Monday 8 September 2014

161. No. 128 श्लोक २२ आफैं पाइएकोमा सन्तुष्ट रहने, र ईर्ष्यादेखि रहित, द्वन्द्वहरुदेखि रहित (तथा) सिद्धि र असिद्धिमा सम रहने

No. 128
श्लोक २२ 

आफैं पाइएकोमा सन्तुष्ट रहने, र ईर्ष्यादेखि रहित, द्वन्द्वहरुदेखि रहित (तथा) सिद्धि र असिद्धिमा सम रहने कर्मयोगी कर्म गरिरहँदा पनि तिनीहरुसँग (ती कर्महरुसँग) बाँधिंदैन ।

कर्मयोगी साङ्गोपाङ्ग रीतिले (पूरा विधिपूर्वक) सम्पूर्ण कर्तव्य-कर्म गर्छ । फल-प्राप्तिको उद्देश्य नराखेर कर्म गर्दा फलको रूपमा उसलाई अनुकूलता या प्रतिकूलता, लाभ या हानि, मान या अपमान, स्तुति या निन्दा जे सुकै भए पनि उसको अन्तःकरणमा कुनै असन्तोष पैदा हुँदैन । जस्तो, उसले व्यापार गर्छ भने उसलाई त्यो व्यापारमा लाभ होस् अथवा हानि, त्यसवाट उसमा कुनै असर पर्दैन । ऊ हरेक परिस्थितिमा समानरूपले सन्तुष्ट रहन्छ; किनकि उसको मनमा फलको इच्छा हुँदैन । तात्पर्य, व्यापारमा उसलाई लाभ-हानिको ज्ञान हुन्छ तथा उ त्यही अनुसार यथोचित चेष्टा (कोशीस) पनि गर्छ, पर परिणाममा उ सुखी-दुःखी हुँदैन । यदि यस्तो अवस्थामा साधकको अन्तःकरणमा अनुकूलता-प्रतिकूलताको अलिकति पनि असर पर्छ भने पनि साधकले डराउनु पर्दैन; किनकि साधकको अन्तःकरणमा त्यो प्रभाव स्थायी रहँदैन, छिटै मेटिन्छ ।
 
यो श्लोकमा आएको 'लाभ' शब्दको अर्थ प्राप्ति हो । यो शब्दले लाभ य अनुकूलता हुनुलाई लाभ नभनेर लाभ-हानि, अनुकूलता-प्रतिकूलता आदिको प्राप्ति सबै 'लाभ' हुन् भन्ने बुझाउँछ ।
 
कर्मयोगी सम्पूर्ण प्राणीहरुसँग आफ्नो एकता मान्छ । यसैले उसलाई कुनै पनि प्राणीसंग किञ्चित् मात्र पनि ईर्ष्याको भाव हुँदैन ।
 
आफूमा कुनै प्राणीसँग अलिकति पनि ईर्ष्याको भाव नआओस् भन्ने कुरामा कर्मयोगी निकै सावधान रहन्छ । कारण कि कर्मयोगीका सम्पूर्ण क्रियाहरु अरुको हितकोलागि नै हुन्छन्, अतः यदि उसमा अलिकति मात्रै पनि ईर्ष्याको भाव भयो भने उसका सम्पूर्ण क्रियाहरु अरुको हितकोलागि हुन सक्तैनन् ।
ईर्ष्या-दोष धेरै सूक्ष्म छ । यसैले साधकले यो दोषदेखि वच्न विशेष सावधान हुनु पर्छ।
कर्मयोगी लाभ-हानि, मान-अपमान, स्तुति-निन्दा, अनुकूलता-प्रतिकूलता, सुख-दुःख जस्ता द्वन्द्वदेखि अतीत हुन्छ, यसैले उसको अन्तःकरणमा ती द्वन्द्ववाट हुने राग-द्वेष, हर्ष-शोक जस्ता विकार आउँदैनन् । 


