Saturday 2 August 2014

129. No. 96 श्लोक ३५ राम्रोसँग आचरणमा ल्याइएको अरुको धर्म भन्दा गुणहरु कम भए पनि आफ्नो धर्म श्रेष्ठ छ ।

No. 96 
श्लोक ३५

राम्रोसँग आचरणमा ल्याइएको अरुको धर्म भन्दा गुणहरु कम भए पनि आफ्नो धर्म श्रेष्ठ छ । आफ्नो धर्ममा मर्न पनि कल्याणकारक छ र अरुको धर्म डरलाग्दो छ ।
 
अरुको वर्ण, आश्रम आदिको धर्म (कर्तव्य) वाहिरवाट हेर्दा गुणसम्पन्न भए पनि, ती धर्म पालन गर्न सजिलो भए पनि,धन, वैभव,सुख-सुबिधा, मन-वडाइ आदि मिले पनि, जीवनभरी सुखसँग वाँच्न सकिए पनि त्यो परधर्मको पालन आफ़्नोलागि विहित नभएको हुँदा परिणाममा दुःख, भय, दिने किसिमको हुन्छ । तर, आफ्नो वर्ण, आश्रम आदिको धर्म वाहिरवाट हेर्दा गुणहरु कम देखिए पनि, त्यो हाम्रो आफ्नो धर्म पालन गर्न गाहारो लागे पनि, पालन गर्न मन नलागे पनि, धन-वैभव, सुख-सुविधा, मान-वडाइ आदि नमिले पनि हामीले आफ्नो स्वधर्मको निष्कामभावले पालन गर्नु पर्छ, किनभने आफ्नो स्वधर्म कल्याण गर्ने हुन्छ । त्यसैले हामीले कुनै पनि स्थितिमा आफ्नो स्वधर्मको त्याग गर्नु हुन्न, वरु यसको पालन निष्काम, निर्मम र अनासक्त भएर गर्नुपर्छ ।
 
हाम्रोलागि स्वधर्मको पालन स्वाभाविक छ, सहज छ । हाम्रो 'जन्म' नै कर्महरुको अनुसार हुन्छ र जन्म अनुसार भगवान्ले 'कर्म' नियत गर्नुभएको छ ।  त्यसैले आफ्नो आफ्नो नियत कर्महरुको पालन गरे हामी कर्म-बन्धनवाट मुक्त हुन्छौं । अर्थात् हाम्रो कल्याण हुन्छ । त्यसैले, दोषयुक्त देखिंदा पनि नियत कर्म अर्थात् स्वधर्मको त्याग गर्नु हुँदैन । 
 
अर्जुन युद्ध गर्नु भन्दा भिक्षाको अन्न खाएर जीवन निर्वाह गर्न राम्रो ठान्छन् । तर भगवान अर्जुनलाई भन्नुहुन्छ, 'भिक्षाको अन्नले जीवन-निर्वाह गर्नु भिक्षुककोलागि स्वधर्म हो, तर तिम्रोलागि परधर्म हो ; किनकि तिमी गृहस्थ हौ, भिक्षुक होइन।' तात्पर्य, स्वधर्मको पालनमा राग-द्वेष रहँदा नै पाप लाग्ने हो । राग-द्वेषरहित भएर स्वधर्मको राम्रोसँग  पालन गरे समता (योग)को अनुभव हुन्छ; समताको अनुभव भएपछि दुःखहरुको नाश हुन्छ । यसैले भगवान फेरि फेरि अर्जुनलाई राग-द्वेषरहित भएर युद्धरूप स्वधर्म पालन गर्न वल गर्नुहुन्छ ।
 
भगवान अनुसार क्षात्र धर्मको नाताले युद्ध गर्नु अर्जुनको कर्तव्य हो; त्यसैले युद्धमा जय-पराजय, लाभ-हानि र सुख-दुःखलाई समान देख्ने हो ; र युद्धरूप क्रियाको सम्बन्ध आफूसँग छैन भन्ने मानेर कर्महरुको आसक्ति हटाउनकोलागि कर्म गर्ने हो । शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ पनि हामीलाई कर्तव्य-पालनकोलागि नै मिलेका हुन् ।

