Wednesday 10 September 2014

163 No. 130 श्लोक २४ अर्पण गरिने स्रुक्, स्रुवा, जस्ता पात्र (भाँडा) ब्रह्म हुन्, हव्य पदार्थ (तिल, जौ, घिउ आदि) पनि ब्रह्म

No. 130 

श्लोक २४ 

अर्पण गरिने स्रुक्, स्रुवा, जस्ता पात्र (भाँडा) ब्रह्म हुन्, हव्य पदार्थ (तिल, जौ, घिउ आदि) पनि ब्रह्म हुन् र ब्रह्मरूप कर्ताद्वारा ब्रह्मरूप अग्निमा आहुति दिने क्रिया पनि ब्रह्म हो, त्यस्तै ब्रह्ममा समाधि गरिएको यज्ञ गर्ने  मनुष्यले प्राप्त गर्ने फल पनि नै ब्रह्म हो । 

यज्ञमा आहुति मुख्य हुन्छ । त्यो आहुति अग्निरूप भएपछि पूर्ण हुन्छ अर्थात् हव्य पदार्थको अग्नि भन्दा अर्को सत्ता नै रहनु हुन्न । यस्तै किसिमले सबै साधनहरु साध्यरूप भएपछि यज्ञ  नै हुन्छन् ।

सबै यज्ञमा परमात्मतत्वको अनुभव गर्नु भावना होइन, वास्तविकता हो । भावना त पदार्थहरुको हुन्छ ।  

अग्निमा आहुति दिइने पात्रहरुलाई यहाँ 'अर्पणम्' भनिएको छ । त्यो अर्पणलाई पनि ब्रह्म नै मान्नुपर्छ भन्ने गीताको भनाइ छ ।       

तिल, जौ, घिउ, आदि हवनकोलागि आवश्यक पदार्थ पनि ब्रह्म नै मान्नुपर्छ।
आहुति दिने व्यक्ति पनि ब्रह्म नै हो । जसमा आहुति दिइन्छ, त्यो अग्नि पनि ब्रह्म नै हो र आहुति दिइने क्रिया पनि ब्रह्म नै हो ।

हवन गर्ने व्यक्तिले प्रयोग गर्ने स्रूक, स्रुवा, हवि,अग्नि आदि सबैलाई ब्रह्मको स्वरूप माने जस्तै प्रत्येक कर्ममा कर्ता, करण, कर्म र पदार्थ सबैलाई ब्रह्मरूपको अनुभव गर्ने व्यक्तिको ब्रहममा कर्म समाधि हुन्छ अर्थात् सम्पूर्ण कर्महरुमा उसको ब्रह्मबुद्धि हुन्छ । उसकोलागि सम्पूर्ण कर्म ब्रह्मरूप नै वन्छन् । उसकोलागि  ब्रह्म सिवाय कर्महरुको आफ्नो छुट्टै स्वरूप नै रहँदैन । 

ब्रहममा कर्म समाधि भएपछि सम्पूर्ण कर्म ब्रह्मरूप नै वनेको व्यक्तिकोलागि फलको रूपमा पनि निःसन्देह ब्रह्मको नै प्राप्ति हुन्छ । कारण कि उसको दृष्टिमा ब्रह्म सिवाय अरु कसैको स्वतन्त्र सत्ता नै रहँदैन ।  

यो श्लोक महात्माहरु भोजन गर्ने वेलामा भन्ने गर्छन् । यसो गर्दा भोजनरुप कर्म पनि यज्ञ वन्छ । भोजनरुप कर्ममा ब्रह्मबुद्धि यसरी गरिन्छ । 

(१) भोजन अर्पण गर्ने हात पनि ब्रह्मरूप  हो । 

(२) भोजनका पदार्थ पनि ब्रह्मरूप हुन् । 

(३) भोजन गर्ने व्यक्ति पनि ब्रह्मरूप हो ।

(४) जठराग्नि (प्राणीहरुलाई लाग्ने भोक) पनि ब्रह्मरूप हो । 

(५) भोजन गर्ने क्रिया अर्थात् जठराग्निमा अन्न आहुति दिने क्रिया पनि ब्रह्म हो ।

(६) यस्तो किसिमले भोजन गर्ने मनुष्यद्वारा प्राप्त गरिने फल पनि ब्रह्म नै हो ।

प्रकृतिको कार्य संसारको स्वरूप हो -- क्रिया र पदार्थ । वास्तविक दृष्टिले हेर्दा प्रकृति या संसार क्रियारूप नै हो  ।कारण कि पदार्थ एक क्षण पनि स्थिर रहँदैन, उसमा निरन्तर परिवर्तन भइरहन्छ । अतः वास्तवमा पदार्थ परिवर्तनरुप क्रियाको पुत्र (छोरो) हो । खालि 'राग'ले गर्दा पदार्थको मुख्यता देखिन्छ । सम्पूर्ण क्रियाहरु अभावमा गइरहेछन् । अतः संसार अभावरुप नै हो । भावरूपले केवल एक अक्रिय तत्व ब्रह्म हो, यही ब्रह्मको सत्ताले अभावरूप संसार पनि सत्तावान् प्रतीत भइरहेछ । संसारको अभावरुपतालाई यस्तो किसिमले बुझ्न सकिन्छ --

