(कर्मयोगी
महापुरुष) कर्म र फलको आसक्ति त्याग्छ र सबै आश्रयदेखि रहित भएर सदा
तृप्त रहन्छ । कर्ममा राम्रोसँग लागे पनि त्यस्तो कर्मयोगी वास्तवमा केही
पनि गर्दैन ।
कर्म गर्दा कर्तामा यो भाव रहन्छ, 'शरीर
आदि कर्म सामग्री मेरो हो, म कर्म गर्छु, कर्म मेरो हो र मेरोलागि हो तथा
मलाइ फलानो कर्मको फलानो फल चाहिन्छ ।' यस्तो मान्दा कर्ता कर्मफलको हेतु
(कारण) वन्छ । तर कर्मयोगले सिद्ध महापुरुषलाई प्राकृत पदार्थहरुसँग सर्वथा
सम्बन्ध-विच्छेदको अनुभव हुन्छ, यसैले कर्म गर्ने सामग्रीमा, कर्ममा तथा
कर्मफलमा अलिकति पनि आसक्ति नरहेकोले त्यो कर्मयोगी कर्मफलको हेतु वन्दैन ।
सेना विजयको इच्छा लिएर युद्ध गर्छ । विजय
हुँदा पनि सेनाको विजय हैन, राजाको विजय मानिन्छ; किनकि राजाले नै सेनाको
जीवन-निर्वाहको प्रबन्ध गरेको छ, उसलाई युद्ध गर्ने सामान दिएको छ र उसलाई
युद्ध गर्ने प्रेरणा दिएको छ र सेना पनि राजाकोलागि नै युद्ध गर्छ। त्यसै
गरी, शरीर, इन्द्रियहरु, मन, बुद्धि जस्ता कर्म सामग्रीसँग सम्बन्ध जोड्दा
नै जीव ती वस्तु र पदार्थ द्वारा गरिएको कर्मको फलको भागी वन्छ ।
कर्म-सामग्रीसँग अलिकति पनि सम्बन्ध नहुनुको कारण महापुरुषको कर्मफलसँग कुनै सम्बन्ध हुँदैन ।
वास्तवमा
कर्मफलसँग स्वरूपको सम्बन्ध छँदै छैन । कारण, स्वरूप चेतन अविनाशी र
निर्विकार छ; परन्तु कर्म र कर्मफल दुवै जड तथा विकारी छन् र कर्म र
कर्मफलको आरम्भ र अन्त हुन्छ । सदा स्वरूपसँग न कुनै कर्म रहन्छ तथा न कुनै
फल नै रहन्छ । यसै गरी कर्म र फलसँग स्वरूपको कुनै सम्बन्ध नभए पनि जीवले
भूलले तिनीहरुसँग आफ्नो सम्बन्ध मानेको छ । यो मानिएको सम्बन्ध नै बन्धनको
कारण हो । यो मानिएको सम्बन्ध मेटियो भने कर्म र फलसँग जीवको
(हाम्रो) स्वतःसिद्ध निर्लिप्तताको बोध हुन्छ ।
देश, काल, वस्तु, व्यक्ति, परिस्थिति
आदिको किञ्चित् पनि आश्रय नलिनु 'निराश्रय' अथवा आश्रयदेखि रहित हुनु हो ।
जति नै ठूलो धनी, राजा,महाराजा नै किन नहून्, उनीहरुलाई पनि देश, काल आदिको
आश्रय लिनै पर्छ । परन्तु कर्मयोगले सिद्ध भएको महापुरुष देश, काल, आदिको
कुनै आश्रय मान्दैन । आश्रय मिलोस् या नमिलोस्,-- यसमा उसलाई किञ्चित् पनि
परवाह हुँदैन । यसैले ऊ निराश्रय हुन्छ ।
जीव (आत्मा) परमात्माको सनातन अंश भएकोले
सत्-स्वरूप नै हो । सत् को कहिले पनि अभाव हुँदैन । परन्तु उसले असत् सँग
सम्बन्ध मानेपछि उसलाई आफूमा अभाव अर्थात् कमीको अनुभव हुन थाल्छ । त्यो
कमीको पूर्तिकोलागि उ सांसारिक वस्तुहरुको कामना गर्न थाल्छ । इच्छा गरिएको
वस्तु पाईंदा एक तृप्ति त हुन्छ; तर यो तृप्ति टिक्तैन, क्षणिक हुन्छ ।
कारण कि संसारको प्रत्येक वस्तु, व्यक्ति, परिस्थिति आदि प्रतिक्षण अभाव
तर्फ गैरहेछन् । त्यसैले त्यस्ता वस्तु र पदार्थसँग आश्रित रहने तृप्ति
स्थायी कसरी हुन सक्छ ?