वर्ण, आश्रम, अनुसार आफ्नो-आफ्नो कर्तव्य निःस्वार्थभावले पालन गर्नु नै स्वधर्म हो । आस्तिक मनुष्यले धर्म भन्ने शब्दको अर्को नाम कर्तव्य हो । स्वधर्मको पालन गर्ने भन्नु र आफ्नो कर्तव्य पालन गर्ने भन्नु उही कुरा हो । 
 
कर्तव्य त्यही हो, जसलाई सजिलोसँग गर्न सकियोस्, जुन अवश्य नै गर्नुपर्छ र जुन गर्दा प्राप्तव्यको (परमात्माको) अवश्य प्राप्ति हुन्छ । धर्म नै कर्तव्य भएकोले यसको पालना गर्न सजिलो हुन्छ । यो पनि साँचो हो, धर्मको पालन ठीक तरिकाले गरे हामीलाई वैराग्य हुन्छ । कर्तव्य मात्रै सम्झेर धर्मको पालन गरियो भने कर्महरुको प्रवाह प्रकृतिमा जान्छ र यसरी आफूसँग कर्मको सम्बन्ध रहँदैन । 
 
आफ्नो आफ्नो वर्ण र आश्रमको आफ्नो आफ्नो कर्तव्य (स्वधर्म) भयो, तर, अरुको वर्ण, आश्रमको कर्तव्यमा ध्यान गयो भने आफ्नो कर्तव्य  अरुको भन्दा कम गुण भएको जस्तो लाग्छ । यसैले भगवान भन्नुहुन्छ, अरुको कर्तव्य भन्दा आफ्नो कर्तव्य कम गुण भएको देखिए पनि आफ्नो कर्तव्यले नै हाम्रो कल्याण गर्छ । त्यसैले कुनै पनि अवस्थामा आफ्नो कर्तव्यको त्याग गर्नु हुँदैन ।
 
वर्ण, आश्रम अनुसार वाहिरवाट कर्म छुट्टा छुट्टै (घोर अथवा सौम्य) देखिन्छन्, तर परमात्मप्राप्तिरूप उद्देश्य त एक मात्र हुन्छ । परमात्मप्राप्तिरूप उद्देश्य नरहँदा तथा अन्तःकरणमा सांसारिक पदार्थको महत्व रहँदा नै कर्म घोर अथवा सौम्य देखिने हुन् ।
 
स्वधर्मको पालन सुख अथवा दुःख हेरेर गरिंदैन, भगवान तथा शास्त्रको आज्ञा विचार गरेर निष्कामभावले गरिन्छ । त्यसैले स्वधर्म अर्थात् कर्तव्यको पालन गर्दा गर्दै कुनै कष्ट आयो भने पनि त्यो कष्ट पनि उन्नति गर्ने हुन्छ । वास्तवमा त्यो कष्ट कष्ट नभएर तप हुन्छ । त्यस्तो कष्ट तप भन्दा पनि धेरै चाँडो उन्नति गर्ने हुन्छ । किनकि तप आफ़्नोलागि गरिन्छ र कर्तव्य अरुकोलागि । जानेर गरिएको तपले भन्दा धेरै लाभ अनायास आएको कष्टरूप तपवाट हुन्छ ।  स्वधर्मको पालन गर्दा कष्ट सहने र स्वधर्मको पालन गर्दा गर्दै शरीर छोड्ने ती धर्मात्मा पुरुष अमर हुन्छन् । निष्कर्ष, निष्कामभावपूर्वक आफ्नो धर्मको पालन गर्दै कष्ट नै आए पनि, मृत्यु नै भए पनि त्यो व्यक्तिको यो संसारमा कल्याण नै हुन्छ ।

