Saturday 2 August 2014

128. No. 95 श्लोक ३४ इन्द्रिय-इन्द्रियको अर्थमा (प्रत्येक इन्द्रियको प्रत्येक विषयमा)

No. 95 

श्लोक ३४

इन्द्रिय-इन्द्रियको अर्थमा (प्रत्येक इन्द्रियको प्रत्येक विषयमा) व्यक्तिको राग र द्वेष व्यवस्थाले नै अनुकूलता र प्रतिकूलतालाई लिएर रहन्छ । मनुष्यले  ती दुईको वशमा पर्नु हुन्न; किनकि ती दुई नै मनुष्यको पारमार्थिक मार्गमा बिघ्न पार्ने शत्रु हुन् ।
 
प्रत्येक इन्द्रिय (कान, छाला, आँखा, रसना (जीव्रो) र प्राण)का प्रत्येक विषय (शब्द, स्पर्श, रुप, रस र गन्ध) मा अनुकूलता प्रतिकूलताको मान्यतावाट मनुष्यको राग द्वेष हुन्छ । कुनै इन्द्रियको विषयमा अनुकूलताको भाव छ भने त्यो व्यक्तिको त्यो विषयमा 'राग' हुन्छ र प्रतिकूलताको भाव छ भने त्यो विषयमा द्वेष हुन्छ ।
 
खासै हेर्ने हो भने राग-द्वेष इन्द्रियको विषयमा रहँदैनन् ।  राग-द्वेष त हाम्रो आफ्नो अनुकूलता र प्रतिकूलताको भावमा रहन्छन्, अर्थात्, सबै विषय आफ्नो अनुकूलता या प्रतिकूलताको भावले राम्रा अथवा नराम्रा लाग्छन् । अर्को शब्दमा, हामी विषयमा आफ्नो अनुकूल या प्रतिकूल भाव गरेर, तिनलाई राम्रो अथवा नराम्रो मानेर राग-द्वेष गर्छौं । यसैले भगवानले  राग-द्वेषलाई प्रत्येक इन्द्रियको प्रत्येक विषयमा रहने भन्नुभएको छ ।

वास्तवमा, राग-द्वेष मानिएको 'अहम्' (म-पना)मा रहन्छ । शरीरसँग मानिएको सम्बन्धलाई नै 'अहम्' भनिन्छ । शरीरसँग मानिएको सम्बन्ध रहुन्जेल राग-द्वेष रहन्छ, र ती राग-द्वेष बुद्धि, मन, इन्द्रियहरु र इन्द्रियहरुका विषयमा देखिन्छ । राग-द्वेषको स्थूल रुप नै काम र क्रोध हो । यही अध्यायको  अर्को प्रसंगमा भगवान भन्नुहुन्छ, यो 'काम ' इन्द्रियहरु, मन र बुद्धिमा रहन्छ । विषयहरु जस्तो इन्द्रियहरू, मन र बुद्धिमा 'काम' देखिनुको कारण नै भगवानले  यिनलाई (इन्द्रियहरु, मन, बुद्धि) कामको निवास हुने स्थान वताउनु भएको हो । विषयहरुमा राग-द्वेषको प्रतीति मात्र भए जस्तै इन्द्रियहरु, मन, बुद्धिमा पनि राग-द्वेषको प्रतीति मात्र हुन्छ । यी इन्द्रियहरु, मन र बुद्धि त् केवल कर्म गर्ने करण (औजार) हुन् । यिनमा काम-क्रोध अथवा राग-द्वेष नै कहाँ हुन्छन् र ?
यही सन्दर्भमा भगवान हामीलाई आश्वस्त पार्नुहुन्छ, राग-द्वेषको वृत्ति उत्पन्न भएपछि हामीले साधन र साध्यवाट कहिले निराश हुनु हुँदैन, वरु राग-द्वेषको वृत्तिको वशीभूत भएर हामीले त्यो राग-द्वेषलाई कुनै कार्यमा प्रवृत्त अथवा निवृत्त  हुन दिनु हुन्न । कर्ममा हाम्रो प्रवृत्ति अथवा  निवृत्ति शास्त्र अनुसार हुनुपर्छ । यदि राग-द्वेष लिएर नै कर्ममा हाम्रो प्रवृत्ति या निवृत्ति हुन्छ भने हामी राग-द्वेषको वशमा छौं । रागपूर्वक प्रवृत्ति या निवृत्ति हुँदा राग पुष्ट हुन्छ, र द्वेषपूर्वक प्रवृत्ति या निवृत्ति हुँदा 'द्वेष' पुष्ट हुन्छ । यसरी राग-द्वेष पुष्ट भएको फलस्वरूप व्यक्तिको (हाम्रो) पतन नै हुन्छ ।
 