द्वन्द्व अनेक प्रकारका हुन्छन् । जस्तो -- भगवानको सगुण-साकाररुप ठीक हो कि निर्गुण-निराकाररुप ठीक हो, अद्वैत सिद्धान्त ठीक हो या द्वैत सिद्धान्त ठीक हो, भगवानमा मन लाग्यो कि लागेन, एकान्त पाइयो कि पाइएन, शान्ति भयो कि भएन आदि, आदि । यी सबै द्वन्द्वहरुसंग सम्बन्ध नभएपछि साधक निर्द्वंद हुन्छ । अर्को शब्दमा, साधकको अन्तःकरणमा कुनै तर्फ झुकाव हुन्छ भने उसलाई द्वान्दातीत भनिंदैन ।
कर्मयोगी सबै प्रकारको द्वन्द्वहरुदेखि अतीत हुन्छ, यसैले ऊ सुखपूर्वक संसार-बन्धनदेखि मुक्त हुन्छ ।
कुनै पनि कर्तव्य-कर्म निर्विघ्नरूपले पूरा हुनु सिद्धि हो र कुनै प्रकारले विघ्न, वाधाले गर्दा पूरा नहुनु असिद्धि हो । सिद्धि र असिद्धिमा राग-द्वेष, हर्ष-शोक आदि विकारहरु नहुनु नै सिद्धि-असिद्धिमा सम रहनु हो ।
आफ्नो केही पनि होइन, आफ्नोलागि केही चाहिंदैन र आफ़्नोलागि केही गर्नु छैन -- यी तीनै कुरा ठीक ठीक अनुभवमा आयो भने मात्रै सिद्धि-असिद्धिमा पूर्णत: समता आउनेछ  । 
            
कर्मयोगी कर्म गर्दा पनि बाँधिंदैन भने कर्म नगर्दा ऊ वांधिने भन्ने सवाल नै आउँदैन ।ऊ दुवै अवस्थाहरुमा निर्लिप्त रहन्छ । शरीर-निर्वाहकोलागि कर्म गर्ने कर्मयोगी कर्महरुसँग नबाँधिए जस्तै शास्त्रविहित सम्पूर्ण कर्महरु गर्ने कर्मयोगी पनि कर्महरुसँग वाँधिंदैन । 


कर्मयोगमा कर्म गर्नु, धेरै कर्म गर्नु, कम कर्म गर्नु अथवा नगर्नु बन्धन अथवा मुक्तिको कारण होइन । कर्महरुसँगको लिप्तता नै बन्धनको र निर्लिप्तता नै मुक्तिको कारण हो । जस्तो एउटा व्यक्ति नाटकमा लक्ष्मणको र अर्को व्यक्ति मेघनादको अभिनय गर्छ र दुवै व्यक्ति आफ्नो-आफ्नो अभिनय ठीक ठीक गर्दा पनि निर्लिप्त रहन्छन् अर्थात् आफूलाई वास्तवमा साँच्चिकै लक्ष्मण या मेघनाद मान्दैनन् । त्यस्तै कर्मयोगी आफ्नो वर्ण, आश्रम, अनुसार कर्तव्यको पालन गरी गरी ती कर्महरुसँग निर्लिप्त रहन्छ अर्थात् तिनसँग आफ्नो कुनै सम्बन्ध मान्दैन । उसको सम्बन्ध नित्य निरन्तर रहने स्वरूपसँग रहन्छ, प्रतिक्षण परिवर्तनशील प्रकृतिसँग होइन । यसैले उसको स्थिति स्वाभाविक नै समतामा रहन्छ । समतामा स्थिति रहने हुनाले ऊ कर्म गर्दा पनि ती कर्महरुसँग बाँधिंदैन । 


अझ विचार गर्दा, समता स्वतःसिद्ध छ । यो प्रत्येक मनुष्यको अनुभव हो, अनुकूल परिस्थितिमा हामी जे जस्तो हुन्छौँ, प्रतिकूल परिस्थितिमा पनि हामी त्यस्तै नै हुन्छौं । दुवै परिस्थितिमा हामी एकै नहुने भए दुई छुट्टा-छुट्टै परिस्थितिको हामीलाई ज्ञान कसरी हुने ? यसवाट सिद्ध हुन्छ, परिवर्तन परिस्थितिहरुमा हुन्छ, आफ्नो स्वरूपमा होइन । यसैले परिस्थितिहरु वदलिए पनि स्वरूपले हामी सम (जस्ता-को-तस्तो) नै रहन्छौं । भूल यही हुन्छ, हामी परिस्थितिहरुतिर हेर्छौं, तर स्वरूपतिर हेर्दैनौं । आफ्नो सम स्वरूपतिर न हेर्नाको कारण नै हामी आउने-जाने परिस्थितिहरुवाट सुखी-दुःखी हुन्छौं ।       


                                              












No comments:

Post a Comment