Saturday 9 August 2014

131 No. 98 अघिल्लो श्लोकको नै वांकी कामना सम्पूर्ण पापहरु, संतापहरु, दुःखहरुको जड हो ।

No. 98 

अघिल्लो श्लोकको नै वांकी 

कामना सम्पूर्ण पापहरु, संतापहरु, दुःखहरुको जड हो । कामना गर्ने व्यक्तिलाई वर्तमानमा सुख हुने कुरै छोडौं, स्वप्नमा पनि सुख हुँदैन । हामीले खोजेको जस्तो नहुनु र नखोजेको जस्तो हुनुलाई नै दुःख भन्छन्। 'खोज्नु' र 'नखोज्नु'लाई छोडे दुःख नै कहाँ हुन्छ र ?


नाशवान् पदार्थको इच्छालाई नै कामना भनिन्छ । अविनाशी परमात्माको इच्छा कामना जस्तो देखिए पनि वास्तवमा कामना होइन, किनकि उत्पत्ति-विनाशशील पदार्थहरुको कामना कहिले पूरा हुँदैन, झन् झन् वढ्दै जान्छ । तर परमात्माको इच्छा (परमात्मप्राप्ति भएपछि) पूरा हुन्छ । अर्को कुरो, कामना आफू भन्दा छुट्टै वस्तुको हुन्छ, परमात्मा आफ़ूदेखि अभिन्न छ। यस्तै प्रकारले सेवा, (कर्मयोग), तत्वज्ञान (ज्ञानयोग) र भगवत्प्रेम (भक्तियोग) को इच्छा पनि कामना होइन । परमात्मप्राप्तिको इच्छा वास्तवमा जीवनको वास्तविक आवश्यकता (भोक) हो । जीवलाइ  आवश्यकता परमात्माको छ, तर विवेक दविएकोले ऊ नाशवान् पदार्थहरुको कामना गर्न लाग्छ ।


यस्तो पनि शंका हुन सक्छ -- कामना विना संसारको काम कसरी हुन्छ ? 

यसको समाधान: संसारको काम वस्तुहरुवाट, क्रियाहरुवाट चल्छ, मनको कामनाले होइन । वस्तुहरुको सम्बन्ध कर्महरुसँग हुन्छ, चाहे ती कर्म पूर्वका (प्रारब्ध) हुन् अथवा वर्तमानका (उद्योग) । कर्म वाहिर हुन्छन्, र काम भित्र । वाहिरी कर्महरुको फल पनि (वस्तु, परिस्थितिको रूपमा) वाहिर हुन्छन् ।


कामनाको सम्बन्ध फल - (पदार्थ,परिस्थिति) सँग छँदै छैन । कर्मको अधीनको  वस्तु कामना गरेर कसरी प्राप्त हुन सक्छ ? संसारमा देखिएकै छ, धनको कामना भएर पनि व्यक्तिहरुको दरिद्रता मेटिएको छैन । जीवन्मुक्त महापुरुष वाहेक अरु सबै व्यक्ति वांचने इच्छा हुँदा हुँदै मरेकै छन् । चाहे हामी कामना गरौँ या नगरौं, जुन फल पाइन्छ, त्यो पाइएरै छोड्छ । अर्को शब्दमा, जे हुने हो, त्यो भइहाल्छ, जे हुने छैन, त्यो हुँदै हुँदैन,हामीले कामना गरे पनि नगरे पनि । कामना नगर्दा पनि प्रतिकूल परिस्थिति आए जस्तै अनुकूल परिस्थिति पनि आइहाल्छ । रोगको कामना नगर्दा रोग आए जस्तै कामना नगरे पनि निरोग रहन्छ । निन्दा-अपमानको कामना नगर्दा पनि निन्दा-अपमान हुन्छ, कामना नगर्दा पनि प्रशंसा-सम्मान हुन्छ । प्रतिकूल परिस्थिति कर्महरुको फल भए जस्तै अनुकूल परिस्थिति पनि कर्महरुको नै फल हो । यही कारण वस्तु, परिस्थिति आदि प्राप्त हुनु अथवा नहुनु जस्ता अवस्था कर्महरुसँग सम्बन्ध राख्छन्, कामनासँग होइन। 