साधकले संसारको काम छोडेर भगवानमा लाग्दा उसमा  संसारका अनेक राम्रा र नराम्रा स्फूरणाहरु उत्पन्न हुन्छन् । यसो हुँदा ऊ आत्तिन्छ । यहाँ भगवान साधकलाई भन्नुहुन्छ, 'तिमीले यी स्फूरणाहरुदेखि डराउनु हुँदैन ।' किनकि यी स्फूरणाहरुको वास्तवमा सत्ता नै छैन । किनकि यिनीहरुको उत्पत्ति हुन्छ । यो सिद्धान्त नै हो, उत्पत्ति भएको वस्तुको नाश अवश्य हुन्छ । साँच्चै विचार गर्दा, स्फूरणा आइरहेका हैनन्, गइरहेका छन् । किनभने, संसारको काम गर्दा मौका नपाएकाले ती स्फूरणाहरु दविइरहन्छन् । हामीलाइ  संसारको कामवाट फुर्सत हुने वित्तिकै पुराना संस्कारहरु स्फूरणाको रूपमा वाहिर आउँछन् । अतः साधकले यी राम्रा, नराम्रा स्फूरणाहरुसँग पनि राग-द्वेष गर्नु हुन्न, सावधानीसँग यिनीहरुको उपेक्षा गर्नुपर्छ । यही किसिमले उसले पदार्थ, व्यक्ति, विषय आदिमा पनि राग-द्वेष गर्नुहुन्न ।
 
राग-द्वेषको वशमा परेर कर्म गर्यो भने राग-द्वेष पुष्ट हुन्छन् र अशुद्ध प्रकृति (स्वभाव)को रूप लिन्छ । प्रकृति अशुद्ध भएपछि प्रकृतिको अधीनता रहन्छ । यस्तो अशुद्ध प्रकृतिको अधीनतावाट हुने कर्मले व्यक्तिलाई बाँध्छन् । यही प्रसंगमा भगवान हामीलाई भन्नुहुन्छ, 'साधकले मेरो मत अनुसार कर्म गरे उसले रागद्वेषलाई सजिलैसंग हटाउन सक्छ अर्थात् साधकले सम्पूर्ण कर्महरु र आफूलाई पनि भगवदर्पण गरिदिनु र यस्तो मान्नु, 'कर्म मेरोलागि होइन, खालि भगवानकोलागि हो । जसवाट कर्महरु हुन्छन्, ती शरीर, इन्द्रियहरु, मन,  पनि भगवानका नै हुन्; र म पनि भगवानको नै हुँ ।' यसरी निष्काम, निर्मम, र निःसन्ताप भएर कर्तव्य-कर्म गरे राग-द्वेष हट्छन् । यस्तो प्रकारले भगवानको मत अर्थात् सिद्धान्त ध्यानमा राखेर कुनै कार्यमा प्रवृत्त या निवृत्त हुनुपर्छ ।
 
