Monday 8 September 2014

162. No. 129 श्लोक २३ सबै आसक्ति मेटिएको, मुक्त भएको, बुद्धि स्वरूपको

No. 129

श्लोक २३ 

सबै आसक्ति मेटिएको, मुक्त भएको, बुद्धि स्वरूपको ज्ञानमा स्थित भएको, यज्ञकोलागि मात्रै कर्म गर्ने मनुष्यको सम्पूर्ण कर्म नष्ट हुन्छन् ।


क्रियाहरुको, पदार्थहरुको, घटनाहरुको, परिस्थितिहरुको र व्यक्तिहरुको संग, यिनीहरुसँगको लगाउ नै वास्तवमा बाँध्ने खालको अर्थात् जन्म-मरण दिने हुन्छ । स्वार्थभाव छोडेर खालि अरुको हितकोलागि कर्म गरिरहँदा कर्मयोगी क्रियाहरु, पदार्थहरुदेखि असंग हुन्छ अर्थात् उसको आसक्ति सबै मेटिन्छ ।


किन्तु स्वभावले नै असंग भएर पनि मनुष्य शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ, परिस्थिति, व्यक्तिसँग सम्बन्ध मानेर सुखको इच्छाले तिनीहरुमा आवद्ध हुन्छ । 'मेरो मनको कुरो पुग्नु पर्छ अर्थात् मैले चाहेको जस्तो हुनुपर्छ, मैले नचाहेको कुरो हुनुहुँदैन' भन्ने भाव रहुन्जेल यस्तो संग बढी नै रहन्छ । वास्तवमा जे हुनुपर्छ, त्यही हुन्छ, जे हुँदैन, त्यो चाहे हुँदैन पनि नचाहे पनि हुँदैन ।  अतः आफ्नो मन लागेको गरेर मनुष्य व्यर्थ फँस्छ र दुःख पाउँछ ।


कर्मयोगी संसारवाट पाइएका शरीर आदि वस्तुहरुलाई आफ्नो र आफ़्नोलागि नमानेर संसारको सेवामा अर्पण गर्छ । यसवाट वस्तुहरु र क्रियाहरुको प्रवाह संसारतिर हुन्छ र आफ्नो असंग स्वरूप जस्ता-को-तस्तो रहन्छ । 


कर्मयोगीको 'अहम्' पनि सेवामा लाग्छ । तात्पर्य, ऊ भित्र 'म सेवक हुँ' भन्ने भाव पनि रहँदैन । यो भावले त मनुष्यलाई सेवकपनाको अभिमानमा वाँधी दिन्छ । सेवा सामग्रीको अभिमान हुँदा नै सेवकपनाको अभिमान हुन्छ । सेवाको वस्तु उसैको थियो, उसैलाई दिइयो भने के सेवा भयो ? हामी त त्यो सेव्यको ऋणवाट उऋण भयौं । यसैले सेवक नरहोस्, केवल सेवा रहोस् । सेवाको सट्टा धन, मान, बडाई, पद, अधिकार आदि केही पनि लिने होइन, किनकि तिनमा हाम्रो हक नै छैन भन्ने भाव हुनुपर्छ हामीलाई । सेवाको सट्टा केही स्वीकार गर्नु पनि अनधिकार चेष्टा (कोशीश) हो । 'अरु मलाई सेवक भनून्'-- यस्तो भाव पनि नरहोस् र यदि कसैले यसो भन्छ भने त्यसमा खुशी पनि नहुनु पर्छ हामीले । यस्तो प्रकारले संसारको वस्तुहरुलाई संसारको सेवामा पूर्णरूपमा लगाइदिनाले अन्तःकरणमा प्रसन्नता हुन्छ । त्यो प्रसन्नताको पनि भोग नगरे त स्वतःसिद्ध असंगताको अनुभव हुन्छ ।


आफ्नो स्वरूपदेखि शरीर आदि पदार्थ सर्वथा भिन्नै भए पनि कामना, ममता र आसक्तिपूर्वक ती क्रिया तथा पदार्थसँग आफ्नो सम्बन्ध मान्दा मनुष्य वाँधिंन्छ अर्थात् पराधीन हुन्छ । कर्मयोगको अनुष्ठान गरेपछि मानिएको वास्तविक सम्बन्ध छुट्छ । यसरी कर्मयोगी सर्वथा असंग हुन्छ । असंग भएपछि नै ऊ सर्वथा मुक्त हुन्छ अर्थात् स्वाधीन हुन्छ । 