कामना तात्कालिक सुखको र भावी सुखको हुन्छ । भोग र संग्रहको इच्छा तात्कालिक सुखको कामना हो, कर्मफलप्राप्तिको इच्छा भावी सुखको कामना हो । यी दुवै कामनाहरुमा दुःखै दुःख छ । कारण कि कामना केवल वर्तमानमा मात्रै दुःख दिने नभई भावी जन्मको कारण भएकोले भविष्यमा पनि दुःख दिन्छ । त्यसैले,यी दुवै कामनाहरुको त्याग गर्नु पर्छ ।


कर्म र विकर्म (निषिद्धकर्म) -- दुवै कामनाको कारण हुन्छन् । कामनाको कारण 'कर्म' हुन्छन् र कामना धेरै वढेपछि 'विकर्म' हुन्छन् । कामनाको कारण नै असत् मा दृढ आसक्ति हुन्छ । कामना नरहँदा असत् सँग सम्बन्ध-विच्छेद हुन्छ । 


कामना पूरा भएपछि हामी त्यही अवस्थामा आउँछौ, जुन अवस्थामा हामी कामना उत्पन्न हुनु भन्दा पहिले थियौं । जस्तो, कसैको मनमा 'मलाई सय रुपियाँ भए हुन्थ्यो' भन्ने कामना उत्पन्न भयो । यो भन्दा पहिले त्यो व्यक्तिको मनमा सय रुपियाँ पाउने कामना थिएन; त्यसैले अनुभवले नै थाहा भयो, कामना उत्पन्न हुने रहेछ । सय रुपियाँ पाउने कामना हुनुभन्दा पहिलेसम्म त्यो व्यक्तिको 'निष्कामता'को स्थिति थियो । त्यो व्यक्तिले कामना पूरा गर्न उद्योग गरेपछि, प्रारब्धद्वारा उसलाई सय रुपियाँ पनि मिलेपछि उसको स्थिति फेरि 'निष्कामता'को हुन्छ । तर संसारिक सुखको आसक्तिले गर्दा त्यो स्थिति अडिरहँदैन, फेरि नयाँ कामना उत्पन्न हुन्छ, 'मलाई एक हजार रुपियाँ भए हुन्थ्यो' भन्ने । यस्तो किसिमले न कामना पूरा हुन्छ, न तृप्ति नै हुन्छ । खालि परिश्रम सिवाय केही हात लाग्दैन ।


'काम' अर्थात् संसारिक पदार्थहरुको कामना त्याग गर्न गाह्रो छैन । राम्रोसँग विचार गर्दा कामना छुट्न नसक्ने हो कि टिक्न नसक्ने हो ? हामीलाई थाहा हुन्छ, वास्तवमा कामना टिक्दै टिक्दैन । कामना त निरन्तर मेटिइरहन्छ; तर हामी नयाँ नयाँ कामनाहरु गरेर त्यसलाई अड़ाई राख्छौं । कामना उत्पन्न हुन्छ र उत्पन्न हुने वस्तु स्वतः मेटिन्छ । यदि हामीले  नयाँ नयाँ कामना नगरे हाम्रो पुरानो कामना पूरा भएर अथवा कहिले पूरा पनि नभएर स्वतः मेटिन्छ । 


कामनाको पूर्ति सबैकोलागि र सँधैकोलागि हुने होइन, तर कामनाको त्याग सबैकोलागि र सँधैकोलागि हुन्छ, किनकि कामना अनित्य र त्याग नित्य छ। निष्काम हुन के गाह्रो छ ? हामी आफैं निर्मम हुँदैनौं, यही नै गाह्रो छ । यदि हामी निर्मम भयौं भने निष्काम हुने शक्ति हामीमा आउँछ र निष्काम भएपछि असंग हुने शक्ति आउँछ । निर्ममता, शान्ति र असंगता आएपछि निर्विकारता, शान्ति र स्वाधीनता स्वतः आउँछ । 


