न खोज्दैनौं । कामना हुँदा हामीलाई स्वप्नमा पनि सुख हुँदैन । भगवान भन्नुहुन्छ, भोग-पदार्थहरुवाट कामना कहिले पनि पूरा हुँदैन । जति जति भोग-पदार्थ पाइन्छन्, त्यति त्यति कामना वढ़छन् र जति जति कामना वढ़छन्, त्यति त्यति धेरै अभावको अनुभव हुन्छ, अभाव मेटाउनकोलागि हामी पाप-कर्ममा प्रवृत्त हुन्छौं । यस्तो किसिमले, नाशवान् सुखको कामना गर्ने मनुष्य यो लोक र परलोक -- दुवै लोकहरु महान् दुःखरुप वनाउँछ ।

साधनको मुख्य वाधा नै संयोगजन्य सुखको कामना हो । यो वाधा हाम्रो साधनमा धेरै पछिसम्म रहन्छ । साधकले जहाँ सुख लिन खोज्छ, ऊ त्यहीं अड्किन्छ । यति सम्म कि, समाधिको सुख लिंदा पनि ऊ अड्किन्छ । सात्विक सुखको कामना, आसक्ति पनि बन्धनकारक नै हुन्छ । यही कारण, भगवानले यो श्लोकमा संयोगजन्य सुखको कामनालाई  साधकको 'नित्य वैरी' वताउनु भएको छ ।            
                              

132 No. 99 श्लोक ३८ (अध्याय ३) जस्तो धुवाँले अग्नि र मलले दर्पण ढाकिन्छ, जस्तो सालले गर्भ ढाकिएको हुन्छ,

No. 99

श्लोक ३८ (अध्याय ३) 

जस्तो धुवाँले अग्नि र मलले दर्पण ढाकिन्छ, जस्तो सालले गर्भ ढाकिएको हुन्छ, त्यस्तै त्यो कामना द्वारा यो (ज्ञान अर्थात् विवेक) ढाकिएको छ ।

विवेक बुद्धिमा प्रकट हुन्छ । बुद्दि तीन किसिमको हुन्छ -- सात्विकी, राजसी र तामसी । सात्विकी बुद्धिमा कर्तव्य-अकर्तव्यको ठीक ठीक ज्ञान हुन्छ, राजसी बुद्धिमा कर्तव्य-अकर्तव्यको ठीक ठीक ज्ञान हुँदैन र तामसी बुद्धिमा सबै वस्तुको विपरीत ज्ञान हुन्छ । कामना उत्पन्न हुँदा सात्विकी बुद्धि पनि धुवाँले अग्नि ढाकिएको जस्तो ढाकिन्छ, राजसी र तामसी बुद्धिको कुरा गर्न नै के पर्यो र । 

संसारिक इच्छा उत्पन्न हुने वित्तिकै पारमर्थिक मार्गमा धुवाँ हुन्छ । यदि यो अवस्थामा सावधानी भएन भने कामना अझ धेरै वढ्छ । कामना वढेपछि पारमर्थिक मार्ग अँध्यारो भैहाल्छ । 

उत्पत्ति-विनाशशील जड वस्तुहरुमा प्रियता, महत्ता, सुखरूपता, सुन्दरता, विशेषता, आदि देखिंदा नै कामना पैदा हुन्छ । यही कामनाले  मूलदेखि  नै विवेकलाई ढाकिदिन्छ । अरु शरीरहरु भन्दा मनुष्य शरीरमा विवेक विशेषरूपले प्रकट छ; किन्तु जड पदार्थहरुको कामनाको कारणले यो विवेकले काम गर्दैन ।कामना उत्पन्न हुने वित्तिकै विवेक धमिलो हुन्छ । धुवाँले ढाकिइरहँदा पनि अग्नि काम गर्न  सक्छ, त्यस्तै हामी आफूमा कामना पैदा हुने वित्तिकै आफैं सावधान भयौं भने हाम्रो विवेकले काम गर्न सक्छ । 

