Sunday 6 July 2014

119. No. 87 श्लोक २५, २६ हे भरतवंशोद्भव अर्जुन ! कर्ममा आसक्त भएका अज्ञानी

No. 87 

श्लोक २५, २६ 

हे भरतवंशोद्भव अर्जुन ! कर्ममा आसक्त भएका अज्ञानी व्यक्तिहरुले कर्म गर्ने जस्तो आसक्तिरहित तत्वज्ञ महापुरुषले पनि लोकसंग्रह गर्न खोज्दै त्यस्तै प्रकारले कर्म गरोस् । सावधान तत्वज्ञ महापुरुषले कर्महरुमा आसक्ति भएका अज्ञानी मनुष्यहरुको बुद्धिमा भ्रम उत्पन्न नगर्नु, बरु स्वयं नै समस्त कर्महरु राम्ररी गरी गरी अरु अज्ञानीहरुवाट पनि त्यस्तै कर्म गराउनु ।

जुन व्यक्तिहरुमा शास्त्र, शास्त्र-पद्धति र शास्त्रविहित शुभ कर्महरुमा पूरा श्रद्धा छ, त्यस्तै शास्त्रविहित कर्महरूको फल पनि अवश्य पाइन्छ भन्ने विश्वास छ, त्यस्ता व्यक्तिहरुलाई यहाँ 'सक्ताः', 'अविद्वांस:' भनिन्छ । यिनीहरु तत्वज्ञ पनि होइनन्, दुराचारी पनि होइनन्; तर यिनीहरु कर्महरुमा, भोगहरुमा एवं पदार्थहरुमा आसक्त छन् । शास्त्र जान्ने भए पनि कामनाको कारणले यिनीहरु अविद्वान (अज्ञानी) भएका हुन् । यस्ता व्यक्तिहरु शास्त्रज्ञ त हुन्छन्, तर तत्वज्ञ हुँदैनन् । यिनीहरु आफ़्नोलागि कर्म गर्छन्, यही कारण अज्ञानी मानिन्छन् ।

यस्ता अविद्वान (अज्ञानी) व्यक्तिहरु कर्महरुमा कहिले प्रमाद, आलस्य आदि नगरेर सावधानी र तत्परतापूर्वक विधिद्वारा कर्म गर्छन्; किनकि उनीहरुको मान्यता हुन्छ, कर्महरु गर्दा कुनै कमी आयो भने फलमा पनि कमी आउनेछ । भगवान अविद्वानको यस्तो किसिमको कर्म गर्ने तरिकालाई आदर्श मान्दै आसक्तिरहित विद्वानहरुलाई पनि यही विधिले लोकसंग्रह गर्ने प्रेरणा गर्नुहुन्छ ।

कामना, ममता, आसक्ति, वासना, पक्षपात, स्वार्थ आदिको सर्वथा अभाव भएको र शरीर आदि पदार्थहरुसँग अलिकति पनि सम्बन्ध नभएका तत्वज्ञ महापुरुषलाई यहाँ 'असक्तः', 'अविद्वान' भनिएको छ ।  

श्रेष्ठ व्यक्ति (आसक्तिरहित विद्वान)का सबै आचरण स्वाभाविक नै यज्ञकोलागि, मर्यादा सुरक्षित राख्नकोलागि हुन्छन् । जस्तो भोगी व्यक्तिलाई भोगहरुमा, मोही मनुष्यहरू लाई कुटुम्बहरुमा र लोभी मनुष्यहरुलाई धनमा रति हुन्छ, त्यस्तै श्रेष्ठ मनुष्यलाई सम्पूर्ण प्राणीहरुको हितमा रति हुन्छ । त्यो श्रेष्ठ पुरुषको अन्तःकरणमा 'म लोकहित गर्छु' भन्ने भाव पनि आउँदैन, वरु उद्वारा स्वतःस्वाभाविक लोकहित भइरहेको हुन्छ । प्राकृत पदार्थवाट सर्वथा सम्बन्ध-विच्छेद भएकोले त्यो ज्ञानी महापुरुषको शरीर, इन्द्रियहरु, मन, बुद्धि, आदि पनि 'लोकसंग्रह' पदमा आएको 'लोकः' शब्द अन्तर्गत नै आउँछन् ।