सम्पूर्ण सृष्टि प्रकृतिको कार्य हो र शरीर प्रकृतिको एक अंश हो । शरीरप्रति हाम्रो ममता रहुन्जेल राग-द्वेष रहन्छ हामीमा अर्थात् हामीहरु रुचि अथवा अरूचिपूर्वक वस्तुहरु लिने र छोड्ने गरिरहन्छौं । यो रुचि-अरुचि नै राग-द्वेषको सूक्ष्म रुप हो । रागद्वेषपूर्वक प्रवृत्ति या निवृत्ति हुँदा राग-द्वेष वलिया हुन्छन्, तर शास्त्रलाई आफ्नो अगाडि राखेर कुनै कर्ममा प्रवृत्ति या निवृत्ति भयो भने राग-द्वेष हट्छन् । किनकि शास्त्र अनुसार कर्म गर्दा  आफ्नो रुचि या अरुचिको मुख्यता रहँदैन । जीवन्मुक्त महापुरुष पनि शास्त्र-मर्यादालाई नै आदर गर्छन् । अतः हामीले सम्पूर्ण कर्म शास्त्रको आज्ञा अनुसार नै गर्नुपर्छ ।
 
राग-द्वेषदेखि सर्वथा रहित महापुरुषको अन्तःकरण अत्यन्त शुद्ध र निर्मल भएको हुँदा उसमा स्वतः वेदहरुको अर्थ प्रकट हुन्छ । उसको  अन्तःकरणमा आएका कुराहरु शास्त्र अनुकूल नै हुन्छन् । उसवाट हुने सबै क्रियाहरु निषिद्ध हुँदै हुँदैनन् । उसको स्वभाव नै स्वतः शास्त्र अनुसार वन्छ । यही कारणले यस्ता महापुरुषका आचरण र वचन अरु  मनुष्यहरुकोलागि आदर्श हुन्छ । त्यस्ता महापुरुषका आचरण र वचन अनुसार चल्यो भने पनि साधकको राग-द्वेष हट्छ ।
कसैको यस्तो विचार पनि हुन्छ, राग-द्वेष अन्तःकरणको धर्म हो; त्यसैले यिनलाई हटाउन सकिंदैन । तर यो कुरा होइन । वास्तवमा राग-द्वेष अन्तःकरणका विकार हुन्, धर्म होइनन् । यदि राग-द्वेष अन्तःकरणका धर्म हुँदा हुन् त अन्तःकरण जाग्रत रहँदा राग-द्वेष पनि रहनुपर्ने अर्थात् राग-द्वेषको प्रतीति सँधै हुनुपर्ने । तर राग-द्वेषको प्रतीति सँधै नभएर कहिले काहिं मात्रै हुन्छ । साधन गरेपछि राग-द्वेष विस्तारै कम पनि हुन्छन् । कम हुने वस्तु मेटिइन्छ । त्यसैले यो मान्नुपर्छ, राग-द्वेष अन्तःकरणका धर्म होइनन् । भगवानले पनि राग-द्वेषलाई मनमा रहने भन्नुभएको छ, अर्थात्, यी मनमा आउने भएकाले सँधै रहिरहने होइनन् । अझ भगवानले त राग-द्वेषलाई विकार पनि भन्नुभएको छ ।
 
प्रकृति जड र पुरुष (चेतन) -- दुवै छुट्टा छुट्टै छन् । यी दुइको विवेक स्वतः सिद्ध छ । पुरुष यो विवेकलाई महत्व नदिएर प्रकृतिजन्य शरीरसँग एकता गर्छ र आफूलाई एकदेशीय मान्छ । यो जड-चेतनको तादात्म्यलाई नै 'अहम्' (म) भनिन्छ, र यही 'अहम्'मा राग-द्वेष हुन्छ र राग-द्वेषले अहम् ता पुष्ट हुन्छ । यही राग-द्वेष बुद्धिमा प्रतीत हुन्छ, जसले गर्दा मनलाई अनुकूल कुराहरु प्रिय र मनलाई प्रतिकूल कुराहरु अप्रिय लाग्छन् । त्यसपछि यही राग-द्वेष इन्द्रियहरुमा देखिन्छन्, जसले गर्दा इन्द्रियहरुलाइ अनुकूल विषय प्रिय र प्रतिकूल विषय अप्रिय लाग्छन् । यही राग-द्वेष इन्द्रियहरुका विषयहरुमा (शब्द, स्पर्श, रुप, रस, गन्ध) आफ्नो अनुकूल र प्रतिकूल भावनालाई लिएर प्रतीत हुन्छन् । त्यसपछि जड-चेतनको ग्रन्थिरूप अहंता (म-पना) मेटिएपछि राग-द्वेषको सर्वथा अभाव हुन्छ; किनकि 'अहंता'मा नै राग-द्वेष टिकेको हुन्छ ।
 
