Saturday, 2 August 2014

130. No. 97 श्लोक ३६ हे वार्षणेय ! फेरि यो मनुष्य नचाहँदा नचाहँदै पनि (कसैले) लगाए जस्तो गरी कसवाट प्रेरित भएर पापको आचरण गर्छ ?

No. 97
श्लोक ३६ 

अर्जुनले भने
हे वार्षणेय  ! फेरि यो मनुष्य नचाहँदा नचाहँदै पनि (कसैले) लगाए जस्तो गरी कसवाट प्रेरित भएर पापको आचरण गर्छ ?

यहाँ भगवानलाई 'वार्ष्णेय' भन्ने शब्दले सम्बोधन भयो । यदुकूलमा वृषणी नामको एक वंश थियो । त्यही वृषणीवंशमा अवतार लिएको कारणले नै भगवानको कृष्णको एक नाम वार्षणेय रह्यो । यो भन्दा पहिलो श्लोकमा भगवानवाट स्वधर्म-पालनको प्रशंसा भयो । धर्म 'वर्ण' र 'कुल'को हुन्छ, त्यसैले अर्जुन पनि कुल (वंश)को नामले  भगवानलाई सम्बोधन गर्दै प्रश्न गर्छन् ।

विचारवान् 'पुरुष' पाप गर्न चाहँदैन, किनकि पापको परिणाम दुःख हुन्छ र दुःख कुनै पनि प्राणी स्वीकार गर्दैन ।

यहाँ 'अनिच्छन्' शब्दले भोग र संग्रहको इच्छाको त्याग होइन, पाप गर्ने इच्छाको त्याग भन्ने जनाउँछ  । किनकि भोग र संग्रहको इच्छा नै समस्त पापहरुको मूल हो । यी इच्छा नरहँदा पाप नै हुँदैन ।
विचारशील मनुष्य पाप गर्न चाहँदैन, तर भित्र सांसारिक भोग र संग्रहको इच्छा रहँदा उसवाट गर्नु पर्ने कर्तव्य कर्म हुन पाउँदैन र गर्न नहुने पाप-कर्म हुन्छ  ।
तात्पर्य, पापवृत्ति उत्पन्न भएपछि विचारशील पुरुष त्यो पाप हो भन्ने जान्दा जान्दै त्यो पापवाट पूर्णतया हट्न चाहन्छ, तैपनि ऊ त्यो पापमा यसरी लाग्छ कि उसलाई जवर्जस्ती कसैले यसो गर्न लगाइरहेछ । अर्को शब्दमा, अर्जुनलाई यस्तो लाग्छ, पापमा लगाउने कुनै वलवान् (अदृश्य) कारण छ ।

पापहरुको मूल कारण प्रवृत्ति नै हो -- 'काम' अर्थात् संसारिक सुख-भोगको र संग्रहको कामना । तर यो कारणतिर दृष्टि नरहँदा व्यक्तिलाई  यो थाहा हुँदैन, पाप गराउने को हो ? ऊ सम्झन्छ, 'म पाप भन्ने बुझेर यसवाट हट्न चाहन्छु, तर मलाई अरु कोही वलपूर्वक पापमा प्रवृत्त गराउँछ ।' तात्पर्य, विचारवान व्यक्ति पाप गर्न चाहँदैन, तर पाप गराउने अर्को तत्व को हो ?
अर्जुनले यस्तो प्रश्न गरे जस्तो लाग्छ, अश्रद्धा, असूया, दुष्टचित्तता, मूढ़ता, प्रकृति (स्वभाव) को परवशता, राग-द्वेष, स्वधर्ममा अरुचि, र परधर्ममा रुचि -- यी मध्ये कुन चाहिं कारण हो, जसले गर्दा हामी (व्यक्ति) विचारपूर्वक नचाहँदा नचाहँदै पनि पापमा लाग्छौं  ? अझ, ईश्वर, प्रारब्ध, युग, परिस्थिति, कुसंग, समाज, रीति-रिवाज, मध्ये कुन कारणले व्यक्ति पाप गर्छ ?
भगवान भन्नुहुन्छ

श्लोक ३७
रजोगुणवाट उत्पन्न हुने यो काम अर्थात् कामना नै पापको कारण हो । यो (काम) नै क्रोधमा वदलिंछ । यो काम धेरै खन्चुवा र महापापी छ । यो विषयमा तिमी यही कामलाई वैरी भन्ने जान ।

रजोगुणवाट उत्पन्न हुने भएकोले रागवाट काम वढ्छ । संसारिक पदार्थहरुलाई सुखदायी मान्दा पनि राग उत्पन्न हुन्छ; जसले गर्दा अन्तःकरणमा ती पदार्थहरुको महत्व दृढ हुन्छ । फेरि तिनै पदार्थहरुको संग्रह गर्ने र तिनवाट सुख लिने चाहना, कामना उत्पन्न हुन्छ । फेरि त्यही कामनाले पदार्थहरुमा राग वढ्छ । यस्तो क्रम चलिरहुन्जेल पाप-कर्मदेखि व्यक्ति सँधैकोलागि निवृत्ति हुँदैन ।

'मलाई मन परेको जस्तो, मलाई मन लागेको  जस्तो हुनुपर्छ' भन्नु नै 'काम' हो । उत्पत्ति-विनाशशील जड-पदार्थहरुको संग्रहको इच्छा, संयोगजन्य सुखको इच्छा, सुखको आसक्ति -- यी सबै कामका नै रुप हुन् । 

पाप-कर्म कहिं कामको, कहिं क्रोधको वशीभूत भएर गरिएको देखिन्छ । काम र क्रोध, दुवैवाट छुट्टा छुट्टै पाप हुन्छन् । वास्तवमा, काम अर्थात् उत्पत्ति-विनाशशील जड-पदार्थहरुको कामना, प्रियता, आकर्षण नै समस्त पापहरुको मूल हो । कामनामा वाधा पर्दा काम नै क्रोधमा वदलिन्छ । 