पहिलो अवस्थामा नै कामना नष्ट गर्ने उपाय हो -- कामना उत्पन्न हुने वित्तिकै हामीले विचार गर्नु पर्यो, हामीले कामना गरेको वस्तु हामीसँग सँधै रहँदैन । त्यो वस्तु (हामीले कामना गरेको) पहिले पनि हामीसँग थिएन, पछि पनि हामीसँग रहने छैन र हालमा पनि हामीसँग निरन्तर वियोग भइरहेछ ।यस्तो विचार गरे कामना रहँदैन । 

मयलले ढाकेपछि दर्पणमा प्रतिविम्व देखिन वन्द भए जस्तै कामनाको वेग वढेपछि 'म साधक हुँ ; मेरो  यो कर्तव्य र यो अकर्तव्य हो' -- भन्ने ज्ञान पनि रहँदैन । अन्तःकरणमा नाशवान् वस्तुहरुको महत्व धेरै हुँदा हामी तिनै वस्तुहरुको भोग र संग्रहको कामना गर्न थाल्छौं । जति जति यो कामना वढ्छ, त्यति त्यति हाम्रो पतन हुन्छ । 

वास्तवमा, महत्व वस्तुको होइन, त्यसको उपयोगको हुन्छ । रुपियाँ, विद्या, वल आदि महत्वपूर्ण वस्तु होइनन्, महत्व यिनीहरुको सदुपयोगमा छ ।  यो  राम्ररी बुझिएपछि ती वस्तुहरुको कामना रहँदैन; किनकि जति वस्तुहरु हामीसँग छन्, ती वस्तुहरुको सदुपयोग गर्ने जिम्मेवारी हाम्रो हो । ती वस्तुहरुको नै सदुपयोग गर्नु छ भने फेरि धेरै कामनाले के होला ? कारण कि कामना मात्रवाट वस्तुहरु पाइंदैन । 

संसारिक वस्तुहरुको महत्व कम हुँदै गएपछि हाम्रो अन्तःकरणमा परमात्माको महत्व झन् झन् वढ्दै जान्छ । संसारिक वस्तुहरुको महत्व पूरापूर नष्ट भएपछि परमात्माको अनुभव हुनेछ र कामना सर्वथा नष्ट हुनेछ । 

दर्पणमा  मयल हुँदा त्यो दर्पणमा आफ्नो मुख देखिंदैन, तर 'यो दर्पण हो' भन्ने ज्ञान त रहन्छ । सालले ढाकिएको गर्भमा छोरो छ कि छोरी छ भन्ने थाहा नभए जस्तै कामनाको तेस्रो अवस्थामा कर्तव्य-अकर्तव्यको पत्तो लाग्दैन अर्थात् हाम्रो विवेक पूरै ढाकिन्छ । विवेक ढाकिएपछि  कामनाको वेग वढ्छ ।

कामनामा वाधा भयो  भने क्रोध उत्पन्न हुन्छ । फेरि क्रोधवाट सम्मोह उत्पन्न हुन्छ । सम्मोहवाट बुद्धि नष्ट हुन्छ । बुद्धि नष्ट भएपछि मनुष्य गर्नु पर्ने काम गर्दैन र झूठ, कपट, अन्याय, वेइमानी, पाप, अत्याचार जस्ता गर्नु नहुने काम गर्छ । यस्ता व्यक्तिलाई भगवान पनि मनुष्य भन्न चाहनु हुन्न ।कामनामा तदाकार हुने त्यस्ता व्यक्तिको निश्चय हुन्छ, 'सांसारिक सुख भन्दा ठूलो अरु केही छँदै छैन ।' 

यो श्लोकमा भगवानले काम द्वारा विवेक ढाकिने विषयमा तीन दृष्टान्त दिनुभयो ।अर्को शब्दमा, यो भन्न खोजिएको छ, काम द्वारा विवेक ढाकिएपछि कामका  तीनै अवस्थाहरु प्रबुद्ध हुन्छन् । 
कामना उत्पन्न भएपछि कामनाका तीन अवस्थाहरु सबैका हृदयमा आउँछन् । परन्तु कामनालाइ नै सुखको कारण मानेर उसको आश्रय लिंदा कामनालाई त्याज्य र कामनालाई मानिंदैन र कामनालाई चिन्न पनि सकिंदैन । परन्तु परमार्थमा रुचि राख्ने तथा साधन गर्ने व्यक्ति यो कामनालाई चिन्न सक्छन् । कामनालाई चिन्न सक्ने व्यक्ति कामनाको नाश पनि गर्न सक्छन् । 