म सेवक हुँ, म जिज्ञासु हुँ, म भक्त हुँ -- यी सेवक, जिज्ञासु र भक्त जेमा रहन्छन्, त्यही 'म'मा राग-द्वेष पनि  रहन्छन् । राग-द्वेष न केवल जडमा रहन्छन्, न केवल चेतनमा, यिनीहरु जड-चेतनको मानिएको सम्बन्धमा रहन्छन् । जड-चेतनको मानिएको सम्बन्धमा रहे पनि यी मुख्यतया जडमा रहन्छन् । जड-चेतनको तादात्म्यमा जडको आकर्षण जड अंशमा नै रहन्छ, तर तादात्म्य भएकोले त्यो आकर्षण चेतनमा देखिन्छ । जडको आकर्षण नै राग हो । अतः शरीर (जड)लाई नै आफ्नो स्वरूप मान्ने साधकलाई राग-द्वेष हटाउन गाहारो हुन्छ । तर चेतन-स्वरूपतिर दृष्टि रहँदा साधकलाई राग-द्वेष हटाउन गाहारो लाग्दैन । किनकि राग-द्वेष स्वतःसिद्ध छैन, खालि जड(असत्)को सम्बन्धवाट उत्पन्न हुने हुन् ।
सत्संग, भजन, ध्यानमा 'राग' भए संसारसँग द्वेष हुन्छ । तर 'प्रेम' भए संसारसँग द्वेष हुँदैन, वरु संसारको उपेक्षा (विमुखता) हुन्छ । संसारको कुनै वस्तुमा राग भएपछि अर्को विषयमा द्वेष हुन्छ, तर भगवानमा प्रेम भएपछि संसारसँग वैराग्य हुन्छ । वैराग्य भएपछि संसारसँग सुख लिने भावना समाप्त हुन्छ र संसारको सेवा स्वतः हुन्छ । यसवाट शरीर, इन्द्रीयहरू, मन र बुद्धि सँगसँगै 'अहम्' पनि स्वतः संसारको सेवामा लाग्छ । परिणामस्वरूप शरीर आदिसँग पनि सम्बन्ध विच्छेद भएपछि अहम् मा रहने राग-द्वेष सर्वथा नष्ट हुन्छ ।
 
मनुष्यका क्रियाहरु स्वभाव अथवा सिद्धान्तलाई लिएर हुन्छन् । केवल आध्यात्मिक उन्नतिकोलागि कर्म गर्नु सिद्धान्तलाई लिएर कर्म गर्नु हो । स्वभाव दुई किसिमका हुन्छन् -- (१) रागद्वेषरहित (शुद्ध) र (२) राग-द्वेषयुक्त (अशुद्ध) । स्वभाव एकदमै मेट्न त सकिंदैन, तर त्यो स्वभावलाई शुद्ध वनाउन अर्थात् रागद्वेषरहित वनाउन सकिन्छ । हाम्रा स्वाभाविक कर्मको प्रवाह त मेट्न सकिंदैन, तर त्यो प्रवाहलाई वदल्न सकिन्छ, अर्थात् त्यो कर्मलाई राग-द्वेषरहित वनाउन सकिन्छ । गीताको मार्मिक सिद्धान्त नै यही हो । रागद्वेष अनुसार हुने जति क्रियाहरुमा प्रवृत्ति र निवृत्ति भन्दा पनि राग-द्वेष नै वाधक हुन् । यही कारण भगवानले राग-द्वेषको त्यागीलाई नै सच्चा त्यागी भन्नुभएको हो । हामीहरु धेरै जसालाई राग-द्वेषतिर ध्यान नगएकोले हाम्रो प्रवृत्ति र निवृत्ति पनि  राग-द्वेषपूर्वक हुन्छ । त्यसैले राग-द्वेषरहित हुन हामीले सिद्धान्तलाई  आफ्नो विचारमा राखेर नै सबै कर्महरु गर्नुपर्छ । त्यसपछि हाम्रो स्वभाव स्वतः सिद्धान्त अनुरूप र शुद्ध हुनेछ ।

