हे वार्षणेय ! फेरि यो मनुष्य नचाहँदा नचाहँदै पनि (कसैले) लगाए जस्तो गरी कसवाट प्रेरित भएर पापको आचरण गर्छ ?
यहाँ भगवानलाई 'वार्ष्णेय' भन्ने शब्दले सम्बोधन भयो । यदुकूलमा वृषणी
नामको एक वंश थियो । त्यही वृषणीवंशमा अवतार लिएको कारणले नै भगवानको
कृष्णको एक नाम वार्षणेय रह्यो । यो भन्दा पहिलो श्लोकमा भगवानवाट
स्वधर्म-पालनको प्रशंसा भयो । धर्म 'वर्ण' र 'कुल'को हुन्छ, त्यसैले अर्जुन पनि कुल (वंश)को नामले भगवानलाई सम्बोधन गर्दै प्रश्न गर्छन् ।
विचारवान् 'पुरुष' पाप गर्न चाहँदैन, किनकि पापको परिणाम दुःख हुन्छ र दुःख कुनै पनि प्राणी स्वीकार गर्दैन ।
यहाँ 'अनिच्छन्' शब्दले भोग र संग्रहको
इच्छाको त्याग होइन, पाप गर्ने इच्छाको त्याग भन्ने जनाउँछ । किनकि भोग र
संग्रहको इच्छा नै समस्त पापहरुको मूल हो । यी इच्छा नरहँदा पाप नै हुँदैन ।
विचारशील मनुष्य पाप गर्न चाहँदैन, तर
भित्र सांसारिक भोग र संग्रहको इच्छा रहँदा उसवाट गर्नु पर्ने कर्तव्य कर्म
हुन पाउँदैन र गर्न नहुने पाप-कर्म हुन्छ ।
तात्पर्य,
पापवृत्ति उत्पन्न भएपछि विचारशील पुरुष त्यो पाप हो भन्ने जान्दा जान्दै
त्यो पापवाट पूर्णतया हट्न चाहन्छ, तैपनि ऊ त्यो पापमा यसरी लाग्छ कि उसलाई
जवर्जस्ती कसैले यसो गर्न लगाइरहेछ । अर्को शब्दमा, अर्जुनलाई यस्तो
लाग्छ, पापमा लगाउने कुनै वलवान् (अदृश्य) कारण छ ।
पापहरुको मूल कारण प्रवृत्ति नै हो --
'काम' अर्थात् संसारिक सुख-भोगको र संग्रहको कामना । तर यो कारणतिर दृष्टि
नरहँदा व्यक्तिलाई यो थाहा हुँदैन, पाप गराउने को हो ? ऊ सम्झन्छ, 'म पाप
भन्ने बुझेर यसवाट हट्न चाहन्छु, तर मलाई अरु कोही वलपूर्वक पापमा
प्रवृत्त गराउँछ ।' तात्पर्य, विचारवान व्यक्ति पाप गर्न चाहँदैन, तर पाप
गराउने अर्को तत्व को हो ?
अर्जुनले यस्तो प्रश्न गरे जस्तो लाग्छ,
अश्रद्धा, असूया, दुष्टचित्तता, मूढ़ता, प्रकृति (स्वभाव) को परवशता,
राग-द्वेष, स्वधर्ममा अरुचि, र परधर्ममा रुचि -- यी मध्ये कुन चाहिं कारण
हो, जसले गर्दा हामी (व्यक्ति) विचारपूर्वक नचाहँदा नचाहँदै पनि पापमा
लाग्छौं ? अझ, ईश्वर, प्रारब्ध, युग, परिस्थिति, कुसंग, समाज, रीति-रिवाज,
मध्ये कुन कारणले व्यक्ति पाप गर्छ ?
भगवान भन्नुहुन्छ
श्लोक ३७
रजोगुणवाट
उत्पन्न हुने यो काम अर्थात् कामना नै पापको कारण हो । यो (काम) नै
क्रोधमा वदलिंछ । यो काम धेरै खन्चुवा र महापापी छ । यो विषयमा तिमी यही
कामलाई वैरी भन्ने जान ।
रजोगुणवाट उत्पन्न हुने भएकोले रागवाट काम
वढ्छ । संसारिक पदार्थहरुलाई सुखदायी मान्दा पनि राग उत्पन्न हुन्छ; जसले
गर्दा अन्तःकरणमा ती पदार्थहरुको महत्व दृढ हुन्छ । फेरि तिनै पदार्थहरुको
संग्रह गर्ने र तिनवाट सुख लिने चाहना, कामना उत्पन्न हुन्छ । फेरि त्यही
कामनाले पदार्थहरुमा राग वढ्छ । यस्तो क्रम चलिरहुन्जेल पाप-कर्मदेखि
व्यक्ति सँधैकोलागि निवृत्ति हुँदैन ।
'मलाई मन परेको जस्तो, मलाई मन
लागेको जस्तो हुनुपर्छ' भन्नु नै 'काम' हो । उत्पत्ति-विनाशशील
जड-पदार्थहरुको संग्रहको इच्छा, संयोगजन्य सुखको इच्छा, सुखको आसक्ति -- यी
सबै कामका नै रुप हुन् ।
पाप-कर्म
कहिं कामको, कहिं क्रोधको वशीभूत भएर गरिएको देखिन्छ । काम र क्रोध,
दुवैवाट छुट्टा छुट्टै पाप हुन्छन् । वास्तवमा, काम अर्थात्
उत्पत्ति-विनाशशील जड-पदार्थहरुको कामना, प्रियता, आकर्षण नै समस्त
पापहरुको मूल हो । कामनामा वाधा पर्दा काम नै क्रोधमा वदलिन्छ ।
कामनाको पूर्ति भएपछि लोभ हुन्छ;
लोभमा वाधा पुग्दा (वाधा पुर्याउनेसंग) क्रोध हुन्छ । यदि वाधा पुर्याउने
व्यक्ति आफूभन्दा वढी शक्तिशाली भए क्रोध नउठेर भय हुन्छ । यसैले गीतामा
ठाउँ ठाउँमा काम र क्रोध संगसंगै भयको पनि उल्लेख देखिन्छ ।
No comments:
Post a Comment