स्वधर्म पालन गर्ने मनुष्यको दृष्टि धर्ममा नै हुन्छ । धर्ममा दृष्टि रहँदा उसको धर्मसँग सम्बन्ध रहन्छ ।
हामी स्वयं परमात्माको अंश भएकाले हाम्रो धर्म हो -- आफ्नो कल्याण गर्ने, आफूलाई भगवानको मान्ने, आफूलाई जिज्ञासु मान्ने, आफूलाई सेवक मान्ने । किनकि यी सबै ठीक धर्म हुन्, खास स्वयंका धर्म हुन्, मन-बुद्धिका धर्म होइनन् । अरु वर्ण, आश्रम, शरीरलाई लिएर जति पनि धर्म छन्, ती आफ्नो कर्तव्य-पालनकोलागि स्वधर्म भए पनि परधर्म नै हुन् । किनभने सबै धर्म मानिएका हुन्, स्वयंका होइनन् । ती सबै धर्महरुलाई अरुको सहाराको आवश्यकता हुन्छ अर्थात् तिनीहरुमा परतंत्रता रहन्छ, परन्तु आफ्नो सक्कली धर्ममा कसैको सहायताको आवश्यकता पर्दैन अर्थात् सक्कली धर्ममा स्वतन्त्रता रहन्छ । यसैले प्रेमी हुन्छ भने स्वयं हुन्छ, जिज्ञासु हुन्छ भने स्वयं हुन्छ, सेवक हुन्छ भने स्वयं हुन्छ । यही कारण प्रेमी प्रेम भएर प्रेमास्पदसँग एक हुन्छ, जिज्ञासु जिज्ञासा भएर ज्ञातव्य-तत्वसँग एक हुन्छ र सेवक सेवा भएर सेव्यसँग एक हुन्छ । त्यस्तै, साधक खालि साधनासँग एक भएर साध्यस्वरूप हुन्छ ।

परमात्मप्राप्ति चाहने साधकलाई धन, मान, वड़ाई, आदर, आराम, पाउने इच्छा हुँदैन । यही कारण धन, मान नपाउँदा उसलाई कुनै चिन्ता हुँदैन र यदि प्रारव्धद्वारा पाई नै हाले पनि उसलाई कुनै प्रसन्नता हुँदैन । किनकि उसको ध्येय केवल परमात्मा पाउने मात्रै हुन्छ, धन, मान पाउने हुँदैन । त्यसैले त्यस्तो साधकद्वारा कर्तव्यरूपले मिलेको लौकिक कार्यहरु पनि सुचारुरुपले र पवित्रतापूर्वक  हुन्छन् । परमात्मप्राप्तिको उद्देश्य भएकोले उसका सबै कर्म परमात्माकोलागि नै हुन्छन् । परमात्मप्राप्तिको लक्ष रहँदा संसारमा पराजय, हानि, कष्ट आदि पाउँदा पनि साधकको अन्तःकरणमा स्वाभाविक प्रसन्नता रहन्छ । अनुकूल-प्रतिकूल परिस्थितिहरु उसकोलागि साधन सामग्री हुन्छन् ।

आफ्नो कल्याण चाहने साधकले दृढ निश्चय गरेर आफ्नो स्वधर्म (आफ्नो स्वाभाविक कर्म) को पालनमा तत्परतापूर्वक लाग्दा कुनै कष्ट, दुःख आउँदा पनि ऊ स्वधर्मदेखि विचलित हुँदैन । यति मात्रै होइन, ती दुःख,कष्ट पनि उसलाई  तपस्याले जस्तो प्रसन्न वनाउँछन् ।

शरीरलाई 'म' र 'मेरो मान्दा नै संसारमा राग-द्वेष हुन्छ । राग-द्वेष रहनाले हामीलाई स्वधर्म-परधर्मको ज्ञान हुँदैन । यदि शरीर 'म' (स्वरूप) हुँदो हो त 'म' रहँदा शरीर पनि रहने थियो र शरीर नरहँदा 'म' पनि रहने थिएन । यदि शरीर 'मेरो' भए यो शरीर पाएपछि अरु केही पाउने इच्छा हुनु नपर्ने । इच्छा रहिरहे यो सिद्ध भयो, वास्तवमा 'मेरो' (आफ्नो) वस्तु अझसम्म पाइएको छैन र पाइएको वस्तु पनि आफ्नो होइन ।

शरीरलाई हामी आफूले ल्याएका होइनौं, यहाँवाट जाँदा लिएर जान सक्ने पनि होइनौं, यसलाई आफ्नो इच्छा अनुसार परिवर्तन गर्न सक्ने पनि होइनौं, अनि यो शरीर 'मेरो' कसरी हुने ? 'शरीर म होइन र शरीर मेरो होइन' भन्ने विवेक हामीलाई हरदम भइ नै रहेको हुन्छ । तर हामीले यो ज्ञानलाई महत्व नदिंदा हाम्रो राग-द्वेष नमेटिएको हो ।  यदि हामीले आफूमा भएको विवेकलाई महत्व दियौं भने वास्तविक तत्वको बोध हुनेछ हामीलाई । बोध भएपछि राग-द्वेष रहँदैनन् । राग-द्वेष नरहेपछि हाम्रो अन्तःकरणमा स्वधर्म-परधर्मको ज्ञान स्वतः प्रकट हुन्छ र त्यही अनुसार हाम्रा चेष्टा (कोशीश)हरु पनि हुन्छन् ।

