Sunday 6 July 2014

118 No . 86 श्लोक २३, २४ किनभने हे पार्थ ! यदि मैले कुनै वेला होशियार भएर

No . 86

श्लोक २३, २४

किनभने हे पार्थ ! यदि मैले  कुनै वेला होशियार भएर कर्तव्य-कर्म गरिनं भने ठूलो हानि हुनेछ, किनभने मनुष्य सबै प्रकारले मेरो मार्गको नै अनुसरण गर्छन् । यदि मैले कर्म नगरुँ त म वर्णसंकरको कर्ता वन्नेछु तथा यी समस्त प्रजालाई नष्ट गर्ने वन्नेछु ।

भगवान भन्नुहुन्छ, मवाट सावधानीपूर्वक कर्म नहुने भन्ने कुरा त आउंदै आउँदैन । यहाँ भन्न खोजिएको, कर्तव्य-कर्म गर्न आलस्य, प्रमाद गर्नु हुँदैन, वरु अझ सावधानीपूर्वक गरिनु पर्छ ।   सावधानीपूर्वक कर्तव्य-कर्म नगर्दा मनुष्य आलस्य, प्रमादको वशमा पर्छ र ऊ आफ्नो अमूल्य जीवन नष्ट गर्छ । कर्ममा शिथिलता (आलस्य, प्रमाद) आउन नदिई ती कर्महरु सावधानीपूर्वक गरे नै कर्महरुसँग सम्बन्ध-विच्छेद हुन्छ ।  यदि कुनै कर्मको फेरि फेरि सम्झना आइरहन्छ भने हामीले यो बुझ्नु जरूरी छ, कर्म गर्न कुनै त्रुटी (कामना, आसक्ति, अपूर्णता, आलस्य, प्रमाद, उपेक्षा) भएको छ, जसले गर्दा त्यो कर्मसँग सम्बन्ध-विच्छेद भएको छैन । कर्मसँग सम्बन्ध-विच्छेद नभएको कारणले नै गरिएका कर्मको सम्झना आइरहन्छ ।
भगवान भन्नुहुन्छ, मेरो मार्गको अनुसरण गर्ने नै वास्तवमा मनुष्य हुन्छन् । मलाई आदर्श नमानेर आलस्य-प्रमादवश कर्तव्य-कर्म नगरेर अधिकार खोज्ने मान्छेलाई भगवानकोलागि आकृतिवाट मनुष्य भए पनि वास्तवमा मनुष्य भनिन योग्य छैनन् ।
मनुष्यले संसारमा कसरी रहनुपर्छ भन्ने कुरा वताउन  भगवान मनुष्यलोकमा अवतार लिनुहुन्छ । संसारमा आफ्नोलागि वस्ने नै होइन -- यो नै संसारमा रहने विद्या हो । संसार नै एउटा विद्यालय हो, जहाँ हामीलाई कामना, ममता, स्वार्थ त्यागेर अरुको हितकोलागि कर्म गर्न सिक्नुपर्छ र त्यही शिक्षा अनुसार कर्म गरेर आफ्नो उद्धार गर्नुपर्छ। 

यहाँ कर्महरुमा सावधानी नगरे हानि हुने र कर्म नै नगरे पनि हानि हुने कुरा छ ।भगवान यहाँ भन्नुहुन्छ, 'मेरोलागि केही पनि प्राप्तव्य नभए पनि म कर्म गर्छु । यदि मैले नै आफ्नो कर्तव्यको पालन गरिनँ भने सबै मनुष्य नष्ट-भ्रष्ट हुन्छन् अर्थात् उनीहरुको पतन हुन्छ ।   किनभने आफ्नो कर्तव्यको त्याग गर्दा तामस भाव आउँछ, जसवाट अधोगति हुन्छ ।' 

भगवान त्रिलोकीमा आदर्श पुरुष हुनुहुन्छ, सम्पूर्ण प्राणी उहाँको मार्गको अनुसरण गर्छन् । यदि भगवानले पनि आफ्नो कर्तव्यको पालन गर्नु भएन भने त्रिलोकीमा कोही पनि आफ्नो कर्तव्य-पालन गर्दैनन् । यसैले भगवान भन्नुहुन्छ, यदि म पनि आफ्नो कर्तव्यको पालन नगरौं त सबै लोक नष्ट-भ्रष्ट हुन्छन् र यिनीहरु नष्ट-भ्रष्ट हुने कारण म नै वन्नेछु। यसवाट थाहा हुन्छ, कर्तव्य-कर्म नगर्दा पनि वर्णसंकरता हुन्छ । यसैले भगवानले पनि आफ्नो कर्तव्य-पालन गर्नु भएन भने कर्म, धर्म, उपासना, वर्ण, आश्रम, जाति आदिमा पनि स्वतः वर्णसंकरता आउँछ । यहाँ अर्जुनलाई भगवान सावधान गर्नुहुन्छ, 'तिमीले पनि कर्तव्य-पालन गरेनौ भने तिमीलाई वर्णसंकरताको दोष लाग्नेछ ।' 

यो अध्यायको शुरु नै अर्जुनको 'मलाई घोर कर्ममा किन लगाउनु हुन्छ?' भन्ने थियो । भगवान यही सन्दर्भमा अर्जुनलाई उपदेश दिइरहनु भएको छ, 'तिमीले मात्रै कर्तव्य-कर्म गर्नु पर्ने होइन कि मैले आफैंले पनि कर्तव्य-पालन गरिरहेछु । अहिले यो अवतारमा तिमीले रथी वन्न स्वीकार गर्यौ, मैले सारथी वन्न स्वीकार गरें, त्यही प्रतिज्ञा अनुरुप मैले सारथीको काम गरिरहेको छु, तिमीले पनि रथीको काम स्वीकार गर्नै पर्छ ।   

No comments:

Post a Comment