हामी कामनाको त्याग गर्न धेरै गाह्रो मान्छौं । तर यो पनि विचार गर्नु पर्यो हामीले, कामनाको त्याग गर्न गाह्रो भए कामना पूरा गर्न सजिलो छ त ?  संसारमा आजसम्म सबै कामनाहरुको पूर्ति कसैलाई भएको छ ?  सबै कामनाहरुको पूर्ति आजसम्म कसैलाई भएको छैन, किनकि कामनाहरुको पूर्ति हुन सम्भव नै छैन । कामनाहरुको त्याग हुन सक्छ, तर कामनाहरुको पूर्ति हुन सक्तैन । यसैले कामनाहरु पूर्ति गर्नतिर लाग्नु भन्दा कामनाहरुको त्याग गर्नु सजिलो छ । हामीवाट हुने गल्ति नै यही हो, गर्न नसकिने काम गर्न हामी खोज्छौं, तर गर्न सकिने काम गर्न हामी इच्छुक छैनौं ।
कामनाहरुका चार भेद छन् --
(१) शरीर-निर्वाहमात्रकोलागि आवश्य कामनाहरु पूरा गर्ने ।
(२) हाम्रा व्यक्तिगत तर न्याययुक्त, तर हामीवाट पूरा हुन नसक्ने, कामना   हामीले भगवानलाई अर्पण गरेर मेटाउने ।
(३) अरुको न्यायुक्त र हितकारी, हामीवाट पूरा हुन सक्ने कामना कुनै छ भने, हामीले पूरा गरिदिने । यसरी अरुको कामना पूरा गरेपछि हामीमा आफ्नो कामना त्याग गर्ने सामर्थ्य आउँछ ।
     

(४) माथिका तीन कामनाहरु वाहेक अरु सबै कामनाहरु विचारद्वारा मेटाइदिने ।
कति वैरी त भेट-पूजा गरे शान्त हुन्छन्, तर 'काम' वैरी केही गरे पनि शान्त हुँदैन, यसलाई कहिले पनि तृप्ति हुँदैन ।
 
केही धन पाएपछि अरु धन पाउने कामना हामीमा भए जस्तै जति नै भोग पाइए पनि हाम्रो कामना झन् झन् वढिरहन्छ । यही कारण यसलाई 'महाशन:' भनिएको छ । 
कामना सम्पूर्ण पापहरुको कारण हो । चोरी, डकैती, हिंसा, आदि सबै पापहरु कामनावाट नै हुन्छन् । यसैले यो कामनालाई 'महापाप्मा' भनिएको छ ।
कामना उत्पन्न हुने वित्तिकै मनुष्य आफ्नो कर्तव्यदेखि, आफ्नो स्वरूपदेखि र आफ्नो इष्ट (भगवान) देखि विमुख हुन्छ र नाशवान् संसारको सम्मुख हुन्छ । नाशवान् को सम्मुख हुँदा पाप हुन्छ र पापहरुका फलस्वरुप उसलाई नरकहरु तथा नीच योनिहरु प्राप्त हुन्छ ।
 
संयोगजन्य सुखको कामनाले नै संसार सत्य जस्तो लाग्छ र प्रतिक्षण वदलिने शरीर आदि पदार्थ 'स्थिर' (सँधै रहिरहने) जस्ता देखिन्छन् । संसारिक पदार्थलाई स्थिर मान्दा नै मनुष्य ती पदार्थहरुवाट सुख भोग्छ र ती वस्तुको इच्छा गर्छ । सुख-भोग गरेको वेला संसारको क्षणभंगूरतातिर दृष्टि नै जाँदैन र हामी भोगलाई र आफूलाई पनि 'स्थिर' (सँधै रहिरहने) देख्छौं । प्रतिक्षण मरिरहेको, नष्ट भैरहेको संसारवाट सुख लिने इच्छा कसरी भयो ? 'संसार' प्रतिक्षण मरिरहेछ' भन्ने जानकारीको तिरस्कार गर्दा नै सांसारिक सुखभोगको इच्छा हुन्छ ।

