Thursday 17 July 2014

124. No. 92 श्लोक ३० तिमी विवेकवती बुद्धिद्वारा सम्पूर्ण कर्तव्य-कर्महरु मलाई अर्पण गरेर कामनारहित, ममतारहित र सन्तापरहित भएर युद्ध-रुप कर्तव्य-कर्म गर ।

No. 92
श्लोक ३० 

तिमी विवेकवती बुद्धिद्वारा सम्पूर्ण कर्तव्य-कर्महरु मलाई अर्पण गरेर कामनारहित, ममतारहित र सन्तापरहित भएर युद्ध-रुप कर्तव्य-कर्म गर ।

धेरै साधकहरुको विचार हुन्छ, कर्मले बन्धन हुन्छ र कर्म नगरी कोही पनि वस्न सक्तैन, त्यसैले कर्म गरें भने म बाँधिन्छु । यसैले, यहाँ बन्धन नहुने गरी र कर्मको वन्धनवाट मुक्त हुने गरी कर्म कसरी गर्नुपर्छ भन्ने बुझाउन भगवान अर्जुनलाई भन्नुहुन्छ, 'तिमी अध्यात्मचित्त (विवेक विचार युक्त अन्तःकरण)ले सम्पूर्ण कर्तव्य-कर्म मलाइ अर्पण गर अर्थात् यी कर्महरुसँग कुनै पनि सम्बन्ध नराख । किनकि संसारको सम्पूर्ण क्रियाहरुमा मेरो शक्ति काम गरिरहेको हुन्छ । शरीर, इन्द्रियहरु, मन, बुद्धि पनि मेरा हुन् र शक्ति पनि मेरै हो ।' यही कारण 'सबै भगवानको हो र भगवान मेरो हो' भन्ने कुरा विचार गरेर तिमीले कर्तव्य कर्म गर्यौं भने ती कर्म बन्धनकारक हुँदैनन्, ती कर्मले तिम्रो उद्धार गर्छन् ।'

हाम्रो अनुभव छ, शरीर, इन्द्रियहरु, मन, बुद्धि पदार्थ आदिमा हाम्रो कुनै अधिकार चल्दैन । यी सबै प्रकृतिका हुन् र 'स्वयं' परमात्माको हो । अतः शरीर आदि पदार्थसँग भूलले मानिएको आफ्नोपनलाई हटाएर यिनीहरुलाई भगवानको नै मानेर 'अर्पण' गर्नु पर्छ । आफ्नो विवेकलाई महत्व दिएर पदार्थहरु र कर्महरुसंग मूर्खतावश मानिएको सम्बन्धको त्याग गर्नुलाई नै अर्पण भनिएको छ यो श्लोकमा । 

जुनसुकै मार्गको साधकले पनि आफ्नो उद्देश्य आध्यात्मिक नै वनाउनु पर्छ, लौकिक होइन । वास्तवमा उद्देश्य अथवा आवश्यकता सँधै नित्य तत्वकै (आध्यात्मिक) हुन्छ र कामना सँधै अनित्य तत्वकै (लौकिक, उत्पत्ति विनाशशील वस्तु) हुन्छ । साधकमा उद्देश्य हुनुपर्छ, कामना होइन । उद्देश्ययुक्त अन्तःकरण विवेक-विचारयुक्त नै हुन्छ ।
 
दार्शनिक या वैज्ञानिक, कुनै पनि दृष्टिले, शरीर आदि भौतिक पदार्थ हाम्रो भन्ने सिद्ध हुँदैन । यी पदार्थ आफ्नो र  आफ़्नोलागि हुँदै होइनन्, केवल सदुपयोग गर्नकोलागि मिलेका हुन् । आफ्नो नभएकोले नै यिनीहरुमा कसैको पनि अधिकार छैन ।

सम्पूर्ण संसार परमात्माको हो; परन्तु हामी भूलले परमात्माको वस्तुलाई आफ्नो मानिदिन्छौं  र यसैले बन्धनमा पर्छौं । अतः विवेक-विचार द्वारा यो भूललाई हटाएर सम्पूर्ण पदार्थहरु र कर्महरूलाई अध्यात्मतत्वको (परमात्माको) भन्ने स्वीकार गर्नुपर्छ हामीले । यही कुरालाई अध्यात्म चित्त्द्वारा अर्पण  गर्ने भनिएको हो। 

अविवेकले नै उत्पत्ति-विनाशशील शरीर (संसार) आफ्नो देखिन्छ । विवेक-विचारपूर्वक हेर्दा शरीर र संसार आफ्नो देखिंदैन, यो त एक अविनाशी परमात्मतत्व नै देखिन्छ । संसारलाई आफ्नो देख्नु नै पतन हो, आफ्नो नदेख्नु नै उत्थान हो । शास्त्र भन्छ,