कामनाको पूर्ति भएपछि लोभ हुन्छ; लोभमा वाधा पुग्दा (वाधा पुर्याउनेसंग) क्रोध हुन्छ । यदि वाधा पुर्याउने व्यक्ति आफूभन्दा वढी शक्तिशाली भए क्रोध नउठेर भय हुन्छ । यसैले गीतामा ठाउँ ठाउँमा काम र क्रोध संगसंगै भयको पनि उल्लेख देखिन्छ ।          

129. No. 96 श्लोक ३५ राम्रोसँग आचरणमा ल्याइएको अरुको धर्म भन्दा गुणहरु कम भए पनि आफ्नो धर्म श्रेष्ठ छ ।

No. 96 
श्लोक ३५

राम्रोसँग आचरणमा ल्याइएको अरुको धर्म भन्दा गुणहरु कम भए पनि आफ्नो धर्म श्रेष्ठ छ । आफ्नो धर्ममा मर्न पनि कल्याणकारक छ र अरुको धर्म डरलाग्दो छ ।
 
अरुको वर्ण, आश्रम आदिको धर्म (कर्तव्य) वाहिरवाट हेर्दा गुणसम्पन्न भए पनि, ती धर्म पालन गर्न सजिलो भए पनि,धन, वैभव,सुख-सुबिधा, मन-वडाइ आदि मिले पनि, जीवनभरी सुखसँग वाँच्न सकिए पनि त्यो परधर्मको पालन आफ़्नोलागि विहित नभएको हुँदा परिणाममा दुःख, भय, दिने किसिमको हुन्छ । तर, आफ्नो वर्ण, आश्रम आदिको धर्म वाहिरवाट हेर्दा गुणहरु कम देखिए पनि, त्यो हाम्रो आफ्नो धर्म पालन गर्न गाहारो लागे पनि, पालन गर्न मन नलागे पनि, धन-वैभव, सुख-सुविधा, मान-वडाइ आदि नमिले पनि हामीले आफ्नो स्वधर्मको निष्कामभावले पालन गर्नु पर्छ, किनभने आफ्नो स्वधर्म कल्याण गर्ने हुन्छ । त्यसैले हामीले कुनै पनि स्थितिमा आफ्नो स्वधर्मको त्याग गर्नु हुन्न, वरु यसको पालन निष्काम, निर्मम र अनासक्त भएर गर्नुपर्छ ।
 
हाम्रोलागि स्वधर्मको पालन स्वाभाविक छ, सहज छ । हाम्रो 'जन्म' नै कर्महरुको अनुसार हुन्छ र जन्म अनुसार भगवान्ले 'कर्म' नियत गर्नुभएको छ ।  त्यसैले आफ्नो आफ्नो नियत कर्महरुको पालन गरे हामी कर्म-बन्धनवाट मुक्त हुन्छौं । अर्थात् हाम्रो कल्याण हुन्छ । त्यसैले, दोषयुक्त देखिंदा पनि नियत कर्म अर्थात् स्वधर्मको त्याग गर्नु हुँदैन । 
 
अर्जुन युद्ध गर्नु भन्दा भिक्षाको अन्न खाएर जीवन निर्वाह गर्न राम्रो ठान्छन् । तर भगवान अर्जुनलाई भन्नुहुन्छ, 'भिक्षाको अन्नले जीवन-निर्वाह गर्नु भिक्षुककोलागि स्वधर्म हो, तर तिम्रोलागि परधर्म हो ; किनकि तिमी गृहस्थ हौ, भिक्षुक होइन।' तात्पर्य, स्वधर्मको पालनमा राग-द्वेष रहँदा नै पाप लाग्ने हो । राग-द्वेषरहित भएर स्वधर्मको राम्रोसँग  पालन गरे समता (योग)को अनुभव हुन्छ; समताको अनुभव भएपछि दुःखहरुको नाश हुन्छ । यसैले भगवान फेरि फेरि अर्जुनलाई राग-द्वेषरहित भएर युद्धरूप स्वधर्म पालन गर्न वल गर्नुहुन्छ ।
 
भगवान अनुसार क्षात्र धर्मको नाताले युद्ध गर्नु अर्जुनको कर्तव्य हो; त्यसैले युद्धमा जय-पराजय, लाभ-हानि र सुख-दुःखलाई समान देख्ने हो ; र युद्धरूप क्रियाको सम्बन्ध आफूसँग छैन भन्ने मानेर कर्महरुको आसक्ति हटाउनकोलागि कर्म गर्ने हो । शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ पनि हामीलाई कर्तव्य-पालनकोलागि नै मिलेका हुन् ।

वर्ण, आश्रम, अनुसार आफ्नो-आफ्नो कर्तव्य निःस्वार्थभावले पालन गर्नु नै स्वधर्म हो । आस्तिक मनुष्यले धर्म भन्ने शब्दको अर्को नाम कर्तव्य हो । स्वधर्मको पालन गर्ने भन्नु र आफ्नो कर्तव्य पालन गर्ने भन्नु उही कुरा हो । 
 
कर्तव्य त्यही हो, जसलाई सजिलोसँग गर्न सकियोस्, जुन अवश्य नै गर्नुपर्छ र जुन गर्दा प्राप्तव्यको (परमात्माको) अवश्य प्राप्ति हुन्छ । धर्म नै कर्तव्य भएकोले यसको पालना गर्न सजिलो हुन्छ । यो पनि साँचो हो, धर्मको पालन ठीक तरिकाले गरे हामीलाई वैराग्य हुन्छ । कर्तव्य मात्रै सम्झेर धर्मको पालन गरियो भने कर्महरुको प्रवाह प्रकृतिमा जान्छ र यसरी आफूसँग कर्मको सम्बन्ध रहँदैन । 
 
