Monday 7 July 2014

120 No. 88 पहिलो श्लोकको नै वांकी विद्वान पुरुषवाट पनि लोकसंग्रहकोलागि सबै कर्म हुन्छन् ।

No. 88 
पहिलो श्लोकको नै वांकी 
 विद्वान पुरुषवाट पनि लोकसंग्रहकोलागि सबै कर्म हुन्छन् । तर यस्तो हुँदा पनि उनमा 'म लोकसंग्रह गरिरहेछु' भन्ने अभिमान रहँदैन । कारण कि शरीर, इन्द्रियहरु, मन, बुद्धि, विद्या, योग्यता, पद आदि सबै संसारका हुन् र संसारवाट नै मिलेका हुन् । संसारवाट मिलेको सामग्रीलाई संसारको नै सेवामा लगाइदिनु इमान्दारी हो । ती सामग्री निकै इमान्दारीसंग  संसारलाई  अर्पण गरिदिने हो । यस्तो अर्पण गर्ने कुनै  ठूलो काम होइन । हामीलाई कसैले केही नासो सुम्पेको छ भने त्यो सुम्पने व्यक्तिले सो सामान मागेको वेलामा उसको सामान फिर्ता गर्दा हामीले कुन ठूलो काम गर्यौं र !  कुरो यत्ति हो, हामी ऋणमुक्त भयौं । यही किसिमले संसारको वस्तु संसारलाई अर्पण गर्दा हाम्रो दायित्व समाप्त हुन्छ, हामी ऋणमुक्त हुन्छौं, जन्म-मरणको बन्धनदेखि सँधैकोलागि छुटछौं । यसैले संसारिक पदार्थहरुलाई संसारको सेवामा लगाएर कुनै दान -पुण्य गर्ने हैन, खालि ती पदार्थहरुवाट  आफ्नो पिण्ड छुटाउनु छ । 
 
अन्तःकरणमा स्वतःस्वाभाविक समता भएको, स्थिति न्रिविकार भएको, सबै इन्द्रियहरु राम्रोसँग तह लागेको र माटो, पत्थर र स्वर्ण समान भएको व्यक्तिलाई गीता तत्वज्ञ भन्छ ।

श्रेष्ठ पुरुषमा विशेष जिम्मेवारी हुन्छ; किनकि अरु व्यक्तिहरु  सजिलै उसको  अनुसरण गर्छन् । यसैले भगवान यो प्रकरणमा विद्वान (ज्ञानी)लाई  आज्ञा दिनुहुन्छ कि त्यो ज्ञानीले अरु (कामनायुक्त अज्ञानी)लाइ पतन गर्ने कुनै कुरो भन्नु पनि हुँदैन, त्यस्तो आचरण गर्नु पनि हुँदैन । अज्ञानी पुरुषलाई उसको  आफ्नो स्थितिवाट विचलित गर्नु नै उनीहरुमा 'बुद्धिभेद' गर्नु हो । त्यसैले विद्वानले सबैको हितको भाव राख्दै आफ्नो वर्ण र आश्रम धर्म अनुसार शास्त्रविहित शुभ-कर्महरुको आचरण गरिरहनु पर्छ,जसले अरु व्यक्तिलाई पनि निष्कामभावले कर्तव्य-कर्म गर्ने  प्रेरणा मिलोस् । त्यो ज्ञानी व्यक्तिले आफ्नो समाज र परिवारको व्यक्तिसँग पनि यस्तै आचरण गर्नुपर्छ । आफ्नो परिवार र समाजसँग पनि उनीहरुमा राम्रो प्रभाव पार्नकोलागि  सावधानीपूर्वक आफ्नो कर्तव्य-कर्महरुको उचित आचरण गरिरहनुपर्छ । अज्ञानी पुरुषले वर्तमानमा गरिरहेका शास्त्रविहित शुभकर्महरुको विशेषरूपले प्रशंसा गरेर उनीहरुको कर्ममा भएको  त्रुटीहरु वारे उनीहरुलाई अवगत गराउनु पर्छ,। ज्ञानी पुरुषले यसो गर्दा अरु व्यक्तिहरु आफ्ना त्रुटीहरु हटाएर उचित विधिले आफ्नो कर्म सम्पादन गर्न  सकून । साथसाथै, ज्ञानी पुरुषले 'कर्मसंगी' पुरुषलाई यस्तो शिक्षा दिनु, 'यज्ञ, दान, पूजा, पाठ आदि शुभकर्म गर्नु त् धेरै राम्रो हो, तर ती कर्महरुमा फलको इच्छा राख्नु ठीक छैन, किनकि हीराको सट्टा रोडा, ढुंगा वेच्नु ठीक हुँदैन ।' किनकि सकाम भाव छोडेर निष्काम भाव तिर लग्नु बुद्धिभेद  हैन, वरु वास्तविकता हो । 
                            

