No 124
श्लोक १८
संसारमा कोही कुनै कार्य गर्न
प्रवृत्त हुन्छ भने उसंको अगाडि प्रवृत्ति (गर्नु) र निवृत्ति (नगर्नु) --
दुवै आउँछन् । कुनै कार्यमा प्रवृत्ति हुन्छ र कुनै कार्यमा निवृत्ति हुन्छ
। परन्तु कर्मयोगीको प्रवृत्ति र निवृत्ति -- दुवै निर्लिप्ततापूर्वक र
केवल संसारको हितकोलागि हुन्छ । प्रवृत्ति र निवृत्ति -- दुबैसँग उसलाई
कुनै प्रयोजन नै हुँदैन । यदि प्रयोजन हुन्छ भने ऊ कर्मयोगी होइन, कर्मी
हो ।
साधकले प्रकृतिसँग आफ्नो सम्बन्ध
मानुन्जेल उ कर्म गर्दा आफ्नो संसारिक उन्नति मान्छ र कर्म नगर्दा आफ्नो
पारमार्थिक उन्नति मान्छ । परन्तु वास्तवमा प्रवृत्ति र निवृत्ति -- दुवै
निवृत्ति हुन्; किनकि दुबैमा प्रकृतिसँग सम्बन्ध रहन्छन् । हिंड्नु-डुल्नु,
खानु-पिउनु स्थूल शरीरका क्रिया भए जस्तै एकान्तमा वसिरहनु, चिन्तन गर्नु,
ध्यान लगाउनु सूक्ष्म शरीरका क्रिया र समाधि लगाउनु कारण शरीरका क्रिया
हुन् । यसैले निर्लिप्त रहेर लोकसंग्रहार्थ कर्तव्य-कर्म गर्ने हो । यही
अकर्ममा कर्म हो । यही कुरालाई भगवानले दोस्रो अध्यायमा 'योगस्थः कुरू
कर्माणी', अर्थ, 'तिमी योग अर्थात् समतामा रहेर कर्म गर' भन्नु भयो
अर्जुनलाई ।
सांसारिक प्रवृत्ति र निवृत्ति दुवै
'कर्म' हुन् । प्रवृत्ति अथवा निवृत्ति गर्दै निर्लिप्त रहनु र निर्लिप्त
रहँदै प्रवृत्ति र निवृत्ति गर्नु । यस्तो किसिमले प्रवृत्ति र निवृत्ति
दुबैमा निर्लिप्त रहनु 'योग' हो । यसैलाई कर्मयोग भन्छन् ।
कर्ममा
अकर्म र अकर्ममा कर्म -- यी दुईमा एउटा निर्लिप्तता सार भए पनि पहिलो
(कर्ममा अकर्म) मा कर्म गर्दा पनि अथवा नगर्दा पनि दुवै अवस्थामा रहने
निर्लिप्तताको मुख्यता छ । र अर्को (अकर्ममा कर्म) मा निर्लिप्त रहँदै
कर्म गर्ने अथवा नगर्नेको मुख्यता छ । तात्पर्य, निर्लिप्तता आफ़्नोलागि र
कर्म संसारकोलागि हो; किनकि निर्लिप्तताको सम्बन्ध 'स्व' (स्वरूप)सँग र
कर्म गर्नु अथवा नगर्नुको सम्बन्ध 'पर' (शरीर, संसार) सँग छ । यसैले
निर्लिप्तता 'स्वधर्म' र कर्म गर्नु अथवा नगर्नु 'परधर्म' हो । यी दुबैको