परिवर्तनशील संसारलाई स्थिर मान्दा स्थिर तत्व, परमात्मातिर, दृष्टि नै नगएको हो । परमात्मातिर दृष्टि नगएकोले नै हामी त्यतातिरवाट विमुख भएर विनाशी सुखमा फँस्छौँ । वास्तविक तत्वदेखि विमुख नभई कोही पनि संसारिक भोग भोग्नै सक्तैन र रागपूर्वक भोग भोग्दा हामी परमात्मादेखि विमुख हुनै पर्छ । 

भोगबुद्धिले भोग भोग्ने व्यक्ति आफ्नो त पतन गर्छ गर्छ, भोग्य वस्तुहरुको दुरुपयोग गरेर ती वस्तुहरुको नाश गर्छ र अभावग्रस्त व्यक्तिहरुको हिंसा गर्छ। तर जीवन्मुक्त महापुरुषमा यो कुरा लाग्दैन । ऊवाट हिंसारुप पाप हुँदैन; किनकि उसमा भोगबुद्धि हुँदैन र ऊवाट निष्कामभावले निर्वाहमात्रकोलागि शास्त्रविहित क्रियाहरु हुन्छन्। त्यो महापुरुषको उपयोगमा आउने वस्तुहरुको विकास हुन्छ । त्यो महापुरुषको शरीर रहुन्जेल, उ द्वारा स्वाभाविक प्राणीहरुको उपकार भइरहन्छ । 

शरीर-निर्वाह मात्रको आवश्यकता 'महाशनः' र 'महापाप्मा' होइन, किनकि शरीर-निर्वाहमात्रको आवश्यकता 'कामना' होइन । आवश्यकताको पूर्ति हुन्छ; जस्तो -- भोक लाग्छ, भोजन गरेपछि तृप्ति भयो, तर कामनाको वृद्धि हुन्छ । 

संसारिक पदार्थहरुको कामनाको त्याग हुँदा  सुख-शान्तिको अनुभव हुन्छ; तर हामी अज्ञानवश पदार्थहरुवाट हुने सुखलाई सुख मान्छौं । यसरी हामीले पदार्थहरुको कामनालाई नै सुखको कारण मानेर त्यसलाई (कामना) आफ्नो मित्र, हितैषी मानिरहेका छौं ।यही मान्यताले गर्दा हाम्रो  कामना कहिले पनि छुट्दैन । यसैले, भगवान हामीलाई भनिरहनु भएको छ, 'यो कामनालाई वैरी जान' । यो कामना वैरी हुनाले नै यसले हाम्रो विवेकलाई ढाकेर हामीलाई पापमा लगाइदिन्छ ।                
                            
संसारका सम्पूर्ण पापहरु,दुःखहरु, नरकहरुको मूल कामना नै हो । यो लोक र परलोकमा दुःख पाउनुको एक मात्र कारण असत् को कामनाको कारण नै हो । कामनामा सबै दुःख छन्, यसमा कुनै पनि सुख हुँदैन। 

कामना नाश गर्ने मुख्य उपाय हो -- अरुको सेवा गर्ने, अरुलाई सुख पुर्याउने । अरु शरीरधारी त अरु भइहाले, आफ्नो भनिने शरीर, इन्द्रियहरु, मन, बुद्धि र प्राण पनि अरु नै हुन् । अतः यिनीहरुको निर्वाह पनि सेवा बुद्धिले गर्ने हो, भोगबुद्धिले होइन ।