'दुइ अक्षरहरुको 'मम' ('यो मेरो हो' भन्ने भाव) मृत्यु हो र तीन अक्षरहरुको 'न मम' (यो मेरो होइन--भन्ने भाव) अमृत , सनातन ब्रह्म हो ।

यहाँ 'अर्पण' गर्ने प्रसङ्ग आउनुको कारण, हामीले करण (शरीर, इन्द्रियहरू, मन, बुद्धि, प्राण), उपकरण (कर्म गर्ने आवश्यक सामग्री) तथा क्रियाहरुलाई भूलले आफ्नो र आफ़्नोलागि मान्यौं, जुन कहिले पनि  हाम्रो छँदै थिएनन्, हुँदै होइनन् र हुने सक्तैनन् । उत्पत्ति-विनाशशील वस्तुहरुसंग अविनाशीको के सम्बन्ध? अतः कर्महरु चाहे भगवानलाई अर्पण गरौँ, चाहे प्रकृतिलाई अर्पण गरौँ र चाहे भगवानलाई अर्पण गरिदिऊँ  -- यी तीनैको एक नै नतीजा हुनेछ; किनकि संसार प्रकृतिको कार्य र भगवान प्रकृतिको स्वामी हुनुहुन्छ । यो दृष्टिले संसार र प्रकृति दुवै भगवानकै हुन् । अतः 'म भगवानको हुँ  र मेरो भनिने समस्त वस्तुहरु भगवानको हो' । यस्तो प्रकारले सबै भगवानलाई अर्पण गरिदिनु पर्छ अर्थात्  ती चीज प्रतिको आफ्नो ममता उठाउनु पर्छ । यसो गर्न सके हामीलाई संसार अथवा भगवानसँग केही पनि चाहना हुँदैन, किनकि हामीलाई चाहिएको चीज भगवान स्वतः व्यवस्था गरिदिनु हुन्छ । अर्पण गरिसकेपछि फेरि शरीर आदि पदार्थ आफ्नो भन्ने लाग्दैन । यदि आफ्नो लाग्छ भने वास्तवमा अर्पण नै भएको छैन । यसैले भगवानले विवेक-विचारयुक्त चित्तले अर्पण गर्ने कुरा गर्नुभयो । यसो गर्दा यी सबै पदार्थ भगवानका नै हुन्, आफ्ना होइनन् भन्ने वास्तविकता बुझ्न सजिलो हुन्छ ।
 
भगवानलाई अर्पण गर्ने कुरा धेरै विलक्षण छ । कुनै वेला  झर्को लागेर  अर्पण गरियो भने पनि लाभै लाभ छ । किनकि कर्म र वस्तुहरु आफ्ना हुँदै होइनन् । कर्महरु गरिसकेपछि पनि भगवानलाई अर्पण गर्न सकिन्छ । तर वास्तविक अर्पण पदार्थहरु र वस्तुहरुसँग सम्बन्ध-विच्छेद भएपछि नै हुन्छ, जव हामीलाई करण  (शरीर आदि), उपकरण (संसारिक पदार्थ), कर्म र 'स्वयम्' -- यी सबै भगवानका नै हुन् भन्ने ठीक ठीक अनुभव हुन्छ । हामीवाट धेरै जसो  यस्तो गल्ति हुन्छ, हामी उपकरणहरुलाई त भगवानको मान्ने चेष्टा गर्छौं, तर 'कारण स्वयम् पनि भगवानका हुन् -- भन्ने कुरामा ध्यान दिंदैनौं । यसो हुँदा हाम्रो अर्पण अधूरो हुन्छ । अतः हामीले करण, उपकरण, क्रिया र 'स्वयम्' -- सबैलाई एक मात्र भगवानको नै मान्नु पर्छ, किनकि वास्तवमा यी चीजहरु पनि उहाँकै हुन् ।

कर्म र पदार्थहरुलाई स्वरूपले नै त्याग गर्नु अर्पण होइन । भगवानका वस्तुहरु भगवानको नै मान्नु अर्पण हो । वस्तुहरु आफ्नो मान्दै भगवानलाई अर्पण गर्नेलाइ पनि त्यसको वदलामा भगवान धेरै वस्तुहरु दिनुहुन्छ; जस्तो, पृथ्वीमा जति नै विउहरु रोप्यो, त्यसको कति गुणा वढी अन्न हामी पृथ्वीवाट पाऊँछौँ, तर जति गुणा पाइए पनि ती वस्तुहरु सीमित नै हुन्छन् । तर आफ्नो नमानेर (भगवानको नै मानेर) हामीवाट अर्पण गरिएका वस्तुहरु भगवान हामीलाई नै फिर्ता दिनुहुन्छ, र हामीसँग ऋणी पनि हुनुहुन्छ । तात्पर्य, वस्तु आफ्नो मानेर दिंदा हाम्रो अन्तःकरणमा ती वस्तुहरुको महत्व हुन्छ, त्यही हुनाले ती वस्तुको मूल्य वस्तुमा नै मिल्छ र आफ्नो नमानेर दियो भने भगवान नै पाइनुहुन्छ ।