कर्मयोगीको बुद्धिमा स्वरूपको ज्ञान नित्य-निरन्तर जाग्रत रहन्छ । स्वरूप-ज्ञान हुने वित्तिकै उसको स्थिति स्वरूपमा हुन्छ, जुन स्थिति वास्तवमा पहिले नै थियो ।


वास्तवमा ज्ञान संसारको नै हुन्छ । स्वरूपको ज्ञान हुँदैन; किनकि स्वरूप स्वतः ज्ञानस्वरूप छ । क्रिया र पदार्थ नै संसार हो । क्रिया र पदार्थको बिभाग छुट्टै छ, स्वरूपको बिभाग छुट्टै छ अर्थात् क्रिया र पदार्थको स्वरूपसँग कहिले पनि सम्बन्ध छैन । क्रिया र पदार्थ जड हुन् तथा स्वरूप चेतन हो । क्रिया र पदार्थ प्रकाश्य हुन् तथा स्वरूप प्रकाशक हो । यसरी क्रिया र पदार्थसँग स्वरूपको भिन्नताको ठीक-ठीक ज्ञान हुने वित्तिकै क्रिया र पदार्थरुप संसारसँग सम्बन्ध-विच्छेद भएर स्वतःसिद्ध असंग स्वरूपमा आफ्नो स्थितिको अनुभव हुन्छ ।


कर्ममा अकर्म देख्ने एक प्रकार हो -- 'यज्ञार्थ' अर्थात् यज्ञकोलागि कर्म गर्ने । निःस्वार्थभावले केवल अरुको हितकोलागि कर्म गर्नु 'यज्ञ' हो । यज्ञकोलागि मात्रै सम्पूर्ण कर्म गर्ने व्यक्ति कर्मबन्धनवाट मुक्त हुन्छ र यज्ञकोलागि कर्म नगर्ने व्यक्ति कर्महरुमा बाँधिन्छ । 


प्रकृतिको कार्य हो -- पदार्थ र क्रिया । यी दुईमध्ये क्रियाको पनि आदि र अन्त हुन्छ तथा पदार्थको पनि आदि र अन्त हुन्छ । क्रिया आरम्भ हुनु भन्दा पहिले पनि थिएन र समाप्त भएपछि पनि रहँदैन, यसैले तिनीहरु वीचमा पनि रहँदैनन् । यसै गरी पदार्थ उत्पन्न हुनु भन्दा पहिले पनि थिएन र नष्ट भएपछि पनि रहँदैन, यसैले वीचमा पनि पदार्थ छैन ।आदि र अन्तमा नहुने वस्तु, पदार्थ वीच(वर्तमान)मा पनि हुँदैनन् । परन्तु चेतनको स्वरूपको आदि र अन्त हुँदैनन्, यो सँधै अक्रियरूपले जस्ता-को-तस्तै रहन्छ। त्यो चेतन तत्व क्रिया र पदार्थ दुबैको प्रकाशक हो । यसरी क्रिया र पदार्थसँग अलिकति पनि सम्बन्ध नहुँदा नहुँदै पनि सम्बन्ध मानेपछि व्यक्ति बाँधिन्छ । यस्तो बन्धनदेखि बच्ने एउटा मात्र उपाय -- फलेच्छा त्यागेर केवल अरुको हितकोलागि कर्म गर्ने । 


संसारमा अनेक प्रकारका क्रियाहरु भैरहेछन् र अनेक प्रकारका पदार्थ विद्यमान छन्। परन्तु मनुष्यले ती क्रिया र पदार्थसँग आसक्ति, ममता र कामनापूर्वक आफ्नो सम्बन्ध मानेकोले ऊ ती क्रिया र पदार्थहरुसँग बाँधिन्छ । तर आफ्नो कामना, ममता र आसक्ति त्यागेर केवल अरुको हितकोलागि सम्पूर्ण कर्म गर्ने र आफूले पाएका पदार्थहरु अरुको नै मानेर उनीहरुको सेवामा लगाइदिने व्यक्तिको सम्पूर्ण (क्रियमाण, संचित र प्रारब्ध) कर्म विलीन हुन्छन् अर्थात् उसलाई कर्महरुसँग स्वतःसिद्ध असंगताको अनुभव हुन्छ । 


(१) कर्ता, करण र कर्म -- यी तीनै मिल्दा कर्महरुको संचय हुन्छ । कर्तापन भएन भने कर्महरुको संग्रह हुँदैन; किनकि करण र कर्म -- दुवै कर्ताको नै अधीन छन्  । अतः कर्म संचयको मुख्य हेतु कर्तापन नै हो । 


