Wednesday 9 July 2014

121 No. 89 श्लोक २७ संसारका सबै कर्महरु सबै किसिमले प्रकृतिका गुणहरुद्वारा गरिन्छन्;

No. 89
श्लोक २७ 
संसारका सबै कर्महरु सबै किसिमले प्रकृतिका गुणहरुद्वारा गरिन्छन्; परन्तु अहंकारले मोहित अन्तःकरण भएको अज्ञानी मनुष्य 'म कर्ता हुँ' भन्ने मान्छ । समष्टि शक्तिवाट शरीर, वृक्ष, आदि पैदा हुन्छन् र वढ़छन्, घट्छन्, गंगाजी जस्ता नदीहरु प्रवाहित हुन्छन्, घर-जग्गा, धन-सम्पत्ति आदि पदार्थमा परिवर्तन हुन्छ । त्यही समष्टि शक्तिवाट हामीले देख्ने, सुन्ने, खाने-पिउने आदि सबै क्रियाहरु हुन्छन् । परन्तु मनुष्य मोहित भएर, अज्ञानले गर्दा यौटा शक्तिद्वारा हुने क्रियाहरुलाई दुई विभाग गरिदिन्छ: (१) स्वतः हुने क्रियाहरु -- जस्तो, शरीर वन्नु, भोजन पच्नु आदि, र (२) ज्ञानपूर्वक हुने क्रियाहरु -- जस्तो, हेर्नु, वोल्नु, भोजन गर्नु, आदि । ज्ञानपूर्वक हुने क्रियाहरुलाई मनुष्य अज्ञानवश आफूले गर्ने क्रियाहरु भन्ने मान्छ ।
 
प्रकृतिवाट उत्पन्न गुणहरु -- (सत्व, रज र तम-)को कार्य भएकोले बुद्धि, अहंकार, मन, पन्चमहाभूत, दस इन्द्रियहरु र इन्द्रियहरुको शब्द आदि पाँच विषय -- यिनीहरुलाई पनि प्रकृतिको गुण भनिन्छ । तात्पर्य, सम्पूर्ण क्रियाहरु (समष्टिको अथवा व्यष्टिको) प्रकृतिका गुणहरुद्वारा नै गरिन्छन्, स्वरूप द्वारा होइन ।
 
'अहंकार' अन्तःकरणको यौटा वृत्ति हो  । 'स्वयं' (स्वरूप) त्यो वृत्तिको ज्ञाता हो । परन्तु हामी भूलले 'स्वयं' आफूलाई त्यो वृत्तिसंग मिलाउँछ अर्थात् त्यो वृत्तिलाई आफ्नो स्वरूप मान्छ । यही कारण त्यो मनुष्यलाई विमूढात्मा भनिन्छ ।
 
शरीर 'इदम्' भए जस्तै अहंकार पनि 'इदम्' हो । 'इदम्' (यो) कहिले पनि 'अहम्' (म) हुन सक्तैन, यो त सिद्धान्त  हो । जव हामी भूलले 'इदम्' (यो)लाई म मान्छौं, त्यो वेला हामी अहंकारविमूढात्मा हुन्छौं । यस्तो मानिएको अहंकार मेट्न उद्योग गरेर हुने होइन, किनकि उद्योग गर्दा पनि अहंकार रहन्छ । मानिएको अहंकार अस्वीकृतिले अथवा नमान्नाले मेटिन्छ ।
अहम् दुई किसिमका हुन्छन् -- 

(१) वास्तविक (आधाररुप) 'अहम्'; जस्तो -- 'म सत्ता मात्र हुँ'।
(२) अवास्तविक (मानिएको) 'अहम्'; 'म शरीर हुँ' ।
'वास्तविक अहम्' स्वाभाविक एवं नित्य र 'अवास्तविक अहम्' अस्वाभाविक एवं अनित्य हुन्छ । अतः 'वास्तविक अहम्' विस्मृत त हुन सक्छ, तर मेटिन सक्तैन;  'अवास्तविक अहम्' प्रतीत हुन सक्छ, तर टिकदैन । हाम्रो भूल त्यहाँ हुन्छ, हामी 'वास्तविक अहम्'लाई (आफ्नो स्वरूप) भन्ने  विर्सेर 'अवास्तविक अहम्' लाई (म शरीर हुँ)लाइ नै सत्य मान्छौं ।
सबै कर्म सबै प्रकारले प्रकृतिजन्य गुणहरुवाट हुने भए पनि अहंकारले मोहित अन्तःकरण भएको अज्ञानी व्यक्ति कुनै कर्मको कर्ता आफूलाई मान्छ । कारण कि ऊ अहंकारलाई नै आफ्नो स्वरूप मान्छ । अहंकारले गर्दा नै हामी शरीर, इन्द्रियहरु, मन आदिमा 'म' भन्छौं  र ती शरीर आदि क्रियाहरुको कर्ता आफूलाई मान्छौं ।   यस्तो विपरीत मान्यता हामी आफैंले वनाएका हौँ, यस्तो मान्यता हटाउने काम पनि हाम्रो हो । यसको एक मात्र उपाय -- यस्तो मान्यतालाई विवेक-विचारपूर्वक नमान्ने, किनकि एउटा मान्यता अर्को मान्यतावाट नै काटिन्छ ।                             