आफ्नो आफ्नो वर्ण र आश्रमको आफ्नो आफ्नो कर्तव्य (स्वधर्म) भयो, तर, अरुको वर्ण, आश्रमको कर्तव्यमा ध्यान गयो भने आफ्नो कर्तव्य  अरुको भन्दा कम गुण भएको जस्तो लाग्छ । यसैले भगवान भन्नुहुन्छ, अरुको कर्तव्य भन्दा आफ्नो कर्तव्य कम गुण भएको देखिए पनि आफ्नो कर्तव्यले नै हाम्रो कल्याण गर्छ । त्यसैले कुनै पनि अवस्थामा आफ्नो कर्तव्यको त्याग गर्नु हुँदैन ।
 
वर्ण, आश्रम अनुसार वाहिरवाट कर्म छुट्टा छुट्टै (घोर अथवा सौम्य) देखिन्छन्, तर परमात्मप्राप्तिरूप उद्देश्य त एक मात्र हुन्छ । परमात्मप्राप्तिरूप उद्देश्य नरहँदा तथा अन्तःकरणमा सांसारिक पदार्थको महत्व रहँदा नै कर्म घोर अथवा सौम्य देखिने हुन् ।
 
स्वधर्मको पालन सुख अथवा दुःख हेरेर गरिंदैन, भगवान तथा शास्त्रको आज्ञा विचार गरेर निष्कामभावले गरिन्छ । त्यसैले स्वधर्म अर्थात् कर्तव्यको पालन गर्दा गर्दै कुनै कष्ट आयो भने पनि त्यो कष्ट पनि उन्नति गर्ने हुन्छ । वास्तवमा त्यो कष्ट कष्ट नभएर तप हुन्छ । त्यस्तो कष्ट तप भन्दा पनि धेरै चाँडो उन्नति गर्ने हुन्छ । किनकि तप आफ़्नोलागि गरिन्छ र कर्तव्य अरुकोलागि । जानेर गरिएको तपले भन्दा धेरै लाभ अनायास आएको कष्टरूप तपवाट हुन्छ ।  स्वधर्मको पालन गर्दा कष्ट सहने र स्वधर्मको पालन गर्दा गर्दै शरीर छोड्ने ती धर्मात्मा पुरुष अमर हुन्छन् । निष्कर्ष, निष्कामभावपूर्वक आफ्नो धर्मको पालन गर्दै कष्ट नै आए पनि, मृत्यु नै भए पनि त्यो व्यक्तिको यो संसारमा कल्याण नै हुन्छ ।

स्वधर्म पालन गर्ने मनुष्यको दृष्टि धर्ममा नै हुन्छ । धर्ममा दृष्टि रहँदा उसको धर्मसँग सम्बन्ध रहन्छ ।
हामी स्वयं परमात्माको अंश भएकाले हाम्रो धर्म हो -- आफ्नो कल्याण गर्ने, आफूलाई भगवानको मान्ने, आफूलाई जिज्ञासु मान्ने, आफूलाई सेवक मान्ने । किनकि यी सबै ठीक धर्म हुन्, खास स्वयंका धर्म हुन्, मन-बुद्धिका धर्म होइनन् । अरु वर्ण, आश्रम, शरीरलाई लिएर जति पनि धर्म छन्, ती आफ्नो कर्तव्य-पालनकोलागि स्वधर्म भए पनि परधर्म नै हुन् । किनभने सबै धर्म मानिएका हुन्, स्वयंका होइनन् । ती सबै धर्महरुलाई अरुको सहाराको आवश्यकता हुन्छ अर्थात् तिनीहरुमा परतंत्रता रहन्छ, परन्तु आफ्नो सक्कली धर्ममा कसैको सहायताको आवश्यकता पर्दैन अर्थात् सक्कली धर्ममा स्वतन्त्रता रहन्छ । यसैले प्रेमी हुन्छ भने स्वयं हुन्छ, जिज्ञासु हुन्छ भने स्वयं हुन्छ, सेवक हुन्छ भने स्वयं हुन्छ । यही कारण प्रेमी प्रेम भएर प्रेमास्पदसँग एक हुन्छ, जिज्ञासु जिज्ञासा भएर ज्ञातव्य-तत्वसँग एक हुन्छ र सेवक सेवा भएर सेव्यसँग एक हुन्छ । त्यस्तै, साधक खालि साधनासँग एक भएर साध्यस्वरूप हुन्छ ।

परमात्मप्राप्ति चाहने साधकलाई धन, मान, वड़ाई, आदर, आराम, पाउने इच्छा हुँदैन । यही कारण धन, मान नपाउँदा उसलाई कुनै चिन्ता हुँदैन र यदि प्रारव्धद्वारा पाई नै हाले पनि उसलाई कुनै प्रसन्नता हुँदैन । किनकि उसको ध्येय केवल परमात्मा पाउने मात्रै हुन्छ, धन, मान पाउने हुँदैन । त्यसैले त्यस्तो साधकद्वारा कर्तव्यरूपले मिलेको लौकिक कार्यहरु पनि सुचारुरुपले र पवित्रतापूर्वक  हुन्छन् । परमात्मप्राप्तिको उद्देश्य भएकोले उसका सबै कर्म परमात्माकोलागि नै हुन्छन् । परमात्मप्राप्तिको लक्ष रहँदा संसारमा पराजय, हानि, कष्ट आदि पाउँदा पनि साधकको अन्तःकरणमा स्वाभाविक प्रसन्नता रहन्छ । अनुकूल-प्रतिकूल परिस्थितिहरु उसकोलागि साधन सामग्री हुन्छन् ।

आफ्नो कल्याण चाहने साधकले दृढ निश्चय गरेर आफ्नो स्वधर्म (आफ्नो स्वाभाविक कर्म) को पालनमा तत्परतापूर्वक लाग्दा कुनै कष्ट, दुःख आउँदा पनि ऊ स्वधर्मदेखि विचलित हुँदैन । यति मात्रै होइन, ती दुःख,कष्ट पनि उसलाई  तपस्याले जस्तो प्रसन्न वनाउँछन् ।