परधर्मको पालन गर्न अहिले (वर्तमानमा) सजिलो जस्तो भए पनि पछि गएर यो भयावह हुन्छ । 'स्वार्थभाव'लाई त्यागेर अरुको हितकोलागि स्वधर्मको पालन गरे हामीलाई कुनै भय हुने छैन ।
 

परमात्मा र उहाँको अंश (जीवात्मा) 'स्वयं' हो तथा प्रकृति र प्रकृतिको कार्य (शरीर र संसार) 'अन्य' हो । स्वयंको धर्म 'स्वधर्म' हो र अन्यको धर्म 'परधर्म' हो । सूक्ष्म दृष्टिले हेर्ने हो भने निर्विकरता, निर्दोषता, अविनाशिता, नित्यता, निश्कमता, निर्ममता स्वयंका धर्म हुन्, ती सबै 'स्वधर्म' हुन् । उत्पन्न हुने, उत्पन्न भएर रहनु, वदलिनु, वढ्नु, क्षीण हुनु तथा नष्ट हुनु त्यस्तै, भोग र संग्रहको इच्छा, मान-वड़ाईको इच्छा आदि शरीरका धर्म जति 'परधर्म' हुन् । स्वयंमा कहिले, कुनै परिवर्तन हुँदैन, यसैले स्वयंको नाश हुँदैन; तर शरीरमा निरन्तर परिवर्तन भइरहन्छ, यसैले शरीरको नाश हुन्छ । यो दृष्टिले स्वधर्म अविनाशी र परधर्म नाशवान् हो ।
 

त्याग (कर्मयोग), बोध (ज्ञानयोग) र प्रेम (भक्तियोग) -- यी तीनै स्वतःसिद्ध भएकोले स्वधर्म हुन् । स्वधर्ममा अभ्यासको आवश्यकता पर्दैन; किनकि अभ्यास शरीरको सम्बन्धले हुन्छ र शरीरको सम्बन्धले जे जति हुन्छन्, ती सबै परधर्म हुन् । 

योगी हुनु स्वधर्म हो, भोगी हुनु परधर्म हो । निर्लिप्त रहनु स्वधर्म हो, लिप्त हुनु परधर्म हो । सेवा गर्नु स्वधर्म हो, सेवा खोज्नु परधर्म हो । प्रेमी हुनु स्वधर्म हो, रागी हुनु परधर्म हो । निष्काम, निर्मम र अनासक्त हुनु स्वधर्म हो, कामना, ममता र आसक्ति गर्नु परधर्म हो । छोटोमा, प्रकृतिसँगको सम्बन्ध विना (स्वयं)मा हुने सबै 'स्वधर्म' हुन् र प्रकृतिको सम्बन्धले हुने सबै 'परधर्म' हुन् । स्वधर्म चिन्मय-धर्म र परधर्म जडधर्म हो ।

परमात्माको अंश (शरीरी) 'स्व' हो र प्रकृतिको अंश (शरीर) 'पर' हो । 'स्व'का दुई अर्थ हुन्छन् -- (१) 'स्वयं'; (२) 'स्वकीय' अर्थात् परमात्मा । यो दृष्टिले आफ्नो स्वरूपबोधको इच्छा तथा स्वकीय परमात्माको इच्छा -- दुवै स्वधर्म हुन् ।
पुरुष (चेतन)को धर्म हो -- स्वतःसिद्ध स्वाभाविक स्थिति र प्रकृति (जड)को धर्म हो -- स्वतःसिद्ध स्वाभाविक परिवर्तन शीलता । पुरुषको धर्म 'स्वधर्म' र प्रकृतिको धर्म 'परधर्म' हो ।
हामीमा दुई किसिमको इच्छा रहन्छ -- 'सांसारिक' अर्थात् भोग एवं संग्रहको इच्छा र 'परमर्थिक' अर्थात्  आफ्नो कल्याणको इच्छा । भोग र संग्रहको इच्छा 'परधर्म' अर्थात् शरीरको धर्म हो; किनकि असत् शरीरसँग सम्बन्ध जोड्दा नै भोग र संग्रहको इच्छा हुने हो । आफ्नो कल्याणको इच्छा 'स्वधर्म' हो,किनकि परमात्माको नै अंश हुनाले स्वयम्को इच्छा परमात्माको नै हो, संसारको होइन ।