अतः जीवले उत्पत्ति-विनाशशील क्रियाहरु र
पदार्थहरुसँग सम्बन्ध मानुन्जेल ती क्रियाहरु र पदार्थहरुसँग ऊ आश्रित
रहन्छ र उसलाई स्वतःसिद्ध नित्यतृप्तिको अनुभव हुँदैन ।
कर्मयोग
द्वारा सिद्ध महापुरुष निराश्रय अर्थात् संसारको आश्रयदेखि सदा रहित
हुन्छ, यसैले उसलाई स्वतःसिद्ध नित्यतृप्तिको अनुभव हुन्छ । तेस्रो
अध्यायमा प्रस्तुत 'आत्मतृप्त' शब्दले पनि यही नित्यतृप्तिको कुरा भन्छ ।
कर्मयोगले सिद्ध महापुरुष द्वारा
हुने सबै कर्म साङ्गोपाङ्ग रीतिले हुन्छन्; किनकि कर्मफलमा त्यो महापुरुषको
रतिभर पनि आसक्ति हुँदैन । ऊद्वारा हुने सम्पूर्ण कर्म केवल संसारको
हितकोलागि हुन्छ ।
कर्मफलमा आसक्ति भएको व्यक्ति
साङ्गोपाङ्ग रीतिले कर्म गर्न सक्तैन, किनकि फलसँग सम्बन्ध भएकोले कर्म
गर्दा गर्दै पनि वीच-वीचमा फलको चिन्तन हुने हुँदा उसको शक्ति व्यर्थ खर्च
हुन्छ, जसले गर्दा उसको शक्ति पूर्णरूपले कर्म गर्नमा लाग्दैन ।
यो पनि भनिएको छ, साङ्गोपाङ्ग
तरिकाले सबै कर्म गरिरहँदा पनि त्यो कर्मयोगी अलिकति पनि कुनै कर्म
गर्दैन; किनकि सर्वथा निर्लिप्त भएको कारण उसमा कर्मको स्पर्श नै हुँदैन ।
उसका सबै कर्म अकर्म हुन्छन् । ऊ कुनै पनि कर्म गर्दैन भने कसरी बाँधिन्छ र
? यसैले गीताको अठारौँ अध्यायमा भनिएको छ, कर्मफलको त्याग गर्ने
कर्मयोगीलाई कहिले पनि कर्मफल मिल्दैन ।
प्रकृति निरन्तर क्रियाशील छ । अतः
प्रकृतिका गुणहरु (क्रिया र पदार्थ) सँग सम्बन्ध रहुन्जेल कर्म नगर्दा पनि
मनुष्यको प्रकृतिसँग सम्बन्ध हुन्छ । प्रकृतिका गुणहरुसँग सम्बन्ध नरहे
मनुष्य कर्म गरिरहँदा पनि केही गर्दैन । कर्मयोगवाट सिद्ध महापुरुषको
प्रकृतिजन्य गुणहरुसँग कुनै सम्बन्ध रहँदैन, यसैले ऊ लोकहितार्थ सबै कर्म
गरिरहँदा पनि वास्तवमा केही गर्दैन ।
मनुष्यमा कर्तृत्व रहुन्जेल ऊ कर्म गर्दा कर्म गर्छ, कर्म नगर्दा पनि कर्म गर्छ । कर्तृत्व मेटिएपछि ऊ कहिले केही गर्दैन ।
No comments:
Post a Comment