यो श्लोकमा भएको कामनाको तीन अवस्थाहरुको वर्णन पनि कामनालाई नाश गर्ने उद्देश्यले नै भएको हो । वास्तवमा कामना उत्पन्न भएपछि यो यति छिटो वढ्छ कि भन्नै सकिंदैन । कामना वढेपछि अनर्थ परम्परा नै चल्छ । सम्पूर्ण पाप, सन्ताप, दुःख, आदि कामनावाट नै हुन्छन् । त्यसैले हामीले आफ्नो विवेकलाई जाग्रत गरेर कामनालाई उत्पन्न नै हुन दिनुहुन्न । यदि कामना उत्पन्न भइ नै हालेछ भने पनि यसलाई पहिलो या दोस्रो अवस्थामा नै नाश गरिदिनु पर्छ, तेस्रो अवस्थामा आउन कहिले पनि दिनुहुन्न । 

जहाँ धुवाँ हुन्छ, त्यहाँ अग्नि हुन्छ । धुवाँले छोपिंदा पनि अग्निको, मयलले ढाकिंदा पनि दर्पणको र सालले वेरिए पनि गर्भको ज्ञान भए जस्तै कामले ढाकिंदा पनि विवेक (कर्तव्य-अकर्तव्यको ज्ञान)  सबैमा  रहन्छ, तर कामनाले गर्दा यो विवेक उपयोगमा आउँदैन । 

शास्त्र अनुसार, परमात्मा प्राप्तिमा तीन वाधक छन् -- मल, आवरण र विक्षेप । यी दोष असत् संसारसँगको सम्बन्धले उत्पन्न हुन्छन् । असत् सँग सम्बन्ध कामनाले हुन्छ । अतः मूल दोष कामना नै  हो । कामना सर्वथा नाश भएपछि असत् सँग सम्बन्ध-विच्छेद हुन्छ । असत् सँग सम्बन्ध-विच्छेद भएपछि सबै दोष मेटिन्छन्, पूर्ण विवेक प्रकट हुन्छ । 

परमात्मप्राप्तिमा मुख्य वाधा -- सांसारिक पदार्थहरुलाई नाशवान् मानी मानी तिनलाई महत्व दिनु । अन्तःकरणमा विनाशी पदार्थहरुको महत्व रहुन्जेल, संसारिक पदार्थहरुमा सत्यबुद्धि, सुन्दरबुद्धि र सुखबुद्धि रहुन्जेल मल, विक्षेप र आवरण -- तीनै दोषहरु रहन्छन् । यी  तीन मध्ये पनि मल दोष सबभन्दा ठूलो वाधक हो । मलदोषको मुख्य कारण कामना नै हो; किनकि कामनावाट नै सबै पाप हुन्छन् ।  साधकले 'म अव पाप गर्दिन' भन्ने वित्तिकै उसका सबै दोषहरुको जड नै काटिन्छ र मलदोष मेटिन थाल्छ । पूरापूर निष्काम भएपछि मल दोष नष्ट हुन्छन् ।                    
कामना भएका व्यक्तिलाई आफ्नो कल्याण गर्नु छ भने कर्मयोगको पालन गर्नु पर्छ । सानो भन्दा सानो अथवा ठूलो भन्दा ठूलो हरेक क्रिया गर्दा 'म यो काम किन गरिरहेछु र कसरी गरिरहेछु' भन्ने सावधानी हुनु पर्छ हामीलाई । त्यसो भए हामीमा परमात्मप्राप्तिको उद्देश्य जाग्रत हुन्छ । आफ्नो उद्देश्यमा निरन्तर सजग रहन सके हामीवाट अशुभ कर्म हुँदैनन् र शुभ कर्महरुमा पनि आसक्ति र फलेच्छाको त्याग भएपछि निष्कामताको अनुभव हुन्छ, जसवाट हाम्रो आफ्नै कल्याण हुन्छ ।