कर्मयोगमा स्थूल शरीर द्वारा हुने 'क्रिया', सूक्ष्म शरीर द्वारा हुने 'चिन्तन' र कारण शरीर द्वारा हुने 'स्थिरता' आफ़्नोलागि होइनन्, संसारकोलागि हुन् । कारण, स्थूल शरीरको स्थूल संसारसँग, सूक्ष्म शरीरको सूक्ष्म संसारसँग र कारण शरीरको कारण संसारसँग एकता छ । अतः शरीर, पदार्थ र क्रियाले अरुको सेवा गर्नु त उचित छ, तर आफूमा सेवकपनको अभिमान गर्नु उचित छैन । सूक्ष्म-शरीरले परहितको चिन्तन गर्नु उचित छ, तर त्यो चिन्तनवाट सुख लिनु अनुचित छ । कारण शरीर द्वारा स्थिर हुनु उचित छ,तर त्यो स्थिरताको सुख लिनु अनुचित छ । यस्तो किसिमले सुख लिने वानी नगरे फलको आसक्ति हट्छ, फलको आसक्ति हटेपछि कर्मको आसक्ति सजिलैसँग हट्छ ।

'मेरो आदेश चलोस्, अरुहरु मेरो आज्ञामा चलून्, यो वस्तु मलाई काम लागोस्, मेरो कुरो सदर होस्' यस्ता विचारहरु कामनाकै स्वरूप हुन् । उत्पत्ति-विनाशशील (असत्) संसारवाट केही लिने कामनाले महान् अनर्थ गर्छ । अरुको न्याययुक्त कामना (जसमा अरुको हित होस् र त्यो कामना पूर्ण गर्ने सामर्थ्य हामीमा होस्) पूरा गर्दा आफ्नो कामनाको त्यागको वल आउँछ । केही गरी अरुको कामना पूरा गर्न सकिएन भने पनि पूरा गर्ने इच्छा हाम्रो हृदयमा हरदम रहोस् । 

तादात्म्य -- अहंता (आफूलाई शरीर मान्नु), ममता (शरीर आदि पदार्थलाई आफ्नो मान्नु) र कामना (फलानो वस्तु मिलोस्) भन्ने तीनै भावले संसारमा वांधिइन्छ । तादात्म्यले परिच्छिन्नता, ममताले विकार र कामनाले अशान्ति पैदा हुन्छ । कामनाको त्यागले ममता र ममताको त्यागले तादात्म्य हट्छ । कर्मयोगी सिद्धान्तले यी मध्ये कुनैसँग पनि आफ्नो सम्बन्ध मान्दैन; किनकि उ शरीर, मन बुद्धि, अहम्, पदार्थ आदि कसैलाई पनि आफ्नो र  आफ्नोलागि मान्दैन, ऊ यी शरीर आदि पदार्थलाई केवल संसारको र संसारको सेवाकोलागि मान्छ, जुन वास्तवमा हो पनि ।

वस्तु, व्यक्ति र क्रियावाट सुख खोज्नुको नाम नै कामना हो ।  यो काम-रूप एउटा दोषमा अनन्त दोष, अनन्त विकार, अनन्त पापहरु भरिएका छन् । अतः मनुष्य भित्र काम रहुन्जेल सर्वथा निर्दोष, निर्विकार, निष्पाप हुन सक्तैन । आफ्नो सुखकोलागि केही चाहँदा नै खरावी हुन्छ । कसैसँग केही नखोज्ने व्यक्ति दोषरहित हुन सक्छ । 

कर्मफल तीन प्रकारका हुन्छन् -- इष्ट, अनिष्ट र मिश्र । यी तीन मध्ये कामको फल 'अनिष्ट' नै हुन्छ । 

शास्त्रनिषिद्ध कर्म प्रारब्धवाट हुने होइन, कामवाट हुन्छ । प्रारब्धवाट (फलभोगकोलागि) कर्म गर्ने वृत्ति त हुन्छ, निषिद्ध कर्म हुँदैन; किनकि प्रारब्धको फल भोग्नकोलागि निषिद्ध आचरणको जरुरत छैन । 


'काम' रजोगुणवाट उत्पन्न हुन्छ । अतः पापहरुको कारण रजोगुण हो र कार्य तमोगुण हो । सबै पापहरु रजोगुणवाट पैदा हुन्छन् ।

No comments:

Post a Comment