शरीरलाई 'म' र 'मेरो मान्दा नै संसारमा राग-द्वेष हुन्छ । राग-द्वेष रहनाले हामीलाई स्वधर्म-परधर्मको ज्ञान हुँदैन । यदि शरीर 'म' (स्वरूप) हुँदो हो त 'म' रहँदा शरीर पनि रहने थियो र शरीर नरहँदा 'म' पनि रहने थिएन । यदि शरीर 'मेरो' भए यो शरीर पाएपछि अरु केही पाउने इच्छा हुनु नपर्ने । इच्छा रहिरहे यो सिद्ध भयो, वास्तवमा 'मेरो' (आफ्नो) वस्तु अझसम्म पाइएको छैन र पाइएको वस्तु पनि आफ्नो होइन ।

शरीरलाई हामी आफूले ल्याएका होइनौं, यहाँवाट जाँदा लिएर जान सक्ने पनि होइनौं, यसलाई आफ्नो इच्छा अनुसार परिवर्तन गर्न सक्ने पनि होइनौं, अनि यो शरीर 'मेरो' कसरी हुने ? 'शरीर म होइन र शरीर मेरो होइन' भन्ने विवेक हामीलाई हरदम भइ नै रहेको हुन्छ । तर हामीले यो ज्ञानलाई महत्व नदिंदा हाम्रो राग-द्वेष नमेटिएको हो ।  यदि हामीले आफूमा भएको विवेकलाई महत्व दियौं भने वास्तविक तत्वको बोध हुनेछ हामीलाई । बोध भएपछि राग-द्वेष रहँदैनन् । राग-द्वेष नरहेपछि हाम्रो अन्तःकरणमा स्वधर्म-परधर्मको ज्ञान स्वतः प्रकट हुन्छ र त्यही अनुसार हाम्रा चेष्टा (कोशीश)हरु पनि हुन्छन् ।

परधर्मको पालन गर्न अहिले (वर्तमानमा) सजिलो जस्तो भए पनि पछि गएर यो भयावह हुन्छ । 'स्वार्थभाव'लाई त्यागेर अरुको हितकोलागि स्वधर्मको पालन गरे हामीलाई कुनै भय हुने छैन ।
 

परमात्मा र उहाँको अंश (जीवात्मा) 'स्वयं' हो तथा प्रकृति र प्रकृतिको कार्य (शरीर र संसार) 'अन्य' हो । स्वयंको धर्म 'स्वधर्म' हो र अन्यको धर्म 'परधर्म' हो । सूक्ष्म दृष्टिले हेर्ने हो भने निर्विकरता, निर्दोषता, अविनाशिता, नित्यता, निश्कमता, निर्ममता स्वयंका धर्म हुन्, ती सबै 'स्वधर्म' हुन् । उत्पन्न हुने, उत्पन्न भएर रहनु, वदलिनु, वढ्नु, क्षीण हुनु तथा नष्ट हुनु त्यस्तै, भोग र संग्रहको इच्छा, मान-वड़ाईको इच्छा आदि शरीरका धर्म जति 'परधर्म' हुन् । स्वयंमा कहिले, कुनै परिवर्तन हुँदैन, यसैले स्वयंको नाश हुँदैन; तर शरीरमा निरन्तर परिवर्तन भइरहन्छ, यसैले शरीरको नाश हुन्छ । यो दृष्टिले स्वधर्म अविनाशी र परधर्म नाशवान् हो ।
 

त्याग (कर्मयोग), बोध (ज्ञानयोग) र प्रेम (भक्तियोग) -- यी तीनै स्वतःसिद्ध भएकोले स्वधर्म हुन् । स्वधर्ममा अभ्यासको आवश्यकता पर्दैन; किनकि अभ्यास शरीरको सम्बन्धले हुन्छ र शरीरको सम्बन्धले जे जति हुन्छन्, ती सबै परधर्म हुन् । 

योगी हुनु स्वधर्म हो, भोगी हुनु परधर्म हो । निर्लिप्त रहनु स्वधर्म हो, लिप्त हुनु परधर्म हो । सेवा गर्नु स्वधर्म हो, सेवा खोज्नु परधर्म हो । प्रेमी हुनु स्वधर्म हो, रागी हुनु परधर्म हो । निष्काम, निर्मम र अनासक्त हुनु स्वधर्म हो, कामना, ममता र आसक्ति गर्नु परधर्म हो । छोटोमा, प्रकृतिसँगको सम्बन्ध विना (स्वयं)मा हुने सबै 'स्वधर्म' हुन् र प्रकृतिको सम्बन्धले हुने सबै 'परधर्म' हुन् । स्वधर्म चिन्मय-धर्म र परधर्म जडधर्म हो ।

परमात्माको अंश (शरीरी) 'स्व' हो र प्रकृतिको अंश (शरीर) 'पर' हो । 'स्व'का दुई अर्थ हुन्छन् -- (१) 'स्वयं'; (२) 'स्वकीय' अर्थात् परमात्मा । यो दृष्टिले आफ्नो स्वरूपबोधको इच्छा तथा स्वकीय परमात्माको इच्छा -- दुवै स्वधर्म हुन् ।
पुरुष (चेतन)को धर्म हो -- स्वतःसिद्ध स्वाभाविक स्थिति र प्रकृति (जड)को धर्म हो -- स्वतःसिद्ध स्वाभाविक परिवर्तन शीलता । पुरुषको धर्म 'स्वधर्म' र प्रकृतिको धर्म 'परधर्म' हो ।
हामीमा दुई किसिमको इच्छा रहन्छ -- 'सांसारिक' अर्थात् भोग एवं संग्रहको इच्छा र 'परमर्थिक' अर्थात्  आफ्नो कल्याणको इच्छा । भोग र संग्रहको इच्छा 'परधर्म' अर्थात् शरीरको धर्म हो; किनकि असत् शरीरसँग सम्बन्ध जोड्दा नै भोग र संग्रहको इच्छा हुने हो । आफ्नो कल्याणको इच्छा 'स्वधर्म' हो,किनकि परमात्माको नै अंश हुनाले स्वयम्को इच्छा परमात्माको नै हो, संसारको होइन ।