परमात्मप्राप्तिमा कामना नै खास वाधक छ । पानीले भरिएको घडामा हामीले दुई काम गर्नु छ -- (१) घडा खालि गर्नु छ, (२) त्यो घडामा आकाश भर्नु छ । तर, हामीलाई दुई काम गर्नु छैन, एकै काम गरे पुग्छ -- घडा खालि गर्ने । घडावाट पानी निकाले आकाश आफैं भरिन्छ । त्यस्तै, कामनाको त्याग गर्ने र परमात्मा प्राप्त गर्ने दुई काम छैन हाम्रोलागि । कामनाको त्याग गर्न सके परमात्मा प्राप्ति आफैं हुन्छ हामीलाई । कामनाको कारणले मात्रै परमात्मा अप्राप्त जस्तो देखिएको छ हामीलाई ।

131 No. 98 अघिल्लो श्लोकको नै वांकी कामना सम्पूर्ण पापहरु, संतापहरु, दुःखहरुको जड हो ।

No. 98 

अघिल्लो श्लोकको नै वांकी 

कामना सम्पूर्ण पापहरु, संतापहरु, दुःखहरुको जड हो । कामना गर्ने व्यक्तिलाई वर्तमानमा सुख हुने कुरै छोडौं, स्वप्नमा पनि सुख हुँदैन । हामीले खोजेको जस्तो नहुनु र नखोजेको जस्तो हुनुलाई नै दुःख भन्छन्। 'खोज्नु' र 'नखोज्नु'लाई छोडे दुःख नै कहाँ हुन्छ र ?


नाशवान् पदार्थको इच्छालाई नै कामना भनिन्छ । अविनाशी परमात्माको इच्छा कामना जस्तो देखिए पनि वास्तवमा कामना होइन, किनकि उत्पत्ति-विनाशशील पदार्थहरुको कामना कहिले पूरा हुँदैन, झन् झन् वढ्दै जान्छ । तर परमात्माको इच्छा (परमात्मप्राप्ति भएपछि) पूरा हुन्छ । अर्को कुरो, कामना आफू भन्दा छुट्टै वस्तुको हुन्छ, परमात्मा आफ़ूदेखि अभिन्न छ। यस्तै प्रकारले सेवा, (कर्मयोग), तत्वज्ञान (ज्ञानयोग) र भगवत्प्रेम (भक्तियोग) को इच्छा पनि कामना होइन । परमात्मप्राप्तिको इच्छा वास्तवमा जीवनको वास्तविक आवश्यकता (भोक) हो । जीवलाइ  आवश्यकता परमात्माको छ, तर विवेक दविएकोले ऊ नाशवान् पदार्थहरुको कामना गर्न लाग्छ ।


यस्तो पनि शंका हुन सक्छ -- कामना विना संसारको काम कसरी हुन्छ ? 

यसको समाधान: संसारको काम वस्तुहरुवाट, क्रियाहरुवाट चल्छ, मनको कामनाले होइन । वस्तुहरुको सम्बन्ध कर्महरुसँग हुन्छ, चाहे ती कर्म पूर्वका (प्रारब्ध) हुन् अथवा वर्तमानका (उद्योग) । कर्म वाहिर हुन्छन्, र काम भित्र । वाहिरी कर्महरुको फल पनि (वस्तु, परिस्थितिको रूपमा) वाहिर हुन्छन् ।


