Sunday 13 July 2014

122. No. 90 श्लोक २८ परन्तु हे महावाहो ! गुण-बिभाग र कर्म-बिभाग तत्वले नै जान्ने महापुरुष 'सम्पूर्ण गुण नै

No. 90
श्लोक २८
परन्तु हे महावाहो ! गुण-बिभाग र कर्म-बिभाग तत्वले नै जान्ने महापुरुष 'सम्पूर्ण गुण नै गुणहरुमा व्यवहार गरिरहेछन् भन्ने मानेर ती गुणहरुमा आसक्त हुँदैन ।
सत्व, रज, तम -- यी तीनै गुणहरु प्रकृतिजन्य हुन् । सम्पूर्ण सृष्टि पनि  यी तीनै गुणहरुको कार्य भएकोले त्रिगुणात्मिका हो । अतः शरीर, इन्द्रियहरु, मन, बुद्धि वाणी, पदार्थ आदि सबै गुणमय नै हुन् । यसैलाई गुण-बिभाग भनिन्छ । यी शरीर आदिवाट हुने क्रियाहरुलाई 'कर्म-बिभाग भनिन्छ ।
गुण र कर्म अर्थात् पदार्थ र क्रियाहरु निरन्तर परिवर्तनशील छन् । पदार्थ उत्पन्न र नष्ट हुन्छन् तथा क्रियाहरु आरम्भ र समाप्त हुन्छन् । यही कुरालाई स्पष्टसँग अनुभव गर्नु नै गुण र कर्म-विभागलाई तत्वले जान्नु हो । चेतन (स्वरूप)मा कहिले कुनै क्रियाहरु हुँदैनन् । चेतन सदा निर्लिप्त, निर्विकार रहन्छ अर्थात् कुनै पनि प्राकृत पदार्थ र क्रियासँग उसको सम्बध हुँदैन । यस्तो ठीक-ठीक अनुभव गर्नु नै चेतनलाई तत्वले जान्नु हो ।
अज्ञानी पुरुष यी गुण-बिभाग र कर्म-बिभागसँग आफ्नो सम्बन्ध मान्छ, त्यसैले ऊ वाँधिन्छ । शास्त्रीय दृष्टिले यो बन्धनको कारण अज्ञान हो, साधकको दृष्टिले 'राग' नै यो बन्धनको कारण हो ।  राग 'अविवेक'वाट हुन्छ । विवेक जाग्रत भएपछि  राग नष्ट हुन्छ । यो विवेक मनुष्यमा मुख्यरूपले रहन्छ । अवको हाम्रो  आवश्यकता -- खालि यो विवेकलाई महत्व दिएर यसलाई जाग्रत गर्नु छ । अतः हामीमा भएको राग मेटाउनु पर्छ ।
तत्वको अनुभव गर्न चाहने साधकले गुण (पदार्थ) र कर्म-(क्रिया)सँग कुनै सम्बन्ध नमाने उ पनि गुण-बिभाग र कर्म-बिभाग तत्वले जान्दछ । गुणविभागलाई तत्वले जाने पनि, 'स्वयं'लाइ (चेतन स्वरूप)लाई तत्वले जाने पनि दुबैको परिणाम यौटै हो ।
गुण-बिभाग र कर्म-विभागलाई तत्वले जान्ने उपाय
(१) शरीरमा रहंदा पनि चेतन-तत्व (स्वरूप) सर्वथा अक्रिय र निर्लिप्त रहन्छ । प्रकृतिको कार्य (शरीर, इन्द्रियहरु, मन, बुद्धि) 'इदम्' (यो) भनिन्छ । 'इदम्' (यो) कहिले पनि 'अहम्' हुँदैन । 'यो' शरीर आदि म होइन भने 'यो'मा हुने क्रियाहरु 'मेरो' कसरी हुने ? अर्थ, शरीर, इन्द्रियहरु, मन,बुद्धि आदि सबै प्रकृतिका कार्य हुन् र 'स्वयं' प्रकृतिका कार्यहरुदेखि सर्वथा असम्बद्ध, निर्लिप्त छ । अतः प्रकृतिमा हुने क्रियाहरुको कर्ता 'स्वयं' कसरी हुन सक्छ ? यसरी आफूलाई पदार्थ एवं क्रियाहरुदेखि सर्वथा छुट्टै अनुभव गर्ने व्यक्ति बन्धनमा पर्दैन । सबै अवस्थाहरुमा 'म केही पनि गर्दिन' भन्ने अनुभव गर्नु नै आफूलाई छुट्टै जान्नु अर्थात् अनुभव गर्नु हो ।
(२) हेर्नु-सुन्नु, खानु-पिउनु जस्ता सबै 'क्रियाहरु' र हेर्ने-सुन्ने आदिका विषय, खाने-पिउने सामग्री, आदि सबै पदार्थ हुन् । यी क्रियाहरु र पदार्थहरुलाई हामी इन्द्रियहरु (आँखा, कान, मुख आदि)वाट जान्दछौं । इन्द्रियहरुलाई मनले र मनलाई बुद्धिले र बुद्धिलाई मानिएको 'अहम्'('म'पना) ले जान्दछौं । यो 'अहम्' एक सामान्य प्रकाश (चेतन) (चेतन) वाट प्रकाशित  हुन्छ ।  त्यही सामान्य प्रकाश नै सबैको ज्ञाता, सबैको प्रकाशक र सबै आधार हो ।
'अहम्' भन्दा पनि श्रेष्ठ आफ्नो (स्वरूप)लाई कसरी जान्ने ? मस्त निद्रामा बुद्धि अविद्यामा लीन हुन्छ, तैपनि हामी भन्छौं, 'म अत्यन्त सुखपूर्वक सुतें' । यसरी निद्रावाट उठेपछि 'म छु' को अनुभव सबैलाई हुन्छ, । यसवाट सिद्ध हुन्छ, सुषुप्तिकालमा आफ्नो सत्ता थियो । यदि यस्तो नहुँदो हो त 'म धेरै सुखपूर्वक सुतें, मैले केही पनि थाहा पाइनं' -- यस्तो स्मृति या ज्ञान हुने थिएन । स्मृति अनुभवजन्य हुन्छ । यही कारण सबैलाई प्रत्येक अवस्थामा आफ्नो सत्ताको अखण्ड अनुभव हुन्छ । कुनै अवस्थामा आफ्नो अभावको (म छैन'--यसको) अनुभव हुँदैन । मानिएको 'अहम्'-(म पना) सँग पनि सम्बन्ध-विच्छेद गरेर आफ्नो स्वरूप-('छ'-)को बोध भएको व्यक्तिलाई 'तत्ववित्' भनिन्छ ।
अपरिवर्तनशील परमत्मतत्वसँग हाम्रो स्वतःसिद्ध नित्य सम्बन्ध छ । परिवर्तनशील प्रकृतिसँग हाम्रो सम्बन्ध वस्तुतः छँदै छैन, केवल मानिएको हो । प्रकृतिसँग मानिएको सम्बन्ध विचारद्वारा मेट्ने कलालाइ 'ज्ञानयोग' भनिन्छ, त्यही सम्बन्ध परहितार्थ कर्म गर्दै मेटाइयो भने त्यसलाई 'कर्मयोग' भनिन्छ । प्रकृतिसँग सम्बन्ध विच्छेद हुँदा नै योग (परमात्माको नित्य सम्बन्धको अनुभव) हुन्छ, हैन भने केवल ज्ञान र कर्म नै हुन्छ । अतः प्रकृतिसँग सम्बन्ध विच्छेदपूर्वक परमात्मासँग आफ्नो नित्य-सम्बन्धको पहिचान गर्ने व्यक्ति नै 'तत्ववित्' हो ।           