स्वधर्म पालन गर्न मनुष्य स्वतन्त्र छ; किनकि आफ्नो कल्याण गर्न शरीर, इन्द्रियहरु, मन, बुद्धि आदिको आवश्यकता छैन, वरु यिनीहरुदेखि विमुख हुने आवश्यकता छ । शरीर आदिको सहायता विना परधर्मको पालन हुने सक्तैन ।

स्वयं परमात्माको अंश हो र शरीर संसारको अंश हो । मनुष्यले परमात्मालाई आफ्नो मान्नु उसकोलागि 'स्वधर्म' हुन्छ, र संसारलाई आफ्नो मान्नु उसकोलागि 'परधर्म' हुन्छ । शरीरसँग आफ्नो सम्बन्ध नमानेर परमात्मप्राप्तिकोलागि साधन गर्ने मनुष्यको त्यो साधन पनि 'स्वधर्म' हुन्छ । नित्यप्राप्त परमात्मा अथवा आफ्नो स्वरूपको अनुभव गर्ने सबै साधनहरु 'स्वधर्म' हुन्, र संसारतिर लैजाने सबै कर्म 'परधर्म' हुन् । यो दृष्टिले हेर्दा, कर्मयोग, ज्ञानयोग र भक्तियोग -- तीनै योगमार्ग सबै मनुष्यको 'स्वधर्म' हुन् । यसको उल्टो शरीरसंग आफ्नो सम्बन्ध मानेर भोग र संग्रहमा लाग्नु मनुष्यको 'परधर्म' हो ।

तीनै शरीर -- स्थूल, सुक्ष्म र कारण -- गरिने तीर्थ, व्रत, दान, तप, चिन्तन, ध्यान, समाधि सबै कर्म सकामभावले अर्थात् आफ़्नोलागि गरे 'परधर्म' हुन्छ र निष्कामभावले अर्थात् अरुको हितकोलागि गरे 'स्वधर्म' हुन्छ । किनभने स्वरूप निष्काम छ र सकामभाव आउने नै प्रकृतिको सम्बन्धले हो ।  त्यसैले कामना हुँदा 'परधर्म' हुन्छ । स्वधर्म मुक्त गर्ने र परधर्म वांधने खालको हुन्छ ।

हाम्रो खास काम हो -- परधर्मदेखि विमुख हुने र स्वधर्मको सम्मुख हुने । यस्तो गर्न हामी (मनुष्य) नै सक्छौं । स्वधर्मको सिद्धिकोलागि नै मनुष्य शरीर मिलेको छ हामीलाई । परधर्म त् अरु योनिहरुमा तथा भोगप्रधान स्वर्गादि लोकहरुमा पनि
अभाव र पराधीनता सँधैकोलागि मेटिन्छ, यही मेटिने क्रिया नै स्वधर्म हो । यस्तो 'स्वधर्म'मा स्थित रहँदा कति नै कष्ट आऊन्, शरीर नै छुटोस्, तैपनि साधकको कल्याण नै हुन्छ । परन्तु परधर्मको सम्बन्धमा सुख-सुबिधा भए पनि त्यो भयावह अर्थात् वारम्वार जन्म-मरणमा पार्ने खालको हुन्छ ।
संसारमा हुने जति सबै दुःख, शोक, चिन्ता सबै   
संसारमा हुने जति सबै दुःख, शोक, चिन्ता सबै परधर्मको आश्रय लिंदा नै हुन्छन् । परधर्मको आश्रय छोडेर स्वधर्मको आश्रय लिंदा सदैव, सर्वथा, सर्वदा रहने आनन्दको प्राप्ति हुन्छ ।

128. No. 95 श्लोक ३४ इन्द्रिय-इन्द्रियको अर्थमा (प्रत्येक इन्द्रियको प्रत्येक विषयमा)

No. 95 

श्लोक ३४

इन्द्रिय-इन्द्रियको अर्थमा (प्रत्येक इन्द्रियको प्रत्येक विषयमा) व्यक्तिको राग र द्वेष व्यवस्थाले नै अनुकूलता र प्रतिकूलतालाई लिएर रहन्छ । मनुष्यले  ती दुईको वशमा पर्नु हुन्न; किनकि ती दुई नै मनुष्यको पारमार्थिक मार्गमा बिघ्न पार्ने शत्रु हुन् ।
 
प्रत्येक इन्द्रिय (कान, छाला, आँखा, रसना (जीव्रो) र प्राण)का प्रत्येक विषय (शब्द, स्पर्श, रुप, रस र गन्ध) मा अनुकूलता प्रतिकूलताको मान्यतावाट मनुष्यको राग द्वेष हुन्छ । कुनै इन्द्रियको विषयमा अनुकूलताको भाव छ भने त्यो व्यक्तिको त्यो विषयमा 'राग' हुन्छ र प्रतिकूलताको भाव छ भने त्यो विषयमा द्वेष हुन्छ ।
 
खासै हेर्ने हो भने राग-द्वेष इन्द्रियको विषयमा रहँदैनन् ।  राग-द्वेष त हाम्रो आफ्नो अनुकूलता र प्रतिकूलताको भावमा रहन्छन्, अर्थात्, सबै विषय आफ्नो अनुकूलता या प्रतिकूलताको भावले राम्रा अथवा नराम्रा लाग्छन् । अर्को शब्दमा, हामी विषयमा आफ्नो अनुकूल या प्रतिकूल भाव गरेर, तिनलाई राम्रो अथवा नराम्रो मानेर राग-द्वेष गर्छौं । यसैले भगवानले  राग-द्वेषलाई प्रत्येक इन्द्रियको प्रत्येक विषयमा रहने भन्नुभएको छ ।