कामनाको सम्बन्ध फल - (पदार्थ,परिस्थिति) सँग छँदै छैन । कर्मको अधीनको  वस्तु कामना गरेर कसरी प्राप्त हुन सक्छ ? संसारमा देखिएकै छ, धनको कामना भएर पनि व्यक्तिहरुको दरिद्रता मेटिएको छैन । जीवन्मुक्त महापुरुष वाहेक अरु सबै व्यक्ति वांचने इच्छा हुँदा हुँदै मरेकै छन् । चाहे हामी कामना गरौँ या नगरौं, जुन फल पाइन्छ, त्यो पाइएरै छोड्छ । अर्को शब्दमा, जे हुने हो, त्यो भइहाल्छ, जे हुने छैन, त्यो हुँदै हुँदैन,हामीले कामना गरे पनि नगरे पनि । कामना नगर्दा पनि प्रतिकूल परिस्थिति आए जस्तै अनुकूल परिस्थिति पनि आइहाल्छ । रोगको कामना नगर्दा रोग आए जस्तै कामना नगरे पनि निरोग रहन्छ । निन्दा-अपमानको कामना नगर्दा पनि निन्दा-अपमान हुन्छ, कामना नगर्दा पनि प्रशंसा-सम्मान हुन्छ । प्रतिकूल परिस्थिति कर्महरुको फल भए जस्तै अनुकूल परिस्थिति पनि कर्महरुको नै फल हो । यही कारण वस्तु, परिस्थिति आदि प्राप्त हुनु अथवा नहुनु जस्ता अवस्था कर्महरुसँग सम्बन्ध राख्छन्, कामनासँग होइन। 


कामना तात्कालिक सुखको र भावी सुखको हुन्छ । भोग र संग्रहको इच्छा तात्कालिक सुखको कामना हो, कर्मफलप्राप्तिको इच्छा भावी सुखको कामना हो । यी दुवै कामनाहरुमा दुःखै दुःख छ । कारण कि कामना केवल वर्तमानमा मात्रै दुःख दिने नभई भावी जन्मको कारण भएकोले भविष्यमा पनि दुःख दिन्छ । त्यसैले,यी दुवै कामनाहरुको त्याग गर्नु पर्छ ।


कर्म र विकर्म (निषिद्धकर्म) -- दुवै कामनाको कारण हुन्छन् । कामनाको कारण 'कर्म' हुन्छन् र कामना धेरै वढेपछि 'विकर्म' हुन्छन् । कामनाको कारण नै असत् मा दृढ आसक्ति हुन्छ । कामना नरहँदा असत् सँग सम्बन्ध-विच्छेद हुन्छ । 


कामना पूरा भएपछि हामी त्यही अवस्थामा आउँछौ, जुन अवस्थामा हामी कामना उत्पन्न हुनु भन्दा पहिले थियौं । जस्तो, कसैको मनमा 'मलाई सय रुपियाँ भए हुन्थ्यो' भन्ने कामना उत्पन्न भयो । यो भन्दा पहिले त्यो व्यक्तिको मनमा सय रुपियाँ पाउने कामना थिएन; त्यसैले अनुभवले नै थाहा भयो, कामना उत्पन्न हुने रहेछ । सय रुपियाँ पाउने कामना हुनुभन्दा पहिलेसम्म त्यो व्यक्तिको 'निष्कामता'को स्थिति थियो । त्यो व्यक्तिले कामना पूरा गर्न उद्योग गरेपछि, प्रारब्धद्वारा उसलाई सय रुपियाँ पनि मिलेपछि उसको स्थिति फेरि 'निष्कामता'को हुन्छ । तर संसारिक सुखको आसक्तिले गर्दा त्यो स्थिति अडिरहँदैन, फेरि नयाँ कामना उत्पन्न हुन्छ, 'मलाई एक हजार रुपियाँ भए हुन्थ्यो' भन्ने । यस्तो किसिमले न कामना पूरा हुन्छ, न तृप्ति नै हुन्छ । खालि परिश्रम सिवाय केही हात लाग्दैन ।


'काम' अर्थात् संसारिक पदार्थहरुको कामना त्याग गर्न गाह्रो छैन । राम्रोसँग विचार गर्दा कामना छुट्न नसक्ने हो कि टिक्न नसक्ने हो ? हामीलाई थाहा हुन्छ, वास्तवमा कामना टिक्दै टिक्दैन । कामना त निरन्तर मेटिइरहन्छ; तर हामी नयाँ नयाँ कामनाहरु गरेर त्यसलाई अड़ाई राख्छौं । कामना उत्पन्न हुन्छ र उत्पन्न हुने वस्तु स्वतः मेटिन्छ । यदि हामीले  नयाँ नयाँ कामना नगरे हाम्रो पुरानो कामना पूरा भएर अथवा कहिले पूरा पनि नभएर स्वतः मेटिन्छ । 