प्रकृतिजन्य गुणहरुवाट उत्पन्न भएको कारण शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि 'गुण' नै भनिन्छन् र यिनीहरुवाट नै सम्पूर्ण कर्महरु हुन्छन् । अज्ञानी व्यक्ति अविवेकले गर्दा यी गुणहरुसँग आफ्नो सम्बन्ध मान्छ र यी गुणहरुवाट हुने समस्त क्रियाहरुको कर्ता आफूलाई मान्छ । तर 'स्वयं' (सामान्य प्रकाश- चेतन)मा आफ्नो स्वतःसिद्ध स्थितिको अनुभव भएपछि 'म कर्ता हुँ' भन्ने भाव रहँदैन ।
रेलको engine चलेको वेला रेलमा क्रिया हुन्छ; तर रेल खिंचने शक्ति engine र driver को संयुक्त प्रयासवाट हुन्छ । वास्तवमा खिंच्ने शक्ति त driver को नै हो, र driverले संचालन गरेपछि नै रेल गन्तव्यमा पुग्छ । कारण कि engineमा इन्द्रियहरु, मन, बुद्धि हुँदैनन्, त्यसैले रेल चल्नलाई इन्द्रियहरु, मन बुद्धि भएको मनुष्यको जरुरत पर्छ । तर, मनुष्यसँग शरीररूपी engine पनि छ,  र संचालनको लागि इन्द्रियहरु, मन, बुद्धि पनि । शरीर, इन्द्रियहरू, मन, बुद्धि -- यी चारै एक सामान्य प्रकाश (चेतन)मा सत्ता-स्फूर्ति पाएर काम गर्न समर्थ हुन्छन् । सामान्य प्रकाश (चेतन) को बुद्धिमा आउँछ,        
बुद्धिको ज्ञानलाई मनले ग्रहण गर्छ, र शरीररूपी engine संचालित हुन्छ । बुद्धि, मन, इन्द्रियहरु, शरीर -- यी सबै गुण हुन् र यिनलाई प्रकाशित गर्ने अर्थात् यिनलाई सत्ता-स्फूर्ति दिने 'स्वयम्' यी गुणहरुदेखि विल्कुल असम्बद्ध, निर्लिप्त रहन्छ । अतः वास्तवमा सम्पूर्ण गुणहरु नै गुणहरुमा व्यवहार गरिरहेछन् ।
श्रेष्ठ व्यक्तिहरुको आचरणहरुको अनुसरण सबै गर्छन् । यसैले भगवान ज्ञानी व्यक्तिहरु द्वारा लोकसंग्रह हुने विषयको वर्णन गर्दै भन्नुहुन्छ, महापुरुषले 'सम्पूर्ण गुणहरु नै गुणहरुमा व्यवहार गरिरहछन्'  भनेर  आसक्त नभए जस्तै हामी (साधकले) पनि त्यस्तै मानेर आफूले गर्ने र गरेको कर्ममा आसक्त हुनुहुँदैन ।  

No comments:

Post a Comment