यसै गरी उपासनाको विषयमा पनि तत्वज्ञ पुरुषले बुद्धिभेद पैदा गरिदिनु हुँदैन । उसले यस्तो उपदेश दिनु पर्छ, भगवानको पूजा, उपासना कहिले पनि व्यर्थ हुँदैन, किनकि भगवान प्रति कुनै न कुनै भाव हुँदा नै पूजा उपासना हुन सक्छ । भाव नभई नामजपमा प्रवृत्ति नै हुन सक्तैन । त्यसैले नामजपको त्याग कहिले पनि गर्नु हुँदैन । मन लगाएर ध्यान जप गर्यो भने सिद्धि हुन सक्छ, आदि आदि उपदेश दिएर सर्वसाधारणलाई सुमार्गतिर लगाउनु पर्छ । 

कुनै पनि व्यक्ति शतप्रतिशत गुणरहित हुँदैन । उसमा कुनै न कुनै गुण त हुन्छ नै । यसैले तत्वज्ञ महापुरुषले  कुनै व्यक्तिको उन्नातिकोलागि  शिक्षा दिनु छ भने त्यो व्यक्तिको निन्दा या अपमान नगरेर उसको गुणहरुको प्रशंसा गर्नुपर्छ । गुणहरुको प्रशंसा गर्दै आदरपूर्वक कसैलाई शिक्षा दिइयो भने त्यो शिक्षाको विशेष प्रभाव पर्छ ।

भगवान फेरि भन्नुहुन्छ,, (१) स्वयम् सावधानीपूर्वक शास्त्र-विहित कर्तव्य-कर्म राम्रोसंग गर्ने र (२) कर्ममा आसक्त अज्ञानी व्यक्तिहरुलाई पनि त्यसै गरी कर्म गर्न लगाउने । अरुलाई देखाउन कर्म गर्दा दम्भ हुन्छ। अतः भगवान लोक संग्रहकोलागि नै कर्तव्य-कर्म गर्ने आज्ञा दिनुहुन्छ । तत्वज्ञ पुरुषले कुनै कर्म गर्दा, आफ्नो कुनै प्रयोजन नरहँदा पनि उसवाट हुने समस्त कर्तव्य-कर्महरु सुचारुरूपले गरोस् । यसो हुन सक्यो भने कर्महरुमा आसक्त पुरुषहरुलाई निष्काम कर्महरु प्रति महत्व-बुद्धि जाग्रत हुनेछ र उनीहरु पनि निष्काम कर्म गर्न थाल्ने छन् । तात्पर्य, त्यो महापुरुषको आसक्तिरहित आचरण देखेर अरु पुरुष पनि त्यस्तै आचरण गर्ने चेष्ट गर्नेछन् ।
         

तत्वज्ञ महापुरुष र भगवान--दुबैमा कर्तृत्वाभिमान हुँदैन । त्यसैले यी दुवै केवल लोक संग्रहकोलागि नै कर्तव्य-कर्म गर्ने गर्छन्, आफ़्नोलागि होइन । साधकले (हामीले) पनि आफ़्नोलागि केही गर्ने होइन, किनकि स्वरूपमा कर्तृत्व छैन ।  अरुलाई उन्मार्गदेखि हटाएर संमार्गमा लगाउनु लोकसंग्रह हो । लोक संग्रहको उपाय हो -- शास्त्र अनुसार ठीक आचरण गर्नु, तर आफूभित्र साधकले यस्तो भाव राख्नु, 'मलाइ आफ़्नोलागि केही गर्नु छैन'।   फेरि उसले अरुलाई यो कुरा पनि नभन्नु । 
  


अहिलेसम्मको हाम्रो हालै चलिरहेको कुराकानीवाट स्पष्ट भइसक्यो, गीतामा तीन योग छन् -- कर्मयोग, भक्तियोग र ज्ञानयोग ।  गीताका अठार अध्यायहरु मध्ये पहिला छ अध्यायहरु कर्मयोगको व्याख्या गर्छन्, वीचका छ अध्यायहरु भक्ति (उपासना)योगको व्याख्या गर्छन् र पछिल्ला छ अध्यायहरु ज्ञानयोगको व्याख्या गर्छन् । अहिले भइरहेको व्याख्या कर्मयोगको व्याख्या हो ।
 