कामनाको पूर्ति सबैकोलागि र सँधैकोलागि हुने होइन, तर कामनाको त्याग सबैकोलागि र सँधैकोलागि हुन्छ, किनकि कामना अनित्य र त्याग नित्य छ। निष्काम हुन के गाह्रो छ ? हामी आफैं निर्मम हुँदैनौं, यही नै गाह्रो छ । यदि हामी निर्मम भयौं भने निष्काम हुने शक्ति हामीमा आउँछ र निष्काम भएपछि असंग हुने शक्ति आउँछ । निर्ममता, शान्ति र असंगता आएपछि निर्विकारता, शान्ति र स्वाधीनता स्वतः आउँछ । 


हामी कामनाको त्याग गर्न धेरै गाह्रो मान्छौं । तर यो पनि विचार गर्नु पर्यो हामीले, कामनाको त्याग गर्न गाह्रो भए कामना पूरा गर्न सजिलो छ त ?  संसारमा आजसम्म सबै कामनाहरुको पूर्ति कसैलाई भएको छ ?  सबै कामनाहरुको पूर्ति आजसम्म कसैलाई भएको छैन, किनकि कामनाहरुको पूर्ति हुन सम्भव नै छैन । कामनाहरुको त्याग हुन सक्छ, तर कामनाहरुको पूर्ति हुन सक्तैन । यसैले कामनाहरु पूर्ति गर्नतिर लाग्नु भन्दा कामनाहरुको त्याग गर्नु सजिलो छ । हामीवाट हुने गल्ति नै यही हो, गर्न नसकिने काम गर्न हामी खोज्छौं, तर गर्न सकिने काम गर्न हामी इच्छुक छैनौं ।
कामनाहरुका चार भेद छन् --
(१) शरीर-निर्वाहमात्रकोलागि आवश्य कामनाहरु पूरा गर्ने ।
(२) हाम्रा व्यक्तिगत तर न्याययुक्त, तर हामीवाट पूरा हुन नसक्ने, कामना   हामीले भगवानलाई अर्पण गरेर मेटाउने ।
(३) अरुको न्यायुक्त र हितकारी, हामीवाट पूरा हुन सक्ने कामना कुनै छ भने, हामीले पूरा गरिदिने । यसरी अरुको कामना पूरा गरेपछि हामीमा आफ्नो कामना त्याग गर्ने सामर्थ्य आउँछ ।
     

(४) माथिका तीन कामनाहरु वाहेक अरु सबै कामनाहरु विचारद्वारा मेटाइदिने ।
कति वैरी त भेट-पूजा गरे शान्त हुन्छन्, तर 'काम' वैरी केही गरे पनि शान्त हुँदैन, यसलाई कहिले पनि तृप्ति हुँदैन ।
 
केही धन पाएपछि अरु धन पाउने कामना हामीमा भए जस्तै जति नै भोग पाइए पनि हाम्रो कामना झन् झन् वढिरहन्छ । यही कारण यसलाई 'महाशन:' भनिएको छ । 
कामना सम्पूर्ण पापहरुको कारण हो । चोरी, डकैती, हिंसा, आदि सबै पापहरु कामनावाट नै हुन्छन् । यसैले यो कामनालाई 'महापाप्मा' भनिएको छ ।
कामना उत्पन्न हुने वित्तिकै मनुष्य आफ्नो कर्तव्यदेखि, आफ्नो स्वरूपदेखि र आफ्नो इष्ट (भगवान) देखि विमुख हुन्छ र नाशवान् संसारको सम्मुख हुन्छ । नाशवान् को सम्मुख हुँदा पाप हुन्छ र पापहरुका फलस्वरुप उसलाई नरकहरु तथा नीच योनिहरु प्राप्त हुन्छ ।
 