एक 'गर्ने' हुन्छ, एक 'नगर्ने' हुन्छ। 'गर्ने' क्रिया भए जस्तै नगर्ने पनि क्रिया नै हो । सुत्नु, उठ्नु, वस्नु, हिंड्नु, समाधिस्थ हुनु आदि सबै क्रियाहरु  नै हुन् । सम्पूर्ण क्रियाहरु प्रकृतिमा हुन्छन् । 'स्वयं' (चेतन-स्वरूप) मा गर्ने र नगर्ने -- दुवै छैनन्, किनकि चेतन-स्वरूप यी दुइ भन्दा पनि माथि छ । यो चेतन-स्वरूप अक्रिय र सबैको प्रकाशक हो । क्रिया 'स्वयं'मा पनि क्रिया हुने भए (शरीर आदिमा परिवर्तनरुप क्रियाहरु)को ज्ञाता कसरी हुने ? 'अहम्' (म) रहँदा मात्रै 'गर्ने' र 'नगर्ने' हुन्छ । 'गर्ने' र 'नगर्ने'लाई  प्रकाशित गर्ने  त्यो अक्रिय तत्व (आफ्नो स्वरूप)मा सबै मनुष्यको स्वाभाविक स्थिति छ । तर 'अहम्'ले गर्दा मनुष्य प्रकृतिमा हुने क्रियाहरुसँग आफ्नो सम्बन्ध मान्छ । प्रकृति (जड)सँग मानिएको सम्बन्धलाई नै 'अहम्' भनिन्छ ।
 
समुद्रको नै अंश भएकोले सहर र समुद्रमा एकता भए जस्तै संसारको नै अंश भएकोले शरीरको संसारसँग जातीय एकता छ । हामी संसारलाई त 'म' मान्दैनौं, तर शरीरलाई चाहिं 'म' मान्छौं । 
 
समुद्र विना लहरको आफ्नो कुनै स्वतंत्र अस्तित्व नभए जस्तै संसार विना शरीरको आफ्नो कुनै अस्तित्व छैन । परन्तु अहंकारले मोहित अन्तःकरण भएको मनुष्यले शरीरलाई 'म' (आफ्नो स्वरूप) मान्दा उसमा अनेक प्रकारका कामनाहरु उत्पन्न हुन्छन् -- जस्तो, मलाई स्त्री (पुरुष), पुत्र, धन आदि पदार्थ मिलून, अरु व्यक्तिहरुले  मलाई असल भनून, मेरो आदर गरून, मैले भनेको जस्तो गरून, आदि आदि। उसलाई यो कुराको ध्यान रहँदैन, 'शरीरलाइ आफ्नो स्वरूप मानेर म पहिले नै वांधिइसकें, अव कामना गरेर अरु बन्धनमा परिरहेछु, आफूलाई विपत्तिमा पारिरहेछु' भन्ने ।
'म शरीर हुँ, म कर्ता हुँ' भन्ने असत् मान्यताहरु हामीमा यति दृढ हुन्छन्, ती मान्यताहरु छोड्न हामीलाई मुश्किल पर्छ । त्यसो भए 'म शरीर होइन ', 'म अकर्ता हुँ' भन्ने सत्य मान्यताहरु दृढ नहुने कुरै छैन । यस्तो मान्यता एक चोटि दृढ भएपछि छुट्ने कुरै आउँदैन ।
सबै क्रियाहरु जड-विभागमा हुन्छन्, चेतन-बिभागमा कहिले पनि अलि कति मात्र पनि कुनै क्रिया हुँदैन । अहंकारले अन्तःकरण मोहित भएको कारण अज्ञानी व्यक्ति 'म कर्ता हुँ' भन्ने मान्छ । अहंकारले अन्तःकरण मोहित हुनु भनेको -- अपरा प्रकृतिको अंश अहम् सँग आफ्नो सम्बन्ध मान्नु अर्थात् अहम् लाई आफ्नो स्वरूप मान्नु कि यो नै म हुँ । यसैलाई तादात्म्य भन्छन् ।
 
आफूलाई कर्ता मान्ने चेतन हो, तर यही चेतन जड अहम् लाई आफ्नो स्वरूप मान्छ । अहम् लाई आफ्नो स्वरूप मान्ने, आफूलाई एक देशीय मान्ने स्वयम् चाहिं परमात्माको अंश हो । त्यो स्वयम् मा कर्तापन सम्भव नै छैन । वास्तवमा स्वयम् शरीरसँग मिल्नै सक्तैन, तर हामी मिलेको मान्छौं । वास्तवमा तादात्म्य पनि हुँदैन, तर तादात्म्य मानिन्छ ।  स्वयम् कर्ता वन्दैन, केवल अविवेकपूर्वक आफूमा कर्तापनको मान्यता गरिन्छ । आफूलाई कर्ता मानेको कारण नै हामीमा शास्त्रविधि लागु हुन्छ र कर्मफलको भोक्ता पनि वन्नुपर्छ हामीलाई ।
 