वास्तवमा, राग-द्वेष मानिएको 'अहम्' (म-पना)मा रहन्छ । शरीरसँग मानिएको सम्बन्धलाई नै 'अहम्' भनिन्छ । शरीरसँग मानिएको सम्बन्ध रहुन्जेल राग-द्वेष रहन्छ, र ती राग-द्वेष बुद्धि, मन, इन्द्रियहरु र इन्द्रियहरुका विषयमा देखिन्छ । राग-द्वेषको स्थूल रुप नै काम र क्रोध हो । यही अध्यायको  अर्को प्रसंगमा भगवान भन्नुहुन्छ, यो 'काम ' इन्द्रियहरु, मन र बुद्धिमा रहन्छ । विषयहरु जस्तो इन्द्रियहरू, मन र बुद्धिमा 'काम' देखिनुको कारण नै भगवानले  यिनलाई (इन्द्रियहरु, मन, बुद्धि) कामको निवास हुने स्थान वताउनु भएको हो । विषयहरुमा राग-द्वेषको प्रतीति मात्र भए जस्तै इन्द्रियहरु, मन, बुद्धिमा पनि राग-द्वेषको प्रतीति मात्र हुन्छ । यी इन्द्रियहरु, मन र बुद्धि त् केवल कर्म गर्ने करण (औजार) हुन् । यिनमा काम-क्रोध अथवा राग-द्वेष नै कहाँ हुन्छन् र ?
यही सन्दर्भमा भगवान हामीलाई आश्वस्त पार्नुहुन्छ, राग-द्वेषको वृत्ति उत्पन्न भएपछि हामीले साधन र साध्यवाट कहिले निराश हुनु हुँदैन, वरु राग-द्वेषको वृत्तिको वशीभूत भएर हामीले त्यो राग-द्वेषलाई कुनै कार्यमा प्रवृत्त अथवा निवृत्त  हुन दिनु हुन्न । कर्ममा हाम्रो प्रवृत्ति अथवा  निवृत्ति शास्त्र अनुसार हुनुपर्छ । यदि राग-द्वेष लिएर नै कर्ममा हाम्रो प्रवृत्ति या निवृत्ति हुन्छ भने हामी राग-द्वेषको वशमा छौं । रागपूर्वक प्रवृत्ति या निवृत्ति हुँदा राग पुष्ट हुन्छ, र द्वेषपूर्वक प्रवृत्ति या निवृत्ति हुँदा 'द्वेष' पुष्ट हुन्छ । यसरी राग-द्वेष पुष्ट भएको फलस्वरूप व्यक्तिको (हाम्रो) पतन नै हुन्छ ।
 
साधकले संसारको काम छोडेर भगवानमा लाग्दा उसमा  संसारका अनेक राम्रा र नराम्रा स्फूरणाहरु उत्पन्न हुन्छन् । यसो हुँदा ऊ आत्तिन्छ । यहाँ भगवान साधकलाई भन्नुहुन्छ, 'तिमीले यी स्फूरणाहरुदेखि डराउनु हुँदैन ।' किनकि यी स्फूरणाहरुको वास्तवमा सत्ता नै छैन । किनकि यिनीहरुको उत्पत्ति हुन्छ । यो सिद्धान्त नै हो, उत्पत्ति भएको वस्तुको नाश अवश्य हुन्छ । साँच्चै विचार गर्दा, स्फूरणा आइरहेका हैनन्, गइरहेका छन् । किनभने, संसारको काम गर्दा मौका नपाएकाले ती स्फूरणाहरु दविइरहन्छन् । हामीलाइ  संसारको कामवाट फुर्सत हुने वित्तिकै पुराना संस्कारहरु स्फूरणाको रूपमा वाहिर आउँछन् । अतः साधकले यी राम्रा, नराम्रा स्फूरणाहरुसँग पनि राग-द्वेष गर्नु हुन्न, सावधानीसँग यिनीहरुको उपेक्षा गर्नुपर्छ । यही किसिमले उसले पदार्थ, व्यक्ति, विषय आदिमा पनि राग-द्वेष गर्नुहुन्न ।
 
राग-द्वेषको वशमा परेर कर्म गर्यो भने राग-द्वेष पुष्ट हुन्छन् र अशुद्ध प्रकृति (स्वभाव)को रूप लिन्छ । प्रकृति अशुद्ध भएपछि प्रकृतिको अधीनता रहन्छ । यस्तो अशुद्ध प्रकृतिको अधीनतावाट हुने कर्मले व्यक्तिलाई बाँध्छन् । यही प्रसंगमा भगवान हामीलाई भन्नुहुन्छ, 'साधकले मेरो मत अनुसार कर्म गरे उसले रागद्वेषलाई सजिलैसंग हटाउन सक्छ अर्थात् साधकले सम्पूर्ण कर्महरु र आफूलाई पनि भगवदर्पण गरिदिनु र यस्तो मान्नु, 'कर्म मेरोलागि होइन, खालि भगवानकोलागि हो । जसवाट कर्महरु हुन्छन्, ती शरीर, इन्द्रियहरु, मन,  पनि भगवानका नै हुन्; र म पनि भगवानको नै हुँ ।' यसरी निष्काम, निर्मम, र निःसन्ताप भएर कर्तव्य-कर्म गरे राग-द्वेष हट्छन् । यस्तो प्रकारले भगवानको मत अर्थात् सिद्धान्त ध्यानमा राखेर कुनै कार्यमा प्रवृत्त या निवृत्त हुनुपर्छ ।
 
