Sunday 21 September 2014

164 No. 131 श्लोक २५ अरु योगीहरू दैव (भगवदर्पणरुप) यज्ञको नै अनुष्ठान गर्छन् ।

No. 131 

श्लोक २५

अरु योगीहरू दैव (भगवदर्पणरुप) यज्ञको नै अनुष्ठान गर्छन् । र अर्का किसिमका (योगीहरू) ब्रह्मरूप अग्निमा (विचाररुप) यज्ञद्वारा नै (जीवात्मारुप) यज्ञको हवन गर्छन् ।

यो भन्दा अघिल्लो श्लोकमा भगवानले सर्वत्र ब्रह्मदर्शनरुप यज्ञ गर्ने व्यक्तिहरुको वर्णन गर्नुभयो ।यो श्लोकमा भगवान 'अपरे' शब्दले ती व्यक्ति भन्दा भिन्न किसिमका यज्ञ गर्ने साधकहरुको वर्णन गर्नुहुन्छ ।             

यो श्लोकमा प्रस्तुत 'योगिनः' पद यज्ञार्थ (यज्ञकोलागि) कर्म गर्ने निष्काम साधकहरुकोलागि हो ।
सम्पूर्ण क्रियाहरु र पदार्थहरुलाई आफ्नो र आफ़्नोलागि भन्ने नमानेर तिनलाई केवल भगवानको र भगवानकोलागि नै मान्नु 'दैवयज्ञ' अर्थात् भगवदर्पणरुप यज्ञ हो । भगवान देवहरुको पनि देव हुनुहुन्छ, यही कारण यी सबै पदार्थहरु उहाँमा अर्पण गर्नु 'दैवयज्ञ' हो ।

कुनै पनि क्रिया र पदार्थमा अलिकति पनि आसक्ति, ममता र कामना नराखेर तिनलाई सर्वथा भगवानको मान्नु नै दैवयज्ञको राम्रो अनुष्ठान हो ।

जडसँग चेतनको तादात्म्य भएको कारण नै उसलाई जीवात्मा भन्छन् । विवेक-विचारपूर्वक जडसँग सबै किसिमले विमुख भएर परमात्मामा लीन हुनुलाई यहाँ यज्ञ भनिएको हो । लीन हुने भनेको -- परमात्मतत्वदेखि भिन्न आफ्नो स्वतन्त्र सत्ता अलिकति पनि नमान्ने ।

छोटोमा, अरू योगीहरु (श्लोक चौविसमा वताइएको भन्दा छुट्टै) संसाररुप ब्रह्मको सेवाकोलागि केवल लोकसंग्रहरुप यज्ञ निमित्त  कर्तव्य-कर्मरुप यज्ञ गर्छन् अर्थात् यज्ञार्थ कर्म गर्छन् ।

श्लोक २६
अरु (योगीहरू) श्रोत्रादि समस्त इन्द्रियहरुलाई संयमरुप अग्निहरुमा हवन गर्ने गर्छन् र अरु योगीहरू शब्द आदि विषयहरुलाई इन्द्रियरुप अग्निहरुमा हवन गर्ने गर्छन् ।
संयमरुप अग्निहरुमा इन्द्रियहरु आहुति दिनुलाई यज्ञ भनिएको छ यो श्लोकमा । यसको अर्थ, एकान्तकालमा श्रोत्र (कान), त्वचा (छाला), नेत्र (आँखा), रसना (जीव्रो) र घ्राण (सुँघ्नु) जस्ता पाँचै इन्द्रियहरु आफ्ना-आफ्ना विषयहरु (शब्द, स्पर्श, रुप, रस र गन्ध) तिर विल्कुल प्रवृत्त नहून् । इन्द्रियहरु संयमरुप नै वनून् ।
इन्द्रियहरु, मन, बुद्धि तथा अहम् -- यी सबैवाट राग-आसक्तिको सर्वथा अभाव भयो भने पूरा संयम हुन्छ ।

शब्द, स्पर्श, रुप, रस र गन्ध -- यी पांच विषय हुन् । विषयहरुलाई इन्द्रियरुप अग्निमा हवन गरिदिए यज्ञ हुन्छ । तात्पर्य, व्यवहारकालमा विषयहरुको इन्द्रियहरुसँग पूरापूर संयोग भइरहँदा पनि इन्द्रियहरुमा कुनै विकार नहोस् । इन्द्रियहरु राग-द्वेषले रहित हून् । यतिसम्म कि इन्द्रियहरुमा राग-द्वेष गर्ने शक्ति विषयहरुमा हुँदै नहून् ।
यो श्लोकमा वर्णित दुवै किसिमका यज्ञहरुमा राग-आसक्तिको पूरापूर अभाव भएपछि नै सिद्धि (परमात्मा प्राप्ति) हुन्छ । राग-आसक्ति मेटाउनकोलागि नै यस्तो किसिमको प्रक्रियालाई यज्ञरूपले वर्णन गरिएको हो ।
पहिलो प्रक्रियामा साधक एकान्तकालमा इन्द्रियहरुलाई संयम गर्छ । विवेक-विचार, जप-ध्यान आदिवाट इन्द्रियहरुको संयम हुन थाल्छ । पूरा संयम भएपछि राग एकदम घट्छ, त्यसपछि एकान्त काल र व्यवहारकाल -- दुबैमा साधकको स्थिति समान रहन्छ ।

अर्को प्रक्रियामा साधक व्यवहारकालमा राग-द्वेषरहित इन्द्रियहरु द्वारा व्यवहार गर्दै मन, बुद्धि र अहम् द्वारा पनि राग-द्वेषको अभाव गरिदिन्छ । राग पूर्णरूपमा छुटेपछि एकान्तकाल र व्यवहारकालमा साधकको स्थिति समान (एकै) रहन्छ ।

No comments:

Post a Comment