वास्तविक अर्पणवाट भगवान अत्यन्त प्रसन्न हुनुहुन्छ । यसरी अर्पण गर्दा व्यक्ति कर्म-बन्धनदेखि मुक्त हुन्छ र यसैमा भगवानको प्रसन्नता हुन्छ । सम्पूर्ण पदार्थ, शरीर तथा शरीरी (स्वयं)  भगवानका नै हुन्; त्यसैले तीवाट आफ्नोपन हटाउने र तीनलाई भगवानमा अर्पण गर्ने भाव देखेर नै उहाँ (भगवान) प्रसन्न हुनुहुन्छ र त्यो व्यक्तिको ऋणी हुनुहुन्छ ।
परमात्माले मनुष्य-शरीरको रचना वडो विचित्र किसिमले गर्नुभएको छ । मनुष्यको जीवन निर्वाह र साधनकोलागि आवश्यक सामाग्रीहरु उसलाई भने जति मिलेका छन्। अझ भगवानले मनुष्यलाई विवेक पनि दिनुभएको छ । त्यो विवेकलाई महत्व नदिएर हामीले आफुले पाएको वस्तुहरुको ठीक ठीक उपयोग नगरेर आफ्नोलागि उपयोग गर्यौं भने, प्राप्त वस्तुहरुमा ममता तथा अप्राप्त वस्तुको कामना गर्न थाल्यौं भने हामी जन्म-मरणको बन्धनमा पर्छौं । वर्तमानका वस्तु, व्यक्ति, परिस्थिति, घटना, योग्यता, शक्ति, शरीर, इन्द्रियहरु, मन, प्रण, बुद्धि आदि पाइएका जस्ता देखिन्छन्, तर तिनीहरु पहिले पनि हाम्रा थिएनन् र पछि पनि हामीसँग सँधै रहँदैनन्, किनभने तिनीहरु कहिले पनि एकरूप रहँदैनन्, प्रतिक्षण वदलिइ रहन्छन् । यो वास्तविकता हामीलाई थाहा नै छ । यदि हामीले आफूले जानेको जस्तो मानिदिए र त्यस्तै आचरण गरे हाम्रो उद्धारमा कुनै पनि सन्देह छैन । अर्को शब्दमा, शरीर आदि पदार्थलाई आफ्नो र आफ़्नोलागि नमान्ने, तिनीहरुको आश्रित नहुने  र तिनीहरुलाई महत्व दिएर तिनीहरुको पराधीनता स्वीकार नगर्ने । पदार्थहरुलाई महत्व दिनु नै ठूलो भूल हो । ती पदार्थ पाउँदा आफूलाई भाग्यमानी सम्झनु पनि ठूलो बन्धन हो । नाशवान् पदार्थलाई महत्व दिंदा नै नयाँ नयाँ कामना उत्पन्न हुन्छन् । कामना सबै पापहरु, तापहरु, दुःखहरु, अनर्थहरु, नरकहरुको जड हो । कामना गरेर पदार्थ मिल्ने होइन, मिलि हाले पनि टिक्ने होइन । किनकि पदार्थहरु आउने-जाने खालका छन् र 'स्वयं' सदा रहन्छ । अतः कामनाको त्याग गरेर हामीले कर्तव्य-पालन गर्नुपर्छ ।

यहाँ शंका हुन्छ, 'कामना विना प्रवृत्ति कसरी हुन्छ ?
कामनाको पूर्ति र निवृत्तिकोलागि हामीमा कर्मको प्रवृत्ति हुन्छ । साधारण व्यक्ति कामनाको पूर्तिकोलागि कर्म गर्छ र साधक आत्मशुद्धि-हेतु कामनामा प्रवृत्त हुन्छ । वास्तवमा प्रवृत्ति पनि कामनाको निवृत्तिकोलागि नै हो, कामनाको पूर्तिकोलागि होइन । 