सम्पूर्ण सृष्टि प्रकृतिको कार्य हो र शरीर प्रकृतिको एक अंश हो । शरीरप्रति हाम्रो ममता रहुन्जेल राग-द्वेष रहन्छ हामीमा अर्थात् हामीहरु रुचि अथवा अरूचिपूर्वक वस्तुहरु लिने र छोड्ने गरिरहन्छौं । यो रुचि-अरुचि नै राग-द्वेषको सूक्ष्म रुप हो । रागद्वेषपूर्वक प्रवृत्ति या निवृत्ति हुँदा राग-द्वेष वलिया हुन्छन्, तर शास्त्रलाई आफ्नो अगाडि राखेर कुनै कर्ममा प्रवृत्ति या निवृत्ति भयो भने राग-द्वेष हट्छन् । किनकि शास्त्र अनुसार कर्म गर्दा  आफ्नो रुचि या अरुचिको मुख्यता रहँदैन । जीवन्मुक्त महापुरुष पनि शास्त्र-मर्यादालाई नै आदर गर्छन् । अतः हामीले सम्पूर्ण कर्म शास्त्रको आज्ञा अनुसार नै गर्नुपर्छ ।
 
राग-द्वेषदेखि सर्वथा रहित महापुरुषको अन्तःकरण अत्यन्त शुद्ध र निर्मल भएको हुँदा उसमा स्वतः वेदहरुको अर्थ प्रकट हुन्छ । उसको  अन्तःकरणमा आएका कुराहरु शास्त्र अनुकूल नै हुन्छन् । उसवाट हुने सबै क्रियाहरु निषिद्ध हुँदै हुँदैनन् । उसको स्वभाव नै स्वतः शास्त्र अनुसार वन्छ । यही कारणले यस्ता महापुरुषका आचरण र वचन अरु  मनुष्यहरुकोलागि आदर्श हुन्छ । त्यस्ता महापुरुषका आचरण र वचन अनुसार चल्यो भने पनि साधकको राग-द्वेष हट्छ ।
कसैको यस्तो विचार पनि हुन्छ, राग-द्वेष अन्तःकरणको धर्म हो; त्यसैले यिनलाई हटाउन सकिंदैन । तर यो कुरा होइन । वास्तवमा राग-द्वेष अन्तःकरणका विकार हुन्, धर्म होइनन् । यदि राग-द्वेष अन्तःकरणका धर्म हुँदा हुन् त अन्तःकरण जाग्रत रहँदा राग-द्वेष पनि रहनुपर्ने अर्थात् राग-द्वेषको प्रतीति सँधै हुनुपर्ने । तर राग-द्वेषको प्रतीति सँधै नभएर कहिले काहिं मात्रै हुन्छ । साधन गरेपछि राग-द्वेष विस्तारै कम पनि हुन्छन् । कम हुने वस्तु मेटिइन्छ । त्यसैले यो मान्नुपर्छ, राग-द्वेष अन्तःकरणका धर्म होइनन् । भगवानले पनि राग-द्वेषलाई मनमा रहने भन्नुभएको छ, अर्थात्, यी मनमा आउने भएकाले सँधै रहिरहने होइनन् । अझ भगवानले त राग-द्वेषलाई विकार पनि भन्नुभएको छ ।
 
प्रकृति जड र पुरुष (चेतन) -- दुवै छुट्टा छुट्टै छन् । यी दुइको विवेक स्वतः सिद्ध छ । पुरुष यो विवेकलाई महत्व नदिएर प्रकृतिजन्य शरीरसँग एकता गर्छ र आफूलाई एकदेशीय मान्छ । यो जड-चेतनको तादात्म्यलाई नै 'अहम्' (म) भनिन्छ, र यही 'अहम्'मा राग-द्वेष हुन्छ र राग-द्वेषले अहम् ता पुष्ट हुन्छ । यही राग-द्वेष बुद्धिमा प्रतीत हुन्छ, जसले गर्दा मनलाई अनुकूल कुराहरु प्रिय र मनलाई प्रतिकूल कुराहरु अप्रिय लाग्छन् । त्यसपछि यही राग-द्वेष इन्द्रियहरुमा देखिन्छन्, जसले गर्दा इन्द्रियहरुलाइ अनुकूल विषय प्रिय र प्रतिकूल विषय अप्रिय लाग्छन् । यही राग-द्वेष इन्द्रियहरुका विषयहरुमा (शब्द, स्पर्श, रुप, रस, गन्ध) आफ्नो अनुकूल र प्रतिकूल भावनालाई लिएर प्रतीत हुन्छन् । त्यसपछि जड-चेतनको ग्रन्थिरूप अहंता (म-पना) मेटिएपछि राग-द्वेषको सर्वथा अभाव हुन्छ; किनकि 'अहंता'मा नै राग-द्वेष टिकेको हुन्छ ।
 
म सेवक हुँ, म जिज्ञासु हुँ, म भक्त हुँ -- यी सेवक, जिज्ञासु र भक्त जेमा रहन्छन्, त्यही 'म'मा राग-द्वेष पनि  रहन्छन् । राग-द्वेष न केवल जडमा रहन्छन्, न केवल चेतनमा, यिनीहरु जड-चेतनको मानिएको सम्बन्धमा रहन्छन् । जड-चेतनको मानिएको सम्बन्धमा रहे पनि यी मुख्यतया जडमा रहन्छन् । जड-चेतनको तादात्म्यमा जडको आकर्षण जड अंशमा नै रहन्छ, तर तादात्म्य भएकोले त्यो आकर्षण चेतनमा देखिन्छ । जडको आकर्षण नै राग हो । अतः शरीर (जड)लाई नै आफ्नो स्वरूप मान्ने साधकलाई राग-द्वेष हटाउन गाहारो हुन्छ । तर चेतन-स्वरूपतिर दृष्टि रहँदा साधकलाई राग-द्वेष हटाउन गाहारो लाग्दैन । किनकि राग-द्वेष स्वतःसिद्ध छैन, खालि जड(असत्)को सम्बन्धवाट उत्पन्न हुने हुन् ।
सत्संग, भजन, ध्यानमा 'राग' भए संसारसँग द्वेष हुन्छ । तर 'प्रेम' भए संसारसँग द्वेष हुँदैन, वरु संसारको उपेक्षा (विमुखता) हुन्छ । संसारको कुनै वस्तुमा राग भएपछि अर्को विषयमा द्वेष हुन्छ, तर भगवानमा प्रेम भएपछि संसारसँग वैराग्य हुन्छ । वैराग्य भएपछि संसारसँग सुख लिने भावना समाप्त हुन्छ र संसारको सेवा स्वतः हुन्छ । यसवाट शरीर, इन्द्रीयहरू, मन र बुद्धि सँगसँगै 'अहम्' पनि स्वतः संसारको सेवामा लाग्छ । परिणामस्वरूप शरीर आदिसँग पनि सम्बन्ध विच्छेद भएपछि अहम् मा रहने राग-द्वेष सर्वथा नष्ट हुन्छ ।
 