राग- द्वेषयुक्त स्फूरणाहरु उत्पन्न भएपछि ती स्फूरणा अनुसार कर्म गर्दा राग-द्वेष पुष्ट हुन्छन् र ती स्फूरणा अनुसार कर्म नगरेर सिद्धान्त अनुसार कर्म गरे राग-द्वेष मेटिन्छन् ।

मनको शुभ अथवा अशुभ स्फूरणामा राग-द्वेष हुनु हुँदैन । हामीले आफ्नो मनमा हुने स्फूरणाहरुलाई स्वयंमा नमानेर ती स्फूरणाहरुसँग कुनै पनि सम्बन्ध नाजोड़ने, ती स्फूरणालाई समर्थन पनि नगर्ने, विरोध पनि नगर्ने। 

यदि हामी आफूलाई राग-द्वेषको निवारण गर्न असमर्थ ठान्छौं भने हामीले सर्वसमर्थ परम प्रभुको शरणमा जानुपर्छ । त्यसो गरे प्रभुको  कृपाले राग-द्वेष हट्न सक्छ र परम शान्ति प्राप्त हुन्छ। मानिएको 'अहं' सहित शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण र संसारिक पदार्थहरु सबै भगवानका नै हुन् भन्ने मान्नु नै भगवानको शरण हुनु हो । त्यसपछि भगवानको प्रसन्नताकोलागि, भगवानवाट प्राप्त भएको सामग्रीले भगवानका नै सन्तानको सेवा गरिदिने हो र त्यो सेवाको वदलामा आफूले केही नचाहने हो । 

निष्कामभावपूर्वक हुने संसारको सेवा नै  राग-द्वेष हटाउने उत्तम उपाय हो । हाम्रो स्थूल, सूक्ष्म र कारण शरीरदेखि लिएर मानिएको 'अहं'सम्मको सम्पूर्ण वस्तु संसारको सेवामा लगाइदिने हो । किनकि यी सबै पदार्थ संसारका नै हुन्, संसारदेखि अभिन्न हुन् । यी पदार्थहरुलाई संसारदेखि छुट्टै (आफ्नो) मान्नु नै बन्धन हो । स्थूल-शरीरका क्रियाहरु र पदार्थहरुको सुख, सूक्ष्म शरीरका चिन्तनको सुख र कारण शरीरको स्थिरताको सुख हामीले लिनु हुँदैन । वास्तवमा मनुष्य शरीर आफ्नो सुखकोलागि हुँदै होइन । 

अर्को कुरा, हाम्रो शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ आदिवाट जुन संसारको सेवा हुन्छ, ती सबै पदार्थ पनि संसारका नै अंश हुन् ।संसार त हाम्रो होइन भने संसारको अंश आफ्नो कसरी हुन सक्छ ? यी शरीर र पदार्थलाई आफ्नो मान्दा साँचो सेवा हुन सक्तैन हामीवाट । किनकि यिनीहरुलाई आफ्नो मान्दा नै हामीमा ममता र स्वार्थभाव उत्पन्न हुन्छ । त्यसैले संसारको पदार्थ संसारको नै मानेर कर्मयोग हुनसक्छ ।

No comments:

Post a Comment