स्वधर्म पालन गर्न मनुष्य स्वतन्त्र छ; किनकि आफ्नो कल्याण गर्न शरीर, इन्द्रियहरु, मन, बुद्धि आदिको आवश्यकता छैन, वरु यिनीहरुदेखि विमुख हुने आवश्यकता छ । शरीर आदिको सहायता विना परधर्मको पालन हुने सक्तैन ।

स्वयं परमात्माको अंश हो र शरीर संसारको अंश हो । मनुष्यले परमात्मालाई आफ्नो मान्नु उसकोलागि 'स्वधर्म' हुन्छ, र संसारलाई आफ्नो मान्नु उसकोलागि 'परधर्म' हुन्छ । शरीरसँग आफ्नो सम्बन्ध नमानेर परमात्मप्राप्तिकोलागि साधन गर्ने मनुष्यको त्यो साधन पनि 'स्वधर्म' हुन्छ । नित्यप्राप्त परमात्मा अथवा आफ्नो स्वरूपको अनुभव गर्ने सबै साधनहरु 'स्वधर्म' हुन्, र संसारतिर लैजाने सबै कर्म 'परधर्म' हुन् । यो दृष्टिले हेर्दा, कर्मयोग, ज्ञानयोग र भक्तियोग -- तीनै योगमार्ग सबै मनुष्यको 'स्वधर्म' हुन् । यसको उल्टो शरीरसंग आफ्नो सम्बन्ध मानेर भोग र संग्रहमा लाग्नु मनुष्यको 'परधर्म' हो ।

तीनै शरीर -- स्थूल, सुक्ष्म र कारण -- गरिने तीर्थ, व्रत, दान, तप, चिन्तन, ध्यान, समाधि सबै कर्म सकामभावले अर्थात् आफ़्नोलागि गरे 'परधर्म' हुन्छ र निष्कामभावले अर्थात् अरुको हितकोलागि गरे 'स्वधर्म' हुन्छ । किनभने स्वरूप निष्काम छ र सकामभाव आउने नै प्रकृतिको सम्बन्धले हो ।  त्यसैले कामना हुँदा 'परधर्म' हुन्छ । स्वधर्म मुक्त गर्ने र परधर्म वांधने खालको हुन्छ ।

हाम्रो खास काम हो -- परधर्मदेखि विमुख हुने र स्वधर्मको सम्मुख हुने । यस्तो गर्न हामी (मनुष्य) नै सक्छौं । स्वधर्मको सिद्धिकोलागि नै मनुष्य शरीर मिलेको छ हामीलाई । परधर्म त् अरु योनिहरुमा तथा भोगप्रधान स्वर्गादि लोकहरुमा पनि
अभाव र पराधीनता सँधैकोलागि मेटिन्छ, यही मेटिने क्रिया नै स्वधर्म हो । यस्तो 'स्वधर्म'मा स्थित रहँदा कति नै कष्ट आऊन्, शरीर नै छुटोस्, तैपनि साधकको कल्याण नै हुन्छ । परन्तु परधर्मको सम्बन्धमा सुख-सुबिधा भए पनि त्यो भयावह अर्थात् वारम्वार जन्म-मरणमा पार्ने खालको हुन्छ ।
संसारमा हुने जति सबै दुःख, शोक, चिन्ता सबै   
संसारमा हुने जति सबै दुःख, शोक, चिन्ता सबै परधर्मको आश्रय लिंदा नै हुन्छन् । परधर्मको आश्रय छोडेर स्वधर्मको आश्रय लिंदा सदैव, सर्वथा, सर्वदा रहने आनन्दको प्राप्ति हुन्छ ।

No comments:

Post a Comment