अरु सर्व साधारण व्यक्तिलाई यस्ता ज्ञानी महापुरुषले पनि लोकसंग्रहको इच्छा गरे जस्तो देखिन्छ, तर वास्तवमा त्यस्ता महापुरुषमा लोकसंग्रहको इच्छा पनि हुँदैन । किनकि संसारमा प्राप्त शरीर, इन्द्रियहरु, मन,बुद्धि, पदार्थ, पद, अधिकार, धन, योग्यता, सामर्थ्य, साधन अवस्थादेखि नै किञ्चित् मात्र पनि आफ्नो र आफ़्नोलागि मान्दैन, खालि संसारको र संसारकोलागि नै मान्छ । यही प्रवाहको कारणले सिद्धावस्थामा पनि उसको भनिने शरीर आदि पदार्थ स्वतःस्वाभाविक, कुनै प्रकारको इच्छा विना संसारको  सेवामा लागिरहन्छन् ।

अज्ञानी (सकाम) पुरुषले आफ्नो स्वार्थकोलागि सावधानी र तत्परतापूर्वक कर्म गरे जस्तो ज्ञानी पुरुषले  पनि लोकसंग्रहको अर्थात् अरुको हितकोलागि कर्म गर्नुपर्छ  । ज्ञानी पुरुषले प्राणीमात्रको हितको भाव राखेर सम्पूर्ण लौकिक र वैदिक कर्तव्य-कर्मको आचरण गरिरहनु पर्छ। सबैको कल्याण कसरी होला? भन्ने भावले कर्तव्य-कर्म गरे लोकमा राम्रो भावको प्रचार स्वतः हुन्छ ।

अज्ञानी पुरुष त फलको प्राप्तिकोलागि सावधानी र तत्परताले विधिपूर्वक कर्तव्य-कर्म गर्छ, तर ज्ञानी पुरुषको फलमा आसक्ति हुँदैन र उसकोलागि कुनै कर्तव्य पनि हुँदैन । त्यसैले ज्ञानी पुरुषवाट पनि कर्मको उपेक्षा हुन सक्छ । यसैले भगवान कर्म गर्ने विषयमा ज्ञानी पुरुषले पनि अज्ञानी (सकाम)ले जस्तो नै कर्म गर्ने आज्ञा दिनुहुन्छ ।

यो भन्दा अघिल्लो प्रसंगमा विद्वानलाई 'आदर्श' भनिएको थियो, तर यहाँ उसैलाई 'अनुयायी' भनिएको छ । तात्पर्य, विद्वान चाहे होस् या अनुयायी, ऊद्वारा स्वतः लोकसंग्रह नै हुन्छ । जस्तो भगवान रामचन्द्रले प्रजालाई उपदेश पनि दिनुभयो र पिताजीको आज्ञा मानेर वनवास पनि जानुभयो । दुवै परिस्थितिमा उहाँ द्वारा लोकसंग्रह भयो; किनकि कर्महरु गर्ने र नगर्नेमा उहाँको कुनै प्रयोजन थिएन ।

आसक्तिरहित विद्वानले गरेको कर्तव्य-कर्मवाट आसक्तियुक्त चित्त भएको पुरुषको अन्तःकरणमा पनि विद्वानको कर्महरुको स्वतः प्रभाव पर्छ, चाहे  उनीहरुलाई 'यो महापुरुष निष्कामभावले कर्म गरिरहेको छ' भन्ने परोस् अथवा नपरोस् । कुनै व्यक्तिको निष्काम भावको असर अरुमा अवश्य नै पर्छ--यो सिद्धान्त नै हो । यसैले आसक्तिरहित विद्वानका भावहरु, आचरणहरुको प्रभाव मनुष्यहरुमा मात्रै होइन, पशु-पक्षीहरूमा पनि पर्छ ।


साधकले निष्कामभावपूर्वक विहित कर्म नगरुन्जेल उसको जन्म-मरण मेटिन सक्तैन । आफ्नोलागि कर्म गरुन्जेल ऊ कृतकृत्य हुँदैन अर्थात् 'गर्नु' सकिंदैन । किनकि स्वयं नित्य रहने स्वभावको छ र कर्म एवं त्यसको फल नष्ट हुने स्वभावको छ । अतः सवै व्यक्तिले स्वार्थ त्यागेर, आफ्नोलागि कर्म नगरेर केवल अरुको हितकोलागि कर्तव्य-कर्म गर्ने आवश्यकता छ ।

सांसारिक वस्तुहरुलाई मूल्यवान मान्दा नै कर्मयोगको आचरणमा कठिनाइ आएको जस्तो लाग्छ हामीलाई । हामीले अरुसँग कुनै चीजको पनि आश नगरेर खालि अरुको हितकोलागि काम गर्ने हो भन्ने कुरो स्वीकार गर्यौं भने आज नै कर्मयोगको पालन गर्न सजिलो हुन्छ ।