स्वरूप (स्वयम्)मा कुनै क्रिया छैन । कहिं कुनै खालि ठाउँमा नै क्रिया हुन्छ । सर्वथा ठोस स्वरूपमा क्रिया कसरी हुने ? परन्तु आफूलाई कर्ता मानेकोले हामी प्रकृतिको जुन क्रियासँग सम्बन्ध जोडछौं, त्यो क्रिया हाम्रोलागि फलजनक 'कर्म' भइदिन्छ, त्यो कर्मको फल हामीले भोग्नै पर्छ । किनभने कर्ता हुनेले भोक्ता हुनैपर्छ । 
         
सम्पूर्ण कारकहरुसँग स्वरूपको सर्वथा सम्बन्ध-विच्छेद छ । यसैले स्वरूपमा लेशमात्र पनि कर्तृत्व छैन । कर्तृत्वको बिभाग छुट्टै छ । अहिलेसम्म देवता, मनुष्य, पशु, पक्षी, यक्ष, राक्षस आदि अनेक शरीरहरुमा जति कर्म भए, ती मध्ये कुनै पनि कर्म स्वरूपसम्म पुग्न सकेन तथा कुनै पनि शरीर स्वरूपसम्म पुग्न सकेन ; किनकि कर्म र पदार्थ (शरीर)को बिभाग नै छुट्टै छ र स्वरूपको बिभाग नै छुट्टै छ । यही विवेकको महत्व नदिएको कारणले नै हामी कर्म र फलमा वाँधिन्छौँ ।
'गर्नु' हुन्जेल अहंकारसँग सम्बन्ध छ; किनकि अहंकार (कर्तापन) विना 'गर्नु' सिद्ध नै हुँदैन । गर्ने भाव हुँदा नै कर्तृत्वाभिमान भइहाल्छ । कर्तृत्वाभिमान हुँदा 'गर्नु' हुन्छ र 'गर्दा' कर्तृत्वाभिमान पुष्ट हुन्छ । यसैले गरिएको साधनवाट साधक कहिले पनि अहंकाररहित हुन सक्तैन । अहंकारपूर्वक गरिएका कर्म कहिले पनि कल्याण गर्न सक्तैनन्; किनकि सबै अनर्थहरुको मूल नै अहंकार हो । आफ़्नोलागि केही नगरे अहंकारसँग सम्बन्ध रहँदैन अर्थात् प्रकृतिसँग सम्बन्ध विच्छेद हुन्छ । त्यसैले, हामीले क्रियालाई महत्व नदिएर आफ्नो विवेकलाई महत्व दिनुपर्छ । विवेकलाई  महत्व दिने वित्तिकै विवेक स्वतःस्पष्ट भइरहन्छ र हाम्रो मार्गदर्शन गरिरहन्छ । पछि पछि यही विवेक नै तत्वज्ञानमा परिणत हुन्छ ।
 
विषय पनि यस्तै पर्यो, मेरो लेखाइ पनि यस्तै पर्यो, म खुरुखुरु लेखिरहेछु, हजुरहरु खुरुखुरु पढिरहनु भएको छ । यहाँ, विचार गर्नु पर्ने कुरो, यहाँका सबै प्रसंगले समस्या सँगसंगै समाधान पनि दिइरहेका छन् । एक जना सन्त भन्नुहुन्छ, ' विहान उठेर, side tableमा cofee राखेर, आफ्नो अगाडि भएको tv खोलेर, पत्रिका पढेको जस्तो गरेर गीता पढे कहिले पनि, कुनै हालतमा पनि बुझ्न सकिंदैन' । यो गीताको ज्ञान पढ्न, बुझ्न तीव्र जिज्ञासा चाहिन्छ हामीलाई । मलाई समय समयमा लाग्छ, म एकोहोरो ढंगले लेखिरहेछु, मेरा मित्रहरुले बुझेको अथवा नबुझेको के हो, उहाँहरुलाई मात्र थाहा छ । यसैले यो विषयमा उठेका जिज्ञासाहरुको चर्चा वेला वेलामा हुन सके मेरा मित्रहरुलाई लाभदायक हुन्थ्यो कि ! मैले हजुरहरुलाई सुझाव मात्र पेश गरेको, मेरो आफ्नो कुनै पनि स्वार्थ छैन यसमा । वांकी हजुरहरुको निर्णय ! 

Song of the Day: Bhichya Deide Maiya Pingala courtesy Hajurma's Cassette Collection
 

No comments:

Post a Comment