संसारका तीन अवस्थाहरु देखिन्छन्  -- उत्पत्ति, स्थिति र प्रलय; जस्तो, वस्तु उत्पन्न हुन्छ, त्यो वस्तु केही दिन रहन्छ र अन्तमा नष्ट हुन्छ अथवा मनुष्य जन्म लिन्छ केही दिन रहन्छ र अन्तमा मर्छ । यो भन्दा पनि विस्तृत विचार गर्दा, केवल उत्पत्ति र प्रलयको मात्रै काम छ, स्थिति त्यसैले छँदै छैन । जस्तो -- कुनै व्यक्तिको आयु पचास वर्षको छ भने वीस वर्ष वितेपछि उसको आयु तीस वर्ष मात्रै वांकी रहन्छ । अझ सूक्ष्मरूपले विचार गर्दा केवल प्रलय-नै-प्रलय छ (नाश-नै-नाश) छ, उत्पत्ति छँदै छैन । जस्तो आयुको वितेको जति वर्ष त त्यो व्यक्ति मरिहाल्यो । यस्तो प्रकारले मनुष्य प्रतिक्षण मरिरहेछ, उसको जीवन प्रतिक्षण मृत्युमा गइरहेछ । सम्पूर्ण दृश्य प्रतिक्षण अदृश्यमा गइरहेछ । प्रलय भनेको अभावको नै नाम हो ।   यसैले अभाव मात्रै वांकी रह्यो । अभावको सत्ता भावरुप ब्रह्ममा नै टिकेको छ ।अतः भावरूपले एक ब्रह्म मात्रै शेष रह्यो ।

गीतामा वर्णन भइरहेको ज्ञान 'अद्वैत' ज्ञान हो । यसले एक परमात्मतत्वको सत्ताको वर्णन गर्छ । यसको वर्णन अनुसार पूरा सृष्टि जड-चेतनमय हो । पूरा सृष्टिको आधार नै यही परमात्मतत्व हो । समस्त संसार, समस्त सृष्टि यही परमात्मतत्वको सत्तामा टिकेको छ । अर्को शब्दमा, संसारको स्वतन्त्र सत्ता छँदै छैन । यही कुरा बुझाउन गीता हाम्रो शरीरलाई, समस्त प्राणीहरुको शरीरलाई हामीले लगाउने लुगा भन्छ । गीता अझ भन्छ, लुगा भनेपछि लुगा नै हो, मनुष्यको पनि लुगा, मुसाको पनि लुगा, सुँगुरको पनि लुगा । हामीले एउटा लुगा फुकालेर अर्को लुगा लगाउँदा हामीलाई शोक नभए जस्तै हाम्रो आत्माले एउटा लुगा (शरीर) फुकालेर अर्को लुगा लगाउँदा हामीलाई शोक हुनु हुँदैन । हामीले यो पनि विर्सनु भएन, समस्त प्राणीको तीन शरीरहरू हुन्छन् -- (१) स्थूल, सूक्ष्म र कारण । हामीले लुगा लगाउने आत्माको सूक्ष्म शरीर भनेको हाम्रो मन हो । सबै प्राणीहरुको मन पनि भिन्न भिन्न छन् । 
उपनिषद् अनुसार, परमात्मालाई मनुष्य शरीर वनाउँदा अत्यन्त आनन्द भयो । यही मनुष्य शरीरमा विवेक पनि पर्याप्त मात्रामा छ ।यही विवेकले मनुष्य आफ्नो उद्धार गर्न सक्छ । तर आवश्यकता छ, विवेकको सही किसिमले प्रयोग गर्नु । यही विवेकले गर्दा नै मनुष्य र पशुको वीच भिन्नता भएको हो । गीता अनुसार पनि विवेकको प्रयोग नगर्ने मनुष्य पशु नै हो । प्रश्न छ: यो विवेक कहाँ वस्छ ? विवेक हाम्रो बुद्धिमा वस्छ । 

हाम्रो मनको एकातिर बुद्धि छ, अर्कोतिर इन्द्रियहरु छन् । यदि हाम्रो बुद्धि मनको नोकर छ भने यस्तो बुद्धिमा विवेक हुँदैन । तर यदि हाम्रो बुद्दिले मनलाई आफ्नो नोकर वनाएको छ भने हाम्रो बुद्धिमा विवेक हुन्छ । यही विवेक नै पछि गएर ज्ञानमा परिणत हुन्छ । विवेक नभएको बुद्धि नै 'धृतराष्ट्र' हो । अविवेकी मनुष्यलाई के कुरा ठिक, के कुरा वेठिक भन्ने कुराको पत्तो नै हुँदैन । उसको बुद्धिमा भोग र पदार्थको मात्रै महत्व हुने हुनाले उसका समस्त आचार विचार, कसरी भोग गर्ने, कसरी संग्रह (जम्मा) गर्ने भन्ने पट्टि नै लागिरहन्छ, संसारका क्षणिक र परिवर्तनशील र नाशवान् पदार्थमा मात्रै उसको रुचि हुन्छ ।  त्यस्तो अविवेकी मनुष्यलाई 'म सँधै वाँचीरहूँ, निरोगी रहूँ' भन्ने आशा हुन्छ । सबैको शरीर यो संसारमा रहेको नदेखे पनि आफ्नो र आफ्नो परिवारको शरीर चाहिं सँधै वाँचीरहोस् भन्ने मनुष्यलाई 'मोघाशा' व्यक्ति भन्नुहुन्छ भगवान नवौं अध्यायमा । तीन लोकमा, तीन कालमा सम्भव नहुने आशा गर्ने व्यक्तिलाई 'मोघाशा' (खेर जाने आशा गर्ने) नभनेर के भन्ने ?  यस्तै छ हजुर, हामी पनि भगवानको 'मोघाशा' शब्दभित्र पर्छौं कि पर्दैनौं भन्ने विचार गर्ने हामीले नै हो ।  

No comments:

Post a Comment