Tuesday 15 July 2014

123. No. 91 श्लोक २९ प्रकृतिजन्य गुणहरुवाट अत्यन्त मोहित भएका अज्ञानी मनुष्य गुणहरु र कर्महरुमा आसक्त रहन्छन् ।

No.  91
श्लोक २९ 

प्रकृतिजन्य गुणहरुवाट अत्यन्त मोहित भएका अज्ञानी मनुष्य गुणहरु र कर्महरुमा आसक्त रहन्छन् । तिनीहरुको ज्ञान पुर्ण नभएकोले ती  मन्द बुद्धि भएका अज्ञानीहरुलाई पूर्णतया जान्ने ज्ञानीहरुले विचलित नगर्नु ।

सत्व, रज, तम -- यी तीन गुणहरुले मनुष्यलाई वांध्छन् । सत्वगुण सुख र ज्ञानको  आसक्तिद्वारा, रजोगुण कर्मको आसक्तिद्वारा र तमोगुण प्रमाद आलस्य र निद्राद्वारा मनुष्यलाई वांध्छ ।
 
यो श्लोकमा शास्त्रमा, शास्त्रविहित शुभ कर्महरुमा र ती कर्महरुका फलहरुमा श्रद्धा-विश्वास भएका तर प्रकृतिजन्य गुणहरुले बाँधिएका     लौकिक र पारलौकिक भोगहरुको कामनाले गर्दा ती पुरुषहरु  पदार्थहरु र कर्महरुमा आसक्त भइरहन्छन् । यही कारण उनीहरु यो भन्दा माथि उठ्ने कुरो बुझ्नै सक्तैनन् । यही कारण भगवान यस्ता पुरुषलाई अज्ञानी भन्नुहुन्छ ।यस्ता अज्ञानी व्यक्तिहरु शुभकर्म त गर्छन्, तर नित्य-निरन्तर नरहने नाशवान् वस्तु पाउनलाई । उनीहरुले प्राप्त गर्ने अथवा गरेका धनादि वस्तुकोलागि उनीहरु ममता गर्छन् र नपाइएका वस्तुहरुका कामना गर्छन् । यसरी ममता र कामना रहिरहेको कारण उनीहरु गुणहरु (पदार्थहरु) र कर्महरुको तत्वलाई राम्ररी जान्दैनन् ।
 
भगवान भन्नुहुन्छ, गुण र कर्मको विभाग पूर्णतया जान्ने तथा कामना-ममताले रहित ज्ञानी पुरुषले त्यस्ता (सकाम भावपूर्वक शुभ-कर्महरुमा लागेका) अज्ञानी पुरुषहरुलाई शुभ-कर्महरुवाट विचलित नगर्नु, जसले गर्दा ती मन्दबुद्धि व्यक्ति आफ्नो वर्तमान स्थितिदेखि तल नगिरून् ।
 
अर्कोतिर, तत्वज्ञ महापुरुष कर्मयोगी होस् अथवा ज्ञानयोगी -- सम्पूर्ण कर्महरु गर्दा गर्दै पनि उसलाई  कर्महरु र पदार्थहरुसँग कुनै पनि सम्बन्ध हुँदैन ।

अज्ञानी व्यक्तिहरु स्वर्ग-प्राप्तिकोलागि शुभ-कर्म गर्छन् । यसैले भगवानले यस्ता व्यक्तिहरुलाई विचलित नगर्ने आज्ञा दिनुहुन्छ ज्ञानीहरुलाई । पहिले पाइएको धन आदि पदार्थमा ममता गर्छन् र नपाइएका वस्तुको कामना गर्छन् ।यसरी ममता र कामनाले वांधिइरहेको कारणले उनीहरु गुणहरु (पदार्थहरु) र कर्मको तत्वलाई पूर्णरूपमा जान्न सक्तैनन् । यही कारण, ज्ञानीहरूले त्यस्ता सकाम व्यक्तिहरुलाई आफ्नो संकेत, वचन र क्रियाले यस्तो कुनै कुरो प्रकट नगर्नु जसवाट ती सकाम पुरुषहरुलाई शास्त्र-विहित शुभ कर्महरुमा अश्रद्धा, अविश्वास अथवा अरुचि पैदा नहोस्, किनकि त्यसो गर्दा त्यो व्यक्तिको पतन हुन्छ ।  यस्ता व्यक्तिलाई सकामभाववाट विचलित गर्ने हो, शास्त्रीय कर्महरुवाट होइन ।
 
यो अध्यायको शुरु नै अर्जुनले कर्म गर्न मन नलागेर 'मलाई किन घोर कर्ममा लगाएको' भनेकोले नै हो । यहाँ भगवान भन्नुहुन्छ, 'मैले तिमीलाई घोर कर्ममा लगाएको होइन, कर्ममा भएको 'विष' (आसक्ति)को त्यागपूर्वक निष्कामभावले कर्म गर्यो भने त्यो व्यक्तिले शाश्वत शान्ति पाउँछ भनेको मात्रै हो ।'
पहिले पहिले पनि आइसक्यो, निष्कामभावले, फलको आशा नराखेर कर्म गर्ने । सर्व साधारण मनुष्य फलको आशा नगर्ने हो भने किन कर्म गर्ने भन्ने ठानेर कर्ममा नै प्रवृत्त हुँदैनन् । यो निष्कामभावको उपदेश केही समय अघिदेखि सकामभावले कर्म गरिरहेका व्यक्तिहरुकोलागि हो । पहिलो कोटिका व्यक्तिलाई त शास्त्र पनि सकामभावले नै कर्म गर्न सिकाउँछ ।
 
फलको आशा राखेर कर्म गर्दा व्यक्तिको कर्ममा भन्दा वढी फलमा ध्यान जान सक्ने भएकोले कर्ममा केही त्रुटी हुने सम्भावना पनि हुन्छ । त्यसैले गीताको पहिलो ६ अध्यायले हामीले कर्म गर्नु पर्ने कला सिकाउँछन् । हामीलाई पनि यस्ता प्रसंग आइरहँदा कसरी कर्म गर्ने भन्ने कुरा आफ से आफ स्मरणमा आउँछ, त्यो स्मरण अनुसार कर्म गर्दै जाँदा हाम्रो कर्म शुद्ध हुन्छ, शुद्ध कर्मले हाम्रो बुद्धि शुद्ध हुन्छ, त्यही शुद्ध बुद्धिमा (अन्तःकरणमा) हाम्रै आत्माको प्रकाश पर्छ । त्यही बुद्धिमा परेको आत्माको प्रकाशलाई नै 'साक्षात्कार' भन्छन् हजुर । यसको विस्तृत चर्चा केही दिनअघि हामी मध्ये केहीले सुनेकै हो । ॐ असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतम् गमय । ॐ शान्ति, शान्ति, शान्ति ।    

No comments:

Post a Comment