गीताको उपदेश अर्जुनलाई कर्म गर्न मन नलागेर शुरु भएको हो । कति वर्ष अघिदेखि हस्तिनापुरमा पाण्डव र कौरव वीचको अति तीतो सम्बन्धको कारण हस्तिनापुरको कुरुक्षेत्रमा युद्ध हुने निश्चित भइसक्यो, दुवैतिरका सेनाहरु रणभूमिमा युद्धकोलागि एकत्रित भैसके, दुबैतिरका महारथीले युद्धको शंख फुकिसके, अव केवल महारथीहरुवाट आफ्नो आफ्नो धनुषमा प्रत्यंचा चढ्न वांकी छ । यस्तो संकटपूर्ण समयमा अर्जुनलाई युद्ध गर्न मन लागेन, उनमा मोह भयो । उनको यो मोहको अभिव्यक्तिले अर्कै मोड लियो । उनको शरीर काँप्न थाल्यो, मुख सुक्यो, शरीरका रौं ठाडा भए, आँखावाट आँसु झर्न थाले, उनी उभिन पनि सकेनन्, रथमा थचक्क वसे, धुरु धुरु रुन थाले । अर्को शब्दमा, युद्ध जस्तो विषम परिस्थितिमा अर्जुनलाई depression भयो । यो depressionले पांडित्यको रुप लियो । जुन परमात्मावाट समस्त ज्ञानको प्रादुर्भाव भएको छ, त्यही परमात्मालाई शास्त्र सुनाउन लागे अर्जुन ।
अझ विचार गर्दा, अर्जुनलाई  द्वन्द्व भयो । उनलाई थाहा थियो, आफ्ना आदरणीयहरुलाई मार्नु हुन्न भन्ने कुरा । अझ उनले सुनेका थिए, आफ्नो गुरु (यहाँ द्रोणाचार्य र कृपाचार्य)लाई 'हूँ' मात्रै गर्यो भने पनि सयौं वर्षसम्म मसान अघिल्तिरको सुकेको रुखको ठुटो भएर रहनु पर्छ । अर्कोतिर उनले यो पनि जानेका थिए, क्षत्रियले आफूलाई आएको युद्धको चुनौति स्वीकार गरेर मृत्युको वरण पनि गर्नुपर्छ । यही द्वन्द्वमा रुमल्लिए अर्जुन, उनलाई के गरौँ र के नगरौं भन्ने भयो । केही समयसम्म उनले भगवानलाई आफू युद्ध नगर्ने दलील दिइरहे । तर, भगवानले अर्जुनको दलीललाई 'नपुंषकता', 'हृदयको कमजोरी', 'लाछी' भन्ने नाम दिनुभयो । भगवानको यस्तो वचन सुनेर अर्जुन अलि झस्के, तुरुन्तै उनले आफ्नो 'कमजोरी' थाहा पाए । आफू 'धर्मसम्मूढचेता:' भएको कुरा उनलाई थाहा भयो, उनी उही परमात्माको शरण परे । उनले भने, 'शिष्यस्तेहम्' (हजुरको शिष्य हुँ) । उनले भगवानलाई गुरुरूपमा स्वीकार गरे, (अहिलेसम्म अर्जुनले परमात्मालाइ दाजुरूपमा, जेठानरूपमा, साथीरूपमा मानेका थिए) उहाँको शरण परे, ''शाधिमाम् त्वाम् प्रपन्नम्' उचित मार्गदर्शनकोलागि प्रार्थना गरे, 'यच्छ्रेय: स्यान्निश्चितम् ब्रूहि तन्मे'। अर्जुनले आफूलाई गुरुरूपमा स्वीकार गरेर आफूलाई उचित सल्लाहको आग्रह नगरुन्जेल भगवानले अर्जुनलाई गीता सुनाउनु भएको थिएन, युद्ध हुनु भन्दा पहिले वारह वर्षको वनवासकालमा भगवान र अर्जुनको धेरै समय भेट भएको प्रसंग हामीले सुनेकै पनि हो । तर, ती समयमा कहिले पनि अर्जुनलाई मोह भएन, त्यसैले गीताको प्रसङ्ग पनि आएन । अहिले अर्जुनलाई विषाद भयो, यही विषाद नै 'विषादयोग' वन्यो, यो विषादले अर्जुनलाई गुरु भेटाइदियो, गीता ज्ञान सुनाइदियो, अर्जुनको माध्यमवाट हामीहरुले गीताको ज्ञान सुन्न पायौं, पढ्न पायौं । गीताको अठारौं अध्यायमा गीताको उपदेशको महत्त्वको उल्लेख गर्दै भगवान भन्नुहुन्छ, 'मेरो यो गीताको उपदेश कसैले पढ्छ मात्रै भने पनि मलाई त्यो व्यक्तिले ज्ञानयज्ञले पूजा गर्यो भन्ने मेरो निश्चित मत छ' ।
                          
यस्तै हो हजुर, मेरा कुरा, कहिले पनि सकिंदैनन् । अरु पछि ।



No comments:

Post a Comment