बिभाग सर्वथा छुट्टा छुट्टै वताइएको छ यो प्रसंगमा ।
कर्ममा
अकर्म र अकर्ममा कर्म -- यी दुवै कुराहरु कर्मयोगका हुन् । प्रकृतिसँग
सर्वथा सम्बन्ध-विच्छेद होस्, अर्थात् गर्ने र नगर्नमा आफ्नो कुनै प्रयोजन
नरहोस् र लोकसंग्रहकोलागि कर्महरु गर्नु र नगर्नुमा कुनै सम्बन्ध नहोस् ।
कारण कि कर्म गर्दा निर्लिप्त रहने कर्म निर्लिप्त रहेर पनि अरुको
हितकोलागि कर्म गर्ने -- यी दुवै गीताका सिद्धान्त हुन् ।
प्रवृत्ति (गर्नु) र निवृत्ति
(नगर्नु) -- दुवै प्रकृतिका राज्यमा नै छन् । प्रकृति निरन्तर परिवर्तनशील
छ, यसैले प्रवृत्तिको पनि आरम्भ र अन्त छ तथा निवृत्तिको पनि आरम्भ र अन्त छ
। परन्तु यी दुई भन्दा सर्वथा अतीत परमनिवृत्ततत्व -- आफ्नो स्वरूपको आदि
र अन्त हुँदैन । त्यो तत्व प्रवृत्ति र निवृत्तिको आरम्भमा पनि रहन्छ र
तिनको अन्तमा पनि रहन्छ तथा प्रवृत्ति र निवृत्तिकालमा पनि जस्ता-को-तस्तो
रहन्छ । त्यो प्रवृत्ति र निवृत्ति -- दुबैको प्रकाशक र आधार हो । यसैले
त्यसमा न प्रवृत्ति छ, न निवृत्ति नै छ -- यो तत्व बुझ्न र त्यसमा स्थित
भएर लोकसंग्रहार्थ (यज्ञार्थ) कर्म गर्न यहाँ कर्ममा अकर्म र अकर्ममा कर्म
-- यी दुई कुरा भनिएको छ ।
कर्ममा अकर्म र अकर्ममा कर्म देख्ने
अर्थात् नित्य-निरन्तर निर्लिप्त रहने पुरुष नै वास्तवमा कर्म-तत्व जान्ने
व्यक्ति हो । निर्लिप्त नहुन्जेल अर्थात् कर्म र पदार्थलाई आफ्नो र
आफ्नोलागि मान्ने साधकले कर्म-तत्व बुझेकै छैन ।
परमात्मालाई जान्न स्वयंलाई
परमात्मादेखि अभिन्नताको अनुभव गर्नुपर्छ र संसारलाई जान्न स्वयंलाई संसार
(क्रिया र पदार्थ)देखि सर्वथा भिन्नताको अनुभव गर्नुपर्छ । कारण, वास्तवमा
हामी (स्वरूपले) परमात्मादेखि अभिन्न र संसारदेखि भिन्न छौं । यसैले
कर्महरुदेखि छुट्टै भएर अर्थात् निर्लिप्त भएर नै कर्म-तत्वलाई जान्न
सकिन्छ । कर्म आदि-अन्त हुने छ र म (स्वयं जीव ) नित्य रहने खालको हुँ;
अतः म स्वरूपले कर्महरुदेखि छुट्टै (निर्लिप्त) हुँ -- यो वास्तविकताको
अनुभव गर्नु नै 'जान्नु' हो । वास्तविकताको तहमा नवसी जान्नु कसरी हुन
सक्छ ?