वास्तवमा महत्व पदार्थको होइन, आचरणको हो । अन्तःकरणमा पदार्थको महत्व नभए मात्रै आचरणको महत्व हुन्छ । कुनै पनि पदार्थ व्यक्तिगत होइन, केवल उपयोगकोलागि नै व्यक्तिगत हो । पदार्थलाई व्यक्तिगत मान्दा नै परहितकोलागि पदार्थको त्याग गर्न गाह्रो हुने हो । कुनै पदार्थ अथवा क्रिया बन्धन-कारक होइन, तिनीहरुसंगको सम्बन्ध नै बन्धन-कारक हो ।

मेरा मित्रहरु, मैले धेरै पटक गीता पढिसकें । अहिले हजुरहरुलाई पठाइरहेको यो आलेख पनि स्वामी श्रीरामसुखदासजी महाराजको 'साधक संजीवनी' भन्ने गीताको आधारमा नै हो । जति चोटि गीता पढ्दा पनि केही न केही नयाँ पाइरहेको जस्तो लाग्छ मलाई । जहिले पनि गीताले भनेको जस्तो आचरण गर्न केही न केही वांकी रहे जस्तो मलाई लागिरहन्छ । यसको अध्ययनले overnight परिवर्तन आउन सक्ने होइन, थाहा नपाइंदो किसिमले हामीमा केही न केही change आउँछ । अहिलेसम्म हामीले भोगेको, देखेको, सुनेको सूचनाको आधारमा पनि हामीलाई यो कुरा पक्का नै भएको हुनुपर्छ, भौतिक पदार्थ सम्पन्न व्यक्तिले पनि शाश्वत सुख पाउन सक्तैन, किनभने यो सुख पैसाले किन्न नसकिने रहेछ, यसलाई हामी आफैंले आर्जन गर्नुपर्ने रहेछ । अरु अहिले सम्म आर्जन गरेका पदार्थ तथा सूचना हाम्रो शरीर छुटेपछि हामीसँग जाँदैनन्, तर अहिले हामीले मनन गरिरहेको वेदान्तको ज्ञान हाम्रो शरीर छुटेपछि पनि हामीसँग जान्छ, यसले हाम्रो साथ कहिले पनि छोड्दैन । यो कुरो यही गीतको छैठौं अध्यायमा पढ्न पाइन्छ । शाश्वत सुख नपाई  व्यक्ति सन्तुष्ट हुन सक्तैन । यो कुरो निरन्तर सम्झिरहन गीताको अध्ययन चाहिन्छ हामीलाई । संसारका धनीहरु मध्ये एक मानिने एक व्यक्ति malnutrition भएर निधन भएको कुरो हामीलाई थाहा नै भएको हुनु पर्छ । मैले वयान गरिरहेको यो गीता, यसलाई 'मेरो' भन्न मन लाग्छ मलाई, हजुरहरुले पनि हजुरहरुको 'मेरो' वनाउनु छ । नत्र त हजुर, हाम्रो भविष्य अत्यन्त अनिश्चित छ, अहिलेको अहिले के हुन्छ हामीलाई मात्रै होइन, कसैलाई पनि थाहा छैन । यस्तो अनिश्चित जीवनमा 'ढुक्क' भएर वाँच्न सक्ने कला सिकाउँछ गीताले हामीलाई । कतिले त गीताको ज्ञानलाई abstract भनेर स्वीकार्नै सक्तैनन्, 'हामीले ईश्वर देखेका छैनौं,  कसरी पत्याउने' भन्छन् उनीहरु । गीताको ज्ञानले भन्छ, 'तिमीहरुको इन्द्रियहरू, मन, बुद्धिको पकडमा आउन नसक्ने तत्व हो यो, जसले तिमीहरुको शरीर, इन्द्रियहरु, मन, बुद्धिलाई सत्ता-स्फूर्ति दिन्छ, त्यो तत्वलाई तिम्रो शरीर, इन्द्रियहरु, मन, बुद्धिले कसरी जान्ने'? हाम्रा इन्द्रियहरु द्वारा जान्न सकिने तेज, वायु, आकाश त कति सूक्ष्म छ भने ती भन्दा पनि अति सूक्ष्म तत्वको ज्ञान हुन नित्य-निरन्तर श्रवण, मनन, निदिध्यासनको जरुरत छ हामीलाई । मैले पनि जानेको त के छ र हजुर, केवल हजुरहरुले मेरो अक्षरहरु पढिरहनु भएको छ भन्ने  मात्रै लाग्छ मलाई र यही भएर नै मैले हजुरहरुलाई आफ्नो feelings share गरिरहेको ।                 

No comments:

Post a Comment