संयोगजन्य सुखको कामनाले नै संसार सत्य जस्तो लाग्छ र प्रतिक्षण वदलिने शरीर आदि पदार्थ 'स्थिर' (सँधै रहिरहने) जस्ता देखिन्छन् । संसारिक पदार्थलाई स्थिर मान्दा नै मनुष्य ती पदार्थहरुवाट सुख भोग्छ र ती वस्तुको इच्छा गर्छ । सुख-भोग गरेको वेला संसारको क्षणभंगूरतातिर दृष्टि नै जाँदैन र हामी भोगलाई र आफूलाई पनि 'स्थिर' (सँधै रहिरहने) देख्छौं । प्रतिक्षण मरिरहेको, नष्ट भैरहेको संसारवाट सुख लिने इच्छा कसरी भयो ? 'संसार' प्रतिक्षण मरिरहेछ' भन्ने जानकारीको तिरस्कार गर्दा नै सांसारिक सुखभोगको इच्छा हुन्छ ।

परिवर्तनशील संसारलाई स्थिर मान्दा स्थिर तत्व, परमात्मातिर, दृष्टि नै नगएको हो । परमात्मातिर दृष्टि नगएकोले नै हामी त्यतातिरवाट विमुख भएर विनाशी सुखमा फँस्छौँ । वास्तविक तत्वदेखि विमुख नभई कोही पनि संसारिक भोग भोग्नै सक्तैन र रागपूर्वक भोग भोग्दा हामी परमात्मादेखि विमुख हुनै पर्छ । 

भोगबुद्धिले भोग भोग्ने व्यक्ति आफ्नो त पतन गर्छ गर्छ, भोग्य वस्तुहरुको दुरुपयोग गरेर ती वस्तुहरुको नाश गर्छ र अभावग्रस्त व्यक्तिहरुको हिंसा गर्छ। तर जीवन्मुक्त महापुरुषमा यो कुरा लाग्दैन । ऊवाट हिंसारुप पाप हुँदैन; किनकि उसमा भोगबुद्धि हुँदैन र ऊवाट निष्कामभावले निर्वाहमात्रकोलागि शास्त्रविहित क्रियाहरु हुन्छन्। त्यो महापुरुषको उपयोगमा आउने वस्तुहरुको विकास हुन्छ । त्यो महापुरुषको शरीर रहुन्जेल, उ द्वारा स्वाभाविक प्राणीहरुको उपकार भइरहन्छ । 

शरीर-निर्वाह मात्रको आवश्यकता 'महाशनः' र 'महापाप्मा' होइन, किनकि शरीर-निर्वाहमात्रको आवश्यकता 'कामना' होइन । आवश्यकताको पूर्ति हुन्छ; जस्तो -- भोक लाग्छ, भोजन गरेपछि तृप्ति भयो, तर कामनाको वृद्धि हुन्छ । 

संसारिक पदार्थहरुको कामनाको त्याग हुँदा  सुख-शान्तिको अनुभव हुन्छ; तर हामी अज्ञानवश पदार्थहरुवाट हुने सुखलाई सुख मान्छौं । यसरी हामीले पदार्थहरुको कामनालाई नै सुखको कारण मानेर त्यसलाई (कामना) आफ्नो मित्र, हितैषी मानिरहेका छौं ।यही मान्यताले गर्दा हाम्रो  कामना कहिले पनि छुट्दैन । यसैले, भगवान हामीलाई भनिरहनु भएको छ, 'यो कामनालाई वैरी जान' । यो कामना वैरी हुनाले नै यसले हाम्रो विवेकलाई ढाकेर हामीलाई पापमा लगाइदिन्छ ।                
                            
संसारका सम्पूर्ण पापहरु,दुःखहरु, नरकहरुको मूल कामना नै हो । यो लोक र परलोकमा दुःख पाउनुको एक मात्र कारण असत् को कामनाको कारण नै हो । कामनामा सबै दुःख छन्, यसमा कुनै पनि सुख हुँदैन। 

कामना नाश गर्ने मुख्य उपाय हो -- अरुको सेवा गर्ने, अरुलाई सुख पुर्याउने । अरु शरीरधारी त अरु भइहाले, आफ्नो भनिने शरीर, इन्द्रियहरु, मन, बुद्धि र प्राण पनि अरु नै हुन् । अतः यिनीहरुको निर्वाह पनि सेवा बुद्धिले गर्ने हो, भोगबुद्धिले होइन ।