विचारपूर्वक हेर्दा, केही न केही पाउने इच्छाले नै कर्म गर्ने इच्छा उत्पन्न हुन्छ, यही इच्छाले नै कर्तापन उत्पन्न हुन्छ । यही कर्तापनवाट बन्धन हुन्छ । केही पाउने इच्छाले कर्म गर्ने व्यक्तिको कर्तापन दृढ हुन्छ । आफूले केही पनि पाउने इच्छा त्यागेर केवल यज्ञकोलागि अर्थात् अरुको हितकोलागि कर्म गर्ने कर्मयोगीलाइ आफ्नो असंगताको बोध हुन्छ ।यसैले ऊ द्वारा हुने कर्महरूको संचय हुँदैन । कारण, आधार (कर्तापन) नै नभएपछि कर्म कसरी र केमा टिक्ने ?


कर्मयोगी आफ़्नोलागि कुनै कर्म नै गर्दैन र केही पनि चाहँदैन; अतः ऊ कर्महरुको फलको भोक्ता बन्दैन । जस्तो कुनै व्यक्तिलाई यहाँ (यो संसारमा) धेरै दण्ड भोग्नु पर्छ, तर यदि ऊ मर्यो भने उसका दण्ड सबै सकिन्छन्; किनकि भोग्ने व्यक्ति नै छैन भने दण्ड कसले भोग्ने ? त्यस्तै, कर्मयोगीको भोक्तापन मेटिएपछि उसका सबै कर्म समाप्त हुन्छन्; किनकि भोक्ता नै नरहेपछि कर्महरूको फल कसले भोग्ने ?


(२) यही अध्यायको शुरुमा नै भगवानले भन्नुभयो, 'मेरा जन्म र कर्म तत्वले मलाई जान्ने व्यक्ति मलाई पाउँछ ।' जन्म त भगवानको मात्रै दिव्य हुन्छ, तर कर्म त सबै व्यक्तिको पनि दिव्य हुन सक्छ । अतः यही अध्यायमा भगवान आफ्नो कर्मको दिव्यताको कारण वताउनु हुन्छ, 'कर्महरुको फलमा मेरो स्पृहा छैन, यसैले मलाई कर्महरु लिप्त गर्दैनन् अर्थात् मेरा कर्म अकर्म हुन्छन् ।' भगवान फेरि भन्नुहुन्छ 'मुमुक्षुहरुले पनि यही जानेर कर्म गरेका हुन् ।'  यही क्रममा भगवान कर्महरुको तत्व भन्ने प्रतिज्ञा गर्नुहुन्छ र भन्नुहुन्छ, मनुष्यले कर्म, विकर्म र अकर्मलाई तत्वले जान्नुपर्छ । 
        
एउटा 'क्रिया' हुन्छ, एउटा 'कर्म हुन्छ, एउटा 'कर्मयोग' हुन्छ । शरीर वालकवाट जवान र जवानवाट बुढो हुन्छ -- यो 'क्रिया' हो । क्रियावाट न पाप लाग्छ, न पुण्य, न बन्धन हुन्छ, न मोक्ष । क्रियासँग सम्बन्ध जोडेर कर्ता वनेपछि अर्थात् आफ़्नोलागि 'क्रिया' गरेपछि त्यो क्रिया फलजनक हुन्छ । कर्मबन्धनदेखि छुट्न साधक आफ्नोलागि केही नगरेर निःस्वार्थभावले केवल अरुको हितकोलागि मात्रै कर्म गर्छ, त्यो कर्म 'कर्मयोग' हुन्छ । कर्मयोगले बन्धन मेटिन्छ । बन्धन मेटिएपछि योग हुन्छ अर्थात् परमात्मासँग नित्य-सम्बन्धको अनुभव हुन्छ । 


यो श्लोक कर्मयोगको मुख्य श्लोक हो । यो श्लोकमा भगवानले कर्मयोगीको समग्र कर्म (पाप) नष्ट हुने कुरा गर्नु भयो ।                                                                 


मेरा मित्रहरु, म करीव पाँच दिनकोलागि काठमाडौँ वाहिर भैरहवा जाँदैछु, मेरा आदरणीय मित्रहरुसँग । यो visit को purpose हो, मेरो गुरुजीवाट सुनौलीमा निर्माण भएको आश्रमको उद्घाटनमा सहभागी हुन । यो tripमा जाँदा र आउँदा दुई दिन देवघाट पनि जाने कार्यक्रम छ हाम्रो । यही कारण, मेरा यी लेखहरु पनि आउन छोड्लान् हजुरहरुलाई । उतावाट फर्केपछि म हजुरहरुको सम्पर्कमा रहने नै छु । 

No comments:

Post a Comment