यो मनुष्य-शरीर उद्देश्यको पूर्तिकोलागि पाइएको छ । उद्देश्य पूर्ति भएपछि केही गर्न वांकी रहँदैन । आफ्नो वास्तविक उद्देश्यको विस्मृति भएका मनुष्य नै कामना पूर्तिकोलागि कर्ममा प्रवृत्त हुन्छन् । यस्ता मनुश्यहरुलाई भगवानले 'कृपण' दीन भन्नुभएको छ गीतामा । तर आफ्नो उद्देश्यको स्मरण गरी गरी आफ्नो (कामना निवृत्तिकोलागि) कर्महरुमा प्रवृत्त हुने व्यक्तिलाई भगवान 'मनीषी' भन्नुहुन्छ । सेवा, स्वरूप-बोध र भगवत् प्राप्तिको भाव उद्देश्य हो, कामना होइन । नाशवान् पदार्थहरुको प्राप्तिको भाव नै कामना हो । अतः कामना विना कर्महरुमा प्रवृत्ति हुँदैन -- यस्तो मान्नु नै भूल हो । उद्देश्य पूर्तिकोलागि पनि कर्म सुचारुरूपले चल्छ ।

आफ्नो अंशी परमात्मासँग विमुख भएर संसार-(जडता)सँग आफ्नो सम्बन्ध मान्दा नै आवश्यकता र कामना दुबैको उत्पत्ति  हुन्छ । संसारसँग मानिएको सम्बन्ध सर्वथा त्याग भएपछि आवश्यकताको पूर्ति र कामनाको निवृत्ति हुन्छ ।

सम्पूर्ण कर्महरु र पदार्थहरु (कर्मसामग्री) भगवानलाई अर्पण गरिसकेपछि पनि कामना, ममता र सन्तापको कुनै अंश वांकी रहन सक्छ । जस्तो, हामीले कसैलाई कुनै पुस्तक दिन्छौं । त्यो पुस्तक पाउने व्यक्तिले हामीले दिएको पुस्तक पढिरहेको देख्दा हाम्रो मनमा यस्तो भाव आउँछ, 'त्यो व्यक्ति मैले दिएको पुस्तक पढिरहेको छ' । यसैलाई आंशिक ममता भन्छन् । यो ममता दान दिइसकेपछि पनि रहिरहन्छ । यही अंशको त्याग गर्नकोलागि भगवान अर्जुनलाई भन्नुहुन्छ, 'तिमी नयाँ वस्तुको कामना नगर, आफूसँग भएको वस्तुमा पनि ममता नराख र आफूसँग भएको नष्ट हुँदा पनि सन्ताप नगर। सबै मलाई नै अर्पण गर्ने कसौटी नै यही हो, कामना, ममता र सन्तापको अंश पनि नरहोस् ।'

भगवान यहाँ हामीलाई भन्नुहुन्छ, कुनै वेला पहिलेको संस्कारले गर्दा शरीर आदि पदार्थहरुसँग कामना, ममता तथा सन्ताप देखिई हाले पनि निराश हुनुहुन्न । किनकि जसमा कामना देखिन्छ, त्यही कामनारहित हुने हो, जसमा ममता देखिन्छ, त्यही ममतारहित हुने हो, जसमा सन्ताप देखिन्छ, त्यही सन्तापरहित हुने हो । देहलाई 'अहम्' (म) मान्नेले नै विदेह (अहम् रहित) हुने हो । अतः हामी कामना, ममता, सन्तापरहित हुन पूर्ण अधिकारी छौं ।
यहाँ भगवान अर्जुनलाई 'विगतज्वर' हुने सल्लाह दिनुहुन्छ र भन्नुहुन्छ, 'तिमी पनि सन्तापरहित भएर युद्ध गर ।' युद्धमा (व्यवहारमा) कुटुम्वसँग मोह भएर हामीलाई ज्वर आउन सक्छ, त्यसैले त्यो ज्वरवाट उठ्ने हो हामीले ।        

यहाँ युद्धको प्रसङ्ग छ, त्यसैले धेरै ठाउँमा युद्ध भन्ने शब्द आउँछ । तर भगवानको आशय कर्तव्य-कर्म  गर्नुमा छ । त्यसैले कर्तव्य कर्म गर्दा नै सावधान हुनु छ हामीले । समय समयमा आइ पर्ने कर्तव्य कर्म हामीले निष्काम, निर्मम तथा निसंताप भएर गर्नु पर्ने भयो । त्यो कर्तव्य कर्मको परिणाम,सिद्धि,असिद्धि तर्फ दृष्टि दिनु भएन । सिद्धि-असिद्धि, अनुकूलता-प्रतिकूलतामा सम रहनु नै 'विगतज्वर' हुनु हो । किनकि अनुकूलतावाट हुने प्रसन्नता र प्रतिकूलतावाट हुने उद्विग्नता दुवै ज्वर हुन् । राग-द्वेष, हर्ष-शोक, काम-क्रोध आदि विकार पनि ज्वर हुन् । छोटोमा राग-द्वेष, चिन्ता, उद्वेग, हलचल आदि जम्मै मानसिक विकृतिहरु (विकार) हुन्, यी सबै ज्वर हुन् र यी विकारदेखि रहित हुनु नै 'विगतज्वर' हुनु हो ।    

No comments:

Post a Comment