गाजलको थुप्रोमा प्रवेश गर्दा मात्रै
पनि गाजलसँग सर्वथा निर्लिप्त रहनु साधारण बुद्धिमानको काम होइन, त्यस्तै
सम्पूर्ण कर्तव्य-कर्महरु गरिरहँदा पनि कर्महरुसँग निर्लिप्त रहनु साधारण
बुद्धिमानको काम होइन । यसैले भगवान यस्ता कर्मयोगीलाई मनुष्यहरुमा
बुद्धिमान् भन्नुहुन्छ ।
यो भन्दा अघिल्लो श्लोकमा भगवानले
कर्म, अकर्म र विकर्म -- तीनैको तत्व बुझ्न भन्नुभएको थियो अर्जुनलाई ।
यहाँ भगवान भन्नुहुन्छ, जसले कर्ममा अकर्म र अकर्ममा कर्मको तत्व जानेको छ,
उसले सबै कुरा जानेको छ अर्थात उ ज्ञात-ज्ञातव्य भएको छ ।
कर्मयोगी सिद्धि र असिद्धिमा सम
रहन्छ । कर्मको फल मिलोस् या नमिलोस्, उसमा कहिले विषमता आउँदैन, किनकि
उसले फलेच्छाको सर्वथा त्याग गरेको छ । समताको नाम योग हो । कर्मयोगी
नित्य-निरन्तर समतामा स्थित छ, यही कारण ऊ योगी हो ।
सम्पूर्ण प्राणीहरुको परमात्मासँग
स्वतःसिद्ध नित्ययोग छ । परन्तु मनुष्यले संसारसँग आफ्नो सम्बन्ध मान्यो,
यही कारण उसले यो नित्ययोग विर्सियो । तात्पर्य, जडसँग आफ्नो सम्बन्ध
मान्नु नै परमात्मासँगको आफ्नो नित्य सम्बन्ध विर्सनु हो । कर्मयोगी
फलेच्छा, ममता र आसक्तिको त्याग गरेर केवल अरुकोलागि कर्तव्य-कर्म गर्छ ।
यसोभएको हुँदा उसको जडसँग मानिएको सम्बन्ध छुट्छ र उसलाई परमात्मासँग
स्वतःसिद्ध नित्ययोगको अनुभूति हुन्छ । यसैले उसलाई योगी भनिएको हो ।
यहाँ यो पनि भनियो, उसले प्राप्त
गर्नुपर्ने तत्व प्राप्त गरेको छ अर्थात् ऊ प्राप्त-प्राप्तव्य भएको छ ।
'पाउन' वांकी रहुन्जेल अर्थात् पाउने इच्छा रहुन्जेल व्यक्तिको राग
छुट्दैन ।
नाशवान् कर्महरुवाट पाइने फल पनि
नाशवान् नै हुन्छ । नाशवान् फलको इच्छा हुन्जेल (कर्म) समाप्त हुँदैन ।
तर नाशवान् कर्म र फलसँग सर्वथा सम्बन्ध छुटेर परमात्मप्राप्तिरुप अविनाशी
फलको प्राप्ति हुन्छ, त्यसपछि कर्म सँधैकोलागि समाप्त हुन्छ र कर्मयोगीलाई
कर्म गर्नु र कर्म नगर्नुसँग कुनै प्रयोजन रहँदैन । यस्तो कर्मयोगी
सम्पूर्ण कर्महरु गर्छ अर्थात् उसकोलागि अव केही गर्न वांकी रहँदैन, ऊ
कृतकृत्य भएको हुन्छ ।
गर्नु, जान्नु र पाउनु वांकी नरहँदा त्यो कर्मयोगी अशुभ संसार-बन्धनदेखि मुक्त हुन्छ ।
एक बिभाग कर्मको हुन्छ, एक बिभाग
अकर्मको हुन्छ । यी दुइमा अकर्म नै सार तत्व हो । यसैले कर्ममा अकर्म
देख्ने व्यक्ति कर्म गरिरहँदा पनि निर्लिप्त रहन्छ र अकर्ममा कर्म देख्ने
अर्थात् निर्लिप्त रहँदै कर्म गर्ने व्यक्तिकोलागि केही पाउनु शेष (वांकी)
रहँदैन । तात्पर्य, आफूमा कहिले पनि लिप्तता (फलेच्छा र कर्तृत्वाभिमान)
आउनु हुँदैन अर्थात् हरदम निर्लिप्त रहनुपर्छ ।
तेश्रो अध्यायमा भगवानले भन्नुभयो,
कर्म नगर्नु भन्दा कर्म गर्नु श्रेष्ठ हो; यहाँ वताउनु हुन्छ, कर्म गर्नु
भन्दा पनि अकर्म (अकर्तृत्व) श्रेष्ठ हो र यस्तो देख्ने व्यक्तिकोलागि केही
पनि गर्नु, जान्नु र पाउनु शेष रहँदैन । यसवाट सिद्ध हुन्छ, मनुष्यमा
फलेच्छा र कर्तृत्वाभिमान रहनु हुँदैन; किनकि यी दुइवाट नै व्यक्ति
बाँधिन्छ ।
No comments:
Post a Comment