कर्मयोगमा स्थूल शरीर द्वारा हुने 'क्रिया', सूक्ष्म शरीर द्वारा हुने 'चिन्तन' र कारण शरीर द्वारा हुने 'स्थिरता' आफ़्नोलागि होइनन्, संसारकोलागि हुन् । कारण, स्थूल शरीरको स्थूल संसारसँग, सूक्ष्म शरीरको सूक्ष्म संसारसँग र कारण शरीरको कारण संसारसँग एकता छ । अतः शरीर, पदार्थ र क्रियाले अरुको सेवा गर्नु त उचित छ, तर आफूमा सेवकपनको अभिमान गर्नु उचित छैन । सूक्ष्म-शरीरले परहितको चिन्तन गर्नु उचित छ, तर त्यो चिन्तनवाट सुख लिनु अनुचित छ । कारण शरीर द्वारा स्थिर हुनु उचित छ,तर त्यो स्थिरताको सुख लिनु अनुचित छ । यस्तो किसिमले सुख लिने वानी नगरे फलको आसक्ति हट्छ, फलको आसक्ति हटेपछि कर्मको आसक्ति सजिलैसँग हट्छ ।

'मेरो आदेश चलोस्, अरुहरु मेरो आज्ञामा चलून्, यो वस्तु मलाई काम लागोस्, मेरो कुरो सदर होस्' यस्ता विचारहरु कामनाकै स्वरूप हुन् । उत्पत्ति-विनाशशील (असत्) संसारवाट केही लिने कामनाले महान् अनर्थ गर्छ । अरुको न्याययुक्त कामना (जसमा अरुको हित होस् र त्यो कामना पूर्ण गर्ने सामर्थ्य हामीमा होस्) पूरा गर्दा आफ्नो कामनाको त्यागको वल आउँछ । केही गरी अरुको कामना पूरा गर्न सकिएन भने पनि पूरा गर्ने इच्छा हाम्रो हृदयमा हरदम रहोस् । 

तादात्म्य -- अहंता (आफूलाई शरीर मान्नु), ममता (शरीर आदि पदार्थलाई आफ्नो मान्नु) र कामना (फलानो वस्तु मिलोस्) भन्ने तीनै भावले संसारमा वांधिइन्छ । तादात्म्यले परिच्छिन्नता, ममताले विकार र कामनाले अशान्ति पैदा हुन्छ । कामनाको त्यागले ममता र ममताको त्यागले तादात्म्य हट्छ । कर्मयोगी सिद्धान्तले यी मध्ये कुनैसँग पनि आफ्नो सम्बन्ध मान्दैन; किनकि उ शरीर, मन बुद्धि, अहम्, पदार्थ आदि कसैलाई पनि आफ्नो र  आफ्नोलागि मान्दैन, ऊ यी शरीर आदि पदार्थलाई केवल संसारको र संसारको सेवाकोलागि मान्छ, जुन वास्तवमा हो पनि ।

वस्तु, व्यक्ति र क्रियावाट सुख खोज्नुको नाम नै कामना हो ।  यो काम-रूप एउटा दोषमा अनन्त दोष, अनन्त विकार, अनन्त पापहरु भरिएका छन् । अतः मनुष्य भित्र काम रहुन्जेल सर्वथा निर्दोष, निर्विकार, निष्पाप हुन सक्तैन । आफ्नो सुखकोलागि केही चाहँदा नै खरावी हुन्छ । कसैसँग केही नखोज्ने व्यक्ति दोषरहित हुन सक्छ । 

कर्मफल तीन प्रकारका हुन्छन् -- इष्ट, अनिष्ट र मिश्र । यी तीन मध्ये कामको फल 'अनिष्ट' नै हुन्छ । 

शास्त्रनिषिद्ध कर्म प्रारब्धवाट हुने होइन, कामवाट हुन्छ । प्रारब्धवाट (फलभोगकोलागि) कर्म गर्ने वृत्ति त हुन्छ, निषिद्ध कर्म हुँदैन; किनकि प्रारब्धको फल भोग्नकोलागि निषिद्ध आचरणको जरुरत छैन । 


'काम' रजोगुणवाट उत्पन्न हुन्छ । अतः पापहरुको कारण रजोगुण हो र कार्य तमोगुण हो । सबै पापहरु रजोगुणवाट पैदा हुन्छन् ।