मनुष्यका क्रियाहरु स्वभाव अथवा सिद्धान्तलाई लिएर हुन्छन् । केवल आध्यात्मिक उन्नतिकोलागि कर्म गर्नु सिद्धान्तलाई लिएर कर्म गर्नु हो । स्वभाव दुई किसिमका हुन्छन् -- (१) रागद्वेषरहित (शुद्ध) र (२) राग-द्वेषयुक्त (अशुद्ध) । स्वभाव एकदमै मेट्न त सकिंदैन, तर त्यो स्वभावलाई शुद्ध वनाउन अर्थात् रागद्वेषरहित वनाउन सकिन्छ । हाम्रा स्वाभाविक कर्मको प्रवाह त मेट्न सकिंदैन, तर त्यो प्रवाहलाई वदल्न सकिन्छ, अर्थात् त्यो कर्मलाई राग-द्वेषरहित वनाउन सकिन्छ । गीताको मार्मिक सिद्धान्त नै यही हो । रागद्वेष अनुसार हुने जति क्रियाहरुमा प्रवृत्ति र निवृत्ति भन्दा पनि राग-द्वेष नै वाधक हुन् । यही कारण भगवानले राग-द्वेषको त्यागीलाई नै सच्चा त्यागी भन्नुभएको हो । हामीहरु धेरै जसालाई राग-द्वेषतिर ध्यान नगएकोले हाम्रो प्रवृत्ति र निवृत्ति पनि  राग-द्वेषपूर्वक हुन्छ । त्यसैले राग-द्वेषरहित हुन हामीले सिद्धान्तलाई  आफ्नो विचारमा राखेर नै सबै कर्महरु गर्नुपर्छ । त्यसपछि हाम्रो स्वभाव स्वतः सिद्धान्त अनुरूप र शुद्ध हुनेछ ।

राग- द्वेषयुक्त स्फूरणाहरु उत्पन्न भएपछि ती स्फूरणा अनुसार कर्म गर्दा राग-द्वेष पुष्ट हुन्छन् र ती स्फूरणा अनुसार कर्म नगरेर सिद्धान्त अनुसार कर्म गरे राग-द्वेष मेटिन्छन् ।

मनको शुभ अथवा अशुभ स्फूरणामा राग-द्वेष हुनु हुँदैन । हामीले आफ्नो मनमा हुने स्फूरणाहरुलाई स्वयंमा नमानेर ती स्फूरणाहरुसँग कुनै पनि सम्बन्ध नाजोड़ने, ती स्फूरणालाई समर्थन पनि नगर्ने, विरोध पनि नगर्ने। 

यदि हामी आफूलाई राग-द्वेषको निवारण गर्न असमर्थ ठान्छौं भने हामीले सर्वसमर्थ परम प्रभुको शरणमा जानुपर्छ । त्यसो गरे प्रभुको  कृपाले राग-द्वेष हट्न सक्छ र परम शान्ति प्राप्त हुन्छ। मानिएको 'अहं' सहित शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण र संसारिक पदार्थहरु सबै भगवानका नै हुन् भन्ने मान्नु नै भगवानको शरण हुनु हो । त्यसपछि भगवानको प्रसन्नताकोलागि, भगवानवाट प्राप्त भएको सामग्रीले भगवानका नै सन्तानको सेवा गरिदिने हो र त्यो सेवाको वदलामा आफूले केही नचाहने हो । 

निष्कामभावपूर्वक हुने संसारको सेवा नै  राग-द्वेष हटाउने उत्तम उपाय हो । हाम्रो स्थूल, सूक्ष्म र कारण शरीरदेखि लिएर मानिएको 'अहं'सम्मको सम्पूर्ण वस्तु संसारको सेवामा लगाइदिने हो । किनकि यी सबै पदार्थ संसारका नै हुन्, संसारदेखि अभिन्न हुन् । यी पदार्थहरुलाई संसारदेखि छुट्टै (आफ्नो) मान्नु नै बन्धन हो । स्थूल-शरीरका क्रियाहरु र पदार्थहरुको सुख, सूक्ष्म शरीरका चिन्तनको सुख र कारण शरीरको स्थिरताको सुख हामीले लिनु हुँदैन । वास्तवमा मनुष्य शरीर आफ्नो सुखकोलागि हुँदै होइन । 

अर्को कुरा, हाम्रो शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ आदिवाट जुन संसारको सेवा हुन्छ, ती सबै पदार्थ पनि संसारका नै अंश हुन् ।संसार त हाम्रो होइन भने संसारको अंश आफ्नो कसरी हुन सक्छ ? यी शरीर र पदार्थलाई आफ्नो मान्दा साँचो सेवा हुन सक्तैन हामीवाट । किनकि यिनीहरुलाई आफ्नो मान्दा नै हामीमा ममता र स्वार्थभाव उत्पन्न हुन्छ । त्यसैले संसारको पदार्थ संसारको नै मानेर कर्मयोग हुनसक्छ ।